कामू प्रधानन्यायाधीश कार्कीविरुद्ध ११ वटा उजुरी
काठमाडौं । संवैधानिक परिषदबाट प्रधानन्यायाधीशका लागि सिफारिस कामू प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध ११ वटा उजुरी परेका छन्। उजुरी दिनेमा बहालवाला जिल्ला न्यायाधीश पनि छन्।
न्यायाधीश डाक्टर श्रीकृष्ण भट्टराईले कार्कीमाथि प्रधानन्यायधीश पदको सम्मान, गरिमा र ओज कायम राख्नसक्ने हैसियत र ल्याकत नभएको दाबी गर्दै उजुरी दिएका छन्।
कार्कीविरुद्ध संसदीय सुनुवाइ समितिमा इमेल, चिठी र आफैँ उपस्थित भएर ११ वटा उजुरी परेको हो। समितिले १० दिनको समय दिएर उजुरी आह्वान गरेको थियो। जेठ २६ गतेसम्म थप उजुरी आउन सक्ने समितिले जनाएको छ। तर, कस्ता उजुरी परेका छन् भन्ने समितिले सार्वजनिक गरेको छैन। उजुरी पहिचान गरेपछि सदस्यहरूले सुनुवाइका क्रममा कार्कीसँग सोध्न सक्ने छन्।
कायममुकायम प्रधानन्यायाधीश कार्कीलाई संवैधानिक परिषद्को गत वैशाख २५ गते बसेको बैठकले प्रधानन्यायाधीशमा सिफारिस गरेको हो।
सीटीईभीटीका अधिकारीसहित सुनकोशी नदीमा खसेको गाडी र २ वटा शव फेला
काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सीटीईभीटीका अधिकारीहरुसहित सुनकोशी नदीमा खसेको गाडी पाँचौं दिन फेला परेको छ । गाडीसँगै २ वटा शव पनि भेटिएको छ । सीटीईभीटीका दुई निर्देशक र अधिकृत चढेको बी एबी ७४६७ नम्बरको स्कोर्पियो गाडी शुक्रबार दिउँसो मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्डअन्तर्गत गोलन्जोर गाउँपालिका–७ को लौकुनबाट सुनकोशी नदीमा खसेको थियो । त्यो गाडी सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट खटिएको इन्सपेक्टर सुवास थापाको कमान्डमा रहेको गोताखोरसहितको टोलीले खोजिरहेको थियो । तर फेला पार्न नसकेपछि सुनकोशीको पानीको भंगालोलाई नै अर्कोतिर पठाएर खोजी गरिएको थियो । त्यसपछि गाडीसँगै २ वटा शव फेला परेको जानकारी आएको सशस्त्र प्रहरीका डीएसपी तथा सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । उनका अनुसार शवको सनाखत हुन सकेको छैन । भक्तपुरबाट खोटाङतर्फ जाँदै गरेको सीटीईभीटीको जीपमा प्रशासन शाखाका निर्देशक तनहुँको भानु–९ का ५७ वर्षीय कृष्ण केसी, पूर्वी नवलपरासीको प्रगति–७ घर भएका योजना महाशाखा निर्देशक ५६ वर्षीय यमप्रसाद भुर्तेल र इलामका ३२ वर्षीय विद्युत् प्राविधिक भानु पौडेल सवार गाडी सुनकोशीमा खसेको थियो । चालक कृष्ण चौधरी भने घाइते अवस्थामा पौडिएर निस्किएका थिए ।
शरणार्थी प्रकरण : सरकारी वकिलको थुनछेक बहस सकियो,अब प्रतिवादीकातर्फबाट कानुन व्यवसायीले बहस सुरु गर्ने
काठमाडौं । नक्कली भूटानी शरणार्थी प्रकरणमा जारी थुनछेक बहस आज सकिएको छ । सरकारी वकिलका तर्फको बहस सकिएसँगै अब प्रतिवादीतर्फबाट कानुन व्यवसायीले बहस सुरु गर्ने जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए। उनले भने, “सरकारी वकिलतर्फको बहस सकिएको छ, अब प्रतिवादीतर्फबाट कानुन व्यवसायीले बहस गर्नु हुन्छ ।” जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा जारी बहसमा यस प्रकरणका प्रतिवादीलाई थुनामुक्त