अलैँचीले लमजुङमा भित्र्यायो साढे २४ करोड
लमजुङ । लमजुङमा यस वर्ष अलैँची बिक्रीबाट २४ करोड ३० लाख रुपैयाँ आम्दानी भएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ लमजुङका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ मा १३५ मेट्रिक टन अलैँची बिक्री हुँदा उक्त रकम भित्रिएको हो ।
यस वर्ष अलैँची प्रतिकिलो एक हजार आठ सयदेखि दुई हजार पाँच सय रुपैयाँसम्म बिक्री भएको कृषि अधिकृत हरिबहादुर मिजारले बताए । उनका अनुसार गत वर्षको तुलनामा यस वर्ष उत्पादन घटे पनि मूल्य वृद्धि भएकाले किसानको आम्दानी बढेको हो ।
गत वर्ष ०.४ प्रतिशतले वृद्धि भएको अलैँची उत्पादन यस वर्ष घटेर ०.३९ प्रतिशतमा सीमित भएको मिजारले बताए । आर्थिक वर्ष २०८१/८२ मा १५० मेट्रिक टन अलैँची बिक्रीबाट २२ करोड रुपैयाँ आम्दानी भएको थियो । उक्त वर्ष प्रतिकिलो अलैँचीको मूल्य एक हजार पाँच सयदेखि दुई हजार चार सय रुपैयाँसम्म थियो ।
यस वर्ष भारतमा समेत अलैँची उत्पादनमा कमी आएकाले माग बढ्दा नेपाली किसानले राम्रो मूल्य पाएको नेपाल अलैँची व्यवसायी महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष अजय तामाङले बताए । उनका अनुसार आर्थिक वर्ष २०८०/८१ मा लमजुङका किसानले २५१ मेट्रिक टन अलैँची बिक्री गरेर २४ करोड रुपैयाँ आम्दानी गरेका थिए ।
तामाङका अनुसार उक्त वर्ष प्रतिकिलो अलैँची एक हजार दुई सय रुपैयाँमा बिक्री भएको थियो । आर्थिक वर्ष २०७९/८० मा ३८० मेट्रिक टन अलैँची बिक्रीबाट २० करोड रुपैयाँ आम्दानी भएको थियो भने त्यस वर्ष प्रतिकिलो मूल्य ५५० देखि सात सय रुपैयाँसम्म थियो ।
यस्तै, आर्थिक वर्ष २०७८/७९ मा ३३५ मेट्रिक टन अलैँचीबाट १५ करोड रुपैयाँ, २०७७/७८ मा तीन हजार पाँच सय क्विन्टलबाट १८ करोड २० लाख रुपैयाँ र २०७६/७७ मा दुई हजार क्विन्टल अलैँची बिक्रीबाट १२ करोड रुपैयाँ आम्दानी भएको परियोजनाले जनाएको छ ।
जिल्लामा कुल ७५० हेक्टर क्षेत्रफलमा अलैँची खेती हुँदै आएको भए पनि हाल ३७५ हेक्टर क्षेत्रफलमा मात्र उत्पादन भइरहेको छ । परियोजनाले मस्र्याङ्दी गाउँपालिका, बेँसीसहर नगरपालिका, क्व्होलासोथार, दुधपोखरी र दोर्दी गाउँपालिकालाई अलैँची जोन पकेट क्षेत्रका रूपमा घोषणा गरिसकेको छ ।
यस वर्ष सबैभन्दा बढी मस्र्याङ्दी गाउँपालिकाका किसानले अलैँची बिक्रीबाट आम्दानी गरेको नेपाल अलैँची व्यवसायी महासङ्घ लमजुङका अध्यक्ष सोमबहादुर तामाङले बताए ।
पाथीभरामा पुगे एकै महिनामा १० हजार बढी दर्शनार्थी
ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा माघ महिनामा १० हजारभन्दा बढी भक्तजन पुगेका छन् । पाथीभरा क्षेत्र विकास समितिले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार माघ महिनामा १० हजार ३२३ जनाले पाथीभराको दर्शन गरेका छन् । माघमा १८ लाख ४७ हजार ५०० भेटीघाटी संकलन भएको समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिए । यसअघि, पुस महिनामा पाँच हजार ९११ जनाले पाथीभराको दर्शन गरेका थिए । चिसो घट्दै गएकाले भक्तजनको संख्या क्रमशः बढ्दै गएको समितिले जनाएको छ । समितिले हरेक महिनाको अन्त्यमा भेटीघाटी र दर्शनार्थीको विवरण सार्वजनिक गर्ने गरेको छ । पाथीभरामा भारतसहितका विदेशी दर्शनार्थी आउने गर्छन् ।
अज अमेरिकी डलर एकको खरिददर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ६५ पैसा र बिक्रीदर १४५ रुपैयाँ २५ पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ८४ पैसा र बिक्रीदर १७२ रुपैयाँ ५५ पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९७ रुपैयाँ ३४ पैसा र बिक्रीदर १९८ रुपैयाँ १६ पैसा, स्वीस फ्रयांक एकको खरिददर १८८ रुपैयाँ ३८ पैसा र बिक्रीदर १८९ रुपैयाँ १६ पैसा कायम गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर १०३ रुपैयाँ ०८ पैसा र बिक्रीदर १०३ रुपैयाँ ५१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ६५ पैसा र बिक्रीदर १०७ रुपैयाँ ०९ पैसा, सिंगापुर डलर एकको खरिददर ११४ रुपैयाँ ७१ पैसा र बिक्रीदर ११५ रुपैयाँ १९ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ४४ पैसा र बिक्रीदर नौ रुपैयाँ ४८ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ९६ पैसा र बिक्रीदर २१ रुपैयाँ ०५ पैसा निर्धारण गरिएको छ । साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३८ रुपैयाँ ७३ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३९ रुपैयाँ ८५ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६७ पैसा र बिक्रीदर चार रुपैयाँ ६९ पैसा, यूएई दिराम एकको खरिददर ३९ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३९ रुपैयाँ ५४ पैसा तोकिएको छ । मलेसियन रिंगेट एकको खरिददर ३७ रुपैयाँ ०७ पैसा र बिक्रीदर ३७ रुपैयाँ २२ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०७ पैसा र बिक्रीदर १० रुपैयाँ ११ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ २९ पैसा र बिक्रीदर १६ रुपैयाँ ३६ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ र बिक्रीदर २३ रुपैयाँ १० पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ५१ पैसा र बिक्रीदर १८ रुपैयाँ ५८ पैसा, कुवेती दिनार एकको खरिददर ४७४ रुपैयाँ ०३ पैसा र बिक्रीदर ४७६ रुपैयाँ निर्धारण गरेको छ । बहराइन दिनार एकको खरिददर ३८३ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३८५ रुपैयाँ २६ पैसा, ओमनी रियाल एकको खरिददर ३७५ रुपैयाँ ७४ र बिक्रीदर ३७७ रुपैयाँ ३० पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।
कस्ताे रहला आज दिनभरकाे मौसम ?
