पर्वतमा विश्वकै कीर्तिमानी अग्लो र लामो पुल निर्माण हुँदै
बागलुङः पुलको जिल्लाको रुपमा ख्याति कमाएको पर्वतमा ‘अग्लो र लामो’ पुल निर्माण हुने भएको छ । पर्वत सदरमुकाम कुश्मालाई छिमेकी जिल्ला बागलुङसँग जोड्ने गरी कुश्माको बडागाउँस्थित लभ्लीडाँडादेखि बाग्लुङ नगरपालिका–१४ नारायणस्थित कुकुरगाढेमा हालसम्मकै अग्लो र लामो पुल बनाउन सर्वेक्षण गरिएको छ ।
करिब पाँच सय २५ मिटर लम्बाइ र २०० मिटर उचाइमा निर्माण हुने पुलको सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको स्थानीय पूर्वाधार विकास विभागले सर्वेक्षण गरेको हो । कुश्माको तीन स्थानमा सर्वेक्षण गरिएकोमा उपयुक्त स्थानमा पुलको लागत निकालिने सर्वेक्षणमा खटिएका इञ्जिनीयर हेमराज शर्माले जानकारी दिए ।
“तीनवटै स्थानबाट ५०० मिटरभन्दा धेरै लम्बाइ देखिएको छ”, उनले भने, “उपयुक्त स्थान छनोट गरेर खाका दिन्छौँ ।” शर्माले कुश्माका विभिन्न स्थानमध्ये लभ्लीडाँडास्थित माउण्टेट भ्यू होटल साइडको क्षेत्र उपयुक्त हुनसक्ने जानकारी समेत दिए ।
बागलुङ नगरपालिका–१४ का वडाध्यक्ष चक्रबहादुर केसीका अनुसार कुकुरगाढे क्षेत्रको स्थानको क्षेत्र विभिन्न व्यक्तिको आवादी क्षेत्र भएकोले पुल त्यहीँ उपयुक्त हुन्छ । “पुल बनिसकेपछि बस्ती विस्तार र अरु विकास पनि चाहिन्छ”, उनले भने, “अन्यत्र सार्वजनिक जग्गा छ । हामीले व्यावसायिक र बस्ती विस्तारका लागि उपयुक्त जग्गा छनोट गर्नुपर्छ ।”
कुश्मा–५ की अध्यक्ष चित्रकला भारती शर्माले पनि सबै कुश्मालाई समेट्ने गरी पुल बनाउन जमिनको छनोट भइरहेको जानकारी दिए । “बलेवाको विमानस्थललाई समेट्नुपर्यो”, उनले भने, “कुश्माको व्यावसायिक हितमा पनि सोच्नुपर्छ ।” यो पुल निर्माण भए कुश्मा बजार बागलुङ नगरपालिकाका दुई वडासँग प्रत्यक्ष जोडिने छ । करिब ३० हजार सर्वसाधारण लाभान्वित हुनेछन् ।
पर्यटकीय हिसाबले पनि अत्यन्तै महत्वपूर्ण मानिने भएकोले पुल आवश्यक भएको स्थानीय अगुवाले बताएका छन् । “अहिलेसम्म बनेका भन्दा यो पुल अग्लो र लामो हुन्छ”, बलेवाका बलबहादुर पाठकले भने, “बागलुङ र कुश्मामा पर्यटनबाट समृद्धि चाहनेले यो पुललाई प्राथमिकतामा राख्नुपर्छ ।” बागलुङ क्षेत्र नम्बर १ का सङ्घीय सांसद सूर्य पाठकको सक्रियतामा पुलको खाका तयार हुन लागेको जनाइएको छ ।
दुई ठूला नदीले घेरिएको कुश्मालाई अग्ला पुलले वारीपारीका बस्तीसँंग नजिक बनाउने क्रम अग्ला पुलकै कारण बढ्दो छ । दशकअघि बनेको कुश्मा–ज्ञादी पुलले कुश्मा र कटुवाचौपारी आसपासका बासिन्दालाई सुविधा पुगेपछि अहिले कुश्मामा आधा दर्जन आकाशे पुल बनिसकेका छन् । कालीगण्डकी र मोदी खोलाको बीचमा पर्ने कुश्मालाई एकातर्फ बागलुङ र अर्कोतर्फ कुश्माकै अन्य वडाका साथै फलेवास नगरपालिका जोड्न धमाधम पुल बनिरहेका छन् ।
मुलुककै अग्लो दाबी गरिएको ३४४ मिटर लम्बाइ र १३५ मिटर उचाइको कुश्मा–ज्ञादी पुल बनेको दशक नबित्दै कुश्मा आसपासमा उस्तै प्रकृतिका आधा दर्जन पुल बनिसकेका छन् । कुश्मा–मुडिकुवा, कुश्मा–कैया, खरेहा–अधिकारीफाँट पुल बनेर सञ्चालनमा आइसकेका छन् । कुश्मा–कैयाले कुश्मालाई बागलुङ नगरपालिकाको वडा नम्बर १४ लाई जोडेको छ । कुश्मा–मुडिकुवाले कुश्मा र फलेवास नगरपालिका जोडेको छ । कुश्मा–अधिकारीफाँटले कुश्माकै वडा नम्बर १० पिपलटारी जोडेको छ ।
