चल्दै गरेको अटोमा बेहोस, अस्पातल पुर्‍याउन नपाउँदै मृत्यु

कैलालीः धनगढीमा चल्दै गरेको अटोमा बेहोस भएका एक जनाको सेती प्रादेशिक अस्पताल लैजादै गर्दा मृत्यु भएको छ । भारतबाट आएका उनी मोहना पुल नजिकै अटोमै बेहोस भएका थिए ।

उनको साथमा भेटिएको नागरिकता अनुसार उनको नाम भैरवजंग पाण्डे रहेको र उनी नुवाकोटको विदुर नगरपालिका–१ निवासी भन्ने खुलेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

‘मृतकको अस्पताल ल्याउनुभन्दा अगाडि नै ज्यान गइसकेको थियो’ सेती अस्पतालनका डाक्टर विष्णु जोशीले भने, ‘उनको साथबाट प्रेसरको औषधि भेटिएको छ तर मृत्युको कारण पोस्टमार्टमपछि मात्रै खुल्ने छ ।’

घुस काण्डमा श्रीमतीको नाम जोडिएपछि बोले पर्यटनमन्त्री भट्टराई

काठमाडौंः श्रीमती विन्दा घिमिरेको नाम तीन लाख घुस प्रकरणमा मुछिएपछि पर्यटनमन्त्री योगेश भट्टराईले मुख खोेलेका छन् । उनले घुस प्रकरणबारे सम्बन्धित निकायले धारणा सार्वजनिक गर्ने विश्वास व्यक्त गरेका छन् । ‘कुनै गल्ती गरिएको छैन र गरिने पनि छैन । सम्बन्धित निकायले आफ्नो धारणा सार्वजनिक गर्नेछ’, उक्त विषयमा ट्वीट गर्दै मन्त्री भट्टराईले भनेका छन्, ‘षड्यन्त्र र खुराफातप्रति हामी सचेत छौ । कोही पनि भ्रममा नपर्नु होला, चिन्ता नलिनुहोला ।’ के हो घटना ? पर्यटनमन्त्री योगेश भट्टराईकी श्रीमती विन्दा घिमिरेको नाम तीन लाख घुस प्रकरणमा मुछिएको समाचार केही मिडियामा आइरहेका छन् । तर, घुसको कुरा पर्यटनमन्त्री भट्टराईकी श्रीमती घिमिरेले भने गरेकी हैनन् । नेपाली कांग्रेसको कोटामा चुनाव लडेर काउन्सिलको सदस्यमा विजयी भएकी जिता बरालले उक्त कुरा च्याटमार्फत विद्यार्थीसँग गरेकी हुन् र त्यसमा घिमिरेको नाम जोडकी छन् । कुनै गल्ती गरिएको छैन र गरिने पनि छैन । सम्बन्धित निकायले आफ्नो धारणा सार्वजनिक गर्नेछ । षड्यन्त्र र खुराफातप्रति हामी सचेत छौ । कोही पनि भ्रममा नपर्नु होला, चिन्ता नलिनुहोला । — Yogesh Bhattarai (@yogesbhattarai) March 12, 2020 उक्त च्याटअनुसार नेपाल नर्सिङ काउन्सिलको लाइसेन्स परीक्षामा उत्तीर्ण गराइदिने भन्दै जिताले एक स्टाफ नर्ससँग तीन लाख रुपैयाँ माग गरेकी छन् । जसमध्ये दुई लाख ५० हजार रुपैयाँ विद्यार्थीले पठाइसकेकी छन् । बाँकी ५० हजार रुपैयाँ परीक्षाफल प्रकाशित भएपछि उठाइदिने दुवै पक्षबीच सहमति भएको देखिन्छ । च्याटमा जिताले नै योगेश पत्नी विन्दासँगको सम्बन्ध राम्रो भएको बताएकी छन् । तीन लाखमध्ये एक लाख ५० हजार रूपैयाँ काउन्सिलकी रजिष्ट्रार विन्दाले खाने र बाँकी पनि अरूले बाँडेर खानुपर्ने जिताले च्याटमा उल्लेख गरेको देखिएको छ । घुसको वार्गेनिङ गरेको मेसेज च्याट पनि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

