राेकिएन रास्वपा परित्याग गर्नेहरुको संख्या, दिनदिनै बढ्दै

काठमाडौँ । २१ फागुनको प्रतिनिधि सभाको चुनाव नजिकिदैँ गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीभित्रको विवाद छताछुल्ल हुँदै गइरहेको छ । पार्टी स्थापनाकालिन नेताहरुले एकपछि अर्को गर्दै पार्टी परित्याग गरिरहेका छन् । 

सुशासनको चर्का चर्का नारा लगाउने रास्वपाभित्र सुशासन कायम हुन नसकेको, टिकट वितरणमा आर्थिक चलखेल भएको लगायतका आरोप लगाएर स्थानीय, जिल्ला, प्रदेश हुँदै केन्द्रीय राजनीतिमा सक्रिय रास्वपा नेताहरु बाहिरिन थालेका हुन् । यसरी पार्टी परित्याग गर्नेहरु कतिपय अन्य पार्टीमा प्रवेश गरिरहेका छन् भने कतिपय निस्क्रिय छन् । 

रास्वपाले केही दिन अघि मात्रै सार्वजनिक गरेको बाचा पत्रलाई थिति बसाल्ने सङ्कल्प भनेको छ । तर पार्टी थितिमा नचलेको, व्यक्ति विशेषले पार्टी कब्जा गरेको भन्दै रास्वपामा तिव्र असन्तुष्टि छ । दिन प्रतिदिन पार्टी भित्र असन्तुष्टि बढ्दै जाँदा र पार्टी परित्याग गर्नेहरु बढ्दै जाँदा जनमानसमा नकारात्मक असर पर्न सक्ने र चुनावी परिणाम नै प्रतिकुल हुने भन्दै रास्वपा पंक्ति आतंकित देखिएको छ ।

यता, देशव्यापी दौडाहा गरिरहेका रास्वपा वरिष्ठ नेता बालेन्द्र शाहले सम्बन्धित प्रदेश, जिल्ला र स्थानीय पार्टी कमिटीसँग सल्लाह नगरी व्यक्तिगत तवरले जाने गरेको भन्दै पार्टी पंक्ति आक्रोशित बनेका रास्वपा नेताहरुले बताउने गरेका छन् । शाहले आफु निकटका व्यक्तिहरुलाई मात्रै सघाउने र तर रास्वपाका संस्थापक नेताहरुलाई वास्ता नगर्ने गरेको भन्दै नेताहरु असन्तुुष्ट बनेका हुन् । 

यस विषयमा सभापति रवि लामिछानेसँग नेताहरुले असन्तुष्टि राखिसकेको बताइएको छ । जवाफमा लामिछानेले चुनावसम्मका लागि बाध्यात्मक परिस्थिति भन्दै कार्यकर्ताहरुलाई थामथुमको प्रयास गरिरहेका छन् ।

सोमबार(आज) मात्रै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका संस्थापक सभापति भरतप्रसाद पराजुलीले पार्टी छाडेर नेपाली कांग्रेस प्रवेश गरे । पराजुली २०७९ को प्रतिनिधि सभा चुनावमा रास्वपाको तर्फबाट मकवानपुर क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका थिए । यसपटकको चुनावमा भने टिकट वितरणमा आर्थिक चलखेल भएको आरोप लगाउँदै उनले पार्टी परित्याग गरेका हुन् । उनले पार्टीले पुँजीवादी सोँच बोकेको आरोप लगाएका छन् ।

चुनावकै बिचमा रास्वपाबाट एनआरएए विभाग उपप्रमुख प्रणयशमसेर राणा, केन्द्रीय वित्त विभाग दिनेश आचार्य, बागमती प्रदेशका उपसभापति दिनेश हुमागाईँ, मधेश प्रदेश संस्थापक सभापति ममता शर्मा, रास्वपा संस्थापक सदस्य उर्मिला भुर्तेल, नुवाकोट जिल्ला सदस्य अशोक कुुमार थापा, नुवाकोट जिल्ला सदस्यद्वय पवन चौधरी र कमला रावल पाण्डे लगायत छन् ।

त्रिशूली बस दुर्घटनाप्रति प्रचण्डद्वारा दुःख व्यक्त: उद्धार र उपचारमा तीव्रता दिन सरकारसँग आग्रह

काठमाडाैं । पोखराबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस त्रिशूली नदीमा खस्दा भएको दुःखद दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयाेजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शोक सन्देश जारी गर्नुभएको छ।  उहाँले दुर्घटनामा ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्नुभएको छ। साथै, घाइतेहरूको शीघ्र उद्धार र प्रभावकारी उपचारको व्यवस्था गर्न नेपाल सरकारसँग जोडदार आग्रह गर्नुभएको छ। पूर्वप्रधानमन्त्रीसमेत रहनु भएका प्रचण्डले विपद्को यस घडीमा राज्य संयन्त्र पूर्ण रूपमा सक्रिय हुनुपर्ने आवश्यकता औंल्याउँदै उद्धार, राहत र उपचार कार्यलाई तीव्र, व्यवस्थित र परिणाममुखी बनाउन आग्रह गर्नुभएको छ। उहाँले यस्तो दुःखद घटनाबाट पाठ सिक्दै सडक सुरक्षा, यातायात अनुगमन र आपतकालीन प्रतिकार्य संयन्त्रलाई थप सुदृढ गर्न पनि सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभएको छ। यसैबीच, उहाँले पार्टी पंक्तिलाई राहत तथा उद्धार कार्यमा आवश्यक सहयोग पुर्‍याउन सक्रिय रूपमा परिचालन हुन निर्देशन दिनुभएको छ। स्थानीय तह, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी तथा स्वयंसेवीहरूको सहकार्यबाट उद्धार अभियानलाई प्रभावकारी बनाउँदै मानवीय सेवामा अग्रसर हुन उहाँले आह्वान गर्नुभएको छ। प्रचण्डले विपद्को कठिन घडीमा सबै राजनीतिक दल, नागरिक समाज र आम नागरिकलाई एकताबद्ध भई सहयोग र सहकार्य गर्न अपिल गर्नुभएको छ। उहाँले दुःखद क्षणमा मानवीय संवेदना, ऐक्यबद्धता र पारस्परिक सहयोग नै सबैभन्दा ठूलो शक्ति हुने उल्लेख गर्दै पीडित परिवारलाई आवश्यक सहयोग र साथ दिन सबैसँग आग्रह गर्नुभएको छ। उक्त दुर्घटनामा ११ जना पुरुष र ६ जना गरी १७ जनाकाे मृत्यु भएकाे छ । तीमध्ये एक महिला र एक पुरुष विदेशी नागरिक छन् । २४ जना घाइते भएका छन् । 

उदयपुर–२ मा नेकपाका सुरेशकुमार राईको पक्षमा जनलहर, बस्ती–टोलदेखि गाउँगाउँसम्म व्यापक समर्थन

