निष्पक्ष  र शान्तिपूर्ण निर्वाचनका लागि प्रचण्डको अपील

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने आम निर्वाचनको पूर्वसन्ध्यामा आम जनसमुदायलाई सम्बोधन गर्दै भिडियो सन्देश जारी गर्नु भएको छ । उहाँले भिडियो सन्देशमा निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न आग्रह गर्नुभएको छ ।

सम्बोधनमा उहाँले जेन्जी आन्दोलनपछिको अनिश्चित राजनीतिक अवस्थाको स्मरण गर्दै अन्तरिम सरकार गठनका लागि गरिएको सहजीकरण र ताजा जनादेशका लागि लिएको अडान उल्लेख गर्नुभयो। देशलाई निर्वाचनसम्म ल्याउन आफ्नो दलले महत्वपूर्ण भूमिका खेलेको बताउँनुहुँदै त्यसको मूल्याङ्कन इतिहासले गर्ने बताउँनुभएको छ ।

सरकारको नेतृत्वमा रहँदा सुशासन सुरु गरिएको, विधिको शासन स्थापित गर्ने प्रयास गरिएको तथा ठूला भ्रष्टाचार काण्डहरू उजागर गरिएको उहाँले बताउँनुभयो। सो समयमा सुशासनबाट आत्तालिएका शक्तिहरूले संसदका पहिलो र दोस्रो दललाई एकै ठाउँमा उभ्याएको आरोप पनि उहाँले बताउँनुभयो ।

त्यसपछि प्रतिपक्षमा रहँदा पनि कुशासन, दम्भ र अहंकारविरुद्ध निरन्तर संघर्ष गरेको उल्लेख गर्दै उहाँले यस निर्वाचनमा जनताले सबै दलको भूमिकाको निष्पक्ष मूल्याङ्कन गर्दै नेपाली कम्युनिष्ट पार्टीलाई मत दिने बताउँनुभयो ।

निर्वाचनमा सम्पूर्ण राजनीतिक दल, उम्मेदवार, सुरक्षाकर्मी तथा मतदातालाई संयमित र जिम्मेवार व्यवहार गर्न आग्रह गर्दै लोकतान्त्रिक प्रक्रियालाई सुदृढ बनाउन निर्वाचन सफल बनाउनु सबैको साझा दायित्व भएको उहाँले बताउनुभयो ।

काठमाडौं-६ मा नेकपाको लहर बलियो: प्रलोपा उम्मेदवारसहित क्षेत्रीय कमिटी नेकपामा समाहित

काठमाडाैं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ६ मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को पक्षमा उत्साहजनक राजनीतिक विकास भएको छ। प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का उम्मेदवार गिरिराज अर्यालसहित सम्पूर्ण क्षेत्रीय कमिटी नै नेकपामा समाहित भएका छन्। अर्यालले आज विज्ञप्ति जारी गर्दै वर्तमान राष्ट्रिय राजनीतिक परिस्थितिमा स्पष्ट एजेण्डा, दूरदृष्टि र देश निर्माणको ठोस योजनासहित अघि बढिरहेको शक्ति नेकपा नै भएको निष्कर्षसहित आफूहरू पार्टीमा समाहित भएको घोषणा गरेका हुन्। उक्त अवसरमा नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड तथा काठमाडौं–६ का नेकपा उम्मेदवार हिमाल शर्माले अर्यालसहितको टोलीलाई स्वागत गर्नुभयाे । स्वागत गर्दै प्रचण्डले बामपन्थी शक्तिहरूको एकता आजको ऐतिहासिक आवश्यकता भएको उल्लेख गर्दै देशलाई सही दिशामा अघि बढाउने सक्षम शक्ति नेकपा नै भएको बताउनुभयाे।  उनले विभाजित शक्तिहरू क्रमशः नेकपामै समाहित हुँदै जाने विश्वास व्यक्त गर्नुभयाे।  पार्टी प्रवेशपछि बोल्दै अर्यालले नेकपाले अघि सारेको अग्रगामी एजेण्डा, राष्ट्रिय स्वाभिमान र जनमुखी विकास दृष्टिकोणबाट आफू प्रभावित भएको बताए। उनले काठमाडौं–६ बाट आफू प्रतिनिधिसभाको उम्मेदवार नरहेको स्पष्ट पार्दै आफ्ना सम्पूर्ण शुभचिन्तक, समर्थक तथा प्रलोपा सम्बद्ध नेता–कार्यकर्तालाई प्रत्यक्ष र समानुपातिक दुवै तर्फ “तारा” चिन्हमा मतदान गर्न आह्वान गरे। अर्यालले आफूलाई विश्वास र समर्थन गर्ने सबैप्रति धन्यवाद व्यक्त गर्दै अबको आफ्नो सम्पूर्ण राजनीतिक यात्रा नेकपाको झण्डामुनि रहने प्रतिबद्धता जनाए। यसैबीच, नेकपा उम्मेदवार हिमाल शर्माले अर्यालसहितको टोलीको आगमनले काठमाडौं–६ मा आफ्नो चुनावी अभियान अझ सशक्त र उर्जावान बनेको उल्लेख गरे। उनले यो समायोजनले नेकपाको पक्षमा व्यापक सकारात्मक सन्देश प्रवाह भएको र विजयको आधार थप मजबुत भएको दाबी गरे। काठमाडौं–६ मा भएको यो राजनीतिक एकीकरणलाई नेकपाको संगठनात्मक सुदृढीकरण र चुनावी लहर विस्तारको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

पर्वतको भाग्य बदल्ने अवसर मतदाताको हातमा : मनहरी तिमिल्सिना

पर्वत । प्रतिनिधिसभा सदस्यका उम्मेदवार मनहरी तिमिल्सिनाले लोकतन्त्रमा विचार फरक हुन सक्ने भए पनि विकासको साझा लक्ष्यमा सबै एकजुट हुनुपर्ने बताएका छन्। जलजला गाउँपालिकाको बनौँमा आयोजित कार्यक्रममा बोल्दै उनले जिल्लाको समग्र विकासका लागि योग्य र सक्षम नेतृत्व चयन गर्न मतदातालाई आग्रह गरे। उनले भने, “तपाईं जुनसुकै दलमा विश्वास गर्नुहुन्छ, म सबैप्रति समान सम्मान व्यक्त गर्छु।” उनले लोकतन्त्रमा असल नेतृत्वको आवश्यकता औंल्याउँदै पर्वतको भविष्य बदल्ने उचित समय अहिले नै भएको उल्लेख गरे। अमूल्य मतको सदुपयोग गर्न उनले मतदातालाई आह्वान गरे। तिमिल्सिनाले जनताको विश्वास र मतले समृद्ध पर्वत निर्माणको अभियान अझ बलियो बन्ने विश्वास व्यक्त गरे। उनले तारा चिन्हमा मतदान गरी मत खेर नजान आग्रहसमेत गरे। कृषि क्षेत्रलाई प्राथमिकता दिँदै उनले बनौँको आलु र भूईँस्याउको बजारीकरण गर्न सके स्थानीयलाई आर्थिक रूपमा सशक्त बनाउन सकिने बताए। कृषिको आधुनिकीकरण र व्यावसायिकीकरणमार्फत उत्पादन वृद्धि र आयआर्जन विस्तार गर्नुपर्नेमा उनले जोड दिए। विदेशमा श्रम गरिरहेका नेपालीका परिवारमा वित्तीय साक्षरता अभिवृद्धि गर्नुपर्ने आवश्यकता औंल्याउँदै उनले रेमिट्यान्सलाई उपभोगमा मात्र सीमित नगरी उत्पादनमुखी र दीर्घकालीन लगानीमा प्रयोग गर्न आग्रह गरे। यसबाट गाउँमै साना उद्योग, कृषि र सेवा क्षेत्रमा रोजगारी सिर्जना हुने उनको भनाइ थियो। जलजला क्षेत्र ऐतिहासिक, धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण भएको उल्लेख गर्दै उनले हम्पाल र कालाञ्जर क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना प्रस्तुत गरे। धाइरिङ–नाङलिवाङ, बनौँ तथा शालिजा–माझफाँट–लेखफाँट क्षेत्रको उर्वर भूमि कृषि विकासका लागि उपयुक्त रहेको बताउँदै तरकारी तथा जडीबुटी उत्पादनलाई व्यावसायिक रूपमा प्रवर्द्धन गर्ने उनले बताए। बाँसखर्कको सुन्तला तथा बनौँ र शालिजाको आलु देशभर परिचित रहेको उल्लेख गर्दै उनले उत्पादनको व्यावसायिकीकरणबाट मात्र जनताको जीवनस्तर सुधार सम्भव हुने धारणा राखे। स्वरोजगार कार्यक्रममार्फत आयआर्जन र रोजगारी सिर्जना गर्ने आफ्नो प्रतिबद्धता उनले दोहोर्‍याए। कार्यक्रमका क्रममा सडक पूर्वाधार सुदृढीकरण, आयआर्जन, रोजगारी, कालीगण्डकी सभ्यता संरक्षण, विपद् व्यवस्थापनलगायत विषयमा स्थानीयसँग अन्तरक्रिया भएको थियो। तिमिल्सिनाले सहभागी सबैप्रति आभार व्यक्त गर्दै जनताको सुझाव र अपेक्षाले आफूलाई थप जिम्मेवार बनाएको बताए। उनका अनुसार चुनावी भेटघाट र अन्तरक्रिया आत्मीय तथा उत्साहजनक बनेका छन्, जसले विकासप्रति नयाँ ऊर्जा थपेको छ।

