विश्वकप उद्घाटन खेल : क्यानडाविरुद्ध अमेरिकाको शानदार जित

काठमाडौं । आइसीसी टी२० विश्वकपको उद्घाटन खेलमा आयोजक अमेरिकाले विजयी शुरुवात गरेको छ।आइतबार बिहान सम्पन्न उद्घाटन खेलमा अमेरिकाले क्यानडालाई ७ विकेटले पराजित गरेको हो।

क्यानडाले दिएको १९५ रनको लक्ष्य पछाएको अमेरिकाले १७ दशमलव ४ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पूरा गरेको हो। अमेरिकाका लागि एरोन जोन्सले अविजित ९४ र आद्रिज गोउसले ६५ रन बनाए।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको क्यानडाले २० ओभरमा ५ विकेट गुमाउदै १९४ रन बनाएको थियो । क्यानडाका लागि नवनीत धालिवालले सर्बाधिक ६१ र निकोलस क्रितोनले ५१ रन बनाएका थिए। त्यस्तै श्रेयस मोभ्भाले १६ बलमा ३२ रन अविजित बनाएका थिए।

जितपछि समुह ए मा रहेको अमेरिकाले २ अंक हासिल गरेको छ। अब अमेरिकाले दोस्रो खेल जुन ६ मा पाकिस्तानविरुद्ध खेल्ने छ भने क्यानडाले दोस्रो खेल जुन ७ मा आयरल्याण्डविरुद्ध खेल्ने तालिका रहेको छ।

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकका अनुसार आज (आइतबार)अमेरिकी डलर एकको खरिद दर १३३.२५ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.८५ रुपैयाँ रहेको छ ।त्यस्तै युरोपियन युरो एकको खरिद दर १४४.६२ रुपैयाँ रहेको छ भने बिक्री दर १४५.२७ रुपैयाँ रहेको छ । यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६९.५२ रुपैयाँ रहेको छ भने बिक्री दर १७०.२७ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८८.६६ रुपैयाँ रहेको छ भने बिक्री दर ८९.०६ रुपैयाँ रहेको छ ।  साउदी रियाल एकको खरिद दर ३५.५३ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.६९ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.३१ रुपैयाँ रहेको छ भने बिक्री दर २८.४४ रुपैयाँ रहेको छ ।

प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । आजको बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल हुनेछ । बैठकमा अर्थमन्त्री वर्षमान पुनले वक्तव्यसहित आर्थिक वर्ष २०८१–८२ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । यस्तै, आर्थिक वर्ष २०८१–८२ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुने कार्यसूची रहेको छ । अर्थमन्त्री वर्षमान पुनले जेठ १५ गते संघीय संसदको संयुक्त सदनमा आगामी आर्थिक वर्ष २०८१–८२ को बजेट सार्वजनिक गरेका थिए ।

काठमाडौंसहित यी स्थानमा वर्षाको सम्भावना,यस्तो हुनेछ आजको मौसम

काठमाडौं । हाल नेपालमा स्थानीय, पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको पश्चिम उत्तर प्रदेशदेखि पश्चिम बंगलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी, बागमती, गण्डकी  र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी तथा लुम्बिनी प्रदेशका एकदुई स्थानमा हावाहुरीको पनि सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । आज राति कोशी र बागमती प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम सफा रहनेछ । कोशी र बागमती प्रदेशका थोरै तथा बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज सूर्योदय बिहान ५ बजेर ८ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ५६ मिनेटमा हुनेछ ।

बुटवल पावर कम्पनीको दोस्रो तलामा एक व्यक्ति मृतावस्थामा फेला

काठमाडौँ ।काठमाडौँ महानगरपालिका–१० बुद्धनगरस्थित बुटवल पावर कम्पनीको दोस्रो तलामा एकजना मृतावस्थामा फेला परेका छन्। मृत फेला परेका व्यक्तिमा बाजुरा बडिमालिका नगरपालिका घर भई काठमाडौँ कलङ्की बस्ने ५० वर्षीय यमनबहादुर रहेका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। उनका अनुसार विक आज मृत फेला परेका हुन्। उक्त घटनाका विषयमा प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ।

