टिपरले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु
विराटनगरः टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।
कोशी राजमार्ग अन्तर्गत मोरङको बुढीगङ्गा गाउँपालिका–१ ढाँटमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सप्तरी चन्नी मल्हनियाँ–२ का २८ वर्षीय हरेराम साह र पछाडि बसेका सिरहा सुखीपुर २ का २४ वर्षीय मोहमद अजिर राईन (मुस्लिम) को मृत्यु भएको प्रहरीले जनाएको छ ।
को १ ख ७३०९ नम्बरको टिप्परले प्रदेश २–०१–००१प १६०८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा रहेका ३ जनामध्ये २ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
मोटरसाइकल पछाडि बसेका सप्तरीको रुपनी बसेका १९ वर्षीय धनराज यादव गम्भीर घाइते भएका छन् । उनको कोशी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।(फाइनल फोटो)
सञ्चारकर्मी भुसालले गरे विष खाएर आत्महत्या
कपिलवस्तुः कपिलवस्तुमा एक सञ्चारकर्मीले विष खाएर हात्महत्या गरेका छन् । जिल्लाको वाणगंगा-११ हथौसामा घर भएका सञ्चारकर्मी कृष्ण भुसालले विष खाएर हात्महत्या गरेका हुन् । भुसाल कपिलवस्तुस्थित रेडियो बुद्धआवाज र बुद्धआवाज टिभीमा कार्यक्रम प्रस्तोताको रुपमा कार्यरत थिए । उनले विष सेवन गर्नुको कारण खुल्न सकेको छैन । आइतबारविहान मात्र उनले विष सेवन गरेको थाहा भएपछि कपिलवस्तु सामुदायिक अस्तापल ल्याइएको थियो । यहाँ उपचार सम्भव नभएपछि उनलाइ तत्काल बुटवल रेफर गरिएको थियो । तर उनको अस्पताल लैजाँदै गर्दा बाटोमै निधन भएको पारिवारिक स्रोतले जनाएको छ । भुसाल सञ्चारमाध्यमका साथै शिक्षण पेशामा पनि आवद्ध थिए । उनले वाणगंगा ११ ओदारीको लिटिल स्टार इंग्लिस बोर्डिङ स्कुलमा लामो समयदेखि अध्यापन गराउँदै आएका थिए । केही महिना यता भुसाल मानसिक तनावमा रहँदै आएको पारिवारिक स्रोतले बताएको छ । उनका एक छोरी र श्रीमती छन् ।
वुहानबाट फर्किएका नेपाली हर्षित, भन्छन्– ‘क्वारेन्टाइनमा खानेबस्ने व्यवस्था सोचेभन्दा राम्रो’
काठमाडौंः चीनको वुहानबाट उद्धार गरेर नेपाल ल्याइएका १ सय ७५ नेपालीले सरकारी व्यवस्थापन देखेर आफूहरुलाई खुसी लागेको बताएका छन् । आज बिहान काठमाडौंमा उत्रिएका उनीहरुलाई स्वास्थ्य परीक्षणपछि प्रहरीको स्कर्टिङमा भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा व्यवस्था गरिएको क्वारेन्टाइन क्षेत्रमा लगिएको थियो । अबेर राति वुहानबाट उडेका उनीहरु लगभग जाग्रामकै अवस्थामा काठमाडौं उत्रिएका थिए। ‘खरिपाटी आएपछि प्रायः हामी सबै सुत्यौं। हामीलाई यहाँ बस्दा पालना गर्नुपर्ने नियम र खानेपिउने समय तालिका दिइएको छ’ डा. जीतसिंह भण्डारीले भने, ‘खानेकुराहरु बाहिर चउरमा बनाएको टेन्टमा लन्चबक्स बनाएर राखिँदो रहेछ। यहाँको व्यवस्था हामीले सोचेभन्दा पनि राम्रो छ।’ यस्तै वुहानबाट फर्किएका अर्का चिकित्सा शिक्षाका विद्यार्थी डा. सुदीप राउतले सरकारले वुहानदेखि नै राम्रो व्यवस्था गरेको बताए । स्वदेश फर्कन पाउँदा अहिले सबै नेपालीहरु निकै हर्षित छन्। त्यसमाथि पनि सरकारले गरेको व्यवस्थाले उनीहरुको मन रमाएको छ।
