होर्मुजपछि ‘रेड सी’ पनि बन्द गर्ने इरानको चेतावनी
काठमाडौं । होर्मुज जलमार्ग बन्द भई विश्वव्यापी तेल संकट गहिरिँदै गएको अवस्थामा इरानले अब रेड सी समेत अवरुद्ध गर्न सक्ने चेतावनी दिएको छ। इरानले रेड सीको प्रवेशद्वार मानिने बाब अल–मन्देब स्ट्रेट बन्द गर्ने संकेत गरेको हो।
होर्मुज जलमार्गबाट विश्वको कुल तेल आपूर्तिको करिब २० प्रतिशत तथा रेड सीमार्ग हुँदै १०–१२ प्रतिशत तेल ओसारपसार हुने गर्छ। यी दुवै मार्ग अवरुद्ध भए विश्वव्यापी ऊर्जा आपूर्ति गम्भीर संकटमा पर्ने आकलन गरिएको छ।
इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई लक्षित गर्दै चेतावनी दिएको छ कि यदि अमेरिकाले इरानी भूभाग वा टापुहरूमा हस्तक्षेप वा कब्जा गर्ने प्रयास गरेमा बाब अल–मन्देब क्षेत्रमा पनि नियन्त्रण स्थापित गरिनेछ।
इरानको अर्ध–सरकारी समाचार संस्था तस्निम समाचार एजेन्सीका अनुसार, यमनस्थित इरान समर्थित हुती विद्रोहीमार्फत उक्त जलमार्गमा जहाजहरूमाथि आक्रमण सुरु गर्न सकिने संकेत दिइएको छ। इरानले आफ्नो सीमाभन्दा बाहिरका रणनीतिक क्षेत्रमा समेत प्रभाव पार्ने क्षमता रहेको दाबी गरेको छ।
बाब अल–मन्देब किन महत्त्वपूर्ण छ ?
यो जलमार्ग जिबुटी र यमनबीच अवस्थित छ, जसले रेड सीलाई गल्फ अफ एडेन हुँदै अरब सागरसँग जोड्छ। यो मार्ग युरोप, एसिया र मध्यपूर्वबीचको व्यापार तथा तेल ढुवानीका लागि सबैभन्दा छोटो र महत्त्वपूर्ण मार्गमध्ये एक हो।
यदि यो मार्ग बन्द भयो भने जहाजहरू अफ्रिकाको केप अफ गुड होप घुमेर जानुपर्ने हुन्छ, जसले समय र लागत दुवै उल्लेखनीय रूपमा बढाउँछ।
इरानी संसदका सभामुख मोहम्मद बाकर कालिबाफले छिमेकी देशहरूले इरानविरुद्ध सहयोग गरे त्यस्ता देशमाथि पनि आक्रमण गरिने चेतावनी दिएका छन्। ‘अपरेशन एपिक फ्युरी’ सुरु भएपछि इरानले खाडी क्षेत्रका अमेरिकी सैन्य आधारहरू लक्षित गर्दै गतिविधि तीव्र बनाएको जनाएको छ।
पश्चिमा राष्ट्रहरूले होर्मुजलाई सुरक्षित बनाउने प्रयास गरिरहेका भए पनि स्थिति पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन। हुती समूहका आक्रमणहरू रोक्न अर्बौं डलर खर्च गरिए पनि पूर्ण सुरक्षा सुनिश्चित हुन सकेको छैन।
होर्मुज क्षेत्रमा इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोरसँग अत्याधुनिक ब्यालिस्टिक मिसाइल, सशस्त्र ड्रोन, समुद्री माइन तथा तीव्र गतिका आक्रमणकारी डुंगाहरू रहेको बताइएको छ। विज्ञहरूका अनुसार, होर्मुजको सुरक्षा सुनिश्चित गर्नु रेड सीको तुलनामा धेरै जटिल र चुनौतीपूर्ण छ।
विश्वव्यापी प्रभाव र संयुक्त राष्ट्रको चिन्ता
