अब बिना बेच्नका लागि कस्तुरी पाल्न पाइने!

काठमाडौंः बिना बेच्नका लागि अब कस्तुरी पाल्न पाइने भएको छ । बिनाका लागि जंगलमा संरक्षित जनावर कस्तुरीको सिकार भइरहेको बेला अब जंगली कस्तुरीलाई नै पालेर त्यसबाट फाइदा लिन सकिन्छ ।

कस्तुरी पाल्नका लागि गौरीशंकर संरक्षण क्षेत्र आयोजनाले आह्वान गरेको छ । आफ्नो संरक्षण क्षेत्रभित्र कस्तुरी पाल्न चाहनेहरु कस्तूरी नै उपलब्ध गराउने भएको छ ।

कस्तुरी पाल्न चाहनेहरुका लागि अब आफ्नै क्षेत्र भित्र पाल्न दिने संरक्षण क्षेत्र आयोजना प्रमुख सत्यनारायण साहले बताए । यो समाचार आजको कारोबार दैनिकबाट लिइएको हो ।

 

काठमाडौंबाट समातिए आइएसएसका ३ आतंककारी

काठमाडौंः आइएसआइएसका तीन आतंककारीलाई नेपालबाट पक्राउ गरेर दिल्ली प्रहरीको विशेष फोर्सले भारत लगेको छ । आज दिल्ली प्रहरीले तीनै जना आतंककारीलाई पक्राउपछि पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । तामिलनाडुबाट फरार भएका आइएसआइएसका आतंककारी नेपालबाट दिल्ली जाँदैछन् भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गर्न बजीराबाद इलाकामा योजना बनाए पनि उनीहरूलाई काठमाडौंबाट पक्राउ गरेको स्रोतले बताएको छ । प्रहरीले तीनै जनालाई आत्मसमर्पण गर्न भनेपनि उनीहरुले प्रहरीमाथि गोली चलाएपछि जवाफी कारबाहीपछि तीनै जनालाई पक्राउ गर्न सफल भएको थियो । यसका साथै, दिल्ली प्रहरीको विशेष फोर्सका अनुसार यी तीनै जना आतंककारी तामिलनाडुमा एक हिन्दु नेताको हत्यामा समेत संलग्न थिए । २०१४ मा भारतका केही साथीहरुसँग मिलेर उनीहरुले तामिलनाडुका हिन्दु नेता सुरेश कुमारको हत्या गरेर जेल चलान भएका तीनै आतंककारी धरौटीमा रिहा भई १२ र १३ डिसेम्बरमा भागेर नेपाल आएका थिए । उनीहरु नेपालमा १५–२० दिनको बसाईपछि दिल्लीमा रहेका साथीहरुलाई भेट्न जाने योजनामा रहेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा अब्दुल समद, ख्वाजा मोहिद्धिन र सैयद अली रहेका छन् ।

नेकपाका नेता ऐरको रगतले जोगियो बृद्धको ज्यान

काठमाडौंः जिल्ला समन्वय समिति डोटीका संयोजक रामबहादुर ऐरले दान गरेको रगतका कारण एक बृद्धले जीवनदान पाएका छन् । नेकपाका नेतासमेत रहेका संयोजक ऐरले दिएको रगतले जिल्लाको पश्चिमी क्षेत्रममा पर्ने सायल गाउँपालिका–५ घोतल गाउँ बस्ने ५१ वर्षीय सकरी साउँदले जीवनदान पाएका हुन् । साउँद बिरामी परेर दिपायल पिपल्लामा रहेको शैलेश्वरी अस्पतालमा केही दिन पहिलेदेखि उपचारका लागि भर्ना भएकी थिइन् । आर्थिक अवस्था कमजोर भएका साउँदले रगत नपाउँदा उनको ज्यान खतरामा थियो । रगतका लागि स्थानीय तथा नेकपाका युवा नेता तेज डुम्रेलले सामाजिक सञ्चालमा रगत अह्वानका लागि आग्रह गरेपछि संयोजक ऐरले अस्पतालमै आएर रक्तदान गरेको शैलेश्वरी अस्पतालका चिकित्सक तथा निर्देशक आइजंङ्ग कुँवरले बताए । उनले भने, ‘रगत अभावमा सकरीको ज्यान जाने खतरा थियो, संयोजकले रगत दिएर ज्यान जोगाउनु भयो ।’ ऐरले रगत अभावमा बिरामी परेका सकरी साउँदलाइ ए पोजेटिक एक पिन्ट रगत दिएको अस्पतालले जनाएको छ । जिल्लामा रगत (ब्लड) बैङ्क नहुँदा यहाँका बिरामी तथा सुत्केरी महिलाले सेना, प्रहरी तथा स्थानीयको भर पर्नुपर्ने अवस्था छ ।

