नागरिकता माग्दा श्रीमतीमाथि खुकुरी प्रहार

सप्तरीः नागरिकता बनाई दिन माग गर्दा सप्तरी सदरमुकाम राजविराज नगरपालिका–१२ दमाबतीटोलकी २८ वर्षीया लक्ष्मी यादवमाथि मंगलबार दिउँसो उनकै पति महिनारायणले खुकुरी प्रहार गरी हत्या प्रयास गरेका छन् ।

लक्ष्मी तरकारी बारीतर्फ जाँदै गरेको अवस्थामा मोटरसाइकलमा आएका महीनारायणले तँ नागरिकता बनाइदिन भन्दै टेन्सन दिन्छस् भन्दै खुकुरी प्रहार गरेका हुन् ।

खुकुरी प्रहारबाट लक्ष्मीको टाउको र घाँटीमा गम्भीर चोट लागेको छ । उनलाई स्थानीय गजेन्द्रनारायण सिंह अस्पतालको आकस्मिक कक्षमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । उनको टाउको र घाँटीमा ३६ वटा टाँका लगाइएको छ । अवस्था गम्भीर बन्दै गएपछि परिवारजनको आग्रहमा थप उपचारका लागि रेफर गरिएको उनको उपचारका संलग्न डा. प्रमोदकुमार यादवले जानकारी दिए ।

लक्ष्मीको जिउभरसमेत निलडाम देखिएको छ । खुकुरी प्रहारबाट लक्ष्मी खेतमै ढलेपछि मरेको ठानेर महीनारायणले नजिकैको नहरमा खुकुरी फाली फरार भएका थिए । पूर्वप्रहरी समेत रहेका लक्ष्मीका पति महीनारायणले केही महिनाअघि मात्र दोस्रो विवाह गरका थिए ।

लक्ष्मीसँग विवाह भएको १० वर्षबढी भइसक्दा पनि नागरिकता बनाइ नदिएको तथा अर्को विवाह गरेपछि सशंकित बनेकी लक्ष्मीले पटकपटक नागरिकता बनाइदिन दबाब दिँदै आएकी थिइन् ।

नाडाद्वारा ट्राफिक प्रहरी प्रमुख ढकाललाई मोटरसाइकल उपहार

काठमाडौंः महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीमप्रसाद ढकाललाई नाडाले मोटरसाइकल उपहार दिएको छ । नाडाका नवनिर्वाचित अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा मंगलबार गएको १३ सदस्यीय प्रतिनिधिमण्डलले महाशाखाका प्रमुख ढकाललाई भेटेर २०० सिसिको जेण्टलमेन मोटरसाइकल उपहार दिएको हो । सो क्रममा नाडाका प्रतिनिधिमण्डलको टोली र प्रमुख ढकालबीच राजधानीको ट्राफिक व्यवस्थापनमा देखिएका समस्याहरु र त्यसको निराकरणबारे विस्तृत छलफल भएको छ । उक्त भेटघाटमा महाशाखाका प्रमुख ढकालले आफनो कार्यकक्षमा नाडा प्रतिनिधि मण्डललाई स्वागत गर्दै नयाँ केन्द्रीय कार्य समितिको सफलताको कामना गरे । उक्त भेटघाट तथा छलफलमा महाशाखाका प्रमुख ढकालले राजधानीको ट्राफिक व्यवस्थापनको सन्दर्भमा देखिएका विभिन्न समस्या र चुनौतिबारे चर्चा गर्दै चालक र पैदल याात्रुको सुरक्षा र सहजताको लागि सडकको जेब्राक्रसमा रातो पहेलो र हरियो रङ्गको बत्ति राख्ने व्यवस्थाका लागि नाडासँग मिलेर काम गर्न चाहेको बताए । सो छलफलको क्रममा नाडाका अध्यक्ष दुलालले महानगरीय ट्राफिक प्रहरी महाशाखा र नाडाबीच विगतको समयदेखि नै हुँदै आएको सहकार्य बारे चर्चा गर्दै नाडाले ट्राफिक प्रहरीको संख्या ज्यादै कम भएकोले त्यसको संख्या बृद्धि गर्न सम्बद्ध निकायहरुमा पहल गर्दै आएको बताए ।

शुक्लागण्डकी नगरपालिकामा वडाध्यक्षद्वारा नगरप्रमुखमाथि हातपात

तनहुँः तनहुँको शुक्लागण्डकी नगरपालिकाका–७ का वडाध्यक्ष रामबहादुर क्षेत्रीले नगरप्रमुख किसान गुरुङमाथि हातपातको प्रयास गरेका छन् । कार्यपालिका बैठकमा योजनाका विषयलाई लिएर वडाध्यक्ष क्षेत्रीले नगरप्रमुख गुरुङमाथि हातपातको प्रयास गरेका हुन् । योजनाका विषयलाई लिएर नगर प्रमुख गुरुङ, उपप्रमुख रसाइली र प्रवक्ता खिम कुमालमाथि वडा नम्बर ७ का वडाध्यक्ष क्षेत्रीले झगडा गरेको वडा नम्बर १ का वडा अध्यक्ष रविचन्द्र पौडेलले बताए । वडाध्यक्ष क्षेत्रीले योजना किताबसमेत कार्यपालिका बैठकमा फालेर मेयरमाथि हातपातको प्रयास गरेका हुन् । यता, वडाध्यक्ष क्षेत्रीले भने नगरप्रमुखमाथि कुनै हातपातको प्रयास नगरेको दावी गरेका छन् । साङ्केतिक तस्बिर 

अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता बढाइँदै

काठमाडौंः दैनिक करिब २० हजार यात्रु आवतजावत गर्ने मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्रमिक रुपमा क्षमता विस्तारको काम भइरहेको छ । हालको अन्तर्राष्ट्रिय विमानस्थल सबै हिसाबले पूर्ण क्षमताका साथ सञ्चालनमा आउँदा ९० हजार यात्रु क्षमताको हुन्छ । पछिल्ला वर्षमा हवाई यात्रुको चाप बढेसँगै विमानस्थल पनि साँघुरो हुँदै गइरहेको छ । अहिले विमानस्थलमा आन्तरिक र अन्तरराष्ट्रिय गरी वार्षिक ७२ लाख यात्रु पुगेका छन् । विमानस्थमा दुवैतर्फ गरी दैनिक पाँच सय हाराहारी जहाजको ओहर दोहर हुने गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार सन् २००९ को तुलनामा सन् २०१८ मा दुई गुणा यात्रुको सङ्ख्या बढेको छ । यसले आगामी दिनमा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको चाप बढ्ने अनुमान गर्न सकिन्छ । प्राधिकरणका महानिर्देशक राजन पोखरेलले पछिल्ला १० वर्षमा यात्रुको चाप निरन्तर बढ्दै गएको र हालको विमानस्थलले धान्न नसक्ने बताउनुभयो । सन् २०२१ सम्म यात्रुको वार्षिक सङ्ख्या ९० लाख पुग्ने देखिएको छ । बढ्दो चापलाई व्यवस्थापन गर्न वैकल्पिक अन्तरराष्ट्रिय विमानस्थलको अति आवश्यक भएको महानिर्देशक पोखरेलले बताए । विमानस्थलमा बढ्दो यात्रुको चापसँगै थपिएका वायुसेवाको सहज व्यवस्थापनका लागि प्राधिकरण लागि परेको छ । विमानस्थलको क्षमता अभिवृद्धि गर्ने र हवाई उडानलाई सहज बनाउने उद्देश्यका साथ काम भइरहेको छ । विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले विमानस्थलको क्रमिकरुपमा क्षमता विस्तारको काम भइरहेको तथा धावनमार्ग र टयाक्सी वे जीर्णोद्धारको काम सकिएलगत्तै अहिले धावनमार्गसँै प्यारालल ट्याक्सी वेको बोलपत्र प्रक्रिया अघि बढेको जानकारी दिनुभयो । उक्त काम सकिएपछि जहाजलाई मुख्य धावनमार्गमा जान सहज र छिटो हुनेछ । जसले उडान चापलाई न्यूनीकरण गर्नेछ । अन्तरराष्ट्रिय टर्मिनल भवनमा डिपार्चर हल थपिँदैछ । विमानस्थलको आवागमनतर्फ थप दुई ‘कन्भेर वेल्ट’ थपिँदै छन् । हाल चार मात्र छन् । यसले यात्रुलाई ब्यागेज लिन छिटो हुनेछ । हाल आधा घण्टादेखि ४५ मिनेटभित्र यात्रुले ब्यागेज लिइसक्छन् । महाप्रबन्धक केसीले ‘बुटिक एयरपोर्ट’ को अवधारणाअनुरुप विमानस्थलको सौन्दर्यकरणसँगै क्षमता अभिवृद्धिको काम पनि साथसाथै भइरहेको बताए । पछिल्ला दिनमा विमानस्थलको मर्मत र क्षमता वृद्धिपछि अहिले उडान व्यवस्थापनमा धेरै सहजता आएको उनको भनाइ छ । धावनमार्ग स्तरोन्नतिका साथै जहाज पार्किङ विस्तार तथा यात्रु कक्षको क्षमता बढाउनेलगायत कार्यमा विमानस्थल निरन्तर लागि परेको छ । मुलुकको उड्डयन इतिहासमै पहिलोपटक विमानस्थलको धावनमार्ग र ‘ट्याक्सी वे’ को जीर्णोद्धारको काम सम्पन्न भएको छ । योसँगै अहिले अन्तरराष्ट्रिय विमानस्थल दैनिक २१ घण्टा सञ्चालन भइरहेको छ । प्राधिकरणको पछिल्लो तथ्याङ्कअनुसार सन् २०१८ अन्तर्राष्ट्रिय उडानतर्फ ४३ लाख ४२ हजार ४८६ यात्रुको आवागमन भएको छ । सन् २०१७ मा कूल ३८ लाख ८७ हजार ८४५ यात्रुको आवागमन भएको थियो । आन्तरिकतर्फ सन् २०१८ मा २८ लाख ४७ हजार ७५२ यात्रुको आवागमन भएको थियो । सन् २०१७ मा २४ लाख ५१ हजार ३९० पुगेको थियो । सन् २०१९ को अक्टोबरसम्म २७ लाख ३७ हजार १७२ यात्रुको आवागमन भएको देखिन्छ । यो वर्ष करिब ३३ लाख हवाई यात्रु आवागमन हुने अनुमान गरिएको छ । विमानस्थमा निर्माण भइरहेको दक्षिणतर्फको ‘रिमोट पार्किङ वे’ अबको दुई महिनाभित्रै सञ्चालनमा आउनेछ । प्राधिकरणका महानिर्देशक पोखरेलका अनुसार फेब्रुअरीको अन्तिमसम्म रिमोट पार्किङको काम सकिनेछ । यो स्थानमा दुई वाइडबडी र दुई न्यारो बडी जहाज पार्किङ गर्नसकिने छ । प्राधिकरणले विमानस्थल विकास कोष (एडीएफ)को रु एक अर्ब छ करोडको लागतमा विमानस्थलमा दुईवटा ‘पार्किङ वे’ निर्माण गरिरहेको हो । रिमोट पर्किङ वे सञ्चालनले विमानस्थलको चाप नियन्त्रण गर्न सघाउ पुग्ने प्राधिकरणले जनाएको छ । दुईमध्ये एउटा उत्तरपूर्वी क्षेत्रको ‘रिमोट पार्किङ वे’ गत जेठ महिनादेखि नै सञ्चालनमा आइसकेको छ । उक्त पार्किङ क्षेत्रमा दुई वाइडबडी र न्यारो बडी क्षमताका तीन वटासम्म जहाज पार्किङ गरेर राख्न सकिन्छ । अन्तर्राष्ट्रिय टर्मिनलमा नौवटा जहाज मात्र पार्किङ क्षमता छ । उत्तरपूर्वी पार्किङ वे सञ्चालनमा आएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तरराष्ट्रिय पार्किङ वेको सङ्ख्या ११ पुगेको छ । विमानस्थलको उत्तरतर्फ पनि पाकिङ क्षेत्र निर्माणको प्रक्रिया अघि बढेको विमानस्थलले जनाएको छ । आन्तरिक उडानतर्फ २२ साना जहाज राख्न सकिने क्षमताको उक्त पार्किङको बोलपत्र आह्वान भइसकेको विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले जानकारी दिए । करिब रु आठ अर्बको बोलपत्र आह्वान भएको छ । यो तीन वर्षभित्र निर्माण सकिनेछ । हाल आन्तरिकतर्फ १७ जहाजको पार्किङ क्षमता भए पनि ३५ सम्म जहाज अटाइँदै आइएको छ । रिमोट पार्किङ वे सञ्चालनले विमानस्थलको चाप हटाउन तथा विमानस्थलमा आइ पर्नसक्ने अन्य सुरक्षा चुनौती समाधान गर्न सहयोग पुग्ने प्राधिकरणका महानिर्देशक पोखरेलले बताए । ‘अहिले विमानलाई आकाशमै होल्ड गर्नुपर्ने अवस्था छ, यसले त्यो समस्या समाधानमा सहयोग गर्नेछ, यस्तै ग्राउन्डेड भएका जहाज पार्किङ गर्न पनि यसको उपयोग हुनेछ,’ उनले भने । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तरराष्ट्रियतर्फ हाल तीन नेपालीसहित २८ र आन्तरिकमा १० हेलिकप्टरसहित २० वायुसेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन् ।

