काठमाडौंसहित देशका मुख्य ठाउँमा ग्यासको अभाव, आपूर्ति नियमित रहेको निगमको दावी
काठमाडौं । मध्यपूर्वमा अमेरिका, इजरायल र इरानबीच जारी युद्धका कारण खाडी क्षेत्रको समुद्री मार्ग ‘स्ट्रेट अफ होर्मुज’ प्रभावित भएसँगै नेपालमा खाना पकाउने ग्यासको आपूर्तिमा असर परेको छ ।
काठमाडौं, पोखरा, विराटनगर, भरतपुर, बुटवललगायत देशका मुख्य सहरमा ग्यास अभाव देखिएको छ । कतिपय डिपो बन्द छन् भने खुलेका ठाउँमा पनि सीमित मात्रामा ग्यास उपलब्ध छ ।
नेपाल आयल निगमले बिहीबार जारी गरेको विज्ञप्तिमा भने आपूर्ति नियमित रहेको दाबी गरिएको छ । “हामीले मागअनुसार भारतबाट नियमित ग्यास आपूर्ति गरिरहेका छौं । अभाव भनेको उपभोक्ताको अनावश्यक त्रास र होर्डिङका कारण हो,”। तर बजारमा देखिएको लाइन र गुनासोलाई नियन्त्रण गर्न निगमले शुक्रबारदेखि नयाँ व्यवस्था लागू गरेको छ । शुक्रबारदेखि निगमले आधार सिलिण्डर ग्याँस बिक्री सुरु भएको जनाएको छ ।
निगमका अनुसार नेपाललाई मासिक रूपमा करिब ४५,००० सिलिन्डर ग्यास आवश्यक पर्छ । नेपाल पूर्ण रूपमा भारतबाट ग्यास आयात गर्छ । भारतमा पनि मध्यपूर्व युद्ध र केही रिफाइनरी मर्मतका कारण आपूर्ति प्रक्रिया प्रभावित भएको बताइएको छ । यसले विश्वव्यापी रूपमा पेट्रोलियम पदार्थको ढुवानीमा समस्या निम्त्याएको छ ।
दुई सातापछि मात्रै नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने
काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को परिणाम सार्वजनिक हुने क्रम जारी रहँदा नयाँ सरकार गठनको प्रक्रिया भने करिब दुई सातापछि मात्रै सुरु हुने देखिएको छ। प्रत्यक्षतर्फको परिणाम लगभग टुंगिए पनि समानुपातिकतर्फका ११० सांसदको टुंगो लाग्न अझै केही दिन लाग्ने भएकाले सरकार गठनमा समय लाग्ने भएको हो। संविधानअनुसार निर्वाचनको अन्तिम परिणाम घोषणा भएपछि मात्रै संसद् गठनको औपचारिक प्रक्रिया अघि बढ्ने भएकाले नयाँ सरकार बन्न तत्काल सम्भावना देखिँदैन। निर्वाचन आयोगका अनुसार निर्वाचनको अन्तिम परिणाम सार्वजनिक हुन करिब एक साता लाग्नेछ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार समानुपातिक मतगणना सकिएपछि दलहरूले पाउने सिट संख्या निर्धारण गरिनेछ। भट्टराईले भने, “बुधबार बिहानसम्म समानुपातिकतर्फको गणना सकिन्छ। त्यसपछि दलहरूलाई बन्दसूचीअनुसार समावेशी समूह मिलाएर नाम पठाउन पत्राचार गरिन्छ।” दलहरूले पठाएका नामहरू समावेशी व्यवस्था र कानुनी मापदण्डअनुसार मिले–नमिलेको परीक्षण, त्रुटि सच्याउने तथा रुजु गर्ने प्रक्रियामा करिब तीन दिन लाग्ने आयोगले जनाएको छ। त्यसपछि समानुपातिक प्रणालीबाट निर्वाचित सांसदहरूलाई प्रमाणपत्र प्रदान गरिनेछ। प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ अनुसार निर्वाचनको अन्तिम परिणाम घोषणा भएको सात दिनभित्र आयोगले राष्ट्रपतिसमक्ष प्रतिवेदन बुझाउनुपर्ने व्यवस्था छ। नेपालको संविधान २०७२ को धारा ९३ (१) अनुसार राष्ट्रपतिले उक्त प्रतिवेदन प्राप्त भएको ३० दिनभित्र संघीय संसद्को अधिवेशन आह्वान गर्नुपर्ने संवैधानिक व्यवस्था छ। अधिवेशनपछि सुरु हुने सरकार गठन संवैधानिक कानुनका जानकार डा. चन्द्रकान्त ज्ञवालीका अनुसार यद्यपि संविधानले ३० दिनको समय दिएको भए पनि व्यवहारमा प्रायः एक साताभित्र संसद् अधिवेशन बोलाइने अभ्यास रहेको छ। अधिवेशन आह्वान भएपछि ज्येष्ठ सदस्यको अध्यक्षतामा बस्ने पहिलो बैठकमा २७५ जना सांसदले शपथ लिनेछन्। त्यसपछि संसद्मा प्रतिनिधित्व गर्ने दलहरूले आफ्नो संसदीय दल गठन गर्ने प्रक्रिया अघि बढ्नेछ। नेपाल बार एसोसिएसनका अध्यक्षसमेत रहेका वरिष्ठ अधिवक्ता विजयप्रसाद मिश्रका अनुसार बहुमत प्राप्त दलले संसदीय दलको नेता चयन गरी राष्ट्रपतिलाई जानकारी गराएपछि संविधानको धारा ७६ (१) अनुसार प्रधानमन्त्री नियुक्ति हुन सक्छ। उनका अनुसार बहुमत स्पष्ट भएको अवस्थामा प्रधानमन्त्री नियुक्त गर्न धेरै समय लाग्न आवश्यक हुँदैन। विश्वासको मत लिनुपर्ने कि नपर्ने ? संविधानको धारा ७६ (२) वा (३) अनुसार नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र संसद्बाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ। तर बहुमत प्राप्त दलका नेता धारा ७६ (१) अनुसार प्रधानमन्त्री नियुक्त हुने भएकाले तत्काल विश्वासको मत लिनुपर्ने बाध्यता नहुने संवैधानिक विज्ञहरूको भनाइ छ। यद्यपि संसद्ले चाहेमा प्रधानमन्त्रीको विश्वास कुनै पनि बेला परीक्षण गर्न सक्ने व्यवस्था भने कायम रहनेछ। बहुमत रास्वपालाई, प्रधानमन्त्री को ? हालसम्मको मतपरिणाम अनुसार छ वटा दलले राष्ट्रिय दलको मान्यता पाउने देखिएको छ। त्यसमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीले स्पष्ट बहुमत प्राप्त गरेको छ। त्यसैले सो दलको संसदीय दलका नेता प्रधानमन्त्री बन्ने सम्भावना छ। तर रास्वपाको विधानमा संसदीय दलको नेता चयन गर्ने प्रक्रिया अन्य दलभन्दा फरक छ। पार्टी विधानअनुसार संघीय निर्वाचनअघि नै प्रत्यक्ष र समानुपातिक उम्मेदवारमध्ये इच्छुक व्यक्तिबीच निर्वाचन गराएर संसदीय दलको नेता चयन गर्ने व्यवस्था छ। तर पार्टीले निर्वाचनअघि यस्तो प्रक्रिया पूरा गरेको थिएन। निर्वाचनको पूर्वसन्ध्यामा रास्वपाले आफ्ना वरिष्ठ नेता तथा काठमाडौँ महानगरपालिकाका पूर्वप्रमुख बालेन्द्र शाहलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा प्रस्ताव गरेको थियो। संवैधानिक कानुनका जानकार डा. ज्ञवालीका अनुसार चुनावमा पार्टीले प्रस्तुत गरेको अनुहारलाई ध्यानमा राखेर संसदीय दलको नेता चयन गर्नु राजनीतिक रूपमा उपयुक्त हुने देखिन्छ। उनी भन्छन्, “संविधानभन्दा बाहिर पार्टी विधान हुन सक्दैन। संसदीय दलले नै दलको नेता चयन गर्ने हो र प्रक्रिया लोकतान्त्रिक हुनुपर्छ।”
