चिनियाँ राष्ट्रपति सीद्वारा मध्यपूर्व शान्ति सम्मेलन गर्न आह्वान

काठमाडौं । चीनका राष्ट्रपति सी चिनफिङले इजरायल र हमासबीचको युद्धबारे बिहीबार एक शान्ति सम्मेलनका लागि आह्वान गरेका छन्। उनले यस क्षेत्रसँगको सम्बन्धलाई मजबुत बनाउने उद्देश्यले आयोजित एक भेलामा अरब नेताहरूलाई सम्बोधन गरेका हुन्। 

राष्ट्रपति सीले यसै साता इजिप्टका राष्ट्रपति अब्देल फतह अल सिसी, इमिरेट्सका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यान र अन्य केही अरब नेताहरूलाई स्वागत गर्न लागेका छन् ।

चीनले लामो समयदेखि मध्यपूर्वबाट कच्चा तेल आयात गर्दै आएको छ, र  हालैका वर्षहरूमा आफ्नो प्रभाव विस्तार गर्न खोजेको छ।

चीनले इजरायल–प्यालेस्टाइन द्वन्द्वमा आफ्नो प्रतिद्वन्द्वी संयुक्त राज्य अमेरिकाभन्दा बढी तटस्थ भूमिका निर्वाह गरेको छ र इजरायलसँग राम्रो सम्बन्ध कायम राख्दै दुई राष्ट्र समाधानको वकालत गरिरहेको छ ।

चीनले आफ्नो ‘बेल्ट एण्ड रोड इन्फ्रास्ट्रक्चर इनिसियटिभ’मा मध्यपूर्वलाई एक प्रमुख विन्दुको रूपमा औंल्याएको छ। यो विदेशमा आफ्नो देशको प्रभाव विस्तार गर्ने सीको प्रयासको मुख्य आधार हो।

प्रतिनिधिमण्डललाई सम्बोधन गर्दै सीले इजरायल–हमास द्वन्द्व समाधानका लागि ‘व्यापक’ शान्ति सम्मेलनको प्रस्ताव गरेका छन्।

विराटनगरमा प्रधानमन्त्री प्रचण्ड

काठमाडौं। प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड कोशी प्रदेशको विराटनगर पुगेका छन् ।सरकारले आजदेखि सुरु गर्ने  ‘श्रमाधान रोजगार मेला’मा सहभागी हुन् प्रधानमन्त्री विराटनगर पुगेका छन् । विराटनगर एयरपोर्टमा ओर्लिए लगत्तै प्रधानमन्त्री प्रचण्डले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल वर्तमान समीकरण भन्दा बाहिर नजाने स्पष्ट पारे। बिहीबार बिहान आफूसँग कुराकानी हुँदा नेपालले समीकरण भन्दा बाहिर नजाने भनेर स्पष्ट पारेको प्रचण्डको भनाइ थियो। ‘माधवजी अलि पहिलेदेखि नै उतापनि यतापनि दुबैतिर जोडिनेजस्तो देखिएको त थियो। तर, अहिले बिहान मेरो कुरा हुँदाखेरी माधवजीले यो समीकरण भन्दा बाहिर छैन र हुन्न भन्नेकुरामा क्लियर गर्नुभएको छ’, बिहीबार विराटनगरमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा प्रचण्डले भने। उनले मधेसमा पनि समीकरण भन्दा बाहिर कोही नहुने उनको दाबी थियो। ‘समीकरण भन्दा बाहिर मधेसमा पनि अर्को बन्दैन। अहिले हाम्रो जेछ त्यही हुन्छ’, प्रचण्डले भने। अर्को प्रसंगमा प्रचण्डले बजेटमा कोशी प्रदेशलाई प्राथमिकता दिइएन भनेर प्रचार गरिए पनि त्यसमा कुनै सत्यता नरहेको जिकिर गरे। ‘यसमा गलत प्रचार भएको छ। तर, कोशीलाई आवश्यकताअनुसार पर्याप्त बजेट र कार्यक्रम आएको छ’, प्रचण्डले भने, ‘कम भयो भन्ने कुरा सही होइन। बजेटमा जति आएका छन् त्यतिमात्रै पनि होइन । वक्तव्यमा सबै कुरा आएका पनि हुँदैनन्।’ उनले आगामी आर्थिक वर्षको बजेटमा धेरै कुरा नयाँ आएको उल्लेख गर्दै प्रचण्डले कृषि दशकको कुरा आफैँमा नयाँ कुरा भएको बताए। यस्तै रोजगारी सिर्जना गर्ने जस्ता विषय पनि बजेटमा आएको उल्लेख गर्दै उनले भने, ‘हाम्रो आर्थिक स्थिति र राजनीति परिस्थिपित हेर्दा सन्तुलित बजेट आएको छ।’ उनले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको गतिविधिप्रति आफूलाई सञ्चारकर्मीको धारणा जान्न मन लागेको समेत बताए।

