स्तनको आकार बृद्धि गर्न सकिन्छ ?

काठमाडौं, डा. राजेन्द्र भद्रा । म २० वर्षीया युवती हुँ । अहिलेसम्म पनि मेरो स्तनको विकास भएको छैन । मैल एकपटक चिकित्सकलाई देखाउँदा पहिला महिनावारी हुनुपर्ने बताइएपछि मैले ओभरल भन्ने औषधी खाएँ । त्यसपछि महिनावारी त भयो, तर त्यो औषधी छोडेपछि महिनावारी पुन: बन्द भयो । जब त्यो औषधी लिन्छु तब मात्र महिनावारी हुन्छ । मलाई आफ्नो स्तन देखेर धेरै चिन्ता लाग्छ । अरूले पनि नराम्रो नजरले हेर्छन्, जसका कारणले मैले एकपटक आत्महत्या गर्ने प्रयास समेत गरें । म जसरी भए पनि यो समस्याबाट मुक्त हुन चाहन्छु । के गर्ने होला  ? ब्रेस्ट सर्जरी गर्न कति खर्च लाग्छ ?

 स्तनको विकास

स्तनको वृद्धि धेरैजसोमा ११ वर्षको उमेरमा सुरु भएर १५ वर्षमा पूरा हुन्छ । सामान्यत: दुई–तीन वर्ष चाँडो–ढिलो हुन सक्छ । स्तनको विकासको कुरा गर्दा आकृति (shape) आयतन (size) लाई नै Tanner Stage भनिने पाँच चरणमा बाँडिएको छ ।

पहिलो चरण : यो किशोरावस्था भन्दा पहिलेको अवस्था हो । यो अवस्थामा स्तनको मुन्टो मात्र उठेको हुन्छ ।

दोस्रो चरण : Bud जस्तो देखा पर्छ, यो चरणमा स्तन र मुन्टो अलिकति माथि उठेको हुन्छ । Areola (मुन्टोको वरिपरिको कालो रंगको छाला भएको क्षेत्र) अलि ठूलो भएर आउँछ ।

तेस्रो चरण : स्तन अझ बढ्ने र ग्रन्थिय तन्तु (glandular tissue) बन्ने क्रम जारी रहन्छ ।

चौथो चरण : Areola र मुन्टो अझै उठ्ने, स्तनको सबै भागमा अझ वृद्धि हुन्छ ।

पाँचौं चरण : स्तन वयस्कको जस्तै विकसित हुने, स्तनले गोलाकार आकृति लिने, Areola स्तनको अन्य भागको सतह समान हुने र मुन्टो मात्र उठेको स्थितिमा हुने । पूर्ण विकसित स्तनको आकार र साइजमा धेरै भिन्नता पाइन्छ । गर्भवती र स्तनपान गराइरहेको अवस्थामा स्तन केही ठूलो हुन्छ । व्यक्तिको वजन बढी भए यसको आकार पनि ठूलो हुन्छ । किशोरावस्थामा स्तनको तीव्र वृद्धि हुनुको मुख्य कारणचाहिं स्तनमा बोसो जम्मा हुनु हो र स्तनको आकार (आयतन) निर्धारण गर्ने मुख्य कुराचाहिँ हार्मोन हो, त्यसैले यसको आयतनलाई सजिलै परिवर्तन गर्न सकिंदैन । माथिका चरणहरूले स्तनको विकासलाई देखाउँछ नकि यसको वास्तविक आकृति वा आयतनलाई ।

स्तनको आकार र आयतनको महत्व

तपाईंले भन्नु भएजस्तै यसको आफ्नै प्रकारको महत्व छ । स्तनले महिलालाई यौन आकर्षक बनाउँछ र स्तनको स्पर्श महिला तथा पुरुष दुवैलाई यौन आनन्दको स्रोत हुन सक्छ । स्तनको आकृति तथा आयतनले महिलाको मानसिकतामा महत्वपूर्ण प्रभाव पार्छ । कतिले यसलाई आत्मसम्मानको कुरा मान्छन् । महिलाहरूमा स्वास्थ्य भन्दा सुन्दरताका कारणले बढी चिन्ता गरिने पाइएको छ । तपाईंको चिन्ताको मूल जरो पनि यही हो ।

अचेल शरीरलाई अति नै दुब्लो तर स्तनचाहिँ ठूला हुनुपर्ने फेसन छ, जुन त्यति सजिलो छैन । फेरि चित्रहरूमा जुन चलाखीले स्तनलाई आकर्षक देखाइएको हुन्छ त्यसो गर्न त्यति सजिलो पनि छैन, कतिपय स्थितिमा हामी दिग्भ्रमित हुन पुग्छौं । आमसञ्चारमा चित्रित गरिने व्यक्तित्वहरू आमव्यक्तिभन्दा फरक हुन्छन् भन्ने कुरा हामीले बुझ्नुपर्छ । हामी सबैको शरीर तथा आनीबानी आमसञ्चारमा देखाइएका पात्र जस्तै हुनुपर्छ भन्ने छैन । स्तन सानो हुँदैमा यौन क्रियाका लागि आवश्यक संवेदनशीलता नरहने वा शिशुलाई स्तनपान गराउन असक्षम हुने होइन ।

केही पुरुष ठूला स्तनप्रति आकर्षित हुने भए पनि वास्तविक यौन क्रियाका बेला स्तनको आयतनलाई नै सुखमय यौन जीवनका लागि मुद्दा बनाउँदैनन् । त्यसैले साना स्तन हुनेहरूको वैवाहिक जीवन पनि सहज र रमाइलो भएका थुप्रै उदाहरण छन् । त्यसैले यस विषयमा अनावश्यक चिन्ता गर्नु र आत्महत्याको प्रयास त के सोच आउनसम्म दिनु बुद्धिमानी होइन, तर तपाईंले यसलाई निको पार्ने सोच राख्नुभएको कुराले भने म उत्साहित छु ।

स्तनको विकास नहुने कारण र महिनावारी नियमित नहुनुको संकेत

हामीलाई थाहै छ, किशोरावस्थामा विभिन्न शारीरिक परिवर्तनहरू हुन्छन् । तपाईंले स्तन तथा महिनावारीको बाहेक सहायक यौन चिन्हहरूका बारेमा भने केही लेख्नुभएको छैन । १४ वर्षको उमेरसम्म पनि स्तनको विकास नहुनु वा यौनकेश (यौनाङ्ग वरिपरि रौं) नआउनु वा १६ वर्ष सम्म महिनावारीको सुरुवात नहुनु, स्तनको विकास हुन थालेको ५ वर्ष पछिसम्म पनि महिनावारी नहुनुले तपाईंको यौवनावस्थामा प्रवेश हुने कुरामा ढिलाइ भएको संकेत गर्छ । यसरी यौवनावस्था सुरु हुने कुरामा ढिलाइ हुनुका अनेक कारण हुन सक्छन् । कुनै दीर्घरोग, कुपोषण वा वंशाणुमा भएका खराबी अनि हार्मोन (पिटयुटरी वा थाइराइड) मा भएका खराबी त्यसका कारण हुन सक्छन् । तपाईंले यस विषयमा केही पनि जानकारी दिनुभएको छैन, त्यसमा पनि चिकित्सकले तपाईंको समस्याका बारेमा के भन्नुभयो, जानकारी दिनुभएको छैन । तपार्इंका आमा वा दिदी–बहिनीमा पनि यस्तो समस्या भए/नभएको कुरा पनि पत्रमा केही उल्लेख छैन ।

समाधान के होला त ?

