झापा–५ मा कम्युनिस्टहरूको एकमात्र भरोसायोग्य उम्मेदवार आफु भएकाे नेकपाका रञ्जित तामाङकाे दाबी
झापा । झापा–५ मा नेपाली कम्युनिस्ट आन्दोलनको स्पष्ट, दृढ र निस्वार्थ प्रतिनिधित्व गर्दै उम्मेदवारी दिएका नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रञ्जित तामाङले आफ्नो उम्मेदवारी फिर्ता लिने चर्चा पूर्णतः निराधार, कपोलकल्पित र योजनाबद्ध रूपमा फैलाइएको भ्रम भएको बताएका छन्।
पत्रकार सम्मेलनमार्फत उनले स्पष्ट शब्दमा भनेका छन् कि झापा–५ को मैदानमा उनी अन्तिमसम्म डटेर उभिनेछन् र जनताको मतमार्फत विजय हासिल गर्ने दृढ अठोटका साथ अघि बढिरहेका छन्।
उनले भने, “यहाँ भएका सबै उम्मेदवारलाई जनताको मतद्वारा पराजित गरेर जित्नका लागि उम्मेदवारी दिएको हो। हामी कसैलाई छोड्दैनौँ। हामी नजित्दासम्म छोड्दैनौँ।”
उनको यो अभिव्यक्तिले झापा–५ का मतदातामाझ स्पष्ट सन्देश दिएको छ—यो उम्मेदवारी कुनै बार्गेनिङ, सम्झौता वा लेनदेनका लागि होइन, सिद्धान्त र विचारका आधारमा लडिएको राजनीतिक प्रतिस्पर्धा हो।
सामाजिक सञ्जाल र केही समूहहरूले आफू दोहोरो मारमा परेको भन्दै उम्मेदवारी फिर्ता लिने हल्ला फैलाएकोप्रति उनले गम्भीर आपत्ति जनाएका छन्। उनले भने, “जिम्मेवार भनिएका केही व्यक्तिहरूले मतदातामाझ तालमेल भएको वा हामीले छोड्ने सहमति भएको भनेर भ्रम सिर्जना गरिरहेका छन्। कहिले पूर्वप्रधानमन्त्रीले हामीलाई छोड्यो, तालमेल भयो भन्ने हल्ला चलाइएको छ। भावी भनिएकाहरूले पनि हामीलाई छोड्ने कुरा भयो भनेर प्रचार गरिरहेका छन्। तर हाम्रो पार्टीको आधिकारिक धारणा स्पष्ट छ—हामी मैदानमा छौँ, अन्तिमसम्म छौँ।”
झापा–५ लामो समयदेखि राष्ट्रिय राजनीतिको केन्द्रबिन्दुका रूपमा परिचित रहँदै आएको क्षेत्र हो। यस क्षेत्रबाट केपी शर्मा ओली जस्ता प्रभावशाली नेता चुनावी प्रतिस्पर्धामा रहेका छन्। तर तामाङले स्पष्ट रूपमा दाबी गरेका छन् कि सहयोग जसले गरे पनि ओलीले यस पटक जनताको बदलिएको मनोविज्ञान र अपेक्षालाई सम्बोधन गर्न नसक्ने अवस्था रहेको छ। “अब मतदाता व्यक्तिको प्रभाव होइन, नीतिको स्पष्टता र प्रतिबद्धता हेर्छन्,” उनले जोड दिए।
तामाङ आफूलाई झापा–५ का कम्युनिस्ट धाराको एक मात्र स्पष्ट, संगठित र सिद्धान्तनिष्ठ उम्मेदवारको रूपमा प्रस्तुत गरिरहेका छन्। उनका अनुसार, वाम आन्दोलनको रक्षा, श्रमिक–किसानको हकहित, राष्ट्रिय स्वाधीनता, भ्रष्टाचारविरुद्धको संघर्ष र जनतामुखी विकासका मुद्दाहरूलाई नडगमगाइ अघि बढाउन सक्ने शक्ति नेपाली कम्युनिस्ट पार्टी मात्र हो। उनले मतदातासमक्ष अपिल गर्दै भने, “यदि तपाईंहरू साँचो अर्थमा कम्युनिस्ट विचार, संघर्षशील नेतृत्व र जनताको पक्षमा उभिने प्रतिनिधि चाहनुहुन्छ भने, हामीलाई साथ दिनुहोस्।”
झापा–५ मा ओलीसहित अन्य दलका प्रभावशाली उम्मेदवारहरू चुनावी मैदानमा रहेकाले प्रतिस्पर्धा निकै चर्किएको छ। पछिल्ला दिनहरूमा तालमेल, उम्मेदवारी फिर्ता र आन्तरिक समीकरणका चर्चाले चुनावी माहोल झनै तातेको छ। तर यस्ता चर्चाबीच रञ्जित तामाङले आफू अडिग रहेको स्पष्ट सन्देश दिँदै झापा–५ का मतदातामाझ आशा, स्पष्टता र वैचारिक दृढताको सकारात्मक सन्देश प्रवाह गरेका छन्।
समग्रमा, झापा–५ को चुनाव केवल व्यक्तिहरूबीचको प्रतिस्पर्धा होइन, विचार, सिद्धान्त र राजनीतिक दिशाबीचको प्रतिस्पर्धाका रूपमा उभिएको देखिन्छ। यस सन्दर्भमा रञ्जित तामाङ आफूलाई समझौता नगर्ने, अन्तिमसम्म लड्ने र कम्युनिस्ट आन्दोलनको सच्चा प्रतिनिधित्व गर्ने उम्मेदवारका रूपमा स्थापित गर्दै अघि बढिरहेका छन्।
सिन्धुपाल्चोक-२ मा युवराज दुलाल: घरदैलो तीव्र, विपद्मा गरेको कामको उच्च मूल्यांकन
सिन्धुपाल्चोक । प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा चुनावी गतिविधि दिनप्रतिदिन तीव्र बन्दै गएको छ। यसैक्रममा नेकपाका उम्मेदवार युवराज दुलाल “शरद” विकासको निरन्तरता, स्थायित्व र परिणाममुखी कार्यान्वयनलाई मुख्य एजेन्डा बनाउँदै घरदैलो अभियानमा सक्रिय रूपमा जुटेका छन्। पछिल्ला दिनमा उनी गाउँ–टोल, बस्ती र बजार क्षेत्रमा पुगेर प्रत्यक्ष संवादलाई प्राथमिकतामा राख्दै चुनावी माहोल आफ्नो पक्षमा पार्न प्रयासरत छन्। औपचारिक आमसभाभन्दा प्रत्यक्ष भेटघाटलाई प्रभावकारी माध्यम मान्दै दुलाल मतदातासँग साक्षात्कार गरिरहेका छन्। साना अन्तरक्रियात्मक कार्यक्रममार्फत स्थानीयका गुनासा, सुझाव र अपेक्षा सुन्दै उनले आफ्ना योजनाबारे स्पष्ट धारणा राखिरहेका छन्। “जनताको विश्वास जित्ने आधार प्रत्यक्ष संवाद नै हो,” उनले एक कार्यक्रममा भने, “घोषणापत्रमा सीमित नभई कामको निरन्तरता र परिणाम देखिनुपर्छ।” घरदैलो अभियानका क्रममा देखिएको स्थानीय उत्साहले उनलाई जितको नजिक पुर्याएको समर्थकहरूको दाबी छ। दुलालले यसअघि सुरु गरिएका पूर्वाधार योजनालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्। ग्रामीण सडक स्तरोन्नति, खानेपानी आयोजनाको विस्तार, सिँचाइ व्यवस्थापन तथा कृषि उत्पादनको बजार सुनिश्चितता उनका प्राथमिक एजेन्डा हुन्। कृषकलाई उत्पादनमै सीमित नराखी बजार र मूल्य सुनिश्चिततासम्म जोड्ने नीति आवश्यक रहेको उनको भनाइ छ। स्थानीय तहमा सुरु भएका कतिपय अधुरा योजनालाई समयमै सम्पन्न गरिने आश्वासन पनि उनले दिएका छन्। कोरोना महामारीका कठिन