काठमाडौं । देशका केही स्थानमा आज वर्षा र हिमपातको सम्भावना छ । दिउँसो सामान्यतया मौसम सफा रहे पनि राति भने केही स्थानमा वर्षाको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो तराई भूभागका केही स्थानमा मध्यान्नसम्म हुस्सु र कुहिरो रहनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्नेछ । बाँकी भूभागमा आंशिक बादल लाग्नेछ । राति तराई भूभागका थोरै स्थानमा तुँवालो रहनेछ । कोसी र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ । बाँकी भूभागमा आंशिक बादल लाग्नेछ । कोसी र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली क्षेत्रको एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागको भनाइ छ । हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।
वित्त आयोगको मूल्यांकनले प्रमाणित गर्यो नेकपाको सुशासन: देशकै उत्कृष्ट चार पालिकामध्ये तीनमा नेकपाको नेतृत्व
काठमाडाैं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको स्थानीय तहको कार्यसम्पादन मूल्यांकनले नेपाली कम्युनिष्ट पार्टी (तत्कालीन नेकपा माओवादी केन्द्र) को नेतृत्वमा रहेका स्थानीय सरकारहरू सुशासन, वित्तीय अनुशासन र सेवा प्रवाहमा अग्रपंक्तिमा रहेको स्पष्ट प्रमाण प्रस्तुत गरेको छ । देशभरका ७५३ स्थानीय सरकारमध्ये ८० अंकभन्दा बढी प्राप्त गर्दै उत्कृष्ट घोषित भएका चार पालिकामध्ये तीन पालिकामा नेकपाको नेतृत्व रहनु पार्टीको नीति, कार्यशैली र जनमुखी दृष्टिकोण प्रभावकारी रहेको पुष्टि हो । मूल्यांकन अनुसार अर्घाखाँचीको पाणिनी गाउँपालिका ८३.८४ अंकसहित पहिलो स्थानमा रह्यो । उक्त पालिकामा नेकपा एमालेको नेतृत्व रहे पनि दोस्रो, तेस्रो र चौथो स्थानमा रहेका सबै पालिकाहरू नेकपाको नेतृत्वमा हुनु राजनीतिक तथा प्रशासनिक दृष्टिले अत्यन्तै महत्वपूर्ण उपलब्धि मानिएको छ । नेकपाकै नेतृत्व रहेकाे रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८२.१५ अंकसहित देशकै दोस्रो उत्कृष्ट नगरपालिका बनेको छ । नगर प्रमुख पुष्प वादीको नेतृत्वमा चौरजहारीले राजस्व परिचालन, बजेट कार्यान्वयन, सामाजिक सेवा र वित्तीय पारदर्शितामा उल्लेखनीय प्रगति गर्दै उदाहरणीय स्थानीय सरकारको पहिचान बनाएको आयोगको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, नेकपाकै नेतृत्व रहेकाे गुल्मीको मालिका गाउँपालिका ८१.९८ अंकसहित तेस्रो तथा गुल्मीकै भुर्कोट गाउँपालिका ८०.५२ अंकसहित चौथो स्थानमा छन् । मालिकामा अध्यक्ष देविराम अर्याल र भुर्कोटमा अध्यक्ष भुपाल पोखरेलको नेतृत्वमा शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा र वित्तीय व्यवस्थापनका सूचकहरूमा सन्तुलित र दिगो उपलब्धि हासिल भएको आयोगको निष्कर्ष छ । वित्त आयोगले स्थानीय तहको कार्यसम्पादन मूल्यांकनका लागि १७ वटा सूचक तय गरेको थियो । राजस्व परिचालन, बजेट खर्चको अवस्था, बेरुजु नियन्त्रण, सूत्र सफ्टवेयरको प्रभावकारी प्रयोग, विद्यार्थी भर्ना र टिकाउ दर, मातृ तथा शिशु स्वास्थ्य, खोप कार्यक्रम, एसईई परीक्षाको नतिजा, बजेट समयमै सार्वजनिक र पारित गर्ने प्रक्रिया, प्रदेश सरकारलाई बुझाउनुपर्ने कर रकम समयमै दाखिला गरे वा नगरेकोजस्ता कठोर र परिणाममुखी सूचकहरूमा नेकपाको नेतृत्वमा रहेका पालिकाहरू अग्रस्थानमा देखिएका छन् । यसको विपरीत, कार्यसम्पादन मूल्यांकनमा मधेस प्रदेशका अधिकांश स्थानीय तहको अवस्था कमजोर देखिएको छ । रौतहटको देवाही गोनाही नगरपालिकाले ३०.९१ अंक र धनुषाको धनौजी गाउँपालिकाले ३१.८१ अंक मात्र प्राप्त गरेका छन्। यसले नीति, नेतृत्व र कार्यक्षमताको अभावले स्थानीय शासन कति कमजोर हुन सक्छ भन्ने यथार्थ उजागर गरेको विश्लेषकहरूको भनाइ छ । समग्रमा, वित्त आयोगको मूल्यांकनले नेकपाको नेतृत्वमा स्थानीय तहमा सुशासन सम्भव छ भन्ने कुरा तथ्यांक र परिणामका आधारमा प्रमाणित गरेको छ । स्थानीय सरकारमा नेकपाको राजनीतिक प्रतिबद्धता र कार्यसम्पादनले देशभर प्रभावकारी शासनको मानक स्थापित गरिरहेको प्रष्ट छ ।
रुकुम पूर्वको भुमे-१ लुकुममा प्रचण्डको भव्य स्वागत (फाेटाे)
