डायलासिस र एक्स–रे सिआर्म यन्त्र प्रयोगविहीन

दाङ । यहाँको एक मात्र सरकारी अस्पताल साविकको राप्ती अञ्चल अस्पतालमा बिरामीले प्रभावकारी सेवा पाउनसकेका छैनन्।

जनताले आफ्नै ठाउँमा प्रभावकारी स्वास्थ्य सेवा पाउनका लागि विसं २०६५ मा महापुराण लगाएर रु दुई करोड तथा करीब पाँच बिघा जग्गा सो अस्पताललाई जुटाइदिएका थिए । तत्कालीन सरकारले तुलसीपुरमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरवृद्धि गरेर अञ्चल अस्पताल बनाउने निर्णय गरेको थियो ।

अथक मेहनत तथा सहयोग गरेर स्थापना गरेको सो अस्पतालमा हालसम्म पनि विशिष्ट सेवा पाउन नसक्दा आफूहरु निराश बन्नुपरेको तुलसीपुरवासीको गुनासो छ । मुलुक संघीय संरचनामा गइसकेको अवस्थामा सो अस्पतालको नाम अझै पनि राप्ती अञ्चल अस्पताल नै छ ।

अहिले अस्पतालमा १७ विशेषज्ञ चिकित्सकको दरबन्दी भए पनि पाँच जना मात्र कार्यरत छन् । एक वर्ष अगाडि ठूलो मूल्यमा ल्याइएको डायलासिस र एक्स–रे सिआर्म यन्त्र हालसम्म पनि प्रयोग हुन नसक्दा यहाँका बिरामीलाई चर्को मूल्य तिरेर बाहिरी जिल्ला पुग्नुपर्ने बाध्यता रहेको स्थानीयवासी मीनराज भण्डारीले बताउनुभयो ।

त्यसैगरी अस्पतालले पहिलेदेखि नै सञ्चालनमा ल्याउने भनी ल्याइएका सघन उपचार कक्ष÷ एनआइसीयुका सामग्री पनि प्रयोगविहीन अवस्थामा पुगेको अस्पताल निकट स्रोतले जनाएको छ । त्यसैगरी अस्पतालले सञ्चालन गरेको औषधालयबाट पनि बिरामीले नियमित रुपमा सेवा पाउन सकेका छैन् ।

अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट विनोद सिंहले अस्पतालमा दरबन्दीअनुसारको चिकित्सक र यन्त्र सञ्चालनका लागि दक्ष जनशक्ति र बिजुलीको भरपर्दो व्यवस्था नहुँदा समस्या भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले उपयुक्त दरबन्दी नपठाउँदासम्म सहज रुपमा सबै सेवा प्रवाह गर्न समेत सकिँदैन ।” रासस

बैतडीमा हात्तीपाइले रोगीको खोजी

बैतडी, चैत ७ । बैतडीमा हात्तीपाइले रोगीको खोजी अभियान सञ्चालन हुने भएको छ । पहिलो चरणमा यही चैत १२ गतेदेखि जिल्लाका ६ वटा स्थानीय तहमा हात्तीपाईले रोगीको खोजी गर्न लागेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका हेल्थ असिस्टेन्ट सन्तोस पाण्डेयले जानकारी दिए । पहिलो चरणमा दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, मेलौली नगरपालिका, पञ्चेश्वर गाउँपालिका, शिवनाथ गाउँपालिका र सुर्नया गाउँपालिकामा उक्त अभियान सञ्चालन हुने जनाइएको छ । चैत १४ गतेसम्म सञ्चालन गते उक्त अभियानमा महिला स्वयंमसेविकाले घर घरमा गएर हाईड्रोसिल तथा हात खुट्टा सुन्निएको बिरामीको खोजी गर्ने हेल्थ असिस्टेन्ट पाण्डेयले बताए । हात्तीपाईतेका बिरामी खोजी अभियानमा ४८३ महिला स्वयंमसेविका र २५० स्वास्थ्यकर्मी गरी ७३३ जनशक्ति परिचालन गरिने जिल्ला स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । पहिलो चरणको खोजी अभियान सकिएलगत्तै दोगडाकेदार, डिलाशैनी,सिगास र पुर्चौडीमा दोस्रो चरण अन्तर्गत खोजी अभियान सञ्चालन गरिने भएको छ । ६ वर्षसम्म हात्तीपाइले रोगविरुद्धको आम औषधि खुवाएपछी बैतडीमा अझै पनि हुनसक्ने भन्दै खोजीगर्ने भएको हो । यो अभियानले हात्तीपाइले रोगविरुद्धका औषधी अभियानको प्रभावकारिता कस्तो भयो भनेर थाहा हुने जनाएको छ । हात्तीपाइले रोगका बिरामीमा हात खुट्टा सुन्निएकाको उपचार गरिन्छ भने हाईड्रोसिल भेट्टिएमा जिल्ला अस्पताल बैतडीमा जुनसुकै समयमा पनि निशुल्क रुपमा अप्रेशन गरिने हेल्थ असिस्टेन्ट पाण्डेयले बताए । यस्तो किसिमका बिरामीले महिला स्वयंमसेविका तथा स्वास्थ्यकर्मीको सम्पर्कमा आउन जिल्ला स्वास्थ्य कार्यालय बैतडीले अनुरोध गरेको छ । यसका साथै यो अभियान सम्पन्न भएपछि जिल्ला स्वास्थ्य कार्यालयमा हाईड्रोसिल शल्यक्रियाकोे निःशुल्क शिविर बस्ने जनाएको छ ।

