प्रकाशको भावुक स्टाटसः ‘तेरो लागि साडी र सिन्दुर ल्याएको थिएँ, बिचमै किन छोडेर गयौं ?’

धनगढीः डेढ बर्ष अगाडी मात्रै कञ्चनपुरका प्रकास टेर र बैतडीको गुरुखोला घर भई कञ्चनपुरको भीमदत्त नगरपालिका गोवरीया बस्दै आएकी रमिता भट्ट (रोशनी) ले भागी विवाह गरेका थिए । भागी विवाह गरेपनि दुवै पक्षको परिवारलाई सहमतीमा ल्याउन प्रकास र रमितालाई सहज थिएन् ।

जसका कारण रमिताले प्रकासको नामको सिन्दुर समेत हाल्न सकेकी थिइनन् । भागी विवाहको डेढ बर्षपछि दुवै परिवारको सहमतीमै माघ १३ गते विवाह गर्ने निधो भयो । प्रकास र रमिताको सबैभन्दा खुसीको दिन पनि नजिकै आईरहेको थियो । उनीहरु दुवै विवाहको तयारीमा जुटेका थिए ।

तर बुधवार आफ्नै विवाहको कार्ड बाडिरहेकी रमितालाई कञ्चनपुरको भीमदत्त नगरपालिका–४ महेन्द्रनगर चम्मन चोकमा से १ क ८८७ नम्बरको टिप्परले ठक्कर दियो । टिप्परले ठक्कर दिएपछि उनी घटनास्थलमै सधैका लागि अस्ताईन् । यो घटनाले रमितासंग भागी विवाह गरेका प्रकास टेर अहिले सबैभन्दा पीडामा छन् ।

उनले आफ्नो पीडा फेसवुकमा पोख्दै लेखेका छन्, ‘तेरो लागि साडी ल्याइदिएको छु बुढी, पर्सि हाम्रो विवाह हो । का छस् छिटो आइजा ।’ उनले अगाडी लेखेका छन्, ‘मेरै लागि परिवार सहित सवथोक त्याग्यौ तर मलाई बिचमै किन छोडेर गयौं । मैले यति लामो बाटो एक्लैै कसरी हिड्ने ?’

रमिताको मृत्युपछि अहिले दुवै पक्षको परिवार शोकमा डुवेको छ । स्थानीयले बुधरवार राती सम्म महेन्द्रनगरमा प्रदर्शन समेत गरेका थिए । अहिले रमिताको शव पोष्टमार्टमको लागि महाकाली अस्पतालमा राखिएको छ ।

दिनेश खबर

कुकुरलाई बन्ध्याकरण गराउँदै जुकाको औषधि खुवाइयो

काठमाडौंः भेटेरीनरी अस्पताल तथा पशु विज्ञ केन्द्र तनहुँले सडकमा रहेका २३ कुकुरलाई समातेर बन्ध्याकरण गरिदिएको छ । ती कुकुरलाई रेबिज, छालाको रोग विरुद्धको सुई तथा जुकाको औषधि पनि खुवाइएको केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठले जानकारी दिए । छाडा कुकुरको सङ्ख्या बढ्दै जान थालेपछि दमौली बजारका कुकुरलाई समातेर बन्ध्याकरण गरिएको उनले बताए । विज्ञ केन्द्र र व्यास नगरपालिकाको संयुक्त आयोजनामा सामुदायिक कुकुरको बन्ध्याकरणका लागि बिहीबारदेखि शिविर आयोजना गरिएको छ । “छाडा कुकुरको सङ्ख्या बढ्दै जाँदा बजार क्षेत्रमा बढी होहल्ला हुने र कुकुरको टोकाइले रेबिज रोगको सङ्क्रमण हुने खतरा भएकाले कुकुरलाई स्थायी बन्ध्याकरणका साथै रेबिज विरुद्धको सुई लगाइएको हो”, डा. श्रेष्ठले भने । आजसम्म सञ्चालन हुने शिविरमा विज्ञ केन्द्रका तीन र पोखराबाट तीन विज्ञ चिकित्सक खटिएका छन् । बजार क्षेत्रमा कुकुर देखिए खबर गरिदिन विज्ञ केन्द्रले नगरवासीलाई आग्रह गरेको छ । छाडा कुकुरको बन्ध्याकरण गरिन थालेपछि बजारवासीले खुशी व्यक्त गरेका छन् । रासस