ओखलढुंगामा बोलेरो दुर्घटना: ११ घाइते, चारको अवस्था गम्भीर

ओखलढुंगाः ओखलढुंगाको मानेभञ्ज्याङ्ग गाउँपालिकामा बिहीबार विहान बोलेरो गाडी दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । विरगञ्जबाट ओखलढुङ्गाको रुम्जाटार तर्फ आउँदै गरेको प्रदेश नं. ३–०१०२२ च ३१८३ नम्बरको बोलेरो गाडी मानेभञ्ज्याङ्ग गाउँपालिकाको वडा नं. ४ केत्तुकेमा दुर्घटना हुँदा त्यसमा सवार १२ मध्ये ११ जना घाइते भएका हुन् । घाइते हुनेहरुमा सिद्धिचरण नगरपालिका–४ रुम्जाटारका बर्ष ४० का राजन घले, वर्ष ३९ का सनम घले र वर्ष ३८ को बल बहादुर श्रेष्ठ, रामेछापका वर्ष ३० का कपिल मगर, सिद्धिचरण नगरपालिका–१२ वस्ने वर्ष ३४ वर्षीय विराज थापा रहेका छन् । त्यस्तै दुर्घटनामा पर्साका वर्ष १७ का राजकुमार सहनी, वर्ष २२ का हिरालाल मुखिया, पर्साकै वर्ष २५ की सुगम्भीदेवी मुखिया, उनी ३ वर्षकी छोरी अञ्जु कुमारी मुखिया र उनकै एक महिनाको छोरा आकाश कुमार मुखिया घाइते भएका जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरिक्षक मिलनसिंह बस्नेतले जानकारी दिए । गाडीमा सवार पर्साकै वर्ष १९ का कृष्ण चौधरी भने सकुशल रहेका छन् । दुर्घटनामा घाइते भएका बोलेरोका चालक अनिल कुमार सहनी, सुगन्भीदेवी मुखिया र उनका बच्चाहरुलाई थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं पठाउने तयारी भइरहेको प्रहरी निरिक्षक बस्नेतले जानकारी दिए । घाइते ११ जना मध्ये पनि चार जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगालले जनाएको छ । दुर्घटनामा परेको बोलेरो प्रदेश नम्बर २ को विरगञ्जवाट ओखलढुंगाको सिद्धिचरण नगरपालिका वडा नं. ४ रुम्जाटारमा रहेको महिन्द्रा गाडी सोरुमको सामानसगै सोरुमका सञ्चालक र कामदारहरु बोकेर आएको प्रहरीले जनाएको छ । बोलेरो सडकबाट करीब १ सय ५० मिटर तल खसेको छ । बोलेरो दुर्घटनाको बारेमा अनुसन्धान भइरहेको छ ।

‘हल्लाको पछि नलागौं, ४ महिनालाई पुग्ने औषधि मौज्दात छ’

काठमाडौंः बजारमा औषधि अभावको हल्ला चलिरहेको बेला औषधि सम्बन्धी काम गरिरहेका व्यवसायीले हल्लाको पछि नलाग्न आग्रह गरेको छन् । नेपाल औषधि आयातकर्ता संघका महासचिव पवन आचार्यले आफूहरुसँग चार महिनालाई पुग्ने औषधि मौज्दात रहेको जानकारी दिए। सामाजिक सञ्जालमा औषधिको अभाव भन्ने खबरले जनतालाई भ्रम सृजना समेत गरेको उनले बताए । नेपालका तीन करोड जनतालाई पुग्ने औषधि व्यवसायीसँग रहेको जानकारी दिँदै हल्लाको पछि लागेर अनावश्यक औषधि खरिद गरेर नराख्न सर्वसाधारणलाई महासचिव आचार्यले आग्रह गरे । बुधबार मात्रै एक व्यवसायीले बंगलादेशबाट दुई करोड प्यारा सिटामोल नेपाल ल्याउन सुरु गरको समेत महासचिव आचार्यले जानकारी दिए । विभिन्न मुलुकहरुबाट व्यवसायीहरुले आयात गरिरहेको र बजारमा औषधि स्टक रहेकोले औषधिको बारेमा अनावश्यक हल्ला गर्न आवश्यक नरहेको उनले सपष्ट पारे । यता औषधि उत्पादन गर्दै आएको नेपाल औषधि उत्पादक संघले नेपालमा ७० देखि ८० प्रकारका औषधि आफूहरु उत्पादन गर्न सक्षम भएको बताएको छ । नेपालमा धेरै औषधि यही उत्पादन हुने भएकोले औषधि अभाव हुन नदिन व्यवसायीहरु छलफलमा लागि रहेको नेपाल औषधि उत्पादक संघका महासचिव बिप्लब अधिकारीले जानकारी दिए ।