६ दलले पाए राष्ट्रिय दलको मान्यता
काठमाडौँ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ मंगलबार साँझसम्म एक करोड पाँच लाख ८३ हजार ३८७ मतगणना सम्पन्न भएको छ। निर्वाचन आयोगका अनुसार हालसम्मको मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो, नेपाली कांग्रेस दोस्रो, नेकपा (एमाले) तेस्रो, नेपाली कम्युनिस्ट पार्टी चौथो, श्रम संस्कृति पार्टी पाँचौं र राष्ट्रिय प्रजातन्त्र पार्टी छैटौं स्थानमा रहेका छन्। यी दलहरूले राष्ट्रिय दलको मान्यता पाउने निश्चित भएको आयोगले जनाएको छ। राजनीतिक दल सम्बन्धी ऐन, २०७३ अनुसार प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिकतर्फ कम्तीमा तीन प्रतिशत मत र प्रत्यक्षतर्फ कम्तीमा एक सिट जित्ने दलले मात्र राष्ट्रिय दलको मान्यता पाउने व्यवस्था छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार सो मापदण्ड पूरा गरेका दलहरूलाई राष्ट्रिय दलको मान्यता प्रदान गरिनेछ। हालसम्मको मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ५० लाखभन्दा बढी मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसले १७ लाखभन्दा बढी र नेकपा (एमाले) ले १४ लाखभन्दा बढी मत पाएका छन्। त्यस्तै नेपाली कम्युनिस्ट पार्टीले साढे सात लाखभन्दा बढी, श्रम संस्कृति पार्टीले साढे तीन लाखभन्दा बढी र राष्ट्रिय प्रजातन्त्र पार्टीले करिब तीन लाख २७ हजार मत प्राप्त गरेका छन्। प्रदेशगत रूपमा पनि अधिकांश प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टी अग्रस्थानमा देखिएको छ। कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा प्राप्त मतपरिणामले पनि सोही प्रवृत्ति देखाएको छ। यससँगै प्रतिनिधिसभाको समानुपातिक प्रणालीबाट सीट बाँडफाँट प्रक्रिया निर्वाचन आयोगको निर्देशिका अनुसार अघि बढ्ने आयोगले जनाएको छ।
इरानको सर्वोच्च नेतामा मोजतबा खामेनी चयन
काठमाडौं । इरानमा ५६ वर्षीय मोजतबा खामेनी नयाँ सर्वोच्च नेता चयन भएका छन् । उनि हालै अमेरिकी र इजरायली सैन्य कारबाहीमा मारिएका पूर्व सर्वोच्च नेता आयातोल्लाह अली खामेनीका छोरा हुन् । इरानको विशेषज्ञ सभाले मोजतबालाई नयाँ सर्वोच्च नेताका रूपमा चयन गरेको हो । चयनको घोषणालगत्तै इरानको रिभोलुसनरी गार्ड्स ले उनिप्रति बफादारी व्यक्त गरेको अमेरिकी टेलिभिजन संस्था सिएनएनले जनाएको छ । न्यायपालिकाका प्रमुख घोलामहोसेन मोहसेनी एजेईले उक्त निर्णयलाई ‘आनन्द र आशाको स्रोत’ बताएका छन् भने वरिष्ठ सुरक्षा अधिकारी अली लारिजानीले नयाँ नेतृत्व पूर्ण रूपमा कानुनी प्रक्रिया अनुसार चयन भएको दाबी गरेका छन् । तर इजरायलले भने सम्भावित उत्तराधिकारीलाई पनि निशाना बनाउन सकिने चेतावनी दिइसकेको छ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ नेतृत्वले अमेरिकाबाट समर्थन नपाए लामो समय टिक्न नसक्ने टिप्पणी गरेका छन् । अमेरिका र इजरायलले मोजतबा खामेनीको नेतृत्व अस्वीकार गर्ने संकेत दिएका छन् । इजरायलतर्फ क्षेप्यास्त्र प्रहार नयाँ सर्वोच्च नेताको घोषणालगत्तै इरानले इजरायलतर्फ क्षेप्यास्त्र प्रहार गरेको सरकारी प्रसारण संस्था आइआरआइबीले जनाएको छ । उक्त आक्रमणमा एक महिला घाइते भएको चिकित्सकहरूले बताएका छन् । जवाफमा इजरायली सेनाले मध्यइरानका ‘शासनसम्बन्धी पूर्वाधार’ लक्षित गर्दै प्रतिआक्रमण सुरु गरेको जनाएको छ । अमेरिका–इजरायल र इरानबीच करिब १० दिनदेखि जारी युद्ध झन् व्यापक बन्दै जाँदा मध्यपूर्वका विभिन्न देशमा आक्रमण, प्रतिआक्रमण र कूटनीतिक गतिविधि तीव्र भएका छन् । खाडी क्षेत्रमा आक्रमण, ३२ घाइते बहराइनको स्वास्थ्य मन्त्रालयका अनुसार सित्रा टापुमा रातभर भएको इरानी ड्रोन आक्रमणमा ३२ जना सर्वसाधारण घाइते भएका छन् । घाइतेमध्ये बच्चासहित चार जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । कतारको राजधानी दोहामा विस्फोटका आवाज सुनिएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । कतारको रक्षा मन्त्रालयका अनुसार वायु प्रतिरक्षा प्रणालीले क्षेप्यास्त्र आक्रमण रोकेको छ । साउदी अरेबियामा दुई जनाको मृत्यु भएको र १२ जना घाइते भएको त्यहाँका नागरिक सुरक्षा अधिकारीले बताएका छन् । युद्धको असर अर्थतन्त्रमा युद्धका कारण विश्व बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढेको छ । अन्तर्राष्ट्रिय बजारमा डब्लुटिआई र ब्रेन्ट दुवैको मूल्य प्रतिब्यारेल १०० डलरभन्दा माथि पुगेको छ । युद्ध सुरु भएयता डब्लुटिआई करिब ७५ प्रतिशत र ब्रेन्ट ६० प्रतिशतभन्दा बढी बढेको छ । तेलको मूल्य वृद्धि भएपछि दक्षिण कोरिया र जापानका सेयर बजारमा पनि गिरावट देखिएको छ । कूटनीतिक पहल यसैबीच फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले इरानका राष्ट्रपति मसुद पेजेस्कियानसँग टेलिफोन वार्ता गर्दै खाडी क्षेत्रका अन्य देशमा आक्रमण नगर्न आग्रह गरेका छन् । युद्ध सुरु भएयता पेजेस्कियानसँग कुनै पश्चिमी नेताले गरेको यो पहिलो सार्वजनिक सम्पर्क हो ।
समानुपातिक सिट बाँडफाँट कसरी हुन्छ ?
काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ ठूलो सफलता हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समानुपातिक मतगणनामा पनि अग्रस्थानमा देखिएको छ। सोमबार साँझसम्मको गणनाअनुसार रास्वपाले कुल सदर मतको झण्डै आधा अर्थात् ४८ प्रतिशतभन्दा बढी मत प्राप्त गरेको प्रारम्भिक विवरण सार्वजनिक भएको छ। प्रत्यक्षतर्फ १६५ सिटमध्ये १२५ सिट जितिसकेको रास्वपाले समानुपातिकतर्फ पनि बहुमत नजिकको सिट प्राप्त गर्ने सम्भावना देखिएको छ। यसपटक अघिल्लो संसद्का ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले) को उपस्थिति भने उल्लेख्य रूपमा कमजोर बनेको देखिएको छ। प्रत्यक्षतर्फ हालसम्मको नतिजाअनुसार नेपाली कांग्रेसले बढीमा १८ सिट, एमालेले ९ सिट र नेपाली कम्युनिस्ट पार्टी ले ७ सिट जितेका छन्। यस्तै श्रम संस्कृति पार्टी ले ३ सिट, राष्ट्रिय प्रजातन्त्र पार्टी ले १ सिट र एक स्वतन्त्र उम्मेदवार विजयी भएका छन्। निर्वाचन आयोगका अनुसार करिब एक करोड नौ लाख मत खसेकोमा सोमबार साँझसम्म करिब एक करोड मत गणना भइसकेको छ। समानुपातिक मतगणनामा रास्वपाबाहेक नेपाली कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले कानुनअनुसारको थ्रेसहोल्ड कटाएका छन्। प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ६० (११) अनुसार समानुपातिकतर्फ कुल सदर मतको कम्तीमा तीन प्रतिशत मत प्राप्त गर्ने दलले मात्र सिट पाउने व्यवस्था छ। त्यसैगरी राजनीतिक दलसम्बन्धी ऐन २०७३ अनुसार राष्ट्रिय दलको मान्यता पाउन दलले प्रत्यक्षतर्फ कम्तीमा एक सिट जित्नुपर्ने र समानुपातिकतर्फ तीन प्रतिशत थ्रेसहोल्ड कटाउनुपर्ने व्यवस्था गरिएको छ। तर थ्रेसहोल्ड कटाएर पनि प्रत्यक्षमा सिट नजितेको दलले समानुपातिक मतअनुसार सिट भने पाउन सक्छ। समानुपातिक प्रणालीतर्फ दलहरूले पाएको कुल सदर मतका आधारमा सिट निर्धारण गरिन्छ। तर तीन प्रतिशतभन्दा कम मत पाएका दलको मत गणनामा समावेश हुँदैन। त्यसपछि थ्रेसहोल्ड कटाएका दलहरूको कुल मतलाई आधार मानेर ११० सिट बाँडफाँट गरिन्छ। दलहरूले पाएको मतलाई सिट सङ्ख्यामा रूपान्तरण गर्ने विशेष गणनात्मक विधि प्रयोग गरिन्छ, जसका आधारमा प्रत्येक दलले पाउने सिटको संख्या तय हुन्छ। समानुपातिक सिट निर्धारण गर्दा सङ्घीय संसद्मा कम्तीमा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने संवैधानिक व्यवस्था छ। यो प्रतिशत प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैको कुल प्रतिनिधित्वलाई आधार मानेर गणना गर्न सकिने सहुलियत राजनीतिक दललाई दिइएको छ। सिट निर्धारण भएपछि निर्वाचन आयोगले दलहरूलाई उम्मेदवारको सूची पठाउन पत्राचार गर्छ। दलहरूले सिट सङ्ख्याका आधारमा समावेशी समूह मिलाएर उम्मेदवार चयन गरी आयोगमा पठाउनुपर्ने हुन्छ। सूची तयार गर्दा दलहरूले कानुनअनुसार निम्न समुदायको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्छ। जसमा आदिवासी जनजाति, खस–आर्य, मधेसी, थारू मुस्लिम, यसका साथै सम्भव भएसम्म पिछडिएको क्षेत्र र अपाङ्गता भएका व्यक्तिको प्रतिनिधित्व पनि समावेश गर्नुपर्ने प्रावधान छ। यदि कुनै दलले कुल सदस्य सङ्ख्याको १० प्रतिशतभन्दा कम सिट पाएको अवस्थामा पनि कम्तीमा एक तिहाइ महिला हुने गरी सूची पठाउनुपर्ने कानुनी व्यवस्था छ। सूची सच्याउने अवसर दलहरूले पेस गरेको सूचीमा त्रुटि देखिएमा वा समावेशी प्रावधानअनुसार नभएमा निर्वाचन आयोगले पुनः सच्याउने अवसर दिनेछ। समानुपातिकतर्फ एक सिट पनि नपाउने दलको धरौटी रकम जफत हुने व्यवस्था छ। धरौटी जफत नहुने अवस्थामा भने दलहरूले तीन महिनाभित्र रकम फिर्ताका लागि निवेदन दिन सक्नेछन्।
धनुषा–१ मा नेकपाका मातृका यादवले पाए निर्वाचित प्रमाण पत्र
धनुषा । धनुषा निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार मातृकाप्रसाद यादव निर्वाचित भएका छन् । उनले १० हजार ४३० मत प्राप्त गर्दै विजय हासिल गरेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार राम पलट साहले ९ हजार ५०२ मत प्राप्त गरेका छन् । मत परिणामअनुसार यादवले ९२८ मतको अग्रता कायम गर्दै चुनाव जितेका हुन् । यस क्षेत्रको मतगणना शनिबारनै सकिए पनि विजेताको घोषणा तथा प्रमाणपत्र वितरणमा केही समय ढिलाइ भएको थियो । निर्वाचन आयोगले यसअघि उम्मेदवारी खारेज गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साहको उम्मेदवारीसम्बन्धी विषयमा स्पष्ट निर्णय नदिँदा परिणाम घोषणा रोकिएको थियो । यस विषयलाई लिएर नेपाली कम्युनिस्ट पार्टीले पनि आयोगको कदमप्रति आपत्ति जनाएको थियो । पार्टीका केन्द्रीय कार्यालय सचिव गोविन्द आचार्यले सोमबार जारी गरेको प्रेस वक्तव्यमा धनुषा–१ मा आफ्ना उम्मेदवार मातृकाप्रसाद यादव विजयी भएको मत परिणाम सार्वजनिक भइसकेको अवस्थामा पनि निर्वाचन आयोगले प्रमाणपत्र नदिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका थिए । वक्तव्यमा आयोगको २०८२ फागुन १८ गतेको बैठकले निर्वाचन ऐन, २०७४ बमोजिम राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेज गरिसकेको अवस्थामा त्यसपछि शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भई मतगणना समेत सकिएको जनाइएको थियो । आयोगकै निर्देशनअनुसार फागुन २२ गते सबै उम्मेदवारका प्रतिनिधिहरूको उपस्थितिमा मतगणना सम्पन्न भएको र त्यसको परिणामअनुसार मातृकाप्रसाद यादव विजयी भइसकेको नेकपाले जनाएको थियो । तर स्पष्ट मत परिणाम हुँदाहुँदै पनि आयोगले प्रमाणपत्र प्रदान गर्न आलटाल गर्नु तथा निर्वाचन प्रक्रिया र स्थापित विधिविपरीत गतिविधि देखिनु चिन्ताजनक भएको वक्तव्यमा उल्लेख गरिएको थियो । पार्टीले कानुनअनुसार उम्मेदवारी नै खारेज भइसकेको व्यक्तिसँग सम्बन्धित विषयलाई देखाएर प्रमाणपत्र वितरण नगर्नु कानुनसम्मत नदेखिने पनि जनाएको थियो । नेकपाले निर्वाचन आयोगजस्तो संवैधानिक निकायलाई विधिको शासनको पालना गर्दै कुनै पनि राजनीतिक दबाबमा नपरी निष्पक्ष ढंगले काम गर्न आग्रह गरेको थियो । साथै अदालतले पनि कानून र विधिसम्मत ढंगले सही निर्णय गर्ने विश्वास व्यक्त गरेको वक्तव्यमा उल्लेख गरिएको छ । यसबीच व्यापक जनचासो र दबावपछि अन्ततः निर्वाचन आयोगले मातृकाप्रसाद यादवलाई निर्वाचित घोषणा गर्दै प्रतिनिधि सभा सदस्यको प्रमाणपत्र हस्तान्तरण गरेको छ ।
