सुनको मूल्य तोलामा ९ हजार ५ सय बढ्यो, चाँदी ३ सयले महँगियो

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य बढेको छ ।

सुनको मूल्य तोलामा ९ हजार ५ सय रुपैयाँले बढेर आज ३ लाख ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन २ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, चाँदीको मूल्य पनि तोलामा ३ सय रुपैयाँ बढेर प्रतितोला ५ हजार १० रुपैयाँ पुगेको छ । शुक्रबार चाँदी ४ हजार ७१० रुपैयाँमा कारोबार भएको थियो ।

जसको विचार नयाँ छ, त्यो नै नयाँ हो, अहिले नेपालमा हामी मात्रै नयाँ हौँ : संयोजक प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेपालमा विचारका आधारमा आफ्नो पार्टी मात्र नयाँ रहेको बताउनुभएको छ । शनिबार सिन्धुलीमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “नेपालमा नयाँ र पुराना भन्न थालिएको छ । जसको विचार नयाँ छ, त्यो नै नयाँ हो । अहिले नेपालमा हामी मात्रै नयाँ हौँ । गणतन्त्र, संघीयता, समानुपातिक प्रतिनिधित्वलगायतका मुद्दाहरूभन्दा अर्को मुद्दा छैन । त्यसैले नेपाली कम्युनिष्ट पार्टी नै सबैभन्दा नयाँ पार्टी  हो । हामी नै नयाँ हौँ ” उहाँले नेपाली कम्युनिष्ट पार्टी परिवर्तनको शक्ति भएको र भ्रष्टाचारविरुद्ध सुशासनका पक्षमा अभियान चलाउन सक्ने एकमात्र पार्टी आफ्नो भएको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, “नेपाली कम्युनिष्ट पार्टी परिवर्तनको शक्ति हो । भ्रष्टाचारविरुद्ध सुशासनका पक्षमा अभियान चलाउन सक्ने पार्टी नेपाली कम्युनिष्ट पार्टी हो ।” जनयुद्धको आधार इलाका तथा महान सहिदहरूको जिल्लाका रूपमा सिन्धुलीलाई स्मरण गर्दै उहाँले भावुक हुँदै भन्नुभयो, “जनयुद्धको आधार इलाका भएको जिल्ला सिन्धुली जिल्ला हो । महान सहिदको जिल्ला हो सिन्धुली । महान सहिदप्रति श्रद्धा व्यक्त गर्न चाहन्छु । वेपत्ता योद्धाप्रति सम्मान गर्न चाहन्छु ।” जेनजी आन्दोलनपछिको अवस्था सामान्यीकरण गर्न आफू र माधवकुमार नेपालले निर्वाचनलाई विकल्प मानेर काम गरेको स्मरण गर्दै उहाँले भन्नुभयो, “ जेनजी आन्दोलनपछिको अवस्था सामान्यकरण गर्न माधवजी र मैले नै निर्वाचन नै विकल्प भनेर काम गरेका छौँ । हामी करिब करिब एक्लै परेका थियौँ निर्वाचन भन्नका लागि । तर सबै अहिले चुनावमा केन्द्रित हुँदा खुसी लागेको छ ।” २६ वटा राजनीतिक दल तथा समूह मिलेर नेपाली कम्युनिष्ट पार्टी नेपाली कम्युनिष्टहरूको मूलधार बनेको बताउँदै उहाँले भन्नुभयो, “२६ वटा राजनीतिक दल तथा समूह मिलेर नेपाली कम्युनिष्ट पार्टी नेपाली कम्युनिष्टहरुको मूलधार बनेको छ । लहर हाम्रो पक्षमा आएको छ । विस्तारै विश्वास आएको छ ।” सिन्धुलीमा रहेको आन्तरिक समस्या बारे उहाँले टिकट वितरण प्रक्रियाअनुसार  भएको बताउनु भयो ।  उहाँले भन्नुभयो, “यो पटक मैले सिन्धुलीमा आन्तरिक समस्या छ भन्ने थाहा थियो । पहिल्यैदेखि हल गर्ने प्रयास गरियो । जहाँ हरिबोल इन्चार्ज हुनुहुन्थ्यो पूर्वमा पनि बिग्रेको थियो । आफ्नै घर भएको प्रदेश बागमतीमा आउनुस् । मलाई पदाधिकारी हटाइदिए हुन्छ तर पूर्वको इन्चार्ज छाड्दिन भन्नुभयो । उहाँलाई दुई नम्बरबाट दिन्छु भने । उहाँले मेरो रुची छैन भन्नुभयो ।” टिकट वितरणबारे उहाँले भन्नुभयो, “टिकट बाँड्नका लागि कार्यदल बनाइएको थियो । कार्यदलले तपाईंहरूले एकजनामा ल्याउने नभए दुई जनाको नाम सर्ट लिस्ट गर्न भन्यौँ । उहाँहरूले हरिबोल र लेखनाथको नाम दिनुभयो। लेखनाथलाई विशेष सुविधा दिएको होइन । प्रदेशले पठाएको सिफारिसमा दुई जना मध्ये हरिबोल नलडेपछि राजनलाई टिकट दिइएको हो ।” बागी उम्मेदवारीको प्रसंगमा उहाँले भन्नुभयो, “काठमाडौं बोलाएर पनि बागी उम्मेदवारको प्रस्तावक बसेकामा मैले हरिबोलसँग कुराकानी गरेर सच्चाउन पर्छ । सबैले बस्नै पर्छ भनेर बसे, नबसेको भए हुन्थ्यो भन्नुभयो । फिर्ता लिन भनेको फिर्ता लिनु भएन । त्यसपछि प्रक्रियाअनुसार कारबाही गरियो ।” हरिबोल गजुरेललगायत बागी कमरेडहरूलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “हरिबोललगायतका कमरेडलाई म भन्न चाहन्छु । गल्ती सच्चाउनुस् र आउनुस् । सिन्धुली जिल्लालाई लालकिल्ला गराउन लाग्नुस् । उहाँहरूले रियलाइज गर्नुहुन्छ । गर्नु भएन भने जनताले नै गराइदिन्छन् ।” राजन दाहालको प्रशंसा गर्दै उहाँले भन्नुभयो, “राजन दाहालले सदनमा खेलेको भूमिकालाई तपाईं सिन्धुली बासी नेता कार्यकर्ताले गर्व गर्नु भएको छ भन्ने मलाई विश्वास छ । सिन्धुलीका जनताले मात्र होइन सिंगो राष्ट्रले चिनेको छ । उहाँले सदनमा सुशासनका पक्षमा खेल्नु भएको भूमिकाका लागि म धन्यवाद दिन्छु ।”

