कोरोना भित्रिन नदिन सुरक्षामा कडाइ

काठमाडौंः कोरोना भाइरस (कोभिड–१९) ले विश्वमा महामारीको रूप लिएपछि मुलुकभित्र सङ्क्रमण भित्रिन नदिन सरकारले सुरक्षा व्यवस्थामा कडाइ गर्ने भएको छ ।

नोबेल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बिहीबार बसेको बैठकले अति सङ्क्रमित थप केही मुलुकबाट नेपाल प्रवेशको भिसा रोक्ने निर्णय गरेको छ । यसअघि सरकारले कोरोना भाइरस सङ्क्रमित पाँच मुलुकका लागि अन अराइभल भिसा रोक्ने निर्णय गरेको थियो ।

बैठकपछि अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले भिसा निरुत्साहित गर्ने मुलुकको सङ्ख्या बढ्ने बताए । उनले भने, “वर्कआउट हुँदैछ । युरोपियन देश, मध्यपूर्वका देशमा पनि सङ्क्रमण बढी देखियो । सङ्क्रमणको यो बढ्दो स्थितिलाई हेरेर भिसा रोकिने छ । ” उनले भने, “पाँचवटा अति सङ्क्रमित मुलुकबाट आउनेहरूको भिसा निरुत्साहित गर्ने भनिएकोमा सङ्क्रमित मुलुकहरूको सङ्ख्या बढ्दै गएकाले भिसा निरुत्साहित गर्ने मुलुकहरूको सङ्ख्या बढ्ने छ । ”

उनले तत्कालकै अवस्थामा एयरलाइन्सको उडान बन्द नगरिने बताए । उनले भने, “भिसा प्रवन्ध नै रोकेपछि मानिसको आवागमन स्वतः कम हुने भएकाले एयरलाइन्सको उडान उसै कटौती हुन्छ । ” बैठकले तत्कालै विद्यालय र परीक्षा बन्द नगर्ने निर्णय गरेको छ ।

मुलुकमा सङ्क्रमण देखिएमा तत्कालै निर्णय गर्न सकिने भन्दै हाललाई विद्यालय सञ्चालन गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता डा. खतिवडाले जानकारी दिए । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले कोरोना भाइरस (कोभिड–१९) लाई महामारीको रूपमा घोषणा गरेपछि उत्पन्न भएको जोखिमको समीक्षा समेत बैठकमा गरिएको जनाइएको छ ।

दक्षिणतर्फको छिमेकी मुलुक भारतमा कोरोना सङ्क्रमितहरूको सङ्ख्या बढ्दै गएकाले भारतसँगको नाकामा सुरक्षा सतर्कता व्यवस्थित गर्ने निर्णय गरिएको छ । प्रवक्ता डा. खतिवडाले भने, “भारततर्फको नाका नियमन गर्न भारतले पनि खासखास नाकाबाट मात्र आवागमन खोल्ने भनेको छ । नेपालले पनि त्यही नाकाबाट मात्रै आवागमनलाई व्यवस्थित गर्ने गरी गृह र परराष्ट्र मन्त्रालयले सहकार्य गर्ने भन्ने छलफल भएको छ । ”

प्रवक्ता डा. खतिवडाका अनुसार बैठकमा क्वारेन्टाइन र आइसोलेटेड वार्ड निर्माण, उपकरण, स्वास्थ्यकर्मीलाई सुरक्षित तरिकाले उपचारमा संलग्न हुन चाहिने पर्सनल प्रोटेक्सनका इक्विपमेन्टहरूको आपूर्ति बढाउने विषयमा समेत छलफल भएको थियो ।

बैठकमा आवश्यक परेमा तत्कालै संरचना बनाउन सक्नेगरी तयारी गर्ने विषयमा समेत छलफल भएको थियो । यस्तै, आवश्यक परेमा मेडिकल कलेज, स्वास्थ्य क्षेत्रमा काम गर्ने सामाजिक संस्थाहरू, रेडक्रस, स्काउटजस्ता संस्थालाई स्वयंसेवीका रूपमा परिचालन गर्न तयारी अवस्थामा राख्नेसमेत बैठकले निर्णय गरेको छ ।

संयन्त्रका संयोजकसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बसेको बैठकले राजनीतिक पार्टीका कार्यक्रमका साथै विवाह, भोजभतेरजस्ता कार्यक्रमसमेत स्थगित गर्न आमसमुदायलाई आह्वान गर्ने निर्णय गरेको जनाइएको छ । यो समाचार आजको गोरखापत्र दैनिकबाट लिइएको हो ।

माया मेट्रो अस्पतालमा सिटिस्क्यान सेवा सुरु

कैलालीः जिल्लाको धनगढी उपमहानगरपालिका–३ चटकपुर स्थित माया मेट्रो अस्पताल प्रा.लिले सिटिस्क्यान सेवा सुरु गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री लेखराज भट्टले उक्त सेवाको आज उद्घाटन गरेका छन् । सो अवसरमा बोल्दै मन्त्री भट्टले सिटिस्क्यान सेवाले यस क्षेत्रका बिरामीलाई उपचारमा सहज हुने विश्वाव व्यक्त गरे । उनले आर्थिक स्थिति कमजोर भएका यस क्षेत्रका बिरामीलाई सस्तो र सुलभ सेवादिन अस्पताल सञ्चालकलाई आग्रहसमेत गरे । झण्डै ३ करोडको लागतमा अस्पतालले ६४ स्लाइस सिटिस्क्यान सेवा सुरु गरेको अस्पतालका अध्यक्ष धिरेन्द्र साउँदले जानकारी दिए । अस्पतालका अध्यक्ष धिरेन्द्र साउँदको सभापतित्वमा भएको कार्यक्रममा राष्ट्रिय सभा सदस्य शेरबहादुर कुँवर, धनगढी उप–महानगरपालिका प्रमुख नृपबहादुर वड लगायतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा वरिष्ठ रेडियोलोजिष्ट डा.अशोक राजपन्तले मेसिनले दिने सेवाबारे जानकारी दिएका थिए ।

कोरोना भाइरस: चीनबाट नेपाल फर्कन पाउँदाको खुशी !

काठमाडौंः चीनको कोरोनाभाइरस प्रभावित प्रान्तबाट नेपाल फर्किएका नेपालीहरूले सामाजिक सञ्जालमा खुशी व्यक्त गरेका छन्। शनिवार हुबेको राजधानी वुहानबाट नेपाल वायुसेवा निगमको चाटर्ड विमानले आइतवार सबेरै १७५ नेपालीहरूलाई काठमाण्डू ल्याएको हो। बिहान ३:३८ मा त्रिभुवन विमानस्थलमा अवतरण भएको विमानमा १७५ जना नेपाली रहेका थिए जसमा १७० जना विद्यार्थी, एकजना त्यहाँ रोजगार गरिरहेका व्यक्ति, दुईजना पर्यटक एवम् दुई बालबालिका रहेको बताइएको छ। उद्धार गरिएका विद्यार्थी सौरभ लुइटेलले ट्विटरमा लेखेका छन्: “यस्तो भयावह अवस्थामा घर फर्कन पाउनुको खुसी व्याख्या गर्न सकिँदैन।” उद्दार हुनेमा १३४ जना पुरूष र ४१ जना महिलाहरू रहेको नेपाली अधिकारीहरूले बताएका छन्। नेपाल फर्केका अशोक शाहले ट्विटरमा राखेको एउटा भिडियोमा विमानभित्र सबैले ताली पिटेर खुसीयाली मनाएको देखिन्छ। घर फर्कन पाउँदाको परिवेश देखाउन खोजिएको उक्त भिडिओसँगै शाहले लेखेका छन्: “अन्धकारबीचको खुसी, शून्यताबाट खुसीतर्फ।” नेपाल फर्कनका लागि सुरुमा १८५ जनाले निवेदन दिएका भएपनि चार जनाले अन्तिम अवस्थामा उतै बस्ने निर्णय गरेका थिए। चार जनालाई भने उड्ने बेलामा ज्वरो देखिएका कारण रोकिएको बताइएको छ। उनीहरूलाई उतै परीक्षण गरिने स्वास्थ्य मन्त्रालयले बताएको छ। थप दुईजना उनीहरूकै आफन्त भएकाले उनीहरू समेत नेपाल नफर्किएको जनाइएको छ। आइतवार बिहान उनीहरूलाई बसमा राखेर विमानस्थलबाट सिधै क्वारन्टीनस्थल पुर्‍याइएको थियो। विश्व स्वास्थ्य सङ्गठनको मापदण्डलाई आधार मानेर उद्धार गरिएकाहरूसँग काम गर्ने मानिसहरूले पालना गर्नुपर्ने नियमको प्रारूप समेत तयार पारिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ताले बताएका छन्। काठमाण्डू विमानस्थलमा समेत उनीहरूको स्वास्थ्य जाँच गरिएको थियो। हुबेका छवटा विभिन्न सहरहरूबाट बेइजिङस्थित नेपाली दूतावासको पहलमा राजधानी वुहानमा भेला पारेर उनीहरूलाई नेपाल ल्याइएको बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ। चीनबाट ल्याइएका नेपालीहरूलाई भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रका चार भवनमा क्वारन्टीनमा राखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले बताए। श्रेष्ठले भने: “आइतबार दश बजेबाट उनीहरूको खरिपाटीमा थप स्वास्थ्य परीक्षण हुँदैछ।” बीबीसी

