आठ आयोगको प्रतिवेदन प्रतिनिधिसभामा पेश

काठमाडौंः प्रतिनिधिसभाको आजको बैठकमा आठ आयोगका वार्षिक प्रतिवेदन पेश भएका छन् ।

प्रधानमन्त्रीका तर्फबाट कानून न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले ‘न्याय परिषद् र न्याय सेवा आयोग, राष्ट्रिय मानव अधिकार आयोग र थारु आयोगको आर्थिक वर्ष २०७५÷०७६ को वार्षिक प्रतिवेदन’ पेश गर्नुभएको छ ।

यस्तै उनले सभामा ‘लोकसेवा आयोगको ६० औँ वार्षिक प्रतिवेदन, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय समावेशी आयोग, मधेशी आयोग र मुस्लिम आयोगको आव २०७५÷०७६ प्रथम वार्षिक प्रतिवेदन’ पनि पेश गरेका छन् ।

बालुवाटार जग्गा प्रकरणबारे गहिरो अनुसन्धान भइरहेको छः मन्त्री अर्याल

काठमाडौंः भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले बालुवाटारस्थित ललिता निवास क्षेत्रको जग्गा प्रकरणबारे गहिरो अनुसन्धान भइरहेको बताएकी छन् । मन्त्रालयले करिब दुई वर्षको अवधिमा हासिल गरेका मुख्यमुख्य उपलब्धिबारे जानकारी दिन आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री अर्यालले सो जानकारी दिइन् । उनले भनिन्, “सरकारले विधि पुर्‍याएर राम्रो नियतले कार्यसम्पादन गरेको छ, आगामी दिनमा अदालतमा कुनै समस्या नआओस् भनेर सूक्ष्मरुपमा प्रमाण जुटाइरहेको छ ।” उक्त प्रकरणमा मन्त्रालयका अतिरिक्त अख्तियार दुरुपयोग अनुसन्धान आयोग र केन्द्रीय अनुसन्धान ब्युरोले छानविन गरिरहेको छ । सरकारले व्यक्तिको नाममा रहेको दुई हजार ८२९ वर्गमिटर जग्गा आफ्नो नाममा फिर्ता ल्याएको छ । देशका विभिन्न स्थानमा फरकफरक समयमा व्यक्तिका नाममा दर्ता भएका सरकारी, सार्वजनिक र गुठी जग्गा तथा जमिन मन्त्रालयले फिर्ता ल्याएको हो । सरकारले ऐतिहासिक सम्पदास्थल, विभिन्न मन्दिर तथा धार्मिक गतिविधि सञ्चालनका लागि गठन गरिएका गुठीअन्तर्गत रही हराएका तथा अन्य अतिक्रमित जग्गाको पनि खोजी गरिरहेको छ । मन्त्री अर्यालले सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोग, २०७६ को प्रतिवेदनमा सरकारको नाममा जग्गा कायम गर्ने तथा गुठी कायम गर्नेसम्बन्धी काम अगाडि बढाइएको जानकारी दिइन् । सरकारले भूमिहीन, सुकुम्बासी अव्यवस्थित बसोबासीका समस्या सधैँका लागि समाधान गर्ने गरी तर्जुमा गरेको भूमिसम्बन्धी ऐन (आठौँ संशोधन) राष्ट्रपति कार्यालयमा प्रमाणीकरणका लागि तयारी गरिएको जानकारी दिएको छ । भूमिहीनलाई भूमिमा पहुँच स्थापना गरी सामाजिक न्याय कायम गर्ने गरी निर्माण गरिएको उक्त ऐन प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनबाट पारित भइसकेको छ । एकीकृत भूमि ऐनको तर्जुमा कार्य प्रारम्भ भएको, भूमिसम्बन्धी नियमावली (अठारौँ संशोधन)को मस्यौदा तयार भएको, भूमिहीन दलितलाई जग्गा उपलब्ध गराउनेसम्बन्धी