यूएइले फोहोरबाट उर्जा उत्पादन गर्न नेपाललाई १ अर्ब १३ करोड दिने

युएईः संयुक्त अरब इमिरेट्स (युएई) ले नेपालमा शहरी फोहोरबाट आधुनिक उर्जा उत्पादन प्रयोजनका लागि एक करोड अमेरकी डलर (करिब १ अर्ब १३ करोड) रूपैयाँ सहुलियतपूर्ण कर्जा दिने भएको छ ।

अबुधावीमा जारी विश्व नवीकरणीय उर्जा संघ (इरिना) को वार्षिक साधारण सभाको अवसरमा अबुधावी फण्ड फर डेभलपमेन्टअन्तर्गत उक्त रकम दिने घोषणा गरिएको हो । नेपाली टोलीको नेतृत्व गर्दै सभामा सहभागी उर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तले सहयोग स्वीकार गरे ।

साधारणसभाको विशेष समारोहमा मन्त्री पुनले उक्त सहुलियत कर्जा स्वीकार गर्दै नेपाललाई छनोट गरेकामा धन्यवाद दिए । मन्त्री पुनका अनुसार उक्त रकमबाट विभिन्न ६९ वटा नगरपालिकामा फोहोरबाट ठूला बायोग्यास आयोजना सञ्चालनका साथै प्रांगारिक मल उत्पादन गरिनेछ । आइरिनाको प्राविधिक सहयोगमा विभिन्न मुलुकबीच प्रतिस्पर्धा भएको थियो ।

सात चरणमा भएको प्रतिस्पर्धामा नेपालसहित बुर्निका पासो, चाड, क्युबा, सेण्ट लुसिया, माल्दिभ्सका साथै एण्टिगुवा र बर्मुडा सहुलियतका लागि छानिएका थिए । उक्त फण्डबाट नेपालले ठूला बायोग्यास र नगरपालिकास्तरको फोहोरबाट उर्जा उत्पादन गर्ने परियोजनाहरुमा न्यून ब्याजदरमा कर्जा प्रवाह गर्ने सुविधा प्राप्त हुने सम्मेलनमा सहभागी वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक मधुसूदन अधिकारीले जानकारी दिए ।

सभामा बोल्दै मन्त्री पुनले नेपालका लागि यो सहयोग महत्वपूर्ण रहेको भन्दै मध्यपूर्वका लगानीकर्ताहरुलाई नेपालको नवीकरणीय र अन्य पूर्वाधार निर्माण कार्यमा सहकार्यका लागि आह्वान गरे । यो सहयोगबाट नेपालका ६९ नगरपालिकामा फोहोरबाट उर्जा परियोजना लागू गरी उर्जा र प्रांगारिक मल उत्पादन गर्नुका साथै रोजगारीको सिर्जना हुने विश्वास व्यक्त गरे ।

प्रदेश ३ को नाम वाग्मती

काठमाडौंः प्रदेश ३ को नाम वाग्मती राखिएको छ । आइतबारको प्रदेशसभामा प्रदेश ३ को नाम वाग्मती राख्ने प्रस्ताव दुई तिहाइ बहुमतले पारित भएको हो । प्रदेश नाम वाग्मती राखियोस् भन्ने कांग्रेस सांसद इन्द्र बानियाँले राखेको प्रस्तावको पक्षमा १ सय ८ मत परेको थियो । विपक्षमा कुनै पनि मत परेन । यसअघि स्थायी राजधानी हेटौंडाको पक्षमा दुईतिहाइ मतदान भएसँगै प्रदेश नंम्बर ३ को स्थायी राजधानी हेटौंडा कायम भैसकेको छ ।

प्रदेश ३ को राजधानी धुलिखेल बनाउने पक्षमा ३ मत

काठमाडौंः प्रदेश ३ को राजधानी काभ्रेको धुलिखेल बनाउने पक्षमा ३ मत मात्र खसेका छ । विपक्षमा अर्थात् हुन्न भन्ने पक्षमा १०१ मत परेको छ । मत विभाजनपछि सभामुख सानुकुमार श्रेष्ठले मत परिणाम सुनाउँदै काभ्रे राजधानी बहुमतले अस्वीकृत भएको घोषणा गरेका छन् । प्रदेश ३, प्रदेशसभाले ‘स्थायी राजधानी सम्भाव्यता अध्ययन विशेष समिति’को प्रस्तावअनुसार प्रदेशको नाम र राजधानी टुङ्गो लगाउँदैछ । प्रदेशसभामा प्रदेशको नाम र राजधानी टुङ्गो लगाउन मतदान प्रक्रिया सुरु भइसकेको छ । प्रदेशसभाको दुई तिहाई बहुमतले नाम र राजधानी टुङ्गो लगाउनुपर्ने संवैधानिक व्यवस्था छ ।  

