नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुहाङको शपथ आज

काठमाडौँ । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सुहाङ नेम्वाङले आज शपथ ग्रहण गर्दै छन्।सभामुख देवराज घिमिरेले आज बिहान ११ बजे नेम्वाङलाई शपथ खुवाउँदै प्रतिनिधि सभा सदस्यको लोगो लगाएर सांसदको रूपमा जिम्मेवारी दिने  छन्।

गत वैशाख १५ गते सम्पन्न उपनिर्वाचनमा इलाम २ बाट २७ हजार ७ सय ७२ मत पाएर विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९ सय ४२ मत पाएका थिए।

डा. रुइतद्धारा गायिका मेनुका पौडेलको आँखाको शल्यक्रिया

काठमाडौं । गायिका मेनुका पौडेलको आँखाको नानीको शल्यक्रिया गरिएको छ। वरिष्ठ आँखारोग विशेषज्ञ डा.सन्दुक रुइत नेतृत्वको टोलीले केही दिनअघि तिलगंगा आँखा प्रतिष्ठानमा शल्यक्रिया गरेका हुन्। उनको शल्यक्रिया सफल भएको छ । तर, शल्यक्रियाबारे मेनुकाको परिवार र अस्पतालले केही जानकारी दिएको भने छैन् ।

गण्डकी सरकारविरुद्धको रिटको पेसी २७ गतेलाई तोकियो

काठमाडौं । गण्डकी प्रदेश सरकारविरुद्ध परेको रिटको पेसी आउँदो वैशाख २७ गतेलाई तोकिएको छ ।  प्रदेश सरकारले पाएको विश्वासको मतको विषयलाई लिएर नेपाली कांग्रेस गण्डकी प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले मंगलबार सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए ।   गण्डकीका मुख्यमन्त्री र मन्त्रिपरिषद्को कार्यालय पोखरा समेतलाई विपक्षी बनाइएको छ ।

