योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम अनिवार्य लागू गर्न पहल गर्छु :प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी आर्थिक वर्षदेखि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमलाई अनिवार्य र कडाइका साथ लागू गर्न पहल गर्ने बताएका छन् ।

प्रधानमन्त्री प्रचण्डले अन्तर्राष्ट्रिय श्रमिक दिवस (१ मई) को अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा सामाजिक सुरक्षा कार्यक्रमलाई सम्पूर्ण औद्योगिक प्रतिष्ठान, उद्योग र कार्यालयमा अनिवार्य र कडाइका साथ लागू गर्न पहल गरिने उल्लेख छ ।

“राष्ट्रका उच्च स्थानबाट वार्षिक रुपमा प्रदान गरिने विभिन्न सम्मान तथा पुरस्कारमा यसै वर्षदेखि लागू हुने गरी कम्तीमा २ प्रतिशत मजदुरलाई समावेश गर्ने नीति लिइने जानकारी गराउँदछु”, सन्देशमा भनिएको छ, यसैगरी सम्पूर्ण “मजदुरको काम, कर्तव्य र अधिकार स्पष्ट पार्दै सेवा शर्त र सुविधा निश्चित र वैधानिक गर्न अनुगमनकारी निकायलाई सक्रिय बनाइने प्रतिबद्धता व्यक्त गर्दछु ।”

सन्देशमा अदक्ष तथा अप्रमाणित अवस्थामा जोखिमपूर्ण काम गरिरहेका सबै सरसफाइ मजदुरलाई आगामी आर्थिक वर्षभित्र दक्ष बनाउने उद्देश्यका साथ सरकारी निकाय र जिम्मेवार संस्थाहरुले अनिवार्य रुपमा आफ्ना मजदुरलाई उचित पेशागत तालिम दिन, आधुनिक सामग्री प्रयोग गर्न, सुरक्षासहितको उपयुक्त पोशाक प्रयोग गर्न तथा कामको नियमित अनुगमन गर्न निर्देशन दिइएको उल्लेख छ ।

नेपालमा श्रमजीवी जनसमुदायले आफ्नो अधिकारका निमित्त सङ्घर्ष र बलिदानका अनेकौँ कीर्तिमान कायम गरेका र मजदुरसहित उत्पीडित जाति, क्षेत्र, लिङ्ग र समुदायका जनताको सङ्घर्ष र बलिदानको कीर्तिमानकै कारण देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको उल्लेख छ । नेपाल अहिले विकास, समृद्धि, स्थिरता र सुशासनको व्यावहारिक अभ्यासको चरणमा प्रवेश गरेको सन्देशमा छ ।

नेपाल र विश्वका मजदुरमा बधाई तथा शुभकामना व्यक्त गर्दै सन्देशमा भनिएको छ, “नेपाली श्रमिक जनसमुदाय खास गरी किसान मजदुरको हकहित र अधिकारका पक्षमा आफूलाई उभ्याउने प्रण गर्दछु, नेपाली श्रमजीवी जनतालाई सामाजिक न्यायसहितको समृद्धिको नयाँ युगमा पुर्याउने ऐतिहासिक जिम्मेवारी हाम्रा सामू छ । यो जिम्मेवारी पूरा गर्न म अनवरतरुपमा लागिरहने प्रण गर्दछु ।”

आठ घण्टाको कार्यदिनको मागसहित आफ्नो अधिकारका निमित्त अमेरिकाको शिकागो सहरका मजदुरहरुले गरेको सङ्घर्षलाई स्मरण गर्दै नेपाललगायत विश्वभरका मजदुरहरुले १ मईको दिनलाई अन्तर्राष्ट्रिय श्रमिक दिवसका रुपमा मनाउँदै आएका छन् ।

सुडान द्वन्द्व : ८५ जनाले ज्यान गुमाए, नेपाली सुरक्षाकर्मी सकुशल

काठमाडौं। सुडानमा जारी द्धन्द्धमा परि ८५ जनाले ज्यान गुमाएका छन् । त्यहाँ द्धन्द्ध फैलदा शान्ति कार्यमा रहेका नेपालीको सुरक्षबारे चिन्ता थपिएको छ । अहिलेसम्मका विवरण अनुसार अफ्रिकी मुलुक सुडानमा शान्ति कार्यका लागि खटिएका सबै नेपाली सुरक्षाकर्मी सुरक्षित रहेका छन्। त्यहाँ नेपाली सेनाका दुई, नेपाल प्रहरीका तीन र सशस्त्र प्रहरी बलका एक जना स्टाफ कार्यरत रहेकामा सबै जना सुरक्षित रहेको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए । केही समयदेखि त्यहाँ फैलिएको हिसात्मक घटनामा परि हालसम्म एक सय ८५ जनाको ज्यान गइसकेको छ भने एक हजार आठ सय व्यक्ति घाइते भएका छन्। यसबीचमा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले त्यहाँ जारी द्वन्द्व समाधानका लागि दुवै प्रतिद्वन्द्वी नेतालाई टेलिफोन गरी युद्धविरामका लागि अपिल गरेका छन् । द्धन्द्धरत एसएएफ र आरएसएफ दुवै पक्ष युद्धविराम गर्न भने मानिराखेका छैनन् । एसएएफ सीडीआरले राजधानी र अन्य क्षेत्रलाई सुरक्षित राखेको जनाएको छ। सुडानमा अफ्रिका र अरब इस्लामिक संस्कृति, धर्म र जातिहरूको टकरावले ५० वर्षको देखि गृहयुद्ध भैरहेको छ ।