रुकुम पूर्व । प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई रुकुम पूर्वको भुमे गाउँपालिका–१ लुकुममा खाम मगर समुदायको मौलिक संस्कारअनुसार भव्य स्वागत गरिएको छ । रुकुम पूर्व प्रवेशसँगै स्थानीय खाम मगर समुदायले सेतो टीका र परम्परागत पगरी लगाएर प्रचण्डलाई सम्मान व्यक्त गरेका हुन् । स्थानीय संस्कृति र परम्पराको सम्मानस्वरूप गरिएको स्वागत कार्यक्रममा ठूलो संख्यामा स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो । सोही अवसरमा भुमे गाउँपालिका–१ का वडाध्यक्षले वडाबासीहरूको तर्फबाट नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार प्रचण्डसमक्ष स्थानीय विकास, पूर्वाधार, रोजगारी र सेवा–सुविधासँग सम्बन्धित मागहरू प्रस्तुत गर्नुभएको छ । स्थानीय मतदातालाई सम्बोधन गर्दै संयोजक प्रचण्डले लुकुम गाउँलाई नमुना गाउँका रूपमा विकास गर्ने प्रतिबद्धता जनाउनुभएको छ । उहाँले जनताको सहभागितामा शिक्षा, स्वास्थ्य, सडक र रोजगारीलाई प्राथमिकतामा राखेर विकासका काम अघि बढाइने बताउनुभयो । प्रचण्डले रुकुम पूर्व जनआन्दोलन र परिवर्तनको ऐतिहासिक भूमि भएको उल्लेख गर्दै यहाँका जनताको भरोसा र अपेक्षालाई नीति र कार्ययोजनामार्फत पूरा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
हिउँसँगै जनताको मायामा लपेटिँदै रुकुम पूर्वमा प्रचण्ड
रुकुम पूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्नो निर्वाचन क्षेत्र रुकुम पूर्व पुग्नुभएको छ । चिसो हिउँ, कठोर मौसम र भौगोलिक चुनौतीलाई चिर्दै उहाँ जनताको घरआँगनमा पुनः उपस्थित हुनुभएको हो । हिउँले ढाकिएको पहाडी भूभागमा प्रचण्डको आगमन केवल औपचारिक राजनीतिक भ्रमण मात्र होइन, जनतासँगको गहिरो भावनात्मक सम्बन्धको पुनः पुष्टि पनि बनेको छ । दशकौँदेखि परिवर्तनको यात्रामा साथ दिँदै आएका रुकुमेली जनतासँग प्रत्यक्ष भेटघाट गर्दै उहाँले जनयुद्ध, शान्ति प्रक्रिया र गणतन्त्र स्थापनासम्मको साझा संघर्ष स्मरण गर्नुभयो । स्थानीय बासिन्दाले चिसो मौसमको प्रवाह नगरी प्रचण्डलाई भव्य स्वागत गरेका छन् । ‘हिउँ आए पनि प्रचण्डसँगै’ भन्ने नाराले रुकुम पूर्वको राजनीतिक चेतना र प्रतिबद्धता झल्काएको छ । जनताको विश्वास र समर्थन अझै मजबुत रहेको सन्देश यस भ्रमणले दिएको छ । प्रचण्डले विकास, सामाजिक न्याय र समावेशी राज्य निर्माणका अधुरा कार्य पूरा गर्न आफू पुनः जनताकै बीच आएको बताउनुभयो । “राजनीति सत्ता होइन, जनताको जीवन परिवर्तन हो,” भन्दै उहाँले रुकुम पूर्वको विकासलाई राष्ट्रिय एजेन्डासँग जोडेर अघि बढाइने प्रतिबद्धता जनाउनुभयो । हिउँले सेताम्मे बनेको रुकुम पूर्वमा प्रचण्डको उपस्थितिले राजनीतिक तापक्रम भने बढाएको छ । कठिन भौगोलिक अवस्थामै पनि जनतासँगै उभिने नेतृत्वको छवि यस यात्राले थप मजबुत बनाएको स्थानीयको भनाइ छ ।
साँढेको जुधाइँ, बाच्छाको मिचाइँ नहोस् : प्रचण्ड
बागलुङ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बागलुङको बुर्तिबाङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै वर्तमान निर्वाचनलाई राष्ट्र रक्षा र स्वाधीनताको पक्षमा उभिने असाधारण अवसरका रूपमा लिनुपर्ने बताउनुभएको छ। बागलुङ बुर्तिबाङका जनता, मतदाता तथा नेताकार्यकर्तासँग संवाद गर्दै उहाँले राजनीतिक दल र जनताले २०८४ सालमा निर्वाचन चाहेको भए पनि अहिलेको निर्वाचन बाध्यात्मक परिस्थिति सिर्जना भएपछि हुन गएको बताउनुभयो। उहाँले भदौ २३ र २४ गतेका घटनाले देशमा भयावह अवस्था सिर्जना गरेको उल्लेख गर्दै त्यसबेला राजनीतिक नेतृत्वले विशेष गरी आफू र सहसंयोजक माधव नेपालले विवेक प्रयोग गरेर विशेष पहल लिएर संकटबाट जोगाएको बताउनुभयो। “२४ गतेको त्यो घटनाको उद्देश्य केवल जलाउने र लुट्ने मात्रै थिएन, राष्ट्रपति हटाएर देशमा कठपुतली सरकार बनाउने र नेपाललाई युक्रेनजस्तै अवस्थातर्फ धकेल्ने योजना रहेको थियो भन्ने हामीले थाहा पायौं,” उहाँले भन्नुभयो। यो घटनाबाट संविधान केही हदसम्म ‘घाइते’ भएको उल्लेख गर्दै अब त्यसको रक्षा गर्ने जिम्मेवारी राष्ट्रवादी शक्तिको काँधमा आएको उहाँको भनाइ थियो। संयोजक प्रचण्डले यो निर्वाचन सामान्य प्रतिस्पर्धा