काठमाडौं–रसुवागढी दुई घण्टामै पुगिने

काठमाडौंः राष्ट्रपति सी जिन पिङको नेपाल भ्रमणका क्रममा घोषणा गरिएको ५६ अर्ब रुपैयाँको चिनियाँ सहयोग काठमाडौं–केरुङ सडकमार्गमा खर्च गरिने भएको छ। यो राजमार्गमा दुईवटा सुरुङ मार्गसहित ११ मिटर चौडाइको ‘डेडिकेटेड’ दुई लेनको सडक बनाइने छ। सडक बनेपछि काठमाडौंबाट रसुवागढी नाका दुई घण्टामै पुगिने भएको छ। हाल काठमाडौंको त्रिपुरेश्वरबाट सुरु भई टोखा–बिदुर–बेत्रावती हुँदै रसुवागढी पुग्न १०७ किलोमिटर लम्बाइ छ। सुरुङ बनाइएपछि यो सडकको लम्बाइ सरदर ३५ किलोमिटर घट्ने अनुमान छ। यो समाचार नयाँ पत्रिका दैनिकमा छ ।

निगमले ग्यास प्लान्ट निर्माण गर्ने

काठमाडौंः एलपी ग्यासको भण्डारण क्षमता विस्तार तथा आफ्नै लोगोमा ग्यास उत्पादन सुरु गर्न नेपाल आयल निगमले ग्यास ‘बोटलिङ, रिफिलिङ प्लान्ट’ र भण्डारण गृह निर्माण गर्ने भएको छ । यस निर्माण कार्यका लागि निगमले आशय पत्र माग गरिसकेको छ । नेपाल आयल निगमका आपूर्ति तथा वितरण विभागका निर्देशक वीरेन्द्र गोइतले आगामी दिनमा मुलुकमा एलपी ग्यास अभाव हुन नदिने बताए । उनका अनुसार, निगमले आफ्नै ब्रान्डमा ग्यास सिलिन्डर बिक्री वितरण गर्ने उद्देश्यसहित झापाको चारआली र धनुषाको महेन्द्रनगरमा ग्यास ‘बोटलिङ तथा रिफिलिङ प्लान्ट’ निर्माण प्रक्रिया सुरु गरेको छ । उनका अनुसार सो कारखाना परिसरमा ग्यास बुलेट भर्ने र झार्ने व्यवस्था समेतको पूर्वाधार निर्माण गरिनेछ । झापामा २९ बिघा र जनकपुरमा १० बिघा जग्गा निगमको स्वामित्वमा रहेको छ । झापा र जनकपुरमा तीन/तीन हजार मेट्रिक टन क्षमताका ग्यास भण्डारण गृह निर्माण गर्ने योजना निगमको छ । अहिले निगमसँग ग्यास भण्डारण गृह छैन । उनले पुस २६ गते निगमको ५०औँ वार्षिकोत्सवमा बिक्री वितरण गर्ने ग्यासको लोगो सार्वजनिक गर्ने जानकारीसमेत दिए । उनले खुला अर्थतन्त्रमा निगमले आफ्नै ब्रान्डमा ग्यास सिलिन्डर उत्पादन गरी प्रतिस्पर्धा र बिक्री वितरण गर्नेछ, एलपी ग्यासमा अब राज्यको आफ्नै उपस्थिति हुनेछ । खुला अर्थतन्त्रको नीति अनुसार खाना पकाउने ग्यासको उत्पादन, ब्रान्डिङ र बजारीकरणमा सरकारी स्वामित्वको ‘एनओसी ब्रान्ड’ मा बजारमा ग्यास सिलिन्डर आउनेछ भने । निगमका प्रवक्ता गोइतले ग्यास बोटलिङ, रिफिलिङ प्लान्ट र भण्डारण गृह निर्माणका लागि सम्भाव्यता अध्ययनको प्रक्रिया अगाडि बढाइसकिएको छ । त्यसका लागि आशय पत्रसमेत माग गरिसकिएको जानकारी दिए । उनका अनुसार सम्भाव्यता अध्ययन गर्न झापाका लागि सात र जनकपुरका लागि छ वटा अन्तर्राष्ट्रिय आशय पत्र निगमलाई प्राप्त भएका छन् । भारत, चीन, पाकिस्तान, इरान र बेल्जियमका परामर्शदाता कम्पनीले आशय पत्र भरेका हुन् । अहिले आशय पत्रको अध्ययन भइरहेको जानकारीसमेत उनले दिए । सम्भाव्यता अध्ययनमा प्रस्तावित प्लान्ट र भण्डारण गृह स्थापनाको सम्भावना, भौतिक पूर्वाधारको खाका, लागत खर्च, उत्पादन क्षमता लगायतको विषयमा विस्तृत प्रतिवेदन निगमलाई दिनेछन् । सम्भाव्यता अध्ययनका लागि चालू आर्थिक वर्षमा निगमले आठ करोड रुपियाँ विनियोजन गरेको छ । प्रवक्ता गोइतका अनुसार आम उपभोक्ताका लागि पाँच, १४.२, १९ किलो र औद्योगिक क्षेत्रका लागि साढे चार सय किलो क्षमताका सिलिन्डर उत्पादन गर्ने योजना निगमको छ । यो समाचार आजको गोरखापत्र दैनिकबाट लिइएको छ ।