मोरङ–२ मा काँग्रेस प्रचार गाडीबाट ४ लाख ४९ हजार बरामद, आचारसंहितामाथि प्रश्न चिन्ह

मोरङ। निर्वाचन आचारसंहिता उल्लंघनका घटनाबारे ध्यानाकर्षण गराउँदै आएको नेपाली कांग्रेस स्वयं विवादमा तानिएको छ। मोरङ–२ मा चुनाव प्रचारमा प्रयोग भइरहेको गाडीबाट ४ लाख ४९ हजार रुपैयाँ नगद बरामद भएपछि स्थानीय राजनीतिक वृत्त तताएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार रतुवामाइ नगरपालिका क्षेत्रमा शंकास्पद गतिविधि देखिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले गाडी रोकेर प्रहरीलाई खबर गरेका थिए। सूचना पाएलगत्तै पुगेको प्रहरी टोलीले गाडी जाँच गर्दा प्रचार सामग्रीसँगै ठूलो परिमाणमा नगद फेला पारेको थियो। जिल्ला प्रहरी कार्यालय मोरङका एसपी कवित कटवालका अनुसार गाडीभित्र कांग्रेसका प्रचार सामग्री राखिएको थियो। चालकले आफू व्यवसायी भएको र बरामद रकम आफ्नै भएको दाबी गरे पनि रकमको स्रोत र प्रयोजनबारे स्पष्ट विवरण नखुलेपछि गाडी र नगद रकम निर्वाचन अधिकृतको कार्यालयमा बुझाइएको छ। घटनापछि गाडीमा रहेका तीन जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिएको थियो। प्रारम्भिक सोधपुछपछि उनीहरूलाई रिहा गरिएको प्रहरीले जनाएको छ। निर्वाचन अधिकृत रूद्र आचार्यले घटनाबारे जानकारी प्राप्त भएको पुष्टि गर्दै आवश्यक कानुनी प्रक्रिया अघि बढाइने बताएका छन्। मोरङ–२ मा कांग्रेसबाट मिनेन्द्र रिजाल उम्मेदवार छन् भने एमालेबाट दिलीपकुमार अग्रवाल, नेकपाबाट चन्द्रवीर राई र रास्वपाबाट कृष्णकुमार कार्की प्रतिस्पर्धामा छन्। निर्वाचनको मुखमा नगदसहित प्रचार गाडी फेला पर्नुले आचारसंहिता कार्यान्वयन र पारदर्शितामाथि गम्भीर प्रश्न उठाएको छ।

सुनसरी–१ मा नेकपाका भट्टराईलाई बसोबास बस्ती संरक्षण समाजको समर्थन

धरान। नेपाल बसोबास बस्ती संरक्षण समाजले आसन्न प्रतिनिधिसभा निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ का उम्मेदवार मनोज भट्टराईलाई समर्थन गर्ने घोषणा गरेको छ। धरानमा आयोजित पत्रकार सम्मेलनमा समाजका सुनसरी अध्यक्ष थाम्सेर लिम्बुले भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि भट्टराईको प्रतिबद्धता विश्वासयोग्य रहेको भन्दै समर्थन गर्ने निर्णय गरिएको जानकारी दिए। उनले पुष्पकमल दाहाल प्रधानमन्त्री रहेका बेला सुकुम्वासी आयोग गठन भई घर नम्बर वितरण तथा लालपुर्जा वितरण प्रक्रिया सुरु भएको उल्लेख गर्दै सुकुम्वासी व्यवस्थापनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले ऐतिहासिक पहल गरेको दाबी गरे। समाजद्वारा जारी विज्ञप्तिमा सुनसरी–१ क्षेत्रमा करिब १४ हजार घरपरिवार भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासी रहेको उल्लेख गर्दै उनीहरूलाई मनोज भट्टराईलाई मतदान गर्न आह्वान गरिएको छ। विज्ञप्तिमा समाजका सुनसरी अध्यक्ष थाम्सेर लिम्बु र धरान नगर अध्यक्ष आइतबहादुर लिम्बुको हस्ताक्षर रहेको छ। यसैबीच समाजका केन्द्रीय अध्यक्ष कुमार कार्कीले छुट्टै विज्ञप्ति जारी गर्दै देशभर नेकपाका उम्मेदवारहरूलाई समर्थन गर्न आग्रह गरेका छन्। विज्ञप्तिमा प्रजातन्त्र स्थापनापछि सात वटा निर्वाचन, ३३ वटा सरकार र १९ वटा सुकुम्वासी आयोग गठन भए पनि समस्या दीर्घकालीन रूपमा समाधान हुन नसकेको उल्लेख छ। अब ‘फास्ट ट्र्याक’ प्रक्रियामार्फत बसोबासका आधारमा लालपुर्जा वितरण गर्ने स्पष्ट नीति निर्माण गर्न सरकारसँग माग गरिएको छ।

यस्ताे छ, नेकपाकाे प्रतिबद्धतामा ‘स्वाधीन र समृद्ध नेपाल’ निर्माणमा समाजवादको मार्गचित्र

