काठमाडौं र भक्तपुरमा दुईजना मृत फेला

काठमाडौं । काठमाडौं र भक्तपुरमा दुईजना मृत फेला परेका छन् । प्रहरीका अनुसार उनीहरू आइतबार मृत फेला परेका हुन् ।

काठमाडौं महानगरपालिका-११, भोटेबहालस्थित अरनिको स्कुलनजिक सडकमा काभ्रे घर भएका ३७ वर्षीय रोहित सार्की आइतबार मृत अवस्थामा फेला परेका प्रहरीले जानकारी दिएको छ ।

त्यस्तै, भक्तपुरको भक्तपुर नगरपालिका-६, डेकोचा बस्ने ४२ वर्षीय प्रकाश नेपाली आफ्नै घरमा आइतबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

पोखराबाट काठमाडौं जाँदै गरेको यात्रुवाहक बस त्रिशूलीमा बस खस्दा १७ जनाको मृत्यु, २४ घाइते

कास्की । पोखराबाट काठमाडौं जाँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ। पोखराबाट काठमाडौंका लागि छुटेको ग २ ख १४२१ नम्बरको बस  त्रिशूली नदीमा खसेको हो। पृथ्वी हाइवे अन्तर्गत धादिङकाे राेङ गाउँपालिका–५ भैंसीगौँडा नजिक सोमबार बिहान करिब १:२५ बजे बस नदीमा खसेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बसमा सवार १७ जनाको घटनास्थलमै मृत्यु भएको हो। मृतकमध्ये तीन जना महिला र १४ जना पुरुष रहेका छन्। उनीहरूको सनाखत गर्ने कार्य जारी रहेको छ। बसमा सवार अन्य २४ जना घाइते भएका छन्। घाइतेहरूलाई घटनास्थलबाट उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ। दुर्घटनालगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीय बासिन्दा उद्धारमा खटिएका छन्। दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ। रातिको समय र अत्यधिक चिसोका कारण उद्धार कार्यमा केही कठिनाइ भएको बताइएको छ।

काठमाडौं–४ मा घरदैलो तीव्र : नेकपाका उम्मेदवार इन्द्रकुमार भुसालप्रति जनताको उत्साहपूर्ण समर्थन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट काठमाडौं प्रतिनिधिसभा निर्वाचन क्षेत्र–४ का उम्मेदवार इन्द्रकुमार भुसाल यतिबेला घरदैलो तथा जनसंवाद कार्यक्रममा व्यस्त छन्। विशेषगरी बुढानिलकण्ठ नगरपालिका–१० मा सञ्चालन भइरहेको जनसंवाद कार्यक्रम उत्साहपूर्ण र जनसहभागितामूलक बनेको छ। घर–घरमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्दै उम्मेदवार भुसालले जनताको भावना, सुझाव र अपेक्षा ध्यानपूर्वक सुन्दै आएका छन्। स्थानीय बासिन्दाले विकास, रोजगारी, सामाजिक सुरक्षा र पूर्वाधार सुदृढीकरणका विषयमा आफ्ना धारणा राखेका छन् भने भुसालले ती मुद्दालाई आफ्नो प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उम्मेदवार भुसालले जनताबाट प्राप्त माया, विश्वास र समर्थनले आफूलाई थप जिम्मेवार र ऊर्जावान बनाएको बताएका छन्। “यहाँहरूले दिनुभएको आशीर्वाद, शुभकामना र भरोसाले मलाई अझ दृढ बनाएको छ। आगामी दिनमा तपाईंहरूको साथलाई कुशल जनसेवक बन्ने शक्तिका रूपमा लिएको छु,” उनले जनतामाझ भने। भुसालले आफ्नो चुनावी प्रतिबद्धतामा काठमाडौं–४ लाई समृद्ध र नमुना निर्वाचन क्षेत्रका रूपमा विकास गर्ने लक्ष्य अघि सारेका छन्। उनले पूर्वाधार विकासलाई तीव्रता दिनुका साथै सामाजिक सुरक्षा कार्यक्रम प्रभावकारी बनाउने, क्षेत्रलाई पर्यटन तथा उद्योगको केन्द्रका रूपमा विकास गर्ने, युवा विदेश पलायनको बाध्यता अन्त्य गर्ने र रोजगारीमूलक कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। स्थानीयवासीहरूका अनुसार घरदैलो कार्यक्रम औपचारिकतामा सीमित नभई वास्तविक संवादमा केन्द्रित छ, जसले जनताको भरोसा अझ मजबुत बनाएको छ। नेकपाले पनि काठमाडौं–४ मा संगठनात्मक रूपमा सक्रियता बढाउँदै चुनावी अभियानलाई व्यापक बनाएको जनाएको छ। यसरी घरदैलोमार्फत जनतासँग नजिकिँदै गएको उम्मेदवार भुसालको अभियानलाई क्षेत्रका मतदाताले सकारात्मक रूपमा लिएका छन्। जनताको अपेक्षा र विश्वासलाई साथमा लिएर अघि बढेको यो अभियानले आगामी निर्वाचनमा उल्लेखनीय परिणाम ल्याउने विश्वास नेकपा कार्यकर्ताहरूले व्यक्त गरेका छन्।

काठमाडौँको पेप्सीकोलामा बसबाट खसेर एक वृद्धको मृत्यु

काठमाडौँ । काठमाडौँको पेप्सीकोलामा बसबाट खसेर एक वृद्धको भएको छ । काठमाडौँ महानगरपालिका–३२ पेप्सिकोला छाप्रो चोक नजिक सडकमा जडिबुटीबाट पेप्सिकोला चोकतर्फ आउँदै गरेको बा ४ ख ५७५४ नम्बरको बसबाट खसेर दोलखाको चरिकोट घर भएकी ६५ वर्षीया रामकुमारी भुजेलको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भुजेलको उपचारका क्रममा आज अन्नपूर्ण अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ ।

यस कारण रास्वपा छोड्दैछन् स्थापनाकालीन नेता, कार्यकर्तादेखि सांसदसम्म ?