नियमावली संशोधन भएको जानकारी दिइएको छ । भूमिहीन दलितलाई जग्गा उपलब्ध गराउन निर्देशिकाको मस्यौदा तयार गरिएको छ । भूमिको व्यवस्थित र वैज्ञानिक उपयोग सुनिश्चित गर्ने, व्यवस्थित भू–उपयोग कार्यक्रम लागू गर्ने, कृषियोग्य जग्गाको संरक्षण र व्यवस्थित आवास सुनिश्चित गर्ने गरी भू–उपयोग ऐन, २०७६ स्वीकृत भएको बताइएको छ । राष्ट्रिय भूमि नीति, २०७५ जारी भएको कार्यलाई उपलब्धिका रुपमा लिइएको छ । मन्त्रालयले सहकारी नियमावली, २०७५ जारी गरी सहकारी संस्थाको सघन अनुगमन कार्यविधि, साधारणसभा सञ्चालन कार्यविधि, स्थिरीकरण कोषसम्बन्धी कार्यविधि स्वीकृत, सहकारी संस्था एकीकरण कार्यविधि, सहकारी प्रवद्र्धन कोषसम्बन्धी कार्यविधिको मस्यौदा तयार गरेको छ । सहकारी संस्थाको लेखापरीक्षण निर्देशिका २०७५ लागू गरिएको छ । सहकारी संस्थाको वचत तथा ऋण परिचालनसम्बन्धी ऐन तर्जुमा कार्य प्रारम्भ भएको मस्यौदा तयार गरिएको छ । अन्तर सहकारी कारोवारसम्बन्धी कार्यविधिको मस्यौदा तयार गरिएको छ । सहकारी क्षेत्रमा ३४ हजार ५१२ प्रारम्भिक सहकारी संस्था रहेकामा करिब २९ हजार सहकारी संस्था र व्यवस्थापन प्रणाली स्थानीय तह एवं प्रदेश सरकारमा हस्तान्तरण गरिएको छ । कृषकका उत्पादित वस्तुलाई सुरक्षितरुपमा भण्डारण गर्न २४ वटा सङ्कलन केन्द्र निर्माण गरिएको छ भने २४ वटा केन्द्र निर्माणाधीन छन् । भूमि व्यवस्थापनतर्फ करिब ३० लाख जग्गा धनीको करिब दुई करोड ५० लाख कित्ता जग्गाको अभिलेख डिजिटल प्रणालीमा आधारित अनलाइन सेवामा सुरक्षित हुने र कारोवारमा शुद्धता वृद्धि हुने गरी हालसम्म १०८ वटा मालपोत कार्यालयमा आधुनिक प्रविधिबाट सेवा उपलब्ध गराइएको छ । जग्गासम्बन्धी सेवा प्रवाहमा नागरिकको प्रत्यक्ष पहुँच वृद्धि हुने गरी ११ कार्यालयका सेवा प्रवाहमा सरलीकरण गरिएको छ । कार्यालयको काम कारवाहीको प्रत्यक्ष निगरानी गर्न सकिने गरी २० वटा मालपोत कार्यालयमा क्यामरा जडान गरिएको छ । त्यसैगरी ११ वटा मालपोत कार्यालयलाई आधुनिक प्रविधियुक्त कार्यालय (नमूना कार्यालय) का रुपमा विकसित गरिएको छ भने साविकमा मालपोत कार्यालयबाट प्रचलनमा ल्याएका ठूला आकारको लिखत फारमलाई सरलीकरण गरी ‘ए फोर’ साइजको बनाइएको छ । गाउँब्लक र विशेष नापी गरी करिब २६ हजार १७७ हेक्टर पुनःनापी सम्पन्न गरिएको छ भने ५३२ स्थानीय तहको भू–उपयोग नक्सा डाटा तयार गरिएको छ । त्यस्तै ३६९ स्थानीय तहको नक्सा डाटा हस्तान्तरण गरिएको मन्त्रालयले जनाएको छ । त्यसैगरी नेपाल तथा चीन सरकारबीच समझदारीपत्रमा हस्ताक्षर गरी आगामी पाँच वर्षका लागि निःशुल्क भू–उपग्रह चित्र (स्याटलाइट इमेज) प्राप्त हुने व्यवस्था मिलाइएको छ । रासस

भरतपुर विमानस्थल विस्तार प्रक्रियाः कार्यदलको प्रतिवेदनमाथि रक्षा मन्त्रालयमा छलफल

