मुकेश कायस्थलाई सहिद घोषणा गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले जनआन्दोलनमा घाइते भएर गत वैशाख २७ गते मृत्यु भएका बनेपाका मुकेश कायस्थलाई सहिद घोषणा गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले कायस्थलाई सहिद घोषणा गर्ने निर्णय गरेको हो ।

“जनआन्दोलनमा घाइते भएर केही दिनअघि निधन भइका मुकेश कायस्थलाई सहिद घोषणा गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ,” सरकारकी प्रवक्ता रेखा शर्माले भनिन् ।

सत्तारुढ गठबन्धनको बैठक आज बस्दै, नीति तथा कार्यक्रमबारे छलफल हुने

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक आज बस्दैछ । जेठ ५ गते पेश गर्न खोजिएको नीति तथा कार्यक्रमबारे छलफल गर्नका लागि आज गठबन्धनको बैठक बस्न लागेको हो । बैठक आज दिउँसो ३ बजे बस्नेछ । प्रधानमन्त्रीले सरकारमा रहेका र सरकारलाई समर्थन गरेका १० दलका नेताहरुलाई सो बैठकमा सहभागी हुनका लागि निम्तो दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । सरकारले जेठ ५ गते नीति तथा कार्यक्रम र जेठ १५ गते आर्थिक वर्ष २०८०÷८१ को बजेट ल्याउने तयारी गरिरहेको बेला सत्तारुढ गठबन्धनको बैठक आज बस्न लागेको हो । नेकपा माओवादी केन्द्र नेतृत्वको गठबन्धनमा नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल समाजवादी पार्टी, आम जनता पार्टी र नागरिक उन्मुक्ति पार्टीलगायत आबद्ध रहेका छन् ।

प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटमा संसद् बैठक, नीति तथा कार्यक्रम र बजेटबारे छलफल भएको सभामुखका प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिए । ‘आजबाट समितिहरुको बैठक सुरु भएपछि संसद्ले लय समातेको छ । संसदमा विचाराधिन विधेयकहरु टुंगो लगाउन अब सहज हुने अपेक्षा गरेको छु ।’ प्रधानमन्त्रीलाई उद्धृत गर्दै संयोजक अधिकारीले भने ‘सभामुखका तर्फबाट संसद् सञ्चालनका लागि सबै दलसँग समन्वय र सहकार्यको जुन प्रयास गर्नुभएको छ, त्यो सराहनीय छ । सरकारकाले जेठ ५ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेको जानकारी गराउँदछु’ । जवाफमा सदन सञ्चालनका लागि सरकार र राजनीतिक दलका तर्फबाट प्राप्त सहयोगका लागि सभामुखले धन्यवाद दिएका थिए । आजबाट समितिका बैठक उत्साहपूर्ण रुपमा सुरु भएको जनाउँदै सभामुखले संसद सचिवालयले नीति तथा कार्यक्रम र बजेटको तयारी गरिसकेको बताए । ‘सदनमा उठेका विषयमा सरकारको जवाफ नपाएको माननीयहरुको गुनासो छ, प्रधानमन्त्रीले गम्भीरतापूर्वक लिनुहुन्छ भन्ने विश्वास लिएको छु ।’ सभामुखले भने ।

भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री खाँणसँग आज पनि बयान

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणसँग आज पनि बयान लिइने भएको छ । गत बिहीवार पक्राउ परे पनि सोमबारबाट मात्रै विषय केन्द्रित भएर बयान सुरु भएको र सो बयान अझै बाँकी रहेकाले आज पनि बयान लिन लागिएको हो । सरकारी वकिल प्रमुख एवं सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेका अनुसार सोमवारबाट सुरु भएको खाँणको बयान आज पनि जारी रहने छ । सो प्रकरणमा मुछिए पनि खाँणले ‘मोबाइल फरम्याट’ गरेको तथा सो मोबाइलको ‘डाटा रिकभर’ हुनका लागि समय लागे पछि सोमबारबाट मात्रै उनको बयान सुरु गरिएको प्रहरीले जनाएको छ । सो आरोपमा मुछिएका मुख्य आरोपित केशव दुलाल र सानु भण्डारीले सो काण्डमा गृहमन्त्रीको हैसियतमा खाँणको पनि संलग्नता रहेको र मन्त्रालयमा नै लगेर १ करोड ४६ लाख रुयैँया दिएको बयान दिएपछि खाँण सो प्रकरणमा तानिएका हुन । साथै, तत्कालीन गृह सचिव टेकनारायण पाण्डेले पनि मन्त्रीको संलग्नतामा आफूले काम कारबाही अघि बढाएको बयान दिए पछि खाँणलाई पक्राउ गरी हिरासतमा लिइएको हो ।

