बालुवाटारमा आज पनि ओली-प्रचण्डबीच भेटवार्ता

काठमाडौं : प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डबीच आज पनि भेटवार्ता सुरु भएको छ ।

पार्टीभित्र देखिएका विवाद समाधानका लागि प्रधानमन्त्रीसँग छलफल गर्न प्रचण्ड बालुवाटार पुगेका हुन् ।

शनिबार २ अध्यक्षबीचमा मंसिरमा अर्ली महाधिवेशन गर्ने सहमति भएको थियो । प्रधानमन्त्री ओलीले शनिबारको सचिवालय बैठकमा अर्ली महाधिवेशन मंसिरमा गर्ने प्रस्ताव गरेका थिए। प्रधानमन्त्रीको प्रस्तावलाई प्रचण्डले पनि साथ दिएका थिए।

बैठकमा दुई अध्यक्षको चोचोमोचो नमान्ने भन्दै वरिष्ठ नेता माधवकुमार नेपालले विरोध गरेका थिए ।

भान्जा अपहरण गरी हत्या, १३ वर्षपछि पक्राउ

काठमाडौं : आफ्नै भान्जालाई अपहरण गरी हत्या गरेको आरोप लागेका १ जना १३ वर्षपछि पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-२२ खिचापोखरी बस्दै आएका ११ वर्षीय भान्जा रोहित गुप्तालाई उनकै मामा ४५ वर्षीय राजेशकुमार गुप्तासहितले अपहरण गरी २०६४ सालमा हत्या गरेका थिए । रोहितको स्थायी घर भारतको बिहार प्रान्तस्थित मुझफरपुर जिल्ला हो । भान्जाको हत्या भएको केही समयपछि फरार रहेका राजेशकुमारलाई शनिबार महानगरीय अपराध महाशाखा काठमाडौंको टोलीले सर्लाहीको मलंगवा ८ गोरखकालीबाट पक्राउ गरेको हो । त्यसबेला भान्जा रोहितलाई अपहरण गरी उनका बाबु बासुदेव गुप्तासँग राजेशकुमार र उनका साथी धादिङका विष्णु सुनारले फोन गर्दै २ लाख ५० हजार फिरौती रकम मागेका थिए । फिरौती रकम नपाएपछि उनीहरूले खिचापोखरीस्थित भाडामा लिइएको कोठामा रोहितको हत्या गरी कमलादीस्थित सडकपेटीमा बोराभित्र राखेर फ्याँकिदिएका थिए ।

