बँदेलको आक्रमणबाट एक घाइते

बँदेलको आक्रमणबाट एक घाइतेहेटौँडा । पश्चिम मकवानपुरको मनहरी गाउँपालिका –८ गुरुटोलमा बँदेलको आक्रमणमा परी शुक्रबार दिउँसो एक जना घाइते भएका छन्। 

स्थानीय २४ बर्षीय सौगात गुरुङ बँदेलको आक्रमणमा परी घाइते भएका हुन। गुरुङ घरनजिक रहेको सिम्पानी देवकोट सामुदायिक वनमा बाख्रा चराउन गएको बेला जंगली जनावर बँदेलको आक्रमणमा परी घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

घाइते गुरुङको आफन्तले उपचारका लागि मनकामना अस्पताल चितवन लगेको र उहाँको बाया खुट्टामा चोट लागेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए। घट्नाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । 

मनहरी क्षेत्रमा यसअघि हात्ति, बाघलगायतका जंगली जनावरले घरमा क्षति गर्नुका साथैं मानवीय क्षति पनि गरिरहेका छन् ।

सहकारी प्रकरण  कार्यदल बैठक बस्दै, सहमतिको सम्भावना के छ ?

काठमाडौं । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) तय गर्न गठित कार्यदलको बैठक आज पनि बस्दैछ।बैठक दिउँसो ३ बजे कानून, न्याय र संसदीय मामिला मन्त्रालयमा बस्ने कार्यदल सदस्य तथा एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिएका छन् । समिति गठनको क्षेत्राधिकारका बारेमा कार्यदलमा पटक पटक छलफल भए पनि सत्ता पक्ष र प्रतिपक्षबीच उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने लगायतको नाम उल्लेख गर्ने वा नगर्ने विषयमा सहमति हुन सकेको छैन। यसअघि हिजो अपराह्न बालुवाटारमा भएको शीर्ष नेताहरु सम्मिलित बैठकले आजको कार्यदल बैठकमा सत्तापक्ष र प्रतिपक्षबाट आ–आफ्ना प्रस्ताव पेस गर्ने सहमति भएको छ ।शीर्ष नेताहरु सम्मिलित बैठकमा कार्यदलको तर्फबाट अहिलेसम्म भएका छलफल र प्रगतिका बारेमा एमाले मुख्य सचेतक महेश बर्तौलाले ब्रिफिङ गरेका थिए । प्रमुख प्रतिपक्ष दल सहकारी प्रकरणमा गृहमन्त्री लामिछाने संलग्न रहेकाले उनको नामै किटेर उनी संलग्न सहकारी तथा संस्थामा छानबिन हुनेपर्ने माग राख्दै आएको छ भने सत्ता पक्ष व्यक्ति केन्द्रित समिति बन्न नसक्ने अडानमा छ।यद्यपी कानुन मन्त्री पदम गरीले कांग्रेस लचिलो भएको र छिट्टै सहमतिमा पुगिने विश्वास व्यक्त गरेका छन् । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उक्त प्रकरणमा संसदीय छानबिन समिति गठन नभएसम्म संघीय संसदका दुवै सदन चल्न नदिने अडान राख्दै बैठक अवरुद्ध गर्दै आएको छ ।

