उपेन्द्र यादवले दायर गरेको रिट हेर्न नभ्याइनेमा

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवको पार्टी फुटविरुद्धको रिट ‘हेर्न नभ्याइने’मा परेको छ।

यादवले अशोक राई नेतृत्वको समूहलाई दलको मान्यता नदिन मागसहित दायर गरेको रिट सोमबार प्रधान्यायाधी विश्वम्भरप्रासाद श्रेष्ठ र न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासमा परेको थियो।

यसअघि जेठ ८ मा न्यायाधीश मुसलमानले नै सुनुवाइ गर्दै यादवले दायर गरेका दुईवटा रिटको सुनुवाइ एकै ठाउँ राख्न आदेश दिएका थिए।

सोमबार यादवले दायर गरेका दुवै रिट सुनुवाइका लागि २६ औँ र २७ औँ नम्बरमा पेशी चढाइएको थियो।इजलासको अन्तिम नम्बरमा रहेको रिट हेर्न नभ्याइनेमा परेको हो।

कार्यादेशबारे आन्तरिक छलफल गर्न कांग्रेसले बोलायो पदाधिकारी बैठक

काठमाडौँ । नेपाली कांग्रेसले सहकारी ठगीमा संसदीय छानबिन समितिको कार्यादेशबारे आन्तरिक छलफल गर्न वर्तमान र पूर्वपदाधिकारीको बैठक बोलाएको छ ।  बैठकले पछिल्लो राजनीतक परिस्थितिबारे साझा धारणा बनाउने बताइएको छ । सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा आज दिउँसो ३ बजेका लागि बैठक बोलाइएको कांग्रेस सहमहामन्त्री जीवन परियारले बताए। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित सत्ता गठबन्धनका नेताहरूसँग बालुवाटारमा भएको छलफलपछि कांग्रेसले आन्तरिक गर्न लागेको हो। 

गण्डकी सरकार विरुद्धको मुद्दामा आज अन्तिम बहस हुँदै

काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको सरकार विरुद्धको मुद्दामा आज सर्वोच्च अदालतमा अन्तिम बहस हुँदैछ। सो मुद्दा न्यायाधीशद्वय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको इजलासमा हेर्दाहेर्दैमा रहेको छ।  नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता सुरेन्द्र पाण्डेले दायर गरेको रिटमा अघिल्लो सातादेखि बहस भइरहेको छ। सो मुद्दामा रिट निवेदक र सरकारी पक्षले बहस गरिसकेका छन् भने विपक्षी र जवाफी बहस मात्र बाँकी छ।  जवाफी बहस सकेपछि सर्वोच्चले आजै निर्णय दिने छ।  मुख्यमन्त्री अधिकारीले लिएको विश्वासको मत असंवैधानिक भएकाले बदर हुनुपर्ने माग रिटमा गरिएको छ। ६० सदस्य प्रदेशसभामा ३० जनाले मत दिएको तर सभामुखले बहुमत भएको भनी व्याख्या गरेकाले उक्त निर्णय बदर हुनुपर्ने माग रिटमा गरिएको छ।  रिटमा मुख्यमन्त्री अधिकारीको विश्वासको मत मत बदर भएपछि अर्को उपधारा अनुसार आफू मुख्यमन्त्री हुने भएकाले त्यस्तो आदेश पनि जारी हुनुपर्ने जिकिर रिटमा गरिएको छ ।  सो मुद्दामा जेठ ८ गतेदेखि बहस सुरु भएको थियो भने जेठ ९ गते सरकारका तर्फबाट बहस भएको थियो।

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं ।स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेर कारोबार भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ३०० रुपैयाँमा बढेर करोबार भएको हो। सोमबार छापावाल सुन प्रतितोला एक लाख ३७ हजार २०० रुपैयाँमा कारोबार भएको हो। आइतबार छापावाल सुन प्रतितोला एक लाख ३६ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो। सोमबार तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। चाँदी प्रतितोला २५ रुपैयाँ बढेर कारोबार भएको छ। सोमबार चाँदी प्रतितोला एक हजार ८८० रुपैयाँमा कारोबार भएको छ। आइतबार चाँदी प्रतितोला एक हजार ८५५ रुपैयाँमा कारोबार भएको थियो। 