कतार जानेभन्दा फर्कने कामदार बढी

काठमाडौंः विगत एक वर्षमा रोजगारीका लागि कतार जाने नेपाली श्रमिकको तुलनामा स्वदेश फर्किनेको सङ्ख्या बढी रहेको देखिएको छ । नेपाल सरकारले फर्कने नेपालीको संख्या नराख्ने गरेका कारण कति नेपाली फर्के भने जानकारी नै हुने गरेको थिएन । कतार जानेभन्दा फर्कने नेपालीको संख्या बढी हुनु मानव संशाधन विकासका दृष्टिकोणले नेपाललाई फाइदा हुने भए पनि आगामी वर्षमा कतारबाट आउने रेमिट्यान्समा भने असर पर्ने देखिन्छ । कतारमा हुने विश्वकम फुटबलका लागि पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगसँगै त्यहाँ कार्यरत अदक्ष नेपाली श्रमिकको संख्या घट्दै गइरहेको देखिएको हो । यो समाचार आजको कारोबार दैनिकमा छापिएको छ ।

आज राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती

काठमाडौंः नेपालको एकीकरण कर्ता पृथ्वीनारायण शाहको जन्मजयन्तीका अवसरमा पृथ्वीजयन्ती तथा एकता दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ। विसं १७७९ मा गोरखामा जन्मिएका पृथ्वीनारायणले २२ से र २४ से राज्यमा विभाजित नेपाललाई एकीकरण गरेका थिए। । सात महिनामा तन्त्रविधिबाट उनको जन्म भएको थियो। पृथ्वी नारारायणले जीवनमा तीनवटा युद्धमा मात्र हार भोग्नुपरेको पृथ्वीनारायण शाहको योगदानका विषयमा अनुसन्धानरत हरिप्रसाद सोडारीले बताए। विसं १८०० मा नुवाकोटमा पहिलोपटक आक्रमण गर्दा उनी पराजित भएका थिए । १८०१ मा नुवाकोटमा विजयी भए। यसैगरी कीर्तिपुरमा पनि उनी दुई पटक पराजित भएका थिए। विश्वमा विजयी भई उपनिवेश चलाउन सफल अङ्ग्रेज सेना उनको नेतृत्वमा पराजित भएको थियो। अङ्ग्रेजले समेत हराउन नसकेको मुगल सेनालाई पृथ्वीनारायणले १८१९ मा मकवानपुरमा पराजित गरेका थिए। यसपछि भारतमा उपनिवेश चलाइरहेका अङ्ग्रेज पनि उनीसँग डराएका थिए। शाहले ‘व्रतरत्नमाला’ नामक कृति लेखेका थिए। यसैगरी उनका तीन कविता पनि प्रकाशित भएको सोडारीले सुनाए। ‘दिव्योपदेश’ भने पृथ्वीनारायण शाहका भनाइ हुन्। जसलाई पछि कृतिका रुपमा प्रकाशित गरिएको हो। नेपालको भौगोलिक एकीकरण गरेर यो भूमिका लागि महत्वपूर्ण योगदान दिएका शाहको निधन विसं १८३१ माघ १ गते नुवाकोटको देवीघाटमा भएको थियो। पृथ्वी जयन्तीमा पहिले सार्वजनिक बिदा दिने गरिएकामा हाल कटौती गरिएकामा पुनः बिदा दिई देशभर मनाइनु पर्ने माग हुन थालेको छ।