प्रधानमन्त्री ओली खतरामुक्त, एक हप्ताभित्र डिस्चार्ज गर्ने तयारी

काठमाडौंः मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री केपी शर्मा ओली खतरामुक्त भएका छन् । उपचारमा संलग्न चिकित्सक डा. दिव्यासिंह शाहले प्रधानमन्त्री ओली खतरामुक्त रहेको बताइन् । उनका अनुसार ओलीलाई एक हप्ताभित्र त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज गर्ने तयारी भइरहेको छ । त्यसपछि ओलीले बालुवाटारमै बसेर सामान्य भेटघाट गर्नेछन् । तर, बाहिरको कार्यक्रममा भने प्रधानमन्त्री ओली एक महिनासम्म जाने छैनन् ।

अखिल क्रान्तिकारीद्धारा भोलि शैक्षिक हड्तालको घोषणा

काठमाडौंः नेकपा (क्रान्तिकारी माओवादी)निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले एक दिने शैक्षिक हड्तालको घोषणा गरेको छ । अखिल क्रान्तिकारीले एक विज्ञप्ति जारी गर्दै फागुन २३ गते अर्थात शुक्रबार एक दिन देशभर शैक्षिक हड्तालको घोषणा गरेको हो ।

दोषी ठहर भएको १२ वर्षसम्म पियन पदमै, लिए २४ लाख !

काठमाडौंः भ्रष्टाचार मुद्दामा विशेष अदालत काठमाडौंले दोषी ठहर गरेका जनस्वास्थ्य कार्यालय धादिङका पियन हरिबहादुर हमालले १२ वर्षसम्म जागिरमै रहेर सेवासुविधा लिएको खुलेको छ । उनले महिनाको १४ हजार ९ सय ८ रुपैयाँका दरले १२ वर्षसम्म जागिरमै रहेर सेवासुविधा लिएको खुलेको हो । २०६० जेठ ५ देखि २०७२ मंसिर १५ गतेसम्म तलब भत्तालगायतको सेवा सुविधा, राजीनामा पश्चात नियमानुसारको करकट्टी गरेर उपचार खर्चबापतको रकम, संचित घरबिदा तथा बिरामी बिदा र निवृत्तभरण बापतको रकम गरेर पियन हमालले ३४ लाख ३३ हजार छ सय ८३ रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारले जनाएको छ । तत्कालीन जिल्ला स्वास्थ्य प्रमुख डा. नरेश प्रताप केसीले फैसलाको जानकारी पाएपनि हमाललाई कारवाही नगरी तलब दिएको भन्दै बिहीवार अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ । साथै, जनस्वास्थ्य कार्यालय धादिङका तत्कालीन बरिष्ठ जनस्वास्थ्य प्रशासक जीवन कुमार मल्लविरुद्व पनि मुद्दा दायर भएको छ । उनी हाल राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र टेकुमा बरिष्ठ जनस्वास्थ्य प्रशासकको रुपमा कार्यरत रहेका छन् । उनले दोषी ठहर भएका हमालले दिएको राजीनामा स्वीकृत गरेर उपचार खर्चबापतको रकम, संचित घरबिदा तथा बिरामी बिदाबापतको रकम, निबृत्तभरणबापतको रकम भुक्तानी दिएको आरोप अख्तियारले लगाएको छ । तीन जनाविरुद्व अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अध्यक्ष, वडाअध्यक्ष र प्रधानाध्यापकविरुद्व साढे ३३ लाखको भ्रष्टाचार मुद्दा