दैलेखमा मलेरियाका बिरामी भेटिए

दैलेखः दैलेखमा मलेरियाका बिरामी भेटिएका छन् । स्वास्थ्य कार्यालय दैलेखका अनुसार जिल्लामा नौ जना मलेरिया बिरामी भेटिएका हुन्। रोजगारीका लागि पैसा कमाउन भारत गएका मानिसमा लामखुट्टेबाट सर्ने मलेरिया रोग देखापरेको हो। नेपालबाट निवारणको अवस्थामा रहेको यो रोगबाट पाँच वर्षीय बालकसमेत पीडित छन्। बालकको जिल्लामा उपचार हुन नसकेपछि कान्ति बाल अस्पताल काठमाडौंमा उपचारका क्रममा मलेरिया भएको पत्ता लागेको हो। बिरामीको अहिले उच्च निगरानीमा उपचार भइरहेको स्वास्थ्य सेवा कार्यालय दैलेखले बताएको छ। मलेरियाका बिरामी दैलेख क्षेत्र–२ को दुल्लु नगरपालिका, आठबिस नगरपालिका, क्षेत्र नं १ को महावु गाउँपालिका र डुङ्गेश्वर गाउँपालिकाबाट भेटिएको हो। मलेरिया रोग अन्यत्र सर्न नदिनका लागि सतर्कता अपनाइएको स्वास्थ्य सेवा कार्यालय प्रमुख डा निराजन पन्तले बताए। पन्तले मलेरियाका बिरामीको परिवार र नजिकका छिमेकीको पनि स्वास्थ्य जाँच गरी सर्तक रहन सल्लाह र परामर्श दिने गरेको बताए। जिल्ला अस्पतालका वरिष्ठ ल्याव असिस्टेन्ट टेकबहादुर भण्डारीले उपचारका लागि अस्पताल आएका चार मलेरियाका बिरामी भेटिएको र अन्य पाँच जनाको जिल्ला बाहिर उपचारका क्रममा मलेरिया भेटिएको जनाएको छ। सेभ द चिल्ड्रेन, मलेरिया कार्यक्रमका डा मदन कोइरालाका अनुसार मलेरियाका नौ बिरामी भेटिएपछि दैलेख मलेरियाको जोखिममा रहेको र त्यसका लागि प्रभावकारीरूपमा स्थानीयवासीमा जनचेतना जगाउनुपर्ने देखिन्छ। “रोजगारीका लागि मुग्लान जाने फर्किँदा मलेरियाको सङ्क्रमित भई फर्किने हुनाले सङ्क्रमितको उपचार र हुनसक्ने सङ्क्रमणलाई रोक्न स्थानीय सरकार विशेष महत्व दिएर लाग्नुपर्छ”, उनले भने। नेपाल सरकारको नीतिअनुसार एक जनामात्र मलेरिया बिरामी भेटिएको अवस्थामा तत्काल निगरानीमा राखी निःशुल्क उपचार गर्नुपर्ने साथै बिरामीका कारण परिवार र छिमेकीमा सर्नबाट रोक्न विशेष स्वास्थ्यकर्मी टोलीबाट जाँच गर्नुपर्ने व्यवस्था रहेको छ। रासस

कोरोना भाइरसः ब्रा, स्यानिटरी प्याड र सुन्तलाको मास्क लगाउँदै चिनियाँ!

काठमाडौंः गत डिसेम्बरबाट चीनको उहान सहरबाट फैलिएको कोरोनाभाइरसले हालसम्म २१३ जनाको मृत्यु भइसकेको छ । कोरोना तीव्ररुपमा फैलिरहँदा चीनमा मास्कको माग ह्‍वात्तै बढेको छ । मास्कको माग चुलिएसँगै सरकारले आपूर्ति गर्न समस्या भएको छ । मास्क पाउन छाडेपछि सर्वसाधरण चिनियाँ नागरिकले सुरक्षाको नयाँनयाँ तरिका अपनाउन थालेका छन् । कोही ब्रालाई मास्क बनाएर लगाइरहेका छन् भने कोही स्यानिटरी प्याडलाई नै मास्क बनाएर लगाइरहेका छन् । अनुहार छोप्नका लागि चीनका सर्वसाधरण स्थानीय सामानदेखि अनेक विधि प्रयोग गरिरहेका छन् । कसैले प्लास्टिकले पूरै शरिर छोपेका छन् त कसैले प्लास्टिकको बोत्तले मुख छोपेका छन् । कोरोना भाइरस तीव्रगतिमा फैलिँदै गएपछि चीनमा सर्जिकल मास्को हाहाकार भएको छ। बजारमा पाइएका मास्कको मूल्य पनि अत्यन्तै महँगो छ । यस्तोमा मानिसहरुले आफ्नै शैलीमा मास्कको प्रयोग गरिरहेका हुन् । जसलाई जे विधि आउँछ, त्यही प्रयोग गरेर मास्क बनाएका फोटो भाइरल भइरहेका छन्। सामाजिक सञ्जालमा यस्ता मास्को फोटो भाइरल भइरहेका छन् । केही मानिसले ब्रालाई मास्क बनाएर लगाएका छन् त केहीले महिनावारी हुँदा लगाइने स्यानिटरी प्याडलाई नै मास्कका रुपमा प्रयोग गरेका छन् । एकजना चिनियाँ वृद्धले त सुन्तलाको बोक्रालाई नै मास्क बनाएका छन् । नयाँ नपाइएपछि मानिसहरुले सेकेन्ड ह्यान्ड मास्क पनि किनिरहेका छन् । नयाँ मास्क नमिलेपछि यस्तो विकल्प अपनाइएको हो । तर चीनको स्वास्थ्य सेवा विभागले भने सेकेन्ड ह्यान्ड मास्कको प्रयोग गर्न प्रतिबन्ध लगाएको छ । एजेन्सी  

टेकुमा कोरोना भाइरस जाँच गर्नेको भीड, कतिले गराए पहिलो दिन परीक्षण ?