नेपाल–भारत सीमा समस्या, जवाफसँगै वार्ताको तयारी

काठमाडौंः भारतसित सीमा समस्या समाधान गर्न पठाएको प्रस्तावको जवाफसँगै नेपालले वार्ताको तयारी गरेको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले शनिबार दोस्रो पटक गरिएको वार्ताको प्रस्तावको जवाफ आएको छैन् । हामी अझै पनि जवाफकै प्रतीक्षामा छौँ । पहिलो पत्रको जवाफमा वार्तामा बस्न तयार छौँ भनेका थियौँ, वार्ताको मिति तय गरेर जवाफ पठाउने कुरा भएको छ । नेपालसँग जोडिएको सीमा समस्या समाधान गर्न नेपालले पठाएको कूटनीतिक नोटको पहिलो जवाफ भारतले दियो । भारत सरकारले सीमा समस्या कूटनीतिक वार्ताबाटै समाधान गर्न तत्परता देखाउँदै जवाफ दिएको थियो । सचिव स्तरमा हुने त्यस वार्ताका लागि नेपालले प्रस्ताव गरेको हो । त्यसका लागि मिति तय गरेर जवाफ दिने बताएको भारतले पछिल्लो जवाफ दिइनसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले भारतको जवाफ आउनासाथै नेपालले वार्तामा बस्ने तयारी गरेको पटक पटक बताए । उनले संसदीय समितिका बैठक तथा परराष्ट्र मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा सीमा समस्या समाधान गर्न सरकार संवेदनशील रहेको प्रस्ट्याउँदै आएका छन् । उनले वार्ताका लागि नयाँ मितिको गृहकार्य सरकारका तर्फबाट भइरहेको जानकारी दिए । परराष्ट्र मन्त्रालयका अनुसार गएको नोभेम्बर २ मा भारतले नयाँ नक्सा सार्वजनिक गर्दा लिम्पियाधुरा सम्मको भूभाग आफ्नो नक्सामा पारेको थियो । जवाफमा नेपाल सरकारले नोभेम्बर ६ मा लिम्पियाधुरा, कालापानी क्षेत्र नेपालको भएको प्रस्ट्याउँदै भारतको एकतर्फी निर्णय मान्य नहुने जनाएको थियो । यसैगरी नोभेम्बर १० मा प्रधानमन्त्री केपी शर्मा ओलीको सक्रियतामा बसेको सर्वपक्षीय बैठकले सीमा समस्या समाधान गर्न राष्ट्रिय सहमति गरेको थियो । त्यसपछि सीमा क्षेत्रको यथार्थ स्थिति पत्ता लगाउन अनुगमन समिति गठन गर्ने निर्णय अनुसार सरोकारवाला निकायसहित परराष्ट्र मन्त्रालयको नेतृत्वमा नोभेम्बर १५ मा समिति गठन भएको थियो । नोभेम्बर २० मा भारतले वार्तामा बस्न सकारात्मक रहेको कूटनीतिक नोट मार्फत जवाफ पठाएको थियो । त्यसको दुई दिनपछि नोभेम्बर २३ मा नेपालले सचिव स्तरीय वार्ताको प्रस्ताव गर्यो । त्यसको जवाफ पनि भारतले दियो तर नयाँ मिति घोषणा गर्ने विषयमा भने भारतको जवाफ नआएको मन्त्रालयको भनाइ छ । सरकारका तर्फबाट सीमा अनुगमन गर्न बनेको समितिले भने आफ्नो काम थालेको प्रवक्ता पौडेलले जानकारी दिए सीमा अतिक्रमण संसद्को परराष्ट्र र राज्य व्यवस्था समतिले सरकारलाई लिम्पियाधुरा सहितको नेपालको नयाँ नक्सा सार्वजनिक गर्न सरकारलाई निर्देशन दिइसकेको छ । लिम्पियाधुरा सहितको नयाँ नक्सा सार्वजनिक गर्ने विषयमा भने परराष्ट्र मन्त्रालयले त्यो काम नापी विभागको हुने जनाएको छ । विभागमा भने त्यस्तो निर्देशन नआएको सरकारी अधिकारी बताउँछन् । त्यो निर्देशन अनुसार लिम्पियाधुरा, लिपुलेक सहितको नेपालको नयाँ नक्सा सार्वजनिक गर्नुपर्ने विज्ञले सुझाव दिएका छन् । शनिबार बौद्धिक वृत्त नेपालले राजधानीमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उपस्थित विज्ञले नक्सा मार्फत अतिक्रमण गर्नेक्रम पनि आफ्नो वास्तविक नक्सा सार्वजनिक गरेर नेपालले रोक्नुपर्ने सुझाव सरकारलाई दिएका छन् । अन्तक्र्रियामा पूर्वजलस्रोत सचिव सूर्यनाथ उपाध्यायले आफ्नो सीमानाप्रति आफै नै संवेदनशील हुनुपर्ने औँल्याए । उनले त्यही भएर नै यी कुरा भएका हुन् । हाम्रो सीमा रेकर्डबिना खुला राख्नु र नक्सामा नराख्ने काम गर्नुहुन्न भने । यस्ता कार्यले देशकै अस्तित्वमा खतरा उत्पन्न हुने उनी बताउँछन् । नेकपाका नेता लीलामणि पोखरेलले संसद्का विभिन्न समितिले निर्देशन दिइसकेको अवस्थामा तत्काल सरकारले नयाँ नक्सा सार्वजनिक गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए । उनले देशका विभिन्न स्थानमा गरी ८१ स्थानमा रहेको सीमा समस्या समाधानमा ध्यान दिनुपर्ने औँल्याए । नागरिक समाजका विज्ञ ऋषिराज लम्सालीले घरघरमा आन्दोलन चर्काउनु आवश्यक रहेको औँल्याए । उनले पहिले नक्सा फेर्यो, त्यसपछि खोलाको नामै फेर्यो । अब त्यहाँको जनताको बानी फेर्न लागेका छन् सतर्क हुनुपर्छ भने । नापी विभागका पूर्वमहानिर्देशक पुण्यप्रसाद ओलीले आफूहरूले प्रमाणसहित सरकारलाई नयाँ नक्सासमेत सिफारिस गरेको बताए । उनले त्यो बेला नदी सीमा भए नदी समातेर बस्नुपथ्र्यो, पिलर भए पिलर समातेर बस्नुपथ्र्यो । पछिल्लो समय दुवै तर्फको आपसी समझदारी भएका ठाउँमा समेत भारतले आवादी निर्माण गरी पटक पटक सिमाना मिचेको कुरा बताए । यो समाचार गोरखापत्र दैनिकबाट लिइएको हो ।

