अन्नपूर्ण क्षेत्रमा २५ वर्षमा भित्रिए २६ लाख विदेशी पर्यटक

पोखरा । विश्वप्रसिद्ध पदयात्रा गन्तव्य अन्नपूर्ण क्षेत्रमा पछिल्लो २५ वर्षको अवधिमा २६ लाख ३२ हजारभन्दा बढी विदेशी पर्यटकले भ्रमण गरेका छन् ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को तथ्याङ्क अनुसार सन् २००१ देखि २०२५ सम्मको अवधिमा यो सङ्ख्यामा पर्यटक भित्रिएका हुन्। सन् २०२५ मा मात्रै हालसम्मकै सबैभन्दा धेरै २ लाख ९९ हजार ८३१ पर्यटकले यस क्षेत्रको भ्रमण गरेर नयाँ रेकर्ड कायम गरेका छन्।

सन् २००१ मा करिब ६५ हजार पर्यटक आएकोमा यो सङ्ख्या उतारचढावका बीच बढ्दो क्रममा देखिएको छ। सन् २०११ को नेपाल भ्रमण वर्षमा पहिलो पटक पर्यटकको सङ्ख्या १ लाख नाघेको थियो।

सन् २०१५ को भूकम्प र सन् २०२०–२१ को कोरोना महामारीका कारण केही वर्ष पर्यटक आगमनमा भारी गिरावट आए पनि त्यसयताको वृद्धिदर लोभलाग्दो छ। कोरोना महामारीका बेला सन् २०२१ मा सबैभन्दा कम १६ हजार १०५ पर्यटक मात्रै यस क्षेत्रमा पुगेका थिए।

गत वर्ष भित्रिएका पर्यटकमध्ये दक्षिण एसियाली मुलुकका मात्रै १ लाख ७७ हजारभन्दा बढी रहेका छन्। अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, तिलिचो ताल, थोराङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ र मुक्तिनाथ क्षेत्रजस्ता आकर्षक गन्तव्यका कारण यहाँ पर्यटकको आकर्षण बढेको एक्यापका प्रमुख डा. रबिन कडरियाले जानकारी दिए।

प्राकृतिक सौन्दर्य, जैविक विविधता र हिमाली जनजीवनको अवलोकनका लागि अन्नपूर्ण क्षेत्र विदेशी मात्र नभई आन्तरिक पर्यटकका लागि पनि उत्तिकै लोकप्रिय मानिन्छ।

कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १५ स्थानीय तहमा फैलिएको यो क्षेत्र पदयात्राका लागि विश्वकै उत्कृष्ट गन्तव्यमध्ये एक हो। पदयात्राका लागि आवश्यक पूर्वाधार र स्थानीयको आतिथ्यताले गर्दा यस क्षेत्रको पर्यटन व्यवसाय थप फस्टाउँदै गएको छ।

नेपालमा जलपन्छी संख्यामा ठूलो गिरावट, एक वर्षमै ६ हजारभन्दा बढी घटे

काठमाडौं । नेपालमा जलपन्छीको संख्या एक वर्षमै ६ हजारभन्दा बढीले घटेको पाइएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सार्वजनिक गरेको ‘एसियन वाटरबर्ड सेन्सस २०२६’ को नतिजाले देशभर जलपन्छी संख्या उल्लेख्य रूपमा घट्दै गएको देखाएको हो । गत ३ देखि १८ जनवरी २०२६ सम्म देशभरका १८ सिमसार क्षेत्र र तिनअन्तर्गतका ७८ साना क्षेत्रमा गरिएको गणनाअनुसार यस वर्ष नेपालमा ८९ प्रजातिका ९० हजार ६ सय ८८ जलपन्छी मात्र रहेका छन् । यो संख्या सन् २०२५ को तुलनामा ६ हजारभन्दा बढीले कम हो । गत वर्ष ९४ प्रजातिका ९६ हजार ५ सय ६५ जलपन्छी गणनामा परेका थिए । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिस्ट एवं सूचना अधिकारी हरिभद्र आचार्यका अनुसार जलपन्छी संख्यामा आएको गिरावट सिमसार क्षेत्रको बिग्रँदो अवस्था, मानव गतिविधिको बढ्दो चाप, प्रदूषण तथा प्राकृतिक आवास नष्ट हुँदै जानुको संकेत हो । तथ्यांक अनुसार काठमाडौं उपत्यकाभित्र टौदह र बागमती नदी क्षेत्रमा जलपन्छी संख्या घटेको छ । यस वर्ष यहाँ १६ प्रजातिका १ सय ६४ जलपन्छी मात्रै भेटिएका छन् । गत वर्ष यही क्षेत्रमा १८ प्रजातिका २ सय ४ पन्छी गणना गरिएको थियो । तर मनोहराफाँटमा भने जलपन्छी संख्या बढेको छ । यस क्षेत्रमा १४ प्रजातिका ३ सय ७९ जलपन्छी भेटिएका छन् । त्यस्तै पोखरा उपत्यकाका सिमसार क्षेत्रमा ४६ प्रजातिका ३ हजार ७ सय ६४ जलपन्छी गणनामा परेका छन्, जुन अघिल्लो वर्षको तुलनामा बढी हो । रारातालमा यस वर्ष १३ प्रजातिका २ सय ५३ जलपन्छी भेटिएका छन्, जुन गत वर्षभन्दा कम हो । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा ६३ प्रजातिका २५ हजार ३ सय ५८ जलपन्छी गणनामा परेका छन् । यहाँ पनि संख्या घटेको देखिएको छ । त्यस्तै कोशी टप्पु वन्यजन्तु आरक्ष र आसपासमा ५६ प्रजातिका ५ हजार ८ सय ९० जलपन्छी भेटिएका छन् । यस क्षेत्रमा पनि जलपन्छी संख्या घट्दो क्रममा देखिएको छ । यसबीच केही सिमसार क्षेत्रमा भने सकारात्मक संकेत देखिएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ७० प्रजातिका २२ हजार ८ सय १७ जलपन्छी भेटिएका छन्, जहाँ संख्या बढेको छ । पुरैनी र बन्धाताल क्षेत्रमा ५६ प्रजातिका २ हजार ३ सय ५२ जलपन्छी भेटिएका छन्, जुन अघिल्लो वर्षभन्दा बढी हो । त्यस्तै नाखोडी ताल (कैलाली) मा १५ प्रजातिका ३ सय १४, लुम्बिनी क्षेत्रमा ४७ प्रजातिका ४ हजार २ सय ९, राप्ती नदी आसपास ३० प्रजातिका १ हजार १ सय ९४ र धनुषाधाम तथा कमला नदी क्षेत्रमा ३३ प्रजातिका २ हजार ५१ जलपन्छी गणनामा परेका छन् । यी क्षेत्रमा जलपन्छी संख्या बढेको विभागले जनाएको छ । विभागका अनुसार नेपालमा हरेक वर्ष जनवरीको पहिलो शनिबारदेखि जलपन्छी गणना गरिँदै आएको छ । यस गणनाको उद्देश्य बसाइँसराइ गर्ने तथा पानीमा आश्रित चराको अनुगमन, सिमसार क्षेत्रको अवस्था मूल्याङ्कन तथा संरक्षणप्रति आम नागरिकको चेतना र सहभागिता बढाउनु हो ।