होर्मुज संकटका कारण अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य आकासिएको छ, जसले इन्धन, खाद्यान्न र यातायात खर्चमा व्यापक वृद्धि गराएको छ। संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले न्यूयोर्कमा आयोजित पत्रकार सम्मेलनमा चेतावनी दिँदै भने, “विश्व ठूलो द्वन्द्वतर्फ उन्मुख भइरहेको छ, अब कूटनीतिक समाधान खोज्ने समय आएको छ।”
हाल विश्वको ध्यान होर्मुज र बाब अल–मन्देबजस्ता रणनीतिक समुद्री मार्गहरूमा केन्द्रित छ। यी मार्गहरूको सुरक्षा अब केवल सैन्य विषय नभई विश्वव्यापी आर्थिक स्थिरताको प्रमुख आधार बनेको छ।
संयुक्त राष्ट्र सुरक्षा परिषदमा होर्मुज जलमार्गलाई सुरक्षित बनाउने विषयमा गहन छलफल भइरहेको छ। केही राष्ट्रहरूले कडा सैन्य कदमको पक्ष लिएका छन् भने अमेरिका र उसका सहयोगीहरू सतर्क रूपमा अगाडि बढिरहेका छन्।
विज्ञहरूका अनुसार, होर्मुजमा सुरक्षित आवागमन पूर्ण रूपमा पुनःस्थापित हुन अझै केही महिना लाग्न सक्छ। यसका लागि सैन्य एस्कर्ट, समुद्री माइन सफाइ तथा हवाई निगरानी आवश्यक हुनेछ। तर, ड्रोन र मिसाइलजस्ता अप्रत्याशित आक्रमणको जोखिम भने कायम रहनेछ।
मार्च २०२६ सम्म आइपुग्दा कच्चा तेलको मूल्य प्रति ब्यारेल १२६ अमेरिकी डलरसम्म पुगेको छ भने यस मार्गबाट हुने ढुवानीमा करिब ९५ प्रतिशत गिरावट आएको अनुमान गरिएको छ।
कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने कदमबाट राजनीतिक पूर्वाग्रह वा द्वन्द्व सिर्जना नगर्न नेकपाको चेतावनी
काठमाडौं । नयाँ प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको मन्त्रिपरिषद गठन भएयता, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले सरकारले चाल्न लागेको कदमप्रति गम्भीर ध्यानाकर्षण गरेको छ। नेकपाले शनिबार जारी प्रेस विज्ञप्तिमा भाद्र २३ र २४ गतेका घटनाको छानबिनका लागि गठन गरिएको गाैरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा सरकारले कानुनी प्रक्रिया, विधिको शासन र निष्पक्षताको उल्लङ्घन नगरोस् भन्दै चेतावनी दिएको हाे। पार्टीका केन्द्रीय कार्यालयका गणेशमान पुनले भनेका छन्, "कुनै पनि कदम चाल्दा राजनीतिक पूर्वाग्रह वा द्वन्द्व सिर्जना हुने कार्य नहोस्।" यसअघि प्रतिनिधिसभाको निर्वाचनबाट बहुमत हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टी का नेता बालेन प्रधानमन्त्री नियुक्त भएका छन्। नेकपाले नयाँ सरकारले लोकतन्त्र र शान्ति कायम राख्ने आशा व्यक्त गरेको छ। बहुमत प्राप्त दल, राष्ट्रिय स्वतन्त्र पार्टीका नेता श्री बालेन्द्र शाह (बालेन) प्रधानमन्त्री नियुक्त भएका छन्। बालेनको नेतृत्वमा नयाँ मन्त्रिपरिषद गठन भएको छ। यस सन्दर्भमा नेकपाले बालेनको प्रधानमन्त्री नियुक्ति र मन्त्रिपरिषद गठनप्रति बधाई ज्ञापन गर्दै शुभकामना व्यक्त पनि गरेकाे छ।
ओली र लेखक पक्राउ: कति दिन थुनिन्छन् ? अब के हुन्छ अदालती प्रक्रिया ?