काठमाडौं। आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको सन्दर्भमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सार्वजनिक गरेको चुनावी प्रतिबद्धता पत्रले ‘स्वाधीन र समृद्ध नेपाल’ निर्माणलाई केन्द्रीय राष्ट्रिय एजेन्डाका रूपमा अघि सारेको छ।  पार्टीले स्पष्ट रूपमा उल्लेख गरेको छ-मुलुक अहिले आर्थिक परनिर्भरता, बेरोजगारी, महँगी, सामाजिक विभेद, राजनीतिक अस्थिरता र संस्थागत भ्रष्टाचारजस्ता बहुआयामिक समस्याबाट गुज्रिरहेको छ। यी चुनौतीहरूको दीर्घकालीन समाधान नेपाली विशेषताको वैज्ञानिक समाजवादमार्फत मात्र सम्भव हुने दाबी पार्टीको छ। प्रतिबद्धता पत्र केवल नीतिगत घोषणामा सीमित नभई, आगामी पाँच वर्षका ठोस लक्ष्य, संरचनागत सुधार र सामाजिक रूपान्तरणका योजनासहित प्रस्तुत गरिएको छ। पार्टीले नेपालको राजनीतिक, आर्थिक र कूटनीतिक निर्णय प्रक्रियामा आत्मनिर्णयको अधिकार सुदृढ गर्ने नीति लिएको छ। वैदेशिक हस्तक्षेप र अनावश्यक परनिर्भरता घटाउँदै राष्ट्रिय स्वाभिमानको रक्षा गर्ने याेजना लिइएकाे छ। राष्ट्रिय हितअनुसार सन्तुलित कूटनीति अपनाउने र भौगोलिक अखण्डता र सार्वभौमसत्तामा कुनै सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गरिएकाे छ।  पार्टीको विश्लेषणमा, स्वाधीनता केवल भूगोलको रक्षा होइन; आर्थिक आत्मनिर्भरता, नीतिगत स्वतन्त्रता र सांस्कृतिक स्वाभिमानसँग पनि गाँसिएको विषय हो। व्यवस्था परिवर्तनभन्दा अगाडि ‘अवस्था’ परिवर्तन नेकपाले अंगीकार गरेको नेपाली विशेषताको वैज्ञानिक समाजवादले शासन प्रणाली मात्र परिवर्तन गर्ने होइन, आम नागरिकको जीवनस्तर रूपान्तरण गर्ने लक्ष्य राखेको छ। प्रत्येक नागरिकका लागि गाँस, वास, कपासको सुनिश्चितता गरेकाे छ। शिक्षा, स्वास्थ्य र रोजगारीलाई मौलिक हकको रूपमा व्यवहारिक कार्यान्वयन गर्ने प्रतिबद्धा लिएकाे छ। सेवामूलक राज्यको अवधारणा, जहाँ नागरिकको आधारभूत जीवनस्तर सुनिश्चित गरिन्छ। त्यसकाे लागि नेकपाकाे प्रतिबद्धतामा उत्पादन र स्वामित्व संरचनामा परिवर्तन गर्ने, उत्पादनका साधनहरूमाथि सामूहिक वा सामाजिक स्वामित्व विस्तार गर्ने, प्राकृतिक स्रोत–साधनको दोहनमा राष्ट्रिय हित प्राथमिकता दिने, मुठ्ठीभर व्यक्तिमा सीमित पूँजी र सम्पत्तिको सामाजिक उपयोग गर्ने प्रतिबद्धाता नेकपाकाे छ।  पार्टीको दाबी अनुसार यसले आय–असमानता घटाउने, सामाजिक न्याय स्थापित गर्ने र श्रमको सम्मान सुनिश्चित गर्दछ।  प्रतिबद्धता पत्रमा नेपालको अर्थतन्त्रलाई आयातमा आधारित उपभोगवादी संरचनाबाट उत्पादनमुखी र आत्मनिर्भर संरचनामा रूपान्तरण गर्ने स्पष्ट खाका प्रस्तुत गरेको छ। जसमा पाँच वर्षका ठोस लक्ष्य निर्धारण गरिएकाे छ। पहिलाेमा वार्षिक आर्थिक वृद्धिदर १० प्रतिशतभन्दा माथि पुर्‍याउने, दाेस्राेमा बहुआयामिक गरिबी २०.१५ प्रतिशतबाट घटाएर ५ प्रतिशतमा झार्ने, कृषि, उद्योग, ऊर्जा, पर्यटन र सूचना–प्रविधि क्षेत्रमा संरचनागत लगानी वृद्धि गर्ने लगायतका याेजनाहरु अघि सारिएकाे छ।  यसैगरी रोजगारी सृजना र युवा केन्द्रित नीति, स्वदेशमै लाखौं रोजगारी सिर्जना गर्ने योजना, वैदेशिक रोजगारीमा निर्भरता घटाउने, ‘पढ्दै कमाउँदै’ कार्यक्रममार्फत सीप विकास र उत्पादनसँग जोड्ने प्रतिबद्धाता छ। यस रणनीतिले आयात प्रतिस्थापन, निर्यात प्रवर्द्धन र स्थानीय उत्पादनको प्रवर्द्धनलाई जोड दिएको छ। सुशासन र राजनीतिक स्थिरता: परिणाममुखी शासनतर्फ नेकपाले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति लिने स्पष्ट उल्लेख गरेको छ। सार्वजनिक खरिद, ठेक्का र सेवा प्रवाहमा पारदर्शितामा जाेड दिएकाे छ। निर्वाचन प्रणालीमा सुधार गरी स्थिर सरकार निर्माणको आधार पनि अघि सारिएकाे छ। प्रशासनिक संरचनामा पुनर्संरचना र कार्यक्षमता अभिवृद्धि गर्ने, नागरिकलाई घरदैलोमै छिटोछरितो सेवा उपलब्ध गराउने राजनीतिक स्थिरता आर्थिक विकास र सामाजिक रूपान्तरणको पूर्वशर्त हो लिएकाे छ।  सामाजिक न्याय: विभेद र उत्पीडनको अन्त्य प्रतिबद्धता पत्रमा वर्गीय, जातीय, लैङ्गिक, भाषिक र क्षेत्रीय विभेद अन्त्य गर्ने स्पष्ट प्रतिवद्धता व्यक्त गरिएको छ। जसमा पूर्ण समानुपातिक समावेशी लोकतन्त्र सुदृढीकरण, छुवाछूत, छाउपडीजस्ता कुरीतिहरूको उन्मूलन, महिलाको समान प्रतिनिधित्व र निर्णय प्रक्रियामा सहभागिता, सीमान्तकृत समुदायको सशक्तीकरणका याेजना छन् । यसले सामाजिक सद्भाव, आत्मसम्मान र समान अवसरको वातावरण निर्माण गर्ने लक्ष्य नेकपाले लिएकाे छ।  शिक्षा: निःशुल्क, गुणस्तरीय र सेवामूलक शिक्षालाई व्यापारिकरणबाट मुक्त गरी सेवामूलक र समावेशी बनाउने नीति प्रतिबद्धता पत्रको केन्द्रीय अंश हो। माध्यमिक तहसम्मको शिक्षा राज्यको पूर्ण दायित्व हाे । विपन्न, दलित, आदिवासी, अपाङ्ग र सीमान्तकृतका लागि विशेष छात्रवृत्तिकाे व्यावस्था गर्दै निशुल्क दिने नेकपाकाे प्रतिबद्धतामा छ।  यता निजी विद्यालयको शुल्कमा सीमा निर्धारण गर्ने पनि जनाएकाे छ। प्रत्येक पालिकामा नमुना आवासीय ‘स्मार्ट विद्यालय’ निर्माण गर्ने,सीपमूलक र प्राविधिक शिक्षामा जोड दिने छ। यसले शिक्षा प्रणालीलाई उत्पादन र रोजगारसँग जोड्दछ।  स्वास्थ्य: सार्वभौमिक पहुँच र सामाजिक सुरक्षा स्वास्थ्यलाई मौलिक हकको रूपमा पूर्ण कार्यान्वयन गर्ने योजना पनि विस्तृत रूपमा उल्लेख गरिएको छ। जसमा खोप, सुरक्षित मातृत्व, सरुवा रोग नियन्त्रण निःशुल्क गर्ने, १०० प्रतिशत नागरिकमा अनिवार्य स्वास्थ्य बीमाकाे व्यवस्था। गरिब र ज्येष्ठ नागरिकको बीमा प्रिमियम राज्यले व्यहोर्ने, २०८८ सम्म व्यक्तिगत उपचार खर्च ३५ प्रतिशतभन्दा तल झार्ने, सरकारी अस्पतालमा बिहान ७ देखि बेलुका ७ बजेसम्म ओपीडी सेवा दिने, औषधि उत्पादन र आपूर्तिमा सरकारी भूमिका सुदृढ बनाउने छन् । सरकारदवारै स्वास्थ्य बीमा, ज्येष्ठ नागरिक पेन्सन, बेरोजगार भत्ता, अपाङ्गता भत्ता जस्ता सुविधा सुनिश्चित गर्ने लक्ष्य राखेको छ।  

कालिगण्डकी नदी दोहन रोक्ने पहिलो प्राथमिकता: नकपा उम्मेदवार तिमिल्सिना

पर्वत। जनयुद्धको ऐतिहासिक स्थल धाइरिङ र नाङलिवाङ यतिबेला चुनावी माहोलले तातेको छ। कान्छा उम्मेदवार मनहरी तिमिल्सिनालाई स्थानीय जनताले भव्य स्वागत गर्दै अत्याधिक मतले विजयी गराउने प्रतिबद्धता व्यक्त गरेका छन्। पर्वतले बौद्धिक, शालीन र विकासमुखी उम्मेदवार पाएको भन्दै स्थानीयवासी उत्साहित देखिएका छन्। धाइरिङमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै तिमिल्सिनाले राजनीति पेशा नभई जनताको सेवा हुनुपर्नेमा जोड दिए। विगतमा राजनीतिलाई पेशाका रूपमा लिँदा जनताले अपेक्षित परिणाम नपाएको उल्लेख गर्दै उनले आफू जनताको सेवा र समग्र पर्वतको दिगो विकासका लागि उम्मेदवार बनेको स्पष्ट पारे। “मसँग पर्वत विकासको स्पष्ट खाका छ। मलाई भोट दिनेहरू कहिल्यै पछुताउन पर्ने छैन। जनताको विश्वासलाई मर्न दिने छैन। म ठूला आश्वासन बाँड्न आएको होइन, वास्तविक समस्या बुझेर समाधान गर्न आएको हुँ,” उनले दृढतापूर्वक भने। तिमिल्सिनाले जलजला क्षेत्रको ऐतिहासिक, धार्मिक र पर्यटकीय सम्भावनालाई उजागर गर्दै हम्पाल र कालाञ्जरलाई आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना प्रस्तुत गरे। धाइरिङ–नाङलिवाङ, बनौं र शालिजा माँझफाँट–लेखफाँटको उर्वर भूमिलाई कृषि उत्पादनको ‘हब’ बनाउने, तरकारी र जडीबुटीलाई उचित मूल्य सुनिश्चित गर्ने तथा आधुनिक प्रविधिमार्फत व्यावसायिकरण गरी आयस्तर वृद्धि गर्ने योजना उनले सार्वजनिक गरे। बाँसखर्कको सुन्तला तथा बनौं–शालिजाको आलु देशभर परिचित रहेको उल्लेख गर्दै उनले उत्पादनको व्यावसायिकरणमार्फत किसान र युवालाई स्वरोजगारको अवसर सिर्जना गरिने बताए। “किसान, युवा र आम नागरिकलाई प्रगतिशील अवसर उपलब्ध गराउनु नै मेरो दायित्व हो,” उनले भने। प्राकृतिक सम्पत्तिको संरक्षणलाई पहिलो प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्दै तिमिल्सिनाले कालिगण्डकी नदी मा भइरहेको चरम दोहनप्रति गम्भीर चिन्ता व्यक्त गरे। “यो दोहन कालीगण्डकी सभ्यतामाथिको प्रहार हो। यसलाई रोक्न विशेष पहल गर्छु, यही मेरो पहिलो प्राथमिकता हो,” उनले जोड दिए। धाइरिङ र नाङलिवाङमा सम्पन्न कोणसभा, जनभेटघाट तथा अन्तरक्रिया कार्यक्रम अत्यन्त अर्थपूर्ण र उत्साहजनक रहेको बताउँदै उनले सडक पूर्वाधार सुदृढीकरण, रोजगारी सिर्जना, विपद् व्यवस्थापन, कालीगण्डकी सभ्यता संरक्षण तथा संसदमा उठाउनुपर्ने विषयमा स्थानीयसँग खुला संवाद भएको जानकारी दिए। कार्यक्रमको अन्त्यमा उनले सबै सहभागीप्रति आभार व्यक्त गर्दै भने, “जनताको भरोसा नै मेरो बल हो। तपाईंहरूको विश्वास, सम्मान र साथप्रति मेरो उच्च सम्मान छ। यहाँहरूले दिनुभएको ऊर्जा र प्रेरणाले मलाई अझै जिम्मेवार र उत्साहित बनाएको छ।” चुनावी अभियानसँगै विकास, संरक्षण र रोजगारीका एजेन्डा अघि सार्दै तिमिल्सिनाले पर्वतमा नयाँ आशा र बहसको वातावरण सिर्जना गरेका छन्।