स्कुल जाँदै गरेकी बालिकामाथि सामूहिक बलात्कार

पर्साः जिल्लाको पटेर्वासुगौलीमा विद्यालय जाँदै गरेकी एक बालिकामाथि सामूहिक बलात्कार भएको छ । पटेर्वासुगौली गाउँपालिका–१ रंगपुरमा रहेको विद्यालमा पढ्न जाँदै गरेकी बालिकालाई आफ्नै छिमेकीले अपहरण गरी सामूहिक बलात्कार गरेका हुन् । १४ बर्षिया बालिकालाई स्थानीय गुलाब मिया र फिरोज अन्सारीले अपहरण गरी मोटर साईकलमा राखेर आफ्नो बढनियारमा रहेको कुखुरा फार्ममा लिएर बलात्कार गरेको पीडितले प्रहरी समक्ष बयान दिएकी छन्। बालिकालाई उनीहरूले राति नै बलात्कार गरेर छाडेको पनि उनले बताएकी छन् । पीडित बालिकाको स्वास्थ्य परिक्षण गरिएको छ भने बलात्कार गरेको आरोपमा प्रहरीले गुलाव मियां चुरिहारलाई पक्राउ गरेको छ । अर्का आरोपी फिरोज अन्सारी भने फरार रहेका छन् । घटनाका बारेमा थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जानकारी दिएको छ ।

काठमाडौंबाट नक्कली नोट बनाउने गिरोह मेसिनसहित पक्राउ

काठमाडौंः काठमाडौंकाे गोंगबुबाट नक्कली नोट बनाउने मेसिनसहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सल्यान शारदा नगरपालिका–७ का कमल बुढाथोकी भन्ने कोवी राम बुढाथोकी, काभ्रे पाँचखाल नगरपालिका–१३ बस्ने बल बहादुर राना मगर, डोटी पूर्वीचौकी गाउँपालिका–३ का आर्यान खड्का र धनकुटा छत्र जोरपटी–३ का छत्र बहादुर लिम्बु रहेका छन् । विशेष सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजको टोलीले ४ लाख १३ हजार नक्कली नेपाली नोटसहित बुधबार ४ जनालाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले नेपाल राष्ट्र बैंक लेखिएको छ ७० ९६१९७४ नम्बरको १ हजार दरको १०७ थान, च८३ ५५३९६६ नम्बरको १ हजार दरको १०५ थान, ज१८ ०७८६७० नम्बरको १ हजार दरको ४५ थान, ग४३ ६६३१७६ नम्बरको १ हजार दरको ९७ थान, ग९७ ०५९६०८ नम्बरको १ हजार दरको ५९ थान गरी कुल १ हजार दरका ४ सय १३ थान नक्कली नोट बरामद गरेको छ । यस्तै, उनीहरुको साथबाट १ हजार दरको नोटको ए४ साइजको पेपरमा ४ वटा अट्ने गरी पछाडिको भागको रंगीन फोटोकपी गरेको ३५ थान पेपर, रंगीन फोटोकपी मेसिन र गोल किस्ट कम्पनीको सीपीयू समेत फेला परेको प्रहरी उपरीक्षक वेल बहादुर पाण्डेले जनाएका छन् । पक्राउ परेका चारै जनामाथि मुलुकी अपराध संहिता मुद्रा सम्बन्धी कसूर अन्तर्गत अनुसन्धान चलरहेको पाण्डेले बताए । यस कसूर अन्तर्गत पक्राउ परेका व्यक्तिलाई मुद्भाको परिमाण र मुल्य विचार गरी ५ बर्ष देखी १० बर्ष सम्म कैद र ५० हजार देखी १ लाख सम्म जरिवाना हुने व्यवस्था रहेको छ ।

खेल सकिएपछि धक्कामुक्की गर्ने ६ खेलाडी निलम्बित

काठमाडौंः अखिल नेपाल फुटबल संघ (एन्फा) को अनुशासन समितिले मनाङ मर्स्याङ्दी र मछिन्द्र क्लबका झगडा गर्ने खेलाडीलाई निलम्बन गरेको छ । अनुशासन समितिले मनाङका जगजित श्रेष्ठ र अशोक बराललाई ५–५ खेल तथा रञ्जन विष्टलाई २ खेलका लागि निलम्बन गरेको हो । यस्तै मच्छिन्द्रका दीपक राई, देवेन्द्र तामाङ र विजय धिमाललाई २ खेलमा निलम्बन गरिएको छ । एन्फाका अनुसार जगजित र अशोकलाई जनही १० हजार रुपैयाँ जरिवाना पनि तोकिएको छ । मनाङका किट्स म्यानेजर शिव लामालाई लिगको बाँकी सबै खेलमा निलम्बन गरिएको छ भने १० हजार रुपैयाँ जरिवाना पनि तोकिएको छ । टिमको बेञ्चलाई अनुशासनमा राख्न नसकेकामा दुबै टिमलाई ५० हजार जरिवाना समेत तोकिएको छ । ए डिभिजन लिगमा सोमबार भएको खेलमा दुई क्लबले २–२ गोलको बराबरी खेलेका थिए । तर खेल लगत्तै दुबै टिमका खेलाडीहरुले झगडा गरेका थिए ।

