मुस्ताङमा विश्वविद्यालय होइन कलेज खोल्ने चर्चा रहेछ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुस्ताङमा युनिभर्सिटी (विश्वविद्यालय) नभएर कलेज खोल्ने चर्चा पहिलेदेखि नै भएपनि सरकारले स्वीकृति नदिएको प्रस्ट पारेका छन् ।

मंगलबार काठमाडौंमा सोलुखोला दुधकोशी जलविद्युत परियोजना शुभारम्भ गर्दै प्रधानमन्त्री प्रचण्डले मुस्ताङको चर्चा परिचर्चा हुनुमा त्यहाँ भएको खनिज पदार्थ कारण रहेको बताए ।

‘अहिले मुस्ताङको विषयलाई लिएर बडो चर्चापरिर्चा हुने गरेको छ । मुस्ताङमा युनिभर्सिटी खोल्ने रे , मुस्ताङमा अलि धेरै मान्छेको ध्यान छ । मुस्ताङको बारेमा धेरै पहिलेदेखिनै चर्चा पनि हुने गरेको छ’, प्रधानमन्त्री प्रचण्डले भने, ‘मुस्ताङमा अमूल्य खनिज पदार्थहरू छन् र त्यो खनिज पदार्थ उत्खनन र प्रोसेशनमात्रै ठिक ढंगले गर्न सक्यौ भने नेपालहरूको आर्थिक स्थिति संसारकै उच्च बनाउन सकिन्छ रे भन्ने चर्चा पनि भएका छन् ।’

प्रधानमन्त्री प्रचण्डले नेपालीहरूले भन्दा विदेशीहरूले मुस्ताङ र त्यहाँ भएको प्राकृतिक श्रोत र खनिज पदार्थबारे बढी जानकारी राख्छन् रे भन्ने सुनिँदै आएको बताए ।

‘हिजोआज एउटा चर्चा भएको पनि तपाई हामीले सुनेका छौँ मुस्ताङकै विषयमा । मुस्ताङमा बुद्धिष्ट युनिभर्सिटी खोल्ने कुरा भन्ने पनि आयो । पक्कै पनि त्यहाँ स्थानीय तहबाट युनिभर्सिटी भन्दा पनि कलेज खोल्ने चर्चा धेरै पहिलेदेखि भएको रहेछ । तर नेपाल सरकारले स्वीकृति दिएको स्थिति होइन’, प्रधानमन्त्री प्रचण्डले भने, ‘तर जे भएपनि मुस्ताङको यति धेरै चर्चा किन भयो ? ’ उनले यसबारे आफूले कसैलाई आरोप र प्रत्यारोप गर्न नखोजेको भन्दै मुस्ताङको चर्चा हुनेवित्तिकै सबै नेपालीहरु संवेदनशील हुने गरेको बताए । ‘हाम्रो प्रकृतिको गर्भभित्र धेरै यस्ता खनिजहरू छन् जसलाई हामीले ठीक ढंगले अनुसन्धान गर्‍यौ भने त्यसले नेपालमा ‘रिभुल्सनरी चेन्ज’ ल्याउन सक्छौँ भन्ने हो, त्यो सम्भावना छ,’ उनले भने ।

यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले मुस्ताङमा युनिभर्सिटी खोल्न दिएर विदेशीलाई खुसी पार्न लागेको आशय व्यक्त गरेका थिए ।

