सबै स्थानीय तहमा अस्पताल बनाउन एमालेको माग
काठमाडौं । नेकपा एमालेले ७ सय ५३ वटै स्थानीय तहमा आधारभुत स्वास्थ्य सेवा प्रबद्र्धन गर्नका लागि ५, १० र १५ शैयाको अस्पताल निर्माण गर्न माग गरेको छ ।
एमालेको स्वास्थ्य तथा जनसंख्या विभागले उपप्रधान तथा स्वास्थ्यमन्त्रि उपेन्द्र यादवलाई ध्यानाकर्षणपत्र बुझाउदै ओली सरकारको कार्यकालमा शिलान्यास भएका ३ सय ९६ स्थानीय निकायको आधारभुत अस्पताललाई पुर्णता दिन आग्रह गरेको हो । विभागका प्रमुख एवं एमाले स्थायी समिति सदस्य कृष्णगोपाल श्रेष्ठको नेतृत्वमा मन्त्रालयमा पुगेको टोलीले मन्त्री यादवलाई १५ बुँदे ध्यानाकर्षणपत्र बुझाएको हो ।
ध्यानाकर्षणपत्रमा स्वास्थ्य विमा कार्यक्रमलाई पुर्ण रुपमा सञ्चालन गर्न उपचार कार्यविधि, औषधि आपुर्ति सहजता, सेवा सुनिश्चितता र स्वास्थ्य पहिचान, समयमा सेवा शुल्क भुक्तानीका लागि तत्काल पहल गर्न र अनावश्यक जटिलता हटाउन आग्रह गरिएको छ ।
सरकारी संस्थामा नियमसंगत ढंगले कार्यरत कर्मचारीलाई हटाएर विषय नै नमिल्ने पदाधिकारीलाई प्रमुख बनाउने, थप जिम्मेवारी दिने जस्ता निवर्तमान मन्त्रीले प्रशासनीक अराजकताले गुणस्तर घट्ने नभै कर्मचारीको मनोबल घट्ने काम भएकोले यस्तो कार्यलाई तत्काल सच्याउन पनि ध्यानाकर्षण गरिएको छ ।
ध्यानाकर्षणपत्र बुझ्दै उपप्रधनमन्त्री यादवले यी विषयलाई आफुले कार्यान्वयन गर्ने प्रतिबद्वता जनाए । उनले भने, ‘मेरो कार्यकालमा सक्षमलाई अवसर दिएर स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सक्दो भुमिका खोल्नेछु ।’
ध्यानाकर्षण पत्रमा स्वास्थ्य सेवामा बाझिएका कानुनहरूको तत्काल संशोधनको व्यवस्था गर्नुपर्ने, सामाजिक स्वास्थ्य बिमा कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउन तत्काल कानुनसम्मत वोर्डका पदाधिकारीहरूको पदपूर्ति गर्दै संगठन व्यवस्थापन गर्नुपर्ने, स्वास्थ्य सेवामा सुशासनको प्रत्याभूति दिन तत्काल स्वास्थ्य जनशक्तिको उचित व्यवस्थापन गर्र्नुपर्ने , आस्थाको आधारमा गरिएको जथाभावी सरुवा, बर्खास्ती र नियुक्ति तत्काल सच्याएर कर्मचारीको मनोबल उच्च राखी काम गर्ने वातावरण सिर्जना गर्नुपर्ने, कर्मचारीहरूलाई आफ्नो सेवा र समूहमा काम गर्ने वातावरण गराई सुशासनको प्रत्याभूति दिलाउनुपर्ने उल्लेख छ ।
यस्तै, अस्पतालहरूमा अपरेशन, डाइलाईसीस लगायतका सेवाहरू सर्बसुलभ बनाउन यथाशीघ्र पहल गर्नुपर्ने र नेपालको संविधान अनुसार स्वास्थ्य सेवाको पुनर्संरचना र प्रभावकारी कार्यान्वयन गर्न तयार गरिएका रोग रोकथाम तथा नियन्त्रण केन्द्र, प्रत्यायन प्राधिकरण जस्ता राष्ट्रिय संरचनाको निर्माण गर्नुपर्ने, स्वास्थ्य प्रतिष्ठान सम्बन्धी छाता ऐन लगायतका कार्यहरू यथाशीघ्र पारित गराई सबै प्रदेशहरूमा बनाउने भनिएका स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम शुरु गर्न पहल गर्नुपर्ने, स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीको सुरक्षा व्यवस्थालाई भरपर्दो यस सम्बन्धी कानुनको कडाईसाथ कार्यन्वयन गर्नुपर्ने, द्रुतदरमा बढ्दै गरेको ज्येष्ठ नागरिकको सक्रिय र स्वस्थ जीवनका लागि तीन खम्बे कार्य नीति (सहभागिता, सुरक्षा र उचित स्वास्थ्य सेवा) अबलम्बन गरिनुपर्ने उल्लेख छ ।
सबै अस्पतालको सेवाको एकीकृत जानकारी गराउने प्रविधि (सफ्टवेयर) बनाइ सेवा र सुविधाको पारदर्शिता गराउने, चिकित्सक, स्वास्थ्य लगायत युवा जनशक्तिको विदेश पलायन रोक्न तत्काल विशेष कार्यक्रम ल्याइनुपर्ने । तीब्ररूपमा बढिरहेको आत्महत्या नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयको नेतृत्वमा बहुपक्षीय समन्वय संयन्त्र बनाई आत्महत्या दर न्यूनीकरण गर्नका लागि प्रभावकारी कार्यक्रम सञ्चालन गर्नुपर्ने, दिन प्रतिदिन तीब्ररूपमा बढिरहेको सडक दुर्घटनाबाट भएको मानवीय क्षति र अङ्गभङ्गलाई कम गर्नका लागि राजमार्गको रणनैतिक क्षेत्रहरूमा ट्रमा सेन्टर स्थापना गर्दै नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयको नेतृत्वमा वहुपक्षीय समन्वय संयन्त्र बनाई तत्काल कार्य प्रारम्भ गर्ने विषय ध्यानाकर्षणपत्रमा उल्लेख गरिएको छ ।
औषधि व्यवसायीप्रति सरकारको दायित्व