नयाँ बजेटमार्फत जनतामा नयाँ रक्तसञ्चार गर्छौं : प्रधानमन्त्री प्रचण्ड

तनहुँ । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का पुष्पकमल दाहाल “प्रचण्ड”ले आगामी आर्थिक वर्षको नयाँ बजेटले जनतामा नयाँ रक्तसञ्चार गर्ने बताएका छन्। बुधबार दिउँसो तनहुँको डुम्रे बजारमा क्षेत्र नं.१ को सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले केही नयाँ र गुणात्मक काम गर्नेगरि नयाँ बजेटको तयारी गरिएको बताए । सभामा प्रधानमन्त्रीले भने, “सुशासन र समृद्धिको लक्ष्यसहित वर्तमान गठबन्धन सरकार अगाडि बढिरहेको छ । हरेक दिन केही नयाँ पहलकदमी लिइएको छ । हामी नयाँ बजेट ल्याउने तयारीमा छौँ । नयाँ बजेटमा जनतामा आशाको नयाँ रक्तसञ्चार सिर्जना गर्नेगरि काम गर्छौं ।” प्रधानमन्त्रीले उपनिर्वाचनमा सत्ता साझेदार दलका उम्मेदवार गोविन्द भट्टराईलाई जिताउन तनहुँबासीलाई अपीलसमेत गरे । प्रधानमन्त्रीले भने, “अघिल्लोपटक ‘रामचन्द्र पौडेलजीलाई जिताउनुस्, प्रधानमन्त्री बनाउँछौँ’ भनेको थिएँ, उहाँ राष्ट्रपति भइसक्नुभयो । यसपटक पनि हामीले निकै योग्य उम्मेदवार उठाएका छौँ । गोविन्द भट्टराई तनहुँको योग्य उम्मेदवार हो । उहाँ यहाँको माटोमा हुर्किएको जनताको छोरो हो । यहाँलाई जिताएर पठाउनुस्, तपाईहरूको मतको उचित सम्मान हुनेछ ।” “मुग्लिङ–पोखरा सडकखण्डको स्तरोन्नति कार्य धीमा गतिमा छ, यसलाई तीव्रता दिन सरकारको तर्फबाट गम्भीर पहल हुनेछ” प्रधानमन्त्रीले भने, “जिल्लाका सडकहरू कालोपत्रे गर्न सरकारको गम्भीर ध्यान जानेछ । देवघाटमा सांस्कृतिक विश्वविद्यालयका लागि सम्भाव्यता अध्ययन गरिनेछ ।” प्रधानमन्त्रीले निकै ठूलो मेहेनतपछि वर्तमान गठबन्धन फेरि एकतावद्ध भएर अघि बढेको बताए । उनले भने, “संविधानको हुर्मत लिने र गणतन्त्रमाथि प्रहार गर्नेहरूविरूद्ध अहिलेको गठबन्धन बनेको हो । विकास र समृद्धिको नयाँ अभियानतर्फ लाग्ने अठोटका साथ गठबन्धन अगाडि बढिरहेको छ । कहिलेकाहिँ खहरेखोला पनि उर्लेर आउँछ, तर त्यो सुक्नेवाला छ । नदी सदाबहार रूपमा अगाडि बढ्छ । जनता न्यायाधीश हो, त्यसैले तनहुँबासी जनताले उचित फैसला गर्नुहुनेछ भन्ने मेरो विश्वास छ ।” “अर्थतन्त्रमा सुधार ल्याउने कामलाई मैले उच्च प्राथमिकतामा राखेको छु । विदेशी मुद्राको सञ्चिति बढेको छ । चोरी पैठारी रोक्न निकै मेहेनत गरिएको छ । राजस्व संकलनमा सुधार आएको छ । भ्रष्टाचार र बेथिति रोक्न धेरै मेहेनत गरिएको छ । रेमिट्यान्स बढेको छ । विकट पहाडी जिल्लामा समेत पाठ्यपुस्तक पुगेका छन् । यी सबै कुरा विकास र समृद्धिको लक्ष्यमा अगाडि बढ्ने अठोटसहित गरिएको छ” प्रधानमन्त्रीले भने । मंगलबारको मन्त्रिपरिषद बैठकले राष्ट्रिय परिचयपत्रमा अभिलिखित नागरिकका वैयक्तिक र जैविक विवरण रुजु गर्न निजी कम्पनीलाई दिइएको ठेक्का र त्यससम्बन्धि जारी कार्यविधि खारेज गरेको प्रसङ्गबारे बोल्दै प्रधानमन्त्रीले भने, “हिजोको क्याबिनेटले निकै महत्वपूर्ण निर्णय गरेको छ । त्यो निर्णय धेरै गहिरो छ । त्यसबाट ठूल–ठूला गफ हाक्नेहरूको असली नियत देखिएको छ ।” चुनावी सभालाई पूर्वप्रधानमन्त्रीहरूः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई लगायतका नेताहरूले सम्बोधन गरेका थिए ।