उदयपुर । उदयपुरकाे प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार सुरेशकुमार राई (हिमाल) को पक्षमा बस्ती–टोलदेखि गाउँगाउँसम्म व्यापक समर्थन देखिएको छ। चुनावी अभियान तीव्र बनाउँदै घरदैलोमा पुगेका राईलाई मतदाताले उत्साहपूर्वक स्वागत गरिरहेका छन् भने उनको एजेन्डा सुन्न सर्वसाधारणको उल्लेख्य उपस्थिति हुने गरेको छ। लोकतन्त्रको रक्षा, रोजगारी सृजना, सुशासन र भ्रष्टाचारविरुद्धको प्रतिबद्धता सार्वजनिक गर्दै राईले ‘सुशासन, रोजगारी, समाजवादको तयारी–राष्ट्रियता र लोकतन्त्रको रक्षा हाम्रो मुख्य जिम्मेवारी!’ भन्ने मूल नारासहित चुनावी मैदानमा उत्रिएका छन्। सो नाराभित्र समेटिएको ६ बुँदे योजनाले मतदातामा आशा जगाएको स्थानीयको भनाइ छ। उत्पादनमुखी कृषि, घरेलु तथा साना उद्योगमार्फत वार्षिक रोजगारी सृजना, वैज्ञानिक तथा वस्तुवादी शिक्षामार्फत समाजवादको आधार निर्माण र निःशुल्क स्वास्थ्य सेवाको प्रत्याभूति जस्ता कार्यक्रमलाई उनले प्राथमिकतामा राखेका छन्। २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा सोही क्षेत्रबाट तत्कालीन नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित राईले आफ्नो पहिलो कार्यकालमा सुरु गरेका अधुरा योजनालाई पूर्णता दिने प्रतिबद्धता दोहोर्‍याएका छन्। वडावडामा कच्ची सडकलाई पक्की बनाउने, अलपत्र अवस्थामा रहेका लिफ्टिङ खानेपानी आयोजनालाई सम्पन्न गर्ने तथा स्थानीय पूर्वाधार विकासलाई गति दिने उनको योजना छ। मिर्चया–कटारी–घुर्मी सडक स्तरोन्नति र कालोपत्रे गर्ने, खुर्कोटदेखि चतारासम्म जोड्ने कोशी करिडोर सडक निर्माणलाई तीव्रता दिने प्रतिबद्धताले पनि मतदातालाई आकर्षित गरेको छ। स्थानीय स्तरमा भित्री सडक सञ्जाल विस्तार, पुल–पुलेसा तथा नाला–कल्भर्ट निर्माण, सामुदायिक विद्यालय र स्वास्थ्य संस्थालाई पक्की भवनसहित दक्ष जनशक्तियुक्त बनाउने कार्यक्रमलाई उनले प्राथमिकता दिएका छन्। अधुरो विद्युतीकरणलाई पूर्णता दिने र जनताका दैनन्दिन समस्याको सुनुवाइ गर्दै समाधान गर्ने प्रतिबद्धताले उनको अभियानलाई थप बल पुगेको छ। ताप्ली गाउँपालिकाबाट सुरु गरिएको घरदैलो अभियान लिम्चुङबुङ, रौतामाई, उदयपुरगढी हुँदै कटारी नगरपालिकाका विभिन्न वडासम्म पुगेको छ। प्रत्येक स्थानमा मतदाताको उल्लेख्य सहभागिता देखिएको नेकपा स्थानीय नेताहरूले बताएका छन्। उदयपुरगढीकी मतदाता नुमा राईले अन्य उम्मेदवारको तुलनामा सुरेशकुमार राईको एजेन्डा स्पष्ट र कार्यान्वयनयोग्य भएको बताइन्। कटारी नगरपालिका–४ का मतदाताहरूले पनि विकास, रोजगारी र सुशासनका विषयमा राईले अघि सारेका योजना आफूहरूलाई विश्वसनीय लागेको प्रतिक्रिया दिएका छन्। नेकपाका केन्द्रीय सदस्य जगन्नाथ खतिवडासमेत अभियानमा सहभागी भइरहेका छन्। उनले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, परिवर्तनका उपलब्धिको संरक्षण र समाजवाद उन्मुख अर्थतन्त्र निर्माणका लागि तारा चिन्हमा मतदान गर्न मतदातासँग आग्रह गरेका छन्। राष्ट्रिय एजेन्डाअनुसार उत्पादनमुखी विकास, स्वदेशी उद्योग प्रवर्द्धन, श्रमिक अधिकार कार्यान्वयन र शिक्षा–स्वास्थ्यमा राज्यको सुदृढ भूमिकालाई प्राथमिकता दिइएको उनले स्पष्ट पारे। स्थानीय स्तरमा उदयपुर–२ लाई कृषि तथा औद्योगिक उत्पादनको केन्द्रका रूपमा विकास गर्ने, सिँचाइ विस्तार गर्ने, युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्ने र स्वास्थ्य–शिक्षा पूर्वाधार मजबुत बनाउने योजना अघि सारिएकाले मतदाताको समर्थन दिनप्रतिदिन बढ्दै गएको नेकपा युवा नेता ईश्वर पोखरेलले बताए। गाउँ–टोलमा आयोजित भेटघाट तथा कोणसभामा मतदाताले खुलेर आफ्ना समस्या राख्ने र समाधानका विषयमा प्रत्यक्ष संवाद हुने वातावरण बनेको छ। यही सक्रियता र स्पष्ट विकास दृष्टिकोणका कारण सुरेशकुमार राईको पक्षमा उदयपुर–२ मा जनलहर सिर्जना भएको स्थानीयको भनाइ छ। निर्वाचन नजिकिँदै जाँदा बस्ती–टोल र गाउँगाउँबाट जुटिरहेको समर्थनले सुरेशकुमार राईलाई बलियो दावेदारका रूपमा स्थापित गरेको छ। लोकतन्त्रको रक्षा, सुशासनको प्रत्याभूति र समाजवाद उन्मुख विकासको एजेन्डासहित अघि बढिरहेका राईको अभियानले उदयपुर–२ मा व्यापक जनसमर्थन पाएको देखिन्छ।