चुनाव हारे पनि जनताको साथ नछोड्ने चौधरीको घोषणा: विकास र जनसेवामा निरन्तर लाग्ने अठोट
उदयपुर । प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ मा उदयपुरको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेर प्रतिस्पर्धा गरेका नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार बलदेव चौधरीले चुनावमा पराजित भए पनि जनताको सेवामा निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले निर्वाचन परिणाम आफ्नो पक्षमा नआए पनि जनताले देखाएको विश्वास, स्नेह र समर्थनलाई आफ्नो राजनीतिक जीवनको महत्वपूर्ण पुँजीका रूपमा ग्रहण गर्दै आगामी दिनमा पनि जनताको मुद्दा र क्षेत्रको विकासका लागि निरन्तर लागिरहने बताएका हुन्। सोमबार गाईघाटस्थित आफ्नै निवासमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै चौधरीले लोकतान्त्रिक व्यवस्थामा चुनाव हार–जित स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै जनताले दिएको निर्णयलाई पूर्ण सम्मानका साथ स्वीकार गरेको बताए। उनले निर्वाचन परिणामलाई लोकतन्त्रको अभ्यासको एउटा महत्वपूर्ण पाटोका रूपमा लिँदै जनमतको सम्मान गर्नु नै लोकतान्त्रिक संस्कार भएको धारणा राखे। चौधरीले भने, “लोकतन्त्रमा हार र जित दुबै स्वाभाविक प्रक्रिया हुन्। जनताले दिएको निर्णयलाई म पूर्ण सम्मानका साथ स्वीकार गर्छु। निर्वाचनको परिणाम हाम्रो पक्षमा नआए पनि नेपाली कम्युनिस्ट पार्टी र आम जनताले मप्रति देखाउनुभएको विश्वास, स्नेह र समर्थनलाई मैले मेरो राजनीतिक जीवनको ठूलो पुँजीका रूपमा लिएको छु।” उनले निर्वाचनका क्रममा घरदैलो अभियान, भेटघाट तथा अन्तरक्रियामा जनतासँग प्रत्यक्ष संवाद गर्ने अवसर पाएको उल्लेख गर्दै त्यसक्रममा सुनेका जनताका समस्या, अपेक्षा, भावना र सपना आगामी दिनमा आफूलाई मार्गनिर्देशक बन्ने बताए। चुनावी अभियानका क्रममा नागरिकले उठाएका विकास, रोजगारी, शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधारसम्बन्धी मुद्दालाई आफूले गम्भीरतापूर्वक आत्मसात् गरेको उनले बताए। चौधरीले निर्वाचनमा विजयी उम्मेदवारलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै जनताको अपेक्षाअनुसार क्षेत्रको विकास, समृद्धि र जनसेवामा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे। उनले भने, “म विजयी हुनुभएका उम्मेदवारलाई हार्दिक बधाई दिन चाहन्छु। उहाँले जनताको अपेक्षाअनुसार क्षेत्रको विकास र जनताको हितमा महत्वपूर्ण काम गर्नुहुनेछ भन्ने विश्वास लिएको छु।” उनले आफू चुनावमा पराजित भए पनि जनताका मुद्दाबाट कहिल्यै टाढा नहुने स्पष्ट पारे। जनताले उठाएका समस्या र विकासका मागहरूलाई सम्बोधन गर्न आफू सधैँ अग्रसर रहने भन्दै उनले पदमा रहेर वा नरहेर पनि समाज र जनताको सेवामा समर्पित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे। “म पराजित भए पनि जनताका मुद्दाबाट हराएको छैन,” उनले भने, “चुनावी अभियानका क्रममा घरदैलोमा पुग्दा मैले जनताका धेरै समस्या सुनेँ। ती समस्या, भावना र सपना मेरा लागि मार्गनिर्देशक बनेका छन्। आगामी दिनमा पनि ती विषयलाई सम्बोधन गर्न निरन्तर प्रयासरत रहनेछु।” चौधरीले चुनावी अभियानका क्रममा विशेष गरी उदयपुर जिल्लाको आर्थिक विकासलाई प्राथमिकतामा राखेर उद्योग, व्यापार तथा पर्यटन प्रवर्द्धन गर्ने विभिन्न योजनाहरू सार्वजनिक गरेका थिए। उनले स्थानीय स्रोत र सम्भावनाको सदुपयोग गर्दै उदयपुरलाई आर्थिक रूपमा सबल र आत्मनिर्भर बनाउने लक्ष्यसहित विकास कार्यक्रम अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए। उनले “साझा लक्ष्य सबैको साथ, उदयपुरको विकासमा मिलाऔँ हात–हात” भन्ने नारासहित उद्योग, व्यापार र पर्यटन प्रवर्द्धनमार्फत ‘उदयपुरको धन अभियान’ सञ्चालन गर्ने योजना सार्वजनिक गरेका थिए। उक्त अभियानमार्फत उदयपुरमा उत्पादन, उद्यमशीलता र रोजगारी सिर्जनामा जोड दिइने उनले बताए। चौधरीका अनुसार उक्त अभियान आगामी वैशाख महिनादेखि औपचारिक रूपमा सुरु गर्ने तयारी गरिएको छ। अभियानमार्फत जिल्लाभित्र उपलब्ध प्राकृतिक स्रोत, कृषि उत्पादन, पर्यटन सम्भावना तथा स्थानीय सीप–कौशलको प्रयोग गर्दै व्यापक आर्थिक गतिविधि विस्तार गर्ने योजना रहेको उनले जानकारी दिए। उनले भने, “उदयपुरको विकासका लागि उद्योग, व्यापार र पर्यटनलाई सँगसँगै अघि बढाउन आवश्यक छ। त्यसका लागि निजी क्षेत्र, स्थानीय तह, उद्यमी तथा सर्वसाधारण नागरिकसँग सहकार्य गर्दै ‘उदयपुरको धन अभियान’ सञ्चालन गर्ने योजना बनाएका छौँ। यस अभियानमार्फत जिल्लामा ठूलो मात्रामा रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको छु।” उनका अनुसार अभियानको दीर्घकालीन लक्ष्य करिब ५० हजार रोजगारी सिर्जना गर्ने रहेको छ। स्थानीय उत्पादनलाई बजारसँग जोड्ने, साना तथा मझौला उद्योगलाई प्रोत्साहन गर्ने, कृषि तथा पर्यटन क्षेत्रलाई आधुनिक र व्यवस्थित बनाउने तथा युवालाई उद्यमशीलतामा जोड्ने कार्यक्रम यस अभियानअन्तर्गत सञ्चालन