काठमाडौंका यी स्थानमा पाँच दिन चार घण्टा विद्युत् अवरुद्ध हुने

काठमाडौं । काठमाडौं केही स्थानमा पाँच दिन दैनिक चार घण्टा विद्युत् अवरुद्ध हुने भएको छ। 

बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने विद्युत् प्राधिकरणले जनाएको छ। 

कीर्तिपुर, बानेश्वर, कुलेश्वर र जोरपाटी वितरण केन्द्र अन्तर्गतका विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्यका लागि सेवा अवरुद्ध हुन लागेको हो।

सहकारी ठगीविरुद्ध काँग्रेसको विरोध प्रदर्शन आज

काठमाडौँ । सहकारी ठगीविरुद्ध विपक्षी दल नेपाली काँग्रेसले आज विरोध प्रदर्शन गर्दै छ।सहकारी ठगीमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेलाई आरोप लगाएर कारबाही र सर्वसाधारणको बचत फिर्ताको माग गर्दै संघीय संसद्मा निरन्तर अवरोध गर्दै आएको काँग्रेस अब त्यही मुद्दा लिएर विरोध प्रदर्शनका लागि सडकमा उत्रिएको हो ।  पहिलो चरणमा काठमाडौँ उपत्यकामा विरोध प्रदर्शन गर्ने निर्णय गरेको काँग्रेसले यहाँका १५ वटै निर्वाचन क्षेत्रमा केन्द्रीय समितिबाट प्रतिनिधि खटिएका छन् ।उपत्यकाका तीन वटै जिल्ला कार्यसमितिको अगुवाइमा आइतबार काठमाडौंमा गृहमन्त्री लामिछानेको रवैयाविरुद्ध विरोध प्रदर्शन गरिने काँग्रेसका बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले जानकारी दिए ।  काठमाडौँको प्रदर्शनी मार्गमा दिउँसो १ बजे हुने विरोध कार्यक्रमलाई भव्य बनाउन काठमाडौं, ललितपुर र भक्तपुरका १५ वटै निर्वाचन क्षेत्रका क्षेत्रीय समिति, भ्रातृ संस्था र शुभेच्छुक संस्थाहरूले तयारी गरेका छन् । प्रदेश सभापति बानियाँका अनुसार सरकारद्वारा सहकारी ठगीलाई संरक्षण, संसद्भित्र सत्तापक्षका नेताहरूको धम्कीपूर्ण अभिव्यक्ति, संसदीय चरित्र र अभ्यासको विरुद्ध कांंग्रेसले प्रदर्शन गर्न लागेको हो ।  सहकारीको बचत अपचलन गरेको आरोप लागेका गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन समिति गठनको माग गर्दै आएको काँग्रेसले बजेट अधिवेशन सुरु भएयता संघीय संसद्का सबै बैठकमा अवरोध गर्दै आएको छ ।

गुजरातमा आगलागी, नौजनाको मृत्यु, घाइतेको उपचार हुँदे

नयाँ दिल्ली । भारतको पश्चिमी राज्य गुजरातमा शनिबार एउटा मनोरञ्जन पार्कमा भएको भीषण आगलागीमा कम्तीमा नौजनाको मृत्यु हुनुका साथै धेरै घाइते भएका इन्डिया टुडेले जनाएको छ । यो घटना गुजरातको राजकोट जिल्लाको गो–कार्टिङ, बलिङ र अरू साहसिक खेलजस्ता मनोरञ्जन गतिविधिको हब ‘टीआरपी गेमिङ जोन’मा भएको बताइएको छ । उक्त घटनामा घाइते भएका सबैजनालाई आवश्यक उपचारका निम्ति स्थानीय अस्पतालमा लगिएको छ । आगलागीको कारण अहिलेसम्म थाहा हुन सकेको छैन । टीआरपी गेमिङ जोनभित्रको अस्थायी संरचना आगोको बीचमा ध्वस्त भएको र अरू केही व्यक्ति भग्नावशेषमा फसेका हुन सक्ने स्थानीय अधिकारीले बताए। घटनापछि राज्य सरकारले मृतकका परिवारलाई ४ लाख र घाइतेहरुलाई ५० हजार रुपैयाँको दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ। राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदी, दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाल लगायतले आगलागीबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३२ रुपैयाँ ६६ पैसा र बिक्रीदर १३३ रुपैयाँ २६ पैसा कायम गरिएको छ। त्यस्तै, आज युरोपियन युरो एकको खरिदमा भने १४३ रुपैयाँ ७५पैसा र बिक्रीमा १४४ रुपैयाँ ४० पैसा पाइन्छ। बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६८ रुपैयाँ ६८ पैसा र बिक्रीदर १६९ रुपैयाँ ४५पैसा तोकिएको छ।  हेर्नुहोस् विनिमय दर 