श्रमिकका मुद्दा बोकेर बारा–१ मा नेकपा दंगाल मैदानमा, व्यापक जनसमर्थन जुट्दै

बारा । मधेसको राजनीतिक परिवेशमा बारा क्षेत्र नम्बर–१ यसपटक विशेष चासोको केन्द्र बनेको छ। युवा ऊर्जा, श्रमिक अधिकार र वैकल्पिक राजनीतिक धारको प्रतिनिधित्व गर्दै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार सन्तोष दंगाल चुनावी मैदानमा उत्रिएसँगै क्षेत्रमा व्यापक जनसमर्थन जुट्न थालेको छ।  घरदैलो, टोलसभा र अन्तरक्रियामा देखिएको उत्साहजनक सहभागिताले उनको उम्मेदवारीप्रति जनताको सकारात्मक धारणा बलियो बन्दै गएको संकेत दिएको छ। २०५४ साल वैशाख २३ गते निजगढ नगरपालिका, बारामा जन्मिएका दंगाल विद्यार्थी आन्दोलनबाट राजनीतिमा प्रवेश गरेका युवा नेता हुन्। पशुपति क्याम्पस, काठमाडौंमा अध्ययनरत रहँदा २०६९ सालबाट अखिल क्रान्तिकारीमार्फत संगठित राजनीतिक जीवन सुरु गरेका उनले पार्टी संगठन निर्माण र श्रमिक अधिकारका सवालमा निरन्तर सक्रियता देखाएका छन्। स्नातक तहसम्मको शिक्षा हासिल गरेका उनी पेसाले व्यवसायीसमेत हुन्। वैदेशिक रोजगारीका क्रममा कतार पुगेका दंगालले त्यहाँ रहेका नेपाली श्रमिकहरूको हक–अधिकारको पक्षमा जनप्रगतिशील मञ्चमार्फत सदस्यदेखि सचिवसम्म (२०७४–२०७६) जिम्मेवारी सम्हाले। श्रम शोषण, न्यून पारिश्रमिक, असुरक्षित कार्य वातावरणजस्ता समस्यामा नेतृत्वदायी भूमिका निर्वाह गरेका कारण उनी श्रमिकमैत्री उम्मेदवारका रूपमा परिचित छन्। यही पृष्ठभूमिका कारण औद्योगिक क्षेत्र र श्रमिक बस्तीहरूमा उनको पक्षमा उल्लेख्य समर्थन देखिएको स्थानीय कार्यकर्ताहरू बताउँछन्। नेकपाको राष्ट्रिय एजेन्डाअनुसार दंगालले समाजवाद उन्मुख अर्थतन्त्र, उत्पादनमुखी विकास, स्वदेशी उद्योग प्रवर्द्धन, श्रमिक अधिकारको प्रभावकारी कार्यान्वयन, शिक्षा–स्वास्थ्यमा राज्यको भूमिका सुदृढीकरण र भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्ने विषयलाई प्राथमिकतामा राखेका छन्। स्थानीय स्तरमा बारा–१ लाई औद्योगिक तथा कृषि उत्पादनको केन्द्र बनाउने, सिँचाइ विस्तार गर्ने, युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्ने र स्वास्थ्य–शिक्षा पूर्वाधार सुदृढ गर्ने योजना अघि सारेका छन्। निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको बहसलाई स्थानीय हितअनुकूल समाधान गर्ने, तराई–मधेस औद्योगिक करिडोरलाई व्यवस्थित विस्तार गर्ने र साना तथा घरेलु उद्योगलाई प्रोत्साहन गर्ने विषयमा उनले स्पष्ट धारणा सार्वजनिक गरेका छन्। “बारा–१ लाई श्रम र उत्पादनको सम्मान हुने क्षेत्र बनाउने हाम्रो संकल्प हो,” दंगालले चुनावी सभामा बताएका छन्। २०७५ सालमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बारा जिल्ला कमिटी सदस्य बनेका दंगाल २०७८ सालमा पार्टी विभाजनपछि बाराकाे नेता हुन्। स्थानीय संगठनलाई सक्रिय बनाउँदै सामाजिक तथा आर्थिक गतिविधिमा निरन्तर संलग्न रहँदा उनले जनतासँग प्रत्यक्ष सम्बन्ध विस्तार गरेका छन्। यही निरन्तर सम्पर्क र सक्रियताका कारण यसपटक उनको उम्मेदवारीप्रति गाउँ–टोलमा सकारात्मक लहर देखिएको विश्लेषण भइरहेको छ। चुनावी अभियानका क्रममा विभिन्न वडामा आयोजित कार्यक्रमहरूमा युवाको उल्लेख्य उपस्थिति देखिएको छ भने श्रमिक, किसान र साना व्यवसायीहरू खुलेर समर्थन जनाइरहेका छन्। महिलाहरूको सहभागिता पनि बढ्दो क्रममा रहेको बताइएको छ। कार्यकर्ताहरूका अनुसार विगतमा निराश भएका मतदाताहरू यसपटक वैकल्पिक राजनीतिक धारको खोजीमा रहेका छन् र दंगालप्रति आकर्षण बढ्दै गएको छ। उनको उम्मेदवारीका अनुकूल पक्षमा नयाँ पुस्ताको सोच, ऊर्जा र स्पष्ट परिवर्तनको एजेन्डा, श्रमिक मुद्दामा व्यावहारिक अनुभव र स्थानीय संगठनमा सक्रियता छन्। संसदीय अनुभव नभए पनि जनताको मुद्दामा प्रत्यक्ष संलग्नता नै उनको मुख्य शक्ति बनेको समर्थकहरूको दाबी छ। दंगाल स्वयं भन्छन्, “मधेसमा नेपाली कम्युनिस्ट पार्टीप्रति भरोसा बढेको छ। गाउँ–गाउँमा यो व्यवस्था जोगाउन र समाजवादको आधार निर्माण गर्न नेकपाको विकल्प नरहेको जनताको बुझाइले मलाई थप उत्साहित बनाएको छ।” यसरी राष्ट्रिय रूपान्तरणको स्पष्ट एजेन्डा, स्थानीय विकासका ठोस योजना र बढ्दो जनसमर्थनसहित सन्तोष दंगाल बारा–१ मा श्रमिक, युवा र उत्पीडित वर्गको प्रतिनिधित्व गर्ने प्रतिबद्धतासाथ चुनावी प्रतिस्पर्धामा उभिएका छन्। उनका समर्थकहरूका अनुसार यो अभियान केवल उम्मेदवारको जितका लागि मात्र नभई श्रम–सम्मान र समतामूलक समाज निर्माणको दिशामा अघि बढ्ने सामूहिक प्रयास हो।

मतदानका लागि तीन दिन सार्वजनिक बिदा दिन आयोगको सिफारिस

काठमाडौं । निर्वाचन आयोगले चुनावका बेला तीन दिन सार्वजनिक बिदा सिफारिस गरेको छ । यही फागुन २० देखि २२ गतेसम्म सार्वजनिक बिदा दिन आयोगले सरकारलाई भनेको हो ।  “मतदानमा मतदाताको उत्साहजनक सहभागिता बढाउने उद्देश्यले फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा गर्न निर्वाचन आयोगले नेपाल सरकारलाई सिफारिस गरेको छ,” आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले भने ।  प्रतिनिधिसभा सदस्य छान्न यही फागुन २१ गते मतदान हुँदै छ ।

धादिङ बस दुर्घटनामा मृत्यु हुने १७ जनामा दुई विदेशी नागरिक पनि

धादिङ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ चरौदीनजिकै यात्रुवाहक बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । दुर्घटनामा ११ जना पुरुष र ६ जना महिलाको घटनास्थमै मृत्यु भएको हो । तीमध्ये एक महिला र एक पुरुष विदेशी नागरिक छन् ।  बसमा ४४ जना सवार रहेको बताइएको छ । बाँकी घाइतेको उद्धार गरी अस्पताल पठाइएको छ । पोखराबाट काठमाडौं आउँदै गरेको ग२ ख १४२१ नं को  बस त्रिशूली नदी किनारमा खसेको थियो ।    दुर्घटनास्थलबाट सबै घाइतेहरुको उद्धार गरिसकिएको छ । केही घाइतेलाई स्थानीय अस्पतालमा उपचार गरिएको छ भने अधिकांशलाई काठमाडौं पठाइएको छ । जिल्लाका तीनै सुरक्षा निकाय र स्थानीयले उद्धार गरेका थिए ।

रुकुमपूर्वका एमाले नेता नेपाली कम्युनिस्ट पार्टी प्रवेश

रुकुमपूर्व । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले रुकुमपूर्वमा थप संगठनात्मक सुदृढीकरण गरेको छ। नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) (एमाले) रुकुमपूर्व सिस्ने गाउँपालिका कमिटीका सदस्य बलबहादुर बुढा एमाले परित्याग गर्दै नेकपामा प्रवेश गरेका छन्। रुकुमकोटस्थित नेकपा जिल्ला कार्यालयमा आयोजित कार्यक्रममा पार्टीका मुख्य सचिव गणेशमान पुन र केन्द्रीय सदस्य पूर्णबहादुर घर्ती लगायत नेताहरूले बुढालाई पार्टीमा स्वागत गरेका हुन्। कार्यक्रममा नेताहरूले बुढाको आगमनले जिल्लामा पार्टीको जनआधार अझ सुदृढ हुने विश्वास व्यक्त गरेका छन्। २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेका तर्फबाट सिस्ने–६ वडा सदस्यमा निर्वाचित बुढा लामो समयदेखि कम्युनिस्ट आन्दोलनमा सक्रिय रहँदै आएका थिए। कम्युनिस्ट शक्तिहरूलाई वास्तविक रूपमा एकताबद्ध गर्न सक्ने शक्ति नेकपा मात्र रहेको निष्कर्षसहित आफूले एमाले परित्याग गरेको बुढाले बताए।  