सहकारीले बैंकभन्दा ठूलो कारोबार गर्दा समस्या आयोः मन्त्री अधिकारी

काठमाडौं । भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सहकारी संस्थाहरुले बैंकभन्दा बढी कारोबार गर्ने प्रतिस्पर्धा गर्दा समस्या सिर्जना भएको बताएका छन् । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले आयोजना गरेको दोस्रो लेखा सुपरीवेक्षण समितिको राष्ट्रिय गोष्ठीमा प्रमुख अतिथिका रुपमा बोल्दै मन्त्री अधिकारीले सहकारीहरु आफ्नो मूल्य मान्यता र सिद्धान्त विपरित अस्वस्थ प्रतिस्पर्धामा लाग्दा समस्या सिर्जना भएको बताएका हुन् ।  जुन उद्देश्यका साथ सहकारी स्थापना भएको थियो त्यसको खिलाप गर्दै काम भइरहेको धारणा उनको छ । ‘सहकारीहरु बैंकभन्दा ठूलो कारोबार गर्ने अभ्यासमा लागे, सहकारीको मूल्य मान्यता विपरित काम गर्न थाले, बचतकर्ताको बचतलाई दुरुपयोग गर्ने अधिकार कसैलाई पनि हुँदैन, सहकारीमा आवद्धहरुले नै समाधान गर्ने हो, सरकारले सल्लाह दिने हो, यो बाटो जाउ भन्ने हो । सरकारले समस्या समाधान गर्ने होइन’, उनले भने । सदस्यले पनि सबै कुराको जिम्मा सञ्चालकलाई दिन नहुने उनको धारणा छ । ‘शिक्षक, डाक्टर तथा वकिल सबै यो क्षेत्रमा छन्, सर्वप्रथम मेरो कर्तव्य के हो बुझ्नुपर्छ, त्यो बुझ्न सकियो भने यो समस्या आउँदैन’, मन्त्री अधिकारीले भने । लेखा सुपरिवेक्षण समितिमा पनि खोट रहेको उनको भनाइ छ । अहिलेको समस्या समाधान गर्नका लागि अहिलेदेखि नै लाग्न आवश्यक रहेको उनले बताए ।  त्यस्तै कार्यक्रममा भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमण्ी दुवाडीले अर्थतन्त्रको एउटा महत्वपूर्ण खम्बामा धमिरा लागेको धारणा राखे । उनले सहकारी अभियान भूमरीमा परेको बताए । ‘सहकारीहरुले के कस्तो काम गरेका छन्, के कस्तो कमी कमजोरी गरेका छन्, आत्म समीक्षा गनेए बेला भएको छ, अर्थतन्त्रमा ठूलो योगदान पुर्याएको क्षेत्र अहिले आफैं ठूलो समस्यामा छ, यसले अर्थतन्त्रमै ठूलो असर पुर्याउन सक्छ, यस विषयमा हामी सबै सजग बन्नुपर्छ,’ उनले भने ।  सदस्यहरुले पनि आफ्नो भूमिका निर्वाह गर्नु पर्ने उनको भनाइ छ। सहकारी क्षेत्रमा लामो समयदेखि समस्या रहेको बताउँदै विगतका अभ्यासहरुबाट पाठ सिकेर पनि अगाडि बढ्नु पर्ने उनको भनाइ छ। ‘अहिले सबैलाई समस्या छैन, आफूले आफूप्रति विश्वास गरौं, यो गम्भीर सवाल हो, अर्थतन्त्रको उतारचढावले पनि असलमा पनि खराब मनसाय सिर्जना हुन सक्छ, संस्थाले राम्रो भनेको कर्जा पनि खराब निस्कन सक्छ, त्यसैले हरेक विषयममा गम्भीर भएर निर्णय लिनुपर्छ, धेरै आन्तरिक समस्या छन्’, सचिव दुवाडीले भने । ‘सहकारीमा मुद्दती निक्षेप राख्ने छैन, तर हामीले डबल पैसा दिन्छौं भनेर पैसा ल्याऔं, ब्याजको लोभमा फसाउँदै गयौं, तीन वर्षमा पैसा डबल दिने संस्था संसारमै कतै भेटिन्छन्?’, उनले प्रश्न गर्दै भने, ‘यो अवस्था आउनुमा दोष कस्को?’ यस्तै, सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरेले सहकारीको खोल ओडेर बदमासी गर्नेलाई कानुनी कारबाही गरेर छाड्ने बताए । उनले सहकारीको प्रभावकारी नियमनका लागि  बैशाख मसान्तभित्रै ऐनको मस्यौदा सार्वजनिक गर्ने बताउँदै अब सहकारी देखाएर गलत गर्नेलाई कारवाही गरेरै छाड्ने बताएका हुन् ।  