भरतपुर: भरतपुर विमानस्थल विस्तारसम्बन्धमा अध्ययन गर्न बनेको गठित कार्यदलको प्रतिवेदनमाथि आज सोमबार रक्षा मन्त्रालयमा छलफल भएको छ । छलफलमा विमानस्थलको स्त्तरोन्नती तथा विस्तारका लागि अध्ययन गर्न गठित कार्यदलले तयार गरेको प्रतिवेदनमा विमानस्थलको स्त्तरोन्नती तथा विस्तार गर्न कुनै समस्या नरहेको जनाएको छ । कार्यदलले भरतपुर विमानस्थलको स्त्तरोन्नति तथा विस्तार गर्ने काम छिटै सुरु गर्न सकिने बताएको छ । २०७६ असोज २ गते नागरिक उड्ययन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको संयोजकत्वमा ५ सदस्यीय कार्यदल गठन भएको थियो । सोही कार्यदलले तयार पारेको प्रतिवेदनमाथि छलफल भएको थियो । छलफलमा नेकपा अध्यक्ष प्रचण्ड, उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल, पर्यटनमन्त्री योगेश भट्टराई, भरतपुर महानगरकी मेयर रेनु दाहाललगायतको उपस्थिति रहेको थियो । भरतपुर विमानस्थलको विस्तारको संभावना र चुनौतीबारे कार्यदलले प्रतिवेदन तयार पारेको थियो । ‘सहज ढंगले विमानस्थलको स्त्तरोन्नती तथा विस्तार गर्न सकिने र कुनै क्षेत्रबाट बाधा अवरोध नभएको यस बिषयमा साझा सहमति जुटेको छ’ प्रतिवेदनमा भनिएको छ । छलफलपछि भरतपुर महानगर प्रमुख रेनु दाहालले बिमानस्थलको सुधारका लागि सबै पक्षबाट साझा प्रतिबद्धता आएको बताइन् । उनले भनिन्, ‘कार्यदलले अध्ययन गरी निकालेको प्रतिवेदनमा कुनै समस्या नदेखिएको उल्लेख छ, त्यसकारण अब विमानस्थलको विस्तारको काम जोडबलले अगाडि बढ्छ ।’ भरतपुर विमानस्थलको स्त्तरोन्नती तथा विस्तारको आवश्यकता ठानेर करिव ३ महिना अघि भरतपुर महानगरले सर्वपक्षीय छलफल गरेको थियो । नेकपा अध्यक्ष प्रचण्ड, पर्यटनमन्त्री भट्टराईसमेत सहभागी उक्त छलफलले विमानस्थल विस्तारको निर्णय गरेको थियो । भरतपुर विमानस्थल विस्तार गर्ने निर्णयपछि पर्यटन मन्त्रालयले अध्ययनको लागि कार्यदल गठन गरेको थियो । सोही कार्यदलले पर्यटन मन्त्रालयलाई विमानस्थल विस्तारको प्रक्रिया अघि बढाउन सुझाव दिएको छ । ‘सुधारको आवश्यकता ठानेर यसका लागि अध्ययन टोली गठन गरेको थियो, त्यही टोलीले तयार गरेको प्रतिवेदन आज हामीले रक्षा मन्त्रालयमा सरोकारवाला सबै पक्षलाई बुझाएर छलफल गरेका हौं’ महानगर प्रमुख दाहालले भनिन्, ‘विमानस्थल अघि बढाउन सबै प्रतिबद्ध हुनुहुन्छ ।’ भरतपुर विमानस्थलको क्षेत्रफल बिस्तारका लागि स्थानीय सैनिक व्यारेकको स्थान्तरणको समस्या देखिएको थियो । त्यसका लागि सेनाले संरचना हटाउने सहमति जनाएको प्रमुख दाहालले बताइन् । त्यस्तै बिमानस्थल बिस्तारका लागि आवश्यक स्थानको रुख काट्नुपर्ने र यसका लागि महानगरले तत्परता दिने उनको भनाइ छ । कृष्णपुर मैघौली सडकलाई डाइभर्ट गर्नुपर्ने भएकाले यसका लागि स्थानीयसंग आवश्यक समन्वय महानगरले गर्ने कार्यदलको प्रतिवेदनमा उल्लेख छ । विमानस्थलको स्त्तरोन्नती तथा विस्तारका लागि भरतपुर महानगर, नेपाल नागरिक उड्ययन प्राधिकरण र नेपाली सेनाले गर्नुपर्ने काम तथा जिम्मेवारी पनि प्रतिवेदनले बाँडेको छ । साैराहा अनलाइनबाट