संखुवासभामा लडेर एक जनाको मृत्यु

संखुवासभा । संखुवासभाको मादी नगरपालिका –६ घर निर्माणका क्रममा लडेर एक जनाको मृत्यु भएको छ । मादी नगरपालिका –६ लोयास्थित लिला बहादुर भुजेलेको घर निर्माण गर्न क्रममा लडेर  मादी – ५ का ६५ बर्षीय नर बहादुर पौडेलले मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक धन बहादुर राजवंशीले बताए । हिजाे आइतबार काम गर्दागर्दै लडेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

आज पश्चिमी वायुको आंशिक प्रभावले मौसममा फेरबदल हुने

काठमाडौँ । नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभावले मौसममा फेरबदल आएको छ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका केही क्षेत्रमा हुस्सु र कुहिरो लागेको छ भने पहाडी भेगमा बादल देखिन थालेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली भए पनि अन्य स्थानमा भने मौसम सामान्यतया सफा नै रहेको छ। सोमबार देशभरको मौसममा केही परिवर्तन आउने देखिएको छ। सुदूरपश्चिम प्रदेशसहित देशका अन्य पहाडी र हिमाली क्षेत्रमा साधारणतया बादल लाग्ने अनुमान गरिएको छ। तराईका अधिकांश भू–भागमा भने बिहानीपख हुस्सु र कुहिरोको प्रभाव रहनेछ। जसका कारण जनजीवन र यातायातमा सामान्य असर पर्न सक्ने सम्भावना छ। महाशाखाले कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको संकेत गरेको छ। अन्य भू–भागको मौसम मुख्यतया सफा रहने भए पनि चिसोबाट जोगिन आवश्यक सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन्। 

यसरी सञ्चालन हुँदै छ मतदाता शिक्षा कार्यक्रम ?

काठमाडौं । निर्वाचन आयोगले आम मतदातालाई निर्वाचनका बारेमा जानकारी गराउने उद्देश्यका साथ मतदाता शिक्षा कार्यक्रमलाई तीव्र रूपमा अगाडि बढाएको छ । मतदातालाई मताधिकारका सचेत गराउने तथा सही मतसंकेतका लागि प्रशिक्षित गर्ने उद्देश्यले निर्वाचन आयोगले डिजिटल प्लेटफर्ममा निरन्तर सचेतना सामग्री सम्प्रेषण गरिरहेको छ ।  मतदातालाई सही र वास्तविक सूचना प्रदान गर्ने तथा मत बदर हुने अवस्थालाई कम गर्न शिक्षा कार्यक्रम अगाडि बढाइएको आयोगले जनाएको छ । डिजिटल प्लेटफर्ममा भइरहेको सचेतनालाई आयोगले वडास्तरमा पुर्‍याउने लक्ष्यसहित यही माघ १९ गतेदेखि मतदाता शिक्षासम्बन्धी विशेष कार्यक्रम स्वीकृत गरी कार्यान्वयन गरिरहेको छ ।  स्वीकृत कार्यक्रम अनुसार प्रत्येक स्थानीय तहका हरेक वडामा एक/एक स्वयंसेवक परिचालन हुनेछन् ।  सम्बन्धित निर्वाचन कार्यालयबाट छनोट प्रक्रियाअघि बढाउने गरी स्थानीयस्तरमा कार्यरत बाल विकास सहजकर्ता वा मातृशिशु कार्यकर्ता वा स्थानीय स्वास्थ्य स्वयंसेविका वा सामुदायिक अध्ययन केन्द्रका परिचालकमध्येबाट स्वयंसेवक छनोट गर्ने विधि तय गरिएको छ । मतदाता शिक्षा सामग्री उत्पादन र प्रभावकारी परिचालनका लागि सरकारी स्वामित्वमा रहेका सञ्चारमाध्यम तथा विभिन्न क्षेत्रका नियामक निकायसँग पनि सम्झौता सम्पन्न भएको छ ।  राष्ट्रिय समाचार समिति, सार्वजनिक सेवा प्रसारण नेपाल, गोरखापत्र संस्थान, विज्ञापन बोर्ड र सञ्चारमाध्यमको नियामक निकाय प्रेस काउन्सिल नेपालसँग आयोगले यसअघि नै सहमति गरिसकेको छ । प्रभावकारी मतदाता शिक्षाले मतदातालाई मतदान प्रक्रिया, मतसंकेत र मिथ्या सूचना पहिचान गर्ने क्षमता अभिवृद्धि हुने तथा स्वतन्त्र, निष्पक्ष तथा विश्वसनीय निर्वाचन सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्ने आयोगले विश्वास लिएको छ ।  प्रतिनिधिसभाको निर्वाचन फागुन २१ गते हुँदै छ । प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत १६५ सदस्य र समानुपातिक निर्वाचन प्रणालीमार्फत ११० जना निर्वाचित हुने व्यवस्था छ । 