गरे प्रमाण नष्ट हुनसक्ने तथा जाहेरीकर्ताको सुरक्षामा खतरा हुनसक्ने भन्दै थुनामा राखेर नै मुद्दाको पुर्पक्ष गर्नुपर्ने दलिल सरकारी वकिलले प्रस्तुत गरेका थिए । नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १८ जनालाई थुनछेक बहसका लागि उपस्थित गराइएको छ । सो थुनछेक बहस यही जेठ ३१ गतेसम्म जारी रहने र त्यसपछि पुर्पक्षका लागि थुनामा पठाउने कि नपठाउने भन्नेबारेमा निर्णय लिइने बताइएको छ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले पक्राउ परेका १८ जनासहित फरार रहेका ३० जनालाई सङ्गठित अपराध, कीर्ते, ठगी तथा राज्य विरुद्धको आरोप गरी चारवटा मुद्दा लगाउँदै रु २७ करोड ५० लाख बिगो माग दाबीसहित जिल्ला अदालत काठमाडौँमा यही जेठ १० गते मुद्दा दायर गरिएको थियो ।
खप्तडमा प्रधानमन्त्री : पर्यटन मैत्री आध्यात्मिक केन्द्रको रूपमा विकास गर्ने प्रतिवद्धता (तस्बिर)
धनगढी । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खप्तडलाई अन्तर्राष्ट्रिय आध्यात्मिक केन्द्र बनाउने छन् । आजदेखि सुरु भएको तीन दिने प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् । उनले भने, ‘खप्तड आर्थिक विकासको केन्द्र र पर्यटन विकासको केन्द्र बन्छ । खप्तड क्षेत्रलाई पर्यटन मैत्री आध्यात्मिक केन्द्रको रूपमा विकास गर्छौ । उनले खप्तड विकास कोष वा प्रतिष्ठान बनाउने विषयमा पनि छलफल गर्ने बताए । सुदूरपश्चिम प्रदेशको विकासको लागि आफू प्रतिबद्ध रहेको समेत प्रधानमन्त्रीको भनाइ थियो । सम्मेलनमा रामदेव, बालकृष्ण आचार्य, पूर्व प्रधानमन्त्री झलनाथ खनाल, प्रदेश प्रमुख देवराज जोशी, उपप्रधानमन्त्री तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठ पतञ्जली योगपीठका महामन्त्री आचार्य बालकृष्ण, चतरामा बस्दै आएका महायोगी जगतगुरु शिद्धबाबा कृष्णदास महाराज लगायतको उपस्थिति रहेको छ । सम्मेलन २५ गतेसम्म चल्ने छ । यसैबीच आध्यात्मिक केन्द्र निर्माणका लागि लगानी गर्न योग गुरु रामदेव र आचार्य बालकृष्ण पनि इच्छुक रहेको बताएका छन्। सम्मेलनमा योगा, सुदूरपश्चिमका लोकप्रिय सांस्कृतिक झाँकीहरू भुँवा, हुडक्यौली, गौरा, देउडा, पुतला नाचलगायत प्रस्तुत गरिएको थियो ।
राष्ट्रियसभाको बैठक स्थगित
काठमाडौं । राष्ट्रियसभाको बैठक बस्दै नबसी स्थगित गरिएको छ । आज बिहान ११ बजेर ११ मिनेटमा बस्ने तय भएको बैठक विशेष कारण स्थगित गरिएको संसद् सचिवालयले जनाएको छ । राष्ट्रियसभाको अर्को बैठक बुधबार (भोलि) बिहान ११ बजेर ११ मिनेटमा बस्ने संघीय संसद्का महासचिव डा. भरतराज गौतमले जानकारी दिए । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमणबारे जवाफ दिने तयारी थियो । प्रधानमन्त्री प्रचण्ड कार्यक्रमको सिलसिलामा काठमाडौंबाहिर गएका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरण : आज पनि थुनछेक बहस जारी, ४ जना सरकारी वकिलले गरे बहस
