‘ब्लड फर रोल्पा’ मोबाइल अप्लिकेशनको सुरुवात

रोल्पा, असोज २१ । समयमा रगत नपाउँदा मृत्युवरण गर्न बाध्य रोल्पाका बिरामीका लागि तत्काल रक्त सेवा उपलब्ध गराउने उद्देश्यका साथ जिल्लामा “ब्लड फर रोल्पा” मोवाइल अप्लीकेशनको सुरुवात गरिएको छ ।

रोल्पाका युवाको सक्रियतामा ‘ब्लड फर मोबाइल एप’ शुरु गरिएको हो । जिल्लामा ब्लड बैंक नहँुदा अप्रेशनको समयमा चाहिने रगत खोज्न निकै सकस हुने देखेर आफूहरूले युवाको सामाजिक दायित्व सम्झेर अभियान थालनी गरेको अभियन्ताले बताएका छन् ।

रोल्पाका आठ युवाको सहभागितामा सो अवधारणा ल्याइएको हो । आकस्मिक रूपमा रगतको आवश्यक परेको खण्डमा यो मोबाइल एपमा रहेका व्यक्तिको सम्पर्क नम्बरबाट थप जानकारी लिन सकिन्छ । हालसम्म आकस्मिक रक्तदान गर्न इच्छुक ५० जनाको विवरण एप्समा राखिएको अभियन्ता विनोद डाँगीले बताउनुभयो । एन्ड्रोइड मोबाइलमा यो एप्स डाउनलोड गरी आफूलाई आवश्यक परेको खण्डमा रगत भएको व्यक्तिलाई आफँैले फोन गरी तुरुन्त बोलाउन सकिने जनाइएको छ । हालसम्म उक्त एप्समा रहेका छ जनाले रक्तदान गरिसकेको बताइएको छ ।

रगत नपाएर मर्नुपर्ने अवस्था भोग्दै आएका रोल्पालीका लागि अब त्यस्तो समस्या भोग्नु नपर्ने रोल्पा नगरपालिका प्रमुख पूर्ण केसीले बताए । जिल्लामा तत्काल ब्लड बैंक स्थापना हुनसक्ने अवस्था नभएकाले युवाको यो कदमले जिल्लावासीलाई ठूलो राहत पुग्ने छ ।

महिला स्वास्थ्य कार्यक्रमअन्तर्गत डेलीभरी पूर्व रगत व्यवस्थापन गर्नुपर्ने भएकाले आफूहरूले सधैँ यसको सकस भोग्दै आएकामा मोबाइल एप्लिकेशनपछि आफूहरूलाई पनि राहत भएको जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका मेडिकल सुपरिटेन्डेन्ट प्रकाश बुढाले बताए । आफ्नै कर्मचारी, नेपाली सेना आदिको सहयोगबाट रगत संकलन गर्नुपर्ने बाध्यता रहेकामा अब भने केही सहजता हुने बुढाले प्रतिक्रिया दिए ।

मोबाइल एप्सलाई धेरैभन्दा धेरै नागरिकको पहुँचमा पु¥याए मात्र अभियानले सार्थकता पाउने डाँगीले बताए । रासस

‘अपार्टमेन्ट’मा अस्पताल चलाउन स्वीकृति

काठमाडौं, असोज १९ । स्वास्थ्य मन्त्रालयले घट्टेकुलोस्थित ‘अमार्टमेन्ट’मा काठमाडौं नेसनल मेडिकल कलेज सञ्चालन गर्न स्वीकृति दिएको छ ।     कलेजले अस्पताल सञ्चालन स्वीकृति पाउँ भनी दिएको निवेदनउपर कारबाही प्रक्रिया अघि बढाउन गठिन स्थलगत अनुगमन समितिले बुझाएको छ । प्रतिवेदनको सुभावविपरीत स्वास्थ्य सचिव डा. पुष्पा चौधरीले अस्पताल सञ्चालन स्वीकृति दिएकी हुन् ।     स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. सुशीलनथ प्याकुर्याल नेतृत्वको अनुमगन समितिले २०७५ असार २४ गते स्थलगत अनुगमन तथा नरीक्षण गरी कलेजलाई अस्पताल सञ्चालन प्रदान गर्न मापदण्ड नपुगेको प्रतिवेदन बुझाएको थियो । नागरिक दैनिकको पहिलो पृष्ठमा खबर छ ।