चुम उपत्यकाले दुनियाँलाई शान्ति तथा अहिंसाको सन्देश दिएको छ : प्रधानमन्त्री प्रचण्ड

गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखाको चुम उपत्यकाले सिङ्गो देश र दुनियाँलाई शान्ति तथा अहिंसाको सन्देश दिएको बताएका छन् । उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका–७, छेकम्पारस्थित राजेन गुम्बामा ‘अहिंसा अभियान, चुमबासीको पहिचान’ भन्ने नाराकासाथ आजदेखि सुरु भएको ‘चुमशताब्दी श्याग्या महोत्सव २०८०’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले चुम उपत्यकालाई एक सय वर्षसम्म अहिंसा क्षेत्रका रूपमा स्थापित गरेर राख्नु आफैँमा एउटा ऐतिहासिक कार्य भएको बताए । ‘यो क्षेत्र आफैँमा एउटा ऐतिहासिक क्षेत्र छ, चुम उपत्यकालाई अहिंसा क्षेत्रका रूपमा स्थापित गरेको सय वर्ष पूरा हुनु पनि आफैँमा एउटा ठूलो इतिहास र गौरव हो’, प्रधानमन्त्री दाहालले भने, ‘तपाईँहरूले यो महोत्सवमार्फत एका छन् । ‘ उनले चुम उपत्यकाको प्राकृतिक सौन्दर्यले गर्दा यस क्षेत्रको पर्यटनसँगै आर्थिक र सामाजिक विकासको प्रशस्त सम्भावना रहेकोसमेत बताए । प्रधानमन्त्री प्रचण्डले चुमनुव्रीलगायत देशका विकट क्षेत्रहरूको आर्थिक, सामाजिक, सांस्कृतिक तथा समग्र क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध रहेकोसमेत बताए ।’विकट क्षेत्रमा रहेका जनताले अझ धेरै दुःख कष्टको सामना गरिरहनुपरेको छ’, प्रधानमन्त्री दाहालले भने, ‘सरकार तपाईँहरूका साथमा छ, तत्काल सम्भव भए जति विकास निर्माण र आर्थिक क्रियाकलाप बढाउन पनि सरकार प्रतिबद्ध छ ।’उनले देशमा सङ्घीयता स्थापना भएसँगै विकट क्षेत्रका जनताको आवाज सिधै सिंहदरवारसम्म पुग्न सक्ने अवस्था सिर्जना भएको बताए । ‘तपाईँको क्षेत्रको गाउँपालिकाका अध्यक्ष सिंहदरबारमा पुगेर पटक–पटक मसँग यहाँको विकास निर्माणका बारेमा मलाई झकझक्याई रहनुभएको छ’, प्रधानमन्त्री प्रचण्डले भने, ‘त्यो आवाज तपाईँहरू सबै जनताको आवाज हो भन्ने मैले बुझेको छु, यहाँको दिगो पर्यटन पूर्वाधारका विकास लागि नीतिगत व्यवस्था गर्न सरकारका तर्फबाट प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।’ उनले चुमनुव्री गाउँपालिका–१ सामागाउँस्थित रुइलानाका र वडा नं ७ छेकम्पारस्थित तिब्बतसँग सिमाना जोडिएको रुइला नाका खुलाउन आवश्यक पहल गर्नेसमेत प्रतिबद्धता व्यक्त गरे। ‘रुइला नाका खुलाउने विषयमा धेरै पहिलेदेखि नै कुरा भइरहेको छ’, प्रधानमन्त्री प्रचण्डले भने, ‘त्यसका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने विश्वास दिलाउन चाहन्छु ।’ सोही अवसरमा प्रधानमन्त्री प्रचण्डलाई चुमनुव्रीबासीले चुमनुव्री गाउँपालिकाका विभिन्न क्षेत्रलाई हवाई निषेधित क्षेत्र तोकेको भन्दै यसले गर्भवती तथा सुत्केरीहरू, बिरामी र प्राकृतिक विपत्तिमा परेका मानिसहरूको उद्धारमा कठिनाइ भएकाले निषेधित क्षेत्र खुलाउन माग गरेका छन् । त्यस्तै, सिर्दिबास–कम्पुल–लोक्पा–चुम्चेत–छेकम्पार मोटर बाटो निर्माणको योजना अघि बढाउन पनि प्रधानमन्त्री दाहालसँग स्थानीयवासीले माग गरेका थिए । प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय योजना आयोगसँग छलफल गरेर आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उक्त मोटर बाटो निर्माणको योजना अघि बढाउने र हवाई उडान निषेधित क्षेत्रको सन्दर्भमा आवश्यक अध्ययन गरेर जनताका समस्याको उचित सम्बोधन गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।