काठमाडौं । नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेसँगै अब उनीहरूको अदालती प्रक्रिया र थुनामा बस्ने अवधि कति हुन्छ भन्ने चासो बढेको छ । प्रहरीले दुवैलाई ‘ज्यानसम्बन्धी कसूर’ अन्तर्गत जरुरी पक्राउ पुर्जी जारी गर्दै शनिबार बिहान नियन्त्रणमा लिएको हो । कानूनअनुसार पक्राउ परेका व्यक्तिलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउनुपर्ने भएकाले उनीहरूलाई आइतबार काठमाडौं जिल्ला अदालतमा पेश गरिनेछ । पहिलो चरणमा थुनाम्याद थप हुनु सक्छ । अदालतमा उपस्थित गराइएपछि प्रारम्भिक रूपमा ‘पक्राउ पुर्जी समर्थन’ गरिन्छ र त्यसपछि अनुसन्धानका लागि थुनाम्याद थप माग गरिन्छ । नायब महान्यायाधिवक्ता संजिवराज रेग्मी का अनुसार ज्यानसम्बन्धी कसूरमा अदालतको अनुमति लिएर अधिकतम २५ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न सकिन्छ । कस्तो मुद्दा लाग्न सक्छ? पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले उनीहरूमाथि ‘हेलचेक्र्याइँ गरी ज्यान मारेको’ ठहर गरेको छ । यस आधारमा मुलुकी अपराध संहिता, २०७४ का दफा २८१, २८२ र २८३ आकर्षित हुन सक्छन् । यस कसूरमा अधिकतम ३ वर्ष कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ । तर, फौजदारी कानूनका विज्ञ प्रा.डा. रजितभक्त प्रधानाङ्ग का अनुसार मुद्दा यत्तिमै सीमित नहुन पनि सक्छ । उनका अनुसार कर्तव्य ज्यान’, ‘ज्यान मार्ने उद्योग’, ‘संगठित अपराध’, ‘सम्पत्ति शुद्धीकरण’, जस्ता थप अभियोगहरू पनि अनुसन्धानका क्रममा जोडिन सक्ने सम्भावना छ । यदि मुद्दा संगठित अपराधतर्फ गयो भने अवस्था झन गम्भीर बन्न सक्छ । मुलुकी अपराध संहिता, २०७४ को दफा ४२ र ४४ अनुसार अनुसन्धानका लागि ९० दिनसम्म थुनामा राख्न सकिने छ । यसमा सजाय पनि थप कडा हुने सम्भावना हुन्छ । पक्राउको कारण एउटै व्यहोरा छ । जिल्ला प्रहरी परिसर काठमाडौंले जारी गरेको पक्राउ पुर्जीमा दुवै नेताविरुद्ध एउटै व्यहोरा उल्लेख गरिएको छ । ज्यानसम्बन्धी कसूरको अनुसन्धानका लागि तत्काल पक्राउ गर्नुपरेको दाबी छ । यो कदम भदौ २३–२४ मा भएको जनआन्दोलनसम्बन्धी घटनाको जाँचबुझ आयोगको सिफारिसपछि लिइएको हो ।
बालेन प्रधानमन्त्री बने, मन्त्रीहरूले पनि लिए शपथ
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)ले नेपालको प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित विशेष समारोहमा ३६ वर्षीय शाहलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। यसअघि राष्ट्रपति पौडेलले नेपालको संविधान २०७२ को धारा ७६ (१) अनुसार प्रतिनिधिसभामा बहुमत प्राप्त दलको नेताका रूपमा शाहलाई प्रधानमन्त्री नियुक्त गरेका थिए। संविधान जारी भएयता उक्त धाराअन्तर्गत प्रधानमन्त्री नियुक्त भएको यो पहिलो पटक हो। साथै, मधेशी समुदायबाट प्रधानमन्त्री बन्ने उनी पहिलो व्यक्ति समेत बनेका छन्। काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर फागुन २१ मा सम्पन्न निर्वाचनमा सहभागी भएका शाह पहिलोपटक संसद् प्रवेश गरेलगत्तै प्रधानमन्त्री बनेका हुन्। उनले झापा क्षेत्र नम्बर ५ बाट पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई झण्डै ५० हजार मतान्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा विजय हासिल गरेका थिए। यसैबीच, शीतलनिवासमै आयोजित समारोहमा नवनियुक्त मन्त्रीहरूले पनि पद तथा गोपनीयताको शपथ लिएका छन्। शपथ ग्रहण कार्यक्रममा बटुकद्वारा स्वस्तिवाचन र लामाद्वारा मंगलवाचन गरिएको थियो। प्रधानमन्त्री शाहले रक्षा र उद्योग मन्त्रालयको जिम्मेवारी आफैंसँग राखेका छन्। मन्त्रिपरिषद्मा दोस्रो वरीयतामा रहेका स्वर्णिम