क्रिकेटर लामिछानेको मुद्दाको पेसी आज

काठमाडौं । काठमाडौं जिल्ला अदालतबाट बलात्कार अभियोगमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको पेसी आजका लागि तोकिएको छ। जिल्ला अदालतको फैसलाप्रति लामिछानेले गरेको पुनरावेदनमा आज सुनुवाइका लागि पेसी तोकिएको हो।

पछिल्लो पटक गत वैशाख २३ गते उच्च अदालत पाटनका न्यायाधीशद्वय नृपध्वज निरौला र दुर्गाप्रसाद ढुंगेलको संयुक्त इजलासमा परेको मुद्दा पेसी सूचीमा चढे पनि हेर्न नमिल्नेमा परेपछि स्थगित भएको थियो।यसअघि पनि सुनुवाइका लागि पटक पटक पेसी तोकिएको यो मुद्दा हेर्न नभ्याइनेमा पर्दै आएको थियो।

जिल्ला अदालतले जबर्जस्ती करणीमा दोषी ठहर गर्दै आठ वर्ष कैद र तीन लाख रुपैयाँ जरिवाना तथा थप दुई लाख क्षतिपूर्तिको फैसला गरेको थियो।उक्त फैसलाविरुद्ध लामिछाने पुनरावेदनका गत फागुन १० गते उच्च अदालत पाटनमा निवेदन दिएका थिए।

मौसम पूर्वानुमानको कामलाई प्रभावकारी बनाउँछौँ : मन्त्री बस्नेत

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मौसम पूर्वानुमानका विषयलाई प्रभावकारी बनाउने गरी योजना तय गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् । जल तथा मौसम विज्ञान विभागले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले कम्तीमा २४ घण्टाभित्रको मौसम पूर्वानुमान प्रभावकारी हुनेगरी योजना तय गर्न सम्बन्धित विभागलाई आग्रह गरेका छन्।  मन्त्री बस्नेतले त्यसका लागि मन्त्रालयले सम्बन्धित विभागलाई आवश्यक सहयोग गर्ने पनि बताए। मन्त्री बस्नेतले सो कामलाई प्रभावकारी बनाउन विश्वविद्यालय लगायतका सम्बन्धित पक्षसँगको सहकार्यमा जोड दिन पनि आग्रह गरे।  उनले भने, 'मौसमबारे २४ घण्टाको बारेमा ढुक्क साथ बोल्न सक्ने के गर्दा हुन्छौँ ? भन्ने कुराको एउटा लक्ष्य निर्धारण गरौँ । त्यसको निम्ति हामीले के गर्नुपर्ला, हामीले पूरा गर्नुपर्ने त्यसका निम्ति सर्तहरू के होला ? त्यही किसिमको योजना विभागको तर्फबाट हुन सक्यो भने भरपर्दो हुन्छ।'

जसपाका तीन मन्त्रीको शपथ साँझ ६ बजे

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)बाट सरकारमा सहभागी हुने १ मन्त्री र दुई राज्यमन्त्रीले आजै शपथ लिने भएका छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा आज साँझ ६ बजे मन्त्रीको शपथको कार्यक्रम तय भएको हो। जसपाबाट प्रदीप यादव मन्त्री, रञ्जु झा र हसिना खानले राज्य मन्त्रीको शपथ लिन बुझिएको छ। आज विहान जसपा नेपाल सरकारबाट बाहिरिएपछि अशोक राई नेतृत्वको नवगठित जसपा सरकारमा सहभागी हुन लागेको हो।जसपा नेपालबाट वैशाख २२ मा विभाजित राई नेतृत्वको जसपाबाट १ जना मन्त्री पहिले नै सरकारमै छन्।

