सुदूरपश्चिमका मुख्यमन्त्री शाहसहित दुई मन्त्रीको शपथ

धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रदेश प्रमुख देवराज जोशीले मुख्यमन्त्री शाहलाई मन्त्रीको शपथ गराएका हुन् । शाहसहित नेकपा एसका नरेश शाही र कांग्रेसका प्रकाश देउवालाई मन्त्रीको शपथ गराइएको छ ।

देउवाले भौतिक पूर्वाधार र एकीकृत समाजवादीका शाहीले आर्थिक मामिला मन्त्रीको सपथ लिएका हुन् ।

बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक

काठमाडौं । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । हिजो बिहीवार दिउँसो ३ बजेको लागि बोलाइएको संयन्त्रको बैठक स्थगित भएको थियो । बैठकमा प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष ओली, सरकारबाट बाहिरिएको राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी छन् । सरकारबाट बाहिरिएको रास्वपाले पनि सरकारलाई समर्थन जारी राखेको छ ।

मुख्यमन्त्री रावलद्धारा राजीनामा, कांग्रेस दल नेतालाई मुख्यमन्त्रीमा नियुक्त गर्ने तयारी

कैलाली । विश्वासको मत नपाएपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले राजीनामा बुझाएका छन् । बिहीबार प्रदेशसभामा विश्वासको मत नपाएपछि मुख्यमन्त्री रावलले प्रदेश प्रमुख देवराज जोशीसमक्ष राजीनामा बुझाएका हुन् । गत पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका रावलले बिहीबार माघ २६ गतेभित्रै विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्था अनुसार प्रदेश सभा बैठकमा विश्वासको मतको प्रस्ताव पेश गरेका थिए । तर उनको प्रस्तावलाई बहुमत प्रदेश सभा सदस्यले अस्वीकृत गरेपछि उनले राजीनामा दिएका हुन् । स्रोतका अनुसार प्रदेश संसद्मा ठूलो दलको हैसियतमा आजै कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहलाई मुख्यमन्त्रीमा नियुक्त गर्ने तयारी गरिएको छ ।

सुदूरपश्चिमका मुख्यमन्त्री रावल स्वतः पदमुक्त

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले विश्वासको मत लिन सभासमक्ष राखेको प्रस्ताव सभाको बहुमतले अस्वीकृत गरेको छ । सभामा रहेको बहुमतले उनको प्रस्ताव अस्वीकृत गरेपछि प्रदेश सभा बैठक अर्को सूचना नभएसम्मका लगि स्थगित भएको छ । योसँगै रावलले विश्वासको मत पनि लिन सकेनन् । उनले विश्वासको मत लिन नसकेपछि स्वतः पदमुक्त हुनेछन् भने संसद्को ठूलो दलको नेताको नेतृत्वमा सरकार बन्नेछ । सुदूरपश्चिम प्रदेशसभामा नेकपा एमालेका १०, माओवादी केन्द्रका ११, नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपाका एक गरी २९ जना प्रदेसभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । ५३ सदस्यीय प्रदेशसभा रहेको सुदूरपश्चिमको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस, एकीकृत समाजवादी र एक जना स्वतन्त्र भने विपक्षमा छन् । कांग्रेसका १९ र एकीकृत समाजवादीका ४ जना प्रदेशसभा सदस्य छन् ।

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक शुक्रबार बस्ने

काठमाडौं । सत्तारुढ उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक शुक्रबार बिहान बस्ने भएको छ । बिहीबार अपरान्हका लागि बोलाइएको संयन्त्रको बैठक शुक्रबार बिहान बस्ने गरी स्थगित गरिएको हो । बिहीबार संयन्त्रको बैठक बस्ने समयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच छलफल भएको थियो । छलफलपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै अध्यक्ष प्रचण्डले संयन्त्रको बैठक शुक्रबार बिहान ९ बजे बस्ने जानकारी दिए ।