प्रधानमन्त्री प्रचण्डद्धारा चुम श्याग्या महोत्सव उद्घाटन (तस्बिरहरू)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चुम श्याग्या शताब्दी महोत्सव उद्घाटन गरेका छन्। गोरखाको चुमनुब्री गाउँपालिका छेकम्पार पुगेर बुधबार प्रधानमन्त्री प्रचण्डले महोत्सव उद्घाटन गरेका हुन्। अहिंसा क्षेत्र घोषणा गरेको १०० वर्ष पुगेको अवसरमा चुमनुब्री छेकम्पारमा महोत्सव आयोजना गरिएको छ। आजदेखि वैशाख ९ गतेसम्म महोत्सव चल्ने आयोजकले बताएको छ। आयोजक चुम श्याग्या शताब्दी मुल समारोह समितिका संयोजकसमेत रहेका चुमनुब्री गाउँपालिका अध्यक्ष निमा लामाले अहिंसा क्षेत्रको विश्वमाझ चिनारी गर्ने उद्देश्यले महोत्सव गरिएको बताए। महोत्सवको सहआयोजकमा चुमनुब्री गाउँपालिका, मनास्लु संरक्षण क्षेत्र आयोजना, चुम कल्याण समिति, चुम श्याग्या संरक्षण समिति, राजेन गुम्बा, सिप्रेड, डब्लुडब्लुएफ नेपाल, नेपाल पर्यटन बोर्ड र गण्डकी प्रदेश रहेको छ। करिब एक करोड खर्च गरेर महोत्सव आयोजना गरिएको हो। चुम उपत्यका कारमार नहुने अहिंसा क्षेत्रका रूपमा परिचित छ।

राष्ट्रपति पौडेललाई उपचारका लागि दिल्ली लगियो

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई उपचारका लागि नयाँ दिल्ली लगिएको छ । अहिले केहीबेरअघि श्री एयरको एयर एम्बुलेन्समार्फत् उनलाई दिल्ली लगिएको हो । राष्ट्रपति पौडेलको दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइसेन्स (एम्स)मा उपचार हुनेछ । राष्ट्रपति पौडेलको छातीमा समस्या भएपछि त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । यसअघि पनि उनले सोही अस्पतालमा चेक गराएका थिए । अहिले सोही समस्या लगातार देखिएपछि नेपाल र भारतका चिकित्सकको सल्लाहमा भारत लैजाने कुरा भएको पौडेलको सचिवालयले जानकारी दियो ।  

संयुक्त राष्ट्र संघमा मोदीले भने–‘माओवादी अध्यक्ष प्रचण्ड सीमान्तकृत समुदायको पक्षधर हुनुहुन्छ’

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले संयुक्त राष्ट्र संघको मुख्यालय न्यूयोर्कमा जारी आदिवासी मुद्दाहरूमा संयुक्त राष्ट्र स्थायी मञ्चको २२ औं सत्रमा सम्बोधन गरेका छन् । सत्रमा नेपालको तर्फबाट सम्बोधन गर्दै मन्त्री मोदीले नेपालका आदिवासी जनजाति र थारु समुदायको समस्या, हक अधिकार लगायतका विषयमा महत्वपूर्ण सम्बोधन गरेका हुन् । लामो संघर्षपछि २०७२ सालमा नेपालले प्रगतीशिल संविधान पाएको बताउँदै मन्त्री मोदीले संविधानमा समावेशी र समानुपातिकताको व्यवस्था भएको समेत उल्लेख गरे । आफू सम्बद्ध पार्टी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नै आदिवासी जनजाति र सीमान्तकृत समुदायको अधिकारको पक्षधरता भएको बताउँदै उनले भने, “प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकार सुशासन कायम गर्न र आदिवासी जनजातिहरुको हक अधिकार थप सुनिश्चित गर्न पूर्ण रुपमा प्रतिबद्ध छ ।” मन्त्री मोदीले थारु समुदायमा भयावह रुपमा फैलिएको सिकलसेल एनिमियाको विषयमा विशेष प्राथमिकताका साथ आफ्नो भनाई समेत राखे । सिकलसेल एनिमियाको विषय आफू थारु समुदायकै भएका कारणले पनि अन्तर्राष्ट्रिय समुदायमा पु¥याउनु आफुनो दायित्व भएको बताउँदै मन्त्री मोदीले भने, “यो रोगको रोकथामका लागि नेपाल सरकारले निभाउनुपर्ने दायित्व निभाइरहेको छ, भविष्यमा यसको थप अनुसन्धानका सन्दर्भमा अन्तर्राष्ट्रिय साथ र सहयोग आवश्यक रहन्छ ।”