संसद् बन्धक हुन दिँदैनौँ  : उपाध्यक्ष पौडेल

भरतपुर । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले संसद्को अवरोध चाँडै हट्ने बताएका छन्। एमाले चितवनको ११औँ अधिवेशनको शनिबार भरतपुरमा उद्घाटन गर्दै उनले नेपाली कांग्रेसले संसद्को बहुमतलाई बन्धक बनाएकाले त्यसलाई पन्छाएर अगाडि बढ्ने उल्लेख गरे। “कांग्रेसको अवरोधलाई हटाएर भए पनि संसद् बन्धक हुन दिँदैनौँ,” उपाध्यक्ष पौडेलले भने। वि.सं.२०८४ को चुनावसम्म यही गठबन्धन रहने उनले बताए। “कांग्रेससँग प्रतिपक्षमा बसेर निर्वाचन लडेको अनुभव धेरै छैन,” उनले भने, “आगामी निर्वाचनमा हामी बहुमत ल्याउँछौँ।” वर्तमान समीकरण तोड्न अनेक प्रयास भइरहेको उनले बताए । एमालेका अर्का उपाध्यक्ष सुरेन्द्र पाण्डेले संसद् अवरोधले बजेट ल्याउन समस्या हुने बताए । देश आर्थिक संकटमा रहेका बेला मिलेर बजेट ल्याउनुपर्ने उनको भनाइ थियो । “नाराबाजीका बीचबाट बजेट ल्याउनुपर्ने हुनसक्छ । अध्यादेशमार्फत भएर पनि बजेट ल्याउनुपर्ने हुनसक्छ । नत्र संवैधानिक संकट आउँछ,” उनले भने । रासस

यस्तो रहनेछ आज देशभरको मौसम

काठमाडौं । हाल नेपालमा स्थानीय वायु तथा भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अहिले बागमती, गण्डकी र कर्णाली प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिकदेखि मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। बागमती, कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश लगायत देशको पहाडी भूभागका थोरै स्थान तथा बाँकी भूभागका एकदुई स्थानमा चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। आज राति कोशी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा तथा मधेस र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी भूभागका एकदुई स्थानमा चट्याङ्ग र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ। आज सूर्योदय बिहान ५ बजेर १० मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ५२ मिनेटमा हुनेछ ।

शीर्ष नेताको बैठक बस्दै, कार्यादेश टुंग्याउने तयारी

काठमाडौं । सहकारीको बचत अपचलन प्रकरण छानबिनका निम्ति गठन गरिने संसदीय समितिको कार्यादेश (टीओआर) टुंगो लगाउन प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूको बैठक बस्दै छ । बैठक आज बिहान बस्न लागिएको हो । शनिबार उक्त विषयमा टुंगोमा नपुगेकाले बैठक आज बस्ने तय गरिएको हो ।  

प्रतिनिधिसभा बैठक बस्दै, नीति तथा कार्यक्रममाथि छलफलको कार्यसूची

काठमाडौं । प्रतिनिधिसभा बैठक बस्दै छ। संघीय संसद् भवन नयाँ बानेश्वरमा आज बिहान ११ बजे बैठक बस्न लागिएको हो। बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ। त्यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले सुरक्षण मुद्रणसम्बन्धी विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूचीमा छ । त्यसैगरी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले राष्ट्रपतिबाट गत जेठ १ गते संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सम्बोधनमा उल्लेखित आर्थिक वर्ष २०८१/०८२ को सरकारको नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ । नीति तथा कार्यक्रममाथि सदस्यहरूबाट प्राप्त संशोधनहरू प्रस्तुत हुने र सम्बोधनमाथि छलफल गरिने कार्यसूची रहेको छ । प्रधानमन्त्री प्रचण्डले उक्त छलफलको त्रममा उठेका प्रश्नहरूको जवाफ दिनेछन् । त्यसपछि सभामुखले प्राप्त संशोधन र नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ । यस्तो छ सम्भावित कार्यसूची