औषधि जीवन रक्षासँग प्रत्यक्ष जोडिएको अत्यावश्यक र संवेदनशील वस्तु हो । अहिले देशको आर्थिक मन्दीको कारण यो व्यवसाय पनि नराम्ररी प्रभावित भएको छ । औषधिको धेरै ठाउँबाट धेरै उत्पादन तथा आपूर्तिका कारण यो व्यवसाय गर्न कठिन हुँदै गएको छ । नीजि क्षेत्रका औषधि व्यवसायीहरुको औषधिको कारोबार परिमाण पनि घटेको छ । सटरको भाडा तिर्न र बैंक किस्ता बुझाउन नसकेको गुनासो आइरहेको छ । स्वदेशमै बसेर केहि काम गर्ने सोच बनाएका युवा व्यवसायीलाई निरुत्साहित पार्ने गरी नियमनको नाममा आतंकित बनाउने, मनोबल कमजोर बनाउने काम सरकारबाट नै भइरहेको छ । नियमनको नाममा कहिले औषधि व्यवस्था बिभाग अनुगमन गर्न आउँने र अनावश्यक दुःख दिने, कहिले स्थानीय सरकारले पनि नानाथरी दुख दिने काम भैरहेको छ । अनुगमन नगर्न भनिएको होइन, तर त्यसको मापदण्ड र तरिका मिलेको देखिदैन । जस्तै, हर्लिक्स, सेरेलेक जस्ता आमाको दूधको कमिको समयमा दिइने आहारपुरक दूध तथा ल्याक्टोजिनहरु फार्मेसीबाट बेच्न बन्देज गरिएको छ । तर तिनै बस्तुहरु किराना पसलबाट बिना मापदण्ड निर्वाध विक्री भैरहेको छ । औषधिसँग सम्बन्धित वस्तुहरु जो सुकैले निर्वाध बेच्न थालेपछि औषधि व्यवसायीको अर्थ भेट्न गाह्रो हुन्छ । जो सँग सम्बन्धित विषयमा ज्ञानको कमि छ र ति सामाग्री भण्डारण गर्ने उपयुक्त ठाउँ नभएको अवस्थामा त्यही कुरा चाहिँ ठिक भन्ने प्रवृत्ति कहिले सम्म चल्छ ? हामी धेरै नेपालीले गर्न जानेको बिदेशी सामान आयत गर्ने र महँगोमा बेच्ने नै हो । औषधिको सन्दर्भमा पनि त्यही हो । तर औषधिमा बिदेशी चलन चल्ती नै भित्र्याउने हो भने Food and Drug Administration (FDA) लाई लागू गर्नुपर्ने देखिन्छ । खाद्य वस्तु, आहारपुरक, सौन्दर्य प्रसाधक सामाग्री देखि औषधि समेत को नयाँ अनुसन्धान, अनुगमन, गुणस्तर एवं अन्य आवश्यकताको निगरानी गर्ने निकाय लाई अवलम्बन गर्न सकिएको खण्डमा मात्रै यसमा सुधार हुन सक्छ । साथै एकद्वार प्रणाली अन्तर्गत हालको औषधि व्यवस्था बिभागलाई जिम्मेवारी दिन सकेमा सुनमा सुगन्ध हुने देखिन्छ । साँढेको जुधाई, बाच्छाको मिचाई औषधि व्यवस्था बिभागले दर्ता नभएका न्यूट्रास्युटिकल र कस्मेटिक बेच्न पाईदैन भन्दै अनुगमनका क्रममा ब्यवसायी लाई दुख दिने गरेको छ । तर बिडम्बन के छ भने खाद्य प्रविधी तथा गुणस्तर नियन्त्रण विभागमा दर्ता भएको हुन्छ । सरकारकै यो निकायलाई आधिकारिक कसरी नमान्ने ? विरामीका लागि औषधिको पुर्जा लेख्ने डाक्टरहरुले आवश्यकता देखेरै पुर्जा दिइरहेका हुन्छन् । त्यही औषधि फार्मेसी ब्यवसायीले बेच्ने मिल्ने कि नाई ? सम्बन्धित निकाय नै अनविज्ञ देखिन्छ । अन्तर्राष्ट्रिय मुल्य मान्यता हेर्न हो भने पनि बिदेशका फार्मेसी FDA अन्तर्गतको मापदण्डमा रहि सौर्न्दर्य र आहारपुरक बस्तु सजिलै बेचबिखन गरेको पाईन्छ । व्यवसायी गर्न रहर होईन बाध्यता हो डिप्लोमा अथवा स्नातक पढाई सकेपछि घुम्ने कुर्सीमा बस्ने रहर धेरैलाई हुन्छ । तर सबैलाई सोचेजस्तो हुँदैन । त्यही बिडम्बनामा हामी च्यापिएका हौं । मेरो उदाहरण दिने हो भने, मेरा कोहि आफन्त वा नातेदार, हुने खाने अथवा नजिकका हुन्थे भने भनसुन गरेरै भएपनि करारमा नै किन नहोस्, कुनै पनि जागिर खाइन्थ्यो होला । अथवा कदम कदाचित त्यो नभए पनि धेरै–थोरै सम्पत्ति भए बिदेशी भूमिमा पाइला टेकिसकिन्थ्यो होला । केहि सीप नलागेपछि सहकारीसँग ऋण लिएर भए पनि सानो तिनो व्यवसाय संचालन गरेर घर खर्च चलाइरहेको छु । म जस्ता अरु धेरै छन् । के यसो गर्नु व्यवसायीले पाप गरेको हो र ? यसको जवाफ कसले, कहिले दिने ? औषधि व्यवसायकै कुरा गर्दा औषधि एेन २०३५ पुरानो भएको र समय सापेक्ष नभएको भन्दै नयाँ औषधि विधेयक संसदमा छलफलको विषय बनेको छ । त्यसमा अनौठो विषय सौन्दर्य प्रसोधन सामाग्रीलाई पनि समेटेर अहिलेको औषधि व्यवस्था बिभागअन्तर्गत दर्ता गरि नियन्त्रण तथा अनुगमन गर्न पाउनु पर्ने भन्दै मुख्य एजेन्डा बनाइएको देखिन्छ । यही समयमा औषधीको सम्पुर्ण कारोबार बिमाको बाहनामा सरकारी अस्पतालले गरेको पाइन्छ । यस अवस्थामा स–साना व्यवसायीले बिदेशी मान्यता अवलम्बन गर्न, व्यवसाय लाई नयाँ ढंग वा फराकिलो बनाउन सके मात्रै सुनमा सुगन्ध हुने छ । होइन भने व्यवसाय र व्यवसायी दुबै पलायन हुने देखिन्छ । (न्यौपाने नेपालगंजका औषधि व्यवसायी हुन्)
सबै स्थानीय तहमा दन्त चिकित्सकको दरबन्दी दिन डेन्टल एशोसिएशनको माग