कञ्चनपुरमा २ महिनामै भाँसियो ४९ लाखको सडक

कञ्चनपुर : दैजी छेला औद्योगिक क्षेत्र जोड्ने पहुँच मार्ग निर्माण गरिएको २ महिनामै भत्किएको छ । बेदकोट नगरपालिकाले बसन्तथालामा ४९ लाख खर्च गरी निर्माण गरेको बाटो निर्माण गरिएको दैजी छेला औद्योगिक क्षेत्र जोड्ने पहुँच मार्ग २ महिनामै भासिएको हो । निर्माण कम्पनीले मापदण्ड विपरीत पहुँच मार्ग निर्माण गरेकाले सडक भासिएको स्थानीय पारस जोशीले बताए । उनका अनुसार दैजी छेला औद्योगिक क्षेत्र जोड्ने पहुँच मार्ग जेठमा निर्माण गरिएको थियो । ‘निर्माण कम्पनीको कारण सडक भासिएको हो,’ उनले भने, ‘उक्त सडक ठाउँठाउँमा भासिएको छ ।’ बेदकोट निर्माण सेवाले निर्माण गरेको पहुँच मार्ग २/३ ठाउँमा भासिएको उनी बताउँछन् । ‘केही दिनअघि परेको वर्षाले पहुँच मार्ग भासिएको थियो,’ उनले भने, ‘ठेकेदार, जनप्रतिनिधि र प्राविधिकको मिलेमतोमा सडक तथा पहुँच मार्ग स्टिमेट विपरीत निर्माण गरिएको छ ।’ भासिएको ठाउँमा तटबन्ध नगरिए पानी परेपछि थप सडक भासिने उनी बताउँछन् । ‘भासिएको सडक छेउमा तटबन्ध गर्नुपर्ने देखिन्छ,’ उनले भने, ‘समयमै तटबन्ध नगरे सरकारको लाखौं लगानी खेर जान्छ ।’ बेदकोट नगरपालिकाका-२ का वडाध्यक्ष नरेश सिंह पनि दैजी छेला औद्योगिक क्षेत्र जोड्ने पहुँच मार्गको पथरिया खोला नजिक सडक भासिएको बताउँछन् । ‘त्यो ठाउँमा खेतहरुबाट आएको पानी खोला जान्थ्यो, त्यहाँ ठूलो खाल्डो थियो,’ उनले भने, ‘त्यो स्थानमा सडक निर्माण गर्दा तटबन्ध गरिनु पथ्र्यो, तर राखिएन त्यसैले सडक भासिएको हो ।’ इन्जिनियरले सडकको इस्मेट बनाउँदा तटबन्ध राख्नुपर्ने भएपनि छुटाएकाले सडक भासिएको सिंहको भनाई छ । ‘इन्जिनियरले स्टिमेट बनाउँदा तटबन्ध राख्न छुटाएछ, त्यसैले भासियो,’ उनले भने, ‘निर्माण व्यवसायीले त स्टिमेट अनुसार नै काम गरेको छ ।’ निर्माण सम्पन्न भएको १ वर्षसम्म सडक भासिएमा मर्मत गर्ने जिम्मेवारी ठेकेदारको हुने बताउँदै वडाध्यक्ष सिंहले ठेकेदारलाई सडक मर्मत गर्न लगाइने बताए । ‘निर्माण व्यवसायीलाई भासिएको सडक मर्मत गर्न भनेका छौं,’ उनले भने, ‘निर्माण व्यवसायीले केही दिनमै भासिएको ठाउँमा सडक मर्मत गर्ने बताएको छ ।’ इन्जिनियरले पहुँच मार्गको स्टिमेट बनाउँदा छुटाएको गरेको बेदकोट नगरपालिकाका सवइन्जिनियर नरेन्द्र बोहराले बताए । पहुँच मार्गको पथरिया खोला नजिकको खाल्डोमा नयाँ भरान भएकोले सडक भासिएको उनी बताउँछन् । नगरपालिकाले २ किलोमिटर सडक कालापेत्र गर्नका लागि १ करोड रुपैयाँको लागत अनुमान गरेको दैजी-छेला औद्योगिक क्षेत्र जोड्ने पहुँच मार्ग निर्माण गर्न बेदकोट निर्माण सेवाले घटाघटीमा ४९ लाख रुपैयाँमा ठेक्का लिएको थियो । बेदकोट निर्माण सेवाले दैजी-छेला औद्योगिक क्षेत्र जोड्ने पहुँच मार्गको काम गत जेठ महिनाको अन्तिम साता सम्पन्न गरेको थियो । बेदकोट निर्माण सेवाका सञ्चालक देब चन्दले दैजी छेला औद्योगिक क्षेत्र जोड्ने पहुँच मार्गको एक ठाउँमा मात्रै भासिएको बताए ।