झापाका ३९२ बालबालिकामा कडा कुपोषण

झापा, फागुन २९ । झापाका करीव चार सय बालबालिका कडा कुपोषणको शिकार भएको पाइएको छ । जिल्लाका पाँच स्थानीय तहमा रहेका बालबालिकाको स्वास्थ्य परीक्षण गर्दा १७९ बालक र २१३ बालिकामा कडा कुपोषण भएको भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाका कार्यक्रम अधिकृत कुलबहादुर पौडेलले जानकारी दिए । झापाका कचनकवल, झापा, गौरीगञ्ज र बाह्रदशी गाउँपालिका तथा शिवसताक्षी नगरपालिकाका ३० स्वास्थ्य संस्थामा १०० भन्दा बढी पटक गरिएको कुपोषित बालबालिका पहिचान शिविरबाट ३९२ कुपोषित बालबालिका फेला परेको हो । ‘कडा पोषणको शिकार भएको बालबालिकामा झापा तेस्रो स्थानमा रहेको छ,’ अधिकृत पौडेलले भने, ‘पहिलोमा सप्तरी र दोस्रोमा सिरहा छन् ।’ गत साउनमा बाढी आउनुअघि झापामा १२ प्रतिशत बालबालिका कुपोषणको शिकार भए पनि त्यसयता २१ प्रतिशत वृद्धि भई ३३ प्रतिशत पुगेको छ । अन्तर्राष्ट्रिय मापदण्डअनुसार पाँच प्रतिशतभन्दा बढी हुनु भनेको खतरा हो । कुपोषित बालबालिकाको पहिचान गरी उपचार गर्न झापामा ओटिसी सेन्टर स्थापना गरिएको छ । जिल्लाका १५ वटै स्थानीय तहमा १६ केन्द्र स्थापना गरिएको जिल्ला कार्यालयले जनाएको छ । जनस्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य प्रमुख मधुसूदन कोइरालाले कुपोषणको शिकार भएका बालबालिकाको अवस्थानुसार ४२–९० दिनसम्म निदान विधिबाट उपचार गरिने बताए । हालसम्म १४७ बालबालिकाको उपचार गरिसकिएको छ भने २४५ जनाको उपचार भइरहेको छ । कुपोषित बालबालिकालाई युनिसेफको सहयोगमा तयारी पोषिलो खाना खुवाइने छ । केन्द्र सञ्चालनका लागि २५० स्वास्थ्यकर्मीलाई तालीमसमेत प्रदान गरिएको छ । तालीमप्राप्त स्वास्थ्यकर्मीले बालबालिकाको शारीरिक अवस्थाको परीक्षण गरी उपचार गर्नेछन् । केन्द्रमा उपचार सम्भव नभए मेची अञ्चल अस्पताल र दमक अस्पताल दमकमा सिफारिस गरिने बताइएको छ । सो कार्यक्रम जनस्वास्थ्य झापाको समन्वय र युनिसेफको सहयोगमा सञ्चालित छ । (रासस)

लम्बिँदै मौसमी रुघाखोकी

काठमाडौं, फागुन २६ । सिफलकी रमा राणा तीन सातादेखि निरन्तर खोकीले प्रताडित छिन् । सुरुमा दुई साता रुघाखोकी र ज्वरोले सतायो । चिकित्सकको सल्लाहअनुसार ७ दिनसम्म औषधि खाएपछि सन्चो पनि भयो । तर फेरि केही दिनपछि सुक्खा खोकी सुरु भयो । कडा खालका औषधि सेवन गर्दा पनि उनलाई निको भएको छैन। मौसम परिवर्तन हुने समयमा धेरैले भोग्ने र सामान्य ठान्ने मौसमी रुघाखोकी (सिजनल फ्लु) आक्रामक बन्दैछ । भाइरस (फ्लु) ले स्वरुप बदल्नु, धेरै प्रकारका भाइरसको संक्रमण एवं नयाँ भाइरसको प्रवेशसँगै देखापरेको यस्तो रुघाखोकी लामो समयसम्म निको नहुनुमा वातावरण प्रदूषण पनि एक कारक भएको चिकित्सक बताउँछन्। टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार पछिल्ला दिनमा रुघाखोकी लगातार लागिरहने र निको भएको केही दिनमै फेरि दोहोरिने समस्या लिएर आउने बिरामीको संख्या बढ्दै गएको छ । डा. पुनका अनुसार कतिपय ‘लिट्रेचर’ हरुमा समेत देखिएको तर नेपालमा प्रमाणित भइनसकेको ‘पोस्ट भाइरल कफ’ का कारणसमेत यस्तो समस्या देखिएको हुनसक्छ । ‘यसले ३ सातादेखि ८ सातासम्म संक्रमण गराउँछ’, उनले भने। सामान्यतः मौसम परिवर्तनका बेला ‘ए’ जातिका भाइरसको संक्रमणले यस्तो गराउँछ । कुनै समयमा स्वाइन फ्लुको नामले चिनिने एच१एन१ प्रजातिको भाइरस पनि इन्डेमिक (साधारण रुपमा फैलिरहने) भाइरसमा परिवर्तन हुनु र रुघाखोकीमा सावधानी नअपनाइनुले जोखिम बढ्दै गएको चिकित्सक बताउँछन्।, यो खबर आजकोनागरिक दैनिकमा छ ।

अस्पतालमा पनि दलालको बिगबिगी !