ओली र एम्नेस्टी इन्टरनेसनलका महासचिवबीच भेटवार्ता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका एम्नेस्टी इन्टरनेसनलका महासचिव डा.अग्नेज कल्लामार्डले भेटवार्ता गरेका छन् । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज भएको भेटमा मानवअधिकार, सङ्क्रमणकालीन न्याय र प्रेस स्वतन्त्रतालगायत विषयमा छलफल भएको पार्टीका कार्यालय सचिव डा भीष्म अधिकारीले जानकारी दिए। अधिकारीका अनुसार अध्यक्ष ओलीले नेपालमा राजतन्त्रको अन्त्य र लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि मानवअधिकार र सुशासनको सुनिश्चित गरिएको बताएका थिए। साथै उनले सङ्क्रमणकालीन न्यायको विषय टुङ्गो लगाउँदा पीडितले न्याय पाउने कुरा, अन्तर्राष्ट्रिय मान्यता र अदालतको आदेशलाई ध्यान दिनुपर्ने र गम्भीर अपराधका घटनालाई माफी दिन नसकिने पार्टीको धारणा रहेकाबारे समेत स्पष्ट पार्नुभएको कार्यालय सचिव डा.अधिकारीले जानकारी दिए। भेटमा महासचिव डा.कल्लामार्डले नेपालमा सङ्क्रमणकालीन न्याय टुङ्गो लगाउने विषय, प्रेस स्वतन्त्रता र सामाजिक तथा लैङ्गिक विभेद्जस्ता विषयमा जिज्ञासा राखेका थिए ।  

खोटाङ सेवा समाज कतारको १२औं अधिवेशन ३१ मे मा हुँदै

कतार । खोटाङ सेवा समाज कतारको १२औं अधिवेशन ३१ मे २०२४ मा हुने भएको छ । कतारको नेपाली सामाजिक सस्थाहरु मध्ये जेठो सस्थाको रुपमा स्थापित खोटाङ सेवा समाज कतारको एघारौ कार्यकाल सफलतापुर्वक सम्पन्न गर्दै १२औं अधिवेशनको लागि सस्थाका पदाधिकारिहरु तिब्र तयारीमा जुटेका हुन्। प्रवासको पसिना स्वदेशको साकार सपना भन्ने मुल नारा सहित सन १९९८ जनवरी ३१ तारिक मा स्थापना भएको सस्थाले विभिन्न आरोहअवरोहहरु पार गर्दै १२औ अधिवेशनको सम्मुखमा आइपुगेको छ । गृह जिल्ला खोटाङ र कतारमा सामाजिक कार्यमा सकृय सस्थाले शिक्षा स्वास्थ्य र खेलकुदको क्षेत्रमा उल्लेख्य सहयोग गरिसकेको सस्थाका प्रमुख सल्लाहकार रुद्र शर्माले बताएकाछन । विभिन्न पेशा ब्याबसायमा आवद्ध खोटाङेहरुको भब्य उपस्थिति रहने अपेक्षा सहित सस्थाको १२औ अधिवेशन प्लाजा मलको वेल्फेयर रेष्टुरेन्टको सभाहलमा सम्पन्न हुने  महासचिव पर्शुराम श्रेष्ठ पवनले बताएकाछन साथै अन्य ब्याबस्थापकिय तयारी अन्तिम चरणमा पुगेको हुदा कतारमा रहेका सम्पुर्ण नेपालिहरुलाइ कार्यक्रममा उपस्थित भएर भब्य रुपले सफल बनाइदिन अध्यक्ष कैलाश श्रेष्ठले अनुरोध गरेका छन्। सस्थाको अधिवेशनलाइ मध्यनजर गर्दै साधारण सदस्यता खुल्ला गरिएको हुदा कतारमा रहेका सम्पुर्ण खोटाङेहरुलाइ यथाशीघ्र सदस्य बन्न तथा सदस्यता नविकरण गर्न सबैलाइ सस्थाको फेसबुक पेज मार्फत सुचित गरिएको हुँदा स्वतस्फूर्त ढङ्गले सस्थाका पदाधिकारीहरुलाई सम्पर्क गर्न उपाध्यक्ष डिल्लिशेर खड्काले अनुरोध गरेका छन्। सांस्कृतिक तथा साहित्यक रुपमा आफ्नो छुट्टै पहिचान बनाएको खोटाङ जिल्लालाइ कतारमा पनि प्रबर्द्धन गर्ने उदेश्य सहित कार्यक्रममा सांस्कृतिक प्रस्तुतीको साथमा साहित्यको उच्च  संयोजन रहने उपाध्यक्ष बलराम लोप्चनले बताएका छन्।

कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ। जिल्ला अदालत धनुषामा भएको बहसपछि आज सिरोहियालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न समय दिएको हो।  यसअघि प्रहरीले थप पाँचदिन हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने भएकाले समय माग गरेको थियो।

बालुवाटारको छलफल सकारात्मक

काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको प्रमुख दलका शीर्ष नेताहरूको बैठकमा छलफल सकारात्मक भएपनि भने भएन।  शुक्रबार टीओआरमा सहमति खोज्न बसेको बैठकमा सकारात्मक छलफल भएको नेताहरुले बताएका हुन्।यद्यपि बैठक सकारात्मक भएको नेपाली कांग्रेसका नेता रमेश लेखकले जानकारी दिए।   उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको सहकारी ठगी प्रकरणको छानबिन गर्नको लागि संसदीय समितिको टीओआर बनाउने विषयमा छलफल गरेर कांग्रेसका नेताहरू बाहिरिए भने सत्तापक्षका शीर्ष नेताहरू अहिले पनि छलफलमै छन्।  

जुवाको खालबाट २२ जना पक्राउ

काठमाडौंं । नेपाल प्रहरीको टोलीले काठमाडौँको मित्रनगर र गोकर्णेश्वरमा जुवा खेलिरहेको अवस्थामा २२ जनालाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ।  काठमाडौँ महानगरपालिका-२६ मित्रनगरस्थित धादिङ गंगा जमुना गाउँपालिका–६, घर भएकी ३२ वर्षीया सरस्वती गुरुङको गुरुङसेनी गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा होटल सञ्चालिका गुरुङ समेत सातजनालाई प्रक्राउ गरिएको प्रहरीले जनाएको छ। साथै गोकर्णेश्वर नगरपालिका(४, माकलबारी बस्ने देवराज गिरीको घरमा जुवातास खेलिरहेको अवस्थामा मोरङ केराबारी घर भई काठमाडौँ कपन बस्ने ३८ वर्षीया विष्णु लिम्बू समेत १५ जनालाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरिएको केन्द्रीय प्रहरी प्रवक्ता दानबहादुर कार्कीले जानकारी दिए । उनले भने, “मित्रनगरमा प्रहरी प्रभाग गोंगबु तथा गोकर्णेश्वरमा प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले निजहरूलाई पक्राउ गरेको हो।” पक्राउ परेकाहरुको साथबाट प्रहरीले दुई लाख ७० हजार ५५० रुपैयाँ तथा केही थान तास समेत बरामद गरिएको प्रहरीको भनाइ छ । सो सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रवक्ता कार्कीले बताए। रासस  

कीर्तिमानी आरोही कामीरिता काठमाडौं फर्किए

काठमाडौं । ३०औँपटक सगरमाथाको सफल आरोहण गरी रेकर्ड बनाएका कीर्तिमानी आरोही कामीरिता शेर्पालाई काठमाडौंमा स्वागत गरिएको छ ।  शुक्रबार काठमाडौं फर्किएका कामीरिता शेर्पालाई त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिलनमा भव्य स्वागत गरिएको हो। उनलाई बौद्ध संस्कृतिअनुसार स्वागत गरिएको थियो। सो क्रममा शेर्पाले आगामी वर्ष पनि सगरमाथा आरोहणलाई निरन्तरता दिने बताए।  शेर्पाले सबैभन्दा धेरैपटक सगरमाथा चढेको आफ्नै रेकर्डलाई तोडेर ३०औँपटक सगरमाथाको सफल आरोहण गरी ऐतिहासिक रेकर्ड बनाएका हुन्।   