अध्यागमनमा नेपाली पोर्ट कार्यान्वयनमा, प्रधानमन्त्री ओलीद्वारा उद्घाटन

काठमाडौंः सरकारले अध्यागमन नाकामा नेपाली पोर्ट नामको अत्याधुनिक बोर्डर कन्ट्रोल सिस्टम कार्यान्वयमा ल्याएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा रहेको एक्स रुमबाट आज नेपाली पोर्टको उद्घाटन गर्नुभएसँगै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलसहित १२ अध्यागमन नाकामा बायोमेट्रिक्ससहितको सफ्टवेयर प्रणाली कार्यान्वयनमा आएको छ । त्यसअवसरमा प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमै विदेशीहरुको नेपाल आगमन, बसाई र प्रस्थानलाई सरल, सुरक्षित र सूचना प्रणालिमा आधारित बनाउन नेपाल पोर्ट प्रणालिको शुरुवात गरिएको बताए । प्रधानमन्त्री ओलीले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा प्राप्तिका लागि आर्थिक, सामाजिक र प्राविधिक विकासमा सरकार कार्ययोजनाका साथ अघि बढेको उल्लेख गरे । नेपाललाई चीन र भारतजस्ता विकसित अर्थतन्त्रसँग आर्थिक कुटनीतिको माध्यमबाट जोड्न पूर्वाधारलाई विश्वस्तरको बनाउनेतर्फ सरकारले जोड दिएको प्रधानमन्त्री ओलीले उल्लेख गरे । प्रधानमन्त्री ओलीले सरकारले समग्र प्रशासनमा नतिजाको खोजी गरेको प्रष्ट गरे । प्रधानमन्त्री ओलीले सन २०२० लाई भ्रमण वर्षको रुपमा मनाउने, पर्यटन उद्योगको विकाससँग सगै लगानी तथा रोजगारी प्रवद्र्धन गरी दीगो आर्थिक विकास हासिल गर्ने कार्ययोजना अघि सारेको र वि.स. २१०० सम्ममा उच्च मध्यम आय भएको स्वाधिन अर्थतन्त्रका रुपमा मुलुकलाई विकास गर्न लगानी बिस्तार गरिएको बताए । विभागका महानिर्देशक ईश्वराज पौडेलले नेपाली पोर्ट लागू भएपछि सुरक्षा चुनौती धेरै घट्ने बताउनुभयो । आगमन र प्रस्थान दुवै पटक यात्रुको बायोमेट्रिक्स लिइने छ । अध्यागमनमा बायोमेट्रिक्स प्रणाली लागू भएसँगै यात्रुको तस्बिर हस्तरेखा रेकर्ड र यसले यात्रुको आँखाको नानी रेटिना समेत पढ्ने र त्यसको रेकर्ड राख्न सक्ने विभागले जनाएको छ ।

नयाँ आउने पत्रकारले लाइसेन्स परीक्षा दिनुपर्ने

काठमाडौंः पत्रकारिता गर्न चाहने नयाँ पत्रकारले लाइसेन्स परीक्षा दिनुपर्ने भएको छ । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले मिडिया काउन्सिल विधेयकमाथि छलफलका क्रममा नयाँ आउने पत्रकारले लाइसेन्स परीक्षा दिनुपर्ने व्यवस्थामा सहमति जुटाएको हो । तर, हाल कार्यरत पत्रकारले भने लाइसेन्स परीक्षा दिनुपर्ने छैन । समितिमा भएको सहमतिअनुसार विधेयकको दफा १७ मा पत्रकारको लाइसेन्स परीक्षा दर्ता तथा अभिलेखसम्बन्धी व्यवस्था राखिनेछ । जसमा पत्रकारको रुपमा काम गर्न चाहनेको लागि लाइसेन्स परीक्षा सञ्चालन सोको सामान्य व्यवसायिक पत्रकारिता, पाठ्यक्रम मिडिया काउन्सिलले तोके बमोजिम हुने उल्लेख गरिएको छ । त्यसै दफामा हाल पत्रकारिताको क्षेत्रमा कार्यरत पत्रकारको हकमा यो व्यवस्था लागू नहुने पनि उल्लेख गरिएको छ ।

रसुवामा साढे दुई किलो सुनसहित छ जना पक्राउ

फाइल फोटो काठमाडौंः प्रहरीले रसुवाको टिमुरेबाट साढे दुई किलो सुनसहित छ जनालाई नियन्त्रणमा लिएको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार ना १ झ ३५४२ नम्बरको गाडीबाट साढे दुई किलो सुन सहित छ जनालाई नियन्त्रणमा लिएको हो । प्रहरीले नियन्त्रणमा लिएकाहरुमा सिन्धुपाल्चोक भोटेकोशीका नोर्बु तामाङ, गाल्जेन शेर्पा, सुपिया लामा, सुवास तामाङ, साङगे शेर्पा र गाडी चालक दोलखा तामाकोशीका तुलानारायण श्रेष्ठ रहेका छन् । प्रहरीले पक्राउ गरेको सूनको बजार मूल्य एक करोड ६० लाख रहेको प्रमुख जिल्ला अधिकारी भण्डारीले बताए ।