शान्ति प्रक्रियालाई गिजोलेर द्वन्द्वको खेती गर्ने षडयन्त्र भइरहेको छ : बाबुराम भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले द्वन्द्वकालीन मुद्दाको विषयलाई उचालेर मुलुकलाई फेरि द्वन्द्वमा फसाउने गम्भीर षड्यन्त्र अन्तर्गत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि सर्वोच्चमा मुद्दा हाल्ने काम भएको बताएका छन् । अध्यक्ष भट्टराईले सत्य निरूपण तथा मेलमिलाप आयोगले गर्ने सो कामलाई अदालती प्रक्रियामा लगेर डलरको खेती गर्नेहरूको शान्ति प्रक्रियालाई गिजोलेर मुलुकमा द्वन्द्वको खेती गर्ने, स्थितिलाई अस्थिर बनाई राख्ने, बाह्य शक्तिको चलखेल बनाई राख्ने गम्भीर षडयन्त्र भइरहेको उल्लेख गरे । उनले त्यसका विरुद्ध आवाज उठाउन पनि सबैलाई आह्वान गरे । ११३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफू प्रधानमन्त्री हुँदा शान्ति सम्झौतालाई पूर्णता दिनका लागि जारी गरिएको अध्यादेश पनि अदालतमा मुद्दा हालेर अघि बढ्न नदिएको र हाल आएर सामान्य निहुँ बनाएर प्रधानमन्त्रीमाथि नै मुद्दा हाल्ने काम गरिएको भन्दै आपत्ति जनाए । शान्ति सम्झौताको विषय माओवादीको विषय मात्रै नभई राज्यको विषय भएकाले यसमा सबैले गम्भीर बन्नुपर्ने अध्यक्ष भट्टराईको भनाइ थियो । उनले अदालतप्रति सम्मान गर्ने पटक पटक दोहोर्‍याउँदै शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने विषय अदालतको नियमित प्रक्रियाको विषय नभएको तर्क समेत गरे ।   उनले भने, ‘द्वन्द्वकालीन मुद्दाहरुको निरूपण गर्नका निम्ति र द्वन्द्व पीडितहरूलाई परिपूरण दिनको निम्ति सत्य निरूपण तथा बेपत्ता आयोगको जुन व्यवस्था गरिएको थियो । त्यसलाई विभिन्न बहानामा त्यसलाई पूरा हुन नदिने र हुँदाहुँदै त अहिले एउटा सामान्य निहुँ बनाएर बहालवाला प्रधानमन्त्री, जो शान्ति प्रक्रियाका हस्ताक्षरकर्ता नै हुनुहुन्छ । उहाँलाई एउटा सामान्य निहुँ बनाएर उहाँलाई गिरफ्तार गरेर मुद्दा चलाउन सक्ने भन्ने ढंगको चाहिँ एउटा अदालती प्रक्रिया अघि बढेको छ । अव यो झट्ट हेर्दा सामान्य लाग्न सक्छ । तर यो अत्यन्त गम्भीर प्रकृतिको विषय छ । हामी सम्मानित अदालतप्रति अनादर गर्ने हाम्रो कुनै मनसाय छैन । हामीले अदालतको सम्मान गर्नु पर्छ, हामी गर्छौँ । तर हाम्रो शान्ति प्रक्रिया चाहिँ संविधानको एउटा अङ्ग थियो । र, त्यस अन्तरगतनै हाम्रो संविधानमै व्यवस्था भएको सत्य निरूपण तथा बेपत्ता तथा मेलमिलाप आयोगमार्फत यो द्वन्द्वकालीन मुद्दाको निरूपण गर्ने भन्ने जुन व्यवस्था छ । ती मुद्दाहरिको निरूपण गर्ने भनेको सत्य निरूपण तथा मेलमिलाप आयोगले हो ।’ अध्यक्ष भट्टराईले संविधान र शान्ति प्रक्रियाको रक्षा गर्न सबै पक्ष गम्भीर बन्नुपर्ने आवश्यकता समेत औँल्याए । उनले महिलाहरूको नाममा नागरिकता बनाउने कुरा अझै व्यवस्था हुन नसकेकोमा असन्तुष्टि समेत व्यक्त गरे ।