अण्डाको मूल्य घट्याे

चितवन । अण्डाको मूल्यमा भारी गिरावट आएको छ । नेपाल लेयर्स कुखुरापालक संघले सोमबारदेखि लागु हुने गरी नयाँ मूल्य घटाइएको जनाएको छ । नेपालमा उत्पादन बढेको र यही समयमा भारतबाट पनि अण्डा नेपाल भित्रिएपछि मूल्यमा गिरावट आएको संघका अध्यक्ष विनोद पोखरेलले जानकारी दिए ।  अब समर्थन मूल्यअनुसार ठूलो अण्डा प्रतिक्रेट (३० वटाको) ३७५ रुपैयाँ र मिडियम ३३५  रुपैयाँ कायम गरिएको छ । यसअघि माघ २२ गते ठूलो अण्डा प्रतिक्रेट ४३५  रुपैयाँ र मिडियम ४०५  रुपैयाँ रहेको थियो । माघ ११ गते ठूलो अण्डा ४९५  रुपैयाँ र मिडियम ४७५  रुपैयाँ पुगेको थियो ।  गत मंसिरमा अण्डाको मूल्य हालसम्मकै उच्च भएको थियो । तत्कालीन समयमा फार्ममा ठूलो अण्डा ५६५  रुपैयाँ प्रतिक्रेटमा बिक्री भएको थियो । मझौलाको ५५० थियो । संघका अध्यक्ष पोखरेलका अनुसार, भारतीय सेतो अण्डा धेरै भित्रिएको र उत्पादन बढेका कारण यहाँको अण्डाले बजार र मूल्य पाउन नसकेको हो । भारतीय अण्डा रोक्न संघले सरकारी निकायसँग निरन्तर रूपमा माग गरिरहेको उनले जानकारी दिए ।  अण्डाको उत्पादन लागत मूल्य प्रतिगोटा १९ रुपैयाँ १२ पैसा पर्न आउँछ । यस आधारमा लागत मूल्य प्रतिक्रेट ५७४ रुपैयाँ ६ पैसा पर्न आउँछ । लागत मूल्यनजिक पुगेको अवस्थामा पुनः अण्डाको मूल्य घटेपछि किसान निरास बनेका बनेका छन् ।  संघले देशभरका फर्मबाट मूल्य लिएर चितवनलाई आधार मानेर अण्डाको समर्थन मूल्य जारी गर्ने गर्दछ ।

आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३६ पैसा तोकिएको छ ।       युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ०६ पैसा र बिक्रीदर १७१ रुपैयाँ ७७ पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९७ रुपैयाँ ०७ पैसा र बिक्रीदर १९७ रुपैयाँ ८९ पैसा, स्वीस फ्रयांक एकको खरिददर १८६ रुपैयाँ ६१ पैसा र बिक्रीदर १८७ रुपैयाँ ३८ पैसा कायम गरिएको छ ।  अस्ट्रेलियन डलर एकको खरिददर १०१ रुपैयाँ ५७ पैसा र बिक्रीदर १०१ रुपैयाँ ९९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०५ रुपैयाँ ८२ पैसा र बिक्रीदर १०६ रुपैयाँ २६ पैसा, सिंगापुर डलर एकको खरिददर ११३ रुपैयाँ ८८ पैसा र बिक्रीदर ११४ रुपैयाँ ३५ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ २१ पैसा र बिक्रीदर नौ रुपैयाँ २५ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ८६ पैसा र बिक्रीदर २० रुपैयाँ ९५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ६० पैसा र बिक्रीदर ३८ रुपैयाँ ७६ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३९ रुपैयाँ ८८ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६० पैसा र बिक्रीदर चार रुपैयाँ ६१ पैसा, यूएई दिराम एकको खरिददर ३९ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३९ रुपैयाँ ५८ पैसा, मलेसियन रिंगेट एकको खरिददर ३६ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८२ पैसा तोकिएको छ ।  साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ८९ पैसा र बिक्रीदर नौ रुपैयाँ ९३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ०४ पैसा र बिक्रीदर १६ रुपैयाँ ११ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ९० पैसा र बिक्रीदर २२ रुपैयाँ ९९ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ५३ पैसा र बिक्रीदर १८ रुपैयाँ ६० पैसा, कुवेती दिनार एकको खरिददर ४७३ रुपैयाँ ६९ पैसा र बिक्रीदर ४७५ रुपैयाँ ६५ पैसा तोकेको छ ।  बहराइन दिनार एकको खरिददर ३८३ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३८५ रुपैयाँ ५७ पैसा, ओमनी रियाल एकको खरिददर ३७६ रुपैयाँ ०२ र बिक्रीदर ३७७ रुपैयाँ ५८ पैसा रहेको छ ।  भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।              राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । 