सभामुख सापकोटाविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा

काठमाडौंः नवनिर्वाचित सभामुख अग्नि सापकोटाविरुद्धको मुद्दाको सुनुवाइ मंगलबारका लागि सरेको छ । बहस लम्बिएपछि मुद्दा मंगलबारका लागि हेर्दा हेर्दैमा सरेको हो । न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासमा भएको सुनुवाईमा पक्षका तर्फबाट सोमबार निवेदक दिनेश त्रिपाठी, सुनील पोखरेल, ओम अर्याल, राजेश चापागाईं, बाबुराम गिरीलगायतले बहस गरेका थिए । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले यही माघ १० गते सभामुखका लागि प्रस्तावित उम्मेदवार सापकोटालाई सभामुखमा निर्वाचन नगर्न माग गरिएको थियो । आइतबार सभामुखमा निर्विरोध निर्वाचित भएका सापकोटाले सोमबार शपथ तथा पदभार ग्रहण गरिसकेका छन् ।

केन्द्रीय कमिटी बैठकको तयारी अन्तिम चरणमाः प्रचण्ड

काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू केन्द्रीय कमिटी बैठकको अन्तिम तयारीमा रहेको जानकारी गराएका छन् । नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ र आदिवासी जनजाति महासङ्घ, नेपालको एकता घोषणा तथा शपथ ग्रहण समारोहमा उनले बुधबारदेखि हुने पार्टीको केन्द्रीय कमिटी बैठकको तयारीमा आफू रहेको बताए । उनले पार्टीको कामको चापले त्यति धेरै तयारी गर्न नपाएको समेत बताए । पार्टीको केन्द्रीय कमिटी बैठक यही माघ १५ देखि २० गतेसम्म डाकिएको छ । उनले अझै पनि सबै उत्पीडित वर्ग, जाति, समुदाय, भाषा पूर्णरूपमा मुक्त हुने कुरा बनिनसकेको बताए । ‘उत्पीडित समुदाय पूर्णरूपमा मुक्त हुने वातावरण अझै बनेको छैन’, उनले भने, ‘एकताबद्ध भई शान्तिपूर्ण रूपले संविधान संशोधनको माध्यमबाट हामीले सोचे खोजे जस्तो मुक्ति हासिल गर्न सक्छौँ ।’ संविधानले पनि बहुजातीय, बहुसांस्कृतिक, बहुभाषिक मुलुक रहेको स्वीकार गरेको उल्लेख गर्दै उनले आदिवासी जनजातिको हक अधिकार, परम्परा, संस्कृति र पहिचानलाई स्थापित गर्ने कुरामा संविधानले नै पहल लिएको धारणा राखे । उनले सबै खालको विभेदको अन्त्य गरी समतामूलक समाजिक न्यायसहित सबैको हकअधिकार स्थापना भएको समाज निर्माण गर्ने बताए । अध्यक्ष दाहालले साम्राज्यवाद र सामन्तवादलाई परास्त गरेर युद्ध जित्न अझै एकताबद्ध भएर सामाजिक न्यायका पक्षमा लड्न आवश्यक रहेको धारणा राखे । बहुजातीय, बहुसांस्कृतिक, बहुभाषिक मुलुक भएकाले विविधतायुक्त मुलुकमा एकता कायम गर्न सबैलाई समान अधिकार दिनुपर्ने उनको भनाइ थियो । शोषण उत्पीडनमा परेका समुदायलाई अगाडि ल्याउने वातावरण नबनाएसम्म समानताको कुरा गर्नु भ्रम मात्र रहेको उनको धारणा थियो । जातीय कुरा गर्दा पूँजीवादीले जहिले पनि साम्प्रदायिक विध्वंश फैलाउने र जातिजातिबीच लडाइँ शुरु गर्ने षडयन्त्रका रूपमा लिँदै आएको र अन्य मुलुकमा त्यस्ता जातीय द्वन्द्व भएका उल्लेख गर्दै उनले कम्युनिष्टले भन्ने गरेको जातीय हकअधिकारको कुरा त्यस्तो नभएको बताए । ‘कम्युनिष्टले अगाडि सार्ने गरेको समाजवादी क्रान्ति र जातीय क्रान्तिको कुरालाई साम्राज्यवादीले जातीय सङ्कीर्णता, साम्प्रदायिकता र विद्वेष फैलाउने षडयन्त्रसँग मिलाउने गरेका छन्’, उनले भने, ‘आदिवासी जनजाति महासङ्घले जातीय हकअधिकारको कुरा साम्प्रादिक होइन समानता र मुक्तिको कुरा हो भनेर बुझाउन आवश्यक छ ।’ सो अवसरमा अध्यक्ष दाहालले नवगठित कार्यसमितिलाई शपथ खुवाएका थिए । तत्कालीन नेकपा (एमाले) को नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ र नेकपा (माओवादी केन्द्र) आदिवासी जनजाति राष्ट्रिय महासङ्घबीच एकता भई २६१ सदस्यीय आदिवासी जनजाति महासङ्घ नेपाल बनेको हो ।

