प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा छलफल

काठमाडौं । प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच विश्वासको मत, सरकारको पूर्णता तथा नीति तथा कार्यक्रमलगायतका विषयमा छलफल भएको छ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको भेटमा सरकारलाई समर्थन दिएका दलहरूका सरोकारसमेत समेटी नीति तथा कार्यक्रम बनाउने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रचण्डको नेतृत्वमा सरकार गठन भएलगत्तै नीति तथा कार्यक्रम तयार पार्न एमाले अध्यक्ष ओलीको संयोजक रहेको समिति बनाइएको थियो। सो समितिले सरकारलाई समर्थन गरेका दलहरूका प्राथमिकता माग गरी नीति तथा कार्यक्रमको तयारी गरिरहेको छ।

आजको भेटमा २६ पुसमा लिइने विश्वासको मतका विषयमा पनि छलफल भएको बताइएको छ। विश्वासको मत लिएपछि मात्र सरकारलाई पूर्णता दिने तयारीमा रहेका प्रमुख दुई दल एमाले र माओवादीका शीर्ष नेताबीचको आजको छलफलमा सरकारमा आउन बाँकी रहेका दलहरूलाई कसरी समेट्ने भन्नेबारे पनि कुराकानी भएको छ।

संविधानको धारा ७६ (२)अनुसार १० पुसमा प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले २६ पुसमा विश्वासको मत लिने तयारी गरेका छन्।

विदेशबाट फर्किनेलाई २ वटा मोबाइल ल्याउन दिन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशबाट फर्कने नेपाली नागरिकले आफूसँग दुई वटा मोबाइल ल्याउन पाउने व्यवस्था गर्न निर्देशन दिएका छन् । विदेशबाट फर्किँदा व्यक्तिगत प्रयोजनका लागि आफूसँग अतिरिक्त मोबाइल ल्याउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवरोध भएपछि प्रधानमन्त्री कार्यालयले अर्थ मन्त्रालयलाई पुनः निर्देशन दिएको हो । विदेशबाट फर्किँदा दुई वटा मोबाइल ल्याउने विषयलाई सरल र सहज बनाउन नीतिगत जटिलता भए, त्यसलाई फुकाउन समेत प्रधानमन्त्री प्रचण्डले निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यात्रुले आफ्नो साथमा ल्याउन र लैजान पाउने निजी प्रयोजनका मालवस्तुसम्बन्धी आदेशमा विदेशबाट फर्किने यात्रुले एउटा मात्रै मोबाइल ल्याउन पाउने व्यवस्था छ । त्यही व्यवस्थालाई देखाएर भन्सारका कर्मचारीले एउटाभन्दा बढी मोबाइल ल्याएमा भन्सार शुल्क तिराउने गरेका छन् । सोमबार मात्रै अमेरिकाबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका डीएल नेम्वाङले ल्याएको थप एउटा मोबाइल भन्सारले जफत गरेको थियो । उनीजस्ता धेरैले विमानस्थलमा यस्ता समस्या भोग्ने गरेका छन् । गत शुक्रबार प्रधानमन्त्री प्रचण्डले विदेशबाट फर्किने नेपालीलाई मोबाइल ल्याउन गरिएको कडाइ तत्काललाई कार्यान्वयन नगर्न निर्देशन दिएका थिए । उनको सो निर्देशनपछि पनि भन्सारका कर्मचारीले निजी प्रयोजनका मालवस्तुसम्बन्धी आदेशलाई लिएर प्रयोग गरिरहेको एउटाबाहेक अर्को मोबाइल ल्याएमा भन्सार तिराउनका लागि जफत गर्ने गरेका छन् ।

काठमाडौंको सतुगंलमा एटिएम फोड्दै गर्दा एक जना पक्राउ

काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका ११ सतुगंलस्थित एनआइसी एसिया बैंकको एटिएम फोड्दै गरेको अवस्थामा एक जना पक्राउ परेका छन्। चन्द्रागिरी नगरपालिका ७ चेकपोष्ट बस्ने दाङ तुलसीपुर उपमहानगरपालिका ७ घर भएका २८ वर्षीय प्रकाश मगरलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो। स्क्रुले उक्त बैंकको एटिएम खोलिरहेको अवस्थामा फेला पारी प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रधानमन्त्रीद्वारा निर्वाचन आयोगका पदाधिकारीसँग परामर्श