कुश्माकै उपल्लो बजारबाट बञ्जीजम्पसहितको झोलुङ्गे पुल निजी क्षेत्रबाट बन्दैछ । स्थानीय व्यवसायीले करिब रु १५ करोडको लगानीमा पुल निर्माण गरेर बन्जी र स्काइ साइक्लिङलगायतका पर्यटकीय खेल सञ्चालनको तयारी थालेका हुन् । कुश्मा–७ खरेहा र कुश्मा–९ कटुवाचौपारीस्थीत अधिकारीफाँट जोड्ने गरी मोदीखोलामा पुल निर्माण भइसकेको छ ।
पर्वतकै कुश्मा–१ पाङबाट बागलुङ बजार जोड्न ५४४ मिटर लामो र १६० मिटर उचाइको पुलको काम शुरु भइसकेको कुश्मा–१ का वडाध्यक्ष देवेन्द्र सुवेदीले बताए । उनका अनुसार यो पुल सिङ्गल स्पानबाट बन्ने पुलमा विश्वकै कीर्तिमानी पुल बन्नेछ ।
पाँच करोडको स्टमेट अनुमान गरिएको यो पुल बनेपछि कुश्मा र बागलुङवासीलाई यात्रामा सहज मात्रै नभएर जीविकोपार्जनमा पनि धेरै सुधार आउने अपेक्षा गरिएको छ । नयाँ पुलसहित कुश्मा बजार आसपासमा अग्ला पुलको सङ्ख्या आठ पुग्ने छ । रासस
प्रदेश ३ को प्रदेशसभा बैठक बस्दै आज, मुख्य एजेन्डा नाम र राजधानी
हेटौंडाः प्रदेश ३ को प्रदेशसभाको बैठक करिब चार महिनापछि सोमबारदेखि सुरु हुँदैछ। गत भदौ २५ मा सकिएको वर्षे अधिवेशनको १२६ दिनपछि बैठक सुरु हुन लागेको हो। दिउँसो ३ वजेबाट सुरु हुने हिउँदे अधिवेशनमा प्रदेशको नाम र राजधानीको विषयमा छलफल हुने सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिए। राजधानी र नामका विषयमा प्रदेशसभामा पुस २१ गते छलफल हुने र २२ गते मतदान हुनेछ। सभामुख श्रेष्ठका अनुसार सोमबार नौवटा प्रस्ताव पेश हुनेछन्। यस्तै, नामाकरणको कार्यविधिसहित हिउँदे अधिवेशनको शुभकामना पनि कार्यतालिका छ। ‘प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त भएको पत्र पढेर सुनाउने कार्यक्रम, प्रदेश प्रमुखको कार्यालयबाट प्रमाणीकरण भएका विधयकको पत्र पढेर सुनाउने, पाँचौ अधिवेशनको विषयमा सबै दलका प्रमुखरुले पाँच अधिवेशनको शुभकामना व्यक्त गर्ने कार्यक्रम तय भएको छ,’ । सोमबारको कार्यतालिकाबारे सभामुख श्रेष्ठले भने, ‘त्यसपछि मात्र प्रदेशको नामाकरणका सम्बन्धमा प्रस्ताव माग्ने कार्यक्रम रहन्छ।’ राजधानी र नामाकरण विषयमा सभामुख श्रेष्ठले पुस २२ मा मतदान हुने बताए पनि मतदान नहुने सम्भावना बढेको छ। नेकपा संसदीय दलको वैठक मंगलबारका लागि सारिएकाले त्यो सम्भावना टरेको प्रदेशसभा सदस्य दीपक निरौला बताउँछन्। उनका अनुसार पार्टीमा एकमत नभएसम्म राजधानी र नामाकरणको विषयले संसदमा प्रवेश पाउने सम्भावना कम छ। संसदीय दलले नेकपा सचिवालयको निर्णय नमाने मंगलबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव विष्णु पौडेल नै आएर निर्देशन दिन सक्ने एक सांसदले बताए। मंगलबार राजधानी र नामाकरण टुङ्गो नलागे बुधबार लाग्ने ती सांसदको भनाइ छ।
सम्पत्ति शुद्धीकरण विभागः घरजग्गा र सुन किन्नेमाथि पनि अनुसन्धान
