छाउपडीलाई मजबुद पार्ने स्वस्थानी व्रतकथाका पाना च्यात्न सांसद गुरुङको माग
काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद यशोदा सुवेदी गुरुङले स्वस्थानी ब्रतकथाको पुस्तकका पाना च्यात्नुपर्ने माग गरेकी छिन् । आज प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले महिलाले ब्रत गर्ने परम्परा रहेको ऋषी पञ्चमी र स्वास्थानी च्यात्न माग गरेकी हुन् ।
उनले गृहमन्त्रालयले छाउगोठ भत्काउने काम स्वागत योग्य भएको बताउँदै मान्छेका मनमा रहेको छाउ प्रथा पनि हटाउनुपर्ने बताइन् ।
उनले छाउसँग जोडिएको धर्म संस्कृति र परम्परा भत्काउनुपर्ने बताउदै भनिन्, ‘के गाँउ के शहर सरकार, राजनीतिक दल, नागरिक समाज सबैको सशक्त खाँचो छ, छाउसँग जोडिएर आउने धार्मिक अन्धविश्वासहरु भत्काउन सकोस्, छाउ जस्ता संस्कारलाई मजबुद पार्ने स्वस्थानी व्रतकथा र ऋषीपञ्चमी ब्रतकथाका पानाहरु च्यात्न सरकारको ध्यानाकर्षण गर्न चाहन्छु ।’
कुखुराजन्य उद्योगमा १८ अर्बको नोक्सानी
काठमाडौंः नेपालको आत्मनिर्भर कुखुराजन्य उद्योगमा गत एक वर्षमा १८ अर्बभन्दा बढीको नोक्सानी भएको छ । अण्डा, चल्ला र मासुमा वर्षभरि नै किसानले नोक्सानी व्यहोरेका हुन् । उत्पादन बढी भएपछि किसानले लागत मूल्य नपाएका हुन् । नेपाल पोल्ट्री महासङ्घका उपाध्यक्ष टीकाराम पोखरेलले कुखुराजन्य उत्पादनमा वर्षभरि नै किसानले नोक्सानी व्यहोरेको बताए । उनका अनुसार गएको एक वर्षमा ५५ लागत पर्ने चल्ला सरदर प्रतिगोटा २५ मा बिक्री भएको छ । देशभरमा सातामा उत्पादन हुने ३५ लाख ब्रोइलर चल्लाबाट प्रतिगोटा ३० घाटा सहनुपरेको छ । गएको एक वर्षमध्ये छ हप्ता लागत मूल्यमा बिक्री भए पनि बाँकी समय घाटामा बिक्री गर्नुपरेको थियो । यसरी हेर्दा एक वर्षमा चार अर्ब ७२ करोड ५० लाख हाराहारी घाटा कृषकले व्यहोरेको उनले जानकारी दिए । यसैगरी सातामा एक लाख ५० हजार बिक्री हुने लेयर्स चल्लाबाट गत एक वर्षमा ३० करोड हाराहारी नोक्सान भएको पोखरेलले जानकारी दिए । यस्तै मासुमा दैनिक नौ लाख ५० हजार किलो बिक्री गर्दा सरदर प्रतिकिलो ३० घाटा व्यहोर्नुपरेको उनको भनाइ छ । यसबाट एक वर्षमा नौ अर्ब ७२ करोड नोक्सान भएको उनले बताए । नेपाल अण्डा उत्पादक सङ्घका केन्द्रीय उपाध्यक्ष किरणभुषाल ओली नेपालमा दैनिक ५० लाख अण्डामा प्रतिगोटा रु तीन हाराहारी नोक्सान भएको बताए । अण्डाबाट एक वर्षमा तीन अर्ब चार करोड ५० लाख नोक्सान भएको उनले जानकारी दिए । देशभरमा ठूलो सङ्ख्यामा कृषक विस्थापित भएको ओलीको भनाइ छ । यसरी कुखुराजन्य उत्पादनमा एक वर्षमा १७ अर्ब ७९ करोड हाराहारी नोक्सान भएको देखिन्छ । पोल्ट्री व्यवसायी डा तिलचन्द्र भट्टराई नोक्सान धान्न नसकेर ३० प्रतिशत व्यवसायी विस्थापित भएको बताए । अन्यले बैंकको ऋण सार्ने वा सोही बैंकमा ऋण थपेर टिकेको उनको भनाइ छ । उनले भने, ‘सबै धरापमा छन्।’ बर्डफ्लु आउँदासमेत तीनचार महिना नोक्सान व्यहोरे पनि गएको एक वर्ष व्यवसाय पूरै नोक्सानमा गएको उनको भनाइ छ । उत्पादित कुखुराजन्य पदार्थको एकातर्फ मूल्य नहुने अर्कोतर्फ दानाको कच्चा पदार्थको मूल्य बढ्दा थप समस्या उत्पन्न भएको उनको भनाइ छ । एक वर्षअघि प्रतिकिलो २९ को मकै अहिले ३८ पुगेको छ भने ५६ को भटमास ७२ सम्म पुगेको डा भट्टराई बताए । उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्यसमेत रहेका डा भट्टराई ब्रोइलर चल्लाको लागत मूल्य प्रतिगोटा ५५, लेयर्स चल्लाको प्रतिगोटा ९०, अण्डा प्रतिगोटाको १० र मासु प्रतिकिलो ३३० पर्ने बताए । अहिले बजारमा दानाको मूल्य ५३ देखि ६४ सम्म पर्ने गर्दछ । नेपाल ह्याचरी उद्योग सङ्घका अध्यक्षसमेत रहनुभएका टीकाराम पोखरेल नेपालमा ३०८ ह्याचरी, एक हजारभन्दा बढी ठूला फार्म र ब्रोइलर कुखुरा पाल्ने साना फार्म १० हजारभन्दा बढी रहेको बताउँछन् । यस क्षेत्रमा रु एक खर्ब १५ अर्ब लगानी भएको उनको भनाइ छ । यसमध्ये आधाभन्दा बढी बैंकिङ लगानी रहेको छ । लगातारको मूल्य गिरावटपछि पछिल्लो समय लागत मूल्य धान्ने गरी व्यवसायीले मूल्य तोकेर बिक्री वितरण शुरु गरेका छन् । हाल अण्डाको फार्म मूल्य प्रतिक्रेट (३० वटाको) रु ३०५, मासु प्रतिकिलो रु ३८० र ब्रोइलर चल्ला रु ६५ एवं लेयर्स चल्ला रु ६० देखि ७० सम्म बिक्री गर्न शुरु गरिएको छ । यद्यपि ब्रोइलर पालक किसानले जिउँदो कुखुराको मूल्य रु २०० देखि २२० सम्म मात्रै पाउँदै आएका छन् । मासुको मूल्य उच्च भएपछि किसानले जिउँदो कुखुराको उचित मूल्य पाउन सकेका छैनन् । बजारमा अन्य मासुको मूल्य उच्च भए पनि अण्डा र कुखुराको मासुको मूल्य कम भएको व्यवसायीको गुनासो छ ।
५५ करोड रुपैयाँ गौतमबुद्ध रंगशाला बनाउन धान्याचल महोत्सवमा सहयोग सङ्कलन
चितवनः चितवनमा निर्माणधीन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशालास्थल निर्माणमा सहयोगार्थ आयोजित धनधान्याचल महोत्सवबाट लक्ष्यभन्दा ५ करोड रुपैयाँ बढी सहयोग सङ्कलन भएको छ। धनधान्याचल मुल समारोह समितिका महासचिव दिनेस कुमार चुकेका महोत्सवमा दाताहरुले ५५ करोड रुपैयाँ सहयोग गरेका छन्। यस्तै, महोत्सवको खर्च पनि अनुमान गरिएभन्दा कम भएको चुकेले जानकारी दिए। ७६ लाख रुपैयाँ खर्च अनुमान गरीएकोमा ७३ लाख रुपैयाँ मात्रै खर्च भएको