गरिने उनले बताए। पत्रकार सम्मेलनमा बोल्दै चौधरीले निर्वाचन प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सहयोग गर्ने सबैप्रति आभार पनि व्यक्त गरे। उनले निर्वाचन आयोग, सुरक्षा निकाय, राष्ट्रसेवक कर्मचारी, पत्रकार तथा आफ्नो चुनावी अभियानमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने सबैप्रति धन्यवाद व्यक्त गरेका छन्। “निर्वाचनलाई शान्तिपूर्ण, व्यवस्थित र सफल बनाउन सहयोग गर्ने निर्वाचन आयोग, सुरक्षा निकाय, राष्ट्रसेवक कर्मचारी, पत्रकार साथीहरू तथा मेरो चुनावी अभियानमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण साथीभाइ तथा समर्थकहरूप्रति म हार्दिक आभार व्यक्त गर्न चाहन्छु,” उनले भने। चौधरीले लोकतान्त्रिक प्रक्रियामा जनताको सक्रिय सहभागिता अत्यन्त महत्वपूर्ण हुने उल्लेख गर्दै आगामी दिनमा पनि जनताको आवाजलाई बलियो बनाउने काममा आफू सक्रिय रहने बताए। उनले उदयपुरको विकास, जनताको अधिकार र समृद्ध भविष्यका लागि आफ्नो राजनीतिक तथा सामाजिक अभियान निरन्तर जारी रहने धारणा व्यक्त गरे। उदयपुर क्षेत्र नम्बर १ मा भएको प्रतिस्पर्धात्मक निर्वाचनमा चौधरी तेस्रो स्थान हासिल गर्दै पराजित भएका थिए। निर्वाचन परिणाम आफ्नो पक्षमा नआए पनि जनताको साथ र विश्वासलाई प्रेरणाका रूपमा लिएर जनसेवा र विकासको अभियानलाई निरन्तरता दिने उनले बताएका छन्।
धनुषा–१ मा नेकपाका निर्वाचित उम्मेदवार यादवलाई प्रमाणपत्र नदिएकोप्रति नेकपाकाे आपत्ति, निर्वाचित भएकाे घाेषणा गर्न माग
काठमाडौं । धनुषा जिल्ला निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यका लागि आफ्नो पार्टीका उम्मेदवार मातृकाप्रसाद यादव विजयी भएको मत परिणाम सार्वजनिक भइसकेको अवस्थामा पनि निर्वाचन आयोगले निर्वाचित भएको प्रमाणपत्र नदिएको भन्दै नेपाली कम्युनिस्ट पार्टीले गम्भीर आपत्ति जनाएको छ। पार्टीका केन्द्रीय कार्यालय सचिव गोविन्द आचार्यले सोमबार जारी गरेको प्रेस वक्तव्यमा आयोगको यस कदमप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन। वक्तव्यअनुसार निर्वाचन आयोगको २०८२ फागुन १८ गते बसेको बैठकले निर्वाचन ऐन, २०७४ बमोजिम राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेज गरिसकेको अवस्थामा त्यसपछि शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भई मतगणना समेत सकिएको थियो। आयोगकै निर्देशनअनुसार फागुन २२ गते सबै उम्मेदवारका प्रतिनिधिहरूको उपस्थितिमा मतगणना सम्पन्न भएको र सो मतपरिणामअनुसार नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार मातृकाप्रसाद यादव विजयी भइसकेको पार्टीले जनाएको छ। तर, यस्तो स्पष्ट परिणाम हुँदाहुँदै पनि निर्वाचन आयोगले प्रमाणपत्र प्रदान गर्न आलटाल गर्नु तथा निर्वाचन प्रक्रिया र स्थापित विधि विपरीतका गतिविधि देखिनु चिन्ताजनक रहेको वक्तव्यमा उल्लेख गरिएको छ। पार्टीले कानुनअनुसार उम्मेदवारी नै खारेज भइसकेको व्यक्तिसँग सम्बन्धित भन्दै प्रमाणपत्र वितरण नगर्नु कानुनसम्मत नदेखिने पनि जनाएको छ। नेपाली कम्युनिस्ट पार्टीले निर्वाचन आयोगजस्तो संवैधानिक निकायलाई विधिको शासनको पालना गर्दै कुनै पनि राजनीतिक दबाबमा नपरी निष्पक्ष ढंगले काम गर्न आग्रह गरेको छ। साथै अदालतले पनि कानून र विधिसम्मत ढंगले सही निर्णय गर्ने विश्वास व्यक्त गरेको वक्तव्यमा उल्लेख छ।
रोल्पामा समानुपातिकमा नेकपा पहिलाे
खुमबहादुर सुनार रोल्पा । रोल्पा जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार अन्तिम परिणाम सोमबार सार्वजनिक गरिएको हो। राजनीतिक रूपमा सचेत र परिवर्तनको आधारभूमि मानिने रोल्पामा आएको यो परिणामले जिल्लाको राजनीतिक सन्तुलनमा केही नयाँ संकेत दिएको छ। विगतमा सशस्त्र विद्रोहदेखि शान्तिपूर्ण राजनीतिसम्म महत्त्वपूर्ण भूमिका खेलेको रोल्पाको चुनावी नतिजालाई देशभर चासोका साथ हेरिन्छ। अन्तिम मतपरिणाम अनुसार नेपाली कम्युनिस्ट पार्टी (नेकपा) पहिलो शक्तिका रूपमा उभिएको छ। नेकपाको ‘तारा’ चिन्हमा २५ हजार ६२ मत खसेको छ। प्रत्यक्षतर्फ सोही पार्टीका नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुन निर्वाचित भइसकेका छन्। समानुपातिकतर्फ पनि अग्रता कायम राख्नुले जिल्लामा पार्टीको संगठन बलियो रहेको संकेत गर्छ। यस निर्वाचनको उल्लेखनीय पक्ष भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को मत वृद्धि हो। प्रत्यक्षतर्फ तेस्रो स्थानमा रहेको रास्वपाले समानुपातिकतर्फ दोस्रो स्थान हासिल गरेको छ। रास्वपाले १३ हजार ६ सय ३८ मत प्राप्त गरेको छ। यसले जिल्लामा वैकल्पिक राजनीतिको खोजी भइरहेको संकेत दिएको विश्लेषण गरिएको छ। नेपाली कांग्रेस भने समानुपातिकतर्फ तेस्रो स्थानमा सीमित भएको छ। ‘रुख’ चिन्हमा कांग्रेसले ११ हजार ४ सय ९९ मत प्राप्त गरेको छ। प्रत्यक्षतर्फ कडा प्रतिस्पर्धा गरेको कांग्रेसले समानुपातिक मतमा अपेक्षित परिणाम ल्याउन नसकेको देखिएको छ। त्यसैगरी नेकपा एमाले चौथो स्थानमा रहेको छ। एमालेको ‘सूर्य’ चिन्हमा १० हजार ९ मत खसेको छ। नेकपा माओवादीले ‘गुलाफ’ चिन्हमा २ हजार ६ सय १५ मत प्राप्त गरेको छ। अन्य दलहरूको मत यसप्रकार छ । जसमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ८ सय ८६, श्रम संस्कृति पार्टी ७ सय ८८, जनता लोकतान्त्रिक पार्टी नेपाल–३ मत छ । निर्वाचन कार्यालयका अनुसार समानुपातिकतर्फ कुल ७० हजार १ सय ५४ मत खसेको थियो। जसमध्ये २ हजार ५ सय ७८ मत बदर भएका छन् भने ६७ हजार ५ सय ७६ मत सदर भएका छन्। यसपटक समानुपातिकतर्फ मत बदर हुने दर प्रत्यक्षतर्फको तुलनामा कम रहेको देखिएको छ। प्रत्यक्षतर्फ ३ हजार १ सय ४४ मत बदर भएकाे छ । जिल्लामा कुल ५७ वटा दलका चुनाव चिन्हमा मत खसेको तथ्यांकले मतदाता छनोट निकै फराकिलो रहेको देखाएको छ। प्रत्यक्षतर्फ भने केवल १० वटा दल मात्र चुनावी प्रतिस्पर्धामा थिए। मतगणना प्रक्रिया शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत विनोद खतिवडाले जानकारी दिएका छन्। उनले निर्वाचन सम्पन्न गराउन सहयोग गर्ने राजनीतिक दल, सुरक्षाकर्मी तथा कर्मचारीप्रति धन्यवाद व्यक्त गरेका छन्।