मुगुका सरकारी कार्यालय कर्मचारीविहीन‚ सेवा नपाउँदा सर्वसाधरण मर्कामा

मुगुः हिमाली जिल्ला मुगुका सरकारी कार्यालयहरु कर्मचारीविहीन छन्। विभिन्न बहानामा कार्यालय प्रमुख जिल्लाबाहिर गएपछि सेवाग्राही मर्कामा परेका छन्। प्रखुख जिल्ला अधिकारी जयकुमार घिमिरेले बुधबार जिल्लाबाहिर गएपछि नागरिकता, राहदानी, नाबालक परिचयप्रत्र लगायतका सेवा लिन जिल्ला प्रशासन कार्यालय पुग्ने सेवाग्राहीको काम भएको छैन। सहायक प्रमुख जिल्ला अधिकारी केशव ज्ञवाली पनि एक महिनादेखि जिल्लाबाहिर छन्। अख्तियारी प्राप्त कर्मचारी नुहँदा सेवाग्राहीको काम गर्न समस्या भएको जिल्ला प्रशासन कार्यालय मुगुका खरिदार नरबहादुर बुढाले बताए। जिल्ला प्रशासन कार्यालय मात्र होइन, सदरमुकामममा रहेका सघीय तथा प्रदेश सरकार मातहतहतका कार्यालयहरुमा पनि प्रमुख छैनन्। संघीय माताहतका कार्यालयहरु जिल्ला प्रहरी कार्यालय, राष्ट्रिय अनुसन्धान कार्यालय, कोष तथा लेखा नियन्त्रण कार्यालय, नापी कार्यालय, शिक्षा विकास तथा समन्वय इकाईमा प्रमुख छैनन्। यस्तै, प्रदेश सरकारअन्तर्गतका वन डिभिजन कार्यालय, खानेपानी सिंचाइ तथा ऊर्जा विकास कार्यालयमा पनि प्रमुख छैनन। कार्यालयका कार्यालय प्रमुख नहुँदा सेवाग्राहीले सेवा पाउन सकेका छैनन्।