यदि यौनावस्थाको सुरुवातमा ढिलाइ भएको हो भने त्यसको कारण अनुसार उपचार गर्नुपर्ने हुन्छ । यस्तो समस्याका लागि चिकित्सक त्यसमा पनि हार्मोनसम्बन्धी विशेषज्ञ (Endocrinnologist) सँग सम्पर्क राख्नु उपयुक्त हुन्छ । कतिपय समाजमा ठूला आकारका स्तनलाई आकर्षक मानिने भएकाले विकसित मुलुकहरूमा शल्यक्रिया (mammoplasty) गरेर स्तनको साइज बढाउने चलन नै चलेको छ । यो निकै खर्चिलो भएको र शल्यक्रिया तथा यसमा प्रयोग गरिने वस्तुहरूको आफ्नै कतिपय नकारात्मक असर पर्न थालेको देखिएको हुनाले त्यसका वैकल्पिक उपायहरूको अवलम्बनका बारेमा पनि निकै प्रचार गर्न थालिएको छ ।

तपाईंलाई थाहै छ कि भाग्यवश स्तन खुला राख्नु नपर्ने अङ्ग हो । यसको उभारलाई शल्यक्रिया नै नगरी बढी भएजस्तो देखाउन सकिन्छ । थुनचोली (ब्रा) भित्र कपडा, कपास वा यस्तै कुनै वस्तुको प्रयोग गर्नुबाहेक स्तनलाई माथितिर उचाल्न प्रयोग गरिने साधनहरूले स्तनको वास्तविक साइजमा परिवर्तन नगरे पनि देख्दा स्तन ठूलो भएको भान पर्न जान्छ र सुन्दरतामा वृद्धि हुन्छ ।

यसै किसिमले स्तनलाई पूरै ढाक्ने साधन पनि प्रयोग गर्न सकिन्छ, जसको मद्दतले स्तन केही ठूलो भएको भान पार्न सकिन्छ । यसैगरी वक्षस्थलमा उभार ल्याउन बाक्लो तरल सिलिकोन भएका साधनहरू पनि पाइन्छन् । ब्राभित्र लगाउन मिल्ने यस्ता साधन प्रयोग गर्दा लुगाबाहिरबाट स्पर्श गर्दासमेत सजिलै वास्तविक स्तन हो वा होइन भन्न सकिंदैन । यी साधनको प्रयोगले स्तनको आकारलाई यस्तै १ वा २ साइज बढी देखाउन सकिने भएकाले ब्रा पनि त्यही आकारको लगाउनुपर्ने हुन्छ ।  साप्ताहिकबाट

बढी सुत्ने बानी छ ? ज्यान जाला है !

निद्रा कसलाई मीठो नलाग्ला र ? झन् जाडोको याममा त दिनभरी सिरकभित्र गुट्मुटिएर सुत्नुको आनन्द नै बेग्लै । निद्रा मानव स्वास्थ्यका लागि कति महत्वपूर्ण छ भने हामी आफ्नो एक तिहाइ जीवनकाल त सुतेरै बिताउने गर्दछौं । तर सुत्नुको सीमा हुन्छ । सामान्यतया एउटा स्वस्थ मानिसले दिनमा छदेखि आठ घण्टाभन्दा बढी सुत्नु हुँदैन । फेरि पनि कतिपय मानिसलाई सुतेपछि बढी तरोताजापन महसुस हुनेहुँदा उनीहरू समय मिल्नासाथ सुत्न मन पराउने गर्दछन् । यदि तपाईं पनि सुताईको फ्यान हुनुहुन्छ भने बेलैमा सुध्रिहाल्नुस किनभने भर्खरै सार्वजनिक भएको एउटा शोधको नतिजाले तपाईंलाई तर्साउन सक्छ । युरोपियन हार्ट जर्नलमा प्रकाशित एउटा शोध अनुसार एउटा वयस्क व्यक्तिले दैनिक छ देखि आठ घण्टाभन्दा बढी सुत्नु जोखिमपूर्ण हुनसक्छ । शोधमा बढी सुत्ने मानिसमा मुटु रोगको खतरा बढी हुने बताइएको छ । आजसम्म कम सुत्ने मानिसलाई मात्रै मुटुरोगको जोखिम हुने मानिँदै आएको थियो । आजसम्म गरिएका सबै शोधहरूले आवश्यकताभन्दा कम्म निद्राले ऊर्जा कम खपत हुने, भोक प्रभावित हुने र शरीरको ग्लुकोज मेटाबोलिज्ममा फेरबदल आउने बताइएको थियो । यस्तो अवस्था मुटुसम्बन्धी समस्याहरूको कारक बन्न सक्ने बताइन्छ । तर हालैका केही अध्ययनहरूले भने बढी सुत्नेहरूमा पनि यस्तो जोखिम रहने खुल्न आएको छ । युरोपियन हार्ट जर्नलमा प्रकाशित शोधमा आठ घण्टाभन्दा बढी सुत्ने व्यक्तिहरूमा हृदयघात र स्ट्रोकको सम्भावना ठिक्क सुत्नेहरूभन्दा बढी पाइएको थियो । यस्ता मानिसहरूमा चांडै मृत्यु हुने सम्भावना अरुभन्दा ४१ प्रतिशतले बढी पाइएको थियो । यस अध्ययनका लागि म्याकमास्टर एण्ड पेकिङ यूनियन मेडिकल कलेजका चुआङशी वाङको नेतृत्वको टीमले २१ देशका विभिन्न क्षेत्रहरूबाट फरक फरक आर्थिक हैसियतका एकलाख १६ हजार ६ सय ३२ वयस्कहरूको सुताईको विवरणलाई विश्लेषण गररेको थियो ।