अमेरिकी राष्ट्रपति ट्रम्प निवास भित्र हतियारधारी व्यक्ति व्याक्ति छिरेर गाेली प्रहार

काठमाडौं । अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पकाे फ्लोरिडास्थित निजी निवास परिसरमा एक हतियारधारी व्यक्ति प्रवेश गर्ने प्रयास गर्दा सुरक्षाकर्मीको गोली लागेर मृत्यु भएको छ । घटना ट्रम्पको निवासमा भएको हो । उक्त समयमा ट्रम्प वासिङ्टन डीसीमा रहेको जनाइएको छ भने उनका परिवारका सदस्यहरू फ्लोरिडास्थित घरमै थिए । अधिकारीहरूका अनुसार परिवार सुरक्षित छन् । स्थानीय सुरक्षा निकायका अनुसार संदिग्ध व्यक्तिलाई रोक्ने क्रममा अमेरिकी सिक्रेट सर्भिस र पाम बीच काउन्टी शेरिफ कार्यालयका सुरक्षाकर्मी संलग्न थिए । प्रारम्भिक सूचनाअनुसार सुरक्षाकर्मीले ती व्यक्तिलाई हतियार त्याग्न आदेश दिएका थिए । उनले पेट्रोलको डिब्बा भुईंमा राखे पनि शटगन चलाउन खोजेपछि सुरक्षाकर्मीले गोली चलाउनुपरेको बताइएको छ । घटनास्थलबाट शटगन र पेट्रोलको डिब्बा बरामद गरिएको छ । निवासमा सधैं उच्च सतर्कता अपनाइन्छ । बाहिरी सुरक्षा स्थानीय शेरिफ कार्यालयले सम्हाल्छ भने भित्री सुरक्षा अमेरिकी सिक्रेट सर्भिसको नियन्त्रणमा हुन्छ । आगन्तुकहरूको कडाइका साथ जाँच, मेटल डिटेक्टर र कुकुरमार्फत परीक्षण नियमित प्रक्रिया मानिन्छ । यति कडा सुरक्षाबीच पनि संदिग्ध व्यक्ति भित्री क्षेत्रमा कसरी पुग्न सफल भयो भन्नेबारे अनुसन्धान जारी रहेको जनाइएको छ ।  

सिरहामा डकैतीका चार आरोपी कटुवा पेस्तोलसहित पक्राउ

सिरहा । कल्याणपुर नगरपालिका–१२ बेल्हाकट्टीमा तीन महिनाअघिको डकैती घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक भारतीयसहित चारजनालाई पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय सिरहाले आइतबार पत्रकार सम्मेलन गरी ती आरोपीहरुलाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेहरूबाट दुई थान कटुवा पेस्तोल, चार राउन्ड गोली, करिब ३० ग्राम खैरो हेरोइनजस्तो लागूऔषध र मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकामाथि डाका, ज्यान मार्ने उद्योग, हातहतियार तथा लागूऔषध सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले जनकारी दिए ।  गत मंसिर ३ गते हतियारधारी समूहले स्थानीय भोला महतोको घरमा प्रवेश गरी करिब ६ लाख रुपैयाँ बराबरको सुनचाँदी, मोबाइल र ड्रोन क्यामेरा लुटपाट गरेको थियो । घटनाका क्रममा गोली चल्दा दुईजना गम्भीर घाइते भएका थिए । प्रहरीले घटनामा प्रयोग भएको अटोरिक्सा नियन्त्रणमा लिएको छ भने अन्य फरार व्यक्तिको खोजी भइरहेको जनाएको छ । 

जलवायु परिवर्तनका मुद्दामा नेकपा सबैभन्दा अग्रगामी, यस्ता छन् प्रतिवद्धतापत्रमा समावेश विषय