नारायणगढ–बुटवल सडक विस्तार तीव्र

चितवनः पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडकखण्ड विस्तारको कामले तीव्रता पाएको छ । सडक विस्तारले तीव्रता पाएसँगै सडक फराकिलो बनाउन आवश्यक पर्ने माटो गैँडाकोट नगरपालिका–१४ को भागबाट पहाड खनेर लैजान शुरु गरिएको छ । सडक विस्तारका लागि यहाँका १० व्यक्तिको नाममा रहेको ७५ रोपनी जग्गाबाट बाटो विस्तारका लागि आवश्यक माटो लैजान शुरु गरिएको वडाध्यक्ष कोपीसरा रानामगरले बताए । शनिबारदेखि माटो निकालेर लैजान शुरु गरिएको उल्लेख गर्दै उनले त्यहाँको माटो सडक विस्तारभन्दा अन्य काममा प्रयोग गर्न नपाउने गरी सहमति भएको जानकारी दिए । भागरको पहाड नै काटेर सडक विस्तारका लागि माटो लैजान शुरु गरिएको उनले बताए । रुख बिरुवा नभएको पहाडको ढिस्को खनेर बाटो विस्तारमा प्रयोग गर्दै खेतीयोग्य जमिन बनाउने उद्देश्यले माटो बिक्री गरेको स्थानीय चन्द्रमान गन्द्रमाले बताए । उनका अनुसार प्रतिटिपर रु ५२५ मा माटो बिक्री गरिएको हो । पहाडमा कुनै पनि खेतीबाली नहुने तर सरकारलाई राजश्व मात्रै बुझाउनु परेकाले माटो बिक्री गरेर खेतीयोग्य जमिन बनाउन लागिएको उनले बताए । सडक विस्तारका लागि ठेक्का पाएको चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनीयरिङ कर्पोरेशनलाई निर्माण सामग्री उपलब्ध गराउने जिम्मा पाएको सुपा निर्माण कम्पनी प्रालिले पहाड काटेर माटो लैजान शुरु गरेको हो । माटो लगेबापत नगरपालिकालाई प्रतिघनमिटर रु १५ का दरले कर दिन सहमत भएपछि माटो लैजान दिइएको नगरप्रमुख छत्रराज पौडेलले बताए । उनले माटो लैजाँदा दिउँसोको समयमा लैजानुपर्ने, सडक बिगारेको अवस्थामा तत्काल मर्मत गर्नुपर्ने तथा अन्तिममा छ मिटरको कालोपत्र सडक निर्माण गरिदिनुपर्ने लगायतका विभिन्न सहमति भएको जानकारी दिए । प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनमा उल्लेख भएबमोजिम मात्रै माटो खन्न पाउने गरी सम्झौता गरिएकाले सम्झौतालाई प्रभाव पार्ने गरी माटो खन्ने काम भएमा ठेक्का रद्द गरेर कारवाही गर्ने अधिकार नगरपालिकासँग भएको पौडेलले बताए । सो स्थानको माटो नारायणगढ–बुटवल सडकखण्ड विस्तारका लागि खण्ड १ मा प्रयोग हुने नगरपालिकाले सहमति गरेको थियो । कावासोती नगरपालिकाअन्तर्गत पर्ने जङ्गल क्षेत्रबाट नारायणगढ–बुटवल सडकखण्ड चार लेनको हुने गरी सडक विस्तारको काम भइरहेको छ । रासस