मतदान कुन पार्टी वा चिन्हमा भनेर सोधेर गोप्यता भंग नगरौँ : निर्वाचन आयोग

काठमाडौं । जिल्ला निर्वाचन कार्यालय काठमाडौंले सामाजिक सञ्जाल र केही अनलाइन सञ्चारमाध्यमले सर्वसाधारण तथा मतदातासँग 'कसलाई मत दिनुहुन्छ' भनेर सोधेर मतदाताको गोपनीयता भङ्ग गरेको भन्दै आपत्ति जनाएको छ । निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ बमोजिम यस्ता कार्य आचारसंहिता उल्लङ्घन भएको भन्दै कार्यालयले मतदाताको गोपनीयता भङ्ग गर्ने काम तत्काल नगर्न/नगराउन ध्यानाकर्षण गराएको छ । त्यस्ता कार्य नरोकिए प्रचलित कानुनबमोजिम कारबाही अघि बढाइने चेतावनी दिएको छ । आचारसंहिताअनुसार उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मतदान मिति भन्दा १७ दिनअघिदेखि मात्र निर्वाचन प्रचारप्रसार गर्न पाइन्छ । यसमा जुलुस, आमसभा, कोणसभा, सञ्चारमाध्यममा प्रचार सामग्री प्रकाशन/प्रसारण तथा घरदैलो कार्यक्रम गर्न सकिन्छ । कार्यालयले पटकपटक छलफल, अन्तर्क्रिया र सूचना प्रकाशन गरी जानकारी गराउँदा पनि केही राजनीतिक दल, प्रतिनिधि तथा उम्मेदवारले निर्धारित समयअघि नै कोणसभा, प्रचारप्रसार, सामग्री प्रकाशन तथा घरदैलो गरी मतदातालाई प्रभावित पार्ने कार्य गरेको जानकारी प्राप्त भएको जनाएको छ । यस्ता उल्लङ्घनका प्रमाण प्राप्त भएमा तत्काल कारबाही प्रक्रिया अघि बढाइने निर्वाचन कार्यालयले स्पष्ट पारेको छ । आचारसंहिता अनुगमन अधिकृतहरू मुक्तिराम रिजाल, शिवराम भट्टराई, रोमाकान्त काफ्ले, मुनकुमार केसी, सुनिता सुवेदी र रुक्मागत अर्यालले संयुक्त रूपमा यो ध्यानाकर्षण गराएका हुन् ।

