दुई पालिका प्रमुख र एक उपप्रमुखलाई जसपा नेपालको कारबाही
महोत्तरी । जनता समाजवादी पार्टी (जसपा) नेपालले महोत्तरीका दुई पालिका प्रमुख र एक उपप्रमुखलाई कारबाही गरेको छ ।
आसन्न प्रतिनिधिसभा निर्वाचनमा महोत्तरीको निर्वाचन क्षेत्र नम्बर–३ मा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध गतिविधि गरेको आरोप लगाउँदै जसपाले जलेश्वर नगरपालिकाका प्रमुख सुरेश साह सोनार, पिपरा गाउँपालिकाका अध्यक्ष रामजानकी यादव र उपाध्यक्ष बन्दना पाण्डेलाई आजैको मितिदेखि लागू हुने गरी पार्टीबाट निष्कासन गरेको हो ।
पार्टीका जिल्ला अध्यक्ष रामनरेश रायले एक विज्ञप्ति जारी गर्दै पार्टीको हित विपरीत अनुशासन र विधान विपरीत कार्य गरेको आरोपमा उहाँहरूसहित १५ जना नेता कार्यकर्तालाई कारबाही गरिएको जानकारी दिए ।
यसैगरी पार्टीका केन्द्रीय सदस्य श्याम यादव, हरिनारायण मण्डल र प्रदेश सदस्य बन्दना पाण्डेलाई केन्द्र र प्रदेशमा निष्कासनको लागि सिफारिस गरिएको विज्ञप्तिमा उल्लेख छ ।
यहाँ जसपा नेपालले महोत्तरी—३ मा मीनाक्षी ठाकुरलाई उम्मेदवार दिएको छ, तर निजहरूले पार्टीकै बागी एवं स्वतन्त्र उम्मेदवार हरिनारायण यादवलाई सहयोग गरिरहेका छन् ।
महोत्तरीमा डिजे र मदिरा प्रतिबन्ध
जलेश्वर । फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गरी महोत्तरीमा डिजे र मदिरा माथि प्रतिबन्ध लगाइएको छ । जिल्ला प्रशासन कार्यालय महोत्तरीले छुट्टाछुट्टै सूचना प्रकाशित गरी निर्वाचनलाई लक्षित गरी डिजे र मदिरामा प्रतिन्बन्ध लगाएको जानकारी सार्वजनिक गरेको छ । चुनावी प्रचारप्रसारको क्रममा महोत्तरीको ग्रामीण तथा सहरी क्षेत्रमा चर्को स्वरमा डिजे बाजा बजाएर प्रचार प्रसार हुने गरेको गुनासो आउन थालेपछि सो कार्यमा प्रतिबन्ध लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी संजय पोखरेलले बताए । “ध्वनि प्रदूषण नियन्त्रण गर्न र शान्ति सुरक्षा कायम गर्न डिजे प्रयोगमा रोक लगाइएको हो । ‘‘सहायक प्रजिअ पोखरलेले भने, “जिल्ला भरी सार्वजनिक स्थान, जुलुस, र्याली तथा आम सभामा डिजे साउन्ड सिस्टम, ठुला लाउडस्पिकर तथा ध्वनि प्रदूषण गर्ने उपकरण प्रयोगमा प्रतिबन्ध लगाएको छ ।” जिल्ला प्रशासन कार्यालय महोत्तरीका अनुसार फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरी प्रचारप्रसार तीव्र बनेसँगै ध्वनि प्रदूषण बढेको गुनासो आएपछि डिजेमा प्रतिबन्ध गर्ने निर्णय गरिएको हो । अत्यधिक ध्वनिका कारण विद्यार्थीको अध्ययनमा असर पर्ने, ज्येष्ठ नागरिक तथा बिरामीको स्वास्थ्यमा समस्या देखिने तथा सामाजिक सद्भाव र शान्ति सुरक्षामा समेत प्रतिकुल प्रभाव पर्ने अवस्थालाई मध्यनजर गर्दै प्रतिबन्ध लागु गरिएको सहायक प्रजिअ पोखरेलले स्पष्ट पारे । जिल्ला सुरक्षा समितिको सिफारिसको आधारमा स्थानीय प्रशासन ऐन, २०२८ अनुसार फागुन १० गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि डिजे माथि प्रतिबन्ध गरिएको हो । यस निर्णयको वर्खिलाप गई डिजे साउन्ड सिस्टम प्रयोग गरेको पाइएमा सम्बन्धित उपकरण जफत गरिने र प्रचलित कानुन अनुसार कडा कारबाही गरिने चेतावनी समेत प्रशासनले दिएको छ । यसैगरि फागुन २१ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ लाई सभ्य, सुव्यवस्थित, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न गराउन जिल्ला प्रशासन कार्यालय महोत्तरी निश्चित अवधि तोकेर मदिरा बिक्री–वितरण कार्यमा निषेध गरेको छ । फागुन १० गते आइतबारका दिन जिल्ला प्रशासन कार्यालय महोत्तरीमा जिल्ला स्थित क्रियाशील विभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिहरू र सुरक्षा निकायका प्रमुखहरूको सहभागितामा सम्पन्न निर्वाचन लक्षित समन्वय बैठकबाट मतदान हुनुभन्दा सात दिन अगावै फाल्गुन १४ गतेदेखि निर्वाचन सम्पन्न नभएसम्म मदिरा बिक्री वितरणमा रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलद्वारा सोमबार जारी गरिएको सूचनामा उल्लेख छ । निषेधित कार्यः महोत्तरी जिल्लाभरी सबै प्रकारका मदिराजन्य पदार्थहरूको बिक्री वितरण र सार्वजनिक स्थानमा सेवनलाई पूर्ण रूपमा निषेध गरिएको र सूचनाको उल्लङ्घन गरी मदिरा बिक्री वितरण वा सेवन गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने जनाइएको छ । सुरक्षा निकायहरूबाट यसको कडाइका साथ अनुगमन गरिने समेत जनाइएको छ । निर्वाचनको समयमा सार्वजनिक शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राखका लागि चालिएको यस कदममा सबै होटल व्यवसायी, राजनीतिक दल, नागरिक समाज र आम सर्वसाधारणवाट पूर्ण सहयोगको अपेक्षा समेत गरिएको सहायक प्रजिअ पोखरेलले बताए ।
पर्वतमा नदीले बगाएर वृद्धाको मृत्यु
पर्वत । पर्वतको कुश्मा नगरपालिका–५ स्थित मोदीवेणीघाटमा कालीगण्डकी स्नान गर्ने क्रममा नदीले बगाएर एक वृद्धाको ज्यान गएको छ । मोदीवेणी धामामा बस्दै आएकी पर्वतको फलेवास नगरपालिका–९, भँगराकी ९७ वर्षीया वृद्धा सावित्री गिरीको मृत्यु भएको हो । सोमबार कालीगण्डकी नुहाउन किनारमा पुगेकी वृद्धालाई नदीले बगाएको थियो । नदीले बगाएलगत्तै उद्धारमा खटिएको सशस्त्र प्रहरी बल २५ नम्बर हेडक्वाटर चण्डिका र जिल्ला प्रहरी कार्यालयको टोलीले खोजी गर्दा झन्डै ४०० मिटर तल बगरमा शव भेटिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । मृतक वृद्धाको शव परीक्षणका लागि पर्वत अस्पतालमा राखिएको छ ।
निर्वाचन प्रचारमा नलाग्न शिक्षक–कर्मचारीलाई आयोगको निर्देशन
काठमाडौं । निर्वाचन आयोग ले शैक्षिक संस्थामा कार्यरत प्राध्यापक, शिक्षक तथा कर्मचारीलाई निर्वाचन प्रचारप्रसारमा सहभागी नहुन निर्देशन दिएको छ। आयोगले आचारसंहिताको पूर्ण पालना गर्दै तटस्थ र जिम्मेवार भूमिकामा रहन सम्बन्धित सबैलाई आग्रह गरेको छ। आयोगका अनुसार आचारसंहिताविपरीत निर्वाचन प्रचारप्रसारमा संलग्न भएको पाइएमा निर्वाचन आचारसंहिताको दफा ४८ बमोजिम कारबाही गरिनेछ। निर्वाचन प्रक्रियालाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउन सबै सरोकारवालाको भूमिका महत्वपूर्ण हुने भन्दै आयोगले यस्तो चेतावनी दिएको हो। त्यस्तै शिक्षा ऐनमा समेत शिक्षक वा कर्मचारी कुनै राजनीतिक दलको कार्यकारिणी समितिको सदस्य रहेको पाइएमा पदबाट हटाउने व्यवस्था रहेको उल्लेख गर्दै आयोगले त्यसतर्फ पनि ध्यानाकर्षण गराएको छ। विज्ञप्तिमा भनिएको छ, ‘शैक्षिक संस्थामा सम्बद्ध प्राध्यापक, शिक्षक तथा कर्मचारीले आफ्नो पदको मर्यादा, तटस्थता तथा कानुनी दायित्वलाई मनन गर्दै आचारसंहिताविपरीत हुने कुनै पनि राजनीतिक दल वा उम्मेदवारको निर्वाचन प्रचारप्रसार नगर्न नगराउन सचेत रहनुपर्छ।’ आयोगले आगामी निर्वाचनलाई स्वच्छ र विश्वसनीय बनाउन सबै शिक्षक तथा कर्मचारीलाई आचारसंहिता पूर्ण रूपमा पालना गर्न र कुनै प्रकारको राजनीतिक गतिविधिमा प्रत्यक्ष वा परोक्ष रूपमा संलग्न नहुन आग्रह गरेको छ।
‘मलाई भोट दिएर मेरो क्षमता जाँच्नुस्, नेता भाषणले होइन, कामले चिनिनुपर्छ: प्रेमबहादुर आले
धनगढी । कैलाली निर्वाचन क्षेत्र नं ५ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार प्रेमबहादुर आले ले मतदातासँग आफूलाई एकपटक अवसर दिन आग्रह गरेका छन्। “मलाई भोट दिएर मेरो क्षमता जाँच्नुस्, कामबाटै प्रमाणित गर्छु,” उनले चुनावी अभियानका क्रममा बताएका हुन्। आफू परीक्षण भइसकेको र अनुभवले परिपक्व नेता भएको दाबी गर्दै उनले विकास, सुशासन र जनताको दैनिक समस्याको समाधानलाई पहिलो प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाए। एस क्षेत्रको सडक, शिक्षा, स्वास्थ्य र रोजगारीका मुद्दामा ठोस योजना रहेको उल्लेख गर्दै उनले अवसर पाए परिणाम देखाउने विश्वास दिलाए। घरदैलो कार्यक्रम तथा टोलसभामा उनले भने, “नेता भाषणले होइन, कामले