नेपाल भ्रष्टाचार सूचकांकमा ११ स्थान माथि उक्लियो

काठमाडौंः नेपालको सुशासनको अवस्थामा सुधार हुँदै गएको अन्तर्राष्ट्रिय अध्ययनले देखाएको छ । भ्रष्टाचार अवधारणा सूचकांक (करप्सन पर्सेप्सन इन्डेक्स–सीपीआई)मा नेपाल गत वर्षभन्दा ११ स्थान माथि उक्लिएको छ । गत वर्ष ३१ अंक पाएको नेपालले यस वर्ष ३४ अंक पाएर केही माथि उक्लिँदै सुधार गरेको हो । तर, अझै पनि नेपालको अवस्थामा आशा गरेअनुरूप सुधार आउन नसकेको अन्तर्राष्ट्रिय अध्ययनले देखाएको छ । भ्रष्टाचार अवधारणा सूचकांकले ५० अंक ल्याउने मुलुकलाई सुशासनको अवस्था राम्रो भएको मान्ने गरेको छ । सूचकांकमा ५० भन्दा कम अंक पाउने मुलुक भ्रष्टाचारग्रस्त मानिन्छन् । नेपालको अवस्था अझै सुधारोन्मुख रहेको टीआईको निष्कर्ष छ । सन् २०१८ मा १२४औं स्थानमा रहेको नेपाल यस वर्ष ११३औं स्थानमा उक्लिएको छ । यस वर्ष नेपालले तीन अंक बढी पाएर कुल ३४ अंक बनाए पनि सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकमध्ये २०औं स्थानमा छ । भ्रष्टाचार अवधारणा सूचकांक २०१९ का लागि ६ वटा अन्तर्राष्ट्रिय संस्थाले सर्वेक्षण गरेका थिए । विश्व बैंक, वल्ड इकोनोमिक फोरम, ग्लोबल इनसाइट, बर्टेल्स्म्यान फाउन्डेसन, वल्र्ड जस्टिस प्रोजेक्ट र भेराइटिज अफ डेमेक्रेसी प्रोजेक्ट (भीडीईएम) को सर्वेक्षणका आधारमा सूचकांक प्रतिवेदन सार्वजनिक गरिएको हो । नेपाललाई विश्व बैंकले ३५ अंक दिएको छ भने वल्र्ड इकोनोमिक फोरमले ४० नम्बर, ग्लोबल इनसाइटले ३५ नम्बर, बर्टेल्स्म्यान फाउन्डेसनले २९ नम्बर, वल्र्ड जस्टिस प्रोजेक्ट ३५ नम्बर र भेराइटिज अफ डेमेक्रेसी प्रोजेक्टले २९ नम्बर दिएको छ । १ सय ८० मुलुकमा गरिएको अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै ट्रान्सफरेन्सी इन्टरनेसनल नेपालले भ्रष्टाचारको नियन्त्रणको प्रयास सुधारोन्मुख भए पनि आशाअनुसारको प्रतिफल प्राप्त नभएको जनाएको छ । एक वर्षको अवधिमा भ्रष्टाचार नियन्त्रणका लागि स्थापित निकायहरू गत वर्षको तुलनामा बलियो र मजबुत देखिन थालेका छन् । गत वर्षको तुलनामा नेपालले एउटाबाहेक सबैजसो क्षेत्रमा बढी अंक पाएको छ । आयात–निर्यात, सार्वजनिक सेवा, कर भुक्तानी, ठेक्कापट्टा र न्याय प्राप्तिका लागि घुसखोरीको विषयमा स्थिति सुधार भएको छ । ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल च्याप्टरका मुकुन्द प्रधानका अनुसार सन् २०१९ मा विश्वभर भ्रष्टाचार विरोधी अभियानमा शिथिलता आएको छ । पैसाले राजनीतिमा प्रभाव पारेका मुलुकमा भ्रष्टाचार मौलाएको देखिएको उनले बताए । सन् २००४ देखि नेपालमा ट्रान्सपरेन्सीको सूचांकमा समेटिन थालेको हो । सर्वेक्षणअनुसार निर्वाचनपछि पनि नेपालको सार्वजनिक क्षेत्रमा भ्रष्टाचार, व्यापार व्यवसायमा घुस, सार्वजनिक पद र अधिकारको दुरुपयोग, अनुगमन र कारबाहीमा कमी, सूचनामा नागरिकको पहुँचमा कमी, राजनीतिमा भ्रष्टाचार जस्ता दीर्घकालीन समस्या विद्यमान रहेको देखिन्छ । इन्टरनेसनल नेपालले भनेको छ, ‘भ्रष्टाचार अवधारणा सूचकांक २०१९ मा नेपालले पाएको स्कोरले भ्रष्टाचारको स्थिति चिन्ताजनक रहेको देखिन्छ ।’ ट्रान्सपरेन्सी इन्टरनेसनलले शक्ति पृथकीकरणको प्रवद्र्धन, पक्षपातरहित बजेट र सेवामा सरोकारवालाको पहुँच, राजनीतिमा पैसाको प्रभावलाई न्यूनीकरण, स्वार्थको द्वन्द्वमा सम्बोधन, निर्णय प्रक्रियामा सरोकारवालाको अर्थपूर्ण पहुँच, निर्वाचनमा देखिने विकृतिको अन्त्य तथा नागरिक, सामाजिक अभियन्ता र पत्रकारहरूको सशक्तीकरणजस्ता विषयको सम्बोधनबाट भ्रष्टाचार नियन्त्रण गर्न र राजनीतिप्रति विश्वास जगाउन सरकारलाई सुझाव दिएको छ । भ्रष्टाचारमा कुन देशको अवस्था कस्तो ? विश्वमा सबैभन्दा कम भ्रष्टाचार हुने देशमा डेनमार्क छ । यसले ८७ अंक प्राप्त गरेको छ । विश्वमा सबैभन्दा बढी भ्रष्टाचार हुने देश सोमालिया रहेको जारी सूचीमा उल्लेख छ । सोमालियाले मात्रै ९ अंक प्राप्त गरेको छ । विश्वमा सुशासनको अवस्था सबैभन्दा उत्कृष्टको सूचीमा रहेका डेनमार्क र न्युजिल्यान्डले १०० अंकमा ८७ अंक पाएका छन् । त्यस्तै, फिनल्यान्डले कुल १०० अंकमा ८६ अंक प्राप्त गरेको छ । सुशासनमा उत्कृष्ट सिंगापुर, स्विडेन र स्विट्जरल्यान्डले ८५ अंक प्राप्त गरेका छन् । ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकको सूचीमा भेनेजुएला, यमन, सिरिया, दक्षिण सुडान र सोमालिया जनाएको छ । कुल १०० अंकमा भेनेजुएला १६ अंकसहित १७६औं र यमन १५ अंक पाएर १७७औं स्थानमा छ । सिरिया १३ अंकसहित १७८औं, दक्षिण सुडान १२ अंकसहित १७९ र सोमालिया ९ अंकसहित पुछारमा छ । दक्षिण एसियाली राष्ट्रमा भुटान कम भ्रष्टाचार गर्ने मुलुक एसिया प्यासिफिक मुलुकमा सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकका रूपमा न्युजिल्यान्ड रहेको छ भने सबैभन्दा धेरै भ्रष्टाचार हुने मुलुकमा अफगानिस्तान देखिएको छ । सीपीआई २०१९ मा दुई तिहाइ मुलुकले ५० भन्दा कम अर्थात् औसत ४३ अंक पाएका छन् । २२ देशले भ्रष्टाचारको सूचकांकमा सुधार गरेका छन् भने २१ देशको स्कोर अझ तल झरेको छ । दक्षिण एसियामा सबैभन्दा कम भ्रष्टाचार हुने देश भुटान हो । भुटान ६८ अंक प्राप्त गरी २५औं स्थानमा छ । दक्षिण एसियाली मुलुकमध्ये भुटान ६८ अंक प्राप्त गरी २५औं, भारत ४१ अंक प्राप्त गरी ८०औं, मालदिभ्स र श्रीलंका ३८ अंक प्राप्त गरी ९३औं, पाकिस्तान ३२ अकंसहित १२०औं, बंगलादेश २६ अंक प्राप्त गरी १४६औं र अफगानिस्तान १६ अंक प्राप्त गरी १७३औं स्थानमा छन् । त्यस्तै, चीन ४१ अंक प्राप्त गरी ८०औं स्थानमा छ । कसरी हुन्छ मापन? नागरिक र सेवाग्राहीले व्यक्त गर्ने अवधारणका आधारमा तय गरिने भ्रष्टाचार अवधारणा सूचकांक ९करप्सन पर्सेप्सन इन्डेक्स–सीपीआई० प्रतिवेदन तयार गर्ने क्रममा ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल आफैं प्रत्यक्ष संलग्न हुँदैन । विभिन्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र दातृ निकायले गर्ने सर्वेक्षणका क्रममा संकलन गरिने सूचनालाई विश्लेषण गरेर समग्र सूचक निकालिन्छ । अनुसन्धानका लागि विभिन्न स्रोतबाट तथ्यांक संकलन गरिन्छ । सम्बन्धित मुलुकमा भ्रष्टाचारको स्थितिबारे व्यवसायी तथा विभिन्न क्षेत्रका विज्ञ के सोच्छन् भनेर उनीहरूको धारणा बुझिन्छ । सार्वजनिक क्षेत्रमा रहेको भ्रष्टाचारबारे उनीहरूको धारणालाई विभिन्न अंक दिइन्छ । त्यसका आधारमा देशअनुसार विषयलाई स्कोर दिइन्छ । जहाँ अंक ० देखि १०० भित्रमा ० ले ‘सबैभन्दा भ्रष्टाचार हुने’ बुझाउँछ भने १०० ले ‘सबैभन्दा कम भ्रष्टाचार हुने’ भन्ने बुझाउँछ । यो समाचार राजधानी दैनिकबाट लिइएको हो ।