दिनदेखि भूकम्प तथा बाढीपहिरो जस्ता विपद्का बेला उनले खेलेको भूमिकालाई मतदाताले उच्च मूल्यांकन गरिरहेका छन्। राहत व्यवस्थापन, पुनःनिर्माण पहल र प्रभावित परिवारसम्म प्रत्यक्ष पुगेर सहयोग जुटाउने कार्यले उनलाई “विकासवादी नेताको पहिचान” दिलाएको स्थानीय बताउँछन्। विपद् व्यवस्थापनमा सक्रिय उपस्थितिले उनको नेतृत्व क्षमताप्रति जनविश्वास थप बलियो बनेको विश्लेषण गरिएको छ। युवालाई स्वरोजगार र उद्यमशीलतामा प्रवर्द्धन गर्ने विशेष कार्यक्रम ल्याउने तयारीसमेत उनले सार्वजनिक गरेका छन्। वैदेशिक रोजगारीलाई मात्र विकल्प मान्ने प्रवृत्तिमा परिवर्तन ल्याउँदै स्थानीय स्रोत, सीप र सम्भावनाको उपयोगमार्फत रोजगारी सिर्जना गर्ने उनको योजना छ। “युवालाई अवसर दिन सके गाउँमै सम्भावना छ,” उनले भने, “सीप, लगानी र बजारलाई जोड्ने स्पष्ट योजना आवश्यक छ।” उनले अघि सारेको “विकासको बाकस” अवधारणालाई यसपटक थप परिमार्जित र विस्तारित ढाँचामा कार्यान्वयन गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्। दीर्घकालीन योजना, पारदर्शी बजेट व्यवस्थापन र नियमित अनुगमनमार्फत परिणाममुखी विकास सुनिश्चित गरिने उनको दाबी छ। प्रदेश तहमा जिम्मेवारी सम्हालिसकेको अनुभवलाई संघीय स्तरमा उपयोग गर्दै क्षेत्र नम्बर २ लाई नमूना विकास क्षेत्र बनाउने लक्ष्य उनले अघि सारेका छन्। घरदैलो अभियानका क्रममा स्थानीय बासिन्दाले रोजगारी, कृषि उपजको उचित मूल्य, गुणस्तरीय शिक्षा र सुलभ स्वास्थ्य सेवा मुख्य प्राथमिकता भएको बताएका छन्। दुलालले ती विषयलाई नीतिगत प्राथमिकतामा समेट्ने आश्वासन दिँदै “विकासलाई नारामा होइन, नतिजामा देखाउने” प्रतिबद्धता दोहोर्याएका छन्। उता, अन्य उम्मेदवारहरू पनि सक्रिय बन्दै जाँदा चुनावी प्रतिस्पर्धा रोचक मोडमा पुगेको छ। विकासको निरन्तरता, विपद्मा गरेको कामको मूल्यांकन र प्रत्यक्ष जनसम्पर्क अभियानका आधारमा युवराज दुलाल “शरद” क्षेत्र नम्बर २ मा बलियो दाबेदारका रूपमा उभिएको समर्थकहरूको दाबी छ। चर्किंदो चुनावी माहोलबीच मतदाताको अन्तिम निर्णयले सिन्धुपाल्चोक–२ को आगामी राजनीतिक तथा विकासीय दिशा तय गर्नेछ।
मध्यपूर्व तनावबारे प्रचण्डको गहिरो चिन्ता: नेपालीको सुरक्षामा उच्च सतर्कता अपनाउन सरकारलाई आग्रह
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयाेजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इरानमाथि अमेरिका र इजरायलबाट भएका आक्रमण तथा त्यसपछि विकसित घटनाक्रमप्रति गहिरो चिन्ता व्यक्त गर्नुभएकाे छ। प्रचण्डले उक्त घटनाले समग्र मध्यपूर्व क्षेत्रमा गम्भीर तनाव सिर्जना गरेको उल्लेख गर्दै शान्ति, संयमता र कूटनीतिक पहलमार्फत समाधान खोजिनुपर्नेमा जोड दिनुभयाे। पूर्वप्रधानमन्त्री प्रचण्डले जारी गर्नुभएकाे सन्देशमा हालको परिस्थितिले विशेषगरी मध्यपूर्व क्षेत्रमा कार्यरत लाखौं नेपाली कामदारको सुरक्षामा प्रत्यक्ष प्रभाव पर्न सक्ने बताउनु भएकाे छ। त्यसैले उनीहरूको सुरक्षा सुनिश्चित गर्नु राज्यको पहिलो दायित्व भएको उहाँको भनाइ छ। प्रचण्डले नेपाल सरकारलाई उच्च सतर्कता अपनाउन, सम्बन्धित देशहरूसँग आवश्यक कूटनीतिक पहल गर्न तथा आपतकालीन अवस्था आइपरेमा तत्काल उद्धार र समन्वयका प्रभावकारी संयन्त्र सक्रिय राख्न आग्रह गर्नुभएकाे छ। कुनै पनि नेपाली नागरिकको सुरक्षामा आँच नआओस् भन्नेमा सरकार गम्भीर र जिम्मेवार ढंगले प्रस्तुत हुनुपर्ने उहाँको जोड छ। उहाँले कठिन परिस्थितिमा पनि धैर्य, संयम र मानवताको पक्षमा उभिन अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गर्दै युद्ध र द्वन्द्वको सट्टा वार्ता र सहमतिमार्फत समाधान खोजिनुपर्ने धारणा राख्नुभएकाे छ। साथै, विदेशमा रहेका नेपालीहरूलाई अनावश्यक हल्ला र अफवाहमा नलागी सम्बन्धित निकायको आधिकारिक सूचनामा विश्वास गर्न आग्रह गर्नुभएकाे छ। प्रचण्डको यो सन्देशले राष्ट्रिय हित, नागरिक सुरक्षाप्रति प्रतिबद्धता र अन्तर्राष्ट्रिय शान्तिप्रतिको स्पष्ट धारणा प्रस्तुत गर्नुभएकाे छ।
रुपन्देहीबाट प्रचण्डको स्पष्ट सन्देश: हाल देशकाे संकटलाई नेकपाले नै निकास दिन्छ, त्यसकाे लागि तारामा मतदान
रुपन्देही । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रुपन्देही–५ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै वर्तमान निर्वाचनलाई “सामान्य राजनीतिक प्रक्रिया होइन, राष्ट्रलाई संकटबाट निकास दिने ऐतिहासिक अवसर” भएको बताउनु भएकाे छ। उहाँले निर्वाचन निर्धारित समयभन्दा दुई वर्ष अगावै हुनुपरेको पृष्ठभूमि स्पष्ट पार्दै गत भदौ २३–२४ गते भएका हिंसात्मक घटनाले देशलाई असहज परिस्थितिमा धकेलेको उल्लेख गर्नुभयो। सिंहदरबार, सर्वोच्च अदालत, संसद् भवन, विभिन्न राजनीतिक दलका कार्यालय र नेताहरूका निवासमा आगजनी तथा तोडफोडजस्ता अराजक गतिविधि भएको स्मरण गर्दै उहाँले त्यस्ता अतिवादी प्रवृत्तिले केही घण्टामै राष्ट्रलाई गम्भीर संकटमा पुर्याएको बताउनुभयो। प्रचण्डले असोज २६ गते राति राष्ट्रपति, प्रधानमन्त्री, सेनापति र प्रमुख राजनीतिक दलका प्रतिनिधिहरूबीच रातभर छलफल भएको र आफू तथा कमरेड माधवकुमार नेपाललगायतका नेताहरूले अन्तरिम सरकार गठन गरी निर्वाचनमा जाने सहमति गरेर देशलाई निकास दिएको जानकारी दिनुभयो। “यो निर्वाचन