तीन सहसचिव सचिवमा बढुवा

काठमाडौँ । न्याय सेवा आयोगले न्याय सेवाका तीन जना सहसचिवहरूलाई सचिवमा बढुवा गरेको छ।आयोगको आइतबार बसेको बैठकले एक सरकारी वकिल र दुईजना न्याय प्रशासनका कर्मचारीहरूलाई सचिवमा बढुवा गरेको हो। कामु नायव महान्यायाधिवक्ता खेमराज ज्ञवाली महान्यायाधिवक्ता कार्यालयको सचिव सरहको पद नायव महान्यायाधिवक्ता बढुवा भएका हुन् । उनी सरकारी वकिल समूहका हुन् । आयोगले सर्वोच्च अदालतका सह–रजिष्ट्रार यमबहादुर बुढामगरलाई न्याय परिषद्को सचिवमा बढुवा गरेको छ। अनि न्यायपरिषदका कामु सचिव भद्रकाली पोखरेललाई सर्वोच्च अदालतको रजिष्ट्रारमा बढुवा गरेको हो।

सन्दीपको भिसा खुलाउन परराष्ट्रले थाल्यो पहल

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने अमेरिकाले भिसा नदिएपछि परराष्ट्र मन्त्रालयले कूटनीतिक पहल थालेको छ । परराष्ट्रको अमेरिका हेर्ने डिभिजनमार्फत अमेरिकी दूतावासमा पहल सुरु भएको स्रोतले बताएको छ । टी–२० विश्वकप खेल्न अमेरिका जाने तयारीमा रहेका सन्दीपलाई अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको थियो ।

सहकारी पीडितको प्रदर्शनमा

काठमाडौं । सरकारले पटक-पटक सम्झौता गरेर पनि माग सम्बोधन नगरेको भन्दै सहकारी पीडितले पुनः आन्दोलन सुरु गरेका छन्।देशभरिका संकटग्रस्त सहकारी पीडित बचकर्तालाई संगठित गर्दै अगाडि बढेको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघको नेतृत्वमा शुक्रबार काठमाडौंकोमा प्रदर्शन भएको छ। शुक्रबार विभिन्न प्लेकार्ड बोकेर र्‍याली सहित माइतीघरमा सभा गरेका सहकारी पीडितले रिले अनशन समेत सुरु गरेका हुन्। विभिन्न सहकारीबाट पीडित भएको सहकरीका बचकर्ताले सहकराीको अधयक्ष र सञ्चालकलाई कारबाही र बचत फिर्ताको माग सहित आन्दोलनमा सहभागी भएका छन्। यसअघि भएका सम्झौता कार्यान्वयन नभएसम्म रिले अनशन सहितका आन्दोलनलाई जारी राख्ने सहकारी पीडित बचकर्ताले बताएका छन्।

जनअपेक्षा विपरीतका गतिविधि र सङ्गठनको हित प्रतिकूलका कार्य क्षम्य हुँदैन  : गृहमन्त्री लामिछाने