नभई विदेशी शक्तिको इसारामा देशलाई अस्थिर बनाउन खोज्ने र राष्ट्रवादी शक्ति बलियो बनाउन चाहनेबीचको लडाइँ भएको बताउनुभयो। “२४ गतेदेखि २६ गतेसम्म राज्य कसले चलाएको थियो भन्ने गम्भीर प्रश्न उठेको छ। यो निर्वाचन देशको नेतृत्व जनताकै हातमा छ भन्ने स्थापित गर्ने लडाइँ हो,” उहाँले भन्नुभयो। उहाँले विश्व राजनीति नयाँ चरणमा प्रवेश गरिसकेको उल्लेख गर्दै नेपालजस्तो सानो देश पनि ठूला शक्तिको प्रतिस्पर्धाका लागि दुरुपयोग हुन नहुने बताउनुभयो। “नेपालको खनिज वा स्रोतसाधनभन्दा पनि यसको भूगोल अन्यत्रको द्वन्द्व अघि बढाउन प्रयोग हुन सक्छ भन्ने खतरा देखिएको छ,” उहाँले भन्नुभयो। युक्रेन युद्ध र भेनेजुएलाका घटनाको उदाहरण दिँदै उनले विदेशी हस्तक्षेपको जोखिमप्रति सजग रहन आग्रह गर्नुभयो। “साँढेको जुधाइँ, बाच्छाको मिचाइँ नहोस् भन्ने चिन्ता हामीमा छ,” उहाँले भन्नुभयो। निर्वाचनलाई राष्ट्र र स्वाधीनताको रक्षा गर्ने अवसरका रूपमा लिन आह्वान गर्दै उहाँले जनतालाई एकजुट भएर देशविरुद्धका जालझेल र षड्यन्त्र रोक्न सक्रिय हुन आग्रह गर्नुभयो। सो अवसरमा बागलुङ, रुकुम पूर्व, रुकुम पश्चिम र रोल्पाको विकासलाई जोड्न आफूले विभिन्न योजना बनाउँदै गरेको उल्लेख गर्नुभयो। उहाँले बागलुङ–२ का उम्मेदवार ज्ञामलाल गैरेजस्ता युवा नेतालाई टिकट दिँदा आफूलाई गर्व महसुस भएको बताउँदै निर्वाचनमा मत दिएर जिताएर पठाए पार्टीले बागलुङ–२ का जनताको हितमा उहाँलाई उचित जिम्मेवारी दिने प्रतिबद्धता जनाउनुभयो। उक्त कार्यक्रममा नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह, नेपाली कम्युनिष्ट पार्टीकी नेतृ पफ्फा भुसाल तथा बागलुङ–२ का उम्मेदवार ज्ञामलाल गैरेललगायत नेताहरूले पनि सम्बोधन गर्नुभयो। उहाँहरूले वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी तथा राष्ट्रवादी शक्तिहरू एकजुट भएर देशको स्वाधीनता र संविधानको रक्षा गर्नुपर्नेमा जोड दिनुभयो।
‘आफु पुल बन्न आएको सुनसरी–१ का नेकपा उम्मेदवार भट्टराईको दाबी
धरान । “म संसद् पुग्न मात्रै होइन, सुनसरी–१ का मान्छे–मान्छे, भूगोल–भूगोल र भावना–भावना जोड्ने पुल बन्न आएको हुँ,” यही दाबीका साथ नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका रूपमा मनोज भट्टराई सुनसरी–१ को चुनावी मैदानमा उत्रिएका छन् । धरान, बराहक्षेत्र र रामधुनी नगरपालिकाले बनेको यो निर्वाचन क्षेत्र भौगोलिक रूपमा नजिक भए पनि मनोवैज्ञानिक दूरी अझै बाँकी रहेको उनी ठान्छन् । ‘सर्दु वारि’ र ‘सर्दु पारि’ भन्ने सोचलाई अन्त्य गर्दै साझा भविष्य निर्माण गर्ने उनको संकल्प नै चुनावी अभियानको मूल सार बनेको छ । मनोज भट्टराईको वास्तविक नाम सूर्यबहादुर भट्टराई हो । तर राजनीति र समाजमा उनी मनोज भट्टराईकै नामले चिनिन्छन् । तत्कालीन नेकपा (माओवादी) को कठिन संघर्षले जन्माएको नेतृत्व हुन् उनी । यही संघर्ष र जनविश्वासको बलमा उनी २०७४ र २०७९ गरी दुईपटक धरान–१७ का वडाध्यक्ष निर्वाचित भए । विशेषतः २०७४ को स्थानीय निर्वाचनमा धरानमा माओवादीको तर्फबाट जितको खाता खोल्ने उम्मेदवारको रूपमा उनको नाम उल्लेखनीय रह्यो । दुई कार्यकालको वडाध्यक्ष अनुभवले उनलाई परिणाममुखी र जवाफदेही नेतृत्वका रूपमा स्थापित गराएको छ । धरान–१७ को रेल्वेचोकलाई बगैचासहितको चार लेन सडकमा रूपान्तरण गर्नु, करिब ६ करोड बजेटमा सरस्वती ढल तथा करिडोर निर्माण गर्नु र धरानकै एकमात्र सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र स्थापना गर्नु उनका प्रमुख उपलब्धिमध्ये पर्छन् । वडाध्यक्षका रूपमा पाउने सेवा–सुविधा नलिएर राज्यको राजस्वमा जम्मा गर्नु उनको राजनीतिक नैतिकताको उदाहरणका रूपमा लिइन्छ । कोभिड–१९ महामारीका बेला उनले सचेत नागरिक समाज धरान–१७ सँग सहकार्य गर्दै खाद्यान्न वितरण, क्वारेन्टाइन व्यवस्थापन र अप्ठ्यारोमा परेका ३ सय ५० जनालाई ४६ दिनसम्म दैनिक खाना खुवाउने जिम्मेवारी निभाए । संकटको समयमा नेतृत्व कस्तो हुनुपर्छ भन्ने उदाहरण उनले त्यतिबेला प्रस्तुत गरे । संस्थागत रूपमा उनी खानेपानी व्यवस्थापन बोर्डका सदस्य, रेडक्रसका सक्रिय अभियन्ता, सुनसरी जिल्ला