सर्ने भयो नेपाल पत्रकार महासंघको चुनाव

काठमाडौं । नेपाल पत्रकार महासंघको चुनाव सर्ने निश्चित भएको छ । जेठ २६ गते हुने भनिएको चुनाव मतदाता नामावलीका विषयमा उत्पन्न विवादका कारण सर्ने निश्चित भएको हो ।

सोमबार बसेको केन्द्रीय समितिको बैठकमा भएको छलफल अनुसार जेठ २६ गते हुने चुनाव सर्ने देखिएको महासंघका एक पदाधीकारीले बताए । 

बैठकमा केन्द्रीय समितिमा रहेका भूगोलका सदस्यहरुले विवाद समाधान नभएका कारण केही समयका लागि सार्न सुझाब दिएका थिए । पदाधीकारी पनि निर्वाचन सार्ने मनस्थितिमा पुगिसकेकोले आजै निर्वाचन सार्ने निर्णय गर्ने बताइएको छ । 

नामावालीको विवाद मिलाउन बैठक आज पनि बस्दैछ । 

जिल्लाबाट सर्वसम्मतिमा आएका नामावलीलाई यथावत् राख्ने र कुनै नाममाथि उजुरी परेको छ वा विवाद छ भने त्यसलाई महासंघले गठन गरेको समितिले सच्याएर निर्वाचन समितिलाई बुझाउन करिबकरिब सहमति बनेको बताइएको छ । 

नामावलीमा विवाद मिले यही महिनाको अन्तिम तिर चुनाव हुने गरी कार्यतालिका बनाउने विषयमा छलफल भइरहेको छ । 

महासंघको सदस्य शुद्धीकरणबारे अध्ययन गर्न सुरुमा धर्मेन्द्र कर्णको नेतृत्वमा समिति गठन भएपनि सो कमिटीले चित्तबुझ्दो काम नगरेपछि महासंघका महासचिव रोशन पुरीको नेतृत्वमा अर्को समिति बनेको थियो । सो समितिले छानबिन गरी तयार गरेको नामावलीमा पनि विवाद उत्पन्न भएपछि महासंघको निर्वाचन नै सर्ने भएको हो ।

बजेटमाथि छलफल गर्न प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक मंगलबार पनि बस्दैछ। बिहान ११ बजे बस्ने बैठकमा राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि छलफल जारी रहनेछ। बैठकमा बजेटबारेको छलफलसँगै २०६४ सालको संविधान सभामा ताप्लेजुङ निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित संविधान सभा सदस्य सूर्यमान गुरूङको निधनप्रति शोकप्रस्ताव पारित गर्ने कार्यसूची रहेको छ। उनी पूर्व श्रम तथा रोजगार र स्थानीय विकासमन्त्री पनि हुन्। त्यसैगरी, २०४८ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसबाट बाँके निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित शैयद मेहराज अहमद शाहको निधनप्रति पनि शोक प्रस्ताव पारित गर्ने कार्यसूची छ।  यसैगरी २०५८ सालमा नेपाली कांग्रेसका तर्फबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका खगेन्द्रराज रेग्मीको निधनप्रति शोकप्रस्ताव पारित गर्ने कार्यसूची छ। 

यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं ।आज २०८१ साल जेठ २२ गते मंगलबार सन् २०२४ जुन ४ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। मंगलबार अमेरिकी डलर, युरो, बेलायती पाउण्ड र कतारी रियाल सबैको मूल्य घटेको छ । यसअघि अमेरिकी डलर र कतारी रियालको मूल्य तीन दिनदेखि स्थिर थियो भने युरो र बेलायती पाउण्डको मूल्य सोमबार बढेको थियो । अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ७४ पैसा र बिक्री दर १३३ रुपैयाँ ३४ पैसा पुगेको छ।युरो एकको खरिद दर १४३ रुपैयाँ ९२ पैसा र बिक्री दर १४४ रुपैयाँ ५७ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ९९ पैसा र बिक्री दर १६९ रुपैयाँ ७६ पैसा रहेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४२ पैसा र बिक्री दर ३६ रुपैयाँ ५८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। हेर्नुहोस् विनिमय दर

