प्रधानमन्त्री प्रचण्ड भेट्न काठमाडौंका मेयर बालेन बालुवाटारमा
काठमाडौं । काठमाण्डौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई भेट्न बालुवाटार पुगेका छन् ।
आज (सोमबार) बिहान मेयर बालेन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्रीलाई भेटेका हुन् ।
अमेरिकी उपविदेश मन्त्री नुल्यान्ड काठमाडौंमा, भोलि राजनीतिक भेटघाट गर्ने
काठमाडौं । अमेरिकाकी राजनीतिक मामिलासम्बन्धी उपविदेश मन्त्री भिक्टोरिया नुल्यान्ड काठमाडौं आइपुगेकी छन्। दुई दिने भ्रमणका लागि उनी आइतबार साँझ काठमाडौं आएकी हुन्। काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार न्युल्यान्डले सोमबार बिहानदेखि राजनीतिक भेटवार्ता गर्नेछिन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, परराष्ट्र मन्त्री विमला राई पौड्याल लगायतसँग भेटवार्ता गर्नेछिन्। ३३ वर्षदेखि अमेरिकी कूटनीतिज्ञ रहेकी उपविदेश मन्त्री नुल्यान्डले राष्ट्रपति बाइडेन, ओबामा र बुस नेतृत्वका सरकारहरूअन्तर्गत थुप्रै उच्च पदहरू सम्हालेकी छन्। ‘नेपाल भ्रमणको क्रममा उहाँले सरकारका नेतृत्वकर्ताहरूसँग भेटघाट गरी दुई देशबिचको बलियो दौत्य सम्बन्धमाथि जोड दिनुहुनेछ। साथै उहाँले नेपालको अनुपम सांस्कृतिक सम्पदाको अनुभव पनि सँगाल्नुहुनेछ। यस्ता सांस्कृतिक सम्पदालाई सहयोग गर्न पाउँदा हामीलाई गर्व लाग्दै आएको छ,’ काठमाडौंस्थित अमेरिकी दूतावासले भनेको छ।
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा भेट
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भेटघाट भएको छ । प्रधानमन्त्री प्रचण्डलाई भेट्न ओली प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन् । भेटमा समसामयीक राजनीतिका विषयमा दुई नेताबीच छलफल भएको बताइएको छ ।
सरकारी सर्भरमाथि विदेशबाट निरन्तर साइबर आक्रमण
काठमाडौं । सरकारी सर्भरमा विदेशबाट निरन्तर साइबर आक्रमण आइरहेको राष्ट्रिय सूचना प्रविधि केन्द्रले जनाएको छ। शनिबारदेखि सर्भरमा भएको साइबर आक्रमण अझै भइरहेको केन्द्रले जनाएको हो। शनिबार विभिन्न ठाउँबाट सरकारी सर्भरमा आक्रमण हुँदा त्रिभुवन विमानस्थलसहित सरकारी वेबसाइटहरु डाउन भएका थिए। सरकारी निकायहरुलाई सर्भर उपलब्ध गराउँदै आएको राष्ट्रिय सूचना प्रविधि केन्द्रले एकै पटक धेरै ठाउँबाट आक्रमण भएकाले रोक्न नसकिएको जनाएको छ।
एकल महिलाको माग र मुद्धा सम्बोधन गर्न सामाजिक चेतना र जागरण जरूरी छ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्वको सरकारले एकल महिलाका माग र मुद्धाहरू सम्वोधन गर्ने बताउँदै सामाजिक चेतना र जागरण जरूरी भएको बताएका छन्। आइतबार दिउँसो मानव अधिकारका लागि महिला एकल महिला समूहद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले भने, “तपाईहरूको यो कार्यक्रम अरु कार्यभन्दा पृथक र मौलिक लाग्यो। यहाँ तपाईहरूले एकल महिलाका हकअधिकारका पक्षमा जे–जति मुद्दा उठाउनुभएको छ। त्यसलाई सम्वोधन गर्ने मेरो प्रयास