मौसम पूर्वानुमानः फेरि देशभर बदली, तीन दिनसम्म मौसम खुल्ने सम्भावना न्यून

काठमाडौंः आगामी तीन दिनसम्म देशभर मौसम खुल्ने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकी मौसमविद् विभूति पोखरेलका अनुसार पश्चिमी न्यून चापीय रेखा अझै रहेका कारण देशभर बदली भएको हो । यो रेखाले पानी पार्ने सम्भावना एकदमै कम भए पनि आकाशमा बादल लाग्ने भएकाले आगामी तीन दिनसम्म देशभर मौसम खुल्ने सम्भावना नदेखिएको उनले बताइन् । ‘पश्चिमी न्यून चापीय रेखा मात्रै छ, प्रणाली होइन,’ मौसमविद् पोखरेलले भनिन्, ‘यसले वर्षा तथा हिमपात गराउने सम्भाना हुँदैन, तर घाम लाग्न पनि दिँदैन, मौसम धुम्म भइरहन्छ।’ तर सीमित स्थानमा हल्का क्षणिक वर्षा हुन पनि सक्ने उनले बताइन्।  

आयल निगममा खुुल्यो जागिर, प्रबन्धकदेखि मिस्त्रीसम्म माग (विज्ञापनसहित)

काठमाडौंः नेपाल आयल निगमले विभिन्न पदका लागि दरखास्त माग गरेको छ । निगमले प्रवन्धकका लागि खुला पुर्ति गर्नका लागि १ जना को माग गरेको छ । त्यस्तै सहायक प्रबन्धक कम्प्युटर, सहायक (मिस्त्री) लगायतका लागि ४१ पदका लागि मागेको हो । हेर्नुहोस विज्ञापन