जनताले प्रत्यक्ष मागेको थिएन, न त दलहरूले चाहेका थिए। तर देशको स्थायित्व, संविधान र लोकतन्त्र जोगाउन निर्वाचन नै उपयुक्त उपाय ठहरियो,” उहाँले स्पष्ट भन्नुभयाे। उहाँले केही शक्तिहरूले हिंसात्मक घटनाको नैतिक र भौतिक जिम्मेवारी लिन अस्वीकार गरेको उल्लेख गर्दै आफूहरू भने दुवै प्रकारका अतिवादको विरोधमा दृढतापूर्वक उभिएको बताउनुभयो। “हाम्रो पार्टी राष्ट्रको एकता, स्वाधीनता, सुशासन, भ्रष्टाचारविरोधी अभियान, आर्थिक विकास र सामाजिक न्यायको पक्षमा स्पष्ट अडानका साथ अघि बढेको छ,” उहाँले भन्नुभयो। प्रचण्डले देशभरका बामपन्थी, कम्युनिस्ट तथा देशभक्त शक्तिहरूलाई एकताबद्ध गरेर अघि बढेको दाबी गर्दै स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचन सम्पन्न गर्नु सबैको साझा जिम्मेवारी भएको बताउनुभयो। “सुरक्षा निकाय, कर्मचारीतन्त्र, निर्वाचन आयोग, राजनीतिक दल र सम्पूर्ण देशभक्त नेपालीहरूले यो निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउनु अनिवार्य छ,” उहाँले जोड दिनुभयो। संविधानमा उल्लेखित प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था, पूर्ण समानुपातिक निर्वाचन प्रणाली तथा समावेशी प्रतिनिधित्वका मुद्दा सम्बोधन गर्न आवश्यक रहेको उल्लेख गर्दै उहाँले मतदातालाई नेकपा र त्यसको चुनाव चिह्न ‘तारा’मा अत्यधिक मत दिन आह्वान गर्नुभयो। रुपन्देही–५ मा नेकपाका उम्मेदवार मुहम्मद वकिल मुसलमानलाई अत्यधिक बहुमतले विजयी गराउन आग्रह गर्दै उहाँले उहाँलाई सबै समुदायप्रति समान व्यवहार गर्ने, अनुभवी र सिद्धान्तनिष्ठ नेता भएको बताउनुभयाे। आफ्नो तेस्रो कार्यकालको स्मरण गर्दै प्रचण्डले भ्रष्टाचारविरोधी अभियान, सामाजिक न्याय र आर्थिक समृद्धिको कार्यक्रम अघि बढाइएको तथा सुकुम्बासी समस्या समाधानका लागि लालपुर्जा वितरण कार्य सुरु गरिएको उल्लेख गर्नुभयो। रुपन्देहीमा सुकुम्बासी समस्या गम्भीर रहेको भन्दै उहाँले “मुहम्मद वकिल मुसलमानलाई जिताएमा सुकुम्बासी समस्या समाधान गर्ने जिम्मेवारी नेकपाले लिन्छ,” भन्ने प्रतिबद्धता जनाउनुभयो। भौतिक पूर्वाधार, शिक्षा र स्वास्थ्यका अधुरा कामहरू पूरा गरिने आश्वासन दिँदै उहाँले राष्ट्र संकटमा पर्दा हरेक पटक नेकपाले नै निकास दिएको दाबी गर्नुभयो। सम्बोधनको अन्त्यमा उहाँले आउँदै गरेको होली पर्वको उपलक्ष्यमा सम्पूर्णमा शुभकामना व्यक्त गर्दै रुपन्देही–५ का मतदाताले अतिवाद अस्वीकार गरी स्थायित्व, विकास र समृद्धिको पक्षमा मतदान गर्ने विश्वास व्यक्त गर्नुभयो।
ओखलढुंगामा एमालेभित्रैबाट ‘तारामा भोट’ अभियान, नेकपाका उम्मेदवार गुरुङलाई खुला समर्थन
ओखलढुंगा । ओखलढुंगामा चुनावी माहोल झन् तातिँदै गएको छ। नेकपाका उम्मेदवार अम्बिरबाबु गुरुङको पक्षमा नेकपा एमालेभित्रकै नेता–कार्यकर्ताहरू खुलेर उत्रिएका छन्। स्थानीय तहदेखि सक्रिय रहँदै आएका एमालेका प्रभावशाली नेताहरूले “विकासका लागि सक्षम नेतृत्व आवश्यक छ” भन्दै गुरुङलाई जिताउन ‘तारामा भोट’ अभियान सुरु गरेका हुन्। २०७९ सालमा वडाअध्यक्षका उम्मेदवार बनेका पात्ले क्षेत्रका प्रभावशाली नेता पेमा रिन्जी शेर्पाले सार्वजनिक रूपमा धारणा राख्दै भने, “पार्टीले यस पटक गतिलो उम्मेदवार उठाउन सकेन। विकास र जनताको अपेक्षा पूरा गर्न सक्ने नेतृत्व अम्बिर गुरुङ नै हो भन्ने निष्कर्षमा हामी धेरै एमालेभित्रका साथीहरू पुगेका छौं। त्यसैले तारामा भोट हालेर विकासका लागि उहाँलाई जिताउने सल्लाह भएको छ, त्यही गर्छौं।” एमाले मोलुङ गाउँपालिका–४ का वडा कमिटी अध्यक्ष पदमबहादुर खत्री, उपाध्यक्ष घनबहादुर नेपाली, पालिका कमिटी सदस्य ईश्वरी दर्जी तथा निर्वाचन परिचालन कमिटीका अध्यक्ष कुमार तामाङलगायत दर्जनौं नेता–कार्यकर्ता औपचारिक रूपमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्। उनीहरूले नेकपाका उम्मेदवार अम्बिरबाबु गुरुङको नेतृत्वमा ओखलढुंगामा समृद्धि र स्थायित्वको नयाँ अध्याय सुरु हुने विश्वास व्यक्त गरेका छन्। नवप्रवेशीहरूलाई स्वागत गर्दै उम्मेदवार गुरुङले पार्टीमा विश्वास गरेर आएकोमा धन्यवाद दिँदै भने, “यो समर्थन व्यक्तिको होइन, विकास र परिवर्तनको पक्षमा हो। हामी सबैलाई समेटेर ओखलढुंगाको समग्र विकासका लागि प्रतिबद्ध छौं।” स्थानीय तहमा प्रभाव राख्ने नेताहरूको प्रवेशसँगै ओखलढुंगामा नेकपाको संगठनात्मक बल झन् सुदृढ भएको विश्लेषण गरिएको छ। एमालेभित्रैबाट देखिएको असन्तुष्टि र खुला समर्थनले यसपटकको निर्वाचनमा नेकपाका उम्मेदवार अम्बिरबाबु गुरुङलाई थप ऊर्जा र बल प्रदान गरेको छ। ओखलढुंगाको राजनीतिक परिदृश्यमा आएको यो नयाँ समीकरणले आगामी परिणाममा उल्लेखनीय प्रभाव पार्ने अपेक्षा गरिएको छ।
नयाँ एकता र समाजवादी अभियानका लागि तारामा मतदान:प्रचण्ड
