बजेट र जनशक्ति अभावले दोबागाउँ अस्पताल सञ्चालनमा आउन सकेन
म्याग्दी । शिरानमा छ भिरालो जग्गामा गुजुमुज्ज परेको दोबागाउँ । गाउँको पुछारमा उजाड लाग्दो पाखो छ । पाखोको छेउमै छ पहेँलो रङको पक्की भवन । अनकन्टारजस्तो ठाउँमा आकर्षक देखिने त्यो भवन दोवाको पालिकास्तरीय अस्पताल भवन हो ।
विसं २०७८ मा निर्माण सम्पन्न भएको त्यो भवन बाहिर हेर्दा चिटिक्कको देखिए पनि भित्र खण्डहरजस्तै बनेको छ । कारण हो– अस्पताल सञ्चालनमा आउन नसक्नु । निर्माण सम्पन्न भएको चार वर्ष बितिसक्दा पनि पाँच शय्या क्षमताको सो अस्पतालमा न उपकरण आए, न त चिकित्सक नै । अहिले करोडौँ रुपैयाँ खर्च गरेर बनाएको सो भवन अलपत्र अवस्थामा छ ।
उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ मा पर्छ दोवागाउँ । अस्पताल भवनबाट गाउँमा पुग्न गाडीमा १५–२० मिनेट लाग्छ । गाउँदेखि टाढा अपायक ठाउँ । न राम्रो सडक न व्यवस्थित बस्ती । सङ्घीय सरकारको सबै पालिकामा आधारभूत तहको अस्पताल सञ्चालन गर्ने नीतिअनुरूप स्थानीयवासीले जग्गादान दिएर निर्माण गरिएको सो अस्पताल दोवावासीका लागि अहिले ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात’ भनेझैँ भएको छ ।
बजेट अभाव र जनशक्ति व्यवस्थापन नहुँदा अस्पताल भवन प्रयोगमा आउन नसकेको अन्नपूर्ण गाउँपालिका–१ दोवाका वडाध्यक्ष दिलीपकुमार गर्बुजाले बताए । वडाध्यक्ष गर्बुजाका अनुसार चार वर्ष अगाडि निर्माण सम्पन्न भएको पाँच शय्याको पालिकास्तरीय अस्पतालको भवन उपकरण, चिकित्सकसहितको जनशक्ति व्यवस्थापनमा तीनै तहको सरकारको ध्यान नपुग्दा अलपत्र अवस्थामा पुगेको हो ।
बाह्र रोपनी सात आना दुई दाम क्षेत्रफल रहेको अस्पताल रविना–अमित जेभीले रु पाँच करोड १२ लाख ६० हजार ६५२ मा ठेक्का लिई निर्माण गरेको अध्यक्ष गर्बुजाले बताए । अस्पताल निर्माण गर्न स्थानीय सात व्यक्तिले १२ रोपनी सात आनाभन्दा बढी जग्गा निःशुल्क उपलब्ध गराउनुभएको गर्बुजाले बताए।
अस्पतालमा अपाङ्गमैत्री भवनमा आकस्मिक कक्ष, अन्तरङ्ग, बहिरङ्ग, प्रयोगशाला, प्रशासनिक, औषधि भण्डार कोठा, उपचारका लागि छुट्टाछुट्टै कक्ष र स्वास्थ्यकर्मी निवास सहित ३५ कोठा छन् । अस्पताल भवन बनेर पनि सञ्चालनमा आउन नसकेपछि सामान्य बिरामी पर्दा पनि उपचारका लागि बेनी धाउनुपरेको अन्नपूर्ण गाउँपालिका–१ दोबाकी मनसरा गर्बुजाले गुनासो गरे । पाँच शय्या क्षमताको भूकम्पप्रतिरोधी भवन निर्माण भए पनि प्रदेश र सङ्घीय सरकारले आवश्यक स्रोतसहितको जनशक्ति व्यवस्थापन गर्न नसकेको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भरत पुनले बताए ।
आज कुन विदेशी मुद्रा कतिमा किनबेच हुँदै छ ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार (फागुन १०)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ २८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८८ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ९२ पैसा र बिक्रीदर १७१ रुपैयाँ ६३ पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९५ रुपैयाँ ७४ पैसा र बिक्रीदर १९६ रुपैयाँ ५४ पैसा, स्विस फ्रयांक एकको खरिददर १८७ रुपैयाँ १९ पैसा र बिक्रीदर १८७ रुपैयाँ ९७ पैसा कायम गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ४५ पैसा र बिक्रीदर १०२ रुपैयाँ ८७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ १६ पैसा र बिक्रीदर १०६ रुपैयाँ ५९ पैसा, सिंगापुर डलर एकको खरिददर ११४ रुपैयाँ ५० पैसा र बिक्रीदर ११४ रुपैयाँ ९७ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ३६ पैसा र बिक्रीदर नौ रुपैयाँ ४० पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ०३ पैसा र बिक्रीदर २१ रुपैयाँ १२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३८ रुपैयाँ ८९ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ८८ पैसा र बिक्रीदर ४० रुपैयाँ ०५ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ६६ पैसा र बिक्रीदर चार रुपैयाँ ६८ पैसा, यूएई दिराम एकको खरिददर ३९ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३९ रुपैयाँ ७२ पैसा, मलेसियन रिंगेट एकको खरिददर ३७ रुपैयाँ २२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३८ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०३ पैसा र बिक्रीदर १० रुपैयाँ ०७ पैसा, स्विडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ०२ पैसा र बिक्रीदर १६ रुपैयाँ ०९ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ८८ पैसा र बिक्रीदर २२ रुपैयाँ ९७ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ५९ पैसा र बिक्रीदर १८ रुपैयाँ ६७ पैसा, कुवेती दिनार एकको खरिददर ४७५ रुपैयाँ ६३ पैसा र बिक्रीदर ४७७ रुपैयाँ ५९ पैसा, बहराइन दिनार एकको खरिददर ३८५ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३८६ रुपैयाँ ९० पैसा, ओमनी रियाल एकको खरिददर ३७७ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३७८ रुपैयाँ ९३ पैसा रहेको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।
म नेता होइन, जनताको सेवक हुँ, माैका दिनुहाेस्: ज्ञामनाथ गैरे ‘अनिल’
काठमाडौं । बाग्लुङ क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार ज्ञामनाथ गैरे ‘अनिल’ले जनताको आशा, भरोसा र विश्वासलाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता जनाएका छन् । गल्कोट नगरपालिका–७ मल्लमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले आफू जनताको सेवकका रूपमा विकास र समृद्धिको यात्रामा निरन्तर सक्रिय रहने बताए । बाम गठबन्धनका साझा उम्मेदवार गैरेले मतदातालाई परिवर्तनको पक्षमा उभिन आग्रह गर्दै तारा चिन्हमा मतदान गर्न अपिल गरे । बाग्लुङको विकास सम्भावनालाई उजागर गर्दै उनले शिक्षा, स्वास्थ्य, सडक र रोजगारीलाई प्राथमिकतामा राखेर ठोस योजना कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले युवाहरूलाई स्वदेशमै अवसर सिर्जना गर्ने कार्यक्रम ल्याइने बताउँदै उत्पादन, उद्यम र प्रविधिमा आधारित रोजगारीमार्फत युवाको भविष्य सुनिश्चित गरिने धारणा राखे । स्थानीय स्रोत र सम्भावनाको अधिकतम उपयोग गरी बाग्लुङलाई समृद्ध र नमुना जिल्लाका रूपमा अघि बढाउने उनको लक्ष्य छ । गैरेले विकास निर्माणमा सबै पक्षलाई समेटेर समावेशी ढंगले अघि बढ्ने प्रतिबद्धता जनाउँदै मतदाताको साथ, सुझाव र सहभागिताले नै क्षेत्रको मुहार फेर्न सम्भव हुने बताए।
विश्वासको राजनीति र परिणाममुखी प्रतिबद्धता गर्दछु: मनहरी तिमिल्सिना
पर्वत । प्रतिनिधिसभा सदस्यका उम्मेदवार मनहरी तिमिल्सिनाले निर्वाचन अभियानका क्रममा जनताको विश्वास र विवेकपूर्ण सहभागिताले आफूलाई अझ जिम्मेवार बनाएको बताएका छन्। फलेवास नगरपालिका–१ कार्किनेटामा आयोजित चुनावी सभामा बोल्दै उनले भाषणभन्दा कामलाई प्राथमिकता दिने प्रतिबद्धता दोहोर्याए। सबैभन्दा कान्छा उम्मेदवारका रूपमा आफू परिणाममुखी कार्ययोजना लिएर मतदातामाझ आएको उल्लेख गर्दै तिमिल्सिनाले आफ्नै कार्यकालमै देखिने गरी विकासका काम गर्ने बताए। “जनताको विश्वासलाई परिणाममा बदल्नु मेरो कर्तव्य हो,” उनले भने। युवा पुस्ताको भविष्य सुरक्षित बनाउन सूचना प्रविधिमा आधारित रोजगारी सिर्जना, आईसीटी हब स्थापना र डिजिटल आयका अवसर विस्तार गर्ने योजना अघि सारेको उनले जानकारी दिए। साथै, भ्रष्टाचार, भनसुन र नातावादविरुद्ध कडा रूपमा उभिने प्रतिबद्धता व्यक्त गर्दै योग्यता र क्षमताका आधारमा अवसर सुनिश्चित गर्ने नीति लिने बताए। पार्टीभन्दा योग्य उम्मेदवार छान्न मतदातासँग आग्रह गर्दै उनले पर्वतको समृद्धि, रोजगारी सिर्जना र डिजिटल पूर्वाधार विस्तारका लागि आफ्नो उम्मेदवारी रहेको उल्लेख गरे।
रास्वपाका सुस्ता गाउँपालिका उपसभापति गुप्तसेन ठकुरीद्वारा पार्टी परित्याग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुस्ता गाउँपालिका, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का उपसभापति गुप्तसेन ठकुरी (मनोज) ले पार्टी परित्याग गरेका छन् । पार्टीको भनाइ र गराइबीच पारदर्शिता नदेखिएको तथा अवसरवादीहरूको चंगुलमा पार्टी फस्दै गएको आरोप लगाउँदै उनले शनिबार पद तथा साधारण सदस्यता दुवैबाट राजीनामा दिएको घोषणा गरेका हुन् । रास्वपाको स्थापनाकालदेखि नै सक्रिय रहेका ठकुरीले जिल्ला सभापतिलाई सम्बोधन गर्दै लेखेको राजीनामा पत्रमा पार्टी परित्यागको स्वघोषणा गरेका छन् । उनले पत्रमा लेखेका छन्, “आजको मितिसम्म आइपुग्दा पार्टीको भनाइ र गराइमा पारदर्शिता नदेखिएको र अवसरवादीहरूको चंगुलमा पार्टी फस्दै गएको महसुस भएको हुँदा म सुस्ता गाउँपालिकाको उपसभापति तथा साधारण सदस्यसमेत नरहने गरी आजैका मितिबाट राजीनामा दिएको स्वघोषणा गर्दछु।” सुस्ता गाउँपालिका प्रतिनिधिसभा क्षेत्र नम्बर १ अन्तर्गत पर्दछ । उक्त क्षेत्रमा रास्वपाले विक्रम खनाललाई उम्मेदवार बनाएको छ । खनाल नेपाली कांग्रेस को लुम्बिनी प्रदेश कार्यसमितिका पूर्वमहामन्त्री हुन् । कांग्रेसले उनलाई गत असारमा एक वर्षका लागि पार्टी सदस्यता निलम्बन गरेको थियो । यस क्षेत्रमा कांग्रेसबाट उद्योगपति विनोद चौधरी उम्मेदवार रहेका छन् । त्यसैगरी नेकपा एमाले ले रामप्रसाद पाण्डेयलाई उम्मेदवार बनाएको छ भने नेपाली कम्युनिस्ट पार्टी बाट सिन्धु जलेसा बुढाथोकी उम्मेदवार छन् ।