काठमाडौंः राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा कोरोना भाइरस परीक्षण सुरु भएको पहिलो दिनमै ५० किट सकिएको छ । सामान्य रुघाखोकी लागेका बिरामीको समेत कोरोना परीक्षण हुन थालेपछि एकै दिन बढी किट खर्च भएको हो । भाइरसबारे अनुसन्धान गर्ने नेपाली संस्था सेन्टर फर डाइनामिक नेपाल ‘सिएमडिएन’सँग २ सय टेस्ट किट मागेर प्रयोगशालाले परीक्षण थालेको थियो। तर, अनावश्यक परीक्षणमा पनि किट प्रयोग भएको छ । सोमबार मात्रै सयभन्दा बढी बिरामी कोरोना परीक्षण गर्न टेकु अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पुगेका थिए। निजी अस्पतालबाट चिकित्सकहरूले रुघाखोकी लागेकै आधारमा बिरामीलाई कोरोना परीक्षणका लागि भन्दै टेकु पठाउन थालेका छन्। यो अवस्थामा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जथाभावी परीक्षण रोक्न नियम नै बनाउन थालेको छ। महाशाखा निर्देशक डा। विवेककुमार लालले कस्तो अवस्थामा मात्रै कोरोना परीक्षण गर्ने भन्ने विषयमा प्रोटोकल तयार भइरहेको बताए। चीनबाट आएका सबै बिरामीको कोरोना भाइरस परीक्षण गर्ने वा बुहान सहरबाट आएकाहरूको मात्रै गर्ने भन्नेमा चिकित्सकहरू निर्णयमा पुगेका छैनन्। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा। रुना झाले अनावश्यक परीक्षणमा महत्वपूर्ण किटको प्रयोग रोकिने बताइन्। ‘नमुना परीक्षण गर्ने बिरामी चीनबाटै फर्किएको आधिकारिकता देखिने गरी ‘ट्राभल हिस्ट्री’ भए मात्रै हामी नमुना लिन्छौँ,’ झाले भनिन्, ‘मौसमी रुघाखोकी, इन्फ्लुएन्जा र कोरोनाको लक्षण एउटै हुने भएकाले लक्षण देखिने सबैको परीक्षण गर्न आवश्यक छैन।’ उनले अहिले जथाभावी परीक्षण गरे आवश्यक व्यक्तिको परीक्षणमा किट अभाव हुन सक्ने बताइन्। किट अभाव हुन नदिन तत्काल खरिद प्रक्रिया अघि बढाइने पनि उनको भनाइ छ। कोरोना संक्रमणको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका तीन बिरामीमध्ये दुईजनाको सोमबार नमुना परीक्षण भएको छ। उनीहरूमा कोरोना भाइरस नदेखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले विज्ञप्तिमार्फत जनाएको छ। हङकङबाट आएका २८ वर्षीय पुरुष र अमेरिकाबाट चीन हुँदै नेपाल आएका अर्का पुरुषलाई अस्पतालले सोमबार नै डिस्चार्ज दिएको छ। चीनबाट आएकी एक महिलाको भने मंगलबार नमुना परीक्षण गरिने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ। भाइरस परीक्षण गर्ने नेपाली संस्था ‘सिएमडिएन’ले स्वास्थ्यकर्मीको सुरक्षाका लागि ५० जोर ‘फिजिकल प्रोटेक्टिभ इक्विपमेन्ट’ सहयोग गरेको छ । यो खबर आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।  

पेसागत मिडवाइफ पहिलो ब्याज काम गर्न तयार

काठमाडौंः पेसागत मिडवाइफ (प्रसाविका) को स्नातक तहको पहिलो ब्याज निस्किएको छ। यसअघि नेपालमा स्टाफ नर्सले नै प्रसूति सेवा दिँदै आएको हुनाले मिडवाइफको सरकारी दरबन्दी वा परिचालन गर्नेसम्बन्धी कुनै नीतिगत व्यवस्था छैन। सोही कुरा मध्यनजर गर्दै स्वास्थ्य सेवा विभाग, नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाले ‘मिडवाइफहरुलाई विभिन्न अस्पतालमा परिचालन गर्नेसम्बन्धी मार्गदर्शन, २०७६’ निर्माण गर्न लागेको छ। सो मार्गदर्शनको पहिलो मस्यौदा तयार समेत भइसकेको छ। मस्यौदामा थप सरोकारवालासँग छलफल गरेर अन्तिम रुप दिन महाशाखाले गृहकार्य गरिरहेको बताइएको छ। मिडवाइफको पहिलो ब्याज आगामी आर्थिक वर्षबाट काम गर्न तयार हुन्छन्। उनीहरुलाई कसरी परिचालन गर्ने, कहाँ परिचालन गर्ने, सेवा–सुविधा, कार्यसम्पादन तथा अनुगमन लगायतका विषय सो मागदर्शन समेटिने छ। सरकारले मिडवाइफको दरबन्दी सिर्जना गर्न समय लाग्ने भएकाले पहिलो ब्याजलाई करार सेवामा राख्ने तयार गरिएको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाका प्रमुख रोशनी तुइतुईले बताईन। सन् २००६ देखिको मिडवाइफ जनशक्ति उत्पादन गर्ने लक्ष्य तीन वर्षअघि मात्र साकार भएको थियो। सरकारले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ९न्याम्स० र काठमाडौं विश्व विद्यालयबाट स्नातक तहको मिडवाइफ्री कार्यक्रम सञ्चालन गरेको थियो। महाशाखाले तयार गरेको प्रारम्भिक मस्यौदामा मिडवाइफ परिचालन कार्यविधि तयार गरी दरखास्त दिनुपर्ने, परिचालन समितिले मिडवाइफले काम गर्ने अस्पताल तोक्ने, हालको लागि करारमा सेवामा काम लगाउने र तोकिएको अस्पतालमा काम गर्नुपर्ने व्यवस्था गरेको छ। मागदर्शनको निर्माणमा महाशाखाले आर्थिक वर्ष ०७६/७७ को स्वीकृत वार्षिक कार्य योजना तथा बजेटमा संघीय अस्पतालहरुको लागि मिडवाइफको सेवा करारमा लिई काम गराउने व्यवस्था रहेको, महाशाखाबाट केन्द्रीय स्तरका सरकारी अस्पतालाई दिइने अनुदानसम्बन्धी मार्गदर्शन, २०७६ लाई आधार मानेको छ। मिडवाइफहरुलाई नर्सिङ महाशाखाबाट अस्पताल तोकेर कार्यस्थल दिइने व्यवस्था गर्ने, कार्यस्थलको परिवर्तन वा हेरफेर गर्ने अधिकार पनि सो महाशाखाकै रहने व्यवस्था मार्गदर्शनमा गरिएको छ। मिडवाइफ नियुक्त भएको अस्पतालले उनीहरुलाई प्रसूति सेवाको जिम्मेवारी तोकेर दिनुपर्ने र भवितव्य वा आकस्मिक अवस्थाबाहेक अस्पतालले मिडवाइफलाई अन्य विभागमा काम लगाउने नपाइने व्यवस्थासमेत गर्न गरिएको छ। मार्गदर्शनको मस्यौदामा व्यवस्था भएको मिडवाइफको कार्य विवरण मिडवाइफको काम कर्तव्य र अधिकार(१) अस्पतालमा गर्भवती तथा प्रसूति लिन आएका महिलाको आवश्यक जाँच गरी परामर्श लिने, अनुगमन गर्ने, प्रसूति सेवा दिनुपर्ने छ। त्यसबाहेक थप जाँच, उपचार या अपरेसन गर्नुपर्ने भएमा सम्बन्धित विशेषज्ञ प्रेषण गरी आवश्यक उपचारको व्यवस्था मिलाउने, प्रसूति विभागका अन्य स्वास्थ्यकर्मीसँग सहकार्य गर्ने र प्रसूति सेवा सम्बन्धित मासिक वा आवधिक तयार गरी अस्पतालको मेट्रोन या सिस्टर इन्चार्जमार्फत निर्देशक वा मेसुकहाँ पेस गर्ने पनि उल्लेख छ। सरकारले त्यसरी करार सेवामा काम लगाइएका मिडवाइफलाई सरकारको प्रचलित कानुन अनुसारको सेवामा रहेका प्राविधिक अधिकृत स्तरको तलब तथा तोकिएको अन्य सुविधा दिने छ। मिडवाइफको नियमानुसार चाडपर्व बिदा, अस्पतालबाट प्राप्त हुने आवास तथा अन्य सुविधा पनि दिने व्यवस्था गरेको छ। मिडवाइफले १२ दिन काम गरेवापत १ दिनका दरले वार्षिक ३० दिन घरबिदा तथा अतिरिक्त काम गरेमा नियमानुसारको सुविधा पाउने छन्। यद्यपि सरोकारवालाले मिडवाइफ र अन्य करारका कर्मचारीलाई दिने बिदाको एकै प्रकृति हुनुपर्ने बताएका छन्। मस्यौदा मात्र तयार भएकाले यी व्यवस्थाबारे छलफल भइरहेको छ। नेपालमा मिडवाइफ्री र आवश्यकता नेपालमा तीन वर्षअघि मिडवाइफ्रीको पढाइ सुरु भएको हो। सरकारले पेसागत मिडवाइफ ९प्रसाविका० को विकास गर्न सन् २००६ मा दक्ष प्रसूतिकर्मी नीति ल्याएको थियो। मिडवाइफ्री जनशक्ति तयार गर्न दर्जनौं बैठक तथा अन्तक्र्रिया भए पनि त्यसको व्यावहारिक कार्यान्वयन भने निकै ढिलो सुरु भएको थियो। त्यसपछि मिडवाइफ जनशक्ति तयार गर्न छुट्टै पाठ्यक्रमअनुसार अध्यापन प्रारम्भ गरिएको हो। पहिलो ब्याचमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सको वीर अस्पताल नर्सिङ क्याम्पस र काठमाडौं विश्वविद्यालय धुलिखेलबाट १५ जनाले मिडवाइफ्रीको अध्ययन गरिरहेका छन्। आगामी आर्थिक वर्षबाट उनी सेवा दिन तयार हुन्छन्। मिडवाइफ्री सोसाइटी अफ नेपालका अध्यक्ष डा लक्ष्मी तामाङ गुणस्तरीय सेवाको अभावमा गर्भवती र नवजात शिशुको अकालमा हुने मृत्युदर रोक्न मिडवाइफ्रीले महत्वपूर्ण भएको बताउँछिन्। अध्यक्ष तामाङ भन्छिन्, ‘सम्पूर्ण स्वास्थ्य सेवा उपलब्ध नभएका दुर्गम र ग्रामीण क्षेत्रका गर्भवती हुने उमेरका महिला, गर्भवती तथा सुत्केरीका लागि मिडवाइफले सेवा दिन्छन्।’ चिकित्सकको उपलब्धता नहुने स्थानमा दक्ष मिडवाइफले ठूलो राहत पु¥याउन सक्ने उनको भनाइ छ। अहिले ठूलो संख्यामा गर्भवती घरमै सुत्केरी हुने भएकाले आमा र नवजात शिशुको मृत्युदर रोक्न सरकारलाई चुनौती छ। सरकारले स्वास्थ्य मन्त्रालयले पाँच वर्षे योजनाअन्र्तगत आगामी ५ वर्षभित्र मातृ मृत्युदर न्यूनीकरण गरी प्रति एक लाख जन्ममा ९९ मा झार्ने लक्ष्य लिएको छ। भने दिगो विकास लक्ष्यअनुसार नेपालले मातृ मृत्युदर प्रति एक लाख ७० मा झार्ने लक्ष्य लिएको छ। यो समाचार स्वास्थ्य खबरपत्रिकाबाट लिइएको हो ।

