खानेपानीमन्त्रीद्वारा भीमदत्त नगरपालिकामा ओभरहेड खानेपानी ट्यांकीको शिलान्यास
कञ्चनपुरः खानेपानी मन्त्री बिना मगरले कञ्चनपुरको भीमदत्त नगरपालिका अन्तर्गत वडा नम्बर ६,८ र १० मा संचालन हुने खानेपानी ओभरहेड ट्याङकीको शिलान्यास गरेकी छन् ।
श्री सिद्धनाथ बैजनाथ खानेपानी उपभोक्ता तथा सरसफाइ समितिले आयोजना गरेको कार्यक्रममा खानेपानी मन्त्री मगरले एक समारोहका बीच ओभरहेड ट्याङकीको शिलान्यास गरेकी हुन् । उक्त खानेपानी आयोजनाले भिमदत्त नगरपालिका तीन वडाका १७ सय २३ घरधुरीका करिब साढे ९ हजार जनसंख्या लाभान्वित हुनेछन् ।
उक्त आयोजनाको कूल लागत १८ करोड ५३ लाख रुपैयाँँ रहेको समितिले जनाएको छ । यो ट्याङकीको क्षमता साढे चार लाख लिटर रहेको छ । शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मगरले खानेपानी र सरसफाइको क्षेत्रमा सिङ्गो देशको सपाट मार्ग चित्र कोर्न चाहिरहेको बताए । उनले स्थानीय, प्रदेश र संघीय सरकारको नेतृत्वमा देशको सरसफाइ गुरुयोजना बनाउने तयारी भैरहेको जानकारी दिइन् ।
‘खानेपानीको पहुँचबाट पहुँचविहीन भएका जनताको समस्यालाई सम्बोधन गर्न देशै भरीको योजना बनाउदै छौं,’ उनले भनिन्, ‘खानेपानी संगै सरसफाइ र ढलको पनि रोड म्याप तयार गर्नेछौं ।’
उनले समृद्ध नेपाल सुखी नेपालीको सपना साकार पार्दै सूदुरपश्चिम क्षेत्रको विकासमा कुनै कसर बाकी नराख्ने प्रतिबद्धता व्यक्त गरिन् । कार्यक्रममा साना सहरी खानेपानी आयोजनाका आयोजना प्रमुख बिद्यानाथ भट्टराईले यो आयोजना अबको १३ महिना भित्रमा सम्पन्न गरिसक्नुपर्ने बताए।
उनले यो आयोजना एडीबी लगायत नगर विकास कोषबाट आर्थिक सहयोगमा बन्न लागेको जानकारी दिए । यसैबीच कन्चनपुरको बेलौरीमा भएको अर्को एक कार्यक्रमलाई सम्बोधन गर्दै खानेपानी मन्त्री मगरले जनताका माझ गरिएका प्रतिबद्धता क्रमिक रूपमा पूरा गर्दै जाने बताइन् ।
शुक्रबार कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ८ पचुईमा निर्मित त्रिपुरा सुन्दरी भगवती मन्दिरको शिलालेख अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मगरले नागरिकलाई विकासको मूलधारमा ल्याउन प्रयत्नशील रहेको उल्लेख गरिन् ।
मन्त्री बिना मगरले नागरिकको जीवन स्तरमा सुधार ल्याउन र दैनिक जीवन संग जोडिएका विषयमा सकारात्मक परिवर्तन ल्याउन सरकार प्रतिबद्ध रहेको बताइन् ।
संञ्चारमन्त्री बाँस्कोटा र कानूनमन्त्री ढकाललाई थप मन्त्रालयको जिम्मा, कसलाई के?