वडाध्यक्षको छोरालाई पक्रन जाँदा प्रहरीमाथि ढुङ्गामुढा

बाजुराः जिल्लाको बूढीगङ्गा नगरपालिका-७ का युवक दिलीप केसीको समूहले शनिबार प्रहरीमाथि ढङ्गामुढा प्रहार गरेको छ। स्थानीय पारस रावतलाई कुटपिट गरेको भनेर पीडितले प्रहरीकहाँ निवेदन दिएका आधारमा बूढीगङ्गा-७ का वडाध्यक्ष भुवन केसीका छोरासमेत रहेका दिलीपलाई प्रहरीले नियन्त्रणमा लिन खोज्दा स्थानीय गाउँलेलाई खबर गरेपछि गाउँमाथिबाट एकाएक प्रहरीमाथि ढुङ्गामुढा प्रहार गरिएको प्रहरी नायब उपरीक्षक टङ्कप्रसाद भट्टराईले बताए। बेतालमाडौँ बजारमा व्यवसाय गर्दै आएका पारस रावतमाथि स्थानीय युवाहरुले कुटपिट गरेको निवेदनका आधारमा प्रहरीले नियन्त्रणमा लिन खोज्दा र दिलीप केसीले ढोका नखोल्दा प्रहरीलाई माथिबाट भएको ढुङ्गामुढाबाट २ प्रहरी जवान घाइते भएको प्रहरी निरीक्षक तथा कार्यालयका प्रवक्ता दानबहादुर रोकायाले जानकारी दिए। घाइते प्रहरी जवानको टाउको र कम्मरमा चोट लागेको छ । ढुङ्गामुढा प्रहारबाट रिठ्ठा प्रहरी चौकीका इन्चार्ज र एक प्रहरी जवान घाइते भएका छन्। घाइते जवान अछामको बयालपाटा अस्पतालमा उपचारपछि चौकी फर्किएका छन्। प्रहरीमाथि ढुङ्गामुढा प्रहार गर्ने केसीसहितका युवालाई प्रहरीले खोजिरहेको छ।

नेकपा स्थायी कमिटी बैठक स्थगित

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ । पार्टीका २ अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीचको सहमति कायम गर्न थप समय लाग्ने भन्दै स्थायी कमिटी बैठक स्थगित भएको हो । आज अपरान्ह ३ बजेकालागि तय गरिएको स्थायी कमिटी बैठक २ दिनपछि सारिएको हो । सचिव ढकालकाअनुसार ६ गते मंगलबार ११ बजे बालुवाटारमा बैठक बस्नेछ । असार १० गतेदेखि शुरुभएको स्थायी कमिटी बैठक २० गतेदेखि निरन्तर स्थगित हुँदैआएको छ । शनिबार बालुवाटारमा बसेको पार्टी सचिवालय बैठकमा २ अध्यक्षले सहमति गरेरै पार्टीको आन्तरिक गतिरोध अन्त्य गर्ने विषयमा एकमत भएपछि सहमतिको प्रयासका लागि पुनः बैठक सारिएको छ ।

बर्दियामा थप १० जनामा कोरोना सङ्क्रमण पुष्टि

बर्दियाः बर्दियाको ठाकुरबाबा नगरपालिकामा थप १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नगरका ४ वडाका क्वरेण्टीन, आइसोलेसनमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी गरी १० जनामा कोरोना संक्रमण पुष्टि भएको नगरपालिकाका प्रशासकीय अधिकृत रामहरि रिजालले जानकारी दिए । नगरपालिका क्षेत्रमा खटिएका १० जनालाई कोरोना सङ्क्रमण पुष्टि भएपछि नगरपालिका कार्यालय र ९ वटै वडा कार्यालयबाट हुने आकस्मिक बाहेक सबै सेवा ३ दिनका लागि बन्द गर्ने निर्णय भएको छ । यस्तै नगरपालिकामा हुने सबै किसिमका सभा, बैठक, भेला, गोष्ठी अर्को सूचना नआउँदासम्मका लागि स्थगित गरेको ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठले जानकारी दिए । अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्कन, बजार क्षेत्रमा ननिस्कन तथा निस्कनै परे अनिवार्य मास्क लगाउन र भौतिक दूरी कायम राख्न नगरपालिकाले आग्रह गरेको छ । सङ्क्रमण पुष्टि भएका सबै जना नगरपालिका क्षेत्रमा खटिएकाहरु हुन् । उनीहरुको पीसीआर परीक्षण गर्दा पोजेटिभ देखिएको हो । सङ्क्रमितहरुको कन्ट्रयाक्ट ट्रेसिङ गर्दा झण्डै १ सय जनाको पीसीआर परीक्षण गर्नु पर्ने देखिएको छ । आइतबार बिहानदेखि नगरपालिका क्षेत्रका जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीको पीसीआर परीक्षण गर्न सुरु गरिएको छ । ठाकुरबाबा नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ को नीति कार्यक्रम तथा बजेट सम्बन्धि जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा जिल्लाका झण्डै १५ जना पत्रकारको सहभागिता रहेको थियो । सङ्क्रमित पुष्टि भएकाको सम्पर्कमा रहेका सहभागी सबै पत्रकारहरुको पनि पीसीआर जाँच गरिने छ । पत्रकारहरु पनि होम क्वरेण्टीनमा बसेका छन् । योसँगै ठाकुरबाबा नगरपालिकमा सङ्क्रमितको संख्या २४ पुगेको छ । जसमध्ये १० जना उपचारपछि घर फर्किसकेका छन् । शनिवार १० जनामा सङ्क्रमढा पुष्टि भएसँगै बर्दियामा कोरोना सङ्क्रमितको संख्या २ सय २० पुगेको छ । १ सय ९२ जना उपचारपछि निको भएका छन् ।