रक्तसञ्चार केन्द्र नहुँदा रगतका लागि सेना प्रहरीकै भर

बैतडी, असोज १८ । रक्तसञ्चार केन्द्र नहुँदा बैतडीमा समस्या हुने गरेको छ । जिल्ला अस्पतालमा आकस्मिकरुपमा कुनै बिरामीलाई रगत चाहिएमा जिल्लास्थित रहेको शत्रसुमर्दन गुल्म, जिल्ला प्रहरी कार्यालयका धाउनुपर्ने बाध्यता रहेको छ । रगतका लागि वर्षौंदेखि सेना तथा प्रहरीकै भर पर्नुपरेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डाक्टर जगदीशचन्द्र विष्टले बताए । शल्यक्रियाबाट सुत्केरी गराउने सेवा शुरु भएयता रगत खोज्न समस्या हुँदै आएको छ । उनले भने, “रक्तसञ्चार केन्द्र र रक्तदाताको अभावमा बिरामीका आफन्त र स्वास्थ्यकर्मीले समस्या भोग्दै आएका छौँ ।” रगतको व्यवस्था गर्न नसक्दा जिल्ला अस्पताल आएका बिरामीलाई रिफर गर्नुपर्ने बाध्यता रहेको बताइएको छ । रक्त सञ्चारको सुविधा नहुँदा दुर्गम गाउँबाट आएका सर्वसाधारणलाई समस्या हुँदै आएको छ । चिनजानका भरमा बिरामीका आफन्तले रक्तदाता खोज्नुपर्छ । विकल्पमा सेना र प्रहरी कार्यालय जान्छन् । त्यहाँ नपाए अन्य उपाय नै छैन । रक्तसञ्चार केन्द्र (ब्लड बैंक) नहुँदा सञ्चय गर्नसक्ने अवस्था छैन । “अस्पताल पुग्ने बित्तिकै रगत आवश्यक हुने बिरामीका आफन्तलाई खोज्न लगाउँछौँ ।” प्रमुख डाक्टर विष्टले भने, “सेना, प्रहरी, स्वास्थ्यकर्मीबाट जुटाउन नसके रिफर गर्नुपर्ने अवस्था छ ।” अस्पतालमा सेवाका लागि बैतडीसहित दार्चुला र बझाङबाट समेत उपचारका लागि यहाँ आउने गरेका छन् तर आकस्मिक रक्त सञ्चार केन्द्र भए पनि रक्तदाताको अभावले उपचारमा समस्या हुँदै आएको छ । रासस

गर्भवती महिलालाई बाख्रा वितरण

लहान । नगर क्षेत्रका दलित, विपन्न परिवारका ५० गर्भवती महिलालाई सप्तरीको सुरुङ्गा नगरपालिकाले आज बिहान बाख्रा वितरण गरेको छ । बहुक्षेत्रीय पोषण कार्यक्रमअन्तर्गत सुरुङ्गा नगरप्रमुख मुक्तिनाथ चौधरीले वडा नं १, २, ३, ४ र ५ का १०÷१० दलित विपन्न परिवारका गर्भवती महिलालाई बाख्रा वितरण गर्नुभएको हो । दलित, विपन्न परिवारको आर्थिक अवस्थामा सुधार ल्याउने उद्देश्यले बाख्रा वितरण गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार दासले जानकारी दिनुभयो । रासस

चना खादाका फाइदा यस्ता छन्

हामीले खानेकुरामा विशेष ध्यान दिनुपर्छ । के खादा शरिरलाई फाइदा हुन्छ यसबारे आफू सदैब सचेत रहनुपर्छ । आफ्नो स्वास्थ्यको अवस्था स्वस्थ राख्न सबैभन्दा बढि ध्यान दिनुपर्ने भनेकै खानपानमा हो । अहिले अधिकांश नेपाली खान नपाएर भन्दा पनि खान नजानेर मृत्युको बाटो रोजिरहेका छन् । हामीले आफ्नै नजिकका पोषक तत्व पाइने खानेकुरालाई वास्ता गरिरहेका छौं । कोही व्यक्ति ति महत्वपूर्ण खानेवस्तुलाई अन्जानमा भूलिरहेका छौं त कोही जानीजानी । आज हामीले मुलुकका विभिन्न क्षेत्रमा सहजै पाइने चनाका फाइदा प्रस्तुत गरेका छौंः १-चनामा प्रशस्त मात्रामा पोषक तत्व पाइनुका साथै यसमा भरपुर मात्रामा आइरन, सोडियम तथा सेलेनियम पाउन सकिन्छ । २-चानालाई तरकारीको रुपमा पनि उपयोगमा ल्याउन सकिन्छ । अंकुरित चनामा भिटामिन बी कम्लेक्स हुन्छ जसबाट शरीरलाई उर्जा प्राप्त हुन्छ । ३-चनामा प्रशस्त मात्रामा प्रोटिन पाइने हुनाले यसको नियमित सेवनले शररिमा शक्ति प्रदान गर्छ । ४-चनाको नियमित सेवन गर्नाले शरीरमा पाचन शक्तिलाई क्रियाशील बनाउन मद्दत गर्छ । ५-चनामा भरपुर मात्रामा आइरन हुन्छ जसको सेवनले शरीरमा हेमोग्लोबिनको मात्रा बढउनमा मद्दत गर्छ र शरीरलाई स्वस्थ र फूर्तिलो बनाउन मद्दत गर्छ ।