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा आज दोस्रो दिन पनि थुनछेक बहस जारी रह्यो । काठमाडौ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा थुनछेक बहस भइरहेको हो। सुरुमा सरकारी वकिलले प्रतिवादीका विरुद्ध बहस गरिरहेका छन्। आज चार जना सरकारी वकिलले इजलासमा बहस गरेका हुन्। जनकप्रसाद घिमिरे, सीताराम अर्याल, प्रकाश घिमिरे र दिनेश भट्टराईले बहस गरेका छन् । महेश खत्री र जनकप्रसाद घिमिरेले आइतबार बहस गरेका थिए। घिमिरेले आफ्नो बहस आज टुङ्ग्याएपछि अन्य सरकारी वकिलले बहस गरेका हुन्। सरकारी वकिल कार्यालय काठमाडौँले यस शरणार्थी प्रकरणमा बहस गर्न सरकारी वकिलको समूह नै बनाएको छ। जसअनुसार कार्यालयका प्रमुख एवं सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेसमेतले बहस गर्ने तयारी छ। उनले भने अन्तिममा बहस गर्ने तयारी गरेका हुन्। इजलासमा मंगलबारसम्म सरकारी वकिलको तर्फबाट बहस गर्ने समझदारी भएको थियो। बहस लम्बिन पनि सक्छ। त्यसपछि अर्को मङ्गलवारसम्म प्रतिवादीको तर्फबाट वकिलहरूले बहस गर्नेछन्। बुधबार फेरि सरकारी वकिलले जवाफी बहस गर्नेछन्। यस प्रकरणमा अहिलेसम्म १८ जना पक्राउ परेका छन्।
थन्किएको विधेयकबारे राष्ट्रपतिलाई अनुरोध गरेका हौं : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्बाट दुई पटक पारित भएको विधेयक खारेज गर्नु सम्भव नरहेको बताएका छन् । उनले संसद्मा फेरि विधेयक ल्याउनु संसद्कै अपमान हुने भनेका छन् । नागरिकता विधेयकको विषयमा संसद्मा उठेका प्रश्नको सोमबारको प्रतिनिधसभा बैठकमा जवाफ दिने क्रममा प्रधानमन्त्री दाहाल प्रचण्डले संसद्बाट दुई पटक पारित भएको विधेयक फेरि ल्याउन सम्भव नभएकाले प्रमाणीकरणको प्रक्रियामा गएको बताएका हुन् । ‘संसद् पनि अविछिन्न उत्तराधिकारवाला संस्था हो । एउटा सदनले विधिसम्मत पारित गरेको विषयलाई अर्को सदनले मान्दैन भन्न मिल्दैन र पाउँदैन । मिचिएको संविधानलाई ट्य्राकमा ल्याउनुस्, हामीसँग सबैभन्दा वैधानिक उपाय के हो ? एउटा राष्ट्रपतिले संविधानको पालक र संरक्षकका हैसियतमा दायित्व पूरा नगरेर विधेयकलाई होल्डमा राखेको स्थिति खारेज गर्न सम्भव थिएन । फेरि फिर्ता पठाउन पनि सम्भव थिएन । दुई पटक पारित गरेको विधेयक हो, राष्ट्रपति कार्यालयको दराजमा थियो,’ उनले भने । नागरिकता विधेयक प्रमाणीकरणका विषयमा तत्कालीन राष्ट्रपतिले संविधानको उल्लंघन गरेको प्रधानमन्त्रीको भनाइ थियो । ‘नागरिकता विधेयक संसद्बाट दुई(दुई पटक पारित भएर प्रमाणीकरणका लागि राष्ट्रपतिकोमा गएको थियो । राष्ट्रपतिले त्यसलाई प्रमाणीकरण नगरिकन होल्डमा राख्नुभयो । त्यतिबेला पनि कुरा उठेको हो, संविधानको मर्म र भावनाविपरीत राष्ट्रपतिले होल्ड गर्नुभयो । होल्ड गर्नुपर्थेन । संविधान मिचिएको थियो,’ उनले भने, ‘राष्ट्रपति संविधानको संरक्षक र पालक हो । राष्ट्रपतिबाट नै संविधानमा स्पष्ट राखिएको प्रावधान एक पटक सदनबाट पास भएको विधेयकलाई फिर्ता पठाउन सक्ने नोटसहित अर्को पटक पनि पारित भएर गएपछि अनिवार्य रूपमा प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था हो । त्यो संवैधानिक व्यवस्थाको हिजो उलंघन भयो । संविधानको मर्ममाथि बडो निर्मम ढंगले प्रहार भयो ।’ तत्कालीन राष्ट्रपतिले त्यसो गर्दा संविधान संकटमा परेको प्रधानमन्त्री दाहाल प्रचण्डको भनाइ थियो ।
