चिनियाँ राजदूत भन्छिन्, ‘नेपाललाई चिकित्सा सामग्री उपलब्ध गराउँछौं’
काठमाडौंः चिनियाँ राजदूत होउ यान्छीले नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणलाई रोकथाम र नियन्त्रण गर्न चीनले चिकित्सा सामग्रीको सहयोग गर्ने बताएकी छिन् ।
होउले आफ्नो ट्वीटर ह्यान्डलमा लेखिकी छन्, ‘हामी नेपालका लागिप्रार्थना गर्दैछौ। हाम्रा नेपाली साथीहरूलाई सहयोग पुर्याउन चिकित्सासामग्रीहरू सकेसम्म मिलाउँदै छौं । हामी साथमा छौं ।’
गत डिसेम्बरमा चीनको वुहान सहरबाट फैलिएको कोरोना भाइरस अहिले संसारभर अधिकांश मुलुकहरुमा फैलिसकेको छ । चीनले भने उक्त भाइरसलाई लगभग नियन्त्रणमा लिइसकेको छ ।
चीनले आफ्नो मुलुकमात्र होइन, यूरोपका स्पेन, इटाली र फ्रान्समा पनि स्वास्थ्य सामग्री र मानवीय सहायता पठाएको छ।
नेपाली युवतीसँगै कतारबाट यात्रा गर्ने १२५ जनाको पहिचान, सबैको स्वास्थ्य जाँच गरिने
काठमाडौंः नेपाल प्रहरीले कोरोना भाइरस सङ्क्रमण पुष्टि भएकी नेपाली युवतीसँगै कतार एअरवेजको विमानमा दोहाबाट नेपाल यात्रा गर्ने अन्य १२५ जना नेपालीको ठेगाना पत्ता लागेको बताएको छ। प्रहरीले देशका विभिन्न भागमा रहेका उनीहरूलाई स्वास्थ्य जाँच र क्वारन्टीनजस्ता थप सतर्कता अपनाउन आफूले मतहतका निकायलाई पत्राचार गरेको जनाएको छ। चैत ४ गतेको कतार एअरवेजको विमानमार्फत् उनी नेपाल आएको अध्यागमन अधिकारीहरूले पनि पुष्टि गरेका छन्। त्यो दिन कतार एअरवेजका तीनवटा उडानमार्फत् ४६९ जना नेपाल आएका थिए। प्रहरीलाई जिम्मा फ्रान्सबाट कतार हुँदै फर्किएकी ती १९ वर्षीया विद्यार्थी १५८ जना यात्रु बोकेको क्युआर ६५२ उडानमार्फत् आएको बुझिएको छ। ती किशोरी नेपाल आएको दिन क्युआर ६५०, क्युआर ६५२ र क्युआर ६५३ गरी कतार एअरवेजले तीनवटा उडान गरेको र तीनवटै उडानका सबै यात्रुको विवरण प्रहरीलाई उपलब्ध गराइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यलयका प्रमुख सागर आचार्यले बताए। उनले ती यात्रुको नाम आफूहरूलाई पनि नखुलाइएको भन्दै सबै यात्रुको पासपोर्टको प्रतिलिपिसहितका विवरण प्रहरीलाई बुझाइएको जानकारी दिए। नेपाल प्रहरीका प्रवक्ता शैलेश थापा क्षेत्रीले एअरलाइन्सबाट यात्रुहरूको विवरण प्राप्त भएसँगै यात्रुहरू पहिचान गर्ने प्रयास अघि बढाइएको जनाए। उनले भने, “कतार एअरवेजको उक्त जहाजबाट आएका १५८ यात्रुमध्ये १२५ जना नेपालीको घरको ठेगाना हामीले पत्ता लगाइसकेका छौँ। बाकी नेपाली यात्रुको ठेगाना पत्ता लगाउने काम भइरहेको छ।” उनी थप्छन्, “घरको ठेगानामा स्थानीय प्रहरी पठाएर उनीहरूको अवस्था के छ त्यो हेर्छौँ र क्वारन्टीनमा बस्ने अनि थप सतर्कता अपनाउन भनिरहेका छौँ।” फ्रान्सबाट कतार हुँदै नेपाल फर्किएकी १९ वर्षीया विद्यार्थीमा कोरोनाभाइरस सङ्क्रमण भएको मङ्गलवार पुष्टि भएपछि प्रहरीले उक्त जहाजमा यात्रा गरेका अन्य नेपालीको खोजी शुरू गरेको हो। नाम र ठेगाना गोप्य राखिएकी ती नेपाली विद्यार्थीको शुक्रराज सरुवा रोग नियन्त्रण अस्पताल