दश जातिको मातृभाषामा डा. हरि रोकाको चुनावी अपिल, खोटाङमा बहुभाषिक अभियान

खोटाङ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) खोटाङका उम्मेदवार डा. हरि रोकाको चुनावी अपिल दश जातजातिको मातृभाषामा तयार पारिएको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपाबाट उम्मेदवारी दिनुभएका अर्थ तथा वाम राजनीतिक विश्लेषक डा. रोकाको पक्षमा जनमत जुटाउन चाम्लिङ, दुमी, साम्पाङ, पुमा, वाम्बुले, कोयी, तामाङ, गुरुङ, नेपाल (नेवार) र बान्तावा भाषामा अपिल प्रकाशन गरिएको हो । खस नेपाली भाषासहित ११ भाषामा डा. रोकाको चुनावी अपिल प्रकाशन गरिएको प्रचार–प्रसार समितिका संयोजक एवम् पूर्वमन्त्री राजन राईले जानकारी दिनुभएको छ । उम्मेदवार डा. रोकाको पक्षमा चुनावी माहोल सिर्जना गर्नका लागि ‘हरि रोका जिताऔँ’ स्वतन्त्र सहयोग समितिले विभिन्न दश मातृभाषामा निर्वाचन प्रचार सामग्री तयार पारेको हो । मातृभाषामा तयार पारिएको प्रचार सामग्रीमा अपिलको एकापट्टि मातृभाषामा र अर्कोपट्टि खस नेपाली भाषामा डा. रोकालाई मत दिनुपर्ने कारण उल्लेख गरिएको छ । विभिन्न जातजातिका मतदातालाई उनीहरुकै भाषामा उम्मेदवारको चुनावी एजेण्डाबारे जानकारी दिन मातृभाषामा अपिल तयार पारिएको निर्वाचन परिचालन मूल समितिका संयोजक एवम् पार्टी केन्द्रीय अनुशासन आयोगका अध्यक्ष टङ्क राईले बताए ।  मातृभाषामा लेखिएको अपिलले विभिन्न मातृभाषाको लेख्य परम्परालाई प्रवर्द्धन गर्न सहयोग पुगेको पूर्वसांसदसमेत रहनुभएका संयोजक राईले जानकारी दिए । ‘हारजित एक ठाउँमा छ, तर विभिन्न मातृभाषाको संरक्षणमा यसले रेकर्डको काम गर्छ,’ संयोजक राईले भने, ‘चाहेर पनि तिलुङ भाषामा अपिल बनाउन सकिएन । मातृभाषालाई बुझ्ने कोसिस हो यो । यसले मातृभाषामात्र प्रयोग गर्ने मतदातालाई ठूलो सहयोग पुगेको छ ।’ मातृभाषामा तयार पारिएका घोषणापत्र नेकपा खोटाङका नेता तथा कार्यकर्ताले सम्बन्धित समुदायका मतदातासमक्ष बाँडिरहेका छन् । डा. रोकाले आफ्नो चुनावी सभालाई जनसंवाद कार्यक्रमका रूपमा अगाडि सारेर दशवटै स्थानीय तहका मतदातासँग प्रत्यक्ष सवाल–जवाफ गरिरहेका छन् । प्रतिनिधिसभातर्फ एउटामात्रै निर्वाचन क्षेत्र रहेको खोटाङमा नेकपाका उम्मेदवार डा. रोकासहित १५ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । आसन्न निर्वाचनलाई लक्षित गर्दै जिल्लाका सबै राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारले आफ्नो चुनावी प्रचारलाई तीव्रता दिएका छन् ।  

काठमाडौं-६ स्वबासीको भावना अनुरुप कानुन निर्माण गर्ने हिमाल शर्माको घोषणा

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी काठमाडौँ क्षेत्र नम्बर ६ का उम्मेदवार हिमाल शर्माले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गतका स्वबासीहरुको समस्या समाधानका लागि उनीहरुको भावना अनुरुपको कानुन निर्माण गर्ने प्रतिबद्धता गरेका छन् । उनले खोलाको मापदण्डबाट पीडितहरुको समस्याको यथोचित सम्बोधन गर्नुको साथै सडक बिस्तारबाट पीडितहरुको समस्या पनि सम्बोधन गर्ने बताएका छन् । त्यसैगरी सार्वजनिक सम्पत्तिको संरक्षण गर्दै दर्ता कायम नभएका तर पुस्तौँ पुस्तादेखि किसानहरुले भोगचलन गर्दै आएको जग्गा, जमिन किसानहरुकै नाममा दर्ता हुनेगरी आवश्यक कानून बनाउने पनि उनको प्रतिबद्धता छ । शर्माले काठमाडौँ क्षेत्र नम्बर ६ को समग्र विकास र समृद्धिको लागि दीर्घकालीन योजना तर्जुमा गरी लागू गर्ने उल्लेख गरेका छन् । उक्त क्षेत्र भित्रका सामाजिक, सांस्कृतिक तथा आर्थिक विविधताको पहिचान गरी विकासका नवीनतम मोडालिटी बनाइ कार्यान्वयन गर्ने उनको भनाई छ । शर्माले नेवा, तामाङ लगायतका समुदायका भाषा, संस्कृति, कला, साहित्य तथा ऐतिहासिक सम्पदाहरुको संरक्षण र सम्बद्र्धन गर्ने पनि प्रतिबद्धता पत्रमा उल्लेख गरेका छन् । त्यसैगरी, ठमेल, असन, बौडेश्वर झरना, तारकेश्वर मन्दिर, शान्तिधाम, टोखा, मनमैजु र धर्मस्थलीका विविध स्थानहरुलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने, उक्त क्षेत्रमा रहेको नयाँ बसपार्कलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप सुविधा सम्पन्न बनाउने र बेरोजगार युवाहरुको लगत संकलन गर्दै रोजगारीका क्षेत्रहरुको पहिचान गरी बेरोजगारी समस्या समाधानका लागि विशेष पहल गर्ने पनि भनिएको छ । निर्वाचन क्षेत्र अन्तर्गत हरित शहर निर्माण, स्मार्ट पार्किङ बनाउने एवम् फोहोर व्यवस्थापनका लागि ठोस कार्ययोजना बनाउने उनको भनाई छ । त्यसैगरी,टोखा, तारकेश्वर र महानगरपालिकाका सहरी इलाकामा विद्यमान खानेपानी समस्यालाई दिर्घकालिन समाधान गर्न शिवपुर जलाधार क्षेत्रको अध्ययन गरी खानेपानीको सहज आपूर्ति गर्ने बताइएको छ ।