क्यान्सर रोगीको अनुदानकाे रकम वृद्धि हुन्छः अध्यक्ष प्रचण्ड

भक्तपुर, पुस २० । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्डल क्यान्सर रोगको उपचारका लागि भनेर असहाय र गरिबलाई दिइँदै आएको एक लाख रुपैयाको सहयोग राशिमा बढोत्तरी गर्न आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल क्यान्सर रिलिफ सोसाइटीको २८ औं केन्द्रीय सभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यसो भनेका हुन् । असहाय र निर्धन रोगीहरूलाई दिइने उक्त रकम क्यान्सर उपचारका लागि अपुग भएकाले त्यसलाई बढाएर पाँच लाख पुऱ्याउनु पर्ने समाजका अध्यक्ष लोकेन्द्र कुमार श्रेष्ठको प्रस्तावमाथि बोल्दै प्रचण्डले भने, “पाँचै लाख त भन्न सक्दिनँ तर पाँच लाखसम्म पुऱ्याउने मेरो प्रयास रहन्छ ।” साथै प्रचण्डले उक्त रकम क्यान्सरकै उपचारमा विशिष्टता प्राप्त अस्पतालहरूलाई मात्र प्रदान गरेर यसको दुरुपयोग समेत रोकिनुपर्ने बताए । क्यान्सरको उपचारका लागि ल्याइने भनेको अत्याधुनिक उपकरण राख्न अवश्यक पर्ने बंकरको व्यवस्था गरिदिन समेत सरकारसँग पहल गर्ने बताए । अध्यक्ष प्रचण्डले आफूले पनि क्यान्सर रोगका कारण परिवारका दुई सदस्य गुमाइसकेकाले आफूलाई यस रोगको गम्भीरताका बारेमा थाहा भएको समेत बताए । संविधानले नै शिक्षा, स्वास्थ्य र रोजगारीलाई मौलिक हकको रूपमा प्रस्तावित गरिसकेकाले यसलाई मूर्त रुप दिन नागरिक स्तरबाट र राज्यको स्तरबाट पहल हुनु आवश्यक रहेको प्रचण्डको भनाइ थियो । संविधानका प्रावधानहरू यस्ता क्षेत्रमा गम्भीर भएर लगानी बढाए मात्र प्रभावकारी हुनसक्ने प्रचण्डको भनाइ थियो । यसका लागि राज्य संवेदनशील र जवाफदेही हुनुपर्ने अध्यक्ष प्रचण्डले भने । क्यान्सर रोगको समयमै पहिचान र उपचार हुनसके यसबाट ज्यान गुमाउनेहरूको संख्या कम गर्ने सकिने स्मरण गर्दै अध्यक्ष प्रचण्डले यसका लागि व्यापक जनचेतनाको खाँचो रहेको औंल्याए ।

४९ हजार नर्स बेरोजगार !

काठमाडौं, पौष १९ । देशमा नर्सहरूको बेरोजगारीले सीमा नाघेको छ। ६६ प्रतिशत नर्स बेरोजगार छन्। नेपाल नर्सिङ काउन्सिलमा कुल ८५ हजार आठ सय ६ नर्स दर्ता भएकोमा २५ हजारले मात्रै रोजगारी पाएका छन्। काउन्सिलका अनुसार सात हजार नर्स रोजगारीको खोजीमा बिदेसिएका छन्। काउन्सिलमा दर्ता भएका पाँच हजार नर्सको मृत्यु भइसकेको छ। ४८ हजार आठ सय ६ नर्स देशभित्रै बेरोजगार छन्। स्वास्थ्य मन्त्रालयका अनुसार सरकारी स्वास्थ्य संस्थामा १२ हजार नर्स मात्रै कार्यरत छन् भन्ने खबर नयाँ पत्रिका दैनिकमा छ। निजी स्वास्थ्य संस्थामा करिब १३ हजार कार्यरत छन्। परिवार कल्याण महाशाखा नर्सिङ शाखाकी कम्युनिटी नर्सिङ प्रशासक कविता अर्याल निजी स्वास्थ्य संस्थामा कार्यरत नर्सको यकिन तथ्यांक नभएको बताउँछिन्। सरकारीको पनि ठ्याक्कै तथ्यांक भने छैन। मन्त्रालयले पहिलोपटक गरिरहेको कर्मचारीको विवरण संकलन सकिएपछि नर्सको आधिकारिक तथ्यांक आउने अर्यालको भनाइ छ। मन्त्रालयका अनुसार करारबाहेक रिक्त दरबन्दी दुई हजार नौ सय ४५ खाली छ।

भोजपुर नगरपालिका ९ ओटा वडामा पोषण सम्बन्धी अभिमुखीकरण

पाण्डव पुजारा, भोजपुर । भैसीपंखा स्वास्थ्य चौकी भोजपुरको आयोजनामा भोजपुर नगरपालिकाका ९ वडामा सुरक्षित मात्तृत्व तथा बाल्यकालिन÷मात्तृत्व पोषण सम्बन्धी अभिमुखीकरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । भोजपुर नगरपालिका वडा नम्बर १० को आर्थिक सहयोग तथा सु आहाराको प्राबिधिक सहयोगमा पौष ९ गते देखि सुरु भएको थिया । सुरक्षित मात्तृत्व बारेमा ज्ञान दिनु, मात्तृशिशु तथा बाल्यकालिन बालबालिकाको बृद्धि र बिकास बारेमा सुचित गराउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको भैसीपंखा स्वास्थ्य चौकी प्रमुख राकेश राईले बताए । साथै, कार्यक्रममा उपयुक्त गर्भवती समय, गर्भाअवस्था र स्याहार, प्रसुती अवस्था र स्याहार, स्तनपान, पोषणको महत्व, सरसफाई, बिरामी बच्चाको स्याहार आदि स्वास्थ्यका बिभिन्न बिषयमा छलफल गरिएको थियो । कार्यक्रममा भोजपुर नगरपालिकाका ९ वटा वडाका ३ सय ३ जना सहभागीले अभिमुखीकरणमा सहभागी रहेका थिए ।