काठमाडौंः सम्पत्ति शुद्धीकरण विभागले घरजग्गा कारोबारी र सुन कारोबारीमाथि सम्पत्ति शुद्धीकरणको अनुसन्धान गर्ने भएको छ । दुवै पेसा व्यवसायमा संलग्नको सम्पत्तिमा अस्वाभाविक वृद्धि भएको भन्दै सम्पत्ति शुद्धीकरणले अनुसन्धान गर्न लागेको हो । घरजग्गा व्यवसायीमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान गर्न सक्ने गरी सरकारले भूमि व्यवस्थापन तथा अभिलेख विभागलाई नियमनकारी निकाय तोकेको छ । नेपालमा ठूलो मात्रामा घरजग्गा खरिद–बिक्री हुने र यसमा अर्बौँको कारोबार भए पनि त्यसमा सम्पत्ति शुद्धीकरण कानुनअन्तर्गत रहेर नियमन गर्ने निश्चित निकाय तोकिएको थिएन । नियमनकारी निकाय तोकिएसँगै सम्बन्धित नियामकले सूचक संस्थाको नियमन गर्न सक्नेछ । यसको अर्थ भूमि व्यवस्थापन विभागले सम्पत्ति शुद्धीकरणसम्बन्धी मौजुदा कानुनअन्तर्गत घरजग्गा खरिद–बिक्री व्यवसायीमाथि नियमन गर्नेछ । एक वर्षअघि नै सरकारले सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धमा वित्तीय संस्था तथा गैरवित्तीय व्यवसाय तथा पेसाकर्मीका लागि नियमनकारी निकाय तोकेको थियो । २५ कात्तिक ०७५ मा बसेको मन्त्रिपरिषद् बैठकले भूमि व्यवस्थापनसहित विभिन्न सातवटा नियामक निकाय तोक्ने निर्णय गरेको थियो । सो निर्णयको सूचना प्रकाशित गर्ने निर्णय गत ७ मंसिरमा बसेको मन्त्रिपरिषद्ले गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता यमलाल भुसालका अनुसार सरकारले थप विभिन्न सातवटा निकायलाई सम्पत्ति शुद्धीकरणअन्तर्गत सूचक संस्थाको नियमन गर्ने गरी नियमनकारी निकाय तोकेको हो । क्यासिनोदेखि कानुन व्यवसायीसम्मको नियामक तोकियो सरकारले क्यासिनोदेखि कानुन व्यवसायीसम्मको नियामक तोकेको छ । स्वीकृति अवकाश कोष र बहुमूल्य धातु तथा पत्थरसम्बन्धी कारोबार गर्ने व्यवसायीको नियामक आन्तरिक राजस्व विभाग तोकिएको छ । त्यस्तै, क्यासिनो तथा क्यासिनो व्यवसायीको नियमन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गर्नेछ । नेपाल नोटरी पब्लिक परिषद्ले नोटरी पब्लिक, चार्टर्ड एकाउन्ट संस्थाले लेखापरीक्षण व्यवसायी, लेखापरीक्षक र लेखा व्यवसायी, कम्पनी रजिस्ट्रारको कार्यालयले कम्पनी वा ट्रस्ट सेवाप्रदायक र नेपाल कानुन व्यवसायी परिषद्ले कानुन व्यवसायीको नियमन गर्नेछन् । व्यवसाय दर्तादेखि नै निगरानी पछिल्ला वर्षमा सम्पत्ति शुद्धीकरण गरी विभिन्न क्षेत्रमा लगानी गर्ने प्रवृत्ति बढेपछि त्यसलाई नियन्त्रण गर्न सरकारले नियामक थप गरेको हो । अब यी क्षेत्रको लगानी र गतिविधिलाई सम्पत्ति शुद्धीकरणको दृष्टिबाट सरकारले नियमन गर्नेछ । नियमनकारी निकाय तोकिएपछि ती निकायले व्यवसायको दर्ता, अनुमति तथा नियमन गर्दा सम्पत्ति शुद्धीकरण र आतंकवादी क्रियाकलापमा वित्तीय लगानीसम्बन्धी प्रावधानलाई पनि आत्मसात् गर्नुपर्छ । तर, यसका लागि कानुनमै थप संशोधन आवश्यक भएको सरोकारवालाहरू बताउँछन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।
पश्चिमी वायुः मौसममा फेरि बदली, बेलुकीदेखि देशैभर पानी र हिउँ पर्ने