हामी घरदैलो, जनसमर्थनले जित नजिक पुगेका छाैँ: बिश्वदीप

बुटवल । रुपन्देही क्षेत्र नं. २ का उम्मेदवार बिश्वदीप पाण्डे ‘सुवास’ले शनिबार बुटवल उपमहानगरपालिका वडा नं. १२ र १३ का विभिन्न टोल तथा बस्तीमा घरदैलो गर्दै मत मागेका छन् । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का युवा नेता पाण्डे सयौँ नेता–कार्यकर्तासहित घरदैलो अभियानमा सहभागी भएका थिए । सो क्रममा उनले आफूहरूले प्राप्त गरेको जनसमर्थन, माया र उत्साहका कारण चुनावी जित नजिक पुगेको दाबी गरे । उनले निर्वाचनका बाँकी दिनहरू विजयका लागि निर्णायक रहेको भन्दै मतदान सम्पन्न नहुँदासम्म मतदाता सचेत र सजग रहनुपर्ने बताए । घरदैलोका क्रममा उनले तारा चिन्हमा मतदान गर्दै अग्रगामी परिवर्तनको पक्षमा उभिन मतदातालाई आग्रह गरे । रुपन्देही–२ को विकासका लागि आफूलाई मतदान गरी नेतृत्वको जिम्मेवारी सुम्पिने अवसर नजिक आएको उल्लेख गर्दै उनले दीर्घकालीन हितलाई ध्यानमा राखेर विवेकपूर्ण निर्णय लिन अपिल गरे । साथै, उनले विकास, सुशासन, रोजगारी, शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधारका क्षेत्रमा स्पष्ट योजना रहेको भन्दै जनताका समस्या सुनेर समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाए । निर्वाचन परिचालन समितिका संयोजक नारायण जीसी ‘निर्मल’ले घरदैलोका क्रममा नागरिकले आधारभूत क्षेत्रहरूमा ठोस परिवर्तनको अपेक्षा राखेको बताए । उनका अनुसार उम्मेदवार प्रत्यक्ष उपस्थित हुन नसकेका स्थानमा पनि स्थानीय कार्यकर्ताले टोल–टोल र घर–घर पुगेर चुनावी एजेन्डा प्रस्तुत गर्दै मत मागिरहेका छन् । झण्डा, माइक, ब्यानर र प्रतिबद्धतापत्रसहित जारी घरदैलो अभियान अन्तिम चरणमा पुगे पनि मतदातासँगको सम्बन्ध र जनसरोकारका विषयमा निरन्तर सक्रिय रहने नेताहरूले बताएका छन् ।

सिन्धुपाल्चाेक-१ मा कांग्रेसका नेता तथा पूर्व कार्यपालिका सदस्य शरद नेकपा प्रवेश, उम्मेदवार सापकोटाद्वारा स्वागत

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–२ का प्रभावशाली युवा नेता तथा पूर्व कार्यपालिका सदस्य तथा नेता  शरद विकले नेपाली कांग्रेस परित्याग गरी नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन्। लामो समयदेखि कांग्रेसको क्रियाशील सदस्यका रूपमा सक्रिय वि.क.लाई आज जलविरेमा आयोजित चुनावी अभियानका क्रममा युवा उम्मेदवार माधव सापकोटा ‘सुबोध’ ले टिका र खादा लगाएर पार्टीमा स्वागत गरे। वि.क.को पार्टी प्रवेशले फुल्पिङकोट क्षेत्रमा पार्टीलाई थप मजबुत बनाउने विश्वास लिइएको छ। सापकोटाले शरदको आगमनले चुनावी अभियानमा नयाँ ऊर्जा थपिएको उल्लेख गर्दै उनको योग्यता र क्षमताअनुसार पार्टीले उचित जिम्मेवारी प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे। मतदाता भेटघाटमा व्यस्त सापकोटा यसैबीच उम्मेदवार सापकोटाले नेकपाको बलियो आधार क्षेत्रका रूपमा परिचित जुगल गाउँपालिका र बलेफीका विभिन्न स्थानमा घरदैलो तथा सुझाव संकलन अभियानलाई तीव्रता दिएका छन्। उनले जुगलको ढाँडे, याङलाकोट, खानीडाँडा, विसिंखर तथा बलेफीको सिम्ले र जलविरे क्षेत्रमा मतदातासँग प्रत्यक्ष भेटघाट र अन्तरक्रिया गरेका छन्। स्थानीय बासिन्दाले सापकोटालाई भव्य स्वागत गर्दै जितको शुभकामना व्यक्त गरेका छन्। उनीहरूले युवा नेतृत्व सापकोटालाई विजयी गराएर पठाउने प्रतिबद्धता जनाएका छन्। उम्मेदवार सापकोटाले आफूले अहिलेसम्म शीर उँचो हुने गरी काम गरेको बताउँदै आगामी दिनमा पनि जनताका मुद्दालाई सशक्त रूपमा उठाउने प्रतिवद्धता जनाए। उनले फागुन २१ गते हुने निर्वाचनमा ‘तारा’ चिन्हमा मतदान गरी नेकपालाई विजयी गराउन अपिलसमेत गरेका छन्।  

डा. रोकाको प्रतिबद्धता : गाउँको विकास गर्न ग्रामीण विकास मन्त्रालय स्थापना गर्ने

खोटाङ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा अर्थशास्त्री एवम् वाम राजनीतिक विश्लेषक डा. हरि रोकाले खोटाङमा उम्मेदवारी दर्ता गराएसँगै जिल्लाको चुनावी प्रतिस्पर्धाको चर्चा देशभर चुलिएको छ । डा. रोकालाई नेपाली कम्युनिष्ट पार्टी (नेकपा) खोटाङले यही फागुन २१ गते हुने निर्वाचनमा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएपछि खोटाङको चुनावी प्रतिस्पर्धाको चर्चा देशभर चुलिएको हो । दिप्रुङ चुइचुम्मा गाउँपालिका निवासी डा. रोकालाई विजयी गराउन देशभरका बौद्धिक वर्गले भिडियो क्लिप्स (श्रव्यदृश्य सामग्री) तथा स्टाटस (लिखित सन्देश)मार्फत खोटाङवासी मतदातालाई आह्वान गरिरहेका छन् । पूर्वनिर्वाचन आयुक्त भोजराज पोखरेलदेखि अर्थशास्त्री डा. पिताम्बर शर्मा, कानूनविद् युवराज सङ्ग्रौला, किरात प्रज्ञा प्रतिष्ठानका कुलपति जयकुमार राई, लेखक÷साहित्यकारहरू खगेन्द्र सङ्ग्रौला, युग पाठक र झलक सुवेदी, शल्य चिकित्सक डा. कृष्णकुमार राई ‘केके’, लेखक/साहित्यकारहरू डा. विष्णु राई र डा. नारायण ढकाल, अधिवक्ता प्रतीक कार्की लगायतका बौद्धिक वर्गले डा. रोकाप्रति सुभेच्छा प्रकट गर्दै जिताएर पठाउन जिल्लावासीलाई आह्वान गरेका हुन् । खोटाङका छ जना पूर्वसांसद तथा पूर्वमन्त्रीहरूको साथ पाएका उम्मेदवार डा. रोका ११ बुँदे प्रतिबद्धतापत्रसहित मतदाताको घरदैलोमा पुगेर मतदाता रिझाउन व्यस्त छन् । ‘शहरको विकास गर्न शहरी विकास मन्त्रालय सञ्चालनमा छ । त्यो मन्त्रालयको नजर ग्रामीण भेगमा बसोबास गर्ने नागरिकमा पुगेको छैन,’ डा. रोकाले भनेका छन्, ‘म विजयी भएर संसद छिरेको खण्डमा पहिलो प्राथमिकता ग्रामीण मन्त्रालय स्थापना गर्नमा हुनेछ । यसले ग्रामीण भेगका जनताको चौतर्फी विकासमा सहयोग पुग्नेछ ।’ डा. रोकाले गाउँको विकास गर्न ग्रामीण विकास मन्त्रालय स्थापना गर्नेदेखि स्वास्थ्य, शिक्षा, श्रम, वैदेशिक रोजगार लगायतमा सुधार गर्ने प्रतिबद्धता जनाएका छन् । आफै किसान भएकोले किसानका समस्या समाधान गर्ने नीति बनाउन प्रभावकारी भूमिका खेल्ने, खोटाङलाई समृद्ध बनाउन सरकारका साथै अन्तर्राष्ट्रिय दातृ निकायलाई पर्यटन क्षेत्रमा लगानी गराउन पहल गर्ने, खोटाङ्गे जनता तथा ‘जेनजी’को भावनाअनुसार भ्रष्टाचारविरुद्ध संसदमा प्रभावकारी आवाज उठाउने, खोटाङको विकासको खाका तयार गरी स्थानीय, प्रदेश र केन्द्र सरकारका बीचमा कार्यान्वयनका लागि प्रभावकारी भूमिका खेल्ने, नेपालका भाषा, संस्कृति र सभ्यताहरूले विकास गरेका ज्ञानहरूलाई संरक्षण र पहिचान दिएर समृद्धि प्राप्त गर्न, शिक्षण पेशा र शिक्षकको पेशागत हकहितसँग सम्बन्धित शिक्षा विधेयक पारित गर्ने प्रतिबद्धता जनाएका छन् । विभिन्न ११ भाषामा प्रकाशन गरिएका चुनावी प्रतिबद्धतापत्र लिएर मतदाताको घरदैलोमा पुगिरहनुभएका डा. रोकाले जनअपेक्षा बुझ्न जनसम्वाद कार्यक्रम सञ्चालन गरेका छन् । उम्मेदवार डा. रोकाको जनसम्वाद कार्यक्रममा प्रत्यक्ष, फोन तथा एसएमएसमा मतदाताले राखेका प्रश्नको उत्तर रेडियो, युट्युब र फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारणको व्यवस्था मिलाइएको प्रचारप्रसार समितिका संयोजक एवम् पूर्वमन्त्री राजन राईले जानकारी दिएका छन् । डा. रोकालाई निर्वाचित गराउन काठमाडौं, विराटनगर, धरान, इटहरी र झापामा समेत स्वतन्त्र समिति गठन भएको छ । खोटाङ घर भई काम विशेषले विभिन्न ठाउँमा बस्दै आएका व्यक्तिहरूले गठन गरेको स्वतन्त्र समितिले डा. रोकाको विजय खोटाङको मात्र नभई देशकै हित हुने बताएका छन् । एक लाख ४७ हजार १२० मतदाता रहेको खोटाङमा डा. रोकासहित १५ जना उम्मेदवार रहेका छन् । नेपाली कांग्रेसबाट वीरकाजी राई र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट देवबिक्रम राई, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट रुद्र गिरी, जनता समाजवादी पार्टी (जसपा)बाट राकेश राई र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट दीपक तामाङ, जनता समाजवादी पार्टी नेपालबाट सुनिल चाम्लिङ, श्रम संस्कृति पार्टीबाट आरेन राई, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)बाट चन्द्र बुढाथोकी ‘शैलेस’, नेपाल मजदुर किसान पार्टीबाट ध्यानप्रसाद ढकाल, राष्ट्रिय परिवर्तन पार्टीबाट मिरेश राई, मङ्गोल नेशनल अर्गनाइजेशन पार्टीबाट प्रयाग राई र मितेरी पार्टी नेपालबाट केशरमान चाम्लिङ तथा डा. राजकुमार राई र तिलकचन्द्र राईले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । प्रतिनिधिसभातर्फ एउटामात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि १३६ वटा मतदान स्थल तथा १९५ वटा मतदान केन्द्र निर्धारण गरिएको छ । जिल्लामा निर्धारण गरिएका मतदानस्थलमध्ये २१ वटा अतिसंवेदनशील, ६४ वटा संवेदनशील र ५१ वटालाई सामान्यमा राखेर सुरक्षा व्यवस्था मिलाइएको जिल्ला सुरक्षा समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले जानकारी दिएकी छन् ।

