गण्डकीमा एमालेका २ मन्त्री थप

पोखरा । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले आज मन्त्रिमण्डल विस्तार गरेका छन्। विश्वासको मत लिएको भोलिपल्टै उनले मन्त्रिमण्डल विस्तार गरेका हुन्।

मुख्यमन्त्री अधिकारीले एमालेबाट दुई मन्त्री थपेका हुन्। अधिकारीले यसअघि आफू पहिलोपटक मुख्यमन्त्री बन्दा मन्त्री बनेका दुवैजनालाई दोहोर्‍याएका छन् । कास्कीका वेदबहादुर गुरुङ र स्याङ्जाकी सीता सुन्दास मन्त्री नियुक्त भएका हुन्।

गुरुङले ऊर्जा र सुन्दासले सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका छन् । गुरुङ यसअघि कृषि र सुन्दास अर्थमन्त्री थिइन्।

हिरासतमुक्त भए नौकुण्ड गाउँपालिकाका अध्यक्ष नुर्बु स्याङ्बो घले

काठमाडौँ । मानव बेचबिखनमा संलग्न रहेको आरोपमा पक्राउ परेका रसुवाको नौकुण्ड गाउँपालिकाका अध्यक्ष नुर्बु स्याङ्बो घले हिरासतमुक्त भएका छन् । जिल्ला सरकारी वकिलको कार्यालयले आवश्यक परेका बेला उपस्थित हुने गरी हाजिरी जमानतमा छाड्ने निर्णय गरेपछि हिरासतबाट मुक्त गरेको नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरो स्रोतले जानकारी दिएको छ । मानव बेचबिखनको आरोपमा फरार रहेकाहरूलाई खोजी गर्ने क्रममा उनलाई ब्युरोले २८ चैतमा पक्राउ गरेको थियो । स्रोतका अनुसार, घलेविरुद्ध २०७३ सालमै मुद्दा दर्ता भइसकेको थियो ।

कतार एयरवेजको जहाजमा धुवाँ देखियो

काठमाडौं । काठमाडौंबाट कतारका लागि उड्न लागेको कतार एयरवेजको जहाजमा धुवाँ देखिएको छ । विमानको पुच्छरमा धुवाँ देखिएको त्रिभुवन विमानस्थल नागरिक उड्ययन कार्यालयका प्रवक्ता सुवास झाले जानकारी दिए ।  उड्नका लागी पुसब्याक गर्दा धुवाँ देखिएपछि चेकजाँच गरिएको उनले बताए । उनका अनुसार जहाजमा अरू समस्या केही छैन, जहाज दोहा उड्ने तयारीमा छ ।

एकीकृत समाजवादी संसदीय दलको बैठक जारी

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीको संसदीय दलको बैठक सुरु भएको छ । बैठक नयाँ बानेश्वरस्थित संसद भवनको सकर हलमा सुरु भएको हो।    बैठकमा संसद्को वर्षे अधिवेशनमा पार्टीका सांसदले खेल्ने भूमिकाका बारेमा छलफल हुने बताइएको छ। संसद्को वर्षे अधिवेशन वैशाख २८ गतेबाट सुरु हुँदैछ । 

पञ्चा सिंहसहित ५ जनाविरुद्ध मुद्दा चलाउन प्रमाण नै छैन

काठमाडौँ । नेकपा माओवादी केन्द्रको भातृ सङ्गठन अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहविरुद्ध मुद्दा नचल्ने भएको छ।जिल्ला सरकारी वकिलको कार्यालय, सुर्खेतले उनीसहित ५ जनाविरुद्ध मुद्दा चलाउन पर्याप्त प्रमाण नभएपछि मुद्दा नचलाउने निर्णय गरेको हो। निर्णय अनुसार सिंहसहित गुराँस भन्ने बालकृष्ण सिंह, टङ्कबहादुर सिंह, सुवास भन्ने वीरबहादुर मल्ल, अशोक भन्ने अलि कार्कीविरुद्ध मुद्दा नचल्ने भएको हो। अनुसन्धानको क्रममा बुझिएको प्रमाणका आधारमा मुद्दा चलाउनुपर्ने आधारहरु नदेखिएकाले यो निर्णय गरिएको वकिलको कार्यालयको भनाई छ।साथै मृतकका परिवारले समेत तात्कालिन समयमा आफुहरुले मुद्धा दायर गर्दा पञ्चा सिंहलाई पनि घटनामा संलग्न भनि मुछेको भएपनि सो घटनामा उनको संलग्नता नरहेको बयान दिएका छन् । कालिकोटमा २६ फागुन २०६५ मा राजबहादुर मल्लको खुकुरी प्रहार गरी हत्या भएको थियो। यो प्रकरणमा १५ वर्षपछि अखिल क्रान्तिकारीकी अध्यक्ष सिंहसहित ६ जनालाई पक्राउ गर्न जिल्ला अदालत सुर्खेतले पक्राउ पूर्जी जारी गरेको थियो।