सभामुख सापकोटाविरूद्धको मुद्दाको सुनुवाइ जारी, केही समयमै निर्णय आउने

काठमाडौंः नवनियुक्त प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइ भइरहेको छ । नेता सापकोटाविरुद्धको रिटको सुनुवाइ सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासमा भइरहेको छ । सभामुखमा रोक लगाउने वा नलगाउने विषयमा केही समयपछि निर्णय आउनेछ । प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित भएका सापकोटाले आजै पद तथा गोपनीताको शपथ खाइ पदभार ग्रहण गरिसकेका छन् । सभामुख नबनाउन माग गर्दै वरिष्ठ अधिवक्ता तथा मानव अधिकारवादी दिनेश त्रिपाठीले सर्वोच्च अदालतमा गत शुक्रबार रिट दायर गरेका थिए ।

राष्ट्रलाई अप्ठेरो पर्दा नेपाली सेना लड्छः प्रधानसेनापति थापा

तुलसिपुरः प्रधान सेनापति पूर्णचन्द्र थापाले राष्ट्रलाई अप्ठेरो पर्दा नेपाली सेना लड्ने गरेको बताएका छन् । रिपुमर्दन गण घोराहीमा नेपाली सेना सैनिक कल्याणकारीको संयोजनमा भएको भूतपपूर्व सैनिक सम्मेलनलाई आइतबार सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । ‘मुलुकको आस्था, भरोसा र एकताको प्रतीकका रुपमा नेपाली सेना रहेको छ’ उनले भने, ‘देशलाई अप्ठेरो पर्दा, देशलाई अन्याय पर्दा नेपाली सेनाले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।’ पृथ्वीनारायण शाहको पालादेखि शुरु भएको एकीकृत नेपाल निर्माण गर्ने कार्य अहिले नेपाली सेनाले मुलुकको भूमि मिचिँदा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए । उनले नेपाली सेनामा उत्साह, जोस, जाँगर, इमान्दारिता भएकै कारण विश्वमै प्रशंसा गर्न लायक रहेकोसमेत बताए । मुलुकको स्वाधीनता र सर्वभौमताका लागि नेपाली सेनाको भूमिका महत्वपूर्ण रहेकोसमेत उनको भनाइ छ । उनले नेपालीलाई एकताबद्ध बनाउन नेपाली सेनाको भूमिका महत्वपूर्ण रहने भन्दै सेनाको यो पहिचानलाई जोगाई राख्नुपर्ने समेत बताए । साथै नेपाली सेनाले पर्यटन प्रर्वद्धनका लागि पदमार्ग, ऐतिहासिक युद्ध स्थलको संरक्षण सम्बद्र्धन, संस्कृति संरक्षण गर्ने कार्यसमेत गरिरहेको उनले बताए । नेपाली सेनाले अहिले सैनिक कल्यानकारिणी कोषमार्फत नेपाली सेनालाई आयआर्जनमुखी बनाउने कार्यसमेत गरेको छ । त्यस्तै नेपाली सेना तथा अवकाश प्राप्त नेपाली सेनाको शिक्षा, स्वास्थ्य, रोजगार, सीप विकासका लागि पनि यसले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।साविक राप्तीका दाङ, रोल्पा, सल्यान, प्यूठान, रुकुम पूर्व, रुकुम पश्चिमबाट भूपू सैनिकहरु कार्यक्रममा सहभागी थिए । कार्यक्रममा सबै जिल्लाको संस्कार र पहिचान झल्किने नृत्य प्रस्तुत गरिएको थियो ।