धौलागिरिका सबै स्वास्थ्य संस्थामा प्रसूति केन्द्र

म्याग्दी, पुस १९ । म्याग्दीको भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने धौलागिरि गाउँपालिकाको सबै वडामा प्रसूति केन्द्र सञ्चालन भएको छ । घरमै असुरक्षित रुपमा सुत्केरी हुने र सुत्केरी हुनका लागि छिमेकी वडा, जिल्ला सदरमुकाममा पुग्नुपर्ने समस्या हटाउन गाउँपालिकाको पहलमा प्रसूति केन्द्र सञ्चालन भएको हो । गत वर्ष ५ नम्बर वडामा पर्ने मल्कवाङ र गत हप्ता चार नम्बर वडा मुदीमा रहेको स्वास्थ्य चौकीमा प्रसूति केन्द्र सञ्चालन गरिएको हो । मुदीसँगै सात वटा वडा रहेको धौलागिरि गाउँपालिकाको सबै वडाका स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर सञ्चालन भएको गाउँपालिकाको स्वास्थ्य शाखाका संयोजक लोकनाथ पौडेलले जानकारी दिए । यसअघि धौलागिरिको मुदी स्वास्थ्य चौकीमा मात्र बर्थिङ सेन्टरको सुविधा थिएन् । मुदीमा बर्थिङ सेन्टर शुरु भएपछि मुदी र नेरवाङका ३०० भन्दा बढी घरधुरी लाभान्वित भएका छन् । यसअघि गत वर्ष ५ नम्बर वडा मल्कवाङ स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर सञ्चालन गरिएको थियो । गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बर्थिङ सेन्टर सञ्चालन भएपछि सुरक्षित प्रसूति सेवामा सहज पहुँच स्थापित भई मातृ शिशु स्वास्थ्यमा सुधार हुने अध्यक्ष पुनले बताए । बर्थिङ सेन्टर सञ्चालनका लागि गुड नेवर्स इन्टरनेशनलको सहयोगमा कदम म्याग्दीद्वारा सञ्चालित सामुदायिक विकास परियोजनाले औजार, उपकरण उपलब्ध गराएको छ । पूर्वाधार व्यवस्थापनका लागि गाउँपालिकाबाट चालू आवमा रु एक लाख विनियोजन गरिएको वडाध्यक्ष बेगप्रसाद घर्तीले जानकारी दिए । एक जना तालीमप्राप्त अनमीको पनि व्यवस्था गरिएको छ । मुदीमा बर्थिङ सेन्टर नहुँदा यसअघि त्यहाँका गर्भवती सुरक्षित प्रसूति सेवाका लागि मुना, ताकम स्वास्थ्य चौकी, दरवाङ प्राथमिक स्वास्थ्य केन्द्र, बेनी अस्पताल र पोखरा पुग्नुपर्ने बाध्यता थियो । प्रसूति सेवाका लागि गाउँबाहिर जानुपर्दा रु ५० हजारभन्दा बढी आर्थिक खर्चको जोहो र हप्तौं समय लाग्ने गरेको थियो । आर्थिकरुपमा विपन्न समुदायका गर्भवती घरमै असुरक्षित रुपमा प्रसूति हुन बाध्य थिए । प्रसूति केन्द्र सञ्चालन भएपछि समय र आर्थिक खर्चको बचत हुनुका साथै जोखिम न्यूनीकरण भएकोमा मुदीका महिला खुशी भएका छन् । एक हजारलाई परिचयपत्र वितरण म्याग्दीको मालिका गाउँपालिकाले सबै वडामा घुम्ती शिविर सञ्चालन गरेर एक हजारभन्दा बढी ज्येष्ठ नागरिकलाई गाउँमै परिचयपत्र वितरण गरेको छ । सात वटा वडा रहेको मालिकाका सबै वडामा एक हप्तासम्म घुम्ती शिविर सञ्चालन गरेर एक हजार ७५ जना ज्येष्ठ नागरिकलाई वडा कार्यालयबाटै परिचयपत्र वितरण गरिएको गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालुले जानकारी दिए । परिचयपत्रको आधारमा ६० वर्षभन्दा बढी उमेरका ज्येष्ठ नागरिकले स्वास्थ्योपचार, यातायातलगायत सेवामा छुट सुविधा पाउने व्यवस्था छ । अपाङ्गता तथा ज्येष्ठ नागरिक परिचयपत्र कार्यविधि बनाएर उपाध्यक्ष बिटालुको संयोजकत्वमा अपाङ्गता समन्वय समिति गठन गरिसकेको छ । रासस

सबै स्थानीय तहमा आयुर्वेद चिकित्सा सेवा पुर्याउन माग

काठमाडौं, पुस १६ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतका आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवालाई सङ्घीय संरचनामा थप प्रवद्र्धन गर्न र ती सेवाका कर्मचारी समायोजन गर्दा तहगत दरबन्दीमा मिलान गर्न तीन सङ्घ-सङ्गठनले मन्त्रालयको ध्यानाकर्षण गराएका छन् । योग, आयुर्वेद, पञ्चकर्म, स्वस्थवृतसम्बन्धी सेवा प्रदान गर्न तथा जडीबुटीसम्बन्धी नीति निर्माण एवं कार्यान्वयन गर्न गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका सबै स्थानीय निकायमा कविराज, आयुर्वेद सहायक तथा आयुर्वेद चिकित्सक पु¥याउन माग गरेका छन् । हाल ७५३ स्थानीय तहमध्ये २५४ तहमा मात्र आयुर्वेद सेवा रहेको छ । सबै जिल्लामा आयुर्वेद स्वास्थ्य केन्द्र स्थापना गर्नुपर्ने, प्रदेश संरचनामा कामकाज गर्न खटाइएका कविराज ५, ६ र ७ तहको दरबन्दी कटौती नगरी पुनः कायम गर्नुपर्ने, प्रदेश स्वास्थ्य निर्देशनालयमा आठौँँ तहको आयुर्वेद चिकित्सकको दरबन्दी थप गर्नुपर्ने, राष्ट्रिय स्वास्थ्य तालीम केन्द्रमा आयुर्वेद विज्ञको दरबन्दी कायम गर्न, सङ्घीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका ११ औँ तहको आयुर्वेद विज्ञको व्यवस्था गर्नुपर्ने रहेका छन् । मन्त्रालयका सचिव केदारबहादुर अधिकारीलाई तीन निकायका उच्च पदाधिकारीले आइतबार भेट गरी आफ्ना माग पूरा गर्न आग्रह गरे । स्वास्थ्य सचेतना कार्यक्रम ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले आफ्नो वार्षिकोत्सवका अवसरमा काभ्रे जिल्लाकोे बनेपामा विशेष स्वास्थ्य सचेतना कार्यक्रम आयोजना गरेको छ । आइतबार सम्पन्न सो सचेतना कार्यक्रममा अस्पतालका उपनिर्देशक तथा अर्थोपेडी–स्पाइन सर्जन डा विनोद विजुक्छे, स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डा समीरा शफी खान, मधुमेह तथा थाइराइड रोग विशेषज्ञ डा सन्देश पन्थीलगायतका चिकित्सकले सेवा प्रदान गरेका थिए । अस्पतालका जनसम्पर्क अधिकृत विनोद अधिकारीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य जनचेतनाका सचेतना कार्यक्रम आयोजना गरिएको र कार्यक्रममा स्थानीय समुुदायको उल्लेख्य सहभागिता रहेको जानकारी दिए । मानिसका हुने ढाडको समस्या र समाधानका उपायमा डा विजुक्छे, महिलाको पाठेघरको मुखमा हुने क्यान्सर र जोगिने उपायमा डा खान तथा थाइराइड हर्माेनका कारण हुने समस्यामा डा पन्थीले चेतनामूलक प्रस्तुति दिएका थिए। रासस

नेपालमा पनि अब औषधिको गुणस्तर मानवमा परीक्षण गरिने

काठमाडौं, पुष १३ । नेपालमा पनि औषधिको गुणस्तर मानवमा परीक्षण गरिने भएको छ । यसअघि औषधिको गुणस्तर क्लिनिकल प्रविधि (बायोएस्से) बाट हुने गर्दथ्यो । त्रिभुवन विश्वविद्यालय, चिकित्सा अध्ययन संस्थानले पहिलो पटक बायोइक्युभ्यालेन्स सेन्टर स्थापना गर्नेछ । मानवमा औषधिको गुणस्तर परीक्षणका लागि सोही केन्द्रले आवश्यक तालीम, पूर्वाधार तथा जनशक्ति व्यवस्थापन गर्ने सहमति जनाएको छ । औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल र संस्थानका डिन प्राडा जगदीश अग्रवालबीच सो सहमतिसम्बन्धी आज यहाँ आयोजित कार्यक्रममा हस्ताक्षर सम्पन्न भयो । केन्द्र स्थापना गर्न विभागले चिकित्सा अध्ययन संस्थानलाई रु पाँच करोड सहयोग प्रदान गर्ने जनाइएको छ । चिकित्सा अध्ययन संस्थानका सहप्राध्यापक एवम् डिपार्टमेन्ट अफ फर्माकोलोजीका प्रमुख डा प्रदीप ज्ञवालीले औषधिको गुणस्तर मानवमा परीक्षण गरिने तयारी भएको जानकारी दिँदै जेनरिक औषधि परीक्षण हुनेछ भन्नुभयो । उनले यसबाट औषधिको गुणस्तर र प्रभावकारिता पत्ता लगाइने जानकारी दिए । रासस