नेपाल एयरलाइन्सका ४ पाईलटसहित १४ कर्मचारीले जिते कोरोना

काठमाडौं  : कोभिड-१९ सङ्क्रमण देखिएका नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) का १४ उडान कर्मचारी सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् । विभिन्न मुलुकमा अलपत्र नेपालीको उद्धार उडानमा खटिँदा कोरोना सङक्रमण देखिएका निगमका ४ पाइलटसहित १४ जना क्याबिन क्रू मेम्बर उपचारपछि घर फर्किएका हुन्। उनीहरू गत शुक्रबार कोरोनामुक्त भएर घर फर्किसकेको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन्। विदेशमा अलपत्र नेपाली स्वदेश फर्काउनका लागि भएको चार्टर्ड उडानमा संलग्न ती कर्मचारीमा गत असार २२ गते पीसीआर रिपोर्ट पोजिटिभ देखिएको थियो । करीब २ सातापछि उनीहरूको पुनः पिसिआर परीक्षण गर्दा नेगेटिभ देखिएपछि आ-आफ्नो घर फर्किएको उनले बताए । कोरोना सङक्रमण देखिएपछि निगमका उडान कर्मचारीलाई सुरुमा बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा २ दिन र ह्याम्स अस्पतालमा ६ दिन राखिएको थियो। देशले खटाएको उद्धार उडानमा साहसिक जिम्मेवारीमा खटिने आफ्ना उडान कर्मचारीप्रति निगमले हार्दिक आभार व्यक्त पनि गरेको छ।

काठमाडौं उपत्यकासहित देशभर घट्दै कोरोना

काठमाडौंः नेपालमा कोरोना भाइरस सङ्क्रमण घट्दै गइरहेको छ । शनिबार नेपालका विभिन्न जिल्लामा थप ५७ व्यक्तिमा मात्रै सङ्क्रमण पुष्टि भएको थियो । जुन जेठको पूर्वार्धपछि पहिलो पटक यति न्यून सङ्ख्यामा सङ्क्रमित फेला परे । त्यसअघि जेठ १२ मा ७७ जनामा सङ्क्रमण पुष्टि भएको थियो । गत असार १९ गते सर्वाधिक ७४० जनामा सङ्क्रमण पुष्टि भएको थियो । त्यसपछि दैनिक पुष्टि हुने सङ्क्रमितको सङ्ख्या घटिरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १७,५०२ रहेको छ । तीमध्ये ११,६३७ जना सङ्क्रमितहरू भाइरसमुक्त भएर घर फर्किएका छन् । र ४० जनाको मृत्यु भएको छ । अहिले सङ्क्रमण भएका कुल ५,८२५ मानिस देशभरि आइसोलेशनमा छन् भने क्वारन्टाइनमा मानिसको सङ्ख्या २३ हजार भन्दा केही बढी मानिसहरू छन् । भारतबाट घर फर्किने मानिसको सङ्ख्या घटेकाले क्वारन्टाइनमा चाप घटेको र परीक्षणको सङ्ख्या स्वतः कम हुँदा सङ्क्रमित व्यक्ति फेला पर्ने क्रम पनि घटेको सरकारको भनाइ छ । काठमाडौं उपत्यकामा पनि कोरोना घटिरहेको छ । विगत केही हप्ता उपत्यकामा संक्रमण बढे पनि एक सातायता संक्रमित घटिरहेका छन् । हालसम्ममा काठमाडौं उपत्यकामा संक्रमितको संख्या ३६९ छ । जसमध्ये काठमाडौंका २४६, ललितपुरमा ७६ र भक्तपुरका ४७ जना रहेका छन् । सोमबारपछि ललितपुरमा संक्रमित भेटिएका छैनन् । शुक्रबार उपत्यकाको भक्तपुरमा २ र काठमाडौंमा १ जनामा कोरोना देखिएको थियो । शनिबार भने उपत्यकामा संक्रमित भेटिएनन् । मन्त्रालयका अनुसार कोरोनाबाट ललितपुरका दुईजना र काठमाडौंका तीनजनाको मृत्यु भइसकेको छ । उपत्यकाका ७१ बढी ठाउँमा संक्रमित भेटिएका छन् । धनकुटा, पाँचथर, भोजपुर, रसुवा, मनाङ, मुस्ताङ र हुम्लामा संक्रमितको संख्या शुन्य छ ।

