पत्नी बलात्कार मुद्दामा न्यायाधीश गिरी दोषी ठहर

काठमाडौं । जिल्ला अदालत काठमाडौंले जबरजस्ती करणी मुद्दामा निलम्बित न्यायाधीश भुवन गिरीलाई दोषी ठहर गरेको छ।

जिल्ला अदालत काठमाडौंका श्रेस्तेदार रामु शर्माले न्यायाधीश दुर्गाप्रसाद भुसालको इजलासले आइतबार जबरजस्ती करणी मुद्दामा गिरीलाई दोषी ठहर गरेको बताएका छन् ।

उनका अनुसार गिरीलाई जबरजस्ती करणी मुद्दामा दोषी ठहर गरे पनि सजाय निर्धारणका लागि अर्को पेशी तोक्न पनि आदेश भएको छ।गिरी यसअघि नै सर्वोच्च अदालतको आदेशबाट थुनामा गइसकेका छन्।
वैवाहिक बलात्कारको आरोपमा दोषी ठहरिएका पूर्वन्यायाधीश गिरी यसअघि नै जिल्ला अदालत काठमाडौंमा उपस्थित भएपछि जेल चलान भइसकेका छन्।
सर्वोच्च अदालतका न्यायाधीशहरू हरि फुयाँल र तीलप्रसाद श्रेष्ठको इजलासले २०८० चैत २१ गते काठमाडौं जिल्ला अदालत र उच्च अदालतको आदेश बदर गरी गिरीलाई थुनामा पठाउन आदेश दिएको थियो ।

काठमाडौं जिल्ला अदालत र पाटन उच्च अदालतले गिरीलाई धरौटीमा छाड्न आदेश दिएका थिए । तर गिरी पक्राउ नपरेपछि उनकी पत्नी आरती रावलले कानूनी लडाइँ लडिरहेकी थिइन् ।

जिल्ला अदालतले सम्बन्धविच्छेद र वैवाहिक जबरजस्ती करणी मुद्दा चलेर विवाद रहेको अवस्थामा एक्लै आफ्नो कोठामा आएको बयान दिएकी थिइन् ।

रावल र गिरीले २०७५ सालमा विवाह गरेका थिए । विवाहपछि उनीहरुको दाम्पत्य सम्बन्ध बिग्रियो । आफूलाई बन्धक बनाएर कुटपिट, घरेलु हिंसा, यौनशोषण र हिंसा, अप्राकृतिक मैथुन गरेको भन्दै रावलले पतिविरुद्ध ०७९ मंसिर २ मा कपिलवस्तु जिल्ला प्रहरी कार्यालयमा उजुरी हालेकी थिइन् । 

यसअघि गिरीलाई धरौटीमा छाड्न आदेश दिएको काठमाडौं जिल्ला अदालतले अन्तिम निर्णय लिँदा दोषी ठहर गरेको हो।

यस्तो छ महालेखापरीक्षकको ६१औँ वार्षिक प्रतिवेदन (पूर्णपाठ )

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखापरीक्षकको ६१औँ वार्षिक प्रतिवेदन पेस गरिएको छ ।  राष्ट्रपति पौडेलसमक्ष महालेखापरीक्षक तोयम रायाले राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा प्रतिवेदन पेस गरेका हुन् ।  पूर्णपाठ 

सहकारीको मुद्दा बोकेर सदनबाट सडकमा कांग्रेस

काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय समिति बनाएर छानबिन हुनुपर्ने माग राख्दै सदन अवरोध गरिरहेको नेपाली कांग्रेस सडकमा पुगेको छ । आइतबार दिउँसो २ बजेका लागि काठमाडौंस्थित प्रदर्शनी मार्गमा आयोजना गरिएको विरोध सभामा भातृ सङ्गठनहरू नेपाल विद्यार्थी संघ, तरुण दल नेपाल, कांग्रेसका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको छ। उक्त कार्यक्रममामहामन्त्री विश्वप्रकाश शर्मा, गगन थापा, राष्ट्रिय सभा सदस्यसमेत रहेका कांग्रेस नेता कृष्णप्रसाद सिटौला, मीन विश्वकर्मा, गोपालमान श्रेष्ठलगायतका नेताहरू प्रदर्शन स्थलमा पुगेका छन् ।