काठमाडौँ । 'वैकल्पिक राजनीति' र 'सुशासन' को नारा दिएर उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र पछिल्लो समय तीव्र आन्तरिक कलह र नेताहरूको बहिर्गमन सुरु भएको छ। महामन्त्री मुकुल ढकालको निष्कासनदेखि प्रभावशाली नेता सुमना श्रेष्ठको राजीनामासम्म पुग्दा पार्टी परित्याग गर्नेहरूले नेतृत्वमाथि गम्भीर प्रश्न उठाएका छन्। पार्टी छोड्ने नेताहरूले उल्लेख गरेका मुख्य कारणहरू यस्था छन्: १.व्यक्तिवादी नेतृत्व र आन्तरिक लोकतन्त्रको अभाव पार्टी परित्याग गर्ने अधिकांश नेताहरूले सभापति रवि लामिछानेको कार्यशैलीलाई 'स्वैच्छाचारी' भएको आरोप लगाएका छन्। पूर्व शिक्षा मन्त्री सुमना श्रेष्ठले पार्टीभित्र फरक मत राख्नेहरूलाई 'मिडिया ट्रायल' गरेर अपमानित गर्ने गरिएको र आन्तरिक आलोचनाको ठाउँ नरहेको भन्दै राजीनामा दिनुभएको हो। त्यस्तै, बागमती उपाध्यक्ष दिनेश हुमागाईंले उम्मेदवार चयनमा विधि मिचेर 'सिन्डिकेट' लादिएको बताउनुभएको थियो। २. वैचारिक विचलन र नैतिकताको प्रश्न मधेश प्रदेशकी संस्थापक अध्यक्ष ममता शर्माले पार्टीले सुरुमा लिएका मुद्दाहरूबाट विचलित भएको र नैतिकताको कसीमा नेतृत्व असफल भएको भन्दै नेपाली कांग्रेस प्रवेश गर्नुभएको छ। उहाँका अनुसार, पार्टीभित्र निष्ठाभन्दा चाकडी गर्नेहरूको बोलवाला बढ्दै गएको थियो। ३. आर्थिक अपारदर्शिता र लेनदेनको विवाद सांसद ढाका कुमार श्रेष्ठको 'मन्त्रिपरिषद् डिल' प्रकरण र संस्थापक सदस्य खेम कुमारी भुर्तेलको आरोपले पार्टीभित्रको आर्थिक पाटोलाई उदाङ्गो पारेको छ। भुर्तेलका अनुसार, पार्टीमा पद र अवसरका लागि ठुलो आर्थिक चलखेल हुने गरेको छ, जसका कारण इमानदार कार्यकर्ता पाखा परेका छन्। ४. समीक्षा प्रतिवेदन र महामन्त्रीमाथिको कारबाही पूर्व महामन्त्री मुकुल ढकालले देशभर घुमेर तयार पारेको 'समीक्षा प्रतिवेदन' मा पार्टीको लोकप्रियता घटेको र नेतृत्व सुध्रिनुपर्ने सुझाव दिएका थिए। तर, सोही प्रतिवेदनका आधारमा छलफल गर्नुको साटो उहाँलाई नै पदबाट हटाइएपछि पार्टीभित्र 'असन्तुष्टिको स्वर' दबाउने प्रयास भएको भन्दै धेरैले पार्टी छोडेका थिए । ५. 'जेन-जी' आन्दोलन र राजनीतिक दबाब सन् २०२५ को 'जेन-जी' विद्रोह र त्यसपछिका राजनीतिक घटनाक्रमले रास्वपाका कैयौँ सांसदहरूलाई दबाबमा पारेको थियो। राज्यका संरचनाहरूमाथिको आक्रमण र अस्थिरताका बीच रास्वपाका सांसदहरूले सामूहिक राजीनामा दिएका थिए । पुराना दलहरूलाई चुनौती दिन बनेको रास्वपा अहिले आफ्नै आन्तरिक व्यवस्थापनमा असफल देखिएको छ। नेताहरूले पार्टी छोड्दै गर्दा उठाएका 'नीतिभन्दा नियत खराब' भएको प्रश्नले आगामी निर्वाचनमा रास्वपाका लागि ठुलो चुनौती खडा गर्ने देखिन्छ।

किर्तिपुर नगरपालिकाका पूर्व मेयर तथा एमाले नेता रमेश महर्ज नेकपा प्रवेश, प्रचण्डद्वारा स्वागत

ललितपुर । २०७४ सालमा निर्वाचित किर्तिपुर नगरपालिकाका पूर्व मेयर तथा नेकपा एमालेका प्रदेश सदस्य रमेश महर्जन र किर्तिपुरकै सबैभन्दा बढी जनसंख्या रहेको वडा नं. ६ का २०७४ सालमै निर्वाचित पूर्व वडा अध्यक्ष तथा नेकपा एमालेका निवर्तमान नगर कमिटी सचिव नुच्छे महर्जन एमाले परित्याग गरी नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गर्नुभएको छ। उहाँहरूलाई पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) तथा वामदेव गौतम लगायत नेताहरूले आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा स्वागत गर्दै पार्टी प्रवेश गराउनुभएको हो। पार्टी प्रवेश कार्यक्रममा संयोजक प्रचण्डले नेपाली कम्युनिष्ट पार्टी विभिन्न कम्युनिष्ट शक्तिहरूको एकताबाट बनेको उल्लेख गर्दै आगामी दिनमा अझ बृहत्तर कम्युनिष्ट एकता सम्भव रहेको विश्वास व्यक्त गर्नुभयो। उहाँले राष्ट्रवादी शक्तिहरूबीचको सहकार्यले देशको राजनीतिमा सकारात्मक सन्देश जाने धारणा राख्नुभयो। पार्टी प्रवेश गरेका पूर्व मेयर रमेश महर्जन र पूर्व वडा अध्यक्ष नुच्छे महर्जनले नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट किर्तिपुर–१० मा तारा चिन्हबाट उम्मेदवार रहनुभएकी रुपा महर्जनलाई विजयी गराउन सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाउनुभयो।  केपी शर्मा ओली सँग पुनः जनतासँग मत माग्ने नैतिक आधार हराएकाे दाबी कार्यक्रममा बोल्दै पूर्व मेयर रमेश महर्जनले दुई तिहाइको सरकारको नेतृत्व गर्दा पनि जनअपेक्षा अनुसार काम गर्न नसकेको उल्लेख गर्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सँग पुनः जनतासँग मत माग्ने नैतिक आधार कमजोर भएको टिप्पणी गर्नुभयो। उहाँले कम्युनिष्ट आन्दोलनलाई सशक्त, एकताबद्ध र जनमुखी बनाउने उद्देश्यले आफू नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएको स्पष्ट पार्नुभयो। साथै, किर्तिपुरको विकास, सुशासन र जनमुखी एजेण्डालाई केन्द्रमा राखेर आगामी निर्वाचनमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