सामूहिक राजीना दिए वायुसेवा निगमका २५ पाइलटले

काठमाडौंः नेपाल वायुसेवा निगमको ६० वर्षे इतिहासमै पहिलोपटक दुई दर्जनभन्दा बढी पाइलटले सामूहिक राजीनामा बुझाएका छन् । व्यवस्थापनका कारण निगम धरासयी भएको तथा विदेशी र नेपाली पाइलटबीच सेवा सुविधामा चरम विभेद गरिएको भन्दै उनीहरुले राजीनामा बुझाएका हुन् । राजीनामा स्वीकृत गर्न पाइलटले तीन महिनाको म्याद दिएका छन् । स्वीकृत भए अन्तर्राष्ट्रिय उडान ठप्प हुने छ । वाइडबडीका तीन र न्यारोबडीका २२ पाइलटसहित २५ जनाले निगमका निमित्त कार्यकारी अध्यक्ष गणेशबहादुर चन्दलाई सामूहिक राजीनामा बुझाएका हुन्। राजीनामा दिने सबै स्थायी पाइलट हुन् । राजीनामा बुझाउनेमध्ये १५ जना क्याप्टेन हुने भने १० जना को–पाइलट हुन्। यो समाचार आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।  

नेपाली नम्बरका ग्यास बुलेट सञ्चालन गर्न भारत सकारात्मक

काठमाडौंः लामो समयदेखि रोकिएका नेपाली नम्बरका ग्यास बुलेट सञ्चालन गर्ने विषयमा भारतीय पक्ष सकारात्मक भएको छ । हालै भारतमा सम्पन्न भएको नेपाल भारत पेट्रोलियम तथा प्राकृतिक ग्याससम्बन्धी ज्वाइन्ट वर्किङ ग्रुपको बैठकमा भारतीय पक्ष यस विषयमा सकारात्मक भएको हो । नेपालका तर्फबाट वार्ता टोली प्रमुख आपूर्ति मन्त्रालयका सहसचिव ध्रुव घिमिरेले नेपाली नम्बरका ग्यास बुलेट सञ्चालन गर्ने विषयमा भारतीय पक्ष सकारात्मक भएको जानकारी दिए । यो समाचार आजको कारोबार दैनिकमा छापिएको छ ।

नेपाल टेलिभिजनमा एक सय भन्दा बढीका लागि खुल्यो जागिर

काठमाडौंः नेपाल टेलिभिजनले विभिन्न पदका लागि दरखास्त आव्हान गरेको छ। टेलिभिजनमा वरिष्ठ समाचार सम्पादक, वरिष्ठ निर्माता सहित क्यामराम्यान लगायत १ सय २ जनाको माग गरेको छ। हेर्नुहोस् विज्ञापनः

विवाहको ४ दिन अगाडि टिपर दुर्घटनामा मृत्यु

कञ्चनपुरः यही माघ १३ मा हुने आफ्नो विवाहको निम्ता साथिहरुलाई बाँडन हिँड्दै थिइन उनी । जीवनमा एकपटक हुने विवाहका लागि उनी खुसी थिइन् । तर, विवाहको मिति नजिकिँदै गर्दा उनले यस संसार छाडिन् । कञ्चनपुरको भीमदत्त नगरपालिका–४ महेन्द्रनगर चम्मन चोकमा टिपरको ठक्करबाट रमिता भट्ट (रोशनी) को ज्यान गयो । बिहीबार अपरान्ह ग्राभेल बोकेको से १ क ८८७ नम्बरको टिपरले ठक्कर दिएर दशरतचन्द नगरपालिका–१ गुरुखोलाकी २० वर्षीया उनको घटना स्थलमै मृत्यु भयो । साईकल चढेकी रमितालाई टिपरको पछाडिको चक्काले उनको टाउको किचेपछि उनको घटनास्थलमा नै ज्यान गयो । घटना जिल्ला ट्राफिक कार्यालय कञ्चनपुरको कार्यालयदेखि झण्डै ५ सय मिटर दूरी पश्चिममा भएको हो । स्थानीयले टिपर आतङ्क बढेको भन्दै टिप्परमाथि ढुङ्गामुढा प्रहार गरेका थिए ।