कांग्रेसमा गुटगत ध्रुवीकरण बढ्दै

काठमाडौंः नेपाली कांग्रेसमा १४औँ महाधिवेशनको समय नजिकिँदै गर्दा पार्टीमा गुटगत धु्रवीकरण पनि बढ्दै गएको छ । पार्टीमा मुख्यगरी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले सतहमै देखि नै गरी आफ्ना गतिविधि गर्न थालेका छन् । यसैको पछिल्लो शुङ्खलास्वरुप वरिष्ठ नेता पौडेल समूहले जिल्ला सभापतिहरुको भेला बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा शुरु भएको भेलामा जिल्ला सभापतिहरुले यही पुस ११ गते काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले गरेको निर्णय सच्याउन माग गरेका छन् । वरिष्ठ नेता पौडेल समूह अनुपस्थित रहेको सो बैठकले बहुमतका आधारमा चौधौं महाधिवेशनसँग सम्बन्धित विभिन्न निर्णय गरेको थियो । त्यसअघि वरिष्ठ नेता पौडेल समूहले १४औं महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्नुपर्ने, नेपाल विद्यार्थी सङ्घ, नेपाल तरुण दललगायत पार्टीका आन्तरिक समस्या तत्काल समाधान गर्नुपर्ने विषयका माग गर्दै केन्द्रीय समिति बैठक नै बहिष्कार गर्दै आएको थियो । गत मङ्सिर २६ गतेको केन्द्रीय समिति बैठकमा आफ्नो मागअनुसार कार्यसूची ल्याउन नेतृत्व तयार नभएको भन्दै वरिष्ठ नेता पौडेल पक्षका नेताहरु उपस्थित भएनन् । त्यसपछि दुवै समूहबाट उपसभापति निधि र नेता प्रकाशमान सिंहले पटक–पटक सहमति जुटाउने प्रयास गर्नुभएको थियो । कांग्रेसको वर्तमान ८५ सदस्यीय केन्द्रीय समितिमा करीब ५० पदाधिकारी र केन्द्रीय सदस्य संस्थापन पक्षका छन् । बहुमतको निर्णय सच्याउन माग सहमति जारी रहेकै बेला संस्थापन पक्षले यही पुस ११ गते पार्टीको चांैधौ महाधिवेशन २०७७ साल फागुन ७ देखि १० गतेसम्म गर्ने र केन्द्रीय समितिको समयावधि एकवर्ष थप गर्नेलगायत महत्वपूर्ण निर्णय गरेको थियो । सो बैठकले महाधिवेशनको प्रयोजनार्थ विधानका केही दफा निलम्बन गर्ने, विधानमा उल्लेख २८ केन्द्रीय विभागको सङ्ख्या ४७ पु¥याउने, तरुण दलको म्याद छ महिना थप गर्नेलगायतका निर्णय पनि गरेको थियो । त्यसपछि झनै असन्तुष्ट बनेको वरिष्ठ नेता पौडेल समूहले आगामी रणनीति तय गर्न जिल्ला सभापतिको भेला बोलाएको जनाएको छ । ‘जिल्ला सभापति परामर्श बैठक’ नाम दिइएको भेलामा वरिष्ठ नेता पौडेल र महामन्त्री डा शशाङ्क कोइरालाले पार्टीको पछिल्लो अवस्था र केन्द्रीय नेतृत्वसँग भएका छलफलका बारेमा जानकारी गराएको नुवाकोटका सभापति जगदिशनरसिंह केसीले बताए । उनीहरूले विधानका केही दफा निलम्बन गरिएका, एकता र सहमतिका साथै पारदर्शी रूपमा महाधिवेशनका निर्णय हुनुपर्नेमा एकलौटी ढङ्गले निर्णय गरिएको बताउँदै आगामी दिनमा कसरी अघि बढ्ने भन्ने बारेमा छलफल गरेका थिए । बैठकमा पूर्वमहामन्त्री सिंहले वार्तामा भएका सहमतिका प्रयास बारेमा जानकारी गराएका थिए । प्यूठानका सभापति अमरप्रसाद भण्डारीले पार्टी विधानसम्मत र सर्वसम्मत नचलेको भन्दै पार्टीलाई एक ढिक्का बनाउन भेला बोलाइएको बताए । उनले केन्द्रीय समिति बैठकमा एक पक्ष बाहिरिने अवस्था आएको भन्दै विधान विपरीत गरिएको निर्णय सच्याउनुपर्ने र निलम्बन गरिएका पार्टी विधान दफा फुकुवा गर्नुपर्ने माग गरे । त्यस्तै सिन्धुपाल्चोका सभापति विकास लामाले पार्टी विधानले पूर्णता नपाउँदै नेतृत्व तहबाटै विधान मिच्ने काम भएको, विशेष परिस्थिति नभए पनि केन्द्रीय समितिको एक वर्ष म्याद थपेको, भ्रातृ र शुभेच्छुक संस्थाको समयमै महाधिवेशन नगरेको आरोप लगाउँदै पार्टी विधानतः चल्नुपर्ने माग गरे । भेलामा नेता पौडेल समूहका ४१ जिल्ला सभापति र दुई जिल्ला सभापतिका प्रतिनिधि सहभागी थिए । मंगलबार सकिने भेलामा थप ११ जिल्ला सभापति सहभागी हुने रोल्पाका सभापति अमर पुनले दाबी गरे । भेलामा नेता पौडेल समूहका केन्द्रीय सदस्य र पदाधिकारी पनि उपस्थित छन् । थपिएको एकवर्ष अघि नै महाधिवेशन गर्न सुझाव भेलामा सहभागी केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले केन्द्रीय समितिको थपिएको एक वर्षको अन्तमा नभइ त्यसअघि नै महाधिवेशन तोकेर महाधिवेशनको सुनिश्चितता गर्नुपर्ने बताए । कुनै समस्या आएर निर्धारित समयमा महाधिवेशन हुन नसके पार्टीका लागि नै खतरा हुने उल्लेख गर्दै उनले सहमतिका साथ महाधिवेशन मिति तोक्नुपर्ने र पार्टीलाई एकताबद्ध बनाउनुपर्ने बारेमा छलफल भइरहेको जानकारी दिए । यस बाहेक सरकारले संविधानको भावना प्रतिकूल हुने र नागरिक अधिकार कुण्ठित हुने गरी विभिन्न विधेयक ल्याएको, जनअपेक्षा अनुसार काम गर्न नसकेकोलगायत विषयमा पनि छलफल भएको नेता जोशीले जानकारी दिनुभयो । लोकतान्त्रिक व्यवस्थामाथि नै प्रहार हुने चुनौतीको सामना गर्न कांग्रेस एक ढिक्का र सशक्त हुनुपर्ने बारेमा छलफल भएको उनले बताए । कांग्रेसको १३औँ महाधिवेशन विसं २०७२ फागुनमा काठमाडौंमा सम्पन्न भएको थियो । कांग्रेसको विधानको दफा ४३ मा पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यको पदावधि चार वर्षको हुने उल्लेख छ । साथै सोही दफामा असाधारण स्थिति भएमा केन्द्रीय कार्यसमितिले सोको कारण खोली बढीमा एक वर्षसम्मको अवधि बढाउन सक्ने व्यवस्था उल्लेख छ । रासस