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा मिडिया सेन्टर सुचारु

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मिडिया सेन्टर सुचारु भएको छ । मन्त्रिपरिषद् बैठकका निर्णय र सरकारका घोषणा सार्वजनिक गर्दा सञ्चारकर्मी पत्रकारलाई समाचार संकलन सहज र व्यवस्थित गर्न तयार भएको मिडिया सेन्टर आज बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गर्दै नेपाल सरकारका प्रवक्ता रेखा शर्माले शुरुवात गरेकी छन् । प्रवक्ता शर्माले बैठक कक्षसँगै रहेको स्टुडियोबाट मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै मिडिया सेन्टरमा रहेका संचारकर्मीसँग प्रत्यक्ष दोहोरो सम्वाद गरेकी छन् । मिडिया सेन्टरमा सञ्चारकर्मी तथा पत्रकारसँग प्रधानमन्त्री कार्यालयमा रहेको स्टुडियोबाट दोहोरो सम्वादको व्यवस्था मिलाइएको छ भने संचार माध्यमका लागि भिडियो सामग्री तत्काल उपलब्ध हुने भएको छ। त्यसैगरि प्रधानमन्त्री निवास बालुवाटारमा पनि यस अघि नै संचारकर्मीको सुबिधाका लागि मिडिया सेन्टर सुचारु गरिएको छ ।

राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणालीसम्बन्धी कार्यविधि खारेज

काठमाडौं । सरकारले राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणालीसम्बन्धी कार्यविधि खारेज गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रीपरिषद् बैठकले राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणाली मार्फत नागरिकको विवरण प्रमाणीकरण एवं अन्तर प्रणाली आबद्ध सम्बन्धी कार्यविधि खारेज गर्ने निर्णय गरेको सरकारको प्रवक्ता एवं सञ्चर तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिईन् । राष्ट्रिय सुरक्षाहितलाई मध्यनजर गरेर कार्यबिधि खारेज गर्ने र आवश्यक छानविन गर्ने निर्णय भएको उनले बताईन् । बैठकले भूउपयोग सम्बन्धी पहिलो संशोधन नियमावली २०७९ स्वीकृत गरेको छ । नियमावली स्वीकृत भएसंगै कित्ताकाटमा देखिएको समस्या समाधान हुने प्रवक्ता शर्माले बताईन । उनले भू–उपयोग नियमावली नबनेका कारण घरजग्गा कारोबारमा कित्ताकाट तथा अंशबण्डा रोकिएकाले त्यसलाई सहज बनाउनको लागि मन्त्रिपरिषद्ले भू–उपयोग पहिलो संशोधन नियमावली २०७९ स्वीकृत गर्ने निर्णय गरेको पनि बताइन्। बैठकले काठमाडौं तराई फास्ट ट्रयाक अन्तर्गत ललितपुर खोकना क्षेत्रको जग्गा प्राप्तिको समस्या समाधानका लागि सहजीकरण समिति गठन गरिएको र समिति विवादलाई सहजीकरण गर्दै छिटो काम अघि बढाउने निर्णय भएको प्रवक्ता शर्माले जानकारी दिइन् ।

मिटरब्याजीलाई पहिचान गरेर कारबाही गर्ने गृहमन्त्री श्रेष्ठको प्रतिबद्धता

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मीटरब्याजको समस्या अन्त्य गर्न र पीडितहरुलाई न्याय दिन सरकार प्रतिबद्ध रहेको बताएका छन् । आज पत्रकार सम्मेलनको आयोजना गर्दै गृहमन्त्री श्रेष्ठले यसअघि मीटरब्याजीहरुलाई कारबाही गर्न कानुनी व्यवस्था नभएकाले कानुन संशोधनका लागि मन्त्रीपरिषद्‌बाट अघि बढाएको उल्लेख गर्दै हरेक मिटरब्याजीलाई पहिचान गरेर कारबाही गरिने प्रतिबद्धता व्यक्त गरे । गृहमन्त्री श्रेष्ठले २१औं सताब्दीमा पनि सामन्तवादी शोषण हुनु दुखद भएको भन्दै सरकारले यसलाई गम्भीर रुपमा लिएको बताए। उनले मीटरब्याजीको शोषणलाई अन्त्य गरीछाड्ने दाबी गरे । उनले मिटरब्याजबाट पीडितहरुले जागरण अभियान चलाएर सरकारको ढोका ढक्ढक्याएकोमा आभार व्यस्त गरे।