बजेट अगाडि संसदीय समितिका लागि सहमति बन्ने प्रधानमन्त्रीको विश्वास

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बजेट वक्तव्य आउनु अघिसम्ममा संसदीय छानबिन समिति बनाउन समझदारीमा पुगिने विश्वास व्यक्त गरेका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले बजेट वक्तव्य आउनु अघिसम्म संसदीय छानबिन समिति गठनको लागि सहमतिमा पुगिने बताएका हुन् । उनले आफूले संसदमा भइरहेको गतिरोध अन्त्यका लागि निरन्तर प्रयास गरिरहेको बताए। उनले टिओआर बनाउने कुरामा सबैले सकारात्मकता र लचकता प्रदर्शन गरेमा आइतबार साँझसम्ममा समझदारी हुनसक्ने बताए । प्रधानमन्त्री प्रचण्डले भने, ‘‘मैले केही दिनदेखि लगातार राजनीतिक दलसँग, प्रतिपक्ष दलका नेताहरूसँग छलफल गरिराखेको छु। यो गतिरोधको अन्त्य गर्नको निम्ति प्रयास भइराखेको छ। हामी सहमति र समझदारीको धेरै नजिक पुगेको महसुस गरेका छौँ। आज बिहान मात्रै पनि मैले नेपाली कांग्रेसका सभापति लगायतका नेताहरूसँग बुढानीलकण्ठमा नै पुगेर सहमतिको प्रयास गरेको छु। मलाई के आशा छ भने आज र भोलिसम्म, बजेट वक्तव्य पढ्ने बेलासम्म सहमति र समझदारी बन्नेछ। अहिले भर्खरै रास्वपाको तर्फबाट स्वर्णिम वाग्लेले छानबिन समिति बनाउन हामीलाई आपत्ति छैन भन्नुभएको छ। संसदीय छानबिन समिति बनाउने कुरामा सबैको सहमति भई नै सकेको छ। अब त्यसको टिओआर बनाउने कुरामा सबैले सकारात्मकता र लचकता प्रदर्शन गर्दा मलाई लाग्छ आज बेलुकासम्म वा भोलि बिहानसम्म समझदारी हुनसक्छ।’ उनले संसदीय समिति गठनमा सहमति भइसकेको उल्लेख गर्दै टिओआरमा पनि सहमतिको नजिकै पुगेको जानकारी दिए ।

काँग्रेस सत्ता समीकरण भत्काउने चलखेलमा छ : महासचिव पोखरेल

काठमाडौं। नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले काँग्रेस वर्तमान सत्ता समीकरण भत्काउने चलखेलमा लागेको आरोप लगाएका छन्। आइतबार झापामा दोस्रो विर्तामोड नगर अधिवेशन उद्घाटन गर्दै उनले यस्तो आरोप लगाएका हुन्।  उनले मुलुकमा अहिले अस्थिरता रहेको बताए। उनले राजनीतिक अन्योलको अवस्थामा मुलुक रहेको बताए। महासचिव पोखरेलले नेपाली काँग्रेसले संसदमा अवरोध सिर्जना गर्ने दुष्प्रयत्नबाट अस्थिरता सिर्जना गरी सरकारमा सहभागी हुने चलखेलमा लागेको बताए। उनले आफू सरकारमा पुग्नका लागि काँग्रेस संसदलाई बन्धक बनाउन लागि परेको जिकिर गरे। संसदको अवरोध नेपालको विकास र समृद्धिका लागि बाधक भएको बताए। महासचिव पाखरेलले देशलाई राजनीतिक स्थायित्व आवश्यक रहेको भन्दै राजनीतिक स्थायित्व प्रदान गर्ने सामथ्र्य नेकपा (एमाले)ले जुटाउन नसकेको बताए।  उनले मिसन ०८४ मा नेकपा एमालेलाई बलियो निर्णायक राष्ट्रिय शक्तिका रुमपा स्थापित गर्नुपर्ने बताए। अरुको सहारा बिना नेकपा(एमाले)को नेतृत्वमा स्थिर सरकार बनाउन आवश्यक रहेको बताए। 

