कैलालीका चार स्थानमा अस्थायी मतदान केन्द्र निर्धारण

सुदूरपश्चिम । प्रतिनिधिसभा सदस्यको आसन्न निर्वाचनको तयारीका क्रममा कैलाली जिल्लाका चार ठाउँलाई अस्थायी मतदान केन्द्र तोकिएको छ ।

प्रदेश निर्वाचन कार्यालयले कैलालीको निर्वाचन क्षेत्र–१ मा पर्ने टीकापुर नगरपालिका भवन, क्षेत्र–४ मा पर्ने गोदावरी नगरपालिकाको बनदेवी मन्दिर परिसर, क्षेत्र–५ मा पर्ने धनगढी उपमहानगरपालिका भवन र धनगढीकै जिल्ला कारागार शाखालाई अस्थायी मतदान केन्द्र तोकिएको जनाएको छ ।

कार्यालय प्रमुख प्रेमराज भट्टले भने, “स्थायी मतदाता नामावलीमा नाम समावेश भएकाले मात्र अस्थायी मतदान केन्द्रमा पुगेर समानुपातिक निर्वाचन प्रणालीमा मात्र मतदान गर्न पाउँछन् ।”

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, कर्मचारी र कारागारका कैदीबन्दीलाई मतदान गर्न पाउने व्यवस्थाका लागि अस्थायी मतदान केन्द्र स्थापना गरिएको हो । कर्मचारी, सेना, प्रहरी, कैदीबन्दीले समानुपातिक निर्वाचन प्रणालीमा मात्र मतदान गर्न पाउने व्यवस्था छ । जिल्लाका अस्थायी मतदान केन्द्रमा पुगेर मतदान गर्न पाउनेमा ४० कैदीबन्दी सहित चार हजार १९६ मतदाता छन् ।

पाँच निर्वाचन क्षेत्र रहेको कैलाली जिल्लामा प्रत्यक्ष र समानुपातिक गरी दुवै निर्वाचन प्रणालीमा भाग लिन पाउने स्थायी मतदाताको कूल सङ्ख्या भने कूल पाँच लाख ५१ हजार ५२ छ । दुवै निर्वाचन प्रणालीमा भाग लिन पाउने मतदाताका लागि जिल्लाभरी २३७ मतदान स्थल तोकिएको छ ।

निर्वाचन कार्यालयले हाल धमाधम मतदान अधिकृत र सहायक मतदान अधिकृतको लागि प्रशिक्षण सञ्चालन गरिरहेको छ । निर्वाचनको मिति नजिकिँदै जाँदा केन्द्रबाट मतपत्र सहितको निर्वाचन सामग्री जिल्लामा पुगिसकेको छ ।

निर्वाचनका लागि ५१ प्रकारका निर्वाचन सामग्री आवश्यक पर्नेमा ३७ प्रकारका सामग्री प्रदेश निर्वाचन कार्यालयबाट र बाँकी १४ प्रकारका निर्वाचन सामग्री केन्द्रबाट आपूर्ति गर्ने व्यवस्था गरिएको छ ।

वडामा परिचालित मतदाता शिक्षा स्वयंसेवीले मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिरहेका छन् । प्रतिनिधिसभातर्फ १६ निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिम प्रदेशमा राजनीतिक दलका र स्वतन्त्र गरी २०६ जना चुनावी प्रतिस्पर्धामा छन्।

धौलागिरि आइसफल जोड्ने पदमार्ग निर्माण

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवादेखि धौलागिरि आइसफल जोड्ने पदमार्ग निर्माण थालिएको छ । अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षमा विनियोजन गरेको रु १० लाख बजेटबाट उपभोक्ता समितिमार्फत पदमार्ग निर्माण थालिएको हो । उपभोक्ता समितिका अध्यक्ष विकास पुनले फागुन पहिलो सातासम्म गरेकदेखि गुन्थली भिर, देउराली डाडा, ठूलोखानी, भित्रे वन, ठुलो घैरा भर्‍याङ हुँदै भिरखर्कसम्म पदमार्ग निर्माण भइसकेको जानकारी दिए । प्राविधिक नक्साअनुसार तीन किलोमिटर पदमार्ग निर्माण सकिएको र थप एक किलोमिटर निर्माणाधिन रहेको उनले बताए । दोवाका करिब २० जना स्थानीयवासी पदमार्ग निर्माणका लागि जङ्गलमै बास बसेर काम गरिरहेका छन् । वस्तिदेखि टाढा रहेको ठाउँमा घरबाट जान, आउन टाढा हुने भएकाले निर्माण स्थलमै त्रिपालको गोठ बनाएर बास बसेका हुन् । चालु आर्थिक वर्षको बजेटबाट खोलाखर्कसम्म पदमार्गले जोडिने उपभोक्ता समितिले जनाएको छ । परापूर्व कालमा दोवा बासीले घुम्ती पशु गोठ लेक बेशी गर्दा प्रयोग गरेको गोरेटो बाटो पहिचान गरेर पदमार्गको रूपमा विकास गर्न लागिएको अन्नपूर्ण गाउँपालिका–१ दोवाका वडा अध्यक्ष दिलिप गर्बुजाले बताए । बेनी–जोमसोम सडक निर्माणपछि १५ वर्षअघि म्याग्दी र मुस्ताङ जोड्ने धौलागिरि आइसफल पदमार्गको पहिचान भएको थियो । रघुगङ्गा गाउँपालिकाको राखुदेखि सुरु हुने यो पदमार्ग मुस्ताङको लेते जोडिन्छ । मुख्य पदमार्गमा नजिकका बस्तीहरूबाट जोड्ने सहायक पदमार्गको विकास गर्ने काम भइरहेको छ । मगर समुदायको बाहूल्य बसोबास रहेको दोवाको पर्यटन विकासका लागि आइसफललाई पदमार्गले जोड्न लागिएको वडा अध्यक्ष गर्बुजाले बताए ।