उपेन्द्र यादवले दिए सर्वोच्चमा रिट, २ जेठमा सुनुवाइ हुने

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र  यादवले सर्वोच्च अदालतमा रिट दिएका छन्। उनले आफ्नो पार्टी जसपा नेपाल विभाजन भएपछि नयाँ पार्टी दर्ता  गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दिएका हुन्।  आयोगले दल विभाजन सम्बन्धी कानून निष्क्रिय भएको बेला दल फुटाएर दर्ता गराएको उपेन्द्रको तर्क छ। उनको रिटमा नयाँ दल गठनमा सहभागी भएका सांसदहरूलाई विपक्षी बनाइएको बताइएको छ।  रिटमा भनिएको छ, ‘म निवेदक अध्यक्ष रहेको जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समितिमा कुल ४०६ सदस्य रही रहेको र विपक्षी आयोगले नै सो सङ्ख्यालाई मान्यता दिएको अवस्थासमेत रहिरहेको अवस्थामा ४०६ सदस्यको ४० प्रतिशतले हुन आउने सदस्य सङ्ख्या अर्थात् १६३ जना केन्द्रीय समितिको अनिवार्य संलग्नता हुनुपर्दछ। जुन नभएको कारणबाट पनि गैर कानुनी रहेको छ।’ सर्वोच्च अदालतमा यो मुद्दा २ जेठमा सुनुवाइ गर्ने बताइएको छ। यसबारे यादवले भने ‘मलाई न्याय मिलेन अदालत गएको छु। अब न्याय पाउँछु भन्ने लागेको छ।’ उनले अदालतको फैसला मान्ने बताए।

२४.३९ अंकले बढ्यो नेप्से, कारोबार कति?

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक सोमबार २४.३९ अंकले बढेर बन्द भएको छ। नेप्से १.२३ प्रतिशतले वृद्धि भएर १९९८.८९ विन्दुमा बन्द भएको हो। यस दिन तीन अर्ब ४० करोड ८६ लाख रुपैयाँको सेयर कारोबार भयो। बढेको बजारमा कम सेयर मूल्य भएका बैंकप्रति लगानीकर्ता आकर्षित भएका छन् । लगानीकर्ता वाणिज्य बैंकमा आकर्षित हुँदा उक्त समूहको परिसूचक सर्वाधिक बढेको छ। वाणिज्य बैंक समूहको परिसूचक ३.२१ प्रतिशतले वृद्धि भएको छ। कारोबारमा आएका १३ मध्ये पाँच समूहको परिसूचक घटेको छ। बाँकी समूहको परिसूचक बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ। नारायणी डेभलपमेन्ट बैंक, समाज लघुवित्त वित्तीय संस्था र माण्डु हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ।कारोबारमा आएका मध्ये १४८ कम्पनीको सेयर मूल्य बढेको छ । ८५ कम्पनीको सेयर मूल्य घटेको छ। 