चिनिनुपर्छ। मैले बोलेका कुरा कार्यान्वयन गरेर देखाउनेछु।” यस अवसरमा उनले आफ्नो मुख्य पाँच बुँदे प्रतिबद्धता पनि सार्वजनिक गरेका छन्। जसअन्तर्गत कैलाली–५ लाई समृद्ध र नमुना निर्वाचन क्षेत्रका रूपमा विकास गर्ने, पूर्वाधार विकास तथा सामाजिक सुरक्षालाई सुदृढ बनाउने, कृषि–पर्यटन र साना उद्योगलाई विकासको केन्द्रमा राख्ने, युवाको वैदेशिक पलायन अन्त्य गर्न रोजगारीका अवसर सिर्जना गर्ने तथा रोजगारीमुखी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन्। मतदातामाझ उनको यो अभिव्यक्ति र प्रतिबद्धता अहिले चुनावी मैदानमा चर्चाको विषय बनेको छ।
बेनिघाट रोराङ १० को जबाङ, बाँसपुर र कोट क्षेत्रका गाउँ बस्तीमा राजेन्द्र पाण्डे
धादिङ । नेपाली कम्युनिष्ट पार्टीबाट धादिङ निर्वाचन क्षेत्र नं.१ का उम्मेदवार राजेन्द्र प्रसाद पाण्डेले आफ्नो निर्वाचन क्षेत्रका विभित्र गाउँबस्तीमा घरदैलो तथा मतदाता भेटघाट अभियानलाई तीव्रता दिनुभएको छ । निर्वाचन प्रचार–प्रसारका क्रममा पाण्डे अहिले बेनिघाट रोराङ गाउँपालिका १० को जबाङ, बाँसपुर र कोट क्षेत्रका विभित्र गाउँ बस्तीमा पुग्नुभएको छ । उहाँले त्यहाँका स्थानीय मतदाताहरूसँग प्रत्यक्ष भेटघाट गरी उनीहरूका समस्या सुत्रे र आफ्ना चुनावी एजेन्डाहरू राख्ने कार्य गरिरहनुभएको छ । आज बिहान उहाँले बेनिघाट रोराङ ९ का विभित्र स्थानहरूमा घरदैलो कार्यक्रम सम्पत्र गर्नुभएको थियो । अभियानका क्रममा उहाँले आज बिहान मझिमटार, हुग्दीखोला, तिक्राङ, मौवा खोला लगायतका स्थानहरूमा घरदैलो तथा मतदाता भेटघाट गर्नुभएको थियो ।
चितवन-१ काे समृद्धिका लागि वैज्ञानिक र अग्रगामी नेतृत्व: नेकपाका उम्मेदवार डा. कृष्णराज पन्तप्रति बढ्दो जनविश्वास
चितवन । चितवन क्षेत्र नं. १ को आसन्न निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार डा. कृष्णराज पन्तको उम्मेदवारीले राजनीतिक वृत्तमा मात्रै होइन, आम जनतामा समेत उत्साह र आशा जगाएको छ। विकास अर्थशास्त्री तथा अनुभवी नीति–निर्माताका रूपमा परिचित डा. पन्तलाई नेकपाले अघि सारेपछि “समृद्ध चितवन – समृद्ध नेपाल” को नाराले ठोस आधार पाएको स्थानीयहरूको भनाइ छ। अनुभव, प्रतिबद्धता र जनमुखी दृष्टिकोण राष्ट्रिय योजना आयोगको पूर्व उपाध्यक्षका रूपमा कार्य गरिसकेका डा. पन्तसँग संघीय, प्रादेशिक र स्थानीय तहमा नीति निर्माण तथा कार्यान्वयनको सशक्त अनुभव छ। विकास अर्थशास्त्रमा पीएचडी हासिल गरेका उनि आर्थिक रूपान्तरणका स्पष्ट खाका र कार्ययोजना बोकेर चुनावी मैदानमा उत्रिएका छन् । नेकपाको वैचारिक धरातलसँग मेल खाने गरी उनले समावेशी विकास, उत्पादनमुखी अर्थतन्त्र र आत्मनिर्भर स्थानीय अर्थतन्त्र निर्माणलाई आफ्नो मुख्य प्राथमिकता बनाएका छन् । स्वच्छ छवि र परिणाममुखी नेतृत्व राजनीतिमा इमानदारी र उत्तरदायित्वको खडेरी देखिएको वर्तमान परिवेशमा डा. पन्तको स्वच्छ व्यावसायिक छविले मतदातामा विश्वास जगाएको छ। पदलोलुपता भन्दा परिणाममुखी कार्यशैलीलाई प्राथमिकता दिने उनको व्यक्तित्वले नेकपाको “जनताको पक्षमा, जनतासँगै” भन्ने प्रतिबद्धतालाई थप विश्वसनीय बनाएको छ। बहुआयामिक अध्ययन, समग्र विकासको सोच कानुन र वनस्पति शास्त्रको अध्ययनले उनलाई आर्थिक नीतिमात्र होइन, कानुनी संरचना र वातावरणीय सन्तुलनसमेत ध्यानमा राखेर विकास योजना अघि बढाउन सक्षम बनाएको छ। दिगो विकास, वातावरण संरक्षण र उत्पादन वृद्धि—यी तीन आधारमा चितवनलाई नयाँ उचाइमा पुर्याउने उनको प्रतिबद्धता छ। अन्तर्राष्ट्रिय अनुभव, स्थानीय कार्यान्वयन अन्तर्राष्ट्रिय विकास संस्थामा काम गरेको अनुभवका आधारमा विश्वका असल अभ्यासलाई स्थानीय सन्दर्भअनुसार रूपान्तरण गर्ने क्षमता उनिसँग छ। चितवनको कृषि, पर्यटन, उद्योग र सेवा क्षेत्रलाई समन्वित ढंगले अगाडि बढाउने स्पष्ट कार्यदिशा उनले प्रस्तुत गरेका छन् । डा. पन्तको स्पष्ट धारणा