धनकुटाबाट तीन जना बेवारिसे पुरुषको उद्धार
धनकुटा । मानव सेवा आश्रमद्वारा सञ्चालित ‘कोशी प्रदेश उद्धार यात्रा’का क्रममा धनकुटाका विभिन्न स्थानबाट तीन जना बेवारिसे व्यक्तिको उद्धार गरिएको छ । नेपाल पत्रकार महासंघ धनकुटाको समन्वय तथा जिल्ला प्रहरी कार्यालय धनकुटाको सहयोगमा ती बेवारिसे व्यक्तिको उद्धार गरेर मानव सेवा आश्रम सुनसरी पठाइएको छ । उद्धार हुनेमा धनकुटास्थित मदन चोकको सडक पेटीमा लामो समयदेखि बसिरहेका ३५ वर्षका अमृत व्यक्ति, ‘साहिल’ नाम बताउने ३६ वर्षका अर्का पुरुष र धनकुटा नगरपालिका–६ स्थित सडक पेटीमै जीवनयापन गर्दै आएका ५२ वर्षीय भीमप्रसाद अधिकारी छन् । मानसिक रूपमा कमजोर देखिएका तीनै जनाको पारिवारिक पृष्ठभूमि खुल्न सकेको छैन । उद्धारपछि उनीहरूको स्वास्थ्य परीक्षण तथा आवश्यक उपचार गरेर सुरक्षित राखिएको आश्रमले जनाएको छ । भविष्यमा पारिवारिक पृष्ठभूमि खुलेमा पुनर्मिलनका लागि आवश्यक पहल गरिने आश्रमले जनाएको छ । मानव सेवा आश्रमले फागुन ३ देखि कोशी प्रदेशस्तरीय सहयोगापेक्षी सडक आश्रितहरूको उद्धार यात्रा चलाएको थियो । जुन फागुन १६ गतेसम्म चल्नेछ ।
गौरको तनावप्रति माधव कुमार नेपालको गम्भीर चिन्ता: ‘सामाजिक सद्भाव बिथोलिन नदिनुस्’
रौतहट । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक माधव कुमार नेपालले रौतहटको गौर क्षेत्रमा देखिएको साम्प्रदायिक तनावप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । पछिल्ला केही दिनयता गौर नगरपालिका–स्थित सबगढा लगायत आसपासका बस्तीमा हिन्दु र मुस्लिम समुदायबीच उत्पन्न विवादले तनावको रूप लिँदा स्थानीय बासिन्दामा त्रासको वातावरण सिर्जना भएको छ। रौतहट निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उम्मेदवारसमेत रहेका नेता नेपालले शनिबार सञ्चारकर्मीसँग कुराकानी गर्दै सामाजिक सद्भाव खलबलिने कुनै पनि गतिविधि स्वीकार्य नहुने स्पष्ट पारे। उनले भने, “हिन्दु होस् वा मुस्लिम, कुनै पनि नागरिकको जीवन र सुरक्षामाथि खतरा उत्पन्न हुनु लोकतान्त्रिक समाजका लागि लज्जास्पद विषय हो। आपसी अविश्वास र उक्साहटले समस्या झन् जटिल बनाउँछ, त्यसैले सबै पक्ष संयमित र जिम्मेवार बन्न आवश्यक छ।” उनका अनुसार गौरको सबगढा क्षेत्रमा सानो विवादका रूपमा सुरु भएको विषयले साम्प्रदायिक रंग लिन खोजेपछि स्थिति संवेदनशील बनेको हो। केही स्थानमा ढुंगामुढा र झडपका घटनासमेत भएको स्थानीय स्रोतले जनाएको छ। घटनापछि सर्वसाधारणले घरबाहिर ननिस्कने अवस्था बनेको, बजार आंशिक रूपमा बन्द भएको तथा सुरक्षाकर्मीको उपस्थिती बढाइएको जानकारी प्राप्त भएको छ। नेता नेपालले सामाजिक सद्भाव र धार्मिक सहिष्णुताको परम्परा रौतहटको पहिचान भएको उल्लेख गर्दै त्यसलाई कुनै पनि हालतमा कमजोर पार्न नदिन सबै राजनीतिक दल, नागरिक समाज, धार्मिक अगुवा तथा युवाहरूलाई संयम अपनाउन आग्रह गरे। “हामी बहुजातीय, बहुभाषिक र बहुधार्मिक समाजमा बस्छौं। विविधता हाम्रो शक्ति हो, कमजोरी होइन,” उनले भने, “द्वन्द्व र विभाजनको राजनीति अन्त्य हुनुपर्छ।” उनले स्थिति नियन्त्रणमा लिन सरकार र सुरक्षा निकायसँग निरन्तर संवाद भइरहेको जानकारी दिए। गृहमन्त्रीसँग टेलिफोन संवाद गरी शान्ति–सुरक्षा प्रभावकारी रूपमा कायम गर्न आवश्यक सबै कदम चाल्न सुझाव दिएको उनको भनाइ छ। “आवश्यक परे निषेधाज्ञा (कफ्र्यू) जारी गर्ने, सशस्त्र प्रहरी बलको परिचालन बढाउने तथा अवस्था गम्भीर भएमा नेपाली सेनासमेत तयारी अवस्थामा राख्ने विषयमा छलफल भएको छ,” उनले बताए। नेपालले घटनाको निष्पक्ष छानबिन गरी दोषी जोसुकै भए पनि कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिए। “उक्साहट फैलाउने, सामाजिक सञ्जालमार्फत भ्रामक सूचना प्रवाह गर्ने वा हिंसात्मक गतिविधिमा संलग्न