गोलभेडा र भ्यान्टा खाँदा मृगौलाको पत्थरी ? यस्तो छ वास्तविकता

तरकारीको स्वाद बढाउन होस् वा सलाद, अचारका लागि गोलभेडाको प्रयोग दैनिक जीवनमा धेरै नै हुन्छ । भिटामिन, एन्टिअक्सिडेन्ट र मिनरल्सले भरिपूर्ण गोलभेडा स्वास्थ्यका लागि निकै फाइदाजनक छ । गोलभेडा भिटमिन सीको राम्रो स्रोत हुनुका साथै जैविक सोडियम, फस्फोरस, क्याल्सियम, पोटासियम, म्याग्नेसियम र सल्फरको राम्रो स्रोत हो । गोलभेडामा रहेको गलूटाथीयोनले शरिरको रोग प्रतिरोधात्मक क्षमतालाई बढाउँछ भने प्रोस्टेट क्यान्सरबाट पनि शरिरलाई सुरक्षित राख्छ । कतीले गोलभेडा, पालुङ्गो र भ्यान्टा खाँदा पत्थरीको खतरा हुने मान्यता राख्छन् । आउनुहोस्, यसको वास्तविकताबारे जानकारी लिऔंः गोलभेडा र पत्थरीबीचको सम्बन्ध के ? मृगौलामा अक्जालेट र क्याल्सियम जस्ता तत्व जम्मा भएर एक ठोस् ढुङ्गाजस्तो बनेपछि पत्थरी हुन्छ । जब तपाईं अत्यधिक मात्रामा अक्जालेट भएका खानेकुरा खानुहुन्छ तब मृगौलामा पत्थरीको आशंका बढ्ने गर्छ । गोलभेडामा पनि अक्जालेटको मात्रा हुन्छ तर यो सिमित मात्रामा हुने भएकाले यसको सेवनले मृगौलामा पत्थरी हुँदैन । गोलभेडा खाँदा अपनाउनुस् यस्ता सावधानीः सामान्य अवस्थामा गोलभेडा खाँदा तपाईंलाई कुनै प्रकारको रोगको खतरा हुँदैन । तर यदि तपाईं गोलभेंडाको अत्यधिक सेवन गर्नुहुन्छ भने यसको बियाँ निकालेर प्रयोग गर्नुहोस् । यसका साथै, यदि तपाईंलाई पहिले पनि पत्थरीको समस्या भइसकेको छ वा अल्ट्रासाउन्डमा साना पत्थरी देखिएको छ भने तपाईंले गोलभेडा, भ्यान्टा र खुर्सानीको सेवन कम गर्नुपर्ने विशेषज्ञ सुझाउँछन् । यस्ता रोगीले बियाँ निकालेर प्रयोग गर्न सक्छन् । यसका साथै, धेरैले गोलभेडाको अचार बनाउन सिलौटो प्रयोग गर्दछन् । कुनै पनि मसला, अचार, फलफूल वा तरकारी पिस्नका लागि सिलौटोको प्रयोग नगर्नुहोस् । यसले तपाईंलाई पत्थरी हुन थप सघाउ पुर्याउँछ । गोलभेडा खाँदा शरिरलाई हुने फाइदाः गोलभेडामा भोक लाग्ने हर्मोनलाई कम गर्ने क्षमता हुन्छ । यसले तपाईंको तौल कम हुनुका साथै थुप्रै रोगबाट पनि राहत प्रदान गर्छ । गोलभेडामा भिटामिन सी, बिटाक्यारोटिन, लाइकोपिन, भिटामिन ए र पोटाशियमको प्रचुर मात्रा पाइन्छ जसले मुटुरोगको खतरा कम हुन्छ । गर्मीमा यसको सेवनन शरिरका लागि निकै फाइदाजनक हुन्छ । यी खाद्य पदार्थले पनि हुँदैन पत्थरीः गोलभेडाका साथै खुर्सानी, भ्यान्टालगायतका बियाँ भएका आहारले पत्थरीको आशंका बढाउने धेरै मानिसको आशंका छ । यस्तै, दुधमा क्याल्सियमको मात्रा धेरै हुने भएकाले यो पनि पत्थरीको कारण हुनसक्ने बताउँछन् । तर यस्तो होइन । दुधमा क्याल्सियमको मात्रा धेरै भएपनि मृगौलाको पत्थरीमा यसको कुनै सम्बन्ध हुँदैन । जबकी वास्तवमा क्याल्सियमको कमीले मृगौलामा पत्थरीको समस्याको खतरा अत्यधिक हुने गर्दछ । यी खानेकुरा सेवन गर्दा सावधानी अपनाउन्सः चिया, कफी, पालुङ्गो, धेरै नुनिला खानेकुरा, फास्ट फुड, बदामलगायतका खानेकुरा पत्थरीका कारण बन्न सक्छन् । यसका साथै सी–फूड र टेबल साल्टेड रेड मीटमा युरिक एसिड उच्च मात्रामा हुन्छन् जुन पत्थरीको कारण बन्ने गर्दछ । यसका साथै कम मात्रामा पानी पिउँदा पनि पत्थरी हुने सम्भावना उच्च हुन्छ ।

महिनावारी र पौष्टिक तत्वको बारे खानेपानी मन्त्री बिना मगर यसो भन्छिन्(भिडियोसहित)