माओवादी केन्द्रमा वाम ध्रुवीकरणको प्रस्ताव : अध्यक्ष प्रचण्डले सांगठानिक विषयबारे निर्देशन दिने

काठमाडौं। प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिहीबार अपराह्न ५ बजे भर्चुअल बैठकमा सम्बोधन गर्दै छन् । उक्त बैठकमा प्रधानमन्त्री प्रचण्डले आगामी दुई महिने अभियान के–कस्तो हुन्छ भन्नेबारे पार्टी केन्द्रीय सदस्यहरुलाई निर्देशन दिने बताइएको छ । माओवादी केन्द्रीय कार्यालयका अनुसार प्रचण्डले करिब एक घण्टा जति पार्टीको आगामी अभियान, सांगठानिक विषयबारे निर्देशन दिने छन् । यसबाहेक पार्टीमा पदाधिकारीको वरियताक्रम र जिम्मेवारी सम्बन्धमा करिब डेढ, दुई वर्षअघि भएको आठौँ राष्ट्रिय महाधिवेशनले तय गरेको विषय नै कायम रहेको नेताहरुको भनाई छ । माओवादी केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्याय (निर्मल)ले भने, “त्यो महाधिवेशन अगाडि भएको कार्यविभाजनको कुरा हो। यो दुई महिनामा प्रदेशका सम्बन्धित सबै पार्टीको प्रदेश इन्चार्जको नेतृत्वमा कार्य विभाजन हुने भन्ने छ। प्रदेशका सम्बन्धित पार्टीका केन्द्रीय सदस्यको प्रदेश इन्चार्जको नेतृत्वमा समन्वय समिति बन्छ। त्यो समन्वय समितिले आफ्नो प्रदेशभित्रका सबै जिल्ला इन्चार्ज हेरफेर गर्न सक्छ, नयाँ कार्य विभाजन तोक्न सक्छ।” यसरी भएको कार्य विभाजन महानगरपालिका, उपमहानगरपालिकासम्म अर्थात् स्थानीय तहसम्मै पुग्ने भन्दै उनले प्रदेशको निर्वाचन क्षेत्रमा पनि पार्टीको केन्द्रीय सदस्य पुग्ने सम्बन्धमा केही बेरपछिको जुम बैठकमा अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने बताए । “माघ २७ गतेबाट फागुनको ५, ६ गतेसम्म हरेक प्रदेशको समन्वय समितिको बैठक बसेर नयाँ कार्य विभाजन हुन्छ। त्यसकारण, अहिले प्रदेश इन्चार्ज पुरानै यथावत् हो, नयाँ कार्य विभाजन भन्न मिलेन”, उनले भने। पार्टीको केन्द्रीय समितिको हकमा पनि वर्णानुक्रम अनुसार मिलाइएको भन्दै उनले भने, “मेरै नाम ६५ नम्बरमा थियो अहिले १६५ मा छ। केन्द्रीय कार्य समितिको बैठक बसेपछि नयाँ कार्य विभाजन हुन सक्छ”, उनले भने । माओवादी केन्द्रमा बलियो कम्युनिष्ट पार्टी निर्माण गर्न विभिन्न वामपन्थी शक्तिसँग एकीकरण एवम् ध्रुवीकरणको प्रस्ताव आएको पनि उनले जानकारी दिए। “बलियो कम्युनिष्ट पार्टी बनाउने हो भने, ध्रुवीकरण गर्ने हो भने बृहत् एकीकरणका लागि जे जे बाधक छन्, त्यो छोड्न सकिन्छ भन्ने हो”, प्रस्तावको रूपमा रहेको यो विषय अबको दुई महिनापछि बस्ने पूर्ण केन्द्रीय कार्य समितिको बैठकले निर्णय गर्ने उनको भनाइ छ। पार्टीको प्रदेश समितिमा केन्द्रीय सदस्य सह–इन्चार्ज रहने व्यवस्था हुँदै आएकोमा अब भने यो सबै अधिकार प्रदेश इन्चार्जलाई नै दिनेगरी आगामी अभियान अघि बढेको पनि माओवादी केन्द्रले जनाएको छ।