बस दुर्घटनामा कांग्रेस नेताको मृत्यु

जलेश्वरः पूर्व पश्चिम राजमार्गअन्तर्गत महोत्तरीको बर्दिबास नगरपालिका–५ स्थित टुटेश्वर चोकमा मंगलबार बिहान बस दुर्घटनामा परी नेपाली कांग्रेसका महासमिति सदस्य ललनकुमार रायको मृत्यु भएको छ । महोत्तरीको मनरासिस्वा नगरपालिका–१० बथनाहा गाउँ बस्ने ५८ वर्षीय कांग्रेस नेता रायको निधन भएको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए । काठमाडौंबाट आउँदै गरेको ना५ख ६४११ नंको गङ्गोत्री बसले उखु लोड गरी रोकिराखेको ना४ख ५८१३ नंको ट्रकमा बस ठोकिएर बस दुर्घटना भएको थियो । बिहान ५ बजे भएको सो दुर्घटनामा परी नेता राय गम्भीर घाइते भएर उपचारका लागि जनकपुर अञ्चल अस्पतालमा पठाइएकामा त्यहाँबाट उनलाई थप उपचारका लागि विराटनगरस्थित नोबेल अस्पतालमा पुर्‍याइएको र सो अस्पतालमा जाने बित्तिकै बिहान करिब ९ः०० बजेतिर चिकित्सकले मृत घोषणा गरेको आफन्त असिम दुबेले बताए । नेता राय २०६४ सालमा भएको संविधानसभाको पहिलो निर्वाचनमा महोत्तरीको क्षेत्र नं ४ बाट नेपाली कांग्रेसका उम्मेदवार रहेका थिए भने उनले प्रजातान्त्रिक आन्दोलनमा समेत महत्वपूर्ण भूमिका खेलेका थिए । त्यसैगरी सोही दुर्घटनामा परी १८ जना अन्य कांग्रेसकै नेता तथा कार्यकर्तासहित सर्वसाधारण यात्रु पनि घाइते भएका छन् भने उनीहरुको उपचार बर्दिबासको शुभ स्वस्तिक, जनसेवा, सिटी र बर्दिबास अस्पतालमा उपचार भइरहेको प्रहरी उपरीक्षक अधिकारीले बताए ।