अझै ४६ प्रतिशत प्रसूति स्वास्थ्य संस्था बाहिर

रोल्पा,पुस १३ । भौगोलिक विकटता र जनचेतनाको अभावमा रोल्पामा अझै पनि ४६ प्रतिशत प्रसूति स्वास्थ्य संस्था बाहिर हुने गरेको छ । जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार रोल्पामा संस्थागत प्रसूति दर ५४ प्रतिशत मात्र रहेको देखिएको छ । जिल्लामा अझै ठूलो सङ्ख्यामा घरमै सुत्केरी हुने देखिएको छ । जिल्लाका सबै वडामा स्वास्थ्य संस्था नहुँदा गर्भवती घरमै प्रसूति गर्न बाध्य हुने गरेको बताइएको छ । ७२ वटा वडा रहेको रोल्पाका २२ वटा वडा अझै पनि स्वास्थ्य संस्थाविहीन छन् । महिला स्वास्थ्य स्वयंसेविकाको विशेष परिचालन गरी शतप्रतिशत प्रसूतिलाई संस्थागत गर्ने गरी पहल थालेको जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका जिल्ला जनस्वास्थ्य प्रमुख डा सुशील आचार्यले जानकारी दिए । जटिल प्रसूतिका लागि जिल्लामा शल्यक्रिया सेवासमेत सञ्चालन गरिएको छ । जटिल प्रसूति सेवा लिनेको सङ्ख्यासमेत बढ्न थालेको छ । अघिल्लो आर्थिक वर्षमा ४१ जटिल प्रसूति सेवा लिएकामा चालू आर्थिक वर्षको मङ्सिर मसान्तसम्म यो सङ्ख्या २० पुगेको जिल्ला जनस्वास्थ्य प्रमुख डा आचार्यले जानकारी दिए। जटिल प्रसूतिको शल्यक्रिया गरेका सुत्केरी महिलालाई अनुकूल हुने कोठाको अभाव रहेका कारण केही समस्या देखिने गरेको बताइन्छ । “एकैपटक धेरै शल्यक्रिया गर्नुपर्दा समस्या आउने गरे पनि आन्तरिक स्रोत परिचालन गरेर व्यवस्थापन गरेका छौँ”, डा आचार्यले भने । ‘‘आमाका लागि खासै समस्या नभए पनि एसएनसियु स्थापना नहुँदा नवजात शिशुलाई असामान्य अवस्था आए उपचार गर्न समस्या हुने गरेको छ’’ डा आचार्यले भन्नुभयो । “एसएनसियु स्थापनाको पहल गरिरहेका छौँ”, डा आचार्यले भने । “केही पूर्वाधार थप तथा एसएनसियुको स्थापना भए जिल्ला अस्पतालबाटै जटिल प्रसूतिको सबै काम हुन्छ”, डा आचार्यले भने । जिल्लामा प्रोटोकलअनुसार आर्थिक वर्ष २०७४-७५ मा चारपटक गर्भवती जाँच गर्ने गर्भवतीको सङ्ख्या ४८ प्रतिशत रहेको जिल्ला स्वास्थ्य कार्यालय रोल्पाले जनाएको छ । आर्थिक वर्ष २०७३-७४ मा यो सङ्ख्या ४४ प्रतिशत मात्र रहेको थियो । गर्भवती भएको कुनै पनि समयमा स्वास्थ्य संस्थामा भेट गर्ने गर्भवतीको सङ्ख्या भने शतप्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षमा यो सङ्ख्या ९० प्रतिशत थियो । रासस

कैलालीमा २७ वर्षीया महिलाले जन्माइन् तिम्ल्याहा सन्तान

धनगढी, मंसिर २४ । कैलालीको धनगढी स्थित सेती अञ्चल अस्पतालमा एक महिलाले तिम्ल्याहा सन्तान जन्माएकी छन् । जिल्लाको गौरीगंगा नगरपालिका–३ का लोकराज जोशीकी २७ वर्षीया पत्नी निर्मला जोशीले तिम्ल्याहा सन्तान जन्माएकी हुन् । अस्पतालका अनुसार आइतबार दिउँसो दुई बजेर १३ मिनेटमा डेढ किलो तौलकी छोरीलाई जन्म दिएकी निर्मलाले ३ बजे एक किलोको छोरालाई जन्म दिइन् । त्यसको झण्डै आधा घण्टापछि तेस्रो सन्तानका रुपमा दिउँसो ३ बजेर ५० मिनेटमा दुई किलो तौलको छोरालाई जन्म दिइन् । ‘दोस्रो शिशु उल्टो अवस्थामा थियो, अप्रेशनमा सहभागी एक चिकित्सले भने, तीन वटै नवजात शिशु र आमाको स्वास्थ्य अवस्था ठिक छ ।’ समयभन्दा पहिले जन्मिएकाले तीन वटै शिशुको तौल कम रहेको चिकित्सकले बताए । करीव साढे सात महिनामा निर्मला सुत्केरी भएकी हुन् । तीनवटै शिशुलाई एनआईसियुमा राखिएको छ ।

जाडोमा सेक्सको थप आनन्द कसरी लिने ? जान्नुहोस्

एजेन्सी । कतिय मानिस जाडो महिना शुरु भएसँगै आनन्दमय सेक्सको मज्जा लिन नपाइने भयो भनेर चिन्तिन हुने गरेको सुनिन्छ । त्यसको एउटै कारण हो अत्यधिक चिसोको कारण कपडा खोलेर सेक्स गर्न नपाउनु । जाडोमा प्रायः पुरुषहरुको तुलनामा महिलाहरु कपडा खोलेर सेक्सको आनन्द लिन चाहँदैनन् । अझ भन्नुपर्दा महिलाहरु जाडो महिनालाई भन्दा गर्मी महिनालाई सेक्सका लागि उपयुक्त ठान्दछन् । तर, पुरुषहरु भने गर्मी महिना भन्दा जाडो महिनामा सेक्सको रुचि बढी राख्दछन् । जाडो समयमा कपडा शरिरबाट उतार्नु भनेको सजाय भन्दा कम होइन । यसकालागि तपाइले आफ्नो सेक्स पार्टनरलाई तयार पार्नु पर्दछ । हरेक उपाय र तौल तरिकाबाट पार्टनर कपडा खोल्न तयार होस् । बेडमा यौन क्रियाकलाप भन्दा पहिले रेड वाइनका एक एक गिलास तयार गर्नुहोस् । रेड वाइन उत्तेजनाको लागि महत्वपूर्ण मानिन्छ । जसले तपाइँलाई गर्मि पैदा गर्दछ र दुई जनाबिचको मायालाई थप उत्साहित पार्दछ । जसले सेक्सलाई अति उपयोगी बनाउँछ । दिनभर अफिसको कामको थकानका कारण तपाई सेक्सबाट टाढा नहुनुहोस् । वरु यसलाई प्रभावकारी बनाउन घर गए पछि तातो पानीले नुहाउनुहोस् जसले गर्दा तपाईको थकान कम हुन जान्छ र सेक्सका लागि तयार हुन सक्नु हुने छ । योन जीवन सुखद् वनाउन बिच्याउनाको पनि महत्वपुर्ण भूमिका रहन्छ । सफा र न्यानो खालको तन्दाको प्रयोगले तपाईलाई यौन कार्यको लागी उत्प्रेरित गर्न सक्दछ । फोहोर बेडिङले तपाईको जोसमा कमि ल्याउन सक्छ यसबाट बच्नको लागी उपयुक्त स्थान तथा कपडाको प्रयोग गर्नु आवस्यक हुन्छ । यी र यस्ता महत्वपूर्ण कार्यलाई ध्यान दिने हो भने जाडो महिनामा पनि सेक्सबाट आनन्द लिन सकिन्छ ।