खेलकुद राष्ट्रको गौरव, कूटनीतिको महत्त्वपूर्ण आधारस्तम्भ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजको युगमा खेलकुद राष्ट्रको गौरव, कूटनीतिको महत्त्वपूर्ण आधारस्तम्भ, अन्तर्राष्ट्रिय सम्बन्धको बलियो खम्बा, राष्ट्रिय अर्थतन्त्रको आधार र श्रम एवं मेहनतको संस्कृति विकासका निम्ति उत्प्रेरकसमेत भएको बताएका छन्। मंगलबार बिहान काठमाडौंको गोकर्णमा एसियन एथलेटिक्स एसोसिएसनको तत्वावधान तथा नेपाल एथलेटिक्स संघको आयोजनामा आयोजित १६ औँ एसियन क्रस कन्ट्री च्याम्पियनसिपमा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन्। प्रधानमन्त्री प्रचण्डले भने, ‘आजको आधुनिक युगमा खेलकुद राष्ट्रको गौरव, कूटनीतिको महत्त्वपूर्ण आधारस्तम्भ, अन्तर्राष्ट्रिय सम्बन्धको बलियो खम्बा, राष्ट्रिय अर्थतन्त्रको आधार र श्रम एवं मेहनतको संस्कृति विकासका निम्ति उत्प्रेरकसमेत भएको छ। जसले यसको महत्त्वलाई ठीक ढंगले बुझ्न सक्छ, त्यसले मात्रको राष्ट्रको सही नेतृत्व गर्न सक्छ, जनआकांक्षा सम्बोधन गर्न सक्छ। यसर्थ, खेल क्षेत्र विविधतामा एकता, सुशासन, दिगो विकास र समृद्धिको महत्त्वपूर्ण आधारका रूपमा विकसित भएकोमा हामी सबै गौरव गर्नै पर्छ।’ ‘खेल कूटनीतिमार्फत ठूलाठूला युद्ध र मानव सिर्जित विपत्तिहरू समाधान भएको, ठूलठूला द्वन्द्व र सम्भावित नरसंहारहरू टरेका र आपसी सहकार्य, विश्वास, विश्व एकता र पुनर्मिलनका आधार खडा भएको’ भन्दै उनले खेल क्षेत्रको विकास सरकारको प्राथमिकतामा रहेकोसमेत बताए। प्रधानमन्त्री प्रचण्डको सम्बोधन पूर्णपाठ एसियन एथलेटिक्स एसोसिएसनको तत्वावधान तथा नेपाल एथलेटिक्स संघको आयोजनामा आयोजित यस १६ औँ एसियन क्रस कन्ट्री च्याम्पियनसिपले एसियन एथलेटिक्समा नेपालको पहिचानलाई थप फराकिलो बनाउने विश्वाससहित सर्वप्रथम प्रतियोगिताको भव्य सफलताको शुभकामना व्यक्त गर्दछु। दक्षिण एसियाली खेलकुद ९साग० मा लगातार तीन पटक स्वर्ण पदक जित्ने क्रममा धावक वैकुण्ठ मानन्धरले साढे तीन दशकभन्दा अगाडि २ घण्टा १५ मिनेट ०३ सेकेन्डमा पूरा गर्दै म्याराथनमा राखेको कीर्तिमान अहिलेसम्म कायमै छ। पछिल्लो पटक नेपालमा आयोजित १३ औँ सागमा १० हजार मिटर दौडमा सन्तोषी श्रेष्ठ स्वर्ण पदक जित्ने पहिलो नेपाली खेलाडी बन्नुले एथलेटिक्समा नेपालले प्राप्त गरेको सफलता प्रमाणित गर्दछ। यी सफलताहरूले नेपाली खेलाडीहरूको दक्षता र खुबी मात्रै प्रदर्शन भएको छैन, सिंगो राष्ट्रकै गौरव र प्रतिष्ठासमेत उच्च भएको छ। त्यसबीचमा अन्य खेलाडीले पनि एथलेटिक्स खेलमार्फत आ(आफ्नो ठाउँबाट विशिष्ट योगदान गर्दै आउनुभएको छ। विश्व खेलकुदको महाकुम्भको रूपमा रहेको ओलम्पिकमा नेपालबाट सबैभन्दा बढी एथलेटिक्स खेलाडीकै सहभागिता रहनु हाम्रा लागि गर्वको विषय हो। खेलकुद मात्र एउटा यस्तो क्षेत्र हो, जहाँ खेल कूटनीतिमार्फत ठूलाठूला युद्ध र मानव सिर्जित विपत्तिहरू समाधान भएका छन्, ठूलठूला द्वन्द्व र सम्भावित नरसंहारहरू टरेका छन्। खेल कूटनीतिमार्फत आपसी सहकार्य, विश्वास, विश्व एकता र पुनर्मिलनका आधार खडा भएका छन्। कुनै समय खेलकुदलाई शारीरिक र मानसिक स्फूर्तिको माध्यमका रूपमा मात्र लिइन्थ्यो। तर, अहिले समय फेरिएको छ। आजको आधुनिक युगमा खेलकुद राष्ट्रको गौरव, कूटनीतिको महत्त्वपूर्ण आधारस्तम्भ, अन्तर्राष्ट्रिय सम्बन्धको बलियो खम्बा, राष्ट्रिय अर्थतन्त्रको आधार र श्रम एवं मेहनतको संस्कृति विकासका निम्ति उत्प्रेरकसमेत भएको छ। जसले यसको महत्त्वलाई ठीक ढंगले बुझ्न सक्छ, त्यसले मात्रको राष्ट्रको सही नेतृत्व गर्न सक्छ, जनआकांक्षा सम्बोधन गर्न सक्छ। यसर्थ, खेल क्षेत्र विविधतामा एकता, सुशासन, दिगो विकास र समृद्धिको महत्त्वपूर्ण आधारका रूपमा विकसित भएकोमा हामी सबै गौरव गर्नै पर्छ। खेल क्षेत्रको विकास राष्ट्र विकासको महत्त्वपूर्ण आधार हो। नेपाल सरकार यस क्षेत्रसँग सम्बन्धित सम्पूर्ण नीतिहरूको प्रभावकारी कार्यान्वयन गर्न, अपर्याप्त नीतिहरू निर्माण गर्न र संस्थागत एवं संरचनागत विकासका साथै क्षमता अभिवृद्धि गर्न प्रतिवद्ध छ। त्यसका लागि खेल क्षेत्रमा लगानी वृद्धि गर्ने, खेलाडीहरूको आत्मस्वाभिमान, प्रोत्साहन, पुरस्कारका साथै वृत्ति विकासमा थप योगदान गर्ने, राज्यको भूमिकालाई थप प्रभावकारी र जिम्मेवार बनाउन सरकार प्रयत्नशील रहनेछ। साथै एथलेटिक्सको विकासका निम्तिसमेत राज्यले उचित ध्यान दिनेछ। दुई दशकभन्दा लामो समयपछि नेपाललाई एसियन क्रस कन्ट्री च्याम्पियनसिपको आयोजनाको अवसर दिने एसियन एथलेटिक्स एसोसिएसन परिवारलाई नेपाल सरकारको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्दछु। साथै आगामी दिनमा समेत नेपाल यहाँहरूको उच्च प्राथमिकतामा पर्नेछ भन्ने मैले विश्वास लिएको छु। अन्त्यमा, यस प्रतियोगितालाई शानदार रूपमा सफल पार्न भूमिका खेल्ने सरकारी र गैरसरकारी क्षेत्रका सबै संस्था र प्रतिनिधिज्यूहरूप्रति विशेष आभार प्रकट गर्दछु। च्याम्पियनसिपमा भाग लिने नेपालसहित ११ देशका खेलाडीहरूमा प्रतियोगितामा राम्रो प्रस्तुतिको अपेक्षासहित शुभकामना व्यक्त गर्दछु। यस प्रतियोगिताका आयोजक, व्यवस्थापक, सम्पूर्ण प्रयोजकहरू एवं सहयोगीहरूप्रति हार्दिक आभार व्यक्त गर्दै प्रतियोगिता सम्पन्न गर्न नेपाल सरकारको तर्फबाट खेल्नुपर्ने भूमिका र गर्नुपर्ने सहयोगप्रति प्रतिवद्ध रहेको विश्वास दिलाउँदै बिदा हुन्छु, धन्यवाद।