केवल ४ रनले हामीले हार ब्यहोर्नुपरे पनि नेपाली खेलाडीको प्रदर्शन प्रशंसनीय छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जारी आईसीसी टी–२० विश्वकपमा इङल्याण्डविरुद्ध चुनौतीपूर्ण लक्ष्य पछ्याउँदै नेपाली राष्ट्रिय क्रिकेट टोलीले एसोसियट राष्ट्रहरूमध्ये उत्कृष्ट प्रदर्शन गरेको बताउनुभएको छ । फेसबुक स्टाटसमार्फत उहाँले भन्नुभयो, “जारी आईसीसी टी–२० विश्वकपमा चुनौतीपूर्ण लक्ष्य पछ्याउँदै बलियो प्रतिद्वन्द्वी इङल्याण्डविरुद्ध हाम्रो गौरवशाली नेपाली राष्ट्रिय क्रिकेट टोलीले एसोसियट राष्ट्र मध्येकै उत्कृष्ट प्रदर्शन गरेको छ ।” उत्कृष्ट प्रदर्शनका लागि सम्पूर्ण खेलाडी, प्रशिक्षक तथा सम्बद्ध सबैलाई धन्यवाद दिँदै उहाँले भन्नुभयो, “उत्कृष्ट प्रदर्शनका लागि सम्पूर्ण खेलाडी, प्रशिक्षक र सम्बद्ध सबैलाई धन्यवाद व्यक्त गर्दछु । केवल ४ रनले हामीले हार ब्यहोर्नुपरे पनि खेलाडीहरूको प्रदर्शन प्रशंसनीय छ ।” आगामी खेलहरूमा नेपाली टोलीलाई सफलताको शुभकामना दिँदै उहाँले भन्नुभयो, “आगामी दिनका खेलहरूमा सफलताको हार्दिक शुभकामना !” वानखेडे स्टेडियममा भएको खेलमा नेपालले इङल्याण्डले दिएको १८५ रनको लक्ष्य पछ्याउँदै १८० रन बनाएर मात्र ४ रनले पराजित भएको थियो ।

जेन्जी आन्दोलनले उठाएका मुद्दा र मागहरूको समर्थन गर्ने पहिलो दल हामी नै हौं : प्रचण्ड

काठमाडौं । संयुक्त जेन्जी आन्दोलनका युवाहरूले नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पार्टी कार्यालय पेरिसडाँडामा पुगेर भेट गरेका छन् । भेटका क्रममा युवाहरूले आगामी निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टीले जेन्जी आन्दोलनका मुद्दाहरूलाई घोषणापत्रमा समावेश गरी अघि बढ्नुपर्ने माग राखेका थिए । साथै उनीहरूले पार्टी तथा आन्दोलनलाई सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । जेन्जी आन्दोलनका युवाहरूले उठाएका माग र विषयहरू सुनेपछि संयोजक प्रचण्डले ती मुद्दाहरू नेपाली कम्युनिष्ट पार्टीकै मुद्दा भएको बताउनुभयो । उहाँले भन्नुभयो, “२३ गते जेन्जी आन्दोलनले उठाएका मुद्दा र मागहरूको समर्थन गर्ने पहिलो दल हामी नै हौं ।”

खोटाङमा बिहे भोज खाएका सय जना बढी बिरामी

खोटाङ। खोटाङमा बिहे भोज खाएका बेहुला र बेहुलीसहित करिब डेढ सय जना बिरामी परेका छन् । जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङमा बिहे भोज खाएका स्थानीय र पाहुना गरी करिब डेढ सय जना बिरामी परेका हुन् । माघ २१ गते विवाह भोज खाएका स्थानीयवासी माघ २२ गते बेलुकादेखि बिरामी पर्न थालेका हुन् । उनीहरुमा ज्वरो आउने, पेट दुख्ने, उल्टी हुने, झाडापखाला लाग्ने समस्या देखिएको जन्तेढुंगा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सूर्यबहादुर कार्कीले बताए। भोज खाएपछि उनीहरुलाई ‘फुडपोइजन’ भएको आशङ्का गरिएको उनको भनाइ छ । सुरुमा केही व्यक्तिहरु बिरामी भएको खबर आएपछि स्वास्थ्यकर्मीले घरघरमा गएर उपचार गरेका थिए । तर पछि गाउँका प्रत्येक घरमा मानिसहरु बिरामी भएपछि दिप्लुङकै निगालावास भञ्ज्याङ दुई घरमा सबैलाई ल्याएर उपचार गराइएको कार्कीले बताए। एम्बुलेन्समार्फत बिरामी ल्याउने र सुधार भएपछि घरमै पुर्याउने काम धमाधम भइरहेको छ । हालसम्म करिब ८० जना बिरामीहरु ठीक भइसकेको उनको भनाइ छ । अन्य बिरामीलाई स्वास्थ्यकर्मीहरुले उपचार गरिरहेका छन् । केही व्यक्ति भने सिकिस्त रहेका छन् । स्लाइनपानी, जीवनजल लगायतका औषधी गाउँपालिकाले व्यवस्थापन गरेको छ । जिल्ला स्वास्थ्य कार्यालयबाट पनि केही मात्रमा औषधीहरु लगिएको छ । ‘फुडपोइजन’का कारण पत्ता लगाउनका लागि प्रदेशबाट ‘स्याम्पल’ सङ्कलन गर्न चिकित्सकको टोली आउदै गरेको स्वास्थ्य शाखा प्रमुख कार्कीले बताए। बिहे भोज खाएर गएका टाढा टाढाका पाहुनाहरु पनि बिरामी भएको खबर आएको छ । नजिकै रहेका पाहुनालाई सोही ठाउँमा ल्याएर उपचार गराइएको छ । आइतबार बिहान पनि नजिकै रहेका गाउँका पाहुना बिरामी भएको खबर आएपछि बिरामी ल्याउन एम्बुलेन्स पठाइएको कार्कीले बताए। 