जो–कोहीलाई कानुनअनुसार कारबाही हुनुपर्छ,” उनले भने, “दण्डहीनताले समस्या समाधान गर्दैन, झन् बढाउँछ।” यसैबीच, स्थानीय प्रशासनले प्रभावित क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाएको जनाएको छ। प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सर्वपक्षीय बैठकको तयारी भइरहेको र समुदायबीच संवादमार्फत समाधान खोज्ने प्रयास जारी रहेको बताइएको छ। धार्मिक तथा सामुदायिक अगुवाहरूले पनि शान्ति कायम राख्न अपिल गरिरहेका छन्। नेता नेपालले अन्त्यमा सबै नागरिकलाई अफवाहमा विश्वास नगर्न, सामाजिक सञ्जालमा आएका अपुष्ट सूचनाको पछि नलाग्न तथा शान्तिपूर्ण वातावरण कायम राख्न सहयोग गर्न आग्रह गरेका छन्। “हाम्रो साझा लक्ष्य शान्ति, सद्भाव र विकास हो। तनाव र हिंसाले कसैको भलो गर्दैन,” उनले भने, “गौरको शान्ति कायम राख्नु सबैको साझा जिम्मेवारी हो।”
हत्यारा र अराजकतावादी प्रवृत्तिलाई जनताले अस्वीकार गर्छन्: प्रचण्ड
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा अहिले देखापरेका हत्यारा र अराजकतावादी राजनीतिक प्रवृत्तिलाई जनताले कदापि स्वीकार नगर्ने बताउनुभएको छ। उहाँले लोकतान्त्रिक प्रक्रियामार्फत जनताको अभिमत व्यक्त हुने निर्वाचनलाई अवरोध गर्न खोज्ने शक्तिहरूविरुद्ध दृढतापूर्वक उभिन कार्यकर्ताहरूलाई आह्वान गर्नुभयो। शनिबार काठमाडौंमा आयोजित नेकपा दोलखा–काठमाडौं सम्पर्क निर्वाचन परिचालन कमिटीको चुनावी सन्देश सभालाई सम्बोधन गर्दै उहाँले इतिहासले अस्वीकार गरिसकेका र नेपाली जनक्रान्तिद्वारा किनारामा पुर्याइएका केही तत्वहरूले निर्वाचन हुन नदिने भ्रम फैलाइरहेको उल्लेख गर्नुभयो। “अझै पनि केही मानिसहरू चुनाव हुँदैन भन्दै हल्ला चलाइरहेका छन्,” उहाँले भन्नुभयो, “यो अत्यन्तै विचित्र र उद्देश्यपूर्ण प्रचार हो। यसखालको भ्रमको पछि नलागी सबै कार्यकर्ताहरू दृढतापूर्वक चुनावी तयारीमा जुट्नुपर्छ।” उहाँले प्रतिगामी शक्तिहरूको चलखेल क्षणिक मात्र हुने दाबी गर्दै जनताको राजनीतिक चेतना माथि विश्वास व्यक्त गर्नुभयो। “इतिहासले फ्याँकिसकेका प्रवृत्तिहरू फेरि फर्केर आउने कल्पना मात्रै हो,” उहाँले बताउनुभयो, “जनताको बलिदान र संघर्षले स्थापित गरेको व्यवस्था उल्ट्याउन कसैले सक्दैन।” उहाँले वर्तमान अवस्थामा देशमा तीनवटा राजनीतिक प्रवृत्तिहरू आमनेसामने भएको विश्लेषण गर्नुभयो। उहाँका अनुसार एउटा प्रवृत्ति शान्तिपूर्ण आन्दोलन गर्नेलाई टाउको ताकेर गोली हान्ने घातक सोच बोकेको छ भने अर्को प्रवृत्ति सिंहदरबार र राज्यका संरचनामाथि आक्रमण गर्दै देशलाई अस्थिरता र विध्वंसतर्फ धकेल्न खोजिरहेको छ। “यी दुवै हत्यारा र अराजकतावादी प्रवृत्तिका विरुद्ध नेकपा स्पष्ट रूपमा खडा भएको छ,” उहाँले भन्नुभयो, “यो चुनौतीपूर्ण घडीमा देशलाई जोगाउने ऐतिहासिक जिम्मेवारी हामीले लिएका छौं।” निर्वाचनलाई उहाँले जनतामा जाने सहज र प्रभावकारी माध्यमका रूपमा चित्रण गर्नुभयो। “निर्वाचन भनेको जनतामा पुग्ने, जनतालाई संगठित गर्ने र आफ्नो विचार राख्ने लोकतान्त्रिक प्रक्रिया हो,” उहाँले भन्नुभयो, “देशभर हाम्रो प्रचार अभियान तीव्र गतिमा अघि बढिरहेको छ। अब बाँकी १२ दिन युद्धस्तरमा खट्न सके नेकपा देशको पहिलो शक्ति बन्न सक्छ।” नयाँ राजनीतिक दलहरूप्रति संकेत गर्दै उहाँले क्षणिक लहरबाट भ्रमित नहुन आग्रह गर्नुभयो। “हावाहुरी केही दिन चलेजस्तो देखिए पनि सधैं चल्दैन,” उहाँले भन्नुभयो, “हुरी थामिन थालेको छ। जनताले स्थायित्व, एकता र स्पष्ट दिशा दिने शक्ति कुन हो भन्ने बुझिसकेका छन्।” दोलखामा नेकपाका उम्मेदवार खड्काको जित स्थानीय मात्रै नभई राष्ट्रिय रूपमा पनि गर्व गर्नलायक उपलब्धि हुने उहाँको विश्वास छ। उहाँले कार्यकर्ताहरूलाई एकता, अनुशासन र उत्साहका साथ घरदैलो अभियानमा जुट्न निर्देशन दिँदै आगामी निर्वाचन परिणामले देशमा नयाँ राजनीतिक परिस्थिति निर्माण गर्ने दाबी गर्नुभयो। सम्बोधनको अन्त्यमा उहाँले देशलाई अस्थिरता, हिंसा र अराजकताबाट जोगाउन जनताको निर्णायक भूमिका आवश्यक रहेको उल्लेख गर्दै भन्नुभयो, “हत्यारा र अराजकतावादी प्रवृत्तिलाई जनताले अस्वीकार गर्छन्। देशलाई सही दिशामा अघि बढाउने निर्णय जनताले नै गर्नेछन्, र नेकपा जनताको विश्वासको आधार बनेर उभिएको छ।”
राैतहटकाे गौर अशान्त