नयाँबसपार्क शुद्धीकरण अभियानः ५ महिनामा १ हजार पक्राउ
फाइल फोटो काठमाडौंः प्रहरीले गोँगबु नयाँबसपार्क क्षेत्रमा आपराधिक क्रियाकलापमा संलग्न ५७ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरीवृत्त महाराजगञ्जको टोलीले शनिबार राति चलाएको शुद्धीकरण अभियानमा गेष्ट हाउसका सञ्चालकसहित ५७ जनालाई पक्राउ गरेको हो । पक्राउपर्नेमा ४० पुरुष १६ महिला र एक तेस्रोलिङ्गी छन् । प्रहरीले गेष्ट हाउस सञ्चालन गरेर वेश्यावृत्तिमा लगाउने शिवपुरी गेष्ट हाउसका सञ्चालक विनोद भट्टराई, मुस्ताङ गेष्ट हाउसका सञ्चालक नरेन्द्र पोमु र वाग्लुङ भोजनालयका सञ्चालक सोमबहादुर तामाङलाई पक्राउ गरेको छ । यसैगरी गेष्ट हाउसमा विचौलियाका रुपमा कार्यरत विष्णु थापा, अशोक पोमु र कमल कालाखेतीलाई समेत नियन्त्रणमा लिएको छ । अभियानका क्रममा जबर्जस्ती करणी मुद्दामा फरार अपराधी शनकाजी दर्जी पनि पक्राउ परेका छन् । वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक उमेश लम्सालले नयाँबसपार्क क्षेत्रको विकृति, विसङ्गति अन्त्यका लागि अभियान चलाएको बताए । वेश्यावृत्ति, पाकेटमार र जबर्जस्ती करणी मुद्दामा फरार व्यक्तिलाई नियन्त्रणका लागि पनि अभियान चाल्नु परेको उनको भनाइ छ । अभियानका क्रममा प्रहरीले विभिन्न होटल तथा रेस्टुराँबाट १०० लिटर घरेलु मदिरासमेत नष्ट गरेको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले नयाँबसपार्क क्षेत्रलाई आकर्षक क्षेत्रका रुपमा विकास गर्न यहाँभित्र रहेका विकृति विसङ्गति अन्त्यका लागि थप प्रहरी परिचालन गरी अप्रेसन चलाइएको बताए । महाराजगञ्ज प्रहरीले पाँच महिनाको अवधिमा बसपार्क क्षेत्रमा अनैतिक क्रियाकलापमा लाग्ने झण्डै एक हजार व्यक्तिलाई पक्राउ गरी कारवाही गरिसकेको छ । पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस
कालापानीको भ्रमण गर्दै उपप्रधानमन्त्री पोखरेल
दार्चुलाः उपप्रधानमन्त्री ईश्वर पोखरेलले दार्चुलाको कालापानी क्षेत्रको भ्रमण गर्ने भएका छन् । दार्चुला उद्योग वाणिज्य सङ्घको आयोजनामा आजदेखि १३ गतेसम्म सञ्चालन हुन गइरहेको महोत्सवको उद्घाटन कार्यक्रमपछि पोखरेल कालापानी क्षेत्रको भ्रमणमा जान लागेका हुन् । उपप्रधानमन्त्री पोखरेलको टोलीमा रक्षा मन्त्रालयका एक सहसचिव र नेपाली सेनाका उच्च अधिकारीको समेत सहभागी हुनेछ । भ्रमणका लागि गृह मन्त्रालयले आवश्यक सुरक्षा व्यवस्थापनका लागि जिल्ला प्रशासन कार्यालय र प्रहरी प्रधान कार्यालयमार्फत जिल्ला प्रहरी कार्यालयलाई निर्देशन दिइसकेको छ । उपप्रधानमन्त्रीको टोलीमा १० जना सहभागी रहने जनाइएको छ । हेलिकप्टरमार्फत उपप्रधान तथा रक्षामन्त्री पोखरेलले व्यास क्षेत्रको भ्रमण गर्ने कार्यक्रमसमेत छ । सैनिक अधिकारीसहित व्यास क्षेत्रमा भ्रमण गर्ने भएपछि सुरक्षा सतर्कता बढाइएको छ । पछिल्लो समय भारतले नेपालको भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा आफ्नो नक्शामा समावेश गरेपछि त्यसको विरोध भएको थियो भने सरकारले पनि भूमि आफ्नो भएको दाबी गरेको थियो ।