काठमाडौं १८ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति, उपराष्ट्रपति र रिक्त रहेको राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि निर्वाचन आयोगका पदाधिकारीसँग परामर्श ग्रेका छन् । सोमबार प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारमा भएको छलफलमा संविधान र कानुनमा व्यवस्था भएबमोजिम राष्ट्रपति, उपराष्ट्रपति र राष्ट्रिय सभा सदस्यको रिक्त रहेको १ स्थानमा निर्वाचनका लागि आवश्यक प्रक्रिया थाल्न प्रधानमन्त्री प्रचण्डले आयोगका पदाधिकारीहरुसँग आग्रह गरेका छन् । प्रधानमन्त्रीले भने, ‘रिक्त रहेको राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि आवश्यक प्रक्रिया अगाडि बढाउनुहोस, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका लागि हामी राजनीतिक दलहरुबिच छलफल गर्छौँ र हामी एउटा निष्कर्षमा पुगौला ।’ सो अवसरमा प्रधानमन्त्रीले स्थानीय तहको निर्वाचन, प्रदैश सभा सदस्य निर्वाचन र प्रतिनिधिसभा सदस्य निर्वाचन कुशलतापूर्वक सम्पन्न गरेकोमा धन्यवाद व्यक्त गरे । बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने लगायत उपस्थित रहेका थिए । बैठकमा आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलिया लगायत आयुक्तहरुले निर्वाचन आयोगको कामकार्वाही र निर्वाचन प्रक्रियाबारे जानकारी गराएका थिए ।

आगामी तीन दिन देशभर अत्यधिक चिसो बढ्ने, सावधानी अपनाउन आग्रह

काठमाडौं । आगामी तीन दिन देशभर अत्यधिक चिसो बढ्ने भन्दै बिहानको समयमा बाहिरी चहलपहल कम गर्न विज्ञहरूले सुझाव दिएका छन्। विज्ञहरूले पश्चिमी वायुको प्रभावका कारण तराई र केही पहाडी क्षेत्रमा मौसम प्रतिकूल देखिएको भन्दै आवश्यक सावधानी अपनाउन आग्रह गरेका हुन्। पछिल्लो केही दिनयता देशभर बाक्लो हुस्सु लाग्ने चिसोको उत्तारचढाव भइरहेको छ। आगामी तीन दिनसम्म देशका अधिकांश स्थानमा शीतलहरको सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन विज्ञहरूको सुझाव छ। जलवायु तथा विपतविज्ञ डा.धर्मराज उप्रेतीले पश्चिमी वायुका कारण चिसो बढिरहेको बताए। आजदेखि तीन दिनसम्म देशको अधिकांश भागमा शीतलहरको सम्भावना रहेको भन्दै आवश्यक सावधानी अपनाउन आग्रह गरे। उप्रेतीले अबका केही दिनमा चिसो अत्यधिक बढ्ने भन्दै बालबालिका, वृद्धवृद्धा, दीर्घरोगी, मुटुका रोगीले बिहानको समयमा घरबाहिर निस्किनु उचित नहुने बताए। पश्चिम बंगालमा सिर्जना भएको न्यूनचापीय अवस्था र पश्चिमी वायुको प्रभावका कारण तुँवालो लाग्ने, चिसो बढ्ने, हिमपात हुने सम्भावना रहेको पनि बताए। उनले मर्निङ वाकमा सकेसम्म चिसोको वेलामा नजाने, सकेसम्म कोठामा नै योगाभ्यास गर्नुपर्ने बताए। जलवायुविज्ञ उप्रेतीले जनवरी, फेब्रुअरी र मार्चमा न्यूनतम तापक्रम औसतभन्दा तल हुने र वर्षा पनि कम हुने बताए। उनका अनुसार हिउँदमा वर्षा कम र चिसो बढी भएको खण्डमा यसको सबैभन्दा बढी असर वायुप्रदूषणमा पर्छ।न्यूनतम तापक्रम घट्दै जाँदा चिसो र शीतलहर बढाउने भएकाले जनवरी ४ सम्म देशको पश्चिमी भागमा यसको असर पर्ने भन्दै सचेत रहन आग्रह गरे।

विमानस्थल उदघाटनमा खुसीले झुम्मिए पोखरावासी, प्रधानमन्त्रीले भने– समृद्धिको सपनामा महत्वपूर्ण योगदान