तथा १५ लाख रुपैयाँ बराबरको खर्चको रकम पनि आम्दानीकै रुपमा राख्न सफल भएका चुकेले बताए। माघ १९ देखि शुरू भएको महोत्सव १ दिन थप गरेर २७ गत्ते सोमबार विशेष कार्यक्रमकाबीच समापन गरिएको छ। महायज्ञबाट रकम सङ्कलनको महाअभियान शुरू भएकाले आगामी दिनमा रकमको ओइरो लाग्ने समितिका संयोजक एवम् सांसद विजय सुवेदीले विश्वास व्यक्त गरे। उनले धुर्मुस सुन्तली फाउण्डेसनलाई पनि रङ्गशाला निर्माणको काममा तीव्रता दिन आग्रह गरे। ३० हजार दर्शक क्षमताको अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला धुर्मुस सुन्तली फाउण्डेसनको संयोजनमा निर्माण भइरहेको छ। २ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको रङ्गशालाको मैदान ४ अबको चार महिनाभित्र तयार हुने फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसले दाबी गरे।
विपन्नलाईं जस्तापाता वितरण
स्याङ्जाः वालिङ नगरपालिकाले खरका छाना हटाउने अभियान शुरु गरेको छ । नगर कार्यपालिकाको पाँचौँ नगरसभाले नगरभित्रका खरका छाना हटाएर जस्तापाता लगाइदिने नीति तथा कार्यक्रम पारित गरेसँगै लागत सङ्कलनपश्चात जस्तापाता वितरण थालिएको वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले बताए । “नगरभित्रका १४ वडाका खरका छाना विस्थापनका लागि लागत सङ्कलन गरी शुक्रबारबाट जस्तापाता वितरण थालेका हौँ”, नगर प्रमुख खाँणले भने, “पहिलो चरणमा अति विपन्न घर परिवारलाई प्राथमिकतामा राखेका छौँ ।” शुक्रबार वालिङ–५ का बेगबहादुर सार्कीलाई तीन बण्डल जस्तापाता निःशुल्क प्रदान गरिएको नगर प्रमुख खाँणले बताए । खरको छानो स्वास्थ्यका दृष्टिले उपयुक्त भए पनि आगलागीको सम्भावना बढी हुने र अर्कोतर्फ खर छाउने दक्ष कामदारको अभाव भएकाले नगरपालिकाको आर्थिक सहयोगमा जस्तापाता राख्ने योजना बनाएको नगर प्रमुख खाँणको भनाइ थियो । “कतिपय घरपरिवार खरको छानो फेर्न नसक्ने अवस्थामा हुनुहुन्छ”, नगर प्रमुख खाँणले भने, “खरका छानो भएका गरिब हुन् भनी फरक ढङ्गले हेर्ने र हेप्ने प्रवृत्तिको अन्त्यका लागि पनि यो अभियान थालेका हौँ ।” खरका छाना भएका घरधनीले वडाको सिफारिस र खरको छानोको फोटोसहितको निवेदन नगरपालिका कार्यालयमा दिएपछि प्राविधिकबाट लागत अनुमानअनुसार जस्तापाता प्रदान गर्ने प्रक्रिया रहेको नगर उपप्रमुख कल्पना तिवारीले बताइन् । नगरपालिकाले खरका छाना विस्थापनका लागि आवेदन माग गरेसँगै हालसम्म ४२८ को निवेदन परेको निमित्त प्रमुख प्रशासकीय अधिकृत बाबुराम सापकोटाले बताए । रासस
फेरि नेपाल प्रवेश गर्यो पश्चिमी निम्न चापीय प्रणाली, कस्तो रहला आजको मौसम?