कोशी प्रदेश सभा : विनियोजन विधेयकमाथि छलफल हुँदै

काठमाडौं । कोशी प्रदेश सभाको बैठकमा आज ‘कोशी प्रदेश विनियोजन विधेयक, २०८१ को सिद्धान्त र प्राथमिकता’ माथि छलफल हुँदै छ।  दिउँसो २ बजे बोलाइएको बैठकमा आइतबार पेश भएको सिद्धान्त र प्राथमकितामाथि सांसदले धारणा राख्ने र सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको कोशी प्रदेशसभा सचिवालयले जनाएको छ।  आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले सिद्धान्त र प्राथमिकता पेश गरेका थिए। बैठकमा नेपाली कांग्रेसतर्फका सबै प्रदेशसभा सदस्य  उपस्थित थिएनन्। 

दश वर्षमा १० हजार २ सय ३० नेपालीको बाकसमा आयो शव

काठमाडौं । दश वर्षमा विदेशमा १० हजार २ सय ३० जनाले ज्यान गुमाएका छन्। सरकारले सार्वजनिक गरेको गत फागुनसम्मको तथ्यांक अनुसार  आर्थिक वर्ष २०७०/७१ देखि चालु आर्थिक वर्षको फागुन मसान्त सम्म वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पुगेका १० हजारभन्दा धेरै नेपाली नागरिकले ज्यान गुमाएका हुन्। आर्थिक वर्ष २०७०/७१ सालमा ८७७ जनाले विदेशी भूमि ज्यान गुमाउँदा २०७८/७९ मा सबैभन्दा धेरै १३ सय ९५ जनाको मृत्यु भएको छ। चालु आर्थिक वर्षको फागुन सम्म ६९४ जनाले ज्यान गुमाइसकेको वैदेशिक रोजगार विभागले जनाएको छ।मृत्यु हुनेमा ९ हजार ९ सय ६५ पुरुष र २ सय ६५ महिला रहेका छन्।  हेर्नुहोस् तथ्यांक  

मेयर कप फुटबल : दुर्गा शेषकान्त मावि क्वाटरफाइनलमा

भरतपुर । भरतपुर महानगरपालिकाको आयोजना र सेन्ट्रल कलेजको मुख्य प्रायोजनमा जारी भरतपुर मेयर कप अन्तर विद्यालय फुटबलमा आजबाट नकआउट चरणको खेल सुरु भएको छ । प्रतियोगिताको प्रि क्वाटरफाइनलमा दुर्गा शेषकान्त माविले  जित हात पारेको छ। उसको जितमा असिम परियारले खेलको ३० औं मिनेटमा गोल गरे। महेन्द्र गहतराजले खेलको ३७ बादल घलानले ४० औं मिनेटमा गोल गरे। बादल म्यान अफ दि म्याच भए। प्रतियोगितामा सोमबार पनि एक खेल हुनेछ। सोमबार ग्रामोदय इङलिस स्कुल र जनज्योति मावि भिड्नेछन््। खेल कृष्णपुर मैदानमा दिउँसो ४स्३० बजे हुने खेल संयोजक तथा सह आयोजक चितवन जिल्ला फुटबल संघका वरिष्ठ उपाध्यक्ष विजय घलले जानकारी दिए।

विश्वकप वार्मअप : आज नेपाल र क्यानडा खेल्दै

काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेट अघिका वार्मअप खेल आजदेखि सुरु हुँदै छन् । आज नेपालले वार्मअप खेलमा क्यानडाको सामना गर्दैछ। खेल नेपाली समयअनुसार राति सवा ९ बजे अमेरिकाको डल्लासस्थित क्रिकेट मैदानमा सुरु हुनेछ।नेपाल र क्यानडावीच अहिलेसम्म एक मात्र टी–२० अन्तर्राष्ट्रिय खेल भएको छ । सन् २०२२ को फेब्रुअरी २१ मा भएको सो खेल नेपालले जितेको थियो। आइसीसीको टी–२० वरियतामा नेपाल १७औँ स्थानमा छ भने क्यानडा २३औँ स्थानमा रहेको छ।नेपालले यो खेलपछि मे ३० मा डलासमै अमेरिकाविरुद्ध खेल्ने तालिका रहेको छ।