पोखरा । पोखरावासीले वर्षौंदेखि साँचेको सपना थियो पर्यटकीय नगरी पोखरामा अन्तर्राष्टिय विमानस्थल । यही सपनालाई विपनामा रुपान्तरण गर्ने भूमिका खेलेका थिए वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले । प्रचण्ड पहिलो र दोश्रोपटक प्रधानमन्त्री बन्दा पोखरा विमानस्थलका बारेमा चीनसँग औपचारिक कुराकानी भएको थियो । पोखरा विमानस्थल निर्माण गर्न सकेमा यसले नेपालको अर्थतन्त्र र सामाजिक जीवनमा नै उल्लेख्य असर पर्ने कुरा सोचेर चीनसँग निर्माणका लागि सहयोग खोजेका थिए प्रचण्डले । संयोग नै भनौं, आज प्रधानमन्त्री प्रचण्डले नै पोखरा अन्तर्राष्टिय विमानस्थलको उद्घाटन गरे । मन्तव्यका क्रममा उनले भने, ‘आजको जमाना कनेक्टिभिटिको जमाना हो। त्यसमध्ये पनि हवाइमार्गको नेटवर्क सबैभन्दा मुख्य हो। यस विमानस्थलले पोखरा र गण्डकीका लागि मात्र नभएर देशकै विकास र समृद्धिको सपनामा महत्वपूर्ण योगदान गर्दछ।’ यही सपना विपनामा रुपान्तरण भएको ठानेर होला, विमानस्थल उदघाटनको अवसरमा हजारौं पोखरेली झुम्मिए ।पोखरा महानगरले त विदा नै दियो पनि । पोखरावासी जनताको विमानस्थलप्रतिको अपनत्व देखेर जोकोही पनि खुसीले द्रवित नभइ रहन सक्दैनथे । त्यसो त पर्यटकीय शहर पोखराको चौतर्फी विकास गर्ने हेतुले २०३२ सालमा विमानस्थलका परिकल्पना गरिएको थियो । तर नेपालको राजनीतिक परिस्थिति, भू राजनीतिक अवस्थिति र कतिपय अन्य कारणले गर्दा यो परियोजनाले मूर्तरुप भने लिन सकेको थिएन । तर छिमेकी चीनलाई धन्यवाद दिनैपर्छ, जसले यो विमानस्थलका लागि आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गरायो । त्यसैले उदघाटनका क्रममा प्रधानमन्त्री प्रचण्डले चीनलाई समेत धन्यवाद दिए । चीनका नाकाहरू खुल्न थालेका छन्, यसका निम्ति चीन सरकारलाई धन्यवाद दिन चाहन्छु, प्रधानमन्त्रीले भने, ’पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा सहयोग गर्ने सबै सबैप्रति विशेष आभार व्यक्त गर्दछु।’ उनले भने । प्रचण्डले पोखरावासी जनताको संकल्पको पनि खुलेरै प्रशंसा गरे । उनले भने, ’पोखरामा अन्तराष्ट्रिय विमानस्थल बनाउन तपाईहरूले जुन संकल्प गर्नुभयो, जुन जागरण ल्याउनुभयो। प्रधानमन्त्री भएको एक हप्तामा नै यो विमानस्थल उद्घाटन गर्न पाउनु मेरा लागि गौरवको विषय हो।’ सामाजिक न्याय, समृद्धि र सुशासनको संकल्प सरकारले गरेको बताउँदै प्रचण्डले आफ्नो तेश्रो कार्यकाललाई नेपाली समाज रुपान्तरणको निर्णायक कालखण्ड बनाउने आशयको कुरा समेत गरे । ’मेरो तेस्रो कार्यकाल यसकै निम्ति खर्चिनेछु’ उनको भनाई थियो । अन्तराष्ट्रिय विमानस्थल उद्घाटन समारोहमा उपप्रधान एवं अर्थमन्त्री पौडेल, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल, पोखरा महानगरका मेयर धनराज आचार्य, विमानस्थल निर्माणकर्ता चिनियाँ कम्पनिका अधिकारीहरूले सम्बोधन गरेका थिए ।

निगगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम छिट्टै अघि बढाउँछौँ : प्रधानमन्त्री प्रचण्ड