नेपाली समाजमा किशोरीहरु पहिलो पटक महिनावारी हुँदा कस्तो ठाउँमा बस्न बाध्य हुन्छन् ? महिनावारी हुँदा महिलाले कस्तो समस्याहरु झेल्नु परिरहेका हुन्छन् ? महिनावारी भएका महिलालाई कस्तो दृष्टिकोणले हेर्ने गर्दछन् ? भन्ने विषयमा खानेपानी मन्त्री बिना मगरले गर्नुभएको सम्बोधन यस्तो छ– हेर्नुहोस् भिडियो-

अस्पतालको चरम लापरबाही, औषधीमै धमिरा

चितवन । चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको लापर्बाहीका कारण ब्लड क्यान्सरका लागि प्रयोग हुने औषधि राखिएको ठाउँमा धमिरा लागेको पाइएको छ । असुरक्षित रुपमा औषधि राख्दा महत्वपूर्ण ग्लिभेक नामको औषधिमा धमिरा लागेको हो । उक्त औषधि क्रोमिक माइलोइड ल्यूकेमिया (सिएमएल)का बिरामीलाई खुवाइन्छ । म्याक्स फाउण्डेसन, अमेरिकाले ब्लड क्यान्सर रोग लागेका बिरामीलाई भनेर सहयोग गर्दै आएको करीब ३०÷४० प्याकेट औषधिमा धमिरा लागेको पाइएको हो । अस्पतालका कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्यले धमिरा लागेको स्वीकार गर्दै औषधि नै बिग्रने गरी भने धमिराले नखाएको दाबी गर्नुभयो । “काठ भएको ठाउँमा धमिरा छ, मेन कभरलाई धमिराले खान शुरु गरेको छ, औषधिमा धमिरा छैन, हामीले निकालिसकेका छौँ ।” डा आचार्यले भन्नुभयो । धमिरा लागेको कतिपय औषधि काम नलाग्ने अवस्थाको जस्तो देखिन्छ । ग्लिभेक १०० एमजीको उक्त यहाँ स्टकमा ६२ प्याकेट रहेको औषधि शाखा हेर्दै आउनुभएकी स्टाफ नर्स लक्ष्मी न्यौपानेले जानकारी दिनुभयो । एउटा प्याकेटमा १०० वटा ट्याबलेट हुन्छ । केही प्याकेटमा धमिरा लागे पनि औषधिमा नलागेको दाबी उहाँको छ । महँगो औषधि भएकाले विदेशीले सहयोगमा दिँदै आएका छन् । बिरामी प्रमाणित भएको कागजात पठाएपछि सोही कागजातको आधारमा विदेशबाट उक्त औषधि क्यान्सर अस्पताललाई आउँछ । “कार्टुनमा अलिकति धमिरा लागेको पाइयो, ट्याब्लेट नै चाँहि खाएको छैन,” न्यौपानेले भन्नुभयो, “१०÷१५ प्याकेटमा बाहिरपट्टि धमिरा लागेको छ, तत्कालै नबाँडौँ भनेर मात्रै छुट्याएका छौँ ।” न्यौपानेले यो औषधि सम्बन्धी बिरामी अस्पतालमा करीब ९०० जना भएको बताउनुभयो । कतिपयले अहिले पनि औषधि खाँदै आएका छन् । यति महत्वपूर्ण औषधिलाई लापर्बाहीपूर्वक राख्दा धमिरा लागेको हो । अस्पताल प्रशासनका अनुसार बाहिरबाट आएको कार्टुनमा नै राखिएको तर होसियारी नअपनाउँदा बिरामी बचाउने औषधिमा धमिरा पसेको हो । क्यान्सर अस्पतालका सूचना अधिकारी गृहनारायण महतोले क्यान्सर अस्पतालमा धमिरा अलि बढी नै भएको जानकारी दिँदै बाक्लो कार्टुन भएकाले त्यसको तल्लो भागमा धमिरा लागेपनि औषधिमा असर नपरेको दाबी गर्नुभयो । सो विषयमा म्याक्स फाउण्डेसनले पनि प्रश्न उठाएको अस्पताल स्रोतले बताएको छ । रासस