संसदीय समितिको कार्यादेश टुंग्याउन शीर्ष नेताको बैठक भोलि बिहान बस्ने

काठमाडौं । संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन बस्ने भनिएको शीर्ष नेताको बैठक शनिबार(आज) बस्न सकेन  शनिबार नै बसेको कार्यदलको बैठकले गोर्खा मिडिया प्रालि र उसले रकम लगेको सहकारीका विषयमा छानबिन गर्ने गरी कार्यादेश (टीओआर) बनाउने समझदारी गरे पनि यसलाई अन्तिम रुप शीर्ष नेताले दिने भनिएको थियो। तर कांग्रेस सभापति शेरबहादुर देउवा स्वास्थ्यमा समस्या देखिएको भन्दै नआएपछि प्रधानमन्त्री निवास बालुवाटारमा राखिएको शीर्ष नेताको बैठक बस्न नसकेको राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा कार्यदल सदस्य शिशिर खनालले बताए । उनका अनुसार अब अर्को बैठक आइतबार विहान ९ बजे बस्नेछ । शनिबार बसेको कार्यदलको बैठकले कार्यादेशको विषयमा लगभग सहमति जुटाएको र अन्तिम रुप शीर्ष नेताको बैठकले दिने कार्यदलको संयोजन गरेका कानुनमन्त्री पदम गिरीले बताएका थिए ।

प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्थामा जाऔँ : सीके राउत

कास्की । जनमत पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सांसद डा.सीके राउतले राजनीतिक स्थायित्वका निम्ति प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गरिनुपर्ने बताएका छन्। मधेस–कास्की सम्पर्क समाज पोखराको प्रथम अधिवेशनको शनिबार उद्घाटन गर्दै उनले समाजवादउन्मुख भनेर संविधानमा व्यवस्था गरिए पनि राजनीतिक प्रणालीका कारण स्थायित्व कायम हुन नसकेको बताए। “वर्तमान संवैधानिक व्यवस्थाबाट मुलुकले राजनीतिक स्थिरता पाउने देखिँदैन। स्थायी सरकारका लागि प्रधानमन्त्री, सातै प्रदेशका मुख्यमन्त्री र न्यायालयसम्म प्रत्यक्ष निर्वाचित नेतृत्वको व्यवस्था हुनुपर्छ, तब स्थायित्व र परिवर्तनको अनुभूति गराउने गरी विकास गर्न सकिएला,” उनले भने। अध्यक्ष डा.राउतले राजनीतिक अस्थिरताकै कारण नेपालमा विदेशी लगानी भित्रन नसकेको र वैदेशिक लगानीबिना ठूला आयोजना विकास गर्न नेपालको स्रोतले भ्याउने अवस्था नभएको बताए। उनले समाजवादी प्रणालीबाट मात्र देशलाई निकास दिन नसकिने निष्कर्षसहित आफ्नो पार्टीले नौलो गणतन्त्रका रूपमा सामाजिक लोकतन्त्रको विषय उठाएको उल्लेख गरे । कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय सदस्य तेजकुमारी पौडेलले माओवादी आन्दोलनबाट स्थापित व्यवस्थाले जातीय तथा लैंगिक विभेद न्यूनीकरण भएको जिकिर गरिन् । उनले अब हरेक नेपालीलाई समान अधिकार दिने गरी पार्टी अगाडि बढेको बताइन् । नेपाली कांग्रेस कास्कीका नेता बाबुराम गिरीले देशमा देखिएको आर्थिक संकटलाई समाधान र नेपालको युवा जनशक्तिलाई नेपालमा नै परिचालन गर्नेतर्फ सरकारको ध्यान जानुपर्नेमा जोड दिए। रासस

सहमतिका लागि जुटे कार्यदल सदस्य

काठमाडौं । सहकारीको बचत अपचलनबारे छानबिन गर्न बनाउने भनिएको संसदीय समितिको कार्यादेश तयार गर्न गठित कार्यदलको बैठक सुरु भएको छ। सिंहदरबारस्थित कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बैठक बसेको हो। कार्यदलको बैठक यसअघि पनि पटक–पटक बसेको थियो । तर, सदस्यहरूले आफ्नो दलीय अडान कायमै राख्न सहमति हुन सकेको छैन। 

सगरमाथा आरोही प्रहरी निरीक्षक पौडेललाई सम्मान

काठमाडौं । सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका सशस्त्र प्रहरी निरीक्षक सुरज पौडेललाई सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हलचोकमा स्वागत तथा सम्मान गरिएको छ । शुक्रबार दिउँसो सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालय तथा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतम र बंशीराज दाहाललगायत बरिष्ठ अधिकृतहरुले निरीक्षक पौडेललाई  प्रहरी प्रधान कार्यालयमा स्वागत गरेका हुन् ।  सशस्त्र प्रहरी बल, नेपालको इतिहासमा पहिलोपटक संगठनको प्रतिनिधित्व गर्दै सशस्त्र प्रहरी निरीक्षक पौडेलले जेठ ७ गते सोमबार बिहान १०ः२० बजेको समयमा सगरमाथाको सफल आरोहण गरेका थिए । आरोहणपछि उनलाई  सोलुखुम्बुको लुक्ला विमानस्थलबाट हेलिकोप्टरमार्फत प्रधान कार्यालयमा फिर्ता हुने व्यवस्था मिलाइएको थियो । 