संघीय सरकारद्वारा साढे ५ वर्षमा ३५ सय किलोमिटर सडक कालोपत्रे

काठमाडौं । संघीय सरकारले साढे पाँच वर्ष बढी समयमा ३५ सय किलोमिटर सडक कालोपत्रे गरेको छ। आइतबार अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार सरकारले २०७६ असारदेखि २०८० फागुनसम्म ३ हजार ५४६ किलोमिटर सडक कालोपत्रे गरेको हो । सर्वेक्षणअनुसार २०८० फागुनसम्म संघीय सरकारले ७६९७ किलोमिटर खण्डास्मित र ८३२९ किलोमिटर सडक निर्माण गरेको छ । तथ्यांकअनुसार सरकारले चालु आर्थिक वर्षको फागुन महिनासम्म जम्मा १८९ किलोमिटर सडक कालोपत्रे गरेको छ । 

संघीय संसद्‌मा मंगलबार दिउँसो १ बजे बजेट प्रस्तुत गरिने

काठमाडौं । आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)आगामी मंगलबार दिउँसो १ बजे संघीय संसद्‌मा प्रस्तुत गरिने भएको छ ।  आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले बजेट प्रस्तुतका निम्ति मंगलबार दिउँसो १ बजे संघीय संसद्को  संयुक्त बैठक आह्वान गरिएको जानकारी दिए ।  प्रतिपक्षी दलका सांसदको विरोधबीच आइतबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरिएपछि उनले समय निर्धारण गरिएको जानकारी दिएका हुन् । अघिल्ला वर्षहरूमा अपराह्न ४ बजे बजेट प्रस्तुत हुँदै आएको थियो ।  

वार्षिक नीति तथा कार्यक्रम पारित

काठमाडौं । नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित भएको छ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भनेर प्रस्ताव पेश गरेका थिए । प्रतिपक्षी नेपाली कांग्रेसको नाराबाजीकाबीच प्रतिनिधिसभा बैठकले नीति कार्यक्रम बहुमतले पारित गरेको हो ।  नीति कार्यक्रम पारित भएपछि सभामुख देवराज घिमिरेले दुवै सदनको संयुक्त बैठक यही जेठ १५ गते दिउँसो १ बजेका लागि आह्वान गरेको जानकारी दिए ।

नीति तथा कार्यक्रमले निराशा चिर्छ, कांग्रेसले ताली बजाउनुपर्छ : विष्णु पौडेल

काठमाडौं । प्रमुख सत्तारूढ नेकपा एमालेका सांसद विष्णु पौडेलले सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई प्रतिपक्षी नेपाली कांग्रेसले ताली बजाएर स्वागत गर्नुपर्ने बताएका छन्। पूर्वअर्थमन्त्रीसमेत रहेका उनले सरकारको नीति तथा कार्यक्रमको विरोधमा कांग्रेसले वेल घेरेर नारा लगाउनुभन्दा ताली बजाएर समर्थन गर्नुपर्ने बताए। उनले भने, ‘यो नीति तथा कार्यक्रमले निराशा चिर्ने र नागरिकमा आशा जगाउने काम गरेको छ। नीति तथा कार्यक्रमले राष्ट्रिय स्वाधिनताको रक्षा र नागरिक मैत्री शासनमा जोड दिएको छ। करदातालाई व्यावसायिक लागत घटाउने, बैंक, लघुवित्त र सहकारीका समस्या सम्बोधन गर्ने छ।’ उनले नीति तथा कार्यक्रमले सहकारी क्षेत्रका समस्या समाधान गर्ने विशिष्ठीकृत नियमक निकाय गठन गरेर समस्या समाधान गर्ने दृष्टिकोण अगाडि सारेको बताए।

संसद् अवरोधकाबीच नीति तथा कार्यक्रममा छलफल गर्नुपर्दा दुःख लागेको छ :  प्रधानमन्त्री

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको विरोधका बीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद् अवरोधकाबीच वार्षिक नीति तथा कार्यक्रम छलफल गर्नुपर्दा दुःख लागेको बताएका छन् ।  प्रतिनिधि सभाको बैठकमा आ.व. २०८१/ ०८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिंदै उनले सो कुरा बताएका हुन् । प्रधामन्त्री प्रचण्डले सदनको गतिरोध अन्त्यका लागि केही दिनदेखि लगातार राजनीतिक दलका नेतासँग छलफल गरिरहेको बताए । “बेला बेलामा धेरै सहमझदारीको नजिक पुगेको महसुस गरेका छौँ,” उनले भने ।  प्रचण्डले आइतबार बिहान कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेको सुनाए । उनले भोलि बिहानसम्म समझदारी हुने विश्वास व्यक्त गरे । 