गौर । कर्फ्यू जारी गरिए पनि रौतहटको गौरका भित्री बस्तीहरूमा आगजनीका घटना रोकिएका छैनन् । जिल्ला प्रशासनले कर्फ्यू आदेश जारी गरी नेपाली सेना परिचालन गरेपछि मुख्य सडक क्षेत्र शान्त देखिए पनि भित्री टोलहरूमा तनाव कायम रहेको छ। भर्खरै गौर नगरपालिका–४ मचकुटिया टोलमा एक स्कुटरमा आगजनी गरिएको छ। यसअघि प्रदर्शनका क्रममा ६ मोटरसाइकल र २ जिपमा आगजनी भएको प्रहरीले जनाएको छ। तनाव गौर नगरपालिका–६ स्थित सनगढा गाउँमा दुई समुदायबीच भएको झडपपछि सुरु भएको हो। मस्जिदमा प्रार्थनाका क्रममा बाजा बजाएको विषयलाई लिएर विवाद चर्किँदा वडा नम्बर ४, ५ र ६ मा झडप फैलिएको थियो। स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर र अश्रुग्यास प्रहार गरेको थियो। केही सवारीसाधनमा आगजनी र तोडफोड हुनुका साथै केही व्यक्ति सामान्य घाइते भएका छन्। हिंसा थप फैलिन सक्ने देखिएपछि जिल्ला प्रशासन कार्यालयले शनिबार दिउँसो १ बजेदेखि कर्फ्यू आदेश जारी गरेको छ। प्रशासनका अनुसार पूर्वमा मुडबलवा गेट, पश्चिममा लालबकैया बाँध, उत्तरमा बम नहर र दक्षिणमा गौर भन्सार कार्यालयसम्म कर्फ्यू क्षेत्र तोकिएको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भूसालले जानकारी दिएका छन्।
सुनसरीमा कांग्रेस–रास्वपा कार्यकर्ताबीच झडप, प्रहरीको लाठीचार्ज
सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा नेपाली कांग्रेसको चुनावी कार्यक्रमका क्रममा कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताबीच झडप भएको छ। स्थिति नियन्त्रणबाहिर जान थालेपछि प्रहरीले लाठीचार्ज गरेको जनाएको छ। सुनसरी क्षेत्र नम्बर–४ अन्तर्गत आयोजित चुनावी सभामा कांग्रेस उम्मेदवार ज्ञानेन्द्र कार्की सम्बोधनका लागि जाँदै गरेका बेला बाटोमै रास्वपाका केही युवासँग जम्काभेट भएको थियो। सामान्य भनाभनबाट सुरु भएको विवाद चर्किँदै हात हालाहालको स्थितिमा पुगेको प्रत्यक्षदर्शीहरूले बताएका छन्। झडप बढ्न थालेपछि निर्वाचन सुरक्षामा खटिएको प्रहरीले दुवै पक्षका कार्यकर्तालाई तितरबितर बनाउन लाठीचार्ज गरेको हो। घटनाका क्रममा केही कार्यकर्ता सामान्य घाइते भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ, यद्यपि आधिकारिक विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। सुनसरीका प्रहरी प्रमुख एसपी केशव थेवेका अनुसार कांग्रेसको भ्रातृ संगठन तरुण दलका कार्यकर्ता र रास्वपाका कार्यकर्ताबीच विवाद चर्किएको थियो। “दुवै पक्षबीच हात हालाहालको अवस्था सिर्जना भएपछि स्थिति नियन्त्रणमा लिन सामान्य बल प्रयोग गरिएको हो,” उनले भने। प्रहरीका अनुसार झडपमा संलग्न कार्यकर्ताहरू आपसमा छिमेकी भए पनि फरक–फरक राजनीतिक दलसँग आवद्ध रहेकाले विवाद उत्पन्न भएको थियो। केहीबेर तनावपूर्ण अवस्था रहे पनि हाल स्थिति सामान्य बनेको र थप सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ।
युवा रोजगारीलाई प्राथमिकतामा राख्ने ललितपुर–३ का राजकाजी महर्जन प्रतिबद्धता
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी ललितपुर क्षेत्र नं. ३ का उम्मेदवार राजकाजी महर्जन ले आफू निर्वाचित भएमा शहरी व्यवस्थापन सुधार, सम्पदा संरक्षण र युवा रोजगारीलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएका छन्। महर्जनले वर्षौंदेखि अव्यवस्थित बनेको सडक, ढल निकास र ट्राफिक व्यवस्थापनलाई दीर्घकालीन योजनामार्फत सुधार गर्ने बताएका छन्। पाटन क्षेत्रका ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन गर्दै त्यसलाई पर्यटकीय आकर्षणका रूपमा विकास गरिने उनको भनाइ छ। उनले खानेपानी आपूर्तिमा देखिएको समस्या समाधानका लागि एकीकृत योजना ल्याइने तथा वर्षायाममा देखिने डुबान र जलनिकास समस्यालाई समाधान गर्न विशेष कार्ययोजना बनाइने प्रतिबद्धता व्यक्त गरेका छन्। युवालाई लक्षित गर्दै सीप विकास तालिम, स्टार्टअप तथा साना उद्यम प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिने उनको उल्लेख छ। स्थानीय स्तरमै रोजगारी सिर्जना गर्न निजी क्षेत्रसँग सहकार्य गरिने र प्रविधिमैत्री सेवा विस्तार गरिने उनले बताएका छन्। महर्जनले ललितपुर–३ लाई “स्मार्ट, व्यवस्थित र सांस्कृतिक रूपमा समृद्ध क्षेत्र” बनाउने लक्ष्य अघि सारेका छन्। सार्वजनिक सेवा प्रवाहलाई डिजिटल प्रणालीमार्फत छिटो, पारदर्शी र सहज बनाइने उनको प्रतिबद्धता छ। स्थानीय तहसँग समन्वय गर्दै शिक्षा र स्वास्थ्य पूर्वाधार सुधार गरिने, सामुदायिक विद्यालयको गुणस्तर उकास्न विशेष कार्यक्रम ल्याइने तथा स्वास्थ्य चौकीहरूको स्तरोन्नति गरिने उनले बताएका छन्। महर्जन लामो समयदेखि सामाजिक तथा राजनीतिक गतिविधिमा सक्रिय रहँदै आएका छन्। स्थानीय समुदायसँग निरन्तर सम्बन्ध राख्दै आएका उनी शहरी मुद्दा र सम्पदा संरक्षणका विषयमा आवाज उठाउँदै आएका व्यक्तित्वका रूपमा परिचित छन्। निर्वाचन नजिकिँदै जाँदा ललितपुर–३ मा उनको अभियान तीव्र बनेको छ।