छ— "राजनीति सत्ताको साधन होइन, समाज परिवर्तन र आर्थिक मुक्ति हासिल गर्ने माध्यम हो।" चितवनको आर्थिक सम्भावनालाई योजनाबद्ध रूपमा उपयोग गर्दै रोजगारी सिर्जना, शिक्षा–स्वास्थ्य सुधार र पूर्वाधार विस्तारमार्फत समृद्धि हासिल गर्न नेकपाको नेतृत्व आवश्यक रहेको स्थानीय बौद्धिक तथा युवा वर्गको विश्वास छ। आगामी निर्वाचनमा परम्परागत व्यक्तिवादी र अवसरवादी राजनीतिलाई अस्वीकार गर्दै वैज्ञानिक सोच, स्वच्छ छवि र जनमुखी एजेन्डा बोकेको नेकपाका उम्मेदवार डा. कृष्णराज पन्तलाई विजयी गराउनु नै चितवनको उज्ज्वल भविष्यतर्फको महत्वपूर्ण कदम हुने देखिन्छ।
परिवर्तनलाई नागरिकको जीवनस्तरसँग जोड्दै सुमन सायमीको अभियान
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र-८ का नेपाली कम्युनिस्ट पार्टी (नेकपा) उम्मेदवार सुमन सायमीले वास्तविक परिवर्तनलाई नागरिकको दैनिक जीवनसँग जोडेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले राजनीतिक नेतृत्वको जिम्मेवारी डिजिटल वा औपचारिक सीमाभित्र मात्र होइन, जनताको वास्तविक समस्या समाधानमा केन्द्रित हुनुपर्ने धारणा राख्दै आफ्नो अभियान अगाडि बढाएका छन्। ‘सडकदेखि सदनसम्म’ को मूल नारालाई आत्मसात गर्दै सायमीले परिवर्तनलाई केवल सामाजिक सञ्जाल वा प्रचार–प्रसारमा सीमित राख्न नहुने बताएका छन्। उनका अनुसार परिवर्तन भनेको महँगी नियन्त्रण, आधारभूत सेवा–सुविधाको पहुँच विस्तार, स्थानीय संस्कृति र पहिचानको संरक्षण तथा नागरिकको जीवनस्तर सुधारसँग प्रत्यक्ष जोडिनुपर्छ। उनले विशेषगरी काठमाडौंको कोर एरिया र स्थानीय बासिन्दाका सरोकारका विषयलाई प्राथमिकतामा राख्दै निरन्तर आवाज उठाउँदै आएको उल्लेख गरेका छन्। सायमीको जोड छ कि जनताको आवाजलाई नीति–निर्माण तहसम्म पुर्याएर मात्रै लोकतन्त्रले सार्थकता पाउनेछ। आगामी दिनमा नागरिकका वास्तविक मुद्दालाई केन्द्रमा राखेर विकास र समृद्धिको अभियान अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै उनले सचेत नागरिकलाई आफ्नो अभियानमा साथ दिन आग्रह गरेका छन्।
दाङ-३ मा आम जनता पार्टीकी उम्मेदवार नै नेकपा प्रवेश
दाङ । प्रतिनिधिसभा सदस्य निर्वाचन दाङ क्षेत्र नं. ३ मा आम जनता पार्टीकी उम्मेदवार पाण्डवी नेपाली नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेकी छिन् । सोमबार नेकपा तुलसीपुर– ९ को आयोजनामा भएको चुनावी सभामा उम्मेदवार नेपालीसहित २३ जना नेकपामा प्रवेश गरेका हुन्। नवप्रवेशीलाई नेकपा दाङ ३ का उम्मेदवार तथा नेकपाका केन्द्रीय सदस्य धनबहादुर मास्कीले स्वागत गरेका थिए। उनीहरूलाई पार्टीमा स्वागत गर्दै मास्कीले मुलुकमा संघीयता, समावेशिता, धर्मनिरपेक्षतासहितको संविधान निर्माण गर्न पार्टीले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै सबै वर्गको सहयोग आवश्यक रहने बताए। आफूलाई नेकपाको विचार मन परेकाले पार्टी प्रवेश गरेको नेपालीको भनाइ थियो। वडा निर्वाचन परिचालन समितिका संयोजक मदन हमालको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सहसंयोजक दुर्गा शर्माले गरेका थिए।
इलाम–२ मा विकासको नयाँ उत्साह: ‘तारा’ चिन्हसहित ओम गुरुङप्रति बढ्दो जनसमर्थन
इलाम । प्रतिनिधिसभा सदस्य निर्वाचन इलाम क्षेत्र नं. २ मा यसपटकको निर्वाचनले राजनीतिक चर्चा मात्रै होइन, विकास र समृद्धिको नयाँ बहस पनि सुरु गरेको छ। ‘तारा’ चुनाव चिन्हसहित उम्मेदवारी दिएका नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का ओम गुरुङप्रति मतदाताको समर्थन क्रमशः विस्तार हुँदै गएको छ। स्थानीय स्तरमा भएका भेटघाट, घरदैलो अभियान र जनसंवाद कार्यक्रमहरूले उनको लोकप्रियतालाई थप मजबुत बनाएको देखिन्छ। स्पष्ट विकास दृष्टिकोणसहित मैदानमा गुरुङ उनले प्रस्तुत गरेकाे एजेन्डा केवल चुनावी नारामा सीमित नभई व्यावहारिक कार्ययोजनामा आधारित रहेको स्थानीय