मोबाइल धेरै चलाउनुहुन्छ ? हुनसक्छ यस्तो खतरा

काठमाडौं । मोबाइलको प्रयोगले सुविधासँगै समस्या पनि निम्त्याएको छ । मोबाइल सेटबाट निस्कने रेडिएसनले स्वास्थ्यलाई असर पुर्‍याइरहेको वैज्ञानिकहरूको निष्कर्ष छ । यस्तो असरबाट कसरी बच्न सकिन्छ भन्ने विषयमा कैयौं अध्ययन र अनुसन्धान भएका छन् । तर, स्पष्ट जवाफ अझैं आएको छैन । मोबाइलको रेडिएसन एक्स–रे र पराबैजनी विकिरणको तुलनामा कम शक्तिशाली हुन्छ । एक्स–रे र पराबैजनी विकिरणले हाम्रो डिएनएमा भएका रासायनिक बन्डलाई फुटाउने क्षमता राख्दछन् । अमेरिकी क्यान्सर सोसाइटीका अनुसार मोबाइलबाट निस्कने विकिरणले हाम्रो डिएनएमै परिवर्तन ल्याउनचाहिँ सक्दैन । त्यसैले मोबाइलबाट निस्कने विकिरणले क्यान्सरजस्तो रोग उत्पन्न गराउँदछ भनिहाल्न मिल्दैन । तर, कुन फोनबाट कति रेडिएसन निस्कन्छ भनेर पत्ता लगाउन एसआरको मापदण्ड बनाइएको छ । यसको आधारमा मानव शरीरमा पर्ने असरबारे थाहा पाउन सकिन्छ । विश्वभर मोबाइलको प्रयोग र क्यान्सरको सम्बन्धमा अनुसन्धानहरू भइरहेका छन् । यसमा विभिन्न खाले मत आउने गर्दछ । केही अध्ययनले मोबाइल फोनले उत्सर्जित गर्ने रेडियो फ्रिक्वेन्सी र निश्चित स्वास्थ्य समस्या, विशेष ब्रेन ट्युमरबीच सम्बन्ध नपाइएको बताएका छन् भने केही अध्ययनले सीधा सम्बन्ध रहेको बताउँछन् । रेडियो फ्रिक्वेन्सीले सामान्यतया फोन कल आउँदा बढी असर गर्ने भएकाले मोबाइल सकेसम्म टाउकोभन्दा टाढा राख्नुपर्दछ । लाउड स्पिकर अथवा इयरफोनको प्रयोगद्वारा पनि हामी रेडिएसनको असरबाट बच्न सक्छौं । नयाँ पत्रिकाबाट

कञ्चनपुरको स्वास्थ्य चौकी बजारमा निर्धन संस्थाद्वारा व्यवसायिक भैंसीपालन तालिम सम्पन्न

काठमाडौं, कार्तिक १९ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाका आफना ३० जना ग्राहक सदस्यहरुको सहभागितामा २०७५ कात्र्तिक १५ गतेदेखि १७ गतेसम्म कञ्चनपुर जिल्लाको स्वास्थ्य चौकी बजारमा ‘ब्यवसायिक भैंसीपालन तालिम’ सम्पन्न भएको यस संस्थाको स्वास्थ्य चौकी बजार शाखाका प्रमुख मनकाजी चौधरीेले जानकारी गराएका थिए । यस तालिममा प्रशिक्षकहरु मानबहादुर थापा, गोपाल दत्त ओझा, मनकाजी चौधरी र शंकरप्रसाद न्यौपाने रहेका थिए । एक परिवारमा एकजना उद्यमी बनाउन संस्थाले पहल गरिरहेको संस्थाले साढे दुई दशकदेखि निरन्तर लघुवित्त सेवा दिइरहेको यस संस्थाबाट कर्जा लिइ व्यवसाय गरी धेरै घरपरिवार आर्थिक समुन्नततिर अगाडि बढ्नुको साथै यस संस्थाको भावी कार्यक्रम, योजना, सेवा सुविधाको विस्तार तथा पहुँचमा वृद्धि गर्र्दै लैजाने समेत संस्थाका अत्तरिया क्षेत्रीय कार्यालयका क्षेत्रीय प्रमुख शंकरप्रसाद न्यौपानेले बताएका थिए । तालिममा सहभागीहरुलाई स्वागत गर्नुका साथै तालिमको उद्देश्य बारेमा संस्थाको स्वास्थ्य चौकी शाखाका प्रमुख मनकाजी चौधरीले प्रकाश पारेका थिए । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड ७ वटै प्रदेशका देशको ७७ वटै जिल्लाहरुको शाखा संञ्जाल रहेको नेपालको एकमात्र सबैभन्दा ठूलो लघुवित्त संस्था हो । संस्थाले १८१ वटा शाखाहरु, १० वटा क्षेत्रीय कार्यालय र केन्द्रीय कार्यालय गरी १९२ वटा कार्यालयहरुको संञ्जाल बनाइ लघुवित्त सेवा पु¥याइरहेको छ । संस्थाले ग्रामीण क्षेत्रमा बसोबास गर्ने शोषित, उत्पीडित, पिछडिएका विपन्न परिवारका महिलाहरुलाई समूहमा आवद्ध गराई विना धितो लगानी गर्नुका साथै सीपमूलक तालिम, उद्यमशीलता विकास तालिम, सचेतनामूलक कार्यक्रमहरु संचालन गर्र्दै आर्थिक, सामाजिक, वौंद्धिक विकास गर्दै आइरहेको छ । यस संस्थाले देशको कुना कुनामा शाखाहरु स्थापना गरी ग्राहक सदस्यहरुलाई सीप विकास तालिम प्रदान गर्दै आइ रहेको छ साथै तालिम लिएका सदस्यहरुलाई आवश्यकतानुसार लगानी समेत गर्दै आइ रहेको छ । यस संस्थाले २०७५ आश्विन मसान्तसम्ममा ३ लाख २५ हजार ८६८ घरपरिवारहरुमा सेवा विस्तार गरी लगानीमा रहेको कर्जा रु. १६ अरब ५ करोड ७० लाख पु¥याएको र ८ अरब ९८ करोड ९९ लाख बचत परिचालन गरेको छ । भैंसीपालन गरी रहेका यस शाखाका ग्राहक सदस्यहरुलाई थप ज्ञान, सीप प्रदान गर्न यस तालिममा सहभागी गराइएको संस्थाका स्वास्थ्यचौकी शाखाका प्रमुख चौधरीले जानकारी गराएका थिए । तालिमको संचालन स्वास्थ्यचौकी शाखाका प्रमुख चौधरीले गरेका थिए । रोगी तथा निरोगी गाइ–भैंसीको पहिचान गर्ने तरिका, रिपिट ब्रिडर्स, गर्भपतन, डिसटोकिया, प्रोल्याप्स रोगका मुख्य मुख्य कारण, लक्षण, उपचार तथा रोकथामका उपायहरुबारे जानकारी गाई–भैंसीपालनको महत्व, नेपालमा पालिने विभिन्न स्थानीय तथा उन्नत नश्लका गाई–भैंसीपालनकोे जातिय परिचय, कमी कमजोरी, संरक्षण तथा विकास, दूग्ध उत्पादनमा गाई–भैंसीको योग्यदान, दूधालु गाई–भैंसी छनौट गर्ने प्रक्रिया र यसको महत्व, गाई–भैंसीको भाले खोज्ने उमेर, भाले खोजेको समय पत्ता लगाउने, भाले लगाउने उत्तम समय र पहिचान गर्ने तरिका, कृत्रिम–प्राकृतिक गर्भाधान, यसको महत्व र गाई–भैंसीमा बाँझोपनाका मुख्य मुख्य कारणहरुको साथै समाधानका उपायहरुबारे जानकारी, गाई–भैंसीपालन विधि, उमेर र अवस्थाअनुसार गाई–भैँसी, बाच्छाबाच्छी, पाडा पाडीलाई भूँई (ठाउँ)को आवश्यकता तथा स्थानीय श्रोत साधनको प्रयोग गरी उन्नत गोठ निर्माण गर्ने तरिकाबारे जानकारी, ब्याउने गाई–भैँसी, दुहुना गाई–भँैसी तथा बाच्छा र बाच्छी, पाडा–पाडीको हेरचाहको साथै बिगौती दूध र यसको महत्व बारे जानकारी, दुहुना गाई–भंैसीको लागि हरियो घाँस तथा सन्तुलित दानाको महत्वको साथै स्थानीय श्रोतबाट उपलब्ध कच्चा पदार्थहरुको प्रयोग गरी सन्तुलित दाना बनाउने प्रविधिबारे जानकारी, दुधालु गाई–भैँसीको लागि वर्र्षैभरि हरियो घाँस उत्पादन गर्ने तरिकाबारे जानकारी, गाई–भैैंसीमा हुने आन्तरिक तथा वाहय परजीवीहरुको नियन्त्रणको साथै खोप कार्यक्रम बारे जानकारी, उन्नत÷ गाई भैंसीपालन ब्यवसायको योजना तर्जुमा र अभिलेख राख्ने तरिका र यसको महत्व, गाई र भैंसीपालन ब्यवसायको बजार ब्यवस्थापन, गाई–भैंसीमा लाग्ने मुख्य मुख्य रोगबारे सामान्य जानकारी, लक्षण, उपचार तथा रोकथामका उपायहरु, संस्थाले प्रदान गरेका सेवाहरु कर्जा, बचत, बिमा, विप्रेषण, कर्जा सदुपयोगिताको महत्व, कर्जा सदुपयोगिता, भैंसीपालन स्किम बारेमा सहभागीहरुले जानकारी लिएको क्षेत्रीय कार्यालयका क्षेत्रीय प्रमुख शंकर प्रसाद न्यौपानेले जानकारी गराएको थिए ।