१० वर्षपछि विश्वकपमा नेपाल : नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले आज १० वर्षपछि आईसीसी ट्वान्टी २० विश्वकपमा प्रतिस्पर्धा गर्दै छ । नेपालले आफ्नो पहिलो खेल आज (मंगलबार) नेदरल्यान्ड्सविरुद्ध खेल्दै छ ।  ट्वान्टी २० विश्वकपमा नेपालले १० वर्षपछि खेल्न लागेको हो। यसअघि नेपालले पछिल्लो पटक सन् २०१४ मा ट्वान्टी २० विश्वकप खेलेको थियो । नेपालले उक्त संस्करणमा समूह चरणको अन्तिम खेलमा अफगानिस्तानविरुद्ध खेलेको थियो ।  अमेरिकाको ड्यालसमा हुने खेल नेपाली समयअनुसार राति ९ः१५ बजेदेखि सुरु हुनेछ। विश्वकपमा नेपाल र नेदरल्यान्ड्स पहिलो पटक भिड्न लागेका हुन्।नेदरल्यान्ड्स ट्वान्टी २० विश्वकपमा नेपालको चौथो प्रतिद्वन्दीसमेत हो । यसअघि नेपालले सन् २०१४ मा हङकङ, बंगलादेश र अफगानिस्तानविरुद्ध प्रतिस्पर्धा गरेको थियो । नेपाल र नेदरल्यान्ड्सबीचको खेलअघि आज अन्य दुई खेल हुनेछन् । पहिलो खेलमा समूह ‘सी’ का अफगानिस्तान र युगान्डाले प्रतिस्पर्धा गर्दै छन् । दुवै टिम पहिलो पटक आईसीसीबाट मान्यताप्राप्त क्रिकेटमा आमने–सामने हुन लागेका हुन् । यो खेल बिहान ६ः१५ बजेदेखि सुरु हुनेछ। आजको दोस्रो खेलमा समूह ‘बी’ का इंग्ल्यान्ड र स्कटल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । यो खेल राति ८ः१५ बजेदेखि सुरु हुनेछ ।

एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक

काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बोलाएको छ। अध्यक्ष माधवकुमार नेपालले दिउँसो साढे १२ बजे बस्नेरी बैठक बोलाएका हुन्। बैठकमा महाधिवेशनको तयारी लगायत विषयमा छलफल हुने  उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिएका हुन्। बैठकले मधेश प्रदेशमा रहेका आफ्ना मन्त्रीहरू फिर्ता बोलाउने विषयमा समेत निर्णय लिनेछ।  मधेसका मुख्यमन्त्री सरोज यादव अल्पमतमा परेपछि त्यहाँ नयाँ सरकार गठनको तयारी छ। त्यसैले केन्द्रका गठबन्धन दल एमाले-माओवादीले ले एकीकृत समाजवादीलाई सरकारबाट फिर्ता हुन आग्रह गरेका छन्। एकीकृत समाजवादीले त्यहाँ नयाँ सरकार गठन हुँदा सम्मानजनक स्थान पाउनुपर्ने माग राखेको छ।

सुपर ओभरमा नामिबियासँग ओमान पराजित

काठमाडौं । आइसिसी टी २० विश्वकपअन्तर्गत आज भएको खेलमा नामिबिया विजयी भएको छ। लो स्कोरिङ गेममा निर्धारित २० ओभरमा दुवै टोलीले बराबरी रन बनाएका थिए। ​ओमनले दिएको १०९ रनको लक्ष्य पछ्याएको नामिबियाले ६ विकेट गुमाउँदै अन्तिम बलमा १०९ रन नै बनाएपछि खेल सुपर ओभरमा गएको थियो।   सुपर ओभरमा ओमानले २२ रनको लक्ष्य पाएको थियो। तर ओमानले १० रन मात्र बनाउन सक्यो। ओमानका बिलाल खानले तीन चौका र एक छक्कासहित २१ रन खर्चिएका थिए।त्यसअघि १ सय १० रनको लक्ष्य पछ्याएको नामिबियाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ९ रन मात्र बनाउन सक्यो। नामिबियाका लागि जान फ्राइलिंकले सर्वाधिक ४५ रन बनाए। निकोलास डाभिनले २४ रन जोडे।  ओमानका लागि मेहरन खानले ३ विकेट लिए भने बिलाल खान, अकिब इलियास र आयान खानले १–१ विकेट लिए। बारबाडोसको किङ्सटन ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको ओमानले १९ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै १ सय ९ रन बनाएको थियो।  पहिलो दुई बलमा दुई विकेट गुमाएको ओमानले १० रन बनाउँदा ३ विकेट गुमाइसकेको थियो। रुबेन ट्रम्पलम्यानको घातक बलिङसामु ओमान निरीह देखिएको थियो। त्यसपछि खालिद काइल र जिसान मक्सुदले ओमानको इनिङ्स सम्हाले। खालिद ३९ बलमा ३४ रन बनाए भने मक्सुदले २० बलमा २२ रन जोडे।  त्यस्तै,आयान खानले १५ रन तथा शकिल अहमदले ११ रनकोको योगदान दिए।नामिबियाका लागि रुबेन ट्रम्पलम्यानले ४ विकेट लिए। उनले ४ ओभरमा मात्र २१ रन खर्चिए। उनको करियरको सबैभन्दा उत्कृष्ट बलिङ प्रदर्शन थियो भने विश्वकपमा नामिबियाका लागि पनि सबैभन्दा प्रदर्शन थियो। डेभिड विसाले ३ तथा जेर्हार्ड इरास्मसले २ विकेट लिए। बर्नार्ड स्कोल्ट्जले १ विकेट हात पारे। जितसँगै समूह बीमा रहेको नामिबियाले महत्वपूर्ण २ अंक जोडेको छ।  प्रतियोगिता अन्तरगत आज राति श्रीलंका र दक्षिण अफ्रिका आमने सामने हुनेछन्। समूह एमा रहेको नेपाल र नेदरल्याण्ड्सको खेल भोलि राति हुनेछ।  