नेकपा स्थायी कमिटी बैठक एक हप्ता स्थगित

काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आज बस्ने तय भएको स्थायी कमिटीको बैठक एक हप्ताका लागि स्थगित भएको छ । अब बैठक साउन २ गतेसम्म ११ बजे बस्ने तय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बाढी पहिरोका कारण देशका विभिन्न ठाउँमा ठूलो धनजनको क्षति भएको भएको भन्दै पार्टी पंक्तिलाई उद्धार एवं राहतमा लाग्न स्थायी कमिटीको बैठक ७ दिनका स्थगित गरिएको उनले बताए । देशभर भैरहेको अतिबृष्टि र सिन्धुपलाञ्चोक लगायत केही जिल्लाहरुमा जनधनको ठुलो क्षति समेत भईसकेको स्थितिमा सम्पुर्ण पार्टीपंत्तिलाई उद्दार एवं राहातमा लाग्न र आसन्न संभावित क्षतिलाई सकेसम्म रोक्ने कार्यमा लाग्न पार्टी केका को तर्फबाट निर्देशन दिदै स्थायी कमिटीको बैठक ७ दिन स्थगित । — NKShresthaPrakash (@nksthaprakash) July 10, 2020

फेरि पक्राउ परे ‘ज्योतिषी’ अर्जुन क्षेत्री

काठमाडौंः आफूलाई ज्योतिषी बनाउने अर्जुन क्षेत्री फेरि पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालको सह–सचिव हुँ भनेर ठगी गरेको अभियोगमा उनलाई अख्तियार र महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले पक्राउ परेको हो । उनले विद्युत् प्राधिकरणले खरिद गरेका जग्गामा घोटाला भएको भन्दै चार करोड रुपयाँ माग गरेका थिए । बार्गेनिङ क्रममा ५० लाखमा लेनदेन सहमति भइसकेपछिको अवस्थामा क्षेत्री पक्राउ परेका हुन् । ठूलो भूकम्प जाँदैछ भनेर अफवाह फैलाएको आरोपमा उनी २१ जेठ २०७६ मा पनि पक्राउ परेका थिए ।

यी स्थानमा हुनेछ लगातार ३ दिन भारी वर्षा (सूचीसहित)