भट्टराईले भने, ‘काल्पनिक र गलत समाचार सम्प्रेषण गर्ने ? नियत गम्भीर छ’

काठमाडौंः अनुमति नलिएको भन्दै अस्ट्रेलियाको सिड्नीमा नेपाल भ्रमण वर्ष २०२० र्को र्‍याली निकाल्न त्यहाँको प्रहरीले रोक लगाएको भन्ने समाचारप्रति पर्यटनमन्त्री योगेश भट्टराईले आपत्ति जनाएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै पर्यटनमन्त्री भट्टराईले काल्पनिक र गलत समाचार सम्प्रेसण गरिएको आरोप लगाएका छन् । उनले भनेका छन्, ‘काल्पनिक र गलत समाचार सम्प्रेसण गरेर मुलुकको प्रतिस्ठा र मित्र राष्ट्रसँगको सम्बन्धमा किन खेल्न खोजिएको हो ? नियत गम्भीर छ !’ उनले नेपाल भ्रमण बर्ष २०२० को शुभारम्भ कार्यक्रम भब्य रूपमा सम्पन्न भएको दावी गरेका छन् । एनएसडब्लु स्टेटका सभामुखसहित अस्ट्रेलियाका पक्ष र प्रतिपक्षी दल तथा नगरपालिकाका प्रतिनिधि सहितको उपस्थितिमा भएको कार्यक्रम भएको भट्टराईको भनाई छ । अनुमति नलिएको,र्‍याली व्यवसायिक लाभका लागि भएको र र्‍यालीमा सहभागीहरुको संख्या ठूलो भएको र यसले पैदलयात्रीलाई अवरोध गर्ने भन्दै त्यहाँको न्यू साउथ वेल्स प्रहरीले भ्रमण वर्ष उद्घाटनको र्‍यालीलाई रोकेको भन्ने समाचार नेपाली सञ्चारमाध्यममा आएका थिए । तर, भट्टराईले भने मौन जुलुसमार्फत पर्यटन बर्षको प्रबर्द्धन गरिएको बताएका छन् । हेर्नुहोस् उनले लेखेको स्टाटसः अस्ट्रेलीयाको सिड्नीमा नेपाली राजदुतावासको आयोजना तथा NRNA लगायतका संघ/ संथाको सहयोगमा नेपाल भ्रमण बर्ष २०२० को शुभारम्भ कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ । NSW स्टेटका सभामुख सहित अस्ट्रेलीयाका पक्ष र प्रतिपक्षी दल र नगरपालिकाका प्रतिनिधि सहितको उपस्थितिमा भएको कार्यक्रममा वहाँहरुका तर्फबाट शुभकामना मन्तब्य पनि ब्यक्त भएको थियो । मौन जुलुस मार्फत पर्यटन बर्षको प्रबर्द्धन पनि गरिएको थियो । भएको यही हो । काल्पनिक र गलत समाचार सम्प्रेसण गरेर मुलुकको प्रतिस्ठा र मित्र राष्ट्रसँगको सम्बन्धमा किन खेल्न खोजिएको हो ? नियत गम्भीर छ !

अवैध हुण्डी कारोबारीबाट ९२ लाख बरामद

काठमाडौंः महानगरीय अपराध महाशाखाले हट्सप वुई च्याट मार्फत अवैध हुण्डीको कारोबार गर्ने चार जनालाई काठमाडौंको न्यूरोडबाट पक्राउ गरेको छ । काठमाडौं उपत्यकामै गैरकानुनी रुपमा राजस्व छलेर हुण्डीको काम भैरहेको सूचनाको आधारमा महाशाखाको टोलीले सोमबार साँझ चार जनालाई पक्राउ गरेको हो । प्रहरीले पक्राउ परेका व्यक्तिहरुवाट नगद, चेक रकम,विभिन्न बैंकका हस्ताक्षर राखिएका चेकबुक, व्हाट्सएप, वी च्याट मार्फत अवैध हुण्डीको कारोबार सहितको विवरण बरामद गरि चार जनालाई पक्राउ गरेको हो । महाशाखाको टोलीले काठमाडौं–२४ इन्द्रचोक इ–जोन पसलको सेल्फ स्टाफ गोपाल अग्रवाल, ई जोन पसलका कर्मचारी सिन्धुपाल्चोक मेलम्चीका ३१ बर्षका भोला नेपाललाई पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले ९ लाख ५० हजार नगद तथा विभिन्न बैंकबाट चेक रकम ६४ लाख ९९ हजार रुपैयाँ बरामद गरेको हो । काठमाडौं ताहाचलका एनएस ट्रेडस भोटेवहालका संचालक कमल अग्रवालको साथबाट २ लाख नगद तथा १४ लाख बरामद गरेको छ । सुनसरी धरान–२ का नारायणकुमार अग्रवाललाई नियन्त्रणमा लिइएको छ । महानगरीय प्रहरी महाशाखाका एसएसपी सहकुल थापाले अवैध हुण्डी कारोबार गर्ने चार जनासँग १३ लाख ५२ हजार नगद, बैक रकम ७८ लाख ९९ हजार गरि ९२ लाख ५१ हजार बरामद गरेको बताए । पक्राउ परेका चार जनाको अनुसन्धान सुरु भइसकेको र थप कारवाहीका लागि राजस्व तथा अनुसन्धान विभाग हरिहरभवन पुल्चोक पठाइएको एसएसपी थापाले बताए ।