हुनेछ।” प्रधानमन्त्रीले थपे, “संविधानमा नै व्यवस्था गरेर एकल महिलाका लागि कोटा छुट्टाउनुपर्ने माग तपाईहरूले राख्नुभएको छ। यो न्यायोचित माग नै हो। यसका लागि हामी छलफल गर्नेछौँ। एकल महिलाको सामाजिक सुरक्षाबारे तपाईहरूले जे–जति प्रश्न उठाउनुभएको छ, ती गम्भीर प्रकृतिका छन्। तिनीहरू सम्वोधन गरिनेछ।” २७ वर्षको अवधिमा एकल महिला समूहले प्राप्त गरेको उपलब्धि र ख्यातिको प्रधानमन्त्रीले प्रशंसा गरे। प्रधानमन्त्री प्रचण्डले भने, “२७ वर्षको अवधिमा तपाईहरूले प्राप्त गरेको उपलब्धि, एकल महिलाहरूको एकता र सहकार्यका निम्ति गरेको प्रयास र अन्तर्राष्ट्रियस्तरबाट प्राप्त गरेको ख्याति र सम्मानको म उच्च प्रशंसा गर्दछु।” “महिला अधिकारका लागि नेपालमा ठूलो बलिदानी भयो। हजारौं महिलाहरूले मुक्ति र परिवर्तनका निम्ति संघर्ष गर्नुभयो” प्रधानमन्त्रीले भने, “गरीब, पिछडिएका महिलाहरूले आफ्नो पहिचान, अधिकार र मुक्तिका निम्ति गरेको संघर्षकै कारण समाज र राजनीति यहाँसम्म आएको छ। उनीहरूले संघर्ष नगरेको भए, बलिदानीको उच्च कीर्तिमानी नराखेको भए, रगत नबगाएको भए हामी यहाँसम्म आउने थिएनौँ।” “महिलाहरूको सहभागीता र भूमिकाबिना संसारमा कहिँ पनि परिवर्तन भएको छैन” उनले भने, “महिलाहरूकै संघर्षका कारण आज राज्यका सबै अंगमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित भएको छ। स्थानीय तहदेखि केन्द्रसम्म प्रतिनिधित्व छ। अझै यो पर्याप्त छैन। पुरूषसरह महिलाका हकअधिकार स्थापित गर्न थप प्रयत्न आवश्यक छ।” प्रधानमन्त्रीले भने “कानुनमा हामीले प्रगतिशील व्यवस्था गरेका छौँ। तर, त्यसको प्रभावकारी कार्यान्वयनमा अहिले पनि चुनौती छ। हाम्रो समाज र संस्कृतिमा रूपान्तरण ल्याएर मात्र यसको प्रभावकारी कार्यान्वयन गर्न सकिन्छ। त्यसका लागि सामाजिक जागरणको अभियान जरुरी छ।”
आर्थिक अवस्था सुधार्न, भुराजनीतिक दबाब चिर्न कांग्रेस-कम्युनिष्ट एक बनौँ : रामचन्द्र पौडेल
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद रामचन्द्र पौडेलले कमसल आर्थिक अवस्था, भूराजनीतिक दबाब चिर्न र शान्ति प्रक्रियालाई पूर्णता दिन कांग्रेस कम्युनिष्ट एक ठाउँ हुनुपर्ने बताएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा उनले तीन कारणले राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको उल्लेख उल्लेख गरे । “मैले सहमतिको कुुरा गर्दै आएँ । अहिलेको कुरा होइन, मैले सहमतिको कुरा गर्दा आफ्नो स्वार्थका लागि खोजेको भन्ने अर्थ लाग्ला । तर, म पहिलोदेखि नै यसको पक्षमा हुँ,” उनले भने, “तीन कारणले राष्ट्रिय सहमति आवश्यक छ । कमसल आर्थिक अवस्था, दोस्रो– भूराजनीतिक दबाब र शान्ति प्रक्रियालाई पूर्णता दिन ।” नेता पौडेलले थपे, “अहिले नेपाली आकाशमाथि नयाँ किसिमको शीतयुद्ध मडारिएको छ । हिजो युरोपमा यस्तो शीतयुद्ध मडारिएको थियो । अहिले हाम्रो हिमालमा मडारिएको छ । शान्ति प्रक्रिया अझै पूर्ण भएको छैन । १२ वर्षे द्वन्द्वले