प्रचण्डको शुभकामना : हरेक बल, हरेक रन, हरेक विकेटमा सम्पूर्ण नेपाल तपाईंहरूसँगै छ

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जारी आईसीसी टी–२० विश्वकपमा आज इङल्यान्डविरुद्ध खेल्दै गरेको नेपाली राष्ट्रिय क्रिकेट टिमलाई विजयको हार्दिक शुभकामना व्यक्त गरेका छन् । फेसबुकमार्फत सार्वजनिक सन्देशमा प्रचण्डले लेखेका छन्, “जारी आईसीसी टी–२० विश्वकपमा आज हाम्रो गौरवशाली राष्ट्रिय टिमले इङल्यान्डविरुद्ध आफ्नो पहिलो खेल खेल्दैछ । अन्तर्राष्ट्रिय क्रिकेटमा छुट्टै पहिचान बनाइसकेको नेपाली टिमले उत्कृष्ट प्रदर्शन गर्दै नेपालको झण्डा विश्वभर फहराउनेमा म पूर्ण विश्वस्त छु ।” उनले खेलाडीहरूको अथक परिश्रम, एकताबद्ध टिम स्पिरिट र मातृभूमिप्रतिको गहिरो समर्पणले सबैलाई गर्व अनुभूति गराएको बताउँदै भनेका छन्, “हरेक बलमा, हरेक रनमा, हरेक विकेटमा सम्पूर्ण नेपाल तपाईंहरूसँगै छ । विजयको लागि हार्दिक शुभकामना !!” मुम्बईको वानखेडे स्टेडियममा दिउँसो सवा ३ बजे नेपाली टिमले दुई पटकको च्याम्पियन इङल्यान्डसँग खेल्दै विश्वकपको आफ्नो अभियान सुरु गर्दैछ ।

नेपालले टी–२० विश्वकपको सुरुवात इङल्यान्डविरुद्ध खेलेर गर्दै

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले दुई पटकको च्याम्पियन इङल्यान्डविरुद्ध आज दशौँ संस्करणको आइसीसी टी–२० विश्वकपको सुरुवात गर्दैछ । मुम्बइको वानखेडे क्रिकेट स्टेडियममा आइतबार दिउँसो सवा ३ बजे नेपालले इङल्यान्डसँग खेल्नेछ । नेपालले समूह चरणका सबै चार खेल वानखेडे स्टेडियममै खेल्नेछ । यो नेपालको तेस्रो र लगातार दोस्रो विश्वकप सहभागिता हो । टोलीमा १० पुराना र नयाँ खेलाडी छन् । आरिफ शेख, बसिर अहमद, लोकेश बम, शेर मल्ल र नन्दन यादवले विश्वकपमा डेब्यु गर्नेछन् । सोमपाल कामी भने तीनवटै विश्वकप खेल्ने एकमात्र खेलाडी बन्ने तयारीमा छन् । कप्तान रोहित पौडेल, कुशल भुर्तेल, आशिफ शेख, दिपेन्द्र सिंह ऐरी, गुल्सन झा, करण केसी, सन्दीप लामिछाने, ललित राजवंशी र सन्दीप जोरा लगातार दोस्रो पटक विश्वकप खेल्दैछन् । विश्वकपअघि नेपालले युएई र क्यानडासँग वार्मअप म्याच जितेको थियो । श्रीलंका र भारतमा अभ्यास गरेको टोली उच्च मनोबलमा छ । इङल्यान्डले नेपालविरुद्ध सुखद सुरुवात गर्ने लक्ष्य राखेको छ र प्लेइङ–११ सार्वजनिक गरिसकेको छ । नेपाल इङल्यान्ड, वेस्ट इन्डिज, स्कटल्यान्ड र इटालीसँगै समूहमा छ । इङल्यान्ड र वेस्ट इन्डिज दुई–दुई पटकका च्याम्पियन हुन् भने इटाली डेब्यु गर्दैछ । स्कटल्यान्ड २०१६ पछि लगातार विश्वकप खेल्दै आएको छ । विश्वकपको पहिलो दिन शनिबार पाकिस्तानले नेदरल्यान्ड्स, वेस्ट इन्डिजले स्कटल्यान्ड र भारतले अमेरिकालाई हराएको थियो । आइतबार अफगानिस्तान–न्युजिल्यान्ड, श्रीलंका–आयरल्यान्ड र नेपाल–इङल्यान्ड खेल हुनेछन् ।