काठमाडौं, फागुन २६ । बिरामी पठाएबापत दलालले किस्ता-किस्तामा कमिसन पाउने ‘राम्रो उपचार र डाक्टर छन् भन्दै लैजाँदा रहेछन् तर निजीमा बिरामी ठगिन्छन्। प्रहरीको एउटा टोली अहिले तिनै दलालको पछि लागिरहेको छ।’ – अरुणकुमार बिसी, एसपी, प्रहरी प्रमुख, मोरङ विराटनगरको कोसी अञ्चल अस्पतालमा उपचार गर्न आएका संखुवासभाको खाँदबारी नगरपालिका-७ का रमेश श्रेष्ठ अस्पताल पुग्नै पाएनन्। शनिमन्दिरनजिकै बसबाट ओर्लिनासाथ उनी दुई-तीन युवाको चुंगुलमा फसे र निजी क्लिनिकको ‘अतिथि’ बन्न पुगे। सरकारी अस्पतालको सहुलियत सेवा लिन आएका श्रेष्ठ ‘सस्तोमा छिटो, छरितो र राम्रो उपचार पाउने’ प्रलोभनमा फसेर क्लिनिक पुगेका हुन्। ‘१५ हजार रुपैयाँ बोकेर सरकारी अस्पतालमा उपचार गर्न आएको थिएँ तर निजीमा पुग्दा २५ हजार सकियो’, उनले भने, ‘पैसा नपुगेर घरबाट मगाउनुपर्‍यो।’ प्रदेश १ को राजधानी विराटनगरमा सरकारी अस्पतालको सेवा लिन आउने बिरामी यसरी नै प्रतिदिन दलालको प्रभावमा परी निजी अस्पताल र क्लिनिकबाट ठगिन थालेका छन्। बिरामी तान्न केही निजी अस्पताल र क्लिनिकले दलाल नै परिचालन गरेको रहस्य खुलेको छ। गत बुधबार शनिमन्दिर नजिकै बिरामीलाई झुक्याएर निजी क्लिनिकमा लैजाँदै गर्दा प्रहरीले दुई युवालाई पक्राउ गर्‍यो। बिरामीलाई झुक्याएर नेसनल क्लिनिक लैजाँदै गर्दा सप्तरी, राजविराज-६ का ३० वर्षीय सीताराम सरदार र महोत्तरी जलेश्वर-६ का ३५ वर्षीय उमेश महतो पक्राउ परेका हुन्। विराटनगरमा डेरा गरी बस्ने सरदार र महतो निजीमा बिरामी पुर्‍याउने ‘दलाल पेसा’ मा सक्रिय रहेको प्रहरी अनुसन्धानबाट पुष्टि भएको छ।, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।

औषधि व्यवस्था विभाग खारेज गर्ने तयारी

काठमाडौं, फागुन २१ । स्वास्थ्य मन्त्रालयले औषधि व्यवस्था विभाग खारेज गर्ने विषयमा छलफल थालेको छ । विभागमा पर्याप्त कर्मचारी नभएको कारण देखाउँदै मन्त्रालय खारेज गर्ने निष्कर्षमा पुगेको समाचार नयाँ पत्रिकामा छ । स्रोतका अनुसार स्वास्थ्य सचिव डा. पुष्पा चौधरीले औषधि व्यवस्था विभागको कुनै काम नभएको भन्दै स्वास्थय सेवा विभाग मातहत महाशखाको रुपमा राख्नुपर्ने धारणा राखेकी थिइन् । औषधिको गुणस्तर मापन र अनुगमनजस्ता कार्य गर्ने विभागलाई मन्त्रालयले सेवाजस्तो ठानेको विभागका अधिकारीहरुको आरोप छ ।