काठमाडौँ । प्रतिनिधिसभा सदय निर्वाचनका लागि अनेकन खालका घोषणापत्र सार्वजनिक भएका छन् । कोही व्यवहारिक खालका छन् भने कुनै स्वरै कल्पना भरिएका छन् । मुख्य पक्ष विचार, राजनीति र देश अनि जनतालाई केन्द्रमा राखेर सार्वजनिक भएका घोषणापत्र भने सिमित छन् ।  विशेष गरी नेपाली कम्युनिस्ट पार्टीले पछिल्ला दिनमा देखा परेको विराट समस्याको बारेमा प्रतिवद्धतापत्रमा महत्वका साथ समावेश गरेको विषय हो, जलवायु परिवर्तन । जलवायु परिवर्तनका कारण वातावरणमा देखा परेको समस्या दिन दुई गुणा रात चार गुणाका दरमा बढीरहेको छ ।  हिमालमा हिउँ छैन । अत्याधिक बर्षा, न्यून बर्षा अनि बेसौसमा पर्ने पानीका कारण हरेक बर्ष नेपालले ठूलो समस्या र जटिलता भोग्दै आएको छ । समस्या यति धेरै विकराल भइसकेको छ कि आगामी केही बर्षभित्रै हामीले अझै ठूलो समस्या झेल्नुपर्नेछ ।  ग्रामीण बस्तीमा पानीको मुहान सुक्दै गएको छ । पिउने पानीको खोजीमा मानिस भौतारिनुपर्ने अवस्था छ । स्वच्छ पिउने पानी संविधान प्रदत्त मौलिक हक भित्र पर्ने भएपनि स्रोतको अभावमा आम नागरिकले भोग्नु परेको हैरानी भनी साध्ये छैन ।  ठूला र आफूलाई पूँजीवादी देशले थोपरेको समस्या र जलवायुजन्य फोहोरका कारण नेपाल जस्ता देशले ठूलो समस्या र परेसानी सहनु परेको छ । अति वृष्टि, अनावृष्टि, मौसमी चक्रमा आएको परिवर्तन तथा हिमाली क्षेत्रमा लामखुट्टेको प्रकोप आदि इत्यादि ।  नेपाली कम्युनिस्ट पार्टीले जैविक विविधतामा आधारित प्रागरिक, वातावरणमैत्री, र जलवायु अनुकूल कृषि प्रणालीलाई प्राथमिकतामा राखेको छ । उत्पादन बृद्धिसहित देशलाई प्रागरिक मुलुक घोषणा गर्ने नेकपाको संकल्प रहेको छ ।  हानीकारक रासायनिक विषादी नियन्त्रणगरी जैविक विविधता र रैथाने बाली संरक्षण गर्ने नीति नेकपाको छ । यस्तै, जनस्वास्थ्य र जैविक सुरक्षाका आधारमा जिएमओ बाली प्रयोगमा प्रतिबन्ध लगाउने कार्यक्रमलाई नेकपाले आफ्नो प्रतिवद्धतापत्रमा महत्वका साथ स्थान दिएको छ । यो जलवायु परिवर्तनसँग लड्ने एउटा महत्वपूर्ण आधार हो ।  जलवायु परिवर्तनमा नेपालको भूमिका नगन्य र हुँदै नभएपनि हामीले जटिल मानवीय समस्या भोग्नु परेको छ । हामी संकटमा परिसकेका छौ । यो अवस्थालाई ख्याल गरेर प्रतिवद्धतापत्रमा नै नेपाली कम्युनिस्ट पार्टीले यो विषयलाई आत्मसाथ गरेको हो ।  यस्तै, कृषि वनलाई प्राथमिकता दिई जैविक विविधता संरक्षण र कृषि पर्यटन प्रवद्र्धन गर्ने, वन्यजन्तुलाई वनमै राख्ने वातावरण सिर्जना गरी बालीमा क्षत्रि क्रमशः अन्त्य गर्ने, कृषि वनमा जडीबुटी खेती प्रवद्र्धन गर्ने कार्यक्रम पनि अगाडि सारिएको छ ।  यस्तै, नेकपाले हरित अर्थतन्त्रको प्रवद्र्धनमा जोड दिएको छ । उद्योग, व्यवसाय, कार्यालय तथा प्रतिष्ठानले वातावरणमैत्री विधिहरु अवलम्बन गर्नुपर्नेछ । कार्बन मूल्य निर्धारणका लागि नीति निर्माण गरी कार्बन व्यापारको लागि स्पष्ट कानुनी र संस्थागत आधार तयार पार्ने, नयाँ बन्ने नीतिले उत्सर्जन घटाउने परियोजनालाई प्रोत्साहन दिई काबन क्रेडिटको उत्पादन, खरिद बिक्री र नियमनको व्यवस्था गर्नेछ भन्ने नेपाली कम्युनिस्ट पार्टीले स्पष्ट रुपमा आफ्नो वाचामा समावेश गरेको छ ।  नेपालले सन् २०४५ सम्म नेट जिरो इमिशनको लक्ष्य हासिल गर्न नवीकरणीय ऊर्जाको प्रयोगमा जोड दिएको सन्दर्भमा नेकपाले कार्बन उत्सर्जन कम गर्दै जाने महत्वाकांक्षी लक्ष्यलाई प्रमुख प्राथमिकतामा राखेको छ ।  हरित गृह ग्यास उत्सर्जनका कारण पृथ्वीमा बढ्दो तापमान तथा जलवायु परिवर्तनले जनताको जीवनमा पर्ने अर र जोखिमलाई कम गर्न अनुकूलन र न्यूनीकरणको कार्यक्रम सञ्चालन गर्ने लक्ष्य निर्धारण गरेको छ ।  पृथ्वीको बढ्दो तापमान तथा जलवायु परिवर्तनका मुद्दालाई अन्तर्राष्ट्रियकरण गरी जलवायु संकटले हिमाली देशहरुमा उत्पन्न गरेको जोखिमबारे विश्वव्यापी रुपमा ध्यानाकर्षण गर्दै नेपालको नेतृत्वमा सरोकारवाला मुलकको सञ्जाल निर्माण गर्न पहल गर्ने योजना नेकपाले अगाडि सारेको छ ।  हिमाल बचाऔ अभियान सञ्चालन गर्ने, जलवायु परिवर्तनसँग सम्वद्ध विश्व सम्झौताहरुद्धारा स्थापित हरित जलवायु कोष, नोक्सानी क्षतिपूर्ति कोषजस्ता वित्तिय कोषको रकम तथा अन्य अवसरहरुको अधिकतम उपयोग गर्नका लागि विशेष कुटनीतिक साथै प्राविधिक पहल गर्ने नेकपाको योजना छ ।  विपदको सम्भाव्य जोखिममा रहेका स्थानमा विपद न्यूनीकरण पूर्वाधारको निर्माण गर्ने, पूर्व तयारी संयन्त्रको प्रभावकारी कार्यान्वयन गर्ने विषय हालसम्मकै नयाँ कार्यक्रमको रुपमा नेकपाले लिपीबद्ध गरेको छ ।  प्राकृतिक प्रकोप तथा विपद प्रभावित बाढी पहिरो, भूकम्पजस्ता विपदबाट प्रभावित परिवारलाई तत्काल राहत, पुनः स्थापना र दीर्घकालीन जीविकोपार्जन योजना लागू गर्ने, विकासका योजना निर्माण गर्दा विपदजन्य जोखिम र त्यसको व्यवस्थापनमा ध्यान दिनुपर्ने नीति अवलम्बन गर्ने नेकपाको प्रतिवद्धतापत्रमा समावेश छ ।  तेस्रो पटक प्रधानमन्त्रीका रुपमा नेकपाका संयोजक प्रचण्डले अन्तर्राष्ट्रिय मञ्चहरुमा जलवायु परिवर्तन र त्यसबाट नेपालले भोग्नु परेको समस्यालाई जसरी विश्व समुदायको ध्यानाकर्षण गराएका थिए । त्यो आफैमा हालसम्मकै ठूलो अन्तर्राष्ट्रिय प्रयास र पहल थियो । त्यसअघि त्यो रुपमा मर्मवोधका साथ कहिल्यै विषय उठेकै थिएन ।    संयुक्त राष्ट्र संघका महासचिवको नेपाल भ्रमण, विश्व जलवायु सम्मेलनमा नेपालले देखाएको प्रभावकारी उपस्थिती आफैमा ऐतिहासिक परिघटनाको रुपमा स्थापित छ । संसार जोगाउने भए हिमाल जोगाउनै पर्छ भनेर अन्तर्राष्ट्रिय मञ्चमा नेपालले उठाएको मुद्दा र सुनिने गरी भनिएको विषयले आज क्रमशः प्रतिफल दिन शुरु गरेको छ ।   गल्ती नगर्दा पनि नेपालले भोग्नु परेको जलवायुजन्य समस्याका बारेमा अन्तर्राष्ट्रिय समुदायले सुन्ने गरी स्पष्ट शब्दमा प्रचण्ड प्रधानमन्त्री भएकै बखत मात्रै आफ्नो धारणा राखिएको थियो । औद्योगिक राष्ट्रले गरेको प्राकृतिक स्रोतमाथिको अत्याधिक दोहन, खनिज तेलको अत्याधिक उपभोगका कारण हरित गृह ग्यासको बढ्दो उत्पादनले ओजन तहमा देखा परेको प्वाल तथा नेपाल जस्ता हिमाली देशले भोग्नुपरेको समस्यालाई प्रचण्डले जसरी अन्तर्राष्ट्रिय समुदायका सामु विषय वस्तु राखेका थिए, त्यो आफैमा ऐतिहासिक परिघटना नै थियो । सोही सन्दर्भमा नेकपाले सार्वजनिक गरेको प्रतिवद्धतापत्रमा जलवायु परिवर्तनका  एजेण्डाले महत्व पाएको छ ।  आफ्नो कुनै भूमिका नभएपनि जलवायु परिवर्तन र त्यसले पारेको प्रभावकाबारेमा अन्य राजनीतिक दल भन्दा नेकपाले अगाडि सारेको कार्यक्रम सबैभन्दा वस्तुवादी र वैज्ञानिक रहेको तथ्यले पुष्टि गरेको छ । अन्तर्राष्ट्रिय समुदायका सामु नेपालको अधिकार हो, नेपालले जलवायु जन्य समस्याबाट भोग्नु परेको जटिला समाधानका लागि अन्तर्राष्ट्रिय समुदायले यो वा त्यो तर्क गरेर भाग्न पाउँदैन भन्ने दृष्टिकोण आफैमा ऐतिहासिक छ ।  प्रतिवद्धतापत्रमा समावेश भएका विषय कार्यान्वयनका लागि पनि नेपाली जनताले नेकपालाई ढुक्क भएर मतदान गर्नुपर्छ । तब मात्र यो विषयले थप मुखर हुने अवसर पाउँछ । अन्यथा अन्य राजनीतिक दलको प्राथमिकतामा नपरेको यो विषय थप प्रष्ट हुन र कार्यान्वयनमा जान नसक्ने स्पष्ट छ ।