दाङमा सवारी दुर्घटनामा एकजनाको मृत्यु

दाङ । दाङको घोराहीमा पिकअपको ठक्करबाट ६० वर्षी धनबहादुर वलीको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका-५ धारापानी जंगलस्थित सडकमा धर्नाबाट घोराहीतर्फ आउँदै गरेको रा१च १३६० नम्बरको पिकअपको ठक्करबाट तुलसीपुर उपमहानगरपालिका-१७ डुरूवाका वलीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । पिकअपको ठक्करबाट गम्भीर घाइते भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले पिकअप चालकलाई नियन्त्रणमा लिएको छ भने यसबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

४१ राजनीतिक दलले निर्वाचन आयोगमा बुझाए पार्टीको घोषणापत्र

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिएकामध्ये ४१ दलले पार्टीको घोषणापत्र निर्वाचन आयोगमा बुझाएका छन् । आयोगले शुक्रबार (फागुन ८) काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ४१ वटा दलले पार्टीको घोषणापत्र बुझाएको जानकारी दिएको हो ।  आयोगले फागुन ४ गते अगाडि नै घोषणापत्र बुझाउन भने पनि दलहरूले अहिलेसम्म पनि घोषणापत्र बुझाइरहेको आयोगकी सहायक प्रवक्ता सीता पुनले जानकारी दिइन् । उमेदवारहरूको हकमा भने जिल्ला तहको निर्वाचन कार्यालयमा बुझाउन सक्ने व्यवस्था रहेकाले पूर्ण विवरण आउन बाँकी रहेको उनले बताइन् । सहायक प्रवक्ता पुनले प्रत्यक्षतर्फको १६५ निर्वाचन क्षेत्रको सबै मतपत्र छपाइ सम्पन्न गरी प्याकिङको काम सकिएको र समानुपातिकतर्फ सुदूरपश्चिम, कर्णाली, कोसी प्रदेशमा ढुवानी गरिसकेको जानकारी दिइन् । उनले निर्वाचनका लागि छापिएका नमुना मतपत्रहरू लिएर आयोगका स्वयंसेवकहरूले मतदातालाई मतदान शिक्षा प्रदान गरिरहेको उल्लेख गरिन् । त्यस्तै, निर्वाचन प्रचारप्रसारका लागि उमेदवारले बैंक खाता खोल्नुपर्ने प्रावधान रहेकोमा हालसम्म सात वटा राजनीतिक दल र आठ हजार ८६७ उमेदवारले निर्वाचन बैंक खाता खोलेको रिपोर्ट प्राप्त भएको बताइन् । 

सिरहामा स्रोत नखुलेको १४ लाखसहित युवक पक्राउ

सिरहा । सिरहाको औरहीबाट प्रहरीले स्रोत नखुलेको १४ लाख रकमसहित एक युवकलाई पक्राउ गरेको छ । औरही गाउँपालिका-५ स्थित औरही चोकमा गरिएको विशेष जाँचका क्रममा उक्त रकम बरामद भएको हो । पक्राउ पर्नेमा सिरहाकै बरियारपट्टी गाउँपालिका-३ शिवनगरका २१ वर्षीय सञ्जितकुमार यादव रहेका छन् । जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार यादवलाई शुक्रबार नियन्त्रणमा लिइएको हो । बरियारपट्टीबाट औरहीतर्फ मोटरसाइकलमा आउँदै गरेका यादवलाई शंका लागेर प्रहरी टोलीले खानतलासी गरेको थियो । सो क्रममा उनको साथबाट एक हजार दरका एक हजार ४०० थान नोट (कूल १४ लाख) फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले सो रकमको स्रोत खुलाउन माग गर्दा यादवले कुनै पनि वैध प्रमाण पेस गर्न नसकेका प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका यादवलाई थप कानुनी कारबाहीका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ । 

बैतडीमा निर्वाचनमा खटिएका प्रहरीको मृत्यु

बैतडी । प्रतिनिधिसभा निर्वाचनमा खटिएका एक नेपाल प्रहरीतर्फको निर्वाचन प्रहरीको मृत्यु भएको छ । बैतडीको दशरथचन्द नगरपालिका–४, बबेत घर भएका ३८ वर्षीय महादेव वडको मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता सुरज सिंहले जानकारी दिए । प्रहरी प्रवक्ता सिंहका अनुसार, शुक्रबार दिउँसो खाना खान घर गएको समयमा घरमा अचेत अवस्थामा भेटिएका महादेवलाई उपचारका लागि  जिल्ला अस्पताल बैतडीमा पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन् ।  उनको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको र भोलिमात्रै परीक्षणको काम हुने अस्पताल प्रशासनले जानकारी दिएको छ । यसअघि माघ तेस्रो साता पनि दशरथचन्द नगरपालिका–४ का निर्वाचन प्रहरी ३२ वर्षीय प्रकाश चन्दको पनि भिरबाट लडेर ज्यान गएको थियो । 

आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबार (फागुन ९) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ २८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८८ पैसा तोकिएको छ ।                                                 यस्तै, युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ९२ पैसा र बिक्रीदर १७१ रुपैयाँ ६३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९५ रुपैयाँ ७४ पैसा र बिक्रीदर १९६ रुपैयाँ ५४ पैसा, स्वीस फ्रयांक एकको खरिददर १८७ रुपैयाँ १९ पैसा र बिक्रीदर १८७ रुपैयाँ ९७  पैसा कायम गरिएको छ ।                                अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ४५ पैसा र बिक्रीदर १०२ रुपैयाँ ८७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ १६ पैसा र बिक्रीदर १०६ रुपैयाँ ५९  पैसा, सिंगापुर डलर एकको खरिददर ११४ रुपैयाँ ५० पैसा र बिक्रीदर ११४ रुपैयाँ ९७ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ३६ पैसा र बिक्रीदर नौ रुपैयाँ ४० पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ०३ पैसा र बिक्रीदर २१ रुपैयाँ १२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३८ रुपैयाँ ८९ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ८८ पैसा र बिक्रीदर ४० रुपैयाँ ०५ पैसा कायम भएको छ । केन्द्रीय बंंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ६६ पैसा र बिक्रीदर चार रुपैयाँ ६८ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३९ रुपैयाँ ७२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ २२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३८ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०३ पैसा र बिक्रीदर १० रुपैयाँ ०७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ०२ पैसा र बिक्रीदर १६ रुपैयाँ ०९ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ८८ पैसा र बिक्रीदर २२ रुपैयाँ ९७ पैसा तोकिएको छ । राष्ट्र बंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ५९ पैसा र बिक्रीदर १८ रुपैयाँ ६७ पैसा, कुवेती दिनार एकको खरिददर ४७५ रुपैयाँ ६३ पैसा र बिक्रीदर ४७७ रुपैयाँ ५९ पैसा, बहराइन दिनार एकको खरिददर ३८५ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३८६ रुपैयाँ ९० पैसा, ओमनी रियाल एकको खरिददर ३७७ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३७८ रुपैयाँ ९३ पैसा रहेको छ । यस्तै, भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

आज काठमाडौंका यी ठाउँमा बिजुली कटौती हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले शनिबार (फागुन ९) काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती गर्ने भएको छ ।  प्राधिकरणले सूचना प्रकाशित गरी बानेश्वर वितरण केन्द्रको कार्यक्षेत्रभित्र पर्ने सिनामंगल चोक तथा तिलगंगा क्षेत्रमा बिजुली कटौती हुने जनाएको छ । तिलगंगा आँखा अस्पतालअगाडि रहेको पोल ढल्केकोले त्यसलाई व्यवस्थितकार्य गर्नका लागि ११ केभी क्षमताको प्रसारण लाइन सटडाउन गर्न लागेको प्राधिकरणले जनाएको छ । प्राधिकरणले तिलगंगा, प्रकाश संन्यास आश्रम, शम्भुमार्ग, गौशाखा र विमानस्थल आसपासका क्षेत्रमा बिहान ११ बजेदेखि १२ः३० सम्म बिजुली कटौती गर्ने भएको छ ।  यस्तै, तिनकुने, गैरीगाँउ, सिनामंगल र विमानस्थल क्षेत्र अन्तरगतका सबै क्षेत्रमा १ बजेदेखि १४ः३० बजेसम्म बिजुली कटौती हुनेछ । बिजुली कटौतीबाट ग्राहकवर्गमा पर्न गएको असुविधाप्रति प्राधिकरणले माफी मागेको छ । यसैगरी महाराजगन्ज वितरण केन्द्र अन्तर्गतका विभिन्न स्थानमा पनि बिजुली कटौती हुने भएको छ । काठमाडौं उपत्यकाका मध्य तथा उत्तर वितरण प्रणाली सुदृढीकरण आयोजनाले वितरण प्रणाली भूमिगतकार्य भइरहेको र सो कार्य सम्पन्न गर्नका लागि आज बिहान १० बजेदेखि २ बजेसम्म बिजुली कटौती हुनेछ । प्राधिकरणका अनुसार, बालुवाटार, शिवपुरी स्कुल, पाण्डोल मार्ग, प्रधानमन्त्री निवास आसपासका क्षेत्रमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म बिजुली कटौती हुनेछ । यस्तै, हेपाली हाइट, च्यासिङडोल, देउराली जनता, भगवती मन्दिर, धापासलिगायतका क्षेत्रमा पनि बिजुली कटौती हुनेछ । त्यस्तै, वंशीधर मार्ग, चण्डोल, विशालनगर, सेन्ट्रल अर्पाटमेन्ट र टुँडालदेवी मन्दिरलगायतका क्षेत्रमा पनि १२ बजेदेखि २ बजेसम्म बिजुली कटौती हुने प्राधिकरणले जनाएको छ । 