काठमाडौंः संचारमन्त्री गोकुल बाँस्कोटा र स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई थप जिम्मेवारी दिइएको छ । संञ्चारमन्त्रीको जिम्मेवारी सम्हालिरहेका बाँस्कोटालाई शहरी विकास मन्त्रालय र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी स्वस्थ्य मन्त्रालयको कार्यभार सम्हालिरहेका ढकाललाई दिइएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले बाँस्कोटा र ढकाललाई थप जिम्मेवारी दिएकी हुन् । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र समाजवादी पार्टीकै इस्तियाक राईले शहरी विकास मन्त्रालयबाट राजिनामा दिएपछि ती दुई मन्त्रालय खाली रहेका थिए ।
यतिको भवन निर्माण प्रक्रिया यथास्थितिमा राख्न उच्च अदालतको आदेश
काठमाडौंः नेपाल ट्रष्टको स्वामित्वको जग्गामा यति समूहले निर्माण गरिरहेको दरबारमार्गको भवन निर्माण प्रक्रिया तत्काल यथास्थितिमा राख्न उच्च अदालत पाटनले अल्पकालीन आदेश जारी गरेको छ । मुख्य न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले प्रारम्भिक सुनुवाइपछि नै सम्झौता सार्वजनिक खरिद ऐन र नियमावली प्रतिकूल देखिएको भन्दै पक्षलाई छलफलमा बोलाएको छ । माघ १ गते अदालतले दुबै पक्षलाई छलफलमा बोलाएको छ । उच्च अदालत पाटनका रजिस्ट्रार बाबुराम दाहालले अल्पकालीन अन्तरिम आदेशसँगै इजलासले दुबै पक्षलाई छलफलमा बोलाएको बताए । यस्तै, अदालतले निवेदनमा उठाइएका विषय सार्वजनिक सरोकारसँगै गम्भीर कानुनी प्रश्नसमेत जोडिएको भन्दै उच्च अदालत बार एशोसिएसनसँग एमिकसको सहायता पनि मागेको छ । दुबै पक्षको छलफलपछि अल्पकालीन आदेशले निरन्तरता पाएमा रिटको अन्तिम टुंगो नलागेसम्म सम्झौता अनुसारको काम अघि बढ्ने छैन । आदेश खारेज भएमा भने सम्झौता कार्यान्वयन हुनेछ ।
राष्ट्रियसभा निर्वाचनः नामावली प्रकाशन र निर्वाचन चिन्ह प्रदान
काठमाडौंः माघ ९ गते सम्पन्न हुन गइरहेको राष्ट्रियसभा सदस्यहरुको अन्तिम नामावली र निर्वाचन चिन्ह निर्वाचन आयोगले आज प्रकाशन गरेको छ । निर्वाचन आयोग, नेपालबाट स्वीकृत भएको कार्यतालिका अनुसार प्रदेश १ को बिराटनगर, प्रदेश २ को जनकपुर, प्रदेश ३ को ललितपुर, गण्डकी प्रदेशको पोखरा, प्रदेश ५ को घोराही, कर्णाली प्रदेशको विरेन्द्रनगर र सुदूरपश्चिम प्रदेशको सिलगढीमा निर्वाचन अधिकृतको कार्यालयमा राष्ट्रियसभा सदस्य निर्वाचनको लागि आज बिहान १०ः०० बजेदेखि दिनको १ः०० बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन र दिनको १ः०० बजेदेखि अपरान्ह ४ः०० बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिएको थियो । यस निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का १६, नेपाली कांग्रेसका १६, समाजवादी पार्टी का ७, राष्ट्रिय जनता पार्टी नेपालका २, नेपाल मजदुर किसान पार्टीका २ र