डब्लूएचओद्वारा नेपालसँगको पाँच वर्षे रणनीति सार्वजनिक

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले नेपालसँग मिलेर स्वास्थ्य क्षेत्र सुधारका लागि गर्नुपर्ने प्राथमिकता किटान गरेर पाँचवर्षे रणनीति सार्वजनिक गरेको छ । बुधबार आयोजित विशेष कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री पद्मा आर्याल, स्वास्थ्य सचिव डा. पुष्पा चौधरी, डब्लूएचओका सहायक महानिर्देशक डा. रेन मेङ्गुई र डब्लूएचओका नेपाल प्रतिनिधि डा. जोस भेन्डेलियरले संयुक्तरुपमा उक्त रणनीति सार्वजनिक गरेका हुन् । चारवटा क्षेत्रलाई विशेष प्राथमिकता दिएर अगाडि बढ्ने रणनीतिमा उल्लेख गरिएको छ । संघीय संरचनाअनुसार सबै जनतालाई स्वास्थ्य सेवा पहुँच पुर्याउने, परिणाममूखी स्वास्थ्य सेवा प्रवाह गर्ने, स्वास्थ्य सुरक्षा, संभावित दैवी प्रकोपका विषयमा तयारी र बहुपक्षीय सहकार्यका माध्यमबाट स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्ने कुरालाई रणनीतिले प्राथमिकतामा राखेको छ । डब्लूएचओका नेपाल प्रतिनिधि डा. जोस भेन्डेलियरले स्थानियस्तरसम्म आधारभूत स्वास्थ्य सेवाको प्रत्याभूति, क्षयरोग नियन्त्रण, औलो उन्मुलन, नयाँ खोप उत्पादन, नसर्ने रोगको संक्रमण घटाउने र वातावरणीय स्वास्थ्यलाई रणनीतिले उच्च प्राथमिकता दिएको बताए । कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले नेपालको स्वास्थ्य सधारमा बिगत ६४ वर्षदेखि डब्लूएचओले गरिरहेको निरन्तर सहयोग र सहकार्यको लागि धन्यवाद दिदै रणनीतिले दिशानिर्देश गर्ने बताइन । उनले स्वास्थ्य क्षेत्रमा पछिल्ला वर्षमा दाताहरुको सहयोग घट्दै गएर २५ प्रतिशतमात्र सीमित रहेको जानकारी दिँदै अब उनीहरुबाट सीप र अनुभवमात्र लिने रणनीति सरकारको रहेको बताइन । स्वास्थ्य सचिव डा. चौधरीले नेपालको स्वास्थ्य सुधारका लागि दातृ निकायको सहयोग र सहकार्य सधै आवश्यक रहेको र त्यसैकै परिणाम स्वरुप नेपालले स्वास्थ्यका क्षेत्रमा उल्लेखनिय प्रगति गरेको दाबी गरिन ।

आँखा उपचारका लागि सिटी क्लिनिक

पाल्पा । कालीगण्डकी आँखा उपचार केन्द्र रामपुर, पाल्पाले आँखाका बिरामीलाई प्रभावकारी सेवा दिन सिटी क्लिनिक सेवा शुरु गरेको छ । रामपुर नगरपालिका–७, किसानबारीको कार्यालयबाट सेवा दिइरहेको केन्द्रले कार्यालय समय बाहिर पनि नागरिकलाई थप सेवा दिन सिटी क्लिनिक सेवा शुरु गरेको अध्यक्ष हुतराज पोखरेलले बताउनुभयो । बुधबार नेपाल नेत्र ज्योति संघका केन्द्रीय सदस्य एवं पाल्पा लायन्स लाकौल आँखा अस्पताल तानसेनका अध्यक्ष चकोरमान शाक्यले बेझाड बजारमा सिटी क्लिनिक भवनको उद्घाटन गर्नुभयो । उहाँले संसार देख्न वञ्चित रहेका नागरिकलाई विकट र दुर्गममा पुगेर सेवा दिने मुख्य उद्देश्य राखेर शुरु भएको पाल्पा लायन्स लाकौल आँखा अस्पतालले राम्रो सेवा दिँदै आएको बताउनुभयो । सिटी क्लिनिकमार्फत हरबखत यहाँका नागरिकलाई स्तरीय सेवा प्रवाह गर्न आँखा उपचार केन्द्रलाई अनुरोध गर्नुभयो । आँखा उपचार केन्द्रबाट वर्षेनि हजारौँ मानिसले सेवा लिइरहेका छन् भने आँखाका रोगीलाई अन्यत्र धाउनुपर्ने बाध्यता हटेको छ । रासस