काठमाडौंः पश्चिमी वायु सक्रिय हुँदा नेपालमा फेरि हिउँदे बर्षा गराउने हावा प्रवेश गरेको छ। पश्चिम क्षेत्रबाट प्रवेश गरेको यो हावाले देशभर बर्षा र उच्चपहाडी तथा हिमाली क्षेत्रमा हिउँ पार्ने जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ। आज (सोमबार) दिउँसोदेखि नै पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव पश्चिमी क्षेत्रमा देखिने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालले जानकारी दिएका छन्। यसको प्रभाव भोली (मङ्गलबार) थप बढेर पश्चिम, मध्य र पूर्वी हिमाली भेगमा बर्षा हुने तथा उच्च पहाडी भेगमा हिमपात हुनेछ। यतिखेर भने देशका पश्चिमी र पूर्वी पहाडी भूभागहरुमा मौसममा आंशिक बदली मात्र रहेको र बाँकी क्षेत्रको मौसम सामान्यतयाः सफा रहेको मौसमविद् अर्यालले बताएका छन्। उनका अनुसार आज दिउँसो देशका पश्चिमी र पूर्वी भेगका केही स्थानमा हल्का बर्षा हुनेछ। पानी र हिउँ पर्ने तथा छर्लङ्ग घाम नलाग्दा यतिखेर देशैभर अत्याधिक चिसो महशुस गरिएको छ। सोमबार बिहान काठमाडौं उपत्यकाको तापक्रम १ दशमलव ६ डिग्री सेल्सियस कायम भएको छ।
काठमाडौंमा भाडाको कोठाभन्दा सस्तो लज!
काठमाडौं: सवारी चालक इन्द्र श्रेष्ठको यहाँ न घर छ, न त डेरा तर उनको बसाइ र सुताइ आरामदायी नै छ । श्रेष्ठकाअनुसार उनको बसाइ भोटेबहालको लजमै हो। डेरा लिँदा महिनामा १० हजार रुपैयाँ तिर्नुपर्छ तर लजमा सुत्दा प्रतिरात १५० रुपैयाँ तिरे पुग्छ। खाना पनि लजमै सस्तोमा पाइन्छ । नुहाउन पानी पाइन्छ । शौचालय व्यवस्थित मिल्छ । डेरा कोठामा जस्तो पानी नपाइने, अप्ठ्यारो शौचालय र खाना पकाउने टन्टा भएन । “यति सुविधा हुँदाहुँदै टन्टा कसले बोकोस्?”, श्रेष्ठको भनाइ छ । त्यसो त काठमाडौँका भोटेबहाल, गणबहाल र सहरका यत्रतत्र लजमा एउटै कोठामा छ बेडको व्यवस्था हुन्छ । छ बेडमा १२ जना मिलेर सुत्ने र आधाआधा पैसा उठाएर लजलाई तिर्ने, निरन्तर लजमा सुत्नेलाई त लज सञ्चालकले छुट दिँदा झनै फाइदा हुने श्रेष्ठको अनुभव छ । त्यसो त २०७२ सालको भूकम्पयता डेराकोठा लिन मिल्ने सस्ता खालका कोठा नै छैनन् । सहरभित्रका कतिपय डेरा बस्ने घरमा भएका कोठा डरलाग्दा छन् । कतै भित्ता चर्किएका छन् भने कतै भुइँ धसिएका छन् । परिवार भएकाहरू यस्तैमा सुत्छन् भने परिवार नभएकाको रोजाइ लज हो । काठमाडौँको मध्य सहरमा फुटपाथमा व्यवसाय गर्नेहरू हुन् वा भरिया, प्रायःको रोजाइ यस्ता लज नै हुन थालेको छ । दोलखा नाम्दुबाट भारी बोक्न आएका सिद्धिचरण चोक न्युरोडका भरिया प्रकाश कार्कीका अनुसार लजका कोठामा मात्र होइन, छतमा सतरन्जा ओछ्याएर लहरै सुत्ने पनि निकै छन्। घरका छत रात परेपछि यस्तै विश्रामकर्ताले ओगट्छ र बिहान हुनासाथै छत खाली हुन्छ। छतमा एक रात सुतेपछि सुत्नेले रातमा पचास रुपियाँ तिरे पुग्छ । यसरी सुत्नेहरू होटलमा खाने र सहरका सार्वजनिक शौचालयको उपयोग गर्ने गर्छन् । ओमबहालका एक घरधनीले खाली छतमा पैसा आउँछ भने किन नसुताउने भन्ने भएर आश्रयका लागि खुला छत भाडामा लगाएको बताए। छत भए पनि त्यसमा छानो हुन्छ, कोठा बारिएको वा झ्याल भने हुँदैन । जाडोमा एकआपसमा टाँसिएर सुत्छन्, गर्मीमा खुकुलोसँग सुत्छन् । लजमा आउनेलाई शौचालयको टन्टा नहुने, नुहाउन धुवाउन पानी पाइने तथा खान पकाउन नपर्ने भएकाले डेराभन्दा लजमा रात बिताउन मन पराउने गरेको लज सञ्चालकको भनाइ छ । याे खबर आजको गोरखापत्र दैनिकबाट लिइएकाे हाे ।
हिउँमाथि सुत्केरी छ्टपटाई रहिन्, श्रीमानले छाडे, प्रहरीले गर्यो उद्दार