राष्ट्रिय जनमोर्चा पार्टीका २ जना गरी जम्मा ४५ जना उम्मेदवारले भाग लिएका छन् । उम्मेदवारहरूलाई सम्बन्धित पार्टीको निर्वाचन चिन्ह प्रदान गरिएको छ । यसैगरी सातवटा प्रदेशमा महिला समूहतर्फ ७, दलित समूहतर्फ २, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समुदाय समूहतर्फ २ र अन्य समूहतर्फ ७ गरी जम्मा १८ रिक्त पदका लागि महिला समूहतर्फ १६, दलित समूहतर्फ ५, अपाङ्गता भएको व्यक्ति वा अल्पसंख्यक समुदाय समूहतर्फ ५ र अन्य समूहतर्फ १९ गरी कूल ४५ जना उम्मेदवार रहेका छन् ।
देशलाई भ्रष्टाचार र कांग्रेसलाई विकृति मुक्त गर्ने अभियान सुरुः पौडेल
तनहुँः नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले देशलाई भ्रष्टाचारबाट र नेपाली कांग्रेसलाई विकृतिबाट मुक्त गर्ने अभियान सुरु गरिएको बताएका छन् । तनहुँ उद्योग वाणिज्य संघद्वारा आयोजित सातौं तनहुँ महोत्सवको उद्घाटन समारोहमा नेता पौडेलले सो कुरा बताएका हुन् । ‘मैले एउटा अभियान चलाएको छु । यो देशलाई भ्रष्टाचार मुक्त गर्नुछ मैले भन्ने गरेको छु’, वरिष्ठ नेता पौडेलले भने, ‘नेपाली कांग्रेसलाई विकृतिबाट मुक्त गर्नुछ । मैले आफ्नै पार्टीलाई पनि सुधार्नु छ भन्ने नारा दिएको छु ।’ सो अन्तरगत नेपाली कांग्रेसका जिल्ला सभापतिलाई काठमाडौं बोलाएको उनले बताए । दुईतिहाई सभापति काठमाडौं आएपनि अन्य कारवाहीको डर, त्रासले नआएको उनले बताए । सरकारले कृषि क्रान्ति, पर्यटनको विस्तार र उर्जा शक्तिको बिकास मुख्य प्राथमिकतामा राख्नुपर्ने बताउदै वरिष्ठ नेता पौडेलले सरकारले राम्रो काम गर्न नसकेको आरोप समेत लगाए ।
खोटा मुद्रा बनाई कारोबार गर्ने समूह प्रहरी फन्दामा !
काठमाडौंः उपत्यकाका बिभिन्न स्थानमा खोटा मुद्रा देखाई ठगी गरेको अभियोगमा ४ जनालाई काठमाडौं गोगंबुबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सल्यान शारदा नगरपालिका–७ घर भई काठमाडौं माछापोखरी बस्ने २९ वर्षीय कमल बुढाथोकी भन्ने कोवी राम बुढाथोकी, काभ्रे पाँचखाल नगरपालिका–१३ बस्ने ३२ वर्षीय बल बहादुर राना मगर, डोटी पूर्वी चौकी गाउँपालिका–३ घर भई काठमाडौं कपुरधारा बस्ने २४ बर्षीय आर्यान खड्का र धनकुटा छत्र जोरपटी गाउँपालिका–३ घर भई काठमाडौं नयाँ बसपार्क बस्ने ३६ वर्षीय छत्र बहादुर लिम्बु रहेका छन् । पक्राउ परेकामध्ये बुढाथोकी जाली नोट बजारमा र्पुयाउने मुख्य व्यक्ति, राना मगर जाली नोट बनाउने मुख्य व्यक्ति, खड्का जाली नोट बनाउने मुख्य डिजाइनर र लिम्बु जाली नोट बजारमा र्पुयाउन सहयोग गर्ने भूमिकामा रहेको खुल्न आएको छ । उनीहरुको साथबाट ‘श्री नेपाल राष्ट्र बैंक’ लेखिएका विभिन्न नम्बर उल्लेख भएका एक हजार रुपैयाँ दरका चार सय १३ थानमा रहेको चार लाख १३ हजार रुपैयाँ खोटा मुद्रा (नक्कली) तथा एक हजार रुपैयाँ दरको नोटको ए फोर