मिचिएको भूमिमा भारतलाई सहमत गराएकाेमा कांग्रेस सांसदले गरे प्रधानमन्त्रीको प्रशंसा
काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रशंसा गरेका छन्। सीमा समस्याबारे प्रधानमन्त्रीले भारतीय नेतृत्वलाई घुमाउरो भाषामा सम्झाएको दाबी प्रतिनिधिसभाको सोमबारको बैठकमा केसीले गरे। उनले कापानी, लिम्पियाधुरा र लिपुलेक नेपाली भूमि हुन् भनेर भारतीय नेतृतवलाई प्रधानमन्त्रीले सहमत गराउन खोजेको दाबी गरे। प्रधानमन्त्रीले भारतसँग कूटनीतिक भाषा प्रयोगका क्रममा विज्ञको हवाला दिँदै भारतीय पक्षलाई उक्त भूमि नेपालकै हो भनेर सहमतिमा ल्याउन खोजेको भन्दै केसीले धन्यवाद पनि दिए। ‘कालापानी र लिपुलेक समावेश भएको नक्सा र भूभागमा पहिलोपटक प्रधानमन्त्रीले भारतान गएर त्यो हाम्रो भनेर स्पष्ट पार्नुभएको छ। त्यसमा उहाँलाई धन्यवाद दिन चाहन्छु,’ उनले भने, ‘घुमाउरो शैलीमा कूटनीतिक भाषा प्रयोग गरी विद्वानको हवाला दिँदै प्रधानमन्त्रीले मोडालिटीको कुरा गर्नु भएको छ। उहाँले उक्त भूमि नेपालको भनेर भारतीय पक्षलाई सहमत पार्न खोजेको बुझेको छु।’ केसीले त्यो भूमि नेपालको भएको दाबीसहित नेपालका कुनै पनि नेताले आजसम्म भनेको सम्झना नभएको पनि बताए। नेपालले १० वर्षमा १० हजार मेगावाट बिजुली बेच्ने कुरा राम्रो भन्दै उनले कार्यान्वयनमा लानुपर्नेमा जोड दिए।
नेपाल प्रहरीका ४६ प्रहरी निरीक्षक प्रहरी नायब उपरीक्षकमा बढुवा सिफारिस (सूचीसहित)
काठमाडौं । नेपाल प्रहरीले ४६ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) लाई प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवा सिफारिस गरेको छ । गृह मन्त्रालयको सोमबार बसेको बढुवा समितिको बैठकले ४६ जना इन्स्पेक्टरलाई डीएसपीमा बढुवाका लागि सिफारिस गरेको हो ।
केपी ओलीले राखेका थिए कालापानी भाडामा दिने प्रस्ताव
काठमाडौं । यतिखेर चर्चामा रहेको नेपालको भूमि कालापानी तथा लिम्पियाधुरालाई भारतलाई भाडामा दिने कुरा तत्कालिन प्रधानमन्त्री केपी ओलीले सर्वदलीय बैठकमा प्रस्ताव गरेका थिए । २०७७ वैशाख ३१ गते मा आयोजित सर्वदलीय बैठकमा ओलीले नेपाली भूमि रहेको लिपु लेकमा भारतले खनेको बाटो भारतलाई नै भाडामा दिने प्रस्ताव गरेपछि बैठकमा चर्काचर्की नै परेको थियो । व्यवस्थापिका संसदले २०७७ साल जेठ ७ गते अतिक्रमित भूमि समेटिएको नयाँ नक्सा सार्वजनिक गर्ने प्रस्ताव पारित गर्यो । त्यसको १५ दिनपछि मन्त्रिपरिषदले सीमासम्बन्धी प्रमाण संकलन गर्न विज्ञ समूह गठन गर्ने निर्णय गर्यो । विष्णुराज उप्रेतीको संयोजकत्वमा गठित समूहले सोही वर्ष असोजमा परराष्ट्रमन्त्रि प्रदीप ज्ञवालीलाई प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनमा सुगौली सन्धीदेखि भारतले जारी गरेको नक्सासम्मका तथ्यहरु अध्ययन गरी कालापानी र लिम्पियाधुराका सम्बन्धमा विकल्पसहित सुझाव दिइएको थियो । तर यो प्रतिवेदन न सार्वजनिक भयो न त यसमाथि कुनै कार्यवाही नै । कारण थियो कार्तिक ५ गते रातीको भेट । के हो त कार्तिक ५ गते रातीको भेट कार्तिक ५ गते राती भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विंगका प्रमुख सामन्तकुमार गोयलले गोप्यरुपमा ओलीसँग बालुवाटारमा भेट गरे । बाहिर कुरा खुलेपछि भोलीपल्ट प्रधानमन्त्री सचिवालयले भेट भएको स्वीकार गर्यो । यो भेटपछि विज्ञ समूहको प्रतिवेदन त थला नै पर्यो, संसदले पारित गरेको नयाँ नक्सा समेत कार्यान्वयन नगर्न ओली सरकारले निर्देशन दिएको थियाे ।