काठमाडौं । विश्व मुख स्वास्थ्य दिवसको अवसरमा नेपाल डेन्टल एशोसिएशनले देशभरका सबै स्थानीय तहका दन्त चिकित्सकहरुको दरबन्दी सिर्जना गर्न सरकारसमक्ष माग गरेको छ । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै एशोसिशनले सरकारसँग यस्तो माग गरेको हो । मार्च २० तारिखका दिन विश्वभर मुख स्वास्थ्य दिवस बनाइने गरिन्छ । यस वर्षको विश्व स्वास्थ्य दिवसको नारा ‘ह्यापी माउथ इज अ ह्यापी बडी’ रहेको छ । एशोसियसनले संसारको ९० प्रतिशत जनसंख्याको आफ्नो जीवनमा एकपटक दाँत किराले खाने, गिजाको समस्या एवं मुखको क्यान्सरको समस्याबाट पीडित हुनसक्ने उल्लेख गरेको छ । मुखको क्यान्सर सुर्ति तथा सुर्तिजन्य पदार्थ र अल्कोहल सेवन गर्नेहरुमा उच्च जोखिम रहने बताइएको छ । विकसित मुलुकहरुमा मुख तथा दन्त उपचारमा कुल स्वास्थ्य बजेटको ५ देखि १० प्रतिशत खर्च हुने भएपनि नेपालमा दन्त उपचारमा न्युन बजेट रहेको भन्दै एशोसिएशनले सरकारको ध्यानाकार्षण गराएको छ । एशोसियशनका अध्यक्ष डा. प्रणय रत्न शाक्यले विश्व मुख स्वाथ्य दिवस संसारभर भव्य रुपमा मनाइने भएपनि नेपालमा भने यसको प्रभाव कम रहेको बताए । मुख स्वास्थ्य दिवसलाई स्थान दिन माग गर्दै आफूहरुले विभिन्न काम गर्दै आएको बताए । कान्ति बाल अस्पतालमा कार्यरत डा. कुम्भराज जोशीले मुख स्वास्थ्य सम्बन्धी समस्या आउँदा धेरै ध्यान नदिइने गरिएको पाइएको बताएका छन् । मुख स्वास्थ्य सम्बन्धी समस्या धेरै भएपनि त्यसको उपचार र समस्या समाधानका लागि हुनुपर्ने पहल नभएको बताए । अहिले वार्षिक रुपमा एक हजारभन्दा बढी दन्त चिकित्सकहरु उत्पादन भइरहँदा पनि सरकारले व्यवस्थापन गर्न नसकेको उनको भनाइ छ । जनशक्ति उत्पादन भइरहँदा पनि मुख स्वास्थ्य सम्बन्धी समस्या समाधान हुन बाँकी रहेको बताए । साथै, उनले तत्काल दन्त चिकित्सकहरुको दरबन्दी सिर्जना गर्न पनि सरकारको ध्यानाकार्षण गराए । ‘स्थायनीय सरकारमा पनि दन्त चिकित्सकहरुको दरबन्दी बनाइयोस् । त्यो भन्दा माथिल्ला अस्पतालहरुमा दन्त चिकित्सक र विशेषज्ञ दन्त चिकित्सकहरुको दरबन्दी यथाशीघ्र सञ्चालन गरियोस् भन्ने हाम्रो माग छ,’– उनले भने । एशोसिएशनका महासचिव डा.विश्व प्रकाश ठकुरीले आफूहरुले गरेको जस्ता कार्यक्रम नेपाल सरकारले बजेट विनियोजन गरेरै गर्नुपर्ने बताए । उनले अरु दिवसजस्तै सरकारले आगमी दिनमा सरकारले मनाउन पर्ने भन्दै स्वास्थ्य मन्त्रालयको ध्यानाकार्षण गराए । स्वाथ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले पछिल्लो समय नसर्ने प्रकृतिका रोगहरुको भयावह अवस्था आउन सक्ने भएकाले दरबन्दी त्यतातिर केन्द्रीत रहेको बताए । पछिल्लो समय मधुमेह, उच्चरक्तचाप, मृगौला रोग, मुटु रोग हुँदै दाँत तथा मुख सम्बन्धी रोगको प्रकोप बढ्दो रहेको बताए । सबै क्षेत्रमा आवश्यक दरबन्दी सरकारले दिन नसके पनि दाँत तथा मुख स्वास्थ्यका क्षेत्रमा विगतका तुलनामा धेरै काम भइरहेको बताए । डा. बुढाथोकीले स्थानीय तह, प्रदेशस्तरका अस्पतालमा दन्त चिकित्सकहरुको व्यवस्थापनको काम विभागबाट भइरहेको बताए । पुरानो ओरल हेल्थ पोलिसीलाई अब ओरल हेल्थ स्टाटेजीको रुपमा विकसित गरिने पनि उनले बताए । प्रत्येक वडामा रहेको आधारभूत स्वास्थ्य केन्द्रले पनि अब दाँत तथा मुख स्वास्थ्य सेवा प्रदान गर्नुपर्छ । अस्पतालहरुले पनि गर्छन । हामीले कमसेकम भएका स्वास्थ्यकर्मीहरुलाई प्रशिक्षण दिएर काम गर्न सक्ने बनायौं भने विस्तारै दरबन्दी सिर्जना गर्न हामीलाई सजिलो हुन्छ । अहिले हरेक जिल्लामा रहेका जिल्ला अस्पताल, प्रादेशिक अस्पताल, संघीय अस्पताल र विशिष्टिकृत अस्पतालहरुमा पनि डेन्टल सर्जन र विशेषज्ञहरुको दरबन्दी राखेको उनले बताए । १५ बडेको अस्पतालमा पनि एक जना दन्त चिकित्सक दिनुपर्छ भन्ने सरकारको धारणा रहेको उनले बताए । ती भन्दा तल्लो तहका अस्पताल र स्वास्थ्य संस्थाहरुमा त्यही भएका जनशक्तिहरुलाई तालिम दिएर काम गरिनुपर्ने बताए । साथै, विभागमा मुख स्वास्थ्य दिवस मनाउने गरी कार्यतालिका रहेको बताए । उनले आफ्नो पेसालाई उच्च र सम्मानित बनाउन दिवस मनाउन आवश्यक रहेको बताए । साथै उनले अब दाँत तथा मुखसम्बन्धी रोगबारे जनचेतना फैलाउने कार्यमा लाग्न दिवस नै कुरेर नबस्न समेत उनले सबै दन्त चिकित्सकहरुलाई आग्रह गरे ।
स्वास्थ्य बीमा राष्ट्रिय गौरवको अभियानः प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य बीमा कार्यक्रमलाई राष्ट्रिय गौरवको अभियानका रूपमा घोषणा गर्ने गृहकार्य भइरहेको बताएका छन् । प्रतिनिधिसभाका सांसदहरूले सोधेका प्रश्नहरूको आज जवाफ दिँदै स्वास्थ्य बीमा परिचयपत्र अनिवार्य गर्ने, वैदेशिक रोजगारीमा जानेहरुको परिवारको अनिवार्य बीमा, आम्दानीअनुसारको प्रिमियमको आधारमा सबै कर्मचारी, शिक्षक, जनप्रतिनिधिको अनिवार्य बीमा गर्ने लगायतका कार्यक्रम अगाडि बढाइने बताए । “सबै प्रकारका स्वास्थ्य सुरक्षाका कार्यक्रमलाई स्वास्थ्य बीमामार्फत एकीकृत गर्ने र स्वास्थ्य बीमालाई राष्ट्रिय गौरवको अभियानको रूपमा घोषणा गर्ने लगायतका विषयमा सरकारले गृहकार्य गरिरहेको छ,” प्रधानमन्त्री प्रचण्डले भने । नागरिकहरूको स्वास्थ्य उपचारका क्रममा हुने वित्तीय जोखिम कम गर्न स्वास्थ्य बीमा बोर्डमार्फत् सामाजिक स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले हालसम्म ३३ दशमलव २ प्रतिशत घरपरिवार तथा २४ दशमलव ७ प्रतिशत जनसङ्ख्या स्वास्थ्य बीमाको दायरामा आएका र ७५१ पालिकासम्म स्वास्थ्य बीमाको पहुँच पुगेको बताए । स्वास्थ्य बीमा कार्यक्रममा देखिएका समस्या समाधान गर्नका लागि अनलाइन सदस्यता तथा नवीकरणसँगै बीमा सक्रिय हुने व्यवस्थासहित स्वास्थ्य बीमा नियमावली संशोधनको प्रक्रियामा रहेको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले गरीब परिचय पत्रको म्याद थप गर्ने र बाँकी जिल्लामा पनि यसलाई विस्तार गर्दै सरकारले अतिगरीब नागरिकको प्रिमियमको व्यवस्था गरिने बताए ।