समर्थकहरूको भनाइ छ। विशेषगरी निम्न विषयहरूलाई उनले प्राथमिकतामा राखेका छन् । जसमा: १. कृषि र उत्पादनमुखी अर्थतन्त्रको सुदृढीकरण इलामको पहिचानसँग जोडिएका चिया, अलैँची, अदुवा र अन्य कृषि उत्पादनलाई आधुनिक प्रविधिसँग जोड्दै बजारीकरणलाई व्यवस्थित गर्ने योजना अघि सारिएको छ। किसानलाई उत्पादनको उचित मूल्य, सहुलियत ऋण र प्राविधिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता उनले जनाएका छन् । २. पर्यटन प्रवर्द्धन र रोजगारी सिर्जना इलाम प्राकृतिक सौन्दर्यले भरिपूर्ण जिल्ला भएकाले यहाँको पर्यटकीय सम्भावनालाई योजनाबद्ध रूपमा विकास गर्नुपर्ने आवश्यकता औँल्याइएको छ । पूर्वाधार विकास, होमस्टे प्रवर्द्धन, पर्यटकीय मार्ग विस्तार र प्रचार–प्रसारमार्फत स्थानीय युवालाई रोजगारीको अवसर सिर्जना गर्ने लक्ष्य राखिएको छ । ३. भौतिक पूर्वाधार र सेवा प्रवाहमा सुधार सडक सञ्जाल विस्तार, स्वास्थ्य संस्थाको स्तरोन्नति, गुणस्तरीय शिक्षा सुनिश्चितता र डिजिटल सेवाको पहुँच विस्तारलाई उनले आफ्नो मुख्य एजेन्डामा समेटेका छन् । प्रशासनिक ढिलासुस्ती अन्त्य गरी जनताको काम छिटो र पारदर्शी रूपमा सम्पन्न गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ। ४. सुशासन र जनउत्तरदायी नेतृत्व जनतासँग निरन्तर संवादमा रहने, स्थानीय आवश्यकता बुझेर नीति निर्माण तहमा आवाज उठाउने र विकास बजेटको प्रभावकारी उपयोग सुनिश्चित गर्ने उनको योजना रहेको छ। पारदर्शिता र जवाफदेहितालाई नेतृत्वको आधार बनाउने प्रतिबद्धता उनले दोहोर्याए । जनताको अपेक्षा र बढ्दो विश्वास ‘अरूले कुरा गर्छन्, ओमले काम गर्छन्’ भन्ने सन्देश अहिले बजार, गाउँटोल र सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको छ। विशेषगरी युवा पुस्ता, किसान समुदाय र व्यवसायी वर्गले यसपटक विकासमुखी नेतृत्वलाई अवसर दिनुपर्ने धारणा राखिरहेका छन्। स्थानीय कार्यक्रमहरूमा देखिएको सहभागिता र समर्थनले ओम गुरुङको उम्मेदवारीलाई बलियो जनआधार प्रदान गरेको विश्लेषण गरिएको छ। मतदाताहरूले इलाम–२ को दीर्घकालीन समृद्धि र रूपान्तरणका लागि नयाँ सोच र सक्रिय नेतृत्व आवश्यक रहेको बताइरहेका छन्। आगामी निर्वाचनले यस क्षेत्रको राजनीतिक दिशा निर्धारण गर्ने भएकाले ‘तारा’ चिन्हसहितको अभियानले विकासको नयाँ अध्याय सुरु गर्ने अपेक्षा गरिएको छ।
उदयपुरकाे कटारीमा खेताला प्रयोग गरी मतदाता शिक्षा
उदयपुर । उदयपुरको कटारी नगरपालिका–८ मा खेताला स्वयंसेविकामार्फत मतदाता शिक्षा सञ्चालन गरिएको पाइएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदाता शिक्षा दिन खटिएकी स्वयंसेविका दिलकुमारी राउत मगरले खेताला प्रयोग गरेर मतदाता शिक्षा दिएको पाइएको हो । कटारी नगरपालिका–८ का पूर्व वडा अध्यक्ष कमल श्रेष्ठका अनुसार मतदाता शिक्षाका लागि खटिएकी दिलकुमारी राउत मगरले नातामा भाइबुहारी पर्ने, गैरसरकारी संस्थामा आबद्ध मेनुका श्रेष्ठमार्फत मतदाता शिक्षा सञ्चालन गरेको पत्ता लागेपछि नगरपालिकाको कार्यालयलाई खबर गरेकाे बताए । उनले भने, ‘त्यसपछि नगरपालिकाका सूचना अधिकारी गोविन्द खड्काले गल्ती भएको भए तत्काल सच्याइने बताउनुभएको छ ।’ यता नगरपालिकाका मतदाता शिक्षाका फोकल पर्सन सूचना अधिकारी गोविन्द खड्काले आइतबार थलिया र कोल्बोट गाउँमा दिलकुमारी स्वयं उपस्थित नभई अर्कै व्यक्तिमार्फत मतदाता शिक्षा दिएको पाइएकाले उनलाई सचेत गराइएको बताए । उनले भने, ‘स्थानीयहरूबाट पनि गुनासो आयो। पूर्व वडा अध्यक्षले पनि जानकारी दिनुभयो। त्यसपछि हामीले उहाँ (दिलकुमारी) लाई सोमबारदेखि यस्तो गल्ती नगर्न सुझाव दिएका छौँ ।’
चन्द्रपुर–२ मा नेकपाको भव्य घरदैलो, जनलहरले उत्साहित उम्मेदवार भट्टराई