गेटा मेडिकल कलेज निर्माण अन्तिम चरणमा

धनगढीः सुदूरपश्चिममा निर्माणाधिन गेटा मेडिकल कलेजको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। मेडिकल कलेजको निर्माण अन्तिम चरणमा पुगेपनि यसको मोडालिटिको विषय भने अझै अन्यौलमै रहेको छ। गेटा मेडिकल कलेजलाई कलेजका रुपमा नभई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा अघि बढाइनुपर्ने यस क्षेत्रका सरोकारवालाहरुको माग रहदै आएको छ। मेडिकल कलेजको निर्माणमा महत्वपूर्ण योगदान पुर्याएकाहरुले स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउनुपर्ने सुझाव दिदै आएका छन्। गेटा मेडिकल कलेज पुर्वाधार विकास समितिका पूर्व कार्यकारी निर्देशक डाक्टर भीमसिंह टिंकरीले स्वास्थ्य विज्ञान प्रतिष्ठान नै उपयुक्त हुने बताए। ‘मेडिकल कलेज नै भए अस्पताल सञ्चालन भएको तीन बर्षपछि मात्रै कलेजको पढाई सुरु गर्न पाईने मापदण्ड रहेको छ,’ उनले भने– ‘अन्य विश्व विद्यालयको सम्वन्धन लिनुपर्ने बाध्यकारी नियम छ। तर स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा सञ्चालन भए कलेज र अस्पताल संगै सुरु गर्न सकिने र आफैँमा स्वायत्त हुने भएकाले सुदूरपश्चिमका लागि उपयुक्त हुने छ।’ गेटामा मेडिकल कलेज वा स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनका लागि आधारभुत भौतिक संरचना तयार भईसकेको बताउ“दै उनले अहिलेसम्म कुन प्रारुपमा सञ्चालन हुने भन्ने विषयमा समेत टुङगो नलाग्दा तयार भएका भवन पनि प्रयोग विहिन बन्ने सम्भावना बढ्दै गएको बताए। गेटा मेडिकल कलेज पुर्वाधार विकास समितिका पूर्व कार्यकारी निर्देशक हेमराज पुजाराले मेडिकल कलेज र स्वास्थ्य विज्ञान प्रतिष्ठानका आ–आफनै विशेषता भएकाले सो बारेमा अध्ययन गर्दै अगाडी बढ्नुपर्ने बताए। ‘मेडिकल कलेज भए परनिर्भर हुनपर्ने देखिएको छ,’ उनले भने– ‘स्वास्थ्य विज्ञान प्रतिष्ठान भए कुनै पनि निर्णय गर्न कसैको भर पर्नुपर्ने अवस्था छैन्।’ उनले सुदूरपश्चिम विश्वविद्यालयको अवस्था बलियो भएको भए सोही विश्वविद्यालयबाट सम्वन्धन लिएर मेडिकल कलेजकै प्रारुपमा सञ्चालन हु“दा पनि ठुलै समस्या नहुने तर्क गरे। भौतिक पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेस“गै एक दशकदेखि बहुप्रतिक्षा गरिएको सुदूरपश्चिमको यो प्रस्तावित मेडिकल कलेज सञ्चालनका लागि कानुनी आधार बनाउन प्रदेश सरकारले समेत तदारुकता थालेको छ। शैक्षिक तथा अस्पतालसहित प्रमुख संरचना यसै वर्ष्भित्र निर्माण पूरा हुने अवस्थामा रहेको गेटा मेडिकल कलेज पूर्वाधार निर्माण विकास समितिका इन्जिनियर पवन रावलले बताए । रावलका अनुसार परियोजनाको १० देखि १५ प्रतिशत काम मात्रै बा“की छ। कलेज भवन भने, हस्तान्तरणको अन्तिम तयारी हुँदैछ। कलेजका लागि आवश्यक पर्ने शैक्षिक भवन, अस्पताल, छात्रावाससहित साना ठूलागरी २७ भन्दा बढी भौतिक संरचना निर्माणको अन्तिम चरणमा छ। अहिले भवनको भित्री भागमा ‘फिनीसिङ’, झ्याल, ढोका लगाउने र छेउछाउमा ट्रेन्च बनाउने काम भइरहेको छ।

गुप्ताङ्ग वरिपरिका रौँ खौरिनुहुन्छ ? साबधान ! यस्तो समस्या आउन सक्छ

एजेन्सीः तपाई आफ्नो संवेदनशिल अंगहरुको सरसफाईमा कतिको ध्यान दिनुहुन्छ ? सरसफाई गर्ने क्रममा योनी तथा गुप्ताङ्ग वरिपरिका रौँ खौरिनुहुन्छ भने आजै देखि त्यो काम बन्द गर्दिनुस् । गुप्तांग वरिपरिका रौँ खौरिनाले निम्नलिखित समस्या आउनसक्छ : इन्फेक्सन हुने संभावना बढी हुन्छ  धुलोका कण र ब्याक्टेरियाले यौनांगमार्फत शरीरभित्र पसेर शरीरमा इन्फेक्सन निम्त्क्याउन सक्छन् । गुप्तांग वरिपरिका रौँ खौरिनाले यस्ता धुलोका कण र ब्याक्टेरिया सजिलैसँग छिर्ने गर्छन् । मुसा पलाउन सक्छ यौनांग वरिपरिका रौँ खौरिनाले यौनांगमा र वरिपरि मुसा पलाउने जोखिम बढ्छ । यौनांगमा पलाउने मुसाले निम्त्याउने मनोवैज्ञानिक लगायत विभिन्न कारणले यौन जीवनमै असर गर्न सक्छ । चिलाउने, पोल्ने हुन्छ  यौनांग वरिपरिका रौँ खौरिनाले चिलाउने, पोल्ने, रातो डाबर आउनेजस्ता समस्या उत्पन्न हुन्छ । यौनांग वरिपरिको भाग ओसिलो खालको हुन्छ, जहाँ रेजर लगाइरहने गर्नाले घातक ब्याक्टेरियाको संक्रमण हुने जोखिम उच्च रहन्छ । शरीरको तापक्रप नियन्त्रित गर्छ  यौनांग वरिपरिका रौँका जरामा एकखालको ग्रन्थी हुन्छ, जसले रौँमा तैलीय पदार्थ उत्पादन गरिदिन्छ । जब बाहिरको तापक्रम बढ्छ, तब यस्तो तैलीय पदार्थ बाफ बन्न जान्छ र छालाले शीतलता पाउँछ । यो सब क्रियाले शरीरको समग्र तापक्रम नियन्त्रित अवस्थामा राख्छ ।