उनले यस्ता कार्यक्रमले सहकारीको वर्तमान सकसलाई समाधान गर्न भूमिका खेल्ने उनको भनाइ छ । ‘जनताको बचत जे सर्तमा राखेका थियौं, सोही शर्त बमोजिम फिर्ता गर्नु पर्ने हाम्रो दायित्व हो, त्यो दायित्व राज्यको पनि हो, बचत फिर्ता गर्न सकेनौं भने ठूलो समस्या सिर्जना हुन्छ, सहकारीप्रतिको विश्वास टुट्छ, त्यसैले बचत फिर्ताका लागि पहल गर्नुपर्छ,’ उनले भने ।  अहिले सहकारीमा प्रणालीगत समस्या र अर्को गैर प्रणाली समस्या रहेको बताउँदै सहकारी ऐन र मूल्य मान्यताका अनुसार सहकारीमा समस्या नआउनु पर्ने भएपनि कसरी यो समस्या आयो भन्ने तर्फ केन्द्रित भएर अगाडि बढ्नु पर्ने बताए ।  ‘सबैले मम गर्नु पर्ने हुन्छ, नियामक निकायको कमजोरीले पनि भन्ने गरिन्छ, त्यसमा केही सत्यता भए पनि समस्या सिर्जना कसरी भयो भन्ने विषयको मनन् गर्नुपर्छ,’ उनले भने ।  त्यसैगरी राष्ट्रिय सहकारी महासंघका अध्यक्ष ओमदेवी मल्लले सहकारीमा सदस्यले पनि आफ्नो भूमिका निर्वाह नगर्दा पनि सस्या सिर्जना हुनुको एउटा कारण रहेको बताइन् । उनले सहकारीसँगै सहकारीका सदस्यले पनि सहकारप्रति अनरसिप महसुस गर्नु पर्ने धारणा राखिन् । त्यस्तै राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले आफू बिरामी भएर भारत गएको समयमा भागेको भनेर गलत प्रचार भएको गुनासो गरे । उनले आफ्नो महत्वपूर्ण समय सहकारीमै बिताएको र सहकारीको समस्या समाधानका लागि काम गरिरहने धारणा राख्दै आफूमाथि राजनीति भएको पनि जानकारी गराए ।  कार्यक्रममा स्वागत मन्तव्य राख्दै नेफ्स्कुनका वरिष्ठ उपाध्यक्ष दामोदर अधिकारीले यो गोष्ठीले सहकारीको स्वनियमनका लागि प्रभावकारी प्लेटफर्म बन्न सक्ने विश्वास व्यक्त गरे । उनले सहकारी लोकन्तत्रको पाठशाला भएको र लेखासुपरिवेक्षण समिति सहकारीको आँखा रुपमा हेरिएको चित्रण गरे । ‘सहकारीका सदस्यको बचतको सुरक्षाको प्रत्याभूति गराउनका लागि सुपरिवेक्षण समितिको भूमिका महत्वपूर्ण हुन्छ, त्यसका लागि पनि यो गोष्ठी आयोजना गरिएको हो, यो गोष्ठीले सहकारीको लेखा सुपरिवेक्षण समितिलाई थप बलियो बनाउन भूमिका खेल्नेछ’, उनले भने ।  अहिले सहकारी क्षेत्रले समस्या भोगिरहेको बताउँदै यो अवस्थामा सबैले हातेमालो गरेर जुझारुपनका साथ अगाडि बढ्नका लागि पनि यो कार्यक्रमको आयोजना गरिएको हो उनको भनाइ छ । सीप सिकाइलाई खर्चको रुपमा लिन नहुने पनि उनको भनाइ छ। ‘म उपचारका लागि भारत गएको थिएँ । तर, मलाई भागेको भनेर चर्चा भयो, जुन दुखद हो, आफू आवद्ध राजनीतिक दलबाट पनि असहयोग हुने, आफ्नै साथीहरुले गलत अभ्यास गरेर राजनीति गर्ने रहेछन्,’ उनले गुनासो गर्दै भने । उनले वर्तमान सहकारी समस्या समाधानका लागि सबैले पहल गर्नु पर्ने धारणा राखे ।  यस्तै, उद्घाटन सत्रको समापन कार्यक्रममा बोल्दै नेफ्स्कुनका अध्यक्ष चन्द्रप्रसाद ढकालले अहिले पृथक ढंगले यो कार्यक्रमको आयोजना गरेको बताए । उनले यो गोष्ठीले सहकारीको वर्तमान समस्या समाधानका लागि महत्वपूर्ण भूमिका खेल्ने धारणा राखे । यो वर्ष सहकारी अभियानका लागि सुखद् वर्षका रुपमा चिनाउने किसिमले काम गर्ने धारणा राखे ।  