चितवन-३ का संयुक्तका उम्मेदवार जितबहादुर बिकनै नेकपामा प्रवेश, रेनु दाहालको विजय अभियानलाई बलियो समर्थन

चितवन । चितवन निर्वाचन क्षेत्र नम्बर ३ मा नेकपा उम्मेदवार रेनु दाहालको विजय अभियानले नयाँ गति पाएको छ। नेकपा संयुक्तका उम्मेदवार जितबहादुर बिकले शुक्रबार आयोजित विशेष कार्यक्रममा आफ्नो उम्मेदवारी फिर्ता गर्दै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्। कार्यक्रमको नेतृत्व गर्दै पार्टीका नेता तथा चितवन–३ का चुनावी कमान्डर ईश्वरी भट्टराईले बिकलाई टीका लगाएर स्वागत गरे। प्रवेशको क्रममा बिकले भने, “कम्युनिस्ट आन्दोलनको एकीकरण र विकासमुखी एजेन्डालाई बलियो बनाउन, साथै पार्टीको साझा नेतृत्वलाई थप सुदृढ पार्न मैले उम्मेदवारी फिर्ता गर्दै नेकपा परिवारमा प्रवेश गरेको हुँ। अब म रेनु दाहालको विजय अभियानमा पूर्ण रूपमा सक्रिय भई सहयोग गर्नेछु।” यस अवसरमा उम्मेदवार दाहालले पनि जितबहादुर बिकलाई पार्टीमा स्वागत गर्दै धन्यवाद दिइन्। उनले भनिन्, “जितबहादुर बिकको यो निर्णयले हाम्रो अभियानलाई अझ बलियो बनाउनेछ। हामी सबै मिलेर चितवन–३ बाट नेकपाको झण्डा उच्च राख्नेछौं।” बिकले आफूसँगै नेकपा संयुक्तका अन्य कार्यकर्तालाई पनि पार्टीमा समाहित गराउने योजना रहेको जानकारी दिएका छन्। यसले निर्वाचन क्षेत्रमा नेकपाको संगठनात्मक मजबुती र अभियानलाई अझ प्रभावकारी बनाउने अनुमान गरिएको छ। कार्यक्रममा निर्वाचन क्षेत्र नम्बर ३ का इन्चार्ज ईश्वरी भट्टराई, चितवन जिल्ला इन्चार्ज घनश्याम दाहाल, जिल्ला संयोजक रामचन्द्र अधिकारी, साथै अन्य पार्टीका वरिष्ठ नेताहरू पनि उपस्थित थिए। नेताहरूले पनि बिकको पार्टी प्रवेश र उम्मेदवारी फिर्ताको निर्णयलाई स्वागत गर्दै दाहालको विजय अभियानलाई पूर्ण समर्थन जनाए। राजनीतिक विश्लेषकहरूका अनुसार, चितवन–३ जस्तो प्रतिस्पर्धात्मक निर्वाचन क्षेत्रमा यस्ता सहकार्य र संगठनात्मक एकताले उम्मेदवारको जितको सम्भावनालाई उल्लेखनीय रूपमा बढाउँछ। नेकपाको योजनाबद्ध अभियान र स्थानीय तहका सक्रिय नेतृत्वबीचको समन्वयले पनि दाहालको विजय यात्रा अझ बलियो बनाउनेछ।

संखुवासभामा किन सरिता थापा खड्कालाई भाेट ?

संखुवासभा । संखुवासभाको चुनावी मैदानमा यस पटक एउटा नाम अत्यधिक उत्साहका साथ चर्चामा छ— नेकपाकी प्रतिनिधि सभा सदस्य उम्मेदवार सरिता थापा खड्का। गणित शिक्षिका बाट सामाजिक अभियन्ता हुँदै राजनीतिक नेतृत्वसम्मको उनको यात्रा अहिले संखुवासभाका लागि मात्र हाेइन देशकै लागि  प्रेरणाको स्रोत बनेको छ। "तारामा मतदान, समृद्धिको अभियान" भन्ने मूल नाराका साथ उम्मेदवार भएकी सरितालाई यतिबेला संखुवासभाका जनता 'आशा र भरोसा' को प्रतीकका रूपमा हेरिरहेका छन्। शिक्षकदेखि नेतासम्मको प्रेरक यात्रा कक्षाकोठामा विद्यार्थीहरूलाई गणितका सूत्रहरू सिकाउँदै उनीहरूको भविष्य निर्माणमा लामो समय योगदान पुर्‍याएकी सरिता अहिले संखुवासभाको विकासका चुनौतीहरू समाधान गर्न तयार छिन्। शिक्षण पेशाले दिएको अनुशासन, बौद्धिकता र धैर्यतालाई उनले सामाजिक सेवा र राजनीतिसँग जोडेर स्थानीय जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउने योजना बनाएकी छिन्। उनको सरल जीवनशैली, जनताको समस्यालाई नजिकबाट बुझ्ने क्षमता र समर्पित दृष्टिकोणले उनलाई अन्य उम्मेदवारभन्दा फरक र अब्बल बनाएको छ। किन रोज्ने सरिता थापा खड्कालाई ? बौद्धिक र इमानदार नेतृत्व: गणित जस्तो तार्किक विषयको पृष्ठभूमि भएकी सरितासँग विकास योजनाहरूलाई तथ्याङ्क र परिणाममा रूपान्तरण गर्ने क्षमता छ ।  समृद्धिको स्पष्ट खाका: संखुवासभाका अधुरा पूर्वाधार, जलविद्युतका सम्भावना र कृषि क्रान्तिका लागि उनले ठोस योजना अघि सारेकी छिन्। समावेशी र सम्मानित समाज: महिला, युवा र पिछडिएका वर्गको आवाजलाई संसद्मा बुलन्द पार्ने र जिल्लाको पहिचानलाई राष्ट्रिय स्तरमा स्थापित गर्ने उनको संकल्प छ। जनतासँगको निरन्तर सामीप्यता: सामाजिक कार्यकर्ताका रूपमा गाउँ–बस्तीका समस्यामा प्रत्यक्ष जोडिने उनको स्वभावले मतदातामा विश्वास जगाएको छ। संखुवासभाको उज्ज्वल भविष्य पुराना अनुहार र उस्तै आश्वासनबाट थाकेका संखुवासभालीले यसपटक नयाँ सोच र ऊर्जा सहितकी सरितालाई साथ दिने निर्णय गरेका छन्। उनको विजय केवल व्यक्तिगत सफलता नभएर, समग्र जिल्लाको समृद्धि र स्वाभिमानको विजय हुने बताइन्छ।