सुनकोशीको बङ्शिलाघाटमा अस्थायी बेलिब्रिज सञ्चालन

खोटाङ। जिल्लाको दक्षिणी क्षेत्रका बराहपोखरी गाउँपालिका–५ पौवासेरा र उदयपुरको चौदण्डीगढी नगरपालिका–१ चौदण्डीगढीको सिमानामा पर्ने सुनकोशी नदीको बङ्शिलाघाटमा जडान गरिएको अस्थायी बेलिब्रिज शनिबार सञ्चालनमा ल्याइएको छ । गुरुकुल विल्डर्स एन्ड सप्लायर्स प्रालिले जडानको जिम्मा लिएको अस्थायी बेलिब्रिज आगामी २०८३ साल जेठ पहिलो सातासम्म सञ्चालन गर्ने सहमति गरिएको छ । कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयको रु ५७ लाख लगानीमा जडान गरिएको बेलिब्रिजको लम्बाइ ५१।८१ मिटर लामो छ । बेलिब्रिजका लागि आवश्यक सामग्री कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयले रु एक करोड ८७ लाखमा खरिद गरेर पूर्वाधार विकास कार्यालयलाई हस्तान्तरण गरेपछि निर्माण कम्पनीलाई प्रदान गरिएको कार्यालय प्रमुख विनम दाहालले जानकारी दिए । लामो समयदेखि झोलुङ्गे पुलमार्फत आवतजावत गर्दै आएका दक्षिणी क्षेत्रका स्थानीय बासिन्दा ढिलै भए पनि बङ्शिलाघाटमा अस्थायी बेलिब्रिज जडान भएपछि हर्षित भएका छन् । मोटरेबल पक्की पुलसमेत निर्माण भइरहेको बङ्शिलाघाटमा बेलिब्रिज जडानका लागि खोटाङका बराहपोखरी र जन्तेढुङ्गा गाउँपालिका तथा उदयपुरको चौदण्डीगढी नगरपालिकाका जनप्रतिनिधिले सङ्घीय सरकारसँग माग गरेका थिए । खोटाङ र उदयपुर जोड्नेगरी कच्ची सडक निर्माण गरेर यातायात सञ्चालन गरिँदै आएको बङ्शिलाघाटमा अस्थायी बेलिब्रिज जडानका लागि सङ्घीय सरकारले बजेट उपलब्ध नगराएपछि प्रदेश सरकारको लगानीमा जडान गरेर सञ्चालन गरिएको बराहपोखरी गाउँपालिका प्रमुख सालिकराम बञ्जराले जानकारी दिए । दक्षिणी क्षेत्रमा पर्ने तीनवटा स्थानीय तहका नागरिकलाई पूर्वी तराईका विभिन्न जिल्लासँग सिधा यातायात सेवामा जोड्नका लागि सुनकोशीको धाप्लाङघाटमा निर्माणाधीन मोटरेबल पुलको कामले समेत पछिल्लो समय गति लिएको छ । ठेकेदारको लापरबाहीले लामो समयसम्म अलपत्र परेको धाप्लाङघाटको मोटरेबल पुल निर्माणको कामले केही समयअघिबाट गति लिएसँगै नागरिकमा आशा जगाएको छ । धाप्लाङघाट पुल निर्माण ४३ प्रतिशत सकिएको सडक विभाग पुल सेक्टर धरानका इन्जिनियर नवीन साहले जानकारी दिए । उनका अनुसार धाप्लाङघाटमा वेल फाउन्डेसन प्रविधिको पुल निर्माण सुरु गरिएको थियो । त्यो सम्भव नभएपछि गत वर्ष डिजाइन परिवर्तन गरेर पाइल फाउन्डेसन प्रविधिको पुल निर्माण सुरु गरिएको छ । स्ल्याब ढलानका लागि पानी सुकाउने काम भइरहेको छ । पानी चाँडै सुकाउन सके यो वर्ष थप दुईवटा स्ल्याब ढलान सकिन्छ । सङ्घीय सरकारको रु २१ करोड ६५ लाख लगानीमा धाप्लाङघाटमा २०० मिटर लामो मोटरेबल पक्की पुल निर्माणका लागि २०७३ साल असार ३० गते निर्माण कम्पनीसँग सम्झौता भएको थियो । करिब नौ वर्षदेखि निर्माणधीन अवस्थामा रहेको धाप्लाङघाटको मोटरेबल पक्की पुल अलपत्र हुँदा दक्षिणी क्षेत्रका नागरिक निराश थिए । पछिल्लोपटक थपिएको म्यादअनुसार २०८४ साल जेठ १९ गतेसम्ममा धाप्लाङघाटको पुल निर्माण सम्पन्न गर्नुपर्छ । विसं २०८३ चैतभित्रमा धाप्लाङघाटबाट सवारीसाधन वारपार गराउनेगरी निर्माणको कामलाई तीव्रता दिइएको निर्माण कम्पनी रसुवा कन्स्ट्रक्सन प्रालिले जनाएको छ । सुनकोशीकै फोक्सिङटारमा जडान गरिएको अस्थायी बेलिब्रिज यसअघि नै सञ्चालनमा ल्याइएको छ । खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने सुनकोशीको फोक्सिङटारमा मोटरेबल पक्की पुल बाढीले बगाएपछि अस्थायी बेलिब्रिज जडान गरेर सञ्चालनमा ल्याइएको हो । फोक्सिङटारको अस्थायी बेलिब्रिज सञ्चालनमा आएसँगै घुर्मी–कटारी हुँदै घुमाउरो मार्ग प्रयोग गर्नुपर्ने बाध्यता हटेको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले जानकारी दिए । निर्माण कम्पनी एमएएस आर्यन कन्स्ट्रक्सन मल्टी पर्पोज प्रालि कटारी–३ उदयपुरले मूल्य अभिवृद्धि करसहित रु ९६ लाख ७७ हजार ९३७ मा ठेक्का सम्झौता गरेर बेलिब्रिज जडान गरेको हो । गत वर्ष असोज १२ गतेको अविरल वर्षाका कारण सुनकोशी नदीमा आएको भीषण बाढीले फोक्सिन्टारको १२० मिटर लामो मोटरेबल पक्की पुल बगाएको थियो । फोक्सिङटारको मोटरेबल पक्की पुल बाढीले बगाएपछि दिक्तेल–गाईघाट सिधा यातायात पूर्ण रूपमा विच्छेद भएको थियो । करिब १३ वर्ष लगाएर निर्माण भएको आर्क डिजाइनको पुल बाढीले बगाएपछि गत वर्षको पुसमा जडान गरिएको बेलिब्रिज वर्षायाम सुरु भएसँगै निकालिएको थियो । बेलिब्रिज निकालिएसँगै यातायात सेवा विच्छेद भएपछि पूर्वी तराई आवतजावत गर्ने यात्री झोलुङ्गे पुलमार्फत गन्तव्यमा पुग्ने गरेका थिए ।