सर्लाही–४ मा नेकपाकाे लहर: उम्मेदवार डा. रजनीश रायको पक्षमा जनसमर्थन बढ्दै

सर्लाही । सर्लाही क्षेत्र नं. ४ को राजनीतिक माहोल यतिबेला नयाँ परिवर्तनतर्फ उन्मुख देखिएको छ। दशकौँदेखि पुराना दल र स्थापित अनुहारहरूको दबदबा रहेको यस क्षेत्रमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार तथा युवा चिकित्सक डा. रजनीश रायप्रति जनताको आकर्षण र समर्थन निरन्तर बढ्दै गएको छ। स्थानीय मतदाताहरूका अनुसार विकास, पारदर्शिता र जनपक्षीय नेतृत्वको अभावले क्षेत्रका समस्या ज्यूँका त्यूँ रहेका छन्। यही अवस्थामा जनताको सेवामा समर्पित भावनासहित चिकित्सकीय पृष्ठभूमिबाट राजनीतिमा प्रवेश गरेका डा. रायले परिवर्तनको सशक्त विकल्प प्रस्तुत गरेका छन्। उनी पुरानो बेथिति हटाएर सुशासन र जनउत्तरदायी शासन प्रणाली स्थापना गर्ने प्रतिबद्धतासहित चुनावी मैदानमा उत्रिएका हुन्। जनताको विश्वास जित्दै अघि बढ्दै भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता, पारदर्शी प्रशासन र जवाफदेही नेतृत्वलाई मुख्य एजेन्डा बनाएका डा. रायले क्षेत्रको समग्र विकासका लागि स्पष्ट कार्ययोजना अघि सारेका छन्। स्वास्थ्य, शिक्षा, कृषि र रोजगारी जस्ता आधारभूत क्षेत्रको सुधार नै आफ्नो प्राथमिकता रहेको उनले स्पष्ट पारेका छन्। चिकित्सकको अनुभवलाई सामाजिक सेवासँग जोड्दै उनले क्षेत्रका नागरिकलाई गुणस्तरीय र सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य लिएका छन्। विशेषगरी उखु किसान तथा श्रमजीवी वर्गका समस्यालाई संसदको रोष्ट्रमसम्म पुर्‍याएर दीर्घकालीन समाधान खोज्ने उनको प्रतिबद्धता रहेको छ। युवा नेतृत्व र विकासको नयाँ दृष्टिकोण युवाहरूलाई स्वदेशमै अवसर सिर्जना गर्ने, उद्यमशीलता प्रवर्द्धन गर्ने तथा विदेश पलायन रोक्ने योजना पनि उनको प्राथमिकतामा रहेको छ। स्थानीय स्रोत–साधनको सदुपयोग गर्दै दिगो विकासको मोडेल लागू गर्ने उनको दृष्टिकोणले मतदाताहरूमा सकारात्मक प्रभाव पारेको बताइन्छ। “अबको छनोट काम गर्ने नेतृत्व र पुरानो बेथितिबीचको हो। सर्लाही–४ ले अब विकास र समृद्धिको बाटो रोज्नुपर्छ,” डा. रायले जनतासँगको भेटघाटका क्रममा बताउँदै आएका छन्। तारा छापमा मतदानको अपिल नेकपा समर्थक तथा स्थानीय कार्यकर्ताहरूले क्षेत्रको विकास र परिवर्तनका लागि तारा छापमा मतदान गरी डा. रजनीश रायलाई विजयी गराउन आग्रह गरिरहेका छन्। मतदाताहरू अब आश्वासन होइन, परिणाम चाहन्छन् भन्ने भावना प्रबल बन्दै गएको छ। सर्लाही–४ मा देखिएको यो राजनीतिक उत्साहले आगामी निर्वाचनलाई थप प्रतिस्पर्धात्मक र रोचक बनाएको छ।

पाल्पा-१ मा परिवर्तनको सन्देश: नेकपाका उम्मेदवार होम बहादुर सुनारी मगरप्रति बढ्दो समर्थन