मेरो ध्यान उत्पादन बढाउने र रोजगारी सृष्टि गर्ने तिर छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सम्पूर्ण ध्यान उत्पादन बढाउन र रोजगारी सृष्टि गर्ने तिर भएको बताएका छन् । काठमाडौं विश्वविद्यालय सभाको ९७ औं बैठकलाई आज बिहान बालुवाटारमा सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् । उनले भने, ‘हामी सबैले मिहेनत गरेर उत्पादन वृद्धि र रोजगारीको वातावरण बनाउने तिर जानु पर्दछ ।’ उनले काठमाडौं विश्वविद्यालयले रोजगारी स्वदेशमै सृष्टि गर्न महत्वपूर्ण भूमिका खेल्न सक्ने बताए । ‘आफूले उत्पादन गरेको जनशक्तिलाई देशभित्रै खपत गर्ने वातावरण बनाउनको निम्ति सरकारलाई सहयोग गर्ने जिम्मेवारी यो विश्वविद्यालयको हो, प्रधानमन्त्रीले भने, ‘हामी अलिक धेरै नै राजनीति गर्ने जस्ता भयौं । हरेक कुरामा राजनीति मात्र हुँदा देशमा आर्थिक, शैक्षिक र उत्पादनका विषयहरु पछि परे ।जहाँ अनुशासन कायम भयो, जहाँ विकास निर्माणका कामलाई प्राथमिकता दिने भयो, त्यहाँ अनावश्यक राजनीतिक खिचातानी गर्ने ठाउँ नरहने र देशले आर्थिक विकासमा फड्को हान्ने वातावरण रहने रहेछ । यो विभिन्न देशको अनुभवहरु हेर्दा देख्न थाहा पाउन सक्छौं । उत्पादनको विकास भएर धनी हुँदै गए रोजगारी पनि सोही अनुरुप सृष्टि हुँदै जाने र दक्ष जनशक्ति पनि तयार हुने रहेछ ।’
वातावरण दिवस : प्लाष्टिकजन्य प्रदूषण निर्मूल पार्न सबैले सहयोग गर्न प्रधानमन्त्रीको अपिल
काठमाडौं । विश्व वातावरण दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुभकामना व्यक्त गरेका छन् । संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमको आह्वानमा सन् १९७३ देखि प्रारम्भ भई हरेक वर्ष जुन ५ तारिखको दिन यो दिवस मनाउँदै आएको हो । ५०औँ वार्षिकोत्सवका अवसरमा उनले यस वर्ष विश्वव्यापी रूपमा तय भएको नारा “विट प्लाष्टिक पोलुसन” र मूल विषय “सोलुसन टु प्लास्टिक पोलुसन” लाई हाम्रो आफ्नै मौलिक शैलीमा “प्लास्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ” भन्ने राष्ट्रिय नाराकासाथ देशव्यापी रूपमा मनाउन लागिएको छ । आ–आफ्नो ठाउँबाट यस राष्ट्रिय अभियानमा सरिक हुन सबैमा उनले शुभकामना मार्फत आव्हान गरेका छन् । प्लाष्टिक प्रदूषणलाई प्रमुखताका साथ उजागर गर्ने गरी यस दिवस मनाउन गइरहेका छौँ। प्लास्टिक हाम्रो आधुनिक जीवनको अभिन्न अङ्ग बनिसकेको छ। एकातर्फ, यसले उद्योगमा क्रान्ति ल्याएको छ, हाम्रो दैनिक सुविधाहरूमा सुधार गरेको छ र हामीलाई अनगिन्ती लाभहरू प्रदान गरेको छ। अर्कोतर्फ, यसको अत्यधिक र अव्यवस्थित प्रयोगले ठुलो वातावरणीय समस्या सिर्जना गरेको छ। हाम्रा