जाजरकोटः जुनीचाँदे गाउँपालिकाका अध्यक्ष र एक वडाअध्यक्षविरुद्व साढे २५ लाखको भ्रष्टाचार मुद्दा दायर भएको छ । गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसी र वडा नम्बर ५ का अध्यक्ष राज बहादुर शाहीविरुद्व अख्तियारले बिहीवार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो । धाक धम्कीसमेत दिएर सडक निर्माण कार्यमा कमिसनबापत रकमको लागि नगद, बैंक खातामा जम्मा गर्न लगाएको र बिभिन्न होटलमा तिर्न र गाडी रिजर्भको भाडा तिर्न लगाई घुस लिएका हुन् । यस्तै, अध्यक्ष्य केसी र जनता आधारभूत विद्यालयका प्रधानाध्यापक चन्द्रबहादुर बस्नेतविरुद्व पनि अख्तियारले ८ लाख रुपैयाँको भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरू सडक निर्माणको काम सम्पन्न पश्चात भुक्तानीका लागि सहजीकरण गरिदिने भन्दै घुस लिएको अवस्थामा पक्राउ परेका थिए ।

यस्ता छन् मन्त्रिपरिषद् बैठकका ११ निर्णय (सूचीसहित)

काठमाडौंः सरकारले गणतन्त्र चीनका लागि नेपालका आवासीय राजदूत लीलामणि पौड्याललाई फिर्ता बोलाएको छ भने महेन्द्र बहादुर पाण्डेलाई राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ । गत फागुन १८ गतेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । बिहीबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै अर्थमन्त्रीसमेत रहेका सूचना तथा सञ्चार प्रविधिमन्त्री डा. युवराज खतिवडाले सो कुराको जानकारी दिएका हुन् । २०७६ साल फागुन १८ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू: १. आन्तरिक राजस्व विभाग अन्तर्गतका कार्यालयहरूको कार्यक्षेत्र तथा अन्त:शुल्क अधिकृतको अधिकार क्षेत्र तोक्ने । २. – Department of Food Technology and Quality Control (DFTQC), Nepal र Bangladesh Standards and Testing Institution (BSTI), Bangladesh बीच हुने समझदारी पत्रमा नेपालको तर्फबाट हस्ताक्षर गर्न विभागका महानिर्देशकलाई अख्तियारी प्रदान गर्ने। – Trading Corporation of Bangladesh (TCB) र Salt Trading Corporation Limited (STC), Nepal बीच हुने समझदारीपत्रमा नेपालको तर्फबाट हस्ताक्षर गर्न STC का प्रमुख कार्यकारी अधिकृतलाई अख्तियारी प्रदान गर्ने । – नेपाल र बंगलादेशकाबीचमा Preferential Trading Agreement को भागको रूपमा रहने Product List (Request and Offer List) मा छलफल गर्ने वस्तुहरूको सूची तयार गर्न र सो सूची बंगलादेश पक्षलाई उपलब्ध गराउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्याललाई अख्तियारी प्रदान गर्ने । ३. नेपाल गुणस्तर साधारण पोर्टल्याण्ड सिमेन्ट, ४३ ग्रेड र ५३ ग्रेडः विशिष्टिकरण अनिवार्य गर्ने सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने। । ४. कलकत्तास्थित नेपाली महावाणिज्यदूतमा ईश्वरराज पौडेललाई नियुक्ति गर्ने । ५. जनवादी गणतन्त्र चीनका लागि नेपालका आवासीय राजदूत लीलामणि पौड्याललाई फिर्ता बोलाई महेन्द्र बहादुर पाण्डेलाई राजदूत नियुक्तिका लागि सिफारिस गर्ने । ६. सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षण सम्बन्धी जाँचवुझ आयोगका कानूनी सल्लाहकार श्री युवराज कोइरालाले दिनुभएको राजीनामा स्वीकृत गर्ने । ७. चीन सरकारको सहयोगमा निर्माण हुने चक्रपथ विस्तार दोश्रो चरणको परियोजनाका लागि सडक विभाग, काठमाडौं चक्रपथ सुधार योजनाका योजना प्रमुखलाई प्रारम्भिक कारबाई चलाउने अधिकारी तोक्न स्वीकृति प्रदान गर्ने । ८. सुपर मादी जलविद्युत आयोजनाको पावरहाउस, हेडवर्क्स, पेनस्टक र पहुँचमार्ग लगायतका संरचनाहरु निर्माण गर्नका लागि अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत पर्ने कास्की जिल्लाको मादी गाँउपालिका-२ मा रहेको कूलजम्मा ६.९५ हेक्टर सरकारी वन प्रयोग गर्न र रुखविरुवाहरु हटाउन समेत स्वीकृति दिने । ९. नेपालका निजी क्षेत्रलाई अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालनका लागि इजाजत प्रदान गर्ने सम्बन्धी कार्यविधि (पहिलो संशोधन), २०७६ स्वीकृत गर्ने । १०. न्यूनतम पारिश्रमिक निर्धारण समितिको रिक्त अध्यक्ष मालिका गाउँपालिका ६, गुल्मीका श्री राजेन्द्रवहादुर अर्याललाई २ वर्षको लागि नियुक्त गर्ने । ११. शहरी विकास मन्त्रालय अन्तर्गत आ.व. २०७६।७७ मा सञ्‍चालनमा रहेका आयोजनाहरुको लागि राजपत्रांकित पदका ५ (पाँच) वटा अस्थायी दरवन्दी स्वीकृत गर्ने ।