गल्याङ नगर उपप्रमुख न्यौपानेलाई सफाई

गल्याङ । स्याङजाको गल्याङ नगरपालिकाका उपप्रमुख हेमा न्यौपाने तिमिल्सिनालाई बिशेष अदालतले सफाई दिएको छ । गल्याङ नगरपालिका–३ को पकवादी सहकारी संस्थाको भवन निर्माण विनियोजित बजेट हिनामिना तथा जग्गाधनी प्रमाणपुर्जा देखाएर अर्को ठाउँमा भवन बनाएको र सडकको मापदण्ड मिचेको आरोप लगाउउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आरोपपत्र दायर गरेको थियो ।  अदालतमा आरोपपत्र दायर भएसँगै उपप्रमुख न्यौपाने निलम्वनमा परेकी थिइन । विशेष अदालतले आईतवार फैसलाको जानकारी गराएको उपप्रमुख न्यौपानेले जानकारी दिइन् ।  अदालतले दिएको पत्रमा भनिएको छ, “ईजलास समक्ष पेश हुँदा तपाईले आरोपित कसुरबाट सफाई पाउने ठहरी फैसला भएको राय कितावबाट देखिएको व्यहोरा जानकारी गराइन्छ ।”  फैसलाको पूर्ण पाठ तयार नभई सकेकोले जानकारी मात्र गराईएको अदालतले जनाएको छ । उपप्रमुख न्यौपानेका अनुसार अरु सात जना आरोपितले पनि सफाई पाएका छन् । अख्तियारले न्यौपाने सहित कृषि विकास निर्देशनालय गण्डकीका निमित्त कार्यालय प्रमुख नीलकण्ठ पोखरेल, इन्जिनियर विश्वनाथ पौडेल, अर्थबिज्ञ भानुभक्त भट्टराई, सहकारीका तत्कालीन अध्यक्ष हरिलाल खनाल, सचिव परशुराम खनाल, कोषाध्यक्ष उमा श्रेष्ठ, गल्याङका व्यवसायी महेन्द्र भनिने श्रीमप्रसाद श्रेष्ठविरुद्ध आरोपपत्र दायर गरेको थियो ।  उनीहरु माथिको आरोप प्रमाणित नभएपछि सबैको निलम्वन पनि स्वतः फूकुवा भएको छ ।

लुम्बिनी प्रदेशसभा बैठक बस्दै, नीति तथा कार्यक्रम प्रस्तुत गरिने

दाङ ।  लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्नेछ ।आजको बैठकमा आगामी आर्थिक वर्ष २०८१–०८२ का लागि प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको छ । लुम्बिनी प्रदेशसभा सचिव दुर्लभकुमार पुनका अनुसार प्रदेश प्रमुख अमिक शेरचनले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ ।

हेर्नुहोस् सोमबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८१ साल जेठ २१ गते सोमबार सन् २०२४ जुन ३ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर र कतारी रियालको मूल्य तीन दिनदेखि स्थिर छ । युरो र बेलायती पाउण्डको मूल्य भने बढेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २५ पैसा र बिक्री दर १३३ रुपैयाँ ८५ पैसा पुगेको छ।युरो एकको खरिद दर १४४ रुपैयाँ ४८ पैसा र बिक्री दर १४५ रुपैयाँ १३ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ७९ पैसा र बिक्री दर १७० रुपैयाँ ५६ पैसा रहेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५६ पैसा र बिक्री दर ३६ रुपैयाँ ७२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर 