काठमाडौंः आज बिहानै नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी निम्न चापीय प्रणाली प्रवेश गरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले अहिले पश्चिम र मध्य क्षेत्रका पहाडी भेगमा मौसम आंशिकदेखि सामान्यसम्म बदली गराएको महाशाखका मौसमविद् समीर श्रेष्ठले जानकारी दिए । उनका अनुसार यो कमजोर खालको प्रणाली भएकाले मौमस बदली देशभर नै गराए पनि पानी भने पश्चिम र मध्य क्षेत्रका पहाडी क्षेत्रमा मात्र पर्ने सम्भावना छ । ‘यो कमजोर खालको प्रणाली हो र यो आज एकदिन मात्र रहनेछ,’ मौमसविद् श्रेष्ठले भने, यसले पश्चिम र मध्य क्षेत्रका केही स्थानमा दिउँसो हल्का वर्षा गराउने देखिन्छ। पश्चिमका एक÷दुई स्थानमा भने राति पनि हल्का वर्षा हुने सम्भावना छ।’ साथै पश्चिम र मध्ये क्षेत्रकै उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना पनि रहेको उनले जानकारी दिए।
टिपरको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान घाइते
तनहुँः जिल्लाको व्यास नगरपालिका–४ बागभञ्ज्याङमा टिपरको ठक्करबाट आज साँझ एक महिलाको मृत्यु भएको छ । दमौलीबाट लमजुङको भोर्लेटारतर्फ जाँदै गरेको ना३९प ५०० नंको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको ग१ख ८६७८ नंको टिप्परले ठक्कर दिँदा मोटरसाइकलमा सवार महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–६ गीतानगर बस्ने ४६ वर्षीया अनिता पाठक रहेको प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता लीलाराज लामिछानेले जानकारी दिए । घाइते पाठकको उपचारका क्रममा दमौली अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । टिपरको ठक्करबाट मोटरसाइकल चालक एवं मृतकका श्रीमान् ४९ वर्षीय कृष्ण पाठक घाइते भएका छन् । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । टिपर र चालक प्रहरी नियन्त्रणमा छन् ।
बालाजुमा बसले स्कुटीलाई ठक्कर दिँदा एक महिलाको मृत्यु
काठमाडौंः काठमाडौंको बालाजुमा भएको सडक दुर्घटनामा एक महिलाको ज्यान गएको छ । बालाजु–वनस्थली सडकखण्डमा कान्तिपुर यातायताको बा १ ख ६६४५ नम्बरको बसले बा ८५ प १४९३ नम्बारको स्कुटीलाई शुक्रबार ठक्कर दिँदा धादिङ दार्खाकी ४० वर्षीय लिलाकुमारी घलेको घटनास्थलमै ज्यान गएको हो । दुर्घटनामा उनकी २५ वषीया छोरी शर्मिला घले घाइते भएकी छिन् । उनको स्वयम्भुस्थित मनमोहन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ठक्कर दिने कान्तिपुर यातायातका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त बस चक्रपथ रुटमा चल्ने प्रहरीले जानकारी दिएको छ ।
कोरोना भाइरस नियन्त्रणका लागि समिति गठन
काठमाडौंः कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको नेतृत्वमा उच्चस्तरीय अनुगमन समिति गठन गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उच्चस्तरीय समितिमा गृह, रक्षा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, अर्थ र परराष्ट मन्त्रालयका सचिवहरु रहेकाे मन्त्रालयले जनाएकाे छ । मन्त्रालयका अनुसार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव खगराज बरालको अध्यक्षतामा विभिन्न मन्त्रालयका सहसचिव रहेका निर्देशक समिति र विभिन्न अस्पतालका प्रमुख र विशेषज्ञ चिकित्स रहेका स्वास्थ्य प्राविधिक समिति गठन गरिएको छ ।