पश्चिमी वायुको प्रभाव: तराईमा हुस्सु, उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना

काठमाडौँ । नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसको प्रभावले तराई भूभागका थोरै स्थानमा हुस्सु लागेको छ भने कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली छ । आज दिउँसो तराईका केही स्थानमा हुस्सु तथा कुहिरो रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली लाग्नेछ । कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । आज राति पनि तराईका थोरै स्थानमा हुस्सु रहनेछ । कर्णाली, सुदूरपश्चिम तथा गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भूभागमा आंशिक बदली कायम रहने महाशाखाले बताएको छ ।

आजका लागि प्रमुख मुद्राहरूको खरिद र बिक्रीदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विभिन्न विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । प्रमुख मुद्राहरूको खरिद र बिक्रीदर निम्नानुसार छ: अमेरिकी डलर: खरिद १४४.७६, बिक्री १४५.३६ युरोपियन युरो: खरिद १७०.७०, बिक्री १७१.४१ बेलायती पाउण्ड स्ट्रलिङ: खरिद १९६.७२, बिक्री १९७.५४ स्विस फ्रयाङ्क: खरिद १८६.०९, बिक्री १८६.८६ अस्ट्रेलियन डलर: खरिद १०१.०१, बिक्री १०१.४३ क्यानेडियन डलर: खरिद १०५.७८, बिक्री १०६.२२ सिङ्गापुर डलर: खरिद ११३.६८, बिक्री ११४.१६ जापानी येन (१०): खरिद ९.२२, बिक्री ९.२६ चिनियाँ युआन: खरिद २०.८६, बिक्री २०.९५ साउदी रियाल: खरिद ३८.६०, बिक्री ३८.७६ कतारी रियाल: खरिद ३९.६१, बिक्री ३९.७७ थाइ भाट: खरिद ४.५८, बिक्री ४.६० युएई दिराम: खरिद ३९.४१, बिक्री ३९.५८ मलेसियन रिङ्गेट: खरिद ३६.६७, बिक्री ३६.८२ भारतीय रुपैयाँ (१००): खरिद १६०.००, बिक्री १६०.१५ अन्य मुद्राहरूमा कुवेती दिनार (खरिद ४७३.६९, बिक्री ४७५.६५), बहराइन दिनार (खरिद ३८३.९७, बिक्री ३८५.५६), ओमनी रियाल (खरिद ३७६.०२, बिक्री ३७७.५८) लगायत छन् । केन्द्रीय बैंकले यो विनिमयदरलाई आवश्यकता अनुसार जुनसुकै समयमा संशोधन गर्न सक्ने जनाएको छ । वाणिज्य बैंकहरूले तोक्ने विनिमयदर भने फरक हुन सक्छ ।

बैतडीमा ईभी हाइस दुर्घटना: चालकको मृत्यु

बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका-३ खोचलेकबाट कालागाउँतर्फ जाँदै गरेको सुपप्र ०२००१ ज ०६२४ नम्बरको ईभी हाइस शनिबार राति सिल्लेगडा-बडिया सडकखण्डको घोडेधार नजिक दुर्घटनामा परेको छ । दुर्घटनामा गाडीमा सवार एकमात्र चालक दोगडाकेदार-५ का मदन ठगुन्ना गम्भीर घाइते भएका थिए । उनको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिएका छन् । हाइस सडकबाट करिब २५० मिटर तल खसेको थियो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