कोरोना आशंकाः अस्पतालबाट हाम फालेर भागेका व्यक्ति विराटनगर पुगे

काठमाडौंः कोरोना भाइरसको आशंका गरिएका एक नेपाली शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुबाट भागेर विराटनगर पुगेका छन् । सुनसरीको इटहरी घर भएका उनी मंगलबार कोरियाबाट फर्किएका थिए । उनलाई परिवारले कोरोनाको आशंकामा टेकु अस्पताल लगेका थिए । उनी गएराति साढे १० बजेतिर अस्पतालको पछाडिपट्टीको झ्यालबाट हाम फालेर फरार भएका थिए । प्रहरी स्रोतका अनुसार उनले बोक्दै आएको मोबाइल ट्र्याक गर्दा विराटनगर पुगेको खुलेको हो । उनलाई नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालय मोरङको टोली खटिएको छ । अस्पताल स्रोतका अनुसार उनको रिपोर्ट आउन बाँकी रहेकाले कोरोना भए–नभएको पुष्टि भएको छैन ।

कोरोना भाइरसः चैत ६ गतेबाट सुरु हुने एसईई के होला ?

काठमाडौंः कोरोना भाइरस सङ्क्रमण फैलिएका कक्षा १ देखि ९ सम्मका वार्षिक परिक्षा चैत्र ५ गतेभित्र सक्न सरकारले आग्रह गरेको छ । दुई सातापछि हुन लागेको माध्यमिक शिक्षाको परीक्षा अर्थात् एसईई के गर्ने भन्ने प्रश्न उठेको छ । सरकारले परीक्षाको तालिकामा कुनै परिवर्तन नहुने जनाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव महेशप्रसाद दहालले आवश्यक सावधानी अवलम्बन गरी परीक्षा सञ्चालन हुने बताए । यसपालि एसईई परीक्षा चैत ६ गतेबाट सुरु हुन लागेको छ । सचिव दहालका अनुसार एसईईका परीक्षार्थीलाई सङ्क्रमण भएको शङ्का लागेका छुट्टै राखेर परीक्षा दिन लगाउने विषयमा स्वास्थ्य मन्त्रालयसँग कुरा भइरहेको छ । एसईई परीक्षामा लाखौँ विद्यार्थी सहभागी हुन्छन् । सचिव दहालका अनुसार स्वास्थ्य मन्त्रालयसँग सहमति भए प्रत्येक परीक्षाकेन्द्रमा कम्तीमा एक स्वास्थ्यकर्मी राखेर निगरानी गरिनेछ । त्यस विषयमा स्वास्थ्य मन्त्रालयसँग छिटै छलफल गर्ने उनले बताए । त्यसका लागि निजी र सरकारी दुवैथरी विद्यालयका प्रतिनिधि, स्थानीय सङ्घ र महासङ्घका प्रतिनिधि र उपत्यकाभित्र शिक्षा अधिकारीसँग पनि यो विषयमा कुरा भइसकेको उनले बताए ।