काठमाडौँमा पम्पबाट पानी तान्दा करेन्ट लागेर युवतीको मृत्यु

काठमाडौँ । काठमाडौँको शंखरापुर नगरपालिका-६ साँखुमा पम्पबाट पानी तान्ने क्रममा करेन्ट लागेर एक युवतीको मृत्यु भएको छ ।काभ्रे मण्डनदेउपुर नगरपालिका-६ सिपाघाट बस्ने ३० वर्षीया मिनिषा कोइरालाको सख्वाँ डेरीमा करेन्ट लागेर आइतबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।  विद्युत् सट भई अचानक करेन्ट लाग्दा गम्भीर घाइते भएकी उनको सलम्बुटारस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

निहारा र अदितिलाई ‘किड्स क्यापिटल नेपाल’ को उपाधि

काठमाडौं । बालबालिकाको प्रतिभा तथा सौन्दर्य प्रदर्शन गर्ने प्रतियोगिता ‘किड्स क्यापिटल नेपाल’ को छैटौं संस्करणको उपाधि निहारा तामाङ तथा अदिती बाह्रकोटी  (जुनियरतर्फ) ले जितेका छन् । टच इन्टरटेन्मेन्ट तथा स्पर्श फिल्म्स प्रालि, पेजेन्ट नेपाल इन्टरनेशनल तथा ब्राइट इभेन्ट म्यानेज्मेन्टले संयुक्त रुपमा आयोजना गर्न लागेको यो प्रतियोगितामा डेनिषा श्रेष्ठले फस्ट रनर्स अप, आर्या कोइरालाले सेकेण्ड रनर्सअप, दिबिया कोङ्ग्रेनले थर्ड रनर्सअप तथा छिरिङ लामाले फोर्थ रनर्सअपको उपाधि जितेका छन् । प्रतियोगितामा आर्या कोइरालाले मोस्ट पपुलर अवार्ड जितिन् भने आईएमई पे पब्लिक च्वाइसको अवार्ड बालिकातर्फ दिबिया कोङ्ग्रेन तथा बालकतर्फ स्पर्श मिश्र गराचले जिते । प्रतियोगितामा स्पर्श मिश्र गराच तथा मिरन श्रेष्टले लिटिल स्टारको उपाधि समेत जिते भने मिर्जन श्रेष्ठले लिटिल प्रिन्स तथा श्रीया कटुवालले लिटिल प्रिन्सेसको उपाधि जितिन् । प्रतियोगिताका अन्य शीर्षक उपाधितर्फ मिर्जन श्रेष्ठले मोस्ट क्यूट, आर्या कोइरालाले बेस्ट वाक, डेनिषा श्रेष्ठले बेस्ट स्माइल, अदिति बाह्रकोटीले बेस्ट स्पिच, मिरन श्रेष्ठले बेस्ट सिंगर, छिरिङ लामाले मोस्ट स्मार्ट, स्पर्श मिश्र गराचले मोस्ट हेण्डसम, दिबिया कोङ्ग्रेनले मोसट इलिगेन्ट, निहारा तामाङले मोस्ट ट्यालेन्टेड, श्रीया कटुवालले मोस्ट फोटोजेनिक तथा डेनिशा श्रेष्ठले फेसबुक स्टारको उपाधि जित्न सफल भए । प्रतियोगितामा कलाकार गोपाल ढकाल, शिशिर खाती, सामाजिक अभियन्ता सबित बज्राचार्य, डिजाइनर ज्वालाराज पोखरेल, कलाकार अनुपम श्रेष्ठ तथा मोडल अपेक्षा शेरचन निर्णायकको रुपमा रहेका थिए ।