महासागरहरू, ल्यान्डफिल साइटहरू, समथर भूमि, पहाडी, उच्च पहाडी र हिमाली क्षेत्रहरू जताततै प्लास्टिकको फोहोरले भरिएका छन्, जसले मानव स्वास्थ्य र समग्र पारिस्थितिक प्रणालीलाई अपरिवर्तनीय क्षति पुर्याउने खतरा बढ्दै गइरहेको छ शुभकामना सन्देशमा उल्लेख छ । प्रत्येक वर्ष, विश्वव्यापी रूपमा चार सय मिलियन टनभन्दा बढी प्लास्टिकका सामाग्रीहरू उत्पादन हुने गरेको र यसको ठुलो हिस्सा विभिन्न नदी प्रणाली हुँदै महासागरहरूमा पुग्ने गरेको छ। यसले पारिस्थितिक प्रणालीलाई समेत नराम्रोसँग असर पुर्याउन सक्ने देखिएको हुँदा यसको नकारात्मक प्रभावसँग जुध्ने प्रयास स्वरूप संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमको अग्रसरतामा प्लास्टिक पोलुसन ट्रिटी सम्बन्धी कार्य भइरहेको र यसमा नेपालको समेत सहभागिता रहँदै आएको छ ।
वातावरण संरक्षणका लागि ब्यापक सचेतना र जागरमूलक अभियान सञ्चालन गर्नुपर्छ : मन्त्री शर्मा
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले वातावरण संरक्षणका लागि ब्यापक सचेतना र जागरमूलक अभियान सञ्चालनमा जोड दिएकी छिन् । विश्व वातावरण दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै मन्त्री शर्माले वातावरण संरक्षणमा सञ्चार तथा सूचना प्रविधि क्षेत्रको भूमिका बढाउनुपर्नेमा पनि जोड दिए । ‘विश्वब्यापीरुपमा बढ्दै गएको वातावरण प्रदूषणको चुनौती कम वातावरणसम्बन्धी सचेतना र जागरण निकै महत्वपूर्ण पक्ष हो, यसका लागि आम सञ्चार क्षेत्रलगायत सबैको प्रभावकारी भूमिका आवश्यक छ’– शुभकामना सन्देशमा भनिएको छ– ‘वातावरण संरक्षणलाई निरन्तर सचेतनामूलक अभियानको रुपमा अघि बढाउन र यसमा सञ्चार तथा सूचना प्रविधि क्षेत्रको अत्यधिक परिचालनमा जोड दिन पनि म सबै पक्षसँग आव्हान गर्दछु ।’ यो वर्ष विश्वब्यापी र नेपालमा पनि प्लाष्टिकजन्य प्रदूषण निमूलको सन्देशसहित वातावरण दिवस मनाइदै गरेको उल्लेख गर्दै उनले प्राष्टिकजन्य वस्तुको प्रयोग नेपालसहित विश्वब्यापीरुपमा ठूलो समस्याको रुपमा देखिदै आएको बताइन । ‘प्लाष्टिकजन्य प्रदूषण कम गर्नको लागि यसको प्रयोग घटाउने, पुनः प्रयोग गर्ने, अस्वीकार गर्ने, हटाउने, पुनः उत्पादन गर्नेलगायतका विभिन्न विधिहरु प्रयोग हुँदै आएका छन्’– सन्देशमा भनिएको छ– ‘मुख्य कुरा आम नागरिकले प्लाष्टिकजन्य वस्तु प्रयोगको लत कम गनुपर्ने आवश्यकता छ । यसका लागि प्लाष्टिकजन्य वस्तुको प्रयोगबाट हुने हानी र त्यसबाट बच्ने उपायसम्बन्धी ब्यापक जनचेतना जागृत गनुपर्ने आवश्यकता छ ।’ नेपालको संविधानले स्वच्छ वातावरणको हकलाई मौलिक हककै रुपमा स्थापित गरेको उल्लेख गर्दै उनले प्रत्येक व्यक्तिको स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई प्रभावकारीरुपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पारिन। वातावरण संरक्षणका लागि सरकारले विद्यालय स्तरमा पाठ्यपुस्तक, सञ्चार माध्यमबाट चेतनामूलक सामग्री प्रचारप्रसार आदिमा जोड दिंदै आएको स्मरण गराउँदै सबै तहका सरकार, गैरसरकारी तथा निजी क्षेत्र र समुदायस्तरमा पनि वातावरणसम्बन्धी जनचेतना वृद्धिका कार्यक्रम आवश्यक रहेको बताइन ।