वाग्ले अर्थमन्त्री बनेका छन् भने तेस्रो वरीयतामा रहेका सुधन गुरुङले गृह मन्त्रालय सम्हालेका छन्। यस्तै, शिशिर खनाल परराष्ट्रमन्त्री, सुनिल लम्साल भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकासमन्त्री, विराजभक्त श्रेष्ठ ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री बनेका छन्। त्यसैगरी, खड्कराज पौडेल पर्यटनमन्त्री, सस्मित पोखरेल शिक्षा, विज्ञान तथा प्रविधि तथा युवा तथा खेलकुद मन्त्री, निशा मेहता स्वास्थ्य तथा जनसंख्या मन्त्री र विक्रम तिमिल्सिना सञ्चार मन्त्री बनेका छन्। सामान्य प्रशासन मन्त्रालय प्रतिभा रावललाई दिइएको छ भने दीपक साह श्रम मन्त्री र सोविता गौतम कानुन मन्त्री बनेका छन्। साथै, सीता वादी महिला, बालबालिका मन्त्री नियुक्त भएकी छन्।
हिजाे र्याप सार्वजानिक गरेका बालेनकाे आज प्रधानमन्त्रीकाे शपथ
काठमाडौं । बालेन्द्र शाह (बालेन) हिजो मात्रै र्याप सार्वजनिक गरेर चर्चामा आएका छन् भने आज देशको नयाँ प्रधानमन्त्रीका रूपमा शपथ लिँदै छन्। सांगीतिक अभिव्यक्ति र राजनीतिक उचाइ एकैसाथ देखिएको यो क्षणले उनको व्यक्तित्वको फरक आयाम प्रस्तुत गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता समेत रहेका शाहले हिजो ‘जय महाँकाली’ बोलको र्याप आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेका थिए। राष्ट्रिय भावना, संघर्ष र परिवर्तनको सन्देश बोकेको उक्त र्याप सार्वजनिक भएको भोलिपल्टै उनी मुलुकको कार्यकारी नेतृत्व सम्हाल्न तयार भएका छन्। आज (चैत १३) मध्याह्न १२ बजेर ३४ मिनेटमा शीतल निवास मा रामचन्द्र पौडेल ले शाहलाई प्रधानमन्त्री पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय गरिएको छ। शपथपछि दिउँसो २:१५ बजे सिंहदरबार पुगेर उनले औपचारिक रूपमा पदभार ग्रहण गर्नेछन्। हिजो सार्वजनिक गरिएको र्यापमा “जसरी पनि क्रान्ति गर्ने” अठोट व्यक्त गरेका शाहले आजबाट त्यो प्रतिबद्धतालाई व्यवहारमा रूपान्तरण गर्ने अवसर पाएका छन्। चुनावी अभियानका दृश्य समेटिएको भिडियोसहितको उक्त र्यापले उनको राजनीतिक यात्राको सन्देशसमेत बोकेको छ। सांगीतिक प्लेटफर्मबाट सन्देश दिने नेतादेखि कार्यकारी प्रमुख बन्ने यात्राले शाहलाई नेपाली राजनीतिमा फरक पहिचान दिलाएको छ। अब भने उनको अभिव्यक्ति र कार्यान्वयनबीचको सन्तुलनमा सबैको ध्यान केन्द्रित हुने देखिएको छ।
इरान युद्ध: होर्मुज जलमार्ग प्रयोग गर्न पाँच मित्रराष्ट्रलाई अनुमति
काठमाडौं । पश्चिम एसियामा बढ्दो तनाव र युद्धको अवस्थाबीच इरानले रणनीतिक रूपमा महत्वपूर्ण होर्मुज जलमार्ग आंशिक रूपमा खुला राख्दै आफ्ना पाँच मित्रराष्ट्रका जहाजलाई आवतजावत गर्न दिने घोषणा गरेको छ। इरानका विदेशमन्त्री अब्बास अराघचीले सरकारी टेलिभिजनलाई दिएको अन्तर्वार्तामा भारत, रुस, चीन, पाकिस्तान र इराकका जहाजलाई यो मार्गबाट सुरक्षित रूपमा सञ्चालन गर्न अनुमति दिइएको बताएका छन्। उनका अनुसार यी देशहरूसँग इरानको मैत्रीपूर्ण सम्बन्ध रहेकाले विशेष व्यवस्था गरिएको हो। अराघचीले भने, “धेरै जहाज मालिकहरूले सुरक्षित मार्ग सुनिश्चित गरिदिन अनुरोध गरेका छन्। हामीले मित्रराष्ट्र र विशेष कारणले छनोट गरिएका देशहरूका लागि हाम्रा सशस्त्र बलमार्फत सुरक्षित मार्ग उपलब्ध गराएका छौँ।” उनले थप्दै हालै चीन, रुस, पाकिस्तान, इराक र भारतका जहाजहरू उक्त जलमार्ग हुँदै सुरक्षित रूपमा गुज्रिएको जानकारी दिए। बंगलादेशका जहाजहरूले पनि समन्वय गरिरहेको उनले बताए। उनका अनुसार यस्तो व्यवस्था युद्धपछिसम्म पनि निरन्तर रहनेछ। तर, इरानले अमेरिका, इजरायल तथा खाडी क्षेत्रका केही देशलाई ‘शत्रु’को रूपमा उल्लेख गर्दै तिनका जहाजलाई भने होर्मुज जलमार्ग प्रयोग गर्न नदिने स्पष्ट पारेको छ। “हामी युद्धको अवस्थामा छौँ। यो क्षेत्र युद्ध क्षेत्र हो। त्यसैले हाम्रा शत्रु र उनीहरूका सहयोगीका जहाजलाई यहाँबाट जान दिने कुनै कारण छैन,” अराघचीले भने। उनले इरानले देखाएको नियन्त्रण र प्रभावप्रति सन्तुष्टि व्यक्त गर्दै आंशिक नाकाबन्दीको निर्णयलाई समयले पुष्टि गरेको दाबी गरेका छन्। (एजेन्सी)