उदयपुर–१ मा तारा चिन्हका उम्मेदवार बलदेव चौधरीको घरदैलो अभियान व्यापक

उदयपुर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट उदयपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–१ का प्रत्यक्षतर्फका उम्मेदवार तथा तारा चिन्हका प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार बलदेव चौधरीले आफ्नो निर्वाचन क्षेत्रमा तीव्र घरदैलो तथा मतदाता भेटघाट अभियान जारी राखेका छन् । हाल त्रियुगा नगरपालिकामा घरदैलाे अभियान जारी छ । हिजाे त्रियुगा नगरपालिका–१६ अन्तर्गत सुकौरा बजारदेखि सिजाली, माथिल्लो आहाले, चिलाउने भञ्ज्याङ हुँदै सिद्रेसम्म आयोजित घरदैलो कार्यक्रममा उम्मेदवार चौधरीसहितको टोलीले स्थानीय मतदाताहरूसँग प्रत्यक्ष संवाद गर्दै विकास, सुशासन र जनअपेक्षासँग सम्बन्धित विषयमा छलफल गरेको थियो । स्थानीयवासीले उम्मेदवारप्रति उत्साहजनक सहभागिता जनाउँदै आफ्ना समस्या र विकासका अपेक्षा राखेका थिए । आज त्रियुगा नगरपालिका-५ मा उक्त अभियान पुगेकाे छ । चाैधरीकाे कार्यक्रममा सहभागी मतदाताहरूले क्षेत्रको समग्र विकास, पूर्वाधार विस्तार, रोजगारी सिर्जना र जनजीविकाका सवालमा स्पष्ट दृष्टिकोण राख्ने नेतृत्व आवश्यक रहेको भन्दै उम्मेदवार चौधरीलाई सकारात्मक समर्थन व्यक्त गरेका छन् । स्थानीय स्तरमा बढ्दो सहभागिता र जनसम्पर्कले चौधरीको लोकप्रियता थप सुदृढ हुँदै गएको देखिएको छ । घरदैलो अभियानका क्रममा केही स्थानहरू समय अभावका कारण समेटिन नसके पनि छिट्टै बाँकी बस्ती तथा टोलहरूमा पुगेर मतदातासँग भेटघाट गर्ने योजना रहेको उम्मेदवार पक्षले जनाएको छ । अभियानलाई निरन्तरता दिँदै जनताको सुझाव र सरोकारलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरिएको छ । उम्मेदवार चाैधरीले आफ्नाे निर्वाचन क्षेत्रमा पर्ने चाैदण्डीगढी र बेलका नगरपालिका क्षेत्रमा पनि घरदैलाे कार्यक्रम गरेका थिए । अहिले त्यस क्षेत्रमा स्थानीय पार्टी कमिटीहरुले घरदैलाे जारी राखेकाे जनाएका छन् । चौधरीप्रतिको जनविश्वास र समर्थन बढ्दै गएको स्थानीय राजनीतिक वृत्तमा चर्चा छ ।

धाँधलीरहित चुनाव भए नेकपा पहिलो शक्ति बन्ने पुनको दाबी

रोल्पा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता वर्षमान पुन ‘अनन्त’ले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन शान्त, निष्पक्ष र धाँधलीरहित रूपमा सम्पन्न भए नेकपा देशको पहिलो राजनीतिक शक्ति बन्ने विश्वास व्यक्त गरेका छन्। रोल्पाको लिबाङबाट केही दिन अघि मात्र पत्रकारहरुसँग बोल्दै नेता पुनले देशका १६५ वटै निर्वाचन क्षेत्रमा नेकपा बलियो र अग्रणी प्रतिस्पर्धी शक्तिका रूपमा स्थापित रहेको बताए। उनले भने, “शान्तिपूर्ण, निष्पक्ष र धाँधलीरहित वातावरणमा निर्वाचन सम्पन्न भए नेकपा पहिलो दल बन्ने आधार स्पष्ट छ।” उनले राष्ट्रिय स्वाधीनता, समृद्धि, सुशासन र सामाजिक न्यायलाई केन्द्रमा राखेर नेकपा निर्वाचन अभियानमा अघि बढिरहेको स्पष्ट पारे। यी एजेन्डालाई कार्यान्वयन गर्दै जनताको जीवनस्तर सुधार्न जनमत आवश्यक रहेको उल्लेख गर्दै उनले देशभरबाट व्यापक समर्थन प्राप्त हुनेमा आफूहरू विश्वस्त रहेको बताए। नेता पुनले नेकपाको संगठनात्मक विस्तार, जनसम्बन्ध र वैचारिक स्पष्टताका कारण पार्टी बलियो शक्तिका रूपमा उदाइरहेको दाबी गरे। उनले प्रतिपक्ष वा अन्य राजनीतिक शक्तिप्रति संकेत गर्दै नीति, दृष्टिकोण र कार्यक्रम स्पष्ट नभएका राजनीतिक प्रवृत्तिले दीर्घकालीन परिणाम दिन नसक्ने टिप्पणी गरे। सामाजिक सञ्जालको दुरुपयोग गर्दै राजनीतिक ब्ल्याकमेलिङ गर्ने प्रवृत्तिप्रति सचेत रहनुपर्ने उनले बताए। साथै, प्राप्त उपलब्धिलाई संस्थागत गर्दै अघि बढ्न र साझा एजेन्डामा सहकार्य गर्न नेकपा तयार रहेको उनको भनाइ थियो।