संक्रमणकालीन न्यायबारे माओवादी नेताहरूको गम्भीर ध्यानाकर्षण

काठमाडौं । माओवादी धारका नेताहरूले संक्रमणकालीन न्यायका सम्बन्धमा भइरहेको चर्चाबारे गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान बसेको बैठकले संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयहरु सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत् अगाडि बढाइनु पर्नेमा जोड दिए । बैठकले शान्ति प्रक्रियाका बाँकी कामलाई टुंगो लगाउन आवश्यक कानुनी एवं संस्थागत व्यवस्थाको लागि तत्काल पहल गर्न सरकारसँग माग समेत गरेको छ । यस्ता छन् माओवादी आन्दोलनका विभिन्न दलहरूको बैठकका निर्णय: १.विस्तृत शान्ति सम्झौताको मर्म र भावना विपरीत हुने कुनै पनि गतिविधिको विरोध र प्रतिवाद गरिने। २.संक्रमणकालिन न्यायसंग सम्बन्धित सबै विषयहरु सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगमार्फत अगाडि बढाउनु पर्छ भन्नेमा एकमत। र, सिघ्र रूपमा कार्यान्वयन गर्न ध्यानाकर्षण। ३. विभिन्न समयमा राज्यसँग भएका सम्झौता कार्यान्वयन गर्न प्रतिबद्ध छौं।

माओवादी धारका नेताहरुको बैठक बालुवाटारमा जारी

काठमाडौं । माओवादी धारका नेताहरुको बैठक बालुवाटारमा जारी छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहान साढे ८ बजेबाट चलिरहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेसपा अध्यक्ष डा. बाबुराम भट्टराई, क्रान्तिकारी माओवादीकाका नेता सिपी गजुरेल, नेकपा माओवादीका प्रवक्ता प्रकाण्ड, नेकपा बहुमतका नेता धर्मेन्द्र बास्तोला, नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी, नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका अध्यक्ष आहुती लगायत बैठकमा सहभागी छन् । माओवादीबाट उपाध्यक्ष कृष्णबहादुर महरा, महासचिव देव गुरुङ, उपमहासचिव शक्ति बस्नेत, मात्रिका यादव, हरिबोल गजुरेल पनि सहभागी छन् । प्रधानमन्त्री प्रचण्डविरुद्ध द्वन्द्वकालीन घटनाको मुद्दा दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएपछि माओवादी नेताहरुले सो कदमको एउटै स्वरमा विरोध जनाएका थिए । आइतबार शहीद तथा वेपत्ता योद्धा सन्तती फाउन्डेसनद्वारा आयोजित कार्यक्रममा माओवादी धारका नेताहरुले एकजुट भएरअगाडि बढ्ने बताएका थिए । बैठकमा पार्टी एकता वा कार्यगत एकताबारे छलफलको एजेण्डा रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्डद्धारा सरोज उपाध्यायप्रति श्रद्धाञ्जली अर्पण