भारत फेरि टी–२० विश्वकप च्याम्पियन
काठमाडौं । भारत फेरि टी–२० विश्वकप च्याम्पियन बनेको छ। यो जितसँगै भारत घरेलु मैदानमा टी–२० विश्वकप जित्ने पहिलो टोली बनेको छ। आइतबार न्युजिल्यान्डसँग भएको फाइनल खेल जित्दै भारतले लगातार दोस्रो पटक उपाधि जित्ने इतिहास रचेको हो। यसअघि दुई पटक विश्वकप जितेका टोलीहरू भए पनि लगातार दुई संस्करण जित्ने उपलब्धि कसैले हासिल गरेका थिएनन्। साथै सबैभन्दा छोटो क्रिकेट संरचना टी–२० विश्वकप तीन पटक जित्ने गौरव पनि भारतले नै हासिल गरेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट रंगशालामा एक लाखभन्दा बढी दर्शकको उपस्थितिमा भएको फाइनलमा भारतले न्युजिल्यान्डलाई ९६ रनले पराजित गर्दै प्रतियोगिताको दसौँ संस्करणको उपाधि जितेको हो। सन् २००७ मा पहिलो संस्करणमै टी–२० विश्वकप जितेको भारतले दोस्रो पटक च्याम्पियन बन्न १७ वर्ष कुर्नुपरेको थियो। सन् २०२४ मा दक्षिण अफ्रिकालाई हराउँदै दोस्रो पटक उपाधि जितेको भारतले यसपटक उपाधि रक्षा गर्दै लगातार दुई संस्करण जित्ने पहिलो टोली बन्न सफल भयो। न्युजिल्यान्डको भने पहिलो पटक टी–२० विश्वकप जित्ने सपना फेरि अधुरै रह्यो। यसअघि सन् २०२१ को फाइनलमा पनि न्युजिल्यान्ड अस्ट्रेलियासँग पराजित भएको थियो। फाइनलमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै २५५ रनको विशाल योगफल खडा गर्यो। पहिलो पावरप्ले सकिँदा भारत बिना विकेटको क्षतिमा ९२ रनको अवस्थामा पुगेको थियो, जुन यस विश्वकपको पावरप्लेमा बनेको सर्वाधिक रन हो। १५ ओभर सकिँदा भारत १ विकेटको क्षतिमा २०३ रनमा पुगेको थियो। तर १६औँ ओभरमा न्युजिल्यान्डका जिमी निसमले तीन विकेट लिएपछि भारतको रनगति केही सुस्त भयो। उक्त ओभरमा उनले सञ्जु सामसन, इशान किसन र कप्तान सूर्यकुमार यादवलाई आउट गरेका थिए। सामसनले ४६ बलमा पाँच चौका र आठ छक्काको मद्दतले ८९ रन बनाएका थिए भने किसनले २५ बलमा चार चौका र चार छक्कासहित ५४ रन जोडे। सामसनको यो लगातार तेस्रो अर्धशतक हो। उनले सुपर–८ को अन्तिम खेलमा वेस्ट इन्डिजविरुद्ध अविजित ९७ तथा सेमिफाइनलमा इङ्ग्ल्यान्डविरुद्ध ८९ रन बनाएका थिए। प्रतियोगिताको सुरुका खेलमा टोलीमा स्थान नपाएका सामसन अन्ततः प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भए। उनले पाँच खेलमा ८०.२५ को औसत र १९९.३७ को स्ट्राइकरेटमा ३२१ रन बनाएका थिए। सामसनसँगै ओपनिङ गरेका अभिषेक शर्माले पनि २१ बलमा तीन छक्का र छ चौकाको मद्दतले ५२ रन बनाए। शिभम दुबेले आठ बलमा अविजित २६ रन जोड्दै टोलीको स्कोर मजबुत बनाए। २५६ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड भने एक ओभर बाँकी रहँदै १५९ रनमा अलआउट भयो। भारतका तेज बलर जसप्रित बुमराहले चार ओभरमा १५ रन खर्चेर चार विकेट लिएपछि न्युजिल्यान्ड लक्ष्यतर्फ अघि बढ्न सकेन। अक्सर पटेलले तीन विकेट लिए। न्युजिल्यान्डका लागि टिम सिफर्टले २६ बलमा दुई चौका र पाँच छक्कासहित ५२ रन बनाए भने कप्तान मिचेल सान्तनरले ४३ रन जोडे। डेरिल मिचेलले १७ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले उल्लेखनीय प्रदर्शन गर्न सकेनन्। उत्कृष्ट बलिङ गरेका बुमराह ‘प्लेयर अफ द म्याच’ घोषित भए। प्रतियोगितामा उनले १४ विकेट लिँदै सर्वाधिक विकेटकर्तामध्ये शीर्षस्थानमा पुगे। भारतकै वरुण चक्रवर्तीले पनि १४ विकेट लिएका थिए। पाकिस्तानका साहिबजादा फरहान प्रतियोगिताका सर्वाधिक रनकर्ता बने। उनले ३८३ रन बनाएका थिए। च्याम्पियन भारतले ट्रफीसहित ३० लाख अमेरिकी डलर पुरस्कार प्राप्त गर्यो, जुन अहिलेसम्मकै सबैभन्दा ठूलो पुरस्कार राशि हो। उपविजेता न्युजिल्यान्डले १६ लाख अमेरिकी डलर पायो। यसैबीच समूह चरणबाट बाहिरिएका टोलीलाई प्रदान गरिने दुई लाख ५० हजार अमेरिकी डलर पुरस्कार नेपालले पनि प्राप्त गरेको थियो। नेपालले यस प्रतियोगितामा इङ्ग्ल्यान्ड, वेस्ट इन्डिज र इटालीसँग हार बेहोरेको थियो भने स्कटल्यान्डलाई पराजित गरेको थियो।
राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यको शपथ आज
काठमाडौं । राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यहरूले आज (सोमबार) पद तथा गोपनीयताको शपथ लिने भएका छन्। शपथ कार्यक्रम दिउँसो २ बजे सिंहदरबारस्थित कानुन, न्याय तथा मानव अधिकार समितिको हलमा हुने जनाइएको छ। नवनिर्वाचित सदस्यहरूलाई राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल ले पद तथा गोपनीयताको शपथ गराउने छन् । सङ्घीय संसद् सचिवालयका सहायक प्रवक्ता अनन्तप्रसाद कोइरालाका अनुसार गत माघ ११ गते निर्वाचित भएका राष्ट्रिय सभाका १८ जना सदस्यलाई शपथ समारोहमा उपस्थित हुन सचिवालयले अनुरोध गरेको छ। शपथ ग्रहणका लागि नवनिर्वाचित सदस्यहरूले निर्वाचित भएको प्रमाणपत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि एक–एक प्रति साथमा ल्याउनुपर्ने व्यवस्था गरिएको छ। शपथग्रहण कार्यक्रमपछि अध्यक्ष दाहालले संक्षिप्त धारणा राख्ने कार्यक्रम पनि तय गरिएको छ। यसैबीच, कार्यकाल सकिएका २० जना राष्ट्रिय सभा सदस्यको बिदाइ कार्यक्रम पनि आजै राखिएको छ। सङ्घीय संसद् सचिवालयका अनुसार बिदाइ कार्यक्रम अपराह्न ४ बजे नयाँ बानेश्वरस्थित एक होटेलमा आयोजना हुनेछ। सो अवसरमा नवनिर्वाचित सदस्यलाई सभाको ‘लोगो’ प्रदान गरिनेछ भने कार्यकाल सकिएका सदस्यलाई मायाको चिनो दिइने कार्यक्रम रहेको छ।