ओली र प्रचण्ड छलफलमा

काठमाडौं । सत्ता गठबन्धनका दुई नेता प्रधानमन्त्री प्रचण्ड र एमाले नेता केपी शर्मा ओलीबीच सिंहदरबारमा भेट भएको छ । उच्चस्तरीय समयन्त्रको बैठक बालुवाटारमा बोलाइएकोमा सो बैठक सारेर दुई नेता छलफलमा जुटेका हुन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार सुदूरपश्चिम प्रदेश सरकारका विषयमा छलफल भइरहेको छ । मुख्यमन्त्री राजेन्द्रसिंह रावलले बिहीबार विश्वासको मत नदिए सरकार ढल्ने खतरा छ । सत्ता घटक नागरिक उन्मुक्ति पार्टीले आफ्नो माग सम्बोधन नभएसम्म विश्वासको मत नदिने अगाडि लिएपछि ओली र प्रचण्ड छलफलमा जुटेका हुन् । नाउपाका संरक्षक रेशम चौधरीसहितको मुद्दा फिर्ता लिनुपर्ने माग राखेको छ । नाउपामा सांसद यतिबेला काठमाडौंमा छन् ।

जनताभन्दा माथि कोही छैन, संविधानको इमान्दार कार्यान्वयन गरौं : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले राजनीतिक प्रणाली र संविधान जनताको सर्वोपरि हितका लागि भएकाले संविधानको इमान्दार कार्यान्वयन हुनुपर्ने बताएका छन् । नीति अनुसन्धान प्रतिष्ठान र निर्वाचन आयोगले संयुक्त रूपमा सिंहदरबारमा आयोजना गरेको नेपालमा निर्वाचन प्रणाली तथा व्यवस्थापन प्रक्रिया सुधार विषयक अध्ययनबाट प्राप्त प्रारम्भिक निष्कर्ष प्रस्तुतीकरण कार्यक्रममा बोल्दै उक्त कुरा बताएका हुन् ।   प्रधानमन्त्रीले भने, “जनताको धेरै ठूलो बलिदानी र पहलकदमीपछि हामीले संविधानसभाबाट संविधान बनायौँ । त्यसका लागि झण्डै ७० वर्ष लामो संघर्ष गर्नुप¥यो । हाम्रो संविधान राजनीतिक सहमति र सम्झौताको दस्तावेज हो । संविधानका विविध विषयमा हामी सबैका आफ्ना दृष्टिकोण छन् । कतिपय विषयमा बिमति पनि होलान् । तर, हामीले बनाएको संविधानको इमान्दार कार्यान्वयन गर्ने जिम्मेवारी पनि हाम्रो नै हो ।” “संविधान कार्यान्वयनका लागि अपरिहार्य ऐनहरू बनाउन जरूरी छ । संविधानको पूर्ण कार्यान्वयनपछि मात्र हाम्रो संविधानमा के कति समस्या र त्रुटिहरू छन् भन्ने निष्कर्षमा पुग्न सकिन्छ” प्रधानमन्त्रीले भने, “संविधानले भनेको कुरा पहिला लागू गरौँ । त्यसले के नतिजा दिन्छ, त्यसपछि समीक्षा गरौँला । संविधानमा भएको व्यवस्था लागू नगरी संविधानलाई दोष दिनु हुँदैन ।” प्रधानमन्त्रीले भने, “निजामती सेवा ऐनदेखि धेरै ऐनहरू बनाउन बाँकी छ । पहिला काम गरौँ, त्यसपछि मूलभूत विषयमा समीक्षा गरौँ । अहिले नै समीक्षातिर लाग्यौँ भने राजनीतिक अस्थिरता आउन सक्छ । दर्शन, सिद्धान्त, प्रणाली जनताले धेरै हेर्दैनन्, उनीहरूले आफ्नो जीवनमा आउने परिणाम हेर्छन् । सिस्टम जति राम्रो भए पनि जनताले स्वीकारेनन् भने त्यो समस्या हुन्छ । जनता नै निर्णायक हुन् ।” कार्यक्रममा पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) लगायत संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूले आआफ्नो धारणा राखेका थिए ।