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादीका नेता सरोजकुमार उपाध्यायप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगर पुगेर प्रधानमन्त्री प्रचण्डले उपाध्यायप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् । प्रधानमन्त्री प्रचण्डले माधव नेपालसहित सम्पूर्ण परिवारजनमा समवेदना पनि प्रकट गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।मृतक उपाध्यायलाई श्रद्धान्जली दिन प्रचण्ड , बामदेव गौतम, झलनाथ खनालसहितका नेताहरु एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा जम्मा भएका थिए । गत शनिबार काठमाडौंको शंखमुलस्थित एक रेष्टुरेन्टको ६ तला माथिबाट खसेर उपाध्यायको निधन भएको थियो । उपाध्याय एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालका भाइ हुन् । आज अन्त्येष्टि गर्नुअघि अन्तिम श्रद्धाञ्जलीका लागि पार्थिव शरीरलाई पार्टी कार्यालयमा राखिएको छ ।

रङ्गहरूको पर्व होली हर्षोल्लासका साथ मनाइँदैछ

काठमाडौं । रङ्गहरूको पर्व होली आज (सोमबार) काठमाडौं उपत्यकासहित देशका पहाडी भू–भागमा मनाइँदैछ । काठमाडौंको वसन्तपुर लगायत विभिन्न ठाउँमा होली विशेष कार्यक्रम चलिरहेको छ । फागु पूर्णिमाका दिन मनाइने होली यस वर्ष पनि हर्षोल्लासका साथ मनाइँदैछ ।यही फागुन १५ गते वसन्तपुरमा चीर ठड्याइएको थियो । वसन्तपुरमा चीर ठड्याइएपछि होली औपचारिक रूपमा सुरु भएको मानिन्छ । हिरण्यकश्यपुकी बहिनी होलिकाले बिष्णुका परम् भक्त हिरण्यकश्यपुका छोरा (प्रह्लाद)लाई मार्न अग्निमा आसन गर्दा होलिका आँफै जलेर नष्ट भएको र असत्य माथि सत्यको जित भएको दिनको सम्झनामा यो पर्व मनाउने गरिन्छ। हिन्दू धर्म मान्नेहरूको बाहुल्यता भएको नेपालमा होलीको रौनक पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म भब्य हुने गर्दछ । नेपालमा पहाडी क्षेत्रमा फागुपुर्णिमाको दिन(आज) होली मनाइन्छ भने त्यसको भोलीपल्ट मात्र तराईमा होली मनाइन्छ । नेपालका सहरहरु काठमाडौं, पोखरा, धरान, भरतपुर, बिराटनगर, धनगढी लगायत ठाउँमा होलीको रौनक देखिएको छ ।

होली पर्वले एकताबद्ध हुन थप प्रेरित गर्ने प्रधानमन्त्री प्रचण्डकाे विश्वास

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुपूर्णिमाका अवसरमा शुभकामना दिएका छन् । उनले शुभकामना दिंदै नेपालका सबै भूभाग, सबै जाति, सबै समुदायबीच उत्तिकै लोकप्रिय र साझा संस्कृतिका रूपमा स्थापित होली पर्वले सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा एकताबद्ध हुन थप प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन् । उनले असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रूपमा हर्षोल्लाससाथ हिमाल, पहाड र तराईमा फरक–फरक दिनमा मनाइने होली पर्वको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेभएका समस्त दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गरेका छन् । देशभित्र प्रत्येक जातजाति र धर्मावलम्बीहरूका आआफ्नै सांस्कृतिक महत्त्व बोकेका मौलिक परम्परा र पर्वहरूले सामाजिक सद्भाव, एकता र सहकार्यको आधारशीला खडा गर्नुका साथै राष्ट्रिय एकता र स्वाधीनताको प्रतिनिधित्व गर्ने प्रधानमन्त्रीले उल्लेख गरे ।  

शान्ति प्रकृया निस्कर्षमा पुर्याउन नौ दल एकमत(विज्ञप्तिसहित)