सिन्धुपाल्चोक-२ मा नेकपाका युवराज दुलाल निर्वाचित
सिन्धुपाल्चोक । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर–२ मा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार युवराज दुलाल निर्वाचित भएका छन्। निर्वाचन आयोगले सार्वजनिक गरेको मतपरिणामअनुसार दुलालले २१ हजार ६ सय ९९ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका वंशलाल तामाङले १९ हजार १ सय ४६ मत प्राप्त गरेका छन्। यसैगरी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) का शेरबहादुर तामाङले १५ हजार ९ सय २६ मत ल्याएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका झलक कुमार श्रेष्ठले १४ हजार १९ मत प्राप्त गरेका छन्। अन्य उम्मेदवारमध्ये राष्ट्रिय प्रजातन्त्र पार्टीका गोपी कृष्ण चौलागाईंले १ हजार ६ सय ८१, उज्यालो नेपाल पार्टीका राम सिङ तामाङले १ हजार २ सय ३८ मत प्राप्त गरेका छन्। त्यस्तै मंगोल नेशनल अर्गनाइजेसनका कर्णवीर स्यांवु लामाले १५९, श्रम संस्कृति पार्टीका भानु श्रेष्ठले १२९, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का सोमान लामाले १२१ र राष्ट्रिय मुक्ति पार्टी नेपालका मिङमर तामाङले ९९ मत प्राप्त गरेका छन्। यसैगरी नागरिक सर्वोच्चता पार्टी नेपालका सेरबहादुर तामाङले ४७, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका दावा छिरिङ शेर्पाले २९ मत प्राप्त गरेका छन्। स्वतन्त्र उम्मेदवारहरू विजु श्रेष्ठले २५, दीपक ढकालले २४ र सुन्दर अधिकारीले ११ मत प्राप्त गरेका छन्। नेपाल मजदुर किसान पार्टीका म्हेन्दो तामाङले १७, आम जनता पार्टीका गणेशबहादुर श्रेष्ठले ११ र मितेरी पार्टी नेपालका महेश कुँवरले ४ मत प्राप्त गरेका छन्। यस निर्वाचन क्षेत्रमा कुल धेरै दल तथा स्वतन्त्र उम्मेदवारको प्रतिस्पर्धा भए पनि अन्ततः नेपाली कम्युनिष्ट पार्टीका युवराज दुलालले अग्रता कायम राख्दै प्रतिनिधिसभा सदस्यमा विजय हासिल गरेका हुन्।
जेनजी प्रदर्शन छानबिन प्रतिवेदन: तत्कालीन प्रधानमन्त्री ओलीसहित उच्च अधिकारीलाई फौजदारी कारबाही गर्न सिफारिस
काठमाडौँ। जेनजी प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनाबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ। करिब पाँच महिनाको अनुसन्धानपछि आयोगले आइतबार प्रधानमन्त्री सुशीला कार्कीलाई विस्तृत प्रतिवेदन हस्तान्तरण गरेको हो। पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठित आयोगमा पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मा र कानुन व्यवसायी विश्वेश्वर भण्डारी सदस्य रहेका थिए। प्रतिवेदन बुझाएपछि सञ्चारकर्मीसँग कुरा गर्दै सदस्य शर्माेले घटनामा गल्ती गर्नेहरूलाई कारबाही गर्न स्पष्ट सिफारिस गरिएको बताए। उनका अनुसार प्रतिवेदन करिब ९ सय पृष्ठभन्दा बढीको रहेको छ र त्यसमा विस्तृत अनुसूचीहरू समेत समेटिएका छन्। ओलीसहित उच्च अधिकारीविरुद्ध कारबाही सिफारिस आयोगले भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका घटनाबारे छुट्टाछुट्टै निष्कर्ष र सुझाव दिएको छ। पहिलो दिन काठमाडौँको नयाँ बानेश्वर क्षेत्रमा भएको झडपमा प्रहरीको गोली लागेर घटनास्थलमै तथा उपचारका क्रममा २१ जनाको मृत्यु भएको थियो। उक्त घटनामा आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र काठमाडौँ जिल्ला सुरक्षा समितिका तत्कालीन अध्यक्षलाई मुख्य रूपमा जिम्मेवार ठहर गर्दै उनीहरूविरुद्ध फौजदारी कानुनअनुसार कारबाही अघि बढाउन सरकारलाई सिफारिस गरेको छ। आयोग स्रोतका अनुसार सरकार प्रतिवेदनअनुसार अघि बढेमा तत्कालीन प्रधानमन्त्री ओली तथा काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजालविरुद्ध मुलुकी अपराध संहिता–२०७४ अनुसार मुद्दा चल्न सक्नेछ। प्रदर्शनका क्रममा गोली चलाउने आदेश प्रमुख जिल्ला अधिकारी रिजालले दिएको भन्दै त्यतिबेला व्यापक आलोचना भएको थियो। गृहमन्त्री र प्रहरी नेतृत्वमाथि पनि प्रश्न घटनाका बेला गृह मन्त्रालयको नेतृत्व रमेश लेखकले गरिरहेका थिए भने गृहसचिव गोकर्णमणि दुवाडी र प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ थिए। प्रदर्शनकारीहरूले संसद् भवन घेरेपछि प्रहरी महानिरीक्षक खापुङले सञ्चार उपकरण ‘वाकीटकी’मार्फत गोली चलाउन निर्देशन दिएको फिल्डमा खटिएका अधिकारीहरूले बताएका छन्। आयोग स्रोतका अनुसार तत्कालीन गृहमन्त्री लेखकलाई समेत कानुनी दायरामा ल्याउनुपर्ने सिफारिस गरिएको छ। दोस्रो दिनको आगजनी र लुटपाटबारे पनि अभियोजन सिफारिस आयोगले भदौ २४ गते भएका आगजनी, तोडफोड र लुटपाटका घटनामा संलग्न व्यक्तिहरूलाई सम्बन्धित कसुरमा अभियोजन गर्न सरकारलाई सुझाव दिएको छ। जेनजी आन्दोलन र सरकारबीच भएको सम्झौताअनुसार घटनामा संलग्नहरूको पहिचान गरी छानबिन तथा स्क्रिनिङ गरेर अभियोजन गर्नुपर्ने उल्लेख थियो। आयोगले छानबिनपछि ज्यान मार्ने उद्योग, संगठित अपराध तथा लुटपाटजस्ता कसुरमा संलग्न व्यक्तिहरूलाई फौजदारी मुद्दा चलाउन सिफारिस गरेको जनाएको छ। सम्झौतापछि गठन भएको थियो आयोग जेनजी आन्दोलनका प्रतिनिधि र सरकारबीच मङ्सिर २४ गते १० बुँदे सम्झौता भएको थियो। सो सम्झौताअनुसार प्रदर्शनका क्रममा अत्यधिक बल प्रयोग गर्ने तथा हिंसात्मक गतिविधिमा संलग्न दुवै पक्षबारे निष्पक्ष छानबिन गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठन गरिएको थियो। जेनजी प्रदर्शनका क्रममा कुल ७६ जनाको मृत्यु भएको थियो। पहिलो दिन गोलीकाण्डमा २१ जनाको ज्यान गएको थियो भने अन्य घटनामा प्रदर्शनकारी, कैदीबन्दी तथा बालबन्दी समेतको मृत्यु भएको थियो। आयोगले घटनामा मृत्यु भएका व्यक्तिहरूको विवरण पनि प्रतिवेदनमा समेटेको छ र पीडित परिवारलाई न्याय सुनिश्चित गर्न सरकारलाई आवश्यक कदम चाल्न आग्रह गरेको छ।