काठमाडौँ–६ मा हिमाल शर्माको पक्षमा जनलहर बढ्दै, घरदैलोमा उत्साहजनक समर्थन
काठमाडौं । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ६ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार हिमाल शर्माको पक्षमा जनलहर बढ्दो देखिएको छ। घरदैलो अभियान, टोलभेला तथा सार्वजनिक सभाहरूमा स्थानीय बासिन्दाको उल्लेखनीय सहभागिताले उनको उम्मेदवारीलाई थप ऊर्जा दिएको छ। विद्यार्थी राजनीतिबाट उदाएका शर्मा पूर्वअध्यक्षका रूपमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) मा सक्रिय भूमिका निर्वाह गरिसकेका नेता हुन्। शिक्षा, मानवअधिकार र सामाजिक न्यायका सवालमा अग्रपंक्तिमा रहेर काम गरेको अनुभवलाई उनले अब संसद्मार्फत संस्थागत गर्ने प्रतिबद्धता जनाएका छन्। चुनावी अभियानका क्रममा उनले युवा सशक्तीकरण, गुणस्तरीय र सर्वसुलभ शिक्षा, सुलभ स्वास्थ्य सेवा, रोजगारी सिर्जना तथा स्थानीय पूर्वाधार विकासलाई प्राथमिकतामा राखेका छन्। विशेषगरी काठमाडौँ–६ भित्रका सडक, खानेपानी, ढल व्यवस्थापन, सार्वजनिक विद्यालयको स्तरोन्नति र युवाका लागि सीपमूलक कार्यक्रम सञ्चालन जस्ता विषयलाई उनले मुख्य एजेन्डा बनाएका छन्। “हामीले आन्दोलन र संघर्षबाट सिकेको पाठ अब नीतिगत तहमा रूपान्तरण गर्न चाहेका छौं,” शर्माले एक टोलभेलामा भने, “जनताको प्रत्यक्ष सरोकारका विषय संसद्मा सशक्त रूपमा उठाउने प्रतिबद्धता लिएको छु।” उनको अभियानमा युवाको उल्लेखनीय उपस्थिति देखिएको छ। सामाजिक सञ्जालमार्फत सक्रिय प्रचार, स्वयंसेवकहरूको परिचालन र दैनिक घरदैलो कार्यक्रमले चुनावी माहोललाई तातेको छ। विभिन्न टोलमा आयोजित छलफल कार्यक्रममा स्थानीय बासिन्दाले आफ्ना समस्या राख्दै प्रत्यक्ष संवादको अवसर पाएको बताएका छन्। स्थानीय मतदाताहरूले परम्परागत राजनीतिक शैलीभन्दा फरक, संवादमुखी र सहभागितामूलक अभियानले आफूहरूलाई आकर्षित गरेको प्रतिक्रिया दिएका छन्। “हामीलाई भेट्न आफैं घरमा आउनु, समस्या सुन्नु र समाधानको स्पष्ट खाका प्रस्तुत गर्नु सकारात्मक संकेत हो,” एक स्थानीय मतदाताले बताए। निर्वाचन मिति नजिकिँदै जाँदा काठमाडौँ–६ मा चुनावी प्रतिस्पर्धा रोचक बन्दै गएको छ। तर, शर्माको सक्रियता, युवा पुस्ताको समर्थन र संगठित अभियानका कारण उनको पक्षमा जनमत क्रमशः सुदृढ बन्दै गएको समर्थकहरूको दाबी छ। समग्रमा, काठमाडौँ–६ मा हिमाल शर्माको चुनावी अभियानलाई नयाँ पुस्ताको प्रतिनिधित्व र परिवर्तनको आकांक्षासँग जोडेर हेरिएको छ। आगामी निर्वाचन परिणामले यस जनलहरलाई कति हदसम्म मतमा रूपान्तरण गर्छ, त्यो भने केही दिनमै स्पष्ट हुनेछ।
यस्ता छन् नेकपा डडेल्धुराका उम्मेदवार मान सिंह मालका मुख्य प्रतिबद्धता
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका डडेल्धुराका उम्मेदवार मान सिंह मालले शिक्षा, स्वास्थ्य, जलाधार तथा भूसंरक्षण, पूर्वाधार विकास, कृषि तथा पशुपालन, वन तथा पर्यटन प्रवद्र्धन, उद्योग, सञ्चार, सिँचाई र युवा तथा खेलकुलको एजेन्डालाई प्राथमिकता दिएका छन् । यि एजेन्डा बोकेर घरदैलो गरिरहेका मालको पक्षमा जनलहर बढ्दै गइरहेको छ । डडेल्धुराको विकासका लागि उनले बुँदागत रुपमा आफ्नो योजना प्रष्ट पारेका हुन् । स्थानीय आवश्यकता र जनचाहाना अनुसारको एजेन्डा बोकेसँगै डडेल्धुरामा यसपटक नेकपाको झण्डा फहराउने अवस्था बनेको छ । डढेल्धुरालाई प्राविधिक शिक्षाको हब बनाइने उम्मेदवार मालले डडेल्धुरा बहुमुखी क्याम्पसलाई सुदुरपश्चिमको शैक्षिक हव र त्रिवेणी बहुमुखी क्याम्पस जोगबुढामा स्नातकोत्तर तह र प्राविधिक धार संञ्चालनका लागि पहल गर्ने प्रतिबद्धता गरेका छन् । उनले आर्थिक रूपले विपन्न समुदायका विद्यार्थीहरूलाई निशुल्क रूपमा पढ्ने व्यवस्था मिलाउने, ५ वर्ष भित्र प्रदेश निर्वाचन क्षेत्र स्तरीय प्राविधिक कलेजको स्थापना गरी डडेल्धुरालाई प्राविधिक शिक्षाको हव बनाउने उनको प्रतिबद्धता छ । ट्रमा सेन्टर र सर्पदंश उपचार केन्द्र स्थापनाका लागि पहल गरिने उनले डडेल्धुरा अस्पताललाई सुविधासम्पन्न विशेषज्ञ सेवा केन्द्र बनाउँदै अविलम्ब एम.