नेपालमा गरिएको लगानीमा भूराजनीतिक आयाम छैन : पावर

काठमाडौं । अमेरिकी सहयोग नियोग (यूएसएआइडी)की प्रमुख समान्था पावरले नेपालमा अमेरिकाले गर्ने सहयोगमा भूराजनीतिक आयाम नरहेको बताएकी छन् । दुई दिने नेपाल भ्रमणको अन्तिम दिन आयोजित पत्रकार सम्मेलनमा अमेरिकाले दसकौंदेखि नेपाललाई सहयोग गर्दै आएको बताएकी छन् । ‘भूराजनीति परिवर्तन भैरहन्छ । शीतयुद्धभन्दा अघि एक ठाउँ थियो र शीतयुद्धमा अर्को र पछि अर्को भयो । तर हामी काममा केन्द्रित हुन्छौं, प्रभावका लागि हामी साथमा काम गर्छौं,’ पावरले भनिन्, ‘अमेरिकाले नेपालमा गर्ने लगानीको कुनै भूराजनीतिक आयामको उत्पादन होइन । नेपालसँग गरेको प्रतिबद्धताको उत्पादन हो । यो देशको जनताको कल्याणका लागि दसकौंदेखि गर्दै आएको कामले पनि प्रमाणित गरेको छ ।’ पावरले नेपालसँग मित्रतालाई अगाडि बढाउन चाहेको बताएकी छिन् । पावरले मंगलबार मात्रै ७ अर्ब रुपैयाँको सहयोगको घोषणा गरेकी थिइन् ।

डेमोक्रेटिक समिटमा प्रधानमन्त्री प्रचण्डलाई आमन्त्रण गर्छौं : समान्था पावर

काठमाडौं । अमेरिकी सहयोग नियोग यूएसएआईडीकी प्रमुख समान्था पावरले आगामी महिना अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने डेमोक्रेटिक समिटमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आमन्त्रण गरिने बताएकी छन् । दुईदिने नेपाल भ्रमणको अन्तिम दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै यस्तो जानकारी दिएकी हुन् । प्रमुख पावरले सम्मेलनको अधिकांश कार्यक्रम भर्चुअल्ली हुने भन्दै नेपालका प्रधानमन्त्रीले यसअघिको सम्मेलनमा व्यक्त गरेका प्रतिबद्धता कार्यान्वयनसहित सम्बोधन गर्ने अवसर हुने बताएकी छन् । ‘प्रधानमन्त्रीले विगतमा गरेका प्रतिबद्धता र सुधारका वाचा र उहाँको आगामी दिन कानुनी शासन र प्रजातान्त्रिक संस्थाहरुको सशक्तिकरणको योजनाको धारणा राख्ने अवसर हुने छ,’ उनले भनिन् । गत सम्मेलनमा भएको प्रतिबद्धता कार्यान्वयन गर्नका लागि नागरिक समाजले पनि भूमिका निर्वाह गरिरहेको उनले बताएकी थिइन् । सञ्चारकर्मीहरुले वासिंगटनमा आयोजना हुने सम्मेलनमा नेपालका प्रधानमन्त्रीलाई निम्तो भएको वा नभएको विषयमा जिज्ञासा राखेपछि पावरले नेपालका लागि अमेरिकी राजदूत डिन थम्प्सनसँग जिज्ञासा राख्दै दूतावासले निमन्त्रणाको तयारी गरेको बताएकी हुन् ।

मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बैठक सुरू भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। मन्त्रीपरिषद्को नियमित बठैक प्रधानमन्त्री कार्यालय बसेको सिंहदबारमा हो ।