मोरङ–५ मा शिवकुमार मण्डल: "विकास र पहिचानको संवाहक"

विराटनगर । आगामी प्रतिनिधि सभा निर्वाचनको मिति नजिकिएसँगै मोरङ निर्वाचन क्षेत्र नम्बर ५ मा चुनावी सरगर्मीले नयाँ उचाइ लिएको छ। नेकपा (माओवादी केन्द्र) का हस्ती एवं पूर्वमन्त्री शिवकुमार मण्डल को पक्षमा यसपटक अभूतपूर्व जनसमर्थन देखिएको छ। मोरङ–५ का मतदाताहरूका अनुसार शिवकुमार मण्डल केवल एक नेता मात्र नभई यस क्षेत्रका उत्पीडित, दलित र पिछडिएका समुदायको अधिकारका लागि संसदमा निरन्तर आवाज उठाउने भरोसायोग्य पात्र हुन्। उनको सरल जीवनशैली र जनतासँगको प्रत्यक्ष पहुँचले गर्दा गाउँगाउँमा उनको लोकप्रियता चुलिएको छ। किन चुन्ने शिवकुमार मण्डललाई ? १. पूर्वाधार विकासमा क्रान्ति: मण्डलले आफ्नो अघिल्लो कार्यकालमा यस क्षेत्रका ग्रामीण सडकको स्तरोन्नति, पुल पुलेसा निर्माण र विद्युतीकरणमा खेलेको भूमिकालाई स्थानीयले उच्च मूल्याङ्कन गरेका छन्। २. कृषि र सिँचाइ: मोरङ–५ का किसानहरूका लागि सिँचाइ सुविधा र मलखादको उपलब्धताका लागि उनले गरेका पहलहरू अहिले चुनावी चर्चाको मुख्य विषय बनेका छन्। ३. मधेस र पहाडको सेतु: उनी मधेसी र पहाडी समुदायबीच आपसी सद्भाव कायम राख्ने र सबैलाई समान रूपमा समेट्न सक्ने साझा नेताका रूपमा स्थापित छन्। घरदैलोमा व्यापक उपस्थिति चुनावी अभियानका क्रममा मण्डल जहाँ पुग्छन्, त्यहाँ युवाहरूको ठूलो पंक्तिले उनलाई स्वागत गर्ने गरेको छ। "हाम्रो क्षेत्रको विकासका लागि अनुभव र भिजन भएको नेता चाहिन्छ, र त्यो नेता शिवकुमार मण्डल नै हुन्," एक स्थानीय युवाले बताए। मण्डलको बढ्दो प्रभावका कारण विपक्षी दलहरू रक्षात्मक अवस्थामा पुगेका छन्। अन्य पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्नेहरूको लर्कोले मण्डलको जितको सुनिश्चितता झनै बढाएको छ। मोरङ–५ को समग्र विकास र समृद्धिको सपना साकार पार्न यसपटकको निर्वाचनमा शिवकुमार मण्डल नै सबैको रोजाइमा पर्ने देखिएको छ।

नुवाकोटमा रास्वपा छाड्ने क्रम तीव्र, दिनेश आचार्यको पनि राजीनामा

नुवाकोट। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नुवाकोटमा नेता–कार्यकर्ता बाहिरिने क्रम बढ्दै गएको छ। यसैक्रममा पार्टीका मौद्रिक विभाग सदस्य तथा नुवाकोट क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यका आकांक्षी दिनेश आचार्यले पार्टी परित्याग गरेका छन्। शनिबार सार्वजनिक विज्ञप्तिमार्फत आचार्यले पार्टीका सबै जिम्मेवारी र साधारण सदस्यतासमेत त्यागेको घोषणा गरेका हुन्। पार्टीले नुवाकोट–२ मा उम्मेदवार चयन गर्दा आफूलाई टिकट नदिएको र अच्युतम लामिछानेलाई उम्मेदवार बनाएको निर्णयपछि उनी असन्तुष्ट बनेका थिए। उनले अर्का प्रतिस्पर्धी सुमन विक्रम पाण्डेलाई उम्मेदवार बनाउन प्रयास गरेको स्रोतको दाबी छ। टिकट वितरणप्रति असन्तुष्ट एक ठूलो समूह पार्टी छाड्ने तयारीमा रहेको पनि बताइएको छ। आचार्यले आफ्नो विज्ञप्तिमा राजनीतिक यात्रा, विचारधारागत असन्तुष्टि, पार्टीभित्र देखिएका अभ्यास तथा आत्मिक असहजताका कारण पार्टी छाड्ने निर्णय गर्नुपरेको उल्लेख गरेका छन्। सामाजिक सञ्जालमा उनले लेखेका छन्, “छोटो राजनीतिक यात्रामा ‘पूर्णविराम’ लगाएको छु। यो कदम ‘म यो खेलमा उपयुक्त खेलाडी हैन’ भन्ने महसुसपछिको आत्मस्वीकारोक्ति हो। म जहिल्यै आत्माको आवाज सुन्ने व्यक्ति हुँ। आत्मा र विवेकले नदिएपछि बस्न सकिनँ, माफ गर्नुहोस्।” उनले थपेका छन्, “किन त भन्ने प्रश्नमा धेरै कारण छन्, तर छोडेपछि नराम्रो भन्न नपरोस् भन्नेमा छु। जो हुनुहुन्छ, उहाँहरू राम्रो हुनुहुन्छ। आशा छ, राम्रो गर्नुहुनेछ। आफूसँग हुन्जेल राम्रो र निस्केपछि ‘अपराधी’ बनाउने घृणित कृत्य मबाट हुँदैन।” राजनीतिमा शालीन र सुसंस्कृत समाज निर्माणको उद्देश्यले प्रवेश गरेको उल्लेख गर्दै उनले अब त्यो जिम्मेवारी अन्य साथीहरूले सम्हाल्ने विश्वास व्यक्त गरेका छन्। साथै, आफूबाट कसैको मन दुखेको भए क्षमायाचना गर्दै सबैको कल्याणको कामना गरेका छन्। यसअघि रास्वपा नुवाकोटका संस्थापक नेता अशोककुमार थापा तथा केन्द्रीय महाधिवेशन प्रतिनिधि कमला रावल पाण्डेले पनि पार्टी परित्याग गरिसकेका छन्।