जुडो संघका अध्यक्ष, धरान उपमहानगरपालिकाका प्रवक्ता तथा नेपाल कम्युनिस्ट पार्टी माओवादीका प्रदेश सदस्यसमेत रहे । यी सबै जिम्मेवारीले उनी प्रशासन, समाज र राजनीति तीनै तहमा खारिएका नेता भएको संकेत गर्छन् । आज यही अनुभव बोकेर उनी प्रतिनिधिसभामा ठूलो भूगोल र जिम्मेवारी सम्हाल्ने तयारीमा छन् । निर्वाचन जित्ने आधार के हो भन्ने प्रश्नमा उनी भन्छन्, “जनताको माया, विश्वास र मैले गरेको कामप्रतिको जवाफदेहिता नै मेरो सबैभन्दा ठूलो पूँजी हो ।” उनका मुख्य चुनावी मुद्दा ‘फिजिकल कनेक्टिभिटी’ र ‘स्पिरिचुअल कनेक्टिभिटी’ हुन् । सडक सञ्जाल विस्तार, धरान–बराहक्षेत्र–रामधुनीलाई मजबुत भौतिक संरचनाबाट जोड्नु उनको फिजिकल कनेक्टिभिटीको एजेन्डा हो । “भूगोल जोडिएपछि मन पनि आफैं जोडिन्छ,” उनी भन्छन् । स्पिरिचुअल कनेक्टिभिटीअन्तर्गत उनले धरान–१४ का दन्तकाली, पिण्डेश्वर र बुढासुब्बा, धरान–२० को विष्णुपादुका, बराहक्षेत्रको बराह मन्दिर र रामधुनीको रामधुनी मन्दिरलाई एउटै धार्मिक सर्किटमा जोडेर धार्मिक पर्यटन प्रवर्द्धन गर्ने योजना अघि सारेका छन् । यसले सांस्कृतिक एकता र स्थानीय अर्थतन्त्र दुवैलाई बलियो बनाउने उनको विश्वास छ । धरान–२० लाई पहाडी वडाका रूपमा संरक्षण गर्दै प्राकृतिक सौन्दर्य जोगाउने, धरान–१४ लाई धार्मिक पर्यटनको केन्द्रका रूपमा विकास गर्ने र किरात इतिहाससँग जोडिएको दरबार क्षेत्रलाई पर्यटनसँग जोड्ने योजना पनि उनको एजेन्डामा छ । उद्योग, शिक्षा र स्वास्थ्य क्षेत्रलाई उनले समान प्राथमिकतामा राखेका छन् । केन्द्रीय प्रविधि क्याम्पस, पूर्वाञ्चल इञ्जिनियरिङ कलेज र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्तरोन्नति गर्दै सुनसरी–१ लाई शिक्षा र स्वास्थ्यको केन्द्र बनाउने लक्ष्य उनीसँग छ । साथै, वन, प्राकृतिक तालहरूको संरक्षण, साहित्य, खेलकुद, सङ्गीत र नाट्य क्षेत्रको प्रवर्द्धन, खानेपानी अभाव र सुकुम्बासी समस्याको व्यवस्थापन पनि उनका प्रतिबद्धता हुन् । धरान–लेउती बहुउद्देश्यीय सुरुङमार्गलाई राष्ट्रिय गौरवको योजनामा समावेश गर्दै तमोरको पानी ल्याउने दीर्घकालीन सोच पनि उनले अघि सारेका छन् । २०४० सालमा तिलकबहादुर भट्टराई र कृष्णकुमारी भट्टराईको दोस्रो सन्तानका रूपमा धरान–१७ मै जन्मिएका मनोज भट्टराई यहीँ हुर्किए, यहीँ पढे र यहीँबाट जनप्रतिनिधि बने । अन्तरजातीय विवाह गरेका उनी तीन सन्तानका पिता हुन् । धरानमा उनका बराजु पुस्ताको पसिना र इतिहास मिसिएको छ । यही माटो, यही मान्छे र यही अनुभूतिको बलमा उनी आज सुनसरी–१ का मतदातासामु आग्रह गर्छन्-“मलाई भोट दिनुहोस्, म संसद्मा पुगेर भूगोल मात्र होइन, तपाईंहरूको मन जोड्ने पुल बन्नेछु ।”
पर्वतका जनताको भरोसालाई परिणाममा बदल्छु: नेकपा उम्मेदवार तिमिल्सिना
पर्वत । पर्वतबाट प्रतिनिधिसभा सदस्यका सबैभन्दा कान्छा उम्मेदवार मनहरी तिमिल्सिनाले जनताको विश्वास र समर्थनलाई ठोस काम र परिणाममार्फत प्रमाणित गर्ने दृढ प्रतिबद्धता व्यक्त गरेका छन्। पर्वतको कुस्मामा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आयोजना गरेको जनसंवाद कार्यक्रम मा बोल्दै तिमिल्सिनाले पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिले जिल्लाका मतदातामा नयाँ उत्साह, आशा र भरोसा जागेको बताए । कार्यक्रममा संयोजक प्रचण्डले पर्वतको समग्र विकासका लागि अघि सारेका प्रतिबद्धता व्यवहारमा उतार्न आफू निरन्तर क्रियाशील रहने जनाउँदै तिमिल्सिनाले पर्वतेली जनतालाई तारा चिन्ह मा मतदान गर्न आग्रह गरे । उनले संयोजक प्रचण्डप्रति आभार व्यक्त गर्दै भने, “पार्टी नेतृत्वले देखाएको भरोसा र जनताले दिएको समर्थनलाई म कामबाटै पुष्टि गर्नेछु।” तिमिल्सिनाले विकास, सुशासन र रोजगारी सिर्जनालाई आफ्नो मुख्य एजेन्डा रहेको उल्लेख गर्दै युवाको ऊर्जालाई जिल्लाको समृद्धिसँग जोड्ने योजना प्रस्तुत गरे। “यहाँहरूको साथ, सुझाव र विश्वासले हाम्रो अभियानलाई अझ मजबुत बनाएको छ। पर्वतलाई समावेशी विकासको नमुना जिल्ला बनाउने मेरो लक्ष्य हो,” उनले भने। कुनै व्यक्ति, वर्ग वा समुदायप्रति आग्रह–पूर्वाग्रह नराखी समग्र पर्वतको