रोजगारी सिर्जना गर्न उद्योगी, व्यवसायीलाई श्रममन्त्रीको आग्रह

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले देशमा रोजगारीको ठूलो समस्या रहेको बताएका छन्। रोजगारी सिर्जना गर्न उद्योगी, व्यवसायीसँग उनले आग्रह गरेका छन् । शनिबार जनकपुरमा श्रमाधान मेलाको उद्घाट गर्दै उनले यस्तो बताएका हुन्। देशभरको तुलनामा मधेस प्रदेशमा रोजगारीको समस्या विकराल रहेको उनले उल्लेख गरे। उनले रोजगारीको खोजीमा युवापुस्ता भौँतारिरहेको बताए । यस्तो अवस्थालाई हेरेर स्वदेशमै रोजगारी सिर्जना गर्ने वातावरण बनाउनुपर्नेमा उनले जोड दिए। उनले मेलाले श्रमिक र रोजगारदाताका समस्या, आवश्यकताबारे बुझ्ने र दीर्घकालीन रूपमा श्रम क्षेत्रका समस्या सामधानका निम्ति महत्न्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। मन्त्री अर्यालले देशको युवापुस्ता बाध्य भएर वैदेशिक रोजगारीमा जानुपर्ने अवस्था रहेको बताए। देशको श्रमबजारको आवश्यकताअनुसार सीप सिकेर अवसरको सदुपयोग गर्न उनले आग्रह गरे। 

दुधको भुक्तानीको व्यवस्था गरिन्छ : मन्त्री साह

झापा । कृषि,पशुपंक्षी तथा सहकारी मन्त्री ज्वालाकुमारी साहले दुग्ध उत्पादक किसानलाई चाँडै भुक्तानीको व्यवस्था मिलाइने बताएकी छिन्। विश्व दुध दिवसको उपलक्ष्यमा राष्ट्रिय दुग्ध विकास बोर्डद्वारा आज मेचीनगरमा आयोजित कार्यक्रममा उनले सरकारी स्वामित्वको दुग्ध विकास संस्थान र निजी डेरीले किसानबाट खरिद गरेको दूधको महिनौँदेखि भुक्तानी नदिइरहेको भन्ने गुनासो आएकाले त्यो यथाशीघ्र समाधान गर्न सघाउने बताइन्। “दुग्ध उत्पादक किसानहरुले चाँडोभन्दा चाँडो भुक्तानी पाउनुपर्छ भन्नेमा हामी स्पष्ट छौँ,” उनले भनिन्, “मैले थुप्रै व्यावसायिक किसानको गाईगोठ र डेरी उद्योगहरु अवलोकन गरेको छु। किसानहरुले दुधको भुक्तानी नपाएको गुनासो सुनाउनु भएको छ। जसरी भए पनि भुक्तानी हुनुपर्छ भन्ने हाम्रो मान्यता हो।” मुलुकमा दुधको उत्पादन बढेको जनाउँदै उनले यसलाई निर्यात गर्न आवश्यक पहल जारी रहेको बताइन्। दुग्ध विकास संस्थानको भण्डारमा एक अर्ब २५ करोडभन्दा बढी मूल्यको दुग्धजन्य उत्पादन बिक्री नभएर थन्किरहेको उनले जानकारी दिइन्। मुलुकलाई समृद्ध र जनतालाई सुखी बनाउने राष्ट्रिय आकांक्षा पूरा गर्नका लागि दुधमा आत्मनिर्भर भएरमात्र नपुग्ने बताउँदै उनले यसको विदेश निर्यात अपरिहार्य भइसकेको औँल्याइन्। दुधबाट बनेका वस्तुहरु निर्यातका लागि निर्यातको सहज व्यवस्था हुन सके किसानले बेचेको दुधको भुक्तानी गर्न कुनै समस्या नहुने उनले बताएन्।

केशव राईको शब्दमा राजेशपायल राईको ‘गाँउबेसी’ सार्वजनिक

काठमाडौं । लोकप्रिय तथा मेगास्टार गायक राजेशपायल राई ‘राई इज किङ’को नया गीत सार्वजनिक भएको छ । नव गीतकार केशव राईको शब्दमा रहेको ‘गाँउबेसी’ बोलको गीत राजेशपायलको स्वरमा सार्वजनिक भएको छ । केशवको शब्दमा रहेको गीतलाई चर्चित संगीतकार तथा गायक राई नबिनले संगीत दिएका छन् । विशाल चौरारी टिभि युट्युव च्यानल मार्फत सार्वजनिक भएको गीतलाई महाराज थापाले एरेञ्ज गरेका छन्, भने रेकर्डिङ, मिक्सिङ, मास्टरिङ योगेन मुकारुङले गरेका छन् । सरिता राई निर्माता रहेको गीत सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको थियो । यो गीतको भिडियोमा क्यामेरा, इडिट, कलर तथा ड्रोन बिशाल राईको रहेको छ । सार्वजनिक भएको गीतको बारेमा बोल्दै राजेशपायलले गाउँघरको शब्दहरुले आफुलाई गाउमै पु¥याउने बताए । उनले भने ‘गाउँघर, भञ्ज्याङ चौतारीहरुलाई बिम्ब बनाएर लेखिएका शब्दहरुले मलाई औधी छुन्छ । गीतकार केशव राईले गाउँलाई मज्जाले खिपेका छन्’ राजेशपायलले भने। त्यस्तै गीतकार केशवले पनि आफ्नो पहिलो गीत महागायक राजेशपायलको स्वरमा ल्याउने चाहना पुरा भएको बताए ।  केशवले भने युकेमा बसेपनि गाउँघरकै याद आइरहन्छ ।’