सिहंदरबारभित्रै हेल्थ डेस्क खुल्यो

काठमाडौं । नेपाल सरकारले सिंहदरबार परिसरमा चिकित्सकसहितको हेल्थ डेस्क स्थापना गरेको छ। स्वास्थ्य मन्त्रालयले सिंहदरबार परिसरमा कार्यरत कर्मचारीहरूको स्वास्थ्य परीक्षण तथा आकास्मिक स्वास्थ्य परीक्षणको लागि हेल्थ डेक्स स्थापना गरेको हो । स्वास्थ्य सेवा दिवसको अवसरमा मंगलबार सो हेल्थ डेक्सको मुख्य सचिव लोक दर्शन रेग्मीले उद्घाटन गरेका छन् । हेल्थ डेक्सको उद्घाटन गर्दै मुख्य सचिव रेग्मीले सात हजार कर्मचारी कार्यरत रहेको सिहंदरबारभित्रका कर्मचारी र सेवाग्राहीलाई कार्यस्थलमा आकस्मिकरूपमा आइपर्ने स्वास्थ्य समस्यालाई ध्यान दिएर हेल्थ डेक्स स्थापना गरिएको बताए । उनले भने, ‘हामीसँग दैनिक कति कर्मचारी आकस्मिक स्वास्थ्य समस्याका कारण कायर्स्थलबाटै बाहिर गएको संख्या यकिन नभएपनि, प्रायः धेरै माथिल्लो तहदेखि तत्लो तहका कर्मचारीहरूसम्म आकस्मिक स्वास्थ्य समस्याले बाहिर जानुपर्ने अवस्था छ । त्यस्तो समस्यालाई अब यस हेल्थ डेक्सले रोक्ने छ।’ हाल उक्त डेस्कमा एकजना नर्स, एकजना पारामेडिक्स र एकजना एमबिबिएस चिकित्सक रहने छन् भने कर्मचारीको व्यवस्थापन वीर अस्पतालले गर्ने छ । राष्ट्रिय पुनःनिर्माणको भवनमा रहेको उक्त डेस्कमा तत्कालका लागि दुईवटा कोठा, एउटा बेड र सामान्य उपचार उपकरण उपलब्ध रहेका छन्। आवश्यकताअनुसार यसलाई बढाउँदै लैजाने मुख्य सचिव रेग्मीले बताए।

स्वास्थ्य बीमा गर्न हौसिए सर्वसाधारण

भोजपुर । स्वास्थ्य बीमाप्रति भोजपुरका स्थानीयवासी हौसिएका छन् । छोटो समयमा नै दुई हजारभन्दा बढीले स्वास्थ्य बीमा गराइसकेको बीमा बोर्डका जिल्ला संयोजक नवराज श्रेष्ठले जानकारी दिनुभयो । भोजपुरका दुई नगरपालिका र सात गाउँपालिकामा हालसम्म दुई हजारभन्दा बढीले स्वास्थ्य बीमा गराएको तथ्याङ्कमा उल्लेख छ । श्रेष्ठका अनुसार हालसम्म पौवादुम्मा गाउँपालिकाबाट ३५ घरपरिवारका १५६ जनाले स्वास्थ्य बीमा गराएका छन् भने रामप्रसाद गाउँपालिकाका ३९ घरपरिवारका १५१ जनाले बीमा गराएका छन् । भोजपुर नगरपालिकाका १२६ घरपरिवारका ७७०, अरुण गाउँपालिकामा ७४ घरपरिवारको २४८ र आमचोक गाउँपालिकामा ३०० जनाले स्वास्थ्य बीमा गराइसकेको बताइएको छ । बीमा गर्नका लागि दर्ता सहयोगी गाउँगाउँमा पुगेका छन् । स्वास्थ्य बीमा गराउन यहाँका सर्वसाधारण निकै उत्साहित भएका छन् । स्वास्थ्य बीमा गरिसकेका घरपरिवारले फागुन १ गतेदेखि उपचार सुविधा पाउने भनिएकोे छ । स्वास्थ्य बीमा गर्न भोजपुरमा गत पुस २४ गतेदेखि शुरुआत गरिएको थियो ।

पर्सी चन्द्र ग्रहण, सम्भोग गर्न नहुने चेतावनी

माघ १७ अर्थात बुधबार चन्द्रग्रहण छ । साँझ ५ देखि राती ८ः४५ बजेसम्म चन्द्रग्रहण लाग्ने जनाएको छ । वैज्ञानिकहरुका अनुसार, चन्द्रमा र पृथ्वीले चक्कर लगाउदै गर्दा सूर्य र चन्द्रमाको बीचमा पृथ्वी पुगेपछि पृथ्वीको छाया चन्द्रमामा पर्न जाँदा चन्द्रग्रहण लाग्छ । विज्ञानले यसलाई समान्य प्रक्रियाका रुपमा लिने गरेको छ । यसले मानव जीवनमा केही फरक पर्दैन् । तर, शास्त्रहरुले भने यसलाई महत्व दिएको पाइन्छ । चन्द्रग्रहणको समयमा गर्नु नहुने काम भनेर छुट्याएको पाइन्छ । शास्त्रमा उल्लेख भए अनुसारका गर्नु नहुने काम गरे अप्ठ्यारो आउन सक्नेसम्मको चेतावनी दिएको पाइन्छ । ज्योतिषशास्त्र अनुसार निम्न काम गर्नु हुदैन् । १) तेल मासिलः ग्रहण लागेको समयमा तेल मालिस गर्नु नहुने उल्लेख छ । ग्रहणको समयमा तेल वा अन्य क्रिम लगाउदा छालाको समस्या हुने जनाएको छ । २) सुत्न नहुनेः ग्रहण लागेको समयमा सुत्न नहुने भनाइ छ । सुत्दा स्वास्थ्य सम्बन्धी समस्या हुने शास्त्रहरुमा उल्लेख छ । ३) शारीरिक सम्बन्धमा बन्देजः ग्रहण लागेको समयमा शारीरिक सम्बन्ध पनि राख्न नहुने जनाएको छ । यस्तो बेला शारीरिक सम्बन्ध राख्दा जन्मिने सन्तानको स्वाभाव राम्रो नहुने उल्लेख छ । पति–पत्नीको सम्बन्धमा पनि असर पर्ने शास्त्रहरुमा चेतावनी दिइएको छ ।