इलाम–१ मा नेकपाको पक्षमा लहर, सन्दकपुर–४ का ३५ घरधुरी नेकपामा प्रवेश

इलाम । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का इलाम क्षेत्र नं. १ का तारा चिन्हका उम्मेदवार रणबहादुर राई लाई विजयी गराउने अभियान अन्तर्गत सन्दकपुर गाउँपालिका–४ मा विभिन्न पार्टी परित्याग गरी ३५ घरधुरी नेकपामा प्रवेश गरेका छन्। सन्दकपुरमा आयोजित स्वागत कार्यक्रममा नवप्रवेशीहरूले विकास, सुशासन र स्थिर राजनीतिक नेतृत्वको अपेक्षासहित नेकपामा आवद्ध भएको बताएका थिए। उनीहरूले इलाम–१ को समग्र विकास, रोजगारी सिर्जना, कृषि तथा पर्यटन प्रवर्द्धनका लागि सक्षम र प्रतिबद्ध नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै रणबहादुर राई नै उपयुक्त विकल्प भएको धारणा राखेका छन्। कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार राईले जनताको विश्वास नै आफ्नो सबैभन्दा ठूलो शक्ति भएको बताए। उनले सन्दकपुरसहित समग्र इलाम–१ मा सडक, शिक्षा, स्वास्थ्य र कृषि पूर्वाधारलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। “जनताको घरदैलोमा पुगेर समस्या सुन्ने र समाधान गर्ने राजनीति नै हाम्रो लक्ष्य हो,” उनले भने। नेकपा इलाम–१ का नेताहरूका अनुसार पछिल्ला दिनहरूमा क्षेत्रभरि पार्टी प्रवेश र जनसमर्थन बढ्दो क्रममा रहेको छ। सन्दकपुर–४ मा ३५ घरधुरीको सामूहिक प्रवेशले निर्वाचन अभियानलाई थप ऊर्जा र उत्साह मिलेको उनीहरूको भनाइ छ। इलाम–१ भरि नै तारा चिन्हप्रति आकर्षण बढिरहेको दाबी गर्दै नेकपाले यसपटक निर्णायक जनमत आफ्नो पक्षमा आउने विश्वास व्यक्त गरेको छ। स्थानीय तहदेखि संघीय संसद्सम्म जनअपेक्षाअनुसार काम गर्ने प्रतिबद्धतासहित नेकपा उम्मेदवार रणबहादुर राईको पक्षमा लहर चलेको कार्यकर्ताहरूले बताएका छन्।

स्थानीय जरा, स्पष्ट मार्गचित्र: झापा–५ मा ओली–बालेनसँग भिडिरहेका नेकपा उम्मेदवार रञ्जित तामाङ को हुन् ?