डायलासिसका लागि प्रधानमन्त्री ओली अस्पतालमा

फाइल फोटो काठमाडौं : नियमित डायलासिसका लागि प्रधानमन्त्री केपी ओली बिहीबार दिउँसो महाराजगञ्जस्थित  मनमोहन कार्डियो थोरासिक कार्डियोभास्कुलर सेन्टरमा पुगेका छन् । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार ओली नियमित डायलासिसका लागि अस्पताल पुगेका हुन् । प्रधानमन्त्री ओलीको करिव १२ वर्ष अगाडि मिर्गौला प्रत्यारोपण गरिएको थियो । पछिल्लो समय मिर्गौलाले राम्रोसँग काम नगरेपछि नियमित डायलासिस गर्न थालिएको हो ।

पेट सफा गर्ने जल चिकित्सा विधि

काठमाडौंः ग्यास्ट्रिक तथा कब्जियत नेपालीको पेवै जस्तो समस्या हो । तपाईं हामी मध्ये धेरैलाई ग्यास्ट्रिक तथा कब्जियतले सताएर आजित बनाएको हुनसक्छ । हामीले सन्तुलित तथा व्यवस्थित जीवनशैली अपनाउन नजान्दा तथा नसक्दा यस्तो समस्या भोगिरहनु परेको हुन्छ । तर यस्तो समस्याबाट बच्न नसकिने भने हैन । ग्यास्ट्रिक तथा कब्जियतको समस्याबाट बच्ने विविध उपाय छन् । जसमध्ये दुई विधि हुन्, ‘कुन्जल विधि’ र ‘एनिमा विधि’ । ग्यास्ट्रिक तथा कब्जियतको समस्याबाट बच्न घरायासीरुपमै पानीको सहायताले पेट सफा गर्न सकिने यी दुई विधि सहजरुपमा अपनाउन सकिन्छ । प्राकृतिक चिकित्सकीय भाषामा पानीको सहायताले पेट सफा गर्ने विधिलाई ‘जल चिकित्सा’ तथा ‘हाइड्रोथेरापी’जस्ता नामले चिनिन्छ । अब चर्चा गारौँ कुञ्जल विधिबारे । कुन्जल विधि पानीले पेट सफा गर्ने एक उपाय हो, ‘कुञ्जल विधि’ । यो विधि अपनाएर पेट सफा गर्न सकिन्छ । यस विधिलाई ‘भमिटिङ विधि’ पनि भनिन्छ । पेट सफा गर्ने ‘कुञ्जल विधि’ अपनाउँदा एक लिटर उम्लिएर सेलाउँदै गरेको मनतातो पानीमा एक चम्चा नुन राखेर राम्रोसँग घोल्नु पर्छ । पानी घोलिसकेपछि टुक्रुक्क बस्नु पर्छ । टुक्रुक्क बसिसकेपछि यसरी घोलिएको नुन–पानी पिउन थालेको पाँच मिनेटभित्रमा पिइसक्नुपर्छ । टुक्रुक्क बस्दा पेट थिचिने भएकाले सहजरुपमा तुरुन्तै शरीरमा पानी सोसिँन पाउँदैन । पिएको नुन–पानी अन्न नलि र आमासयसम्म मात्रै पुगोस् भन्ने उद्देश्यले पाँच मिनेटभित्र पानी पिउनु पर्छ । पानीमा नुन हाल्नुको कारण शरीरले पानी तुरुन्तै नसोसोस् भनेर हो । मनतातो पानीको आयतन बढ्ने भएकाले सहजरुपमा नुन घोलिन्छ । नुन घोलिएको मनतातो पानी शरीरले ढिलो सोस्छ । जसले भमिटिङ गराउन सहज भूमिका खेल्छ । अब पानी पिइसकेपछि हल्का उठेर घुँडामा एउटा हात राखेर हल्का निहुरिएर अर्को हातको चोर र माझि औँला मुख भित्र हाल्नु पर्छ । मुखभित्रको किल्किलेसम्म औँला पुर्याई चलाउनु पर्छ । यसरी औँलाले किलकिले चलाउँदा हामीले खाएको खाद्यपदार्थ र पानीसँग अमिलो, तितो तथा विकार तत्व बाहिर भमिटिङको रुपमा निस्कन्छ । यसरी औँला मुखमा हालेर किलकिले चलाउँदा भमिटिङ गर्न उत्प्रेरित गर्छ । दुईदेखि तीनपटक भमिटिङ गर्दा पिएको एक लिटर पानी भमिटिङको रुपमा शरीर बाहिर निस्कन्छ । १०÷१५ मिनेटमै यो प्रक्रिया गर्न सकिन्छ । पानीसँग अमिलो, तितो, पिरोलगायत पेटका अनावश्यक विकारतत्व शरीर बाहिर निस्किने भएकोले मुखै नमिठो हुन्छ । त्यसैले भमिटिङपश्चात राम्रोसँग मुख कुल्ला गरेर मात्रै खाद्यपदार्थ खान सकिन्छ । कुनै खाना बढी मात्रामा खाएको अवस्थामा तथा अपच भएको अवस्थामा समेत यसरी मुखमा औँला हालेर भमिटिङ गर्नाले पेटलाई आराम मिल्न सहयोग पुग्छ । खाना अपच भई पेटमा अम्लियपन बढेर ग्यास्ट्रिकको समस्या हुन पुग्छ । भमिट गरी पेटको अम्लियपन फालेपछि पेट हल्का तथा सफा हुन्छ । पेट सफा र स्वस्थ भएपछि खाना त रुच्छ नै व्यक्तिको शरीर नै मजबुत भई व्यक्तिको पाचन प्रणाली नै मजबुत हुन्छ । विशेषगरी बिहानको समयमा यसरी नुन–पानी पिई भमिटिङ गर्नु उचित हुन्छ । सामान्यतः १२ देखि ६२ वर्ष उमेर समूहका व्यक्तिले महिनामा दुई पटक यसरी नुन–पानी पिएर भमिटिङ गर्नु उपयुक्त हुन्छ । अब लागौँ ‘एनिमा विधि’तर्फ । एनिमा विधि पेट सफा गर्ने अर्को विधिलाई प्राकृतिक चिकित्सकीय भाषामा ‘एनिमा’ भनिन्छ । यो विधि अपनाएर पेट सफा गर्दा विभिन्न किसिमका भाँडाको प्रयोग गर्न सकिने भए पनि विशेषगरी आम्खोराजस्तो एक लिटर पानी अट्ने भाँडो प्रयोग गर्नु उपयुक्त हुन्छ । अम्खोराजस्तो भाँडोमा मनतातो पानी भरि एक चम्चा नुन हालेर घोल्नु पर्छ । भाँडोको तल्लो भागमा प्वाल हुन्छ । सो प्वालमा एक मिटर लामो प्लाष्टिकको पाइप जडान गरिएको हुन्छ । भाँडो भन्दा अर्कोपट्टि पाइपको टुप्पाको भागमा एक फिट लामो रबरको ‘क्याथेटर’ जडान गरिएको हुन्छ । क्याथेटरको टुप्पाको गरिपरि पानी निस्कने मसिना प्वाल हुन्छन् । प्वालबाट पानी बाहिर निस्कन्छ । जुन पाइप आकारको रबरको ‘क्याथेटर’ बिस्तारै करिब तीन इन्च गुद्द्वारमा घुसारिन्छ । आफूभन्दा अग्लो ठाउँमा भाँडो राखी उत्तानो परेर सुतेर रबरको पाइप गुद्द्वारमा छिराइन्छ । सुरुमा तालिम प्राप्त सहयोगीको सहयोग लिएर पाइप छिराएर पेट सफा गर्ने विधि अपनाउनु उचित हुन्छ । यसरी रबरको पाइप गुद्द्वारमा घुसारेपछि ‘एनिमा पट’मा रहेको नुन घोलिएको पानी पेटको ठूलो आन्द्रामा आफैँ सरर जान्छ । भाँडाको पानी आन्द्रामा गएर सकिएपछि रबरको क्याथेटरबाट पानी नफर्कनेगरी पाइप दोब्राएर गुद्द्वारबाट बाहिर निकालिन्छ । त्यसपछि करिब पाँच मिनेट उठेर टहलिनु पर्छ । यसरी टहलिएपछि स्वत्त दिसा आउँछ । दिसा अत्यन्तै दु्रत गतिले बाहिर निस्कने भएकाले यो विधि ट्वाइलेटमै बसेर गर्नुपर्छ । यसरी दिसा तथा पेटको ठूलो आन्द्रामा भएको विकार तत्व दिसाका रुपमा बाहिर निस्कँदा बल गरेर कन्नु भने हुन्न । कनेर दिसा गर्दा गुद्द्वारको मांशपेशीमा दबाब पर्न गइ घाउ हुने जोखिम हुन्छ । पायल्स, फिसर तथा फिस्टुला भएको अवस्थामा कनेर दिसा गर्दा रगत आउन सक्छ । दिसा सहजरुपमा बाहिर निस्कन दिनु पर्छ । सामान्यतः करिब तीन पटक दिसा गर्दा पेटमा भएको विकार तत्व दिसाका माध्यमबाट बाहिर निस्कन्छ । मलद्वारमा घाउ देखिएको अवस्थामा भने यसरी मलद्धारमा पाइप घुसार्दा घाउ हुन सक्ने भएकाले नघुसार्नु नै राम्रो । पायल्स, फिस्टुला तथा फिसर भएको अवस्थामा समेत गुद्द्वारमा पाइप घुसार्ने ‘एनिमा विधि’ अपनाएर यस्तो समस्याबाट बच्न सकिन्छ । उपचारात्मक विधिसमेत अपनाउन सकिन्छ । खाली पेटमा सफा खाली पेट भएको अवस्थामा पेट सफा गर्ने विधि अपनाउनु उपयुक्त हुने भएकाले विहानै यस्तो विधि अपनाउनु उचित हुन्छ । पेट सफा गर्ने यस्तो विधि अपनाउनु दुई घण्टा पूर्व खाद्यपदार्थ खानु हुन्न, भने पेट सफा गरेको दुई घण्टापछि खानु उपयुक्त हुन्छ । पेट सफा गर्ने यी दुवै विधि एकै दिनसमेत गर्न सकिन्छ । पेट सफा गर्ने यस्तो विधि अपनाइसकेपछि एक गिलास उमालेर सेलाएको मन तातो पानीमा आधा दानो कागती र एक चम्चा मह मिसाएर पिउनु उपयुक्त हुन्छ । पेट सफा गर्ने वित्तिकै एक्कासि कडा किसिमको खाद्यपदार्थ खाँदा पाचन पक्रियाले काम नगरी पुनः अनावश्यकरुपमा भमिटिङ तथा झाडापखाला हुने जोखिम हुन्छ । त्यसैले पेट सफा गरिसकेपछि हल्का किसिमका तरल पदार्थ पिउनु उपयुुक्त हुन्छ । गुद्द्वारमा पाइप हालेर पेट सफा गर्ने एनिमा विधि महिनामा दुईपटक गर्न सकिन्छ । यी अति नै सहजरुपमा पेट सफा गर्न सकिने घरेलु विधि हुन् । सुरुमा भने थेरापिस्ट तथा चिकित्सकको सहयोगमा यस्तो विधि अपनाउनु उचित हुन्छ । भमिटिङ गर्ने विधिले विशेषगरी ग्यास्ट्रिकको समस्या हुन दिँदैन भने मलद्वारबाट पाइप छिराएर पेट सफा गर्ने विधिले कब्जियत, पायल्स, फिसर तथा फिस्टुला हुनबाट बच्न सकिन्छ ।