बिना यौन सम्पर्क नै गर्भवती हुन्छन् युवती

आज भोलि मानिसहरू बिच पहिले जस्तो अन्तरंग सम्बन्ध हुन छाडेको छ । यसका कारण विभिन्न हुन सक्छन् । एक त आज भोलि मानिसहरू भर्चुअल सम्बन्धतिर बढी आकर्षित हुने गरेका छन् अर्को सम्बन्धमा जटिलताहरूले गर्दा युवा युवतीहरू एक अर्का प्रति शङ्का उपशङ्काहरू गर्ने प्रवृत्ति पनि बढ्दै गइराखेको छ । यस्तोमा महिलाहरूले पुरुषसँग संसर्ग बिना नै बच्चा जन्माउने बाटो निकालेका छन् । हो, ‘भर्जिन बर्थ’ भनिने यस प्रक्रियामा टेस्ट ट्युब प्रविधि मार्फत वीर्य दाताको विर्य्का माध्यमबाट गर्भवती हुने गर्दछन् । संसारका कैयन देशहरूमा यस्ता ‘भर्जिन मदरहरूको सङ्ख्या उल्लेख्य रूपमा बढ्दो छ । आइभीएफ प्रविधिको विकासले टेस्ट ट्युबमा महिलाको अण्डाणुलाई पुरुषको वीर्यसँग निषेचित गरेर बिना यौन अनुभव नै युवतीहरूलाई आमा बन्न सक्ने अवसर प्रदान गरेको हो । के हो आइभीएफ ? आइभीएफ या इन भिट्रो फर्टिलाइजेसन भनिने यस प्रक्रियामा महिलाको अण्डाशयबाट अण्डाणुहरू झिकेर तिनमा पुरुषको वीर्य मिसाएर भ्रुण तयार पारिन्छ । यसरी तयार पारिएका भ्रुणहरूलाई तीन देखि पाँच दिनसम्म परीक्षण नलीमा राखेपछि महिलाको पाठेघरमा सारिन्छ । संयुक्त अधिराज्यमा मात्रै २५ यस्ता महिलाहरू छन् जसको उमेर बीस वर्ष भन्दा बढी छ र पछिल्लो पाँच वर्षमा यी महिलाहरूले आमा बन्नका निम्ति आइभीएफलाई चुनेका छन् । स्रोत: हरिभूमि डट कम

निःशुल्क मुटु शिविर सम्पन्न

म्याग्दी, मंसिर १६ । जलजला गाउँपालिका–३ मल्लाजमा शुक्रबार सम्पन्न निःशुल्क मुटु शिविरमा ८०० जनाले सेवा लिएका छन् । काठमाडाँैको मनमोहन कार्डियो थेरासिक सेन्टर, गंगालाल हृदयरोग केन्द्र, जयन्ती मेमोरियल ट्रस्ट र अमेरिकाको युनीभर्सिटी अफ कोलराडोको सहयोगमा मल्लाज स्वास्थ्य चौकीमा सो शिविर सञ्चालन गरिएको हो । जलजला गाउँपालिकाको मल्लाज, बाँसखर्क, लेकफाँट, शालीजाका साथै म्याग्दीको बेनीका ८०० जना सर्वसाधारणले सेवा लिएका शिविरका संयोजक विमला न्यौपानेले जानकारी दिनुभयो । स्वास्थ्य परीक्षण, इसिजी, इकोका साथै निःशुल्क औषधि वितरण र परामर्श सेवा दिइएको थियो । शिविरमा वरिष्ठ चिकित्सक भगवान कोइराला, गंगालाल हृदयरोग केन्द्रका कार्यकारी प्रमुख डाक्टर ज्योतेन्द्र शर्मा र अमेरिकी चिकित्सकको टोलीले सेवा दिएका थिए । मुटुरोगको उपचार गराइरहेका पुराना बिरामीको उपचारमा निरन्तरता र नयाँ बिरामी पहिचानका साथै मुटुरोग न्यूनीकरणका लागि जनचेतना फैलाउने उद्देश्यले शिविर आयोजना गरिएको संयोजक न्यौपानेले बताउनुभयो । गाउँमै विशेषज्ञ चिकित्सकको उपस्थितिमा सेवा पाउँदा सर्वसाधारणलाई राहत मिलेको छ । पछिल्लो समय नेपालमा मुटु, मिर्गौला, उच्च रक्तचाप, चिनीलगायत नसर्ने रोगका बिरामीको संख्या बढ्दै गएको छ । अस्वस्थ्य खानपान र विलाशी जीवनशैलीका कारण नसर्ने रोगको समस्या बढेको चिकित्सकले बताएका छन् । शिविरमा उपचारका लागि आएका बिरामीलाई मुटुरोगबाट बच्ने उपायको विषयमा परामर्श दिइएको थियो ।