हितका लागि उम्मेदवारी दिएको स्पष्ट पार्दै तिमिल्सिनाले समभाव, सहकार्य र एकताको माध्यमबाट मात्रै जिल्लाले विकासको फड्को मार्नेमा जोड दिए। उनले जनताको आवश्यकता र सम्भावनालाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता पनि दोहोर्याए। घरदैलो अभियानका क्रममा प्राप्त जनसमर्थनले आफूलाई थप प्रेरित बनाएको उल्लेख गर्दै तिमिल्सिनाले भने, “घरदैलो अभियानले मलाई अपार ऊर्जा र गहिरो प्रेरणा दिएको छ। जनताको आत्मीयता, भरोसा र स्नेहले मन छोएको छ।” अभियानमा सक्रिय भूमिका निर्वाह गर्ने नेता, कार्यकर्ता र समर्थकप्रति आभार व्यक्त गर्दै उनले जनस्तरबाट आएका सुझाव र हौसलाले आफ्नो जिम्मेवारीबोध अझ बलियो बनेको बताए। अन्त्यमा उनले विनम्रतालाई आफ्नो कमजोरी नभई शक्ति भएको उल्लेख गर्दै भने, “विनम्रता मेरो कमजोरी होइन, मेरो शक्ति हो। यही शक्तिको आधारमा म अझ दृढताका साथ अगाडि बढ्नेछु र जनताको अपेक्षा पूरा गर्नेछु।”
खाेटाङमा ६ जना पूर्वसांसद नेकपा उम्मेदवार हरि राेकालाई जिताउन मत माग्दै
खोटाङ । अर्थशास्त्री, वाम चिन्तक तथा जनमुखी राजनीतिक विश्लेषक डा. हरि रोकाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सशक्त रूपमा चुनावी अभियान तीव्र बनाएका छन् । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को तर्फबाट खोटाङमा उम्मेदवारी दर्ता गराएका डा. रोकाले जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट जनताको घरदैलोमा पुग्दै प्रत्यक्ष संवाद तीव्र बनाएका हुन् । राेकाकाे घरदैलो अभियानमा जिल्लाका ६ जना पूर्वसांसदको ऐक्यबद्ध छ । कुनै राजनीतिक दलको साधारण सदस्यसमेत नरहेका डा. रोका जनताको आग्रह र वामपन्थी शक्तिको साझा भरोसामा नेकपाको उम्मेदवारका रूपमा अघि बढेपछि अनुभवी नेताहरूले खुला रूपमा साथ दिएका छन् । डा. रोकाको अभियानमा पूर्वसांसद टंक राई र कुलप्रसाद फुयाँल, संविधानसभा सदस्य समिता कार्की ‘अस्मिता’ र दुर्गाजयन्ती राई, प्रतिनिधिसभा सदस्य तथा कोशी प्रदेश सरकारका पूर्वऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री रामकुमार राई ‘पासाङ’ तथा कोशी प्रदेश सरकारका पूर्वसामाजिक विकासमन्त्री राजन राईको सक्रिय सहभागिता रहेको छ । उनीहरूले डा. रोकालाई वैचारिक रूपमा दृढ, नीतिगत रूपमा स्पष्ट र जनताको पक्षमा निडर उम्मेदवारको रूपमा चित्रण गरेका छन् । घरदैलोका क्रममा डा. रोकाले कृषि, रोजगारी र स्थानीय अर्थतन्त्र खोटाङको मूल मुद्दा भएको उल्लेख गर्दै कृषक, श्रमिक र युवाको आवाज प्रतिनिधिसभामा मजबुत रूपमा उठाउने प्रतिबद्धता व्यक्त गरेका छन् । “राजनीति सत्ताका लागि होइन, जनताको जीवन बदल्नका लागि हुनुपर्छ,” भन्दै उनले नेकपाको नीतिअनुसार समाजवादी रूपान्तरणको दिशामा काम गर्ने स्पष्ट दृष्टिकोण प्रस्तुत गरेका छन् । नेकपाले खोटाङमा वैचारिक स्पष्टता, इमानदार नेतृत्व र जनतासँग प्रत्यक्ष सम्बन्ध राख्ने उम्मेदवारका रूपमा डा. रोकालाई अघि सारेको जनाउँदै स्थानीय तहदेखि केन्द्रसम्म जनसमर्थन तीव्र रूपमा विस्तार भइरहेको बताएको छ ।
भाेलि रातीदेखि राष्ट्रियसभाको अधिवेशन अन्त्य
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य गरेका छन् । शुक्रबार (फागुन १) राति १२ बजेदेखि लागु हुने गरी अधिवेशन अन्त्य गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले बिहीबार (माघ २९) जारी गरेको विज्ञप्तिमा उल्लेख छ । “सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०६२/१०/२६ को सिफारिसमा संवत् २०८२ साल फागुन १ गते शुक्रबार राति १२ः०० बजेदेखि लागु हुने गरी राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य गर्नुभएको छ,” विज्ञप्तिमा भनिएको छ ।