टेकु, काठमाण्डूमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। सबैको जाँच स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कतार एयरवेजको उक्त जहाजमा नेपाल फर्किएका सबै नेपालीलाई सम्पर्क गर्न प्रयास भइरहेको बताए। “कोही व्यक्ति स्वेच्छिक रूपमा सम्पर्कमा आएका छन्। उनीहरूलाको स्वास्थ्य परीक्षणका लागि मन्त्रालयले पूर्वाधार तयार गरेको छ,” देवकोटाले भने। नेपाल दोस्रो कोरोनाभाइरसको सङ्क्रमणको घटना पुष्टि भएपछि सोमवार सरकारले अत्यावश्यक सेवाबाहेक अरू कामका लागि घरबाहिर निस्किन नपाउने गरी आवतजावत र हिँडडुलमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। मङ्गलवार बिहानबाट लागु भएको उक्त आदेश चैत १८ गते बिहान ६ बजेसम्म कायम रहनेछ। बीबीसी नेपालीबाट
सीमामा रहेका नेपालीलाई स्वदेश फर्किने आज अन्तिम मौका
काठमाडौंः ‘लकडाउन’का कारण सीमामा अलपत्र परेकालाई १४ दिन क्वारेन्टाइनमा बस्ने शर्तमा नेपाल आउन दिने निर्णय गरिएकाे छ । कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको मंगलबार बसेको बैठकले अन्तिम पटकका लागि उनीहरुलाई नेपाल आउन दिने निर्णय गरेको हो । ‘अन्तिम पटकका लागि आज आउन दिन निर्णय भएको छ’ सरकारका प्रवक्ता एवं सूचना तथा अर्थमन्त्री डा. युवराज खतिवडाले भने, ‘तर प्रदेश सरकारले स्थानीय प्रशासनसँग समन्वय गरेर १४ दिन होम क्वारेन्टाइन अनिवार्य भनेका छौं ।’
टेलिकम कम्पनीले २ सयसम्म ब्यालेन्स सापटी दिन पाउने
काठमाडौंः दूरसञ्चार कम्पनीहरुले ग्राहकलाई २ सय रुपैयाँसम्म ब्यालेन्स सापटी दिन पाउने भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले उपभोक्तालाई सहज बनाउन यो सापटीको सीमा बढाउन दूरसञ्चार कम्पनीलाई निर्देशन दिएको छ। प्राधिकरणको सञ्चालक समितिको मंगलबार बसेको बैठकले कुनै थप शुल्क वा ब्याज लिन नपाउने गरी दूरसञ्चार कम्पनीहरुले उपभोक्तालाई २ सय रुपैयाँसम्म ब्यालेन्स सापटी दिन पाउने व्यवस्था गरेको अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए। उनका अनुसार अनलाइनमार्फत सञ्चालक समितिको बैठक बसी बैठकको निर्णय कार्यान्वयनको लागि दूरसञ्चार कम्पनीहरुलाई पत्र पठाइसकिएको छ। हाल नेपाल टेलिकम र एनसेलले आफ्ना ग्राहकलाई बढीमा २० रुपैयाँसम्म ब्यालेन्स सापटी दिँदै आएका छन् ।
‘लकडाउन’मा खाद्यले मोबाइल भ्यानबाट चामल बेच्दै, साल्ट ट्रेडिङसँग ६ महिनाका लागि ग्यास मौज्दात
काठमाडौंः देशभरी ‘लकडाउन’ भएपछि उपभोक्तालाई खाद्यान्नको अभाव हुन नदिन नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले मोबाइल भ्यानबाट सेवा दिने भएको छ । यस्तै कम्पनीले आफ्नो बिक्री कक्ष बन्द नगरी सेवा दिने र कम्पनीका गाडीहरु समेत बन्द नगर्ने बताएको छ । कोरोना भाइरस (कोभिड–१९) फैलन नदिन सरकारले ‘लकडाउन’ गरेपछि खाद्य कम्पनीले मोबाइल भ्यानबाट २४ सै घण्टा सेवा दिने भएको छ । कार्यालय समयमा मात्रै सञ्चालन हुँदै आएका कम्पनीका आउटलेटहरु थप समयसम्म सञ्चालनको ब्यबस्था समेत मिलाएको छ। कम्पनीले मोबाईल भ्यान