बैतडीः सुत्केरी व्यथाले छट्पटाउँदै गरेकी महिलालाई हिउँमाथि अलपत्र छाडेर श्रीमान् सम्पर्कविहीन भएका छन् । सुत्केरीको बैतडी प्रहरीले उद्दार गरेको छ । सुत्केरी व्यथा लागेर हिउँमाथि छट्पटाउँदै अलपत्र परेकी कुमारी बिष्टलाई बैतडी प्रहरीले उद्दार गरेर प्रसूति केन्द्र पुर्याएपछि बिष्टले छोरो जन्माएकी छन् । बैतडीको पुरचौडी नगरपालिका–१०, डाँडागाउँका अम्मर बिष्टले सुत्केरी श्रीमती कुमारी बिष्टलाई अलपत्र छोडेर साथमा भएको एक हजार रुपैयाँ समेत लगेर सम्पर्कविहीन भएका छन् । श्रीमानले अलपत्र पारेर हिँडेपछि सुत्केरी कुमारी बिष्टलाई बैतडी प्रहरीले शनिबार दोगडाकेदार गाउँपालिकाको सिल्लेगडा बजारमा रोईरहेको अवस्थामा फेला पारेको थियो । सुत्केरी श्रीमतिलाई छोडेर हिँड्ने श्रीमान अम्मर बिष्टको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रनाउ डिल्लीनारायण पाण्डेले बताए । प्रनाउ पाण्डेयले भने, ‘सुत्केरी हुन श्रीमानको साथमा बैतडी अस्पताल आएकी कुमारी बिष्टलाई अस्पतालले १९ गते रेफर गरेको रहेछ । रेफर गरिएकी श्रीमतिलाई छोडेर एकहजार रुपियाँसमेत लगेर श्रीमानले सम्पर्कविहीन छन् । श्रीमानले छोडेरपछि सुत्केरी महिला बसमा चढेर दोगडाकेदारको सिल्लेगडा पुग्नुभयो । शनिबार हिमपात पनि भईरहेको थियो । सुत्केरी महिला बजारमा छट्पटाउँदै रोईरहेको खबर आएपछि तुरुन्तै उद्धार गर्यौं ।’ हिमपात र वर्षा भईरहेको बेलामा सुत्केरी महिला छट्पटाउँदै रोईरहेको सूचना पाएपछि स्थानीय खोचलेक प्रहरी चौकीका ईन्चार्ज शंकरदत्त भट्टको कमाण्डमा चार जना प्रहरी खटाएर सुत्केरीको उद्धार गरिएको प्रनाउ पाण्डेयले बताए । सुत्केरीलाई अस्पताल लैजान जिप बुक गरे पनि सुर्नया गाउँपालिकाको धर्मघरमा हिमपातमा गाडी फसेपछि सुत्केरीलाई पुनः दोगडाकेदार गाउँपालिकाको सिल्लेगडा प्रसूति केन्द्रमा पुर्याएपछि कुमारी बिष्टले आईतबार बिहान ६ः०० बजे छोरो जन्माएको प्रहरीले जानकारी दिएको छ । कुमारी बिष्ट पहिलो पटक सुत्केरी भएको र उनका श्रीमान अम्मर बिष्ट यसअघि दार्चुलामा ज्यालामजदूरीको काम गर्ने गरेको सूचना प्रप्त भएको प्रहरीले जानकारी दिएको छ । सुत्केरीपछि कुमारी बिष्टलाई प्रहरी र स्थानीय बजारवासीले न्यानो लुगा उपलब्ध गराएका छन् । सुत्केरी महिला र बच्चाको अवस्था सामान्य रहेको स्वास्थ्यकर्मीले बताएका छन् । –गोरखापत्र दैनिकबाट
मृतकको भत्ता खाने सचिवविरुद्ध मुद्दा दायर
काठमाडौंः मरिसकेको व्यक्तिको भत्ता खाने तत्कालीन गाविस सचिवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । मृत्यु भइसकेको व्यक्तिको समाजिक सुरक्षा भत्तामा हिनामिना गर्ने पर्षाको साविक जयमंगलापुर गाविसका तत्कालीन सचिव राजेन्द्र महतो नुनियाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो । सचिव महताले सरकारबाट सामाजिक सुरक्षा भत्ता शीर्षक (आंशिक अपाङ्ग, पूर्ण अपाङ्ग, औषधि खर्च, असहाय विधवा, बालबालिका तथा दलित) मा विनियोजित रकममा मृत्यु भइसकेको व्यक्तिलाई पनि रकम वितरण गरेको, किर्ते भरपाई तयार गरी व्यापक अनियमितता गरी भ्रष्टाचार गरेको भन्ने उजूरीमा अख्तियाले अनुसन्धान गरेको थियो ।
पक्राउ परेका १२२ चिनियाँलाई जनही हजार रुपैयाँ जरिवाना