हामी दक्षिण एसिया र दक्षिण पूर्वी एसियाबीचको पुल बन्न चाहान्छौं : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल दक्षिण एसिया र दक्षिण पूर्व एसियाबीचको पुल बनेर काम गर्न चाहेको बताएका छन् । सोमबार सिंहदरबारमा काठमाडौंस्थित विभिन्न देशका राजदूत र कूटनीतिज्ञहरूलाई सम्बोधन गर्दे प्रचण्डले सार्कलाई पुनरुत्थान गर्न र बिमस्टेकलाई प्रभावकारी बनाउन नेपालले लिंकको रुपमा काम गर्नसक्ने बताएका हुन् । सरकार छिमेकी राष्ट्र, विकास साझेदार, आप्रवासी कामदारका लागि गन्तव्य मुलुकहरू र अन्य सबै मित्र राष्ट्रहरूसँग नेपालको सम्बन्ध सुमधुर बनाउन प्रयासरत रहेको उनले बताए । विकास साझेदारहरूसँग आर्थिक सहयोगका साथै लगानीका नयाँ मार्गहरू खोल्न सरकारको प्रयास रहने उनले बताए । वर्तमान सरकार गठनसँगै नेपालमा लोकतान्त्रिक उपलब्धिलाई सुदृढ गर्ने र सामाजिक–आर्थिक रूपान्तरणका लागि प्रयास गर्ने संकल्पलाई पुनः नवीकरण गरेको प्रधानमन्त्रीको भनाई थियो । प्रधानमन्त्रीले भने – ‘लोकतान्त्रिक संस्थाको सुदृढीकरण र सशक्तिकरण शान्तिपूर्ण, समृद्ध र समावेशी समाजको निर्माण र आर्थिक रूपान्तरण हासिल गर्नु वर्तमान सरकारको मुख्य कार्यदेश हो। वर्तमान गठबन्धन सरकारको साझा न्यूनतम कार्यक्रम (सीएमपी)पनि सोही कार्यादेश कार्यान्वयन गर्नु हो ।’ आप्रवासी कामदारहरूको सुरक्षा, सुरक्षा र कल्याणलाई सरकारले प्राथमिकता दिएको उनले बताए ।विदेशमा सिकेको सीप, विशेषज्ञतालाई नेपालको विकासका लागि प्रयोग गर्ने उनले बताए । अन्तराष्ट्रिय मापदण्डका आधारमा शान्ति प्रक्रिया टुंगो लगाउने प्रधानमन्त्री प्रचण्डले जानकारी दिए । गम्भीर प्रकृतिका मानवअधिकार उल्लंघनको मुद्दामा आममाफी नहुने उनले प्रष्ट पारे। विस्तृत शान्ति सम्झौता, सर्वोच्च अदालतको निर्देशन र यससम्बन्धी अन्तर्राष्ट्रिय प्रतिबद्धताका साथै पीडितहरूको चासो हाम्रा प्रयासहरूलाई अन्त्यतर्फ लैजाने छ,’ उनले भने, ‘शान्ति प्रक्रियाको सफलतामा आएका छौं । म हाम्रो साझेदारलाई आश्वस्त बनाउन चाहन्छु कि नेपालले उचित मापदण्डमा रहेर संक्रमणकालीन न्याय प्रक्रिया पनि टुंग्याउनेछ।’ उनले प्रमुख राजनीतिक दलहरूबीच सहमतिको आधारमा जबरजस्ती बेपत्ता पारिएका व्यक्ति छानबिन र सत्य तथा मेलमिलाप आयोगसम्बन्धी कानुन संसद्मा टेबल गरिएको र छिटो पारित गर्ने सहमति भएको जानकारी गराए। ‘यस संशोधन प्रस्ताव पीडितमैत्री छ। पीडितहरूले क्षतिपूर्तिको आधिकार राख्छन् भन्ने कुरालाई यस अवधारणाले स्वीकारेको छ,’ प्रधानमन्त्री प्रचण्डले थपे, ‘कसैलाई गम्भीर मानव अधिकार उल्लंघनको घटनामा आम माफी हुने छैन भन्ने म आश्वस्त पार्न चाहन्छ।’ पुस १० गते प्रधानमन्त्री भएपछि पहिलो पटक नेपालस्थित कूटनीतिक नियोग, राजदूत, संयुक्त राष्ट्रसंघका एजेन्सी र विकास साझेदारका प्रमुखहरूलाई बोलाएर व्रिफिङ गरेका हुन्। सो ब्रिफिङमा भारतका राजदूत नवीन श्रीवास्तव‚ अमेरिकाका राजदूत डिन आर.थम्पसन र चिनियाँ राजदूत छन सोङसहित अन्य मुलुकका राजदूत तथा विकास साझेदार संस्थाका प्रमुखहरू सहभागी थिए।