अब रास्वपाले घण्टी बजाउँदै भोट माग्न नपाउने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले अबदेखि आफ्नो चुनाव चिह्न घण्टी बजाउँदै भोट माग्न नपाउने भएको छ । आइतबार निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनका लागि प्रचारप्रसार गर्दा निर्वाचन चिह्नको भौतिक स्वरूप प्रयोग नगर्न/नगराउन आग्रह गरेको छ । यसअघि रास्वपाका उम्मेदवारले घण्टी बजाउँदै मत माग्दै आएका थिए ।  कतिपय राजनीतिक दल वा उम्मेदवारले निर्वाचन चिह्नको प्रचारप्रसार गर्दा भौतिक स्वरूपको निर्वाचन चिह्न साथमै बोकी प्रयोग गर्ने र जनसमुदायको समग्र शान्तिमा प्रतिकूल असर पारेको भन्ने सूचना र गुनासाहरू प्राप्त भएको भन्दै दल तथा उम्मेदवारलाई आग्रह गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए । यही फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुँदैछ । 

मोटरसाइकल चोरीमा संलग्न एकजना पक्राउ

काठमाडौं । मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा एकजनालाई नियन्त्रणमा लिएको छ । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६, बौद्ध नँयाबस्तीबाट आइतबार चोरीको मोटरसाइकलसहित एकजनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा सुर्खेतको पञ्चपुरी नगरपालिका–७ घर भई हाल काठमाडौंको जोरपाटी बस्ने २२ वर्षीय वीरविक्रम खड्का रहेका छन् ।  बा ९० प ३९ ७४ नम्बरको मोटरसाइकल नम्बर परिवर्तन गरी ना ५१ प ३२ ०३ नम्बर राखी चलाइरहेको अवस्थामा बौद्ध नँयाबस्तीबाट फेला पारी खड्कालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । उक्त मोटरसाइकल काठमाडौं महानगरपालिका–४ बस्ने आशिष रानामगरले बूढानीलकण्ठ नगरपालिका–५ बाट हराएको भनी खोजतलासका लागि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिएका थिए । 

नियमित बजार अनुगमन: दुई फर्मलाई विभागद्वारा जरिवाना

काठमाडौँ । नियमित बजार अनुगमन गर्दै आएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आइतबार दुई फर्मलाई जरिवाना गरेको छ । स्थलगत अनुगमनका क्रममा कैफियत देखिएपछि विभागले काठमाडौँ बाँसबारीस्थित बाँसबारी राइस मिललाई रु दुई लाख जरिवाना तिराएको हो । त्यसैगरी जयस अन्न घर कागेश्वरी नगरपालिका–६ मुलपानी बाबाचोकलाई रु १० हजार जरिवाना तिराएको छ । उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ बमोजिमको कसुरमा सोही ऐनको दफा ३९ अनुसार कारबाही गरिएको विभागले जनाएको छ । विभागले मेगा मार्ट प्रालिलगायत अन्य तीन फर्मलाई तीन दिनभित्र व्यवसायसँग सम्बन्धित कागजातहरू लिई तीन भित्र उपस्थित हुन निर्देशन दिएको छ । विभागले अन्य सात वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिएको छ । स्थानीय जनप्रतिनिधि, उपभोक्ता अधिकारकर्मी र सरोकारवालाको उपस्थितिमा विभागले नियमित रूपमा बजार अनुगमन गर्दै कानुन कार्यान्वयन गराएको स्पष्ट पारेको छ ।

राजनीतिक दलको चुनावी प्रतिबद्धतामा जलवायु परिवर्तनका मुद्दा कस्ता छन् ?