पोखरा। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार नवनिर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेका छन्। आइतबार दिउँसो उप्रप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, नेपाल सरकारका मुख्यसचिव दामोदर वैरागीसहित पोखरा पुगेका प्रधानमन्त्रीले सो विमानस्थल उद्घाटन गरेका हुन्। समुद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री प्रचण्डले विमानस्थल निर्माण गर्ने पोखरेली जनताको जागरण र संकल्प्रति सम्मान व्यक्त गरे। उनले भने,‘पोखरामा अन्तराष्ट्रिय विमानस्थल बनाउन तपाईहरूले जुन संकल्प गर्नुभयो, जुन जागरण ल्याउनुभयो। प्रधानमन्त्री भएको एक हप्तामा नै यो विमानस्थल उद्घाटन गर्न पाउनु मेरा लागि गौरवको विषय हो।’ ‘आजको जमाना कनेक्टिभिटिको जमाना हो। त्यसमध्ये पनि हवाइमार्गको नेटवर्क सबैभन्दा मुख्य हो। यस विमानस्थलले पोखरा र गण्डकीका लागि मात्र नभएर देशकै विकास र समृद्धिको सपनामा महत्वपूर्ण योगदान गर्दछ’ उनले भने। ‘सामाजिक न्याय, समृद्धि र सुशासनको संकल्प गरेको छु। मेरो तेस्रो कार्यकाल यसकै निम्ति खर्चिनेछु प्रधानमन्त्रीले भने, ‘यो तेस्रो अन्तरार्ष्ट्रिय विमानस्थल हो। काठमाडौं र भैरहवापछि पोखरामा अन्तराष्ट्रिय विमानस्थल बनेको छ। हामी छिट्टै निजगढ विमानस्थलको काम अगाडि बढाउँछौं। हामी विकासलाई तीव्रता दिएर अघि बढ्छौं।’ ‘चीनका नाकाहरू खुल्न थालेका छन्, यसका निम्ति चीन सरकारलाई धन्यवाद दिन चाहन्छु, प्रधानमन्त्रीले भने, ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा सहयोग गर्ने सबै सबैप्रति विशेष आभार व्यक्त गर्दछु।’ अन्तराष्ट्रिय विमानस्थल उद्घाटन समारोहमा उपप्रधान एवं अर्थमन्त्री पौडेल, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल, पोखरा महानगरका मेयर धनराज आचार्य, विमानस्थल निर्माणकर्ता चिनियाँ कम्पनिका अधिकारीहरूले सम्बोधन गरेका थिए। पर्यटकीय शहर पोखराको चौतर्फी विकास गर्ने हेतुले २०३२ सालमा परिकल्पना गरिएको विमानस्थल झण्डै साँढे पाँच दशकपछि पूरा भएको छ। अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने भएपछि पोखराबासीमा खुसीयाली छाएको छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्‍चालनमा, प्रधानमन्त्री प्रचण्डद्वारा उद्घाटन

पोखरा । पोखरा अन्तराष्ट्रिय विमानस्थल आजदेखि सञ्चालनमा आएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेका छन्। आइतबार पर्यटकीय नगरी पोखरामा आयोजित विशेष समारोहमा प्रधानमन्त्री प्रचण्डले पानसमा दिप बालेर विमानस्थलको औपचारिक उद्घाटन गरेका हुन्। यसअघि त्यस क्षेत्रमा हेलिकप्टरमार्फत् पुष्पवृष्टि गरिएको थियो। समारोहमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललगायतका विशिष्ट व्यक्तिसहित पोखराबासीको उत्साहजनक उपस्थिति रहेको छ।

माओवादी सुदुरपश्चिमको दल नेता बने भट्ट

डडेलधुरा । डडेलधुराको प्रदेशसभा क्षेत्र ‘क’बाट निर्वाचित खगराज भट्ट नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा चयन भएका छन् । आइतबार बसेको संसदीय दलको बैठकबाट भट्टलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरिएको माओवादी केन्द्रका सुदूरपश्चिम अध्यक्ष हरि चौधरी उत्सवले जानकारी दिए । भट्ट पार्टीको प्रदेश इन्चार्ज समेत हुन् । प्रदेश कमिटीको सिफारिस र प्रदेशसभा सदस्यहरूको बैठकले भट्टलाई सर्वसम्मत रूपमा दलको नेता चयन गरेको हो । दलको नेता छनोट गर्न शनिबार पनि माओवादीको बैठक बसेको थियो । संसदीय दलको कार्यालयमा बसेको सो बैठक साँझ ६ बजे बिनानिष्कर्ष सकिएको थियो । दलको नेतामा भट्टसँगै प्रदेशसभा सदस्य ओमविक्रम भाटले पनि दाबी गर्दै आएका थिए । माओवादी केन्द्रका सुदूरपश्चिम अध्यक्ष चौधरीका अनुसार भाटकै सहमतिमा भट्टलाई संसदीय दलको नेता चयन गरिएको हो । भट्ट नेता चयन भएसँगै उनलाई मुख्यमन्त्री बन्नका लागि बाटो खुलेको छ । उनलाई यसअघिको नेपाली कांग्रेस नेतृत्वको गठबन्धनले पनि मुख्यमन्त्रीका रूपमा अगाडि सारेको थियो । तर, अहिले केन्द्रमा नेकपा (एमाले) नेतृत्वको गठबन्धन छ । भागबन्डा गर्दा सुदूरपश्चिम सरकारको नेतृत्व माओवादी केन्द्रको भागमा पर्ने सम्भावना बलियो छ । अहिले पनि सुदूरपश्चिममा माओवादी नेतृत्वकै सरकार छ । प्रदेशमा पाँच वर्षको अवधिमा मन्त्री पटक–पटक फेरिए । तर, माओवादी केन्द्रबाट मुख्यमन्त्री भएका त्रिलोचन भट्टले अहिलेसम्म पनि सरकारको नेतृत्व गरिरहेका छन् ।

