सुशासनसहित तीनवटा समितिको बैठक बस्दै
काठमाडौं । संघीय संसद अन्तर्गत आज तीन वटा संसदीय समितिको बैठक बस्दैछ। आज विकास, आर्थिक मामिला तथा सुशासन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ।
विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ। बैठकमा नेपालको सार्वजनिक व्यवस्थापनमा शासकीय सुधार तथा सुशासन प्रवद्र्धन गराउन सूचनाको हक कार्यान्वयनमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र राष्ट्रिय सूचना आयोगको भूमिका र भएका कामकारबाहीहरुका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ।
यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा भूकम्प प्रभावित क्षेत्रमा गरिएको स्थलगत अध्ययन, अवलोकन एवं अनुगमन कार्यक्रमको समीक्षा सम्बन्धमा छलफल हुनेछ। बैठक दिउँसो सवा १२ बजे सिंहदरबारमा बस्नेछ।
विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ। बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० माथि सरोकारवालासँग छलफल गर्ने कार्यसूची रहेको छ।
अमेरिकी राष्ट्रपति बाइडेनका छोरा हन्टर दोषी ठहर
काठमाडौं ।अमेरिकी न्यायालयले राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेनलाई आपराधिक अभियोजनमा संघीय बन्दुकको अभियोगमा दोषी ठहर गरेको छ ।यो अमेरिकी इतिहासमा बहालवाला राष्ट्रपतिको सन्तान आपराधिक अभियोगमा दोषी ठहर भएको पहिलो घटना हो । राष्ट्रपति जो बाइडेनका ५४ वर्षीय छोरालाई लागू औषधको नशामा सन् २०१८ मा हाते बन्दुक खरिद गरेको आरोपपछि लागेका तीनवटै अभियोगमा दोषी ठहर गरिएको हो । हन्टर बाइडेनका बुबाले पुनः अमेरिकी राष्ट्रपतिको निर्वाचनमा प्रतिस्पर्धा गर्न खोज्दै गर्दा र वासिङ्टनमा बन्दुक हिंसाको बारेमा भाषण दिने तयारी गरिरहेका समयमा यो निर्णय आएको हो । बाइडेनको गृहनगर विल्मिङगटन, डेलावेयरमा भएको परीक्षण समापनपछि ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा राष्ट्रपतिले आफ्नो छोराप्रति ‘प्रेम र समर्थन’ व्यक्त गरे । राष्ट्रपति बाइडेनले भनेका छन्, ‘म राष्ट्रपति मात्र नभएर बुबा पनि हुँ । ‘जिल र म हाम्रो छोरालाई माया गर्छौँ ।’ यस मुद्दाको नतिजा हन्टरले स्वीकार्ने बताउँदै न्यायिक प्रक्रियालाई सम्मान गर्ने बाइडेनले बताए। बाह्र सदस्यीय न्यायाधीशको टोलीले फैसलामा पुग्नुअघि दुई दिनसम्म करिब तीन घण्टा छलफल गरेको थियो ।
हस्, भइहाल्छ भन्ने होइन, कार्यसम्पादनस्तर र व्यवहारमा रूपान्तरण आवश्यक छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षदेखि सबै राष्ट्रसेवकहरूको नतिजासूचक सहितको कार्यसम्पादनमा आधारित मूल्याङ्कन प्रणालीको विकास गरी कार्यान्यवन गर्न निर्देशन दिएका छन् । सिंहदरबारमा आज आयोजित चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति (एमड्याक) बैठकमा प्रधानमन्त्री प्रचण्डले सबैको कार्यसम्पादनस्तर र व्यवहारमा समेत रूपान्तरण आवश्यक भएको बताए। “प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गहन भूमिकालाई मध्यनजर गरी इमान्दारीता र कार्यकुशलतापूर्वक कार्यसम्पादनमा जुट्न सबैमा आव्हान गर्दछु,” प्रधानमन्त्री प्रचण्डले भने, “यस कार्यालयलाई शासकीय मामिलाको वास्तविक केन्द्र बनाउने हो, ताली पड्काउने, हजुर, हस्, भइहाल्छ जस्ता भाष्य मात्र होइन, हामी सबैको कार्यसम्पादनस्तर र व्यवहारमा समेत रूपान्तरण आवश्यक छ ।” प्रधानमन्त्रीले चालु आर्थिक