विश्व मिर्गौला दिवस : दुई पटक मिर्गौला प्रत्यारोपण गरेका केपी ओलीको यस्तो छ सुझाव
काठमाडौं। आज विश्व मिर्गौला दिवस । ‘मिर्गौला उपचारमा सबैको समान पहुँच र सुरक्षित चिकित्सकीय अभ्यास’ भन्ने नाराका साथ विभिन्न कार्यक्रमको आयोजना गरी यो दिवस मनाइँदै छ । यस अवसरमा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो अनुभवसहितका सामाजिक सञ्जाल फेस्बुक मार्फत केही सुझाव दिएका छन् । दुई पटक मिर्गौला प्रत्यारोपण गरेका उनले मिर्गौला जोगाउन आफैँ सजग हुनुपर्नेमा जोड दिएका छन् । उनले भनेका छन्– 'मिर्गौला दिवससँग मेरो भावनात्मक अनुभूति छ। किनभने मैले दुई पटक मिर्गौला प्रत्यारोपण गरिसकेको छु। हाम्रो सानो लापरबाहीले मिर्गौला बिग्रिन सक्छ । जब मिर्गौला बिग्रिन्छ, तब जीवन कष्टकर बन्छ। प्रत्यारोपण गर्नु धेरै जटिल काम हो। डाइलासिस् गरेर रोकथाम गर्नु पनि झन्झटिलो छ।हामी सरकारमा हुँदा डाइलासिस् निःशुल्क गर्ने कार्यक्रम ल्याएका थियौँ। मिर्गौला जोगाउन हामी आफैँ सजग हुनु पर्छ, डाइलासिस् त अल्पकालीन रोकथाम मात्र हो । स्वास्थ्यप्रति सचेत बनौँ, मिर्गौला जोगाऔँ !'
जनताको सेवा गर्न वरीयता चाहिदैन : उपप्रधानमन्त्री यादव
काठमाडौं । नवनियुक्त उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले जनताको सेवा गर्नका लागि वरीयताले फरक नपर्ने बताएका छन् । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलबाट उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्रीको शपथ ग्रहणपछि मन्त्रालयमा पदभार ग्रहण गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सो कुरा बताएका हुन् । पटकपटक उपप्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको तपाईंले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेपछिको वरीयतामा बस्न किन चाहनुभयो ? भन्ने सञ्चारकर्मीहरूको प्रश्नको जवाफमा उनले जनताको सेवा गर्नेलाई वरीयताको मतलब नहुने बताए । उनले ग्रासरुटमा बसेर काम गर्ने मान्छेलाई यस्ता कुराको वास्ता नहुने जवाफ दिए । उनले स्वास्थ्योपचारका लागि लामो लाइनमा बस्नुपर्ने अवस्थाको अन्त्य गर्दै स्वास्थ्योपचारलाई सहज र डिजिटल प्रविधिमार्फत घरैबाट पनि चिकित्सकको समय लिनसक्ने बनाउने निर्णय गरेका छन् ।
अन्तर्राष्ट्रिय श्रवण दिवसः बहिरोपना रोकथामका लागि यस्ता छन् विशेषज्ञका १० सुझाव
काठमाडौं, २० फागुन । अन्तर्राष्ट्रिय श्रवण दिवसको अवसरमा सोसाइटी अफ ओटोलारिन्गोलोजिस्ट अफ नेपालले बहिरोपना रोकथामका लागि १० सुझावहरु दिएको छ । आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी श्रवण सम्बन्धी रोग र यसको रोकथामको उपाय जानकारी गराएको हो । सोसाइटी अफ ओटोलारिन्गोलोजिस्ट अफ नेपालका महासचिव डा. योगेश न्यौपानेले आफूहरुको उद्देश्य श्रवण सम्बन्धि तथ्यहरु समाजमा पुर्याउने र त्यस सम्बन्धमा योगदान दिने रहेको बताए । उनले अन्धोपनाले मान्छेलाई संसारबाट छुट्याउने र बहिरोपनले भने मान्छेलाई मान्छेबाट नै छुट्याउने बताए । कानमा प्रयोग गरिने एयरफोन श्रवण शक्तिका लागि धेरै घातक रहेको उनको भनाइ छ । सोसाइटी अफ ओटोलारिन्गोलोजिस्ट अफ नेपालका अनुुसार धेरैजसो बहिरोपना रोक्न सकिने प्रकृतिका हुन्छन् । नेपालमा बहिरोपनबाट बच्न र बचाउनका लागि सरकारीस्तरबाट देशव्यापी रुपमा सर्वेक्षण हुन आवश्यक रहेको सोसाइटी अफ ओटोलारिन्गोलोजिस्ट अफ नेपालको सुझाव छ । सोसाइटी अफ ओटोलारिन्गोलोजिस्ट अफ नेपालले बहिरोपन रोकथाम गर्नको लागि निम्न कुरामा ध्यान दिनुपर्ने सुझाएको छः १.संक्रमणबाट कानलाई बचाउनुपर्छ । कान पाकिहाले नजिकैको चिकित्सकसँग सल्लाह लिनुपर्दछ । रुघाखोकी लागेमा मध्यकान र नाकको पछाडि भाग जोडने नली बन्द हुन जान्छ । यो नली लामो समयसम्म बन्द भइरहेमा मध्य कानमा असर पर्छ । यो समस्या बच्चाहरुमा बढी देखा पर्ने भएकोले बच्चाहरुलाई रुघाखोकी लाग्नबाट बचाउनका लागि आमाको दुध खुवाउने, दुध खुवाउँदा बसालेर खुवाउने, घर वरिपरि पाइने ताजा खानेकुरा खुवाउने र जङ्क फुड नखुवाउने गर्नुपर्छ । रुघा लागेमा तातो, तातो झोल पदार्थ खुवाउनुपर्छ । निको नभएमा नजिकैको स्वास्थ्यचौकी वा अस्पतालमा लैजानु पर्छ । २.