सूचना वर्गीकरणको प्रस्ताव स्थगन गर्ने समझदारी

काठमाडौं । सूचना वर्गीकरणका लागि तयार पारेको प्रस्ताव स्थगन गरी नयाँ शिराबाट छलफल गरी अगाडि बढाउने समझदारी भएको छ । मुख्यसचिवको नेतृत्वमा रहेको सूचना वर्गीकरण समितिले सरकारी सूचनालाई ८७ बुँदामा वर्गीकरण गरिएकोमा सरोकारवाला पक्षले नेपाल सरकारको ध्यानाकर्षण गराएपछि सोमबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबारमा सरोकारवाला पक्षसँग छलफल गरिएको थियो । छलफलका क्रममा सूचना वर्गीकरण गर्दा नेपालको संविधान र सूचनाको हक सम्बन्धि प्रचलित कानुनको प्रतिकूल हुन नहुने र वास्तविक सूचना प्रवाहित गर्दा राजनीतिक प्रणाली र लोकतन्त्र बलियो हुनेमा सरोकार पक्षले सरकारको ध्यानाकर्षण गराएको थियो । छलफलमा नेपाल सरकारका मुख्यसचिव एवं समितिका संयोजक शंकरदास बैरागीले आफूहरुले सूचनाको हक कुण्ठित गर्न नभएर सूचना व्यवस्थित गर्न वर्गीकरणको प्रस्ताव अगाडि सारेको बताए। उनले सरोकार पक्षको मागलाई समेत ध्यानमा राखेर प्रस्ताव परिमार्जन गरिने प्रतिवद्धता व्यक्त गरे । छलफलमा नेपाल पत्रकार महासंघका अध्यक्ष बिपुल पोखरेलले लोकतान्त्रिक प्रणालीमा जनतालाई शक्तिशाली बनाउन सूचनाको हकको व्यवस्था गरिएकाले वर्गीकरणको प्रस्ताव फिर्ता लिएर नयाँ ढंगले छलफल गर्न नेपाल सरकारसँग आग्रह गरे । छलफलका क्रममा सरकारका प्रतिनिधि र सञ्चार क्षेत्रका प्रतिनिधिहरुबिच अहिले अगाडि बढाएको प्रस्तावलाई फिर्ता गरी सरोकारवाला पक्षसँगको समझदारीमा नयाँ प्रस्ताव लैजाने समझदारी भएको छ । मुख्यसचिवको अध्यक्षमा भएको अनौपचारिक छलफलमा नेपाल पत्रकार महासंघका अध्यक्ष बिपुल पोखरेल, सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयका सचिव, पत्रकार महासंघका प्रतिनिधिहरु र प्रधानमन्त्रीको प्रेस टीमका प्रतिनिधिहरु लगायत उपस्थित थिए ।