काठमाडौंः हाल मनसुनी न्युन चापिय रेखा नेपालको तराई भूभाग नजिक रहेको र मध्यम वर्षा भईरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज देशभर भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही सातै प्रदेशका धेरैजसो स्थानहरुमा मेघगर्जन, चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र प्रदेश ५, सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशको एक÷दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ । शनिबार र आइतबार पनि देशका अधिकांश ठाँउमा भारी वर्षाको सम्भावना छ । भारी वर्षाका कारण नदीहरूमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल, पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन विभागले अनुरोध गरेको छ । यस्तै, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जोखिम क्षेत्रका बासिन्दालाई आइतबारसम्म सुरक्षित ठाउँमा बस्न आग्रह गरेको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले कष्ट सहेरै भए पनि आइतबारसम्म नदी किनार क्षेत्र र जोखिम आँकलन गरिएको क्षेत्रमा नबसी सुरक्षित ठाउँमा जान आग्रह गरेका छन् । आगामी तीन दिनको मौसम पूर्वानुमान असार २६ गते (शुक्रबार) दिउँसोः देशभर सामान्य देखि पूर्ण बदली रही सातै प्रदेशका धेरैजसो स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहि थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ । रातीः देशभर सामान्य देखि पूर्ण बदली रही सातै प्रदेशका धेरैजसो स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र प्रदेश ५, सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशको एक/दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ । असार २७ गते (शनिबार) दिउँसोः देशभर सामान्य देखि पूर्ण बदली रही सातै प्रदेशका धेरैजसो स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र प्रदेश ५, सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशको एक/दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ । रातीः देशभर सामान्य देखि पूर्ण बदली रही सातै प्रदेशका धेरैजसो स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र प्रदेश २का थोरै स्थानहरुमा साथै बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशको एक/दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ । असार २८ गते (आइतबार) दिउँसोः देशभर सामान्य देखि पूर्ण बदली रही सातै प्रदेशका धेरैजसो स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र प्रदेश २का थोरै स्थानहरुमा साथै बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशको एक/दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ । रातीः देशभर सामान्य देखि पूर्ण बदली रही सातै प्रदेशका धेरैजसो स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका एक/दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ । आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श : देशका धेरैजसो स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना र सबै प्रदेशका थोरै स्थानहरुमा भारी वर्षा (Heavy Rain) को सम्भावना रहेको हुँदा उक्त प्रदेशका नदीहरुमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।

म्याग्दीमा पहिरोले घर बगाउँदा ७ जना बेपत्ता

फाइल फोटो । बेनीः लगातारको वर्षासँगै पहिरो जाँदा म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङको रिखामा आज बिहान सात जना बेपत्ता भएका छन् । घण्टीवाङ भन्ने ठाउँबाट खसेको पहिरोले दुई परिवारका सात जना बेपत्ता भएका मराङका वडाध्यक्ष राजाराम सुवेदीले जानकारी दिए । उनका अनुसार भीमप्रसाद जुग्जाली र धनबहादुर जुग्जालीको घर पहिरोले बगाएको छ । भीमप्रसादको घरमा चार र धनबहादुरको घरमा तीन जना थिए । भिरालो पाखोमा रहेको घण्टीवाङ गाउँ पहिरोले घेरिएको स्थानीयवासीसमेत रहेका वडासदस्य लोकबहादुर पुनले बताए । माथिल्लो भागमा रहेको घण्टीवाङका १३ परिवार पहिरोले विस्थापित भएको उनले बताए । घण्टीवाङ मुनीको रिखामा छ घरको बसोबास थियो । त्यहाँका चार घर विस्थापित भएका छन् । ‘गाउँबाट बाहिर निस्कने सबै बाटो पहिरोले बगाएको छ’, वडासदस्य पुनले भने, ‘पहिरो खसिरहेकाले हामीहरुको पनि भागाभाग छ ।’ यसैगरी मराङकै कल्लेनीको धारखोलामा आएको बाढीले दुई वटा घर बगाएको छ । वीरबहादुर पुन र परदेवी पुनको घर बगाएको स्थानीय भुवानी पौडेलले जानकारी दिए । घरका मानिसले भागेर ज्यान बचाएका छन् । भाग्ने क्रममा एक जना घाइते भएका छन् । यसैबीच रघुगङ्गा नदीमा आएको बाढीले म्याग्दीको उत्तरी क्षेत्र हँुदै हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकको राहुघाटस्थित बेलिब्रिजसमेत बगाएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले जानकारी दिए । नदीको कटानका कारण बेलिब्रिजको राहुघाटतर्फको जिप भत्काएर बगाएको हो । सो पुल म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर र रघुगङ्गा गाउपालिका–३ राहुघाटको सिमानामा पर्छ । बेलिब्रिज बगाएपछि रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङ जिल्ला सिधा यातायात सम्पर्कविच्छेद भएको छ । गलेश्वरका स्थानीय दीपक कार्की बिखर्चीले ठेकेदारले पक्की पुल बनाउन ढिलाइ गर्दा बेलिब्रिज कटानको जोखिममा परेर बगाएको बताए । बेलिब्रिजको छेउमा पक्की पुल निर्माणको क्रममा छ । पहिरो प्रभावित मराङको रिखा र कल्लेनीमा ताकम, दरवाङ र बेनीबाट प्रहरी टोली पठाइएको प्रहरी नायब उपरीक्षक किरनजङ्ग कुँवरले बताए । प्रहरी टोली घटनास्थल पुगेपछि विस्तृत जानकारी आउने उनको भनाइ छ । रासस जन्मदिन मनाइरहेको घरमा पहिरोः ४ को मृत्यु, ७ घाइते लमजुङमा पहिरोले घर पुर्यो, एकै परिवारका ३ जनाको मृत्यु