आइपिडिएफ र सिल्क रोड बीच सम्झौता पत्रमा हस्ताक्षर

काठमाडौं । नेपालमा स्थापना भएर अन्तर्राष्ट्रिय परियोजनाको विकासका लागि कार्यक्रम गर्दै आएको संस्था इन्टरनेसनल प्रोजेक्ट डेभेलपमेन्ट फोरम (आइपिडिएफ) र सिल्क रोड अन्तर्राष्ट्रिय सहयोग संगठन, डुनहुवाङ क्षेत्रीय आर्थिक र औद्योगिक विकासका लागि अन्तर्राष्ट्रिय अनुसन्धान संस्थाबीच ९ वटा मुख्य परियोजनाको अनुसन्धान तथा विकास गर्नेनिर्माण गर्ने सम्झौता सप्पन्न भएको छ । दुई संस्था विच ९ वटा महत्वपूर्ण परियोजनाको खोज, अनुसन्धान, लगानी सम्मेलन तथा परियोजना विकास गर्ने उद्देश्यले सम्झौता गरिएको हो । नयाँ सम्झौतापत्र अनुसार आपसी समझदारी तथा सहयोगमा दुई संस्था बीच शैक्षिक अनुसन्धान, नवप्रवर्तन, औद्योगिकीकरण, पर्यटन पुर्वाधार विकास, यातायात पुर्वाधार विकास, लगानी र ब्यापारको प्रवर्धन, सांस्कृतिक आदानप्रदान, चुनौती र संभावनामा सहकार्य, आर्थिक सहायता तथा साजेदारीका लागि परियोजना हरुको विकास गरिनेछ । कार्यक्रमलाई सम्वोधन गर्दै बुढानिलकण्ठ नगरपालिका नगरप्रमुख मिठाराम अधिकारीले इतिहास देखि चल्दै आएको नेपाल र चीन बीचको दौत्य सम्वन्धलाई नयाँ स्वरुपबाट परिभाषित गरी सहकार्यको यात्रा अगाडि बढाउनु पर्ने बिचार व्यक्त गरेका थिए।  बागमती  प्रदेश सांसद जयराम थापाले समग्रतामा नेपाल र चीनबीचको सांस्कृतिक सहकार्य र विकासमा सहकार्य गर्न आफु इच्छुक रहेको विचार ब्यक्त गरे। कार्यक्रममा  प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम अर्यालले मुख्यत उद्यमशीलता विकास, फोहोरमैला ब्यवस्थापन र पर्यटन विकासमा सहकार्य गरेर कार्य गर्ने बिषयमा जोड दिए । चिनियाँ प्रतिनिधिले आईपिडिएफका प्रतिनिधिहरुसंग सल्लाह तथा बुढानिलकण्ठ नगरपालिका र  चिनको १० वटा  नगरपालिका संग भगेनी सम्बन्ध कायम गरि अध्यन अबलोकन सहित एक बिज्ञ टोलि छिट्टै चिनको निमन्त्रणामा भ्रमण गर्ने गरि तय गरिएको आइपिडिएफका केन्द्रीय अध्यक्ष  मुकुन्द ढुंगानाले जानकारी गराए ।  बुढानिलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारी, बागमती प्रदेश सांसद जयराम थापा, बुनपा प्रमुख प्रशाशकीय अधिकृत तुल्सीराम अर्यालको सहजीकरणमा आइपिडिएफ र सिल्क रोड अन्तर्राष्ट्रिय सहयोग संगठन, डुनहुवाङ क्षेत्रीय आर्थिक र औद्योगिक विकासका लागि अन्तर्राष्ट्रिय अनुसन्धान संस्थाबीच सम्झौता सम्पन्न गरिएको हो  । परियोजनाको विकास र विस्तारमा बुढानिलकण्ठ नगरपालिकाले सहजीकरण र सहयोग गर्ने प्रतिवद्धता जनाइएको थियो । आइपिडिएफका केन्द्रीय अध्यक्ष् मुकुन्द ढुंगाना , महासचिव कमल कार्की, सदस्य सचिव द्रोण पराजुली र सिल्क रोड अन्तर्राष्ट्रिय सहयोग संगठन, डुनहुवाङ क्षेत्रीय आर्थिक र औद्योगिक विकासका लागि अन्तर्राष्ट्रिय अनुसन्धान संस्थाका तर्फबाट महासचिव होङ होङले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत आज संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै छ । बैठक बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्ने छ ।  बैठकमा नेपालको परराष्ट्र नीति, परराष्ट्र मन्त्रालय तथा मन्त्रालय अन्तर्गतका निकायबाट भएका कामकार्बाही, आर्थिक कुटनीति, प्रमुख सवाल, समस्याहरू र भावी कार्ययोजनाका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।