नारायणगढ–मुग्लिन सडक पूर्णरूपमा सञ्चालन

चितवनः नारायणगढ–मुग्लिन सडकखण्ड बिहीबारदेखि पूर्णरूपमा सञ्चालनमा आएको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इञ्जिनियर शिव खनालका अनुसार पहिरो नियन्त्रणको काम सकिएसँगै सडक पूर्णरूपमा सञ्चालनमा आएको हो । दिउँसोको समयमा दैनिक चार घण्टा सवारी साधन रोकेर पहिरो नियन्त्रणको काम हुँदै आएको थियो । अब बाँकी रहेका काम अन्य दिनमा केही समय सवारी साधन रोक्दै पूरा गरिने खनालले बताए । उनले भने, ‘बाँकी रहेका केही सामान्य कामहरु आगामी दिनमा थोरै–थोरै समयको अन्तरालमा सवारी साधनलाई रोक्दै ट्राफिक व्यवस्थापन मिलाउँदै गछौँ ।’ नारायणघाट मुग्लिन सडकमा बाँकी रहेका आठ ठाउँमा पहिरो रोकथामको काम गरिएको हो । गत मङ्सिर २७ गतेदेखि प्रत्येक दिन बिहान ११ः०० देखि दिउँसो ३ः०० बजेसम्म सडकमा सवारी साधनलाई रोकेर काम हुँदै आएको थियो । पहिरो नियन्त्रणका काम लगभग सकिएसँगै आगामी वर्षदेखि मुग्लिङ–नारायणघाट सडकमा वर्षातको समयमा पनि पहिरोको प्रभावले सवारी यातायातमा न्यून मात्र प्रभाव पर्ने सुनिश्चित भएको खनालले बताए ।

नेपाल अन्तर्राष्ट्रिय सैन्य गठबन्धनमा सामेल हुँदैनः उपप्रधानमन्त्री पोखरेल

कास्कीः उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले कुनै पनि प्रकारको अन्तर्राष्ट्रिय सैन्य गठबन्धनमा नेपाल सामेल नहुने बताएका छन् । प्रेस संगठन नेपाल कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा एमसीसी (मिलेनियम च्यालेन्ज कर्पोरेसन) का सम्बन्धमा सञ्चारकर्मीले राखेको जिज्ञासामा उनले उक्त विषय संसदमा छलफलका क्रममा रहेको र बहुकोणबाट राष्ट्रिय हितलाई सर्वोपरी राखेर यसको फैसला हुने बताए । “यो विषय संसदमा छलफल हुँदैछ, राष्ट्रिय हितलाई सर्वोपरी राखेर निर्णय गरिन्छ”, उनले भने, “हामी कुनै इन्टरनेशनल मिलिट्री एलाइन्समा सामेल हुँदैनौँ ।” विद्युत्, विकास र यातायातका क्षेत्रमा नेपाली जनताको अधिकतम हितमा प्रयोग गर्नेगरी विगतको सरकारका पालामा नै यो विषय औपचारिक माग गरिएको उनले उल्लेख गरे । भारतसँगको सीमा विवादका सम्बन्धमा सरकारले औपचारिक दावीसहित पहिलोपटक आधिकारिकरूपमा कूटनीतिक नोट पठाएको जानकारी दिँदै उनले वार्ताको मिति तय हुनासाथ विवादित विषय छलफलका आधारमा टुंगोमा पुर्‍याइने धारणा राखे । “हामी हाम्रो एक इन्च भूमि पनि अरुलाई अतिक्रमण गर्न दिँदैनौँ, अरु कसैको एक इन्च जमीन पनि हामीलाई चाहिँदैन”, उनले भने, “सुगौली सन्धिको बेला जुन हाम्रो सीमा थियो त्यसमा हामी ध्यान दिन्छौँ ।” सुगौली सन्धिपछि एकतर्फीरूपबाट सीमा साँघुर्‍याउने काम भएकामा उनले गम्भीर ध्यानकर्षण भएको बताउँदै ऐतिहासिक तथ्य, प्रमाणका आधारमा हाम्रो सीमा जहाँ थियो त्यहीँ कायम राखिने बताए । नेपाल ट्रष्टको चल एवं अचल सम्पत्ति शिक्षा, स्वास्थ्य, पर्यटन तथा व्यवसायमा उपयोग गर्ने स्पष्ट नीति रहेको उल्लेख गर्दै ट्रष्टका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री पोखरेलले कानूनसम्मत ढङ्गले यिनीहरूको सदुपयोग गरिने स्पष्ट पारे । पोखरामा रहेका रत्न मन्दिर र हिमागृहका सम्बन्धमा उनले प्रदेश र स्थानीय सरकारसँग परामर्श गर्दै उपयोग गरिने बताए । उनले भने, “अपारदर्शी ढङ्गले गैरकानूनीरूपमा केही काम हुँदैन, जनताको अधिकतम हितमा यसलाई प्रयोग गर्छौँ ।” उपप्रधानमन्त्री पोखरेलले यही पुस २७ गते हुने संसद् बैठकअघि नै संघीय संसद्को सभामुखका विषयमा टुङ्गो लागिसक्ने जानकारी दिए । पश्चिम एशियामा रहेका नेपालीको अवस्था सम्बन्धमा सोधिएको प्रश्नमा उनले अन्य काम एवं शान्ति सेनामा कार्यरत नेपालीको अवस्था एवं सुरक्षा सम्बन्धमा नेपाली सेनाको मुख्यालयमार्फत त्यहाँस्थित संयुक्त राष्ट्रसंघ र सम्बद्ध एजेन्सीसँग सम्पर्क भइरहेको जानकारी दिए । नेपालीहरुको सुरक्षाका लागि सजगता अपनाइएको उनले बताए ।