हेटौंडामा बसको ठक्करबाट एक जनाको मृत्यु

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका-११ थानाभर्‍याङस्थित पूर्व(पश्चिम सडकखण्डमा शुक्रबार राति बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुका प्रवक्ता लक्ष्मी भण्डारीका अनुसार सर्लाहीबाट काठमाडौंतर्फ जाँदै गरेको ना७ख १६७५ नंको बसले ठक्कर दिँदा अन्दाजी ४० वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको हो। उनका अनुसार मृतक पुरुषको हाल नामथर वतन खुलेको र मृतक पुरुषको शव हेटौंडा अस्पतालमा राखिएको छ। उक्त घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

सूचना अधिकारी तोक्न सामुदायिक विद्यालयलाई काठमाडौं महानगरको निर्देशन

काठमाडौं ।  काठमाडौँ महानगरपालिकाले यही जेठ १४ गतेभित्र काठमाडौँ उपत्यकामा सञ्चालित सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई सूचना अधिकारी तोक्न आग्रह निर्देशन दिएको छ । महानगरपालिकाको सञ्चार तथा सूचना ऐन, २०८० बमोजिम कामपाले यही जेठ १४ गतेभित्र सूचना अधिकारी तोकेर महानगरपालकालाई जानकारी गराउन निर्देशन पनि दिएको छ । महानगरपालिकाको शिक्षा विभागप्रमुख गोविन्दप्रसाद शर्माका अनुसार कामपाले यसअघि पनि शैक्षिक सङ्घसंस्थालाई सूचना अधिकारी तोकेर विभागका पठाउन आग्रह गरेको तर कामपाको आग्रहअनुसार केही विद्यालयले मात्र सूचना अधिकारी तोकेको जानकारी प्राप्त भएकाले पुनः निर्देशन दिइएको हो । सूचना अधिकारी तोक्दा संस्थाको दोस्रो जिम्मेवारीमा रहेको व्यक्ति हुनुपर्नेछ । हाल महानगरपालिकामा ८७ सामुदायिक विद्यालय सञ्चालनमा छन्भने छ सय संस्थागत विद्यालय छन् । यसअघि महानगरपालिका क्षेत्रमा सञ्चालित सहकारीहरूले सूचना अधिकारीको व्यवस्था गरी सहकारी विभागमा जानकारी गराएका छन् ।

स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीको सरुवा, को–कहाँ ?

काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले स्वास्थ्य माताहतका निकायमा कर्मचारीको सरुवा गरेका छन्। मन्त्रालयका उच्च कर्मचारीका अनुसार स्वास्थ्यमन्त्री यादवले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) प्रमुख डा. रुद्र मरासिनीलाई ट्रमा सेन्टरको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा सरुवा गरेका छन्। यसअघिका स्वास्थ्यमन्त्री उपेन्द्र यादवले नियुक्त गरेका डा.प्रमोद यादवलाई हटाउँदै मरासिनीलाई जिम्मेवारी दिइएको हो। तर, इपिडिमियोलोजी महाशाखामा भने हालका लागि कसैललाई पनि जिम्मेवारी दिइएको छैन । यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा डा. रोशन न्यौपानेलाई निर्देशकको जिम्मेवारी दिइएको छ। अस्पतालमा निर्देशक रहेका डा. युवानिधि बसौलालाई कान्ति अस्पतालमा फिर्ता पठाइएको उच्च अधिकारीले बताए ।

रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

बुटवल। रूपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। बुटवलको जितगढी र तिलोत्तमाको ड्राइभरटोलमा गएराति भएको मोटरसाइकल दुर्घटनामा दुईजना युवाको मृत्यु भएको हो। इलाका प्रहरी कार्यालय बुटवलका अनुसार तिलोत्तमा नगरपालिका–४ ड्राइभरटोलमा भएको मोटरसाइकल दुर्घटनामा २४ वर्षीय विवेक डुम्रेको मृत्यु भएको छ। तिलोत्तमा नगरपालिका ६ का डुम्रेले चलाएको लु ३१ प १६४२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर सडकमै पल्टिएको थियो। घटनामा गम्भीर घाइते भएका डुम्रेको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल उपचारका क्रममा शनिबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ। त्यस्तै, बुटवल उपमहानगरपालिका–२ जितगढीमा भएको मोटरसाइकल दुर्घटनामा रुपन्देहीको सैनामैना नगरपालिका ४ का ४२ वर्षीय गोविन्द अर्यालको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय बुटवलका अनुसार अर्यालले चलाएको प्रदेश नं. ३–२००२ प २०३६ नम्बरको मोटरसाइकल शुक्रबार राति १०ः३० बजे जितगढीमा दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका अर्याललाई उद्धार गरी उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यृ भएको थियो ।