भरतपुरमा यातायात क्षेत्रलाई थप व्यवस्थापन गरिँदै

चितवन । भरतपुर महानगरपालिकामा पर्ने मुख्य बजार क्षेत्रको यातायात व्यवस्थापनलाई प्रभावकारी बनाउन विभिन्न निर्णय गरिएको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा शनिबार बसेको यातायात व्यवस्थापन समितिको बैठकले लामो तथा छोटो दूरीका सवारी सञ्चालन, मालवाहक सवारीको रुट व्यवस्थापन, ध्वनि प्रदूषण नियन्त्रण, पार्किङ, टिकट काउन्टर व्यवस्थापन र सडक पूर्वाधार सुधारसम्बन्धी निर्णय गर्दै आजदेखि कार्यान्वयनमा ल्याइने जनाइएको छ । निर्णयअनुसार पूर्वी जिल्लाबाट काठमाडौँ तथा पोखरा जाने यात्रुवाहक बस, मिनीबस, माइक्रोलगायत सवारीले अनिवार्य रूपमा केन्द्रीय बसपार्कमा ‘पिक एन्ड ड्रप’ गरी केन्द्रीय बसपार्क चोक हुँदै बाइपास सडक प्रयोग गरी आँपटारी चोकबाट बाहिरिनुपर्नेछ । पूर्वी जिल्लाबाट पश्चिमतर्फ जाने सवारीले केन्द्रीय बसपार्कमा ‘पिक एन्ड ड्रप’ गरी चौबिसकोठी, लायन्सचोक हुँदै पुल्चोकबाट बाहिरिनुपर्नेछ । पश्चिम क्षेत्रबाट पूर्व तथा काठमाडौँतर्फ जाने यात्रुवाहक सवारीले केन्द्रीय बसपार्कमा ‘पिक एन्ड ड्रप’ गरी केन्द्रीय बसपार्क चोक हुँदै गन्तव्यतर्फ जानुपर्नेछ । बागलुङ, पोखरा तथा काठमाडौँबाट पूर्व वा पश्चिम जाने सवारीले आँपटारीबाट बाइपास सडक हुँदै केन्द्रीय बसपार्कमा ‘पिक एन्ड ड्रप’ गरी गन्तव्यतर्फ जानुपर्नेछ । जिल्लाबाट पूर्व तथा पश्चिम जाने लामो दूरीका सवारीले अनिवार्य रूपमा केन्द्रीय बसपार्कबाट मात्र यात्रु लिनुपर्नेछ । चितवनबाट बागलुङ, पर्वत, पोखरा, स्याङ्जा, गोरखा र लमजुङ जाने बस तथा मिनीबस नारायणगढ (पोखरा) बसपार्कबाट क्यु लिई आँपटारी हुँदै बाहिरिनुपर्नेछ । महानगर क्षेत्रभित्र जथाभावी यात्रु चढाउने तथा ओराल्ने प्रयोजनका लागि सवारी रोक्न नपाइने निर्णय गरिएको छ । केन्द्रीय बसपार्क (पारस बसपार्क) र नारायणगढ (पोखरा) बसपार्कबाट क्यु लिई सञ्चालन हुने बस तथा मिनीबसले रातिको पार्किङ सोही बसपार्कमा गर्नुपर्नेछ । भरतपुर महानगर क्षेत्रको रिङरोडमा चल्ने म्याजिकको क्यु र पार्किङ सम्बन्धित समितिले व्यवस्थापन गरेका स्थानमा हुनेछ र त्यसको जानकारी महानगर तथा जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई दिनुपर्नेछ । भरतपुरबाट टाँडी, पर्सा, भण्डारा, लोथर जाने तथा त्यहाँबाट आउने बस र म्याजिकको क्यु तथा पार्किङ केन्द्रीय बसपार्कमा हुनेछ भने अन्तिम विन्दु लायन्सचोक तोकिएको छ । नारायणगढबाट कावासोती, डन्डा, हेटौँडा र वीरगन्ज जाने बस तथा मिनीबसको क्यु लिने स्थान केन्द्रीय बसपार्क हुनेछ । सम्बन्धित बसपार्कबाट छुटेका मिनीबस तथा म्याजिकले तोकिएका स्थानबाहेक अन्यत्र ‘पिक एन्ड ड्रप’ तथा पार्किङ गर्न पाउने छैनन् । स्थानीय सवारीको ‘पिक एन्ड ड्रप’ स्थान महानगर, सडक डिभिजन कार्यालय, ट्राफिक प्रहरी र यातायात समितिको संयुक्त अनुगमनपछि निर्धारण गरिनेछ । भरतपुरबाट पश्चिम चितवनतर्फ जाने बस