प्रधानमन्त्री ओली फेरि ग्रान्डी अस्पतालमा

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली डायलासिस गर्न ग्राण्डी अस्पताल गएका छन् । प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिव्यासिंह शाहले प्रधानमन्त्री ओलीलाई अस्पताल लगिएको पुष्टि गरेकी हुन् । उनका अनुसार डायलासिसपछि प्रधानमन्त्री आजै बालुवाटार फर्कनेछन् । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सुर्य थापाले भने आफुले यसवारे जानकारी पाइनसकेको भन्दै बुझेर मात्रै खवर गर्ने बताए । यसअघि प्रधानमन्त्री ओलीको ग्राण्डी अस्पतालमै कात्र्तिक १४ गते हेमोडायलासिस गरिएको थियो । चिकित्सकहरुले प्रधानमनत्री ओलीलाई मृर्गौला प्रत्यारोपण वा नियमित डायलसिस गर्न सुझाव दिएका थिए ।

के हो कोरोनरी रक्तनलीको रोग ?

काठमाडौंः कोरोनली रक्तनलीको रोग भनेको यस्तो अवस्था हो जसमा मुटुमा आवश्यकता भन्दा कम मात्रामा रगत प्रवाह हुने गर्दछ। यसलाई इस्केमिक मुटुरोग पनि भनिन्छ। यो हृदयाघात हुनुको प्रमुख कारण हो। यो सामान्ततया मुटुको मांशपेशी रगत तथा अक्सिजन प्रवाह गर्ने कोरोनरी रक्तनलीहरु साँघुरो वा बन्द हुनाले लाग्ने गर्दछ। स्वास्थ्य खबरपत्रिकाबाट कोरोनरी रक्तनली रोगका लक्षण – छाती दुख्नेः प्रायःजसो देव्रेतिर – कहिलेकाहीँ बायाँ पाखुरा, घाँटी र पेटको माथिल्लो भाग दुख्ने -कारोनरी रक्तनलीका रोग भएका बिरामीले कुनै किसिकको दुखाइ महसुस नगर्न सक्छन्। तर उनीहरुलाई श्वास फेर्न गाह्रो हुने,वाकवाक लाग्ने र बेहोस हुने गर्दछन्। प्रायःजसो यस्ता लक्षणहरु बिरामीले बल लगाउने किमिमका काम जस्तै – हिँडाइ सकाए पश्चात् कम हुने गर्दछ। तथापि यदि आराम गरिरहेको समयमा पनि छाती दुख्न थालेमा वा सो दुखाई पर्याप्त आराम पश्चात् पनि यथावत् रहेमा हृदयघात (एक्युट मायोकार्डियल इन्फ्रक्शन) को लक्षण हुन सक्छ। सूर्तिजन्य पदार्थको सेवन, ध्रुमपान, उच्च रक्तचाप, मधुमेह, रगतमा बढी चिल्लोपना , मोटोपना, निस्कृय जीवनशैली यो रोगका प्रमुख कारक तत्व हुन्। यो रोग इलेक्ट्रोकार्डियोग्राम (इसिजी) मार्फत पत्ता लगाउन सकिन्छ। यसबाहेक रक्तनली बन्द भएको पुष्टि गर्न अभ्यास सहितको इ.सि.जी कारोनरी एन्जियोग्राफी र स्क्यान जस्ता अन्य थप जाँचहरु गर्न आवश्यक पर्न सक्छ। औषधिको सेवनले कारोनरी रक्रनलीको रोगका लक्षणहरुका साथै भविष्यमा मुटुलाई हुन सक्ने हानीलाई नियन्त्रण गर्न सकिन्छ। केही बिरामीहरुको बनद भएको रक्तनलीलाई सानो बेलुनको प्रयोग (एन्जियोप्लाष्टि) वा शल्यक्रिया गरेर खोल्नुपर्ने हुन सक्छ। पर्याप्त उपचार गर्न र जटिलताको रोगथामका लागि नियमित रेखदेख तथा जाँच गराउन जरुरी छ। कोरोनरी रक्तनली रोगको रोकथाम र व्यवस्थापन – आफ्नो जीवनशैलीलाई परिवर्तन गर्नुहोस्ः सन्तुलिन आहारमा बढी जोड दिने र आफ्नो स्वस्थ तौललाई कायम राख्ने नियमित रुपमा शारीरिक व्यायाम गर्ने धुम्रपान सेवान नगर्ने मानसिक तनाव हटाउने धेरै बोसोयुक्त खानेकुरा नखाने -जोखिमपूर्ण कारक तत्वहरुको समयभन्दा अगावै मूल्यांकन गर्न आफ्नो चिकित्सकसँग सम्र्पक गर्नुहोस् र यदि केही कारक तत्वहरुको विकास भइसकेको छ भने स्वास्थ्यको पूर्ण परीक्षण गराउनुहोस्। – ती जोखिमपूर्ण कारक तत्वहरुलाई चिकित्सकहरुले बोसो कम गर्ने औषधिको प्रयोग गरेर रगतमा भएको चिल्लोपन हटाउन सक्छन्। औषधिको प्रयोग गरेर रक्तचापलाई सामान्य बनाइराख्ने र डायटिसियनसँग सरसल्लाह गरेर खानपिन खानपिन सम्बन्धि सुझाव लिन सकिन्छ। – नियमित रुपमा दिनहुँ औषधि सेवन गर्नुहोस्। अन्यथा ती औषधिहरु लाभदायी हुँदैनन्। यस्ता आवश्यक औषधिहरु सधै बोक्ने गर्नुहोस्। – तपाइले सेवन गरिरहनु भएको औषधिहरुको प्रतिकूल असर बारे अनि यसबाट बच्ने विभिन्न उपायहरुबारे आफ्नो चिकित्सकसँग जानकारी लिनुहोस्। -चिकितस्कसँग समयसमयमा स्वास्थ्य जाँच गराउनुहोस् र परामर्श लिनुहोस्।