खुल्यो सार्वजनिक यातायात, पालना गर्नुपर्नेछ यी ६ नियम

काठमाडौंः लकडाउनका कारण तीन महिना १५ दिन बन्द भएका सार्वजनिक सवारीसाधन शुक्रबारदेखि सञ्चालन हुने भएका छन् । कोरोनाबाट बच्ने स्वास्थ्य सुरक्षाको मापदण्ड पूरा गरेर सवारी सञ्चालन गर्न पाइने सरकारले निर्णय गरेको हो । सरकारको निर्णयअनुसार अब काठमाडौं उपत्यकाबाहेक जिल्लाभित्र सार्वजनिक सवारीसाधन सञ्चालन हुनेछन् । एक जिल्लाबाट अर्को जिल्ला जान भने पाइने छैन । लामो दूरीलाई खुला गरिएको छैन । सार्वजनिक यातायातमा सामाजिक दूरी कायम गर्दा सिट क्षमताको आधा यात्रु चढाउनुपर्ने छ । सिटको एउटा पङ्क्तिमा एक जना मात्र बस्न पाउने छन् । दुवै सिटमा यात्रु राख्न पाइने छैन । यात्रुलाई मास्क अनिवार्य गरिएको छ भने ढोकामा सेनिटाइजर अनिवार्य राख्नुपर्ने छ । चालक र सहचालकले मास्क र पन्जा लगाउनुपर्ने छ । दिनको एकपटक सवारीसाधनलाई निसङ्क्रमण गर्नुपर्ने छ । कोरोना भाइरसको बन्दाबन्दीको अवधि वा सवारीसाधनमा आधा यात्रु चढाउन्जेल ५० प्रतिशत भाडा वृद्धि गरेर लिन पाउने निर्णय भएको छ । सरकारले उपत्यकाभित्र ट्याक्सी सञ्चालन गरेको छ । ट्याक्सीमा चालकसहित तीन जना यात्रु सवार गर्न पाइने र एकै परिवारका सदस्य भए पाँच जना यात्रा गर्न पाइनेछ ।

लमजुङमा पहिरोले घर पुर्यो, एकै परिवारका ३ जनाको मृत्यु

फाइल फोटो । काठमाडौंः लमजुङमा पहिरोले घर पुरिँदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । अविरल बर्षाले बिहीबार राति पहिरो गएर घर पुरिँदा बेसीसहर नगरपालिका– ७ सातबिसेमा बिहीबार २० वर्षीय दीपक तामाङ, २५ वर्षीया बिमाया तामाङ र ८ वर्षीय बालक छेवाङ तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोले उक्त घरमा बस्ने अन्य ३ जना सामान्य घाइते भएका छन् । उनीहरूको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