तथा म्याजिक चौबिसकोठी हुँदै लायन्सचोकबाट घुमाउनुपर्नेछ । सम्बन्धित स्थलबाट छुटेका सवारी तोकिएको अन्तिम स्थानसम्म अनिवार्य पुग्नुपर्नेछ । जिल्लाभित्र चल्ने लोकल मिनीबस, म्याजिक र अटो आ–आफ्नो क्यु छुट्ने पार्कबाट रुट नम्बरका आधारमा सञ्चालन गर्नुपर्नेछ । रुट नम्बर स्टिकर सम्बन्धित यातायात प्रालिले व्यवस्थित गर्नुपर्नेछ । भरतपुर महानगर क्षेत्रमा चल्ने अटो अनिवार्य रूपमा प्रालिमा दर्ता भई सोही प्रालिको लोगो लगाएर मात्र सञ्चालन गर्नुपर्नेछ । लोगो नभएका अटो सञ्चालनमा रोक लगाइनेछ । अटो नवीकरण सम्बन्धित प्रालिको सिफारिसमा मात्र हुनेछ । अटोको रुट, सेक्टर विभाजन तथा रङ निर्धारण महानगरपालिका, यातायात व्यवस्था कार्यालय, ट्राफिक प्रहरी र सम्बन्धित प्रालिको सहकार्यमा गरिनेछ । रुट मार्किङ तथा स्टिकर व्यवस्था गरी तोकिएको रुटबाहेक अन्यत्र सञ्चालन निषेध गरिनेछ । तीनपाङ्ग्रे साना सवारीलाई बजार क्षेत्रको राजमार्ग प्रयोगमा पूर्ण रोक लगाइएको छ । नारायणगढ बजारको पुल्चोकदेखि पोखरा बसपार्कतर्फ जाने सडकमा बिहान ८ः०० देखि बेलुका ८ः०० बजेसम्म ठूला मालवाहक तथा लामो दूरीका सवारी प्रवेश निषेध गरिएको छ । काठमाडौँ तथा पोखराबाट आउने यस्ता सवारीलाई पनि सोही अवधिमा बजार प्रवेशमा रोक लगाई बाइपास सडक प्रयोग अनिवार्य गरिएको छ । बिहान ९ः०० देखि बेलुका ७ः०० बजेसम्म बजार क्षेत्रमा मालवाहक सवारीले लोडअनलोड गर्न पाउने छैनन् । गोन्द्राङदेखि पुल्चोक हुँदै आँपटारीसम्म जथाभावी हर्न बजाउन निषेध गरिएको छ । पूर्वपश्चिम राजमार्ग, पुल्चोक–आँपटाँडी सडक तथा बाइपास सडकको दायाँबायाँ भागमा निजी तथा भाडाका सवारी पार्किङ निषेध गरिएको छ । पुल्चोक, सहिदचोक, लायन्सचोक, चौबिसकोठी चोक र केन्द्रीय बसपार्क चोक लगायत स्थानमा रहेका विभिन्न यातायात प्रालिका टिकट काउन्टर, बसपार्क प्रयोग तथा कवाडी शुल्क उठाउने काउन्टर सात दिनभित्र हटाई सम्बन्धित बसपार्कमा राख्नुपर्नेछ । केन्द्रीय बसपार्क चोकदेखि आँपटारीसम्मको बाइपास सडकखण्डका जोखिमयुक्त मिडियन क्रसिङ सडक डिभिजन कार्यालयले बन्द गराउने निर्णय गरिएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत गोन्द्राङदेखि पुल्चोकसम्मको सर्भिस लेनलाई एकतर्फी बनाइ ट्राफिक व्यवस्थापन गरिनेछ । निर्णय कार्यान्वयनका लागि आवश्यक सामग्रीको बजेट भरतपुर महानगरपालिकाले सुनिश्चित गर्ने र आफ्नो कार्यक्षेत्रभित्रका सडक पूर्वाधार सडक डिभिजन कार्यालयले व्यवस्थापन गर्ने जनाएको छ । बैठकमा भरतपुर महानगरपालिका कार्यवाहक नगरप्रमुख चित्रसेन अधिकारी, प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारती, जिल्लास्थित सुरक्षा निकायका प्रमुख, सम्बन्धित कार्यालयका प्रमुख, महानगरका कर्मचारी, विभिन्न यातायात प्रालिका प्रतिनिधि, उद्योग वाणिज्य सङ्घ, यातायात व्यवस्था कार्यालय तथा अन्य सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता रहेको थियो ।