‘विप्लव’ समूहका नुवाकोट जिल्ला सेक्रेटरी पक्राउ

काठमाडौंः प्रतिबन्धित नेत्र विक्रम चन्द ‘विप्लव’ समूहका नुवाकोट जिल्ला सेक्रेटरी अशोक भन्ने विन्तोष सिलवाल पक्राउ परेका छन् । सिलवाललाई प्रहरीको विशेष ब्यूरोले सोमबार तार्केश्वरको पैयुटारबाट पक्राउ गरेको हो । उनले २०७५ साउन ८ गते सिन्धुलीको कालिका कन्स्ट्रक्सनका हरिहरपुरगढी गाउँपालिका–५ मा रोकिराखेको स्काभेटरहरुमा आगजनी गरी क्षति पुर्याएको प्रहरीले जनाएको छ ।

अनुमति नलिएको भन्दै भ्रमण वर्षकाे र्‍याली निकाल्न रोक

काठमाडौंः अनुमति नलिएको भन्दै अस्ट्रेलियाको सिड्नीमा नेपाल भ्रमण वर्ष २०२० को र्‍याली निकाल्न त्यहाँको प्रहरीले रोक लगाएको छ । साथै उक्त र्‍याली व्यवसायिक लाभका लागि भएको, र्‍यालीमा सहभागीहरुको संख्या ठूलो भएको र यसले पैदलयात्रीलाई अवरोध गर्ने त्यहाँको न्यू साउथ वेल्स प्रहरीले जनाएको छ । र्‍यालीमा सहभागी हुनका लागि पर्यटनमन्त्री योगेश भट्टराई, अस्ट्रेलियाका लागि नेपाली राजदूत महेश दाहाल, गैरआवासीय नेपाली संघका पदाधिकारी पुगेका थिए । उनीहरूले र्‍याली निकाल्ने तयारी गरेका बेला प्रहरीले रोकेको बताइएको छ ।

बुहारीसँगको हिमचिमले जेल पुर्‍यायो

तनहुँः तनहुँको व्यास नगरपालिका–४ बाघभञ्ज्याङका रामबहादुर परियारको हत्या अभियोगमा पुर्पक्षमा रहेका तीन अभियुक्तमध्ये दुई जनालाई जन्मकैदको फैसला भएको छ। जिल्ला न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलको इजलासले परियारको हत्यामा संलग्न रहेका व्यास नगरपालिका–४ बस्ने भारती परियार र मङ्गलबहादुर दमैलाई जन्मकैदको फैसला सोमबार सुनाएको हो। सोही अभियोगमा थुनामा रहेका सुकबहादुर परियारलाई तीन वर्ष कैदको फैसला भएको जिल्ला अदालतका श्रेस्तेदार सुदर्शन खनालले जानकारी दिए। विसं २०६८ साउन ९ गते भारतीको योजनामा मङ्गलबहादुर र सुकबहादुरले रामबहादुरलाई शुक्लागण्डकी नगरपालिकाको दुलेगौडास्थित सेती नदीको पुलबाट धकेलेर हत्या गरेको अनुसन्धानबाट खुलेको थियो। प्रहरीले अभियुक्तहरुलाई गत वर्ष पुस २९ गते पक्राउ गरेको थियो। हत्यामा संलग्न रहेका भारती मृतकका बुहारी र दमै भान्जा हुन्। मृतकका श्रीमती सनिसरा परियारले आफ्ना श्रीमान् सुकबहादुर मङ्गलबहादुरसँग घरबाट दुलेगौडा जान भनी हिँडेकामा बेपत्ता भएकाले अनुसन्धान गरी पाऊँ भनी विसं २०७१ मङ्सिर १४ गते जिल्ला प्रहरी कार्यालय निवेदन दिएकी थिइन्। प्रहरीले घटनाको अनुसन्धान गर्दा मृतक रामबहादुरको हत्या भारतीको योजनामा भएको पत्ता लगाएको थियो। भारतीले सुकबहादुर र मङ्गलबहादुरलाई पाँच÷पाँच हजार दिएर रामबहादुरको हत्या गर्न लगाएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। जेठाजु–बुहारी नाता पर्ने भारती र रामबहादुरबीच हिमचिम रहेको, घुम्‍नका लागि काठमाडौंसम्म जाने गरेको र घरपरिवारका अन्य सदस्यले सो कुरा थाहा पाएका कारण आफ्नो पतिसँग सम्बन्ध बिग्रने डरले भारतीले रामबहादुरको हत्याको योजना बनाएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सुकबहादुर र मङ्गलबहादुरले मृतक रामबहादुरलाई विसं २०६८ साउन ९ गते दुलेगौडा पारी रहेको दिदीको घरमा जाउ भनी बोलाइ ठाउँ–ठाउँमा मादक पदार्थ सेवन गराउँदै शुक्लागण्डकी नगरपालिका–४ र ८ को सिमानामा पर्ने सेती नदीमाथिको पुलबाट धकेलेर हत्या गरेका थिए। रामबहादुरको हत्या गरेपछि सुकबहादुर परियार भारततर्फ काम गर्न भागेका थिए। मङ्गलबहादुर वैदेशिक रोजगारीको सिलसिलामा साउदी पुगेका थिए। मङ्गलबहादुर २०७२ मा नेपाल फर्केर चितवनतिर बस्दै आएका थिए। रासस