१० पास गरेकोले मात्रै नेपालमा रेल चलाउन पाउने

काठमाडौंः नेपालमा चार पांग्रे सवारी चालक अनुमतिपत्र लिने व्यक्तिको शैक्षिक योग्यता एसईई वा सो सरहको हुनुपर्ने भन्दै आवाज उठिरहेका बेला रेल्वे सेवा सञ्‍चालनका लागि ल्याइएको विधेयकमा रेल चालक र सहचालकको शैक्षिक योग्यता तोकिएको छ । हाल राष्ट्रिय सभामा दर्ता भई छलफलमा रहेको रेल्वे सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा रेल चालक र सहचालकको शैक्षिक योग्यता कम्तीमा माध्यामिक तह (दश जोड दुई) वा सो सरह उत्तीर्ण गरेको हुनुपर्ने उल्लेख छ । विधेयकको दफा २३ उपदफा १ को (क) मा कम्तीमा माध्यमिक तह ९दश जोड दुई० वा सो सरह उत्तीर्ण गरेको हुनुपर्ने उल्लेख छ । त्यस्तै, नेपाल रेल्वे बोर्डबाट मान्यताप्राप्त प्रशिक्षण संस्थाबाट रेल चालउन योग्य भएको प्रमाणपत्र प्राप्त गरेको, रेल चालकको हकमा कम्तीमा पाँच बर्ष सहचालकका रुपमा काम गरेको योग्यता तोकिएको छ । रेल चालकको हकमा २५ बर्ष र सहचालकको हकमा २० बर्ष उमेर नपुगेको र पचास बर्ष उमेर पूरा भएको व्यक्तिले पनि अनुमतिपत्र प्राप्त गर्न सक्ने छैनन् । यो खबर आजको नेपाल समाचारपत्र दैनिकमा छापिएको छ।  

प्रदेश–३ को राजधानी र नामाकरणको लागि भोलि मतदान हुँदैछ

हेटौँडाः प्रदेश ३ को स्थायी राजधानी र प्रदेश नामाकरणका लागि आइतबार मतदान हुने भएको छ । प्रदेशको स्थायी राजधानी र प्रदेश राजधानीको नामाकरणका लागि शनिबार दर्ता भएको प्रस्तावमाथि मतदान हुने भएको हो । प्रदेश राजधानीका लागि दुई स्थान र प्रदेशको नामाकरणका लागि दर्ता भएको एक मात्र प्रस्तावमाथि शनिबार दिउसो बसेको प्रदेशको वैठकमा छलफल भएको थियो । प्रदेश सभाको वैठकमा स्थायी राजधानीका हेटौँडा कायम गरियोस् भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका नेता एवं मुख्यमन्त्री डोरमणि पौडेल प्रस्ताव गरे । प्रस्तावमा नेपाली काँग्रेस संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँ, राष्ट्रिय प्रजातन्त्र पार्टीका रीता माझी र राष्ट्रिय प्रजातन्त्र पार्टी ९संयुक्त० का रीना गुरुङले समर्थन गरेका थिए । यस्तै विवेकशील नेपाली दलका रमेश पौड्याल प्रस्तावक तथा साझा पार्टीका शोभा शाक्य र विवेकशील नेपाली दलका विराजभक्त श्रेष्ठको समर्थनमा धुलिखेललाई स्थायी राजधानी कायम गरियोस भन्ने प्रस्ताव पेस गरे । प्रदेश ३ को नामाकरण बागमती गरियोस् भन्ने काँग्रेस संसदीय दलका नेता बानियाँले प्रदेश सभाको वैठकमा पेस गरेको प्रस्तावमाथि नेकपाका मुख्य सचेतक रामेश्वर फुयाल, विवेकशील नेपाली दलका पौड्याल, साझा पार्टीका शाक्य, राष्ट्रिय प्रजातन्त्र पार्टीका माझी र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का गुरुङ समर्थक रहेका छन् ।