बि.बि.एस. कक्षा संञ्चालन गर्न पहल गर्ने उल्लेख गरेका छन् । पालिका स्तरीय अस्पतालको पूर्वाधार निर्माण तथा जनसक्ति व्यवस्थापनका लागि पहल गर्ने, सुविधा सम्पन्न ट्रमा सेन्टरको व्यवस्था गर्न पहल पर्ने र जोगबुडा अस्पताललाई विशेषज्ञ सेवा विस्तार संगै भित्रि मधेश क्षेत्रमा सर्पदंश उपचार केन्द्र स्थापनाका लागि पहल गर्ने उनको प्रतिबद्धता छ । त्यस्तै, प्रत्येक ३÷३ महिनामा विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गर्न पहल गर्ने बताइएको छ । जोखिमपूर्ण बस्ती एक वर्षभित्र स्थान्तरण गरिने मालले बाढी र पहिरो प्रभावित क्षेत्रको जोखिम नक्सांकन र दीर्घकालीन नियन्त्रण योजना निर्माण गरी जोखिमपूर्ण वस्ती १ वर्ष भित्र स्थान्तरणका लागि पहल गर्ने बताएका छन् । महाभारत घनघश्य चुरे लगायत उच्च पहाडी भुभागमा पानिको मुहान रिचार्जको कार्यक्रमका लागि पहल गर्ने उल्लेख गरिएको छ भने तटबन्ध, ग्याबियन जाली र नदी नियन्त्रण संरचना निर्माण गरी डडेल्धुरा जिल्लाका ठुला नदीहरू महाकाली, रङ्गुन, पन्तुरा,सादनी, रडुव खोला, डोटी खोला, चामागाडमा तटबन्ध निर्माणका लागि पहल गर्ने उनको उद्घोष छ । महाकाली नदीमा मोटरेवल पक्की पुल तथा छोटी भन्सार नाका निर्माण,मुख्य नदीहरूमा पक्की पुल निर्माण र १ वर्ष भित्र डडेल्धुरा जिल्लालाई पूर्ण विद्युतीकरण र व्यवस्थीत विद्युत लाईन विस्तार गर्न पहल गर्ने उल्लेख गरिएको छ । दैजी जोगबुढा चिर्किट्टे घटालथान, बगरकोट रूपाल, घुम्ति चिर्किट्टे, उग्रतारा मेलौली र पोखरा बेलापुर, भत्काडा रेल सडकलाई धार्मिक पर्यटकीय सडकको रूपमा विकास गर्दै तत्काल स्तरोन्नती र कालोपत्रेका लागि पहल गर्ने लगायतका कुरामा उनको प्रतिबद्धता छ । मान सिंह मालले २०५५ सालमा विद्यार्थी संगठनमार्फत् आफ्नो राजनीतिक जीवन सुरु गरेका थिए । तत्कालिन नेकपा(माओवादी केन्द्र)को जिल्ला अध्यक्ष र प्रदेश अध्यक्षको समेत जिम्मेवारी सम्हालिसकेका उनी सशक्त उम्मेदवारको रुपमा प्रस्तुत भएका छन् । उनको उम्मेदवारीले डडेल्धुरामा नेकपाको विजय सम्मुखमा पुगेको छ ।
आश्वासनका पोकामा नपर्न मतदातालाई विश्वदीपको अपिल
बुटवल । रुपन्देही क्षेत्र नं–२ मा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार सुवास पाण्डे ‘विश्वदीप’ यतिबेला जनताको घर–आँगनमै पुगेर आफ्ना एजेण्डा र प्रतिबद्धता राख्दै चुनावी अभियानलाई तीव्र बनाइरहेका छन्। शुक्रबार पनि उनको घरदैलो कार्यक्रम तिलोत्तमा नगरपालिकाका विभिन्न वस्तीमा उत्साहपूर्ण रूपमा सम्पन्न भयो। वडा नं–५ का प्रेमनगर, टिकानगर, शान्ति मावि चोक, नयाँमिल लगायतका क्षेत्रमा उम्मेदवार पाण्डे स्वयं उपस्थित भई स्थानीय मतदातासँग प्रत्यक्ष संवादमा उत्रिएका थिए। तारा चिन्ह अंकित झण्डा, व्यानर र प्रतिबद्धतापत्रसहित पुगेको टोलीले घर–घरमा पुगेर भोट माग्दै आफ्ना नीतिगत प्राथमिकता स्पष्ट पारेको थियो। मतदातासँगको भेटघाटमा विश्वदीपले चुनावका बेला मात्रै देखिने ‘लोभलालच र आश्वासनका पोका’बाट सावधान रहन आग्रह गरे। “तपाईंहरूको अमूल्य मतले पाँच वर्षको भाग्य र भविष्य निर्धारण गर्छ,” उनले भने, “त्यसैले विचार गरेर, संयमित भएर निर्णय लिनुहोस्।” उनले अहिलेको निर्वाचनलाई सामान्य नियमित प्रक्रिया मात्र नभई जनआन्दोलनले सिर्जना गरेको विशेष राजनीतिक परिस्थितिको परिणामका रूपमा चित्रित गर्दै आन्दोलनको मर्म र जनभावना बुझेर मतदानमा सहभागी हुन अपिल गरे। घरदैलोका क्रममा मतदाताले पनि विभिन्न जिज्ञासा राख्दै निर्वाचनपछि जनताका समस्या प्राथमिकतामा राख्न आग्रह गरेका थिए। त्यसको जवाफ दिँदै उम्मेदवार पाण्डेले जीत–हारभन्दा माथि उठेर जनताको पक्षमा सधैं सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे। “परिणाम जे आए पनि जनताका पीरमर्का समाधान गर्ने जिम्मेवारीबाट पछि हट्ने छैन,” उनले स्पष्ट पारे। जनताको उत्साह, सुझाव र विश्वासले आफ्नो अभियान थप ऊर्जावान बनेको बताउँदै उनले कुनै ठोस एजेण्डा बिना केवल आश्वासन बाँड्न आउने उम्मेदवारलाई चिनेर विवेकपूर्ण मत प्रयोग गर्न मतदातालाई आग्रह गरे। निर्वाचनपछि जनपक्षीय कामको नतिजा व्यवहारमै देखिने दाबी समेत उनले