झापा । प्रतिनिधिसभा सदस्या निर्वाचन क्षेत्र झापा–५ मा यतिबेला चुनावी प्रतिस्पर्धा रोचक मोडमा पुगेको छ। एकातिर राष्ट्रिय राजनीतिका प्रभावशाली व्यक्तित्व केपी शर्मा ओली र अर्कोतर्फ फेसबुकका चर्चित पात्र बालेन्द्र शाह उर्फ बालेन  चुनावी मैदानमा छन् । यही प्रतिस्पर्धाको बीचमा नेपाली कम्युनिस्ट आन्दोलनबाट उदाएका नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का युवा नेता रञ्जित तामाङ पनि झापा–५ बाट प्रतिनिधिसभा सदस्यका लागि दाबेदारी प्रस्तुत गर्दैछन्। स्थापित अनुहार र केन्द्रीय प्रभावबीच तामाङ आफूलाई स्थानीय जरा, स्पष्ट भिजन र रूपान्तरणकारी एजेन्डासहितको उम्मेदवारका रूपमा प्रस्तुत गरिरहेका छन्। काे हुन नेकपा उम्मेदवार तामाङ ? झापा जिल्लाको साविक तोपगाछी–२ वासबारी (हाल कमल–१) मा २०३९ माघ १९ गते जन्मिएका रञ्जित तामाङ सामान्य कृषक परिवारका सन्तान हुन् । उनका बुबा लोकबहादुर तामाङ र आमा लाखमाया तामाङ हुन्। सात सन्तानमध्ये रन्जित जेठो छोरा हुन्। उनका अभिभावक सामान्य कृषक हुन् र कृषि पेसाबाटै परिवारको जीवन निर्वाह गर्दै आएका छन् ग्रामीण जीवन, संघर्ष र सामाजिक यथार्थलाई नजिकबाट अनुभूति गरेका उनले प्रारम्भिक शिक्षा स्थानीय विद्यालयबाट पूरा गरी उच्च शिक्षा काठमाडौँसम्म हासिल गरे। विद्यालय जीवनदेखि नै विद्यार्थी राजनीतिमा सक्रिय उनी अनेरास्ववियु (क्रान्तिकारी) मार्फत संगठित राजनीतिमा प्रवेश गरे। जिल्ला अध्यक्षदेखि २०७४ सालमा पहिलो निर्वाचित केन्द्रीय अध्यक्षसम्मको यात्रा उनले संगठनात्मक क्षमता र नेतृत्वदक्षताका आधारमा तय गरे। उनी बिगठित नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा झापा जिल्ला इञ्चार्ज हालकाे नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य हुन्।  राजनीतिक संघर्षका क्रममा २०५८ सालमा पक्राउ परी करिब दुई वर्ष जेल जीवन बिताएको अनुभवले उनलाई अझ दृढ र परिपक्व बनाएको उनका समर्थकहरूको बुझाइ छ। राजनीतिसँगै लेखनमा सक्रिय रञ्जित कविता, गीत र विचारप्रधान लेखमार्फत पनि परिचित छन्।  झापा–५ का लागि ७ भिजन, ३५ मिसन, २१ लक्ष्य  झापा क्षेत्र नं. ५ (दमक, कमल, गौरादह, गौरीगञ्ज) का १ लाख ६३ हजारभन्दा बढी मतदाताको अपेक्षा समेट्दै उनले “७ भिजन, ३५ मिसन, २१ लक्ष्य” सहितको स्पष्ट कार्ययोजना अघि सारेका छन्।  १. शिक्षा-गुणस्तरीय र प्राविधिक ८३ सामुदायिक विद्यालय सुदृढीकरण डिजिटल कक्षा र ICT विस्तार दमक बहुमुखी क्याम्पसलाई विश्वविद्यालयमा रूपान्तरण प्राविधिक तथा रोजगारमुखी शिक्षा  २. स्वास्थ्य–जनकेन्द्रित सेवा स्थानीय अस्पताल स्तरोन्नति विशिष्टीकृत अस्पताल र मेडिकल शिक्षा अनुसन्धान केन्द्र मातृ–शिशु तथा मानसिक स्वास्थ्य कार्यक्रम  ३. कृषि, उद्योग र व्यवसाय आधुनिक कृषि, सिँचाइ र यान्त्रीकरण चामल, तरकारी, दूध, माछामा आत्मनिर्भरता न्यूनतम समर्थन मूल्य र खरिद केन्द्र युवा उद्यमशीलता र सहकारी औद्योगिकीकरण  ४. भौतिक पूर्वाधार रणनीतिक सडक कालोपत्रे सुरक्षित खानेपानी, इन्टरनेट, नवीकरणीय ऊर्जा प्रकोप प्रतिरोधी संरचना  ५. रोजगारी सीपमूलक तालिम र स्टार्टअप केन्द्र श्रमिक पञ्जीकरण NRN लगानी प्रोत्साहन  ६. सुशासन भ्रष्टाचारमा शून्य सहनशीलता डिजिटल सेवा प्रवाह सहभागी योजना प्रणाली  ७. सामाजिक समावेशीकरण र वातावरण आदिवासी रंगशाला र संग्रहालय कृषि बजार र सांस्कृतिक क्षेत्र विकास पर्यापर्यटन र सिमसार संरक्षण  अन्य उम्मेदवारभन्दा किन फरक छन् तामाङ् ?  स्थानीय जरा: झापा–५ मै जन्म–हुर्किएका, जनताको दैनिक समस्यासँग प्रत्यक्ष परिचित।  संगठनात्मक अनुभव: विद्यार्थी आन्दोलनदेखि केन्द्रीय नेतृत्वसम्मको अनुभव।  संघर्षको पृष्ठभूमि: जेल जीवन र आन्दोलनको इतिहासले तयार पारेको नेतृत्व।  स्पष्ट कार्ययोजना: नारा मात्र होइन, संख्या र समयसीमासहितको योजना।  युवा ऊर्जा र वैचारिक स्पष्टता: राजनीतिक, आर्थिक र सामाजिक रूपान्तरणको स्पष्ट दृष्टिकोण। जहाँ केही उम्मेदवार राष्ट्रिय छविका आधारमा प्रतिस्पर्धामा छन्, रञ्जित तामाङ भने स्थानीय आवश्यकतासँग जोडिएको योजनाबद्ध विकास एजेन्डासहित मैदानमा छन्।  अन्ततः झापा–५ को चुनाव केवल व्यक्तित्वको प्रतिस्पर्धा मात्र नभई भिजन र कार्यक्रमको परीक्षा पनि हो। त्यस सन्दर्भमा रञ्जित तामाङ आफूलाई रूपान्तरणकारी सोच र स्पष्ट मार्गचित्रसहितको भिजनकारी उम्मेदवारका रूपमा प्रस्तुत गर्दै मतदाताको विश्वास जित्ने प्रयासमा छन्।  यस्ताे छ तामाङकाे ७ भिजन, ३५ मिसन, २१ लक्ष्य 