छुटेका २१ हजार बालबालिकालाई बिहीबार भिटामिन ‘ए’ खुवाइँदै

बाजुरा, कात्तिक १५ । जिल्लामा ६ महीनादेखि पाँच वर्षमुनिका २१ हजार बालबालिकालाई बुधबार र बिहीबार भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदैछ । यसका साथै बालबालिकाको पाखुराको नाप लिइने र बालभिटासमेत वितरण गरिने जिल्ला स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । छ महीनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ को क्याप्सुल र एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइनेछ । सोका लागि जिल्लामा २६७ महिला स्वास्थ्य स्वयंसेविका र ११० स्वास्थ्यकर्मी परिचालन गरिएको छ । भिटामिन ‘ए’ र जुकाको औषधिसँगै पाँच वर्षमुनिका बालबालिकाको पोषणको अवस्था थाहा पाउन पाखुराको पनि नाप लिइने जिल्ला स्वास्थ्य कार्यालय बाजुराका अहेव रामचन्द्र यादवले बताउनुभयो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित कार्यक्रमअन्तर्गत भिटामिन ‘ए’ को कमीले बालबालिकालाई रतन्धो, कुपोषण हुने, दीर्घकालीन झाडापखाला लाग्ने, दादुरालगायतका रोग लाग्न नदिन कार्यक्रम सञ्चालन गरिएको हो । सरसफाइको कमीले बालबालिकालाई संक्रमण भई जुका पर्ने भएकाले जुका पर्न नदिन जुकाको औषधि खुवाइँदैछ । भिटामिन ‘ए’ को कमीका कारण हुने बाल मृत्यु रोक्न सरकारले विसं २०५० देखि राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । सरकारले छ÷छ महीनामा भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै आएको छ । रासस