रोल्पा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयाेजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रोल्पाली जनतासँग ‘नयाँ एकता’, ‘दृढ अडान’ र ‘समाजवादी अभियान’लाई सफल पार्ने ऐतिहासिक जिम्मेवारी लिन अपिल गर्नुभएको छ। लिबाङमा (नेकपा)ले आयोजना गरेको विशाल चुनावी सभालाई सम्बोधन गर्दै उहाँले “यो निर्वाचन सामान्य सत्ता परिवर्तनको प्रक्रिया मात्र होइन, राष्ट्रिय संकटबाट मुक्तिको अभियान हो” भन्दै “तारामा मतदान गरेर नयाँ यात्राको सुरुवात गर्न” आग्रह गर्नुभयो। उहाँले आसन्न निर्वाचनलाई ‘राष्ट्र जोगाउने’, ‘लोकतन्त्रको रक्षा गर्ने’ र ‘समाजवादी दिशातर्फ अघि बढ्ने’ निर्णायक घडीका रूपमा चित्रित गर्नुभयो। “जनताको मत नै अन्तिम शक्ति हो,” उहाँले भन्नुभयो, “त्यसैले यो पटकको मतदानले देशको दिशा तय गर्नेछ।” स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचनको जोड प्रचण्डले निर्वाचन ‘धाँधलीरहित, भयरहित र स्वच्छ’ हुनुपर्नेमा विशेष जोड दिँदै त्यसो भए मात्र जनताको वास्तविक अभिमत प्रतिबिम्बित हुने बताउनुभयो। उहाँले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, निर्वाचन आयोग र अदालतलगायत सबै संवैधानिक तथा राज्य निकायलाई “राष्ट्र र लोकतन्त्रको हितलाई सर्वोपरि राखेर” निर्वाचन सफल पार्न आग्रह गर्नुभयो। “कुनै पनि प्रकारको चलखेल, दबाब वा षड्यन्त्र स्वीकार्य हुँदैन,” उहाँले स्पष्ट पार्नुभयो। विगतका उपलब्धि र सरकार ढल्नुको कारण आफ्नो नेतृत्वको सरकारले ‘भ्रष्टाचारविरुद्धको अभियान’, ‘सामाजिक न्यायको विस्तार’, ‘आर्थिक सुधार’ र ‘सन्तुलित परराष्ट्र नीति’मा उल्लेखनीय काम गरेको दाबी गर्दै उहाँले नक्कली भुटानी शरणार्थी प्रकरण, सुन तस्करी अनुसन्धानलगायतका कदमलाई सुशासनको उदाहरणका रूपमा प्रस्तुत गर्नुभयो। “हामीले ठूला–ठूला माफियाविरुद्ध कदम चाल्यौं,” उहाँले भन्नुभयो, “तर त्यही कारणले दलाल र भ्रष्ट शक्तिहरू एकजुट भएर सरकार ढाल्न लागे।” उहाँका अनुसार “भ्रष्टाचारका संरक्षक र पुराना स्वार्थ समूहहरू”ले परिवर्तनको अभियानलाई अवरुद्ध गर्न खोजेका कारण सरकारबाट बाहिरिनुपरेको हो। “तर हामी निराश भएका छैनौं,” उहाँले जोड दिनुभयो, “हामी पुनः जनताकै बीचमा छौं र जनताकै बलमा जवाफ दिनेछौं।” अतिवादको आलोचना र कम्युनिस्ट एकताको आह्वान देशमा देखिएका ‘दुई प्रकारका अतिवादी प्रवृत्ति’-एकातिर व्यवस्थालाई उल्ट्याउन खोज्ने प्रतिक्रियावादी सोच र अर्कोतिर यथास्थितिलाई जोगाइराख्न खोज्ने प्रवृत्तिको आलोचना गर्दै उहाँले त्यसको विकल्प ‘देशभक्त वामपन्थी र क्रान्तिकारी शक्तिको एकता’ भएको बताउनुभयो। यही उद्देश्यले नेकपा गठन गरिएको उल्लेख गर्दै उहाँले “कम्युनिस्ट आन्दोलनलाई पुनर्गठित र शुद्धीकरण गर्दै एउटै बलियो केन्द्र निर्माण गर्ने अभियान” जारी रहेको जानकारी दिनुभयो। वर्षमान पुनलाई जिताउन अपिल रोल्पाबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार वर्षमान पुनलाई अत्यधिक बहुमतले विजयी गराउन आग्रह गर्दै प्रचण्डले “पुनको काँधमा देश र समाजवादको नयाँ यात्राको जिम्मेवारी” रहेको बताउनुभयो। “वर्षमान पुन अनुभवी, इमानदार र संघर्षशील नेता हुन्,” उहाँले भन्नुभयो, “उहाँलाई जिताउनु भनेको रोल्पाको गौरव र राष्ट्रिय राजनीतिमा समाजवादी आवाज सशक्त बनाउनु हो।” उहाँले वर्षमान पुनजस्ता नेताहरूलाई अघि सार्नु ‘नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण’ गर्ने सन्देश भएको उल्लेख गर्दै अबको विकास, सुशासन र रूपान्तरणको जिम्मेवारी युवा पुस्ताले लिनुपर्ने धारणा राख्नुभयो। ‘बन्दुक होइन, मतपत्र’बाट समाजवाद अबको लडाइँ बन्दुकले होइन, मतपत्रले हुन्छ,” प्रचण्डले स्पष्ट शब्दमा भन्नुभयो। उहाँका अनुसार ‘नेपाली विशेषताको समाजवाद’ निर्माण गर्ने मार्ग शान्तिपूर्ण जनमत, संगठन र जनपरिचालनबाट सम्भव छ। “हामी हतियारको राजनीतिबाट मतपत्रको राजनीतिमा प्रवेश गरिसकेका छौं,” उहाँले भन्नुभयो, “अब परिवर्तनको शक्ति जनताको मतपत्रमा निहित छ।” रोल्पाको ऐतिहासिक सन्दर्भ रोल्पालाई “क्रान्तिको लालकिल्ला” र परिवर्तनको संवाहकका रूपमा उल्लेख गर्दै उहाँले यही भूमिबाट विगतमा ठूलो राजनीतिक परिवर्तनको सुरुवात भएको स्मरण गर्नुभयो। “रोल्पाको माटो साक्षी छ-यो धर्तीले सधैं परिवर्तनको पक्षमा उभिएको छ,” उहाँले भावुक हुँदै भन्नुभयो, “अब फेरि एकपटक राष्ट्रिय सन्देश दिनुपर्ने समय आएको छ।” वैदेशिक सम्बन्ध र राष्ट्रियता नेपालको सार्वभौमसत्ता र राष्ट्रिय हितलाई केन्द्रमा राखेर छिमेकी तथा अन्य मुलुकहरूसँग ‘सन्तुलित र मर्यादित सम्बन्ध’ कायम गर्ने आफ्नो प्रतिबद्धता उहाँले दोहोर्याउनुभयो। “हामी कसैको विरोधमा होइनौं,” उहाँले भन्नुभयो, “तर राष्ट्रिय स्वाभिमान र स्वाधीनताको प्रश्नमा कुनै सम्झौता हुँदैन।” सम्बोधनको अन्त्यमा प्रचण्डले “जुनसुकै शक्तिले षड्यन्त्र गरे पनि अन्तिम फैसला जनताकै हातमा हुन्छ” भन्दै लोकतान्त्रिक प्रक्रियाप्रति विश्वास व्यक्त गर्नुभयो। “यो पटकको मतदान परिवर्तन, सुशासन र समाजवादी दिशाको पक्षमा हुनेछ भन्नेमा म विश्वस्त छु,” उहाँले भन्नुभयो, “रोल्पाबाट उठ्ने जनमतले देशलाई नयाँ मोड दिनेछ।” यसरी ‘नयाँ एकता’ र ‘समाजवादी अभियान’लाई मुख्य एजेन्डा बनाउँदै प्रचण्डले रोल्पाली जनतासँग तारामा मतदान गरी परिवर्तनको यात्रामा सहभागी हुन भावनात्मक र राजनीतिक दुवै अपिल गर्नुभएको छ।
कपिलवस्तुमा नेकपा चुनावी सभा: प्रचण्डद्वारा पाँचकुने तारामा मतदान गर्न अपिल