वर्षका बाँकी कार्यक्रम र क्रियाकलापहरूको कार्यान्वयनमा विशेष ध्यान दिई शतप्रतिशत नतिजा प्राप्तिमा जोड गर्न र आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम र बजेटको प्रभावकारी कार्यान्वयनमा आवश्यक पूर्वतयारीका कामहरू समयमै सम्पादन गर्न निर्देशन दिए । तोकिएको समयमा निर्धारित लक्ष्य अनुरूपको नतिजा हासिल गर्न कर्मचारी वर्गको क्रियाशीलता आवश्यक रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले कार्यरत तहअनुसार कर्मचारीरूको क्षमता विकास गर्नुका साथै उत्प्रेरणा तथा मनोबल बढाउँदै लगिने बताए। मन्त्रिपरिषद्को कार्यालय र मातहत निकायहरूको कार्यसम्पादनस्तर, नतिजा र गुणस्तरलाई राष्ट्रिय मानकको रूपमा स्थापित गर्नुपर्ने आवश्यकता औंल्याउँदै उनले मुलुकको कार्यकारी मुख्यालयको समग्र छवि र प्रगतिमा सरकारको कार्यसम्पादनस्तर प्रतिविम्बित हुने भएकाले त्यस विषयमा ध्यान दिनुपर्ने बताए। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई आवश्यकता भन्दा बढी कर्मचारी थन्काउने निकायको रूपमा भन्दा विज्ञता र क्षमता उपयोग गर्ने थलो बनाउनुपर्नेमा जोड दिँदै प्रधानन्त्रीले यस विषयमा विशेषगरी मुख्य सचिवजी र सचिवहरूले नेतृत्वदायी भूमिकासहित आवश्यक प्रबन्ध गर्न निर्देशन दिए। प्रभावकारी अनुगमन तथा मूल्याङ्कन प्रणालीको विकास गरी काम गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री प्रचण्डले योजना तथा कार्यक्रमहरू समयमा कार्यान्वयन गर्न र प्रभावकारी अनुगमन तथा मूल्याङ्कन प्रणालीको विकास गरी समयमा सूचना प्राप्ति, सूचनाको गहन विश्लेषण र समस्या समाधानका लागि आवश्यक सकारात्मक हस्तक्षेप गर्नुपर्ने जरुरी छ भने। प्रधानमन्त्री प्रचण्डले भने, “समग्र कार्यसम्पादनबाट निरास हुनुपर्ने अवस्था नभए पनि तोकिएको कार्यक्रम, तय गरिएको माइलस्टोन तथा सूचकमा पूर्ण उपलब्धि हासिल गर्न थप मेहनतको आवश्यक छ ।” उनले कार्यान्वयन र अनुगमन गर्नका लागि कार्यालय तथा मातहतका निकायका प्रमुखहरूले विशेष योजना तयार गरी कार्यान्वयन गर्नुपर्ने बताए ।
पहिरोमा पुरिएर अरूण तेस्रो जलविद्युतका एक मजदुरको मृत्यु, दुई जना घाइते
सङ्खुवासभा । सङ्खुवासभाको चिचिला गाउँपालिका वडा नम्बर ३ सोलाखानीमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। मंगरबार रातिको अविरल वर्षापछि खसेको पहिरोमा परी अरुण तेस्रो जलविद्युत् आयोजनाका मजदुर बर्दियाका घोराभिट्टाका गङ्गाराम थारुको मृत्यु भएको छ। पुरिएर मकवानपुरका उमेश कार्की र गोविन्द थारू घाइते भएका प्रहरीले जनाएको छ।उनीहरू निदाएका बेला पहिरो खसेको हो।
राष्ट्रपति पौडेल जेनेभामा
जेनेभा । राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमणका क्रममा स्वीट्जरल्याण्डको जेनेभा आइपुगेका छन् । उनलाई जेनेभा अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली राजदूत रामप्रसाद सुवेदी तथा दूतावासका कर्मचारीले स्वागत गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । उनले जेठ ३१ गते अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ)को आयोजनामा हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२ औँ उच्चस्तरीय सत्र अन्तर्गतको ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’ (ग्लोबल कोलिसन फर सोशल जस्टिस्) को उद्घाटन मञ्चलाई प्रमुख वक्ताका रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । जेठ ३१ गते नै राष्ट्रपति पौडेलसँग अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ)का महानिर्देशक गिल्बर्ट एफ होग्ङबोले शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको छ । त्यसैगरी राष्ट्रपति पौडेलले जेठ ३० गते स्वीस महासङ्घका राष्ट्रपति भिओला आमहर्डसँग द्विपक्षीय वार्ता गर्नेछन् । स्वीट्जरल्याण्डको भ्रमणपछि राष्ट्रपति पौडेल असार १ गते जेनेभाबाट रोयल डच एयरलान्सबाट जर्मनीको बर्लिन् प्रस्थान गर्नेछन् । राष्ट्रपति पौडेलले सङ्घीय गणतन्त्र जर्मनीका राष्ट्रपति फ्रैङ्क–वाल्टर स्टाईनमायेर निमन्त्रणामा जर्मनीको औपचारिक भ्रमण गर्न लागेका हुन् । उनले असार ३ गते जर्मनी राष्ट्रपतिसँग औपचारिक वार्ता गर्नेछन् । जर्मनीमा राष्ट्रपति पौडेलले पोष्टडाम इन्स्टिच्युट फोर क्लाइमेट इम्प्याक्ट रिसर्च इन्स्टिच्युट, जर्मन रिसर्च फर जियो– साइन्स, टेलेग्राफफेनवर्ग क्याम्पसको अवलोकन गर्ने कार्यक्रम रहेको छ । साथै सेसिलीयानहोफ एन्ड स्यान्ससोसी प्यालेस गार्डेन र सेसिलीयानहोफ एन्ड स्यान्ससोसी प्यालेस म्युजियमको पनि अवलोकन गर्ने कार्यक्रम रहेको छ । त्यसैगरी असार २ गते गैरआवासीय नेपाली संघ जर्मनीले राष्ट्रपति पौडेललाई अभिनन्दन गर्ने कार्यक्रम रहेको छ । सोही कार्यक्रममा उनले जर्मनीमा रहेका नेपाली समुदायलाई सम्बोधन गर्ने कार्यक्रम पनि तय भएको छ । त्यस्तै असार ३ गते जर्मनी ट्रेड एन्ड इनभेस्ट आबद्ध उद्योगी व्यापारीहरूलाई भेट दिने कार्यक्रम रहेको छ । राष्ट्रपति पौडेल भ्रमण सम्पन्न गरी असार ५ गते स्वदेश फर्कनेछन् ।
जसपा नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध
जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय अध्यक्ष पदमा उपेन्द्र यादव निर्विरोध निर्वाचित भएका छन् । पार्टी स्थापनाकालदेखि नै नेतृत्व गर्दै आएका यादव अहिले जनकपुरमा भइरहेको राष्ट्रीय महाधिवेशनबाट पुनः अध्यक्षमा चयन भएका हुन् । निर्वाचन प्रक्रियाअनुसार जसपा नेपालको नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता भएको थियो । जसमा अध्यक्ष पदका लागि यादवको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध भएका हुन् ।
वर्षाका कारण रद्द भयो नेपाल र श्रीलंकाबीचको खेल
काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपअन्तर्गत नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण रद्द भएको छ । अमेरिकाको फ्लोरिडामा नेपाली समयअनुसार बिहान ५ः१५ बजेदेखि सुरु हुने तालिका रहेको खेल वर्षा कारण सम्भव नभएपछि टस समेत नभइ खेल रद्द भएको हो । लगातारको वर्षाले मैदान खेल्न अयोग्य रहेका कारण खेल सम्भव नभएको हो। योसँगै दुवै टिमले समान एक अंक बाँडेका छन् । नेपालसँगको खेल रद्द भएसँगै श्रीलंकाको सुपर–८ मा पुग्ने सम्भावना समाप्त भएको छ । समूह ‘डी’ मा दुई खेलबाट एक अंक जोडेको नेपाल तालिकाको चौथो स्थानमा छ। नेपाल यसअघि पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो । नेपालले अब समूह चरणको तेस्रो खेल शनिबार दक्षिण अफ्रिकासँग र चौथो खेल सोमबार बंगलादेशसँग खेल्नेछ । श्रीलंकाले भने तीन खेलमा एक अंक जोडेको छ। तालिकाको पुछारमा रहेको श्रीलंकाले यसअघि पहिलो खेलमा दक्षिण अफ्रिकासँग ६ विकेटले र दोस्रो खेलमा बंगलादेशसँग दुई विकेटले पराजित भएको थियो । श्रीलंकाले समूह चरणको अन्तिम खेलमा सोमबार नेदरल्यान्ड्सविरुद्ध खेल्ने तालिका छ।