आर्थिक समृद्धिका लागि सीमापार विद्युत व्यापार आवश्यक : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नीतिगत एवम् व्यावहारिक रुपमा नै सरकारले ऊर्जा क्षेत्रलाई समृद्धिको बलियो आधारका रुपमा मान्यता दिई काम कारबाही अगाडि बढाएकाले यसमा थप लगानी गर्नु आज (मङ्गलबार) को प्रमुख कार्यभार भएको बताएका छन्। आजदेखि यहाँ सुरु भएको ‘पावर समिट–२०२३’ लाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले मुलुकलाई आर्थिक रुपमा सबल बनाउँदै अर्थतन्त्रमा गुणात्मक परिवर्तन गर्न पनि हरित ऊर्जा अत्यावश्यक रहेको बताएका हुन् । नेपालले मौसमी रूपमा नै भए पनि उपभोग गर्नेभन्दा बढी ऊर्जा उत्पादन गर्छ भन्ने विश्वसामु घोषणा गर्न पाउँदा ठूलो गर्व लागेको प्रधानमन्त्रीको भनाई थियो । प्रधानमन्त्री प्रचण्डले निजी क्षेत्रका लगानीकर्ता र सरकारको साझा प्रयासबाट जलविद्युत् परियोजनाहरूको विकासको गतिलाई थप तीव्र पार्दा नतिजा हासिल भएको स्पष्ट बताए । “हामी सुक्खा मौसममा पनि बिजुली आयात गर्न आवश्यक नपर्ने गरी सन् २०२५ सम्म निर्यात हुने अपेक्षा गर्छौं । त्यसैले हामी हरित ऊर्जाका लागि बजार फराकिलो बनाउनेका लागि उत्तम रणनीतिका साथ यस क्षेत्रमा कार्यरत स्वदेशी तथा विदेशीको अनुभवबाट सिक्न यहाँ भेला भएका छौँ ।” धेरै नेपालीको अझै पनि हरित ऊर्जामा पहुँच छैन भन्ने कुरा हामीले बुझेको उल्लेख गर्दै प्रधानमन्त्रीले भने, “देशका सबै जनतालाई बिजुली उपलब्ध गराउने लक्ष्यका साथ ग्रिड विस्तार गर्न र अफ ग्रिड प्रविधिमा लगानी विस्तार गरिरहेका छौं । प्रसारण र वितरण लाइनहरू विस्तार गर्न र स्थिर विद्युत् आपूर्ति सुनिश्चित गर्न प्रयास गरिरहेका छौँ ।” औद्योगिक मागमा वृद्धि गर्दै आर्थिक रूपमा समृद्ध बन्ने आकाङ्क्षाका साथ उत्पादित बिजुलीको स्वदेशी बजारमा नै उपयोग गर्ने गरी प्राथमिकता तय गरिएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ । स्वदेशमा उत्पादन हुने बिजुली आन्तरिक रूपमा उपयोग गर्न पर्याप्त पूर्वाधार निर्माण नगर्दासम्म यस क्षेत्रमा भइरहेको ठूलो लगानी जोगाउन पनि निर्यात गर्नुपर्ने उनले बताए । क्षेत्रीय र उपक्षेत्रीय बजारमा उपस्थिति जनाउनु आर्थिक रुपले पनि उत्तिकै महत्त्वपूर्ण रहेको उनको भनाइ थियो । प्रधानमन्त्री प्रचण्डले धेरै विद्युत खपत गर्न सक्ने क्षेत्रको प्रवर्द्धन, प्रतिव्यक्ति खपत बढाउन सक्ने वातावरण तय गर्दै जीवास्म इन्धनमा रहेको निर्भरता कम गर्न तथा ठूलो व्यापार घाटालाई कम गर्न पनि बिजुलीको उपयोगिता बढाउनुपर्ने उल्लेख गरेका छन् । कृषि क्षेत्रको आधुनिकीकरणका लागि पनि ऊर्जाको उपयोगमा तीव्रतर वृद्धि जरुरी रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले उद्योग क्षेत्र अझै पनि डिजेल र कोइलामा निर्भर रहेकाले त्यसको क्षमता वृद्धिका लागि पनि उल्लेख्य रुपमा बिजुलीको उपयोग बढाउनुपर्ने बताए । सरकारले नेपालभरका उद्योगलाई प्रतिस्पर्धी दरमा हरित ऊर्जाको पहुँच सुनिश्चित गर्नुपर्ने आवश्यकता औँल्याउँदै प्रधानमन्त्री प्रचण्डले खाना पकाउने ग्यासको उपभोग घटाउनेतर्फ केन्द्रित गर्नुपर्ने स्पष्ट पार्नुभयो । “सबै नेपालीलाई हरित उर्जामा खाना पकाउन लगाउन सक्यौँ भने यसले हाम्रो वन संरक्षणमा योगदान पु¥याउनेछ र आयातीत ग्यासमाथिको हाम्रो निर्भरता पनि घटाउनेछ”, प्रधानमन्त्री प्रचण्डले भने। यस्तै, जीवास्म इन्धनको आयात घटाउन र जलवायु परिवर्तनको प्रतिकूल प्रभाव कम गर्न विद्युतीय सवारी साधनको प्रयोगलाई बढावा दिनुपर्ने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले बिजुली खपत बढाउने महत्वपूर्ण क्षेत्र भनेकै यातायात रहेको बताए । प्रधानमन्त्री प्रचण्डले सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको दोहोर्‍याउँदै यस समिटमार्फत नेपालको हरित ऊर्जाको बजारलाई फराकिलो बनाउन मद्दत गर्ने स्पष्ट मार्ग निर्देश गर्ने उल्लेख गरे। फरक एक प्रसङ्गमा नेपालमा भएका ऐतिहासिक राजनीतिक परिवर्तनपछि नेपाली जनतामा ठूलो आर्थिक विकासको आकाङ्क्षा बढेकाले त्यसलाई सम्बोधन गर्न पनि लगानी विस्तार गर्नुपर्ने आवश्यकता रहेको उनले बताए । जैविक विविधताको संरक्षण गर्ने विश्वव्यापी प्रयासमा नेपाल अग्रपङ्क्तिमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सन् २०४५ सम्ममा ‘नेट जिरो’ को लक्ष्य तय गरिएको तथ्य पेस गरे । कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सरकार र निजी क्षेत्र एकापसमा सहकार्य गरेर यस क्षेत्रको गुणात्मक विकास र परिवर्तनमा लागिपरेको बताए। उनले भने बिजुलीको अन्तर्राष्ट्रिय बजारको खोजी, आन्तरिक रुपमा खपत वृद्धिलगायतका काममा सरकार दीर्घकालीन सोचका साथ अगाडि बढेको उल्लेख गरे । ‘हरित ऊर्जाको बजार विस्तारीकरण’ भन्ने नाराका साथ आजदेखि पावर समिट यहाँ सुरु भएको हो । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल ९इपान० ले आयोजना गरेको समिट बुधबारसम्म चल्नेछ । सो सम्मेलनमा भारत, बङ्गलादेश, भूटान, श्रीलङ्कालगायत ३० भन्दा बढी देशका तीन सय बढी स्वदेशी तथा विदेशी प्रतिनिधि सहभागी रहेका छन् । समिटमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका उच्च अधिकारी, बिजुली व्यापारसँग आबद्ध कम्पनी, बैंक तथा वित्तीय संस्था, प्रसारण र वितरण कम्पनी, परामर्शदाताहरुको पनि सहभागिता छ । समिटमा नेपालको विद्युत बजार, प्रसारण पूर्वाधार, जलविद्युत्को माग, प्रविधि, नवप्रवर्द्धन, अन्तरदेशीय विद्युत व्यापारलगायत विभिन्न १५ वटा सत्रमा छलफल हुनेछ । सम्मेलनको संरक्षकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय एवम् सह–आयोजकमा लगानी बोर्ड रहेको समिट आयोजक इपानका अध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिए। रासस