कुलमानको दावीः ‘विद्युत प्राधिकरणको वार्षिक नाफा ९ अर्ब नाघ्यो’
काठमाडौंः नेपाल विद्युत प्राधिकरणको नाफा वार्षिक ९ अर्ब नाघेको छ । आज काठमाडौंमा ड्याफोडिल स्कुलद्धारा आयोजित ‘रेमिट्यान्स फर बेटर लाइफ’ कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको नाफा वार्षिक ९ अर्ब नाघेको जानकारी दिए । उनले पछिल्लो तीन वर्षयता विद्युत प्राधिकरणको नाफा बढ्दो क्रममा रहेको समेत बताए । १६ वर्षसम्म वार्षिक नौँ अर्बको हाराहारीमा घाटामा रहेको प्राधिकरण पछिल्लो तीन वर्षमा गुणात्मक नाफा गर्न सफल भएको कार्यकारी निर्देशक घिसिङले बताए । घिसिङका अनुसार विद्युत प्राधिकरण लगातार तेस्रो वर्ष नाफामा गएको हो । कुलमानले नेतृत्व सम्हालेलगत्तै ठूलो घाटामा रहेको प्राधिकरणले नाफा आर्जन सुरु गरेको थियो ।
शोभराज र गोरे केन्द्रीय कारागारको गोलघरमा चेस र बाघचाल प्रतिस्पर्धा गर्दै
काठमाडौंः नाटकीय शैलीमा विभिन्न देश पुगेर हत्या गर्ने विश्वकुख्यात अपराधी चार्ल्स शोभराज र प्रहरीलाई नै हात लिएर विमानस्थलबाटै ३८ क्विन्टल सुन तस्करी गर्ने अभियुक्त चूडामणि उप्रेती ‘गोरे’ । सुन्धारास्थित केन्द्रीय कारागारको गोलघरमा रहेका उनीहरूको जेलभित्रै दोस्ती झाँगिएको छ । शोभराज र गोरेको जेल दैनिकी चेस र बाघचाल प्रतिस्पर्धामा बित्ने गरेको छ । उनीहरू दैनिक चेस र बाघचाल प्रतिस्पर्धामा रमाउने गरेको केन्द्रीय कारागारका जेलर लक्ष्मीप्रसाद बाँस्कोटाले बताए । उनका अनुसार गोलघरमा रहेका सात कैदीबन्दीमध्ये शोभराज र गोरेको सम्बन्ध विशेष छ । दुवैजना किताब पनि साटफेर गरेर पढ्छन् । उनीहरू कुख्यात भएकाले जेल प्रशासनले विशेष निगरानीमा राखेको छ । भाग्न सक्ने र जेलभित्रैबाट अपराध गर्न सक्ने व्यक्तिलाई गोलघरमा राखिन्छ । उनीहरूले गोलघरभित्रै कैदीबन्दीलाई मात्र केही घन्टा भेट्न पाउँछन् । शोभराज ०६० यता गोलघरमा छन् । एकपटक उनीसँग मोबाइललगायत विद्युतीय सामान भेटाएपछि जेल प्रशासनले थप कडाइ गरेको छ । गुन्डा नाइके अभिषेक गिरी, बाल यौन दुराचारमा पक्राउ परेका साउदी अरेबियन नागरिक र न्यायाधीश रणबहादुर बमको हत्यामा संलग्न एक कैदी पनि गोलघरमै छन् । चार वर्षपछि छुट्ने शोभराज जेल बसेको ९ वर्ष भयो । सबै मुद्दामा कैद भुक्तान गरेर छुट्न अब चार वर्ष बाँकी छ । जेलर बाँस्कोटाका अनुसार ०८० मा उनको सबै कैद सजाय सकिनेछ । शोभराजविरुद्ध नेपालमा दुईवटा हत्या र एउटा हत्या प्रयासको मुद्दा छ । ०३३ मा दुई विदेशी नागरिकको हत्या मुद्दामा उनी दोषी ठहर भएका छन् । जसमा उनलाई जन्मकैद सजाय भएको छ । नेपालको कानुनअनुसार जन्मकैद मुद्दामा अधिकतम २० वर्ष जेल बस्नुपर्छ । त्यस्तै, ०६७ मा केन्द्रीय कारागारमा युनुस अन्सारीलाई गोली हानेको घटनामा पनि शोभराजको संलग्नता देखिएको थियो । भारतीय नागरिक मनमित सिंहले शोभराजबाटै अन्सारीबारे सूचना लिएर गोली हानेका थिए । जसमा उनीविरुद्ध समेत मुद्दा दायर भएको छ । सबै मुद्दाको कैद सजाय ०८० असारमा सकिनेछ । यो समाचार आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।