साइजको पेपरमा चार वटा अट्ने गरी पछाडीको भागको रंगिन फोटोकपी गरेको पेपर ३५ थान, रंगिन फोटोकपी मेसिन १ थान र सिपीयू १ थान प्रहरीले बरामद गरेको छ । काठमाडौं उपत्यकाका बिभिन्न स्थानमा खोटा मुद्रा देखाई ठगी गरेको बिषेश सूचनाको आधारमा केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई उक्त खोटा मुद्रा र अन्य सामान सहित पक्राउ गरी उनीहरु उपर मुद्रा सम्बन्धि कसूर अन्तर्गत अनुसन्धान भइरहेको उक्त व्यूरोले जनाएको छ ।
ट्राफिकको सहयोगमा ट्याक्सीमा छुटेको नगद र मोबाइल फिर्ता
काठमाडौंः ट्याक्सीमा छुटेको नगद तथा मोबाइल फोन सम्बन्धित धनीले फिर्ता पाएका छन् । ट्राफिक प्रहरीको सहयोगमा भेटिएको पर्स तथा मोबाइल फोन सम्बन्धित ब्यक्ति ज्ञानु शर्माले फिर्ता पाएकी हुन् । बिहीबार बिहान साढे ९ देखि १० बजेको बिचमा भक्तपुर ठिमीदेखि मालिगाँउसम्म जाँदा बा२ज९१ नम्बरको टयाक्सीमा सो सामान छुटेको थियो । शर्माले दिएको निवेदनको आधारमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले शुक्रबार खोजतलास गर्दा सामन भेटिएको हो ।
२२ हजार घुससहित समातिए लेखा अधिकृत
काठमाडौंः घुससहित लेखा अधिकृत पक्राउ परेका छन् । शुक्रबार पूर्वाधार विकास कार्यालय ललितपुरका लेखा अधिकृत विष्णुहरी पुडासैनी २२ हजार घुससहित पक्राउ परेका हुन् । ठेक्कादारसँग ‘मोबिलाइजेसन’ खर्च लिँदालिँदै पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए ।
शिक्षककै नक्कली प्रमाणपत्र खुलासा!
काठमाडौंः श्री जन जौ कुमारी शाही प्राथमिक विद्यालय मनपाङ, तनहुँकी शिक्षिका अनिता पोखरेल वाग्लेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको खुलेको छ । वाग्लेले प्रा.वि शिक्षक पदमा नियुक्त हुन माध्यमिक शिक्षा परिषद, क्षेत्रीय कार्यालय वाराणसी भारतबाट हाइस्कुल उत्तीर्ण गरेको झुट्ठा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेको खुलेको हो। उनले प्राथमिक शिक्षकको रुपमा अस्थायी नियुक्ति लिँदा नक्कली प्रमाणपत्र पेश गरेको खुलेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा शुक्रबार मुद्दा दायर गरेको हो । नक्कली प्रमाणपत्र पेश गरी शिक्षण पेशामा संलग्न रहेको भन्ने उजुरीको आधारमा वाग्लेलाई अख्तियारले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानको क्रममा वाग्लेले नक्कली प्रमाणपत्र पेश गरी २०५६ साल मंसिर १० गते प्राथमिक शिक्षकको रुपमा अस्थायी नियुक्ति लिई २०७५ साल चैत्र ८ गतेसम्म विद्यालयमा कार्यरत रही सार्वजनिक पदको लाभ तथा सुविधा प्राप्त गरेको देखिएकोले उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम सजायको माग दाबीसहित मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
सवारी दुर्घटनामा घुस लिने सईविरुद्ध विशेष अदालतमा मुद्दा