कपिलवस्तु । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयाेजक पुष्पकमल दाहाल प्रचण्डले कपिलवस्तुमा आयोजित नेकपाको चुनावी सभालाई सम्बोधन गर्दै वर्तमान निर्वाचनलाई विषम र विशेष परिस्थितिको परिणामका रूपमा चित्रण गर्नुभएको छ। उहाँले यो निर्वाचन सामान्य राजनीतिक प्रक्रिया मात्र नभई राष्ट्रको स्वाधीनता, राष्ट्रिय एकता र लोकतान्त्रिक अधिकारको रक्षा गर्ने महत्वपूर्ण अवसर भएको बताउनुभयो। उहाँका अनुसार यो निर्वाचन संविधानअनुसार दुई वर्षपछि हुनुपर्ने थियो, तर गत भदौ २३ र २४ गते विकसित राजनीतिक घटनाक्रमका कारण समयअगावै गर्नुपरेको हो। परिस्थितिले देशलाई अनिवार्य रूपमा निर्वाचनतर्फ अघि बढाएको उल्लेख गर्दै उहाँले राजनीतिक स्थायित्वका लागि सबै पक्ष जिम्मेवार बन्नुपर्ने धारणा राख्नुभयो। राजनीतिक सहजीकरणको सन्दर्भमा बोल्दै प्रचण्डले देशलाई निर्वाचनको दिशामा लैजान र राजनीतिक जटिलता अन्त्य गर्न आफूहरूले महत्वपूर्ण भूमिका खेलेको दाबी गर्नुभयो। उहाँले २६ गते राति माधव कुमार नेपालसँग राष्ट्रपति भवनमा रातभर बसेर अन्तरिम सरकार गठन र छ महिनाभित्र निर्वाचन सम्पन्न गर्ने समझदारी जुटाउन सहजीकरण गरिएको स्मरण गराउनुभयो। त्यस समझदारीले राजनीतिक संक्रमण व्यवस्थापन गर्न सहयोग पुगेको उहाँको भनाइ थियो। सुरुवाती चरणमा आफ्नो पार्टीले मात्रै निर्वाचनको विकल्प छैन भन्ने अडान राखेको भए पनि अहिले सबै राजनीतिक दल, नागरिक समाज र आम जनसमुदाय निर्वाचनका लागि तयार भएको देख्दा खुसी लागेको उहाँले बताउनुभयो। लोकतान्त्रिक प्रक्रियामा जनताको सक्रिय सहभागिता नै प्रणालीको मजबुती भएको उहाँको धारणा थियो। कार्यक्रममा कपिलवस्तु जिल्लाको ऐतिहासिक र राजनीतिक महत्वबारे पनि चर्चा गरिएको थियो। कपिलवस्तुलाई नेपालको राजनीतिक आन्दोलन, उत्पादन र संघर्षको इतिहासमा विशिष्ट पहिचान बोकेको जिल्लाका रूपमा चित्रण गर्दै कृषि, व्यवसाय, उद्योग र सामाजिक विकासका क्षेत्रमा जिल्लाले उल्लेखनीय योगदान पुर्याएको उल्लेख गरियो। बहुआयामिक विकासका सम्भावनालाई अझ सुदृढ बनाउन दीर्घकालीन योजना आवश्यक रहेको उहाँले जोड दिनुभयो। उहाँले यस निर्वाचनलाई कुनै एक उम्मेदवारलाई जिताउने वा हराउने सामान्य प्रतिस्पर्धाका रूपमा मात्र नहेरी राष्ट्रको स्वाधीनता र राष्ट्रिय एकताको रक्षा गर्ने अभियानका रूपमा बुझ्न आग्रह गर्नुभयो। यो निर्वाचन नेपाली जनताको आत्मनिर्णयको अधिकार सुरक्षित गर्ने एउटा ठूलो “जनमत संग्रह” जस्तै अवसर भएको उहाँको तर्क थियो। देशलाई संकट र अस्थिरतातर्फ धकेल्ने प्रवृत्तिका विरुद्ध जनमत प्रकट गर्ने माध्यमका रूपमा यसलाई उपयोग गर्नुपर्ने उहाँले बताउनुभयो। उहाँका अनुसार अहिले दुई प्रवृत्तिबीच प्रतिस्पर्धा भइरहेको छ—एकातिर राष्ट्रिय एकता, युवाको अधिकार र समृद्धिको पक्षमा उभिने शक्ति, अर्कोतिर देशका धरोहर र उपलब्धिलाई कमजोर बनाउँदै अस्थिरता सिर्जना गर्ने प्रवृत्ति। मतदाताले विवेकपूर्ण निर्णय गरेर सकारात्मक र प्रगतिशील शक्तिलाई साथ दिनुपर्ने उहाँको आह्वान थियो। सभामा कपिलवस्तु क्षेत्र नम्बर ३ बाट ‘तारा’ चुनाव चिन्ह लिएर प्रत्यक्षतर्फ उम्मेदवार बन्नुभएका अहमद शाह खानलाई अत्यधिक बहुमतले विजयी गराउन विशेष अपिल गरिएको थियो। उहाँले उक्त उम्मेदवार राष्ट्रिय एकता र विकासको एजेन्डासँग प्रतिबद्ध रहेको भन्दै जनताले विश्वास र समर्थन प्रदान गर्ने अपेक्षा व्यक्त गर्नुभयो। समग्रमा, नेकपाको यो चुनावी सभा राजनीतिक स्थिरता, राष्ट्रिय स्वाधीनता र क्षेत्रीय विकासका मुद्दालाई केन्द्रमा राख्दै सम्पन्न भएको छ। नेताहरूले मतदातालाई सक्रिय सहभागिताका लागि आग्रह गर्दै आगामी निर्वाचनलाई ऐतिहासिक अवसरका रूपमा उपयोग गर्न आह्वान गरेका छन्।
विकासप्रेमी नेता युवराज दुलाललाई चुरेटारवासीको सम्मानसहित सहयोग
सिन्धुपाल्चोक। सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता युवराज दुलाललाई हेलम्बु गाउँपालिका–२ चुरेटारवासीले सम्मानस्वरूप खाजा खर्च सहयोग गरेका छन्। चुनावी घरदैलो अभियानका क्रममा चुरेटार पुगेका उम्मेदवार दुलाललाई स्थानीयवासीले विकासप्रति देखाएको प्रतिबद्धताको कदर गर्दै सामूहिक रूपमा आर्थिक सहयोग गरेका हुन्। गाउँका अगुवाहरूले विकासमुखी नेतृत्वलाई साथ र हौसला दिने उद्देश्यले सहयोग प्रदान गरेको बताएका छन्। स्थानीय भीमबहादुर बरूवालले ५ हजार रुपैयाँ, बलबहादुर ज्योतिले ५०५ रुपैयाँ र भीमकुमारी ज्योतिले १ हजार रुपैयाँ गरी कुल ६ हजार ५०५ रुपैयाँ सहयोग गरेका छन्। स्थानीयको भनाइ छ-विकासलाई प्राथमिकतामा राखेर काम गर्ने नेतृत्वलाई प्रोत्साहन गर्न यो सानो सहयोग गरिएको हो। भीमकुमारी ज्योतिले भनिन्, “विकासप्रेमी नेता युवराज दुलाललाई हाम्रो गाउँमा आउँदा खाजा–चियाका लागि खर्च सहयोग गरेका हौं। उहाँले यसअघि जितेका क्षेत्रमा धेरै विकासका काम अघि बढाउनुभएको छ। अब हाम्रो क्षेत्रमा पनि उहाँले जितेर विकासको नयाँ आयाम सुरु गर्नुहुने विश्वास छ।” उनले थपिन्, “चौतारा र इन्द्रावतीमा विकासका ढोका खोल्नुभएका उहाँले हाम्रो गाउँमा पनि विकासको ‘बाकस’ खुलाउने आशा गरेका छौं। यसअघि धेरै प्रतिनिधि जितायौं, तर अपेक्षाअनुसार काम भएन। अब भने दुलालबाट परिणाममुखी काम हुनेमा ढुक्क छौं।” स्थानीयको यो समर्थनले उम्मेदवार दुलालको विकास एजेन्डाप्रति जनविश्वास र उत्साह थपिएको छ।
बर्दियामा नेकपाको पक्षमा जनलहर, प्रवेशीकाे संख्या दिनदिनै बढ्दै