जनताका अगाडि गरेका प्रतिबद्धता पूरा गरेरै छाड्छुः खानेपानीमन्त्री मगर

कञ्चनपुरः कञ्चनपुरको बेलौरी नगरपालिकामा थारू समुदायले आयोजना गरेको माघी मेलामा खानेपानीमन्त्री बिना मगर थारू पहिरनमा सजिदा धेरै जनाले अचम्म मानेर हेरिरहेका थिए । चौधरी समुदायले मनाउने माघी पर्व मेलाको उद्घाटनमा प्रमुख अतिथिका रूपमा खानेपानी मन्त्री मगर कार्यक्रममा सहभागी भएकी थिइन् । माघी पर्व थारू समुदायको महान चाड हो । खानेपानी मन्त्रीको यो पहिरनमा चौधरी थारु समुदायको संस्कृति र पहिचान झल्किएको देखिन्थ्यो । मन्त्री मगरले थारू महिलाहरुले लगाउने गोन्या, ब्लाउज, कालो सल र कानमा सेतो झुम्का लगाएकी थिइन् । कार्यक्रमलाई सम्बोधन गर्दै उनले थारू समुदायको कला, संस्कृति र परम्पराको जगेर्ना गर्न आफू प्रतिबद्ध रहेको बताइन् । देशभर रहेका यस्ता थुप्रै जातजातिको कला संस्कृति र परम्पराको संरक्षण गर्नु राज्यको दायित्व भएको उनको भनाइ थियो । थारूको ड्रेसमा सजिँदै खानेपानी मन्त्री मगरले भनिन्, ‘कञ्चनपुरको पछाडि परेको दक्षिण भेगको यो निर्वाचन क्षेत्र हिजोका दिनमा ओझेलमा थियो । यस अघिका नेतृत्व तथा जन प्रतिनिधिहरुले किन त्यतिबेला ध्यान दिएनन्, प्रश्न गर्न चाहन्छु ।’ ‘यस क्षेत्रमा विकासले गति लिन सकेन भनेर हाम्रो आलोचना भएको सुनेको छु ।’ उनले प्रतिप्रश्न गर्दै भनिन्, ‘जनताका अगाडि जे प्रतिबद्धता व्यक्त गरेको छु त्यो पूरा गरेरै छाड्ने हो । विकास मैले नै गर्ने हो, हामी जनप्रतिनिधिले नै गर्ने हो ।’ हुलाकी सडक लगायत अन्य बाटो घाटो, पुल पुलेसादेखि खानेपानी लगायत पूर्वाधार संरचनाको हरेक क्षेत्रमा आफ्नो ध्यान केन्द्रित रहेकोे र केही कामहरु अगाडि बढाइएको उनले स्पष्ट पारिन् । बेलौरी भन्सारलाई मुख्य भन्सारका रूपमा अगाडि बढाउन प्रक्रिया अघि बढेको उनले जानकारी दिइन् । उनले यो क्षेत्रमा पर्यटन पूर्वाधार विकासका लागि महत्त्वपूर्ण कामहरु अगाडि बढेको बताइन् । कञ्चनपुर क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्यसमेत रहेकी मन्त्री बिना मगरले जनताबाट प्रत्यक्ष निर्वाचित भएर आफ्नो निर्वाचन क्षेत्रको विकासको जिम्मेवारी अहिलेका स्थानीय, प्रदेश र प्रतिनिधि सभाका जनप्रतिनिधिलाई भएकोले सके सहयोग गर्न, नसके अवरोध नगर्न सुझाव दिइन् । उनले निर्वाचनको समयमा गरेका प्रतिवद्धता क्रमिक रूपमा पूरा गरिरहेको दाबी गरिन् । कार्यक्रममा विभिन्न क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेका व्यक्तिहरुलाई मन्त्री मगरले सम्मान गरेकी थिइन् । कार्यक्रमको उद्घाटन अघि खानेपानी मन्त्री मगर थारू ड्रेसमा झाँकी सहित र्‍यालीमा सहभागी भएकी थिइन् । कार्यक्रमको आयोजना र व्यवस्थापन थारू कल्याणकारिणी सभा बेलौरीले गरेको थियो ।

गोरखाका ४ स्थानीय तहमा पृथ्वी जयन्तीमा बिदा दिइने

गोरखाः पृथ्वी जयन्तीको अवसरमा यही पुस २७ गते जिल्लाको गोरखा र पालुङटार नगरपालिका, भीमसेन थापा र सिरानचोक गाउँपालिकाले सार्वजनिक बिदा दिने भएका छन् । चारवटै स्थानीय तहले छुट्टाछुट्टै सार्वजनिक सूचना जारी गर्दै नगरपालिकाले नगरपालिका मातहत र गाउँपालिकाले गाउँपालिका मातहतका कार्यालय बन्द रहने जनाएका छन् । आधुनिक नेपालका राष्ट्रनिर्माता तत्कालीन राजा पृथ्वीनारायण शाहको योगदानलाई उच्च कदरस्वरुप स्थानीय सरकारको तर्फबाट राष्ट्रिय एकता दिवस र पृथ्वी जयन्तीलाई भव्यता साथ मनाउन सार्वजनिक बिदाको घोषणा गरिएकोे स्थानीय तहले जारी गरेको सार्वजनिक सूचनामा उल्लेख छ । नेपाल एकीकरण थालनी भएको गौरवपूर्ण इतिहासलाई भुल्न नहुने भन्दै बिदा दिने निर्णय गरेको गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्तले जानकारी दिए ।