काठमाडौँ । प्रमुख राजनीतिक दलले जलवायु परिवर्तनको मुद्दालाई आफ्नो घोषणापत्रमा महत्वका साथ समावेश गरेका छन् । जलवायु परिवर्तनका कारण मुलुकले ठुला समस्या भोग्नु परेको तथा जनजीवन समेत प्रभावित हुन थालेपछि यसपटक विशेष रूपमै यस विषयलाई प्राथमिकतामा राखेका हुन् । जलवायु परिवर्तन हुनुमा नेपालको भूमिका कम भए पनि प्रभावका हिसाबले जोखिमयुक्त देशका रूपमा रहेको, हिमाली क्षेत्रमा प्रत्यक्ष रूपमा समस्या देखिन थालेकाले पनि राजनीतिक दलले यस विषयलाई नीतिगत रूपमा प्राथमिकतामा राखेका हुन् । नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीले प्रस्ट रूपमा जलवायु परिवर्तनका मुद्दालाई आफ्नो घोषणापत्रमा समावेश गरेका छन् । अन्य राजनीतिक दलले पनि यस विषयलाई आफ्नो घोषणापत्रमा समावेश गरेर यो विषय साझा हो भन्नेमा स्पष्ट पारेका छन् । हिमालमा हिउँ छैन । अत्यधिक वर्षा, न्यून वर्षा अनि बेमौसममा पर्ने पानीका कारण हरेक वर्ष नेपालले ठुलो समस्या र जटिलता भोग्दै आएको छ । ग्रामीण बस्तीमा पानीको मुहान सुक्दै गएको छ । पिउने पानीको खोजीमा मानिस भौतारिनुपर्ने अवस्था छ । स्वच्छ पिउने पानी संविधान प्रदत्त मौलिक हक भित्र पर्ने भए पनि स्रोतको अभावमा आम नागरिकले हैरानी भोग्नु परेको छ । नेपाली कम्युनिस्ट पार्टीले जैविक विविधतामा आधारित प्राङ्गारिक, वातावरणमैत्री, र जलवायु अनुकूल कृषि प्रणालीलाई प्राथमिकतामा राखेको छ । उत्पादन वृद्धिसहित देशलाई प्राङ्गारिक मुलुक घोषणा गर्ने नेकपाको संकल्प रहेको छ । हानिकारक रासायनिक विषादी नियन्त्रण गरी जैविक विविधता र रैथाने बाली संरक्षण गर्ने नीति नेकपाको छ । जनस्वास्थ्य र जैविक सुरक्षाका आधारमा ‘जिएमओ’ बाली प्रयोगमा प्रतिबन्ध लगाउने कार्यक्रमलाई नेकपाले आफ्नो प्रतिबद्धतापत्रमा उल्लेख गरेको छ । यो जलवायु परिवर्तनसँग लड्ने एउटा महत्त्वपूर्ण आधार हो । नेकपाले हरित अर्थतन्त्रको प्रवर्द्धनमा जोड दिएको छ । उद्योग, व्यवसाय, कार्यालय तथा प्रतिष्ठानले वातावरणमैत्री विधिहरु अवलम्बन गर्नुपर्नेछ । कार्बन मूल्य निर्धारणका लागि नीति निर्माण गरी कार्बन व्यापारका लागि स्पष्ट कानुनी र संस्थागत आधार तयार पार्ने लक्ष्य राखेको छ । नयाँ बन्ने नीतिले कार्बन उत्सर्जन घटाउने परियोजनालाई प्रोत्साहन दिई कार्बन क्रेडिटको उत्पादन, खरिद बिक्री र नियमनको व्यवस्था गर्ने विषयलाई नेकपाले आफ्नो वाचा पत्रमा समावेश गरेको छ । नेपालले सन् २०४५ सम्म ‘नेट जिरो इमिसन’को लक्ष्य हासिल गर्न नवीकरणीय ऊर्जाको प्रयोगमा जोड दिएको सन्दर्भमा नेकपाले कार्बन उत्सर्जन कम गर्दै जाने महत्त्वाकाङ्क्षी लक्ष्यलाई प्रमुख प्राथमिकतामा राखेको छ । हरित गृह ग्यास उत्सर्जनका कारण पृथ्वीमा बढ्दो तापमान तथा जलवायु परिवर्तनले जनताको जीवनमा पर्ने जोखिम कम गर्न अनुकूलन र न्यूनीकरणको कार्यक्रम सञ्चालन गर्ने लक्ष्य राखेको छ । पृथ्वीको बढ्दो तापमान तथा जलवायु परिवर्तनका मुद्दालाई अन्तर्राष्ट्रियकरण गरी जलवायु संकटले हिमाली देशहरूमा उत्पन्न गरेको जोखिमबारे विश्वव्यापी रूपमा ध्यानाकर्षण गर्दै नेपालको नेतृत्वमा सरोकारवाला मुलकको सञ्जाल निर्माण गर्न पहल गर्ने योजना नेकपाले अगाडि सारेको छ । हिमाल बचाऔँ अभियान सञ्चालन गर्ने, जलवायु परिवर्तनसँग सम्बद्ध विश्व सम्झौताहरुद्वारा स्थापित हरित जलवायु कोष, नोक्सानी क्षतिपूर्ति कोषजस्ता वित्तीय कोषको रकम तथा अन्य अवसरहरूको अधिकतम उपयोग गर्नका लागि विशेष कूटनीतिक साथै प्राविधिक पहल गर्ने नेकपाको योजना छ । विपद्को सम्भाव्य जोखिममा रहेका स्थानमा विपद् न्यूनीकरण पूर्वाधार निर्माण गर्ने, पूर्व तयारी संयन्त्रको प्रभावकारी कार्यान्वयन गर्ने विषय हालसम्मकै नयाँ कार्यक्रमको रूपमा नेकपाले लिपिबद्ध गरेको छ । प्राकृतिक प्रकोप तथा विपद् प्रभावित बाढी पहिरो, भूकम्पजस्ता विपदबाट प्रभावित परिवारलाई तत्काल राहत, पुनः स्थापना र दीर्घकालीन जीविकोपार्जन योजना लागू गर्ने, विकासका योजना निर्माण गर्दा विपदजन्य जोखिम र त्यसको व्यवस्थापनमा ध्यान दिनुपर्ने नीति अवलम्बन गर्ने नेकपाको प्रतिवद्धतापत्रमा समावेश छ । ऊर्जा, यातायात, उद्योग र पूर्वाधार क्षेत्रमा संरचनागत सुधार गर्दै सन २०४५ सम्म नेटजिरो उत्सर्जन राष्ट्र बनाउने राष्ट्रिय प्रतिबद्धता कार्यान्वयन गर्ने कांग्रेसको योजना छ । नेपालले जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय मञ्चहरूमा विभिन्न प्रतिबद्धता जनाएको छ । यसअघि नै जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२६) मा सहभागिता जनाउँदै नेपालले सन २०४५ सम्म नेटजिरो कार्बन उत्सर्जन राष्ट्र बनाउने घोषणा गरेको थिए । सोहीअनुरूप राष्ट्रिय निर्धारित योगदान (एनडिसी) र अनुकूलन योजना तयार भएका थिए । घोषित प्रतिबद्धतालाई ठोस परिणाममा बदल्न आवश्यक पर्ने वित्तीय स्रोत, प्रविधि, संस्थागत क्षमता र स्पष्ट कार्ययोजनाको सुनिश्चितताका लागि कांग्रेस विभिन्न संकल्प गरेको छ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि कांग्रेसले सार्वजनिक गरेको प्रतिज्ञापत्रमा पनि ऊर्जा, यातायात, उद्योग र पूर्वाधार क्षेत्रमा संरचनागत सुधार गर्दै सन २०४५ सम्म नेटजिरो उत्सर्जन राष्ट्र बन्ने राष्ट्रिय प्रतिबद्धता कार्यान्वयन गर्ने उल्लेख छ । औद्योगिक तथा घरायसी क्षेत्रमा प्रयोग हुने ऊर्जालाई वातावरणमैत्री बनाउन स्वच्छ र नवीकरणीय ऊर्जाको अनुपातमा उल्लेख्य वृद्धि गर्ने लक्ष्य प्रतिज्ञा पत्रमा राखिएको छ । वातावरण तथा वन संरक्षण, कार्बन उत्सर्जन कटौती, हरित अर्थतन्त्र र विपद्को पूर्वतयारीमार्फत बढ्दो प्रदूषण र जलवायु परिवर्तन, प्राकृतिक विपद्ले जनस्वास्थ्य र जनजीविकामा पारेको गम्भीर संकटलाई न्यूनीकरण गर्ने कांग्रेसको प्रतिबद्धता छ । संविधानले प्रत्याभूत गरेको स्वच्छ र स्वस्थ वातावरणमा बाँच्ने मौलिक हकलाई व्यवहारमा उतार्दै हावा, पानी, भूमि र खाद्य प्रणालीका लागि कडा राष्ट्रिय वातावरणीय मापदण्ड लागू गर्ने कांग्रेसको प्रतिज्ञा छ । त्यसै गरी कांग्रेसले विकास तथा वातावरण सन्तुलनसहित हरित विकास गर्ने लक्ष्य राखेको छ । पूर्वाधार, सहरी विकास, उद्योग र सार्वजनिक सेवामा न्यून कार्बन र वातावरणमैत्री प्रविधिको अनिवार्य प्रयोग गर्दै विकास र वातावरणबिच सन्तुलन कायम गर्ने कांग्रेसको प्रतिबद्धता छ । कांग्रेसले मुलुकको कूल वन क्षेत्र कम्तीमा ४६ प्रतिशत कायम राख्दै वन, जैविक विविधता, भू तथा जलाधार, सिमसार, ताल र पोखरी र प्राकृतिक पारिस्थितिक प्रणालीको संरक्षण गर्ने जनाएको छ । ग्रीन क्लाइमेट फण्ड, लस एण्ड ड्यामेज फण्ड, विश्व बैंक र एसियाली विकास बैंक जस्ता अन्तर्राष्ट्रिय स्रोतबाट प्राप्त हुने जलवायु वित्तलाई आगामी दिनमा रणनीतिक, परिणाममुखी र समन्वित रूपमा परिचालन गर्ने सो दलको भनाइ छ । यसैगरी कांग्रेसले निजी क्षेत्र तथा वैदेशिक लगानीलाई आकर्षित गर्दै अन्तर्राष्ट्रिय र आन्तरिक जलवायु वित्तका स्रोत पहिचान, प्राप्ति र प्रभावकारी उपयोग गर्न आवश्यक कानुनी तथा संस्थागत संरचना निर्माण गर्ने जनाएको छ । जलवायु न्यायका लागि महिला, आदिवासी, सीमान्तकृत समुदायलाई केन्द्रमा राखी अनुकूलन कार्यक्रम, बिमा, रोजगारी र प्रत्यक्ष सहायताका कार्यक्रम सञ्चालन गर्ने जनाइएको छ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले जलविद्युत्, सौर्य, ग्रीन हाइड्रोजन समेतको नवीकरणीय ऊर्जाको उत्पादन, प्रसारण र वितरणका आयोजनाहरू सम्पन्न गरी ऊर्जा सुरक्षाको प्रत्याभूति दिनुका साथै नेपाललाई दक्षिण एसियाको स्वच्छ ऊर्जा निर्यातक हबको रूपमा विकास गर्ने लक्ष्य राखेको छ । विद्युत् उत्पादन र प्रतिव्यक्ति विद्युत् उपभोग दोब्बर बनाउने लक्ष्य राखेको छ । एमालेले जलवायु अनुकूलनको क्षेत्रमा उपलब्ध जलवायु वित्तको निश्चित प्रतिशत रकम पानीका मुहान संरक्षण गर्नेजस्ता जलवायु उत्थानशील कार्यक्रमहरूमा परिचालन गरी खानेपानीको आपूर्तिलाई सुनिश्चित गर्ने कार्यक्रम अगाडि सारेको छ । जैविक विविधता, बस्ती विस्तार र मानव क्रियाकलापसँग सन्तुलन सुनिश्चित गर्ने, पानीको स्रोत, माटोको उर्वरता, खाद्य उत्पादन, स्थानीय जलवायु, वन जंगलजस्ता इकोसिस्टम सेवाहरूको संरक्षण गर्ने कार्यक्रम एमालेको छ । यस्तै, पानीको मुहान, ताल नदी, सीमसार क्षेत्रलगायत जलाधार क्षेत्रको संरक्षण गर्ने विषयलाई एमालेले प्राथमिकतामा राखेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले जलवायु परिवर्तन अनुकूलन तथा लचिलोपनलाई विकास योजना, पूर्वाधार डिजाइन र बजेट प्रक्रियासँग जोड्ने कार्यक्रम अगाडि सारेको छ । राष्ट्रिय जलवायु वित्त रणनीति स्वीकृत गरी विश्वव्यापी जलवायु कोषहरूबाट नेपालले पाउनुपर्ने क्षतिपूर्ति र अनुदान प्राप्त गर्न उच्चस्तरीय कूटनीतिक पैरवी गर्ने सो दलको योजना छ । हिमाल र पर्यावरण जोगाउन जलवायु परिवर्तनको मुद्दालाई अन्तर्राष्ट्रिय मञ्चमा जलवायु न्यायको रूपमा सशक्त ढंगले उठाउने, नेपाललाई पीडित राष्ट्रको पहिचानबाट माथि उठाउने सो पार्टीले आफ्नो वाचा पत्रमा समावेश गरेको छ । जलवायु कूटनीति मार्गचित्र स्वीकृत गरी गरी आगामी जलवायु सम्मेलनहरूमा नेपालको एजेन्डा र मागहरूलाई उच्चस्तरीय र प्राविधिक रूपमा सशक्त बनाउने कार्यक्रम सो दलको छ । त्यसै गरी राष्ट्रिय प्रजातन्त्र पार्टी, उज्यालो नेपाल पार्टीलगायतले पनि जलवायु परिवर्तनका मुद्दालाई आफ्नो घोषणापत्रमा समावेश गरेका छन् ।