राम्रो गर्ने, राम्रो बाहेक नगर्ने वर्तमान सरकार नीति हो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारको नीति राम्रो गर्ने, राम्रो बाहेक नगर्ने रहेको बताएका छन्। नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशका नेता तथा कार्यकर्ताहरुलाई निवास बालुवाटारमा निर्देशन दिँदै उनले यस्तो बताएका हुन् । प्रधानमन्त्रीले राम्रो काम गरेर जनताको विश्वास जित्न जरुरी भएको बताउँदै गर्न चाहे हुने रहेछ भन्ने आभाष जनतामा दिलाउन सकिने बताए । उनले भने, ‘दुःख, मेहनत, त्याग र तपस्या जेजे गरेर हुन्छ राम्रो गर्नु पर्दछ । आफूले गरेको राम्रो कामको प्रचार नगरेर पनि हामीले दुःख पाएको हो । मध्यपहाडी लोकमार्गदेखि उत्तर–दक्षिण कोरिडोर म पहिलो पटक प्रधानमन्त्री भएपछि प्रस्तावित गरेका परियोजना हुन् । अहिले नेपाल त्यतै हिँडिरहेको छ । तर ती माओवादीले गरेका परियोजना भनेर स्थापित भने भएका छैनन् ।’ अहिलेको परिवर्तनका लागि मुख्य भूमिका खेलेको र उज्यालो नेपाल जस्ता विकास कार्यक्रममा माओवादीकै नेतृत्व र पहलमा भए पनि त्यसको स्वामित्व लिनेमा समस्या भएको उनको भनाइ थियो । कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध गर्ने र समाजवादी फोरम बनाउने चर्चा परिचर्चा चलिरहेको प्रधानमन्त्री प्रचण्डको भनाई थियो । कर्णाली प्रदेशमा आफ्नो पार्टी सबैभन्दा अगाडि रहेकोमा खुसी व्यक्त गर्दै सो क्षेत्रको विकासका लागि वर्तमान सरकारको ध्यान रहेको बताए । प्रधानमन्त्रीले कर्णालीमा बन्ने आगामी सरकारले कर्णालीका जनताका निम्ति र कर्णाली प्रदेशका निम्ति आर्थिक विकासमा गति दिने, जनतासँग जीवन्त सम्बन्ध बनाउने र जनताको विश्वास जित्ने काममा लाग्न निर्देशन दिए ।

ईस्वी संवत् २०२३ ले सबैमा सुख, शान्ति र समृद्धि ल्याओस् : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इस्वी संवत् २०२३ का अवसरमा नेपाल तथा विश्वभर रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत् शुभकामना दिँदै उनले इस्वी संवत् २०२३ ले सबैमा सुख, शान्ति र समृद्धि ल्याओस् भनी कामना गरेका छन्। प्रधानमन्त्री दाहालले नेपाल र नेपालीको उन्नति र बृहत्तर समृद्धिका लागि सामूहिक कार्य गर्ने सङ्कल्पको आह्वान गरेका हुन्। ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वी संवत् २०२३ सुरु भएको छ। जिजस क्राइस्टलाई फाँसी दिएपछि ईस्वी संवत् सुरुआत भएको भन्ने भनाइ छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन आज, प्रधानमन्त्री प्रचण्ड पोखरामा