व्यवस्तताका बाबजुत हुम्ला र मुगुका  ‘छोरी’हरूसँग फुटबल खेल्दै ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अभिभावकत्व ग्रहण गरेका हुम्ला र मुगुका बालिकाहरु ओली निवास बालकोट आउजाउ गरिरहन्छन् ।  काठमाडौंमै पठनपाठनको व्यवस्था गरिएका उनीहरुलाई ओलीले ‘छोरी’ सम्बोधन गर्छन् भने व्यवस्त समयका बाजजुत उनीहरुलाई समय दिइरहन्छन् ।  यस्तैमा मुगु र हुम्लाका छोरीहरु आइतबार पनि उनलाई भेट्न बालकोट पुगेका थिए ।  ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत हुम्ला र मुगुका छोरीहरुसँग भेट भएको भन्दै एक तस्बिर प्रकाशित गरेका छन् । ओलीका अनुसार ती बालिकाहरु कोही कक्षा ६ मा, कोही ५ मा र कोही १ मा पढ्छन्।   ओलीले उनीहरूसँग एकछिन् घरकै आँगनमा फूटबल खेलिएको भन्दै रमाइलोसँग दिन बितेको जानकारी गराएका छन् । 

आजको मौसम : यी स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ ।  हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार कोशी, गण्डकी र कर्णाली प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली भई बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको  छ। भोलि मंगलबार देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको  छ। आज सूर्योदय बिहान ५ बजेर २० मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ४१ मिनेटमा हुनेछ ।

डीबी क्षेत्री माओवादी केन्द्रीय सदस्यमा मनोनीत

काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्यमा दवर बहादुर क्षेत्री (डीबी क्षेत्री) मनोनीत भएका छन् । पार्टी केन्द्रीय कार्यालय (पदाधिकारी) को वैशाख २१ गते बसेको बैठकको निर्णयअनुसार उनलाई केन्द्रीय सदस्यमा मनोनीत गरिएको हो ।  प्रवासमा रहेर उनले पार्टीका लागि खेलेको भूमिकालाई उच्च मूल्यांक गर्दै केन्द्रीय सदस्यमा मनोनीत गरिएको केन्द्रीय कार्यालय स्रोतले जनाएको छ।  ओमानलाई आफ्नो कार्यक्षेत्र बनाउँदै आएका क्षेत्री प्रवासमा पार्टीको संगठन विस्तारमा सक्रिय हुँदै आएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए)को नेता समेत रहेका उनी मध्यपूर्वमा कार्यरत नेपाली श्रमिकको हकहितका लागि सक्रिय रहँदै आएका छन् ।  उनले श्रमिकको पक्षमा काम गर्नका लागि विगतमा हजारे अभियान समेत सञ्चालन गरेका थिए ।

कीर्तिपुरमा बस दुर्घटना त्रिविका प्राध्यापकको निधन

काठमाडौँ । कीर्तिपुरमा बस दुर्घटना भएको छ । दिउँसो भएको दुर्घटनामा त्रिभुवन विश्वविद्यालयका प्राध्यापकको मृत्यु भएको छ। रत्नपार्क–कीर्तिपुर रुटमा चल्ने बा.३ख २०२७ नम्बरको यात्रुवाहक बस दुर्घटना भएको हो । दुर्घटनामा परेर प्रा.डा. गोविन्द रिजालको मृत्यु भएको उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता (एसएसपी)दिनेशराज मैनालीले बताए।  प्रा.डा. रिजाल त्रिभुवन विश्वविद्यालय कृषि अध्ययन संस्थाका आंशिक प्राध्यापक हुन्। दुर्घटनामा परेर अरू ३ जना घाइते भएका छन्। घाइते हुनेमा बैतडी घर भएका २४ वर्षीय डम्बर पन्त, २४ वर्षीया विमला श्रेष्ठ र बस चालक २७ वर्षीय रमेश लामा घाइते भएका छन्। उनीहरूको ट्रमा सेन्टरमा उपचार हुँदै छ।