काठमाडौं । सरकार संचालनमा सहकार्य गरिरहेका सत्तारुढ नौ दलले नेपालको शान्ति प्रकृया तथा संक्रमणकालिन न्यायका विषयमा एक मत भएका छन् । आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नौ दलको बैठकले ‘शान्ति प्रक्रियाका बाँकी कामलाई विस्तृत शान्ति सम्झौता र संविधानको भावना अनुरूप तार्किक निस्कर्षमा पुर्याउन’ प्रतिवद्धता व्यक्त गरेको हो। बैठकपछि नौ दलका शीर्ष नेताद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘द्वन्द्वकालिन घटनाबाट पीडित नागरिक एवम् उनका परिवारलाई न्याय दिन आवश्यक विधेयक सम्मानित सर्वोच्च अदातलको फैसला बमोजिम कानून बन्ने गरी संसदको यसै अधिवेशनमा प्रस्तुत गरिने छ।’ यसका साथै, नौ दलद्वारा जारी विज्ञप्तिमा कानून निर्माणका साथै सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन सम्बन्धी आयोग गठन गरिनेलगायतका विषय समेटिएको छ । यस्तो छ नौं दलको बैठकको निर्णय :

प्रधानमन्त्रीले बुझाए राष्ट्रपति समक्ष नेपाल सरकारको वार्षिक प्रतिवेदन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल सरकारको आर्थिक वर्ष २०७८–०७९ को वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष बुझाएका छन् । शीतलनिवासमा आयोजित एक कार्यक्रमबीच प्रधानमन्त्री प्रचण्डले सो प्रतिवेदन बुझाएका हुन् । तस्बिर : प्रदीपराज वन्त (प्रदिपराज वन्त)  

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत पाएका छन् ।आइतबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शाहले पेश गरेको विश्वासको मत सम्बन्धि प्रस्तावको पक्षमा ४१ र विपक्षमा ११ मत परेको हो । सभामुख भीमबहादुर भण्डारीले शाहले पेश गरेको प्रस्तावको पक्षमा बहुमत सदस्यले मतदान गरेको भन्दै प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गरेका हुन् । यो मत ५३ सदस्यीय प्रदेशसभाको दुई तिहाइ भन्दा बढि हो । २६ माघमा संविधानको धारा १६८ को उपधारा(३) अनुसार ठूलो दलको हैसियतमा मुख्यमन्त्रीमा नियुक्त भएका शाहलाई कांग्रेसका १९, माओवादी केन्द्रका (सभामुख बाहेक) १०, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा एकीकृत समाजवादीका ४ र स्वतन्त्र सांसद डा.तारा जोशीले विश्वासको मत दिएका हुन् । २७ पुसमा एमाले, माओवादी, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका राजेन्द्रसिंह रावलले प्रदेश सभाबाट विश्वासको मत पाउन नसकेपछि शाह २६ माघमा मुख्यमन्त्री नियुक्त भएका थिए । प्रदेश प्रमुख देवराज जोशीले संविधानको धारा १६८ को उपधारा (३)अनुसार ठूलो दलको हैसियतमा शाहलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । विश्वासको मत दिने दलहरुले शाह नेतृत्वको सरकारमा सहभागीसमेत हुने निर्णय गरेका छन् ।