क्यान्सर विज्ञहरुको अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

चितवन, कात्तिक १९ । नेपालमै भएको स्रोतसाधन र प्रविधिको उच्चत्तम प्रयोग गरी उपचार चुस्त बनाउनुपर्ने निष्कर्षसहित चितवनमा भएको क्यान्सर सम्बन्धी विज्ञहरुको अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । यही कात्तिक १६ गतेदेखि शुरु भएको तीनदिने सम्मेलनले बाह्य देशमा जस्तो उपचार पद्धति र प्रविधिको विकास नेपालमा नभएकाले भएका स्रोतसाधनलाई भरपुर उपयोग गरी उपचार सफल पार्नुपर्ने विज्ञहरुको सुझाव आएको सम्मेलन आयोजक समितिका सचिव डा उमेश नेपालले जानकारी दिनुभयो । सम्मेलनमा विदेशी विज्ञहरुको २० वटा अनुसन्धानात्मक कार्यपत्रसहित ५० वटा सोधपत्र प्रस्तुत गर्नुभई सो विषयमा छलफल भएको थियो । चितवनको क्यान्सर अस्पतालमा प्रयोग हुँदै आएको शल्यक्रिया पद्धतिको बारेमा समेत प्रविधिमार्फत विज्ञहरुले हलमै बसेर प्रत्यक्ष अवलोकनसमेत गरेका थिए । सार्क फेडेरेशन अफ अंकोलोजिष्ट नेपालको आयोजनामा भएको सम्मेलनको निष्कर्षलाई समीक्षा गरेर घोषणापत्रको रुपमा पछि सार्वजनिक गरिने आयोजकले जनाएको छ । ‘विश्वमा रोवर्टले उपचार गर्ने पद्धतिको विकास भइसकेको छ, त्यो नेपालमा सम्भव नै छैन, त्यसैले पनि यहाँ उपलव्ध साधनको प्रयोग गरेर नै उच्च सेवा दिनुपर्ने जरुरी छ, त्यसैमा सम्मेलन केन्द्रित भयो’ डा नेपालले भन्नुभयो । उहाँका अनुसार खाने नलिमा भएको क्यान्सरको उपचारको प्रक्रियामा भने केही हेरफेर गरिएको छ । अपरेशन, केमो र सेकाई लगभग धेरै जसो उपचारमा सँगसँगै जाने भएकाले कुन अघि कुन पछि भन्ने विषयमा विज्ञहरुको सुझाव अनुसार केही परिवर्तन गरिएको जनाइएको छ । पहिलो तह, दोस्रो तह, तेस्रो तहमा कसरी उपचार गर्ने भन्ने एक किसिमको खाका बनाइएको नेपालले बताउनुभयो । सम्मेलनमा नेपालसहित भारत, चीन, श्रीलंका, बंगलादेश, सिंगापुर, क्यानडा, टर्की, र अमेरिकाका विशेषज्ञ गरी ३०० जनाको सहभागिता रहेको स्थानीय आयोजक समितिका संयोजक डा भोला रौनियारले बताउनुभयो । सम्मेलनमा देशविदेशमा क्यान्सर रोगको उपचार पद्धतिको विषयमा र विश्वमा भएका नयाँ उपचार प्रविधिको बारेमा जानकारी आदानप्रदान भएको थियो ।

आज र भोलि प्रत्येक स्वास्थ्यकेन्द्रमा पाँच वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउँदै

काठमाडौँ, कार्तिक १६ । देशभरका बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ । स्वास्थ्य मन्त्रालयले देशभरका छ महिनादेखि पाँच वर्षमुनिका २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र एक वर्षदेखि पाँच वर्षमुनिका २३ लाख बालबालिकालाई जुकाको औषधि खुवाउने लक्ष्य राखेको छ । स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य महाशाखाका पोषण शाखा प्रमुख राजकुमार पोखरेलले देशभरका ५० हजारभन्दा बढी महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिएको जानकारी दिए ।गत कात्तिक २ र ३ गते देशभरका बालबालिकालाई खुवाउने भनिएको भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम निर्धारण भए पनि तिहारका कारण आज र भोलि सारिएको हो । भिटामिन ‘ए’ को कमीले भविष्यमा बालबालिकालाई रतन्धो रोग लाग्ने, कुपोषण हुने, दीर्घकालीन झाडा पखाला लाग्ने, दादुरा लगायतका रोग लाग्ने चिकित्सकले बताएका छन् । सरकारले हरेक छ महिनामा भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने गरेको छ । पोखरेलले तराईका २८ जिल्लाका बालबालिकामा रक्तअल्पता पनि अत्यधिक देखिएकाले छ महिनादेखि दुई वर्षसम्मका बालबालिकालाई आइरन भएको धुलो बालविटा पनि खुवाइने बताए । उनले हरेक बालबालिकालाई कुपोषण छ कि छैन भनेर जाँच गरी भएका बालबालिकालाई नजिकको स्वास्थ्य संस्थामा सिफारिस गरी पठाउन पनि महिला स्वास्थ्य स्वयंसेविकालाई सूचित गरेको बताए।