परीक्षा बोर्डको सदस्यसचिवमा जंगबहादुर अर्याल नियुक्त

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डका सदस्यसचिवमा जंगबहादुर अर्याल नियुक्त भएका छन्। बुधबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले अर्याललाई बोर्डको सदस्यसचिव नियुक्त गरेकी हुन्। अर्याल यसअघि बोर्डको प्रशासन महाशाखा प्रमुख थिए। सदस्य सचिवमा नियुक्त भएपछि उनले अध्यक्ष र बोर्डका अन्य पदाधिकारीसँग मिलेर विभिन्न कार्यक्रम दृढतापूर्वक कार्यान्वयन गर्ने जानकारी दिए। यसअघिका बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालको कार्यकाल सकिएपछि सदस्यसचिव पद रिक्त थियो।

प्रधानमन्त्री र नेता खनालबीच

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र  नेकपा एकीकृत समाजवादीका सम्मानित  नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ।  प्रधानमन्त्री प्रचण्ड र नेता खनालबीच आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको हो। प्रधानमन्त्री प्रचण्ड र नेता खनालबीच झन्डै १ घण्टा भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।  नेता खनालले देशको पछिल्लो समसामयिक राजनीतिबारे छलफल भएको प्रतिक्रिया बताएका छन्।  सरकार परिवर्तनको चर्चाका बीच नेता खनाल प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका हुन्।   हिजो साँझ मात्र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कांग्रेस सभापति शेरबहादुर देउवासँग बुढानीलकण्ठमा भेटवार्ता गरेका थिए। 

भारतमा तातो हावा, नयाँ दिल्लीमा ५२.३ डिग्री सेल्सियस तापक्रम रेकर्ड

नयाँ दिल्ली । लोकसभा निर्वाचनको सरगर्मीबीच भारतको ठूलो क्षेत्र तातो हावाले प्रभावित भएको छ । ‘हिटवेभ’ निकै नै बढेको त्यहाँको तापक्रमले पनि अनुमान लगाउन सकिन्छ । बुधबार (हिजो)नयाँ दिल्लीको मुंगेशपुर इलाकामा ५२.३ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ। यद्यपि, मौसम विभागले उक्त रेकर्ड ‘सेन्सर’को खराबीका कारण पनि हुन सक्ने जनाएको छ । रेकर्ड र सेन्सरको अध्ययन भइरहेको विभागले जनाएको छ । मंगलबार सोही क्षेत्रमा ४९।९ डिग्री सेल्सीयस तापक्रम रेकर्ड गरिएको थियो ।

भीमफेदीमा कार दुर्घटना, तीन जनाको मृत्यु

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतमा आज अपराह्न भएको कार दुर्घटनामा तीन जनाको मृत्यु र दुईजना घाइते भएका छन्।  जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता लक्ष्मी भण्डारीका अनुसार भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डमा काठमाडौंबाट हेटौँडा आउँदै गरेको बा६च ९३७९ नम्बरको कार अनियन्त्रित भएर सडकबाट २५० मिटर तल खसेको थियो । कारमा रहेका पाँच जनामध्ये एक जनाको घटनास्थलमा र दुई जनाको हेटौँडास्थित मकवानपुर सहकारी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।   मृत्यु हुनेमा मनहरी गाउँपालिका–८ बेलुवा बस्ने २६ वर्षीय अर्जुन नेपाली र उनका तीन महिने छोरी अर्जिता रहेका छन् । मृतक अर्काको सनाखत हुन बाँकी छ।  दुर्घटनामा घाइते मनहरी–८ बेलुवाका २३ वर्षीया सरिता परियार र चितवनको राप्ती नगरपालिका–१ लोथरका ३५ वर्षीया सानुकान्छी तामाङको मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस

तीन डीआईजीको सरुवा, चारजनाको पदस्थापन

काठमाडौं । नेपाल प्रहरीका तीन प्रहरी नायव महानिरीक्षक (डीआईजी)हरूको सरुवा र चारजनाको पदस्थापन भएको छ। गृह मन्त्रालयले डीआईजीहरूको सरुवा र पदस्थापनको निर्णय गरेको हो ।  रामदत्त जोशी, लालमणि आचार्य र अर्जुनचन्द ठकुरीलाई सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

सुर्खेतमा जीप दुर्घटना : दुईजनाको मृत्यु, दुई घाइते

सुर्खेत । सुर्खेतमा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । घटनामा दुईजना घाइते भएका छन् । सुर्खेतबाट कालिकोट जाँदै गरेको भे १ च २५६० नम्बरको बोलेरो जिप सुर्खेत–दैलेख सडकखण्ड अन्तर्गत वीरेन्द्रनगरस्थित रातानाङ्गला नजिकै आज बिहान दुर्घटना भएको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका अनुसार दुईजनाको शव रुखमा अड्किएको अवस्थामा भेटिएको छ। दुईजना घाइतेलाई उपचारका लागि प्रदेश अस्पताल पुयाइएको छ। प्रहरीले दुर्घटनाको विस्तृत विवरण प्राप्त भइनसकेको जनाएको छ। दुर्घटनाबारे जानकारी प्राप्त हुनासाथ सुरक्षाकर्मीको टोली उद्धारका लागि परिचालन भएको छ।

विश्वकप तयारी : नेपाल आज अमेरिकासँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । टी-२० विश्वकप अगाडिको दोस्रो औपचारिक अभ्यास खेलमा आज नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ। नेपाल र अमेरिकाको खेल साँझ ९ : १५ बजे अमेरिका डालासको ग्रान्ड प्रेरी रंगशालमा हुनेछ। पहिलो औपचारिक अभ्यास खेलमा क्यानडासँग ६३ रनले पराजित भएको नेपाल अमेरिकामाथि जित निकाल्ने लक्ष्यका साथ मैदानमा हुनेछ। अमेरिका र नेपालबिच भएका पछिल्ला ५ खेलमा नेपालले चार खेल गुमाएको छ। विश्वकप आयोजकसमेत रहेको अमेरिकासँगको खाजको खेललाई महत्त्वका साथ हेरिएको छ।

यस्तो छ बिहीबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८१ साल जेठ १७ गते बिहीबार सन् २०२४ मे ३० तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०६ पैसा र बिक्री दर १३३ रुपैयाँ ६६ पैसा पुगेको छ। युरो एकको खरिद दर १४४ रुपैयाँ २४ पैसा र बिक्री दर १४४ रुपैयाँ ८९ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ५८ पैसा र बिक्री दर १७० रुपैयाँ ३५ पैसा रहेको छ।

संसद्का ६ समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसद्अन्तर्गत आज ६ वटा संसदीय समितिको बैठक बस्दै छ । महिला तथा सामाजिक मामिला समिति, राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, सार्वजनिक लेखा समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो ।  महिला तथा सामाजिक मामिला समितिको बैठकमा नेपालमा एसिड आक्रमण पीडितहरूको क्षतिपूर्ति सम्बन्धमा छलफल गर्ने कार्यसूची छ । बैठक दिउँसो १ बजे बस्नेछ ।  बिहान ११ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संवैधानिक परिषद् ९काम, कर्तव्य, अधिकार र कार्यविधि० सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयकमा छलफल हुने संसद् सचिवालयले जनाएको छ ।   शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक पनि आजै बस्दै छ । बैठकमा नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा दफावार छलफल हुनेछ । बैठक साढे १२ बजे बस्नेछ ।  सार्वजनिक लेखा समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकको कार्यसूची संसद् सचिवालयले सार्वजनिक गरेको छैन । 

बागमतीलगायत चार प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायुको प्रभावसँगै बंगलादेश आसपास रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी भूभागमा मौसम आंशिकदेखि मुख्यतया सफा छ । आज दिउँसो कोशी प्रदेश लगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ । कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ । आज सूर्योदय बिहान ५ बजेर ९ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ५४ मिनेटमा हुनेछ ।

गण्डकीका मुख्यमन्त्री पाण्डेले लिए शपथ

काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शपथ लिएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टबाट बुधबार मुख्यमन्त्री पाण्डेले शपथ लिएका हुन् । अर्थमन्त्री टकराज गुरुङ र सामाजिक विकासमन्त्री बिन्दुकुमार थापाले पनि शपथ लिएका छन् । आजमात्रै प्रदेश प्रमुख भट्टले नेपाली काँग्रेस संसदीय दलका नेता पाण्डेलाई संविधानको धारा १६८ (३)बमोजिम मुख्यमन्त्री नियुक्त गरेका थिए। १४ जेठमा सर्वोच्च अदालतले तत्कालीन मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत प्राप्त गर्दा अपनाएको प्रक्रिया असंवैधानिक ठहर गर्दै काँग्रेस नेता पाण्डेलाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न आदेश दिएको थियो ।

