मधेसका मुख्यमन्त्री यादवले पाए विश्वासको मत

जनकपुर । मधेस प्रदेसका मुख्यमन्त्री सरोज कुमार यादवले तेश्रो पटक प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन् । गत माघ ९ गते जनमतका दुई मन्त्रीले मधेस प्रदेश सरकारबाट समर्थन फिर्ता लिँदै राजीनामा दिएपछि यादवले तेश्रोपटक विश्वासको मत लिएका हुन् ।

आइतबार प्रदेशसभाको बैठकमा मुख्यमन्त्री यादवलाई ६९ जना सदस्यहरुले विश्वासको मत दिए । प्रदेश सभाका कुल १०७ सदस्यमध्ये आइतबार भएको मतदानमा १०४ सांसद उपस्थित थिए ।

उनीहरुमध्ये ६९ जनाले मुख्यमन्त्री यादवलाई विश्वासको मतको पक्षमा मतदान गरे भने ३५ जनाले विपक्षमा मतदान गरे ।

नेकपा एमाले र जनमतका सांसदहरु विपक्षमा मतदान गरेका हुन् । जसपाका मुख्यमन्त्री यादवलाई सतारुढ दलहरु नेपाली काग्रेस, माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र सांसदहरुले विश्वासको मत दिएका छन् ।

प्रदेशसभामा सबैभन्दा ठूलो दल एमालेका २३, कांग्रेसका २२ र जसपाका १८, जनमत पार्टीका १३, माओवादी केन्द्र, एकीकृत समाजवादी र लोसपाका ९/९ रहेका सांसद छन् ।

लोसपा संसदीय दलका नेता अभिराम शर्मा महोत्तरी जिल्ला अदालतबाट जन्मकैद सजाय पाएर निलम्बित छन् । राप्रपा, नेसपा र नागरिक उन्मुक्ति पार्टीका १र१ सांसद छन् भने एक जना स्वतन्त्र सांसद रहेका छन् । प्रदेश सभा बैठकमा प्रदेश सांसदहरुले मुख्यमन्त्री यादवको कार्यशैली माथि प्रश्न उठाएका थिए ।