शिक्षकको कुटाईबाट विद्यार्थीको हात भाँचियो

सिरहाः शिक्षकको कुटपिटबाट सिरहाको मिर्चैयास्थित स्वास्तिक पाठशालामा अध्ययनरत एक विद्यार्थीको हात भाँचिएको छ । कक्षा ६ मा अध्ययनरत सिरहा नगरपालिका–२ बसविट्टनका १३ वर्षीय रितिक यादवको हात भाँचिएको हो । गृहकार्य नगरेको भन्दै नेपाली शिक्षक तारा कार्कीले आइतबार रितिकमाथि कुटपिट गरेपछि बाँया हात भाँचिएको उनका आफन्तले जनाएका छन् । नेपाली विषयका शिक्षक कार्कीलाई विद्यार्थी रितिकले हात कालिएकोले गृहकार्य गर्न सकिन भन्दाभन्दै पनि कुटपीट गरेको बताए । उनले भने, ‘मैले हातमा घाउ भएकाले गृहकार्य गर्न सकिन, शिक्षकलाई पनि यही कुरा भनें, तर उहाँले सवैको गृहकार्य चेक गरिसकेपछि मलाई लठ्ठिले हाने, मेरो हात भाँचियो ।’ मैले नकुट्न आग्रह गर्दा पनि शिक्षकले सुन्दै सुन्नुभएन, मलाई लाठीले कुटेको कुट्यै गर्नुभयो’ रितिकले सुनाए । कुटपिटबाट यादवको हात भाँचिएको परिवारजनले जनाएको छ । रितिक ६ वर्षदेखि स्वास्तिक पाठशालामा छात्रावासमा बसेर पढ्दै आएको उनका काका देवकुमार यादवले बताए । घटनाबारे पाठशालाका संस्थापक प्रिन्सिपल महेश्वर कार्कीले घटना भइसकेको छ, यसमा मैले अब के भन्ने रु भन्दै आफूसँग घटनाको बारेमा केही भन्ने ठाउँनै नरहेको बताए ।

कोरोना भाइरस संक्रमित भएको आशंकामा थप एक जनालाई टेकु अस्पताल पठाइयो

काठमाडौंः कोरोना भाइरस संक्रमित भएको आशंकामा थप एक जनालाई टेकु पठाइएको छ । चेकजाँचका लागि टेकु पठाइनेमा चीनबाट नेपाल आएकी महिला रहेकी छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको निरिक्षण केन्द्रले लक्ष्णका आधारमा उनलाई टेकु अस्पताल पठाएको हो । चीन र अन्य प्रभावित क्षेत्रबाट आउने सबै यात्रुको विमानस्थलमा जाँच भइरहेको छ । ज्वरो, रूघाखोकी, निमोनियाजस्ता लक्षण देखा परेमा थप परिक्षणका लागि विमानस्थलमा रहेको निरिक्षण केन्द्रले अस्पताल पठाउने गरेको छ । यसअघि नेपालमा एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको र तीन जनामा संक्रमण हुन सक्ने आशंका गरिएको छ । ती तीन जनाको परीक्षण कार्य भइरहेको छ । आजदेखि नेपालमै कोरोना भाइरस संक्रमितको परिक्षणको व्यवस्थासमेत गरिएको छ । यसअघि संक्रमण भएको आशंका लागेमा नमूना हङकङ पठाइने गरिएको थियो ।

कांग्रेस केन्द्रीय कार्यालयमा नेविसंघका दुई पक्षबीच कुटाकुट

काठमाडौंः प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका नेताहरूबीच सोमबार दिउँसो झडप भएको छ । विधान विपरित नेविसंघको नेतृत्व चयन गर्न लागेको भन्दै विरोध प्रदर्शन गरिरहेका संघका पूर्व महासचिव कुन्दनराज काफ्लेको नेतृत्वमा सानेपास्थित पार्टी कार्यालयमा अनसनका साथ विरोध प्रदर्शन गरिरहेका बेला संस्थापन पक्षले आक्रमण गरेको हो । सोमबार बस्ने कांग्रेस केन्द्रीय समितिको बैठकले विधान विपरित ५० वर्षीय राजीव ढुङ्गानालाई संघको नेतृत्व दिन लागेको भन्दै विद्यार्थीहरु असन्तुष्ट छन् । नेविसंघको नेतृत्व चयन गर्ने तयारी गरिरहेका बेला नेविसंघका नेताबीच कुटाकुट भएको हो ।