बर्दिया । बर्दिया जिल्लामा नेपाली राजनीतिक वृत्तमा नयाँ तरङ्ग देखिएको छ। विभिन्न पार्टी परित्याग गर्दै ठूलो संख्यामा नेता–कार्यकर्ताहरू नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्। पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट ३०९ जना, नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाट १०१ जना र नेपाली काँग्रेस बाट २५० जना नेता तथा कार्यकर्ताले पार्टी परित्याग गर्दै नेकपामा समाहित भएको जनाइएको छ। नवप्रवेशी नेता–कार्यकर्ताहरूलाई पार्टीले स्वागत गर्दै संगठन विस्तार र सुदृढीकरणका लागि महत्त्वपूर्ण उपलब्धि भएको बताएको छ। यस प्रवेशले जिल्लामा नेकपाको राजनीतिक आधार थप मजबुत बनेको विश्लेषण गरिएको छ। बर्दियामा दुईवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेका छन्। क्षेत्र नं. १ मा नेकपाका उम्मेदवार विष्णुप्रसाद चौधरी प्रतिस्पर्धामा छन्। यता क्षेत्र नं. २ मा नेकपाका उम्मेदवार सुरेश पन्थ उम्मेदवार रहेका छन्। दुवै क्षेत्रमा पार्टी संगठन विस्तार, जनसम्पर्क र राजनीतिक समाहितीका कारण उम्मेदवारहरू जितको नजिक पुगेको दाबी गरिएको छ। विभिन्न पार्टीबाट प्रवेश गर्ने लहरले नेकपाप्रति बढ्दो विश्वास र समर्थनलाई प्रतिबिम्बित गर्ने नेताहरूको भनाइ छ। पार्टीका अनुसार आगामी निर्वाचनमा जनताको परिवर्तनको आकांक्षा पूरा गर्न र विकास तथा समृद्धिको एजेन्डालाई अघि बढाउन दुवै उम्मेदवारलाई विजयी गराउने अभियान तीव्र पारिएको छ।
दोलखामा नेकपा उम्मेदवार विशाल खड्काको पक्षमा समर्थन बढ्दै
दोलखा । आगामी निर्वाचन नजिकिँदै गर्दा दोलखामा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार विशाल खड्काको पक्षमा समर्थन विस्तार भइरहेको दाबी गरिएको छ। जिल्लाका विभिन्न स्थानमा आयोजित चुनावी कार्यक्रममा नेता तथा कार्यकर्ताले उहाँको विकास एजेन्डा र विगतको कार्यसम्पादनलाई अघि सार्दै मतदातामाझ अपिल गरिरहेका छन्। कार्यक्रममा बोल्दै पार्टीका नेताहरूले दोलखाको समग्र विकास, सामाजिक न्याय र आर्थिक समृद्धिका लागि स्पष्ट योजना र प्रतिबद्ध नेतृत्व आवश्यक रहेको बताएका छन्। वामपन्थी नेताहरूले खड्काको नेतृत्वमा जिल्लामा केही महत्वपूर्ण पूर्वाधार तथा विकास योजनाहरू अघि बढेको उल्लेख गर्दै ती योजनाको निरन्तरताका लागि पनि उहाँको जित आवश्यक रहेको बताएका छन्। पार्टीका प्रतिनिधिहरूका अनुसार शैलुङको बृहत्तर विकास योजना, मिनी ग्रेटवाल अवधारणा, रोल्वालिङ क्षेत्रको विकास दृष्टिकोण, तथा रणनीतिक सडक सञ्जाल विस्तारजस्ता योजनाले जिल्लाको आर्थिक सम्भावनालाई टेवा पुर्याउने अपेक्षा गरिएको छ। यसैगरी ग्रामीण क्षेत्रमा पुल, स्वास्थ्य संस्था, विद्यालय तथा सडक पूर्वाधारमा लगानी बढाइएको उनीहरूको भनाइ छ। विभिन्न स्थानमा भएका कार्यक्रममा दर्जनौँ नेता तथा कार्यकर्ताले पार्टी प्रवेश गरेको पनि जनाइएको छ। स्थानीय समुदायका प्रतिनिधिहरूले विकास र रोजगारीका अवसर सृजना गर्ने नेतृत्वलाई समर्थन गर्नुपर्ने धारणा राखेका छन्। विदेशमा रहेका कतिपय युवाहरूले पनि सामाजिक सञ्जाल तथा फोनमार्फत आफ्ना परिवारलाई निर्वाचनमा सक्रिय सहभागिता जनाउन आग्रह गरिरहेको बताइएको छ।
आज राेल्पामा नेकपाकाे विशाल चुनावी सभा हुँदै, संयाेजक प्रचण्डले सम्बाेधन गर्ने
रोल्पा । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले २०८२ फागुन १६ गते लिबाङ, रोल्पामा विशाल चुनावी सभा आयोजना हुने भएकाे छ। पार्टीका संयोजक तथा गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाे प्रमुख आतिथ्यतामा हुन लागेको उक्त सभालाई पार्टीले चुनावी अभियानको महत्वपूर्ण शक्तिप्रदर्शनका रूपमा लिएको छ । सभामा पूर्वमन्त्री तथा रोल्पाबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार वर्षमान पुनले आफ्ना विकास प्राथमिकता, समृद्धि योजना र जनमुखी एजेन्डाबारे स्पष्ट धारणा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । रोल्पाली जनताको विश्वास र समर्थनसँग जोडिएको यो कार्यक्रमले निर्वाचन अभियानलाई थप उर्जा दिने विश्वास लिइएको छ । कार्यक्रममा नेकपाका शीर्ष तथा प्रभावशाली नेताहरूको उपस्थिति रहनेछ । वक्ताका रूपमा नेता कृष्णबहादुर महरा, जाेखबहादुर महरा, झक्कुप्रसाद सुवेदी, मित गहराजले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । नेकपा जिल्ला निर्वाचन परिचालन समिति, रोल्पाले यस सभामा सम्पूर्ण रोल्पावासी जनसमुदायलाई उपस्थित भई पार्टीको नीति, कार्यक्रम र आगामी योजनाबारे प्रत्यक्ष रूपमा जानकारी लिन हार्दिक आग्रह गरेको छ । पार्टी नेतृत्वले रोल्पाको विकास, रोजगारी, पूर्वाधार विस्तार र सामाजिक न्यायका मुद्दालाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता दोहोर्याएको छ । यस प्रकारको विशाल सहभागितामूलक कार्यक्रमले नेकपाको संगठनात्मक शक्ति र जनाधारलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ ।
बुटवलमा नेकपाको घरदैलो तीव्र, परिवर्तनको अभियानमा साथ दिन अपिल : बिश्वदीप