उपेन्द्र यादव सरकारमै रहने

काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल सरकारमै रहने भएको छ । आज बिहान प्रधानमन्त्री प्रचण्डसँग भेटमा उपप्रधान तथा स्वास्थ्य मन्त्री समेत रहेका जसपाका अध्यक्ष यादवले सरकारमा रहने बताएका हुन् । आफूले उपप्रधानमन्त्रीको हैसियतमा प्रधानमन्त्री प्रचण्डसँग भेटेको र देशको समसामयिक तथा अमेरिका भ्रमणलगायतको विषयमा कुराकानी भएको यादवले बताए। सरकारबाट समर्थन फिर्ता लिने नलिने कुरा गर्ने बेला यो नभएको उनले बताए । उनी आजै बिहान प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार गएका थिए।

सभामुखको आह्वानमा शीर्ष नेताको छलफल जारी

काठमाडौँ । सभामुख देवराज घिमिरेसहित प्रमुख दलका शीर्ष नेताहरूको छलफल जारी छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा छलफल सुरु भएको हो ।  संसद्को वर्षे अधिवेशन सुरु हुनुअघि  सहकारी प्रकरणमा सहमतिको प्रयासका लागि सभामुखले शीर्ष नेताहरूसँग छलफल थालेका हुन् । छलफलका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल, ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी छन् ।  सहकारी प्रकरणमा रास्वपा सभापति समेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता सम्बन्धमा छानबिन गर्न संसदीय छानबिन समितिको माग गर्दै प्रमुख विपक्षी कांग्रेसले अघिल्लो अधिवेशनको अन्त्यतिर निरन्तर बैठक अवरोध गरेको थियो ।  कांग्रेसको अवरोधले सदनको कारबाही प्रभावित भएपछि सभामुखले शीर्ष बैठक बोलाएका हुन् । 

संसदीय छानबिन समिति गठनमा समर्थन गर्न सक्दैनौँ : रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन आवश्यक नभएको बताएको छ ।  मंगलबार बिहान सिंहदरबारस्थित आफ्नो संसदीय दलको कार्यालयमा बसेको रास्वपाको संसदीय दलको बैठकले संसदीय छानबिन समिति गठनको औचित्य नभएको निष्कर्ष निकालेको हो। मंगलबार मध्याह्न १२ सभामुखले बोलाएको प्रमुख दलका शीर्ष नेताको बैठकमा संसदीय छानबिन समिति गठनका लागि समर्थन गर्न दिन सक्दैनौँ भनेर पार्टीले कुरा राख्ने निर्णय भएको उनले बताइन्।  बैठकमा बजेट अधिवेशनको प्रभावकारिता र वैशाख १५ मा सम्पन्न उपनिर्वाचनबारे समेत समीक्षा भएको बताइएको छ ।

स्वदेशी उद्योगलाई प्रवर्द्धन गर्न हामी तयार छौँ : मन्त्री भण्डारी

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले स्वदेशी उद्योगलाई प्रवर्द्धन गर्न सरकार तयार रहेको बताएका छन् । नेपाल उद्योग परिसंघले मंगलबार आयोजना गरेको ‘मेक इन नेपाल स्वदेशी समिट २०२४’ मा बोल्दै मन्त्री भण्डारीले सरकारले स्वदेशी उद्योगलाई संरक्षण गर्ने बताए । “स्वदेशी उद्योगलाई प्रवर्द्धन गर्न हामी तयार छौँ । बजेजमा उद्योग क्षेत्रमा के गर्न सकिन्छ भनेर हामी अर्थमन्त्रीसँग छलफल गर्नेछौँ,” मन्त्री भण्डारीले भने, “स्वदेशी सामान गरिद गर्न परिसंघले आग्रह गर्दै आएको छ । त्यसमा सरकार सकारात्मक छ ।” जिडिपीमा उद्योगको योगदान बढाउन सरकार तयार रहेको पनि मन्त्री भण्डारीले बताए । “उद्योग क्षेत्रको योगदान जिडिपीमा घट्दै गएको छ,” मन्त्री भण्डारीले भने, “जिडिपीमा उद्योग क्षेत्रको योगदान बढाउन ठूलो परिवर्तन आवश्यक छ । यसमा सरकारले आवश्यक सहजीकरण गर्नेछ ।” अहिलेका रूग्न उद्योग सरकारले चलाउने हो वा के गर्ने भनेर बहस आवश्यक रहेको उनले बताए । सरकारले उद्योगलाई सहजीकरण गर्ने व्यवस्था हुनुपर्ने उनको भनाइ छ । अहिले कानुन उद्योगमैत्री बन्दै गएको बताए ।