हार-जित अस्थायी, जनताको मुद्दा स्थायी: नेकपा उदयपुर २ को स्पष्ट सन्देश
उदयपुर । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ सम्पन्न भएसँगै नेपाली कम्युनिष्ट पार्टी (नेकपा) उदयपुर क्षेत्र नं. २ ले निर्वाचनमा सहयोग गर्ने सम्पूर्ण मतदाता, नेता–कार्यकर्ता तथा शुभेच्छुकप्रति आभार व्यक्त गर्दै आगामी दिनमा जनताको पक्षमा अझ सशक्त रूपमा काम गर्ने प्रतिबद्धता जनाएको छ। नेकपा उदयपुर क्षेत्र नं. २ का निर्वाचन परिचालन समिति संयोजक तथा केन्द्रीय सदस्य मोहनबहादुर खत्रीले आइतबार एक वक्तव्य जारी गर्दै फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पार्टीका उम्मेदवार सुरेश कुमार राईलाई तारा चिन्हमा मतदान गर्ने उदयपुर क्षेत्र नं. २ का सम्पूर्ण मतदाताप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेका छन् । खत्रीकाे वक्तव्यमा निर्वाचनका क्रममा अहोरात्र खटिएका पार्टीका नेता–कार्यकर्ता तथा सहयोगी शुभेच्छुकहरूको योगदानको उच्च प्रशंसा गर्दै सबैप्रति विशेष धन्यवाद व्यक्त गरिएको छ । संयोजक खत्रीले लोकतान्त्रिक व्यवस्थामा चुनावमा विजय र पराजय स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै यस परिणामलाई गम्भीरतापूर्वक समीक्षा गरी वैचारिक, राजनीतिक तथा संगठनात्मक सुदृढीकरण तथा रूपान्तरणका साथ अगाडि बढ्ने बताएका छन् । उनले नेकपाका लागि चुनावी हार–जित अस्थायी विषय भए पनि जनताको हित, जनजीविका र विकासका मुद्दा स्थायी रहने दाबी गरेका छन् । उनले संयमता, धैर्यता र उच्च मनोबलका साथ विचलित नभई जनताको प्रगति र विकासका लागि निरन्तर सक्रिय रहन पार्टी पंक्तिलाई आह्वान गरेका छन् । “जनताको सुख–दुःखको साथी नेपाली कम्युनिष्ट पार्टी हो भन्ने विश्वास स्थापित गर्न अझ दृढतापूर्वक अघि बढ्नुपर्छ,” वक्तव्यमा उल्लेख गरिएको छ । त्यसैगरी मुलुकको समृद्धि र विकासका लागि प्रतिबद्ध रहँदै समाजवादको आधार तयार पार्ने दिशामा फराकिलो बाटो निर्माण गर्नुपर्नेमा पनि जोड दिइएको छ । वक्तव्यमा प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराउन भूमिका खेल्ने निर्वाचन आयोग, निर्वाचनमा खटिएका कर्मचारी, सम्पूर्ण सुरक्षा निकाय, सञ्चारकर्मी तथा सरोकारवाला सबैलाई धन्यवाद व्यक्त गरिएको छ । साथै उदयपुर क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य पदमा विजयी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सूर्यबहादुर तामाङलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ ।
नेकपाबाट डोल्पामा बुढा निर्वाचित
काठमाडौं । डोल्पामा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उमेदवार धनबहादुर बुढा विजयी भएका छन् । बुढा ६ हजार ८०२ मतसहित विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका लंकबहादुर रोकायाले पाँच हजार ३९६ मत पाए । कांग्रेसका कर्णबहादुर बुढाले दुई हजार ९४७ मत ल्याएर तेस्रो हुँदा रास्वपाकी उमेदवार देवसिंह ऐडीले १८१ मत मात्र प्राप्त गदै चौथो स्थान प्राप्त गरेकी छन् ।
सल्यानमा नेकपाबाट निर्वाचित मल्ल काे हुन् ?
सल्यान । नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार रमेश कुमार मल्ल सल्यानबाट निर्वाचित भएका छन् । उनि कुल २३,१८९ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । निकटतम प्रतिद्वन्द्वी, राष्ट्रिय स्वतन्त्र पार्टीका ललित कुमार चन्दले २०,९०४ मत पाए । यसरी मल्लले चन्दलाई २,२८५ मतान्तरले पराजित गरेका हुन् । त्यस्तै, नेपाली कांग्रेसका केश बहादुर विष्टले १७,५५८ मत, नेकपा एमालेका गुलाब जंग शाहले १५,३७३ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीकी अनिषा नेपालीले ९०२ मत प्राप्त गरे । सल्यानमा कुल १,६२,४४९ मतदाता रहेका थिए, जसमा ८३,१६७ मत खसेको थियो। त्यसमध्ये ३,४५८ मत बदर भएको थियो भने ७९,४४९ मत मान्य ठहरिएका मुख्य निर्वाचन अधिकृतको कार्यालय, सल्यानले जनाएको छ। रमेश मल्ल को हुन्? ४७ वर्षीय रमेश कुमार मल्ल विद्यार्थी राजनीतिबाट उठेका नेता हुन्। उनि सल्यान, कुमाख गाउँपालिका–५, बाल्लेमा २८ माघ २०३५ मा जन्मेका थिए । विगत तीन दशकदेखि राजनीतिमा सक्रिय छन् । २०५० सालमा मल्लले तत्कालीन माओवादी निकट अनेरास्ववियु (क्रान्तिकारी) को सदस्यता लिएर विद्यार्थी आन्दोलनमा सक्रिय भए । २०५३ सालमा शीतल उच्च मावि इकाई समिति सदस्य, २०५४ सालमा क्रान्तिकारी विद्यार्थी संगठन सल्यान जिल्ला समिति सदस्य र २०५६ सालमा जिल्ला अध्यक्ष बनेका थिए। उनले २०७१ फागुनदेखि २०७२ श्रावणसम्म त्रिभुवन विश्वविद्यालय सभाका सदस्य (सिनेटर) र २०७३ साउनदेखि २०७४ जेठसम्म पहिलो पटक तथा २०७९ पुसदेखि २०८१ असारसम्म दोस्रो पटक प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) का स्वकीय सचिवको रूपमा काम गरेका छन् । शिक्षामा, मल्लले प्रारम्भिक शिक्षा गाउँकै अरनिको प्रा.वि. बाट, माध्यमिक शिक्षा शीतल उ.मावि, चौरजहारीबाट पूरा गरि पछि त्रिभुवन विश्वविद्यालयबाट राजनीतिक शास्त्रमा स्नातकोत्तर गरेका छन् । संसदीय राजनीतिमा मल्ल पहिलो पटक सहभागी भएका हुन् । जनयुद्धकालका १० वर्षे कठिन भूमिगत जीवन र शान्तिपछि २० वर्ष राजनीतिक उतारचढाव तथा पार्टीका विभिन्न अन्तरविरोधमा सक्रिय रहेका मल्लले पहिलोपटक जनतासामु परीक्षित हुने अवसर पाएका छन् ।