तातोपानीमा सिमाना सुरक्षा बैठक : नाका पूर्णरूपमा सञ्चालन हुने

सिन्धुपाल्चोक । तातोपानी नाका पूर्ण रूपमा सञ्चालनका लागि नेपाल–चीनका प्रतिनिधिहरुबीच अन्तर सिमाना सुरक्षा बैठक सोमबार सम्पन्न भएको छ । तातोपानी नाका पूर्ण रूपमा सञ्चालनका विषयमा बैठक केन्द्रित रहेको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिए । वैशाख १८ गतेदेखि तातोपानी नाका पूर्णरूपमा सञ्चालन हुने सन्दर्भमा बैठक भएको उनले बताए। नाका सञ्चालनका लागि कोभिड प्रोटोकल पालना, सामान चेकजाँच क्वारेनटाइन सञ्चालन, सीमा क्षेत्रमा हुने अवाञ्छित गतिविधि नियन्त्रण, सुरक्षासँग सम्बन्धित सूचना आदानप्रदान, नाका सञ्चालनका लागि आ–आफ्नो पक्षबाट भइरहेको तयारीबारे जानकारी, दुई देशबिचको समन्वय अझै प्रभावकारी बनाउने लगायतका विषयमा बैठकमा बृहत् छलफल भएको सिडिओ न्यौपानेले जानकारी दिए । बैठकमा सिन्धुपाल्चोकका प्रजिअ न्यौपाने, जिल्ला प्रहरी कार्यालयका प्रमुख बालनरसिंह राणा, राष्ट्रिय अनुसन्धानका जिल्ला प्रमुख सुदीप अधिकारी, अध्यागमन, भन्सार कार्यालयका प्रतिनिधि, सुरक्षा निकायका प्रमुख, प्रतिनिधि र चीनका तर्फबाट चिफ अफिसर अफ न्यालम पिपुल गभरमेन्ट मिसेस झौ म जी, डाइरेक्टर अफ न्यालम एडमिनिस्टरटीभ कमिटी मिस्टर सी पेइ लगायतका सरकारी निकायका प्रमुख र प्रतिनिधि बैठकमा सहभागी थिए ।

फास्टट्रयाक अनुगमनमा निस्किए प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड फास्टट्रयाक अनुगमनमा निस्केका छन् । उनी फास्टट्रयाक अनुगमन गर्न बाराको निजगढ पुगेका हुन् । तराई मधेससँगै काठमाडौँलाई जोड्ने ७६ किलोमिटर दुरीको महत्त्वपूर्ण मार्गको अनुगमन गर्नका लागि प्रधानमन्त्री प्रचण्ड निजगढ पुगेको प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमिल्सेनाले जानकारी दिए । विकास निर्माण कार्यमा ढिलाई नहोस् भनेर प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय गौरबका आयोजनाहरू अनुगमन गर्दै आइरहेका छन् । उनी आजै काठमाडौं फर्किने कार्यतालिका रहेको छ ।