धनुषाः यज्ञभूमि इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक (सई) कालिचरण पंजियारविरूद्ध अख्तियारले विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ । सवारी दुर्घटनामा क्षतिपूर्ति दिएबापत घुस माग गरिरहेको अवस्थामा पंजियार १५ हजार रुपैयाँ घुससहित पक्राउ परेका थिए । उनलाई अख्तियारको बर्दिबासको टोलीले सेवाग्राहीबाट १५ हजार घुस लिइसकेको अवस्थामा पक्राउ गरेको थियो । उनीविरूद्ध १५ हजार रुपैयाँ बिगो रकम कायम गरी कैद सजायको माग गरेको अख्तियारले जनाएको छ ।
घरमै झ्यालबाट छिरेर किशोरीको बलात्कार
काठमाडौंः पाँचथरको मिक्लाजुङ गाउँपालिकामा एक किशोरी बलात्कृत भएकी छिन् । करणीमा संलग्न भएको भन्दै मिक्लाजुङ गाउँपालिका–४ का स्थानीय ५७ वर्षीय कृष्णबहादुर गहतराज पक्राउ परेका छन् । गत पुस १९ गते ओछ्यानमा सुतिरहेका बेला घरमै गएर झ्यालबाट छिरेर बलात्कार गरेको पीडित किशोरीले बताएकी छिन् । किशोरीले भनिन्, “भाइहरुसँग सुतेको थिएँ, झ्यालबाट छिरेर ती गहतराजले आफूलाई मुख र हात समातेर बलात्कार गरे ।” गहतराजलाई पुस २१ गते पक्राउ गरी यौन दुव्र्यवहारमा मुद्दा दर्ता गरी अदालतबाट म्याद थपिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले बताए । पीडित किशोरीको अहिले जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको छ । विपन्न वर्गकी ती किशोरीले विभिन्न प्रलोभनमा पारेर मुद्दा मिलाउन आफूलाई दवाव दिइरहेको बताएकी छिन् । रासस
काठमाडौंमा सटर फुटाएर चोरी गर्ने एक समूह लागूऔषधसहित पक्राउ
काठमाडौंः काठमाडौंमा पसलका सटर फुटाएर चोरी गर्ने किशोरहरूको एक समूह नै सक्रिय रहेको फेला परेको छ । प्रहरीले यस्ता कार्यमा संलग्न ५ किशोरलाई काठमाडौंको सुकेधारा क्षेत्रबाट पक्राउ गरेसँगै यस्तो तथ्य सतहमा आएको हो । महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका प्रहरी नायब उपरीक्षक (डीएसपी) उमेश लम्सालका अनुसार, सटर फुटाएर चोरी गर्ने कार्यमा संलग्न ५ समाएिका छन् । पक्राउ पर्नेमा झापा स्थायी ठेगाना भई कपन बस्ने १६ वर्षीय आशिष आचार्य, गोरखा घर भई कपन बस्ने १७ वर्षीय आयुष थापा मगर, दोलखा स्थायी ठेगाना भएका १७ वर्षीय लालक्पा छिरिङ शेर्पा, रामेछापका १८ वर्षीय अजय मगर र धनकुटाका १६ वर्षीय सन्तोष धमला रहेका छन् । डीएसपी लम्सालका अनुसार, किशोरहरूले लागूपदार्थको नसामा लठ्ठिएर रातको समयमा चोरी गर्ने गरेका थिए । प्रहरीले उनीहरूको साथबाट नगद ५ हजार रुपैयाँ, विभिन्न कम्पनीका ७ थान मोबाइल बरामद गरेको छ । त्यस्तै, आधा किलो गाँजा र निट्राभेट ८० ट्ब्यालेटसमेत बरामद गरेको डीएसपी लम्सालले जानकारी दिए । डीएसपी लम्सालका अनुसार, उनीहरूमाथि अहिले अनुसन्धान भइरहेको छ ।
खोला उत्खननको विरोध गर्ने युवकको टिपरले किचेर हत्या