कार्तिक १४ र १५ गते ५ वर्षमुनिका बालबालिकालाई ‘भिटामिन ए’ खुवाइँदै

काठमाडौँ, कात्तिक १३ । शिशु जन्मेको छ महीना पुग्यो ? अथवा पाँच वर्षमुनिको छ ? छ भने भोलि पायक पर्ने ‘बुथ’मा लिएर जाने तयारी गर्नुहोला । मतदान गर्न होइन नि बुथमा ! आफ्ना शिशुलाई स्वस्थ बनाउन एकैपटक चार सेवा भिटामिन ए, जुकाको औषधि (अल्वेन्डाजोल), पाखुराको नाप र बालभिटा प्राप्त गर्न । यसका लागि देशभर ३६ हजार बुथमा ६० हजार स्वयम्सेविका-स्वास्थ्यकर्मी जनशक्ति तयारी अवस्थामा रहेका छन् । कात्तिक १४ र १५ गरी दुईदिन भिटामिन ए खुवाउने कार्यक्रम सञ्चालन हुँदैछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, संयुक्त राष्ट्र सङ्घीय बालकोष (युनिसेफ)लगायत बालबालिकाका क्षेत्रमा कार्यरत अन्तर्राष्ट्रिय दातृ निकायको उच्च प्राथमिकता प्राप्त कार्यक्रमभित्र सो कार्यक्रम पनि रहेको छ । मन्त्रालयले एक वर्षमा वैशाख ६ र ७ तथा कात्तिक २ र ३ गते सो कार्यक्रम अभियानका रुपमा सञ्चालन गर्ने गर्दछ । यस वर्ष महान् पर्व बडादशैँ परेकाले मन्त्रालयले कात्तिक १४ र १५ गते सो अभियान सञ्चालन गर्न लागिएको हो । पहिलोचोटि यस पटक ती कार्यक्रमको नेतृत्व पालिका (गाउँपालिका-नगरपालिका)ले गर्दैछन् । “देशभरका ७५३ पालिकामार्फत् ती चारवटै सेवा प्रदान गर्न सबै तयारी पूरा भयो”, बालस्वास्थ्य शाखाअन्तर्गतका पोषण शाखा प्रमुख केदार पराजुली भन्छन् । उहाँका अनुसार भिटामिन ए क्याप्सुल छ महीनादेखि पाँच वर्षमुनिका करीब २७ लाख तथा एक वर्षदेखि पाँच वर्षमुनिका २३ लाख ५६ हजार ८५३ बालबालिकालाई अल्वेन्डाजोल एक ट्याबलेट खुवाइने छ । अल्वेन्डाजोल चकलेट स्वादमा रहेको छ । “भिटामिन ए ले बालबालिकालाई रतन्धो हुनबाट जोगाउँछ, रोगसित लड्ने क्षमतामा वृद्धि हुँदा उनीहरुलाई झाडापखाला, श्वास प्रश्वासलगायतका सङ्क्रमणबाट जोगाउँछ”, बाल स्वास्थ्य महाशाखाका प्रमुख डा झलक गौतम बताउँछन् । भिटामिन ए खुवाउने कार्यक्रम शुरु भएको लामो समय बितिसके पनि अझै चार प्रतिशत बालबालिकामा भिटामिन ए अभावको समस्या रहेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । यसैगरी बालबालिकाका लागि अति आवश्यक सुक्ष्म पोषक तत्वका रुपमा बालभिटा खुवाइँदै छ । सन् २००८ देखि छ महीनादेखि दुई वर्षमुनिका बालबालिकालाई बालभिटा खुवाउन शुरुआत गरिएको थियो । बालभिटाभित्र विभिन्न १५ किसिमका पोषकतत्व मिश्रण गरिएको हुन्छ जुन बिहान खानामा मिसाएर खुवाउन पर्छ । करीब छ लाख ६० हजार बालबालिकालाई सो बालभिटा वितरण गरिने छ । विज्ञका अनुसार २३ महीनाभित्र १८० प्याकेट बालभिटा खुवाउनुपर्छ । यस पटक बालभिटाको कार्यक्रम ४१ जिल्लामा सञ्चालनमा रहेको मन्त्रालयले जनाएको छ । पाखुराको नाप किन ? मन्त्रालयले छ महीनादेखि पाँच वर्षमुनिका बालबालिकाको पाखुराको नाप लिन अनिवार्य गरेको छ । “पाखुराको नापले बालालिकाको पोषणको स्थितिलाई देखाउँछ । नापले रातो, पहेँलो र हरियो अवस्था देखिन्छ । रातोले कडा कुपोषित, पहेँलोेले मध्यम र हरियोले कुपोषित अवस्था देखाउँछ”, पोषणशाखा प्रमुख पराजुली भन्छन् । कुपोषित देखिएका बालबालिकाका अभिभावकलाई पोषण खानाको महत्व, स्थानीय तहमा अन्न तथा फलफूलमा पाइने पोषणका बारेमा जानकारी एवं लिटोका लागि पीठोसमेत वितरण गरिने कार्यक्रम रहेको छ । बाल स्वास्थ्य महाशाखा प्रमुख डा गौतमका अनुसार यस पटक ती कार्यक्रमका लागि ३६ हजार बुथ रहने छन् । ती बुथमा ६० हजार स्वास्थ्यका जनशक्ति परिचालन हुने छन् । पहिलो दिनमा स्वयम्सेविका÷स्वास्थ्यकर्मीले बुथमा आएका बालबालिकालाई ती सेवा प्रदान गर्नेछन् । पहिलो दिनमा छुटेका बालबालिकालाई स्वयम्सेविकाले दोस्रो दिन घर घरमा गई ती सेवा प्रदान गर्ने छन् । महिला स्वयम्सेवी तथा । रासस

चौतारामा निशूल्क स्वास्थ्य शिविर

चौतारा, कार्तिक १३ । सिन्धुपाल्चोकको साँगाचोकमा क्यान्सरको निशूल्क स्वास्थ्य परीक्षण गरिएको छ । चौतारा साँगाचोकगढी नगरपालिकाको आयोजनामा क्यान्सरको निशूल्क परीक्षण र औषधि बितरण गरिएको हो । नगरपालिकाका मेयर अमानसिंह तामाङले स्वास्थ्य शिविरको उद्घाटन गरेका छन् । शिविर उद्घाटनमा बोल्दै मेयर तामाङले मानव जीवनको पहिलो शर्त नै स्वस्थ जीवन रहेको बताए । उनले भने, ‘आफू रहे संसार रहन्छ । संसार रहे मात्र सम्पत्ति, परिवार र साथीभाइ रहन्छन् । त्यसैले आफू रहनका लागि पहिलो पाइला भनेकै स्वास्थ्य हो, त्यसैले शिविरको आयोजना गरेका हौं ।’ शिविरमा नगर उपप्रमुख जानुका पराजुलीले महिलाहरुलाई लक्षित गरेर शिविर आयोजना गरेको बताइन् । पराजुलीले भनिन्, ‘हामीकहाँ अहिले पनि रोगले च्यापेपछि मात्र अस्पताल जाने चलन छ । ग्रामीण क्षेत्रका महिलाहरुको स्वास्थ्य परीक्षण आवश्यक ठानेर शिविरको आयोजना गरेका हौं । तयसले थोरै भए पनि बिरामीलाई राहत मिल्ने अपेक्षा गरेका छौं ।’ पराजुलीले शिविर सञ्चालनमा सहयोग गर्ने सबैलाई धन्यवाद दिइन् । ‘शिविरको समन्वय गरी दिएकोमा थाहा फाउण्डेशन पोखरालाई हार्दिक धन्यवाद दिन चाहन्छु’ उपमेयर पराजुलीले भनिन्, ‘प्राविधिक सहयोग र जनशक्ति व्यवस्थापनमा सहयोग गर्नुहुने सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी र बीपी कोइराला क्यान्सर अस्पतालप्रति आभार प्रकट गर्दछु ।’ कार्यक्रममा थाहा फाउण्डेशनकी अध्यक्ष सरु दाहाल अधिकारीले थाहा फाउण्डेशनले साँगाचोकमा स्वास्थ्य शिविरको समन्वय गर्न पाएकोमा खुसी व्यक्त गरिन् । त्यस्तै फाउण्डेशनका सदस्य तथा बिपी मेमोरियल क्यानसर अस्पतालका डा। किशोर प्रधानङ्गले क्यान्सरको लक्षण देखिने बित्तिकै उपचार गर्न सबैलाई आग्रह गरे । शिविरमा महिलाहरुको स्तन र पाठेघरको क्यान्सरको परीक्षण गरिएको थियो । छातिमा गिर्खा देखिने पुरुषहरुका लागि पनि स्वास्थ्य उपचारको व्यवस्था गरिएको दाहालले जानकारी दिइन् । उपचारपश्चात् सबै बिरामीलाई निशूल्क औषधि उपलब्ध गराएको उपप्रमूख पराजुलीले बताइन् । २ दिनसम्म सञ्चालन हुने शिविर मंगलबार जिल्लाको चौतारामा सञ्चालन भइरहेको छ ।