मानसिक रोग परामर्शबाट निको हुन्छ

काठमाडौँ । मानसिक रोग परामर्शबाट नै निको पार्न सकिने मनोचिकित्सकले बताएका छन् । मानसिक स्वास्थ्य तथा परामर्श केन्द्रले मानसिक रोगको अवस्था, रोकथाम र उपचारका विषयमा पत्रकारसँग गरेको अन्तक्र्रिया कार्यक्रममा केन्द्रका अध्यक्ष तथा वरिष्ठ मनोचिकित्सक डा कपिलदेव उपाध्यायले मानसिक रोगीलाई परामर्शबाटै निको पार्न सकिने बताउनुभएको हो । “मानसिक रोगीले औषधि खाएरमात्र हुँदैन”, उहाँले भन्नुभयो, “तीनलाई औषधिभन्दा बढी परामर्श आवश्यकता पर्छ । परामर्शबाट नै रोग निको हुने गर्दछ ।” केन्द्रले सार्वजनिक गरेको तथ्याङ्कमा नेपालमा ६३ प्रतिशत महिला र ३७ प्रतिशत पुरुषमा यस्तो समस्या देखिएको पाइएको छ । अध्यक्ष डा उपाध्यायले भन्नुभयो, “पुरुषभन्दा महिलाले बढी पारिवारिक समस्या र सामाजिक उत्तरदायित्व वहन गर्नुपर्ने भएकाले उनीहरूमा नैरास्यता हुन्छ ।” टाउको दुख्ने, छाती दुख्ने बिरामीलाई दिमाग बिग्रेकोजस्ता शब्द प्रयोग गर्नाले पनि ती व्यक्तिमा मानसिक रोग देखा पर्ने गरेको चर्चा गर्दै उहाँले एक प्रतिशतमात्र मानसिक सन्तुलन गुमेका बिरामी पाइने जानकारी दिनुभयो । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका मानसिक रोग विभाग प्रमुख डा सरोजप्रसाद ओझाले मानसिक रोगीको संख्या दिन दिनै बढ्दै गएको छ तर ६० प्रतिशत महिलालाई आफ्नै श्रीमान्ले परामर्श गरेर निको पार्न सक्छन् भन्नुभयो । उहाँका अनुसार अहिले शिक्षण अस्पतालमा दैनिक सयजना मानसिक रोगी आउने गरेकामा ६० प्रतिशत महिला हुने गरेका छन् भन्दै उहाँले ८० प्रतिशत मानसिक रोगी स्वास्थ्य उपचारबाट वञ्चित हुनुपरेको बताउनुभयो । पुरुषमा कडा र महिलामा कम कडाखालको मानसिक रोग देखिने गरेको तर धामीझाँक्री वा झारफुकबाट यस्तो रोग निको नहुने त्यस बखत बताइएको थियो । केन्द्रका प्राविधिक निर्देशक एवं वरिष्ठ मनोविद् डा पशुपति महतले मानसिक रोगलाई समुदायबाट नै रोकथाम गर्न सकिनेमा जोड दिैदै उहाँले केन्द्रले विभिन्न ठाउँमा मनोपरामर्श सेवा सञ्चालन गरेर मानसिक रोगलाई निको पारिरहेको समेत जानकारी गराउनुभयो । अहिलेसम्म उक्तकेन्द्रबाट दुई हजार ७६० जनाले मनोपरामर्श पाएका छन् । बालमनोविद् मधुविलास खनालले विद्यालय तहदेखि नै के गर्दा गल्ती र के गर्दा सही हुन्छ भनेर सिकाउनुपर्ने बताउनुभयो । उक्त केन्द्रका अनुसार नेपालका करीब ५० देखि ६० लाख मानिस कुनै न कुनै मानसिक स्वास्थ्य समस्याबाट पीडित छन् । रासस

हात्तीपाइले रोगबाट १२० जना प्रभावित

बैतडी । बैतडीमा सयभन्दा बढी सम्भावित हात्तीपाइलेका रोगी भेट्टिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय बैतडीले गत चैतमा सञ्चालन गरेको हात्तीपाइले खोजी अभियानका क्रममा १२० जना सम्भावित हात्तीपाइले रोगी भेट्टिएका हुन् । जिल्लाका १० स्थानीय तहमा दुई चरणमा सञ्चालन गरेको खोजी अभियानका क्रममा ६० जना हाइड्रोसिलका रोगी तथा ६० जनाको हातखुट्टा सुन्निएका व्यक्ति भेट्टिएका जिल्ला स्वास्थ्य कार्यालय बैतडीका स्वास्थ्य सहायक सन्तोष पाण्डेयले जानकारी दिनुभयो । हाइड्रोसिल र हातखुट्टा सुन्निएका व्यक्तिलाई हात्तीपाइले भएको हुनसक्ने अनुमान गरिएको उहाँले बताउनुभयो । हाइड्रोसिल हात्तीपाइलेका कारण पनि हुने भएकाले हात्तीपाइले भएको हुनसक्ने अनुमान गरिएको हो भने हातखुट्टा सुन्निने लक्षण हात्तीपाइलेको भएकाले हात्तीपाइले नै भएको भन्ने अनुमान गरिएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । खोजी अभियानबाट आएको उक्त प्रारम्भिक रिपोर्टलाई चेकजाँच गर्न बाँकी रहेकाले परीक्षण तथा चेकजाँचपश्चात् मात्रै हात्तीपाइले भए÷नभएको पुष्टि हुने बताइएको छ । हात्तीपाइले रोग निर्मूल गर्ने नीतिका साथ यसअघि बैतडीमा ६ पटकसम्म हात्तीपाइले रोग विरुद्धको आम औषधि खुवाइएको थियो । सरकारले नेपालमा सन् २०२० सम्म हात्तीपाइले निवारण गर्ने लक्ष्य राखेको छ । रासस

अखिल नेपाल प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघको अध्यक्षमा डा.शर्मा