गरे। निर्वाचन परिचालन समितिका संयोजक नारायण जीसी ‘निर्मल’का अनुसार निर्वाचन आयोगको आचारसंहिताभित्र रहेर घरदैलो कार्यक्रम नियमित रूपमा जारी रहनेछ। रुपन्देही क्षेत्र नं–२ अन्तर्गत बुटवल उपमहानगरपालिकाका १ देखि १३, तिलोत्तमा नगरपालिकाका १ देखि ६ तथा सैनामैना नगरपालिकाका १ देखि ४ नम्बर वडासम्म उम्मेदवारको प्रत्यक्ष भेटघाट कार्यक्रम सञ्चालन भइरहेको छ। संयोजक जीसीले प्रत्येक दिन सबै वडामा उम्मेदवार स्वयम् पुग्न नसके पनि अभियान निरन्तर जारी रहने र स्थानीयसँग अन्तरक्रिया तथा छलफलमार्फत आफ्ना नीति–कार्यक्रमबारे जानकारी गराइने बताए। जनताको घरदैलोमै पुगेर विश्वासको सम्बन्ध निर्माण गर्दै अघि बढेको विश्वदीपको अभियानले रुपन्देही–२ मा सकारात्मक तरंग पैदा गरेको स्थानीय कार्यकर्ताहरूको दाबी छ।
नेकपा बर्दिया-१ का उम्मेदवार विष्णु प्रसाद चौधरीको यस्ता छन् प्रतिबद्धता
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी बर्दिया क्षेत्र नं. १ का उम्मेदवार विष्णु प्रसाद चौधरीले आफु निर्वाचित भएमा ९ वर्ष अघि नै भत्केर अलपत्र रहेको जब्दीघाट, जुरपानी खोला, अछरिया खोलामा नयाँ पुलहरू निर्माण गर्ने प्रतिबद्धता गरेका छन् । उनले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न नीतिगत सुधारका पहल गर्ने साथै मानव सुरक्षा योजना बनाई कार्यान्वयन गरिने बताएका छन् । बढैया ताल, सतखलुवा ताल संरक्षण, कृष्णसार संरक्षण केन्द्रको सम्बद्र्धन र विकासको गुरु योजना निर्माण तथा कार्यान्वयन गरी पर्यटकीय गन्तव्य बनाइने उनको प्रतिबद्धता छ । सिकलसेल ऐनिमिया पहिचान, नियन्त्रण र रोकथामको लागि सिकलसेल उपचार केन्द्र स्थापना गरिने उनको उल्लेख छ । वारबर्दियामा रहेको सहिद विष्णु–धनी बहुप्राविधिक शिक्षालयमा संकाय र प्रविधि थप गरी बर्दियाकै केन्द्र बनाइने प्रतिबद्धता छ । बबई, भादा, मानखोला लगायतका नदिहरूमा तटबन्धन कार्यलाई प्राथमिकता दिइने, निजी क्षेत्रलाई प्रोत्साहन गर्न बाँसगढीको पुर्वी भागलाई औधोगिक क्षेत्र घोषणा गर्ने, गुलरिया रजनवा नाकालाई मुख्य भन्सार बनाइने र लघुवित्त, मिटरव्याज पीडितलाई न्याय दिलाउन नीतिगत सुधारमा पहल गर्ने उनको प्रतिबद्धता छ । चौधरी थारु समयको हक र अधिकारका निम्ति लामो समयदेखि लड्दै आएका छन् । उनी पहिलो संविधानसभामा संविधानसभा सदस्य थिए भने थारु आयोगको अध्यक्ष समेत भइसकेका छन् । कमैया र कमलहरीको पुनस्र्थापना तथा पीडितका लागि कानुनी उपचार लगायतमा पनि उनले योगदान दिएका छन् । आफ्नो सम्पूर्ण जीवन राजनीतिक संघर्षमा बिताएका चौधरीले निर्विवाद व्यक्तित्वको छवि बनाएका छन् ।
नुवाकाेटका रास्वपाका नेता थापाले पनि छाडे पार्टी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नुवाकोटका नेता अशोककुमार थापाले पार्टी परित्याग गर्दै नेतृत्व र संगठनको वर्तमान अवस्थाप्रति गम्भीर प्रश्न उठाएका छन्। शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत उनले पार्टीबाट अलग भएको औपचारिक घोषणा गरेका हुन्। थापाले पार्टी आफ्नो प्रारम्भिक विचार, सिद्धान्त र मूल्य–मान्यताबाट क्रमशः टाढिँदै गएको आरोप लगाएका छन्। उनले नेतृत्व चयन प्रक्रिया नीतिगत आधारभन्दा पनि व्यक्तिगत प्रभाव र “आशीर्वाद” केन्द्रित हुन थालेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। पार्टीभित्र संगठन निर्माणमा निरन्तर खटिने कार्यकर्तालाई पाखा लगाएर सीमित समूहलाई प्राथमिकता दिइएको उनको दाबी छ। उनका अनुसार हालको अवस्थामा पार्टी आन्तरिक लोकतन्त्र, पारदर्शिता र सामूहिक निर्णय प्रक्रियाबाट विमुख हुँदै गएको छ। यस्तो परिस्थितिमा पार्टीभित्र रहेर योगदान गर्ने वातावरण नदेखिएकाले बाध्य भएर बर्हिगमनको निर्णय लिनुपरेको उनले स्पष्ट पारेका छन्। थापा २०७९ सालको निर्वाचनपछि रास्वपा नुवाकोट जिल्ला सदस्य तथा बिदुर नगर इन्चार्जको जिम्मेवारीमा सक्रिय थिए। उनी २०७९ सालको आम निर्वाचनमा नुवाकोट क्षेत्र नम्बर–२ बाट उम्मेदवारसमेत बनेका थिए। पार्टीका नेता सुमनबिक्रम पाण्डेनिकट मानिने थापाको बर्हिगमनलाई जिल्लाको राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ। उनको बाहिरिनुले नुवाकोटमा पार्टी संगठनभित्र देखिएको असन्तुष्टिलाई थप सतहमा ल्याएको विश्लेषण राजनीतिक वृत्तमा हुन थालेको छ। पार्टी नेतृत्वले भने यस विषयमा औपचारिक प्रतिक्रिया दिएको छैन।