राष्ट्रपतिका सल्लाहकारले दिए राजीनामा, यस्तो छ कारण

काठमाडौंः राष्ट्रपतिका राजनीतिक सल्लाहकार सुशील प्याकुरेलले पदबाट राजीनामा दिएका छन् । प्याकुरेलले आफ्नो राजीनामा पत्र राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष शुक्रबार पेस गरेका छन् । उनको राजीनामा भने स्वीकृत भइसकेको छैन । सरकारको नीति र कार्यशैलीप्रति असन्तुष्ट हुँदै उनले राजीनामा दिएको बताइएको छ । द्वन्द्वकालीन मुद्दामा मुछिएका विवादित पात्र अग्नी सापकोटालाई सभामुख चयन गर्ने निर्णयप्रति आपत्ति जनाउँदै उनले पदबाट राजीनामा दिएको स्रोतले जनाएको छ । सापकोटाविरूद्ध काभ्रेका अर्जुन लामाको हत्या गरेको भन्दै सर्वोच्च अदालतमा मुद्दा विचाराधिन छ । सोही मुद्दामा अदालतको परमादेश कार्यान्वयन नभएको भन्दै २०७२ चैत २६ गते प्याकुरेलले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उनले दायर गरेको रिटमा फैसला भइसकेको छैन । ०६२ सालमा काभ्रेका लामाको हत्या भएको थियो । मानवअधिकार आयोगका पूर्व आयोग रहेका प्याकुरेल राजनीतिक, सामाजिक र मानवअधिकारसम्बन्धी सुझाव र सल्लाह दिनेगरी २०७४ चैत ९ गते राष्ट्रपतिको विज्ञ पदमा नियुक्त भएका थिए ।

पार्टीमा नयाँ रक्तसञ्चार गर्ने अभियानको तयारी भइरहेको छः प्रचण्ड

काठमाडौंः नेकपा अध्यक्ष प्रचण्डले माघ १५ गते बस्ने केन्द्रिय बैठकअघि पार्टी एकीकरणका सबै काम सम्पन्न हुने बताएका छन् । शुक्रबार नवलपुरमा आयोजित अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उनले पार्टी एकताका सम्पूर्ण काम अन्तिम चरणमा रहेको बताए । उनले यो ठूलो काम रहेको भन्दै केही समय लागेको बताए । उनले अगाडि भने, ‘केन्द्रिय समिति बैठकपछि देशव्यापी रूपमा प्रशिक्षण शुरू गर्छौं । पार्टीमा नयाँ रक्तसञ्चार गर्ने अभियानको तयारी भइरहेको छ । त्यसका लागि मैले नयाँ कार्ययोजना ल्याएर आउँदैछु ।’ उनले राष्ट्रिय सभामा शतप्रतिशत नतिजा ल्याएको भन्दै त्यो पार्टी मिसनमा बढिरहेको छ भन्ने बलियो प्रमाण रहेको बताए । उनले आउने दिन अझै उज्यालो हुने भन्दै भने, ‘समाजवादको नयाँ मोडल नेपालबाट विश्वलाई दिन्छौं ।’

घाम लागे पनि किन बढ्दैछ चिसो ?

काठमाडौंः काठमाडौं उपत्यकामा पछिल्ला केही दिनयता घाम लागे पनि बढी चिसो महसुस गरिएको छ । एक सातादेखि दिनहुँजसो घाम लागे पनि खासगरी बिहान बेलुका बढी चिसो महसुस गरिएको छ । अहिले किन चिसो बढेको भनी राखिएको जिज्ञासामा मौसमविद् शान्ति कँडेलले कुनै पनि किसिमको मौसमी प्रणाली विकास नभए पनि यस्तो अवस्था अझै केही दिन जारी रहने बताइन् । उनले चिसो बढे पनि काठमाडौं उपत्यकाको तापक्रम शून्य डिग्रीमा नझर्ने र विस्तारै तापक्रम बढ्दै जाने बताइन् । राजधानीसहित देशका अन्य भेगमा पनि पछिल्ला दिनमा चिसो महसुस गरिएको छ । तराईमा हुस्सु र कुहिरोले बिहान र साँझपख बढी चिसो हुने गरेको छ । अहिले तराई क्षेत्रमा कुहिरो लागेको छ भने देशका पूर्व र मध्यका केही स्थानमा आंशिक बदली रहेको मौसमविद् कँडेलको भनाइ छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौंको न्यूनतम तापक्रम दुई दशमलव ८ र अधिकतम तापक्रम १८ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ । महाशाखाले तराईको हुस्सु/शीतलहरसम्बन्धी आज बुलेटिन निकालेर सुदूरपश्चिम प्रदेशको तराई भूभागबाहेक बाँकी तराईका भूभागमा हुस्सु र कुहिरो लागेको जनाएको छ । अपराह्नपछि विस्तारै कुहिरो हटेर जानेछ । अबको केही दिन सामान्यतया मौसम सफा रहने जनाइएको छ ।