सत्ता गठबन्धनका शीर्षनेताबीच भेटवार्ता

काठमाडौं । सत्ता गठबन्धनका शीर्ष तीन नेताबीच आज भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटवार्तामा यहि १० गते हुन लागेको उपनिर्वाचनलाई फलदायी बनाउने सहमति बनेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच उपनिर्वाचन केन्द्रीत छलफल भएको हो। वैशाख १० मा तनहुँ–१, चितवन–२ र बारा–२ मा उपनिर्वाचन हुँदैछ। सत्ता गठबन्धनबाट कांग्रेसतर्फ तनहुँ–१ मा गोविन्द भट्टराई र चितवन–२ मा जीतनारायण श्रेष्ठ तथा बारा–२ मा जसपाका अध्यक्ष उपेन्द्र यादव उम्मेदवार छन्। यसपटकको उपनिर्वाचनमा माअ‍ोवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले आफ्नो उम्मेदवार उठाएका छैनन्।

प्रवासमा रहेका नेपालीले आफैं बसेको देशबाट मताधिकार प्रयोग गर्न पाउने व्यवस्था गर्छौं : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रवासमा रहेका नेपालीहरुलाई आफैं बसेको देशबाट मताधिकार प्रयोग गर्न पाउने व्यवस्था गरिने बताएका छन् । नेकपा (माओवादी केन्द्र) प्रवास समन्वय समितिको शुक्रवार भएको भर्चुअल कार्यक्रमलाई शुक्रबार राति सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । उनले भने, ‘यसबाट लाखौं प्रवासी नेपालीहरु लाभान्वित हुने र मताधिकारबाट बञ्चित हुनुपर्दैन ।’ प्रधानमन्त्रीले विदेशमा रहेका नेपालीले पठाएको रेमिटेन्सबाट विदेशी मुद्राको सञ्चितिमा उत्साह थपेको जनाउँदै बैदेशिक रोजगारीको सुधारको लागी सरकारले धेरै काम गरिसकेको र अझै थप गर्ने बताए । प्रधामन्त्री प्रचण्डले भने, ‘बैदेशिक रोजगारीबाट प्राप्त रेमिटेन्सले विदेशी मुद्रा सञ्चिती ११ महिनालाई पुग्ने संकलन हुनु आफैंमा अर्थतन्त्र सुधारको संकेत हो ।’ उनले सामाजिक सुरक्षा कोषमा प्रवासी नेपालीको आवद्धता श्रमिकको सुरक्षा भएको बताए । प्रधानमन्त्री प्रचण्डले राज्यका सबै निकायलाई राम्रोसँग परिचालन गरेर राजस्वमा उल्लेख्य सुधार भएको उल्लेख गर्दै आफू प्रधानमन्त्री बनेपछि सार्वजनिक सहकारी र निजी क्षेत्रको समन्वयलाई अगाडि बढाउन र निजी क्षेत्रलाई आर्थिक विकास निर्माणमा परिचालन गर्न जोड दिएको उल्लेख गरे । उनले भने, ‘संविधान निर्माण गर्ने र देशलाई अहिलेको अवस्थामा ल्याउने प्रमुख शक्ति माओवादी हो । हामीलाई विकासको गति पैदा गर्ने र रोजगारी ज्ञारेन्टी गर्ने चुनौति छ । अर्थतन्त्रmब परेको अफ्ठ्यारो अहिलेको होइन, पहिले देखि नै हो । यसमा म आएपछि सुधार भइरहेको छ । नेपालको अर्थतन्त्रको समस्या समाधानका लागि तीन महिनामै सकारात्मक संकेत देखियो । संचिति बढेको छ । राजश्व संकलनमा उल्लेखित सुधार भएको छ । बैंकको ब्याज दरमा सुधार गर्न मेरो पहलमा ब्याज घट्ने क्रम सुरु भएको छ । निजी क्षेत्रका समस्या समाधानको पहल भएको छ । देशको एकतालाई सुदृढ गर्नेमा सरकार सक्षम छ । छिट्टै छिमेकी देशहरुमा भ्रमण हुँदैछ । त्यस भ्रमणमा नेपाली जनताका केही मुद्दा पुरा गराउने तर्फ हामी लाग्ने छौं । व्यापार घाटा कम गर्न ट्रान्जिट पोलिसीका विषयमा, हवाई रुटका बारेमा छिमेकी देशसँग मिलेर अगाडि बढ्ने छौं । विदेशी लगानी भित्र्याउने कुरामा केही सकारात्मक संकेत देखिएका छन् । यसअघि पनि म दोस्रो पटक प्रधानमन्त्री हुँदा हामीले ९ महिनाको कार्यकालमा धेरै काम गरेका थियौं । अब हामीले तय गरेको नीति तथा कार्यान्वयनमा जसरी पनि सफल हुनै पर्छ । विगत केही वर्षदेखि नीतिगत, ऐन, नियम, कानूनहरू विधि प्रक्रियाका कारणले भनेको जस्तो राम्रो हुन सकेको थिएन । भूकम्पले पुर्याएको क्षति, कोरोना महामारी र रुस–युक्रेन युद्धले अर्थतन्त्र केही अप्ठ्यारो अवस्थामा मात्रै आएको हो ।

आजको मौसम : गण्डकीदेखि सुदूरपश्चिमसम्मका पहाडी भू–भागमा वर्षाको सम्भावना

काठमाडौं । देशका पहाडी भू–भागमा आज दिउँसो आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । सुदूरपश्चिम तथा कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थान र बाँकी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । विभागका अनुसार आज राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदली रहनेछ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।