यस वर्ष आर्थिक वृद्धिदर ३.९ प्रतिशतले वृद्धि हुन्छः : अर्थमन्त्री पुन

काठमाडौं  । अर्थमन्त्री वर्षमान पुनले चालु आर्थिक वर्षमा देशको आर्थिक वृद्धिदर ३.९ प्रतिशतले बिस्तार हुने बताएका छन् ।आइतवार प्रतिनिधि सभामा आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै चालू आर्थिक वर्षमा देशको आर्थिक वृद्धिदर ३.९ प्रतिशतले बिस्तार हुने बताएका हुन्।  अर्थमन्त्री पुनले उत्पादनमुलक उद्योगको गतिविधि सङ्कुचित भएपनि कृषि लगायत क्षेत्रमा भएको बढ्दो गतिविधिले आर्थिक वृद्धिदर ३.९ प्रतिशतले हुने अनुमान रहेको उल्लेख गरे। उनले  चालु आर्थिक वर्षमा कुल लगानी २.८ प्रतिशतले बढेर १७ खर्ब ४१ अर्ब पुग्ने अनुमान रहेको बताए। उनले प्रतिव्यक्ति आम्दानी बढेर १ हजार ४५६ अमेरिकी डलर पुग्ने अनुमान रहेको जानकारी दिनुभयो। अर्थमन्त्री पुनले प्रदेशगत रुपमा गण्डकी,वागमती,लुम्बीनी प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औषत भन्दा माथि रहने अनुमान रहेको बताए। उनले चालु आर्थिक वर्षको फागुणसम्म औषत उपभोक्ता मूल्यवृद्धि ६.८० प्रतिशत रहने बताए। उनले राजश्व परिचालनमा क्रमसः सुधार हुँदै गएको भन्दै चालु आर्थिक वर्षको फागुणसम्म संघीय सरकारको राजश्व संकलन ९.७ प्रतिशतले बढेर ६ खर्ब ३९ अर्ब ५ करोड पुगेको बताए। उनले चालु आर्थिक वर्षको फागुणसम्ममा संघीय खर्च २.९ प्रतिशतले वृद्धि भइ ८ खर्ब १ अर्ब ५८ करोड पुगेको बताए। उनले आर्थिक वर्षको फागुनसम्म कुल सार्वजनिक ऋण २३ खर्ब ८८ अर्ब २६ करोड पुगेको बताए। उनले कुल ऋणमध्ये आन्तरिक ऋण ४९.६ प्रतिशत र वाह्य ऋण ५०.४ प्रतिशतले रहेको उल्लेख गर्नुभयो। उनले आर्थिक वर्ष २०७९÷०८०मा प्रदेश र स्थानीय तहले संघबाट भएको वित्तीय हस्तान्तरणमार्फत ३ खर्ब ९७ अर्ब २६ करोड र राजश्व बाँडफाँडबाट १ खर्ब २० अर्ब २६ करोड गरी ५ खर्ब १७ अर्ब ६२ करोड प्राप्त गरेको बताए। 

आधारभूत तहमा भर्नादर ९७.१ र माध्यमिकमा ९७.९ प्रतिशत

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले शैक्षिक सत्र २०८० मा आधारभूत तहमा खुद भर्नादर ९७.१ प्रतिशत पुगेको जानकारी दिएका छन्। आज प्रतिनिधि सभामा आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै अर्थमन्त्री पुनले यस्तो जानकारी दिएका हुन्। यस्तै,उनले माध्यमिक तहमा खुद भर्नादर ९७.९ प्रतिशत पुगेको पनि जानकारी दिए।  उनले भने,‘शैक्षिक सत्र २०८० मा आधारभूत तहमा खुद भर्नादर ९७।१ प्रतिशत र माध्यमिक तहमा खुद भर्नादर ९७.९ प्रतिशत पुगेको छ।’

संसद्‌मा धकेलाधकेल, अर्थमन्त्रीलाई रोष्ट्रम प्रवेशमा अवरोध

काठमाडौं । प्रतिनिधिसभामा आज पनि धकेलाधकेल भएको छ । अर्थमन्त्री वर्षमान पुनलाई नेपाल सरकारको आगामी वर्षको आर्थिक सर्वेक्षण पेस गर्न समय दिएपछि कांग्रेस सांसदहरु वेल प्रवेश गरेका थिए । अर्थमन्त्रीलाई वेलमा जान रोकिएपछि माओवादी र रास्वपा सांसदहरु वेलमै प्रवेश गरेर अघि बढाउने कोसिस गरेका थिए । कांग्रेस सांसदहरुले रोक्दारोक्दै उनीहरु वेलमा प्रवेश गरेपछि धकेलाधकेल भएको हो । धकेलाधकेलकै बीचमा अर्थमन्त्रीलाई रोष्ट्रममा पुगेका थिए ।