कानलाई चोटपटकबाट बचाउनुपर्छ । कान कोट्याउँदा कानको जालीमा असर पर्छ र जाली फुटने सम्भावना हुन्छ । त्यसैले कान कोट्याउनु हँुदैन भन्ने कुरा जनमानसमा सिकाउनुपर्छ । ३. बच्चाको सुनाइ सम्बन्धि शंका लागेमा नजिकैको चिकित्सकको सल्लाह लिनु पर्छ । ४.कानमा तेल अथवा अरु कुनै पनि झोल पदार्थ हाल्नु हुँदैन । ५.गर्भवती भएको पहिलो तीन महिनासम्म आफुखुसी औषधिको सेवन गर्नु हुँदैन, गर्नै परेमा चिकित्सकको सल्लाह लिनुपर्छ । गर्भवती आमाले जाँडरक्सी र चुरोट सेवन गर्न हुँदैन । ६.आफ्नो बच्चाले नसुन्ने शंका लागेमा सम्बन्धित चिकित्सकलाई जचाई सल्लाह लिनु पर्छ । ७.सर्वसाधारणको जमघट हुने स्थानमा चर्को ध्वनी उत्पन्न हुने उपकरणको प्रयोग गर्नु हुँदैन । वाजाहरु पनि धेरै चर्को रुपमा बजाउनु हुँदैन । गाडीको हर्न निषेध गरिएको ठाउँमा चर्को हर्न बजाउनु हुँदैन । ८. मोवाइल वा हेड फोन धेरै समयसम्म प्रयोग गर्नु हुँदैन । गर्नै परे चर्को सुन्नु हुँदैन । ९. कलकारखानामा काम गर्ने व्यक्तिहरुले इएर प्लगको प्रयोग गरी कानलाई चर्को ध्वनीबाट बचाउन पर्छ । यस्ता ठाउँमा कम्तिमा वर्षको एकपटक श्रवण परीक्षण गर्ने व्यवस्था मिलाउनुपर्छ । १०. श्रवण शक्तिलाई कसरी बचाउन सकिन्छ, श्रवण शक्तिको ह्रास भइहालेमा के कस्ता विधिहरु अपनाएर रोकथाम र्गा सकिन्छ र छिटोभन्दा छिटो बच्चामा श्रवण शक्तिको परिक्षण कसरी गर्न सकिन्छ भन्नेबारे सर्वसाधारणलाई विभिन्न माध्यमबाट शिक्षा दिनुपर्छ ।
केयूको फार्मेसी विभागले 'दिर्घायू' नामक वार्षिक कार्यक्रम आयोजना गर्दै
काठमाडौं । काठमाडौं विश्वविद्यालयको फार्मेसी विभागले 'दिर्घायू' नामक वार्षिक कार्यक्रम आयोजना गर्दै छ।अहिले गर्न लागेको यो 'दिर्घायू' को दोस्रो संस्करण हो।कार्यक्रम दूई चरणमा हुने छ। पहिलो चरणमा खेलकुद र विभिन्न विधामा प्रतिस्पर्धात्मक कार्यक्रम हुने छ भने मुख्य चरणमा फार्मेसी पेसा अन्तर्गत विभिन्न विषयमा विज्ञहरुबीच छलफल हुने छ। कार्यक्रममा काठमाडौं विश्वविद्यालयका फार्मेसी विद्यार्थीका साथसाथै नेपालका विभिन्न फार्मेसी कलेजका विद्यार्थीहरु,फार्मेसी काउन्सिलका प्रतिनिधि, औषधि विभागका प्रतिनिधिको उपस्थित हुने छ। मुख्य चरणको कार्यक्रम वैशाख ३ र ४ गते काठमाडौं विश्वविद्यालयको प्राङ्गणमा हुने आयोजकले जनाएको छ । नेपालमा रहेका विभिन्न फार्मेसी कलेजबीच विभिन्न विधामा स्वस्थ प्रतिस्पर्धा, अनुभव साटासाट, व्यक्तित्व विकास बारे कार्यक्रम,व्यवसायिक प्रशिक्षण,फार्मेसी पेसामा रहेका विभिन्न समस्या र समाधानबारे विज्ञहरुबीच छलफल गराइ,छलफलको निचोडलाई कार्यनयन गर्ने हेतुले कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।
भरतपुर “हेल्थ हब”को रूपमा विकास हुँदै गएको छ : प्रधानमन्त्री
भरतपुर। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले भरतपुर महानगरपालिका स्वास्थ्य क्षेत्रमा नयाँ “हब”को रूपमा विकास हुँदै गएको बताएका छन् । शुक्रबार बिहान चितवनको भरतपुरमा निर्मित भरतपुर आँखा अस्पतालको नयाँ भवनको उद्घाटन गर्दै प्रधानमन्त्रीले सो कुरा बताए । कार्यक्रममा प्रधानमन्त्रीले भने, “भरतपुर आँखा अस्पताल भरतपुर क्षेत्रको मात्र आँखा अस्पताल नभएर स्वदेश तथा विदेशका समेत सेवाग्राहीहरूको आँखा सम्बन्धी उपचारको केन्द्रका रूपमा स्थापित हुँदै गएको छ।” प्रधानमन्त्रीको सम्बोधन (पूर्णपाठ) वि.सं. २०४४ सालमा स्थापित भई आँखाको उपचारका साथै अध्ययन, अध्यापन र व्यवसायिक तालीमका क्षेत्रमा विशिष्टिकृत योगदान पु¥याउँदै आएको आँखा अस्पतालको नवनिर्मित भवनको उद्घाटन गर्न पाउँदा मलाई खुसी लागेको छ । यसका निम्ति अस्पताल समिति, कर्मचारीहरू एवं अस्पताल परिवारमा हार्दिक बधाइसहित धन्यवाद ज्ञापन गर्दछु । भरतपुर आँखा अस्पताल भरतपुर क्षेत्रको मात्र आँखा अस्पताल नभएर स्वदेश तथा विदेशका समेत सेवाग्राहीहरूको आँखा सम्बन्धी उपचारको केन्द्रका रूपमा स्थापित हुँदै गएको छ । नेपालका साथै छिमेकी मित्रराष्ट्र भारतबाट समेत यस अस्पतालमा सेवा लिने सेवाग्राहीहरूको उल्लेख्य संख्या रहनुले पनि अस्पतालको महत्व र सेवा प्रवाहको गुणस्तर प्रमाणित हुन्छ । यस अस्पतालको स्थापना एवं विकासका निम्ति चितवन जिल्ला र यस आसपासको क्षेत्रका सामाजिक व्यक्तित्वहरूको विशिष्ट योगदान रहँदै आएको छ । नेपाल सरकार, सामाजिक क्षेत्र र