राष्ट्रपति पौडेल जेनेभा प्रस्थान
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औँ अधिवेशनमा भाग लिन स्विट्जरल्यान्डको जेनेभा प्रस्थान गरेका छन् । राष्ट्रपति पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार साँझ त्यसतर्फ प्रस्थान गरेका हुन् । त्यसअघि उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतले बिदाइ गरेका थिए । राष्ट्रपति पौडेलले जेठ ३१ गते उच्चस्तरीय सत्रमा आयोजना हुने सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटन मञ्चलाई प्रमुख वक्ताका रूपमा सम्बोधन गर्ने कार्यक्रम छ । भ्रमणका क्रममा उनले जेठ ३० गते स्वीस महासंघका राष्ट्रपति विओला आमर्डसँग द्विपक्षीय भेटवार्ता गर्ने तय भएको छ। भ्रमणकै क्रममा राष्ट्रपति पौडेल आगामी असार १ गते जेनेभाबाट संघीय गणतन्त्र जर्मनीको बर्लिन प्रस्थान गर्ने कार्यक्रम छ । उनले असार ३ गते जर्मनीका राष्ट्रपतिसँग औपचारिक भेटवार्ता गर्ने परराष्ट्रले जानकारी दिएको छ । राष्ट्रपति पौडेल भ्रमण सम्पन्न गरी असार ५ गते स्वदेश फर्कने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
साउन १ देखि ड्राइभिङ लाइसेन्स लिएकाले राष्ट्रिय परिचयपत्र देखाए हुने
काठमाडौं । ड्राइभिङ लाइसेन्स लिएकाले साउन १ देखि राष्ट्रिय परिचयपत्र देखाए हुने भएको छ । ड्राइभिङ लाइसेन्सको विवरणलाई राष्ट्रिय परिचयपत्रमा समावेश गरी कार्यान्वयनमा ल्याउने र छुट्टै ड्राइभिङ लाइसेन्स नचाहिने गरी काम भइरहेको यातायात व्यवस्था विभागले जानकारी दिएको हो । यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले अहिले सवारीचालक अनुमतिपत्रको विवरण राष्ट्रिय परिचयपत्रमा जोड्ने प्राविधिक काम भइरहेको र १/२ दिनमा नै टुङ्गिने बताए । राज्यको खर्च कटौती र सवारी चालकलाई सहज हिसाबले अनुमतिपत्र वितरण गर्न सो कार्यको थालनी गरिएको रिजालले बताए । उनका अनुसार सरकारले आउँदो साउन १ देखि सवारीचालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) नै छापिने छैन । ‘हामीले अहिले ३/४ हजार लाइसेन्स प्रिन्ट गर्छौं, अर्को पाटो खोजिरहेका छौं, अब हामी सवारी लाइसेन्सलाई राष्ट्रिय परिचयपत्रमा आवद्ध गर्छौं, राष्ट्रिय परिचयपत्र या नम्बर साथमा राखेका नागरिकहरूले लाइसेन्सको मान्यता पाउँछन्’, महानिर्देशक रिजालले भने । उनले लाइसेन्स छापिरहन खर्च गर्नुभन्दा राष्ट्रिय परिचयपत्रलाई नै उचित विकल्पको रूपमा प्रयोग गर्ने तयारी भएको बताए । ‘हामीसँग राष्ट्रिय परिचयपत्र छँदैछ, त्यसमा क्यूआर कोड छँदैछ, त्यसमा भएको फोटोपनि उस्तै हो, जन्म मिति सबै मिलिहाल्छ’, रिजालले भने, ‘नमिल्ने भनेको ड्राइभिङ लाइसेन्स कहिले लिएको हो र त्यसको म्याद कहिलेसम्म हो, त्यो विषय क्यूआर कोडमार्फत् ट्राफिक प्रहरीले हेर्न सक्ने प्रणाली विकास गरिएको छ ।’ महानिर्देशक रिजालले राष्ट्रिय परिचयपत्रमा सवारीचालक अनुमतिपत्रलाई जोड्ने विषयमा मन्त्रिपरिषद्ले निर्णय गरिसकेको र साउन १ गतेबाट व्यवहारिक रूपमै कार्यान्वयनमा ल्याउनेगरी काम भइरहेको बताए । राष्ट्रिय परिचयपत्रमा सवारीचालक अनुमतिपत्रको विवरण जोडेपछि स्मार्ट लाइसेन्स प्रिन्ट गर्नुनपर्ने मान्यताका साथ काम भइरहेको महानिर्देशक रिजालले खबरहबलाई बताए । ‘अहिले हामीले ५५ लाख व्यक्तिहरुलाई स्मार्ट लाइसेन्स दिनुपर्नेमा नयाँ र नवीकरण समेत गरी २० लाख जतिलाई दिन सकेका छैनौं, यो विषय सहज हुनुपर्छ भनेर राष्ट्रिय परिचयपत्रमा जोडिएको हो’, रिजालले भने ।
राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन राष्ट्रिय सभामा पेस
काठमाडौँ । राष्ट्रिय सभामा राष्ट्रिय मानव अधिकार आयोगको २३ औँ वार्षिक प्रतिवेदन पेस भएको छ । मंगलबार बसेको सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रिय मानव अधिकार आयोगको २३ औँ वार्षिक प्रतिवेदन, २०७९/८०, सभामा पेस गरेकी हुन् । त्यस्तै प्रधानमन्त्री प्रचण्डको तर्फबाट नै सञ्चारमन्त्री शर्माले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको पाँचौँ वार्षिक प्रतिवेदन २०७९/८० पेस गरिन् ।
यस वर्षको बजेट असार ७ गते पारित हुने
काठमाडौं। सरकारले आगामी आर्थिक वर्षको बजेट प्रतिनिधि सभाबाट असार ७ गते पारित गर्ने तयारी गरेको छ। संघीय संसद सचिवालयले तयार पारेको पाक्षिक संसदीय क्यालेन्डरमा असार ७ गते प्रतिनिधि सभामा विनियोजन विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्ने उल्लेख गरेको छ। अर्थमन्त्री वर्षमान पुनले यही जेठ १५ गते आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट ल्याएका थिए।
प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)
काठमाडौं। सङ्घीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक जारी छ । मङ्गलबार बिहान ११ बजेबाट सुरु भएको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएका छन्। यसैगरी, सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाए, प्रेम सुवालले विनियोजन विधेयक, २०८१ अन्तर्गत युवा तथा खेलकुद मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय शिर्षकको खर्च रकममा उल्लिखित रकम घटाइयोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गरेका छन् । त्यस्तै, डा.अमरेशकुमार सिंहले विनियोजन विधेयक, २०८१ अन्तर्गत युवा तथा खेलकुद मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपियाँ गरियोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गरेका छन् । त्यसैगरी आजको बैठकमा पुष्पबहादुर शाहले विनियोजन विधेयक, २०८१ अन्तर्गत युवा तथा खेलकुद मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपियाँ गरियोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । बद्रीप्रसाद पाण्डेले विनियोजन विधेयक, २०८१ अन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय शिर्षकको खर्च रकमलाई घटाई एक रुपियाँ गरियोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने, रमा कोइराला पौड्यालले विनियोजन विधेयक, २०८१ अन्तर्गत श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपियाँ गरियोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने, सञ्जयकुमार गौतमले विनियोजन विधेयक, २०८१ अन्तर्गत कृषि तथा पशुपंक्षी विकास मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपियाँ गरियोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस् तुत गर्नुहुने र विनियोजन विधेयक, २०८१ को विभिन्न शिर्षकहरुमाथि प्रारम्भ हुने छलफलअन्तर्गत युवा तथा खेलकुद, शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको शीर्षकमाथि छलफल हुनेछ ।
उपेन्द्रको प्रतिवेदन : सङ्घर्षको आँधीबेहरी सिर्जना गर्ने (पूर्णपाठ)