प्रतिनिधि सभा वैठक : संयुक्त समितिको नियमावली बनाउन १६ सदस्यीय समिति गठन

काठमाडौं । प्रतिनिधि सभाले संघीय संसद्को संयुक्त समितिको नियमावली निर्माणका लागि १६ सदस्यीय समिति गठन गरेको छ। प्रतिनिधि सभामा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले समिति गठनको प्रस्ताव पेस गरेका थिए। उनले राष्ट्रिय सभा र प्रतिनिधि सभाका सांसदहरु रहने समितिहरुको नियमावली मस्यौदाका लागि दलहरुकाबीचमा भएको सहमति अनुसारको नाम सभामुखको अनुमतिपछि प्रतिनिधि सभामा पेस गरेका हुन्। ‘संयुक्त समितिको कार्य सञ्चालन नियमावली’ गठनको प्रस्तावमा नेपाली कांग्रेसका तर्फबाट ईश्वरी न्यौपाने र नेकपा एमालेका तर्फबाट योगेश भट्टराईले समर्थन गरेका थिए। सो समितिलाई ७ दिनको समय दिइएको छ। समितिमा रहने सांसदहरुले संसदीय सुनुवाइसहितका संयुक्त समितिहरु सञ्चालन लगायत विषयमा नियमावली निर्माण गर्ने छन्। समितिमा अनिता देवी, जिवन परियार, ध्रुवबहादुर प्रधान, नागिना यादव, रञ्जुकुमारी झा, रमेश लेखक, सुवासचन्द्र नेम्वाङ, पूर्णबहादुर घर्ती, रामहरि खतिवडा, महशेकुमार बर्तौला, मेटमणि चौधरी, लिलानाथ श्रेष्ठ, विद्या भट्टराई, शोभिता गौतम, सरिता प्रसाई र हितराज पाण्डे रहेका छन्।

शरणार्थी प्रकरणमा पक्राउ परेका एमाले नेता रायमाझीलाई ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका एमाले सचिव टोपबहादुर रायमाझीलाई तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका रायमाझीलाई तीन दिन हिरासतमा राख्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको हो । जिल्ला अदालत काठमाडौंमा न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले रायमाझीलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका उनलाई अनुसन्धानका लागि प्रहरीले आइतबार साँझ काठमाडौंको बूढानीलकण्ठस्थित पासीकोटबाट पक्राउ गरेको थियो । वैशाख २० मा पक्राउ पुर्जी जारी भएपछि रायमाझी फरार थिए ।  

एमालेका दुई सांसद : कोइरीपछि रायमाझी पनि निलम्बित !