प्रेमिकाले धोका दिएको भन्दै स्टाटस लेखेर सप्तकोशीमा युवकले हाम फाले
काठमडाौंः प्रेमिकाले धोका दिएको भन्दै भन्दै एक युवकले सप्तकोशीमा हाम फालेका छन् । सुनसरी बराहक्षेत्रका अन्दाजी ३० वर्षीय राजेश बानियाँले आज साढे ४ बजे बराहक्षेत्र–१ स्थित कोशी पुलबाट हाम फालेका हुन् । सप्तकोशीमा बेपत्ता उनको खोजी भइरहेको छ । कोसीमा हाम फाल्नुअघि उनले फेसबुकमा केही तस्विरसहित स्टाटस लेखेका छन्, ‘१० वर्षभन्दा बढी समयदेखि मसँग सम्बन्ध राखेर विनाकारण अचानक तिमीले अर्को केटासँग बिहे गर्न लागेको देखेर बाँच्ने दिन अन्तिम हो जस्तो लाग्यो । केही छैन, आशा छ सबै खुसी तिमीले पाउने छौ । गूड बाइ इसु, आशा छ तिमीले मलाई माफ गर्ने छौ ।’ इलाका प्रहरी कार्यालय चतराका अनुसार बानियाँले हाम फालेको स्थान नजिकै को३७प ७ नम्बरको रातो रंगको बुलेट, एक जोर जुत्ता, मोटरसाइकलको बिलबुक र लाइसन ट्रायल पास गरेको कागज फेला परेको छ । एक प्रत्यक्षदर्शीका अनुसार बानियाँ बिहानै देखि बाइकमा पुलबाट ओहरदोहर गरिरहेका थिए । कोसीमा हाम फालेलगत्तै पानी बोटमा सवार यात्रुहरूले बाँस दिएर बचाउने कोशिस गरे पनि उनले बाँस नसमातेको प्रत्यक्षदर्शीले बताएका छन् ।
अधिकारकर्मी चन्दको वृद्धाश्रमका बुढाबुढी धर्नामा
कञ्चनपुरः जिल्ला प्रशासन कार्यालयमा धर्नाबाट गिरफ्तार गरिएका दुई महिलालाई छाडिएको छ । उनीहरु बिहान जिल्ला प्रशासन कार्यालयको धर्नाबाट अधिकारकर्मी शारदा चन्द सहित पक्राउ गरिएका थिए । प्रहरीले छाडेका दुबै जना अधिकारकर्मी शारदा चन्दले वनखेतमा सञ्चालन गर्दै आएको महिला तथा वृद्ध सेवा केन्द्रमा बस्दै आएका छन् । उनीहरुमा जयन्ती विष्ट र नन्दा सेटी छन् । उनीहरु दुबै ६० वर्षका छन् । केन्द्रका कर्मचारी हिरादेबी भट्ट सहित शारदा चन्द, सुरेन्द्र देउवा, खडक विष्ट, यशोदादेबी बोहरा लगायतका अन्य प्रहरी नियन्त्रणमा छन् । अधिकारकर्मी चन्द महिला तथा वृद्ध सेवा केन्द्रमा अध्यक्ष छिन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रविन्द्र पौडेलले वृद्धाश्रमका दुई वृद्धा महिलालाई छाडिएको बताए । ‘वृद्धाश्रमका दुई महिलालाई छाडिएको छ, अन्य हिरासतमा छन्’ उनले भने । प्रहरी प्रवक्ता पौडेलले प्रशासनमा धर्ना बसेर सवारी र आवागमन अवरोध गरेपछि पक्राउ गरिएको बताए । निर्मला पन्तको न्यायका लागि भएको आन्दोलनमा घाइते भएका देउवा सहितले उपचार खर्च माग गर्दै डेढ महिनादेखि प्रशासनमा धर्ना बस्दै आएका थिए ।
प्रधानमन्त्री ओलीको अध्यक्षतामा प्रजातन्त्र दिवस मूलसमारोह समिति गठन