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको पहिलो एकता महाधिवेशन जनकपुरमा जारी छ ।सोमबार उद्घाटन भएको महाधिवेशनको बन्दसत्र मङ्गलवारबाट सुरु भएको छ । महाधिवेशनमा पार्टी अध्यक्ष उपेन्द्र यादवले राजनीतिक प्रतिवेदन पेस गरेका छन् । प्रतिवेदनमा अध्यक्ष यादवले पार्टी एकता, संयुक्त मोर्चा र कार्यगत एकता सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता, सुशासन, पहिचान, धर्मनिरपेक्षता, सामाजिक न्यायका पक्षधर र समाजवादी शक्तिहरू, सिद्धान्त, विचार र नीति मिल्ने दलहरूसँग एकीकरण अथवा पार्टी एकता गर्नुपर्नेमा जोड दिएका छन् । सङ्घीय सरकारमा हेरफेर हुने बित्तिकै प्रदेश सरकारहरूमा उथलपुथल एवं सरकार परिवर्तन हुने कार्यले गर्दा राज्य झन् अस्थिर भएको निष्कर्ष निकालेका अध्यक्ष यादवले पहिचानवादी शक्तिहरू र क्रान्तिकारी परिवर्तनकारी शक्तिहरूसँग सहकार्य वा एकता गरेर सङ्घर्षको आँधीबेहरी सिर्जना गर्नुपर्ने दस्ताबेजमा उल्लेख गरेका छन् ।
राष्ट्रपति आज साँझ जेनेभा जाँदै
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अन्तर्राष्ट्रिय श्रम सम्मेलनको एक सय १२औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज साँझ स्वीट्जरल्याण्डको जेनेभा तर्फ प्रस्थान गरेका छन् । उनले यही जेठ ३१ गते सो अवसरमा उच्चस्तरीय सत्रमा आयोजना हुने ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’को उद्घाटन मञ्चलाई प्रमुख वक्ताका रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा उनले जेठ ३० गते स्वीस महासङ्घका राष्ट्रपति विओला आमर्डसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । नेपालका राष्ट्र प्रमुख र स्वीस महासङ्घका राष्ट्रपतिबीच यसरी द्विपक्षीय भेटवार्ता हुन लागेको सम्भवतः यो पहिलोपटक भएको बताइएको छ । भ्रमणकै क्रममा राष्ट्रपति पौडेल आगामी असार १ गते जेनेभाबाट सङ्घीय गणतन्त्र जर्मनीको बर्लिन प्रस्थान गर्ने मन्त्रालयलका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिए। राष्ट्रपति पौडेलले जर्मनीका राष्ट्रपति फ्रैङ्क-वाल्टर स्टीनमेयरको निमन्त्रणामा जर्मनीको औपचारिक भ्रमण गर्ने कार्यक्रम रहेको छ । उनले असार ३ गते जर्मनीका राष्ट्रपतिसँग औपचारिक भेटवार्ता गर्नेछन् । राष्ट्रपति पौडेलका साथ उनकी धर्मपत्नी सविता पौडेल रहनेछन् । प्रतिनिधिमण्डलका अन्य सदस्यहरूमा राष्ट्रपतिका परराष्ट्र मामिलाविज्ञ डा सुरेशचन्द्र चालिसे, राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका सचिवहरू, स्वीट्जरल्याण्ड र जर्मनीका लागि नेपाली राजदूतहरू तथा राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरू रहनेछन्। राष्ट्रपति पौडेल भ्रमण सम्पन्न गरी असार ५ गते स्वदेश फर्किनेछन्।
पञ्चेश्वर अघि बढ्ने, यस्ता छन् प्रधानमन्त्रीको भारत भ्रमणका ११ बुँदे उपलब्धि
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको दुई दिने औपचारिक भ्रमण सकेर सोमबार साँझ स्वदेश फर्किएका छन् । उनले स्वदेश फर्किएलगत्तै दुई दिने भारत भ्रमणबारे ११ बुँदे वक्तव्य जारी गरेका छन्।