मोटरसाइकल र स्कुटी ठोक्किँदा दुईको मृत्यु, एक गम्भीर घाइते
बुटवलः पूर्वपश्चिम राजमार्गअन्तर्गत रुपन्देहीको सैनामैनामा मोटरसाइकल र स्कुटी ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा रुपन्देहीका अन्दाजी २० वर्षीय सुविन चौधरी र नविन चौधरी रहेका छन् । रूपन्देहीको सैनामैना रामापुर चोकमा तिब्र गतिमा पश्चिमबाट पूर्वतर्फ आइरहेको लु ४२ प ७०९६ नम्बरको मोटरसाइकले सोही दिशाबाट आएको लु २४ प ७४७२ को स्कुटीलाई ठक्कर दिएपछि अर्को लु ३५ प ५०१९ मोटरसाईकलाई ठक्कर दिन पुगेको थियो । इलाका प्रहरी कार्यालय बुटवल डिएसपी भिमलाल भट्टराईले गम्भीर घाइते एक जनाको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भैरहेको छ ।
कोरोना भाइरसः चीनमा रहेका नेपालीको उद्दार गर्न देउवाको अनुरोध
काठमाडौंः नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले चीनको वुहानमा रहेका नेपालीको उद्दार गर्न अनुरोध गरेको छन् । शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै देउवाले भनेका छन्, ‘कोरोना भाइरस संक्रमण फैलिंएको चीनको वुहानमा नागरिकलाई कैयौं देशले फिर्ता लगिसकेका छन् । तर, त्यहाँ रहेका नेपालीलाई स्वदेश फर्काउन नेपाल सरकारले कुनै गम्भीरता नदेखाउनु दुःखद र आपत्तिजनक छ ।’ उनले कोरोना भाइरसको संक्रमणबाट जोगाउँदै वुहानका नेपालीलाई यथाशिघ्र नेपाल ल्याउन प्रवन्ध मिलाउन अनुरोध गरेका छन् । उनले सबै अन्तर्राष्ट्रिय नाकामा हेल्प हेस्क राख्न, संक्रमण परिक्षणका लागि राजधानीमा तत्काल केन्द्र स्थापना गर्नुपर्ने माग गरेको छन् । चीनको वुहान सहरबाट शुरू भएर विभिन्न देशमा फैलिएको नयाँ कोरोना भाइरसका कारण विश्व स्वास्थ्य सङ्गठनले विश्वव्यापी स्वास्थ्य सङ्कट घोषणा गरिसकेको छ ।
कपुरधारामै छैन खानेपानीको धारा !
काठमाडौंः खानेपानी तथा ढल निकास विभागको नजिकै खानेपानीको धारा छैन भन्दा सुन्नेलाई अनौठो लाग्न सक्छ तर काठमाडौं महानगरपालिका–२६ कपुरधाराको अवस्था भने यस्तै छ । खानेपानीको धारा नभए पनि पहिले जमीनमुनिबाट पानी निकालिन्थ्यो । पहिले ६० फिटमै पानी आउने भए पनि हाल १२० फिट तल जाँदा पनि पानी नआउने गरेको स्थानीय लक्ष्मण शाहीले गुनासो गरे । खानेपानीको धारा जडान नभएको र जमीनमुनिको पानीसमेत आउन मुस्किल हुने गरेकाले परिवेश मिनरल वाटर कम्पनीबाट लिन बाध्य हुनुपरेको स्थानीयवासीको दुःखेसो छ । स्थानीयवासी मासिक रु एक हजार तिरेर कम्पनीबाट पानी लिन बाध्य छन् । खानेपानी समस्या समाधानका लागि पूर्व वडाध्यक्ष वर्षाराम भण्डारीका पालादेखि नै अनुरोध गर्दै आए पनि समाधान हुन नसकेको शाहीले बताए । विभाग रहेको पानीपोखरीबाट नजिकै रहे पनि यहाँको १६० घरमा खानेपानीको धारा नभएको वडाध्यक्ष ख्यामराज तिवारीले स्वीकारे । समस्या समाधानका लागि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले सबै घरमा धारा जडान गर्ने गरी बोलपत्र आह्वान गरेकाले केही समयमै समस्या समाधान हुने उनले बताए ।