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य मंगलबार तोलामा ८०० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  यसदिन छापावाल सुन एक लाख ३६ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन प्रतितोला एक लाख ३५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।  त्यस्तै, तेजाबी सुन तोलामा एक लाख ३५ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।  चाँदी तोलामा १५ रुपैयाँ बढेर कारोबार भएको छ । आज एक हजार ६७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

एमाले रसुवाको अध्यक्षमा जनार्दन ढकाल सर्वसम्मत

रसुवा । नेकपा एमाले रसुवाको अध्यक्षमा जनार्दन ढकाल सर्वसम्मत चयन भएका छन् ।  सोमबार भएको नवौँ जिल्ला अधिवेशनबाट ढकालको अध्यक्षतामा ८० सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन भएको हो । अध्यक्ष चुनिएका ढकाल यसअघि जिल्ला कमिटीमा सचिवकारुपमा कार्यरत थिए ।  अधिवेशनले जिल्ला कमिटीको उपाध्यक्षमा कैसाङ नुर्पु तामाङ, सचिवमा पेम्बा लामा, उपसचिवमा सुकबहादुर तामाङ र चमेली गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् ।  अधिवेशनको अध्यक्ष केपी शर्मा ओलीले समुद्घाटन गरेका थिए । 

प्रधानमन्त्रीको लोभमा गलत रणनीति लिएको भन्दै माधवको पार्टी भित्रै आलोचना

काठमाडौं । प्रधानमन्त्री हुने लोभमा गलत र कमजोर रणनीति लिएको भन्दै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको दलभित्रै आलोचना भएको छ । सोही कारण पनि सत्तारूढ एमाले र माओवादीले सहमति कार्यान्वयन नगरेको भन्दै ‘उथलपुथल हुन सक्ने’ चेतावनीसमेत दिँदै आएका अध्यक्ष नेपालको हिजो बसेको संसदीय दल बैठकमा बोलि फेरिएको छ ।  यो गठबन्धन कति दिन टिकिरहने हो भनेर सार्वजनिक प्रश्न गर्दै ‘उथलपुथल हुन सक्ने’ चेतावनीसमेत दिँदै आएका नेपालले सोमबार संसदीय दलको बैठकमा – ‘वर्तमान सत्ता समीकरणलाई नै निरन्तर दिने हो’भनेर विचार राखेका हुन् । बैठकमा नेकपा एकीकृत समाजवादीले पार्टी विभाजनसम्बन्धी चलेको हल्लामा सत्यता नभएको र वर्तमान सत्ता गठबन्धनको विकल्प खोज्ने तिर सो पार्टी नरहेको बताइएको छ ।बैठकले सरकारले ल्याउने नीति, कार्यक्रम र बजेट बारे दलको तर्फबाट सरकारलाई रचनात्मक सुझावहरू दिने, संसदको आगामी अधिवेशनमा जनसरोकारका विषयहरू सशक्त रूपमा उठाउने र कानून निर्माण प्रक्रियामा सक्रिय भूमिका निभाउने निर्णय गरेको छ ।

घट्यो पेट्रोलियम पदार्थको खपत

काठमाडौं। बजारमा पेट्रोलियम पदार्थको खपत घटेको छ । नेपाल आयल निगममा गत आवको तुलनामा चालु आवको नौ महिनामा डिजेल चार प्रतिशत, मटितेल ११ प्रतिशत र खाना पकाउने एलपी ग्यास ५.३३ प्रतिशतले कमी आएको हो । पेट्रोलको खपत १.६१ प्रतिशत र हवाई इन्धनको खपत १७.६७ प्रतिशतले बढेको निगमले तथ्याङ्क छ। विद्युतिय गाडि, चुलोको प्रयोग बढेसँगै डिजेल, खाना पकाउने एलपी ग्यास र मटितेलको खपतमा कमी आएको हो ।बजारमा माग कम हुँदा पेट्रोलियम पदार्थको खपतमा कमी आएको हो । इन्धनको खपत कम हुँदा आयातमा समेत कमी आएको छ ।