बैंक तथा लघुवित्त क्षेत्रका समस्यालाई गम्भीर रूपमा लिएका छौं : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले बैंक तथा वित्तीय क्षेत्रका समस्यालाई सरकारले गम्भीरतापूर्वक लिएको बताएका छन् । आइतबार दिउँसो सिंहदरबारमा बैंक तथा वित्तीय क्षेत्रका समस्याको पहिचान र समाधान सम्बन्धि बैठकमा प्रधानमन्त्रीले बैंकको ब्याज, लघुवित्तका समस्या, व्यवसायीहरूको चासो र वित्तीय अराजकता निम्त्याउन खोज्ने प्रवृत्ति लगायतका विषयलाई सरकारले गम्भीर रूपमा लिएको बताएका हुन् । बैठकमा प्रधानमन्त्रीले भने, “बैंकको ब्याजदरलाई लिएर व्यवसायीका गुनासो देखिएको छ। लघुवित्तका समस्याबारे दिनदिनैजसो समाचार प्रकाशित भइरहेका छन्। व्यवसायीहरूले विभिन्न ढंगले चासो र चिन्ता राखेका छन्। यही मौकामा अराजक तत्वले वित्तीय अराजकता निम्त्याउने कोशिस गरिरहेका छन्। यी सबै परिघटनालाई मैले गम्भीर रूपमा लिएको छु।” “अर्थतन्त्र अप्ठ्यारो परिस्थितिमै छ। म प्रधानमन्त्रीमा निर्वाचित भएपश्चात् मन्त्रिपरिषदको पहिलो बैठकमा नै अर्थतन्त्रका समस्या समाधानका निम्ति निजी र सार्वजनिक क्षेत्रको सहकार्यमा अगाडि बढ्ने निर्णय गरिएको थियो” प्रधानमन्त्रीले भने “आजको छलफल बैंक तथा वित्तीय क्षेत्र र लघुवित्तसमेतका समस्या समाधानमा केन्द्रित छ। सरकार अर्थतन्त्रका चुनौती समाधान गर्न तल्लीन छ। बैंक र लघुवित्तका क्षेत्रमा जनताका गुनासोप्रति म जानकार र सचेत छु। यसलाई के–कसरी समाधान गर्न सकिन्छ, तपाईहरूको सुझावको अपेक्षा गरेको छु। परिआए समस्या समाधानका निम्ति उच्चस्तरीय आयोग नै बनाउनुपर्ने पनि हुन सक्छ।” बैठकमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वर्तमानमा अर्थतन्त्रको अवस्थाबारे संक्षिप्त विषय राख्दै अर्थतन्त्रका सुचकहरू सकारात्मक दिशातर्फ अग्रसर भइरहेको बताए । बैठकमा निजी क्षेत्रका प्रतिनिधिहरू र बैंकिङ क्षेत्रका प्रतिनिधिहरूले निजी क्षेत्रको अवस्थाको चर्चा गर्दै बैंक तथा लघुवित्त क्षेत्रमा देखिएका समस्या समाधानका निम्ति सरकारलाई विभिन्न सुझावहरू प्रस्तुत गरेका थिए । बैठकमा नेपाल सरकारका मुख्यसचिव, अर्थमन्त्रालयका सचिव, नेपाल राष्ट्र बैंकका गभर्नर, उद्योग वाणिज्य महासंघका पदाधिकारीहरू, विभिन्न व्यवसायिक संगठनका प्रतिनिधिहरू, बैंकर एसोसिएसन लगायत वित्तीय क्षेत्रका प्रतिनिधिहरू सहभागी थिए ।

माओवादीलाई जिस्क्याउन खोजियो, अब एकै ठाउँमा आउँ : बाबुराम भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा.बाबुराम भट्टराईले पूर्व माओवादीहरु एक ठाउँमा आउनुपर्ने बताएका छन् । विचार मिल्नेहरुको एउटै पार्टी बनाउनुपर्ने भन्दै उनले त्यसो हुन नसके मोर्चाबन्दी वा कार्यगत एकता गरेर अघि बढ्नुपर्ने बताए । शहीद तथा वेपत्ता योद्धा सन्तती फाउण्डेसनले आइतबार राजधानीमा गरेको कार्यक्रममा भट्टराईले शान्ति प्रक्रियामा आउनु सही भए पनि संविधान बनाउन नसक्दा पहलकदमी हातबाट फुस्किएको बताए । नयाँ आधारमा नयाँ एकता सम्भव भएको भन्दै उनले भने, ‘माओवादी पृष्ठभूमिमा गर्व छ, माओवादी भन्न आपत्ति छैन । तर अबको युगमा माओवादी भन्ने पुच्छर राखेर पार्टी बनाइराख्नु आवश्यक छैन ।’ भौतिकवादी द्वन्द्ववादी चिन्तनपद्धती मुख्य कुरा भएको भन्दै उनले पूर्वाको मोह नराख्न आग्रह गरे । ‘मैले त आफ्नो मन बनाइसकेको छु । नजिकको साथीलाई भनिसकेको छु’, उनले भने, ‘हामी एकै चोटी पार्टी एकता भनेर गला मिलाउनुभन्दा बहस गरौं । कहाँ चुक्यौं, कसको के कमजोरी भयो समीक्षा गरौं ।’ ‘मिल्नसक्नेहरु एकै ठाउँमा आउँ, एउटै पार्टी बनाउँ । समय लाग्छ भने पहिला एउटा गठबन्धन–मोर्चा बनाउँ । त्यो पनि सकिन्न भने कार्यगत एकता गरौं ।’ अहिले माओवादी जनयुद्धलाई अपराधीकरण गर्ने प्रयास भइरहेकाले पनि एकठाउँमा आउन जरुरी रहेको उनले बताए । ‘एउटा बहालवाला प्रधानमन्त्रीलाई मुद्दा लगाउने हो ? यो निहुँ खोजेको होइन ?’, उनले भने, ‘तीन वर्षअघिको एउटा सामान्य कुरालाई लिएर बहालवाला प्रधानमन्त्रीलाई गिरफ्तार गर्ने मुद्दा लगाउन मिल्छ भन्ने निर्णय गर्नु भनेको निहुँ खोजको होइन ? जिस्क्याएको होइन ?’ यस्ता मुद्दाहरुमा सहकार्य गर्नुपर्ने उनले बताए । ‘हामी सबै मिलेर किन सडकमा निस्कन सक्दैनौं ? सक्छौं’, भट्टराईले अघि भने, ‘सक्नेहरु विचार मिल्नेहरुको एउटै पाटी बनाउन, विचारमा अलि फरक हुनेहरु मोर्चा बनाउँ, त्यो नबनाउने हो भने कार्यगत एकता गरौं र यस्ता मुद्दाहरुमा सहकार्य गरौं ।’ यसले एउटा शक्ति बन्ने र शहीद वेपत्ताहरुको सपना पूरा गर्न सकिने भट्टराईको निष्कर्ष छ । कार्यक्रममा माओवादी आन्दोलनका शीर्ष नेताहरु पुष्पकमल दाहाल प्रचण्ड, डा.बाबुराम भट्टराई, नेत्रविक्रम चन्द विप्लव, धर्मेन्द्र बास्तोला, कर्णजित बुढाथोकी लगायत सहभागी थिए ।