गिद्ध संरक्षणका लागि विषाक्त औषधि प्रयोगमा प्रतिबन्ध लगाउनुपर्नेमा जोड

नवलपरासी । गिद्ध संरक्षणका लागि पशु उपचारमा प्रयोग हुने विषाक्त औषधिको प्रयोग तत्काल प्रतिबन्ध गर्नुपर्नेमा सरोकार भएकाहरूले जोड दिएका छन् । विषाक्त औषधिको बढ्दो प्रयोगका कारण गिद्ध संरक्षणमा गम्भीर चुनौती थपिएको भन्दै सरोकार भएकाहरूले चिन्ता व्यक्त गरेका हुन् । बर्ड कन्जर्भेसन नेपालको आयोजना, जटायु रेष्टुरेन्टको सहआयोजना, भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय नवलपुरको सहकार्यमा आयोजित ‘गिद्ध सुरक्षा तथा विषाक्त औषधि’सम्बन्धी कार्यशालामा पशु उपचारका क्रममा गिद्धका लागि हानिकारक औषधि प्रयोग नगर्न सरोकार भएकाहरूले आग्रह गरेका हुन् । भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)की वरिष्ठ पशु विकास अधिकृत डा शर्मिला कुमालले पशु उपचारमा दुखाइ कम गर्ने औषधि एसिक्लोफेनक, केटोप्रोफेनक र निमिस्युलाइट गिद्धका लागि अत्यन्त हानिकारक रहेका जानकारी दिइन् । ती औषधि प्रयोग गरिएका पशु मरेपछि गिद्धले आहाराका रूपमा सेवन गर्दा त्यसको असरले गिद्धको मृत्यु हुने गरेको अध्ययनले देखाएको उनले बताइने । “ती औषधिको विकल्पका रूपमा ‘मेलोक्सिकम’ पशुधन उपचारका लागि डाइक्लोफेनेक जत्तिकै प्रभावकारी हुनुका साथै गिद्धका लागि सुरक्षित मानिएको छ”, डा कुमालले भनिन्, “गिद्ध संरक्षणका दृष्टिले हानिकारक औषधिको प्रयोग रोक्दै सुरक्षित विकल्पको प्रयोग गर्न आवश्यक रहेको छ ।” नेपालमा हाल करिब २० हजार गिद्ध रहेका अनुमान गरिएको बर्ड कन्जर्भेसन नेपालका परियोजना अधिकृत भूपाल नेपालीले बताए । उनका अनुसार देशभर ८०४ गिद्धका गुँड पहिचान भएका छन् । “सन् २०२४ र सन् २०२५ को तथ्याङ्कअनुसार कपिलवस्तु जिल्लामा १७४ र नवलरपासी (बर्दघाट सुस्तापूर्व) मा १५७ गिद्धका गुँड फेला परेका छन्”, उनले भने, “नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा सन् २०२६ को पहिलो चरणमा गरिएको सर्वेक्षणमा १४५ गिद्धका गुँड देखिएका छन् ।” नेपालमा पाइने नौ प्रजातिका गिद्धमध्ये सुन गिद्ध, डङ्गर गिद्ध र सानो खैरो गिद्ध अतिसङ्कटापन्न सूचीमा रहेका छन् । तीमध्ये आठ प्रजातिका गिद्ध नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा पाइने जटायु रेष्टुरेन्टका अध्यक्ष डिबी चौधरीले जानकारी दिए । गिद्ध संरक्षणका लागि विसं २०६३ मा जटायु रेष्टुरेन्ट स्थापना भएपछि गिद्धको सङ्ख्या तथा गुँड वृद्धि भएको भए पनि पछिल्लो समय विषाक्त औषधि तथा विषादीको प्रयोगका कारण संरक्षणमा चुनौती बढ्दै गएको जटायु रेष्टुरेन्टका अध्यक्ष चौधरीले गुनासो गरे । उनका अनुसार किसानले जीवजन्तु मार्न प्रयोग गर्ने विषादीका कारण गिद्धको स्वास्थ्यमा प्रत्यक्ष असर परेको छ । “विषादी प्रयोगका कारण मरेका पशुको मासु गिद्धले सेवन गर्दा मिर्गौलामा समस्या देखिएर मृत्यु हुने गरेको अध्ययनले देखाएका छन्”, उनले भने, “नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–३ र ११ मा विषादी लागेको मासु सेवन गर्दा २० वटा गिद्ध मरेका घटनासमेत उजागर भएका छन् ।” गिद्धको स्वास्थ्यमा असर पार्ने औषधिको बिक्री वितरणमा प्रतिबन्ध लगाउन तथा पशु उपचारमा सुरक्षित विकल्प औषधि प्रयोग सुनिश्चित गर्न सम्बन्धित निकायसँग समन्वय गरी पहल सुरु गरिएको चौधरीले बताए । कार्यशालामा गिद्ध संरक्षणका लागि विषाक्त औषधि प्रयोग गरिएका पशु चौपाया चराचुरुङ्गीलाई नखुवाउने, बिरामी तथा उपचारबाट निको नभएका पशु जटायु रेस्टुरेन्टमा नपुर्‍याउने, विषादी तथा पेष्टिसाइडको बिक्रीवितरण प्राविधिकको निगरानीमा गराउने तथा जीवजन्तु मार्न यस्ता विषादीको प्रयोग निरुत्साहित गर्नुपर्ने विषयमा छलफल गरिएको थियो ।