काठमाडौं । प्रतिनिधि सभा सांसद एवम् माओवादी केन्द स्वास्थ्य विभागकी ईन्चार्ज अन्जना बिशंखेले अखिल नेपाल प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघ विचारसहितको संगठन भएको दाबी गरेकी छन् । रिपोर्टर्स क्लब नेपालमा अखिल नेपाल प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै बिशंखेले यस्तो दाबी गरेकी हुन । उनले भनिन्,‘जनताको जनजिवीका र औषधी उपलब्ध गराउनको लागि होस्, स्वास्थ्य बिमाको लागि होस्, यस संगठनले महत्वपूर्ण भूमिका खेल्दै आएको छ, नयाँ कार्यसमिति चलयन भएको छ, अबका दिनमा समृद्ध मुलुकको जनपक्षीय स्वास्थ्य नीति निर्माण गर्नमा समेत सहयोग गर्नेछ ।’ त्यस्तै कार्यक्रममा महासंघका नव–निर्वाचित अध्यक्ष कृष्णसागर शर्मा पौडेलले संविधानमा स्वास्थ्य क्षेत्रलाई मौलिक अधिकारका रुपमा समावेश गरेको भएपनि कार्यान्वयमा गतिशिलता नभएको टिप्पणी गरेका छन् । उनले भने,‘स्वास्थ्य क्षेत्रलाई मौलिक अधिकारको रुपमा समावेश गरिएपनि सबै नागरिकले उचित किसिमको स्वास्थ्य सेवा पाउन सकेका छैनन्, निःशुल्क औषधि वितरण, स्वास्थ्य बिमा सबै जनतासामु पुर्याउनको लागि विगतमा हामीले संगठनको तर्फबाट महत्वपूर्ण भूमिका खेलेका थियौ, अब उक्त अधिकारलाई कार्यान्वयन गर्नको लागि महासंघले काम गर्नेछ ।’ अध्यक्ष शर्माले अघि थपे,‘जनस्वास्थ्यका सबै क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीहरुको सेवा सुविधा तथा अधिकारलाई संरक्षण गर्दै उनीहरुको व्यवसायीक सिप क्षमता तथा दक्षतालाई अध्ययन अनुसन्धान सहित थप समृद्ध बनाउँदै जनतासँगको सम्बन्धलाई प्रगाढ बनाउने, स्वास्थ्य क्षेत्रमा देखिए विकृति, विसंगतीको अन्त्य गर्न र ठेक्काप्रथाको अन्त्य गर्न, वीपि कोईराला मेमोरियल क्यान्सर अस्पतालमा कर्मचारीको हकहित विरोधी नियमावली संशोधन सहित पद पूर्तिमा देखिएको व्यापक अनियमिता बिरुद्ध हाम्रो महासंघ लागि पर्नेछ र तत्काल यस्ता विकृतिको अन्त्य नगरिए आवश्यकता अनुसार कडा आन्दोलनमा उत्रिने जानकारी गराउँद छु।’ कार्यक्रममा महासंघका महासचिव दलबहादुर जिसीले प्रेश विज्ञप्ती वाचन गरेका थिए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्य एवम् शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलको विशिष्ट आतिथ्यमा चैत २४ गते राजधानीमा सम्पन्न राष्ट्रिय एकता भेलाले डा.कृष्ण सागर शर्मा पौडेलको अध्यक्षतामा ४५ सदस्यीय पदाधिकारी सहित २९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ ।

नोबेल शिक्षण अस्पतालद्वारा कार्कीलाई रु एक लाख

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेज एवं शिक्षण अस्पतालले नेपाली काँग्रेस उदयपुरका पूर्व जिल्ला सभापति नारायणबहादुर कार्कीको उपचारमा सहयोगका लागि आज यहाँ रु एक लाख सहयोग गरेको छ । अस्पतालका निर्देशक सुनिल शर्माले काँग्रेस मोरङका सभापति डिगबहादुर लिम्बूलाई उक्त रकमको चेक आज हस्तान्तरण गर्नुभयो । संघीय संसद्को दोस्रो चरणको निर्वाचनमा उम्मेदवार कार्की चुनाव प्रचारका क्रममा निर्वाचन बहिष्कार समूहद्वारा गरिएको कुकर बम विष्फोटनमा घाइते हुनुभएको थियो । पूर्वसभापति कार्कीको अहिले शिक्षण अस्पताल काठमाडौँमा उपचारका लागि आर्थिक समस्या उत्पन्न भएको छ । निर्वाचनमा घाइतेको सम्पूर्ण उपचार सरकारले बेहोर्ने भने पनि समुचित सहयोग नपाइएको गुनासो उहाँको परिवारले गरेको छ । चेक हस्तान्तरण समारोहमा काँग्रेस सभापति लिम्बूले काँग्रेस र वर्तमान सरकार संवेदनशील भएर घाइतेको उपचारमा लाग्नुपर्नेमा जोड दिनुभयो । नोबेल अस्पतालका निर्देशक शर्माले आगामी दिनमा पनि थप सहयोग गरिने दृढता व्यक्त गर्नुभयो । नोबेल अस्पतालले असहाय र गरीबलाई निःशुल्क उपचार सेवा दिने गरेको बताइएको छ । रासस