सुशासनका पक्षमा उभिएकाले राजश्व बढाउन सफल भयौं : मन्त्री शर्मा

काठमाडौं। सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सुशासनका पक्षमा दृढतापूर्वक उभिएकाले आफ्नो मन्त्रालयले अघिल्लो आर्थिक वर्षको भन्दा चालु आर्थिक वर्षमा राजश्व वृद्धि गरेको बताएकी छन् ।  मन्त्रालयले आयोजना गरेको आर्थिक वर्ष २०८०/८१ को तेस्रो प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै मन्त्री शर्माले पूँजीगत खर्च बढाउने चुनौती भने कायमै रहेको बताइन्।  चालु आर्थिक वर्षको अझै दुई महिना बाँकी रहे पनि गत आर्थिक वर्षको कूल राजश्वको हाराहारीमा अहिले दश महिनाकै अवधिमा राजश्व संकलन भएको मन्त्रालयले जनाएको छ । ‘अहिले सबैतिर आर्थिक सङ्कुचन हुँदाहुँदै पनि हाम्रो मन्त्रालयमा गत आर्थिक वर्षको तुलनामा राजश्व वृद्धि भएको छ, यो हामीले सुशासनका पक्षमा लिएको दृढ अडानको परिणाम हो’– मन्त्री शर्माले भनिन्– ‘यो क्रम अझै बढेर जाने छ।’ व्यक्तिगत जीवनमा खर्चभन्दा बढी आम्दानी राम्रो हुने भए पनि सरकारले भने पूँजीगत खर्च नबढाएर समृद्धि हासिल गर्न नसकिने उल्लेख गर्दै उनले पूँजीगत खर्च बढाउने चुनौती कायमै रहेकाले अब आर्थिक वर्षको बाँकी समयमा दिन रात काम गरेर भए पनि लक्ष्य पूरा गर्न निर्देशन दिइन्। विश्व बैंकको सहयोगमा प्राप्त गर्ने भनिएको डिजिटल नेपाल एक्सलेरेसन (डिएनए) परियोजनाको रकमले पूँजीगत बजेटको ३८ प्रतिशत ओगटेको र सो रकम प्राप्त हुने वातावरण नबन्दा मन्त्रालयले गर्ने पूँजीगत खर्चको प्रतिशत घटेको जानकारी दिंदै मन्त्री शर्माले बाँकी बजेट खर्च गर्न माताहतका निकायलाई दृढतापूर्वक लाग्न निर्देशन दिइन्। पू्ँजीगत खर्च बढाउन कर्मचारीतन्त्रको काम गर्ने शैलीमा सुधार ल्याउन आवश्यक रहेको उल्लेख गर्दै उनले कानुनअनुसारका काम गर्न डराउन नहुने बताए। ‘पछिल्लो समय सूचना प्रविधि क्षेत्रमा पुराना बेथितिहरु धमाधम बाहिर आएकाले पनि कर्मचारीमा केही त्रास बढेको देखिन्छ’– मन्त्री शर्माले भनिन्– ‘मैले मन्त्रालयको नेतृत्व सम्हालेपछि कहिल्यै पनि नियम तोडेर काम गर भनेको छैन र भन्ने पनि छैन तर कानुन अनुसार किन काम भइरहेको छैन ? कार्यान्वयन निकायले गहिरो समीक्षा गरेर काम अघि बढाउनुपर्छ।’ सम्बन्धित निकायले आफैले छनौट गरेका माइनस्टोन पूरा गर्नैपर्ने उल्लेख गर्दै उनले सहजीकरणका लागि माताहतका निकायबाट मन्त्रालयबाट आउने कुनै पनि काम नरोक्न निर्देशन दिइन्। आफूले माथिल्लो निकायसँग गरेका कार्य सम्पादन सम्झौताका पाना पल्टाएर हरेक निकायले प्रगति मूल्याङ्कन गर्नुपर्ने पनि उनले स्पष्ट गरिन् । राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयालले १६ औं राष्ट्रिय योजनामार्फत सूचना प्रवधियुक्त राष्ट्र निर्माणको विकास मोडल अघि सारिएकाले यो भूमिका निर्वाह गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको महत्वपूर्ण भूमिका रहने बताइन्। डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वायनमार्फत १५ औं योजनाले एक लाख बढी रोजगारी सिर्जना गर्ने उद्देश्य राखेको भए पनि अपेक्षित प्रगति हुन नसकेको स्पष्ट गर्दै उनले १६ औं योजनामार्फत डिजिटल अर्थतन्त्र निर्माणमा मन्त्रालयले अगुवाई गर्नुपर्ने बताइन्। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले मन्त्रालयमा राजश्व वृद्धि हुनु राम्रो भए पनि खर्च नबढ्नु दुःखद भएकाले यसमा गहिरो समीक्षा गरेर अघि बढ्नुपर्ने बताए। मन्त्रालय र माताहतका निकायहरु रक्षात्मक भएर होइन, काम कारवाही सुधारेर अघि बढ्नुपर्ने उनले स्पष्ट गरे। चालु आर्थिक वर्षको बचेको ५० दिनको समयलाई सातै दिन चौबीसै घण्टा काम गरेर भए पनि लक्ष्य प्राप्त गर्नुपर्ने र खर्च क्षमता बढाउनुपर्ने उनले स्पष्ट गरे  ।कार्यक्रम सहजीकरण सहसचिव योजना महाशाखा प्रमुख बाबुराम भण्डारीले गरेका थिए ।

अशोक राई नेतृत्वको जसपा सरकारमा सहभागी हुँदै, यी हुन् मन्त्री बन्ने सांसद

काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी सरकारमा सहभागी हुने भएको छ । जसपाले तीनजनालाई सरकारमा पठाउने तयारी गरेको हो । पार्टीका महासचिव मोहमद इस्तियाक राईका अनुसार सांसदहरू प्रदीप यादव, रञ्जु झा र हसिना खानलाई सरकारमा पठाउन लागिएको हो ।  यादव स्वास्थ्यमन्त्री बन्ने तय भएको छ । झाको मन्त्रालय टुंगिएको छैन । खान भने राज्यमन्त्री बन्ने जनाइएको छ । उनीहरूको शपथ आज साँझै हुने महासचिव राईले बताए ।  जसपाबाट नवलकिशोर साह सुडी वन तथा वातावरणमन्त्री छन् । जनता समाजवादी पार्टी नेपालबाट उपप्रधान तथा स्वास्थ्यमन्त्री बनेका उपेन्द्र यादव र वन राज्यमन्त्री दीपक कार्कीले आजै राजीनामा दिएका छन् । जसपा नेपाल सरकारबाट बाहिरिएपछि जसपाको मन्त्री थपिन लागेका हुन् ।