मार्फत उपभोक्ताहरुलाई पायक पर्ने स्थानमै पुगेर सेवा दिने तयारी रहेको कम्पनीका नायब महाप्रवन्धक श्रीमणी खनालले बताए। ‘कार्यालय समयमा मात्रै आउटलेट सञ्चालनमा थिए, अहिलेको अवस्थामा उपभोक्ताहरु बिक्री कक्षमा आउन असम्भव छ, मोबाईल भ्यान मार्फत सेवा दिन्छौ’ उनले भने। कोरोना भाइरस संक्रमणको त्रासले सरकारको यसलाइ समयमै सर्जकता अपनाउन भिडभाड कम गर्न, अत्यावश्यक सेवा बाहेक सबै कामहरु बन्द गर्न आग्रह गरेको छ । उनका अनुसार शहर लक डाउन भएपछि उपभोक्तालाई खाद्यान्नको अभाव हुन नदिन मोबाइल भ्यानबाट बिक्रीको तयारी सुरु भएको छ । कम्पनीले खाद्यन्न अभाव नहोस् भन्नका लागि काठमाडौंका लागि मात्र थप १ लाख टन चामल नियमित बिक्रीको लागि खरिद गर्न लागेको समेत जनाएको छ । कोरोनाका कारण बजारमा अभाव हुने डरले हाल उपभोक्ताहरुले खाद्यान्नको बिक्री गरी केही समयको लागि पुग्ने मौज्दात राखिसकेका छन् । कम्पनीसँग हाल २६ हजार टन चामल मौज्दात रहेको पनि खनालले जानकारी दिए। हाल कम्पनीको ३ वटा खुद्रा बिक्री कक्षबाट खाद्यान्न तथा इन्डक्शन चुलो बिक्री भइरहेको छ । हालको समयलाई मध्यनजर गर्दै उपभोक्ताको सर्हजका लागि कम्पनीले केही समयमा जाउलाखेल र सुर्यविनायकमा थप बिक्री कक्ष खोल्ने भएको छ। सय भन्दा बढी स्थानमा बिक्री कक्ष बनाएको कम्पनीले आपूर्तिमा केहि समस्या नआउने भन्दै सर्वसाधारणलाई आश्वस्त पारे। डिलर र विभिन्न सहकारीबाट बिक्रीको काम भइरहने र कार्यालय समयमा मात्र संचालन हुने बिक्री कक्ष अवस्था आए कम्पनीले समय थपेर पनि सञ्चालन गर्ने उनले जानकारी दिए। ‘लकडाउन’ भएपछि नेपाल साल्ट ट्रेडिङ कर्पोरेशनले पनि सरकारको नियम अनुसार तोकिएको ठाउँबाट बिक्री गर्ने भएको छ। कोरोनाको कारण एसटीसी ग्यास, चिनी तथा नुन अभाव हुन नदिने भन्दै आगामी ६ महिनासम्मको मौज्दात रहेको कम्पनीका सूचना अधिकृत कुमार राजभण्डारीले बताए । बिजमाण्डू साभार
सुदूरपश्चिम सरकारद्वारा कोरोना नियन्त्रणका लागि स्थानीय तहलाई ३ करोड दिने निर्णय
कैलालीः विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को रोकथामका लागि सुदूरपश्चिम सरकारले स्थानीय तहलाई तीन करोड उपलब्ध गराउने भएको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले धनगढी उपमहानगरपालिका सहितका ८८ स्थानीय तहलाई कोरोना राेकथामका लागि दुई करोड ९९ लाख बजेट उपलब्ध गराउने निर्णय गरेको हो । सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले उपमहानगरपालिकालाई पाँच लाख, ३३ नगरपालिकालाई चार लाख र ५४ वटा गाउँपालिकालाई तीन लाखका दरले बजेट दिने निर्णय भएको जानकारी दिए । जसअनुसार ५४ वटा गाउँपालिकाले तीन लाखका दरले एक करोड ६२ लाख र ३३ वटा नगरपालिकाले एक करोड ३२ लाख पाउँने छन्। यस्तै, बैठकले सीमामा रहेका नेपालीलाई गन्तव्यमा पुर्याउनका लागि आवश्यक व्यवस्थाका साथै सबै मन्त्रीले एक महिनाको पारिश्रमिक प्रदेश राहत कोषमा जम्मा गर्नेसमेत निर्णय गरेको छ ।
कोरोना भाइरसका कारण यादवको मृत्यु नभएको पुष्टि