खोटाङको बिहे भोजमा खाना खाने १५० जना फुड प्वाइजनबाट बिरामी

काठमाडौं  । खोटाङको जन्तेढुंगा गाउँपालिका-६ दिप्लुङमा माघ २१ गते भएको विवाह भोजमा खाना खाएका करिब १५० जना स्थानीय बिरामी परेका छन् । भोज खाएको करिब १२ घण्टापछि माघ २२ गते साँझदेखि ज्वरो, काम्नु, झाडापखाला जस्ता लक्षण देखिएपछि फुड प्वाइजन भएको आशंका गरिएको छ । बेहुला र बेहुलीसमेत बिरामी परेका छन् । गाउँपालिकाले निगालावास भञ्ज्याङमा स्वास्थ्य शिविर स्थापना गरी उपचारको व्यवस्था मिलाएको छ । गाउँपालिकाको स्वास्थ्य शाखा, स्वास्थ्य कार्यालय र जनप्रतिनिधिको टोलीले उपचार गरिरहेका छन् । बढ्दो बिरामीको चापपछि स्वास्थ्य कार्यालयबाट थप औषधि र जनशक्ति मगाइएको छ । अहिले ३५ जना बिरामीको सलाइन, जीवनजल लगायतको उपचार जारी छ । धेरैजसो बिरामी उपचारपछि घर फर्किसकेका छन् । भोजमा सहभागी भएका उदयपुर, काठमाडौं लगायतका पाहुनाहरू पनि बिरामी परेको खबर आएको छ । फुड प्वाइजनको कारण पत्ता लगाउन प्रदेशबाट स्याम्पल संकलन टोली बोलाइएको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख कुलबहादुर पौडेलले जानकारी दिएका छन् ।

भदौ २३ र २४ का अतिवादी शक्तिहरूबाट मुलुकले कुनै हालतमा निकास पाउँदैन : रन्जित तामाङ

दमक । झापा निर्वाचन क्षेत्र नं. ५ बाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार रञ्जित तामाङले सबै प्रकारका अतिवादबाट देश र जनताले मुक्ति पाउनुपर्ने बताएका छन् । आइतबार कमल गाउँपालिकाको निर्वाचन परिचालन समितिको कार्यालय उद्घाटन गर्दै तामाङले भने, “यदि देशमा कानुनी शासन पूर्ण रूपमा प्रत्याभूत हुने हो भने आज उम्मेदवार बनेका धेरै साथीहरू जेलमा बस्नुपर्ने हुन्थ्यो ।” उनले अतिवादी शक्तिहरूबाट मुलुकले कुनै हालतमा निकास नपाउने दाबी गरे । नेकपाका युवा नेता तामाङले भदौ २३ गतेका कारक र भदौ २४ गतेका कारक दुवैबाट जनता आजित भइसकेको बताए । तामाङले मुलुकलाई सही, सन्तुलित र अग्रगामी विचार तथा नेतृत्व आवश्यक रहेको उल्लेख गरे । नेकपाको मूल निर्वाचन परिचालन समितिका संयोजक सुरेन्द्र बस्नेतले क्षेत्रका चारवटै पालिका र वडामा चुनावी अभियान तीव्र पारिएको जानकारी दिए । झापा–५ मा तामाङसँगै नेकपा (एमाले) बाट अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट वरिष्ठ नेता बालेन्द्र शाह (बालेन), नेपाली कांग्रेसबाट मन्धरा चिमरिया र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट लक्ष्मीप्रसाद संग्रौला मुख्य प्रतिस्पर्धीका रूपमा चुनावी मैदानमा छन् ।

चर्चित अभिनेता सुनिल थापाको निधनप्रति नेकपा संयोजक प्रचण्डद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली चलचित्र क्षेत्रका मुर्धन्य व्यक्तित्व तथा ‘राते काइँला’ का नामले चर्चित वरिष्ठ अभिनेता सुनिल थापाको निधनले सम्पूर्ण नेपाली सिने क्षेत्र स्तब्ध बनेको छ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सञ्जालमार्फत यो दुःखद खबरप्रति गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । प्रचण्डले भन्नुभयो, “नेपाली चलचित्र क्षेत्रका मुर्धन्य व्यक्तित्व सुनिल थापा हामीबाट सधैंका लागि विदा हुनुभएको खबरले अत्यन्त दुःखी बनाएको छ । कीर्तिशेष थापाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजन तथा शुभेच्छुकहरूमा गहिरो समवेदना व्यक्त गर्दछु । उहाँले नेपाली चलचित्र क्षेत्रमा पुर्‍याउनुभएको योगदान हामी सबैका लागि चिरस्मरणीय रहनेछ ।” वरिष्ठ कलाकार सुनिल थापाको आज बिहान हृदयघातका कारण थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा निधन भएको थियो । उहाँ ६८ वर्षका हुनुहुन्थ्यो । नेपाली चलचित्रमा खलनायकको भूमिकालाई नायककै स्तरमा स्थापित गर्न सफल थापाले ‘चिनो’ जस्ता चर्चित चलचित्रमा ‘राते काइँला’ को भूमिकाबाट दर्शकको मन जित्नुभएको थियो । यसबाहेक उहाँले भारतीय चलचित्र तथा वेब सिरिजहरूमा पनि उल्लेखनीय भूमिका निर्वाह गर्नुभएको थियो । उहाँको निधनले नेपाली सिनेमा जगतमा अपूरणीय क्षति पुगेको छ । विभिन्न राजनीतिक तथा सामाजिक व्यक्तित्वहरूले पनि उहाँप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक व्यक्त गरिरहेका छन् ।