बुटवल । रुपन्देही क्षेत्र नं–२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार बिश्वदीप पाण्डे ‘सुवास’ले शुक्रबार बुटवल उपमहानगरपालिकाका विभिन्न वस्तीमा घरदैलो अभियानलाई तीव्रता दिँदै परिवर्तनको अभियानमा साथ दिन मतदातासँग अपिल गरेका छन्। सयौं नेता–कार्यकर्ताको सहभागितामा आयोजित भेटघाट कार्यक्रममा उनले सुशासन, विकास र समृद्धिका लागि नयाँ सोच र नयाँ नेतृत्व आवश्यक रहेको बताए। मोटरसाइकल र्यालीसहित विभिन्न चोक तथा टोलमा पुगेर मतदातासँग भोट माग्दै उनले रुपन्देही–२ मा तारा चुनाव चिन्हमा मतदान गर्न आग्रह गरे। उनले भने, “घरदैलो अभियान अन्तिम चरणमा पुगे पनि तपाईंहरूको दुःख–सुखमा साथ रहने हाम्रो प्रतिबद्धता अब सुरु हुँदैछ। यसपटक तारा चुनाव चिन्हमा मतदान गर्नुहोस्, हामी सदनबाट तपाईंका आवाज, समस्या र अपेक्षासँग प्रत्यक्ष जोडिनेछौं।” नेपाली कम्युनिष्ट पार्टीका नेता–कार्यकर्ताले शुक्रबार वडा नं ३, ४, ५ र ६ का विभिन्न टोल–टोलमा पुगेर मतदाता भेटघाट गरेका छन्। उम्मेदवार पुग्न नसकेका स्थानमा स्थानीय कार्यकर्ताले घर–घरमै पुगेर समर्थन मागिरहेका छन्। निर्वाचन परिचालन समितिका संयोजक नारायण जीसी ‘निर्मल’का अनुसार झण्डा, माइक, ब्यानर र प्रतिबद्धतापत्रसहित टोल–टोलमा पुगेर चुनावी एजेन्डा प्रस्तुत गर्ने कार्य जारी छ। निर्वाचन आचारसंहिताले तोकेको समयसीमासम्म घरदैलो अभियान निरन्तर सञ्चालन गरिने उनले बताए। संयोजक जीसीले पछिल्लो समय मतदातामा देखिएको उत्साह र सहयोगको प्रतिबद्धताले आफूहरू उत्साहित भएको उल्लेख गरे। शनिबार पनि वडा नं १२ र १३ मा बृहत् र्याली तथा घरदैलो कार्यक्रम सञ्चालन गरिने नेकपा बुटवल उपमहानगर समितिले जनाएको छ।
लमजुङ दोर्दीमा नेकपाका उम्मेदवार तामाङकाे पक्षमा उर्लियो जनसागर
लमजुङ। आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार हरिजङ तामाङको घरदैलो तथा चुनावी अभियानले दोर्दी गाउँपालिकामा व्यापक उत्साह पैदा गरेको छ। विशेषगरी वडा नं. ९ र ८ का बस्तीहरूमा पुगेका तामाङको स्वागतमा स्थानीयको उल्लेख्य सहभागिता देखिएको छ। ग्रामीण बस्तीहरूमा आयोजित भेटघाट तथा कोणसभाहरूमा महिला, ज्येष्ठ नागरिक, किसान र युवाहरूको बाक्लो उपस्थिति रहेको थियो। सहभागीहरूले नाराबाजी र फूलमालासहित तामाङलाई स्वागत गरेका थिए। स्थानीयवासीले विकास, रोजगारी र आधारभूत सेवाको सुनिश्चितताका लागि स्पष्ट योजना माग गरेका थिए। उक्त अवसरमा बोल्दै तामाङले खानेपानीको दिगो व्यवस्था, सडक स्तरोन्नति, कृषि उत्पादनको बजारीकरण र युवाका लागि जिल्लामै रोजगारी सिर्जना आफ्नो मुख्य प्राथमिकता रहेको दोहोर्याए। “राजनीति आश्वासन बाँड्ने माध्यम मात्र होइन, परिणाम दिने प्रतिबद्धता हो,” उनले भने, “दोर्दीको समग्र विकासका लागि यहाँका जनताको सक्रिय साथ र सुझाव अत्यन्त महत्त्वपूर्ण छन्।” कार्यक्रममा निवर्तमान प्रतिनिधिसभा सदस्य तथा नेकपाकी केन्द्रीय सदस्य उर्मिला माझी, केन्द्रीय सदस्य राजु कार्कीलगायत नेता–कार्यकर्ताहरूको सहभागिता रहेको थियो। नेताहरूले दोर्दी क्षेत्रको दीर्घकालीन विकासका लागि एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए। घरदैलोका क्रममा केही युवाहरूले वैदेशिक रोजगारीको विकल्पस्वरूप जिल्लामै अवसर सिर्जना गर्नुपर्ने धारणा राखे भने किसानहरूले कृषि उत्पादनको मूल्य सुनिश्चितता र बजार पहुँच विस्तार गर्न आग्रह गरे। निर्वाचन मिति नजिकिँदै जाँदा दोर्दी क्षेत्रमा राजनीतिक गतिविधि तीव्र बनेको छ। तामाङले भने आफ्नो अभियान सकारात्मक एजेन्डा, विकासको स्पष्ट दृष्टिकोण र जनतासँगको प्रत्यक्ष संवादमै केन्द्रित रहने बताएका छन्।
चितवन–३ मा एकताको सन्देश: संयुक्तका उम्मेदवार जितबहादुर बिक नेकपामा, रेनु दाहालको विजय अभियान थप सशक्त
भरतपुर। चितवन निर्वाचन क्षेत्र नम्बर ३ मा चुनावी प्रतिस्पर्धा रोचक बन्दै गइरहेका बेला नेकपा संयुक्तका उम्मेदवार रहेका जितबहादुर बिकले उम्मेदवारी फिर्ता लिँदै रेनु दाहाल नेतृत्वको विजय अभियानमा साथ दिने घोषणा गरेका छन्। शुक्रबार आयोजित कार्यक्रममा उनी औपचारिक रूपमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गरेका हुन्। पार्टीका नेता तथा चितवन–३ का चुनावी कमान्डर ईश्वरी भट्टराईले उनलाई टीका लगाएर स्वागत गर्दै यो कदम कम्युनिस्ट आन्दोलनको एकता र स्थायित्वतर्फको महत्वपूर्ण पहल भएको बताए। पार्टी प्रवेशपछि बिकले विचार र एजेन्डाको एकीकरणलाई प्राथमिकता दिँदै विकासमुखी राजनीतिक यात्रालाई बलियो बनाउन आफूले उम्मेदवारी फिर्ता लिएको स्पष्ट पारे। उनले चितवन–३ मा वामपन्थी शक्तिहरूबीच सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै रेनु दाहाल को विजय अभियानमा सक्रिय रूपमा लाग्ने प्रतिबद्धता जनाए। साथै, नेकपा संयुक्तसँग आबद्ध अन्य नेता–कार्यकर्तालाई पनि नेकपामा समाहित गराउने बताएका छन्। उक्त अवसरमा बोल्दै रेनु दाहाल ले बिकको निर्णयलाई सकारात्मक र दूरदर्शी कदमका रूपमा व्याख्या गरिन्। उनले भनिन्, “विकास, सुशासन र जनहितका एजेन्डामा केन्द्रित साझा अभियानलाई सशक्त बनाउन यो साथ महत्वपूर्ण छ।” दाहालले बिकलाई धन्यवाद दिँदै पार्टीमा हार्दिक स्वागत गरिन्। कार्यक्रममा निर्वाचन क्षेत्र नम्बर ३ का इन्चार्ज ईश्वरी भट्टराई, चितवन जिल्ला इन्चार्ज घनश्याम दाहाल, जिल्ला संयोजक रामचन्द्र अधिकारीलगायत नेताहरूको उपस्थिति रहेको थियो। चितवन–३ मा यस कदमलाई वाम एकताको सुदृढीकरण र रेनु दाहाल को पक्षमा बढ्दो जनसमर्थनको संकेतका रूपमा हेरिएको छ। चुनावी माहोल तातिँदै जाँदा यो निर्णयले विजय अभियानलाई थप उर्जा दिएको राजनीतिक वृत्तमा चर्चा छ।
२१ फागुन मतदान: कस्ताे रहला माैसम ?