कागज र कपडाका झोला पनि प्लास्टिक जस्तै हानिकारक !

काठमाडौंः पातला अर्थात् ३० माइक्रोनभन्दा कम तौल भएका प्लास्टिकका झोला उत्पादनमा नेपाल सरकारले प्रतिबन्ध लगाएको छ । सगरमाथा क्षेत्रसहित देशका विभिन्न स्थानीय सरकारका समेत प्लास्टिकका झोलाको प्रयोग रोक्न आ–आफ्नै योजना र कार्यक्रमहरू बनाएका छन् । प्लास्टिक पर्यावरणका लागि हानिकारक छ भन्दै अभियान चलाउनेहरूले प्लास्टिकको झोलाको स्थानमा दिने साझा विकल्प हो–कपडा वा कागजको झोला । तपाईँले पछिल्लोपटक प्रयोग गरेको झोला केबाट बनेको थियो ? जवाफ जेसुकै भए पनि हामीसँग एउटा जानकारी छन्, ‘ती सबै पर्यावरणका लागि खराब छन् ।’ विज्ञहरू त तपाईँलाई अर्को नयाँ झोला नै नकिन्न सुझाव दिन्छन् । पर्यावरणका लागि प्लास्टिकका झोलाभन्दा बढी कपडा वा कागजको झोला खतरनाक हुन सक्ने उनीहरूको मत छ । वातावरणमैत्री झोलाको कुरा गर्दा त्यसको काम सकिएपछि के हुन्छ भन्ने मात्र सोचेका छौँ । तर त्यो झोला बन्ने क्रममा लाग्ने खर्च र प्रक्रियालाई बिर्सन्छौँ। झोलाले पर्यावरणमा पर्ने प्रभाव जाँच्ने हो भने निम्न कुराहरूमा ध्यान दिनुपर्छः झोला बनाउँदा कति ऊर्जा खपत भयो? त्यसलाई कतिपटकसम्म पुर्नप्रयोग गर्न सकिन्छ? पुर्नप्रशोधन गर्न कति सहज छ? फ्याँकेपछि कति सहजै त्यो कुहिन्छ? ऊर्जा खपतको प्रश्न सन् २०११ उत्तरी आयरल्याण्डको संसद्को एउटा अध्ययनका अनुसार ‘कागजको झोला उत्पादन गर्न प्लास्टिकको भन्दा चार गुणाभन्दा बढी ऊर्जा खपत हुन्छ ।’ उक्त अध्ययनका अनुसार पेट्रोलियम प्रशोधनका क्रममा खेर जाने पदार्थबाट प्लास्टिकका झोला उत्पादन हुन्छ भने पनि कागजका लागि रूख काट्नुपर्छ । कागजको झोला उत्पादन प्रक्रियामा धेरै पानी र रसायन खपत हुने बताइएको छ । कपडाको झोला उत्पादनले त झन समस्या देखाउँछ । नर्थनटम विश्वविद्यालयका दिगो फोहोर व्यवस्थापन विषयका प्राध्यापक मार्ग्रेट बेट्स भन्छन्, ‘कपास उत्पादन गर्ने काम निकै लामो र श्रम पर्ने हुन्छ । तीव्र रूपमा फेरिएका हाम्रा फेसनका रहरको असर यसमा पनि पर्छ ।’ सन् २००६ मा यूकेको पर्यावरण निकायले गरेको एउटा अध्ययनमा तापमान वृद्धिदर घटाउन कागजको झोलाको उत्पादन तीन गुणाले घटाउनुपर्ने बताएको थियो । सो सुझावमा प्लास्टिकको झोलाको उत्पादन चार गुणाले घटाउनुपर्ने कुरा थियो। तर सो प्रतिवेदनमा कपडाका झोलाको उत्पादन भने १३१ गुणाले कम गर्नुपर्ने बताएको थियो । च्यातिने र भिज्ने समस्या भएका काजगका झोलाको पुर्नप्रयोग हुन गार्हो हुन्छ । निष्कर्षमा उक्त वातावरणीय प्रतिवेदनमा भनिएको छः कागजको झोला कमजोर हुँदा धेरै प्रयोग गर्न सकिन्न, कपडाका झोलाको आयु भने लामो हुनेगर्छ, कागज कमजोर भएपनि छिट्टै कुहिने भएकाले त्यसले जनावरहरूमा पार्ने असर भने कम हुन्छ, र प्लास्टिकका झोला कुहिन चार सयदेखि एक हजार वर्षसम्म लाग्छ । त्यसोभए ठीक कुन हो त? जवाफ सरल छ । तपाईँले झोलाहरू पुर्नप्रयोग गर्नुभएन भने त्यसको वातावरणीय प्रभाव उच्च हुन्छ । प्राध्यापक बेट्स भन्छन्, ‘जेसुकैबाट बनेका झोला भए पनि त्यसलाई सक्दो धेरै पुर्नप्रयोगमा ल्याउनु नै त्यसको वातावरणीय असर कम गर्नु हो ।’ बजार जाँदा झोला बोक्न बिर्सियो र कपडा वा कागजकै झोला किनियो भने पनि सबैभन्दा ठूलो वातावरणीय मूल्य पर्छ । बीबीसी

उठ्ने बित्तिकै हिँड्नु स्वास्थ्यका लागि कति उपयुक्त?

एजेन्सीः नियमित हिँड्नु स्वस्थ जीवनशैलीको महत्वपूर्ण पाटो हो । बिहानको हिँडाइले त स्वास्थ्यलाई कैयौँ फाइदा पुर्‍याइरहेको हुन्छ । बिहान हिँड्दा दिनभर शरीर फुर्तिलो हुने मात्र नभई मोटोपन, मुटुरोगजस्ता कैयौँ समस्याबाट पनि बच्न सकिन्छ । यस्ता छन्, बिहानमा हिँड्नुका फाइदाः १. दैनिक रूपमा हिँड्ने बानीले तनाव पनि मुक्त गर्ने काम गर्छ । नियमित हिँड्ने बानीले सकारात्मक सोचको पनि विकास गर्दै लैजान्छ । २. दैनिक रूपमा हिँड्दा शरीरका हड्डी, खुट्टा, पेट तथा पाखुराका मांसपेशी मजबुत बन्दै जान्छन् । त्यस्तै, ढाड, जिउ दुख्नेजस्ता समस्या पनि बिस्तारै कम हुँदै जान्छ । ३. विश्वमा भएका विभिन्न अनुसन्धानले देखाएको छ कि नियमित हिँड्ने बानीले मानिसको आयुसमेत बढ्छ । यस्तो क्रियाकलापले शरीरको तौललाई पनि सन्तुलित गर्ने काम गर्छ । ४. कतिपयमा रातमा निद्रा नलाग्ने समस्या हुन्छ । यस्तो समस्याबाट छुटकारा पाउनका लागि उनीहरू विभिन्न अस्पताल पनि धाइरहेका हुन्छन् । तर, बिहानको समयमा दैनिक १ घण्टा हिँड्ने बानीले अनिद्राको समस्यालाई पनि दूर गर्दै लैजान्छ । ५.यति मात्र होइन, बिहान हिँड्नुका अरू पनि थुप्रै फाइदा छन् । बिहानको हिँडाइले श्वासप्रश्वास प्रणालीमा सुधार ल्याउने काम गर्छ । हिँड्दा श्वासप्रश्वासको गति बढ्छ र शरीरका नसाहरूमा राम्रोसँग अक्सिजन पुग्ने गर्छ । यसो हुँदा शरीरमा रहेका विकार तत्व सजिलै हट्नुका साथै शक्तिसमेत वृद्धि हुँदै जान्छ । ६.निसलाई विश्वास नलाग्न सक्छ, तर मर्निङ वाकले स्मरण शक्तिको पनि विकास गर्छ ।

इन्टरनेट कुलतः के तपाईँमा इन्टरनेटको कुलत सुरु भइसकेको त छैन?