काठमाडौंः नेपालमा बसेर चीनबिरुद्ध साइबर अपराधमा संलग्न भएको आरापमा पक्राउ परेका १ सय २२ जना चिनियाँ नागरिकलाई जनही १ हजार रुपैयाँ जरिवानाको फैसला गरेको छ । प्रहरी अनुसन्धान र सरकारी वकिलको अभियोजनपछि काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको इजलासले उनीहलाई जनही १ हजार रुपैयाँ जरिवानाको फैसला गरेको हो । अब चिनियाँ नागरिकलाई अध्यागमन विभागमा बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले काठमाडौंका मनमैंजु, बाँसबारी र बुढानिलकण्ठबाट पुष ७ गते उनीहलाई गरेको थियो ।
सेनाका भगौडा कपनबाट पेस्तोलसहित पक्राउ
काठमाडौंः काठमाडौंको चुनिखेल, कपनबाट नेपाली सेनाको भगौडा पेस्तोलसहित पक्राउ परेका छन् । उनलाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको हो । मन्थली नगरपालिका–१३, रामेछाप घर भइ हाल कपनमा बसोबास गर्ने रोशन बर्देवा मंगलबार साँझ पेस्तोलसहित पक्राउ परेका महाशाखा प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए । उनका अनुसार बर्देवालाई गुण्डागर्दी गरेको आरोपमा अनुसन्धानका लागि पक्राउ गरिएका उनको साथबाट कटुवा पेस्तोल बरामद भएको छ । प्रहरीले सेनाबाट कहिले भागेको लगायतका विषयमा थप अनुसन्धान गरिरहेको एसएसपी थापाले बताए ।
खोलामा राखिएको स्काभेटरमा आगजनी
धनगढीः कैलालीको लम्कीचुहा नगरपालिका–१ स्थित चेतना सामुदायिक वन नजिकैको रोरा खोलामा राखिएको स्काभेटरमा आगजनी गरिएको छ । उत्खननका लागि रोरा खोलामा राखेको बा ३ क ३४२१ नम्बरको स्काभेटरमा सोमबार राति अज्ञात समूहले आगजनी गरेको इलाका प्रहरी कार्यालय लम्कीका प्रहरी नायब निरीक्षक ओम प्रकाश बटालाले जानकारी दिए । बटालाका अनुसार आगजनीबाट स्कोभेटरको अगाडिको भाग र इन्जनमा क्षति पुगेको छ । देउती निमार्ण सेवाले उक्त रोरा नदीमा केहि दिनदेखि दैनिक ढुंगा निकाल्ने र संकलन गर्दै आएको प्रहरीले जानकारी दिएको छ । आगजनी कस्ले र किन गरिएको हो थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कुलमान घिसिङ र डा. सन्दुक रुइत सम्मानित
काठमाडौंः नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र आँखा विशेषज्ञ चिकित्सक डा. सन्दुक रुइतलाई सम्मान गरिएको छ । घिसिङ र डा. रुुइतलाई हेमबहादुर मल्ल पुरस्कारबाट सम्मान गरिएको हो । नेपाल जनप्रशासन संघ र साल्ट ट्रेडिङ कर्पोरेशनले मंगलबार पत्रकार सम्मेलन गरी घिसिङ र रुइतलाई उक्त पुरस्कार प्रदान गर्न लागिएको जानकारी गराएको हो । साल्ट ट्रेडिङले घिसिङलाई लामो समयदेखिको लोडसेडिङ समस्यालाई हटाउन योगदान गरेको र रुईतलाई आँखा उपचारमा अतुलनीय योगदान गरेकोले उक्त पुरष्कार प्रदान गर्न लागिएको जनाएको छ। सम्मान प्रदान गर्न गठीत उच्चस्तरीय छनोट समितिका संयोजक कृष्णहरी बाँस्कोटाले घिसिङलाई २०७३ सालको र रुइतलाई २०७४ सालको पुरस्कारबाट सम्मान गर्न लागिएको बताए । हेमबहादुर मल्ल सम्मान पुरष्कार २०५९ सालमा स्थापना गरिएको हो । बाग्लुङमा जन्मिएका मल्ल साल्ट ट्रेडिङ कर्पोरेशन महाप्रबन्धक भई रोलमोडल प्रशासन र व्यवस्थापकको रुपमा काम गरेकाले कर्पोरेशनले उनको सम्झनामा उक्त पुरस्कारको स्थापना गरेको हो। पुरस्कार २ लाख राशिको रहेको छ।
एनटीसीको साधारण सभाको हुँदै, कति दिँदैछ लाभांश ?