काठमाडौंः चितवनको भरतपुर स्थित कोरोना विषेश अस्पतालमा उपचार गराइरहेका युवकको मृत्यु कोरोना नभएर ‘अटो इम्युन डिजिज’ भएको पुष्टि भएको छ । वीरगञ्जका ३० वर्षीय सन्तोष यादवको ज्यान जानुको कारण कोरोना नभएर ‘अटो इम्युन डिजिज’ रहेको टेकु प्रयोगशाला स्रोतले जनाएको छ । यादवको उपचारका क्रममा ज्यान गएको भरतपुर कोरोना विशेष अस्थाई अस्पतालले जनाएको छ । यादवको स्वाबको नमूना संकलन गरी परीक्षणका लागि टेकु ल्याइएको थियो । पहिलेदेखि नै लुपुस भन्ने रोग लागेका यादवका मिर्गौला समेत कमजोर रहेको र निमोनिया र ज्वरो आएपछि चैत ९ गते अस्पतालमा भर्ना गरिएकोमा मंगलबार बिहान ९ बजे ज्यान गएको कोरोना विशेष अस्थाई अस्पतालले जनाएको छ ।
भिसा सकिए पनि विदेशी नागरिकले तत्काल नेपालमै बस्न पाउने
काठमाडौंः प्रवेशाज्ञा (भिसा) को म्याद सकिए पनि विदेशी नागरिकले कोरोना भाइरस (कोभिड–१९) का कारण तत्कालका लागि नेपालमै बस्न पाउने भएका छन्। आइतबार अध्यागमन विभागले जारी गरेको विज्ञप्तिमा ‘नेपालमा बस्न विदेशीको भिसा अवधि आइतबारसम्म कायम भएको रहनुपर्ने’ लेखिएको छ। विश्व्यापी फैलिएको कोरोनाको जोखिम न्यूनीकरण गर्न सरकारले देशभर लकडाउन गरेको छ । सरकारले अत्यावश्यकबाहेक सबै सरकारी सेवा बन्द गर्ने निर्णयपश्चात् हवाई उडान बन्द रहेकाले यो व्यवस्था गरिएको बताएको छ ।
त्रिवि शिक्षण अस्पतालका कर्मचारीले अनिवार्य परिचयपत्र लगाउनुपर्ने
काठमाडौंः त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत नर्स, चिकित्सक लगायतका कर्मचारीले अनिवार्य रुपमा परिचयपत्र लगाउनुपर्ने भएको छ । अस्पतालले आज एक विज्ञप्ती जारी गरी कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले जारी गरेको सूचनालाई ध्यानमा राखी काममा आउने कर्मचारीलाई अनिवार्य रुपमा परिचयपत्र लगाउन निर्देशन दिएको हो । अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाले कोभिड–१९ को सम्भावित सङ्क्रमणलाई ध्यानमा राखेर सरकारले ‘लकडाउन’ गरिसकेको अवस्थामा अस्पतालमा कार्यरत कर्मचारीले अनिवार्य रुपमा परिचयपत्र लगाउनु उत्तम हुने बताए । ‘लकडाउनको अवस्थामा जिल्ला प्रशासन कार्यालयबाट जारी गरेको परिचयपत्रमात्र लगाउनुपर्ने भएपनि प्रशासनसँग त्रिवि शिक्षण अस्पतालले समन्वय गरेकाले आफ्नो अस्पतालको परिचयपत्र अनिवार्य लगाउन म सबैमा अनुरोध गर्दछु’, उनले भने । सरकारले कोभिड–१९ को सम्भावित सङ्क्रमणलाई ध्यानमा राखी आजदेखि आगामी चैत १८ गते साँझ ६ बजेसम्म देशभर ‘लकडाउन’ गर्ने निर्णय गरेको छ ।
सरकारले स्थापना गरेको कोरोना कोषमा कांग्रेसद्वारा ५० लाख जम्मा
काठमाडौंः कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि सरकारले स्थापना गरेको कोषलाई नेपाली कांग्रेसले ५० लाख रुपैयाँ दिने भएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै सरकारले स्थापना गरेको कोषमा पार्टीका तर्फबाट एकमुष्ठ ५० लाख जम्मा गर्ने निर्णय गरिएको जनाएका छन् । कांग्रेसबाट संघीय सांसदमा प्रतिनिधित्व गर्ने सांसदहरुले १५ दिनको तलब सो कोषमा जम्मा गर्ने घोषणा गरिसकेका छन् ।