सुक्खा माैसमका कारण काठमाडौंको वायु प्रदूषण अस्वस्थ तहमा

काठमाडौं । काठमाडौं उपत्यकाको वायु प्रदूषण आइतबार (माघ २५) अस्वस्थ तहमा पुगेको छ । हावाको गुणस्तर मापन गर्ने एयर क्वालिटी इन्डेक्सका अनुसार, यस दिन मध्याह्नसम्म काठमाडौं उपत्यकाको वायु प्रदूषण १७५ एक्यूआई पुगेको छ । आज काठमाडौं विश्वका सबैभन्दा प्रदूषित सहरमध्ये सातौँ स्थानमा सूचीकृत भएको छ । उक्त समयमा विश्वकै सबैभन्दा प्रदूषित सहर इजिप्टको कायरो छ । त्यहाँ वायु प्रदूषण २७३ एक्यूआई मापन गरिएको छ । वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीका अनुसार, मौसम सुक्खा रहनु, हावा नचल्नु, उद्योग–कलकारखानाको सञ्चालन तथा तीव्र विकास निर्माणका कारण वायु प्रदूषण बढेको हो । “औद्योगिक गतिविधिबाट निस्कने धुवाँधुलो, सीमापार (क्रस बोर्डर) प्रदूषण र छिमेकी मुलुक भारतबाट आउने प्रदूषणले पनि प्रभाव पारेको छ,” उनले भने, “पानी नपरेसम्म प्रदूषण अझ बढ्ने सम्भावना छ ।” सुवेदीले वातावरणमैत्री विकासमा जोड दिन सरोकारवाला निकायलाई सुझाव दिइएको जानकारी दिए । विपद् व्यवस्थापनविद् डा. धर्मराज उप्रेतीका अनुसार, ० देखि ५० एक्यूआई राम्रो (हरियो संकेत), ५१ देखि १०० सम्म सचेत रहनुपर्ने (पहेँलो संकेत) मानिन्छ । यस्तै, १०१ देखि १५० एक्यूआई अस्वस्थ मानिन्छ, जसले श्वासप्रश्वास र मुटुरोगी बिरामीलाई असर गर्छ । १५१ देखि २०० एक्यूआई सबैका निम्ति अस्वस्थ, २०१ देखि ३०० एक्यूआई धेरै अस्वस्थ र ३०० भन्दा माथि पुगेको अवस्था अत्यन्तै खतरनाक मानिन्छ । नेपाल सरकारले एक्यूआई ३०० भन्दा बढी पुगेको अवस्थालाई विपद् मान्ने व्यवस्था छ । यस्तो विपद् न्यूनीकरणका निम्ति फोहोर बाल्ने कार्य रोक्ने, सडक सफाइका लागि ब्रुमर तथा भ्याकुमको प्रयोग बढाउने, बालबालिका, ज्येष्ठ नागरिक र बिरामीलाई विशेष सावधानी अपनाउन सार्वजनिक सूचना जारी गर्ने व्यवस्था कार्ययोजनामा उल्लेख छ । राष्ट्रिय वातावरण नीति, २०७६ अनुसार वायु प्रदूषण न्यूनीकरणका निम्ति जल, वायु, माटो, ध्वनि, विद्युत् चुम्बकीय तरंग, रेडियोधर्मी विकिरण तथा जोखिमपूर्ण रासायनिक प्रदूषण रोकथामसम्बन्धी राष्ट्रिय मापदण्ड तयार गरी कार्यान्वयन गर्ने सरकारी रणनीति छ ।  साथै, प्रमुख सहर, औद्योगिक क्षेत्र तथा प्रदूषणको जोखिम रहेका स्थानमा गुणस्तर मापन केन्द्र स्थापना गरी वायु, जल र ध्वनि गुणस्तरको नक्सांकन गरिने उल्लेख छ । 