पोखरा। प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ आज पोखरा आउने भएका छन्। आजदेखि सञ्चालनमा आउने पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनका लागि उनी पोखरा आउन लागेका हुन् । प्रधानमन्त्री बिहान ११ः०० बजे पोखरा आइपुग्ने कार्यक्रम रहेको नेपाल नागरिक उड्डयन प्राधिकरण पोखराका प्रमुख विक्रम गौतमले जानकारी दिए। उनका अनुसार प्रधानमन्त्रीसँगै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल पनि आउने कार्यक्रम छ। प्रमुख गौतमका अनुसार प्रधानमन्त्री प्रचण्डले ताम्रपत्र अनावरण गर्दै विमानस्थलको शुभारम्भ गर्नेछन्। यस्ता छन् कार्यक्रम विमानस्थल सञ्चालनमा आउने पहिलो दिन आज काठमाडौँबाट यात्रुसहित उडेको पहिलो विमान ७ः३० बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने पोखरा पर्यटन परिषद्का महासचिव सञ्जयकान्त सिग्देलले जानकारी दिए। पहिलो विमानबाट आएका यात्रुलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिने उनले जानकारी दिए। विमानस्थल शुभारम्भकै अवसरमा बिहान १०ः०० बजे पोखरा महानगरपालिकाद्वारा अमरसिंहचोकबाट विमानस्थलसम्म ¥याली आयोजना गरिने छ। ¥यालीका सहभागी अमरसिंहचोकबाट विमानस्थलसम्म पुगेर ११ः०० बजे हुने उद्घाटन समारोमा सहभागी हुनेछन्। उद्घाटन समारोहमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका परिकल्पनाकार शङ्करराज पाठकलाई नागरिक अभिनन्दन गर्ने कार्यक्रम छ। उद्घाटनपश्चात दिउँसो २ः०० बजेदेखि ४ः०० बजेसम्म विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिने छ भने ४ः०० बजेदेखि ५ः५० बजेसम्म ‘फेसन शो’ को कार्यक्रम तय गरिएको छ। साँझ ६ः०० बजे कार्यक्रमको समापन हुने महासचिव सिग्देलले जानकारी दिए। विमानस्थल शुभारम्भकै अवसरमा पोखराको हल्लनचोकमा साँझ ६ः०० बजे भैरव नाच प्रदर्शन गर्ने तयारी गरिएको छ। उद्घाटन भव्य बनाउन पोखरा महानगरपालिकाले महानगरअन्तर्गतका महाशाखा, ३३ वडा कार्यालय, मातहतका सबै विद्यालय तथा शैक्षिक संस्था बन्द हुने जनाएको छ। रासस

एकीकृत समाजवादीले बोलायो बैठक, नयाँ राजनीतिक घटनाक्रमका बारे छलफल हुने

काठमाडौं । नेकपा एकीकृत समाजवादीले स्थायी कमिटी बैठक बोलाएको छ । बैठक भोलि शनिबार बिहान ११ बजे पार्टी कार्यालयमा बस्ने छ । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल हुने र चुनावको समीक्षा गरिने एक नेताले बताए । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड कांग्रेससँगको गठबन्धन तोडेर नेकपा एमालेको समर्थनमा प्रधानमन्त्री बनेका छन् । यस्तो स्थितिमा आफूहरुको अबको भूमिका के हुने भन्ने बारेमा बैठक केन्द्रीत रहने ती नेताले बताए । सरकारमा सहभागी हुने नहुने र अब पार्टीले चाल्नु पर्ने कदमका बारेमा अध्यक्ष माधवकुमार नेपालले जिल्ला तहबाटै सुझाव संकलन गरेका छन् । जिल्ला तहबाट आएको सुझाव बारे पनि बैठकमा छलफल हुने छ ।

चिनियाँ समकक्षी ली खछ्याङको प्रचण्डलाई बधाई सन्देश –‘चीनको पूर्ण साथ रहनेछ’

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चिनियाँ प्रधानमन्त्री ली खछ्याङले चीनको पूर्ण साथ रहने बताएका छन् । प्रधानमन्त्री लीले प्रचण्डलाई लिखित बधाई सन्देश पठाउँदै कार्यकाल सफल हुने आशा व्यक्त गर्दै नेपालको स्थायीत्व, विकास र समृद्धीका लागि चीनको सधैं साथमा रहने बताएका हुन् । लीले नेपालस्थित चिनियाँ दूतावासमार्फत प्रचण्डलाई बधाइ पत्र पठाएका थिए । दूतावासले प्रधानमन्त्रीलाई उक्त पत्र शुक्रबार हस्तान्तरण गरेको हो । पत्रमा लीले चीन प्रचण्ड नेतृत्वको सरकारसँग मिलेर काम गर्न इच्छुक रहेको भन्दै दुवै मुलुकका जनताका लागि रणनीतिक साझेदारी कार्यक्रमलाई अघि बढाउने अपेक्षा समेत व्यक्त गरेका छन् । ‘तपाईं नेतृत्वको सरकारले नेपालको दिगो सामाजिक र आर्थिक विकासमा महत्वपूर्ण कदम चाल्ने छ भन्ने आशा छ । नेपालको स्थायीत्व, विकास र समृद्धिको लागि चीन सँधै साथमा रहने छ,’ बधाई सन्देशमा भनिएको छ, ‘तपाईंको यो कार्यकाल सफल हुनेमा चीन विश्वस्त छ । साथै, पूर्ण सहयोग हुने कुरामा पनि विश्वस्त तुल्याउन चाहन्छ।’ दुई देशबीच लामो समयदेखि पृथक द्विपक्षीय सम्बन्ध रहेको भन्दै बधाई सन्देशमा यसलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गरिएको छ । यसअघि चिनियाँ दूतावासले प्रचण्ड प्रधानमन्त्री नियुक्त भएकै दिन र चीनको विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले बधाई दिएका थिए ।