नवनिर्वाचित सांसदहरूको शपथ सम्पन्न
काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको शपथग्रहण कार्यक्रम सम्पन्न भएको छ। प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सांसदहरूलाई शपथ गराएका हुन्। संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले शपथअघि सबै सांसदहरूलाई स्वागत गर्दै चैत ५ गते निर्वाचन आयोगले निर्वाचन परिणाम राष्ट्रपतिसमक्ष पेश गरिसकेको जानकारी दिए। उनले बानेश्वरस्थित संसद् भवन जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको र नयाँ भवन अझै तयार नभएकाले संसद् सचिवालय अस्थायी व्यवस्थामा सञ्चालन भइरहेको बताए। उनका अनुसार बहुउद्देश्यीय हललाई नै अस्थायी रूपमा संसद् सञ्चालनयोग्य बनाउन हतारहतारमा तयारी गरिएको हो। संविधानअनुसार प्रतिनिधिसभाका सदस्यले पहिलो बैठकमा सहभागी हुनुअघि अनिवार्य रूपमा शपथ लिनुपर्ने प्रावधान छ। सोही प्रावधानअनुसार आज सांसदहरूको शपथग्रहण गरिएको हो। यसअघि ज्येष्ठ सदस्य केसीले बुधबार (चैत ११) शीतलनिवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका थिए। नवनिर्वाचित सांसदले लिएको शपथको अंश यस्तो छ– म मुलुक र जनताप्रति पूर्ण बफादार रही, सत्यनिष्ठापूर्व प्रतिज्ञा गर्छु । ईश्वरको नाममा शपथ लिन्छु कि नेपालको सार्वभौसत्ता, राजकीय सत्ता, नेपाली जनतामा रहेको नेपालको संविधानप्रति पूर्ण बफादार रहँदै प्रतिनिधिसभा सदस्य पदको कामकाज प्रचलित कानुनको अधिनमा रही मुलुक र जनताको सोझो चिताई, कसैको डर नमानी, पक्षपात नगरी, पूर्वाग्रह वा खराव भावना नलिई पदीय गोपनीयता कायम राखी इमानदरितासाथ काम गर्नेछु ।
आज प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यको शपथ
काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यको पद तथा गोपनीयताको शपथ आज (चैत १२) हुँदै छ । सिंहदरबारस्थित नवनिर्मित बहुउद्देश्यीय हलमा दिउँसो २ बजे शपथको कार्यक्रम आयोजना गरिएको संघीय संसद् सचिवालयले जनाएको छ । संसद् सचिवालयका अनुसार, ४७ जनाले नेपालीबाहेक भाषामा शपथ लिने तयारी छ । त्यसमध्ये १७ जनाले मैथिली भाषामा शपथ लिने तयारी छ । नेपालको संविधानको धारा ९९ र ९१ को उपधारा ५ तथा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम पद तथा गोपनीयताको शपथ लिने व्यवस्था छ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय भएको संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार ज्येष्ठ सदस्य केसीलाई पद तथा गोपनीयताको शपथ गराएका थिए । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १८२, नेपाली कांग्रेसले ३८, नेकपा (एमाले)ले २५, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले १७, श्रम संस्कृति पार्टीेले सात र राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच सिट प्राप्त गरेका छन् ।
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीले राष्ट्रपतिबाट लिए शपथ