निर्वाचनका लागि निर्वाचन आयोगले ९ प्रकारका निर्वाचन सामग्री केन्द्रबाटै पठाउने

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले ९ प्रकारका निर्वाचन सामग्री केन्द्रबाटै पठाउने भएको छ ।  आयोगले ९ प्रकारका निर्वाचन सामग्री केन्द्रबाट पठाउने र ३७ प्रकारका निर्वाचन सामग्री जिल्लामा व्यवस्थापन गर्ने गरी तयारी गरेको सहायक प्रवक्ता प्रकाश न्यौपानेले राससलाई जानकारी दिए । आयोगबाट प्रत्येक निर्वाचन क्षेत्रमा पठाइने सामग्रीमा तालिम र मतदान केन्द्रका लागि सुरक्षणशील, छेकाबारा, नउड्ने मसीको मार्कर, स्ट्याम्प प्याड, प्याडको मसी, दुई प्रकारका स्वस्तिक छाप र मतपेटिका स्टीकर रहेका उनले उल्लेख गरे । यसैगरी जिल्लामा व्यवस्थापन गरिने निर्वाचन सामग्रीमा सिलिङ बक्स, अनुसूची फारम, पुसपिन, डायरी (पोल बुकको काम गर्ने), मार्कर पेन, स्केल, स्टापलर मेसिन, स्टाप्लर पिन, स्कीसर्स, ग्लुस्टिक, सोसर (काउन्टिङ डम्पर), पञ्चिङ मेसिन, परिचयपत्र होल्डर, भित्री र बाहिरी कार्ड, पुरुष र महिला कार्ड, मतदाता क्रमसङ्ख्या, मतदान केन्द्र कार्ड, प्लास्टिक झोला, बोरा, सुतली र प्याकिङ टेप रहेका छन् । त्यस्तै नेपाली कागजको खाम (१० बाइ १५ इन्च), नेपाली खाम कपडा भएको (निबिदा मतपत्र राख्ने), सेतो कागज (ए४) ३० पाना, रेकर्ड फाइल (फित्तासहित), धागो, सियो, खाप्सियो, फलाटिन कपडा, सलाइ, कोरा कपडा (दुई मिटरको टुक्रा), जेल पेन कालो र रातो एवं चार वटाको मैनबत्ती प्याकेट पनि जिल्लामै व्यवस्थापन गरिने निर्वाचन सामग्रीका रुपमा सूचीकृत गरिएको आयोगले जनाएको छ ।

दुई जिल्लामा सवारी दुर्घटनामा दुईजनाको मृत्यु

काठमाडौं । झापा र मोरङमा सवारी दुर्घटना हुँद दुईजनाको मृत्यु भएको छ ।  झापा अर्जुनधारा नगरपालिका-७ बिरिङ खोलामा प्र १ ०१ ००१ त ९०१० नम्बरको ट्याक्टरबाट खसेर ट्याक्टरका सहचालक सोही नगरपालिका-३ बस्ने हर्क श्रेठको छोरा १६ वर्षीय सरोज श्रेष्ठको आइतबार बिहान मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका उनको शंखर अस्पताल शनिश्चरेमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  यस्तै, मोरङ, रंगेली नगरपालिका-२ चेकापुलस्थित सडकमा रंगेलीबाट विराटनगरतर्फ जाँदै गरेको को ३० प ३९१५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार दिउँसो दुर्घटना हुँदा चालक हाल नाम, थर र वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरूषको मृत्यु भएको छ ।  दुर्घटनामा गम्भीर घाइते भएका उनको रंगेली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

विश्वकप क्रिकेट : नेपाल सामु इग्ल्याण्डको १८५ रनको लक्ष्य

काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले इंग्ल्यान्डविरुद्ध १८५ रनको विजयी लक्ष्य पाएको छ । वानखेडे स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा ७ विकेट गुमाएर १८४ रन बनायो । इंग्ल्यान्डका लागि ज्याकब बेथेलले ३५ बलमा ५५ रन (४ चौका, ४ छक्का) र कप्तान ह्यारी ब्रूकले ३२ बलमा ५३ रन (४ चौका, ३ छक्का) बनाए । विल ज्याक्सले १८ बलमा अविजित ३९ रन (१ चौका, ४ छक्का) को आक्रामक इनिङ खेले । नेपालका लागि दीपेन्द्र सिंह ऐरी र नन्दन यादवले २–२ विकेट लिए । डेब्युट्यान्ट शेर मल्लले ओपनर फिल साल्टलाई पहिलो बलमै आउट गर्दै १ विकेट लिए भने सन्दीप लामिछानेले पनि १ विकेट हात पारे । बेथेल र ब्रूकले चौथो विकेटका लागि ७१ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । शेर मल्ल, आरिफ शेख, लोकेश बम र नन्दन यादवले यस खेलबाट टी–२० विश्वकपमा डेब्यू गरेका छन् । सोमपाल कामी भने बेन्चमा रहे ।