डायलासिस र एक्स–रे सिआर्म यन्त्र प्रयोगविहीन

दाङ । यहाँको एक मात्र सरकारी अस्पताल साविकको राप्ती अञ्चल अस्पतालमा बिरामीले प्रभावकारी सेवा पाउनसकेका छैनन्। जनताले आफ्नै ठाउँमा प्रभावकारी स्वास्थ्य सेवा पाउनका लागि विसं २०६५ मा महापुराण लगाएर रु दुई करोड तथा करीब पाँच बिघा जग्गा सो अस्पताललाई जुटाइदिएका थिए । तत्कालीन सरकारले तुलसीपुरमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरवृद्धि गरेर अञ्चल अस्पताल बनाउने निर्णय गरेको थियो । अथक मेहनत तथा सहयोग गरेर स्थापना गरेको सो अस्पतालमा हालसम्म पनि विशिष्ट सेवा पाउन नसक्दा आफूहरु निराश बन्नुपरेको तुलसीपुरवासीको गुनासो छ । मुलुक संघीय संरचनामा गइसकेको अवस्थामा सो अस्पतालको नाम अझै पनि राप्ती अञ्चल अस्पताल नै छ । अहिले अस्पतालमा १७ विशेषज्ञ चिकित्सकको दरबन्दी भए पनि पाँच जना मात्र कार्यरत छन् । एक वर्ष अगाडि ठूलो मूल्यमा ल्याइएको डायलासिस र एक्स–रे सिआर्म यन्त्र हालसम्म पनि प्रयोग हुन नसक्दा यहाँका बिरामीलाई चर्को मूल्य तिरेर बाहिरी जिल्ला पुग्नुपर्ने बाध्यता रहेको स्थानीयवासी मीनराज भण्डारीले बताउनुभयो । त्यसैगरी अस्पतालले पहिलेदेखि नै सञ्चालनमा ल्याउने भनी ल्याइएका सघन उपचार कक्ष÷ एनआइसीयुका सामग्री पनि प्रयोगविहीन अवस्थामा पुगेको अस्पताल निकट स्रोतले जनाएको छ । त्यसैगरी अस्पतालले सञ्चालन गरेको औषधालयबाट पनि बिरामीले नियमित रुपमा सेवा पाउन सकेका छैन् । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट विनोद सिंहले अस्पतालमा दरबन्दीअनुसारको चिकित्सक र यन्त्र सञ्चालनका लागि दक्ष जनशक्ति र बिजुलीको भरपर्दो व्यवस्था नहुँदा समस्या भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले उपयुक्त दरबन्दी नपठाउँदासम्म सहज रुपमा सबै सेवा प्रवाह गर्न समेत सकिँदैन ।” रासस

बीमांक योगदानभन्दा बढी उपचार खर्च

चितवन । चितवन जिल्लामा बीमांक योगदान रकमभन्दा बढी सेवा प्रदायकले उपचार खर्च लिएका छन् । स्वास्थ्य बीमा बोर्डका ३ नम्बर प्रदेशका संयोजक कृष्णप्रसाद भट्टराईका अनुसार जिल्लामा बीमा योगदान रकम रु छ करोड ४७ लाख ३० हजार ६७० संकलन भएको छ भने सेवा प्रदायकलाई रु आठ करोड दुई लाख ४९ हजार २६५ भुक्तानी भएको छ । देशभरका ३१ जिल्लामा बीमा कार्यक्रम सञ्चालन भइरहेको छ । भट्टराईका अनुसार सबैभन्दा बढी बीमा भएको जिल्ला र बीमा योगदान रकमभन्दा बढी प्रदायकलाई भुक्तानी भएको जिल्ला पनि चितवन हो । उहाँका अनुसार चितवनमा एक लाख नौ हजार ३०६ जनाले बीमा गरेका छन् जसमध्ये ५७ हजार ४५० जनाले सेवा लिइसकेका छन् । विसं २०६८ को जनगणनाअनुसार जिल्लाको जनसंख्या पाँच लाख ९२ हजार ६०१ रहेको छ । कूल जनसंख्याको १८ दशमलव ४४ प्रतिशत जनताले बीमा गरेको उहाँले बताउनुभयो । भट्टराईका अनुसार बीमा लागू भएका ३१ वटा जिल्लामा पाँच लाख ८६ हजार ८२७ जनाले बीमा गरेका छन् जसमध्ये एक लाख १४ हजार ९०७ जनाले सेवा लिएका छन् । कूल बीमा योगदान रकम रु ३२ करोड १९ लाख दुई हजार ५०० संकलन भएको उहाँले बताउनुभयो । सेवा भुक्तानीबापत रु १५ करोड ५० लाख भुक्तान भएको छ । सचेत नागरिक भएकै कारण चितवनमा बीमाप्रतिको आकर्षण बढेको अनुमान छ । जिल्लाका १२ वटा अस्पतालले सेवा दिइरहेका छन् जसमध्ये सबैभन्दा बढी चितवन मेडिकल कलेजले ३५ हजार १८ जनालाई बीमा दाबी उपचार गरेको जनाएको छ । ती अस्पतालमध्ये गुञ्जमानसिंह अस्पतालबाट भने अहिलेसम्म कसैले पनि बीमा दाबी गरेर उपचार गरेका छैनन् । जिल्लामा असार १ गतेबाट बीमा कार्यक्रम शुरु भएको हो । रासस