रेल सञ्चालनमा अवरोध पुर्याउनेलाई जरिवाना

काठमाडौंः सरकारले नेपालमा रेलवे सञ्चालनलाई व्यवस्थित गर्न जेलभन्दा जरिवानालाई प्राथमिकता दिने कानुन बनाउने तयारी गरेको छ । रेलवेलाई व्यवस्थित एवं सुरक्षित गर्न बनेको विधेयकलाई जरिवानै जरिवानाको प्रावधान राखेर राष्ट्रिय सभामा पेस गरिएको छ । विधेयक संसद्मा सैद्धान्तिक छलफल भएपछि राष्ट्रिय सभाको विधान समितिमा पठाइनेछ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पेस गरेको विधेयकमा रेल कब्जा गरी वा कुनै किसिमले नोक्सानी पुर्याएमा कसुर गर्ने व्यक्तिलाई १० वर्षसम्म कैद र २ लाख रुपैयाँसम्म जरिवाना हुने प्रावधान राखिएको छ । कसैले रेलभित्र पसी यात्रुलाई अनावश्यक झन्झट दिएमा २० हजार रुपैयाँसम्म जरिवाना हुनेछ । रेलवेका कर्मचारी वा यात्रुसँग झगडा, रेलभित्र होहल्ला, गालीगलौज वा अश्लील र अपमानजनक शब्द प्रयोग गरे कसुर गर्ने व्यक्तिलाई छ महिनासम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुनेछ । रेलवेका कर्मचारीलाई आफ्नो पदीय कर्तव्य पालना गर्न रोक्ने र वा वाधा अवरोध सिर्जना गर्ने काम गरे छ महिनासम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुनेछ । मस्यौदामा जेल सजायभन्दा जरिवानामा बढी जोड दिइएको छ । ससाना गल्तीमा धेरै जरिवाना राखिएको छ । बोर्डको अधिकारप्राप्त व्यक्तिबाहेक कसैले अत्यावश्यक कारण नभई रेलवेको प्रयोजनका लागि जडित कुनै सञ्चार उपकरण प्रयोगमा हस्तक्षेप गरे छ महिना कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुनेछ । बोर्डको अनुमतिबिना टिकट बिक्री वा अधिकारपत्र वितरण गरे २ लाखसम्म जरिवाना गराइनेछ । कसैले रेलवेको सम्पत्ति चोरी गरेमा, बिगारेमा वा अन्य कुनै कारणले हानिनोक्सानी पुर्याए पाँच वर्ष कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुनेछ । मस्यौदाको कसुर तथा सजायअन्तर्गत २१ बुँदामा जरिवानासहितको सजाय तोकिएको छ । रेलमा धूलो, यात्रीमाथि फोहोर अन्य कुनै वस्तु फाल्ने गरेमा ५० हजार रुपैयाँसम्म जरिवाना गराइनेछ । मादक तथा लागू पदार्थ सेवन गरी रेल चलाए एक वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना गरिनेछ । रेलमा आगो लगाउन वा विस्फोटक पदार्थ ओछ्याई सेवा अवरुद्ध गर्ने गरी कुनै डरत्रास, भय देखाई बन्द गर्न वा कुनै किसिमबाट रेलवे अवरुद्ध गराई, यात्रीको आवागमनमा बाधा पुर्‍याई कसैको मृत्यु भए कानुनबमोजिम ज्यान मारेसरह सजाय हुनेछ । ज्यान नमरेको भए १० वर्षसम्म कैद र २ लाख रुपैयाँसम्म जरिवाना हुनेछ । यो समाचार आजको कान्तिपुर दैनिकबाट लिइएको हो ।

यस्तो छ आगामी ३ दिनको मौसम अनुमान

काठमाडौंः आजदेखि सोमबारसम्म देशभर मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही दिन पश्चिमी वायुको न्यून चापीय प्रणालीको प्रभाव रहेको नेपालमा शुक्रबारदेखि यो प्रणाली हटेकाले आगामी तीन दिन मौसम सामान्यतया सफा रहने देखिएको महाशाखाले जनाएको हो । मौसमविद् सजिना शाक्यका अनुसार आगामी तीन दिन अर्थात् सोमबारसम्म कतै वर्षा वा हिमपात हुने सम्भावना छैन । तराई क्षेत्रमा हुस्सु र कुहिरो भने लाग्न सक्ने उनले बताइन् । कस्तो छ आगामी ३ दिनको मौसम अनुमान? पुस २६ गते (शनिबार) दिउँसोः मध्य र पूर्वी पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । रातिः देशका पश्चिमी भू–भागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ । पुस २७ गते (आइतबार) दिउँसोः देशभर मौसम सामान्यतया सफा रहनेछ । रातिः देशभर मौसम सामान्यतया सफा रहनेछ । पुस २८ गते (सोमबार) दिउँसोः देशभर मौसम सामान्यतया सफा रहनेछ । रातिः देशका पश्चिमी भू–भागमा मा सामान्य बदली भई अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।  