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको यस्तो छ कार्यतालिका

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २५ गते राष्ट्रपतिको निर्वाचन गर्ने घोषणा गरेको छ। आज(सोमबार)निर्वाचन आयोगमा पत्रकार सम्मेलन गरी आयोगले सो जानकारी गराएको हो। त्यस्तै, आयोगले उपराष्ट्रपति पदको निर्वाचन भने चैत ३ गते गर्ने निर्णय गरेको छ। निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले फागुन २५ गते बिहीबार राष्ट्रपतिको निर्वाचन भएपछि उपराष्ट्रपति पदको निर्वाचन प्रक्रिया सुरु हुने बताए। उनले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन आयोगले सातै प्रदेशमा मतदान गर्ने गरी आवश्यक तयारी गर्ने प्रयास गरे पनि तत्काल सम्भव नदेखिएको भन्दै मतदान काठमाडौंमा नै हुने बताए। उनले राष्ट्रपतिको निर्वाचनका लागि मतदाता नामावली प्रकाशन १० गते, दाबी, विरोध, उजुरीलगायतका काम १० र ११ गते, निवेदन तथा उजुरीउपर छानबिन गर्ने ११ र १२ गते गर्ने कार्यतालिका बनाएको बताए। त्यस्तै, आयोगले अन्तिम मतदाता नामावली प्रकाशित गर्ने १२ गते र उम्मेदवार मनोनयनपत्र दर्ता गर्ने १३ गते रहेको बताएको छ। त्यस्तै, मनोनयन पत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने १३ गते साँझ, उम्मेदवारविरुद्धमा उजुरी दिने १४ गते, मनोनयन र उजुरीमा छानबिन गरी निर्णय गर्ने १४ र १५ गते, उम्मेदवारको नामावली प्रकाशित गर्ने १५ गते साँझ, उम्मेदवारले नाम फिर्ता लिने १६ गते, उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने १६ गत साँझ र मतदान गर्ने २५ गते रहेको आयोगले जनाएको छ। त्यस्तै, उपराष्ट्रपतिको निर्वाचन फागुन ३ गते हुने भएको छ। प्रवक्ता पौडेलले मतदाता नामावली प्रकाशित गर्ने कामलगायतका कामलाई राष्ट्रपतिकै कामलाई गरेकोबाट निरन्तरता दिने बताए। उनका अनुसार उपराष्ट्रपतिको निर्वाचनका लागि मनोनयन पत्र दर्ता फागुन २७ गते, मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशित गर्ने सोही दिन २७ गते नै छ। त्यस्तै, उम्मेदवारको विरोधमा उजुरी दिने सोही दिन, मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने २८ गते, उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने फागुन २८ गते छ। उनले आयोगले संविधानको स्पिरिटलाई समातेर पाँच वर्षको अवधि नघट्ने गरी तादात्म्यता मिलाउन आयोग लागेको बताए। राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आउँदो फागुन २८ गतेबाट सकिँदै छ। राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मितिसँगै निर्वाचन तालिकासमेत सार्वजनिक गरिएको छ।

माओवादी पदाधिकारी बैठक : गृहमन्त्रीबारे निर्णयको जिम्मा प्रधानमन्त्रीलाई

काठमाडौं । नेकपा माओवादी केन्द्रको सोमबार बसेको पदाधिकारी बैठकले गृहमन्त्रीबारे निर्णय गर्ने जिम्मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ। पेरिसडाँडामा बसेको पार्टी पदाधिकारी बैठकपछि बोल्दै माओवादी उपाध्यक्ष एवम् प्रवक्ता कृष्णबहादुर महराले गृहमन्त्रीबारे कुनै कुरा नभएको बताए। गत शुक्रबार सर्वोच्च अदालतको आदेशपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राजीनामा दिएपछि गृहमन्त्री पद खाली छ।

माओवादी पदाधिकारी बैठक जारी

काठमाडौं। नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक भर्खरै सुरु भएको छ । स्थायी समिति बैठक रोकेर पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पदाधिकारी बैठक बसेको हो । पार्टीको संगठनिक योजना र कार्यविभाजन सम्बन्धी योजना समेत ल्याउने नेताहरुले बताएका छन् ।

अमेरिकी उपविदेश मन्त्रीले भेटिन् प्रधानमन्त्री प्रचण्डलाई

काठमाडौं । नेपाल भ्रमणमा रहेकी अमेरिकाकी उपविदेश मन्त्री भिक्टोरिया न्युल्यान्डले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेकी छन्। सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा नेपाल र अमेरिकाको द्वीपक्षीय सम्बन्धका विभिन्न विषय छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। भेटमा परराष्ट्र सचिव भरतराज पौड्याल, अमेरिकी राजदूत डिन थम्प्सनलगायत दुई देशका अन्य अधिकारीहरू पनि सहभागी थिए। ‘द्वीपक्षीय सहकार्यका विविध विषय र पारस्परिक हितका अन्य विषयमा पनि छलफल भएको छ,’ प्रधानमन्त्री कार्यालयले ट्विटरमा लेखेको छ। प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री बनेपछि नेपाल भ्रमण गर्ने न्युल्यान्ड उच्च अमेरिकी कूटनीतिज्ञ हुन्।