नेपाली कम्युनिस्ट पार्टीको घोषणा पत्रमा सुशासन र रोजगारीलाई प्राथमिकता

काठमाडौं : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी निर्वाचनका लागि चुनावी घोषणा पत्र तयार पार्दैछ। पार्टीले सुशासन र रोजगारी लाई मुख्य प्राथमिकतामा राखेर घोषणा पत्र निर्माण गरिरहेको जनाएको छ। पार्टीका नेताहरूका अनुसार, घोषणा पत्रको मस्यौदा अन्तिम चरणमा पुगेको छ। केही विषयहरूमा अन्तिम मिलान बाँकी रहे पनि एक–दुई दिनभित्रै सार्वजनिक गर्ने तयारी छ। नेकपाका नेता प्रमेश हमालले बताएअनुसार, घोषणा पत्रमा समुदायमा आधारित समाजवाद, सुशासन, उत्पादन वृद्धि, रोजगारी सिर्जना, पर्यटन प्रवर्द्धन जस्ता विषयहरूलाई केन्द्रमा राखिएको छ। पार्टीले मुलुकको अर्थतन्त्रलाई उत्पादनमुखी बनाउने, आत्मनिर्भरता बढाउने, सहकारी तथा सार्वजनिक क्षेत्रलाई जोड दिने र रोजगारीमुखी नीतिहरू अघि सार्ने तयारी गरेको छ। नेता देव गुरुङले पनि मुलुकको अर्थतन्त्र गम्भीर संकटमा रहेको भन्दै सुशासनलाई पहिलो एजेन्डा बनाएर उत्पादनमुखी अर्थतन्त्र, कृषि बजार विस्तार, ठूला उद्योग तथा गेम चेन्जर परियोजनालाई प्राथमिकता दिने बताएका छन्।   फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेकपाले यो घोषणा पत्रमार्फत जनताको आकांक्षा सम्बोधन गर्ने र यथार्थपरक तथा कार्यान्वयनयोग्य कार्यक्रम प्रस्तुत गर्ने  जनाएको छ । नेपाली कम्युनिष्ट पार्टीले एक दुई दिनमा घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको छ । 

वरिष्ठ अभिनेता सुनिल थापाको हृदयाघातबाट निधन

काठमाडौं : वरिष्ठ तथा लोकप्रिय कलाकार सुनिल थापा (राते काइला) को निधन भएको छ। थापाथलीस्थित नर्भिक अस्पतालमा आज बिहान हृदयाघातका कारण उनको निधन भएको कलाकार संघका अध्यक्ष मोहन निरौलाले जानकारी दिएका छन्। 'राते काइला' पात्रबाट चर्चित थापा लामो समयदेखि नेपाली तथा भारतीय (बलिउड र भोजपुरी) चलचित्र उद्योगमा सक्रिय थिए। उनी शंखमूलस्थित अपार्टमेन्टमा बस्दै आएका थिए। उनको असामयिक निधनले नेपाली कला तथा फिल्म जगतलाई स्तब्ध बनाएको छ। थापाले 'चिनो', 'राँको', 'सपना' जस्ता नेपाली फिल्महरूमा खलनायकको भूमिकामा विशेष छाप छोडेका थिए भने 'मेरी कोम', 'द फेमिली म्यान' जस्ता भारतीय प्रोजेक्टमा पनि काम गरेका थिए।