जनयुद्धका शहिद परिवारसँग भेटघाट गर्दै नेकपा उम्मेदवार चुडाल

झापा । १० वर्षे माओवादी जनयुद्धका क्रममा राज्यपक्षबाट ज्यान गुमाएका शहिद परिवारसँग नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का प्रतिनिधिसभा उम्मेदवार पुरुषोत्तम चुडालले भेटघाटलाई तीव्र बनाएका छन्।  झापा क्षेत्र नम्बर ४ अन्तर्गत झापा गाउँपालिका–१ मा उनले शहिद परिवारका घरदैलोमा पुगेर समवेदना व्यक्त गरेका हुन्। स्वयं जनयुद्धकालमा वर्षौं कठोर बन्दी जीवन बिताएका चुडाललाई झापाको सुरुङ्गाबाट पक्राउ गरी तत्कालीन शाही सेनाले महिनौं बेपत्ता बनाएको थियो। सेना–प्रहरीको आक्रमणमा परी ज्यान गुमाएका झापा गाउँपालिका–१, सितुमारीका भीम खनाल (बाबा) र डिल्लीराम लिम्बू (गगन)का घरमा पुग्दा परिवारजन भावुक बनेका थिए। घरदैलो अभियानमा लामो समय जेल जीवन बिताएकी नेकपाकी समानुपातिक उम्मेदवार ममता राजवंशी पनि सहभागी थिइन्। भेटका क्रममा जनयुद्धका दिन, जेल जीवन र आन्दोलनका सहयात्रीहरूसँग बिताएका स्मृतिबारे संक्षिप्त भलाकुसारी भएको थियो। भीम खनालको घरमा पुग्दै उम्मेदवार चुडालले भने, “हामी सँगै पक्राउ परेका थियौं। सेनाले कुटपिट गरी मेरो दाँत झारिदियो, अङ्गभङ्ग बनायो, तर म बाँचेँ। आज उम्मेदवार बनेर फेरि तपाईंको घरमा आइपुगेँ, आमा।” उनका शब्द सुनेर शहिदकी आमा कौशिल्या खनाल भावुक बनेकी थिइन्। उनले देशको मुक्तिका लागि छोरोले बलिदान दिएको स्मरण गर्दै आवश्यक परे थप बलिदानका लागि समेत तयार रहेको बताउँदै आशीर्वाद प्रदान गरिन्। यस्तै, डिल्लीराम लिम्बू (गगन)की आमा टिकामाया लिम्बूले जनयुद्धमा छोरा गुमाए पनि देशमा राजतन्त्र अन्त्य भई सर्वसाधारणका छोराछोरी राष्ट्रपति र प्रधानमन्त्री बन्ने अवस्था आएको उल्लेख गरिन्। “हाम्रा छोराहरूले बलिदान दिएर राजनीतिक परिवर्तन सम्भव भयो, तर अझै गरिबी र दुःखबाट पूर्ण मुक्ति मिलेको छैन,” उनले भनिन्, “अब जनतालाई रोग, भोग र गरिबीबाट मुक्त गराउनु बाँकी छ।” शहिद परिवारसँगको भेटघाटमा जनयुद्धका घाइते योद्धा मणिकुमार साम्पाङ ‘विजय’, पार्टीका प्रदेश सदस्य गौरीमान राई, नेकपा झापा गाउँपालिका अध्यक्ष रुद्रप्रसाद बजगाईं तथा झापा इञ्चार्ज ज्याबुल हक लगायतको उपस्थिति थियो। यसैबीच, झापा क्षेत्र नम्बर ४ का उम्मेदवार चुडाल र समानुपातिक उम्मेदवार राजवंशीले झापा गाउँपालिका–१ र २ का सुकुम्बासी बस्ती, मुस्लिम बस्ती, खयरबारी, पुरानो शरणामती बजार, झापा बजार र सिमलवारी क्षेत्रमा घरदैलो तथा कोणसभा कार्यक्रम सम्पन्न गरेका छन्।