५ हजार घुस लिने सशस्त्रका जवानविरुद्ध मुद्दा दायर

काठमाडौंः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग पाँच हजार घुस लिएको अभियोगमा सशस्त्र प्रहरी बल सीमा सुरक्षा बखरी मोरङ कार्यरत सशस्त्र प्रहरी जवान शशितनारायण विश्वासविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगको इटहरीबाट गएको टोलीले विश्वासलाई घुससहित केही दिन पहिले पक्राउ गरेको थियो । प्रहरी जवान विश्वासले भारतबाट प्याज ल्याउने कार्यमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिएका थिए । यस्तै राहत दरबन्दीमा शिक्षक राख्ने क्रममा परीक्षार्थीलाई सामाजिक सञ्जालको प्रयोग गरी प्रश्नपत्र र उत्तर कुन्जिका पठाएको अभियोगमा तीन जनालाई पक्राउ गरेको छ । पिपलचौतारा माध्यमिक विद्यालय डुंगेश्वर दैलेखका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं शिक्षक छनोट समितिका संयोजक भक्तबहादुर शाहीले राहत दरबन्दीमा निम्न माध्यमिक विद्यालय तहको सामाजिक विषयको शिक्षक छनोटको परीक्षा सञ्चालन हुनु अगावै सामािजक सञ्जालमार्फत पश्नपत्र र उत्तर कुन्जिका चुहाएको अभियोग लागेको छ । आयोगको सुर्खेतबाट गएको टोलीले अध्यक्ष शाही, छनौट भएका शिक्षक घनश्याम भण्डारी र वैकल्पिक उम्मेदवार दलबहादुर विकलाई पक्राउ गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

कोरोनाभाइरस संक्रमणः चीनको वुहानमा हृदयाघातले मृत्यु भएका नेपालीको शव ल्याउन समस्या

काठमाडौंः चीनको वुहान सहरमा हृदयाघातका कारण मृत्यु भएका एकजना नेपाली नागरिकको शव नेपाल पठाउन समस्या भएको चीनस्थित नेपाली दूतावासका अधिकारीले बताएका छन्। नयाँ घातक भाइरस फैलनबाट रोक्न चीनले वुहानमा यातायात सेवा बन्द गरिदिएपछि गत आइतवार हृदयाघातका कारण निधन भएका दोलखाका ४० वर्षिय पुष्कर खड्काको शव नेपाल ल्याउन समस्या भएको हो। करिब १५ वर्षदेखि वुहानस्थित एउटा रेस्टुरेन्टमा कार्यरत खड्काको शव नेपाल पठाउन कानुनी प्रक्रिया सुरु भइसकेको दूतावासका अधिकारीले बताए। बेइजिङस्थित नेपाली दूतावासका उपप्रमुख सुशील लम्सालका अनुसार शनिवार राति केही नेपाली साथीहरूसँगै रहेका उनको सुतेकै अवस्थामा निधन भएको थियो। टेलिफोनमा कुराकानी गर्दै लम्सालले भने, “हामीले शव नेपाल फर्काउने पहल गरिरहेका छौँ। वुहानमा आवागमन नियन्त्रित भएकाले समस्या भएको हो।” वुहानको अवस्था श्वाप्रश्वास सम्बन्धी स्वास्थ्य समस्या उत्पन्न गराउने कोरोनाभाइरसको सङ्क्रमण थप फैलिन नदिन चिनियाँ अधिकारीहरूले वुहान सहरका सबै सार्वजनिक यातायात तथा उडानहरू स्थगित गर्ने निर्णय गरेका छन्। कोरोनाभाइरसको सङ्क्रमण चिनियाँ सहर वुहानबाट अन्यत्र फैलिइसकेको छ। ६ सयभन्दा बढी मानिसहरू प्रभावित भइसकेका छन् भने २५ जनाको ज्यान गइसकेको छ। लम्सालले खड्काको शव नेपाल पठाउन वुहानको अवस्था सामान्य हुनुपर्ने देखिएको बताए। नेपालीमा सङ्क्रमण देखिएको छैन बेइजिङस्थित नेपाली दूतावासका अनुसार हालसम्म चीनमा रहेका नेपालीमा कोरोनाभाइरस सङ्क्रमण भएको सूचना आएको छैन। तर दूतावासले चीनमा रहेका सबै नेपालीलाई उक्त भाइरसबाट बच्ने उपायहरू अपनाउन र आवश्यक परे सहायताका लागि सम्पर्क गर्न सूचना जारी गरेको छ। दूतावासले बिहीवार जारी गरेको सूचनामा बेइजिङस्थित दूतावासका साथै ग्वाञ्जाओ, ल्हासा र हङ्कङस्थित नेपाली महावाणिज्य दूतावास तथा साङ्घाईस्थित अवैतनिक नेपाली महावाणिज्य दूतसँग सम्पर्कमा रहन भनिएको छ। नेपाली दूतावासका उपप्रमुख लम्सालका अनुसार चीनका विभिन्न सहरहरूमा करिब ८ हजार विद्यार्थी र विभिन्न पेसा तथा व्यवसायमा संलग्न गरी करिब १२ हजार नेपालीहरू रहेका छन्। बीबीसी नेपालीबाट