देशका विभिन्न स्थानमा बाढी पहिरोको जोखिम उच्च, हाइअलर्टमा रहन गृहको निर्देशन

काठमाडौं : नेपालको मध्यभागमा बाढी पहिरोको उच्चजोखिम रहेको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले निस्कर्ष निकालेको छ । सिन्धुपाल्चोकका विभिन्न ठाउँमा गएको बाढी पहिरोले ठूलो जनधनको क्षति भएपछि आकस्मिकरूपमा बसेको बैठकले अझै केही दिन उच्चजोखिम रहेको निष्कर्ष निकालेको हो । प्राधिकरणको बैठकपछि सम्बोधन गर्दै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले जोखिमअनुसार तयारी बढाउन र सुरक्षा निकायलाई हाइअलर्ट (उच्च शतर्कता) मा रहन अनुरोध गरको छन् । यसअघि बसेको प्राधिकरणको बैठकले यो वर्ष ठूलै संकट आउने आकलन गरेको थियो। गृहमन्त्रालयले बुधबार केही दिन उच्चजोखिम रहेको सूचना जारी गरेको थियो। गएराति नै सिन्धुपाल्चोकमा ठूलो क्षति भएको हो। सिन्धुपाल्चोकमा २ जनाको ज्यान गइसकेको छ, २० जना बाढी पहिरोमा हराइरहेका छन्। चार जना घाइते भएका छन्। जेठमा वर्षाले धरातल भिजाइसकेको र आगामी दिनमा ठूलो वर्षा हुने देखिएकाले जोखिम बढि भएको बैठकको निष्कर्ष छ। आगमी तीन चार दिन मध्य तथा पूर्वी भागमा बाढी पहिरोको उच्चजोखिम आँकलन गरिएको छ।

समस्यासँग जुधेर अगाडि बढ्न नवनियुक्त आइजिपी क्षेत्रीको निर्देशन

काठमाडौं : प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले व्यक्तिगत स्वार्थलाई त्यागेर सङ्गठनले अख्तियार गरेको नीति तथा कार्ययोजना कार्यान्वयनमा सक्रियता हुन मातहतका प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् । प्रहरी प्रधान कार्यालयमा आज आयोजित विशेष समारोहमा उनले समस्याबाट भागेर होइन समस्यासँग जुधेर अगाडि बढ्न प्रहरी अधिकृत तथा जवानहरूलाई निर्देशन दिए । प्रहरी महानिरीक्षक क्षेत्रीले वर्तमान अवस्थामा नेपाल प्रहरीसामु रहेका विविध चुनौती समाधानका लागि सबै प्रहरी कर्मचारीहरूलाई पूर्ण सहयोगीको रुपमा प्रस्तुत हुन आग्रह गरे । आउँदा दिनमा कुनै पनि प्रहरी कर्मचारीको कार्य सम्पादन मूल्याङ्कन ऐन कानूनमा निर्दिष्ट एवं वरिष्ठता तथा तथ्याङ्कको आधारमा हुने उल्लेख गर्दै उनले सबै प्रहरी कर्मचारीले आफ्नो उच्च व्यावसायिकता प्रदर्शन गर्नुपर्ने बताए । उनले प्रहरी, प्रहरी जस्तै हुनुपर्छ तर विनम्र पनि हुनुपर्नेमा जोड दिँदै आफ्नो व्यवहारलाई सुधार गर्दै सङ्गठनको सुधारका लागि ऐन, नियमको परिधिमा रहेर सबै प्रहरी कर्मचारीहरू ऐक्यबद्ध भई अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याए । प्रहरी कर्मचारीहरूको वृत्ति विकास एवम् कल्याणकारी योजनाहरु बारेमा सङ्गठन सदैव क्रियाशील रहेको उल्लेख गर्दै उनले सङ्गठनले लिएको उद्देश्य पूरा गर्न प्रत्येक प्रहरी कर्मचारीहरु मानसिक एवं शारीरिक रुपमा स्वस्थ हुनुपर्नेमा जोड दिए । प्रहरी महानिरीक्षक क्षेत्रीले व्यावसायिक रुपमा व्यस्त भए पनि आफ्नो परिवारलाई समय दिन सकेमा प्रहरी कर्मचारी मानसिकरूपमा स्वास्थ्य हुनसक्ने विचार व्यक्त गरे ।