बिषयगत समितिहरू सक्रिय बनाएका छौंः उप–प्रमुख भट्ट

धनगढीः धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशीला मिश्र भट्टले धनगढी बिषयगत समितिहरु सक्रिय बनाउँदै लगेको बताएकी छन् । प्याक्ट÷साहस नामक संस्थाले बिहीबार धनगढीमा आयोजना गरेको स्थानीय सरकारको तहमा संचालन गरेका स्थिति विश्लेषण घटना अध्ययनसम्वन्धी अध्ययनका नतिजा तथा सिफारिस सार्वजनिकरण कार्यक्रममा बोल्दै उप–प्रमुख भट्टले यस्तो धारणा राखेकी हुन् । ‘सुरुका दिनमा बिषयगत समितिलाई काम कर्तब्य बुझ्नका लागि केहि समस्या देखिए पनि अब समितिका पदाधिकारीहरू अभ्यस्त भैसकेका छन्’, उप–प्रमुख भट्टले भनिन्, ‘त्यसैले अहिले सबै बिषयगत समिति सक्रिय रहेका छन् ।’ ‘आयोजक संस्थाले बिभिन्नतहमा अध्ययन गरेर धनगढीमा सार्वजनिक गरेको नतिजा यस स्थानीयतहमा हुबहु नमिल्न सक्छ’,उप–प्रमुख भट्टले भनिन्, ‘तर पनि प्रतिवेदनलाई सकारात्मक रुपमा लिन सकिन्छ ।’

नियमको उल्लंघन गर्ने कसैलाई सहुलियतको सुविधा नदिनूंः पोखरेल

काठमाडौंः सडक नियम उल्लंघनलाई सहुलियतको सुविधा नदिन महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले ट्राफिक प्रहरीलाई निर्देशन दिएका छन् । बिहिबार महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथको निरीक्षण तथा निर्देशन कार्यक्रममा उनले उपस्थित प्रहरी कर्मचारीहरूलाई सो निर्देशन दिएका हुन् । सडकमा डिउटी गरिरहेको ट्राफिक प्रहरी राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतको निगरानीमा रहने भएकाले उसको बोली, बचन, व्यवहार अनुशासन र निश्पक्ष कार्य सम्पादनले सम्रग संगठनको छवीमै प्रभाव पार्ने भन्दै उनले ट्राफिक प्रहरीले संगठनको ऐनाको रूपमा आफुलाई प्रस्तुत गर्नुपर्ने बताए । धुलो–धुवा, घाम–पानी नभनी हरपल डिउटीमै खटिने ट्राफिक प्रहरी एउटा सानो गल्ती वा लोभले समग्र संगठनलाई आलोचित र लज्जित पार्ने पोखरेलले बताए । सबै क्षमता र ओहदाका नागरिकहरूसंग ट्राफिक प्रहरीको प्रत्यक्ष सम्पर्क हुने हुनाले आफ्ना कमी कमजोरीलाई सुधार्दै बोली वचन र व्यवहारमा शिष्टता र नम्रता अपनाउन र कानून कार्यान्वयनमा निर्ममता अपनाई कार्य गर्न पनि मातहत कर्मचारीहरुलाई निर्देशन दिए ।