सभामुख घिमिरे र अध्यक्ष दाहालबिच भेटवार्ता

काठमाडौँ । प्रतिनिधि सभाका अध्यक्ष देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालबीच भेटवार्ता भएको छ ।  सोमबार सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा उनीहरुबीच भेटवार्ता भएको हो। भेटवार्तामा सरकारको नीति तथा कार्यक्रमको तयारीका बारेमा कुराकानी भएको दुवै नेताको सचिवालयले जनाएको छ।  सरकारको बार्षिक नीति तथा कार्यक्रम जेठ १ गते मंगलबार ३ बजे राष्ट्रपतिले बाचन गर्ने कार्यक्रम रहेको छ ।

२४ वर्षीय युवाद्वारा २ अर्ब १ करोडको अवैध कारोबार, प्रहरीद्वारा सार्वजनिक

काठमाडौँ । प्रहरीले अनलाइन सट्टेबाजीमा संलग्न एक युवकलाई पक्राउ गरेर सोमबार सार्वजनिक गरेको छ।  काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले २४ वर्षीय अनिल ढुंगानालाई पक्राउ गरेर सोमबार सार्वजनिक गरेको हो ।  वानएक्स बेट, जुवा३६५ जस्ता अनलाइन बेटिङ वेबसाइटहरुको प्रयोग गरी उनले २ अर्ब १ करोड भन्दा बढीको कारोबार गरेको खुलेको कार्यालयले बुधबार पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ ।  उनले ५५ वटा बैंक खातामार्फत उक्त कारोबार गरेको पाइएको छ । पक्राउ परेका ढुंगाना काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नम्बर ८ घर भइ हाल भक्तपुरको सूर्यबिनायकमा बस्दै आएको प्रहरीले जनाएको छ ।

घट्यो सुन–चाँदीको मूल्य

काठमाडौं । नेपाली बजारमा सोमबार सुन–चाँदीको मूल्य घटेको छ।आइतबार प्रतितोला पाँच सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला तीन सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३८ हजार एक सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३७ हजार चार सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।  आइतबार छापावाल सुन प्रतितोला एक लाख ३८ हजार चार सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३७ हजार सात सय ५० रूपैयाँमा कारोबार भएको थियो।   त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि घटेको छ। आइतबार प्रतितोला १७ सय २५ रूपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला १७ सय १५ रूपैयाँमा किनबेच भइरहेको छ।  यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ घटेको हो।आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २३ सय ५३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

मुख्यमन्त्री सोडारीले जेठ ३ गते विश्वासको मत लिने

काठमाडौँ ।सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आगामी जेठ ३ गते विश्वासको मत लिने भएका छन। प्रदेशसभा सचिवालयले त्यसदिन बिहान सवा १० बजेका लागि बैठक आह्वान गरेको छ।  मुख्य समर्थक दल एमाले प्रदेश संसदीय दलले विश्वासको मत दिने नदिनेमा अझै स्पष्ट गरेको छैन । एकीकृत समाजवादीबाट मुख्यमन्त्री भएका सोडीरीले यसअघि वैशाख २१ र २२ गते विश्वासको मत लिने तयारी गरेका थिए।