सामाजिक व्यक्तित्वहरूको साझा पहल र सक्रियताकै कारण अस्पतालले आँखा रोगसम्बन्धी विशेषज्ञ सेवा र अस्पतालको विश्वसनियतामा समेत बढोत्तरी हुँदै गएको छ । यो हामी सबैका निम्ति खुसीको कुरा हो । विभिन्न दातृ निकाय, संघसंस्था, भरतपुर महानगरपालिका लगायत राज्यका विभिन्न निकाय र जनसमुदायको लगानीमा नयाँ भवन निर्माण भएको छ । नवनिर्मित भवनको उद्घाटनपछि बालरोग बहिरंग सेवा, बालबालिकाका लागि अलग्गै टिकट काउन्टर, ओपिडी कक्षमा बिस्तार, फार्मेसी कक्ष, चश्मा बिक्री कक्ष, बालमैत्री खेल कक्ष, स्टाफ कन्फरेन्स हल र स्तनपान कक्षको व्यवस्थापन हुने जानकारी पाउँदा म उत्साहित भएको छ । नवनिर्मित भवनको उद्घाटनपछि अस्पतालले दिने सेवाको मात्रा र गुण दुबैमा गुणात्मक सुधार हुने मैले विश्वास लिएको छु । नयाँ भवन सञ्चालनमा आएपश्चात भौतिक सुविधाको दृष्टिले अस्पताल सबल र सुविधासम्पन्न हुनेछ । तसर्थ, भौतिक संरचनाको विकाससँगै अस्पतालले दिने सेवा, अनुसन्धान र स्वास्थ्य तालीमहरूमा पनि सोहीस्तरमा क्षमता अभिवृद्धि गर्न आवश्यक रहन्छ । यसका निम्ति भविष्यमा नेपाल सरकारको तर्फबाट आवश्यक सहयोग र सहजीकरण हुने नै छ । मेरो नेतृत्वको वर्तमान सरकार संविधानप्रदत्त “स्वास्थ्य सम्बन्धी हक”लाई व्यवहारमा कार्यान्वयन गर्न निरन्तर क्रियाशील रहँदै आएको छ । स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारी कार्यान्वयन, देशभरिका सबै अस्पतालमा १० प्रतिशत शय्या गरिब, बिपन्न र असहाय नागरिकका लागि निशुल्क उपलब्ध गराउने व्यवस्था, महिलाहरूमा देखापर्ने स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सरविरूद्धको खोप निशुल्क उपलब्ध गराउने व्यवस्था, स्वास्थ्य क्षेत्रमा सामाजिक सुरक्षाका कार्यक्रम, बिपन्न बिरामीहरूका लागि अनुदानको व्यवस्था लगायत महत्वपूर्ण निर्णयहरू भई कार्यान्वयनमा आएका छन् । अर्कोतर्फ संविधानअनुरूप निर्माण गरिनुपर्ने ऐनहरूको तर्जुमाका निम्ति नेपाल सरकारले गम्भीर पहल लिइरहेको छ । यी सबै प्रयासहरूले स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण सुधार हुने मैले विश्वास लिएको छु । अन्त्यमा, नवनिर्मित भवनको उद्घाटनपश्चात आँखा सम्बन्धी रोगको उपचार, अध्ययन, अध्यापन र व्यवसायिक तालीममा थप प्रगति हुने विश्वास व्यक्त गर्दै भवन निर्माणमा सहयोग गर्नुहुने समस्त दातृ निकाय, भरतपुर महानगरपालिका, सामाजिक संघसंस्था एवं सामाजिक व्यक्तित्वहरूमा फेरि एकपटक धन्यवाद व्यक्त गर्दै विदा हुन्छु । धन्यवाद ।
नेपाली चिकित्सकले गरे दोस्रो सफल कलेजो प्रत्यारोपण
काठमाडौं । त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरूले दोस्रो सफल कलेजो प्रत्यारोपण गरेका छन् । अस्पतालका डा.रमेशसिंह भण्डारी नेतृत्वसहितको टोलीले अस्पतालमा दोस्रो पटक सफल कलेजो प्रत्यारोपण गरेको हो । डा.भण्डारीका अनुसार अस्पतालमा चितवनका ३३ वर्षीय पुरुषको सफल कलेजो प्रत्यारोपण गरिएको हो । पुरुषलाई उनकी २८ वर्षीया श्रीमतीले कलेजो दान दिनुभएको डा.भण्डारीले जानकारी दिए । बिरामीलाई १६ दिनपछि आइतबार अस्पतालबाट डिस्चार्ज गरेको डा.भण्डारीले जानकारी दिए । डा.भण्डारीका अनुसार उनको गत माघ २६ गते कलेजो प्रत्यारोपण भएको थियो । हालसम्म अस्पतालमा १२ वटा सफल कलेजो प्रत्यारोपण भइसकेका छन् । यो नेपाली चिकित्सकको टोलीले गरेको यो दोस्रो सफल कलेजो प्रत्यारोपण हो । यसअघि २७ पुसमा नेपाली चिकित्सकहरूकै संलग्नतामा पहिलो पटक सफल कलेजो प्रत्यारोपण भएको थियो । त्यो भन्दा पहिले नेपालमा हुने कलेजो प्रत्यारोपणमा विदेशी चिकित्सकहरूको सहायता लिँदै आइएको थियो । अस्पतालले २०७६ जेठ १७ गते पहिलो कलेजो प्रत्यारोपण गरेको थियो । त्यस्तै अस्पतालमा २०७७ फागुन २९ गते ११ महिनाको बालकमा समेत कलेजो प्रत्यारोपण भइसकेको छ ।
सरकारले आजदेखि दादुरा–रुबेला खोप अभियान सञ्चालन गर्दै, ५७ लाख बालबालिकालाई दिइँदै
