कार्तिक ८ सम्म बक्यौता तिर्न ताकेता गर्दै प्राधिकरणद्वारा महसुल नतिर्ने उद्योगको सूचि सार्वजनिक
काठमाडौं । विद्युत प्राधिकरणले ४९ उद्योगलाई कात्तिक ८ गतेभित्र डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता बुझाउन सार्वजनिक सूचना निकालेको छ। प्राधिकरणले बिहीबार सूचना निकाल्दै ती उद्योगहरूलाई गणना सिटअनुसार थप दस्तुरसहितको बक्यौता बुझाउन पुनः ताकेता गरेको छ।
प्राधिकरणले बाबा जुट मिल, रघुपति जुट मिल, उदयपुर सिमेन्ट, रिलायन्स स्पिनिङ मिल्स, निगाले सिमेन्ट, अरिहन्त मल्टिफाइबर, मारुती सिमेन्टलाई २०७२ माघदेखि २०७५ वैशाखसम्मको महसुलवापतको बक्यौता बुझाउन भनेको हो।
बक्यौता बुझाउन बाँकी रहेका उद्योगमा त्रिवेणी सिन्थेटिक, हिमाल आइरन, त्रिवेणी स्पिनिङ, जगदम्बा स्टिल, अशोक स्टिल, हुलास स्टिल, हामा आइरन, एभरेस्ट पेपर मिल छन्।
त्यस्तै कसमस सिमेन्ट फ्याक्ट्री, युनाइटेड सिमेन्ट, शिवम् सिमेन्ट, हेटौंडा सिमेन्ट, जिबी टेक्स्टाइल, नाराया रबर उद्योग, अर्घाखाँची सिमेन्ट, विशाल सिमेन्ट, शुभश्री अग्नि सिमेन्ट, एभरेस्ट रोलिङ उद्योगको पनि प्राधिकरणले सार्वजनिक गरेको सूचीमा छन्।
विनायक स्पात, जगदम्बा सिन्थेटिक, एसआर फुड्स, घराना फुड्स, सिद्धार्थ पेटप्लास्ट, गोयन्का फुड्सलाई बक्यौता बुझाउन भनिएको छ। भलबारी स्वचालित कारखाना, श्याम प्लास्टिक उद्योग, इन्डस्ट्रिज, पञ्चकन्या स्टिल इन्डस्ट्रिज, एसआर स्टिल, नव नेपाल प्लास्टिक इन्डस्ट्रिज शुभलक्ष्मी पोलिमर्स, नेशनल रबर इन्डस्ट्रिज, ऐजी हेल्थ इन्डस्ट्रिज, सर्वोत्तम सिमेन्ट, बुटवल सिमेन्ट, लक्ष्मी स्टिल, सोनापुर मिनरल एण्ड आयल, घोराही सिमेन्ट, सम्राट सिमेन्ट, रोल्पा सिमेन्टको पनि बक्यौता बुझाउन बाँकी रहेको प्राधिकरणले जनाएको छ।
उल्लिखित अवधिको आंशिक प्रिमियम रकम बुझाइसकेकाहरूको हकमा उक्त रकम समायोजन हुने पनि प्राधिकरणले जनाएको छ।
ऊर्जा तथा जलस्रोत मन्त्रालयले बुधबार प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोध्दै उद्योगीहरूको डेडिकेटेड तथा ट्रंक लाइनवापतको बक्यौता विवरण बुझाउन पनि भनेको थियो।
विपतको सामना गर्न छायाँ सरकारको अभ्यासमा माओवादी
काठमाडौँ — माओवादी अध्यक्ष पुष्पकमल दाहाल काठमाडौँ उपत्यका र आसपासका जिल्लामा गत साता बाढी पीडित प्रभावित क्षेत्रमा पुगेर ‘छायाँ सरकार’ को अभ्यास गरे । माओवादीले औपचारिक रुपमा छायाँ सरकार नबनाए पनि प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतले काठमाडौंको बल्खु, ललितपुरको नख्खु र काभ्रेको पनौतीलगायतका क्षेत्रमा पीडितलाई भेटेर आश्वासन समेत दिए । ‘सरकारले साथ नदिए पनि प्रमुख प्रतिपक्ष दल तपाईको दुःख पीडामा सँगै छ,’ दाहालको भनाइ थियो, ‘पीडितको उद्दार र राहतका लागि सरकारलाई दबाव दिएका छौँ । हामी आफ्नो तर्फबाट पनि सहयोग गर्छौं ।’ पूर्व प्रधानमन्त्रीका हैसियतमा होइन, छायाँ सरकारको प्रमुखको हैसियतले उनले पीडितसँग कुराकानी गरे । एमालेले २०५२, कांग्रेसले २०७६ मा औपचारिकरुपमै छायाँ सरकार बनाएका थिए । माओवादी प्रवक्ता अग्निप्रसाद सापकोटाले पछिल्लो प्राकृतिक विपत्तिमा पीडित माझ पुगेर अनौपचारिक रुपमा पार्टीले छायाँ सरकारको भूमिका निभाएको बताए । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र संघको महासभामा भाग लिन अमेरिका गएको बेला आएको बाढीले ठूलो धनजनको क्षति पुर्याएपछि सरकारले सर्वदलीय बैठक बोलाउन ढिला गर्यो । तर प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतले दाहालले असोज १३ मा सर्वदलीय बैठक बोलाए । प्रमुख प्रतिपक्षले बाढी, पहिरो पीडितका लागि उद्दार र राहतका लागि भन्दै सर्वदलीय बैठक बोलाएर छायाँ सरकारको अभ्यास गर्यो । त्यही दिन कार्यवाहाक प्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले सर्वदलीय बैठक बोलाएपछि दाहालले आयोजना गरेको त्यो बैठक स्थगित गरे । त्यसअघि भदौ १२ मा दाहालले विज्ञप्ति जारी गरी प्रभावित परिवारको उद्दार र राहत दिन सरकारलाई दबाव दिएका थिए । सरकारले बाढीपीडितको उद्दारमा ढिलासुस्ती गरेपछि असोज १३ मा दाहालले सरकारको चर्को आलोचना समेत गरेका थिए । ‘तत्काल बेपत्ता नागरिकको खोजी, घाइतेहरुको निःशुल्क उपचार र विस्थापितहरुलाई पुनर्स्थापनाका लागि सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछु । भारी वर्षाको पूर्वाअनुमान हुँदाहुँदै पनि संभावित जोखिम पहिचान गरेर क्षति न्यूनीकरणका लागि सरकारले तत्काल पहलकदमी लिन नसकेकोप्रति दुःख व्यक्त गर्दछु,’ उनको भनाइ थियो, ‘राजधानीमै उद्धारका लागि लामो समय प्रतिक्षा गर्दागर्दै बाढीमा बग्नुपर्ने जुन पीडादायी अवस्था देखियो, यसले जनताप्रति सरकारको चरम उदासीनता पुष्टि गर्दछ ।’ त्यही दिन बसेको पदाधिकारी बैठकले बाढीपहिरोको क्षतिसम्बन्धी स्थानीय तह र प्रदेशबाट तथ्यांक संकलन गर्न केन्द्रीय कार्यालयमा हेल्प डेक्स राख्ने निर्णय गर्यो । साथै, बैठकले मौसम पूर्वानुमान अनुसार बाढीपहिरो र त्यसबाट हुनसक्ने क्षतिको आंकलन हुँदाहुँदै सरकारले जोखिम पहिचान र पूर्वतयारीमा ध्यान नदिँदा जनधनको क्षति बढ्न पुगेको निष्कर्ष निकालेको थियो । असोज १३ मै ललितपुरको नख्खु खोलामा बग्दै गरेका दुई जनाको उद्दार गर्ने चणिलाल तामाङलाई आफ्नो निवास खुमलटार बोलाएर सम्मान गरे । असोज १४ मा उनले बाढी, पहिरो प्रभावित क्षेत्रमा उद्धारमा लाग्न जनवर्गीय संगठडन र मोर्चाहरुलाई संस्थागतरुपमा नै उद्धार, राहत र पुनर्स्थापनाका लागि स्वयंसेवक परिचालन गर्न निर्देशन दिएका थिए । असोज १५ मा दाहाल सहयोगीसहित बाढी प्रभावित क्षेत्र ललितपुरको बल्खु र ललितपुर नख्खु र भक्तपुरको हनुमन्तेमा क्षेत्रमा गइ पीडित उद्धारमा लाग्न सत्तापक्ष र प्रमुख प्रतिपक्ष संयुक्त रुपमा लाग्न आग्रह गरे । ‘यो संकटको बेलामा सत्ता पक्ष बिपक्ष नभनी आम जनतालाई हातेमालो गरेर राहत र पुनर्स्थापनामा जुट्न आग्रह गर्दछु,’ दाहालको भनाइ थियो, ‘प्रायः सबैतिर भौतिक पूर्वाधार निर्माणले गति नलिंदा नै क्षति भएको हो ।’ त्यही दिन उनले प्राकृतिक विपत्तिमा परेका नागरिकको लागि राहत, पुनर्स्थापना र पुनर्निर्माणका लागि माओवादी केन्द्रले सुरु गरेको स्वयंसेवक परिचालन अभियान सुरु गरे । सरकारले पूर्व तयारी नगर्दा ठूलो क्षति भएको उनले बताए । ‘मौसमको पूर्वानुमान हुँदाहुदै सरकार विपत व्यवस्थापनको तयारी र प्रतिकार्यको काम गर्न नसक्दा क्षति भयो’ दाहालको भनाइ थियो । बल्खु पीडितमाझ उनले संकटको सामना गर्न अभिभावकत्व गर्न तयार भएकाले प्रभावित क्षेत्रमा आएको बताए । सरकारबाट बाहिरिएपछि कमिज, टोपी र स्पोर्टस् जुत्तामा सर्वसाधारणबीच गइरहेका दाहाल असोज १६ मा पनि उस्तै पोसाकमा बाढी र पहिरोबाट बढी प्रभावित क्षेत्रमा गई पीडितको दुःखमा आफ्नो पार्टी भएको उल्लेख गर्दै सरकारले बाढी, पहिरो प्रभावितको दुःखमा ध्यान नदिएको आरोप लगाए । ‘पार्टीका नेता कार्यकर्तालाई पीडामा रहेका जनतालाई साथ दिनु पार्टीको प्रमुख अभिष्ट रहेकाले यसलाई सेवा गर्ने अवसरको रुपमा उपयोग गर्नुपर्छ’ उनको भनाइ थियो, ‘जनता पीडामा रहेको बेला उनीहरुलाई आशा र भरोसा दिंदै हरेक समस्या समाधानका लागि अगुवाई गर्नु साँचो अर्थमा राजनीतिक दलका नेता कार्यकर्ताको कर्तव्य भएकाले निरन्तर जनताको साथमा रहेर सहयोग गर्न र कम्तीमा पनि दशैंअघि पीडितलाई राहतको महसुस गर्ने वातावरण बनाउनुपर्छ ।’ दाहालले असोज १८ मा यातायात व्यवसायी र यातायात मजदुर संगठनका पदाधिधकारीलाई बोलाएर यातायातको क्षेत्रमा देखिएका समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाए । जुन प्रतिबद्धता सरकारले गर्नुपर्ने भए पनि उनी आफैँ अघि सरेका हुन् । उनले दसैंको समयमा गाउँ फर्किने जनताको अवस्था, बाढी पहिरोका कारण अवरुद्ध सडक सञ्जाल, यातायात व्यवसायी, मजदुर लगायत समग्र यातायात क्षेत्रका समस्याबारे जानकारी लिंदै समाधानका लागि पहल लिने प्रतिबद्धता जनाएका थिए । त्यही उनले दिन माओवादी केन्द्रको प्राकृतिक प्रकोप तथा विपद् व्यवस्थापन विभागले विज्ञहरूको टोलीसहित विपद् प्रभावित क्षेत्रको स्थलगत अध्ययनपछि तयार पारेको प्रतिवेदन बुझ्दै आफूले पहिलो पटक प्रधानमन्त्री भएदेखि व्यवस्थित बस्ती विकास र पूर्वाधार निर्माणमा जोड दिंदै आएको बताए । बस्ती विकास र पूर्वाधार निर्माण गर्नुअघि भौगर्भिक अध्ययन गर्ने व्यवस्था मिलाए प्राकृतिक विपत्ति कम हुने दाबी गरे । उनले प्रमुख प्रतिपक्ष दलको हैसियतले विपद् प्रभावित क्षेत्रको अध्ययनपछि तयार पारेको प्रतिवेदन बुझेका थिए । त्यस्तै, शनिबार दाहालले सरकारले जनताको काम नगरे आफ्नो दलले अग्रपंक्तिमा रहेर नेतृत्व गरिरहेको दाबी गरे । ‘जनताको सेवा गर्न सरकारमा रहने वा नरहने कुराले अर्थ राख्दैन । अहिले सरकार कहाँ छ भनेर जनताले नभेटाइरहेको बेला बाढीपहिरोका कारण सिर्जना भएको संकट समाधानका लागि पार्टीले अग्रपंक्तिमा रहेर नेतृत्व गरिरहेको छ,’ उनको भनाइ थियो । आइतबार माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नेतृत्वमा विपद् व्यवस्थापनका लागि २० बुँदे ज्ञापनपत्र बुझायो । पछिल्लो प्राकृतिक विपत्तिमा सरकारले पहल कदमी लिन नसकेको माओवादीको आरोप थियो । ‘सरकारका तर्फबाट जे जस्तो भूमिका निर्वाह भएपनि हामी प्रतिपक्षी दलको हैसियतमा विपद् यवस्थापनका हरेक चरणमा सरकारसागै रहेका छौं,' ज्ञापनपत्रमा भनिएको छ, ‘सरकारका तर्फबाट विपदपूर्वको आवश्यक तयारी तथा प्रतिकार्यको तयारी हुनुपर्ने भए पनि पछिल्लो प्रकोपमा राज्यको उपस्थिति शून्य प्रायः हुन पुगेको घटना ज्यादै दुःखद् छ ।’ माओवादीले सरकारकै आधिकारिक निकाय जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले असौज १० गते नै विशेष बुलेटिन प्रकाशित गर्दै भारी वर्षाको सम्भावनाबारे सचेत गराएको उल्लेख गरे पनि सरकारले बेवास्ता गरेको जनाएको कान्तिपुर दैनिकले लेखेको छ । ‘राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले समेत उच्च जोखिममा रहेका जिल्लाहरूमा रात्रीकालीन बस नचलाउन तथा प्रतिकार्यका लागि तयार रहन सुरक्षा निकाय तथा मातहतका निकायलाई निर्देशन दिएको अवस्थामा ४ घण्टासम्म जीवन रक्षाको गुहार गर्दै मृत्युवरण गर्नुपर्ने नियति जनताले भोग्नुपर्यो’ माओवादीको ज्ञापनपत्रमा लेखिएको छ, ‘काठमाडौं उपत्यकालगायत देशका विभिन्न भूभागमा अबिरल वर्षा, बाढी र पहिरोका कारण जनताले ठूलो त्रासदी भोगिरहादा राज्यको उपस्थिति कतै देखिएन ।’ सरकारकै निकायमा उचित समन्वय हुन नसक्दा ठूलो क्षति नभएको उल्लेख गर्दै माओवादीले सर्वदलीय पहल गर्न कांग्रेस-एमाले गठबन्धन सरकार चुकेको बताएको छ । ‘एकातिर सरकारी निकायहरुबीच समन्वय र सरकारका तर्फबाट सर्वपक्षीय एकीकृत पहलका लागि समन्वय हुन सके न भने अर्कोतिर विपद् प्रतिकार्यको समयमा सरकारको उच्च राजनीतिक नेतृत्वको सक्रियता काहिा कतै देखाएन,’ माओवादीको भनाइ छ, ‘जनतामाझ सरकार पुग्नुको साटो सिंहदरबारको पर्खालभित्र सीमित सरकारप्रति जनस्तरबाट भएको आलोचना र आक्रोसलाई सरकारको ने तृत्वले गम्भीरतापूर्वक लिन सकेन ।’ माओवादीले ‘राजधानीको मुटुमै समेत उद्धारका लागि गुहार लगाउँदा समेत भिजिबिलिटीको बहाना बनाएर उद्धार हुन नसकेको, प्रधानमन्त्री विदेश भ्रमणमा रहेको बेला मन्त्री, कर्मचारी नेतृत्व तथा विपतसँग सम्बन्धित अन्य पदाधिकारी समेत प्रभावित क्षेत्रमा नगएको’ आरोप लगाएको छ । ‘पूर्वानुमानका आधारमा रात्रि बस सञ्चालनमा रोक लगाउन सकिएन, प्रकोपपूर्व नै जोखिमजन्य स्थानहरूबाट जनतालाई सुरक्षित स्थानान्तरण जस्ता कार्य हुन सकेनन् । यी कमजोरी सरकारका तर्फबाट हुन पुग्दा यसले झन जनधनको क्षति निम्तियो’ माओवादीको आरोप छ, ‘हामीले वर्तमान सरकारबाट समेत यस्तै तदारुकता एवं उच्च समन्वयकारी भूमिका अपेक्षा गरेका थियौं। तर यस्तो गम्भीर परिस्थितिमा प्रभावित क्षेत्रमा उपस्थिति त परै जाओस् , मन्त्रिपरिषद्को आपतकालीन बैठक समेत बस्न सकेन ।’
हेवाखोलामा बेलिब्रिज मर्मत गरी यातायात सञ्चान गरेको प्रधानमन्त्रीको झुटो दाबी