करका दर हेरफेरमा मनोमानी हुँदैन : अर्थमन्त्री पुन

 काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटबाट मनोमानी रुपमा करका दर हेरफेर नहुने स्पष्ट पारेका छन्।  आज यहाँ आयोजित पूर्वबजेट छलफलका क्रममा उनले आर्थिक शिथिलता अन्त्य गरेर अर्थतन्त्र चलायमान बनाउनुपर्ने अवस्था रहेको बताउँदै कसैका स्वार्थ हेरर नभई मुलुक हेरेर करका दर हेरफेर गरिने बताएका हुन्। “कोही चिनेका, मेरो पार्टी निकटका, वा सरकार निकटका व्यवसायीलाई हेरेर करका दरहरुमा आफूखुशी जे मन लाग्यो त्यही गर्दिनँ। करसम्बन्धी व्यवस्था पहिला के थियो, अहिले के छ र के कारणले हेरफेर भएको कारणसहित तीन महलेसहित आर्थिक ऐन आउँछ”, अर्थमन्त्री पुनले भने, “एउटा अर्थमन्त्रीको सनकले निजीको वर्षौंसम्म गरेको लगानी डुबाउन मिल्दैन। जनताले र राज्यले विश्वासपूर्वक दिएको जिम्मेवारी विश्वासपूर्वक निर्वाह गर्नुपर्छ। त्यसमा हाम्रो प्रतिबद्धता छ।” अर्थमन्त्री पुनले नेपालले लोकतान्त्रिक र खुला तथा प्रतिस्पर्धात्मक व्यवस्थाको अभ्यास गरिरहेकाले उद्योग व्यवसायसम्बन्धी नीति पनि खुला र पारदर्शी हुनुपर्नेमा सरकार स्पष्ट रहेको बताए। विकास तथा समृद्धि यात्रामा सरकार निजी क्षेत्रलाई अघि लगाएर हिँड्न चाहेको उनको भनाइ छ।  आर्थिक विकासका लागि नीतिगत निरन्तरता जरुरी रहेको उल्लेख गर्दै उनले  सरकारका नीति तथा कानुनमा रहेका कमजोर पक्ष हटाउने र राम्रा सिकाइलाई दीगो बनाउँदै लगिने प्रतिबद्धता व्यक्त गरे। अहिले निर्माण क्षेत्र चलायमान हुन नसकेकोबारे आफू जानकार रहेको भन्दै अर्थमन्त्री पुनले ती अप्ठ्यारा फुकाउन लागि परेको बताए। आफूले मन्त्रालयको नेतृत्व सम्हाल्दा अघिल्ला ४ आर्थिक वर्षदेखिका ६ खर्ब रुपैयाँभन्दा बढीको आर्थिक दायित्व सिर्जना गरिएको अवस्था रहेको भन्दै उनले पुराना दायित्व बोक्नुपर्दा धेरै स्वतन्त्र नरहेको पनि उल्लेख गरे।  “अर्थमन्त्रीका रुपमा बजेट बनाइराख्दा ३र४ वर्षअघिका अर्थमन्त्रीका पालादेखिको ६ खर्ब रुपैयाँ बराबरको दायित्व बोक्नेपर्ने अवस्थामा छु। एक वर्षको बजेट बनाउनुपर्ने अर्थमन्त्री ४ वर्षदेखिको दायित्व बोक्नुपर्ने अवस्थाले म त्यति स्वतन्त्र छैन‚” उनले भने।

डुबेर दुई किशोरीको मृत्यु

काठमाडौं । डडेल्धुरामा नुहाउने क्रममा  डुबेर दुई किशोरीको मृत्यु भएको छ। आइतबार अपराह्न गन्यापधुरा गाउँपालिका–२ कुँवर गाउँकी १७ वर्षीया लक्ष्मी सार्की र १४ वर्षीया दिपा मल्लको खोलामा डुबेर मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख डीएसपी दीपक पाठकले जानकारी दिए।  मृतक दुवै जनाको शव पोस्टमर्टमका लागि जिल्ला अस्पताल डडेलधुरामा राखिएको पाठकको भनाइ छ। 

त्रिभुवन विमानस्थलबाट पाँच किलो सुनसहित २ व्यक्ति पक्राउ

काठमाडौं । पाँच किलो एक सय ग्राम सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा ३३ वर्षका सुरेश कुमार र ३४ वर्षका मोहन कुमार गणेशन रहेका छन्। उनीहरु भारतीय नागरिक हुन् । गएराति विमानस्थल प्रहरीले चेक गर्ने क्रममा उनीहरुलाई सुनसहित पक्राउ गरिएको हो।