सौतेनी आमासँगको अवैध सम्बन्धका कारण बाबुको हत्या

भोजपुरः छोराले सौतेनी आमासँग मिलेर बाबुको हत्या गरेको खुलेको छ । भोजपुर नगरपालिका–११ आम्तेकका ६५ वर्षीय हरिबहादुर राई र सौतेनी आमा ५६ वर्षीया कर्णशोभा राईले ८८ वर्षीय दलबहादुर राईको हत्या गरेको खुलेको हो । हरिबहादुरले कान्छी आमासँग मिलेर गत असोज २५ गते बाबु दलबहादुरको घाँटी थिची हत्या गरेको डिएसपी नरबहादुर सलामी मगरले जानकारी दिए । दलबहादुरको शव गत मंसिर १ गते आम्तेककै टारबारीस्थित सोहन खोलामा सडेको अवस्थामा फेला परेको थियो । शव शंकास्पद रुपमा भेटिएपछि अनुसन्धानका क्रममा प्रहरीले हरिबहादुर र कर्णशोभालाई पक्राउ गरेको थियो । आरोपित हरिबहादुर र कर्णशोभाले स्थानीय सन्तोष विक र नारायण विकलाई ५ हजार रुपैँया दिएर दलबहादुरको शव डोकोमा हालेर फ्याँक्न लगाएको डिएसपी मगरले बताए । प्रहरी अनुसन्धानको क्रममा कान्छी आमा कर्णशोभासँग हरिबहादुरको अवैध सम्बन्ध रहेको खुल्न आएको छ। ‘घटनाको प्रकृतिबाट सोधपुछ गर्ने क्रममा अभियुक्त आमा छोराबीच अवैध सम्बन्ध रहेको पाइएको छ’, डिएसपी मगरले भने, ‘हत्याको कारण अवैध सम्बन्ध भएको खुल्न आएको छ।’ अभियुक्त हरिबहादुर र कर्णशोभालाई कर्तव्य ज्यान मुद्दामा पुर्पक्षका लागि थुनामा छन्। त्यस्तै घटनामा संलग्न विकद्वयलाई पनि कर्तव्य ज्यान मुद्दा अन्तर्गतको मतिहारको अभियोगमा पुर्पक्षका लागि राखिएको छ । कान्छी श्रीमती कर्णशोभासँग दसैंको टीका लगाउन आम्तेकको बाँसबोटे गएका दलबहादुर असोज २५ गतेदेखि सम्पर्कविहीन थिए । यो समाचार आजको अन्न्पूर्ण पोस्ट् दैनिकबाट लिइएको हो ।  

नेपालमा पनि भित्रियो पार्टी बस, बार र डिजेको पनि व्यवस्था!

काठमाडौं: डिजे, बार, धूमपान कक्ष, पेन्ट्री, वाइफाई, डान्स फ्लोर, एयर कन्डिसन, शौचालय आदिको सुविधा रहेको बसमा यात्रा गर्नुभएको छ? छैन भने अनुभव लिन तयार हुनुहोस् । यस्तै किसिमकाे अन्तर्क्रियात्मक गतिविध समेटिएको पार्टी बस पहिलो पटक काठमाडौं भित्रिएको छ । भारतको टाटा मोटर्सले उत्पादन गरेको बसको च्यासिसलाई पार्टी गर्न मिल्ने थालेको रुपमा परिमार्जन गरिएको छ । यहाँभित्र सिट छैनन् । सोफा शैलीमा दुईतिर काउच राखिएको छ, जहाँ एक पटकमा ३६ जनाले यात्रा गर्न सक्छन् । बसभित्रै मदिराको सुविधा र खाना तताउने उपकरणसहितको बार छ । त्यससँगै अगाडि एकजना डिजे हुन्छन् । संगीतको आनन्दमा मदिरा तथा कफी पिउँदै यात्रा गर्न सकिने छ । रियल इकोनोमिक सस्टिनेबल सोसाइटी नेपाल (रेस नेपाल)ले यो बस एक साताभित्रै व्यावसायिक रुपमा सञ्चालनमा ल्याउँदै छ । पार्टी राइड, एयरपोर्ट पिकअप, घुमफिर, पिकनिक, विवाह, निजी कार्यक्रम आदिमा यो बस प्रयोग गर्न सकिनेछ । बस प्रयो गर्न चाहनेले प्रति तीन घण्टाको ३५ हजार रुपैयाँ शुल्क तिर्नुपर्ने रेस नेपालले जानकारी दिएको छ । यो समाचार आजको कान्तिपुर दैनिकबाट लिइएको हो ।