आचारसंहिता कार्यान्वयनमा आयोगकाे कडाई: ७५ जनासँग स्पष्टीकरण, ५२ ले दिए जवाफ

काठमाडौं । २१ फागुनमा तय गरिएको निर्वाचन नजिकिँदै जाँदा निर्वाचन आयोगले आचारसंहिता कार्यान्वयनलाई थप कडाइ गरेको छ । आचारसंहिता उल्लंघनका उजुरीका आधारमा आयोगले हालसम्म ७५ जना राजनीतिक दल तथा उम्मेदवारसँग स्पष्टीकरण मागेको जनाएको छ, जसमध्ये ५२ जनाले लिखित जवाफ पेश गरिसकेका छन् । आयोगका उपसचिव एवं सहायक प्रवक्ता सीता पुनका अनुसार केन्द्रीय आचारसंहिता अनुगमन समितिमा प्राप्त उजुरीहरूमाथि प्रारम्भिक जाँचबुझपछि स्पष्टीकरण सोधिएको हो । तोकिएको आचारसंहिताविपरीत गतिविधि गरेको पाइएमा आयोगले आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउने स्पष्ट पारेको छ । बाँकी २३ जनाबाट भने अझै जवाफ आउन बाँकी रहेको आयोगले जनाएको छ । आचारसंहिताको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न आयोगले ७७ वटै जिल्लामा अनुगमन संयन्त्र सक्रिय बनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारीलाई समग्र विषय र प्रमुख कोष नियन्त्रक/कोष नियन्त्रकलाई आर्थिक पक्षको अनुगमन जिम्मेवारी दिइएको छ । उनीहरूलाई आचारसंहिता अनुगमन अधिकृत तोकिएको छ । अनुगमन अधिकृतहरूले राजनीतिक दल, उम्मेदवार तथा सरोकारवालासँग छलफल गरी आचारसंहिता परिपालनाको अवस्था बुझ्ने, उल्लंघनका घटनाको जानकारी संकलन गर्ने तथा आवश्यक परे स्पष्टीकरण माग्ने कार्य गरिरहेका छन् । आयोगका अनुसार निर्वाचन आचारसंहिताको कडाइका साथ पालना गराई उल्लंघनका घटनालाई न्यूनीकरण गर्ने उद्देश्यले प्राप्त उजुरीमाथि आवश्यक जाँचबुझ र कारबाही प्रक्रिया निरन्तर अघि बढाइएको छ । केन्द्रीय तथा जिल्ला तहका अनुगमन समिति र सम्बन्धित निर्वाचन कार्यालयहरू यस कार्यमा सक्रिय रूपमा परिचालित छन् ।

दाङ–२ मा नेकपाका उम्मेदवारलाई प्रलाेपकाे समर्थन

घोराही । दाङ क्षेत्र नम्बर २ मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का  प्रतिनिधिसभा सदस्यका उम्मेदवार निर्मल आचार्यका पक्षमा थप शक्तिशाली समर्थन जुटेको छ।  प्रगतिशील लोकतान्त्रिक पार्टीका साेही क्षेत्रका उम्मेदवार इन्जिनियर प्रतीक अधिकारीले आफ्नो उम्मेदवारी निष्क्रिय गर्दै नेकपा) का उम्मेदवार आचार्यलाई जिताउन पूर्ण सक्रिय हुने घोषणा गरेका छन् ।  घोराहीमा एक पत्रकार सम्मेलनमा अधिकारीले औपचारिक रूपमा आफू नेकपामा फर्किएको घोषणा गर्दै आगामी निर्वाचनमा आचार्यको पक्षमा जनमत जुटाउन प्रतिबद्धता व्यक्त गरे ।  यसअघि मात्र दुई दिनअघि आम जनता पार्टीका उम्मेदवार कृष्णबहादुर बिकले पनि आचार्यको पक्षमा उम्मेदवारी फिर्ता गर्दै समर्थन घोषणा गरेका थिए । यससँगै दाङ–२ मा नेकपाका उम्मेदवार निर्मल आचार्यलाई जिताउन उम्मेदवारी फिर्ता लिने उम्मेदवारको संख्या दुई पुगेको छ, जसले आचार्यको जितको सम्भावनालाई अझ सुदृढ बनाएको छ । नेकपा कार्यकर्ता र शुभेच्छुकहरूले यस समर्पित समर्थनलाई उत्साहपूर्वक स्वागत गर्दै निर्वाचनमा निर्णायक सफलता हासिल गर्न जुट्ने प्रतिबद्धता जनाएका छन् ।

गोरखा–२ काे सिरानचोक–५ मा काँग्रेस परित्याग गरी नेकपामा प्रवेश

गोरखा । गाेरखाकाे सिरानचोक गाउँपालिका वडा नं. ५ मा महत्वपूर्ण राजनीतिक घटनाक्रम भएको छ । स्थानीय नेता तथा कार्यकर्ताहरूले लामो समयदेखि आबद्ध रहेको नेपाली काँग्रेस पार्टी छोडेर नेपाली कम्युनिस्ट पार्टीमा औपचारिक रूपमा प्रवेश गरेका छन् । उक्त कार्यक्रममा गोरखा निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार लेखनाथ न्यौपाने स्वयं उपस्थित भई टीका लगाएर नवप्रवेशीहरूलाई स्वागत गरेका थिए । उनीहरूले उम्मेदवार न्यौपानेलाई विजय गराउने प्रतिबद्धता व्यक्त गरेका छन्। कार्यक्रममा नवप्रवेशीहरूले जनताको विश्वास, परिवर्तनको चाहना र विकासप्रतिको प्रतिबद्धताले प्रेरित भएर पार्टी प्रवेश गरेको बताएका थिए । साथै, आउँदो निर्वाचनमा ‘तारा’ चिन्हमा मतदान गरी विजय सुनिश्चित गरौँ भनी आह्वान समेत गरिएको छ । स्थानीय राजनीतिक विश्लेषकहरूका अनुसार, यो प्रवेशले क्षेत्रीय राजनीतिमा नेकपाको आधार बलियो बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ ।