रुकुमपश्चिममा नेकपाका गोपाल विजयी, जनार्दन शर्मा तेस्रो स्थानमा

रुकुमपश्चिम । प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुकुम पश्चिमबाट नेपाली कम्युनिष्ट पार्टीका गोपाल शर्मा विजयी भएका छन्। उनले कुल २१ हजार ६०९ मत प्राप्त गर्दै निर्वाचन जितेका हुन्।

उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका राजु के.सी.ले १६ हजार ६६१ मत प्राप्त गरेका छन्। यस्तै, प्रगतिशील लोकतान्त्रिक पार्टीका जनार्दन शर्मा १४ हजार ३४६ मतसहित तेस्रो स्थानमा सीमित भएका छन्।

यसैगरी अन्य उम्मेदवारहरूको मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका मान बहादुर शाहीले ४ हजार ७६, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) का नन्दराम देवकोटाले १ हजार ८६९, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का चन्द्र बहादुर बुढाले ३६६, राष्ट्रिय प्रजातन्त्र पार्टीका गोपाल खडकाले २२८ मत प्राप्त गरेका छन्।

त्यस्तै राष्ट्रिय जनमोर्चाका सत्यनारायण श्रेष्ठले १७०, उज्यालो नेपाल पार्टीका नरेन्द्र के.सी.ले ८४, नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) का शेरबहादुर के.सी.ले ५४, आम जनता पार्टीकी प्रेमा दमाई नेपालीले ४५ तथा नेपाल मजदुर किसान पार्टीका धनबहादुर विकले १५ मत प्राप्त गरेका छन्।

यस निर्वाचन परिणामसँगै रुकुम पश्चिममा लामो समयदेखि प्रभावशाली मानिएका नेता जनार्दन शर्मा यसपटक तेस्रो स्थानमा खुम्चिन पुगेका छन्।

रुकुमपश्चिममा नेकपाका गोपाल शर्मा २ हजारभन्दा बढी मतले अगाडि

रुकुमपश्चिम । रुकुम पश्चिममा जारी प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार गोपाल शर्मा अग्रस्थानमा देखिएका छन्। पछिल्लो प्राप्त विवरणअनुसार आज बिहान करिब ६ बजेसम्मको मतगणनामा शर्माले ७ हजार २७२ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का उम्मेदवार जनार्दन शर्माले ५ हजार १६० मत प्राप्त गर्दै दोस्रो स्थानमा रहेका छन्। त्यस्तै अर्का उम्मेदवार राजु केसीले ४ हजार ८४२ मत प्राप्त गरेका छन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतगणना कार्य अझै जारी रहेको छ। अन्तिम परिणाम आउन बाँकी रहेकाले आगामी मतपरिणामसँगै मतान्तरमा परिवर्तन हुन सक्ने सम्भावना रहेको जनाइएको छ।

अब नयाँ र पुराना दलका संरक्षक म नै होः प्रचण्ड

  रुकुमपूर्व । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा रुकुमपूर्वबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित पुष्पकमल दाहाल प्रचण्ड ले नयाँ र पुराना दलहरूको संरक्षक आफू नै रहेको बताउनुभएको छ । आज प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएपछि मतदाता धन्यवाद र्‍यालीलाई रुकुमकोटमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । वरिष्ठ नेतामध्ये जनताले आफूलाई मात्र जिताएर पठाएको कारण अब सबै दलको संरक्षण गर्ने काम आफूले गर्ने उहाँले बताउनुभयो । अहिले देशमा राष्ट्रिय स्वतन्त्र पार्टी को लहर चलेको छ । त्यसको जिम्मा पनि आफूले नै लिनुपर्छ भन्ने महसुस गरेको उहाँले बताउनुभयो । हिजो नेकपा एमाले र नेपाली कांग्रेस लाई दुई तिहाइको अहंकार नगर्न बारम्बार संसदमा चेतावनी दिएको स्मरण गर्दै उहाँले भन्नुभयो, “भ्रष्टाचारविरुद्ध लड्दा र विकास तथा समृद्धिका लागि संघर्ष गर्दा संख्याको अहंकारले मलाई बाहिर पठायो । त्यही बेला मैले चुनौतीका साथ भनेको थिएँ-संख्याले मात्रै सबै कुरा नापिँदैन । बंगलादेश मा एउटै पार्टीको दुई तिहाइ हुँदा पनि हालत के भयो, देखिएकै छ ।” अहिले विजयी भएका नयाँ पार्टीलाई बधाइ दिँदै उहाँले त्यही अहंकार नयाँ दलले दोहोर्‍याए देशका लागि दुर्भाग्य हुने बताउनुभयो । त्यसकारण नयाँ दलको नेतृत्व पनि आफूले नै गर्नुपर्ने महसुस गरेको उहाँको भनाइ थियो । साथै धेरै सिट ल्याएका दलहरूलाई अहंकारबाट बच्न उहाँले अनुरोध गर्नुभयो । “मेरो इतिहासका आधारमा म तपाईंहरूका लागि धेरै ठूलो गुरु हुन सक्छु,” संयोजक दाहालले भन्नुभयो, “तपाईंहरूजस्तै लहर मैले २०६४ मै देखिसकेको छु ।” त्यसैले नयाँ दलहरूलाई पनि आफूले राम्रोसँग नेतृत्व दिनुपर्छ भन्ने महसुस गरेको उहाँले बताउनुभयो । रुकुमपूर्वले भारी मतले जिताएर ठूलो जिम्मेवारी दिएको बताउँदै संयोजक दाहालले देशकै ठूलो जिम्मेवारी आफ्नो काँधमा आएको महसुस भएको बताउनुभयो । पूर्व प्रधानमन्त्रीहरूमध्ये अहिले आफू मात्रै विजयी हुने विचित्रको स्थिति आएको भन्दै उहाँले इतिहासलाई बोकेर हिँड्नुपर्ने बताउनुभयो । “जनयुद्ध र जनआन्दोलनको इतिहास, शान्ति प्रक्रिया टुंग्याएर यो देशमा स्थायित्वका लागि भए पनि मैले निकै ठूलो भारी बोक्नुपर्ने स्थिति आएको छ,” उहाँले भन्नुभयो ।

कालीकोटमा नेकपाका महेन्द्रबहादुर शाही विजयी

कालीकोट । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत कालीकोट क्षेत्र नम्बर १ मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का  महेन्द्रबहादुर शाही विजयी भएका छन् । ४९ वर्षीय शाहीले ११ हजार ३३७ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका नगीन्द्र शाहीले १० हजार ३५२ मत प्राप्त गरेका छन् । विजेता र उपविजेताबीच ९८५ मतको अन्तर रहेको छ । यसैगरी नेपाली कांग्रेसका हर्षबहादुर बमले ७ हजार १३२ मत प्राप्त गरेका छन् भने नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का खड्गबहादुर विश्वकर्माले ४ हजार ५९९ मत ल्याएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश न्यौपानेले २ हजार ९३७ मत पाएका छन् । अन्य उम्मेदवारमध्ये नेपाल मजदुर किसान पार्टीका नन्दबहादुर शाहीले ५९७ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका सूर्यबहादुर शाहीले ५६६ मत र राष्ट्रिय जनमोर्चाका अजबहादुर गिरीले १६८ मत प्राप्त गरेका छन् । त्यसैगरी स्वतन्त्र उम्मेदवार अस्मिनकुमार विष्टले ६४ मत र मानबहादुर तिरुवाले ६ मत प्राप्त गरेका छन् । 

रुकुमपूर्वबाट प्रचण्ड विजयी, बाँकी सात सिटमा नेकपाकाे अग्रता

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको पछिल्लो मतगणनाअनुसार नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुकुमपूर्व–१ बाट विजयी हुनुभएको छ भने अन्य विभिन्न क्षेत्रमा नेकपाका उम्मेदवारले अग्रता कायम गरेका छन्। रुकुमपूर्व–१ मा पुष्पकमल दाहाल ‘प्रचण्ड’ १० हजार २४० मत प्राप्त गर्दै विजयी हुनुभएको हो। उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लीलामणि गौतमले ३ हजार ४६२ मत प्राप्त गर्नुभएको छ। यसैगरी कालीकोट–१ मा नेकपाका महेन्द्रबहादुर शाही ८ हजार ७१५ मतसहित अग्रतामा हुनुहुन्छ। उहाँका प्रतिस्पर्धी नेकपा एमालेका नगीन्द्र शाही ले ८ हजार २३७ मत प्राप्त गर्नुभएको छ। कपिलवस्तु–२ मा नेकपाका बृजेशकुमार गुप्ता ५ हजार ३७६ मतसहित अग्रता लिइरहनुभएको छ। उहाँका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका विक्रम थापा ले ३ हजार २३८ मत प्राप्त गर्नुभएको छ। काभ्रे–१ मा नेकपाका दीननाथ गौतम ३ हजार ४४६ मतसहित अगाडि हुनुहुन्छ। उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका गुणराज मुक्तानले १ हजार ९९० मत प्राप्त गर्नुभएको छ। त्यस्तै सल्यान–१ मा नेकपाका रमेशकुमार मल्ल २ हजार ८५१ मतसहित अग्रता लिइरहनुभएको छ। उहाँका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका ललितकुमार चन्दले १ हजार ४१७ मत प्राप्त गर्नुभएको छ। रोल्पा–१ मा नेकपाका वर्षमान पुन २ हजार ६७३ मतसहित अग्रस्थानमा हुनुहुन्छ। उहाँका प्रतिस्पर्धी नेकपा एमालेका गोकुलप्रसाद घर्तीले १ हजार ७४८ मत प्राप्त गर्नुभएको छ। अछाम–१ मा नेकपाका भीमबहादुर रावल १ हजार ९९५ मतसहित अग्रता कायम गर्नुभएको छ। उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका दिपक बहादुर साउंदले १ हजार ८३७ मत प्राप्त गर्नुभएको छ। यस्तै धादिङ–२ मा नेकपाका रामबहादुर भण्डारी १ हजार ८४६ मतसहित अगाडि हुनुहुन्छ भने उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका रमेशप्रसाद धमला ले १ हजार ६७२ मत प्राप्त गर्नुभएको छ। देशभर विभिन्न निर्वाचन क्षेत्रको मतगणना जारी रहेको निर्वाचन आयोगले जनाएको छ। प्रारम्भिक परिणामअनुसार नेकपाका उम्मेदवारले केही क्षेत्रमा अग्रता कायम राखेका छन् भने केही स्थानमा कडा प्रतिस्पर्धा भइरहेको छ।

रुकुमपूर्वमा नेकपाका संयाेजक प्रचण्ड भारीमतका साथ विजयी

रुकुमपूर्व । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुकुम पूर्वबाट प्रतिनिधिसभा सदस्यमा प्रभावशाली मतसहित विजयी हुनुभएकाे छ ।  प्रचण्डले ११ हजार २ सय ८२ मत प्राप्त गर्दै विजय हासिल गर्नुभएकाे निर्वाचन कार्यालयले जानकारी दिएकाे छ । योसँगै उहाँ लगातार पाँचौँ पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएकाे छ । निर्वाचन परिणामअनुसार उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार लीलामणि गौतमले ३ हजार ९ सय ३३ मत प्राप्त गरे। त्यस्तै नेपाली कांग्रेसकी उम्मेदवार कुसुम थापाले ३ हजार २ सय ८० मत ल्याइन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका लखनकुमार थापाले ७ सय ९१ मत पाए । यस्तै प्रगतिशील लोकतान्त्रिक पार्टीका सन्दीप पुनले २ सय १ मत प्राप्त गरेका छन् । रुकुम पूर्वमा प्रचण्डकाे यो विजयलाई वामपन्थी आन्दोलनप्रति जनताले व्यक्त गरेको विश्वास र समर्थनका रूपमा समेत विश्लेषण गरिएको छ । जनतासँगको निरन्तर सम्पर्क, राजनीतिक अनुभव र राष्ट्रिय राजनीतिमा खेलेको नेतृत्वकारी भूमिकाका कारण मतदाताले उहाँलाई पुनः विश्वासका साथ विजयी बनाएको प्रष्ट छ ।  पहिलो संविधानसभा निर्वाचनमा उहाँ काठमाडौं–१० र रोल्पा–२ बाट विजयी हुनुभएकाे थियाे । त्यसपछि २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा सिरहा क्षेत्र नम्बर ५ बाट निर्वाचित हुनुभएकाे थियाे ।  २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट निर्वाचित हुनुभएकाे थियाे । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा गोरखा क्षेत्र नम्बर २ बाट विजयी हुनुभएकाे थियाे । 

रुकुमपूर्वमा प्रचण्डको ऐतिहासिक जीत, घाेषणा हुन बाँकी

काठमाडाैं । रुकुम पूर्वमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयाेजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारी मतान्तरसहित विजयी हुने निश्चित भएकाे छ । प्रारम्भिक मतगणनाले नै उहाँको स्पष्ट जित सुनिश्चित गरेको हो। अहिलेसम्म गणना भएको १५ हजार ८२३ मतमध्ये प्रचण्डले ८ हजार ७४७ मत प्राप्त गर्दै प्रतिस्पर्धीहरूलाई निकै पछाडि पार्नुभएकाे छ। उहाँका प्रतिद्वन्द्वी लिलामणि गौतमले भने ३ हजार १७ मत मात्र प्राप्त गरेका छन्। यस निर्वाचन क्षेत्रमा कुल १९ हजार १८८ मत खसेको थियो। अब ३ हजार ३६५ मत गणना गर्न बाँकी रहेको छ। तर बाँकी मतभन्दा पनि धेरै ५ हजार ४६० मतले अग्रता बनाइसकेकाले प्रचण्डको जित सुनिश्चित भएको हो। मतगणना पूर्ण हुन र निर्वाचन आयोगबाट औपचारिक घोषणा हुन भने अझै बाँकी रहेको नेकपाले रुकुमपूर्वले जानकारी दिएकाे छ । 

कालिकाेटमा नेकपाका महेन्द्रबहादुर शाही अग्रता

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाको पछिल्लो विवरणअनुसार नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार महेन्द्रबहादुर शाही अग्रस्थानमा रहेका छन्। हालसम्मको मतगणनामा शाहीले ६ हजार ८ सय ८३ मत प्राप्त गर्दै पहिलो स्थानमा छन्। उनलाई पछ्याउँदै नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) का श्री नगिन्द्र शाहीले ५ हजार ७ सय ३ मत प्राप्त गरी दोस्रो स्थानमा रहेका छन्। यसैगरी नेपाली काँग्रेसका हर्षबहादुर बमले ४ हजार ८ सय ४२ मत ल्याएर तेस्रो स्थानमा छन्। नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का खड्गबहादुर विश्वकर्माले २ हजार ८ सय १९ मत प्राप्त गरेका छन्। त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश न्यौपानेले १ हजार ३ सय ४३ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका सूर्यबहादुर शाहीले ३ सय ४७ मत तथा नेपाल मजदुर किसान पार्टीका नन्दबहादुर शाहीले ३ सय ४३ मत प्राप्त गरेका छन्। यस्तै राष्ट्रिय जनमोर्चाका अजबहादुर गिरीले १ सय ३ मत पाएका छन् भने स्वतन्त्र उम्मेदवार अस्मिनकुमार विष्टले ३५ मत र अर्का स्वतन्त्र उम्मेदवार मानबहादुर तिरुवाले ४ मत प्राप्त गरेका छन्। मतगणना जारी रहेकाले परिणाममा थप परिवर्तन हुन सक्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

रोल्पामा वर्षमान पुनको अग्रता

काठमाडौं । रोल्पामा नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले आफ्नो अग्रता कायमै राखेका छन् । पछिल्लो विवरण अनुसार नेकपाका उम्मेदवार वर्षमान पुनले ६५८ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी नेकपा माओवादीका चुडामणि वलीले ४८६ मत प्राप्त गरेका छन् । त्यस्तै, नेकपा एमालेका गोकुलप्रसाद घर्तीले ७६ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका डा. सुदनकुमार वलीले १५ मत प्राप्त गरेका छन् ।

रुकुमपूर्वमा प्रचण्ड ४ हजारभन्दा बढी मतले अगाडि

रुकुमपूर्व । रुकुमपूर्वमा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी रहँदा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उल्लेख्य अग्रता कायम गर्नुभएको छ। भुमे गाउँपालिकाका ९ वटै वडा र सिस्ने गाउँपालिकाका ८ वटै वडाको मतगणना सकिँदासम्म प्रचण्डले ६ हजार ८२० मत प्राप्त गर्दै करिब ४ हजार मतको अग्रता लिनुभएको छ। मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालका अनुसार नेकपा एमालेका उम्मेदवार लिलामणी गौतमले २ हजार ७५६ मत प्राप्त गर्नुभएको छ भने नेपाली कांग्रेसकी उम्मेदवार कुसुमदेवी थापाले १ हजार ८५८ मत पाउनुभएको छ। अन्य उम्मेदवारमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीका लखन थापाले ६५२, राष्ट्रिय प्रजातन्त्र पार्टीका रोशन शाहले ६९, राष्ट्रिय जनमोर्चाका चन्द्रप्रसाद शाहीले २८, प्रगतिशील लोकतान्त्रिक पार्टीका सन्दीप पुनले १५३, नेसनल मंगोल अर्गनाइजेसनकी ज्योती रोका मगरले ४८, नेसनल रिपब्लिक नेपालका धर्मकुमार बुढाले ४५, नेपाली कम्युनिस्ट पार्टी (माओवादी) का जुद्धबहादुर बुढा मगरले ३५ र जनता समाजवादी पार्टीका शिरबहादुर बुढाले ३ मत प्राप्त गर्नुभएको छ। हालसम्म भुमे र सिस्ने गरी कुल १२ हजार ८३२ मत गणना हुँदा ३६५ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ। यसैबीच अहिले पुथा उत्तरगंगा गाउँपालिकाको मतगणना जारी रहेको छ।

रुकुमपूर्वमा प्रचण्डको अग्रता

रुकुमपूर्व । रुकुमपूर्वमा जारी प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रारम्भिक मतगणनामा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ अग्रस्थानमा रहनुभएको छ। भूमे गाउँपालिका–१, २, ३ र ४ को मत परिणाम सार्वजनिक भइसकेको छ। हालसम्म दुई हजार ६ सय ३५ मत गणना हुँदा प्रचण्डले एक हजार चार सय १५ मत प्राप्त गर्नुभएको जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माले जानकारी दिनुभयो। त्यसैगरी नेपाली कांग्रेसका सुकुस थापाले चार सय १७ मत र नेकपा एमालेका लीलामणि गौतमले चार सय ३१ मत प्राप्त गर्नुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका लखन थापाले एक सय ७६ मत पाउनुभएको छ। अन्य उम्मेदवारमध्ये राप्रपाका रोशन शाहले ७ मत, जनमोर्चाका चन्द्रविक्रम शाहीले ६ मत, प्रलोपाका सन्दिप पुनले ३५ मत, मङ्गोल नेशनल अर्गनाइजेसनका ज्योती रोकाले ४५ मत, नेशनल रिपब्लिकका धर्मकुमार बुढाले ६ मत, नेकपा माओवादीका जुद्धबहादुर बुढाले १० मत तथा जसपाका सिरबहादुर बुढाले १ मत प्राप्त गर्नुभएको छ। हालसम्मको मतगणनामा बदर मत ८६ रहेको छ। जिल्लामा ३४ हजार ७ सय ७२ मतदाता रहेकामा १९ हजार १ सय ८८ मत खसेको थियो।

देशभर ६० प्रतिशत मतदान भएकाे आयाेगकाे दाबी

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा करिब ६० प्रतिशत मत खसेको प्रारम्भिक विवरण प्राप्त भएको निर्वाचन आयोग ले जनाएको छ। बिहीबार साँझ आयोजित पत्रकार सम्मेलनमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी ले देशभरबाट प्राप्त प्रारम्भिक सूचनाअनुसार करिब ६० प्रतिशत मतदान भएको जानकारी दिए। उनका अनुसार मतदान प्रक्रिया समग्रमा शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। आयोगका अनुसार सबै मतदान केन्द्रबाट मतपेटिका संकलन गरी सम्बन्धित स्थानमा पुर्‍याउने कार्य जारी छ। मतपेटिका सुरक्षित रूपमा संकलन भएपछि निर्धारित कानुनी प्रक्रिया पूरा गरी मतगणना सुरु गरिने जनाइएको छ। विभिन्न जिल्लाबाट मतपेटिका संकलनको काम भइरहेको आयोगले जनाएको छ। मतगणना कहिलेदेखि सुरु गर्ने भन्ने विषयमा आवश्यक तयारी पूरा भएपछि औपचारिक जानकारी दिइनेछ। यसपटक देशभरका मतदान केन्द्रमा सुरक्षा व्यवस्था कडा पारिएको थियो। निर्वाचन प्रक्रिया व्यवस्थित र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सहयोग गर्ने सुरक्षा निकाय, कर्मचारी तथा मतदाताप्रति आयोगले आभार व्यक्त गरेको छ।

प्रतिनिधि सभा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न, जननिर्णयको सम्मान गर्दै अघि बढ्न प्रचण्डको आह्वान

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभाको निर्वाचन शान्तिपूर्ण, सभ्य र लोकतान्त्रिक वातावरणमा सम्पन्न भएकाेमा मतदाताप्रति धन्यवाद ज्ञापन गर्नु भएकाे छ । उहाँले जटिल राजनीतिक परिस्थितिका बीच सम्पन्न निर्वाचनले तमाम आशंकाहरू चिरेको दाबी पनि गर्नुभएकाे छ । सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै प्रचण्डले निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न योगदान दिने सबैप्रति आभार व्यक्त गर्नुभएकाे छ ।  उहाँले नेपाल सरकार, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, सहभागी राजनीतिक दल, नागरिक समाज तथा सम्पूर्ण मतदातालाई धन्यवाद ज्ञापन गर्नुभएकाे हाे ।  उहाँले मतदानमार्फत जनताले देखाएको उच्च सहभागिता, संयम र संघीय लोकतान्त्रिक गणतन्त्रप्रतिको विश्वासले राज्य व्यवस्थालाई अझ सुदृढ बनाएको उल्लेख गर्नुभएकाे छ । जनताको मतले लोकतान्त्रिक प्रणालीप्रतिको प्रतिबद्धता पुनः पुष्टि गरेको उहाँको धारणा छ । प्रचण्डले आगामी दिनमा जनताको निर्णयलाई सम्मान गर्दै देश र जनताको हितमा सबै पक्ष मिलेर अघि बढ्नुपर्नेमा जोड दिनुभएकाे छ । निर्वाचनले लोकतान्त्रिक अभ्यासलाई थप परिपक्व बनाएको उल्लेख गर्दै उहाँले सहकार्य र सहमतिका आधारमा राजनीतिक स्थायित्व सुदृढ गर्नुपर्ने बताउनु भएकाे छ । 

१ वजेसम्म देशभर  ४४ लाख ५५ हजार ७९० मत खस्याे

काठमाडाैं । बिहीबार बिहान ७ बजेदेखि सुरु भएको प्रतिनिधिसभा निर्वाचनको मतदान देशभर जारी रहँदा दिउँसो १ बजेसम्म ४४ लाख ५५ हजार ७९० मत खसेको छ। निर्वाचन आयोग नेपाल का अनुसार अहिलेसम्मको तथ्यांकअनुसार प्रदेशगत मत खसाइको अवस्था यसप्रकार छः कोशी प्रदेश – ३४ प्रतिशत मधेश प्रदेश – ३० प्रतिशत बागमती प्रदेश – ३६ प्रतिशत गण्डकी प्रदेश – ३५ प्रतिशत लुम्बिनी प्रदेश – ३३ प्रतिशत कर्णाली प्रदेश – ३२ प्रतिशत

नेकपाका संयोजक प्रचण्ड रुकुमपूर्वमा

रुकुमपूर्व । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ मतदानपछि आफ्नो निर्वाचन क्षेत्र रुकुमपूर्व पुग्नुभएको छ। उहाँले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत चितवन क्षेत्र नम्बर ३ मा पर्ने भरतपुर महानगरपालिका–१४ स्थित नेपाल प्रहरी विद्यालय, शान्तिपुरबाट मतदान गर्नुभएको थियो। सोही क्षेत्रमा नेकपाबाट भरतपुर महानगरपालिकाकी पूर्वमेयर रेनु दाहाल उम्मेदवार रहनुभएको छ। प्रचण्ड यसपटक भने रुकुमपूर्वबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार हुनुहुन्छ। मतदानपछि उहाँ आजै रुकुमपूर्व पुगेर विभिन्न मतदान केन्द्रको अवलोकन गर्नुभएको सचिवालयले जनाएको छ। रुकुमपूर्वस्थित रुक्मिणी माध्यमिक विद्यालय मतदान केन्द्रको पनि उहाँले निरीक्षण गर्नुभएको बताइएको छ। मतदानपछि संक्षिप्त प्रतिक्रिया दिँदै संयोजक प्रचण्डले ‘नयाँ र पुराना’ भन्ने भाष्य देश र लोकतन्त्रको हितमा नभएको बताउनुभयो। उहाँले नयाँ–पुराना भन्दा पनि सही–गलतको आधारमा मूल्याङ्कन गर्नुपर्नेमा जोड दिनुभयो। “यो सवाल नयाँ र पुरानाको होइन, सही र गलतको हो,” उहाँले भन्नुभयो, “कसको योजना के छ, कार्यक्रम के छ भनेर हेर्नुपर्छ। राष्ट्र, जनता, लोकतन्त्र र प्रगतिको पक्षमा को उभिएको छ भन्ने आधारमा निर्णय गर्नुपर्छ।” उहाँले सबै मतदातालाई विवेक प्रयोग गरी सहीको पक्षमा उभिन अपिल गर्नुभएको छ।

रेनु दाहालद्वारा मतदान गर्दै मतदातालाई योग्य उम्मेदवार छान्न आग्रह

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की नेतृ रेनु दाहालले चितवनको भरतपुर महानगरपालिका–१४ स्थित सुन्दरबस्ती स्कुलबाट मतदान गर्नुभयो । नेकपाबाट चितवन क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्य पदकी उम्मेदवार रहनुभएकी दाहाल सुन्दरबस्ती स्कुल मतदान केन्द्र पुगेर मतदान गर्नुभएको हो । मतदानपछि संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले भन्नुभयो, ‘भयरहित ढंगबाट, निष्पक्ष रूपमा जनताले आफ्नो अमूल्य मतदान गर्ने दिन हो । मैले पनि मतदान गरेँ । म धेरै उत्साहित छु । खुसी छु ।’ उहाँले थप्नुभयो, ‘आफ्नो अमूल्य मत योग्य उम्मेदवारलाई दिनुहोस् । योग्य व्यक्ति छान्नुहोस् । खासगरी काम गर्न सक्ने, कामबाट प्रमाणित भएको र इमानदार जनप्रतिनिधि छान्ने अधिकार तपाईंहरूको हातमा छ । त्यसका कारण आफ्नो भाग्य र भविष्यको फैसला गर्ने अधिकारलाई विवेकको प्रयोग गर्नुहोस् । यसलाई आवेगमा आएर हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने नहोस् ।’