काठमाडौं । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी ले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार (चैत ११) शीतल निवास मा आयोजित समारोहमा रामचन्द्र पौडेल बाट उनले शपथ लिएका हुन् । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित सदस्यहरूमध्ये केसी ज्येष्ठ सदस्य हुन् । उनले बिहीबार (चैत १२) प्रतिनिधिसभाका अन्य निर्वाचित सांसदहरूलाई पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय भएको छ । प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट १६५ जना र समानुपातिक निर्वाचन प्रणालीबाट ११० जना सदस्य निर्वाचित भएका छन् । केसी नेपाली कांग्रेस का तर्फबाट समानुपातिक प्रणालीमार्फत प्रतिनिधिसभामा निर्वाचित भएका हुन् ।
ज्येष्ठ सदस्य केसीले आज शपथ लिने, भोलि सांसदलाई शपथ गराउने
काठमाडौं । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शपथ गराउने कार्यक्रम तय भएको हो। राष्ट्रपति कार्यालय शीतलनिवासमा बुधबार (चैत ११) बिहान ११:१५ बजे शपथग्रहण कार्यक्रम हुने जनाइएको छ। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित सदस्यमध्ये केसी ज्येष्ठ सदस्य हुन्। यस निर्वाचनमा प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० गरी कुल २७५ जना सांसद निर्वाचित भएका छन्। नेपाली कांग्रेसका केसी समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभामा पुगेका हुन्। ज्येष्ठ सदस्यका रूपमा शपथ लिएपछि केसीले भोलि (चैत १२) नव-निर्वाचित सांसदहरूलाई पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम रहेको छ।
भरतपुर महानगरपालिकाकी निवर्तमान प्रमुख रेनु र गंगाद्वारा पूर्वप्रधानमन्त्री ओलीलाई समवेदना व्यक्त
काठमाडौँ — नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की छोरीहरू रेनु दाहाल र गंगा दाहाल पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई समवेदना दिन भक्तपुरको गुन्डुस्थित उनको निवास पुगेका छन्। ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन भएको थियो। सोमबार गुन्डु पुगेर रेनु दाहाल र गंगा दाहालले दिवंगतप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन्। भरतपुर महानगरपालिकाकी निवर्तमान प्रमुख रेनु दाहालले फेसबुकमा लेखेकी छन्, “पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीज्यूका बुवा मोहनप्रसाद ओलीज्यूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।” यसैगरी गंगा दाहालले पनि लेखेकी छन्, “नेकपा (एमाले) का अध्यक्ष कमरेड केपी शर्मा ओलीका बुवा मोहनप्रसाद ओलीप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा गहिरो समवेदना।”
देशभर विभिन्न दुर्घटनामा परी ११ जनाको मृत्यु
काठमाडौं । देशका विभिन्न जिल्लामा आइतबार र सोमबार भएका छुट्टाछुट्टै सवारी दुर्घटना तथा अन्य घटनामा गरी ११ जनाको मृत्यु भएको छ। नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार सात जनाको सवारी दुर्घटनामा ज्यान गएको हो भने चार जना विभिन्न स्थानमा मृत अवस्थामा फेला परेका छन्। प्रहरीका अनुसार धादिङको गजुरी गाउँपालिका–६ बन्छेटारमा बिग्रिएर सडकमा रोकी राखिएको ट्रकमा मोटरसाइकल ठोक्किँदा ५६ वर्षीय खड्ग प्रसाद खतिवडाको मृत्यु भयो। गम्भीर घाइते भएका उनको उपचारका क्रममा ज्यान गएको हो। यस्तै, धनुषाको धनौजी गाउँपालिका–३ कटैया चोकमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा २५ वर्षीय अंकित कुमार मण्डलको मृत्यु भएको छ। दुर्घटनामा घाइते अन्य दुई जनालाई थप उपचारका लागि जनकपुरस्थित विभिन्न अस्पतालमा पठाइएको छ। महोत्तरीको औरही नगरपालिका–३ मा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा ३० वर्षीय रंजीत साहको ज्यान गयो भने बाँकेको राप्तीसोनारी गाउँपालिका–६ मा भएको अर्को मोटरसाइकल दुर्घटनामा ३५ वर्षीय हरीराम थारुको मृत्यु भएको प्रहरीले