जनप्रतिनिधिलाई निर्वाचन प्रचार प्रसारमा सहभागी नहुन आग्रह

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तहका जनप्रतिनिधिलाई निर्वाचन प्रचारप्रसारमा सहभागी नहुन आग्रह गरेको छ । निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्न आयोगले सो आग्रह गरेको हो । निर्वाचन आचारसंहिता, २०८२ लागू गरेको विषय उल्लेख गर्दै आयोगले सो आचारसंहिताको पूर्ण पालना गर्नु सरोकारवाला पक्षको दायित्व भएको स्मरण गराएको छ । सबै राजनीतिक दल, उम्मेदवार तथा सम्बन्धित पक्षले निर्वाचन आचारसंहिताको पूर्ण पालनाको विषयमा आयोगले अनुगमन गरिरहेको जनाएको छ । स्थानीय तहका केही जनप्रतिनिधि निर्वाचन आचारसंहिता विपरीत राजनीतिक दल तथा उम्मेदवारको प्रचारप्रसारमा सहभागी भएको भनी उजुरी तथा गुनासो प्राप्त भएकामा आयोगको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ । निर्वाचन आचारसंहितामा रहेको व्यवस्थाअनुसार, स्थानीय कार्यपालिकाका पदाधिकारीले आफू बहाल रहेको स्थानीय तह बाहेक अन्य स्थानीय तहमा सम्बन्धित राजनीतिक दलको निर्वाचन प्रचारप्रसारमा संलग्न हुनसक्ने भए पनि सरकारी स्रोत र साधनको प्रयोग गर्न नपाइने स्पष्ट व्यवस्था छ । निर्वाचन आचारसंहिता प्रतिकूल हुने गरी स्थानीय कार्यपालिकाका पदाधिकारीले आफू बहाल रहेको स्थानीय तहमा कुनै पनि राजनीतिक दल वा उम्मेदवारको निर्वाचन प्रचारप्रसारमा सहभागी नहुन आयोगले सचेत गराएको छ ।

व्यावसायिक स्याउ खेती सुरु गर्दै वैकुण्ठेका किसान

भोजपुर । यहाँको रामप्रसाद राई गाउँपालिका–६ वैकुण्ठेका किसानले व्यावसायिक स्याउ खेती सुरु गरेका छन् । वडाले स्याउ खेती प्रवर्द्धन कार्यक्रम सञ्चालन गरेपछि स्थानीय किसान सङ्गठित रूपमै यसतर्फ आकर्षित भएका हुन् । बाक्पा, भामला, माथिल्लो छापगाउँको दिङ्ला र चोक्ताङ क्षेत्रमा करिब एक हजार उन्नत जातका स्याउका बिरुवा विस्तार गरिएको छ । सोलुखुम्बुबाट ल्याइएका कलमी बिरुवा किसानलाई वितरण गरिएको हो । गत वर्ष साम्के र तामालुङ गाउँमा मात्रै १०० रोपनीभन्दा बढी क्षेत्रफलमा करिब एक हजार ८०० बिरुवा रोपिएको थियो । स्थानीयवासी पाण्डव राईका अनुसार साम्के र तामालुङका ३६ जना किसानले १०० रोपनी क्षेत्रफलमा स्याउ खेती विस्तार गरेका छन् । वडाको ५० प्रतिशत लागत साझेदारी अनुदानले किसानलाई हौसला मिलेको उनले बताए । “हामी अहिले व्यावसायिक स्याउ खेतीमा जुटेका छौँ,” राईले भने, “वडाले खेती विस्तारका लागि आवश्यक अनुदान सहयोग गर्दै आएको छ ।” वडाध्यक्ष एकराज आचार्यका अनुसार वडाभित्रको कृषियोग्य जमिनमा भूगोल र माटो सुहाउँदो खेती प्रणाली अवलम्बन गर्न विशेष जोड दिइएको छ । स्याउ उत्पादनका लागि उपयुक्त क्षेत्र पहिचान गरी किसानलाई व्यावसायिक खेतीमा प्रोत्साहन गर्ने योजना अघि बढाइएको उनले जानकारी दिए । “हामीले स्याउ खेती विस्तार कार्यक्रमलाई प्राथमिकतामा राखेका छौँ,” वडाध्यक्ष आचार्यले भने, “यहाँको माटो र हावापानी स्याउ उत्पादनका लागि उपयुक्त देखिएको छ । यस क्षेत्रलाई स्याउको नमुना क्षेत्रका रूपमा विकास गर्ने हाम्रो लक्ष्य छ ।” यसअघि पनि वडाले व्यावसायिक सुन्तला खेती प्रवर्द्धनका लागि नर्सरी स्थापना गरेको थियो । स्थानीय हावापानीमा उत्पादन भएका बिरुवा किसानलाई उपलब्ध गराउने उद्देश्यले नर्सरी सञ्चालन गरिएको वडाको भनाइ छ ।