संसद्‌मा कांग्रेसको नाराबाजी

काठमाडौं । प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठकमा नाराबाजी गरेको छ । 

शान्तिप्रक्रियाका बाँकी काम चाँडो टुङ्ग्याउनुपर्छ : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले शान्तिप्रक्रियाका बाँकी कामलाई जतिसक्दो चाँडो टुङ्ग्याउनुपर्नेमा जोड दिएकी छिन् । २२औँ कृष्णसेन ‘इच्छुक’ स्मृति दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा उनले जतिसक्दो चाँडो सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत शान्तिप्रक्रियाका बाँकी काम पूरा गर्नुपर्ने बताइन् ।उनले शान्तिप्रक्रियासँग सम्बन्धित विषयलाई राजनीतिक मुद्दा बनाउन नहुने बताइन् । शान्तिप्रक्रियाका बाँकी कामलाई कुनै व्यक्ति, पार्टी वा पार्टीका नेताको मात्रभन्दा पनि समग्र मुलुकको शान्ति प्रक्रियाको रूपमा हेरिनुपर्ने बताउँदै उन यो समग्र राज्यसत्ताको चासोको विषय भएकाले जतिसक्दो चाँडो टुङ्ग्याउनुपर्नेमा जोड दिइन् ।

पोलियोविरुद्ध ‘आइपिभी’ खोप अभियान देशभर सुरु

पाटन।  पोलियोविरुद्ध ‘आइपिभी’ खोप अभियान देशभर प्रारम्भ भएको छ । अभियानअन्तर्गत  १४ लाख ६२ हजार सात सय १२ बालबालिकालाई खोप लगाइने छ ।  “सतहत्तर वटै जिल्लामा खोप अभियान प्रारम्भ भएको छ, नियमित खोप कार्यक्रम सञ्चालन भएका खोप केन्द्रमा पनि ‘आइपिभी’ को व्यवस्था गरेका  छौँ”, अभियान सुरु भएको जानकारी दिँदै केन्द्रीय खोप अभियानका प्रमुख अभियान गौतमले भने। यही जेठ  २६ गतेसम्म सञ्चालन हुने खोप अभियानमा २०७३ देखि २०७५ सम्म नियमित पोलियो खोप लगाउन छुटेका बालबालिकालाई समेटिने उहाँले  बताए। विसं २०७१ देखि नेपालमा खोप लगाउन सुरु गरिए पनि २०७३ देखि २०७५ सालसम्म विश्वभर आइपिभी खोपको अभाव हुँदा देशभरका बालबालिका खोपबाट वञ्चित भएकाले अभियान सञ्चालन गरिएको उनले जानकारी दिए। नियमित खोप सञ्चालनका क्रममा बालबालिकालाई जन्मिएको दिनदेखि १५ महिनाभित्र सातपटक १३ वटा रोगबाट बच्ने खोप लगाउनुपर्ने व्यवस्था गरिएको तथा त्यस अवधिमा छुटेका बालबालिकालाई १६ देखि २३ महिनाभित्र खोप लगाउने व्यवस्था गरिएको उनले बताए। यसैबीच, ताप्लेजुङ सदरमुकाम फुङ्लिङ बजारबाट रासस समाचारदाताले पठाएको समाचारअनुसार जिल्लामा सात हजार बालबालिकालाई लक्ष्य गरेर सञ्चालित खोप अभियान सुरु भएको छ ।  जिल्ला खोप समन्वय समितिले जिल्लाका नौमध्ये चार स्थानीय तहमा आजदेखि जेठ १८ गतेसम्म, जेठ २० देखि २५ गतेसम्म पाँच स्थानीय तहमा अभियान सञ्चालन हुने जनाएको छ । अभियानका लागि जिल्ला भरमा तीन सय ९८ वटा केन्द्र निर्धारण गरिएको छ । अभियानमा  एक सय २१ जना  स्वास्थ्यकर्मी र सात सय ९६ जना स्वयंसेवक परिचालन  भएका छन् । रासस