प्रधानमन्त्री प्रचण्ड भारतीय समकक्षी नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा सहभागी हुन आइतबार नयाँ दिल्ली पुगेका थिए। दिल्लीबाट फर्किएपछि उनले जारी गरेको वक्तव्यमा समकक्षी मोदीसँगको भेटघाटमा अन्य कुराका अलावा नेपाल(भारत सम्बन्धलाई थप बलियो बनाउने तथा दुई मुलुकबीच विगतमा भएका सहमति तथा सम्झौताको कार्यान्वयनबारे कुरा भएको बताए । उनले सबै द्विपक्षीय संयन्त्रहरूको बैठक सुचारु गर्ने, पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको कार्यान्वयन, अरुण जलविद्युत आयोजना एवं कृषि क्षेत्रमा सहकार्य जस्ता विषयमा गहन कुराकानी भएको जनाएका छन् । आफूले मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएको पनि उनले बताएका छन्। मोदीले उपयुक्त समयमा भ्रमण गर्ने जवाफ दिएको प्रचण्डले बताएका छन् । ‘यस भ्रमणले नेपाल र भारतबीच आपसी सद्भाव अभिवृद्धि गर्न उल्लेखनीय भूमिका निर्वाह गरेको मैले विश्वास लिएको छु। त्यसका अतिरिक्त दुई मुलुकबीच रहिआएको मैत्रीपूर्ण, सहयोगात्मक, बहुआयामिक र घनिष्ट सम्बन्धलाई आपसी समानता र लाभका आधारमा थप मजबुत तुल्याउन योगदान गरेको छ’, उनले भनेका छन्, ‘आगामी दिनमा उच्च स्तर एवं विभिन्न तहमा सम्पर्क विस्तार गर्न तथा सम्बद्ध द्विपक्षीय संयन्त्रहरू समेतका माध्यमबाट आपसी हितका लागि सहयोग र सहकार्य प्रबर्द्धन गर्न मार्गदर्शन गरेको छ ।’ हेर्नुस् विज्ञप्तिको पूर्णपाठ सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ज्यूले भारतका महामहिम प्रधानमन्त्री श्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा उहाँको सपथ ग्रहण समारोहमा भाग लिने सिलसिलामा २०८१ जेठ २७-२८ तदनुसार ९-१० जुन २०२४ गर्नुभएको भारतको औपचारिक भ्रमण समापन गरेर स्वदेश फर्कदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जारी गरिएको प्रेस नोट (२०८१ जेठ २८) सञ्चारकर्मी मित्रहरू, १. मित्रराष्ट्र गणतन्त्र भारतका प्रधानमन्त्री महामहिम श्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा उहाँको तेश्रो कार्यकालको सपथ ग्रहण समारोहमा सहभागी भई प्रतिनिधिमण्डलसहित म आज स्वदेश फर्केको छु। २.भ्रमणका अवसरमा भएका गतिविधिहरूका बारेमा परराष्ट्र मन्त्रालय र नेपाली राजदूतावास नयाँ दिल्लीबाट जारी प्रेस विज्ञप्ति समेत मार्फत् यहाँहरु अवगत नै हुनुहुन्छ। ३.भ्रमणका दौरान नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा २०८१ जेठ २७ गते (तदनुसार ९ जुन २०२४) का दिन आयोजना गरिएको एक विशेष समारोहकाबीच हालै भारतमा सम्पन्न आम निर्वाचन पश्चात् प्रधानमन्त्री पदमा पुनः नियुक्त हुनुभएका महामहिम श्री नरेन्द्र मोदीको सपथ ग्रहण कार्यक्रममा म सहभागी भएँ। उक्त समारोहमा विभिन्न मुलुकका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखहरू समेत सहभागी हुनुहुन्थ्यो। समारोह पश्चात् भारतका महामहिम राष्ट्रपति श्रीमती द्रौपदी मुर्मुद्वारा राष्ट्रपति भवनमा आयोजित रात्रीभोजमा म सहभागी भएँ। त्यसअघि भारतका महामहिम राष्ट्रपति श्रीमती द्रौपदी मुर्मु, महामहिम उपराष्ट्रपति श्री जगदीप धनखड़ तथा महामहिम प्रधानमन्त्री श्री नरेन्द्र मोदीसँग मेरो भेटघाट भयो। ४.महामहिम श्री नरेन्द्र मोदीसँगको भेटघाटमा अन्य कुराका अलावा नेपाल-भारत सम्बन्धलाई थप बलियो बनाउने तथा दुई मुलुकबीच विगतमा भएका सहमति तथा सम्झौताको कार्यान्वयन, सबै द्विपक्षीय संयन्त्रहरूको बैठक सुचारु गर्ने, पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको कार्यान्वयन, अरुण जलविद्युत आयोजना एवं कृषि क्षेत्रमा सहकार्य जस्ता विषयमा गहन कुराकानी भयो। ५.मैले मोदीजीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएको छु । उहाँले उपयुक्त समयमा भ्रमण गर्ने बताउनुभएको छ। ६.