जनाएको छ। त्यस्तै, रूपन्देहीको रोहिणी गाउँपालिका–३ मा मोटरसाइकल र ट्रक ठोक्किँदा २१ वर्षीय आशिष यादवको मृत्यु भएको छ। दुर्घटनामा घाइते अर्का एक जनाको उपचार भइरहेको छ। बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२२ मा बसले मोटरसाइकललाई ठक्कर दिँदा गोरखा घर भएका अन्दाजी ३५ वर्षीय रामकुमार कोइरालाको ज्यान गएको छ भने स्याङ्जाको गल्याङ नगरपालिका–९ मा मोटरसाइकल दुर्घटनामा ५४ वर्षीय ज्योतिलाल खनालको मृत्यु भएको छ। यसैबीच, देशका विभिन्न स्थानमा चार जना मृत अवस्थामा फेला परेका छन्। काठमाडौंको तारकेश्वर नगरपालिका–६ धर्मस्थलीमा बस्ने ६० वर्षीय खिका बहादुर अधिकारी आफ्नै कोठामा मृत अवस्थामा भेटिएका छन्। रूकुम पश्चिमको सानिभेरी नदीमा १३ वर्षीया सपना वली मृत फेला परेकी छिन् भने इलामको सूर्योदय नगरपालिका–४ मा ३४ वर्षीय मिलन गोले तामाङ नालीमा मृत अवस्थामा भेटिएका छन्। त्यसैगरी, मोरङको सुन्दरहरैचा नगरपालिका–२ मा ३६ वर्षीय अनिल अधिकारी पनि नालामा मृत अवस्थामा फेला परेका छन्। दुवै प्रकृतिका घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
आज पनि रास्वपा सभापति लामिछानेको मुद्दामा सुनुवाइ हुँदै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको मुद्दामा सोमबार (चैत ९) पनि सुनुवाइ हुँदै छ । आइतबार महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्च अदालतको मागअनुरूप लामिछानेको मुद्दा फिर्ताको निर्णय संशोधनसम्बन्धी फाइल सर्वोच्च अदालतमा पेस गरेको छ । सर्वोच्चको मागबमोजिम पेस भएको निर्णय संशोधनसम्बन्धी फाइलमाथि आज बहस हुनेछ । सर्वोच्च अदालतका न्यायाधीशहरू सारंगा सुवेदी र सुनिलकुमार पोखरलेको इजलासमा सुनुवाइ जारी छ । गएको पुस ३० गते महान्यायाधिवक्ता सविता भण्डारी बरालले लामिछानेविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता लिने निर्णय गरेपछि सर्वोच्चमा रिट दायर भएको थियो । आफ्नो निर्णय विवादमा परेपछि उनले पुनः सच्याएर सहकारी ठगीबाहेक लामिछानेसँग जोडिएका सबै प्रतिवादीको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग संशोधनमार्फत फिर्ता लिएकी थिइन् । महान्यायाधिवक्ता भण्डारीले लामिछानेको हकमा मात्रै आरोपपत्र संशोधन हुने निर्णय गरेपछि विवादको रुप लिएको थियो । भण्डारीले माघ २ मा लामिछानेसहित अरु सबै आरोपितहरूको हकमा आरोपपत्र संशोधन हुने निर्णय गरेकी थिइन् ।
पाल्पामा टिपर दुर्घटनामा मृतकको संख्या चार पुग्यो
पाल्पा । माथागढी गाउँपालिका–७ रहबासमा शनिबार साँझ भएको टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या चार पुगेको छ । लु २ ख ४५२५ नम्बरको खाली टिपर झडेवाबाट चुनढुंगा खानीतर्फ जाँदै गर्दा सडकबाट करिब १०० मिटर तल खसेको थियो । दुर्घटनामा चालकसहित चार जना गम्भीर घाइते भएका थिए । घाइतेहरूलाई लुम्बिनी मेडिकल प्रभास लगिएकामा तीन जनाको घटनास्थल नजिकै मृत्यु भएको थियो । थप उपचारका लागि भैरहवाको मेडिकल कलेज पुर्याइएका तानसेन नगरपालिका–१० पटुवाका ३३ वर्षीय राजन चिदीको पनि उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डिएसपी होमप्रकाश चौधरीले बताएका छन् । मृत्यु हुने अन्य तीन जना अर्घाखाँचीको शीतगंगा–४ सिद्धाराका २६ वर्षीय चालक चिन्ता बहादुर सुनार, सोही ठाउँका २६ वर्षीय सुनिल विक र रुपन्देहीको देवदह–२ खैरेनीका २६ वर्षीय सुनिल नेपाली थिए ।