सरकारलाई दिएको समर्थन जारी राख्ने जसपाको निर्णय

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन जारी राख्ने निर्णय गरेको छ । सोमबार निर्वाचन आयोगबाट राजनीतिक दल दर्ताको प्रमाणपत्र पाएपछि बसेको संसदीय दलको बैठकले वर्तमान सरकारलाई दिएको समर्थन निरन्तर जारी राख्ने निर्णय गरेको हो । आइतबारमात्र तत्कालीन जनता समाजवादी पार्टी नेपालका सात सांसदको समर्थनमा पार्टी विभाजन भएर नयाँ दल दर्ता भएको हो । 

यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८१ साल वैशाख २५ गते मंगलबार सन् २०२४ मे ७ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २९ पैसा र बिक्री दर १३३ रुपैयाँ ८९ पैसा पुगेको छ।युरो एकको खरिद दर १४३ रुपैयाँ ६१ पैसा र बिक्री दर १४४ रुपैयाँ २५ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ६४ पैसा र बिक्री दर १६८ रुपैयाँ ३९ पैसा रहेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५६ पैसा र बिक्री दर ३६ रुपैयाँ ७२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर 

देशका यी भू-भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं । नेपालमा पश्चिमी र स्थानीय वायुका साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। देशको सुदूरपश्चिम, कर्णाली, गण्डकी, वाग्मती र कोसी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही गण्डकीका केही साथै वाग्मती र कोसी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया मौसम सफा रहेको विभागले बताएको छ । विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको साथै बाँकी प्रदेशको थोरै स्थानमा मेघगर्जन रचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।  देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको  छ । राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको साथै बाँकी प्रदेशको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । कोसी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

देशमा आर्थिक मन्दी छैन, व्यावसायिक आत्मबल कमजोर भएको हो  : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले देशमा अहिले आर्थिक मन्दी नरहेको बताएका छन्। लोकान्तर सञ्चार प्रालिको आठौँ वार्षिकोत्सवका अवसरमा आयोजित आर्थिक बहसमा गभर्नर अधिकारीले व्यवसायीहरूमा आत्मबल कमजोर भएको बताएका हुन् । अर्थतन्त्रका सबै सूचकहरू सकारात्मक रहेकाले बताउँदै उनले देशमा बाहिर चर्चामा भएजस्तो मन्दी नरहेको बताए । “अर्थतन्त्रका सूचकहरूले हामी अप्ठेरोमा नरहेको देखाउँछन् । हाम्रो चालु खाता बचतमा छ,” उनले भने, “विदेशी मुद्रा सञ्चिति झन्डै १४ महिना धान्ने छ । बाह्य क्षेत्र पनि कम्फर्ट छ ।” उनले भुइँचालो, कोभिडजस्तो अवस्थामा पनि बैंकिङ क्षेत्रमा धेरै समस्या नआएको बताए । अप्ठेरो अवस्थालाई पनि बैंकिङ क्षेत्रले धान्दै आएको भन्दै गभर्नर अधिकारीले अहिले रिकभरीमा समस्या हुँदा पनि वित्तीय संस्थाहरूको स्वस्थतामा कुनै समस्या नरहेको बताए ।   “अहिले हाम्रो अर्थतन्त्रमा कुनै क्राइसिस छैन,” उनले भने, “कोही उद्योगी र व्यापारीको आत्मविश्वासमा कमी आएको हुन सक्छ । हामीले धेरै अप्ठेरो अवस्था पार गरेर यहाँसम्म आएका हौँ ।” अहिलेको अवस्थामा माग घटेकोले केही दबाब सिर्जनाको अवस्था रहेको बताए ।