आज पनि बस्दै प्रतिनिधिसभा बैठक, बजेटमाथिको छलफल जारी रहने

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । बैठकमा हिजोबाट सुरु भएको आगामी आर्थिक वर्ष २०८१–८२ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि आज पनि छलफल जारी रहने छ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको संविधानको धारा ५३ बमोजिमको ‘नेपाल सरकारको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७९–८० पेश गर्ने कार्यसूची रहेको छ। आइतबारको बैठकमा विभिन्न दलका सांसदहरुले बजेटमाथि आआफ्नो धारणा राख्दै मिश्रित प्रतिक्रिया दिएका छन् । सरकारले यही जेठ १५ गते आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्बको बजेट प्रस्तुत गरेको छ।

यस्तो हुनेछ आजको मौसम

काठमाडौं । देशका केही भू–भागमा आज वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । केही क्षेत्रमा बिहानैदेखि वर्षा भइरहेको छ ।  जल तथा मौसम विज्ञान विभागका अनुसार कोसी प्रदेशलगायत देशका पहाडी भू–भागमा बिहान आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा छ ।  कोसी र गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ । विभागले दिउँसो कोसी, मधेस, वाग्मती, गण्डकी र कर्णाली प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।  कोसी, मधेस, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानमा तथा बाँकी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।  लुम्बिनी प्रदेशका एकदुई स्थानमा हावाहुरीको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।   विभागका अनुसार राति कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।  कोसी, मधेस र गण्डकी प्रदेशको थोरै स्थानमा तथा बाँकी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।  नेपालमा अहिले स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । भारतको पश्चिम–उत्तर प्रदेशदेखि पश्चिम बंगलादेशसम्म फैलिएको न्यूनचापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको विभागले जनाएको छ ।

मेयर कप फुटबल : नारायणी नमूना र अमर माविसेमिफाइनलमा

भरतपुर । नारायणी नमूना मावि र अमर मावि भरतपु महानगरपालिकाको आयोजना र सेन्ट्रल कलेजको मुख्य प्रायोजनमा जारी भरतपुर मेयर कप अन्तर विद्यालय फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।  आज सम्पन्न प्रतियोगिताको क्वाटरफाइनलमा जित हात पार्दै नारायणी नमूना र अमर माविले सेमिफाइनलमा स्थान बनाएको हो । आजको पहिलो खेलमा नारायणी नमूनाले ग्रीनल्याण्ड पब्लिक स्कुललाई टाइब्रेकरमा ४(२ ले हरायो। निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरमा भएको हो। नारायणी नमूनाका गोलरक्षक किशोर हमाल म्यान अफ दि म्याच भए ।  उता आजै सम्पन्न दोस्रो खेलमा लक्ष्मी माविलाई अमर माविले २-० ले हरायो। उसको जितमा कप्तान वसन्त कुमालले ४१ औं र पुकार महतोले ६१ औ गोल गरे । अमर माविका रितेश सुनार म्यान अफ दि म्याच भए।   प्रतियोगितामा मंगलबारबाट सेमिफाइनलका खेलहरु सुरु हुनेछन् । पहिलो सेमिफाइनलमा मंगलबार आदिकवि भानु मावि र विश्वप्रकाश मावि भिड्नेछन् । यस्तै दोस्रो सेमिफाइनलमा बुधबार नारायणी नमूना र अमर मावि भिड्नेछन् ।  

एक महिनामा भित्रिए ९० हजार विदेशी पर्यटक, भारतबाट सबैभन्दा धेरै

काठमाडौँ । सन् २०२४ को मे महिनामा ९० हजार विदेशी पर्यटक भित्रिएका छन्। नेपाल पर्यटन बोर्डले आइतबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार मे महिनामा जम्मा ९० हजार दुई सय ११ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका हुन्।  सन् २०२३ को तुलनामा यस वर्ष पर्यटक आगमन १६ दशमलव १० प्रतिशतले वृद्धि भएको हो। सन् २०२३ को मेमा ७७ हजार सात सय तीनजना विदेशी पर्यटक नेपाल आएका थिए।  कोभिड–१९ महामारीपूर्व ७८ हजार तीन सय विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए। तुलनात्मक रुपमा सबैभन्दा धेरै भारत र अमेरिकाबाट पर्यटक भित्रिए पनि चीनबाट भने अपेक्षित रुपमा पर्यटक आएका छैनन् । विगतका महिनामा झै यो पटक पनि सबैभन्दा बढी छिमेकी मुलुक भारतबाट ३८ हजार दुई सय ८८ जना पर्यटक नेपाल भित्रिएका छन्।  सोही अवधिमा अर्को छिमेकी मुलुक चीनबाट आठ हजार तीन सय ८१ जना पर्यटक नेपाल आएका छन्। संयुक्त राज्य अमेरिकाबाट आठ हजार पाँच सय २७ पर्यटक नेपाल भित्रिएका छन्