काठमाडौं । नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरी निलम्बित छन् भने एमालेकै अर्का सांसद टोपबहादुर रायमाझी पनि नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेसँगै निलम्बित हुने भएका छन्। हत्या अभियोग लागेका कोइरी प्रहरीको फरार सूचीमा रहेर निलम्बनमा परेका हुन् भने टोपबहादुर रायमाझि नक्कली भुटानी शरणार्थी काण्डका कारण अदालत पुगेका छन् । प्रहरीले रायमाझीलाई गएराति बुढानीलकण्ठ पासिकोटबाट पक्राउ गरेको थियो। पक्राउ गरेको सूचना संसद् सचिवालयमा पुगेपछि सो सुचना सभामुख देवराज घिमिरेले संसदमा पढेर सुनाएका छन् । रायमाझीलाई अदालतले दोषी ठहर गरेमा उनी सांसदबाट निलम्बित हुने छन्।

शरणार्थी प्रकरणमा राष्ट्रद्रोह भएको छ : माधव नेपाल

पर्सा । एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नक्कली शरणार्थी प्रकरणमा राष्ट्रद्रोह भएको बताएका छन् । समाजवादी प्रेस संगठन नेपाल पर्साले सोमबार बिहान वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले यस्तो कार्यमा संलग्नलाई हदैसम्म कानुनी कारबाही हुनु पर्ने पनि बताएका छन ।

अनलाइनबाट नो अब्जेक्शन सर्टिफिकेट लिन सकिने व्यवस्था कार्यान्वयनमा

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको वैदेशिक अध्ययन अनुमति शाखा (एनओसी) ले विद्युतीय प्रणालीको प्रयोग गरी वैदेशिक अध्ययन स्वीकृति पत्र लिनसक्ने व्यवस्थाको शुरुवात गरेको छ । सोमवार एनओसी कार्यालयमा एक कार्यक्रमको आयोजना गरी विद्युतीय प्रणालीको प्रयोग गरी वैदेशिक अध्ययन स्वीकृति पत्र लिनसक्ने व्यवस्थाको शुरुवात गरिएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेपछि शिक्षा मन्त्रालयको जिम्मेवारी समेत सम्हालेको समयमै एनोसीकालागि लाइन लाग्ने र कार्यालमै धाउनुपर्ने बाध्ययता हटाउने निर्णय गरेका थिए । आजबाट लागू हुनेगरी शाखाले विद्युतीय प्रणालीको प्रयोग गरी वैदेशिक अध्ययन स्वीकृति पत्र डाउनलोड गर्नसक्ने गरी सेवा प्रवाहलाई फेसलेस, पेपरलेस र क्यासलेस बनाएको हो । आजबाट विद्यार्थीहरुले घरबाटै एनओसी फर्मका लागि लाग्ने शुल्क पनि तिर्नसक्ने व्यवस्था गरिएको छ । यो प्रक्रिया पूरा हुन अझै ४० प्रतिशत काम बाँकी रहेपछि चाँडै नै शतप्रतिशत काम हुनेगरी तयारी गरिरहेको शिक्षा मन्त्रालयले जनाएको छ । वैदेशिक अध्ययन स्वीकृति सम्बन्धि निर्देशिका, २०७९ को दफा ७ को उपदफा (३) र (४) मा सेवाग्राहीलाई विद्युतीय प्रणालीको प्रयोग गरी आफ्नो वैदेशिक अध्ययन स्वीकृति पत्र डाउलोड गर्नसक्ने गरी सेवा प्रवाहलाई फेसलेस, क्यासलेस र पेपरलेस बनाउनुपर्ने व्यवस्था गरेको छ ।

प्रधानमन्त्री प्रचण्ड र राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटवार्तामा संसद्को चालू बजेट अधिवेशनलाई प्रभावकारी बनाउने लगायतका विषयमा छलफल भएको छ। साथै सरकारको नीति तथा कार्यक्रम पेस गर्न संसद्को संयुक्त बैठक कहिले बस्ने लगायतका विषयमा छलफल भएको सचिवालयले जनाएको छ।