काठमाडौंः यही फागुन ७ गते ७० औं प्रजातन्त्र दिवस मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ । गृह मन्त्रालयमा मूल समारोह समिति गठन गर्न आज बसेको बैठकले प्रजातन्त्र दिवसका अवसरमा आगामी फागुन ६, ७ र ८ गते गरिने विभिन्न कार्यक्रमको समेत तय गरेको छ । बैठकले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बास्कोटाको संयोजकत्वमा प्रचारप्रसार उपसमति पनि गठन गरेको छ । बैठकमा मन्त्रीहरु, मुख्यसचिव, सचिवहरु, भक्तपुर, ललितपुर र काठमाडौं महानगरपालिकाका प्रमुख, सुरक्षा निकायका प्रमुख लगायतको उपस्थिति रहेको थियो । प्रजातन्त्र दिवसका अवसरमा आगामी फागुन ७ गते सैनिक मञ्च टुडिखेलमा मुख्य कार्यक्रमको आयोजना गरिने छ ।
प्रहरी महानिरीक्षकमा ठाकुर ज्ञवाली नियुक्त
काठमाडौं: सरकारले ठाकुर ज्ञवालीलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको छ । मंगलबार अपरान्ह बसेको मन्त्रिपरिषद बैठकले ज्ञवालीलाई आईजीपीमा नियुक्त गरेको हो । मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकमा गृहमन्त्री रामबहादुर थापाले ज्ञवालीलाई प्रहरी महानिरीक्षक बनाउने प्रस्ताव निर्णयार्थ पेश गरेका थिए । ज्ञवाली वरिष्ठता र जेष्ठताका आधारमा आइजिपी नियुक्त भएका हुन् । ठाकुर नपाल प्रहरीको २७औं आइजिपी बनेका हुन् । हाल प्रहरी नायब महानिरीक्षकका रुपमा उनी प्रदेश नं. १ प्रहरी प्रमुखका रुपमा कार्यरत् थिए । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा बढुवा भएका डीआईजी ज्ञवाली संगठनमा इमान्दार र खरो स्वभावका अधिकृतका रुपमा चिनिन्छन् । २०२२ असोज २८ गते साविक वादीकोट गाविस–९, प्युठानमा जन्मिएका ज्ञवाली २०४७ असार २५ गते प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका हुन् । उनको पहिलो पोस्टिङ प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागमा भएको थियो । ज्ञवाली २०५८ मा डीएसपी, २०६६ मा एसपी, २०७३ सालमा एसएसपी र २०७५ असोज २८ गते डीआईजीमा बढुवा भएका थिए । हालका आईजीपी सर्वेन्द्र खनालसहित तीन एआईजी र उनका ब्याचका डीआईजीहरुले सेवाहदका कारण अवकाश पाउँदैछन् । यही ब्याचको वैकल्पिक टोलीमा डीआईजी हुन्, ज्ञवाली । उनीसँगै तारिणीप्रसाद लम्साल पनि प्रहरीको नेतृत्व गर्ने दौडमा थिए । ३० वर्षे सेवा अवधिको प्रावधान कायमै रहे ज्ञवालीले ५ महिनाका लागि प्रहरी संगठन हाक्नेछन् ।
व्यापारीलाई प्रधानमन्त्रीको आग्रहः यदि कुनै अप्ठ्यारो आए मलाई भन्नुहोस्
काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार तथा निजी क्षेत्रको साझा प्रयासबाट मात्र मुलुकको समृद्धि सम्भव हुने बताएका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा आज यहाँ आयोजित ‘महत्वपूर्ण व्यावसायिक व्यक्ति’ (सिआइपी) सम्मान एवं सुशोभन समारोहलाई सम्बोधन गर्दै उनले सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको पुनः दोहोर्याए । उनले निजी क्षेत्रको अप्ठ्यारा र असुविधा सम्बोधन गर्न सरकार तयार रहेको बताए । निर्यात व्यापारमा देखिएका समस्या समाधान गर्न सरकारले पहलकदमी लिएको उदाहरण दिँदै उनले भने, ‘केही समयअघि सुपारी, अदुवा तथा पाम आयलको निर्यातमा समस्या थियो, अहिले समस्या समाधान भएको छ, निर्यातका विभिन्न क्षेत्रमा सरकारले सहजीकरण गरिरहेको छ ।’ उत्पादन वृद्धि, रोजगारी सिर्जना तथा आयात प्रतिस्थापन र निर्यात अभिवृद्धिमा लाग्न निजी क्षेत्रलाई आग्रह गर्दै प्रधानमन्त्री ओलीले सरकारका तर्फबाट निजी क्षेत्रलाई पूर्णरुपमा साथ रहने विश्वास दिलाए । ‘ढुक्क हुनुहोस्, विश्वस्त भएर काम गर्नुहोस्’, व्यवसायीलाई आश्वस्त पार्दै प्रधानमन्त्री ओलीले भने, ‘यदि कुनै अप्ठ्यारो आए मलाई भन्नुहोस् ।’ राजनीति परिवर्तनपछि मुलुक आर्थिक समृद्धिको चरणमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले अबका प्रयास सुशासन र आर्थिक विकासमा केन्द्रित हुने बताए । विकास र समृद्धिको मामिलामा सरकार र निजी क्षेत्रको समान धारणा रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले अब सुशासनमा पनि एक मत हुनुपर्ने बताए । सुशासन विकास र समृद्धिको बाधक नभएको प्रष्ट्याउँदै उनले पारदर्शिता, स्वच्छता र कानूनको परिपालना गर्न निजी क्षेत्रलाई आग्रह गरे ।
राष्ट्रपति भण्डारीद्वारा ६ वटा विधेयक प्रमाणीकरण
काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार विभिन्न ६ वटा विधेयक प्रमाणीकरण गरेकी छन् । राष्ट्रपति कार्यालयका अनुसार संसदको दुवै सदनबाट पारित भइ प्रमाणीकरणका लागि पेश गरिएका ६ विधेयक संविधानको धारा ११३ को उपधारा २ बमोजिम राष्ट्रपति भण्डारीबाट प्रमाणीकरण भएको हो । प्रमाणीकरण भएका विधेयकहरुमा भूमि सम्बन्धी (आठौँ संशोधन) विधेयक, प्रहरी समायोजन विधेयक, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) विधेयक छन् । यस्तै, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक, औद्योगिक व्यवसाय विधेयक र राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) (पहिलो संशोधन) विधेयक पनि राष्ट्रपतिबाट प्रमाणीकरण भएका छन् ।
कोरोना प्रभावित क्षेत्रका नेपालीको उद्धार गर्न सांसदको माग
काठमाडौं: प्रतिनिधिसभाका सांसदहरुले चीनको कोरोना भाइरस प्रभावित क्षेत्रमा रहेका नेपालीको तत्काल उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा समय माग गर्दै उनीहरुले कोरोना भाइरस प्रभावित क्षेत्रमा रहेका नेपालीलाई स्वदेश ल्याएर राखिने ‘क्वारेन्टाइन स्थल’ विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार तत्काल व्यवस्था गरी उद्धार गर्न सुझाव दिए । सांसद सरिता गिरीले चीनको कोरोना भाइरस प्रभावित क्षेत्रमा नेपाली फसेको उल्लेख गर्दै तत्काल उनीहरुको उद्धार गरी नेपाल ल्याउन सरकारको ध्यानाकर्षण गराइन् । उनले यस विषयले संसदमा आवश्यकताअनुसार प्राथमिकता पाउन नसकेको समेत बताइन् । सांसद प्रेम सुवालले कोरोना भाइरस प्रभावित क्षेत्रबाट स्वदेश ल्याइने नेपालीलाई राखिने ‘क्वारेन्टाइन स्थल’का रुपमा भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रलाई तोकिएकामा जनताको विरोध रहेको बताए । उनले त्यस्तो स्थल घना बस्तीभन्दा टाढा राख्न सरकारको ध्यानाकर्षण गराए । सांसद आशाकुमारी विकले बझाङको साइपाल गाउँपालिकामा हिमपातका कारण यातायात अवरुद्ध हुँदा भोकमरीको समस्या देखिएको भन्दै तत्काल हेलिकोप्टरबाट खाद्यान्न ढुवानी गरी समस्या समाधान गर्न माग गरे । सांसद एकवाल मिँयाले भारतबाट नेपालमा सामान आयात गर्दा प्रहरीबाटै अवरोध हुने गरेको गुनासो गर्दै सहज व्यवस्था गर्न माग गरे ।
उद्योगी व्यबसायीहरुका लागि सरकार जुनसुकै सहयोग गर्न तयारः प्रधानमन्त्री
काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगी व्यबसायीहरुका लागि सरकार जुनसुकै सहयोग गर्न तयार रहेको बताएका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयद्धारा आज काठमाडौंमा आयोजित महत्वपूर्ण व्यबसायी व्यति (सीआईपी) सम्मान तथा सुशोभन कार्यक्रममा प्रधानमन्त्री ओलीले मुलुकको आर्थिक उन्नति र विकासका लागि सरकार निजी, सहकारी र सरकोरवाला सबैसंग सहकार्य गर्न तयार रहेको उल्लेख गरे । प्रधानमन्त्री ओलीले सरकार सुशासनसहितको आर्थिक विकासमा अघि बढेको भन्दै कानूनको कार्यान्वयन र सुशासन प्रवद्र्धनमा निजी क्षेत्रको सहयोगको आवश्यकता औल्याए । प्रधानमन्त्री ओलीले उत्पादन क्षेत्रमा उल्लेख्य प्रतिफल हासिल गरी निर्यात अभिवृद्धि गर्ने व्यबसायीहरुलाई सरकारले अझ थप सेवा सुविधा र अवसर प्रदान गर्ने पनि बताए । कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले व्यबसाय प्रवद्र्धनका लागि निजी क्षेत्रलाई प्रोत्साहन गर्न उद्योग दर्ताको प्रक्रियालाई सरल र सहज बनाईएको जानकारी दिए । कार्यक्रममा विभिन्न व्यबसायमा संलग्न रही निर्यात प्रबद्र्धनमा सहयोग पुर्याउने २५ उद्योगी व्यबसायीलाई महत्वपूर्ण व्यबसायी व्यति (सीआईपी) सम्मान प्रदान गरिएको छ ।
चीनबाट फर्काइने नेपालीलाई भक्तपुरमा राख्नु हुन्नः सांसद सुवाल
काठमाडौंः नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले चीनबाट फर्काइने नेपालीलाई घनाबस्तीभन्दा राख्न नहुने बताएका छन् । प्रतिनिधि सभाको आज बसेको बैठकमा सांसद सुवालले भक्तपुर खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम भवनमा चीनबाट फर्काइने नेपालीलाई राख्न लागिएकोमा विरोध जनाएका हुन् । उनले भने, ‘क्वारेन्टाइन घनाबस्तीमा राख्नु हुँदैन । क्वारेन्टाइन विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को सिफारिसअनुसार घनाबस्ती बाहिर राख्न अनुरोध गर्छु ।’ उनले चीनबाट फर्काइने नेपालीलाई राख्न क्वारेन्टाइन स्थान खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम भवनमा मंगलबार प्रधानमन्त्री कार्यालय र स्वास्थ्य मन्त्रालयका सचिवले निरीक्षण गरेकोप्रति जनताको विरोध रहेको उल्लेख गरे। सरकारले कोरोना भाइरस इपिसेन्टर चीनको वुहानबाट नेपालीलाई फर्काउने निर्णय गरेको भए पनि अहिलेसम्म ल्याउन सकेको छैन।