पाल्पा । पाल्पा क्षेत्र नं. १ मा आगामी निर्वाचनलाई लक्षित गर्दै परिवर्तन र समृद्धिको नयाँ बहस सुरु भएको छ। लामो समयदेखि अधुरा वाचा र सुस्त विकासबाट असन्तुष्ट मतदाताहरू यसपटक स्पष्ट दृष्टिकोणसहित अघि आएका उम्मेदवारतर्फ आकर्षित भएका छन्। यही सन्दर्भमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार होम बहादुर सुनारी मगरप्रति जनसमर्थन उल्लेख्य रूपमा बढ्दै गएको देखिएको छ। स्थानीय भूगोल, सामाजिक संरचना र आर्थिक सम्भावनाबारे गहिरो समझ राख्ने सुनारी मगरले आफ्नो उम्मेदवारीलाई विकास र पारदर्शितासँग जोडेर प्रस्तुत गरेका छन्। क्षेत्र नं. १ का ग्रामीण बस्तीहरूमा पुगेर उहाँले पूर्वाधार, कृषि, पर्यटन, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्दै आएका छन्।  पूर्वाधार विकासमा स्पष्ट र दीर्घकालीन भिजन क्षेत्र नं. १ का दुर्गम तथा ग्रामीण बस्तीहरूमा अझै पनि गुणस्तरीय सडक सञ्जालको अभाव छ। वर्षायाममा हिलाम्मे सडक र अवरुद्ध यातायातले स्थानीय बासिन्दा समस्यामा पर्ने गरेका छन्। यस अवस्थालाई अन्त्य गर्न सुनारी मगरले चरणबद्ध रूपमा ग्रामीण सडकहरूको स्तरोन्नति, कालोपत्रे विस्तार र नियमित मर्मतसम्भारको दीर्घकालीन योजना अघि सारेका छन्। साथै, मोटरेबल पुल निर्माणमार्फत खोलानाला पार गर्नुपर्ने बाध्यतालाई अन्त्य गर्ने र आवागमनलाई सुरक्षित तथा सहज बनाउने लक्ष्य राखिएको छ। कालीगण्डकी करिडोरको अधिकतम उपयोग गरी स्थानीय कृषि उत्पादन, जडीबुटी तथा हस्तकला सामग्रीलाई राष्ट्रिय बजारसँग जोड्ने रणनीतिले क्षेत्रीय अर्थतन्त्रलाई बलियो बनाउने अपेक्षा गरिएको छ। कृषि र पर्यटनको आधुनिकीकरणमार्फत आर्थिक समृद्धि पाल्पा सुन्तला, अदुवा र दुग्ध उत्पादनका लागि चिनिने उर्वर क्षेत्र हो। तर उचित भण्डारण, प्रशोधन र बजारीकरण अभावमा किसानले अपेक्षित लाभ पाउन सकेका छैनन्। सुनारी मगरले किसानलाई सहुलियत ऋण, आधुनिक कृषि प्रविधि, सिँचाइ विस्तार तथा कोल्ड स्टोरेज स्थापनाको पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। कृषि सहकारीलाई सुदृढ बनाउँदै उत्पादनलाई ब्रान्डिङ गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने लक्ष्यसमेत राखिएको छ। साथै, ऐतिहासिक, धार्मिक र प्राकृतिक सम्पदाले भरिपूर्ण पाल्पामा होमस्टे प्रवर्द्धन, आन्तरिक पर्यटन प्रवाह वृद्धि र पर्यटकीय पूर्वाधार विकासमार्फत रोजगारी सिर्जना गर्ने स्पष्ट योजना प्रस्तुत गरिएको छ। शिक्षा र स्वास्थ्य सेवामा समान पहुँचको सुनिश्चितता गुणस्तरीय शिक्षा र आधारभूत स्वास्थ्य सेवा प्रत्येक नागरिकको अधिकार हो भन्ने धारणा अघि सार्दै सुनारी मगरले स्थानीय स्तरमै प्राविधिक तथा व्यावसायिक शिक्षाको विस्तार गर्ने लक्ष्य लिएका छन्। युवालाई रोजगारीमुखी सीप प्रदान गर्न प्राविधिक शिक्षालय स्थापना तथा छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्ने योजना उनको प्राथमिकतामा छ। स्वास्थ्यतर्फ, प्राथमिक स्वास्थ्य चौकीहरूको स्तरोन्नति, आवश्यक औषधि तथा दक्ष जनशक्ति व्यवस्थापन र दुर्गम बस्तीमा नियमित स्वास्थ्य शिविर सञ्चालन गर्ने प्रतिबद्धता जनाइएको छ। गरिब तथा विपन्न वर्गलाई लक्षित स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बनाउने विषय पनि उनको एजेन्डामा समेटिएको छ। भ्रष्टाचारमुक्त र पारदर्शी नेतृत्वको प्रतिबद्धता सार्वजनिक स्रोत–साधनको दुरुपयोग र अपारदर्शिताले विकासको गति अवरुद्ध हुने भन्दै सुनारी मगरले सुशासनलाई आफ्नो अभियानको केन्द्रमा राखेका छन्। बजेट विनियोजनदेखि कार्यान्वयनसम्म पारदर्शी प्रक्रिया अवलम्बन गर्ने, सामाजिक लेखापरीक्षणलाई अनिवार्य बनाउने तथा जनतासँग नियमित प्रतिवेदन प्रस्तुत गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन्। “जनताको सेवक”को भूमिकामा रहेर काम गर्ने र विकास निर्माणका प्रत्येक परियोजनामा जनसहभागिता सुनिश्चित गर्ने उनको धारणा छ। यसले स्थानीय तहमा विश्वास र उत्तरदायित्वको संस्कार बसाल्ने अपेक्षा गरिएको छ। सांस्कृतिक पहिचान संरक्षण र समावेशी विकास पाल्पाको ऐतिहासिक विरासत, मौलिक कला–संस्कृति र मगर समुदायसहित विभिन्न जातजातिको सहअस्तित्व यस क्षेत्रको विशेषता हो। सुनारी मगरले सांस्कृतिक सम्पदाको संरक्षण, परम्परागत कला र भाषाको प्रवर्द्धन तथा सांस्कृतिक पर्यटन विकासमा जोड दिने बताए। सबै समुदायलाई समान अवसर र प्रतिनिधित्व सुनिश्चित गर्दै समावेशी विकासको अभ्यासलाई सुदृढ गर्ने उनको प्रतिबद्धता छ। सामाजिक सद्भाव, सहकार्य र आपसी सम्मानलाई विकासको आधार मान्दै उनले क्षेत्र नं. १ लाई आर्थिक रूपमा मात्र होइन, सांस्कृतिक रूपमा पनि समृद्ध बनाउने लक्ष्य अघि सारेका छन्।  पाल्पा क्षेत्र नं. १ मा आगामी निर्वाचनसँगै विकास र परिवर्तनको बहस तीव्र बन्दै गइरहेका बेला, सुनारी मगरले अघि सारेका यी विस्तृत एजेन्डा र योजनाले चुनावी माहोललाई थप अर्थपूर्ण बनाएको छ।  