घाउपरेको छ । चोट लागेको छ । यसलाई पूरा गर्नु हाम्रो कर्तव्य हो । देशमा सुशासनभन्दा कुशासन छ । त्यसकारण राष्ट्रिय सहमति आवश्यक छ ।” पौडेलले आफूले जोडबल गरिरहेको राष्ट्रिय सहमतिको विषय आफ्नो स्वार्थसँग नजोडिने बताए। व्यवस्थामाथि असन्तुष्टिको घण्टी बजेको भन्दै उनले यसलाई मत्थर पार्न नेतृत्वको अभाव भएको बताए । राष्ट्रिय नेतृत्व र आत्मविश्वासको अभाव भएको भन्दै निष्ठाको राजनीति किनारा लागेको उनले उल्लेख गरे । सांसद पौडेलले देशमा अनुदान आउन नसकेको र ऋणको भार थपिएको भन्दै आफूले अमेरिकी सहयोग अनुदानको सम्मान र समर्थन गरेको बताए । उनले निर्मम भएर खर्च कटौतीमा लाग्नुपर्नेमा जोड दिए । यसका लागि कांग्रेस–कम्युनिस्ट एक हुनुको विकल्प नभएको भनाइ उनको थियो । “यो संविधान फ्याँक्न अनेक प्रयत्न भएको छ । यो व्यवस्था बचाउन र संविधान बचाउन कांग्रेस र कम्युनिस्ट एक ठाउँमा हुने किन नहुने ?” उनले भने, “अराजकता र अस्थिरता बचाउने कि नबचाउने रु अति दलबन्दी र पूर्वाग्रहबाट लोकतन्त्र जकडिएको अवस्थामा छ । भित्री र बाहिर सत्ताको खेलबाट लोकतन्त्र खतरामा छ । हामी देश बनाउन एक ठाउँमा जुटौँ । आकाशबाट निराशाको बादल हटाउन एक बनौँ ।”
प्रतिनिधिसभा बैठक सुरु,सांसदहरुको जिम्मेवारी हेरफेर
काठमाडौं । संघीय संसद् अन्तर्गत मंगलबार बसेको प्रतिनिधि सभा बैठकले सभामुख र उपसभामुखको अनुपस्थितमा बैठकको अध्यक्षता गर्ने सांसदहरुको नाम हेरफेर गरेको छ । हेरफेर भएका नामहरु बैठकको सुरुवातमै सभामुख देवराज घिमिरेले पढेर सुनाएका थिए । हेरफेर गरिएको जिम्मेवारीअनुसार सभामुख देवराज घिमिरेको स्थानमा कृष्णगोपाल श्रेष्ठ र सुशिला श्रीपाली ठकुरीको स्थानमा विमला सुवेदीले भूमिका निर्वाह गर्ने भएका छन् । त्यस्तै, आजको बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन गरिएको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सो प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । २१ सदस्यीय समितिमा सांसदहरु अनिता देवी, डाक्टर अमरेशकुमार सिंह, गंगाधर चौंधरी, चित्रबहादुर केसी, जीवन परियार, दिलेन्द्रप्रसाद बडु, नागिना यादव, प्रकाश ज्वाला, प्रदिप यादव, प्रेम सुवाल, महेशप्रसाद गर्तौला, रमेश लेखक, लिलानाथ श्रेष्ठ, विद्या भट्टराई, शक्तिबहादुर बस्नेत, सर्वेन्द्रनाथ शुक्ला, सिता गुरुङ, सुवाषचन्द्र नेम्वाङ, सोभिता गौतम, हितराज पाण्डे र ज्ञानेन्द्रबहादुर शाही रहेका छन् । समितिले १५ दिन भित्र सो मस्यौदा तयार पारी प्रतिनिधिसभा बैठकमा पेश गर्ने कार्यादेश दिइएको प्रस्तावका प्रस्ताव सांसद देवेन्द्र पौडेलले जानकारी दिए। नेपालको संविधानको धारा १०४ को उपधारा १ बमोजिम प्रतिनिधिसभाले आफ्नो कार्य संचालन गर्न, बैठकको सुव्यवस्था कायम गर्न र समिति गठन, कारबाही र प्रतिनिधिसभा समितिको कार्यविधि नियमित गर्न र प्रतिनिधिसभाको अन्य कार्यमा सहजता ल्याउन आवश्यक भएकाले सो मस्यौदा समिति गठन गरिएको हो । संसद् बैठक अहिले जारी छ ।