एमाले सचिव तथा पूर्वमन्त्री रायमाझीलाई आज अदालतमा उपस्थित गराइँदै

काठमाडौं । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई आज अदालतमा उपस्थित गराइँदैछ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भए पछि फरार रहेका रायमाझी हिजो बुढानीलकण्ठस्थित निवासबाट पक्राउ परेका थिए । उनलाई आज अदालतमा उपस्थित गराउन लागिएको प्रहरीले जनाएको छ। पक्राउ परे लगत्तै मेडिकल जाँच गरी उनलाई लैनचौरस्थित प्रहरी हिरासतमा लगिएको थियो। थप अनुसन्धानका लागि रायमाझीलाई म्याद थप्न जिल्ला अदालत काठमाडौँमा लैजान लागिएको हो ।

बङ्गलादेशका प्रधानमन्त्री हसिना र परराष्ट्रमन्त्री साउदबीच भेटवार्ता

काठमाडौं । बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनासँग परराष्ट्रमन्त्री एनपी साउदले भेटवार्ता गरेका छन् । बङ्गलादेशको राजधानी ढाकामा उनीहरुबीच आज भेटवार्ता भएको हो। भेटमा दुई पक्षीय हितका विभिन्न विषयबारे छलफल भएको परराष्ट्रमन्त्री साउदको सचिवालयले जनाएको छ। छलफलको क्रममा नेपाल र बङ्गलादेशबीचको सम्बन्धलाई सुदृढ तुल्याउने, सीमापार कनेक्टिभिटी, व्यापार, पारवहन, ऊर्जा व्यापार, शिक्षालगायत अन्य सम्बन्धित क्षेत्रमा विशेष जोड दिइएको बताइएको छ। ढाकामा आयोजित छैटौँ इन्डियन ओसन कन्फ्रेन्स–२०२३ मा भाग लिन मन्त्री साउद शुक्रबार ढाका गएका थिए । हिन्द महासागर क्षेत्रको मजबुत भविष्यका लागि शान्ति, समृद्धि र सहकार्य गर्न मूल कार्यपत्रमा छलफल गर्न ढाकामा सम्मेलन आयोजना गरिएको थियो। भारतीय विदेश मन्त्रालय, इन्डिया फाउण्डेशन र बङ्गलादेशको विदेश मन्त्रालयको संयुक्त आयोजनामो सम्मेलन आयोजना भएको थियो। परराष्ट्रमन्त्री साउद आज बेलुकी स्वदेश फर्किदै छन्।

सरकारको नीति तथा कार्यक्रम प्रधानमन्त्रीले प्रस्तुत गर्ने सहमति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा पूर्ण सुधार आइनसकेकाले आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम प्रधानमन्त्रीले प्रस्तुत गर्ने भएका छन् । आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताको बैठकमा नीति तथा कार्यक्रम प्रधानमन्त्रीले पढ्ने सहमति भएको हो । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रेमश लेखकका अनुसार राष्ट्रपति पौडेलले संक्षिप्त रुपमा नीति तथा कार्यक्रम पढेपछि बाँकी प्रधानमन्त्रीले पढ्ने सहमति भएको छ । ‘राष्ट्रपतिजी अलि अस्वस्थ हुनुहुन्छ । सबै उहाँले पाठ गर्न सक्नुहुने होइन,’ उनले भने, ‘राष्ट्रपतिजीले पाठ गर्न नसकेपछि संक्षिप्तमा राष्ट्रपतिले पढेर प्रधानमन्त्रीले पढ्ने होकि नीति कार्यक्रम भन्नेबारे छलफल भएको छ । यी कुरामा सहमति गरेर अगाडि बढ्ने कुराकानी भएको छ ।’ यसबारे कार्यव्यवस्था समितिले निर्णय गर्ने लेखकको भनाइ छ । जेठ ३ गते संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै छ ।