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २८, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ३५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ४०, आलु रातो प्रतिकिलो रु ३०, आलु रातो (भारतीय) प्रतिकिलो रु २६, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३८ रहेको छ । यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु ६०, गाजर (तराई) प्रतिकिलो रु ५०, बन्दा (लोकल) प्रतिकिलो रु ५२, बन्दा (तराई) प्रतिकिलो रु ३०, बन्दा (नरिबल) प्रतिकिलो रु ४०, काउली स्थानीय प्रतिकिलो रु २८, काउली स्थानीय (ज्यापू) प्रतिकिलो रु ५०, काउली तराई प्रतिकिलो रु ३०, रातो मूला प्रतिकिलो रु ३५, सेतो मूला (लोकल) प्रतिकिलो रु १६, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २५, भन्टा लाम्चो प्रतिकिलो रु ५० र भन्टा डल्लो प्रतिकिलो रु ६० कायम भएको छ । त्यसैगरी, मटरकोसा प्रतिकिलो रु ६०, घिउ सिमी (लोकल) प्रतिकिलो रु १३०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु १००, घिउ सिमी (राजमा) प्रतिकिलो रु १३०, टाटे सिमी प्रतिकिलो रु ७०, तिते करेला प्रतिकिलो रु १९०, लौका प्रतिकिलो रु ८०, फर्सी पाकेको प्रतिकिलो रु ५०, हरियो फर्सी (लाम्चो) प्रतिकिलो रु २०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु २५, सलगम प्रतिकिलो ५०, भिन्डी प्रतिकिलो १२०, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो रु ७० र स्कुस प्रतिकिलो रु ७० कायम गरिएको छ । रायोसाग प्रतिकिलो रु २५, पालुङ्गो प्रतिकेजी रु ४०, चमसुर प्रतिकिलो रु ३०, तोरीसाग प्रतिकिलो रु २५, मेथी प्रतिकिलो रु ४०, हरियो प्याज प्रतिकिलो रु ६०, बकुला प्रतिकिलो रु ६०, तरुल प्रतिकिलो रु ६०, च्याउ (कन्य) प्रतिकिलो रु ११०, च्याउ (डल्ले) प्रतिकिलो रु ४००, राजा च्याउ प्रतिकेजी रु ३००, सिताके च्याउ प्रतिकेजी रु १,००० निर्धारण गरिएको छ । ब्रोकाउली प्रतिकिलो रु ५०, चुकुन्दर प्रतिकिलो रु ६५, सजीवन प्रतिकेजी रु २५०, रातो बन्दा प्रतिकिलो रु १००, जिरीको साग प्रतिकिलो रु ५०, ग्याठकोभी प्रतिकिलो रु ५०, सेलरी प्रतिकिलो रु १८०, पार्सले प्रतिकिलो रु ३५०, सौफको साग प्रतिकिलो रु ४० पुदिना प्रतिकिलो रु ३५०, गान्टे मुला प्रतिकिलो रु ५०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १३०, तोफु प्रतिकिलो रु १५०, गुन्द्रुक प्रतिकिलो रु ३०० र रूखटमाटर प्रतिकेजी रु २६० तोकिएको छ । स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३२०, केरा (दर्जन) रु १९०, कागती प्रतिकिलो रु १९०, अनार प्रतिकिलो रु ३३०, अङ्गुर (हरियो) प्रतिकिलो रु २४०, अङ्गुर (कालो) प्रतिकिलो रु ४००, सुन्तला (नेपाली) प्रतिकिलो रु १८०, तरबुजा हरियो प्रतिकिलो रु ९०, मौसम प्रतिकिलो रु १३०, जुनार प्रतिकिलो रु १३०, भुइँकटहर प्रतिगोटा रु १४५, काँक्रो (लोकल) प्रतिकिलो रु १७०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ७०, रुख कटहर प्रतिकिलो रु १२०, निबुवा प्रतिकिलो रु ६५, नास्पाती (चाइनिज) प्रतिकिलो रु २५०, मेवा (नेपाली) प्रतिकिलो रु ७०, मेवा (भारतीय) प्रतिकिलो रु ११०, लप्सी प्रतिकिलो रु १४०, किनु प्रतिकिलो रु १३०, स्ट्रबेरी प्रतिकिलो रु ५५०, किबी प्रतिकिलो रु २६० र एभोकाडो प्रतिकिलो रु ३५० निर्धारण गरिएको छ । यसैगरी, अमला प्रतिकिलो रु ११०, अदुवा प्रतिकिलो रु १२०, सुकेको खुर्सानी प्रतिकिलो रु ४२०, खुर्सानी हरियो प्रतिकिलो रु १४०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु १४०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ७०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रु ५५०, भेडे खुर्सानी प्रतिकिलो रु ८०, हरियो लसुन प्रतिकिलो रु ७०, हरियो धनियाँ प्रतिकिलो रु ५०, छ्यापी सुकेको प्रतिकिलो रु १५०, छ्यापी हरियो प्रतिकिलो रु १८०, माछा सुकेको प्रतिकिलो रु १,०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २८० र ताजा माछा (छडी) प्रतिकिलो रु २५० निर्धारण गरिएको छ ।
दाङमा टिप्परकाे ठक्कर दिँदा एक जनाको मृत्यु
दाङ । दाङको देउखुरीमा टिप्परले अटोलाई ठक्कर दिँदा एक जनाको मृत्यु छ । देउखुरीको कालाकाटेमा टिप्परले अटोलाई ठक्कर दिँदा चालक गढवा गाउँपालिका–१ कालाकाटे निवासी ३६ वर्षीय जोरकुमार पुन रहेको प्रहरीले जनाएको छ । बिहीबार बिहान सवा ६ बजेको समयमा भालुवाङबाट कालाकाटेतर्फ जाँदै गरेको ना ८ ख ३२६४ नम्बरको टिप्पर र कालाकाटेबाट भालुवाङतर्फ आउँदै गरेको रा १ ह ७३५५ नम्बरको अटोलाई ठक्कर दिएको हो । इलाका प्रहरी कार्यालय गढवाका प्रमुख एवं प्रहरी निरीक्षक डबलबहादुर बमले गम्भीर घाइते पुनको भालुवाङ अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जानकारी दिए । दुर्घटनामा संलग्न टिप्पर र चालकलाई इलाका प्रहरी कार्यालय गढवाले नियन्त्रणमा लिएको छ । अटोमा विद्यालय जान लागेको चार जना विद्यार्थी सवार रहेको र उनीहरू सामान्य घाइते भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