त्यसैगरी, २०८१ जेठ २८ गते (तदनुसार १० जुन २०२४) का दिन भारतका महामहिम राष्ट्रपति श्रीमती द्रौपदी मुर्मुसँग मैले राष्ट्रपति भवनमा शिष्टाचार भेट गरें। भेटका अवसरमा नेपाल र भारतबीचको सदियौँ पुरानो एवं घनिष्ठ सम्बन्धलाई आगामी दिनमा थप मजबुत तुल्याउने बारेमा छलफल भयो। ७.सोही दिन भारतका नवनियुक्त संघीय मन्त्री महामहिम डा. एस. जयशंकरले मसँग शिष्टाचार भेट गर्नुभयो। सो अवसरमा नेपाल र भारतबीच विविध पक्षमा रहेको सहयोगात्मक सम्बन्धलाई सुदृढ गर्दै जाने बारेमा छलफल तथा विचारको आदान प्रदान भयो । ८.यसका साथै Federation of Indian Chambers of Commerce and Industry (FICCI) अध्यक्ष र अन्य प्रतिनिधिहरूले मसँग भेटघाट गर्नुभयो । उहाँहरूसँग नेपाल र भारतबीच व्यापार विस्तार लगायत नेपालका प्राथमिकता प्राप्त क्षेत्रमा भारतीय लगानी बढाउने बारेमा सकारात्मक कुराकानी भयो। ९.नयाँ दिल्लीमा रहँदा नेपाली राजदूतावासले आयोजना गरेको कार्यक्रममा सहभागी हुनुका साथै भारतका विभिन्न राजनीतिक दलका नेता, नेपालका मित्रहरू तथा नेपाली संघसंस्थाका प्रतिनिधिहरूसँग समेत मेरो भेटघाट एवं समसामयिक विषयमा विचारको आदान प्रदान भयो। केही सञ्चारकर्मीहरूसँग नेपाल-भारत सम्बन्ध एवं नेपाल सरकारका नीति एवं प्राथमिकता समेतका सम्बन्धमा कुराकानी भयो। १०.यस भ्रमणले नेपाल र भारतबीच आपसी सद्भाव अभिबृद्धि गर्न उल्लेखनीय भूमिका निर्वाह गरेको मैले विश्वास लिएको छु। त्यसका अतिरिक्त दुई मुलुकबीच रहिआएको मैत्रीपूर्ण, सहयोगात्मक, बहुआयामिक र घनिष्ट सम्बन्धलाई आपसी समानता र लाभका आधारमा थप मजबुत तुल्याउन योगदान गरेको छ। साथै, आगामी दिनमा उच्च स्तर एवं विभिन्न तहमा सम्पर्क विस्तार गर्न तथा सम्बद्ध द्विपक्षीय संयन्त्रहरू समेतका माध्यमबाट आपसी हितका लागि सहयोग र सहकार्य प्रबर्द्धन गर्न मार्गदर्शन गरेको छ। ११. अन्त्यमा, यस भ्रमणको अवधिमा भारत सरकारबाट प्राप्त आतिथ्यता तथा न्यानो स्वागतका लागि भारतका प्रधानमन्त्री एवं भारत सरकार, सम्बद्ध पदाधिकारी एवं भारतीय जनताप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछु। साथै, भ्रमणका विषयमा समाचार सम्प्रेषित गर्नुहुने सम्पूर्ण पत्रकार मित्रहरू एवं सञ्चार माध्यमहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु। धन्यवाद !
प्रधानमन्त्री स्वदेश फिर्ता
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ छिमेकी मित्रराष्ट्र भारतको दुई दिवसीय औपचारिक भ्रमण सकेर आज स्वदेश फर्किएका छन्। प्रधानमन्त्री प्रचण्ड उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा सहभागी हुन आइतबार त्यसतर्फ गएका थिए । प्रधानमन्त्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपप्रधानमन्त्रीहरू, मन्त्रीगण, सांसद, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरे। सो अवसरमा प्रधानमन्त्रीको स्वागतमा नेपाली सेनाले सम्मान गारत अर्पण गरेको थियो। भारतमा रहँदा प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गर्नुभएको थियो भने नवनियुक्त भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता गरेका थिए । उनले राष्ट्रपति मुर्मु र प्रधानमन्त्री मोदीसँग नेपाल–भारतबीचका आपसी हित र चासोका विषयमा छलफल गरेका थिए । प्रधानमन्त्री प्रचण्डका साथमा उहाँकी सुपुत्री गङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी अधिकारी सहभागी थिए ।