अमेरिकी डलरको भाउ १५० क्रस, अन्य मुद्राको भाउ कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (२०२६ मार्च २१) का लागि विभिन्न विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। केन्द्रीय बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ६४ पैसा र बिक्रीदर १५० रुपैयाँ २४ पैसा कायम गरिएको छ। यसैगरी अन्य प्रमुख मुद्राहरूको विनिमय दर निम्नानुसार रहेको छ: युरोपियन युरो (१): खरिद १७३ रुपैयाँ १२ पैसा, बिक्री १७३ रुपैयाँ ८१ पैसा युके पाउण्ड स्टर्लिङ (१): खरिद २०० रुपैयाँ ३८ पैसा, बिक्री २०१ रुपैयाँ १९ पैसा स्विस फ्रांक (१): खरिद १९० रुपैयाँ ०१ पैसा, बिक्री १९० रुपैयाँ ७७ पैसा अस्ट्रेलियन डलर (१): खरिद १०५ रुपैयाँ ८९ पैसा, बिक्री १०६ रुपैयाँ ३१ पैसा क्यानेडियन डलर (१): खरिद १०९ रुपैयाँ ०४ पैसा, बिक्री १०९ रुपैयाँ ४८ पैसा सिङ्गापुर डलर (१): खरिद ११७ रुपैयाँ ०१ पैसा, बिक्री ११७ रुपैयाँ ४८ पैसा जापानी येन (१०): खरिद ९ रुपैयाँ ४३ पैसा, बिक्री ९ रुपैयाँ ४७ पैसा चिनियाँ युआन (१): खरिद २१ रुपैयाँ ७३ पैसा, बिक्री २१ रुपैयाँ ८२ पैसा साउदी अरेबियन रियाल (१): खरिद ३९ रुपैयाँ ४५ पैसा, बिक्री ४० रुपैयाँ ०१ पैसा कतारी रियाल (१): खरिद ४० रुपैयाँ ४० पैसा, बिक्री ४१ रुपैयाँ ११ पैसा थाइ भाट (१): खरिद ४ रुपैयाँ ५८ पैसा, बिक्री ४ रुपैयाँ ६० पैसा यूएई दिराम (१): खरिद ४० रुपैयाँ ७४ पैसा, बिक्री ४० रुपैयाँ ९१ पैसा मलेसियन रिङ्गेट (१): खरिद ३७ रुपैयाँ ९८ पैसा, बिक्री ३८ रुपैयाँ १४ पैसा दक्षिण कोरियन वन (१००): खरिद ९ रुपैयाँ ९९ पैसा, बिक्री १० रुपैयाँ ०३ पैसा स्वीडिस क्रोनर (१): खरिद १६ रुपैयाँ ०७ पैसा, बिक्री १६ रुपैयाँ १४ पैसा डेनिस क्रोनर (१): खरिद २३ रुपैयाँ १७ पैसा, बिक्री २३ रुपैयाँ २६ पैसा कुवेती दिनार (१): खरिद ४८८ रुपैयाँ ०६ पैसा, बिक्री ४९० रुपैयाँ ०२ पैसा बहराइन दिनार (१): खरिद ३९६ रुपैयाँ ३४ पैसा, बिक्री ३९७ रुपैयाँ ९३ पैसा ओमनी रियाल (१): खरिद ३८८ रुपैयाँ ६८ पैसा, बिक्री ३९० रुपैयाँ २३ पैसा भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ। राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकता अनुसार जुनसुकै समयमा संशोधन गर्न सक्ने जनाएको छ। वाणिज्य बैंकहरूले तोक्ने विनिमय दर भने केही फरक हुन सक्छ।
नेपालमा आज पनि वर्षा र चट्याङको सम्भावना, मौसममा क्रमिक सुधार हुँदै
काठमाडौं । नेपालमा हाल पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव कायम रहेको छ। यसका कारण देशका अधिकांश भागमा बादल लागेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित पहाडी तथा हिमाली क्षेत्रमा धेरैजसो बादल लागेको छ। तुलनात्मक रूपमा मौसममा केही सुधार आए पनि आज देशका विभिन्न स्थानमा मेघगर्जन/चट्याङ, हावाहुरी र असिनासहित वर्षा/हिमपातको सम्भावना रहेको छ। आज दिउँसोको अवस्था देशभर सामान्यतया बादल लाग्नेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङ/असिना/हावाहुरीसहित मध्यम वर्षा वा हिमपात हुन सक्छ। बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा मध्यम वर्षा/हिमपातको सम्भावना बढी छ भने अन्य प्रदेशका थोरै स्थानहरूमा पनि यस्तो अवस्था रहन सक्छ। रातिको अवस्था देशभर सामान्यतया बादल लागिरहने छ। कोशी प्रदेशलगायत अन्य प्रदेशका हिमाली भूभागका थोरै स्थानहरूमा तथा पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना छ। मौसमविद्हरूका अनुसार आइतबारदेखि मौसम क्रमिक रूपमा सुधार हुँदै जानेछ। यसअघि शुक्रबार हावाहुरी र असिनासहितको वर्षाले देशका धेरै ठाउँमा क्षति पुर्याएको थियो भने जनजीवन प्रभावित भएको थियो। आज पनि केही स्थानमा चट्याङ, हावाहुरी र असिनासहित वर्षाको सम्भावना रहेकाले सर्वसाधारण, किसान तथा सरोकारवालालाई सतर्क तथा सचेत रहन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।