चार डीएसपीलाई एसपीमा बढुवाका लागि सिफारिस

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षक (एसपी)मा चारजनालाई बढुवाका लागि सिफारिस गरेको छ।  जनपद प्रहरी समूहतर्फको रिक्त चार प्रहरी उपरीक्षक पदमा चार प्रहरी नायब उपरीक्षकलाई बढुवाका लागि सिफारिस गरिएको हो।  बढुवा सिफारिस हुनेहरूमा प्रदीपबहादुर क्षेत्री, नारायण रञ्जितकार, अनन्तराम शर्मा र एकनारायण कोइराला छन्। उनीहरूलाई प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उप–नियम (४)अनुसार बढुवा सिफारिस गरेको कार्यालयले जनाएको छ।

चिकित्सा शिक्षा पढाउने तयारीमा भरतपुर अस्पताल

चितवन । चितवनस्थित संघीय भरतपुर अस्पतालले चिकित्सा शिक्षा पढाउने तयारी गरेको छ। सरकारले बजेटमार्फत आगामी शैक्षिक सत्रबाट चिकित्सा शिक्षा पढाउने बजेट व्यवस्था गरेसँगै अस्पताल उक्त तयारीमा जुटेको हो।   यसअघि नीति तथा कार्यक्रममा संघीय अस्पतालमा चिकित्सा शिक्षा अध्ययनका लागि अध्ययन गर्ने उल्लेख थियो। अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेलले आउँदो शैक्षिक सत्रदेखि चिकित्सा शिक्षा अध्यापन गराउने गरी तयारी थालिएको बताए।    अस्पतालको जग्गामा रहेको सीटीईभीटीअन्तर्गतको स्कुल अफ हेल्थ साइन्सलाई स्थानान्तरण गरी त्यही ठाउँमा शैक्षिक कार्यक्रम सञ्चालन गर्ने तयारी छ । अध्यक्ष पौडेलले यसका लागि स्वास्थ्य मन्त्रालय र शिक्षा मन्त्रालयमार्फत सीटीईभीटीमा पत्राचार भइसकेको बताए ।  लामो प्रयासपछि चिकित्सा शिक्षाको पढाइ सञ्चालन गर्ने विषयलाई बजेटमा समेट्न सफल भएको उनको भनाइ छ। दुई तले उक्त संरचनाको विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको छ।  सरकारसँग ५५ करोड थप माग गरेको जानकारी दिँदै अध्यक्ष पौडेलले २५ करोड लागतमा भवन निर्माण गरिने र बाँकी रकमले विभिन्न उपकरण तथा सामग्री खरिद गर्ने योजना रहेको बताए। भरतपुर अस्पतालले यसअघि नै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (नेम्स)को आंगिक क्याम्पसको स्वीकृति पाइसकेको छ । नेम्सअन्तर्गत एक सय विद्यार्थीलाई चिकित्सा शिक्षा पढाइने उनले बताए।   अध्यक्ष पौडेलले भने, “जनशक्ति अस्पतालसँग छ, भवनको व्यवस्था भएपछि कक्षा सञ्चालन हुन्छ।”   यसैबीच, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (नेम्स)का उपकुलपति प्रा.डा.भूपेन्द्रकुमार बस्नेतको नेतृत्वको टोलीले शुक्रबार भरतपुर अस्पतालको अनुगमन गरेको छ। सो क्रममा उनले भरतपुर अस्पतालमा चिकित्सा शिक्षा पढाउन सकिने अवस्था रहेको बताए।  जिल्लामा हाल चितवन मेडिकल कलेज र ‘कलेज अफ मेडिकल साइन्सेस’मा चिकित्सा शिक्षा पठनपाठन हुँदै आएको छ। रासस