यस्तो छ सोमबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८१ साल जेठ १४ गते सोमबार सन् २०२४ मे २७ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ६६ पैसा र बिक्री दर १३३ रुपैयाँ २६ पैसा पुगेको छ।युरो एकको खरिद दर १४३ रुपैयाँ ९० पैसा र बिक्री दर १४४ रुपैयाँ ५५ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ०४ पैसा र बिक्री दर १६९ रुपैयाँ ८० पैसा रहेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४० पैसा र बिक्री दर ३६ रुपैयाँ ५६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर 

चितवनमा ठोक्किए चार सवारीसाधन, एकजनाको मृत्यु, २२ घाइते

चितवन । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा गएराति चार सवारीसाधन एकै ठाउँमा ठोक्किएका छन् । उक्त दुर्घटनामा एकजनाको मृत्यु भएको छ । २२ जना घाइते भएका छन् । दुर्घटनामा परी अन्दाजी १७ वर्षीय किशोरको मृत्यु भएको छ । उनको परिचय खुल्न सकेको छैन ।  जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार घाइतेमध्य ८ जनाको अवस्था गम्भीर र बाँकीको मध्यम रहेको छ । गएराति साढे १२ बजे काठमाडौंबाट प्युठानतर्फ जाँदै गरेको बा४ख ९०८६ नम्बरको बस, नारायणगढदेखि मुग्लिनतर्फ जाँदै गरेको ना ३ ख ७९१५ नम्बरको ट्रक, काठमाडौंबाट महोत्तरीतर्फ आउँदै गरेको ना ७ ख ३२४८ नम्बरको बस र वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको ना६ख ८९६८ नम्बरको बस एकैपटक  ठोक्किएका थिए ।  दुर्घटनापश्चात् राति सडक अवरुद्ध भएको थियो । आज बिहानदेखि सवारी साधन दुईतर्फी सञ्चालनमा ल्याइएको प्रहरी नायब उपरीक्षक रिजालले जानकारी दिए ।  घाइतेमध्ये १८ जनाको इच्छाकामना आधारभूत अस्पताल कुरिन्टारमा तथा चारजनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

हैदराबादलाई हराउँदै कोलकाता आईपीएल च्याम्पियन

काठमाडौं ।फाइनलमा सनराइजर्स हैदराबादविरुद्ध आठ विकेटको सहज जित निकाल्दै कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल)को उपाधि जितेको छ। आईपीएलको इतिहासमा कोलकाताको यो तेस्रो उपाधि हो। यसअघि कोलकाता सन् २०१२ र २०१४ को संस्करणमा च्याम्पियन बनेको थियो। आइतबार चेन्नाईमा जारी खेलमा हैदराबादले प्रस्तुत गरेको ११४ रनको लक्ष्य कोलकाताले १०.३ ओभरमा दुई विकेट गुमाएर पूरा गर्यो। कोलकाताको जितमा वेन्कटेस ऐयरले सर्वाधिक अविजित ५२ रन बनाए। उनले २६ बलमा चार चौका र तीन छक्का प्रहार गरे। ओपनर रहमनुल्लाह गुबर्जले ३९ रन थपे। हैदराबादका कप्तान प्याट कुमिन्स र सहबाज अहमेदले समान एक विकेट लिए। त्यसअघि टस जितेर ब्याटिङमा आएको हैदराबादले १८=३ ओभरका सबै विकेट गुमाएर ११३ रनमात्र बनाएको थियो । आईपीएलको इतिहासमा फाइनलमा बनेको यो नै अहिलेसम्मको सबैभन्दा सानो योगफल हो । हैदराबादका कप्तान प्याट कुमिन्सले सर्वाधिक २४ रन बनाए । आइदेन मार्करमले २०, हेनरिक क्लासेनले १६ र नितिश कुमार रेड्डीले १३ रन थपे । हैदराबादलाई कमजोर योगफलमा रोक्न कोलकाताका आन्द्रे रसेलले तीन विकेट लिए । मिचेल स्टार्क र हर्षित रानाले समान दुई विकेट लिँदा वैभव अरोरा, सुनिल नारिन र वरुण चक्रवर्तीले समान एक विकेट लिए ।