डिस होमद्वारा ‘राइम्स च्यानल’ सञ्चालनमा

काठमाडौंः डिस होमले ‘राइम्स च्यानल’को सुरुवात गरेको छ । मनोरञ्जन दिने उद्देश्यका साथ डिसहोमले ‘राइम्स च्यानल’ को सुरुवात गरेको हो । यो च्यानल २ देखि १२ बर्षसम्मका बच्चाका लागि अत्यन्तै अन्तरक्रियात्मक रहेको डिस होमले जनाएको छ । डिस होमका अनुसार यो च्यानल ८०९ नम्बरमा गएर हेर्न सकिने छ । च्यानलले बच्चाहरुको लागि एउटा पढ्नको लागि आधार प्रदान गर्नुका साथै अंग्रेजी तथा गणित जस्ता विषयको मात्र नभई विभिन्न मनोवैज्ञानिक सामाग्रीको माध्यमबाट दिमाग सुढृढ बनाउन मद्दत गर्ने डिस होमले अपेक्षा गरेको छ । डिसहोम एक डिटिएच (डाइरेक्ट टु होम) सेवा प्रदायक कम्पनी हो।

एसियाकै लामो झोलुङ्गे पुलको निर्माण कार्य अन्तिम चरणमा

बाग्लुङः बाग्लुङ र पर्वत जोड्ने एसियाकै लामो झोलुङ्गे पुल निर्माणको अन्तिम चरणमा पुगेको छ । गएको वर्ष चैतबाट शुरु भएको बागलुङ नगरपालिका–१ रामरेखा र कुश्मा नगरपालिका–१ पाङ अदुवाबारी जोड्ने ५६७ मिटरको झोलुङ्गे पुलमा स्टिल डिक (फ्याल) बिछ्याउने काम सुरु भएको छ । पुललाई आवश्यक २४ वटा लठ्ठा तानिसकेपछि त्यसमाथि स्टिलको फ्ल्याक बिछ्याउन थालेको निर्माण कम्पनी थानीरबिएलटी–हिमशिखर कन्स्ट्रक्शनका प्रतिनिधि नरहरि खड्काले जानकारी दिए । ‘फागुनभित्र फिटिङको काम सकिन्छ’, उनले भने । कालीगण्डकी नदीमाथि बन्दै गरेको १३० मिटर अग्लो पुलको लठ्ठा तान्न गाह्रो र चुनौतीपूर्ण भए पनि नेपालमै पहिलोपटक नमूना परियोजनाको रुपमा लामो पुल निर्माणको काम तीव्र गतिमा भइरहेको छ । अहिले २१ कामदारले नियमित काम गरिरहेका छन् । पहिलो चरणमा २४ लठ्ठा तानिएको छ । बाँकी चार वटा साइड लठ्ठापछि थप गरिनेछ । पुलमा कुल ९४५ स्टिलका फ्ल्याक बिछ्याउनुपर्छ । दैनिक ४०–५० फ्ल्याक बिछ्याउन सकिन्छ। पुलको प्रतिवर्ग फिटमा चार जना अट्ने र पुल भरिभराउ हुँदा थेग्न सक्ने क्षमताको हुनेछ। पुल लामो भएकाले मोटरसाइकल सञ्चालनमा रोक लगाइने छ । आयू ५० वर्ष हुने पुल निर्माणपछि बाग्लुङ बजारसँग व्यावसायिक सम्बन्ध रहेका कुश्मा नगरपालिकाका जलजला गाउँपालिकावासीलगायतलाई सहज हुने बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए । उक्त पुल बागलुङ प्रवेशद्वार मालढुङ्गा बजार, मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर सडकखण्डको ठीकमाथि बन्ने भएकाले पर्यटकीय दृष्टिले महत्वपूर्ण हुने छ । ‘सस्पेन्सन’ पुल विभागमार्फत भएको खुल्ला बोलपत्र प्रक्रियाबाट निर्माणको जिम्मेवारी पाएको कम्पनीले रु छ करोड ९१ लाखमा ठेक्का सम्झौता गरेको हो । यो पुल एशियाकै लामो भएको निर्माण कम्पनीको दाबी छ । कञ्चनपुरको महाकाली नदीमा बनाइएको मल्टीस्पान प्रकृतिको चाँदनी–दोधारा पुल एशियामा लामो मानिए पनि यहाँको खुल्ला प्रकृतिको पहिलो हो ।चाँदनी–दोधारा पुलमा १४र१५ वटा टावर राखेर बनाइएको छ । बागलुङमा बन्ने पुल खुला आकाशमा बन्ने भएकाले यस प्रकृतिको पुल नेपालकै सबैभन्दा लामो रहेको निर्माण कम्पनीका प्रतिनिधि खड्काको भनाइ थियो । निर्धारित समयभन्दा छ महिना पहिलै पुल निर्माण सक्ने निर्माण कम्पनीको लक्ष्य छ । (प्रतिकात्मक तस्बिर)