नजिकिँदै महाशिवरात्रि : पशुपतिमा रङ्गरोगन सुरु (फोटो फिचर)

काठमाडौं । महाशिवरात्रि नजिकिएसँगै काठमाडौंको पशुपतिनाथ परिसरमा रङ्गरोगनको काम सुरु भएको छ । कोरोना सङ्क्रमणको त्रास कम भएकोले यस वर्ष पशुपति क्षेत्रमा महाशिवरात्रिको अवसरमा दर्शनार्थी बढ्ने अनुमान पशुपति विकास कोषले गरेको छ । महाशिवरात्रि व्रत फागुन महिनाको कृष्णपक्षको चतुर्दशी तिथिको दिन मनाउने गरिन्छ । यसपालिको महाशिवरात्रि ६ फागुनमा परेको छ ।

फौजदारी अभियोग लागेका सांसदको पद नजाने, सुविधा रोकिने

काठमाडौं । फौजदारी अपराधको मुद्दाको अन्तिम किनारा नहुन्जेल आरोपित सांसदको पद कायम नै रहने भएको छ । प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले फौजदारी अभियोगपत्र दायर भएदेखि अदालतले दोषी प्रमाणित नगर्ने समयसम्म आरोपित सांसदको पत्र कायम नै राख्ने सम्बन्धमा सहमति जुटाएको हो । तर, सम्पूर्ण कानूनी प्रक्रियाका क्रममा आरोपित सांसदको सेवा सुविधा भने स्थगित गर्नेमा समिति सदस्यहरुले सहमति गरेका छन् । समितिका सदस्यहरुले आम नागरिकभन्दा सांसद पद उच्च रहेको दाबीसहित मुद्दा चलिरहेको समयमा पदबाट निलम्वन गर्न नहुने अडान लिएपछि समिति यस्तो निर्णयमा पुगेको हो । त्यसैगरी, कुनै सदस्य निलम्बन फुकुवा भएमा त्यस्ता सांसदको स्थगित भएको पारिश्रमिक, सेवा र सुविधा सुचारु हुने व्यवस्था गरिने भएको छ । हाल प्रयोगमा रहेको नियमावलीमा निलम्वन फुकुवा भएको अवस्थामा के हुने भन्ने व्यवस्था थिएन ।

राष्ट्रपतिको सम्बोधन : सरकारका सबै कार्यक्रममा नागरिक स्तरबाट सहयोग हुने अपेक्षा (पूर्णपाठ)

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गरेकी छन् । उनले संसद्मा गरेको सम्बोधको अन्त्यमा भनेकी छन्, “मैले आफ्नो सात वर्षको अनुभवमा देखेका केही मूल विषयहरुमात्रै यहाँ राखेको छु । यी बाहेकका थुप्रै काम गर्नुपर्नेछ । वर्तमान सरकार गठन भएपछि सरकारले नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम अघि सारेको छ ।” साथै,राष्ट्रपति भण्डारीले सरकारले अघि सारेका सबै कार्यक्रममा नागरिक स्तरबाट सहयोग हुने अपेक्षा व्यक्त गरिन् ।  उनले नेपाल र नेपाली हितमा सबै मित्रराष्ट्र तथा अन्तराष्ट्रिय समुदायको सहयोग हुने विश्वास समेत व्यक्त गरिन् । यस्तो छ राष्ट्रपतिको सम्बोधन