दौरा सुरुवालमा ७ महादेश ७ दिन ७ म्याराथन: बाल जोशीले गरे गिनिज रेकर्ड कायम

मायामी : नेपाली मूलका अमेरिकी धावक बाल जोशीले दौरा सुरुवाल लगाएर विश्व म्याराथन च्यालेञ्ज (७७७) पूरा गर्दै इतिहास रचेका छन्। उनले गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा नाम लेखाएका छन्। शुक्रबार मायामीमा सम्पन्न यो चुनौतीपूर्ण प्रतियोगिताको समापनमा गिनिज बुकका प्रतिनिधिले जोशीलाई प्रमाणपत्र प्रदान गरे। चुनौती अन्टार्कटिकाबाट सुरु भएर क्रमशः अफ्रिका (केप टाउन), अष्ट्रेलिया (पर्थ), एसिया (दुबई), युरोप (म्याड्रिड), दक्षिण अमेरिका (ब्राजिल) हुँदै उत्तर अमेरिका (मायामी) मा सातौं दिन समापन भएको थियो। जोशीले नेपाली जन्मभूमि र सम्पदाप्रतिको सम्मानस्वरूप दौरा सुरुवाल (काठमाडौंका विश्व गौतमले तयार गरेको) मा दौडेका थिए। प्रतियोगितामा ३२ देशका ५६ धावक सहभागी थिए। यो '७ म्याराथन ७ महादेश ७ दिन' च्यालेञ्ज २०१५ देखि सञ्चालन हुँदै आएको छ, जसमा कुल २९४ किमी दौडिनुपर्छ। जोशीले नेपाली संस्कृति विश्वमाझ चिनाउने उद्देश्यले यो उपलब्धि हासिल गरेका हुन्।

तराईमा हुस्सु, कोशी–गण्डकी हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं : नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव जारी छ। तराई क्षेत्रमा हुस्सु/कुहिरो लागेको छ भने कोशी प्रदेशलगायत हिमाली तथा उच्च पहाडी भूभागमा आंशिक बादल लागेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज  दिउँसो तराई भूभागका केही स्थानमा हुस्सु/कुहिरो रहनेछ। कोशी प्रदेशको पहाडी तथा हिमाली क्षेत्र र गण्डकी प्रदेशको हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ भने बाँकी भागमा आंशिक बादल लाग्नेछ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ। आज राति तराई भूभागका थोरै स्थानमा हुस्सु रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्नेछ भने बाँकी भागको मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना कायमै छ। महाशाखाले तराईमा हुस्सुका कारण दृश्यता कम हुन सक्ने र यात्रुहरूलाई सतर्क रहन सुझाव दिएको छ। हिमाली क्षेत्रमा हल्का हिमपातले चिसो बढ्न सक्ने भएकाले उच्च क्षेत्रका बासिन्दा तथा पर्यटकहरू सावधानी अपनाउन आग्रह गरिएको छ।

सीमा सुरक्षा बैठकमा बेहोस भएका सशस्त्र प्रहरी एसपी राजेश घिमिरेको निधन

विराटनगर : मोरङको विराटचोकमा शुक्रबार आयोजित नेपाल–भारत सीमा सुरक्षा समन्वय बैठक (डीआईजी तहको समकक्ष) चलिरहेका बेला सशस्त्र प्रहरी बलका उपरीक्षक राजेश घिमिरे अचानक बेहोस भएर ढलेका थिए। उनलाई तत्काल विराट मेडिकल कलेज (विराट टिचिङ अस्पताल) लगिएको थियो। उच्च रक्तचाप र हृदयाघातका कारण स्वास्थ्य अवस्था जटिल बनेपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। तर, गएराति ८ बजेर ५२ मिनेटमा उपचारका क्रममा उनको निधन भएको सशस्त्र प्रहरी बल नम्बर १ बराह बाहिनीका डीआईजी कुमार न्यौपाने र केन्द्रीय प्रवक्ता विष्णुप्रसाद भट्टले पुष्टि गरेका छन्। बैठकका क्रममा ढलेका घिमिरेको जिब्रो काटिएको र स्वास्थ्य थप बिग्रिएपछि भेन्टिलेटर प्रयोग गरिएको थियो। उनको शव पोस्टमार्टमका लागि सोही अस्पतालको शवगृहमा राखिएको छ। घिमिरे हाल सशस्त्र प्रहरी बलमा कार्यरत थिए र शनिबार मकवानपुरको गणमा सरुवा भएर जाने तयारीमा रहेका थिए, जुन अधुरो रह्यो। सशस्त्र प्रहरी बलले दिवंगत घिमिरेप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै परिवारजनप्रति समवेदना प्रकट गरेको छ।