काठमाडौं । सरकारले आजदेखि दादुरा–रुबेलाविरुद्धको खोप अभियान सञ्चालन गर्दै छ । अभियानअन्तर्गत ५७ लाख ४२ हजार ९९३ जना बालबालिकालाई खोप दिने लक्ष्य राखिएको छ । अभियान सफल पार्न स्वास्थ्यकर्मी र स्वयंसेवक गरी करिब १० हजार जनशक्ति खटाइने स्वास्थ्य सेवा विभागअन्तर्गतको खोप शाखाले जनाएको छ । आजदेखि चैत ७ गतेसम्म चल्ने अभियानमा ५७ लाख ४२ हजार ९९३ बालबालिकालाई खोप दिने लक्ष्य राखेको छ । दादुरा–रुबेलाविरुद्धको खोप दिने दुई वर्ग छुट्याइएको छ । भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा सरकारले यसअघि नै सो खोप दिइसकेको छ । आजदेखि सञ्चालन हुने अभियानमा तराईका २१ र काठमाडौं उपत्यकाका तीन गरी २४ जिल्लामा बालबालिकालाई खोप दिइनेछ । जसमा झापा, मोरङ सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपुर, परासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, काठमाडौं, भक्तपुर र ललितपुर छन् । यी जिल्लामा दादुराको जोखिम बढी भएकाले १५ वर्षसम्मका बालबालिकालाई खोप दिन लागिएको हो । कोभिडकालमा भएको एक सर्वेक्षणमा ती जिल्लाका १५ वर्षमुनिका बालबालिकामा रोग प्रतिरोधी क्षमता कम भएको पाइएको खोप शाखा प्रमुख डा। अभियान गौतमले बताए । यीबाहेक अन्य जिल्लामा ९ देखि १५ महिनासम्मका बाललिकालाई खोप दिइने खोप शाखाले जनाएको छ । करिब एक महिना चल्ने अभियानका लागि सरकारले ४८ हजार ७९८ वटा खोप केन्द्र तोकेको छ । बढी जोखिममा रहेका २४ जिल्लामा भने विद्यालयबाटै खोप दिइने डा. गौतमले बताए । अन्य जिल्लामा भने नियमित खोप दिइने स्थानहरू र बस्तीको पायक पर्ने स्थानलाई खोप केन्द्र तोकिएको छ । आश्रम, इँटा भट्टा, बाल मन्दिर आदि स्थानको नजिक पारेर केन्द्र तोकिएको डा। गौतमले बताए । देशभर खोप अभियान सञ्चालन गर्न स्वास्थ्यकर्मी र स्वयंसेवक गरी ३० हजार बढी जनशक्ति खटाइने उनको भनाइ छ । अभियानअन्तर्गत नियमित खोप छुटेका बालबालिकालाई पनि खोप दिइनेछ । १५ महिनाभित्र लगाउनुपर्ने नौवटा खोपका १८ मात्रामध्ये कुनै पनि खोप छुटेको भए सोही केन्द्रबाट उपलब्ध गराइनेछ । डी।पी।टी र हेप बी खोप सोही केन्द्रबाट दिइने र उपलब्ध नभए स्वास्थ्य संस्था रिफर गरिनेछ । खोप शाखाको तथ्यांकमा डी।पी।टी र हेप बी खोपका पहिलो मात्रा लगाउन लगाउन छुटेका बालबालिकाको संख्या एक लाख ६९ हजार ७९० छ । त्यस्तै, दुई लाख १२ हजार २८७ जनाले दोस्रो मात्रा नलगाएको र दुई लाख २५ हजार ९ बालबालिकाले तीनवटै मात्रा नलगाएको शाखाको तथ्यांक छ । यसकारण लगाउने दादुरा–रुबेलाको खोप नियमित खोपअन्तर्गत दुई खोप लगाएको भए पनि अभियानका बेला अनिवार्य दादुरा–रुबेलाको खोप लगाउन सरकारले अनुरोध गरेको छ । सन् २०२६ सम्ममा नेपालबाट दादुरा–रुबेला रोग निवारण गर्ने सरकारको लक्ष्य छ । गतवर्ष २१ जिल्लामा फैलिएको दादुराबाट एक हजार ३४९ जना संक्रमित भइ एक जनाको मृत्यु भएको थियो । यो संक्रमण एक व्यक्तिबाट १८ जनासम्ममा सर्नसक्ने डा। गौतम बताउँछन् । गर्भावस्थामा दादुरा–रुबेला संक्रमण भए शिशुमा अपांगता हुनसक्ने, मुटुमा समस्या हुने साथै शिशुको मृत्यु समेत हुनसक्ने जोखिम रहन्छ । दादुराले वाल्यवस्थामा पनि अपांगता तथा मृत्यु गराउनसक्छ । यसको निश्चित औषधि उपचार नभएकाले खोप नै संक्रमणबाट जोगिने एकमात्र उपाय भएको डा। गौतमले बताए ।
सवा अर्ब लगानीमा औषधि उद्योगको स्थापना
काठमाडौं, ८ फागुन । गैरआवासीय नेपालीको लगानीमा सुरु भएको औषधि उद्योग ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेड सञ्चालनमा आएको छ । गैरआवासीय नेपालीबाट सवा अर्ब लगानीमा सञ्चालन गरिएको औषधि उद्योगको उत्पादन स्थल चितवनमा रहेको छ । काठमाडौंमा गरिएको विशेष कार्यक्रममा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले उद्योगको औपचारिक शुभारम्भ गरेका छन् । नेपाली उपभोक्ताका लागि युरोपियन मापदण्डका औषधि उत्पादन गर्ने ओम मेगाश्री फर्मास्युटिकल्सको प्रतिबद्धताप्रति सभामुख घिमिरेले खुसी व्यक्त गरे । औषधि उत्पादन क्षेत्रमा पछिल्लो डेढ दशकयता नेपालमा राम्रो प्रगति भएको बताउँदै सभामुख घिमिरेले नेपालजस्तो मुलुकमा औषधि उत्पादन तथा बजार व्यवस्थापन विकसित मुलुकको तुलनामा निकै पछाडि रहेको उल्लेख गरे । दुई साताअघि मात्रै प्रतिनिधि सभाबाट ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ पारित भएको बताउँदै उनले विधेयकका कतिपय दफा व्यवसाय प्रवर्द्धनसँग पनि सम्बन्धित रहेको सभामुखको भनाइ छ । औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले गुणस्तरीय स्वदेशी औषधि उद्योगको भविष्य राम्रो रहेको बताए । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडका अध्यक्ष अर्जुनकुमार श्रेष्ठले गुणस्तरीय औषधिमा जनताको प्रत्यक्ष पहुँच स्थापित गर्न तथा निर्यातको ठोस कार्ययोजनासहित अगाडि बढ्नुलाई प्रमुख दायित्व ठानेको बताए । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको उत्पादन कारखाना चितवनको जुगेडीमा रहेको छ ।