नेकपा बैठकमा प्रदेशगत प्रतिवेदन प्रस्तुत
काठमाडौंः सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटीको जारी दोस्रो पूर्ण बैठकको तेस्रो दिन प्रदेश अध्यक्षबाट रिपोर्टिङ शुरू भएको छ । पार्टी एकतापछि सम्बन्धित प्रदेशमा भएका काम र गतिविधिबारे आफ्नो प्रतिवेदन दिन थालिएको नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए । यही माघ १५ गतेदेखि शुरू भएको सो बैठकमा अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन, महासचिवको साङ्गठनिक प्रतिवेदन, विधान संशोधन प्रस्तावबारे सदस्यबीच १५ समूहमा विभाजन भई छलफल सकिएपछि प्रदेशको रिपोर्टिङ शुरू भएको हो । बैठकमा समूहबाट आएका टोली नेताको प्रस्तुति र नेतृत्वको जवाफ दिन यही माघ १९ गतेको समय निर्धारण गरिएको छ । बैठकमा सचिवालय र स्थायी कमिटीका निर्णयमाथि छलफल र अनुमोदनको कार्यसूची पनि छ । बैठकले समसामयिक प्रस्ताव पनि पारित गर्नेछ । बैठक प्रदर्शनी मार्गस्थित राष्ट्रियसभा गृहमा जारी छ ।
म्याग्दीको खोप्राबाट नारच्याङ आउँदै गरेका ४ पर्यटक अलपत्र
बेनीः म्याग्दीको पर्यटकीय स्थल खोप्राको भ्रमणमा पुगेका ४ पर्यटक नारच्याङ फर्किने क्रममा बीचबाटोमा अलपत्र परेका छन् । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको माथिल्लो क्षेत्र हुँदै नारच्याङ गाउँ आउन लागेका ४ नेपाली पर्यटक बाटो बिराएर अलपत्र परेका छन् । नारच्याङ गाउँ झर्दै गर्दा बाटो बिराएर अंकीत शाह समेत चार जना पर्यटकहरु बिहीबारदेखि अल्पत्र परेका हुन् । अल्पत्र परेका पर्यटकहरुमा अंकीत शाह सहित १ जना पोखरा र ३ जना काठमाडौंका बासीन्दा रहेको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले जानकारी दिए । हिउँले बाटो ढाकिएको कारण बाटो विराएर जंगलतर्फ अप्ठ्यारो भू–भागमा अल्पत्र परेको जानकारी आएपछि खोजीकार्यलाई तिब्र पारिएको छ । विहानैदेखि खोजीकार्य सुरु गरिएपनि अहिलेसम्म उनीहरुलाई भेट्याउन नसकिएको प्रजिअ ढकालले जानकारी दिए । आगो बालेर धुवा मार्फत संकेत दिन अनुरोध गरिएको र अल्पत्र परेको स्थान पहिचान नभएको कारण थप समस्या भएको प्रजिअ ढकालले बताए । स्थानीय युवाहरुसंगै प्रजिअ ढकाल, प्रहरी नायब उपरिक्षक किरणजंग कुँवर र सशस्त्र प्रहरी समेतको टोली अल्पत्र परेका पर्यटकको खोजीको लागि नारच्याङबाट माथिल्लो भेगतिर लागेका छन् । मोबाईलको सम्पर्कबाट आफुहरु अल्पत्र परेको खबर गरेपनि घना जंगल, भिर र बाख्लो हिउँको कारण उनीहरु रहेको स्थानको पहिचान गर्न कठिनाई भएको खोजीको लागि नारच्याङबाट गएका स्थानीय चुपिन पुर्जाले जानकारी दिए ।
काठमाडौंका यी स्थानमा भोलि दिनभर बत्ती जाने (सूचीसहित)