कुनै पनि प्रकारको सैन्य गठबन्धनमा सामेल हुँदैनौंः पोखरेल

पोखराः उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले कुनै पनि प्रकारको अन्तर्राष्ट्रिय सैन्य गठबन्धनमा नेपाल सामेल नहुने बताएका छन् । प्रेस सङ्गठन नेपाल कास्कीद्वारा बिहीबार आयोजित पत्रकार सम्मेलनमा एमसीसी (मिलेनियम च्यालेन्ज कर्पोरेसन) का सम्बन्धमा सञ्चारकर्मीले राखेको जिज्ञासामा उनले योे विषय संसद्मा छलफलका क्रममा रहेको र बहुकोणबाट राष्ट्रिय हितलाई सर्वोपरी राखेर यसको फैसला हुने बताए । ‘यो विषय संसद्मा छ, छलफल हुँदैछ, राष्ट्रिय हितलाई सर्वोपरी राखेर निर्णय गरिन्छ’, उनले भने, ‘हामी कुनै इन्टरनेशनल मिलिट्री एलाइन्समा सामेल हुँदैनौं ।’ विद्युत, विकास र यातायातका क्षेत्रमा नेपाली जनताको अधिकतम हितमा प्रयोग गर्नेगरी विगतको सरकारका पालामा नै यो विषय औपचारिक माग गरिएको उनले उल्लेख गरे । भारतसँगको सीमा विवादका सम्बन्धमा सरकारले औपचारिक दावीसहित पहिलोपटक आधिकारिकरूपमा कूटनीतिक नोट पठाएको जानकारी दिँदै उनले वार्ताको मिति तय हुनासाथ विवादित विषय छलफलका आधारमा टुङ्गोमा पुर्‍याइने धारणा राखे । ‘हामी हाम्रो एक इन्च भूमि पनि अरुलाई अतिक्रमण गर्न दिँदैनौँ, अरु कसैको एक इन्च जमीन पनि हामीलाई चाहिँदैन’, उनले भने, ‘सुगौली सन्धिको बेला जुन हाम्रो सीमा थियो त्यसमा हामी ध्यान दिन्छौँ ।’ सुगौली सन्धिपछि एकतर्फीरूपबाट सीमा साँघु¥याउने काम भएकमा उनले गम्भीर ध्यानकर्षण भएको बताउँदै ऐतिहासिक तथ्य, प्रमाणका आधारमा हाम्रो सीमा जहाँ थियो त्यहीँ कायम राखिने बताए । नेपाल ट्रष्टको चल एवं अचल सम्पत्ति शिक्षा, स्वास्थ्य, पर्यटन तथा व्यवसायमा उपयोग गर्ने स्पष्ट नीति रहेको उल्लेख गर्दै ट्रष्टका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री पोखरेलले कानूनसम्मत ढङ्गले यिनीहरूको सदुपयोग गरिने स्पष्ट पारे । उपप्रधानमन्त्री पोखरेलले यही पुस २७ गते हुने संसद् बैठकअघि नै सङ्घीय संसद्को सभामुखका विषयमा टुङ्गो लागिसक्ने जानकारी दिए ।

गुण्डागर्दीमा संलग्न दुई जना पक्राउ

काठमाडौंः महानगरीय अपराध महाशाखाको टोलीले गुण्डागर्दीमा संलग्न दुई जनालाई पक्राउ गरेको छ । काठमाडौंका विभिन्न स्थानमा गुण्डागर्दी तथा हतियार देखाएर आंतक सृजना गर्ने गरेको आरोपमा प्रहरीले बिहिबार दुई जनालाई पक्राउ गरेको महानगरीय अपराध महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए । प्रहरीले बाग्लुङको ढोरपाटन नगरपालिका–६ स्थायी घर भई काठमाडौं ग्रिनल्याण्डमा बस्ने बर्ष ३१ का देवेन्द्रबहादुर घर्तीमगर र घादिङ जिल्ला निलकण्ठ नगरपालिका–३ स्थायी घर भै काठमाडौं नयाँबजार बस्ने बर्ष २४ का सुजन पौडेललाई राती ९ः ०० बजे ठमेलबाट नियन्त्रणमा लिएको हो । पक्राउ परेका देवेन्द्रकुमार घर्तीमगर सहित रमेश बाहुन, कमल राना, छिरिङ शेर्पा, अनिल तामाङ, बुद्ध गुरुङले बरुण लामा,आशिष गुरुङ समेतलाई गोली हानेर घाइते बनाएपछि ज्यान मार्ने उद्योगमा देवेन्द्रकुमार घर्तीमगर चार बर्षको कारागार सजाय समेत भोगेका थिए । त्यस्तै पक्राउ परेका सुजन पौडेल लगायत गोविन्द घिमिरे विनोद श्रेष्ठ, कमल गुरुङ, अमृत अधिकारी मिलेर राधेका केटा भन्ने काजी शाक्यलाई खुकुरी हानी घाइते बनाइएकोमा सुजन पौडेलले २०७३ सालमा ज्यान मार्ने उद्योगमा धादिङमा सात महिना र नुकोटमा चार महिना सजाय भोगेका थिए । उनीहरुको थप अनुसन्धान भइरहेको एसएसपी थापाले बताए ।