जनकपुरधामः धनुषाको मिथिला नगरपालिका–५ श्रीपुरका २४ वर्षीय दिलीपकुमार महतोको टिपरले किचेर हत्या गरिएको छ । आज बिहान छिमेकी साथी रोशन यादवसँग मर्निङवाक गएको बेला घर नजिकैको खोलामा ना ७ ख ६४१३ नम्बरको टिपरको ठक्करबाट महतोको हत्या गरिएको हो । दिलीपकुमारले अवैध ढंगले खोला उत्खननको विरोध गर्दै आएकाले उनको योजनाबद्ध ढंगले हत्या भएको हुन सक्ने आशंका प्रहरीले गरेको थियो । ईलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक रामकुमार यादवले योजनाबद्ध रुपमा किचेर टिपरले दिलीपको हत्या गरेको निष्कर्षमा प्रहरी पुगेको बताए । प्रहरीका अनुसार, टिपर चालक फरार छन् । उनको खोजी भइरहेको छ ।
इरान–अमेरिका विवादः इराकमा कार्यरत ३० नेपाली नेपाल फर्किँदै
काठमाडौंः इरान–अमेरिकाबीच युद्धको सम्भावना बढेपछि इराकमा कार्यरत ३० नेपाली स्वदेश फर्कने भएका छन् । इराकको राजधानी बग्दादमा रहेको अमेरिकी दूतावाससहित अमेरिकी सैनिक अखाडामा कार्यरत नेपालीलाई ३० नेपालीलाई स्वदेश फर्काइएको बग्दादस्थित अमेरिकी दूतावासले जानकारी दिएको छ । इरानी सैन्य कमान्डर जनरल कसिम सुलेमानीको अमेरिकाले ड्रोन आक्रमण गरी हत्या गरेपछि इरानले त्यसको बदलामा इराकमा रहेका अमेरिकी सैन्य अखाडामा आक्रमण गरेपछि पर्सियन खाडीमा युद्धको संकेत देखिन थालेको छ । यो समाचार आजको नेपाल समाचारपत्रबाट लिइएको हो ।
१४ वर्षीया बालिका बलात्कार आरोपमा युवक पक्राउ
काठमाडौंः बालिका बलात्कारको आरोपमा सिरहाबाट एक युवक पक्राउ परेका छन्। धनगढीमाई नगरपालिका-१२ ठटिया बस्ने २३ वर्षीय राकेश यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। प्रहरीका अनुसार यादवले गएको मंगलबार राति ८ बजे स्थानीय १४ वर्षीया एक बालिकालाई बलात्कार गरेका थिए। ईलाका प्रहरी कार्यालय विष्णुपुरकट्टीबाट पुगेको प्रहरी टोलीले आरोपी यादवलाई पक्राउ गरेको हो। यादवलाई ईलाका प्रहरी कार्यालयमा लहानमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
१४ मुलुकका २९ वायुसेवा कम्पनीले नेपालमा उडान भर्दै
काठमाडौंः भारतको विस्तार र कुवेतको जजिरा एयरवेजले भर्ने वायुसेवा कम्पनीको संख्या २९ पुगेको छ । नेपालसहित विश्वका १४ मुलुकका २९ वटा एयरलाइन्सले नेपालमा उडान भर्दै आएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार भारतको विस्तार र कुवेतको जजिरा एयरवेजले नेभेम्बरदेखि नेपालमा उडान भरेसँगै नेपालमा उडान भर्ने एयरलाइन्सको संख्या बढेको हो । नेपालबाहेक १३ वटा मुलुकका २६ वटा एयरलाइन्सले नेपालमा उडान भर्दै आएका छन् । १३ वटा मुलुकम छिमेकी मुलुक भारत चीनसहित भुटान, बंगलादेश, थाइल्याण्ड, सिंगापुर, मलेसिया, दक्षिण कोरिया, कतार, संयुक्त अरब इमिरेट्स (युएई), कुवेत, ओमन, टर्की रहेको उनले बताए । यो समाचार आजको आर्थिक दैनिकमा छापिएको छ ।