यी चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । मूलुकमा हाल स्थानीय वायुको प्रभाव र पूर्वी भूभागमा ‘रेमल’ चक्रवातको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अहिले कोशी प्रदेशमा साधारणतया बदली रहेको छ। कोशी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाका साथै बागमती प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ । यस्तै देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ। आज दिउँसो बागमती, मधेश, कोशी र गण्डकी प्रदेशलगायत देशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा मौसम आंशिक बदली रहने छ। कोशी, मधेस र बागमती प्रदेशका केही स्थान, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन, चट्याङ रहावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ। आज राति कोशी प्रदेशमा साधारणदेखि पूर्ण बदली, मधेस, बागमती र गण्डकी प्रदेशलगायत बाँकी पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। आज सूर्योदय बिहान ५ बजेर ९ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ५३ मिनेटमा हुनेछ ।

सुनको मूल्य स्थिर, यस्तो छ मूल्य

काठमाडौं । नेपाली बजारमा साताको पहिलो कारोबार दिन अर्थात् आइतबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य स्थिर रहँदै छापावाल सुनको मूल्य तोलामा १ लाख ३६ हजार ९०० रुपैयाँ र तेजाबी सुनको तोलामा १ लाख ३६ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ । यस अघि शुक्रबार पनि सोही  मूल्यमा कारोबार भएको थियो । त्यसैगरी आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १८ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

वर्षाका कारण काठमाडौँमा उडान अवतरण प्रभावित

काठमाडौँ । काठमाडौँमा प्रतिकूल मौसमका कारण आन्तरिक तथा बाह्य उडान प्रभावित बनेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार चीनबाट आएको एयर चाइनाको ‘सीसीए ४३७’ जहाज उतै डाइभर्ट गरिएको छ । अहिले नेपाली आकाशमा स्काईअप एयरलाइन्स, विमान बङ्गलादेश, श्रीलंकन एयरलाइन्स लगायतका जहाज होल्ड भइरहेका छन्। आन्तरिक उडानका जहाज समेत होल्ड गरिएको छ । काठमाडौँमा आज बिहानैबाट मौसम प्रतिकूल बनिरहेको छ।अहिले काठमाडौं लगायत देशका विभिन्न ठाउँमा वर्षा भैरहेको छ ।

प्रतिनिधिसभा बैठक, नीति कार्यक्रम पारित गर्ने तयारी (प्रत्यक्ष प्रसारण)

काठमाडौं। प्रतिनिधिसभा बैठक एक घण्टा ढिलोगरी सुरुभएको छ। आजको बैठकमा नीति तथा कार्यक्रम पारित गर्ने तयारी गरिए पनि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आफ्नो विरोध जारी राखेको छ। 

श्रीमतीसँग झगडा हुँदा श्रीमान्‌ले आफ्नै शरीरमा लगाए आगो

काठमाडौं । काभ्रेको बनेपा नगरपालिका–७, स्थित तरकारी बजारमा एक पुरुषले श्रीमतीसँग झगडा हुँदा आफ्नै शरीरमा मट्टितेल खन्याएर आगो लगाएका छन्।  श्याम कृष्ण श्रेष्ठको घरमा डेरा गरी बस्ने पर्सा वीरगञ्ज महानगरपालिका–२७ का ३५ वर्षीय अरूणकुमार यादवले आफ्नै शरीरमा मट्टितेल खन्याएर आगो लगाएको वाग्मती प्रदेश प्रहरी कार्यालयले जनाएको छ।  कार्यालयका अनुसार श्रीमतीसँगको विवादका क्रममा उनले शरीरम आगो लगाएका हुन् । उपचारका लागि बनेपास्थित शिर मेमोरियल अस्पताल पठाइएको र शिर मेमोरियल अस्पतालले थप उपचारका लागि शनिबार राति करिब साढे १० बजे बोर्न अस्पताल कीर्तिपुर रिफर गरेको छ।  प्रहरीले यादवकी श्रीमती उषादेवी यादवलाई नियन्त्रणम लिएको छ। जुम्ल्याहा छोरीसहित उषालाई नियन्त्रणमा लिएर पनौती सेफ हाउस पठाइएको वाग्मती प्रदेश कार्यालयले जनाएको छ।