सुँगुरको मिर्गौला प्रत्यारोपण गर्ने पहिलो व्यक्तिको मृत्यु

न्युयोर्क । आनुवंशिक रूपमा परिमार्जित सुँगुरको मिर्गौला प्रत्यारोपण गर्ने पहिलो व्यक्तिको शल्यक्रिया भएको दुई महिनापछि मृत्यु भएको छ। ६२ वर्षीय रिचर्ड रिक स्लेम्यान मार्चमा शल्यक्रिया गर्नुअघि अन्तिम चरणको मिर्गौला रोगसँग लडिरहेका थिए।  म्यासाचुसेट्स जनरल अस्पताल (एमजीएच)ले एक विज्ञप्तिमा रिचर्डको मृत्यु प्रत्यारोपणसँग सम्बन्धित छ भन्ने कुनै सङ्केत नभएको बताएको छ। सुँगुरबाट अन्य अङ्गहरू प्रत्यारोपण गर्ने धेरै प्रयासहरू असफल भइसकेका छन्। यद्यपि, रिचर्डको शल्यक्रियालाई ऐतिहासिक कोसेढुङ्गाको रूपमा वर्णन गरिएको थियो। मिर्गौला रोगका अलावा रिचर्ड टाइप–२ मधुमेह र उच्च रक्तचापबाट पनि पीडित थिए। बीबीसी

भरतपुर मेयर कप फुटबल : गौरीगन्ज र विश्वप्रकाशको विजयी सुरुवात

भरतपुर मेयर कप फुटबल : गौरीगन्ज र विश्वप्रकाशको विजयी सुरुवात   भरतपुर । भरतपुर महानगरपालिकाको आयोजना र सेन्ट्रल कलेजको मुख्य प्रायोजनमा जारी भरतपुर मेयर कप अन्तर विद्यालय फुटबल लिगमा आज दुई खेल सम्पन्न भएको छ। कृष्णपुरको मैदानमा भएको समूह ए को खेलमा गौरीगन्ज माविले ढड्डाघारी माविलाई पराजित गर्दै सुखद सुरुवात गरेको छ । प्रतिस्पर्धात्मक खेलमा गौरीगन्ज १-० ले विजयी भएको हो।  गौरीगन्जको जितमा रोहन गुरुङले निर्णायक गोल गरे । उनी नै म्यान अफ दि म्याच भए । यो जितपछि गौरीगन्ज तालिकामा ३ अंंकसहित शिर्ष स्थानमा छ।लिग अन्तर्गत शारदानगर माविको मैदानमा भएको समूह सी को खेलमा विश्वप्रकाश माविले जित हात पारेको छ। विश्वप्रकाशले ईडेन गार्डेनलाई २-० ले हरायो।  विश्वप्रकाशको जितमा कप्तान साहिल परियार र आदित्य बरामले एक-एक गोल गरे। साहिलले खेलको तेस्रो मिनेटमा नै गोल गर्दै अग्रता दिलाए। २५ औं मिनेटमा आदित्यले गोल गरेपछि विश्वप्रकाशले २-० को जित हात पार्‍यो। विश्वप्रकाशका अभय कुमाल म्यान अफ दि म्याच घोषित भए। यो जितपछि समूह सी मा रहेको विश्वप्रकाशले स्पष्ट ३ अंंक बटुलेको छ।  उता वर्षाका कारण समूह बी को ग्रीनल्याण्ड पब्लिक स्कुल र सिद्धार्थ माविबीचको खेल भने स्थगित भएको छ। अमर मावि पटिहानीमा हुने भनिएको खेल वर्षाले मैदान हिलाम्य भएपछि स्थगित गरिएको सह आयोजक चितवन जिल्ला फुटबल संघका महासचिव रामहरि ढकालले जानकारी दिए। यो खेल सोमबार दिउँसो ४ः३० बजे कृष्णपुरमा हुनेछ।  सोमबार नै अन्य दुई खेल पनि हुनेछ। समूह बी पारिजात इङलिस बोर्डिङ र आदिकवि भानु मावि भिड्नेछन्। यो खेल दिउँसो ४ः३० बजे अमर मावि पटिहानीमा हुनेछ। यस्तै सोही समयमा शारदानगरमा जनप्रिय इङलिस बोर्डिङ र लक्ष्मी माविबीच खेल हुनेछ।लिग जेष्ठ १९ गतेसम्म चल्नेछ। प्रतियोगितामा भरतपुर महानगरपालिका भित्र १२ सामुदायिक तथा १२ संस्थागत गरी २४ विद्यालय सहभागी छन्। सहभागी २४ विद्यालयलाई छ समूहमा विभाजन गरिएको छ।