बुटवल शहरका सबै वडामा खानेपानी पुर्‍याउन काम सुरु हुँदै

काठमाडौंः खानेपानी मन्त्रालयअन्तर्गतको नेपाल खानेपानी संस्थानले बुटवल उप–महानगरपालिकाका सबै वडाहरुमा प्रशोधित खानेपानी आपूर्ति गर्ने उद्देश्यले खानेपानी आयोजनाको काम अघि बढाएको छ । संस्थानले पाल्पा जिल्लाको तिनाउ गाउँपालिकामा अवस्थित झुम्सा खोलामा बाँध तथा ईन्टेक निर्माण गरी उक्त खोलाको पानीलाई प्रशोधन (ट्रिटमेन्ट) गरेर बुटवल उप–महानगरपालिकाका सबै वडाहरुमा खानेपानी सेवा विस्तार गर्न लागेको हो । संस्थानले पुरै बुटवल शहरका लागि खानेपानी पुर्‍याउने उद्देश्यले आयोजनाको ठेक्का आव्हान गरेको छ । पहिलो प्याकेज अन्तर्गत १० र २० इन्चको डि. आई. पाइप खरिद कार्य भईसकेको छ भने दोस्रो प्याकेज अन्तर्गत खोलाको बाँध निर्माण र पाइप जडानको ठेक्का सम्झौता कार्य हुँदैछ । तेस्रो प्याकेजमा पाईप जडान गरी बिछ्याउने र ट्रस पुल बनाउने कार्यको ठेक्का आव्हान भएको छ । झुम्सा खोलाबाट प्रतिदिन ३ करोड १० लाख लिटर पानी ल्याएर बुटवलमा प्रशोधन गर्ने र त्यहीँबाटै वितरण गर्ने योजना रहेको संस्थानको बुटवल खानेपानी आयोजना प्रमुख बुद्धरत्न महर्जनले बताए । बुटवल खानेपानी शुद्धीकरण आयोजनाको नामबाट दुईवटा मुख्य कामहरु अघि बढाईएको छ । पहिलो कामअन्तर्गत झुम्सा खोलामा बाँध निर्माण गर्ने, ट्रस पुल बनाउने र पाईप बिछ्याएर पानी ल्याउने त्यस्तै दोस्रो आयोजनाको काम अन्तर्गत बुटवल उप महानगरपालिका वडा नं. ३ स्थित रामफेदीमा पानी प्रशोधन प्लान्ट बनाउने, रिजर्भवायर पानी ट्यांकी बनाउने र पानी वितरणका कामहरु गर्ने रहेको छ । बुटवल शहरमा करिब ६ सय १२ किलोमिटर डि.आई. पाईप तथा एच.डि.पी.ईं पाईप विस्तार गर्ने र नौ वटा ओभरहेड ट्यांकी निर्माण गर्ने योजना रहेको आयोजना प्रमुख महर्जनले जानकारी दिए । अबको चार वर्षमा सम्पन्न गर्ने लक्ष्य राखेर आयोजनाको काम अघि बढाईएको छ । यो आयोजनाको कूल लागत ६ अर्ब ३५ करोड ३५ लाख रुपैयाँ रहेको आयोजना प्रमुख महर्जनले बताए । बुटवल उपमहानगरपालिकाका सबै वडाहरुमा २४ सै घण्टा खानेपानी उपलब्ध गराउने उद्देश्यले यो आयोजनाको डिजाईन तयार गरिएको छ । करिब ३ लाख जनसंख्या यस आयोजनाबाट प्रत्यक्ष लाभान्वित हुने संस्थानले जनाएको छ । संस्थानको बुटवल खानेपानी शुद्धीकरण आयोजना पहिलो ठूलो आयोजना हो भने दोस्रोमा पोखराको मर्दी खोला खानेपानी आयोजना रहेको छ । पोखरामा मर्दी खोला आयोजनाको निर्माण कार्य धमाधम चलिरहेको छ । यसअघि मर्दी खोला आयोजनाको शिलान्यास खानेपानी मन्त्री बिना मगरले गरेकी थिइन् । सरकारको नीति तथा कार्यक्रममा आगामी चार वर्ष्भित्र शत प्रतिशत जनसंख्यालाई आधारभूतस्तरको खानेपानी सेवा पुर्याउने लक्ष्य छ । सोही लक्ष्य हासिल गर्न खानेपानी मन्त्रालयले देशैभरि साना ठूला गरी खानेपानीका आयोजनाहरुलाई अघि बढाउँदैछ । के हो झुम्सा खानेपानी आयोजना ? वि.सं २०५३ सालमा ४ करोड रुपैयाँ लागतको ‘सिस्ने खोला खानेपानी योजना’ त्यतिकै बिलाएर गएपछि झुम्सा खोला खानेपानी आयोजना अगाडि सारिएको थियो । बुटवल बासीहरुलाई दैनिक ८० लाख देखि १ करोड लिटर खानेपानी उपलब्ध गराउने योजना अनुसार आयोजना अघि सारिएको थियो । बुटवलको खानेपानी समस्या समाधान गर्न भन्दै २२ वर्षअघि झुम्सा खानेपानी आयोजना सुरु गरिएको थियो । पाल्पाको तिनाउ गाउँपालिका अन्तर्गतको झुम्सा खोला बुटवलबाट करिब १४ किलोमिटर टाढा पर्छ । २२ वर्षअघि तत्कालीन मेयर सुर्यप्रसाद प्रधानको पालामा यसबारे छलफल सुरु भएको थियो । तर दुई दशक बित्यो यसअघि कसैले सुरु गरेनन् झुम्सा खानेपानी आयोजनाको काम । अहिले खानेपानी मन्त्री बिना मगरले यो आयोजनाको कामलाई तीव्र गतिमा अघि बढाउन निर्देशन दिएकी छन् । दुई वर्षअघि झुम्सा खोलाको फिरफिरे घाटमा इन्टेक निर्माणको काम सकिएर केही किलो मिटर पाइप लाइन बिछ्याइसकेपछि बाढीले इन्टेक नै बगाइदिएको थियो । इन्टेक बगाएपछि आयोजनाको काम रोकिएको थियो । सुरुमा १९ करोड ५६ लाख रुपैयाँ लागत अनुमान गरी २०६८ सालको असारभित्र सक्ने लक्ष्य लिईएको थियो । बुटवलको मेलम्चीको रुपमा व्याख्या गर्दै आएको झुम्सा खानेपानी आयोजना बुटवल शहरबासीका लागि गौरवको कुरा हो । हाल बुटवलमा दैनिक ३ करोड ५० लाख लिटर पानीको माग रहेको छ । जुन माग यो आयोजनाले पुरा गर्नेछ ।

यी हुन् मन्त्रिपरिषद् बैठकका १४ निर्णय

काठमाडौंः ट्रंकलाइन तथा डेडेकेटेड फिडरको समस्या समाधान गर्नका लागि अध्ययन गर्न सरकारले ५ सदस्यीय समिति गठन गरेको छ । बिहीबार संचार तथा सूचना प्रविधि मन्त्रालयमा मन्त्रिपरिषद बैंठकले गरेका निर्णय सुनाउँदै सरकारका प्रवक्तासमेत रहेका गोकुल बाँस्कोटाले यस्तो जानकारी दिएका हुन् । ऊर्जा मन्त्रालयका सचिवको संयोजनकत्वमा सरकारले समिति गठन गर्ने निर्णय गरेको हो । यी हुन् मन्त्रिपरिषद् बैठकका १४ निर्णयः

असन्तुष्ट पक्षसँग संवाद र सहमतिका आधारमा अघि बढ्छौंः देउवा

काठमाडौंः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा एकता कायम राख्न र पार्टी सङ्गठन सुदृढीकरणका लागि सहमतिको विकल्प नभएको बताएका छन् । आफ्नै निवास बूढानीलकण्ठमा आज कांग्रेसका जिल्ला सभापतिहरुको छलफलमा उनले पार्टीमा असन्तुष्ट पक्षसँग तत्काल संवाद थाल्ने र सहमतिका आधारमा अघि बढ्ने बताएको छलफलमा सहभागी काभ्रेपलाञ्चोकका सभापति मधु आचार्यले जानकारी दिए । सरकारले सूचना प्रविधि र विशेष सेवासम्बन्धीलगायत विधेयकका माध्यमबाट जनताका अधिकार कुण्ठित गर्न खोजेको आरोप लगाउँदै सभापति देउवाले लोकतन्त्रको रक्षाका लागि पनि पार्टी एक ढिक्का हुनुपर्ने आवश्यकता रहेको बताए । छलफलमा जिल्ला सभापतिहरुले सोमबारदेखि तीनसम्म काठमाडौंमा चलेको ‘जिल्ला सभापतिको परामर्श बैठक’का निष्कर्ष सुनाएका थिए । जिल्ला सभापतिहरुले सरकारका अलोकतान्त्रिक कदमका विरुद्ध सिङ्गो पार्टी एक भई सरकारमाथि दवाव सिर्जना गर्नुपर्ने अवस्थामा पार्टी बहुमत र अल्पमतका आधारमा चल्न नहुने भन्दै सहमतिको वातावरण कायम गर्न नेतृत्वलाई आग्रह गरेका छन् । साथै उनीहरूले केन्द्रीय कार्यसमिति बैठकबाट यही पुस ११ गते बहुमतका आधारमा गरिएको निर्णय सच्याई सहमतिका साथ पार्टीको १४औँ महाधिवशेनको कार्यतालिका बनाउन माग गरेका थिए । कांग्रेस केन्द्रीय समिति बैठकले पुस ११ गते पार्टीको १४औँ महाधिवेशन २०७७ फागुन ७ देखि १० गतेसम्म गर्ने र केन्द्रीय समितिको समयावधि एक वर्ष थप गर्नेलगायत महत्वपूर्ण निर्णय बहुमतका आधारमा गरेको थियो । सो बैठकले महाधिवेशनको प्रयोजनार्थ विधानका केही दफा निलम्बन गर्ने, विधानमा उल्लेख २८ केन्द्रीय विभागको सङ्ख्या ४७ पु¥याउने, तरुण दलको म्याद छ महिना थप गर्नेलगायतका निर्णय पनि गरेको थियो । संस्थापन पक्षले केन्द्रीय समिति बैठकबाट बहुमतका आधारमा निर्णय गरेको र विधानविपरीत विधानका केही दफा निलम्बन गरेको भन्दै असन्तुष्ट बनेको वरिष्ठ नेता पौडेल समूहले भावी योजना तय गर्नका लागि सुझाव लिन जिल्ला सभापतिहरुको बैठक बोलाएको थियो ।