ताप्लेजुङ । प्रधानमन्त्री केपी शर्मा ओलीले बेलिब्रिज मर्मत गरी यातायत सञ्चालन गरिएको झुटो दाबी गरेको हेवाखोलामा ह्युम पाइपहरू राखेर यातायात सञ्चालन गरिने भएको छ । एक सातादेखि अवरुद्ध मेची राजमार्गअन्तर्गत हेवाखोलामा ह्युम पाइपहरू राखेर डाइभर्सन निर्माण गरेर आजदेखि यातायात सञ्चालन गर्ने तयारी गरिएको भएपनि प्रधानमन्त्री ओलीले हिजै हेवाखोलामा बेलिब्रिज मर्मत गरी यातायात सञ्चानमा ल्याइएको बताएका थिए। सडक डिभिजन कार्यालय, इलामका इन्जिनियर सरोज सुवेदीका अनुसार यही असोज ११ र १२ गते आएको बाढीले यहाँको बेलीब्रिज बगाएर यातायात अवरुद्ध भएको थियो । अवरुद्ध यातायात खुलाउन डाइभर्सन निर्माणका लागि आवश्यक १६ वटा ह्युम पाइपहरू प्राप्त भइसकेपछि काम शुरु भइरहेको छ । आज बेलुकीसम्ममा डाइभर्सनको निर्माण पूरा गरेर यातायात सञ्चालनमा ल्याउने प्रयास भइरहेको सुबेदीले बताउनुभयो । यातायात अवरुद्ध हुँदा चाडपर्वमा घर जाने आउने सर्वसाधारणलाई सास्ती भएको छ भने ताप्लेजुङस्थित पाथीभरा मन्दिरमा आउने भक्तजनको संख्या घटेको छ। । यस्तै ढुवानी सेवासमेत ठप्प हुँदा थप समस्या भएको छ । पाँचथर, ताप्लेजुङका सुरक्षा निकाय तथा सम्बन्धित सरोकारवाला संस्थाहरूले सुरुवातदेखि नै यातायात सञ्चालन गर्न सबै विकल्प सहित पहल गरिरहेका छन् । पाँचथरको फिदिम नगरपालिका र त्यहाँका सुरक्षा निकायले फड्के समेत निर्माण गरेर राहत पु¥याएका छन्। तत्कालको समस्या समाधानका लागि डाइभर्सनले काम गर्ने भन्दै बेलीब्रिज निर्माण गर्नसमेत आवश्यक पहल भइरहेको पाँचथरका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालाले बताउनुभयो ।
बाढी पहिरोपीडितको राहतका लागि माओवादी केन्द्रले बुझायो २० बुँदे मागपत्र (पूर्ण पाठसहित)
काठमाडौ । नेकपा माओवादी केन्द्रले बाढी, पहिरो र डुबानपीडितलाई तत्काल राहत र पुनस्र्थापनाको माग गर्दै सरकारलाई २० बुँदे ज्ञापनपत्र बुझाएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देव गुरुङले हस्ताक्षर गरेको ज्ञापनपत्रमा आम नागरिकमा आशाको सञ्चार गर्दै प्रभावकारी प्रतिकार्य, राहत र सहयोग हुनुपर्नेमा सरकारका तर्फबाट एकीकृत, समन्वयकारी र प्रभावकारी पहल हुन नसकेको भन्दै तत्काल राहत र पुनस्र्थापनाका लागि माग गरिएको छ । बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाश नेतृत्वको प्रतिनिधिमण्डलले ज्ञापनपत्र बुझाएको हो । यस्तो छ, ज्ञापनपत्रको पूर्ण पाठः सम्माननीय प्रधानमन्त्रीज्यू, देशका विभिन्न भूभागमा भारी वर्षापछि आएको बाढी, पहिरो र डुबानका कारण अकल्पनीय मानवीय तथा भौतिक क्षति भएको सन्दर्भमा विपत् प्रतिकार्य, पुनर्स्थापना, पुनर्निर्माणलगायतका विषयमा ध्यानाकर्षण गराउँदै नेकपा (माओवादी केन्द्र)का तर्फबाट नेपाल सरकारसमक्ष यो ज्ञापनपत्र पेश गरेका छौँ । काठमाडौं उपत्यकालगायत देशका विभिन्न भूभागमा अत्यधिक वर्षा भई बाढी, डुबान र पहिरोलगायतका प्रकोपका कारण हालसम्म २४० भन्दा बढी नागरिकले ज्यान गुमाएका छन्। हजारौँ विस्थापित भएका छन् भने कतिपयको अवस्था अझै अज्ञात छ । बाढी र डुबानमा परेर घरबारविहीन भएका हजारौं नागरिक विचल्लीपूर्ण अवस्थामा राहत पर्खेर सरकारको बाटो कुरिरहेका छन् । यसबीचमा नेकपा माओवादी केन्द्रका अध्यक्षको नेतृत्वमा प्रकोपबाट प्रभावित क्षेत्रको स्थलगत अवलोकन तथा पीडित जनतासँगको छलफलका क्रममा सीमान्तकृत, सुकुमबासी, मजदूर, दलित, गरिब जनतामा प्रकोपको बढी असर परेको र राज्यको उपस्थिति हुन नसकेको गुनासो हामीले पायौं । यतिखेर उद्धार र राहतको पर्खाइमा रहेका प्रभावित जनतामा प्रकोपपछि स्वास्थ्यसँग सम्बन्धित बिभिन्न समस्या बढ्दै गइरहेको र यसमा पनि खासगरी महिला, बालबालिका र जेष्ठ नागरिकहरु स्वास्थ्य सुरक्षाको जोखिममा समेत रहेको अवस्था छ । नेपालीहरूको महान चाड दसैँ नजिकँदै जाँदा यातायातका साधन अझै सुचारु हुन नसक्दा हजारौँ नागरिक समस्यामा परेका छन् । यो विषम् परिस्थितिमा आम नागरिकमा आशाको सञ्चार गर्दै प्रभावकारी प्रतिकार्य, राहत र सहयोग हुनुपर्नेमा सरकारका तर्फबाट एकीकृत, समन्वयकारी र प्रभावकारी पहल हुन नसकेको स्थिति छ । सम्माननीय प्रधानमन्त्रीज्यू, नेपाल बाढी, पहिरो, भूकम्प तथा जलवायु परिवर्तनका कारण सिर्जित प्राकृतिक प्रकोपहरुका सन्दर्भमा उच्च जोखिममा रहेको हामी सबैलाई अवगत छ। भूकम्प तथा मिश्रित विपत्तिहरुको जोखिमका सन्दर्भमा नेपाल क्रमशः एसियामा ११औं र विश्वमा १६औं स्थानमा रहेको छ। यो गम्भीर अवस्थालाई मध्यनजर गरी सरकारका तर्फबाट विपदपूर्वको आवश्यक तयारी तथा प्रतिकार्यको तयारी हुनुपर्ने भएपनि पछिल्लो प्रकोपमा राज्यको उपस्थिति शून्य प्रायः हुन पुगेको घटना ज्यादै दुःखद् छ । जबकि सरकारकै आधिकारिक निकाय जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले असौज १० गते नै विशेष बुलेटिन प्रकाशित गर्दै भारी वर्षाको सम्भावनाबारे सचेत गराउँदै आएको थियो । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले समेत उच्च जोखिममा रहेका जिल्लाहरूमा रात्रीकालीन बस नचलाउन तथा प्रतिकार्यका लागि तयार रहन सुरक्षा निकाय तथा मातहतका निकायलाई निर्देशन दिएको अवस्थामा ४ घण्टासम्म जीवन रक्षाको गुहार गर्दै मृत्युवरण गर्नुपर्ने नियति जनताले भोग्नुप¥यो । काठमाडौं उपत्यकालगायत देशका विभिन्न भूभागमा अबिरल वर्षा, बाढी र पहिरोका कारण जनताले ठूलो त्रासदी भोगिरहँदा राज्यको उपस्थिति कतै देखिएन। एकातिर सरकारी निकायहरुबीच समन्वय र सरकारका तर्फबाट सर्वपक्षीय एकीकृत पहलका लागि समन्वय हुन सकेन भने अर्कोतिर विपत् प्रतिकार्यको समयमा सरकारको उच्च राजनीतिक नेतृत्वको सक्रियता काहिँ कतै देखाएन। जनतामाझ सरकार पुग्नुको साटो सिंहदरबारको पर्खालभित्र सीमित सरकारप्रति जनस्तरबाट भएको आलोचना र आक्रोसलाई सरकारको नेतृत्वले गम्भीरतापूर्वक लिन सकेन। राजधानीको मुटुमै समेत उद्धारका लागि गुहार लगाउँदा समेत भिजिबिलिटीको बहाना बनाएर उद्धार हुन सकेन, सरकारकै जिम्मेवार पदाधिकारी र निकायबीच समन्वय भएन, प्रधानमन्त्री विदेश भ्रमणमा रहेको बेला मन्त्री, कर्मचारी नेतृत्व तथा विपतसँग सम्बन्धित अन्य पदाधिकारी समेत प्रभावित क्षेत्रमा उपस्थिति हुन सकेनन् । पूर्वानुमानका आधारमा रात्रि बस सञ्चालनमा रोक लगाउन सकिएन, प्रकोपपूर्व नै जोखिमजन्य स्थानहरूबाट जनतालाई सुरक्षित स्थानान्तरण जस्ता कार्य हुन सकेनन् । यी कमजोरी सरकारका तर्फबाट हुन पुग्दा यसले झन जनधनको क्षति निम्तियो। जबकि वर्षाको उच्च जोखिमको पूर्वानुमानका आधारमा राजधानीका जोखिम बस्तीलाई सुरक्षित स्थानान्तरण गरिएको भए, प्रतिकार्यको सघन तयारी गरिएको भए, सार्वजनिक सवारीसाधनको रात्रिकालीन सेवा रोक्न जिल्ला प्रशासन कार्यालयहरूलाई औपचारिक सर्कुलर गरिएको भए र जिल्ला प्रशासन कार्यालयहरूले आफू मातहतका सुरक्षा निकायलाई सचेत गराएर खटाएको भए यो क्षति न्यून गर्न सकिन्थ्यो । सम्माननीय प्रधानमन्त्रीज्यू, सरकार एक्लैको प्रयासले विपत् व्यवस्थापन सम्भव हुँदैन भन्ने कुरामा हामी स्पष्ट छौँ । त्यसैले विपत् प्रतिकार्य तथा विपत् व्यवस्थापनका अन्य सबै कार्यमा प्रतिपक्षी दलका हिसाबले हामी सरकारसँगै सक्रियताका साथ खटिएका पनि छौँ। तर सरकारका निकायहरू विपत् जोखिमको पूर्वतयारी, उद्धार र राहतमा सक्रिय हुन नसक्दा जनस्तरमा सरकार र प्रणालीप्रति नै जनविश्वास हराउन पुगेको छ । जबकि जनताले सरकाबाट यो स्तरको उदासीनता अपेक्षा गरेका थिएनन् । सरकार गैर जिम्मेवार ढंगले प्रस्तुत भएपनि हामी के कुरामा प्रष्ट छौं भने सरकारले नै विपत् रोकथाम र व्यवस्थपनका सबै पक्षको उच्चस्तरीय नेतृत्व लिनैपर्छ । प्राकृतिक विपतको अवस्थामा राजनीतिक नेतृत्वको प्रत्यक्ष उपस्थित र कमाण्डले उद्धार तथा अन्य प्रतिकार्यमा निर्णायक भूमिका खेल्छ। नेपालको संविधानले विपत् व्यवस्थपनमा तीनवटै तहको भूमिका स्पष्ट गरेको छ । विपत् व्यवस्थापनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा गृह मन्त्रालयको उच्च राजनीतिक समन्वयकारी भूमिका जरुरी रहन्छ भने यसको अगुवाई स्थानीय तहहरूले लिन सके मात्रै प्रभावकारी उद्धार, राहत र पुनर्निर्माणको काम प्रभावकारी रूपमा अीघ बढ्न सक्छ। २०८० फागुन १७ गते मध्यराति पनि नागरिकले यस्तै प्राकृतिक विपत्तिको सामना गर्नु परेको थियो। जाजरकोट केन्द्रविन्दु भई महाविनाशकारी भूकम्प गएको थियो । मध्यरातमा कतिपयलाई भूकम्प गएको समेत थाहा थिएन। बिहानै मानिसहरू ब्यूँझिँदा चिकित्सिक, स्वास्थ्यकर्मी, अत्यावश्यक औषधि र राहत बोकेर तत्कालिन प्रधानमन्त्री प्रचण्ड सुर्खेत हुँदै भूकम्प प्रभावित क्षेत्रमा पुग्नुभएको थियो। प्रधानमन्त्री नै भूकम्प गएको ठाउँमा गएपछि सुरक्षा निकायदेखि प्रकोप व्यवस्थापनसँग सम्बन्धित सबै निकायको सक्रिय झनै बढ्यो । प्रधानमन्त्री चढ्नुभएको हेलिकोप्टरले घाइतेहरुलाई अस्पताल पु¥यायो । सोही १८ गते नै सरकारको उच्चस्तरीय बैठक बस्यो। तत्काल प्रभावित क्षेत्रमा ५ करोड पठाउने निर्णय भयो । स्थानीय जनता, जनप्रतिनिधि, सुरक्षाकर्मी, कर्मचारी सबैको प्रयत्नले दुई दिनभित्रै ऐतिहासिक उद्धारको काम सम्पन्न भयो। यसैगरी बझाङमा भूकम्प गएलगत्तै तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ उपप्रधानमन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्रीलगायत उच्च राजनीतिक नेतृत्वसहित प्रभावित क्षेत्र पुगेर स्थलगत अवलोकन गरेपछि उद्धार र राहत व्यवस्थापन कार्य झन प्रभावकारी भएको उदाहरणबाट समेत सरकारले पाठ सिकेन । हामीले वर्तमान सरकारबाट समेत यस्तै तदारुकता एवं उच्च समन्वयकारी भूमिका अपेक्षा गरेका थियौं। तर यस्तो गम्भीर परिस्थितिमा प्रभावित क्षेत्रमा उपस्थिति त परै जाओस्, मन्त्रिपरिषद्को आपतकालीन बैठक समेत बस्न सकेन । जबकि यसअघि तत्कालीन प्रधानमन्त्री सुशील कोइराला स्वास्थ्य उपचारका लागि विदेशमा रहेको अवस्थामा नेपालमा २०७२ वैशाख १२ को महाभूकम्प गएपछि सोही दिन बेलुकी नै कार्यवाहक प्रधानमन्त्री बामदेव गौतमले मन्त्रिपरिषद् बैठक बोलाएर भूकम्प प्रभावित क्षेत्रमा संकटग्रस्त घोषणा, राहत संयन्त्र परिचालन, सहयोगका लागि अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गर्नुभएको र प्रधानमन्त्री कोइराला स्वास्थ्य उपचारको कार्यक्रम रद्द गरी भोलिपल्ट बिहानै स्वदेश फर्किनु भएको उदाहरण छ । यसैगरी २०६५ भदौमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चीन भ्रमणका क्रममा रहनुभएको समयमा पूर्वी नेपालमा कोशी नदीले विनाश गरेपछि कार्यवाहक प्रधानमन्त्री बाबुराम भट्टराईले मन्त्रिपरिषद् बैठक राखेर तत्कालीन उद्धार र राहतका काम प्रभावकारी ढंगले अघि बढाउनुभएको थियो । तर, बिडम्बना नै भन्नुपर्छ, २०७६ भदौ ९ गते उपचारका लागि सिंगापुर गएका बेला नेपालमा कार्यवाहक प्रधानमन्त्री छँदाछँदै पनि सिंगापुरबाटै भिडियो कन्फरेन्समार्फत मन्त्रिपरिषद् बैठक राख्नुभएका तत्कालीन र हालका प्रधानमन्त्रीले सयौँ नागरिकको मृत्यु, हजारौँ विस्थापित हुँदा समेत मन्त्रिपरिषद्को बैठक बोलाउन, बोलाउन निर्देशन दिने या तत्काल स्वदेश फर्किने आवश्यकता महसुस नै गर्नुभएन । सम्माननीय प्रधानमन्त्रीज्यू, सरकारका तर्फबाट जे जस्तो भूमिका निर्वाह भएपनि हामी प्रतिपक्षी दलको हैसियतमा विपत् व्यवस्थापनका हरेक चरणमा सरकारसँगै रहेका छौं । विपतको सामना सामूहिकरुपमा नै गर्न सकेमात्र प्रभावकारी नतिजा हासिल गर्न सकिन्छ। यसका लागि तीनै तहका सरकार, राजनीतिक दल, नागरिक समाज, मिडियालगायत सबैको साझा भूमिका आवश्यक हुन्छ । सरकारले यी घटनाहरुबाट पाठ लिएर तत्कालिन तथा दीर्घकालिनरुपमा विपत् व्यवस्थापनका लागि देहायबमोजिमका कार्य गर्न माग गर्दछौं । तत्काल गरिनुपर्ने कार्य १. वेपत्ताहरुको खोजी, उद्धार र घाइतेहरूको निशुल्क तथा प्रभावकारी उपचारमा जोड दिइयोस् । २. राहत वितरणको झन्झटिलो प्रक्रियालाई छोट्याएर स्थानीय तहसँग समन्वय गरी पीडित जनताहरूलाई दसैँ अघि नै राहत दिइयोस् । ३. चिसोबाट कठ्याङग्रिएर जनताको जिउधनको थप क्षति हुनबाट जोगाउन मंसिरभित्र पीडित जनताहरूको अस्थायी आवास निर्माण सम्पन्न गरियोस् । ४. बाढीग्रस्त क्षेत्रहरुमा स्वास्थ्य चेक जाँच, खानाबस्नको उचित प्रबन्ध मिलाइयोस्। सुकुम्बासी बस्तीमा विशेष ध्यान दिई राहतको व्यवस्था गरियोस् । ५. प्रकोप प्रभावित क्षेत्रमा स्वास्थ्य समस्या विकराल हुनसक्ने सम्भावनालाई ध्यानमा दिँदै स्वास्थ्य, सरसफाई तथा स्वास्थ्य अभियानमार्फत महामारी सिर्जना हुनसक्ने परिस्थिति नियन्त्रण गरियोस् । ६.प्रकोपका कारण अति उच्च समस्यामा परेका महिला, बालबालिका, गर्भवती महिलालगायतलाई विशेष सुरक्षा, उपचार तथा सहयोग गरियोस् । राहत वितरण तथा स्वास्थ्य चेकजाँच गर्दा गर्भवती महिला, सुत्केरी आमा र बच्चाहरूलाई विशेष ध्यान दिइयोस् । ७. प्रकोपका कारण आम नागरिक, किसान, साना व्यवसायी, जलविद्युतलगायत बिभिन्न आयोजनाहरुमा भएको क्षति मूल्यांकन गरी उचित क्षतिपूर्ति प्रदान गरियोस्, । प्रकोप पीडित व्यवसायीलाई व्यवसाय प्रवद्र्धन गर्न सहयोग गरियोस् । ८. बाढी तथा पहिरोका कारण अवरुद्ध राजमार्गहरुलाई यथाशीघ्र सञ्चालनमा ल्याउन मर्मतको कार्यमा तीब्रता दिइयोस् ।सवारी साधन वीमालाई प्रभावकारी बनाइयोस तथा बिभिन्न राजमार्गमा अलपत्र परेका सवारी साधान र यातयात मजदूरलाई राहत एवं उद्धार कार्य युद्धस्तरमा अगाडि बढाइयोस्। ९. दोलखामा बाढी र पहिरोका कारण माथिल्लो तामाकोसी जलविद्युत केन्द्रको हेडवक्समा पहिरोले क्षति हुँदा उत्पादन पूर्णरुपमा बन्द भएर हुने दैनिक चार करोड आम्दानी गुमेको र राष्ट्रियरुपमा यो सिजनमा भारत निर्यात हुने विद्युत पनि प्रभावित भएको छ . समयमा मर्मत गरी सुचारु गर्न नसके हिउँदमा देशको ऊर्जा आवश्यकता पूरा गर्न भारतबाट बढी विद्युत आयत गर्नु पर्ने परिस्थिति सिर्जना हुने हुँदा क्षतिग्रस्त संरचना मर्मत गरी सञ्चालनमा ल्याइयोस् । नीतिगत सुधारका लागि गरिनुपर्ने कार्य १०. विपद् जोखिम न्यूनीकरणका लागि तेस्रो विश्व सम्मेलनबाट अनुमोदित सेन्डाई कार्यढाँचा र विपद् जोखिम न्यूनीकरण राष्ट्रिय रणनीतिक कार्ययोजना (२०१७–२०३०) का लक्ष्य पुरा गर्न आवश्यक नीतिगत तथा संरचनागत सुधारको पहल गरियोस् । सम्भावित जोखिम आधारमा मूल्यांकन गर्दै, भौगर्भिक अध्ययनका आधारमा सडक, पुल, बस्ती व्यवस्थापन, जलविद्युत आयोजनाहरू निर्माण गर्ने नीतिगत व्यवस्था गरियोस् । ११. नयाँ बन्ने होटल, रिसोर्ट तथा विद्यालय, घरबस्ती तथा संरचनाहरूको भूभागमा कम्तिमा ५०–५५ वर्षको बाढीको सम्भावित जोखिम, भौगर्भिक प्रकृति के कस्तो छ, नदीको धार कसरी परिवर्तन भइरहेको छ भन्ने विस्तृत अध्ययन गरेर मात्र त्यस्ता संरचना निर्माणका लागि स्थानीय तहले स्वीकृति दिने नीति अवलम्बन गरियोस् । १२. राज्यले मौसम पूर्वानुमान अझ प्रभावकारी बनाउन जल तथा मौसम पूर्वानुमान महाशाखालाई थप प्रविधिमैत्री बनाउनु पर्ने र देशभरि नै अत्याधुनिक स्वचालित मौसम स्टेशन जडान गरियोस् । १३. नेपालका प्रमुख विपतहरू भूकम्प, पहिरो र बाढीको जोखिम मूल्यांकन र न्यूनीकरण तथा अध्ययन अनुसन्धानमा बल पुग्ने गरी भूकम्पको पूर्वानुमान तथा जोखिम आकलन गर्न प्रधानमन्त्रीको मातहतमा रहने गरी शक्तिशाली अत्याधुनिक भूकम्म अध्ययन तथा मापन केन्द्र स्थापना गरियोस् । १४. विपतपछिको पुनःनिर्माणमा सरकारले कम आर्थिक भार व्यहोर्नुपर्ने गरी भौतिक संरचनाहरूको बीमा अनिवार्य गर्ने नीति लागू गरियोस् । १५. हरेक परियोजना सम्पन्न गर्दा बुझाइने प्राविधिक रिपोर्टलाई महत्वका साथ लिइ रिपोर्टले भनेबमोजिम वार्षिक मर्मत वा त्यस परियोजनामा गर्नहुने र गर्न नहुने प्रावधानहरू कडाइका साथ लागू गर्ने तथा टेक्निकल अडिटको प्रावधान गरी लागु गरियोस् । १६. नदी, खोलाका प्राकृतिक सीमामा हस्तक्षेप गरी मानवीय सीमा निर्धारण गर्दा बाढीको समस्या जहिले पनि जिवित रहने हुनाले खर्वौंको लगानीमा बन्ने हाउजिङ, अस्पताल लगायतका भौतिक संरचना कस्तो ठाउँमा बनाउने भन्ने सरकारले दिर्घकालीन विपत् उत्थानशील नीति बनाइ लागू गरियोस् । १७. पुल निर्माण गर्दा कुन ठाउँमा पुल राख्ने, कस्तो ठाउँमा पुल बनाउने, त्यो पुललाई वरपर सम्भावित पहिरोको जोखिम, डुबान, पुलको आयु लगायतका पक्षको मूल्याङ्कन गरी सो मापदण्ड अनुरुप संरचना निर्माण भएनभएको यकीन गर्न अनुगमन पद्दती बसालियोस् । १८. सिन्धुपाल्चोकको सुकुटेदेखि सिन्धुली खुर्कोट, मुलकोट, रामेछापका खोलाका छेउका रिसोर्ट, होटल र बस्तीहरुमा र काभ्रेको रोशी खोलाले ल्याएको वितण्डाका पछाडि प्राकृतिकभन्दा पनि मानवीय कारण बढी जिम्मवार रहेको तथ्यबाट पाठ सिकेर प्राकृतिक श्रोतको दोहन तथा उपयोगका सन्दर्भमा दीर्घकालीन प्रभाव मूल्याङ्कन नीति तर्जुमा गरियोस् । १९. अहिले स्थानीय तहको सरकारले आन्तरिक राजस्व उठाउने प्रतिस्पर्धाले गर्दा नदिखोलाहरूको उचित अध्ययनविना, ढुङ्गा, गिट्टी, बालुवा, माटोको अत्यधिक दोहनलाई तत्काल नियन्त्रण गरी निर्माण सामग्री उत्खनन् कार्यलाई व्यवस्थित बनाइयोस् । २०. विपद प्रतिकार्यमा प्रक्रियागत झंझट हटाउँदै विपतपछिको उद्धार, राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका कार्यमा तीनवटै तहको सरकारबीच समन्वय लागि समन्वयकारी संयन्त्र बनाइयोस् ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपले पाँच करोड रुपैयाँ सहयोग गरेका छन् । काठमाडौं । ग्लोबल आइएमई बैंकका अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आइतबार चेक हस्तान्तरण गर्नुभएको हो । कोषमा ग्लोबल आइएमई बैंक लिमिटेडको ४ करोड ५० लाख, आईएमई लिमिटेडको २० लाख, आईजीआई प्रुडेन्सिएल इन्सोरेन्सको १५ लाख र आईएमई लाइफको १५ लाख गरी कुल ५ करोड रुपैयाँ हस्तान्तरण गरिएको छ । बाढीपहिरो र डुबानका कारण मुलुकका विभिन्न स्थानमा आएको प्राकृतिक विपत्तिमा रहेका नागरिकहरुको राहत र उद्धारका लागि सरकारसँग हातेमालो गर्दै उक्त सहायता प्रदान गरिएको बैंकका अध्यक्ष ढकालले बताउनुभयो । चेक हस्तान्तरण कार्यक्रममा आइएमई लिमिटेडका अध्यक्ष तथा आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकाल, ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी, आईजीआई प्रुडेन्सिएल इन्सोरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ, ग्लोबल आइएमई बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, आईएमई लाइफका निमित्त प्रमुख कार्यकारी अधिकृत दिनेश अमात्यलगायतको उपस्थिति रहेको थियो ।
बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या २४४ पुग्यो
काठमाडौं । हालैको बाढीपहिरामा परी हालसम्म २४४ जनाको मृत्यु भएको छ भने १९ जना बेपत्ता छन् । अन्य १७९ जना घाइते भएका छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार एक सय ७४ जनाको उद्धार गरिएको छ भने सहायता परिचालन र अवरुद्ध राजमार्गको मर्मतसम्भार गरी यातायातका साधन सञ्चालनको प्रयास जारी छ । 'बाढीपहिरो पीडितको विवरण सङ्कलन स्थानीयस्तरबाट भइरहेको छ । त्यो प्राप्त भएपछि अस्थायी आवासका निम्ति सरकारले प्रदान गर्ने सहायता रकम वितरण हुनेछ । स्थानीय तहबाट प्रभावित परिवारलाई खाद्यान्नलगायत सहयोग प्रदान भएको छ,' प्रवक्ता तिवारीले भने । सरकारले जिल्ला विपद् व्यवस्थापन कोषमार्फत मृतकका परिवारलाई दुई लाख रुपैयाँका दरले निजका परिवारलाई सहायता रकम उपलब्ध गराएको छ । हालसम्म त्यस्तो सहायता १६० परिवारले पाइसकेका छन् । बाढीपहिरोमा परी सबैभन्दा बढी काभ्रेपलाञ्चोकमा ७७ जनाको मृत्यु भएको छ भने त्यहाँ हालसम्म ५९ मृतकका आफन्तलाई आर्थिक सहयोग प्रदान गरिएको प्रवक्ता तिवारीले बताए ।
आगामी उपनिर्वाचन र २०८४ मा माओवादी केन्द्र एक्लै प्रतिष्पर्धामा जान्छः प्रचण्ड
काठमाडौं, १९ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी उपनिर्वाचन र २०८४ को निर्वाचनमा आफ्नो पार्टीले सबै तहमा एक्लै उम्मेदवारी दिएर प्रतिष्पर्धा गर्ने बताउनुभएको छ । नेकपा माओवादी केन्द्र दोलखा काठमाडौं सम्पर्क समन्वय समितिले आज आयोजना गरेको भेटघाट तथा अन्तर्क्रियालाई सम्बोधन गर्दै उहाँले यस्तो उद्घोष गर्नुभएको हो । विगतमा कहिले कांग्रेस र कहिले एमालेसँग गठबन्धन गरेर चुनाव लड्दा माओवादीको पहिचान नै कमजोर हुन पुगेको उल्लेख गर्दै उहाँले अब देशब्यापीरुपमा एकल प्रतिष्पर्धामा जाने गरी पार्टीले तयारी थालेको र त्यसको सुरुवात आगामी मंसिरमा हुने उपनिर्वाचनबाट गरिने बताउनुभयो । आफ्नो पार्टीले सरकारमा रहँदा सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका पक्षमा थालेको अभियान र त्यसकै कारण सरकारबाट हटाइएकाले जनतामा माओवादीप्रति नयाँ आशा र आकर्षण पैदा भएको उल्लेख गर्दै उहाँले आगामी निर्वाचनमा एक्लै विजय प्राप्त गर्ने तयारी थाल्ने बताउनुभयो। पछिल्लो समय टानलगायतका कतिपय संस्थामा कांग्रेस एमाले मिल्दा पनि माओवादी एक्लैले चुनाव जितेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अहिले देशब्यापीरुपमा देखिएको जनताको आशा र आकर्षणलाई संगठन निर्माण र जनलपरिचालनसँग जोडेर आगामी निर्वाचन एक्लै जित्ने वातावरण बनाउने बताउनुभयो । पछिल्लो समय प्राकृतिक प्रकोपका कारण सिर्जना भएको संकट समाधानका लागि आफ्नो पार्टीले महत्वपूर्ण पहलकदमी लिएको जानकारी दिंदै उहाँले जनताको सेवा गर्ने अधिकारलाई कसैले खोस्न नसक्ने बताउनुभयो । जनताको सेवा गर्न सरकारमा रहने वा नरहने कुराले अर्थ नराख्ने उल्लेख गर्दै उहाँले अहिले सरकार कहाँ छ भनेर जनताले नभेटाइरहेको बेला बाढीपहिरोका कारण सिर्जना भएको संकट समाधानका लागि आफ्नो पार्टीले अग्रपंक्तिमा रहेर नेतृत्व गरिरहेको बताउनुभयो । सबैतिरका समस्या केन्द्रित गरेर चाँडै सरकारलाई ज्ञापनपत्र बुझाउने र त्यसलाई जनताको बीचमा पनि यथार्थ जानकारी दिने उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यो वर्ष दसैं तिहारमा शुभकामना आदानप्रदानभन्दा संकटमा परेका जनताको सेवा गर्ने कार्यक्रम बनाउन नेता कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । अहिले धेरै बुद्धिजीवी र अन्य दलका नेता कार्यकर्ताहरुले पनि जनताको अधिकार अझ सुदृढ गर्न माओवादी नेतृत्व अगाडि आउनुपर्छ भन्ने आग्रह गरिरहेको उल्लेख गर्दै उहाँले मुलुक र जनताको नेतृत्व गर्नु भनेको प्रधानमन्त्री हुनु मात्र होइन, जनताको साथमा रहेर जनताको पक्षमा आन्दोलनको नेतृत्व गर्नु भएको बताउनुभयो । जनताप्रतिको निष्ठाका कारण पार्टी नेतृत्वमा आत्मविश्वास पैदा हुँदै गएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले विनाशकारी भूकम्पको बेलामा होस् वा संविधान निर्माण र कार्यान्वयनको बेलामा सत्तापक्ष र बिपक्षको आँखाले नहेरी पुनर्निर्माण, संविधान निर्माण र कार्यान्वयनको कुशलतापूर्वक नेतृत्व गरेकाले पनि माओवादी केन्द्र र यसको नेतृत्वप्रति जनताको विश्वास रहेको बताउनुभयो । सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा, समाजवाद निर्माणको पक्षमा पार्टीले नयाँ संकल्प गर्नुपर्ने बेला आएको उल्लेख गर्दै उहाँले जनताका अधिकार सुदृढ गर्न नयाँ आन्दोलनको आवश्यकता रहेको र त्यसको वैचारिक, सांगठनिक र सांस्कृतिक नेतृत्व आफ्नो पार्टीले गर्ने बताउनुभयो । पार्टीप्रति नयाँ आशा र आकर्षण पैदा भएको उल्लेख गर्दै उहाँले माओवादी केन्द्रको नेतृत्व र विचारलाई फेरि एकपटक साथ दिन जनता तयार हुँदै गएको बताउनुभयो । देशभित्र मात्र होइन, इटलीको खाद्य सम्मेलन, संयुक्त राष्टसंघको महासभा र कोप २८ सम्म सरकारको नेतृत्वको रुपमा माओवादी केन्द्रको नेतृत्व गरेको कुशल नेतृत्व तथा भारत र चीनसँग निर्वाचन गरेको सन्तुलित कूटनीतिका कारण माओवादी केन्द्र र यसको नेतृत्व विश्वसमुदायसामु ऐतिहासिक रुपमा स्थापित भएको बताउनुभयो । कार्यक्रममा पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले पार्टीको सिंगो केन्द्रीय समिति अध्यक्ष प्रचण्डको नेतृत्वमा गोलबन्द र एकताबद्ध रहेको उल्लेख गर्दै आगामी केन्द्रीय समितिको बैठकले संगठन निर्माण र जनपरिचालनका कार्यक्रम अघि सार्ने बताउनुभयो । उहाँले सबै दलका नेताहरुको विवेक र चेतनाको परीक्षण भएको उल्लेख गर्दै आफ्नो पार्टी सबैभन्दा अग्रगामी र परिवर्तनकारी भएकाले माओवादी केन्द्रका हरेक सदस्य मुलुक र जनताको हितमा गम्भीर हुनुपर्ने बताउनुभयो ।
दाउन्नेमा एकतर्फी यातायात खुल्यो
नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको दाउन्नेमा सडक भासिएर अवरुद्ध भएको यातायात एकतर्फी खुलेको छ। बर्दघाट नगरपालिका–४ दाउन्नेस्थित खोर्सानीखोलामा सड्क भासिएपछि यातायात अवरुद्ध भएको थियो। सडकको मर्मतपछि आज बिहान साढे ९ बजेदेखि बाटो एकतर्फी खुलाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले जानकारी दिए। उनले सडक मर्मत गरी आजै दुईतर्फी सञ्चालनमा ल्याउन गरी काम भइरहेको बताए। तर सडक भासिने क्रम नरोकिएकाले तत्काल दुईतर्फी सञ्चालनमा समस्या भएको प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले बताए।
पूर्वपश्चिम राजमार्गको यात्रामा निरन्तरको चुनौती बन्दै दाउन्ने
नवलपरासी । नवलपरासी– पश्चिम नवलपरासीको बर्दघाट–४ स्थित दाउन्नेको खुर्सानी खोला नजिकै भासिएको सडक मर्मत गरेर खुलाउने प्रयास जारी रहेको छ । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार शुक्रबार साँझ करिब २० फिट लम्बाइ र ५ फिट चौडा सडक भासिएको थियो । राजमार्ग अवरुद्ध हुँदा पूर्व र पश्चिमबाट आउने–जाने सवारी रोकिएका छ्न् । सडक अवरुद्ध हुँदा दुवैतर्फ सयौँ सवारी साधन लाइनमा रहेका छन् । प्रहरीले अझै सडक सुचारु हुन केही समय लाग्ने बताएको छ । यसअघि असोज १४ गते पनि खुर्सानी खोला क्षेत्रमा नै सडक भासिएको थियो । दाउन्ने क्षेत्रमा नारायणगढ–बुटवल सडक विस्तारको क्रममा तीन लेनमा सडक विस्तार गर्न खनिएका स्थानमा माटो खुकुलो हुँदा सडक भासिने र पहिरो खस्ने गरेको छ । चाडबाडको समयमा पटक–पटक सडक अवरुद्ध हुँदा यात्रुले हैरानी खेप्न परिरहेको छ ।
देशभर मनसुनी वायुको प्रभाव, यस्तो छ आगामी तीन दिनको मौसमी अवस्था
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव छ। त्यसैगरी देशको पूर्वी तथा मध्य भागमा बंगलादेशको उत्तरी भूभाग र भारतको पश्चिम बंगाल आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीकोसमेत आंशिक प्रभाव छ। यतिबेला (शनिबार बिहान) कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित देशका बाँकी पहाडी भूभागको मौसम आंशिक बदली छ। देशका बाँकी भूभागको मौसम मुख्यतया सफा छ। कोसी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। काठमाडौँ उपत्यकामा पनि अहिले राम्ररी घाम लागेको छैन। आकाशमा बादल छ। आज दिउँसो पनि कोसी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा दिउँसो मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। आज राति पनि कोसी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने अनुमान छ। कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा दिउँसो पनि मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले शनिबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ। कस्तो होला आइतबार र सोमबारको मौसम? २०८१ असोज २० गते आइतबार दिउँसोː देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोसी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। रातिː देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोसी प्रदेश लगायत पहाडी भूभागका थोरै स्थान तथा बाँकी भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। २०८१ असोज २१ गते सोमबार दिउँसोː देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोसी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। रातिː कोसी र मधेस प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोसी, मधेस र बागमती प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना भएकाले त्यसबाट कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेको हुँदा ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।
अध्यक्ष प्रचण्डद्वारा यातायात क्षेत्रका प्रतिनिधिसँग छलफल, समस्या समाधानका लागि पहल लिने प्रतिबद्धता
काठमाडौं, १८ असोज । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यातायात व्यवसायी महासंघ र यातायात मजदुर संगठनका पदाधिकारी तथा यातायात क्षेत्रका प्रतिनिधिहरूलाई खुमलटार बोलाएर प्राकृतिक विपतले यातायात क्षेत्रमा सिर्जना गरेको समस्या समाधानबारे छलफल गर्नुभएको छ । बाढी पहिरोका कारण विभिन्न ठाउँमा भएको क्षतिको अनुगमन गर्नुभएका अध्यक्ष प्रचण्डले दसैंको समयमा गाउँ फर्कने जनताको अवस्था, बाढी पहिरोका कारण अवरुद्ध सडक सञ्जाल, यातायात व्यवसायी, मजदुर लगायत समग्र यातायात क्षेत्रका समस्याबारे जानकारी लिंदै समाधानका लागि पहल लिने प्रतिबद्धता जनाउनुभएको छ । आफूले काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेका प्रभावितस्थलको अनुगमन गर्दा ठाउँठाउँमा अझै पनि गाडी पुरिएको, आवागमन अवरुद्ध रहेको, यातायात क्षेत्रले ठूलो क्षति भोगेको र यातायात मजदुरलाई पीडादायी अवस्थामा देखेको उल्लेख गर्दै उहाँले यससम्बन्धी विस्तृत जानकारी यातायात क्षेत्रबाट लिएर प्रमुख प्रतिपक्षी दलको नेताको रुपमा समाधानका लागि पहल गर्न छलफल आयोजना गरेको जानकारी दिनुभयो । सो क्रममा यातायात महासंघ र यातायात मजदुर संगठनका पदाधिकारीले यातायात क्षेत्रले संकट व्यहोर्नुपरेको, व्यावसायी मारमा रहेको, यातायात मजदुरहरूको सुरक्षाका लागि सरकारले पहल लिन नसकेको, यातायात क्षेत्रमा पुगेको क्षतिको तथ्यांक संकलनसमेत नगरिएको र अहिलेको विपतले कोभिडको बेला जस्तै यातायात क्षेत्रलाई पीडा दिएको बताए । सरकारले पूरै शक्ति लगाएर तीन चार दिनभित्र पहिरोका कारण थुनिएका मजदुर र गाडीको उद्धार गर्नुपर्ने, घरबारविहीन भएका मजदुर र व्यावसायीलाई राहतको व्यवस्था गर्नुपर्ने र पुरिएका र बगेका गाडीको बीमा रकम प्राप्तिमा समस्या भएका कारण तत्काल उपलब्ध गराइदिने वातावरण बनाइदिन उनीहरुले आग्रह गरेका थिए । यातायात क्षेत्रका प्रतिनिधिहरुले अध्यक्ष प्रचण्डलाई उद्धार, राहत र पुनर्स्थापनाका गरेको अगुवाईको प्रशंसा गर्दै प्रमुख प्रतिपक्षी दलको रूपमा सरकारले नगरेको काम गरेको बताएका थिए । आफूहरुलाई बोलाएर यातायात क्षेत्रको अभिभावकको भूमिका निर्वाह गरेकोमा खुशी व्यक्त उनीहरुले प्रधानमन्त्रीले आजसम्म चासो नदेखाएकोमा गुनासो व्यक्त गरेका थिए । विपतले यातायात क्षेत्रमा पारेको समस्यालाई प्रमुख प्रतिपक्षी दलले महत्वपूर्ण एजेण्डाको रुपमा सरकारसँग छलफल गरेर समाधानका लागि पहल गरिदिन पनि उनीहरुले अध्यक्ष प्रचण्डलाई आग्रह गरेका थिए । अध्यक्ष प्रचण्डसँगको छलफलमा राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष विजय स्वार, वरिष्ठ उपाध्यक्ष सरोज सिटौला, अखिल नेपाल यातायात मजदुर संघका अध्यक्ष दिपक केसी, नेपाल यातायात मजदुर संघका धर्म भण्डारी, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका भिम ज्वाला राई लगायत पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
पूर्वसचिव उपाध्याय भन्छन्: प्रचण्ड बाहेक अरू शीर्ष नेता जनतामाझ जान डराए
काठमाडौं । पूर्वसचिव भिम उपाध्यायले नेकपा(माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबाहेकका नेताहरु बिपतको स्थलगत अवलोकन र अनुगमनमा जान डराएका हुन ? भनेर प्रश्न गरेका छन् । सामाजिक तथा राजनीतिक विषयमा सामाजिक संजालमार्फत धारणा राख्दै आएका उपाध्यायले आज सामाजिक संजालमा लेख्दै विपतका बेला प्रचण्ड मात्रै फिल्डमा देखिएको टिप्पणी गरेका हुन् । उनले सामाजिक संजालमा लेखेको स्टाटस जस्ताको तस्तै यो बाढी पहिरोबाट भएको बिपतको स्थलगत अवलोकन र अनुगमनमा जाने शिर्ष नेताहरूमध्ये एक मात्र प्रचण्ड रहेको देखिन्छ। अरूलाई जनतासंग डर रहेको हो र? पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड डुबान, बाढी तथा पहिरो प्रभावित जनताको घरदैलोमा पुग्नुभएको थियो । गत साताको बाढी र पहिरोमा प्रभावित बनेका जनतालाई राहतका लागि उपाध्यायले समन्वय र सहयोग गर्दै आएका छन् ।
वस्ती विकास र पूर्वाधार निर्माणअघि भौगर्भिक अध्ययनको व्यवस्था मिलाउनुपर्छः प्रचण्ड
काठमाडौं, १८ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वस्ती विकास र पूर्वाधार निर्माण गर्नुअघि भौगर्भिक अध्ययन गर्ने व्यवस्था मिलाउनुपर्ने बताउनुभएको छ । माओवादी केन्द्रको प्राकृतिक प्रकोप तथा विपत व्यवस्थापन विभागले विज्ञहरूको टोलीसहित विपत् प्रभावित क्षेत्रको स्थलगत अध्ययनपछि तयार पारेको प्रतिवेदन बुझ्दै उहाँले आफूले पहिलोपटक प्रधानमन्त्री भएदेखि व्यवस्थित वस्ती विकास र पूर्वाधार निर्माणमा जोड दिंदै आएको बताउनुभयो । अहिले पहाडी क्षेत्रमा पहिरो र तराई तथा सहरी क्षेत्रमा बाढी डुबानको सबैभन्दा बढी जोखिम अव्यवस्थित वस्ती र पूर्वाधारकै कारण देखिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले बाढी, पहिरो, डुबान, भूकम्पलगायत सबैखाले विपतबाट बच्न भौगर्भिक अध्ययनका आधारमा मात्र वस्ती विकास र पूर्वाधार निर्माण गर्न उपयुक्त हुने बताउनुभयो । त्यसका लागि पार्टीको विपत् व्यवस्थापन विभागको पहलमा विज्ञहरुले तयार पारेको प्रतिवेदन महत्वपूर्ण अध्ययन सामग्री हुने उल्लेख गर्दै उहाँले यसका आधारमा चाँडै सरकारलाई ज्ञापनपत्र दिने पनि जानकारी दिनुभयो । वैज्ञानिक वस्ती विकास र पूर्वाधार निर्माणसँगै विपत् व्यवस्थापनका लागि सन्दर्भमा पनि गतिलो समीक्षा गरेर प्रतिकार्यका योजना बनाउनुपर्ने उहाँले बताउनुभयो । मौसमको पूर्वानुमान हुँदाहुँदै पनि राज्यसंयन्त्रको केन्द्र राजधानीमा समेत तत्काल उद्धार गर्न गर्न नसक्नुको कारण खोजी गरेर आगामी दिनमा यस्तो अवस्था आउन नदिन सरकार योजनाबद्धरुपमा अघि बढ्नुपर्ने उहाँको भनाई थियो । अध्यक्ष प्रचण्डले उद्धार मात्र होइन, राहत र पुनर्स्थापनामा पनि अपेक्षित काम हुन नसकेको उल्लेख गर्दै सबै संयन्त्रहरु कसरी प्रभावकारीरुपमा परिचालन गर्ने भनेर सरकारले ध्यान दिनुपर्ने बताउनुभयो। माओवादी केन्द्रका विपत् व्यवस्थापन विभाग प्रमुख सूर्य सुवेदी पथिकले पछिल्लोपटक बाढी पहिरोले प्रभावित गरेको क्षेत्रमा गएर विज्ञहरुसहितको टोलीले समस्याको पहिचान र समाधानका उपाय समेटेर प्रतिवेदन तयार पारिएको जानकारी दिनुभयो । विभागले प्रचार विभागको समेत सहयोग लिएर पार्टी कार्यालय पेरिसडाँडामा आपतकालीन हेल्प डेस्क खडा गरेको छ । विभागका प्रमुख सुवेदी, प्रचार विभाग सचिव गोविन्द आचार्यसहितको टोलीले अध्यक्ष प्रचण्डलाई प्रतिवेदन हस्तान्तरण गरेको थियो।
यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव छ। देशको पूर्वी र मध्य भागमा भने दक्षिण पश्चिम बंगलादेश आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ। यतिबेला (शुक्रबार बिहान) कोसी र बागमती प्रदेशको मौसम आंशिकदेखि साधारणतया बदली छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले कोसी र बागमती प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो पनि कोसी, मधेस, बागमती र गण्डकी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। देशका बाँकी भूमागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने अनुमान विभागको छ। दिउँसो कोसी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। त्यसैगरी आज राति पनि देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोसी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा राति पनि मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले शुक्रबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ। कस्तो होला शनिबार र आइतबारको मौसम? २०८१ असोज १९ गते शनिबार दिउँसोː देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। रातिː देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। २०८१ असोज २० गते आइतबार दिउँसोː देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोसी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। रातिː देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। देशका पहाडी भूभागका थोरै स्थान तथा बाँकी भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोसी प्रदेश प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।
आजबाट कोजाग्रत पूर्णिमासम्म सर्वोच्च अदालत बन्द हुने
काठमाडौं । आजदेखि सर्वोच्च अदालत बन्द हुने भएको छ । विजया दशमीको अवसरका लागि आजदेखि कोजाग्रत पूर्णिमासम्म अदालत बन्द हुने विज्ञप्तिमार्फत जनाइएको छ । घटस्थापना, शनिबार र विजया दशमीका दिनबाहेक अन्य दिनमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन लिएर सुनुवाइ गर्न बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म अदालत खुला रहने विज्ञप्तिमा उल्लेख छ ।
अध्यक्ष प्रचण्ड र युरोपियन युनियनका राजदूतबीच भेटवार्ता
काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिक लोरेञ्जोले आज शिष्टाचार भेट गर्नुभएको छ । आफ्नो निवास खुमलटारमा भएको भेटमा अध्यक्ष प्रचण्डले बाढीपहिरोका कारण नेपालले ठूलो जनधनको क्षति व्यहोर्नुपरेकाले यो संकट समाधानमा साथ दिन युरोपियन युनियनलाई आग्रह गर्नुभयो । बाढीपहिरोको पीडा नेपाली जनताले व्यहोर्नुपरे पनि यो विश्वब्यापी समस्याकै अंग भएकाले जलवायु परिवर्तनका कारण भइरहेका यस्ता विपतप्रति विश्वको ध्यान जानुपर्ने उहाँले बताउनुभयो । राजदूत लोरेञ्जोले बाढीपहिरोका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै युरोपियन युनियनको साथ रहने बताउनुभयो । उहाँले नेपालको शान्ति प्रक्रिया अघि बढेकोमा खुशी व्यक्त गर्दै त्यसको सफल नेतृत्व गरेकोमा ईयुको तर्फबाट अध्यक्ष प्रचण्डलाई बधाई पनि दिनुभयो । भेटका अवसरमा नेपाल र ईयुको सम्बन्ध सुधारका विषयमा बहुआयामिक छलफल भएको थियो ।