कर्णालीका ५ हजार युवाले यस वर्ष रोजगारी पाउने

काठमाडौंः प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटीइभिटी) अन्तर्गतका विभिन्न कार्यक्रममार्फत कर्णालीका पाँच हजार युवाले रोजगारी पाउने भएका छन् । सिटीइभिटीका आङ्गिक, साझेदारी सङ्घसंस्था तथा छोटो अवधिका लागि सञ्चालन गरिने निःशुल्क तालीमबाट ती युवाले रोजगारी पाउने भएका हुन् । सिटीइभिटी कर्णाली प्रदेश कार्यालयले सोमबार आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा चालू आर्थिक वर्षमा पाँच हजार युवालाई स्वरोजगार बनाउने जानकारी दिएको छ । कार्यक्रममा कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले सिटीइभिटीले सञ्चालन गर्ने कार्यक्रम पारदर्शी हुनुपर्ने बताए । “सिटीइभिटीले राज्यको लगानीलाई दुरुपयोग हुन नदिन प्रभावकारी अनुगमन संयन्त्रको विकास गर्नुपर्छ, गरीब र न्यून आयस्रोत भएका व्यक्तिका लागि यसका कार्यक्रम उपयोगी छन्”, उनले भने, “तर, बिचौलियाले कार्यक्रम लिएर झारा टार्ने, बजेट सक्ने काम भएको गुनासो पनि सुनिने गरेको छ, अब सिटीइभिटीले यसतर्फ ध्यान दिनुपर्छ ।” सिटीइभिटीका कर्णाली प्रदेश निर्देशक हेमन्त पराजुलीले प्रदेश सरकारसँग सहकार्य गरेर कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाए । “चालू आवमै पाँच हजारलाई रोजगारी दिएर आफ्नै गाउँ–ठाउँमा बस्ने वातावरण बनाउँछौँ”, उहाँले भन्नुभयो । कार्यक्रममा प्रदेशअन्तर्गतका सिटीइभिटीबाट सम्बन्धनप्राप्त शिक्षण संस्थाका प्रमुख तथा प्रतिनिधि सहभागी थिए । रासस

राप्रपाले तीन दिन पृथ्वी जयन्ती मनाउने

काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस तीन दिनसम्म मनाउने भएको छ । राप्रपाले देशभर २६–२८ पुसमा उत्सवका रूपमा पृथ्वी जयन्ती मनाउने भएको हो । सबै जिल्ला कार्य समितिले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको योगदान एवं नेपालको एकीकरणको अभियानप्रति श्रद्धा, सम्मान लगायत अन्य विविध कार्यक्रम गरी दिवस मनाउन राप्रपाले निर्देशन दिएको छ । राप्रपाले २७ पुसको कार्यक्रममा सामाजिक जीवनका लब्धप्रतिष्ठित व्यक्ति तथा पार्टी सदस्यहरुको सहभागिताका लागि दश हजार निमन्त्रणा कार्ड वितरण गरिने नेता देवेन्द्र प्रधानले बताए ।

जुत्ता लगाएर मात्रै सवारी चलाउने, ठूलो आवाजमा म्यूजिक बजाउने नपाइने

काठमाडौंः दुर्घटना न्यूनिकरणका लागि यातायात व्यावसायीले महानगरीय ट्राफिक प्रहरी महाशाखासँग १९ बुँदे प्रतिवद्धता जनाएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका प्रतिनिधि, मजदुर ट्रेड युनियनका प्रतिनिधि तथा उपत्यकामा सञ्चालित यात्रुबहाक बसका चालकले उक्त प्रतिवद्धता जनाएका हुन् । प्रतिवद्धतामा चालकले मोबाइल फोन प्रयोग नगर्ने, ठूलो आवाजमा म्यूजिक नबजाउने, जुत्ता लगाएर मात्रै सवारी चलाउने, भाडा बढी नलिने, ढोका खुल्ला गरेर गाडी नचलाउनेलगायत उल्लेख छन् । महाशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकालले सहमति अनुसार ८ सदस्यीय अनुगमन समिति पनि गठन गरिएको बताए । जसमा प्रहरी उपरीक्षक (एसपी) राजकुमार वैदवारको नेतृत्वमा यातायात व्यवसायी, मजदुर, कम्पनीरप्रा.लि.का प्रतिनिधि छन् ।

प्रचण्ड र देउवाबीच भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबीच सोमबार भेटवार्ता भएको छ । बिहान साढे १० बजेतिर महासचिव विष्णु पौडेलसहित देउवा निवास पुगेका अध्यक्ष प्रचण्ड करिब आधा घण्टा कुराकानी गरेर फर्किएका थिए । भेटवार्तामा सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता छानविन आयोग गठनबारे कुराकानी भएको छ । प्रचण्डले सत्य निरुपण तथा मेलमिलाप आयोग गठन छिटो गर्नुपर्ने विषयमा परामर्श गरेका थिए । सभापति देउवाले आयोग गठन छिटो हुनुपर्ने आफ्नो पनि मत रहेको प्रचण्डलाई प्रतिक्रिया दिएका थिए ।