१३.५१ अंकले बढ्यो नेप्से

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक आइतबार १३.५१ अंकले बढेर बन्द भएको छ । परिसूचक ०.६५ प्रतिशतले बढेर २०८३.०४ विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । यस दिन कारोबारमा आएका मध्ये १७४ कम्पनीको सेयर मूल्य बढेको छ । ६१ कम्पनीको सेयर मूल्य घटेको छ । १२ कम्पनीको सेयर मूल्य स्थिर छ । चार अर्ब ३१ करोड १० लाख रुपैयाँको सेयर कारोबार भएको छ । नेप्सेका अनुसार, मल्टिपर्पस फाइनान्स र मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य भने ९.१३ प्रतिशतले घटेको छ । कारोबारमा आएका १३ मध्ये लगानी, उत्पादन तथा प्रशोधन र म्युचुअल फन्ड समूहको परिसूचक घटेको छ । सर्वाधिक परिसूचक वृद्धि हुनेमा व्यापार समूह छ । यो समूहको परिसूचक ६.५६ प्रतिशतले बढेको छ ।

गृहमन्त्रीको निलम्बन माग गरिएको रिट न्यायाधीश श्रेष्ठको इजलासमा

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्धको रिट आइतबार सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा परेको छ। सहकारीको बचत अपचलनमा लामिछानेलाई ‘क्लिन चिट’ दिइएको महान्यायाधिवक्ता कार्यालयको पत्र असंवैधानिक र गैरकानुनी भएको भन्दै अधिवक्ता अनुपम भट्टराईले रिट दायर गरेका थिए । रिटमा उनले सहकारीको बचत अपचलनबारे अनुसन्धान प्रक्रियामा अनुचित प्रभाव पर्ने भन्दै गृहमन्त्रीबाट लामिछानेलाई निलम्बन गर्न प्रधानमन्त्रीका नाममा अन्तरिम आदेश पनि माग गरेका छन्। महान्यायाधिवक्ता कार्यालय र लामिछानेलाई विपक्षी बनाइएको रिट यही जेठ १६ र १७ गते लगातार न्यायाधीश सुनीलकुमार पोखरेलको इजलासमा पेसी चढेको थियो। न्यायाधीश पोखरेलले अधिवक्ता हुँदा लामिछानेविरुद्ध कायम नै नरहेको नागरिकता प्रयोग गरी सांसद बनेको भन्दै दायर रिटमा उनका तर्फबाट बहस गरेका थिए। लामिछानेले अमेरिकाको राहदानी साथमै राखेर नेपाली राहदानी समेत बनाएको रिटमा पनि पोखरेलले नै बहस गरेका थिए। त्यही कारण निवेदकले सुनुवाइ स्थगित गर्न निवेदन दिएका थिए। सदन र सडकमा समेत सहकारीको बचत अपचलनमा लामिछाने संलग्न रहेको आरोप लाग्न थालेपछि उनले महान्यायाधिवक्ता कार्यालयसँग आफूमाथि कतै उजुरी वा अनुसन्धान छ? भन्दै सूचना मागेका थिए। त्यही सूचना माग गरेका आधारमा महान्यायाधिवक्ता कार्यालयले ‘कतै पनि उजुरी र अभियोजन नरहेको’ भनेर उनलाई पत्र दिएको थियो। रिटमा उक्त पत्र रद्द गरी छानबिनको माग गरिएको छ। छानबिनमा शक्तिको दुरुपयोगबाट प्रभावित पार्न सक्ने हुँदा निलम्बनका निम्ति प्रधानमन्त्री र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका नाममा अन्तरिम आदेश पनि माग गरिएको छ। यसअघि, लामिछानेविरुद्ध अधिवक्ता भट्टराईले दायर गरेको रिट सर्वोच्च प्रशासनले दरपिठ गरिदिएको थियो।दरपिठविरुद्धको निवेदनमा सुनुवाइ गर्दै जेठ १० गते न्यायाधीश टेकप्रसाद ढुंगानाका इजलासले दरपिठ आदेश खारेज गरेपछि १४ जेठमा रिट दर्ता गरिएको थियो।

प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)

काठमाडौं। सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ । बैठक आज बिहान ११ बजेबाट सुरु भएको हो । प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री वर्षमान पुनले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए। त्यसपछि आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि सामान्य छलफल प्रारम्भ हुने सम्भावित कार्यसूची छ ।