पुस १७ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन प्रधानमन्त्री प्रचण्डले गर्ने

कास्की । देशकै प्रमुख पर्यटकीय सहर पोखरामा नवनिर्मित अन्तर्राष्ट्रिय विमानस्थलको भव्य उद्घाटनको तयारी गरिएको छ । यही पुस १७ गते अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिनदेखि सो अन्तर्राष्ट्रिय विमानस्थलको विधिवत् सञ्चालनमा ल्याउन लागिएको हो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भव्य समारोहकाबीच विमानस्थलको उद्घाटन गर्नेछन्। शुभारम्भ समारोहमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू, उद्योगी तथा पर्यटन व्यवसायीको बृहत् सहभागिता रहने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका निर्देशक विक्रम गौतमले बताए। उनका अनुसार विमानस्थल उद्घाटनको सम्पूर्ण तयारीका काम अन्तिम चरणमा पुगेको छ । उनले भने, “सम्माननीय प्रधानमन्त्रीज्यूको प्रमुख आतिथ्यतामा विमानस्थल उद्घाटन कार्यक्रमको अन्तिम तयारीमा छौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण, प्रदेश सरकार, पोखरा महानगरपालिका, पोखरा पर्यटन परिषद्लगायत पर्यटन सङ्घ संस्थाको सहभागितामा उद्घाटन समारोह विशेष र भव्य हुनेछ ।” पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका अनुसार विमानस्थल उद्घाटनका दिन बिहान पहिलो उडानबाट विमानस्थलमा अवतरण गर्ने जहाजका चालक दल तथा यात्रुलाई फूलमालाले स्वागत गरिने छ । त्यसैगरी बिहान ११ बजेपछि औपचारिक कार्यक्रम शुभारम्भ हुनेछ भने अपराह्न २ बजेपछि ‘सेलिब्रेसन’को कार्यक्रम छ । पोखरा महानगरपालिका र पोखरा पर्यटन परिषद्को समन्वयमा विभिन्न जातजातिका झाँकी, फेसन सोलगायतका कार्यक्रमका साथ उद्घाटन समारोहलाई भव्य बनाइने निर्देशक गौतमले बताए । अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन कार्यक्रमलाई थप व्यवस्थित बनाउन पोखरा महानगरपालिकाले पनि काम सुरु गरेको छ । महानगर समारोह भव्य बनाउने गरी जुटेको छ । उद्घाटन समारोहपछि उत्सवको जिम्मा महानगरको छ । महानगरले विमानस्थल उद्घाटन समारोहलाई भव्य बनाउन विभिन्न जातजातिका मौलिक झाँकी अभिनन्दन कार्यक्रम, विभिन्न सांस्कृतिक प्रस्तुति र सेलिब्रेसन गरिने जनाएको छ । विमानस्थलका परिकल्पनाकार शङ्करराज पाठकलगायतलाई रथारोहणसहित अभिनन्दन गरिनेछ । महानगरले उद्घाटनलाई लक्ष्य गरी यही पुस १३ गते लेक साइडदेखि कोत्रेसम्म राजमार्गमा बृहत् सरसफाइ कार्यक्रम गरेको थियो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पोखराका लागि गौरवको विषय भन्दै यसको उद्घाटन कार्यक्रमलाई व्यवस्थित रूपमा भव्य र सभ्य बनाउनुपर्ने आचार्यले बताए। यो दशकौँ लामो पोखरेलीको सपना मात्र नभए पश्चिम क्षेत्रकै ‘लाइफलाइन’का रूपमा रहेको विमानस्थल भन्दै यसको कुशल र व्यवस्थित सञ्चालन महत्त्वपूर्ण हुने बताए । उनले भने, “उद्घाटन समारोहलाई भव्य बनाउने गरी महानगरले काम गरिरहेको छ । यसका लागि विभिन्न उपसमिति गठन गरी काम गरेका छौँ । यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा समेत विमानस्थल कोसेढुङ्गा सावित हुने भएकाले भव्य उद्घाटनको सन्देश विश्वभर पु¥याउनु आवश्यक छ । अन्तर्राष्ट्रिय सहरसँग हुने पोखराको सीधा सम्पर्कले पोखरा प्रवद्र्धनमा थप टेवा पुग्ने विश्वास लिएका छौँ ।” विमानस्थलको उद्घाटनका दिन देखिनै सबै आन्तरिक उडान सोही विमानस्थलबाट हुनेछन् । निजी विमान कम्पनीले नयाँ विमानस्थलबाट उडान सुरु गर्नका लागि कार्यालय व्यवस्थापन लगायत तयारी सकेका छन् । बुद्ध, यति र सौर्य एयरले परीक्षण उडानसमेत सम्पन्न गरेका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि पोखरेलीले झण्डै पाँच दशकअघि सपना देखेका थिए । लामो प्रतीक्षापछि विमानस्थल निर्माण भएर सञ्चालनको अवस्थामा आउँदा पोखरेली हर्षित छन् । यसबाट पोखराको समृद्धिको ढोका खुल्ने अपेक्षा यहाँका नागरिकको छ । पोखरा देशकै प्रमुख पर्यटकीय गन्तव्य भएको र विमानस्थल सञ्चालनसँगै पर्यटन क्षेत्रले बढी लाभ लिने भएकाले समेत पर्यटन व्यवसायी उत्साहित भएको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताए । विमानस्थल सञ्चालनमा आउने भएपछि आफूहरू हर्षित र उत्साहित भएको उनले बताए। कोरोनापछि प्रभावित पर्यटन क्षेत्रलाई विमानस्थल सञ्चालनसँगै पर्यटक आगमन बढेर राहत मिल्ने विश्वास रहेको बताउँदै श्रेष्ठले भने, “विमानस्थल सञ्चालनमा आउने भएपछि हामी व्यवसायी, लगानीकर्ता सबै हर्षित भएका छौँ । पर्यटन क्षेत्रलाई ठूलो राहत मिल्ने विश्वास छ । अन्तर्राष्ट्रिय विमानस्थलसँगै पोखराको प्रवद्र्धन विश्वभर फैलाउने र धेरै पर्यटक भित्र्याउने योजना बनाउने छौँ ।” पोखरा विमानस्थल चिनियाँ निर्माण कम्पनी सीएएमसीइले निर्माण गरेको हो । यसअघि गत वर्ष चैतमा चीनका विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणकै अवसरमा विमानस्थल नेपाललाई हस्तान्तरण गरिएको थियो । त्यसबेला विमानस्थलको केही काम सम्पन्न हुन बाँकी थियो । चीनको एक्जिम बैङ्कको रु २२ अर्ब सहुलियतपूर्ण ऋण र अनुदान सहयोगमा विमानस्थल निर्माण गरिएको हो । विसं २०३२ मा जमिन अधिग्रहण गरिए पनि चार दशकपछि बल्ल विसं २०७३ मा विमानस्थलको शिलान्यास गरिएकामा विसं २०७४ देखि निर्माण सुरु भएको हो । रासस

हर्षोल्लासका साथ मनाइँदै तमू ल्होछार, प्रधानमन्त्री प्रचण्डद्धारा उद्घाटन (फोटो फिचर)

काठमाडौं। पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्दै शुक्रबार गुरुङ समुदायले तमू ल्होछार (नयाँ वर्ष) हर्षोल्लासका साथ मनाएका छन् । बाघ वर्गको बिदाइ र बिरालो वर्गको स्वागत गरी नयाँ वर्ष (ल्होछार) मनाइएको हो । ल्होछारको अवसरमा राजधानीको टुडिखेलमा आयोजित कार्यक्रममा प्रमुख अतिथिको रुपमा प्रधानमन्त्री प्रचण्ड सहभागी भएका छन् । टुडिखेलमा आयोजित कार्यक्रमको प्रधानमन्त्री प्रचण्डले पानसमा दीप बालेर र बेलुन उडाएर उद्घाटन गरेका छन् । टुडिखेलमा देशैभरिका गुरुङ समुदाय जम्मा भएर ल्होछार मनाउने प्रचलन छ । गुरुङ समुदायले टुँडिखेलमा पुस १३ गते देखि नै ल्होछार मनाउन सुरु गरेका थिए । आज (शुक्रबार) अर्थात पुस १५ गते विशेष कार्यक्रमको आयोजना गरी नयाँ वर्ष (ल्होछार) मनाइएको हो । राजधानीको वसन्तपुरबाट निकालिएको र्‍याली टुँडिखेल पुगेर कार्यक्रममा परिणत भएको छ । र्‍यालीमा गुरुङ समुदायका व्यक्तिहरु आफ्नो परम्परागत पोशाकमा सजिएका देखिन्थे । ‘ल्हो’ को अर्थ वर्ष र ‘छार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमू ल्होछार’ भनिएको गुरुङ समुदायको विश्वास छ । यस वर्ष १४ पुस राति १२ बजे बाघ वर्गलाई गरी बिरालो वर्गलाई स्वागत गरिएको छ ।