ढोकाबाटै राउण्ड लिन्छन् चिकित्सक !

बाँकेः भेरी अस्पतालमा सेवा लिन आउने अधिकांश बिरामी अस्पतालको सेवासुविधा, चिकित्सकको व्यवहार र सरसफाइप्रति सन्तुष्ट देखिएका छैनन् । प्रदेशको एकमात्र सङ्घीय अस्पतालको सेवाबाट सन्तुष्ट हुनेभन्दा असन्तुष्ट हुनेको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको जनाइएकोछ । दैनिक एक हजारको हाराहारीमा बिरामी सेवा लिन अस्पताल आउने गरेको अस्पतालले जनाएको छ । सेवा लिन भेटिएका अधिकांश बिरामी र उहाँका आफन्तले अस्पतालको उपचार सेवा, चिकित्सकको व्यवहार राम्रो नभएको गुनासो गरेका छन् । बिरामीले प्रश्न गर्दा चिकित्सक र नर्सले उत्तर दिन झर्को मान्ने गुनासो अस्पतालमा सुनिँदै आइएको छ । अस्पतालद्वारा सञ्चालित औषधि पसलमा बिरामीले चोहेका औषधि पाइँदैन । यसैगरी प्रयोगशाला परीक्षण गर्न निजी प्रयोगशाला जानुपर्ने बाध्यता बिरामीमा रहेको छ । शौचालयको दुर्गन्धले अस्पतालमा बसिसक्नु छैन । अस्पतालका मेडिकल सुपेरिटेण्डेण्ट डा रुपानन्द अधिकारीले भने, ‘अस्पतालको सेवा प्रभावकारी बनाउन कर्मचारीको अनुशासन, सरसफाइ र व्यवहारमा विशेष ध्यान दिइएको छ ।’ अस्पतालमा प्रायः सबै रोगका विशेषज्ञ चिकित्सक कार्यरत रहेका छन् । चिकित्सकले अस्पतालमा भन्दा बाहिरका निजी क्लिनिकमा बढी समय दिँदै आएका छन् । अस्पतालमा कार्यरत चिकित्सकले बिरामी भएको श्ययामा नपुगेरै ढोका बाहिरैबाट अवलोकन (राउण्ड) गर्ने गरेको बिरामीको गुनासो छ । प्रयोग विहीन छन् उपकरण अस्पतालमा रहेको सिकलसेल एनिमिया जाँच गराउने इलेक्ट्रोफोरसिस नामक उपकरण बिग्रिएपछि यसका बिरामीले १० महिनादेखि जाँच गराउन पाएका छैनन् । बिरामी अहिले निजी क्लिनकमा जाँच गराउन बाध्य रहेका छन् । अस्पताल प्रशासनले बिग्रिएको उपकरण मरमतमा ध्यान दिएको छैन । मेसु डा अधिकारी र सम्बन्धित रोगका विशेषज्ञ डा राजन पाण्डेले अहिलेसम्म उपकरण मर्मत गर्नेतर्फ चासो नदेखाएका बिरामीको गुनासो छ । निजी स्वास्थ्य सस्थामा एक हजार पाँच सय देखि दुई हजार रुपैयाँसम्म शुल्क तिरेर जाँच गराउन बाध्य भएको सिकलसेल एनिमिया सोसाइटीका अध्यक्ष प्रभुराम थारुले बताए । उपकरण बिग्रिएकाले सो रोग परीक्षण गराउन निःशुल्क सेवाबाट बिरामी वञ्चित भएका छन् । अस्पतालमा हप्तामा ६०–७० जना सिकलसेल जाँचका लागि आउने जनाइएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले अस्पताललाई प्रदान गरेको सो नामको दुईवटा उपकरण प्रयोगमा नआउँदै थन्किएको छ । रासस