अष्ट्रेलियामा नेपाली विद्यार्थीको मृत्यु

काठमाडौंः अष्ट्रेलियामा समुद्रमा डुबेर एक नेपाली विद्यार्थीको ज्यान गएको छ । क्विन्सल्याण्ड राज्यको समुद्रमा डुबेर पोखरा स्थायी घर भएका निकित श्रेष्ठको ज्यान गएको हो । बुधबार दिउँसो पौडी खेल्ने क्रममा निकेसलाई छालले बगाएको थियो । छालमा बगेर बेपत्ता भएपछि उनीसँगै पौडी खेलिरहेका साथीहरूले उद्धारकर्मीलाई सम्पर्क गरेका थिए । उद्धारकर्मीले ५ मिनेटपछि किनारबाट २ सय मिटर पर तैरिरहेको अवस्थामा निकेसको शव भेटाएको एनआरएनए क्विन्सल्यान्डका संयोजक उमेश खड्काले जानकारी दिए । निकेस फेडेरेसन युनिभर्सिटीमा अध्यनरत थिए । उनी चार जना साथीसँग पौडी खेल्न समुद्रमा पुगेका थिए । उनको शव नेपाल पठाउने तयारी भइरहेको छ ।

जरुरी कामबाहेक बाहिर ननिस्कन काठमाडौंबासीलाई आग्रह

काठमाडौंः जिल्ला प्रशासन कार्यालय काठमाडौंले अत्यावश्यक कामबाहेक अन्य कामका लागि बाहिर ननिस्कन काठमाडौंबासीलाई आग्रह गरेको छ । बिहीबार एक बिज्ञप्ती प्रकाशित गरी कार्यालयले उक्त आग्रह गरेको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जनकराज दाहालले कोरोनाको संक्रमणलाई ध्यानमा राखेर अर्को निर्णय नभएसम्म अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन आग्रह गरेको जानकारी दिए ।

नेपाल आइपुगिन् मिस वर्ल्ड टोनी

काठमाडौंः मिस वर्ल्ड २०१९ विजेता जमैकाकी टोनी–एन सिंह नेपाल आइपुगेकी छन् । उनी आज मध्यान्ह नेपाल आइपुगेकी हुन् । संस्कृति, पर्यटन र उड्यन मन्त्रालयको निमन्त्रणामा नेपाल आएकी सिंहसँग मिस वर्ल्ड  आयोजकका अध्यक्ष जुलिया मार्ले र निर्देशक स्टिभ डग्लससमेत नेपाल आएका छन् । गत जनवरीमा मिस नेपाल आयोजक हिडेन ट्रेजरले जुलिया मोर्ले र मिस वल्र्ड विजेतालाई उसको २५ औं वार्षिकोत्सवमा निमन्त्रणा गरेको थियो । सोही निमन्त्रणा मान्न उनीहरु नेपाल आएका हुन् । दुई संस्थाबीच २३ वर्षदेखिको सुमधुर सम्बन्ध रहँदै आएकोमा अहिले आएर पहिलो पटक मिस वर्ल्ड अर्गनाइजेसनका अध्यक्ष तथा मिस वर्ल्डले नेपाल भ्रमणमा आएका हुन् । टोनी शुक्रबार सिन्धुपाल्चोकको हेलम्बु जाने भएकी छन् । उनी हेलम्बुको ग्रेट हिमालयन ट्रेल, मोर्डन स्कुल र सोर्सिङ गाउँ जाने भएकी हुन् । सोर्सिङ गाउँ मिस नेपाल अनुष्का श्रेष्ठले बनाएको विउटी विथ थ पर्पस’ प्रोजेक्टका लागि छानिएको गाउँ हो । त्यही प्रोजेक्ट हेर्नका लागि ‘मिस वर्ल्ड’ टोनी नेपाल आउन लागेकी हुन् । नेपालमा मिस वर्ल्ड आयोजना गर्ने नगर्ने विषयमा अध्ययन गर्न उनीसहित मिस वर्ल्ड आयोजक संस्थाका प्रतिनिधि पनि आउने भएका छन ।