अन्तर्राष्ट्रिय पोल्ट्री प्रदर्शनी सुरु

नारायणगढ। नेपालमा कुखुरापालन क्षेत्रमा नवीनतम अत्याधुनिक प्रविधिको प्रयोग भित्र्याउन सहयोग पु¥याउने उद्देश्यले भरतपुरमा शुक्रबारदेखि अन्तर्राष्ट्रिय पोल्ट्री प्रदर्शनी सुरु भएको छ ।  चितवन उद्योग सङ्घको प्रदर्शनी स्थलमा आयोजना भएको सो प्रदर्शनीको एक कार्यक्रमका बिच भरतपुर महानगरकी प्रमुख रेनु दाहालले उद्घाटन गरिन्। प्रदर्शनीको उद्घाटन गर्दै प्रमुख दाहालले पूर्वाधारको विकासमा फड्को मारेको भरतपुरले अब उत्पादनका क्षेत्रमा विशेष योजना अघि सार्ने बताइन्।  “कृषिको प्रचुर सम्भावना भएको ठाउँ हो । पोल्ट्रीको त राजधानी नै भयो । अबको हाम्रो कार्यक्रम कृषि र पोल्ट्रीमै केन्द्रीकृत गर्ने हो,” उनले भनिन् ।  भरतपुर महानगरले अब आर्थिक वर्ष २०८१/८२ मा ल्याउने नीति तथा कार्यक्रमको प्रमुख विषय नै कृषि र पोल्ट्रीको उत्पादनमा जोड दिने कार्यक्रम हुने पनि उनले बताइन्।  उनले अहिले कोभिडले धराशायी भएको पोल्ट्री क्षेत्रलाई उकास्न जरुरी रहेको उल्लेख गर्दै कृषि र रोजगारीमा केन्द्रित रहेर विकास योजना अघि सारे पोल्ट्री क्षेत्रको विकास हुने बताइन्।  भरतपुरमा भ्रमण वर्ष चलिरहेका बेला अन्तर्राष्ट्रियस्तरको मेला महोत्सव आयोजना गरेर भरतपुरलाई सहयोग गरेकामा उहाँले आयोजकलाई धन्यवाद पनि दिइन्।  नेपाल पोल्ट्री महासङ्घ र इन्डिया पोल्ट्री इकयुप्मेन्ट एसोसिएसनको आयोजनामा सञ्चालित सो प्रदर्शनीमा १५० वटा स्टलहरू रहेका छन् । प्रदर्शनीकै अवसरमा पोल्ट्रीका क्षेत्रमा आयातित नवीनतम प्रविधिका बारेमा किसानलाई जानकारी गराउन विभिन्न गोष्ठी, सेमिनार तथा अन्तव्रिर्mयाहरू  सञ्चालन गर्न पोल्ट्री पाठशालासमेत सञ्चालनमा ल्याइएको छ । प्रदर्शनी आयोजक संस्थामध्येको एक महासङ्घका अध्यक्ष  गुणराज विष्टले प्रदर्शनीले नेपाल र भारतको कुखुराजन्य वस्तुको विकासमा उल्लेखनीय उपलब्धि हुने बताइन्।  प्रदर्शनीमा नेपाल, भारत, चीन, जर्मन, बेल्जियिम, नेदरल्यान्ड, अमेरिका, टर्की, मलेसिया, सिङ्गापुर, ताइवान, इटली, इजरायल, बङ्गलादेशलगायतका देशका कुखुरासँग प्रत्यक्ष र अप्रत्यक्ष कम्पनी तथा विज्ञको सहभागिता रहेको छ।   

भारतमा आज अन्तिम चरणको मतदान

काठमाडौं । भारतमा जारी लोकसभा निर्वाचन अन्तर्गत शनिबार सातौँ तथा अन्तिम चरणको मतदान आज सम्पन्न हुँदैछ। अन्तिम चरणको मतदानलाई सत्तारुढ दल र प्रतिपक्षनेताहरूको शक्ति परीक्षणका रूपमा समेत हेरिएको छ। ४२ विधान सभा क्षेत्रमा ५७ सिटका लागि मतदान हुन लागेको हो  अघिल्लो चुनावमा प्रधानमन्त्री मोदीको भारतीय जनता पार्टी (बीजेपी)ले ३०३ सिट ल्याएको थियो।  यो पटक पनि मोदी लगातार तेस्रो कार्यकाल निर्वाचित हुने लक्ष्यमा छन्। प्रधानमन्त्री मोदी वाराणसीबाट चुनाव लडिरहेका बेला गोरखपुरमा यूपीका मुख्यमन्त्री योगी आदित्यनाथको शक्तिको परीक्षण पनि  यही मतदानबाट हुनेछ । अन्तिम चरणको निर्वाचनको मौन अवधि सुरु भएपछि प्रधानमन्त्री मोदी ४८ घण्टे ध्यानमा बसेका छन् । मोदीको विरुद्धमा कांग्रेस प्रदेश अध्यक्ष अजय राई प्रतिस्पर्धामा छन्। 