गुल्मीमा हवाई उडान कटौती

गुल्मी । यहाँको रेसुङ्गा विमानस्थलमा अबदेखि सातामा तीनपटकमात्र हवाई उडान गरिने भएको छ । नेपाल वायु सेवा निगमले यसअघि गुल्मीमा बिहीबार हुँदै आएको हवाई उडानको तालिकामा परिवर्तन गरेको हो । नेपाल वायु निगमले यसअघि आइतबार, मङ्गलबार, बिहीबार र शनिबार गरी सातामा चारपटक उडान गर्दै आएको थियो । उडान तालिकामा परिवर्तन गरेसँगै अबदेखि आइतबार, मङ्गलबार र शनिबार गरी सातामा तीन पटकमात्र उडान हुने भएको रेसुङ्गा विमानस्थल गुल्मीका स्टेसन प्रमुख सुमन थापाले जानकारी दिए ।  नेपाल वायुसेवा निगमका हाल तीन मात्र ट्वीनअटर जहाज रहेको र उक्त जहाज समय–समयमा मर्मत गर्नुपर्ने भएका कारण जहाजको अभावमा केही समयका लागि निगमले यसअघिको नियमित तालिकामा परिवर्तन गरेको उनले बताए । वर्षात्को समय, खराब मौसम र बाक्लो हुस्सुका कारणबाहेक पछिल्लो तीन महिना रेसुङ्गा विमानस्थलमा नियमित रूपमा हवाई उडान हुँदै आइरहेको छ । रेसुङ्गा विमानस्थलमा नेपाल वायुसेवा निगमले १८ सिट क्षमताको ट्वीनअटर जहाजबाट काठमाडौँदेखि बिहान ६ः३० बजे र रेसुङ्गा विमानस्थलदेखि बिहान ७ः३० बजे उडान गर्दै आइरहेको छ । निगमले काठमाडौँबाट गुल्मीका लागि सात हजार ५०० र गुल्मीदेखि काठमाडौँका लागि रु सात हजार ३०० भाडादर निर्धारण गरेको छ । रेसुङ्गा विमानस्थलमा दिउँसोको समयमा अत्यधिक हावाको चाप हुने भएकाले प्राविधिक दृष्टिकोणले बिहानको समयमा मात्र उडान हुने गर्दछ । जिल्लामा हवाई उडान सुरु भएसँगै जिल्लामा आउने आन्तरिक एवं बाह्य पर्यटकहरूको सङ्ख्यामा समेत वृद्धि हुँदै गएको छ । अठार घण्टा लामो यात्रा गरेर राजधानी पुग्नुपर्ने बाध्यता रहेको यस क्षेत्रका नागरिकले आकाशमार्गबाट ४५ मिनेटमै सहज रूपमा गुल्मीबाट राजधानी आवतजावत गर्न सहज बनेको छ ।  जिल्लामा हवाई सेवा लिने नागरिकको चाप पछिल्लो समयमा बढ्दै गएको छ । तर यात्रुहरूको चाप बढे पनि उडान सङ्ख्या थोरै हुने र उडान तालिकामा परिवर्तन भइरहने भएका कारण यस क्षेत्रका नागरिक समस्यामा परेका छन् । जिल्लामा नेपाल वायुसेवा निगमले २०८० वैशाख २९ गतेदेखि व्यावसायिक हवाई उडान सेवा सुरुआत गरेको थियो । 

नेकपाका उम्मेदवार प्रमोद साहको पक्षमा सर्लाही–१ मा जनलहर बढ्दै

सर्लाही । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा सर्लाही निर्वाचन क्षेत्र नम्बर–१ मा चुनावी माहोल तीव्र बनेको छ। यसपटक नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार प्रमोद साहको पक्षमा व्यापक जनसमर्थन उर्लिएको देखिएको छ।  गाउँ–गाउँ र टोल–टोलमा पुगेर गरिएको घरदैलो अभियानमा स्थानीयको उल्लेख्य सहभागिता देखिँदा क्षेत्र नै चुनावी उत्साहले तातेको छ। घरदैलोमा अभूतपूर्व उत्साह नेता साहले सञ्चालन गरिरहेको घरदैलो तथा कोणसभामा युवा, महिला, किसान, मजदुरदेखि पाका पुस्तासम्मको उल्लेख्य उपस्थिति रहने गरेको छ। “बोल्ने होइन, काम गर्ने नेता चाहिन्छ” भन्ने नारासहित मतदाताहरू खुलेरै उनको समर्थनमा उभिएका छन्। स्थानीय बासिन्दाहरूका अनुसार, विकास र स्थायित्वका लागि साह उपयुक्त उम्मेदवार भएको विश्वास बढ्दो छ। विकास र अधिकारको स्पष्ट एजेन्डा प्रमोद साहले अघि सारेको मुख्य एजेन्डा विकास र जनअधिकार रहेको छ। भौतिक पूर्वाधार विस्तार: सडक स्तरोन्नति, पुल निर्माण तथा सिँचाइ प्रणाली सुदृढीकरणमा उनले विगतमा खेलेको भूमिकालाई मतदाताले सकारात्मक रूपमा स्मरण गरेका छन्। मधेसको आवाज: संसदमा मधेसी समुदायको हक–हित र अधिकारका विषयमा स्पष्ट र निर्भीक रूपमा आवाज उठाउने नेताका रूपमा उनको पहिचान स्थापित छ। सामाजिक उत्तरदायित्व: बाढी–पहिरो, महामारी जस्ता संकटका समयमा जनताको बीचमा पुगेर प्रत्यक्ष सहयोग गर्ने उनको कार्यशैलीले स्थानीयमा विश्वास जगाएको छ। नेकपामा बढ्दो आकर्षण साहको उम्मेदवारीसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा)प्रति आकर्षण बढ्दो देखिएको छ। विभिन्न दल र समूहका कार्यकर्ताहरू नेकपामा प्रवेश गर्ने क्रम बढिरहेको स्थानीय स्रोतको भनाइ छ। यसले निर्वाचन क्षेत्रमा नेकपाको संगठनात्मक पकड थप मजबुत भएको संकेत गर्छ। निर्वाचन प्रचार–प्रसार समितिका अनुसार सर्लाही–१ मा यसपटक परिवर्तन र विकासका पक्षमा स्पष्ट जनमत देखिएको छ। “सर्लाहीको समृद्धि र दीर्घकालीन विकासका लागि सक्षम, अनुभवी र जनतासँग जोडिएको नेतृत्व आवश्यक छ, त्यो नेतृत्व प्रमोद साहले दिन सक्नुहुन्छ,” एक स्थानीय मतदाताले बताए। फागुन २१ को मतदानले सर्लाही–१ को राजनीतिक दिशा तय गर्नेछ। हालको माहोल हेर्दा प्रमोद साह बलियो दाबेदारका रूपमा अगाडि देखिएका छन्, र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को पक्षमा जनलहर झन् सशक्त बन्दै गएको छ।