ठगहरू प्रवेश गरेका सहकारी सङ्कटग्रस्त भएका हुन्, नियममा बस्नेमा समस्या छैन : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ठगहरू प्रवेश गरेका केही ठुला सहकारी सङ्कटग्रस्त भएको बताएका छन्। राष्ट्रिय महिला भेलालाई सम्बोधन गर्दै नियममा बस्ने सहकारीमा कुनै समस्या नभएको बताए। उनले भने, ‘अहिले सहकारीमा गैरसहकारीवालाहरु, सहकारीलाई माध्यम बनाएर ठगेर खानेहरू प्रवेश गरेको हुनाले केही सहकारी ठुला सहकारी बदनाम भएको छ। त्यहाँ समस्याग्रस्त भएको छ। ती सङ्कटग्रस्त छन्। तर, साँचैको सहकारीहरू सङ्कटग्रस्त हुँदैनन् । आफ्नो नियम पालना गरेर अगाडि बढ्नुपर्छ। कुनै समस्या हुँदैनन्।’

नेपालको उपलब्धिबाट विश्वले सिक्नुपर्छ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्माओलीले नेपालको उपलब्धिबाट अन्य देशले सिक्नुपर्ने बताएका छन् । महिला भेलालाई बुधवार काठमाडौँमा सम्बोधन गर्दै उनले छोटो अवधिमा नेपालमा धेरै उपलब्धि भएको बताएका हुन् । व्यवस्था परिवर्तन भए पनि अवस्था उस्तै रहेको भनेर गलत शब्दावली प्रयोग भइरहेकोमा उनले असन्तुष्टि पोखे । ‘अवस्था जहाँको त्यही भएको गलत शब्दावलीको प्रयोग भइरहेको छ । व्यवस्था परिवर्तन भयो अवस्था जहाँको त्यही छ भनेका छन् । भर्खर जन्मेका केटाकेटीले के देख्नु । अवस्था कहाँ थियो, कहाँ आइपुग्यो भनेर । कति सङ्घर्ष र अवस्था पार गरेर यहाँ आइपुगेको छ । कुन बलिदानले यहाँ आइपुगेको छ । त्यो देखेको छैन अवस्था उस्ताउस्तै भनेका छन् । कहाँ उस्ताउस्तै छ रु नेपालको उपलब्धिबाट अन्य देशले सिक्नुपर्छ । प्रजातन्त्रको लामो इतिहास पार गरेकाले पनि उपलब्धि गरेका छैनन् । उनीहरू सङ्घर्षरत छन्’, ओलीले भने ।  उनले महिलाको प्रतिनिधित्वलाई संविधानमै ३३ प्रतिशत कायम राखिएको बताए । समानताको हकमा नेपालभन्दा विश्वका अन्य मुलुक धेरै पछि रहेको ओलीले जिकिर गरे ।

नेप्से २३.८१ अंकले घट्यो

काठमाडौं । आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट भाषणपछिको पहिलो कारोबार दिन धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक घटेको छ । नेप्से परिसूचक २३.८१ अंकले घटेर २०८९.४२ विन्दुमा रोकिएको हो । बुधबार चार अर्ब ५७ करोड ५० लाख रुपैयाँको सेयर कारोबार भएको छ । ५६ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने १९१ कम्पनीको सेयर मूल्य घटेको छ ।आज युनिलिभर नेपाल, कालिन्चोक दर्शन, अपर लाहोरे खोला हाइड्रोपावर र भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । युनिलिभरको सेयर मूल्य एकै दिन तीन हजार ९३५ रुपैयाँ बढेको छ भने कालिन्चोक दर्शनको सेयर मूल्य प्रतिकित्ता ११२ रुपैयाँले बढेको छ । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्य सर्वाधिक घटेको छ । यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६१ रुपैयाँले घटेको छ । कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये फाइनान्स, होटेल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र व्यापार समूहको परिसूचक बढेको छ । सर्वाधिक परिसूचक घट्नेमा वाणिज्य बैंकिङ समूह छ ।