राज दरबार हत्याकाण्डको २३ वर्ष पूरा

काठमाडौं । नारायणहिटी राज दरबार हत्याकाण्ड भएको आज २३ वर्ष पूरा भएको छ । २०५८ जेठ १९ गते राति राजदरवारभित्रै तत्कालीन राजा वीरेन्द्र शाहको वंश नाश भएको हो। उक्त हत्याकाण्ड भएको आज २३ वर्ष पूरा भएको हो।  नियमित पारिवारिक जमघटको मौका पारी तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र र निराजन, राजकुमारी श्रुति, राजकुमार धिरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ती, राजकुमारी शारदा, कुमार खड्कासहित राजपरिवारका अन्य सदस्यहरूको गोली हानी हत्या भएको थियो।  उच्चस्तरीय छानबिन समितिले उक्त घटनामा तत्कालीन युवराज दीपेन्द्रले परिवारका सदस्यहरूलाई गोली हानेर पछि आफैँलाई गोली हानेको भन्ने प्रतिवेदन सार्वजनिक गरेको थियो ।यद्यपी छानबिन समितिले स्वतन्त्र अनुसन्धान गर्न नसकेको धेरैले बताउँदै आएका छन्। दरबार हत्याकाण्डपछि नारायणहिटी राजदरबारलाई संग्राहलयमा परिणत गरिएको छ। 

यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८१ साल जेठ १९ गते शनिबार सन् २०२४ जुन १ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २५ पैसा र बिक्री दर १३३ रुपैयाँ ८५ पैसा पुगेको छ।युरो एकको खरिद दर १४४ रुपैयाँ ६२ पैसा र बिक्री दर १४५ रुपैयाँ २७ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ५२ पैसा र बिक्री दर १७० रुपैयाँ २८ पैसा रहेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५६ पैसा र बिक्री दर ३६ रुपैयाँ ७२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर 

आठौँ प्रधानमन्त्री कप एनभीए भलिबल प्रतियोगिता आजदेखि

काठमाडौं । नेपाल भलिबल संघ (एनभीए)को आयोजनामा आजदेखि आठौँ प्रधानमन्त्री कप एनभिए भलिबल प्रतियोगिता सुरु हुँदैछ। संघको तालिका अनुसार पहिलो दिन आज पुरुषतर्फ ४ र महिलातर्फ २ खेल हुनेछन् । खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप)को कभर्ड हलमा हुनेछ । आज बिहान ९ बजे पुरुषतर्फको पहिलो खेल टिपटप हेल्प नेपाल र बूढानिलकण्ठ भलिबलबीच हुनेछ । यस्तै, आज दिउँसो ३ बजे महिलातर्फको पहिलो खेल हुनेछ । जसमा एपीएफ र चन्द्रागिरी नगरपालिकाको टीलीबीच प्रतिस्पर्धा हुनेछ । लिगमा पुरुष तर्फ टिपटप हेल्प नेपाल, एपिएफ, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, कोशी प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र बूढानिलकण्ठ भलिबल क्लब गरी ८ टोली छन् । यस्तै, महिलातर्फ पुलिस, एपिएफ, न्यु डायमण्ड, आर्मी, एभरेष्ट भलिबल क्लब बुटवल र कर्णालीले गरी ६ टोली छन् । लिगमा पुरुष तथा महिला दुवै तर्फको विजेताले ८ लाख, दोस्रोले ४ लाख र तेस्रो हुने टोलीले २ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् । यस्तै, उत्कृष्ट लिबेरो, सरभर, ब्लकर, लिफ्टर, स्पाइकर र प्रशिक्षकले जनही २० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

यस्तो हुनेछ आज देशभरको मौसम

काठमाडौं । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभावका साथै भारतको उत्तर प्रदेशदेखि बंगलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखले जनाएको छ। महाशाखाका अनुसार अहिले कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। कोशी प्रदेशका एकदुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षा भइरहेको छ । आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी र बागमती प्रदेशका थोरै स्थान तथा बाँकी पहाडी भूभागको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। यस्तै, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानहरूमा विगत केही दिन देखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी मापन गरिएको छ । उक्त क्षेत्रमा केही दिन ताता हावा तथा तातो लहरको सम्भावना रहेकाले आवश्यक तयारी गर्न तथा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। आज राति कोशी, मधेश, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सफा रहनेछ । आज सूर्योदय बिहान ५ बजेर ८ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ५५ मिनेटमा हुनेछ ।