मोरङ–४ मा तारा चिन्हको लहर, अमनलाल मोदीको जित सुनिश्चिततर्फ

मोरङ । प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा मोरङ क्षेत्र नम्बर ४ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र यसको चुनाव चिन्ह (तारा) को पक्षमा स्पष्ट जनलहर देखिएको छ। नेकपाका लोकप्रिय तथा जुझारु उम्मेदवार अमनलाल मोदीप्रति जनसमर्थन दिनप्रतिदिन मजबुत बन्दै गएको छ। सधैं जनताको सुख–दुःखमा साथ दिने, सरल, इमानदार र परिणाममुखी नेताका रूपमा स्थापित मोदीले मोरङ–४ को समग्र विकासका लागि स्पष्ट दृष्टिकोण अघि सारेका छन्। शिक्षा, स्वास्थ्य, कृषि आधुनिकीकरण, सडक पूर्वाधार विस्तार र युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्ने योजनासहित उनी चुनावी मैदानमा उत्रिएका छन्। स्थानीय तहदेखि समुदायस्तरसम्म निरन्तर सक्रिय रहँदै आएका मोदीप्रति जनताको विश्वास अझ सुदृढ बनेको देखिन्छ। घरदैलो अभियान, टोलसभा, युवा तथा बुद्धिजीवीहरूसँग अन्तरक्रियामार्फत उनले “बोल्ने होइन, गरेर देखाउने” प्रतिबद्धता दोहोर्‍याउँदै आएका छन्। विगतमा जनताको पक्षमा निर्वाह गरेको भूमिकाका कारण पनि उनी विश्वसनीय र सक्षम विकल्पका रूपमा उभिएका छन्। स्थानीय युवा, महिला, किसान तथा व्यवसायी समुदायले नेकपा र अमनलाल मोदीको नेतृत्वलाई मोरङ–४ को समृद्धि र स्थायित्वको आधार मानेका छन्। “समृद्ध मोरङ–४, सक्षम नेतृत्व र जनताको सरकार” भन्ने नारासहित नेकपाले अभियान तीव्र बनाएको छ। चुनावी माहोल उत्साहजनक र सकारात्मक बन्दै गइरहेका बेला मोरङ–४ का मतदातालाई तारा चिन्हमा मतदान गरी अमनलाल मोदीलाई विजयी गराउन नेकपाले अपिल गरेको छ। जनलहरको यही गतिले निरन्तरता पाए मोरङ–४ मा ऐतिहासिक जित सुनिश्चित हुने दाबी पार्टीका नेता तथा कार्यकर्ताहरूले गरेका छन्।

आज सुन चाँदीको मूल्य कति ?

काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिनको तुलनामा सुनको मूल्यमा वृद्धि भएको हो। महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, प्रतिदश ग्राम सुनको मूल्य २ लाख ६६ हजार ३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। यसअघि शुक्रबार छापावाल सुन प्रतितोला ३ लाख ४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो भने प्रतिदश ग्राम २ लाख ६१ हजार २३० रुपैयाँ तोकिएको थियो। दुई दिनको अन्तरालमा प्रतितोला ५ हजार ६०० रुपैयाँले वृद्धि भएको छ। त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार चाँदी प्रतितोला ५ हजार ४२५ रुपैयाँ र प्रतिदश ग्राम ४ हजार ६५१ रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी प्रतितोला ५ हजार ५० रुपैयाँ र प्रतिदश ग्राम ४ हजार ३३० रुपैयाँ कायम भएको थियो। अन्तर्राष्ट्रिय बजारमा भएको उतारचढावको प्रभाव नेपाली बजारमा समेत परेको महासंघले जनाएको छ।

सिन्धुपाल्चोकमा एमाले कांग्रेस परित्याग गरी दुई दर्जनभन्दा बढी नेता–कार्यकर्ता नेकपामा प्रवेश

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक बार्हबिसे–८ मा नेपाली राजनीतिक वृत्तमा नयाँ तरंग पैदा भएको छ। एमाले, कांग्रेसलगायत विभिन्न राजनीतिक दल परित्याग गरी दुई दर्जनभन्दा बढी नेता तथा कार्यकर्ताले सामूहिक रूपमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) रोज्दै पार्टी प्रवेश गरेका छन्।  पछिल्लो समय देशभर देखिएको राजनीतिक अस्थिरता र जनअपेक्षाको सम्बोधन गर्न सक्ने वैचारिक तथा संगठनात्मक शक्ति नेकपा नै रहेको विश्वासका साथ उनिहरूले पार्टी प्रवेश गरेको बताएका छन्। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नवप्रवेशी नेता–कार्यकर्तालाई टीका तथा खादा लगाएर पार्टीमा औपचारिक स्वागत गर्नुभयो। कार्यक्रममा बोल्दै सहभागीहरूले राष्ट्रिय स्वाधीनता, सामाजिक न्याय, विकास र जनजीविकाको सवाललाई सही दिशामा अघि बढाउन नेकपाको भूमिका महत्वपूर्ण रहेको धारणा राखे। उनीहरूले पुराना दलहरूले जनताको अपेक्षा पूरा गर्न नसकेको भन्दै वैकल्पिक शक्तिका रूपमा नेकपाप्रति आकर्षण बढ्दै गएको बताए। पार्टी नेतृत्वले नवप्रवेशी कार्यकर्तालाई संगठन सुदृढीकरण र जनस्तरमा वैचारिक अभियानलाई थप प्रभावकारी बनाउन आह्वान गरेको छ। यस घटनालाई स्थानीय स्तरमा मात्र नभई राष्ट्रिय राजनीतिमा समेत नेकपाप्रतिको समर्थन र विश्वास बढ्दै गएको संकेतका रूपमा हेरिएको छ। राजनीतिक विश्लेषकहरूका अनुसार पछिल्लो समय विभिन्न क्षेत्रबाट पार्टी प्रवेशको क्रम तीव्र बन्दै जानु नेकपाको संगठनात्मक विस्तार र जनआधार मजबुत हुँदै गएको प्रमाण हो। यसले आगामी दिनमा पार्टीको राजनीतिक प्रभाव र जनसम्बन्ध अझ सुदृढ हुने अपेक्षा गरिएको छ। यसरी सिन्धुपाल्चोकमा देखिएको यो प्रवेश लहरले नेकपाको पक्षमा जनसमर्थन विस्तार भइरहेको स्पष्ट सन्देश दिएको छ।