१९ जना नयाँ कोरोना संक्रमित थपिए, ६४ जना संक्रमणमुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा १९ जना नयाँ संक्रमित थपिएका हुन् । त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमति भन्दा निको हुने धेरै रहेका छन् । यस अवधिमा ६४ जना संक्रमणमुक्त भएका छन् । यो संगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९८.७ प्रतिशत रहेको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट १२ हजार ३० जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा ३७५ जनाले कोरोना परिक्षण गरेका थिए भने खोप लगाउनेको संख्या २९ हजार ३९९ रहेको छ । हाल सक्रिय संक्रमितको संख्या २८३ रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये ३२ संस्थागत आईसोलेसनमा भर्ना भएका हुन्। संस्थागत आईसोलेसनमा भएका मध्ये ११ जना आईसीयू र एक जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।
भारतबाट फर्किनेमा देखिन थाल्यो कोरोना, सुदूरपश्चिममा २४ घण्टामा ३० जना संक्रमित
महेन्द्रनगर । देशभर हरेक दिन कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको छ । पछिल्लो समय भारतबाट रोजगारी गरेर स्वदेश फर्किनेमा पनि कोरोना सङ्क्रमण दर वृद्धि भएको पाइएको छ । सुदूरपश्चिम प्रदेश सरकारले सुदूरपश्चिमका कैलाली र कञ्चनपुरका साथै पहाडी जिल्लाका नेपाल–भारत सीमा नाकामा पाँच वटा स्थानमा हेल्थ डेस्क स्थापना गरी कोरोना परीक्षण गर्दै आएको छ। सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड सम्पर्क व्यक्ति हेमराज जोशीले सीमानाकामा कोरोना परीक्षणमा सङ्क्रमण पुष्टि हुने क्रम दुई सातायता बढ्दै गइरहेको बताए। यहाँ कञ्चनपुरको गड्डाचौकी नाका, कैलालीको त्रिनगर र खक्रौला, बैतडीको झुलाघाट र दार्चुलाको पुलघाटमा भारतबाट फर्किनेको स्वास्थ्य परीक्षणका लागि हेल्थ डेस्क स्थापना गरिएको उनले जानकारी दिए। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा सुदूरपश्चिममा पीसीआर विधिमा तीन र एन्टिजेनमा २७ गरी ३० जनामा सङ्क्रमण देखिएको छ। यहाँ बुधवार चार सय ११ जनालाई एन्टिजेन र २२ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको थियो। जसमध्ये कञ्चनपुरका मात्रै बुधवार दश जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ। स्वास्थ्य कार्यालयका प्रमुख दयाकृष्ण पन्तले यहाँ दश जनामा सङ्क्रमण देखिएको बताए। उनका अनुसार गड्डाचौकीमा चार, बेलौरीमा चार र दोधारा चाँदनी र कृष्णपुर नगरपालिकामा एकरएक जनामा सङ्क्रमण पुष्टि भएको छ। त्यसैगरी, कैलालीको धनगढीस्थित त्रिनगर हेल्थ डेस्कमा परीक्षण गर्दा तीन जना पुरुषमा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयका कोभिड सम्पर्क व्यक्ति जोशीले जानकारी दिए। बुधवार मात्रै सिमाना गड्डाचौकीमा दुई सय आठ, बैतडीको झुलाघाटमा १९, टीकापुर खक्रौला नाकामा ४२, त्रिनगर भन्सारमा एक सय ९७ र दार्चुलाको पुलघाटमा नौ जनाको कोरोना परीक्षण गरिएको थियो। ‘कोभिडको खोप लगाएका छौँ भनेर मात्रै पुग्दैन’, जोशीले भने, ‘स्वास्थ्य मापदण्डको पनि ख्याल गर्दै स्वास्थ्यप्रति सजग रहन आवश्यक छ।’ उनले सीमानाकामा एन्टिजेन र प्रादेशिक एवं जिल्ला अस्पतालमा पीसीआर विधिबाट कोरोना परीक्षण हुँदै आएको जानकारी दिए।
भाइरसको संक्रमण देखिएमा आइसोलेशनमा बस्न मन्त्रालयको अनुरोध
काठमाडौं । कोरोना भाइरसको संक्रमण दिनप्रति दिन बढ्दै गएकाले कोरोना भाइरसविरुद्ध खोप लगाउन स्वास्थ्य जनसंख्या मन्त्रालयले आग्रह गरेको छ । हरेक दिन ५० भन्दा बढीको संख्यामा संक्रमित देखिएकाले पहिलो, दोस्रो र बुस्टर डोज लगाउन मन्त्रालयले आग्रह गरेको सहप्रवक्ता डा समिरकमार अधिकारीले जानकारी दिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिवार देशभरका प्रयोगशालामा एक हजार १ सय ७० वटा नमुना परीक्षण गर्दा ६४ जनामा कोरोना पुष्टि भएको थियो । हाल देशभर ३५७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । सक्रिय संक्रमितमध्ये १५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै १५ जनाको आईसीयू र ५ जनाको भेल्टिलेटरमा उपचार भइरहेको छ। ुशन्यमा झरेको कोरोना भाइरसको संक्रमण अहिले दैनिक बढिरहेको छ । अहिले काठमाडौंसहित उपत्यकाका वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल लगायतमा कोराना भाइरस विरुद्धको बुस्टर डोज लगाइदै छ ।
कोरोना अपडेट : ६४ जनामा संक्रमण
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ६४ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा एक हजार १ सय ७० वटा नमुना परीक्षण गर्दा ६४ जनामा कोरोना पुष्टि भएको हो । हाल देशभर ३५७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । सक्रिय संक्रमितमध्ये १५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै १५ जनाको आईसीयू र ५ जनाको भेल्टिलेटरमा उपचार भइरहेको छ।