काठमाडौंः नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (एनटीसी) ले लाभांश प्रस्तावसहित पुस २९ गते १२ वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ । पुस ७ गते बसेको कम्पनीको सञ्चालक समितिको ८४१ औँ बैठकले सो दिन साधारण सभा गर्ने निर्णय गरेको हो । सभामा कम्पनीले गत आर्थिक वर्षको मुनाफा रकममध्येबाट प्रति शेयर ४५ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव लैजाँदैछ । यसका साथै, कम्पनीमा मौज्दातमा रहेको रकम बैंक तथा वित्तीय कम्पनी, धितोपत्र वा अन्य कम्पनीको शेयर तथा ऋण पूँजीमा लगानी गर्ने साथै विद्युत र उर्जा उत्पादन, प्रशारण वा वितरण गर्न र इन्फ्रस्ट्रचर शेयरिङ्ग गर्ने प्रयोजन समेतको लागि अन्य सेवामूलक कम्पनी खोल्ने वा त्यस्ता कम्पनीमा ऋण समेत लगानी गर्न प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पनि सो सभाले पारित गर्नेछ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनीको पुस १५ गतेदेखि २९ गतेसम्म शेयर दाखिल खारेजको काम बन्द गर्ने भएको छ । पुस १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले सभामा भाग लिन तथा नगद लाभांश पाउनेछन् ।
‘काँधभरी फुली लगाएका नालायकहरु स्वीकार्य छैनन्, संगठनमा दाग लगाई बसिरहन्न’
काठमाडौंः महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले मातहत कार्यालयका कार्यालय प्रमुखहरूलाई निष्पक्ष भएर काम गर्न निर्देशन दिएका छन् । मंगलबार नेपाल पुलिस क्लब भृकुटीमण्डपमा आयोजित कार्यक्रममा महानगरीय प्रहरी कार्यालय तथा मातहत कार्यालयका कार्यालय प्रमुखहरूलाई निर्देशन दिँदै उनले काँधभरी फुली लगाएका नालायकहरु स्वीकार्य नहुने चेतावनी दिए । उनले कानूनमा आधारित प्रशासन, निष्पक्षता, समानता, पारदर्शिता, जवाफदेहीता र अन्य व्यवसायिकताका साथ व्यक्तिगत स्वार्थ विना कार्य गर्न निर्देशन दिए । ‘म उच्च व्यावसायिक क्षमता र ईमान्दारीता बोकेको, जनभावना अनुरूपमा कार्य गर्ने सिपाहीलाई पनी सलाम गर्छु सम्मान गर्छु,’ उनले चेतावनी दिँदै भने, ‘तर, काँधभरी फुली लगाएर जनताको आशाभरोसा भएर पनी लोभ–लाभ र कमजोर, तुच्छ व्यावसायिकता बोकेका नालायकहरु स्वीकार्य छैनन् ।’ उनले भने, ‘म तपाई दशौं हजार मेरो प्रत्यक्ष निगरानीमा छु । तपाईहरुको आँखाले म कहीँ कुनै लोभ–लाभमा परेको देखे औंल्याउनुस्, तपाईहरुलाई नै स्यालुट गरेर बिदा हुन्छु, यो संगठनमा दाग लगाई बसिरहन्न ।’ उनले आफू महानगरीय प्रहरी कार्यालयको प्रमुख भएर आए देखिनै एक्स्क्युज भन्ने शब्द व्यक्तिगत शब्दकोषबाट हटाएकोले गल्ती गर्ने प्रहरी कर्मचारीलाई एक्स्क्युज नहुने गरी कारवाही गर्ने चेतावनी दिए । समाजमा शान्ति सुरक्षा कायम गरी अपराधको अनुसन्धान गर्ने क्रममा कसैको पनि अनुहार नहेरी कानूनअनुसार सबैलाई कारवाही गर्न उनले निर्देशन दिएका छन् ।
छाउगोठमा राख्नेको सामाजिक सुरक्षा भत्ता रोक्न गृहको निर्देशन
काठमाडौंः गृह मन्त्रालयले महिनावारी भएको बेला महिलाहरुलाई छाउगोठमा राख्नेहरुको सामाजिक सुरक्षा भत्ता रोक्का गर्न निर्देशन दिएको छ । मन्त्रालयले सुदूरपश्चिम र कर्णाली प्रदेशका प्रमुख जिल्ला अधिकारीहरुलाई तीनबुँदे परिपत्र गर्दै महिलाहरुलाई छाउगोठमा राख्नेहरुको बृद्धसहित सबै सामाजिक सुरक्षा भत्ता र सहुलियत कर्जा रोक्न निर्देशन दिएको हो । गृहले प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा हरेक जिल्लामा समिति बनाउन र छाउगोठ नष्ट गर्न पनि निर्देशन दिएको गृह मन्त्रालयले जनाएको छ ।