काठमाडौंः काठमाडौंका केही स्थानमा शनिबार दिनभर बत्ती जाने भएको छ । चक्रपथ विस्तार कार्यको लागि नेपाल वन निगम लिमिटेडले रुख कटान गर्नको लागि महाराजगञ्ज वितरण केन्द्रको धापासी फिडरबाट वितरित लाइन काट्न लागेको हो । सो क्रममा शनिबार बिहान ७ बजेदेखि बेलुकी ४ बजेसम्म अवरूद्ध हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । प्राधिकरणले सूचना जारी गर्दै बसुन्धारा, सामाखुसी चोक, रानीबारी, गोंगबु चोक, टोखा रोड हुँदै ग्राण्डी हस्पिटललगायत क्षेत्रका विद्युत अवरूद्ध हुने जानकारी दिएको छ ।
कोशी टप्पुमा भेटियो दुर्लभ चरा ‘सेतो पेटे रानी चरी’
धरानः चराको स्वर्गभूमि मानिएको सुनसरीको कोशी टप्पु वन्यजन्तु आरक्षमा नयाँ चरा फेला परेको छ । सुनसरी, उदयपुर र सप्तरीमा फैलिएको कोशीटप्पु वन्यजन्तु आरक्षमा मात्रै ५२६ प्रजातिका चरा पाइने रेकर्ड छ । पछिल्लो समय आरक्षमा ‘सेतो पेटे रानी चरी’ नामक प्रजातिको चरा फेला परेको हो । विश्वमै दुर्लभ मानिने उक्त चरा नेपालको कोशी टप्पुमा फेला परेको कोशी टप्पु बर्ड वाचिङ क्याम्पका सञ्चालक कुरवान मन्सुरीले जानकारी दिए । नेपाली नाम ‘सेतो पेटे रानी चरी’ र अङ्ग्रेजी नाम ‘एसी मेनीभेट’ रहेको चरा विज्ञ डा. हेमसागर बरालले जानकारी दिए । ‘नयाँ प्रजाति’ भनेर प्रचार गरिए पनि उक्त चरा सन् २०११ नोभेम्बर १९ मा चरा विज्ञ बद्री चौधरीलगायतले रेकर्ड गरेका थिए । भारतबाट आएको रैथाने उक्त चरा दुर्लभभन्दा पनि कम देखिने चरामा पर्ने चरा विज्ञ डा बरालले बताए । त्यसबेला दुई प्रजाति ‘एसी मेनिभेट’ र ‘सुइनोज मेनिभेट’ प्रजाति रेकर्ड भएका थिए । त्यसपछि हालसम्म फेला परेको थिएन । रेकर्डमा आए पनि यस चराको तस्बिर भने पहिलोपटक फोटोग्राफर सञ्जय श्रेष्ठले खिच्नुभएको छ । यस चराको विषयमा डा. बरालले सन् २०१६ मा लेखेको ‘बर्ड अफ सप्तकोशी’ पुस्तकमा समेत उल्लेख छ । कोशी टप्पु वर्ड वाचिङ क्याम्पका सञ्चालक तथा फोटोग्राफर सञ्जय था श्रेष्ठले माघ ९ गते उक्त चरा देखेर तस्बिर खिचेका थिए । चरा नयाँ प्रजाति जस्तो लागेपछि उनले प्रमाणीकरणका लागि चराविद् डा. बरालसमक्ष पुर्याएका थिए । पछिल्लो समय था श्रेष्ठ र झापाका देबेन खरेलले तस्बिर खिचेको डा. बरालले बताए । श्रेष्ठले खिचेको तस्बिर प्रष्ट देखिएको उनको भनाइ छ । नेपालमा भएका ८८६ प्रजाति चरामा पेटे चरा उल्लेख छ । राष्ट्रिय निकुञ्ज विभाग र डिसिएन संस्थाले निकालेको चेकलिस्ट र बरालले नै २०१६ मा लेखेको बर्ड अफ सप्तकोशी भन्ने पुस्तकमा समेत उल्लेख छ । रकर्ड पहिले नै भए पनि चराको तस्बिर भने कोशी टप्पुमा पहिलोपटक खिचिएको बरालले जानकारी दिए । आरक्षणमा चीन, रसिया, पाकिस्तान, बङ्लादेश, भारत, भूटानबाट कोशीटप्पुमा चरा आउने गर्छन् । चखेवा, कराङकुरुङ रसियाबाट आएका हुन् । यी चरा विश्वमा धेरै लामो दूरी उड्नसक्ने पक्षीका रूपमा चिनिन्छन् । नेपालमा पाइने जम्मा ८८६ प्रजातिमध्ये ५९ प्रतिशत चरा कोशीटप्पुमा पाइन्छ । रासस
छाउगोठ भत्काइएकोमा सांसदको आक्रोशः दुर्घटना भयो भन्दैमा बाटो भत्काउने ?