भुटानी शरणार्थी प्रकरण : आज पनि थुनछेक बहस जारी रहने
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा आज थुनछेक बहसको दोस्रो दिन। काठमाडौं जिल्ला अदालतमा आइतबारदेखि सुरु भएको थुनछेक बहस आज पनि जारी रहने भएको हो। न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा सुरु भएको बहसको पहिलो दिन सरकारी वकिलका कार्यालयका दुई जना वकिलले मात्रै बहस गरेका थिए। पूर्व उपप्रधान मन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाण, निलम्बित सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राईलगायतलाई अदालतमा उपस्थित गराएर सरकारी वकिलले थुनछेक बहस गरेका थिए। थुनछेक बहस जेठ ३१ गतेसम्म जारी रहने र यसपछि पुर्पक्षका लागि थुनामा पठाउने कि नपठाउने भन्नेबारेमा आदेश हुनेछ।
भ्रष्टाचारको प्रभावकारी नियन्त्रणसँगै समृद्ध देश बनाउनुपर्छ : गृहमन्त्री श्रेष्ठ
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारको प्रभावकारी नियन्त्रणसँगै समृद्ध देश बनाउनुपर्ने बताएका छन् । ललितपुर महानगरपालिका वडा नम्बर २१ मा आज रुदायणी देवीको १२ वर्षे मेलाको अवसरमा आयोजित देवगणहरुको स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले समृद्धिको प्रतिफल आम जनताले पाउने गरी सामाजिक न्यायसहितको समृद्धि हासिल गर्नु सरकारको उद्देश्य रहेको बताए । गृहमन्त्री श्रेष्ठले भने, “बहुजातीय, बहुधार्मिक, बहुभाषिक, बहुसांस्कृतिक सुन्दर समाज जो स्वाधिन, लोकतान्त्रिक छ, यो समुन्नत समृद्ध देश पनि हुन्छ। देशका जनताले आफ्ना मौलिक पहिचान र संस्कृतिसहित आफ्नै देशमा राम्रो जीवन गुजार्ने वातावरण निर्माण हुन्छ। यसका निम्ति संस्कृतिको रक्षा गर्न हामीले हाम्रै देशमा युवाले श्रम सिञ्चित गर्ने वातावरण बनाउनुपर्छ।” उनले भ्रष्टाचारको विकृति बढ्दै गएको बताए । उनले भने, “राम्रो संस्कृति एकातिर छ भने अरु–अरु संस्कृतिले पनि गाँज्न थालेको छ, भ्रष्टाचारको संस्कृतिले। पहिला भ्रष्टाचारको संस्कृति थिएन। शंखध्वर साख्वाले सारा ऋणीको ऋण मोचन गर्न आफ्ना सम्पत्ति वितरण गरेर महान् काम गर्नुभयो। त्यस्ता महान् संस्कृति यो समुदायमा रही आएको छ। तर, विस्तारै सद्भाव, एकताको, सामूहिकता, न्यायको संस्कृति लोप हुँदै जाने र व्यक्तिवाद र भ्रष्टाचारको संस्कृति पनि हाबी हुँदै गएको छ।” भ्रष्टाचारको यो संस्कृति अन्त्य गर्नुपर्ने उनको भनाइ छ।
पाल्पामा बोलेरो जीप दुर्घटना तीन जनाको मृत्यु, १२ जना घाइते
पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–८, सत्यवतीस्थित केवरेडाँडामा बोलेरो जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। आज साँझ रुपन्देहीको सालझण्डीदेखि अर्घाखाँचीतर्फ गइरहेको लु १ च ९०२४ नम्बरको जीप दुर्घटना भएको हो। जीप साँझ साढे ५ बजेतिर दुर्घटनामा परेको स्थानीय दिलबहादुर गाहाले जानकारी दिए । मृतक दुई महिला र एक पुरुष छन्। घाइतेलाई उपचारको लागि बुटवलतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । दुर्घटनाको कारण खुलेको छैन।