प्रधानमन्त्री ओलीको मृगौलाले राम्रोसँग काम गर्न थाल्यो

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीको शरीरमा दोस्रो पटक प्रत्यारोपण गरिएको मृगौलाले राम्रोसँग काम गर्न थालेको छ । बुधबार प्रत्यारोपण गरिएको मृगौलाले राम्रोसँग काम गरिरहेको प्रधानमन्त्री ओलीको उपचारमा संलग्न डा. प्रेम ज्ञवालीले जानकारी दिए । उनले भने, ‘प्रधानमन्त्रीको मृगौलाले राम्रोसँग काम गरेको छ । बुधबार ३ बजेदेखि अहिलेसम्म १० लिटर भन्दा बढी पिसाब फेरिसक्नुभएको छ । उहाँको शरीरमा रहेको जम्मा भएको फोहोर पदार्थ र पिसाब गएको हो ।’ सोमबार अस्पताल भर्ना भएका ओलीलाई ‘भान्जी’ नाता पर्ने समीक्षा संग्रौलाले आफ्नो मृगौला दान गरेकी थिइन् । अब अरू कुनै समस्या नदेखिए आजबाट उनलाई मुखबाट तरल खाने कुरा दिइने चिकित्सकले बताएका छन् ।

होलीको टीसर्ट १ रुपैयाँमै पाइने!

काठमाडौंः मोबाइल एप रिचार्जरले होलीको अवसर पारेर रिचार्जरले १ रुपैयाँमा होलीको टीसर्ट उपलब्ध गराउने भएको छ । होलीलाई हर्षोउल्सास बनाउनुका साथै आफ्नो ब्राण्ड प्रवद्र्धनका लागि होलीको थिमयुक्त टीसर्ट १ रुपैयाँमा उपलब्ध गराउने अफर ल्याएको रिचार्जरले जनाएको छ । रिचार्जरका अनुसार फागुन २३ गते शुक्रबार दिउँसो १ बजेदेखि ३ बजेसम्म रिचार्जरको मोबाइल एपबाट टीसर्ट खरिद गर्नु पर्नेछ । १ रुपैयाँमा टीसर्ट खरिद गर्नका लागि रिचार्जरमा रहेको आफ्नो खाताबाट २४९ क्यास प्वाईन्ट भने प्रयोग गर्नु पर्ने हुन्छ । अर्थात २४९ क्यास प्वाईन्ट र १ रुपैंया भुक्तान गरेर टीसर्ट किन्न सकिन्छ । गुगल प्ले तथा एप्पलको एप स्टोरबाट रिचार्जर डाउनलोड गरी एकाउण्ट खोले पछि प्रयोगकर्ताले तत्कालै एक सय क्यास प्वाइन्ट पाउने छन् । रिचार्जरबाट जतिको मोबाइल रिचार्ज गर्यो त्यति नै क्यास प्वाईन्ट पाइने छ । क्यास प्वाईन्टलाई रिचार्जरबाट सामान खरिद गर्दा डिस्काउण्ट भौचरका रुपमा प्रयोग गर्न सकिन्छ । मोबाइल रिचार्ज गर्दा, सिनेमा, बस र हवाई टिकट खरिद गर्दा वा अनलाइनबाट सपिंङ गर्दा दुई दर्जन बैंकको इ बैंकिंग, इसेवा लगायतका पेमेण्ट गेटवेका साथै मास्टर तथा भिसाका डेविट र क्रेडिट कार्डबाट सिधै पैसा तिर्न सक्ने व्यवस्था रिचार्जरले गरेको छ ।