रौतहट । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) रौतहट क्षेत्र नं. ४ का उम्मेदवार रामकुमार भट्टराईले चन्द्रपुर नगरपालिका–२ मा सम्पन्न भव्य घरदैलो कार्यक्रमले जनताको अपार साथ र विश्वास प्राप्त भएको बताएका छन्। बिहानै बनटोलबाट सुरु भएको घरदैलो कार्यक्रम दिनभर वडा नम्बर २ का विभिन्न गाउँ–बस्ती हुँदै पुनः बनटोलमै पुगेर समापन भएको थियो। हजारौं नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको उत्साहजनक सहभागिताले कार्यक्रमलाई जनलहरमा परिणत गरेको थियो। विभिन्न स्थानमा स्थानीय बासिन्दाले उम्मेदवार भट्टराईलाई भव्य स्वागत गरेका थिए। घरदैलोपछि उम्मेदवार भट्टराईले देखिएको जनसमर्थनले आफू थप जिम्मेवार र उत्साहित भएको बताए। उनले संविधान निर्माणमा संलग्न अनुभवलाई संविधानको प्रभावकारी कार्यान्वयनमा उपयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र संघीयताको सुदृढ कार्यान्वयनका लागि संसदमा प्रभावकारी भूमिका निर्वाह गर्ने आफ्नो लक्ष्य रहेको उनले बताए। भट्टराईले भ्रष्टाचार नियन्त्रण, बेरोजगारी अन्त्य तथा युवाहरूका जायज माग सम्बोधन गर्न आफू दृढ रहेको बताए। घरदैलो कार्यक्रमलाई जनताको दुःख–सुख प्रत्यक्ष बुझ्ने अवसरका रूपमा लिएको उल्लेख गर्दै उनले जनताका समस्या समाधानका लागि व्यवहारिक र सम्भव पहल मात्र गर्ने तथा आवश्यक समन्वय सबै निकायसँग गर्ने स्पष्ट पारे। कार्यक्रममा बोल्दै पार्टीका नेता तथा मधेश प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री युवराज भट्टराईले व्यवस्था परिवर्तन भए पनि जनताको जीवनस्तरमा अपेक्षित सुधार हुन नसकेको उल्लेख गर्दै अब परिवर्तनलाई व्यवहारमा उतार्न नेकपालाई जिताउन आग्रह गरे। घरदैलो कार्यक्रममा पार्टीका नेता देवेन्द्र पटेल, एकराज थापा, महेन्द्र चौलागाई, देवकी नेपाल, टिका आचार्य, राजु धामी, दुत्तबहादुर थिङ (बुद्ध), झलक श्रेष्ठ, अमित श्रेष्ठ, समीरबाबु कार्की, रञ्जु थापा लगायतका नेताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
अब अवस्था बदल्ने समय: बाँके–१ का नेकपा उम्मेदवार पाण्डेकाे यस्ताे छ समग्र विकासको स्पष्ट खाका
नेपालगन्ज । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बाँके क्षेत्र नं. १ बाट उम्मेदवारी दिएका नरेन्द्र पाण्डे (जेम्स) ले “हिजो व्यवस्था बदल्यौं, अब अवस्था बदल्ने समय” भन्ने दृढ सन्देशसहित समग्र विकासको विस्तृत प्रतिबद्धता सार्वजनिक गरेका छन् । आजको बाँके–१ का समस्या केवल चुनावी भाषणका विषय होइनन्; यी समस्याको समाधानका लागि स्पष्ट योजना, समयबद्ध कार्यान्वयन र इमानदार नेतृत्व आवश्यक छ भन्ने विश्वास उनले व्यक्त गरेका छन् । उनको प्रतिबद्धतापत्र केवल वाचा होइन, कार्यान्वयन योग्य रोडम्याप हो । तिमीलाई गुणस्तरीय स्वास्थ्य सेवा, सुलभ शिक्षा, रोजगारीको अवसर, सुरक्षित सडक, भरपर्दो विद्युत, न्यायपूर्ण समाज र पारदर्शी शासन चाहिएको छ भने त्यसका लागि ठोस आधार तयार गर्ने प्रतिबद्धता उनले सार्वजनिक गरेका छन् । स्वास्थ्य: सेवा होइन, अधिकार नागरिकका परिवारले आधारभूत स्वास्थ्य सेवाका लागि टाढा धाउन नपरोस् भन्ने उद्देश्यले प्रत्येक वडामा सुदृढ स्वास्थ्य चौकी, आवश्यक उपकरण र दक्ष जनशक्ति व्यवस्थापन गर्ने योजना अघि सारिएको छ । मातृ–शिशु स्वास्थ्य सेवा सुदृढीकरण, निःशुल्क आधारभूत औषधि सुनिश्चितता र आकस्मिक सेवा विस्तारमार्फत स्वास्थ्यलाई अधिकारको रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ । स्वास्थ्य पूर्वाधार निर्माणसँगै स्वास्थ्यकर्मीलाई प्रोत्साहन, नियमित अनुगमन र डिजिटल स्वास्थ्य अभिलेख प्रणालीमार्फत सेवाको गुणस्तर बढाउने स्पष्ट खाका प्रस्तुत गरिएको छ । सरकारी स्वास्थ्य संस्थामा विश्वास गर्न सक्ने वातावरण बनाउनु नै मुख्य उद्देश्य देखाइएकाे छ । शिक्षा : सीप, प्रतिस्पर्धा र भविष्यसँग जोडिएको प्रणाली नागरिकले पाउने शिक्षा समयसापेक्ष, व्यवहारिक र रोजगारीसँग जोडिएको हुनुपर्छ भन्ने दृष्टिकोण उनको