अतिवादका विरुद्ध प्रचण्डकाे आह्वान: तारामा मतदान

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयाेजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश यतिबेला असाधारण राजनीतिक मोडमा उभिएको बताउँदै आगामी निर्वाचनलाई “राष्ट्र जोगाउने, लोकतन्त्रको रक्षा गर्ने र समाजवादी दिशातर्फ अघि बढ्ने ऐतिहासिक अवसर”का रूपमा लिन आग्रह गर्नुभएको छ।  हिजाे शनिबार रोल्पा, रुपन्देही र कपिलवस्तुमा आयोजित विशाल चुनावी सभाहरूलाई सम्बोधन गर्दै उहाँले नयाँ एकता, दृढ अडान र समाजवादी अभियानलाई सफल बनाउन नेकपाको चुनाव चिह्न ‘तारा’मा मतदान गर्न अपिल गर्नुभयो। प्रचण्डले आफ्नो सम्बोधनमा दोहोर्याउँदै भन्नुभयो-“यो निर्वाचन सामान्य सत्ता परिवर्तनको प्रक्रिया मात्र होइन, राष्ट्रिय संकटबाट मुक्तिको अभियान हो। जनताको मत नै अन्तिम शक्ति हो, र यसपटकको मतले देशको दिशा तय गर्नेछ।” उहाँका अनुसार विगत केही महिनामा विकसित राजनीतिक घटनाक्रमले देशलाई असहज र जटिल परिस्थितितर्फ धकेलेको थियो, जसको निकासका लागि निर्वाचन अपरिहार्य बनेको हो। संकटको पृष्ठभूमि र निर्वाचनको औचित्य रुपन्देहीमा बोल्दै प्रचण्डले भदौ २३–२४ गतेका हिंसात्मक घटनाले देशलाई गम्भीर संकटमा पुर्‍याएको स्मरण गराउनुभयो। सिंहदरबार, सर्वोच्च अदालत, संसद् भवन तथा विभिन्न राजनीतिक दलका कार्यालय र नेताहरूका निवासमा भएको आगजनी र तोडफोडलाई उहाँले “अराजक र अतिवादी प्रवृत्तिको अभिव्यक्ति” भन्दै त्यसले लोकतान्त्रिक प्रणालीमाथि चुनौती खडा गरेको बताउनुभयो। उहाँका अनुसार त्यसपछि राष्ट्रपति, प्रधानमन्त्री, सेनापति र प्रमुख राजनीतिक दलका प्रतिनिधिहरूबीच भएको गहन छलफलपछि देशलाई निकास दिन अन्तरिम सरकार गठन र निर्वाचनमा जाने सहमति जुटाइएको थियो। “यो निर्वाचन न जनताले प्रत्यक्ष मागेको थियो, न दलहरूले चाहेका थिए,” उहाँले भन्नुभयो, “तर संविधान, लोकतन्त्र र राष्ट्रिय स्थायित्व जोगाउन निर्वाचन नै उपयुक्त विकल्प ठहरियो।” स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचनको जोड तीनै जिल्लामा उहाँले एकै स्वरमा स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचनको आवश्यकता औंल्याउनुभयो। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, निर्वाचन आयोग र अदालतलगायत सबै संवैधानिक निकायलाई राष्ट्रहितलाई सर्वोपरि राखेर जिम्मेवारी निर्वाह गर्न आग्रह गर्दै उहाँले कुनै पनि प्रकारको धाँधली, चलखेल वा दबाब स्वीकार्य नहुने स्पष्ट पार्नुभयो। “जनताको वास्तविक अभिमत प्रतिबिम्बित हुने वातावरण निर्माण गर्नु राज्यका सबै निकायको साझा दायित्व हो,” उहाँले जोड दिनुभयो। सरकारका उपलब्धि र अवरोध प्रचण्डले आफ्नो नेतृत्वको सरकारका उपलब्धिहरू स्मरण गर्दै भ्रष्टाचारविरुद्धको अभियान, सामाजिक न्यायको विस्तार, आर्थिक सुधार र सन्तुलित परराष्ट्र नीतिलाई उल्लेखनीय कदमका रूपमा प्रस्तुत गर्नुभयो। नक्कली भुटानी शरणार्थी प्रकरण, सुन तस्करी अनुसन्धानलगायतका विषयलाई उदाहरण दिँदै उहाँले ठूला माफिया र दलाल शक्तिविरुद्ध सरकारले कडा कदम चालेको दाबी गर्नुभयो। “हामीले ठूला–ठूला स्वार्थ समूहको विरुद्ध उभिने साहस गर्‍यौं,” उहाँले भन्नुभयो, “तर त्यही कारण भ्रष्टाचारका संरक्षक शक्तिहरू एकजुट भएर सरकार ढाल्न लागे।” यद्यपि आफूहरू निराश नभएको उल्लेख गर्दै उहाँले जनताको बीचबाटै नयाँ शक्ति संगठित गरिने बताउनुभयो। अतिवादको आलोचना, एकताको प्रस्ताव देशमा दुई प्रकारका अतिवादी प्रवृत्ति देखिएको उल्लेख गर्दै उहाँले एकातिर व्यवस्थालाई उल्ट्याउन खोज्ने प्रतिक्रियावादी सोच र अर्कोतिर यथास्थितिलाई जोगाइराख्न चाहने प्रवृत्ति दुवै लोकतन्त्रका लागि हानिकारक भएको बताउनुभयो। यसको विकल्प देशभक्त वामपन्थी र क्रान्तिकारी शक्तिको एकता भएको उहाँको धारणा थियो। उहाँले नेकपा गठनको उद्देश्य कम्युनिस्ट आन्दोलनलाई पुनर्गठित र शुद्धीकरण गर्दै एउटै बलियो केन्द्र निर्माण गर्नु रहेको स्पष्ट पार्नुभयो। “देशलाई निकास दिन सक्षम शक्ति निर्माण गर्नु अहिलेको आवश्यकता हो, त्यसका लागि देशभर जनताले अब तारामा मतदान गर्नुहुन्छ भन्ने विश्वास लिएका छाैँ। अतिवादका विरुद्ध अब तारामा मतदाननै उत्तम उपाय हाे।,” उहाँले भन्नुभयो। ‘बन्दुक होइन, मतपत्र’बाट समाजवाद रोल्पाको ऐतिहासिक सन्दर्भ स्मरण गर्दै प्रचण्डले अबको संघर्ष हतियारले होइन, मतपत्रले हुने स्पष्ट पार्नुभयो। “हामी हतियारको राजनीतिबाट मतपत्रको राजनीतिमा प्रवेश गरिसकेका छौं,” उहाँले भन्नुभयो, “अब परिवर्तनको शक्ति जनताको मतपत्रमा निहित छ।” रोल्पालाई “क्रान्तिको लालकिल्ला”का रूपमा चित्रित गर्दै उहाँले विगतमा यही भूमिबाट परिवर्तनको सन्देश गएको र अब फेरि राष्ट्रिय सन्देश दिनुपर्ने बेला आएको बताउनुभयो। “रोल्पाको माटो साक्षी छ-यो धर्तीले सधैं परिवर्तनको पक्षमा उभिएको छ,” उहाँले भावुक स्वरमा भन्नुभयो। राष्ट्रियता र सन्तुलित परराष्ट्र नीति प्रचण्डले नेपालको सार्वभौमसत्ता र राष्ट्रिय हितलाई केन्द्रमा राखेर छिमेकी तथा अन्य मुलुकसँग सन्तुलित र मर्यादित सम्बन्ध कायम गर्ने प्रतिबद्धता दोहोर्याउनुभयो। “हामी कसैको विरोधमा होइनौं,” उहाँले स्पष्ट पार्नुभयो, “तर राष्ट्रिय स्वाभिमान र स्वाधीनताको प्रश्नमा कुनै सम्झौता हुँदैन।” संविधान संशोधन र प्रणाली सुधार उहाँले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र समावेशी प्रतिनिधित्वजस्ता विषयमा बहस आवश्यक रहेको उल्लेख गर्नुभयो। राजनीतिक स्थायित्व र सुशासनका लागि प्रणालीगत सुधार अपरिहार्य रहेको उहाँको भनाइ थियो। निष्कर्ष  सम्बोधनको अन्त्यमा प्रचण्डले जुनसुकै षड्यन्त्र भए पनि अन्तिम फैसला जनताकै हातमा रहने विश्वास व्यक्त गर्नुभयो। “यो पटकको मतदान परिवर्तन, सुशासन र समाजवादी दिशाको पक्षमा हुनेछ भन्नेमा म विश्वस्त छु,” उहाँले भन्नुभयो। रोल्पा, रुपन्देही र कपिलवस्तुबाट उठेको सन्देशलाई एउटै सूत्रमा बाँध्दै उहाँले देश संकटमा पर्दा निकास दिने जिम्मेवारी फेरि पनि नेकपामाथि आएको दाबी गर्नुभयो। नयाँ एकता, राष्ट्रिय स्वाधीनता, सामाजिक न्याय र आर्थिक रूपान्तरणका एजेन्डालाई केन्द्रमा राख्दै उहाँले मतदातासँग भावनात्मक र राजनीतिक दुवै अपिल गर्नुभयो—“देशका लागि, लोकतन्त्रका लागि, समाजवादको यात्राका लागि तारामा मतदान गरौं।”

सुनसरी–३ मा दुर्गेश चौधरीको पक्षमा जनलहर, घरदैलो अभियान तीव्र

सुनसरी । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सुनसरी क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार दुर्गेश कुमार चौधरी को पक्षमा जनलहर बढ्दै गएको छ। चुनाव नजिकिँदै जाँदा चौधरीले आफ्नो घरदैलो अभियानलाई तीव्र बनाएका छन्। गाउँ–गाउँ, टोल–टोल पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गरिरहेका चौधरीले आफू जन्मेको र हुर्किएको माटोप्रतिको दायित्व कहिल्यै नबिर्सिने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले सुनसरी–३ लाई केवल निर्वाचन क्षेत्र मात्र नभई आफ्नो कर्मभूमि र पहिचानको आधार भएको बताएका छन्। घरदैलो अभियानका क्रममा स्थानीय आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूसँगको भेटमा चौधरीले विगतमा सुख–दुःखमा साथ दिएको स्मरण गराउँदै आगामी दिनमा अझ जिम्मेवार भएर काम गर्ने अठोट व्यक्त गरेका छन्। उनले भने, “हजुरहरूको विश्वास नै मेरो सबैभन्दा ठूलो शक्ति हो। विकास त निरन्तर प्रक्रिया हो, तर जनताको भरोसा र माया नै मेरो लागि सबैभन्दा ठूलो कुरा हो।” स्थानीय तहका विभिन्न बस्तीहरूमा आयोजित साना–ठूला कोणसभा र भेटघाट कार्यक्रममा उल्लेख्य सहभागिता देखिएको छ। नेकपाका स्थानीय नेता–कार्यकर्ताहरूका अनुसार अहिले सुनसरी–३ मा चौधरीको पक्षमा स्पष्ट जनसमर्थन देखिन थालेको छ। युवादेखि ज्येष्ठ नागरिकसम्मको सक्रिय सहभागिताले अभियान थप उत्साहजनक बनेको उनीहरूको दाबी छ। चौधरीले सुनसरी–३ लाई नमूना र समृद्ध क्षेत्र बनाउने आफ्नो स्पष्ट योजना रहेको बताउँदै शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता दोहोर्‍याएका छन्। “हजुरहरूको एक–एक मत मेरो लागि केवल भोट होइन, त्यो म प्रतिको भरोसा र उज्ज्वल भविष्यको संकल्प हो,” उनले भने। निर्वाचनको मिति नजिकिँदै जाँदा सुनसरी–३ मा चुनावी माहोल थप तातेको छ। यसैबीच, दुर्गेश कुमार चौधरीको सक्रियता र जनसम्पर्क अभियानका कारण नेकपाको पक्षमा माहोल झनै सुदृढ बन्दै गएको समर्थकहरूको दाबी छ।