संसदलाई प्रभावकारी बनाउन तीन दलका नेता र सचेतकबीच छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आव्हानमा संघीय संसदमा प्रतिनिधित्व गर्ने तीन ठूला दलका संसदीय दलका नेता र प्रमुख सचेतकहरूबीच आज छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफल जारी संसद अधिवेशनलाई प्रभावकारी बनाउने र विभिन्न समितिहरू गठन गर्ने विषयमा केन्द्रित रहेको माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डेले जानकारी दिए । बैठकमा सत्य निरूपण तथा मेलमिलाप सम्बन्धि विधेयकलाई छिटो टुंगोमा पु¥याउन संसदीय उपसमिति गठन गर्ने, संसदीय समितिहरूको नेतृत्व र प्रतिनिधित्व सहमतिका आधारमा गर्ने, संसदीय सुनुवाइ समिति गठन गर्ने लगायतका विषयमा छलफल भएको थियो। ‘‘निकै सकारात्मक छलफल भएको छ। संसदको बजेट अधिवेशन जारी छ, संसदलाई प्रभावकारी बनाउन समझदारीका साथ अगाडि बढ्ने विषयमा छलफल भयो’’ मुख्य सचेतक पाण्डेले भने , ‘‘संसदका विषयगत समितिहरू गठन गर्न बाँकी छ, सत्य निरूपणसम्बन्धि विधेयकलाई प्राथमिकता दिएर अगाडि बढाउनुपर्नेछ, संसदीय सुनुवाइ समितिसमेत गठन भइसकेको छैन। यिनै विषयमा छलफल भयो। संसद सहमतिका साथ अगाडि बढाउनेमा हामी एकमत छौँ। छिट्टै निष्कर्षमा पुग्छौँ।’’ बैठकमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा, नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली, उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डे, नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, नेकपा एमालेका नेता सुवास नेम्वाङ सहभागी  थिए ।