गण्डकीका मुख्यमन्त्री अधिकारीले भेट प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीबीच भेटवार्ता भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उनीहरुबीच मंगलबार बिहान भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। भेटमा गण्डकी प्रदेशमा मन्त्रिपरिषद् बिस्तार र जिम्मेवारी बाँडफाटका विषयमा छलफल भएको हो । प्रदेश सरकार छरितो र मितव्ययी बनाउने साथै प्रदेशलाई प्रभावकारी र बलियो बनाउने विषयमा पनि छलफल भएको स्रोतले बतायो ।
संक्रमणकालदेखि वर्तमानसम्म सशस्त्र प्रहरीको भूमिका प्रशसंनीय : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक संक्रमणकालदेखि वर्तमानसम्म सशस्त्र प्रहरी बलले खेलेको भूमिका प्रशसंनीय रहेको बताएका छन् । सशस्त्र प्रहरीद्धारा २२ औं सशस्त्र प्रहरी दिवस – २०७९ का अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले २०६४ सालको निर्वाचनमा नेतृत्वदायी भूमिकाका साथै २०७०, २०७४, २०७९ मा सम्पन्न निर्वाचनहरू शान्तिपूर्ण, निष्पक्ष, भयरहित एवं कुशलतापूर्वक सम्पन्न गर्न महत्वपूर्ण भूमिका खेलेको भन्दै सकल दर्जाका सशस्त्र प्रहरी राष्ट्रसेवकहरूप्रति नेपाल सरकारको तर्फबाट आभार व्यक्त गरे । २०७२ सालको विनाशकारी महाभूकम्प लगायत विभिन्न समयमा घटेका प्राकृतिक तथा मानवसिर्जित विपदमा तपाईहरूले आफ्नो ज्यानको प्रवाह नगरी बहादुरीपूर्वक खटिएर जनताको जीवन रक्षाका लागि कर्तव्यनिष्ठ भएर सशस्त्र प्रहरीले काम गरेको प्रधानमन्त्रीले बताए । उनले सीमित साधनस्रोत र चुनौतीकाबीच सुरक्षा र विपद् व्यवस्थाका क्षेत्रमा सशस्त्रको क्रियाशीलता र सकारात्मक रहेको भन्दै प्रशंसा गरे । नेपालको सीमा सुरक्षार्थ (सिमा सुरक्षा बल) फौजको रूपमा हिमालदेखि तराईसम्मका कठिन भौगोलिक तथा वातावरणीय प्रतिकूलता तथा सीमित पूर्वाधारका वावजुद राष्ट्रसेवाको भावनासहित परिचालित भएको भन्दै प्रधानमन्त्री प्रचण्डले सशस्त्र प्रहरीका जवान तथा अधिकृतहरूलाई धन्यवाद दिए । साथै, उनले नेपालको सीमा सुरक्षार्थ उत्तर–दक्षिण, पूर्व–पश्चिम सबैतिर परिचालन गर्न, त्यसका लागि आवश्यक साधनस्रोत, सीप तालिम र प्रोत्साहनको व्यवस्था गर्ने प्रतिबद्धता जनाए ।
राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा मीनबहादुर श्रेष्ठ
काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा मीनबहादुर श्रेष्ठलाई नियुक्त गरेको छ। पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले आयोगको नेतृत्वमा श्रेष्ठलाई ल्याउने निर्णय गरेको हो।
राष्ट्रपतिमा उमेदवारी दिने कांग्रेस पदाधिकारी बैठकको निर्णय
काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रपतिमा उमेदवारी दिने निर्णय गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा आज बिहान बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले सो निर्णय गरेको हो । “नेपाली कांग्रेसको पदाधिकारी बैठकबाट राष्ट्रपतिमा उमेदवारी दिने निर्णय भयो,” कांग्रेसका पूर्वमहामन्त्री डा।शशांक कोइरालाले भने, “उमेदवारी दिनुपूर्व हामी अरू दलसँग छलफल गर्छौं । तर, उमेदवारी भने दिन्छौँ ।”