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले जनअपेक्षा विपरीतका गतिविधि र प्रहरी सङ्गठनको हित प्रतिकूलका कार्य कहिल्यै क्षम्य नहुने बताएका छन्।  नेपाल प्रहरीको प्रहरी निरीक्षक आधारभूत तालिम १ १८२ औँ समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले विधिको शासन र कानुनको सर्वोच्चतालाई शीरमा राखेर सरकारको नीति, तथा कार्यक्रम र योजनालाई अक्षरशः पालना गर्न निर्देशन दिए।  उप्रधानमन्त्री लामिछानेले शान्ति सुरक्षा प्रवर्द्धन, अपराध नियन्त्रण र सार्वजनिक सेवा प्रवाहमा सङ्गठनको प्रतिबद्धता ख्याल गरेर नागरिकमैत्री सेवा दिन ध्यानाकर्षण गराए। सङ्गठनको लामो इतिहासको जगेर्ना गर्ने नवप्रवेशी अधिकृतको काँधमा रहेको उल्लेख गर्दै उनले आर्थिक तथा पदीय उन्नतिका लागि परिवारले दिने दबाब र प्रभावमा नपर्न निर्देशन दिए।  “प्रहरी कर्मचारीको वृत्ति विकासलाई न्याय सङ्गत र सेवा सुविधालाई समयानुकूल बनाउन तथा सरुवा बढुवालाई स्वचालित प्रणालीमा लैजान गर्नुपर्ने नीतिगत सुधार र परिमार्जनमा सरकारले उच्च प्राथमिकता दिएको छ”, उनले भने । सीमित स्रोत साधनमा असीमित काम गर्नुपर्ने परिस्थितिलाई मनन् गरेर काम गर्न आग्रह गर्दै उपप्रधानमन्त्री लामिछानेले नीतिगत, कानूनी, व्यावसायिक र व्यवहारिक रूपमा प्राथमिकता निर्धारण गरी आवश्यक सुधार गर्न सरकार प्रतिबद्ध रहेको बताए।  प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले तथ्यपरक तथा प्रमाणमुखी अनुसन्धानका लागि प्रविधिको प्रयोग विधिसम्मत, वैज्ञानिक र कार्यविधिगत प्रक्रियाको पालना गरी सङ्कलित तथ्यको विश्लेषण गर्दै मानवअधिकारको अन्तर्राष्ट्रिय मापदण्डलाई शिरोधार्य गरी कार्यक्षेत्रमा खटिन निर्देशन दिए। उनले लैङ्गिक संवेदनशीलताको मर्मलाई मनन् गर्दै विशेष जोखिमपूर्ण, सीमान्तकृत र पीडित वर्गको रक्षकका रूपमा प्रहरी सङ्गठन खरो रूपमा उत्रिनुपर्ने बताए।  समारोहमा प्रशिक्षणमा विभिन्न विधामा सर्वोत्कृष्ट हुने प्रहरी निरीक्षक पवनकुमार परियार, सगुन खड्का, आयुष ढुङ्गाना र गोकुलकुमार धानुकलाई पुरस्कार प्रदान गरिएको थियो। सो अवसरमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदीप गिरीले दीक्षित भई कार्यक्षेत्रमा जाने प्रहरी अधिकृतलाई शपथ ग्रहण गराएका थिए।  समारोहमा प्रशिक्षार्थीले प्रधानमन्त्री, उपप्रधानमन्त्री एवं गृहमन्त्री तथा प्रहरी महानिरीक्षकलगायतलाई राष्ट्रिय सलामी अर्पण गरेका थिए। 

छानबिन समिति गठन नभएसम्म संसद् चल्न नदिने विपक्षी दलको निर्णय

काठमाडौं । विपक्षी दलहरूको बैठकले संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठक चल्न नदिने निर्णय गरेको छ। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको आह्वानमा शुक्रबार बिहान संसद् भवनमा बसेको बैठकले उक्त निर्णय गरेको हो।यससँगै आज बोलाइएको संसद् बैठक पनि विपक्षी दलले अवरुद्ध गर्ने भएका हुन् ।