आजदेखि सगरमाथा आरोहण सुरु,आरोहणको प्रतीक्षामा रहेका आरोही खुसी

काठमाडौं । यस वर्षको वसन्त ऋतुमा आजदेखि सगरमाथा आरोहण सुरु भएको छ । आरोहणका लागि दक्ष कामदार (आइसफल डाक्टर) ले आज दिउँसो सगरमाथाको चुचुरोसम्म ‘रोप फिक्सिङ’ (डोरी टाँग्ने) गरेपछि आरोहणको ढोका खुलेको हो । प्रतिकूल मौसमका कारण तीन सातायता आरोहणको प्रतीक्षामा रहेका आरोही खुसी भएका छन् । सगरमाथाको दोस्रो शिविरमाथिको बाटो बनाउने जिम्मा पाएको इमाजिन नेपाल ट्रेक एन्ड एक्सपिडिसन कम्पनीका अनुसार आइसफल डाक्टरले आज दिउँसो १ बजेर ५२ मिनेटमा सगरमाथाको चुचुरोसम्म बाटो खोलेर आरोहण खुलेको सन्देश दिएका छन् । ‘सगरमाथा समिटसम्मको रुट फिक्सिङ सक्यो, दिउँसो १ बजेर ५२ मिनेटमा आठ जना शेर्पा र एक फोटोग्राफर चुचुरोमा पुगे’, कम्पनीका कार्यकारी निर्देशक दावा ग्याल्जे शेर्पाले जानकारी दिए । अहिले धेरै सङ्ख्यामा आरोही सगरमाथाको चौथो शिविरमा रहेकाले भोलि बिहानसम्म उल्लेख्य आरोही चुचुरोमा पुग्ने अनुमान गरिएको उनको भनाइ छ । ‘इमाजिन नेपालको शेर्पाको टोलीले समिटसम्म बाटो खोलेको छ । भोलि मे १४ देखि २० तारिखसम्म सगरमाथाको मौसम राम्रो रहेकाले धेरै आरोही चुुचुरोमा पुग्नेछन्’, उनले भने । दावा ग्याल्जे शेर्पा दोलखा रोलवालिङका शेर्पा अन्तर्राष्ट्रिय माउन्टेन गाइड समेत छन् । रोप फिक्सिङ गर्ने समूहका अन्य सदस्यमा सोलुखुम्बु थामेका निमानुरु शेर्पा, लाक्पासोना शेर्पा, पासाङ निमा शेर्पा, लाक्पा तेन्जिङ शेर्पा, फुर ग्याल्जेन शेर्पा, दावा जङ्बु शेर्पा र सङ्खुवासभाका दीपेन गुरुङ रहेका छन् । ‘प्रतिकुल मौसमका कारण लामो समयदेखि रोप फिक्सिङको काम हुन सकेको थिए, आज मौसम अनुकुल भएसँगै डोरी टाँग्ने पूरा भएपछि आरोहणको सुरु भएको छ ।’ उनले धेरै आरोही सगरमाथाको चुचुरोतर्फ जाने तयारीमा रहेको जानकारी दिए। यतिबेला सगरमाथाको आधार शिविर र दोस्रो शिविर आसपासमा आरोहणका लागि सयौँ सङ्ख्यामा आरोही यतिबेला प्रतीक्षारत छन् । उनीहरु मौसम अनुकूलताअनुसार सगरमाथाको शिखरतर्फ अघि बढ्नेछन् । आइसफल डाक्टरले यही वैशाख १० गते नै सगरमाथाको साउथ कोल (चौथो शिविर) सम्म बाटो खुलाइसकेका थिए । मौसम अनुकूल भइदिएको भए वैशाख २१ गतेसगरमाथाको चुचुरोसम्म पुग्ने बाटो खुलिसक्थ्यो । सगरमाथाको दोस्रो शिविरसम्म सगरमाथा प्रदुषण नियन्त्रण समिति (एसपिसिसी) ले बाटो बनाएको थियो । वसन्त ऋतुको सगरमाथा आरोहणका लागि मौसम पूर्वानुमान गरिरहेका एक वरिष्ठ मौसमविद्का अनुसार सगरमाथाको सात हजार ५०० मिटरमाथितिर तीव्र वेगको हावा चलेकाले पूर्वनिर्धारित समयमा चुचुरोसम्म बाटो खुलाउन कठिन भएको थियो । सो क्षेत्रमा वैशाख २० गतेदेखि बिग्रिएको मौसम अहिले केही सुधार आएको हो । प्रतिघण्टा ४० देखि ५० किलोमिटर हावाको वेग चलेकाले आरोहणमा केही ढिलाइ भएको हो । वसन्त ऋतुमा सगरमाथा आरोहण गर्न इतिहासकै सर्वाधिक बढी आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार ४४ आरोही समूहका चार सय ६७ आरोहीले आरोहण अनुमति लिएका हुन् । जसमध्ये ९८ महिला र तीन सय ६९ पुरुष छन् । सगरमाथा आरोहणको ७० वर्षे लामो इतिहासमा यो यामको आरोहणमा सबैभन्दा बढी आरोहीको सङ्ख्या हो । आरोहणलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन विभागले सगरमाथा आधार शिविरमा अनुगमन तथा सहजीकरण गर्नका लागि सम्पर्क कार्यालय स्थापना गरेको छ । पर्यटन विभागको विवरणमा सगरमाथा आरोहणका लागि नेपालसहित ६५ देशका नागरिकले अनुमति लिएका छन् । सन् १९५३ मे २९ तारिखका दिन दुई साहसी पर्वतारोही नेपाली तेञ्जिङ नोर्गे शेर्पा र न्यूजिल्याण्डका सर एडमन्ड हिलारीले सगरमाथाको चुचुरोमा पुगेर आरोहणको ढोका खुलाएका थिए । सगरमाथाको चुचुरोमा मानवले पहिलो पटक पाइला टेकेको ७० वर्ष पुगेको छ । सगरमाथा आरोहणको इतिहासमा हालसम्म करिब सात हजार स्वदेशी तथा विदेशीले आरोहण गरेका छन् । तथ्यांक अनुसार हालसम्म तीनसय भन्दा बढी आरोहीले सगरमाथा आरोहणका क्रममा ज्यान गुमाएका छन् । पर्वतारोहण सञ्चालक सङ्घ नेपालका अध्यक्ष डम्बर पराजुलीले मौसमलगायतका विभिन्न कठिनाइका बाबजुद पनि आरोहणको ढोका खुलेको बताए । रासस