काठमाडौं । इन्टरनेटले हाम्रो जीवनलाई धेरै अर्थमा परिवर्तन गरेको छ। यसले हाम्रो जीवन स्तर उन्नति गर्नुका साथै धेरै कार्यहरू गर्न अत्यधिक सहजता उपलब्ध गराएको छ। यसका साथै इन्टरनेटले सूचना, मनोरञ्जन र ज्ञानको विशाल भण्डार समृद्ध गर्नका साथै यस्ता तमाम सुविधा वृद्धि गरेको छ, जसले गर्दा यसको अत्यधिक प्रयोग गर्नुको लत–कुलत हाम्रा लागि समस्या भइसकेको छ। विज्ञापन अन्तर्राष्ट्रिय अन्वेषकहरूको टोलीले भर्खरै गरेको अध्ययनमा इन्टरनेटको प्रयोगले हाम्रो मस्तिष्कको आन्तरिक संरचनालाई द्रुत रूपमा परिवर्तन गरिरहेको छ भन्ने ज्ञात हुन आएको छ । इन्टरनेटको अत्यधिक प्रयोगले प्रयोगकर्ताको एकाग्रता, स्मृति र सामाजिक सम्बन्धलाई नराम्रोसँग प्रभावित गरीरहेको रिपोर्ट प्रकाशित भएको छ । साच्चै भन्ने हो भने मस्तिष्कमा भइरहेको यो परिवर्तनले केही मात्रामा, हाम्रो स्नायु प्रणालीलाई नै पुनर्संयोजित (रि–वायरिंग) गरिरहेको छ । मनोचिकित्सकीय अनुसन्धानको विश्व प्रसिद्ध जर्नल वर्ल्ड सायकिएट्रीको जून २०१९ को अंकमा प्रकाशित अध्ययन अनुसार इन्टरनेटको अत्यधिक प्रयोगले हाम्रो दिमागमा स्थायी र अस्थायी प्रभाव पारी रहेको छ। अध्ययनमा सम्मिलित शोधकर्ताले ती प्रमुख परिकल्पनाको जाँच (परीक्षण) गरे जसले इन्टरनेटको प्रयोगले मानिसको संज्ञानात्मक प्रक्रियालाइ बदल्न सक्छ । यसका साथै शोधकर्ताले यो पनि परीक्षण गरे, कि मनोविज्ञान, मनोचिकित्सा र ‘न्यूरोइमेजिंग’का आधुनिकतम निष्कर्षसँग यो कति मेल खान्छरु अस्ट्रेलियाको वेस्टर्न सिडनी विश्वविद्यालयका वरिष्ठ शोधकर्ता डा जोसेफ फेर्थका अनुसार इन्टरनेटको प्रयोगले मष्तिष्कको संरचना मा कसरी प्रभाव पार्छ भन्ने सम्बन्धमा भन्छन, ‘यस अनुसन्धानको प्रमुख निष्कर्ष भनेकै उच्च स्तरको इन्टरनेट प्रयोगले दिमागमा धेरै नकारात्मक प्रभाव पार्नसक्छ भन्ने रहेको छ ।’ उदाहरणको लागि, इन्टरनेटबाट आउने गरेका नोटिफिकेशन र सूचनाको अविरल प्रवाहले हामीलाई हाम्रो ध्यान उतै राख्न प्रोत्साहन दिन्छ। यसको परिणामस्वरुप आफ्नो अन्य कार्यमा ध्यान केन्द्रित गर्ने हाम्रो क्षमता प्रभावित हुन्छ । हामी कुनै एक विषयवस्तुमा ध्यान केन्द्रित गर्न, त्यसलाई राम्ररी बुझ्न एवं विषयवस्तुको गम्भीरता आत्मसात गर्न सकिरहेका हुन्नौँ। यस सोधले, इन्टरनेटले हाम्रो दिमागको संरचना, कार्य गर्ने शैली र संज्ञानात्मक विकासलाई कसरी प्रभावित गरिरहेको छ भन्ने बारे संकेत गर्छ । वर्तमान समयमा सोशल मिडियाका साथै धेरै अनलाइन टेक्नोलोजीहरूको व्यापक प्रयोग बढ्दै जानु शिक्षक र अभिभावकहरूको चिन्ताको विषय बनेको छ । विश्व स्वास्थ्य संगठनद्वारा सन २०१८ मा जारी गरिएको दिशानिर्देश अनुसार, साना बच्चाहरु (२.५ वर्षको उमेर) लाई दैनिक एक घण्टा भन्दा बढी समय कुनै पनि खाले स्क्रीनको सम्पर्कमा आउँन दिनु हुँदैन । हुन त वर्ल्ड साइकियट्री पत्रिकामा प्रकाशित सोध वयस्कहरूमा गरिएको अनुसन्धानको नतिजा हो भनिएको छ । बच्चाहरूमा इन्टरनेट प्रयोगले हुने फाइदा र हानिबारे थप अनुसन्धान हुनु बाँकी नै छ । डा फेर्थ भन्छन्, ‘बच्चा तथा युवा मानिसहरूलाई इन्टरनेटको नकरात्मक प्रभावबाट जोगाउन अझ बढी अनुसन्धान आवश्यक छ, आमाबाबुले पनि आफ्ना बच्चाहरूले डिजिटल उपकरणहरूमा धेरै समय खर्च नगर्ने वातावरण सुनिश्चित गर्नुपर्दछ।’ अभिभावकहरूले बच्चाहरूको अन्य महत्त्वपूर्ण विकासमूलक गतिविधिहरू, जस्तै सामाजिक अन्तर्क्रिया , शारीरिक व्यायाम तथा मैदानमा खेलिने खेल जस्ता गतिविधिमा बढी ध्यान दिनु पर्दछ। वास्तव मा यस अनुसन्धान को प्रमुख उद्देश्य हो, ‘हामीले यो बुझ्नु आवश्यक छ कि जहाँ एकतिर इन्टरनेटको सुविधाले हामी ‘ग्लोबल’ नागरिक बनी रहेका छौँ ,त्यही अर्कोतिर बच्चा देखि बुढा पाकासम्म ‘साइबर एडिक्ट’ पनि हुँदै गईरहेका छौँ । यो लत अथवा कुलत पनि रक्सी अथवा चुरोट भन्दा कम छैन । इन्टरनेटको बानी लागेका मानिसको मस्तिष्कका केहि भागमा ‘गामा अमिनोब्यूटरिक एसिड’ (जीएबीए) को स्तर बढ्दै गईरहेको छ। ‘जीएबीए’ को सम्बन्ध मस्तिष्कका विभिन्न कार्य जस्तै जिज्ञासा, तनाव र निन्द्रा आदिसँग रहेको छ । यसको असन्तुलनले अधीरता ,छटपटाहट, बेचैनी, तनाव र अवसाद (डिप्रेसन) बढाउँछ । इन्टरनेट प्रयोगको बानीले हाम्रो मस्तिष्कका सर्किटलाइ द्रुत गतिले र नया किसिमले पुनरसंयोजित (रि–वायरिंग) गरिरहेको छ । स्मरण गर्नुस त ‘इन्टरनेट प्रयोगको प्रारम्भिक चरणमा हामी जुनबेला पनि अनलाइन हुने–देखिने प्रयास गर्थ्यौँ,आज अवस्था त्यसको विपरीत छ । बेर छैन, अब संसारमा जाँड –रक्सी चुरोटको लतबाट मुक्ति प्रदान गर्ने जस्ता ‘रिह्यभिलेसन सेन्टर’ जस्तै इन्टरनेटको कुलतबाट टाढा राख्ने सेन्टर खोलिने क्रम प्रारम्भ होस्। देश सञ्चारबाट