नयाँ बसपार्कबाट गैरकानूनी रुपमा यात्रु बोक्ने १४ निजी सवारी कारवाहीमा
काठमाडौंः काठमाडौँको नयाँ बसपार्कमा निजी नम्बर प्लेटका सवारी साधनले भाडा लिएर धमाधम मान्छे ओसारपसार गर्ने गरेको पाइएको छ । सार्वजनिक सवारी साधनले मात्र यात्रु बोक्न पाउने कानूनी व्यवस्था भए पनि पछिल्लो समय निजी नम्बर प्लेटका सवारी साधनले भाडा लिएर धमाधम मान्छे बोक्ने गरेको पाइएको हो । महानगरीय प्रहरी वृत्त नयाँ बसपार्कले आज चलाएको विशेष अप्रेशनमा गैरकानूनी रुपमा यात्रु बोक्ने १४ निजी सवारी साधनलाई कारवाही गरेको छ । निजी नम्बर प्लेटका सवारी साधनले नयाँ बसपार्कबाट यात्रुलाई उपत्यकाका विभिन्न ठाउँमा पुर्याएर भाडा लिँदै आएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले निजी नम्बर प्लेटका सवारी साधनले भाडा लिएर यात्रु ओसारपसार गर्ने गरेको सूचनाका आधारमा १४ सवारी साधनलाई पक्राउ गरिएको जानकारी दिए । “अहिले सम्झाई बुझाई गरेर छाडेका छौँ, आगामी दिनमा पनि निजी नम्बर प्लेटका सवारी साधनले यात्रुसँग भाडा लिएको थाहा पाएमा कानूनबमोजिम कारवाही गर्नेछौँ”, उनले भने । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले गैरकानूनी रुपमा निजी सवारी साधनले यात्रु बोक्न नपाइने बताए । “अवैधानिक, गैरकानूनी रुपमा चलेका यस्ता सवारी साधनलाई तत्काल रोक्न हामी सरकारलाई माग गर्दछौँ”, उनले भने । निजी सवारी साधनले यात्रु बोके यात्रु बोक्नका लागि दर्ता भएका सार्वजनिक सवारी साधनले के गर्ने रु उनले प्रश्न गरे । यसअघि पनि गैरकानूनी रुपमा टुटल तथा पठाओले यात्रु बोक्दै आएका थिए । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार प्रयोजन विपरीत सवारी साधन चलाए रु दुई सयदेखि एक हजार जरिवाना हुने व्यवस्था छ । (फाइल फोटो)
बस र मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु
डडेल्धुराः डडेल्धुरामा बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा अमरगढी नगरपालिका–११ सल्लाघारीका २० वर्षीय भरत बोहरा रहेका छन् । मंगलबार दिउँसो १ बजेतिर अमरगढी नगरपालिका–१ लिसा कम्पनी नजिकै बस र मोटरसाइकल ठोक्किँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। महेन्द्रनगरबाट बझाङ आउँदै गरेको ना७ख ६५२२ नम्बरको बस र जिल्ला सदरमुकाम बागबजारदेखि सकायल तर्फ गइरहेको से४प ५८८० नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँएका हुन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेका अनुसार बस र मोटरसाइकल ठोक्किँदा घाइते गम्भीर भएका बोहरालाई डडेल्धुरा अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए। दुर्घटनामा गन्यापधुरा गाउँपालिका–३ सेल्तडाका मोटरसाइकल चालक १९ वर्षीय महेन्द्र ठगुन्ना रहेका छन् । घाइते भएका उनको डडेल्धुरामा उपचार सम्भव नभएपछि धनगढी रेफर गरिएको छ। बस र बस चालक वीरेन्द्रबहादुर बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