प्रतिबद्धतामा स्पष्ट देखिन्छ । सामुदायिक विद्यालयको भौतिक र शैक्षिक गुणस्तर सुधार, शिक्षक तालिम, आधुनिक प्रविधि प्रयोग र उत्तरदायी व्यवस्थापन प्रणाली लागू गर्ने योजना अघि सारिएको छ । “एक विद्यालय–एक प्राविधिक धार” अवधारणामार्फत विद्यार्थीलाई माध्यमिक तहदेखि नै सीपमूलक शिक्षासँग जोड्ने लक्ष्य राखिएको छ । प्राविधिक र व्यावसायिक शिक्षाको विस्तारले तिमीलाई विदेश पलायन होइन, आफ्नै ठाउँमा अवसर खोज्न प्रेरित गर्ने विश्वास गरिएको छ । कृषि र उद्योग : आत्मनिर्भर अर्थतन्त्रको आधार कृषकका लागि सिँचाइ, मल–बीउ र बजारको अभावले हैरान हुनुपर्दैन भन्ने सुनिश्चितता दिने प्रतिबद्धता छ । सिँचाइ विस्तार, कृषि आधुनिकिकरण, चिस्यान केन्द्र निर्माण, सहुलियत ऋण र स्थानीय उत्पादनको व्यवस्थित बजारीकरणमार्फत कृषि उत्पादन वृद्धि गर्ने लक्ष्य राखिएको छ । “एक पालिका–एक औद्योगिक ग्राम” अवधारणामार्फत साना तथा मझौला उद्योग स्थापना, प्रशोधन उद्योग प्रवर्द्धन र युवालाई स्वरोजगारतर्फ उन्मुख गराउने स्पष्ट योजना अघि सारिएको छ । तिमीले उत्पादन गरेको वस्तु यहीँ प्रशोधन भई बजारमा पुग्ने वातावरण सिर्जना गर्ने प्रतिबद्धता जनाइएको छ । पूर्वाधार : जोडिने बाटो, उज्यालो बस्ती कोहलपुरदेखि राप्ती सोनारी र नरैनापुरसम्म सडक सञ्जाल विस्तार तथा स्तरोन्नति, ग्रामीण सडक मर्मत, सुरक्षित पुल निर्माण र सार्वजनिक यातायात व्यवस्थापन सुधार गर्ने योजना समेटिएको छ । अव्यवस्थित विद्युत आपूर्ति सुधार, बाँकी बस्तीमा विद्युत विस्तार र सिँचाइ आयोजनाको पूर्णता मार्फत कृषि तथा उद्योगलाई ऊर्जा सुनिश्चित गर्ने लक्ष्य राखिएको छ । वर्षौंदेखि अधुरो रहेका योजनाको निरन्तरता र पूर्णता दिन दृढ प्रतिबद्धता व्यक्त गरिएको छ । सामाजिक न्याय : सबै समुदायको सम्मान र अधिकार दलित, महिला, मधेसी, थारु, मुस्लिम लगायत सबै समुदायको समान अधिकार सुनिश्चित गर्ने स्पष्ट योजना सार्वजनिक गरिएको छ । भूमिहीन र अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि कानुनी तथा व्यवहारिक पहल, सामाजिक सुरक्षा विस्तार र सीपमूलक तालिम कार्यक्रममार्फत पिछडिएका वर्गलाई आर्थिक मूलधारमा ल्याउने लक्ष्य राखिएको छ । जुनसुकै समुदायको भए पनि सम्मान, अवसर र न्याय पाउने वातावरण बनाउनु नै उनको प्राथमिकता रहेको उल्लेख गरिएको छ । सुशासन : पारदर्शिता र जवाफदेहिता नागरिकले तिरेको करको सही उपयोग होस्, सार्वजनिक सेवा छिटो र पारदर्शी होस् भन्ने चाहना पूरा गर्न डिजिटल प्रणाली विस्तार, सार्वजनिक सुनुवाइ, नियमित प्रतिवेदन र नागरिक सहभागितालाई संस्थागत गर्ने प्रतिबद्धता जनाइएको छ । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउँदै पारदर्शी निर्णय प्रक्रिया र जवाफदेही नेतृत्व स्थापित गर्ने उनको दृढ अडान छ । युवा र खेलकुद : सम्भावनाको ऊर्जा “एक पालिका–एक खेल मैदान” अवधारणामार्फत खेल पूर्वाधार निर्माण, युवा उद्यमशीलता तालिम, स्टार्टअप प्रवर्द्धन र सहुलियत वित्तीय पहुँच सुनिश्चित गर्ने योजना अघि सारिएको छ । नागरिकमा भएकाे ऊर्जा, सिर्जनशीलता र सीपलाई सही दिशामा प्रयोग गर्न स्थानीय स्तरमै अवसर सिर्जना गर्ने लक्ष्य राखिएको छ । प्रतिबद्धता सार्वजनिक गर्दै उम्मेदवार नरेन्द्र पाण्डे (जेम्स) ले चुनाव केवल प्रतिनिधि चयन गर्ने प्रक्रिया नभई तिम्रो भविष्य निर्धारण गर्ने ऐतिहासिक अवसर भएको उल्लेख गरेका छन् ।उनका अनुसार बाँके–१ को विकासका लागि भावनात्मक नारा मात्र होइन, स्पष्ट योजना, इमानदार नेतृत्व र दृढ कार्यान्वयन अपरिहार्य छ । अब प्रश्न छ—पुरानै समस्याको निरन्तरता कि नयाँ सोच र स्पष्ट कार्ययोजनासहितको परिवर्तन ? बाँके–१ को समृद्धि, सुशासन र अवसरमूलक भविष्यका लागि “अब अवस्था बदल्ने समय” आएको सन्देश यस प्रतिबद्धताले बलियो रूपमा प्रस्तुत गरेको छ ।
आज कतिले बढ्यो सुनचाँदीको मूल्य ?