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा आम मतदातामा उठेको मुख्य जिज्ञासा हो—निर्वाचनको दिन मौसम कस्तो रहला? यही चासोलाई मध्यनजर गर्दै जल तथा मौसम विज्ञान विभाग ले आगामी एक साताको विस्तृत मौसम पूर्वानुमान सार्वजनिक गरेको छ। विभागको ‘निर्वाचन विशेष मौसम बुलेटिन’ अनुसार २१ फागुन, अर्थात् मतदानकै दिन, देशभर पानी तथा हिमपातको सम्भावना न्यून रहने देखिएको छ। पहाडी–हिमाली क्षेत्रमा आंशिक बदली, तर ठूलो असरको संकेत छैन विभागले शुक्रबार सार्वजनिक गरेको बुलेटिनमा पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहने उल्लेख छ। विभागका मौसमविद् सञ्जीव अधिकारीका अनुसार मंगलबारसम्म देशका केही स्थानमा हल्का वर्षाको सम्भावना देखिए पनि निर्वाचनकै दिन त्यस्तो सम्भावना उल्लेख्य रूपमा कम रहनेछ। उनले भने, “२० र २१ फागुनमा कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपात वा वर्षाको न्यून सम्भावना छ। तर यसले समग्र मतदान प्रक्रियामा ठूलो प्रभाव पार्ने देखिँदैन।” तराईमा सुखद संकेत, वर्षाको सम्भावना शून्य तराईका जिल्लामा भने वर्षा हुने कुनै सम्भावना नरहेको विभागले स्पष्ट पारेको छ। १५ फागुनदेखि २१ फागुनसम्म बिहानका समयमा केही स्थानमा हुस्सु र दिउँसो तुवाँलो लाग्ने अनुमान गरिएको छ। तर वर्षा नहुने भएकाले यातायात, मतदान केन्द्रसम्मको आवागमन र जनसहभागितामा मौसमजन्य अवरोध नआउने अपेक्षा गरिएको छ। कोशी प्रदेशमा सुरुआती हल्का वर्षा, चुनावकै दिन घट्दो जोखिम कोशी प्रदेशको पहाडी क्षेत्रमा आइतबारदेखि मंगलबारसम्म मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ। तर चुनावको अघिल्लो दिन र मतदानकै दिन यस्तो गतिविधि अझ कम हुने पूर्वानुमान छ। मौसमविद्हरूका अनुसार पछिल्ला दिनहरूमा पश्चिमी वायुप्रणाली कमजोर बन्दै गएकोले व्यापक वर्षा वा हिमपातको जोखिम टरेको हो। पश्चिम नेपालका हिमाली भेगमा पनि न्यून प्रभाव लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा शुक्रबारदेखि मंगलबारसम्म हल्का हिमपात वा वर्षा हुन सक्ने सम्भावना देखिए पनि निर्वाचनको दिन यस्तो सम्भावना न्यून रहने विभागले जनाएको छ। यसले दुर्गम हिमाली जिल्लाहरूमा पनि मतदान प्रक्रिया सामान्य रूपमा सञ्चालन हुने संकेत दिएको छ। फागुनमा चुनाव: अनुमानित चुनौती घट्यो यस वर्ष फागुन महिनामा निर्वाचन हुन लागेकाले विशेषगरी हिमाली क्षेत्रमा मौसम चुनौतीपूर्ण हुन सक्ने अनुमान गरिएको थियो। विगतका अनुभवका आधारमा फागुनमा पश्चिमी वायुप्रणाली सक्रिय भई हिमपात तथा वर्षा हुने सम्भावना रहन्छ। तर पछिल्लो विश्लेषणअनुसार व्यापक वर्षा वा हिमपातको जोखिम कम देखिएको छ। गृह मन्त्रालय ले पनि सुरक्षा तथा व्यवस्थापन तयारीका सन्दर्भमा मौसमलाई ठूलो चुनौतीका रूपमा नहेरेको जनाएको छ। मन्त्रालयका अनुसार केही स्थानमा सामान्य वर्षा वा हिमपात भए पनि समग्र निर्वाचन प्रक्रियामा बाधा पुर्याउने खालको परिस्थिति देखिँदैन। मतदाताका लागि सन्देश: बिहान हुस्सु, दिउँसो सामान्य मौसम मौसमविद्हरूले विशेषगरी बिहानको समयमा देखिन सक्ने हुस्सु र तुवाँलोप्रति सतर्क रहन आग्रह गरेका छन्। तर दिन चर्कँदै जाँदा मौसम क्रमशः खुल्ने र सामान्य गतिविधिका लागि अनुकूल रहने अनुमान छ। यसपटकको निर्वाचनमा मौसमले साथ दिने संकेत देखिएकाले ग्रामीण तथा दुर्गम क्षेत्रका मतदाताले पनि सहज रूपमा मतदान गर्न सक्ने अपेक्षा गरिएको छ। समग्रमा, २१ फागुनको निर्वाचनमा मौसम ठूलो अवरोध नबन्ने प्रारम्भिक संकेतहरू देखिएका छन्। यद्यपि विभागले आवश्यक परेमा अद्यावधिक सूचना सार्वजनिक गरिने जनाएको छ। मतदाताले पनि नियमित मौसम अपडेटमा ध्यान दिन आग्रह गरिएको छ।
“गुगल होइन, भूगोल बुझ्ने नेतृत्व रोजौँ”: झापा–५ मा रञ्जित तामाङप्रति बढ्दो आकर्षण
झापा । आगामी निर्वाचन नजिकिँदै जाँदा झापा–५ मा राजनीतिक माहोल दिनानुदिन तातिँदै गएको छ। यस क्षेत्रको चुनावी बहसमा अहिले युवा नेता रञ्जित तामाङ केन्द्रमा देखिएका छन्। स्थानीय मुद्दा, जनतासँगको प्रत्यक्ष संवाद र दीर्घकालीन विकास दृष्टिकोणका कारण उनीप्रति आकर्षण बढिरहेको राजनीतिक विश्लेषकहरू बताउँछन्। भूगोलसँग जोडिएको नेतृत्व झापा–५ का मतदाताहरूको अपेक्षा स्पष्ट छ—सामाजिक सञ्जालको लोकप्रियता मात्र होइन, स्थानीय समस्या बुझ्ने र समाधान दिन सक्ने नेतृत्व। यही सन्दर्भमा रञ्जित तामाङलाई “भूगोल बुझ्ने” नेताका रूपमा प्रस्तुत गरिएको छ। विद्यार्थी राजनीतिदेखि नै सक्रिय रहँदै आएका तामाङले शिक्षा, रोजगारी, कृषि र पूर्वाधार विकासका विषयमा निरन्तर आवाज उठाउँदै आएका छन्। उनका समर्थकहरू भन्छन्, “नेता त्यो हुनुपर्छ जसले झापा–५ को माटो, यहाँको सामाजिक बनोट र जनताको आवश्यकता नजिकबाट बुझेको होस्।” तामाङले गाउँ–गाउँ पुगेर प्रत्यक्ष संवाद गरिरहेको दृश्यले स्थानीय तहमा सकारात्मक सन्देश दिएको बताइन्छ। युवापुस्ताको भरोसा झापा–५ मा विशेषगरी युवापुस्तामा तामाङप्रति आकर्षण बढेको देखिन्छ। उनी डिजिटल माध्यम प्रयोग गर्छन्, तर त्यसलाई प्रचारभन्दा पनि संवादको माध्यमका रूपमा उपयोग गर्ने गरेको बताइन्छ। स्थानीय तहका साना–ठूला समस्यामा प्रत्यक्ष सरोकार राख्ने शैलीले उनलाई “जमिनको नेता” का रूपमा स्थापित गरिरहेको समर्थकहरूको दाबी छ। सकारात्मक प्रतिस्पर्धाको सन्देश राजनीतिक विश्लेषकहरूका अनुसार, झापा–५ मा देखिएको यो बहसले नेतृत्वको गुणस्तरबारे नयाँ मापदण्ड तय गरिरहेको छ। मतदाताहरू अब केवल नाराभन्दा पनि योजना, कार्यान्वयन क्षमता र स्थानीय प्रतिबद्धता खोजिरहेका छन्। निर्वाचन नजिकिँदै जाँदा झापा–५ मा रञ्जित तामाङको सक्रियता र जनसम्पर्कले चुनावी समीकरणमा नयाँ आयाम थपेको छ। सकारात्मक प्रतिस्पर्धा र नीति–केन्द्रित बहसले यस क्षेत्रको राजनीतिक संस्कृतिलाई अझ परिपक्व बनाउने अपेक्षा गरिएको छ।