डाेटीमा घरभित्रै राखिएको भरुवा बन्दुक पड्किँदा एककाे मृत्यु
डोटी । घरभित्र असुरक्षित रूपमा राखिएको भरुवा बन्दुक दुर्घटनाको कारण बन्दा डोटीमा एक युवकको ज्यान गएको छ । बिजुलीको वायरिङ गर्ने क्रममा कोठामै राखिएको बन्दुक अचानक पड्किँदा युवकको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार डोटीको बोगटान फुड्सिल गाउँपालिका–१, लफडा गाउँका ३० वर्षीय कलम धामीको बुधबार बेलुकी ज्यान गएको हो । उनी सोही वडाको पोखरी गाउँस्थित स्थानीय दुर्गा सिंह कुडमालको तीनतले घरको माथिल्लो तलामा बिजुली वायरिङको काम गरिरहेका थिए । बेलुकी करिब ६ बजेर ४० मिनेटको समयमा कोठाभित्र राखिएको भरुवा बन्दुक अचानक पड्किँदा त्यसको छर्रा धामीको बायाँ कन्चटमा लागेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । गम्भीर घाइते भएका धामीको घटनास्थलमै मृत्यु भएको जनाइएको छ । घटनापछि प्रहरी टोली घटनास्थल पुगेर आवश्यक मुचुल्का तथा प्रारम्भिक अनुसन्धान प्रक्रिया अघि बढाएको छ । बन्दुक किन र कसरी कोठाभित्र राखिएको थियो भन्ने विषयमा समेत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
उपत्यकासहित विभिन्न स्थानमा खाना पकाउने एलपी ग्यासको अभाव भएपछि निगम आफैँ बाँड्दै
काठमाडौं । विगत केही दिनदेखि काठमाडौँ उपत्यकासहित विभिन्न स्थानमा खाना पकाउने एलपी ग्यासको अभाव चुलिएपछि नेपाल आयल निगमले आफ्नै कार्यालयबाट ग्यास बिक्री सुरु गरेको छ । बजारमा सबै प्रकारका ग्यासको कमी देखिएपछि निगमले बुधबारदेखि टेकुस्थित कार्यालयबाट ग्यास उपलब्ध गराउन थालेको हो । डिलरबाट ग्यास नपाएका र अत्यावश्यक अवस्थामा रहेका उपभोक्तालाई लक्षित गरी यो व्यवस्था गरिएको निगमले जनाएको छ । निगमको एलपिजी विभागका प्रमुख विनीतमणि उपाध्यायले उपभोक्तालाई सहज बनाउन टेकु कार्यालय परिसरबाट विभिन्न ब्रान्डका ग्यास सिलिन्डर बिक्री सुरु गरिएको बताए । यसले टेकु र आसपास क्षेत्रका बासिन्दालाई केही राहत पुग्ने उनको भनाइ छ । सिधै कार्यालयबाट ग्यास वितरण सुरु भएपछि उपभोक्ताले लामो समय कुर्नुपर्ने र डिलर धाउनुपर्ने बाध्यता केही कम हुने अपेक्षा निगमको छ । तर उपभोक्ता अधिकारकर्मीले यस कदमले समस्या समाधान नहुने आरोप लगाएका छन् । उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जनले उपत्यकाको एक स्थानबाट मात्र ग्यास बिक्री गर्नु पर्याप्त समाधान नभएको दाबी गरे । व्यापारीका अनुसार सामान्य अवस्थामा दैनिक ९० बुलेट ग्यास आउने गरेकामा हाल औसतमा ७० बुलेटभन्दा कम मात्र आपूर्ति भइरहेको छ । तर आयल निगमले भने आपूर्ति सहज रहेको दाबी गर्दै आएको छ । महर्जनले एक तिहाइ आपूर्ति घट्नेबित्तिकै डिपोले कृत्रिम अभाव सिर्जना गरी कालोबजारी र कार्टेलिङ थालेको आरोप लगाए । साना ग्यास डिपोले नयाँ सिलिन्डरसहित ग्यास पाँच हजार दुई सय रुपैयाँसम्ममा बिक्री गर्न थालेका छन् । पुरानो सिलिन्डर साटेर ग्यास लिन खोज्दा भने पाइने अवस्था छैन । “प्रतिसिलिन्डर चार हजार दुई सय रुपैयाँ पर्ने ग्यासमा एक हजार रुपैयाँसम्म कालोबजारी भइरहेको छ, सरकार किन मौन ?” महर्जनले प्रश्न गरे । यसैबीच, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ग्यास आपूर्ति सहज बनाउन बजार अनुगमन तीव्र बनाएको जनाएको छ । विभागले उद्योग, ठूला आपूर्तिकर्ता र डिलर तहमा अनुगमन गर्दै आपूर्ति, भण्डारण र वितरणको अवस्था विश्लेषण गरिरहेको जनाएको छ । विभागका निर्देशक नरहरि तिवारीले ग्यास बोटलिङ उद्योगलाई पूर्ण क्षमतामा सञ्चालन गरी उत्पादन बढाउन निर्देशन दिइएको बताए । साथै, उपभोक्तालाई अनावश्यक सञ्चय नगरी आवश्यक परिमाणमा मात्र ग्यास खरिद गर्न आग्रह गरिएको छ ।