काठमाडौंं । नेपाली बजारमा सुनको भाउ सोमबार पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार (फागुन ११) सुन तोलामा ३२ सय रुपैयाँले बढेको हो । अघिल्लो दिन प्रतितोला ५६ सयले बढेर तीन लाख १० हजार ३०० रुपैयाँ कायम भएको थियो । आजको भाउअनुसार उपभोक्ताले एक तोला सुन किन्न तीन लाख १३ हजार ५०० रुपैयाँ खर्चिनुपर्ने हुन्छ । यस्तै, चाँदीको भाउ तोलामा १७० रुपैयाँले बढेर प्रतितोला पाँच हजार ५९५ रुपैयाँ पुगेको छ । आइतबार पाँच हजार ४२५ रुपैयाँमा किनबेच भएको थियो ।
बाँके-२ काे डुडुवाकाे बेतहानीमा नेकपाको सशक्त घरदैलो अभियान, जनविश्वास जित्दै दिपेन्द्र बिष्ट
बाँके । डुडुवा गाउँपालिका वडा नं. २, बेतहानीमा बाँके क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार दिपेन्द्र बिष्टको नेतृत्वमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले प्रभावशाली घरदैलो अभियान सम्पन्न गरेको छ । स्थानीय जनताको उल्लेखनीय सहभागिताले अभियानलाई उत्साहपूर्ण र परिणाममुखी बनाएको छ । घरदैलोका क्रममा उम्मेदवार बिष्टले घर–घर पुगेर स्थानीय बासिन्दासँग आत्मीय भेटघाट गर्दै सुझाव, समस्या र अपेक्षाहरू प्रत्यक्ष रूपमा सुने । कृषि उत्पादनको बजारीकरण, स्तरीय सडक निर्माण, शुद्ध खानेपानीको व्यवस्था, गुणस्तरीय स्वास्थ्य सेवा, सुदृढ शैक्षिक पूर्वाधार तथा युवालाई रोजगारी सिर्जना जस्ता विषयलाई प्राथमिकतामा राखेर अघि बढ्ने उनकाे स्पष्ट प्रतिबद्धताले जनतामा आशा र भरोसा थपिएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश सचिवालय सदस्य डिल्ली बराल (अमिर) ले डुडुवा–२ को समग्र विकासका लागि नेकपा प्रतिबद्ध रहेको बताए । “जनताको प्रत्यक्ष सहभागिता र सुझावकै आधारमा विकासको खाका तयार हुन्छ,” उनले भने, “हामी नारामा होइन, नतिजामा विश्वास गर्छौं।” समानुपातिक उम्मेदवार कालिमिया कस्मिरा र जामिया खातुनले पनि स्थानीय महिला, युवा र ज्येष्ठ नागरिकसँग संवाद गर्दै समाज रूपान्तरणमा सक्रिय सहभागिताको आवश्यकता औंल्याए । उनिहरूले शिक्षित, सचेत र संगठित समाज निर्माणमा नेकपाको भूमिका निर्णायक हुने विश्वास व्यक्त गरे । बेतहानीमा देखिएको जनउत्साह, विशेषगरी महिला र युवाहरूको उल्लेखनीय सहभागिताले उम्मेदवार बिष्टप्रति बढ्दो समर्थन स्पष्ट देखिएको स्थानीय राजनीतिक वृत्तको विश्लेषण छ । उम्मेदवार बिष्टले भने, “बेतहानीका प्रत्येक घरका सुझाव र अपेक्षा मेरो कार्ययोजनाको आधार बन्नेछन्। हामी चुनाव जित्नका लागि मात्र होइन, जनताको जीवनस्तर उकास्ने दीर्घकालीन योजना सहित अघि बढेका छौं।” यस घरदैलो अभियानले डुडुवा–२ मा नेकपाको जनआधार थप मजबुत भएको संकेत दिएको छ। जनविश्वास, स्पष्ट कार्यदिशा र प्रतिबद्ध नेतृत्वका कारण दिपेन्द्र बिष्टको चुनावी अभियान दिनप्रतिदिन सशक्त बन्दै गएको छ।
नवलपरासीमा मोटरसाइकल दुर्घटनामा एककाे मृत्यु
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को गैँडाकोटमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । एकजना गम्भीर घाइते छन् । सोमबार (फागुन ११) बिहान गैँडाकोट नगरपालिका–७, जानकी ग्यास परिसरनजिक पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी देवचुली नगरपालिका–११ का १८ वर्षीय बिजेन पुलामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका एसपी युवराज खड्काले बताए । दुर्घटनामा परी कावासोती नगरपालिका–१७ का १७ वर्षीय राज विक गम्भीर घाइते भएका छन् । गैँडाकोटबाट रजहरतर्फ जाँदै गरेको ना६३प ९३९० नम्बरको मोटरसाइकल डिभाइडरमा ठोक्किएर पल्टिएको थियो । त्यसपछि सुनौलीबाट काठमाडौंतर्फ आउँदै गरेको लु२ख ४४६१ नम्बरको बसले सोही मोटरसाइकललाई ठक्कर दिएको एसपी खड्काले जानकारी दिए । मोटरसाइकल चालक र पछाडि सवार दुवैजनालाई गम्भीर अवस्थामा उपचारका निम्ति अस्पताल लगिएको थियो । उपचारका क्रममा मोटरसाइकल चालक पुलामीको मृत्यु भएको हो । अर्का घाइतेको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