जापानी विदेशमन्त्री कामिकावा र प्रधानमन्त्री प्रचण्डबीच शिष्टाचार भेट

काठमाडौं ।जापानी विदेशमन्त्री योको कामिकावाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेट गरेकी छिन् । प्रधानमन्त्री प्रचण्डसँग शिष्टाचार भेटका लागि कामिकावा प्रधानमन्त्री कार्यालय सिंहदरबार आएकी थिइन् । भेटका क्रममा दुई देशबीचको मित्रता र आपसी हितका विषयमा छलफल भएको बताइएको छ ।  जापानी विदेशमन्त्री योको कामिकावा एक दिने भ्रमणका लागि आज नेपाल आएकी हुन् । परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा योको नेपाल भ्रमणमा आएकी हुन् ।

उच्च शिक्षा अध्यादेश जारी गर्ने बागमती प्रदेश सरकारको निर्णय

हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन २०७८ संशोधन अध्यादेश जारी गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश उच्च शिक्षा ऐनका केही प्रावधान संशोधन गर्नुपर्ने भएकाले अध्यादेश जारी गर्ने निर्णय गरेको हो । प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठका अनुसार ऐनको दफा १३ को (५) लाई संशोधन गर्न अनुकूल देखिएकाले यो निर्णय गरिएको हो । सो दफामा प्रदेश विश्वविद्यालयको संरक्षक समिति (बोर्ड अफ ट्रष्टी)को पदावधि निर्धारणका विषयलाई स्पष्ट पार्न अध्यादेश जारी गर्ने निर्णय गरिएको उनले बताए । उनका अनुसार संरक्षक समितिमा मनोनीत भएका संरक्षण समिति (बोर्ड अफ ट्रष्टी)का पदाधिकारीहरूको पहिलोपटक पदावधि कायम गर्दा गोला प्रथाद्वारा २ जनाको पदावधि २ वर्ष, ३ जनाको पदावधि ४ वर्ष र ३ जनाको पदावधि ६ वर्ष कायम गरिने व्यवस्था रहेको छ । उक्त व्यवस्थालाई संशोधन गरी समितिमा मनोनीत भएका पदाधिकारीहरूको पहिलोपटक पदावधि कायम गर्दा गोला प्रथाद्वारा ५ जनाको पदावधि ४ वर्ष र ३ जनाको पदावधि ६ वर्ष कायम गरिने व्यवस्था गर्न अध्यादेश जारी गर्ने निर्णय गरेको उनले बताए । ऐन बमोजिम सदस्यहरूको पदावधिको गणना संरक्षक समितिको पहिलो बैठक बसेको मितिबाट प्रारम्भ भएको मानिने व्यवस्था रहेको छ । बैठकको निर्णयअनुसार प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले उक्त अध्यादेश जारी गर्नेछन् भने संसद् अधिवेशन आह्वान गरी प्रदेशसभा बैठकमा अध्यादेश पेस गरिने छ । उक्त अध्यादेश जारी भएको ६० दिन भित्र प्रतिस्थापन विधेयक ल्याएर संसद्‌बाट पारित गर्नुपर्ने हुन्छ । मन्त्रिपरिषद् बैठकले आगलागीमा परेर निधन भएका ३ जनालाई जनही १ लाख रुपैयाँका दरले राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयको विपद् व्यवस्थापन कोषमार्फत आगलागी नियन्त्रणको क्रममा मृत्यु भएका ललितपुरका २ र रामेछापका एक परिवारलाई एकरएक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।

वैशाख २६ पछि मात्रै एमालेले सोडारीलाई विश्वासको मत दिने

काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई नेकपा एमालेले वैशाख २६ गतेअगाडि विश्वासको मत नदिने भएको छ । वैशाख १५ गते भएको बझाङ प्रदेशसभा १ को निर्वाचनमा नेकपा एमालेबाट विजयी भएका दमनबहादुर भण्डारी बुवाको किरियामा रहेकाले २६ गतेयता उनी प्रदेश सभामा आउँदैनन् । सोही कारण तत्काल विश्वासको मत दिन नसकिने एमाले संसदीय दलका नेता राजेन्द्र रावलले बताएका छन् ।