प्रदेश सरकारले बाँडेको अत्याधुनिक एम्बुलेन्स डोटीमा दुर्घटना

कैलालीः सुदूरपश्चिम प्रदेश अन्तर्गत सामाजिक विकास मन्त्रालयले अत्याधुनिक भनेर बाडेको एम्बुलेन्स बिरामीलाई नेपालगञ्ज पुर्‍याएर फर्किदै गरेको अवस्थामा डोटीको बुडरमा दुर्घटनामा परेको छ । चालक मुस्किलले जोगिए पनि एम्बुलेन्स भने नराम्ररी क्षतिग्रस्त भएको छ । एम्बुलेन्सको अगाडिको भाग पूर्णरुपमा क्षति भएको छ । प्रहरीका अनुसार बझाङको छबीस पाथिभेरा गाँउपालिकाको मटेला स्वास्थ्य चौकीको सु प प्र ०१००१ झ ३४८ नम्बरको एम्बुलेन्स जोरायल गाँउपालिका वडा नम्बर २ बुडर बजार नजिकै मोडमा मंगलवार साँझ दुर्घटना भएको हो । ईप्रका बुडरका प्रमुख प्रहरी नायव निरिक्षक कर्ण रौलेले बझाङबाट कोहलपुर बिरामी पु¥याएर फर्किदै गरेको एम्बुलेन्स दुर्घटनामा परेको बताए । चालकहरुले सामाजिक विकास मन्त्रालयले अत्याधुनिक भनेर बाडेको एम्बुलेन्स एक पांग्रे भएको, ब्रेक नलाग्ने, ओरालोमा अत्यन्त तातिने, पट्टावाला भएकोले उफ्रिने लगायतका समस्याहरु भएको बताएका थिए। संयुक्त एम्बुलेन्स चालक संघका सुदूर पश्चिम प्रदेश अध्यक्ष लक्ष्मण सिंहले उक्त एम्बुलेन्स चलाउनु बिरामी र चालकका लागि अत्यन्त जोखिमपूर्ण भएकोले सुदूरपश्चिमका चालकहरुले नचलाउने बताएका थिए ।

राष्ट्रियसभा निर्वाचनः दाजु विजयी, भाइ फेरि पनि पराजित

जनकपुरधामः राष्ट्रियसभा सदस्यका लागि आज भएको निर्वाचनमा दाजु विजयी हुँदा भाइ भने पराजित भएका छन् । एकै परिवारबाट चुनावी प्रतिस्पर्धामा उत्रिएका मृगेन्द्रसिंह यादव निर्वाचित हुँदा भाइ अनिरुद्र सिंह पराजित भएका हुन्। बिहीबार भएको राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि सहोदर दाजुभाइ दुई फरक पार्टीबाट प्रतिस्पर्धामा थिए। प्रदेश २ बाट चुनावी प्रतिस्पर्धामा उत्रिएका उनीहरुमध्ये नेकपा–राजपा गठबन्धनबाट उठेका मृगेन्द्रले जित निकाले। उनले ५४ सय मत ल्याउँदै राष्ट्रिय सभा सदस्यको पद पक्का गरे। पराजित उनका भाइ अनिरुद्धले ४ हजार ५ सय १२ ल्याए। उनी कांग्रेस–समाजवादी गठबन्धनबाट चुनावी प्रतिस्पर्धामा थिए। सप्तरीको बोदेवसाइन नगरपालिकाका अनिरुद्र सिंह यादव राजपाबाट र अनिरुद्रका भाई मृगेन्द्र सिंह समाजवादी पार्टीबाट उम्मेदवार थिए। यसअघि पनि यी दाजुभाइ फरक–फरक राजनीतिक दलबाट चुनावी मैदानमा उत्रिसकेका थिए। तर, दुवै भाई पराजित भएका थिए। यो पटक भने दाजुलाई नेकपा-राजपा गठबन्धनले जिताएको हो। २०७० सालको संविधानसभाको चुनावमा दाइ अनिरुद्र तत्कालीन मधेसी जनाधिकार फोरमबाट र भाई मृगेन्द्र तत्कालीन मधेसी जनाधिकार फोरम लोकतान्त्रिकबाट चुनावी प्रतिस्पर्धामा थिए। तर, त्यो बेला दुवै पराजित भएका थिए। उनीहरु चुनाव लडेको क्षेत्रमा नेपाली कांग्रेसका सुरेन्द्र यादव निर्वाचित भएका थिए।