कैलालीमा तीन दिनमा दुईजना डेंगु रोगी फेला

लोकेश धामी कैलाली, कार्तिक १६ । कैलालीमा डेगुँ तथा स्क्रफ टाइफसका बिरामीको संख्या बढेको छ । जिल्लामा एक हप्ताभित्रै १२ जना स्क्रफ टाइफस र २ जना डेगुँका बिरामी फेला परेका छन् । वैशाख यता भने १ सय ६५ स्क्रबटाइपस र पाँच जना डेंगु रोगका बिरामी भेटिएका छन् । किर्नाबाट सर्ने स्क्रफ टाइफस र लामखुट्टेको टोकाइबाट सर्ने डेंगुका बिरामीहरु उपचारका लागि आउने क्रम बढेको वरिष्ठ फिजिसियन डा.शुभेषराज कायस्थले बताए। वैशाख यतामात्रै जिल्लामा हालसम्म १ सय ६५ स्क्रफ टाइफस र ५ जना डेंगुको रोगी फेला परेका छन् । केही महिना पहिले पहाडबाट स्क्रफ टाइफसका बिरामी बढी आउने गरेका भए पनि अहिले भने कैलाली, कञ्चनपुरबाट आउने बिरामीको संख्या बढिरहेको छ । केही दिन यतामात्रै दैनिक दुई–तीन जनाका दरले स्क्रफ टाइफसका विरामी सम्पर्कमा आउने गरेका वरिष्ठ फिजिसियन डा.कायस्थको भनाई छ । मुसामा लाग्ने माइट नामको सुक्ष्म किर्नाले टोकेमा स्क्रफ टाइफस सर्ने गर्छ । नेपालमा २०७२ सालमा पहिलो पटक यो रोग देखा परेको थियो । स्क्रफ टाइफस लागेमा अत्यधिक ज्वरो आउने, टाउको दुख्ने, विभिन्न ठाउमा रातो डाबर आउने र शरीर दुख्ने लक्षण देखिन्छन् । यस्तै डेंगु रोग लागेमा लगातार अत्याधिक ज्वरो आउने, शरीरका विभिन्न अंगमा रगत जम्ने, टाउको दुख्ने, आँखाको पछाडिको भाग दुख्ने, चिलाउने वा सुन्निने, पिसाबमा रगत देखापर्ने, बान्ता गर्दा रगत आउने, कालो दिसा आउने लगायतका लक्षण देखापर्ने गर्दछन् । एकजना गम्भीर डेंगु रोगी छ भने त्यस आसपासमा ३ देखि साँढे तीन सय डेंगुका बिरामी हुन सक्ने बैज्ञानिक तथ्यांक छ । त्यसकारण यो रोगबाट जोगिन लामखुट्टेको टोकाइबाट जोगिने त्यस्तै स्क्रफ टाइफसबाट बच्न किटाणु सार्ने माइटको सम्पर्कबाट टाढा रहनु नै यसको प्रमुख रोक थाम रहेको डा.कायस्थले बताए । अहिले डेंगु तथा स्क्रफ टाइफसको सक्रमण व्यापक बढि रहेकाले सबैले सचेत रहन आवश्यक छ । समयमै यी दुई रोगको उपचार नगरेमा ज्यानै जान सक्ने खतरा भएकाले लक्षण देखापर्ने वित्तिकै उपचार गराउन स्वास्थ्यकर्मीले सुझाव दिएका छन् ।