भरतपुर मेयर कप : लिग चरण सकियो, चार टोली सिधै क्वाटरफाइनलमा प्रवेश

भरतपुर । भरतपुर महानगरपालिकाको आयोजना र सेन्ट्रल कलेजको मुख्य प्रायोजनमा जारी भरतपुर मेयर कप अन्तर विद्यालय फुटबलको लिग चरणका खेलहरु सम्पन्न भएका छन् । लिग चरणका खेलबाट ६ समूहका शिर्ष २-२ गरी १२ टोली नकआउट प्रवेश गरेका छन् । ६ समूहका विजेता मध्य उत्कृष्ट ४ टोली सिधै क्वाटरफाइनलमा प्रवेश गरेका छन् । बाँकी दुई समूह विजेता र ६ समूह उपविजेता टोली भने प्रि क्वाटरफाईनलमा प्रवेश गरेका छन् । सिधै क्वाटरफाइनलमा स्थान बनाउने उत्कृष्ट ४ टोलीहरुमा समूह बी बाट आदिकवि भानु मावि, सी बाट विश्व प्रकाश मावि, समूह डी बाट नारायनी नमूना मावि र ई बाट अमर मावि रहेका छन् । यी टोलीले लिग चरणका सबै तिनै खेल जितेका छन् । समूह ए को विजेता स्टेप बाई स्टेप र एफ बाट किरण अमरजंग भने प्रि-क्वाटरफाइनलमा प्रवेश गरेका छन् । यी दुबै टोलीले समूह चरणका तीन खेलमा दुई जित र एक बराबरी ७-७ अंक जोडेका छन् ।   यस्तै समूह ए बाट ओमशान्ति एकेडेमी, बी बाट ग्रीनल्याण्ड पब्लिक स्कुल, सी बाट लक्ष्मी मावि, डी बाट जनज्योति मावि, ई बाट दुर्गाशेषकान्त मावि र एफबाट ग्रामोदय इङ्लिस बोर्डिङ स्कुलले पनि उपविजेताको रुपमा प्रि-क्वाटरफाइनलमा स्थान बनाएका छन् । प्रि-क्वाटरफाइनलका खेलहरु शनिबारबाट सुरु हुनेछ । प्रि-क्वाटरफाइनलबाट ४ टोली क्वाटरफाइनलमा प्रवेश गर्नेछन् । प्रि-क्वाटरफाइनलको खेल तालिका आजै सार्वजनिक गरिने सह आयोजक चितवन जिल्ला फुटबल संघले जनाएको छ ।

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १८०० रुपैयाँले घटेर छापावाल सुनको मूल्य तोलामा १ लाख ३६ हजार ९०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३६ हजार २५० रुपैयाँमा कारोबार भैइरहेको छ ।  यसअघि बिहिबार सुन तोलामा १ लाख ३८ हजार ७०० सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३८ हजार ५०  रुपैयाँ थियो । त्यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार चाँदीको तोलामा १५ रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य तोलामा १८ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । पाँच दिनमा तोलामा करिब पाँच हजारले घट्यो सुनको मूल्य पछिल्लो पाँच दिनमा छापावाल सुनको मूल्य तोलामा चार हजार ९०० रुपैयाँले घटेको छ। शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ३६ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बिहीबारको तुलनामा यस दिन छापावाल सुनको मूल्य तोलामा एक हजार ८०० रुपैयाँले घटेको हो । बिहीबार छापावाल सुन प्रतितोला एक लाख ३८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार, जेठ ८ गते छापावाल सुनको मूल्य तोलामा एक हजार २०० रुपैयाँले घटेर एक लाख ४० हजार ६०० मा कारोबार भएको थियो । जेठ ९ गते तोलामा १०० रुपैयाँले घटेर एक लाख ४० हजार ५०० मा कारोबार भएको थियो । शुक्रबार तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।यस्तै, चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर एक हजार ८५५ मा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ८६५ रुपैयाँमा कारोबार भएको थियो ।

राष्ट्रिय अनुसन्धान विभागले माग्यो २५२ जना कर्मचारी

काठमाडौँ । राष्ट्रिय अनुसन्धान विभागले विभिन्न पदका लागि २५२ जना कर्मचारी मागेको छ ।विभागले आज एक सूचना जारी गर्दै विशेष सेवाको सहायक सूचक, सुरक्षा गार्ड र परिचर पदका लागि दरखास्त आह्वान गरेको हो। विभागले सहायक सूचक पदमा २३४ जना, १६ जना सुरक्षागार्ड र २ जना परिचर मागेको हो । योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आजदेखि एक महिनाभित्र दरखास्त दिन सकिने छ ।सहायक सूचक पदका लागि अनलाइनमार्फत फाराम भर्न सकिने छ। त्यसैगरी सुरक्षागार्ड र परिचरका लागि तोकिएकै स्थानमा पुगेर आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ।