नेपाली कम्युनिष्ट पार्टीकी नेतृ रेनु दाहालद्वारा चितवनमा मतदान
चितवन । नेपाली कम्युनिष्ट पार्टीकी नेतृ तथा भरतपुर महानगरपालिकाकी निवर्तमान प्रमुख रेनु दाहालले चितवनबाट मतदान गर्नु भएको छ । चितवन निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवार बन्नु भएकी दाहालले आज बिहान मतदान गर्नु भएको हो ।
चितवनको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेकी रेनुले त्यही क्षेत्रबाट उम्मेदवारी दिनु भएको थियो ।
नेपाली कम्युनिष्ट पार्टीका नेता भीम रावलद्वारा अछाममा मतदान
अछाम । प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले मतदान गर्नुभयो । आफ्नै गृह जिल्ला अछामको साँफेबगर नगरपालिका वडा नम्बर ६, भागेश्वरमा रहेको चन्द्रोदय प्राथमिक विद्यालयबाट बिहान ७ बजेर २ मिनेटमा उहाँले मतदान गर्नुभएको हो । उहाँ अछाम क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार हुनुहुन्छ ।
नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुन 'अनन्त'द्वारा मतदान
रोल्पा । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा उम्मेदवार वर्षमान पुनले मतदान गर्नुभयो । उहाँले रोल्पाको बाल उदय माध्यमिक विद्यालय, मदिचौरबाट मतदान गर्नुभएको हो । पुन यसअघि पनि रोल्पा क्षेत्र नम्बर १ बाट विजयी हुनुभएको थियो । उहाँ रोल्पाबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार हुनुहुन्छ ।
नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक नेपालद्वारा रौतहटमा मतदान
रौतहट । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले मतदान गर्नुभयो । उहाँले रौतहटको गौर नगरपालिकामा रहेको मतदान केन्द्रबाट मतदान गर्नुभएको हो । उहाँ रौतहटबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार हुनुहुन्छ ।
नयाँ र पुराना भन्ने जो भाष्य बनाइएको छ, यो देशको हितमा छैन : प्रचण्ड
चितवन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले नयाँ र पुराना भन्ने भाष्य देशको हितमा नभएको बताउनुभयो । चितवन–३ मा पर्ने भरतपुर–१४ स्थित प्रहरी स्कुलमा मतदानपछि संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले नयाँ र पुराना नभएर सही र गलत भन्ने भाष्य बनाउनुपर्नेमा जोड दिनुभयो । ‘नयाँ र पुराना भन्ने जो भाष्य बनाइएको छ, यो देशको हितमा छैन,’ संयोजक प्रचण्डले भन्नुभयो, ‘नयाँ र पुराना होइन, सही र गलत भन्ने भाष्य बनाउनुपर्यो ।’ उहाँले दलहरूको योजना र कार्यक्रमका आधारमा नयाँ–पुरानो भन्नुपर्नेमा पनि जोड दिनुभयो । ‘सबैसँग म अपिल गर्छु, यो सवाल नयाँ र पुरानाको हुँदै होइन । सही र गलतको हो,’ प्रचण्डले भन्नुभयो, ‘कसको योजना के, कार्यक्रम के भनेर हेर्नुपर्छ । त्यसको आधारमा नयाँ–पुरानो भन्ने हुने हो ।’ संयोजक प्रचण्डले राष्ट्र, जनता, लोकतन्त्र र प्रगतिको पक्षमा कुन दल छ भनेर पनि हेर्नुपर्ने बताउनुभयो । उहाँले सबैले विवेक प्रयोग गरेर सहीको पक्षमा उभिनुपर्ने पनि जोड दिनुभयो । ‘नयाँ र पुरानो भन्ने भाष्य जसरी बनाइएको छ, त्यो देश र लोकतन्त्रको हितमा छैन,’ प्रचण्डले दोहोर्याउँदै भन्नुभयो, ‘सबैले आफ्नो विवेकको प्रयोग गरौं । सहीको पक्षमा उभिऔं ।’
नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्डद्वारा चितवनमा मतदान, आजै रुकुमपूर्व जाने
चितवन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले चितवनबाट मतदान गर्नुभयो । क्षेत्र नम्बर ३ अन्तर्गत भरतपुर महानगरपालिका–१४ स्थित नेपाल प्रहरी स्कुल, शान्तिपुरबाट उहाँले मतदान गर्नुभएको हो । यो क्षेत्रमा उहाँकी छोरी तथा भरतपुर महानगरपालिकाकी पूर्वमेयर रेनु दाहाल उम्मेदवार रहनुभएको छ । प्रचण्डले भने आफैंलाई मत दिन पाउनुभएन । उहाँ यसपटक रुकुम पूर्वबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार हुनुहुन्छ । उहाँ आज नै आफ्नो निर्वाचन क्षेत्र रुकुम पूर्व जाने तयारी रहेको सचिवालयले जनाएको छ । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले पनि प्रचण्डले मतदान गर्नुभएकै मतदान केन्द्रबाट मतदान गर्नुभयो ।
मौन अवधिमा सरकारी गाडीमा निजी प्लेट: एमाले धनुषा-१ का उम्मेदवारका ज्वाइँ पक्राउ
जनकपुर। मौन अवधिका बेला सरकारी सवारी साधनमा निजी नम्बर प्लेट प्रयोग गरिएको आरोपमा धनुषा–१ बाट नेकपा एमालेका उम्मेदवार रामचन्द्र मण्डलका ज्वाइँ रमेश मण्डल पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार प्रदेश सभाबाट पूर्वसभामुखको हैसियतमा उपलब्ध गराइएको सरकारी गाडीमा नम्बर प्लेट परिवर्तन गरी निजी बनाइएको अवस्थामा फेला परेपछि मण्डललाई नियन्त्रणमा लिइएको हो। प्रहरी उपरीक्षक (एसपी) रुगमबहादुर कुँवरका अनुसार सशस्त्र प्रहरीको विशेष चेकजाँचका क्रममा मिथिला बिहारी नगरपालिका–पुरन्दाहा क्षेत्रबाट शंकास्पद अवस्थामा गुडिरहेको चारचक्के स्कारपियो गाडी र चालकलाई नियन्त्रणमा लिई थप कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाइएको थियो। प्रहरी स्रोतका अनुसार बागमती–प्र–०१ ००३२ च ७८९४ नम्बरको सरकारी गाडीमा नक्कली नम्बर प्लेट राखेर प्रयोग गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उक्त कार्य मौन अवधिमा गरिएको भन्दै यसले निर्वाचन आचारसंहिता उल्लंघनको प्रश्न उठाएको छ। मतदातालाई प्रभावित पार्ने उद्देश्यले गाडी प्रयोग गरिएको हुन सक्ने आशंका समेत गरिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ।
पैसा बाँड्दै गरेका धनुषा–४ का स्वतन्त्र उम्मेदवार पक्राउ
जनकपुरधाम । निर्वाचन आचारसंहिता उल्लंघन गर्दै पैसा बाँडिरहेको अवस्थामा धनुषा निर्वाचन क्षेत्र नम्बर ४ का एक स्वतन्त्र उम्मेदवार पक्राउ परेका छन्। क्षीरेश्वरनाथ नगरपालिका–४, चन्द्रपुर टोलबाट पैसा वितरण गरिरहेको आरोपमा स्वतन्त्र उम्मेदवार राजकिशोर महरा पक्राउ परेका हुन्। धनुषाका डीएसपी गणेशबहादुर बमका अनुसार महरालाई ४५ हजार रुपैयाँभन्दा बढी नगदसहित नियन्त्रणमा लिइएको छ। घटनामा संलग्न रहेका अन्य तीन जना भने फरार रहेका छन्। प्रहरीले घटनास्थलबाट ४८ हजार ५ सय रुपैयाँ नगद तथा आर्थिक कारोबारसम्बन्धी विवरण उल्लेख गरिएको एक डायरीसमेत बरामद गरेको जनाएको छ। पक्राउ परेका उम्मेदवार महरा तथा प्रयोग गरिएको सवारीसाधनलाई आवश्यक कारबाहीका लागि निर्वाचन आयोगको कार्यालयमा पठाउने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ।
स्वदेशमै रहेका करिब ६ लाख मतदाता प्रत्यक्ष मतदानबाट वञ्चित
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनका क्रममा देशभर झन्डै ६ लाख नेपाली नागरिक प्रत्यक्षतर्फ मतदान गर्न नपाउने अवस्थामा छन्। निर्वाचन सुरक्षादेखि व्यवस्थापनसम्म खटिने निजामती कर्मचारी, सुरक्षाकर्मी, म्यादी प्रहरी, स्वास्थ्यकर्मी, पत्रकार तथा अन्य आकस्मिक सेवामा कार्यरतहरू आफ्नो निर्वाचन क्षेत्रमा पुगेर मत हाल्न असमर्थ हुने गरेका छन्। राष्ट्रिय निजामती किताबखानाका अनुसार स्थानीय, प्रदेश र संघ तह गरी ८५ हजारभन्दा बढी स्थायी निजामती कर्मचारी कार्यरत छन्। त्यस्तै नेपाल प्रहरीमा करिब ७५ हजार, सशस्त्र प्रहरीमा ३४ हजार र नेपाली सेनामा झन्डै ९५ हजार जनशक्ति छन्, जो निर्वाचन सुरक्षामा खटिन्छन्। यसबाहेक १ लाख ४९ हजारभन्दा बढी म्यादी प्रहरी पनि ४० दिनसम्म सुरक्षामा परिचालित हुन्छन्। राष्ट्रिय अनुसन्धान विभागका करिब दुई हजार कर्मचारीसमेत निर्वाचनको विशेष जिम्मेवारीमा रहने गर्छन्। निर्वाचन आयोगले सुरक्षाकर्मीहरूलाई समानुपातिकतर्फ अस्थायी मतदानको व्यवस्था गरेको भए पनि कति जनाले मतदान गर्छन् भन्ने यकिन तथ्याङ्क उपलब्ध छैन। आयोगका अनुसार करिब दुई लाख अस्थायी मतदाता नामावलीमा समेटिएका छन्, जसमा मतदान केन्द्रमा खटिने कर्मचारी र सुरक्षाकर्मीसमेत पर्छन्। अन्तरजिल्ला मतदानको विषयमा छलफल भए पनि कार्यान्वयनमा ल्याइएको छैन। साथै, पर्यवेक्षकहरूलाई आफ्नै मतदान केन्द्रमा अवलोकन गर्न नपाउने व्यवस्थाका कारण कतिपयले मतदान अवसर गुमाउने गरेका छन्। यसरी निर्वाचन सफल बनाउन खटिने ठूलो सङ्ख्या स्वयं प्रत्यक्ष मतदानबाट वञ्चित हुने अवस्था रहँदै आएको छ।
मध्यपूर्वमा अमेरिकी सैन्य अखडामा इरानी क्षेप्यास्त्र प्रहार
काठमाडौं । इरानले कतारस्थित अमेरिकी सैन्य अखडा अल उदैदमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ। कतारको रक्षा मन्त्रालयले मंगलबार ढिलो विज्ञप्ति जारी गर्दै इरानबाट दुईवटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार भएको पुष्टि गरेको हो। मन्त्रालयका अनुसार हवाई प्रतिरक्षा प्रणालीले एउटा क्षेप्यास्त्रलाई बीचैमा खसालेको थियो भने अर्को क्षेप्यास्त्रले अल उदैदस्थित सैन्य क्षेत्रमा प्रहार गरेको थियो। उक्त आक्रमणबाट कुनै मानवीय क्षति नभएको जनाइएको छ। कतारको रक्षा मन्त्रालय ले जारी गरेको विज्ञप्तिमा सुरक्षा अवस्था नियन्त्रणमा रहेको उल्लेख गरिएको छ। अल उदैद एयर बेस मध्यपूर्वमा अमेरिकाको सबैभन्दा ठूलो सैन्य अखडा मानिन्छ। त्यहाँ सामान्यतया करिब १० हजार अमेरिकी सैनिक तथा नागरिक कर्मचारी तैनाथ रहने गर्छन्। सोही बेसबाट मध्यपूर्व क्षेत्रमा अमेरिकी सैन्य कमान्ड सञ्चालन हुँदै आएको छ। यो आधार शिविर अमेरिकाको युएस सेन्ट्रल कमान्ड (सेन्ट्रल कमान्ड) सँग आबद्ध छ, जसको मुख्यालय फ्लोरिडा मा रहेको छ। इरानले यस आक्रमणलाई गत वर्ष भएको अमेरिकी बमबारीको प्रत्युत्तर भएको दाबी गरेको छ। साथै, इरानको रिभोलुसनरी गार्ड्स ले बुधबार मध्यपूर्वका विभिन्न अमेरिकी तथा इजरायली सैन्य अखडामा करिब ४० वटा क्षेप्यास्त्र प्रहार गरिएको दाबी गरेको छ।
पश्चिम एसियाको तनावप्रति नेकपाको गम्भीर चासो, नेपाली नागरिकको सुरक्षालाई सर्वोच्च प्राथमिकता दिन सरकारसँग माग
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले पश्चिम एसियामा विकसित भएको पछिल्लो तनावपूर्ण अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै त्यहाँ रहेका नेपाली नागरिकको सुरक्षालाई उच्च प्राथमिकतामा राख्न सरकारसँग जोडदार माग गरेको छ। पार्टीको केन्द्रीय कार्यालयबाट जारी प्रेस विज्ञप्तिमा अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणपछि क्षेत्रीय अस्थिरता चर्किएको उल्लेख गर्दै त्यसबाट उत्पन्न मानवीय क्षतिप्रति दुःख व्यक्त गरिएको छ। उक्त घटनाक्रममा ज्यान गुमाउने एक नेपाली नागरिकसहित सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै गोरखाका युवा दिवस श्रेष्ठको परिवारप्रति गहिरो समवेदना प्रकट गरिएको छ। प्रचार संयोजक अग्नि सापकोटाद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएकाे छ-संयुक्त अरब इमिरेट्स, कतार, बहराइन, कुवेत, इजरायल, ओमान, साउदी अरब लगायत पश्चिम एसियाका विभिन्न मुलुकमा कार्यरत लाखौं नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको दैनिक जीवन तनावका कारण प्रभावित भएको छ । ती देशमा रहेका सम्पूर्ण नेपालीलाई उच्च सतर्कता अपनाउन, स्थानीय प्रशासनका निर्देशनहरूको पूर्ण पालना गर्न तथा व्यक्तिगत सुरक्षाका लागि सम्भव सबै उपाय अवलम्बन गर्न हार्दिक आग्रह गर्दछाैँ । साथै, सम्बन्धित देशहरूमा रहेका नेपाली दूतावास र नेपाल सरकारलाई त्यहाँका नेपाली नागरिकको सुरक्षा, आवश्यक परे उद्धार तथा आपतकालीन सहयोगका लागि तुरुन्तै सक्रिय र प्रभावकारी पहल गर्न विशेष अनुरोध गरिएको छ। कठिन परिस्थितिमा परेका नेपाली नागरिकको सुरक्षालाई सर्वोच्च प्राथमिकता दिँदै आवश्यक कूटनीतिक तथा प्रशासनिक कदम चाल्नु अपरिहार्य रहेको नेकपाको धारणा छ। यसैबीच, पश्चिम एसियाको तनावसँगै नेपालभित्र पेट्रोलियम पदार्थको कृत्रिम अभाव सिर्जना गरिएको भन्ने गुनासोहरू प्राप्त भइरहेको उल्लेख गर्दै पार्टीले आपूर्ति व्यवस्थापनमा देखिएको अव्यवस्था, कालोबजारी तथा कृत्रिम अभावजस्ता गतिविधि तत्काल रोक्न सरकारसँग माग गरेको छ। सर्वसाधारणलाई सहज र नियमित आपूर्ति सुनिश्चित गर्न, अनुगमन संयन्त्रलाई थप प्रभावकारी बनाउन तथा बजार व्यवस्थापनमा कडाइ गर्न पनि पार्टीले आग्रह गरेको छ। द्वन्द्वरत सबै पक्षलाई संयमता कायम राख्न, राष्ट्रहरूको सार्वभौमिकताको सम्मान गर्न, अन्तर्राष्ट्रिय कानूनको पालना गर्न तथा सबै मतान्तरको समाधान वार्ता र संवादमार्फत् खोज्न नेकपाले अपिल गरेको छ। प्रचार संयोजक सापकोटाद्वारा हस्ताक्षरित उक्त विज्ञप्तिमा राष्ट्रिय स्वाभिमान, अन्तर्राष्ट्रिय शान्ति र नागरिक सुरक्षाको पक्षमा स्पष्ट अडान राख्दै कठिन घडीमा नेपाली जनताको साथमा दृढतापूर्वक उभिने प्रतिबद्धता पुनः दोहोर्याएको छ।
सिन्धुली कारागारका ४५ कैदीबन्दीले मात्र मतदान गर्न पाउने
सिन्धुली। बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सिन्धुली कारागारका ४५ जना कैदीबन्दीले मात्र मतदान गर्न पाउने भएका छन्। कारागारमा रहेका कुल ३ सय ८३ जना कैदीबन्दीमध्ये यति संख्याले मात्रै मतदानको अधिकार प्रयोग गर्न पाउनेछन्। उनीहरूले कारागारभित्र स्थापना गरिएको अस्थायी मतदान केन्द्रमार्फत मतदान गर्ने व्यवस्था मिलाइएको छ। मतदाता नामावलीमा नाम दर्ता नभएकै कारण अन्य कैदीबन्दीले मतदान गर्न नपाउने भएका हुन्। ‘जेनजी’ आन्दोलनका क्रममा कारागार तोडफोड तथा आगजनी गरेर फरार भएकामध्ये अधिकांशको मतदाता नामावलीमा नाम नै नभएको पाइएको छ। कारागारमा ११ जना विदेशी नागरिक बाहेक सबै नेपाली नागरिक भए पनि मतदाता नामावलीमा नाम नहुँदा अधिकांश मतदानबाट वञ्चित हुने भएका छन्। कारागारबाट भागेका ४ सय ७६ कैदीबन्दीमध्ये ३ सय ७० जना पुनः कारागार फर्किसकेका छन्। तर फर्किएका कैदीबन्दीमध्ये पनि धेरैको मतदाता नामावलीमा नाम दर्ता नभएको जनाइएको छ। हालसम्म ९८ पुरुष, ३ महिला र ५ विदेशी नागरिक गरी १ सय ६ जना कैदीबन्दी अझै कारागारबाहिर रहेका छन्।
आचारसंहिता उल्लंघन गर्दै मौन अवधिमा पनि सूर्य थापाद्वारा सामाजिक सञ्जालमार्फत प्रचार प्रसार
काठमाडौं । निर्वाचन आचारसंहिताअनुसार मौन अवधि सुरु भइसकेको अवस्थामा पनि नेकपा एमालेका उम्मेदवार सूर्य थापाले सामाजिक सञ्जालमार्फत प्रचार जारी राखेको पाइएको छ। थापाले आफ्नो आधिकारिक फेसबुकमार्फत मतदातालाई लक्षित गर्दै स्टाटस सार्वजनिक गरेका छन्। उक्त स्टाटसमा उनले आफ्ना एजेन्डा र विगतका कामको चर्चा गर्दै आगामी निर्वाचनमा समर्थन गर्न अपिल गरेको देखिन्छ। मौन अवधिमा कुनै पनि प्रकारको प्रचार–प्रसार, मत माग्ने कार्य तथा सार्वजनिक अपिल गर्न नपाइने प्रावधान रहेको छ। निर्वाचन आयोगले मौन अवधिमा सामाजिक सञ्जालसहित कुनै पनि माध्यमबाट मत प्रभावित पार्ने गतिविधि नगर्न सबै उम्मेदवार र राजनीतिक दललाई निर्देशन दिएको छ। तर थापाको पछिल्लो सामाजिक सञ्जाल गतिविधिलाई आचारसंहिता विपरीत भएको भन्दै विरोध सुरु भएको छ। यस विषयमा निर्वाचन अधिकृतको कार्यालयले आवश्यक अनुगमन भइरहेको जनाएको छ। आचारसंहिता उल्लंघन पुष्टि भएमा कानुनी कारबाही हुन सक्ने प्रावधान छ। उता, थापाको तर्फबाट भने यसबारे औपचारिक प्रतिक्रिया आएको छैन। सामाजिक सञ्जालमा सार्वजनिक गरिएको उक्त स्टाटसलाई लिएर राजनीतिक वृत्तमा चर्चा भइरहेको छ।
रास्वपाको षड्यन्त्रमा पर्सा-२ का उम्मेदवार मनाेज चाैधरी पक्राउ
वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका प्रत्यक्षतर्फका नेकपाका उम्मेदवार मनोज चौधरीलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएपछि नेकपाले यसलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को षड्यन्त्र भएको आरोप लगाएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार चौधरी सवार गाडीमा ‘वमजस्तो देखिने शंकास्पद वस्तु’ राखिएको सूचना प्राप्त भएपछि प्रहरीले जाँच गरेको थियो। जाँचका क्रममा उक्त वस्तु फेला परेपछि अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। तर, नेकपाले उम्मेदवारलाई नियोजित रूपमा फसाउन गाडीमा शंकास्पद वस्तु राखी प्रहरीलाई झुटो सूचना दिइएको दाबी गरेको छ। पार्टीका नेताहरूले यस घटनालाई रास्वपाले रचेको राजनीतिक षड्यन्त्र भएको आरोप लगाएका छन्। नेकपाले निष्पक्ष छानबिनको माग गर्दै घटनामा संलग्नलाई कारबाही गर्नुपर्ने जनाएको छ। निर्वाचनको मिति नजिकिँदै गर्दा भएको यस घटनाले पर्सा–२ को चुनावी वातावरण थप तनावग्रस्त बनेको छ। प्रहरीले अपुष्ट हल्ला नफैलाउन र संयमित रहन सबै पक्षसँग आग्रह गरेको छ।
मौन अवधिमा झुठा सामग्रीको प्रचारप्रति नेकपाको आपत्ति
काठमाडौं । निर्वाचनको मौन अवधिमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र तारा चिन्हका उम्मेदवारहरूविरुद्ध विभिन्न सामाजिक सञ्जालमार्फत झुठा सामग्री प्रचार गरिएको भन्दै नेपाली कम्युनिस्ट पार्टीले आपत्ति जनाएको छ। पार्टीका केन्द्रीय कार्यालय सचिव गणेशमान पुनले नेकपाका उम्मेदवारहरूविरुद्ध सुनियोजित रूपमा असत्य कथा, भ्रामक सूचना तथा हेरफेर गरिएका भिडियोहरू सार्वजनिक भइरहेकोप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। उनका अनुसार पार्टीका संयोजक प्रचण्डको आवाज जस्तो सुनिने गरी बनाइएका नक्कली भिडियोहरू बन्द गराउन पटक–पटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएको भन्दै आपत्ति जनाइएको छ। पार्टीका अनुसार देशलाई अस्थिर बनाउन, युवाहरूलाई भड्काउन र देशको अस्तित्व नै जोखिममा पार्न खोज्ने शक्तिहरू यस्ता दुष्प्रचारमा संलग्न छन्। यस्तो गतिविधि निर्वाचन आचारसंहिताको उल्लङ्घन मात्र नभई लोकतान्त्रिक मूल्य–मान्यता र संस्कारमाथिको प्रत्यक्ष आक्रमण भएको नेकपाको ठहर छ। वक्तव्यमा सामाजिक सञ्जाल प्रयोगकर्तालाई सचेत र जिम्मेवार बन्न आग्रह गर्दै फेक सामग्री देखिएमा तुरुन्त सम्बन्धित प्लेटफर्ममा रिपोर्ट गर्न अनुरोध गरिएको छ। अपुष्ट र सनसनीपूर्ण सामग्रीप्रति सावधान रहन पनि आग्रह गरिएको छ। पुनले सत्य र तथ्यको जाँच तथा मतदाताको सचेत पहलबाट मात्रै यस्ता भ्रमपूर्ण प्रचारलाई परास्त गर्न सकिने उल्लेख गर्दै पार्टीका समर्थक तथा शुभेच्छुकलाई झुठा प्रचारको तत्काल प्रतिकार गर्न र सधैं सत्य तथा न्यायको पक्षमा उभिन आह्वान गरेका छन्।
किशोरी साहजस्तै कालोसूचिमा रहेका रुपेश पाण्डेपको उम्मेदवारि किन भएन खारेज ?
काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नं. १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साहको उम्मेदवारी बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा परेको आधारमा खारेज गरेको छ । तर पर्सा क्षेत्र नं. ३ बाट नेकपा (एमाले) का उम्मेदवार रुपेश कुमार पाण्डे विरुद्ध परेको ठ्याक्कै उस्तै प्रकृतिको उजुरीमा आयोगले अझै निर्णय लिन सकेको छैन् । किशोरी साह २०८० वैशाखदेखि नै कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको पुष्टि भएपछि आयोगले फागुन १९ गते (३ मार्च) नै उनको उम्मेदवारी खारेज गरेको हो । उनी कमल निर्माण सेवा प्रालिका सेयरधनी हुन् र ८ पटकसम्म विभिन्न बैंकमा कालोसूचीमा परेका थिए । यसैगरी रुपेश पाण्डे पनि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकबाट करिब २० करोड ऋण लिएर १२ करोड बक्यौता तिर्न नसकेपछि माघ १८ गते कालोसूचीमा परेका थिए । उम्मेदवारी दर्ता गर्दा “कालोसूचीमा छैन” भनी झुटो स्वघोषणा गरेको उजुरी परे पनि आयोगले निर्णय लिन ढिलाइ गरेको छ । फागुन १० गतेको समाचारअनुसार एमालेले आयोग तथा बैंकमा दबाब दिएर निर्णय “होल्ड” गराएको आरोप लागेको थियो । फागुन १८ गते सर्वोच्च अदालतले पाण्डेको रिटमा “यो मुद्दा आयोगमा विचाराधीन छ, अदालतले हस्तक्षेप गर्दैन” भन्दै हस्तक्षेप अस्वीकार गरेको थियो । यसले आयोगलाई निर्णय लिने बाटो खोलिदिए पनि आयोगले अझै कुनै कदम चालेको छैन । फागुन १९ गतेको एक समाचारमा “निर्वाचन आयोगको दोहोरो मापदण्ड : धनुषामा साह खारेज, पर्सामा पाण्डेलाई उन्मुक्ति” भनी उल्लेख गरिएको छ । दुवै उम्मेदवारमाथि बैंक कालोसूची र झुटो स्वघोषणाको समान आरोप छ । तर एकको उम्मेदवारी छिट्टै खारेज हुँदा अर्कोको विषय लम्बित रहँदा आयोगको निष्पक्षतामाथि प्रश्न उठेको छ । निर्वाचन आयोगका अधिकारीहरूले “छानबिन चलिरहेको” बताए पनि आयोगले औपचारिक निर्णय अझै सार्वजनिक गरेको छैन ।