महोत्तरीमा डेंगुको त्रास

बर्दिवास, कात्तिक १२ । महोत्तरी जिल्लाको बर्दिवास क्षेत्रमा डेंगुको त्रास फैलिएकोे छ । गत असोजको तेस्रो सातामा पाँच जनामा डेंगु देखिएयता दिनहुँ डेंगुका रोगी बढ्दै गएका छन् । बर्दिबासका शुभ स्वस्तिक हस्पिटल, जनसेवा हस्पिटल र बर्दिवास अस्पतालमा अहिले डेंगु संक्रमित उपचार लिन र डेंगुको शंका भएकाहरु रगत जाँच गराउन आएका छन् । अहिलेसम्म बर्दिबास क्षेत्रका ३८०, महोत्तरीकै गौशाला नगर क्षेत्रका दुई र बर्दिबासमा विभिन्न काम प्रयोजनले आएका धनुषा र सर्लाहीका १८ जनासहित ४०० जना डेंगु प्रभावित भएको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले पुष्टि गरेको छ । दिनहुँ डेंगु रोगी बढ्दै गए पनि विषादि छरेर प्रकोप फैलाउने लामखुट्टे नियन्त्रणमा स्वास्थ्य संस्था र बर्दिवास नगरपालिकाले ध्यान नदिएको सर्वसाधारणको गुनासो छ । चिकित्सक र स्वास्थ्यकर्मीले भने डेंगु फैलाउने एडिस जातको लामखुट्टे विषादि छरेरभन्दा यसले फुल पार्ने ठाउँको खोजी गरी नष्ट गर्ने अभियान नै प्रभावकारी हुने बताउँदै आएका छन् । घर वरपर सरसफाइ र पानी जम्न नदिएमा लामखुट्टेले फुल पार्ने ठाउँ नपाएपछि डेंगु नियन्त्रण हुने बर्दिवास अस्पतालका मेडिकल अधिकृत डा किशोर अधिकारीको भनाइ छ । विषादिले वयष्क लामखुट्टे मरे पनि उसका फुल, लार्भा र पिपा नियन्त्रण गर्न ‘सर्च एण्ड डिष्ट्रोय’ (खोजी र नष्ट) अभियानलाई निरन्तरता दिनुपर्ने डा अधिकारीले बताउनुभयो । पछिल्ला तीन दिनयता बर्दिवास अस्पताल, बर्दिवास नगरपालिका, इलाका प्रहरी कार्यालय बर्दिबास र सामाजिक संघसंस्थाले संयुक्त रुपमा ‘सर्च एण्ड डिष्ट्रोय’ अभियान सञ्चालन गरेका छन् । अभियानमा सडक पेटीमा थुपारेर राखिएका टायरमा लामखुट्टेका असंख्य लार्भा फेला परेको डा अधिकारीले जानकारी दिनुभयो । लार्भा नष्ट गरिएपछि वयष्क लामखुट्टेको आयु एक महिनाभन्दा बढी नहुने भएकाले डेंगु नियन्त्रण हुने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

कैलाली क्षेत्रमा अझै १ हजार ७७ घर दिसामुक्त हुन बाँकी

लोकेश धामी कैलाली, कार्तिक ११ । कैलाली जिल्लालाई खुला दिसामुक्त गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । १३ वटा स्थानीय तह लगभग खुला दिशामुक्त हुन लागेकाले पुरै जिल्लालाई खुला दिसामुक्त गर्ने कार्य अन्तिम चरणमा पुगेको हो । अब कैलालीका एक हजार ७७ घरधुरीमात्रै खुला दिशामुक्त गर्न बाँकी छन् । बाँकी रहेका स्थानीय तह तथा घरधुरीलाई पनि खुला दिसामुक्त गर्ने कार्य तीव्र भइरहेको बताइएको छ । लामो समयदेखि कैलालीलाई खुला दिसामुक्त घोषणा गर्ने मिति सर्दै आएको भएपनि यो पटक भने निर्धारित समयमै खुला दिसामुक्त घोषणा हुने भएको हो । जिल्लाका अब अधिकांश स्थानीय तह खुला दिसामुक्त भइसकेकाले तोकिएकै समयमा कैलालीलाई खुला दिशामुक्त हुने भएको छ । ९९.२९ प्रतिशत खुला दिसामुक्त भइसकेकाले २०१७ भित्रै जिल्लालाई खुला दिसामुक्त घोषणा गरिने खानेपानी तथा सरसफाई डिभिजन कार्यालय कैलालीका डिभिजन प्रमुख नारायण प्रसाद काफ्लेले जानकारी दिए । कैलालीका अब जोशीपुर गाउपालिका, लम्कीचुहा, अत्तरिया नगरपालिका र धनगढी उपमहानगरपालिका मात्रै खुला दिसामुक्त हुन बाँकी रहेका छन् । विभिन्न कारणले गर्दा विगतमा जिल्लालाई खुला दिसामुक्त घोषणा गर्न निकै चुनौति रहेको थियो । तर, अब भने जनप्रतिनिधि आइसकेकाले सबैसंग समन्वय गरी कैलालीलाई दुई महिनाभित्र खुला दिसामुक्त घोषणा गरिने जिल्ला समन्वय समिति कैलालीका प्रमुख सूर्यहादुर थापाले बताए । सन् २०१६ भित्रै कैलालीलाई खुला दिसा मुक्त घोषणा गर्ने गुरुयोजना रहेको थियो । तर, विभिन्न समस्या देखाउदै घोषणा हुन सकेको छैन । त्यसकारण अब यो वा त्यो बहानामा अब मिति सार्न नहुने सरोकारवालाको भनाई छ । विगतमा भएका कमी–कमजोरीहरुको सच्याउँदै छिटो खुला दिसामुक्त गर्नुपर्ने कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालको भनाई छ । सबै पक्षसँग हातेमालो गर्दै कैलालीलाई शिघ्र खुला दिसामुक्त गर्नुपर्नेमा सरोकारवालाको जोड छ । यसैबीच शुक्रबार धनगढीमा जनप्रतिनिधि र सरोकारवालाविच जिल्लालाई छिटो खुला दिसामुक्त बनाउने सम्बन्धमा छलफल समेत भएको छ । कार्यक्रमका सहभागीले दुर्गम जिल्ला खुला दिसामुक्त भइसकेकाले कैलालीलाई पनि २०१७ भित्रै खुला दिसामुक्त गर्नुपर्नेमा जोड दिएका थिए ।