काठमाडौंः मुलुकलाई खुला दिसामुक्त घोषणा गरिएको भए पनि शौचालयलगायत पर्याप्त पूर्वाधार निर्माण नगरिएको भन्दै सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद आशाकुमारी विकले ठूलो लगानीमा सार्वजनिक शौचालय निर्माण गरिएको भए पनि कतिपय प्रयोगविहीन अवस्थामा रहेको भन्दै यसतर्फ गम्भीर बन्न सरकारलाई आग्रह गरिन् । ‘नेपाल खुला दिसामुक्त घोषणा भइसके पनि कामपाभित्र जम्मा ६० वटामात्र सार्वजनिक शौचालय छन्’, उनले भनिन्, ‘तीमध्ये मुस्किलले २० वटा मात्र प्रयोग भएका छन् ।’ राजधानीमै पर्याप्त सङ्ख्यामा सार्वजनिक शौचालय नहुनु अत्यन्त पीडादायक अवस्था भएको उल्लेख गर्दै उनले महानगरको यात्रा गर्दा पानी नपिई हिँड्नुपर्ने बाध्यता रहेको सुनाइन् । उनले मादपण्डअनुसारको शौचालयको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराइन् । नेकपाका इन्दुकुमारी शर्माले चुरे दोहन रोक्न सरकार असफल भएको आरोप लगाइन् । चुरे दोहन रोक्न नसक्दा माफिया मौलाएको उल्लेख गर्दै उनले चुरेको अवैध उत्खनन् रोक्न सरकारसँग माग गरिन् । नेकपाका कुमारी तुलसी थापा तुसारोले हिउँदे बालीमा ठूलो नोक्सानी पुर्याएको भन्दै किसानलाई तुरुन्त राहतको व्यवस्था गर्न सरकारसँग माग गरिन् । उनले बाढीपहिरो तथा प्राकृतिक प्रकोपबाट प्रभावित भएका जनतालाई अहिलेसम्म पनि राहतको व्यवस्था गर्न नसकेको भन्दै सरकारको आलोचना गरिन् । नेकपाका खगराज अधिकारीले पोखरा क्षेत्रीय विमानस्थलका लागि १०४ रोपनी जग्गा अधिग्रहण गर्ने खबर सही हो कि के हो ? भन्दै जिज्ञासा राखिन् । नेकपाकै गजेन्द्रबहादुर महतले छाउगोठका नाममा गरिब जनताको घर भत्काइएको भन्दै त्यसो नगर्न सरकारको ध्यानाकर्षण गराए । ‘छाउगोठका नाममा घर भत्काइयो । होटलमा बसेका यात्रीको मृत्यु भएको छ, अब के होटल भत्काउने ?, बस दुर्घटनामा परी मृत्यु भएको छ, बाटो भत्काउने ? अहिले छाउगोठका नाममा हाम्रो घर भत्काउने काम भइरहेको छ, सरकार के हेरेर बसेको छ ?’ नेकपाका गौरीशङ्कर चौधरीले कोरोना भाइरसबाट विश्वका विभिन्न मुलुक प्रभावित भइरहेको भन्दै सतर्कता अपनाउन सरकारको ध्यानाकर्षण गराए । ‘तत्कालका लागि चीनबाट आवातजावत बन्द गरियोस्, नागरिकलाई उच्च सतर्कताको व्यवस्था मिलाइयोस्’, उनले भने । नेकपाका सांसद घनश्याम खतिवडाले चन्दा आतङ्कका नाममा मुलुकभर अराजक गतिविधि मौलाइरहेको भन्दै यस्ता गतिविधि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराए । नेपाली काँग्रेसका जिपछिरिङ लामाले शून्य समयमा सांसदले उठाएका विषय कार्यान्वयनमा नगएको भन्दै आपत्ति जनाए। उनले शून्य समयलाई हटाएर विशेष समय उपलब्ध गराउन सदनको ध्यानाकर्षण गराए । नेकपाका झपटबहादुर रावलले कैलाली चिसापानीदेखि कञ्चनपुरको गड्डाचौकीसम्म १२८ किलोमिटर दूरीको बाटो अत्यन्त साँघुरो भएकाले हरेक दिन दुर्घटनाको दर बढेको भन्दै उक्त सडक स्तरोन्नति गर्न माग गरे । उनले सो सडक विस्तार गरी आठ लेनको बनाउन पनि सरकारको ध्यानाकर्षण गराए । रासस