देउवाले बोलाए पदाधिकारी बैठक, नेविसंघलाई पूर्णता दिने तयारी
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन्। सोमबार बिहान ९ः३० बजे निवास धुम्बाराहीमा बस्ने गरी सभापति देउवाले पदाधिकारी बैठक बोलाएका हुन्। कांग्रेसमा १३ जना पदाधिकारी छन्, कोषाध्यक्ष अझै मनोनीत भएका छैनन्। पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न पदाधिकारी बैठक बोलाइएको बताए । कांग्रेसले नेविसंघलगायत भ्रातृ संस्थालाई पूर्णता दिने गृहकार्य गरेको छ। स्ववियु चुनाव चैतमा हुने भएकोले नेविसंघलाई पूर्णता दिने तयारी गरिएको हो। यस्तै सभापति देउवाले अब बस्ने केन्द्रीय समिति बैठक तयारीलगायत विषयमा पनि कुराकानी गर्ने तयारी गरेका छन्। माघ १५ गते कांग्रेस केन्द्रीय समिति बैठक बस्दैछ। उक्त बैठकमा चुनावी समीक्षालगायत विभिन्न विषयमा छलफल हुनेछ। नेता शेखर कोइराला पक्षले आइतबार बत्तिसपुतलीमा भेला गर्दै गठबन्धनलाई निरन्तरता दिन नसकेकोमा सभापति देउवाको आलोचना गरेका थिए। साथै प्रधानमन्त्रीमा प्रचण्डलाई विश्वासको मत दिनु गल्ती भएको उनीहरूको निष्कर्ष थियो। सभापति देउवाले महाधिवेशन सकिएको छ महिनाभित्र गठन गरिसक्नुपर्ने विभागलगायत पनि गठन गरेका छैनन्। विभाग गठन गर्न संस्थापनइतर समूहले आग्रह गर्दै आएको छ।
प्रधानमन्त्री प्रचण्ड र सभामुख देवराज घिमिरेबीच बालुवाटारमा भेट
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संघिय संसदका सभामुख देवराज घिमिरेबीच भेटघाट भएको छ । आज (सोमबार) बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेट भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटमा आगामी संसद बैठक तथा समसामयिक राजनीतिबारे छलफल भएको बताइएको छ । सभामुख निर्वाचित भएपछि प्रधानमन्त्री प्रचण्डसँगको यो पहिलो औपचारिक भेट हो।
पश्चिमी निम्न चापीय प्रभाव : आजदेखि वर्षाको सम्भावना
काठमाडौं । आज साँझबाट नेपालको पश्चिमी क्षेत्रमा वर्षा सुरू हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले देशमा मौसमी प्रणाली सक्रिय नरहे पनि आज साँझबाट देशको सुदूरपश्चिम हुँदै पश्चिमी निम्न चापीय प्रणाली नेपाल प्रवेश गर्ने महाशाखाले जनाएको छ । जसको प्रभावले सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका साथै लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। यो प्रणाली काठमाडौं उपत्यका आसपास आउन भने केही समय नै लाग्ने छ । हाल काठमाडौं उपत्यकाको मौसम हिजो अस्तीको भन्दा केही सफा देखिएको छ। आजको भिजिविलिटी ५ किलिमिटरसम्म रहेको उनले जानकारी दिए। बिहान ७ बजेको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस मापन गरिएको छ। मंगलबार र बुधबार पनि सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका थोरै भूभागमा हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ। हल्का वर्षा र हिमपातको साथै तराईका केही भू-भागहरूमा हुस्सुरकुहिरो लागेर दैनिक जनजीवन प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
विश्वासको मत लिनु अगावै न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने तयारीमा सरकार
काठमाडौं । सत्ता सत्ता साझेदार दलले सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेका छन् । केही दिन अघि अर्थमन्त्री एवं एमाले उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा सरकारको न्यूनतम साझा कार्यक्रमको ड्राफ्ट तयार गर्न समिति बनेको थियो । सो कार्यदलले तयार गरेको न्यूनतम साझा कार्यक्रम केही दिनमै सार्वजनिक गर्ने तयारी भइरहेको कार्यदलका एक सदस्यले जानकारी दिए । आज कार्यदलको बैठक बस्ने र केही दिनमै सार्वजनिक गर्ने तयारी भइरहेको हो । प्रधानमन्त्रीले विश्वासको मत लिनुअघि नै न्यूनतम साझा कार्यक्रम ल्याउने गरि तयारी भइरहेको र अन्तिम चरणमा पुगिसकेको जनाइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस २६ गते विश्वासको मत लिनेछन् । उक्त विश्वासको मत लिनुअघि नै न्यूनतम साझा कार्यक्रम ल्याउन लागिएको हो । न्यूनतम साझा कार्यक्रममा अर्थतन्त्रमा पछिल्लो समय देखिएको समस्या, रोजगारी सिर्जना, पूर्वाधार विकास लगायतका कार्यक्रमलाई प्राथमिकता दिइएको जनाइएको छ । यो कार्यक्रमको उदेश्य सात राजनीतिक दलको सरकार भएकोले सरकार सञ्चालनमा कुनै व्यवधान नहोस् भन्ने हो । र, सबै दलले सरकारको काम कारवाहीमा अपनत्व लिन सकुन भन्ने द्येयले यसको अवधारणा ल्याइएको हो । वर्तमान सत्ता गठबन्धनमा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, राप्रपा, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टी रहेका छन् । सरकारको न्यूनतम साझा कार्यक्रम तयार गर्न बनेको समिति सदस्यमा भने माओवादीका तर्फबाट वर्षामान पुन, राप्रपाबाट डाक्टर धवलशम्शेर जबरा र राष्ट्रिय स्वतन्त्र पार्टीबाट डाक्टर मुकुल ढकाल सदस्य रहेका छन्। सत्ता साझेदार दलहरुको राय सुझावका आधारमा कार्यदलले न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिनेछन् ।
पाँचथरको फिदिममा आगलागी, दुईको मृत्यु
काठमाडौं । पाँचथर जिल्लाको फिदिम नगरपालिका –८ घुमाउनेटारमा आगलागीमा परेर दुई जनाको मृत्यु भएको । त्यस्तै दुईजना घाइते भएका छन् । मंगलबार राति स्थानीय मेघबहादुर गुरुङको घरमा आगलागी हुँदा दुईको मृत्यु भएको हो । मृत्यु हुनेमा मेघराजका २२ वर्षीया छोरी ममता गुरुङ र बुहारी २३ वर्षीया आसाङसिं थेवे रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । त्यस्तै घाइते हुनेमा मेघबहादुर र उनका छोरा वीरेन्द्र रहेका छन् । उनीहरुको अवस्था सामान्य छ । प्रहरीका अनुसार विद्युत सट हुँदा आगलागी भएको हो । आगलागीबाट मेघबहादुरको घर पूर्णरुपमा नष्ट भएको छ । आगलागीबाट करिब ५० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