‘लकडाउन’मा पनि अत्यावश्यक वस्तुको पसल खोल्न दिइने
काठमाडौंः ‘लकडाउन’को अवधिमा पनि अत्यावश्यक वस्तुको पसल खोल्न दिने भएको छ । दिइने भएको छ । खाद्यान्न, तरकारी, पेट्रोलियम पदार्थजस्ता अत्यावश्यक वस्तु बिक्री गर्ने पसल सुरक्षा अपनाउँदै खोल्न दिन सूचना जारी गरिने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । वाणिज्य तथा आपूर्ति सचिव बैकुण्ठ अर्यालका अनुसार उपभोक्ताको भीड नहुने गरी सेवा प्रवाह गर्न आग्रह गर्दै सुपर मार्केट, खाद्यान्न पसल, तरकारी तथा दूग्ध पदार्थको बिक्री सहज बनाइने छ । समय तालिका तोक्दा भीड हुने र यसले झन असुरक्षा सिर्जना गर्ने भएकाले उपभोक्ताले आफ्नो अनुकूल हुने गरी खाद्यान्न खरिद गर्न सचिव डा. अर्यालले आग्रह गरे । ‘लकडाउन’को समयमा आवश्यक परे देशैभर सञ्चालित साल्ट ट्रेडिङ तथा खाद्य व्यावस्था तथा व्यपार कम्पनीको पसल पनि सञ्चालन गरिने वाणिज्य तथा आपूर्तिले जनाएको छ ।
झापाका युवक कोरोना संक्रमित युवतीसँग आएका थिएनन्
काठमाडौंः फ्रान्सबाट आएकी कोरोना भाइरस (कोभिड–१९) संक्रमित नेपाली युवतीसँग झापाका एक युवक नआएको खुलेको छ । प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार ती युवतीसँगै एउटै विमानमा आएको भन्ने हल्ला चलेपछि कतारबाट झापा आएका बैगुनधुरा निवासी ती युवकको विमान नम्बर नै नमिलेको हो । फ्रान्सबाट कतार हुँदै गत चैत ४ गते नेपाल आएकी युवती कोरोना भाइरस संक्रमित भएको भेटिएपछि कतारबाट एउटै विमानमा आएको भन्दै ती युवक आत्तिएर सम्पर्कमा आएका थिए । युवक आफै मंगलबार बिहान भद्रपुरस्थित कलवलगुढी प्रशिक्षण केन्द्रको अस्थायी क्वारेन्टाइनमा पुगेक प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए । यता युवकलाई क्वारेन्टाइनमा नराखेर मेची अञ्चल अस्पताल भद्रपुरको आइसोलेसन वार्डमा पठाइएको र उनको स्वाब परीक्षण गरिने अस्पतालले जनाएको छ।
‘भीम रावलका सल्लाहकारबाट प्रदेश नै आतंकित’ भन्ने समाचारप्रति आपत्ति
काठमाडौंः साँघु साप्ताहिकमा सोमबार प्रकाशित ‘रावलका सल्लाहकारबाट प्रदेश नै आतंकित’ भन्ने समाचारप्रति आपत्ति जनाइएको छ । सोमबारको साँघुमा नेकपा नेता रावलका सल्लाहकार एकिन्द्र कुँवरले सुदूरपश्चिम प्रदेशलाई आतंकित बनाएको निष्कर्षसहित समाचार छापिएको थियो । उक्त समाचारबारे रावलले मंगलबार बिहानै ट्वीटमार्फत खण्डन गरेका थिए । उनले आफ्नो कुनै पनि सल्लाहकार नभएको ट्वीटमार्फत स्पष्ट पारेका छन् । मेरो कोही सल्लाहकार छैन । हल्लाकारहरूको हल्ला नियोजित हो ।देश कोरोना भाइरसका विरूध्द जुझि रहेछ र ठप्प छ ।दिमागमा गुटबन्दी र परपीडनको भाइरस भएकाहरू भ्रम र दुष्प्रचारको खेती गरेर आत्मरतिमा रमाउँदै विनाशको धूप बाल्दैछन् । यस्तो कुकृत्यमा नलाग्नु स्वास्थ्यका लागि राम्रो हुन्छ । — Bhim Rawal (@BhimRawal179) March 24, 2020 साँघु पत्रिकामा रावलका सल्लाहकार भनिएका कुँवरले पनि मंगलबार विज्ञप्ति जारी गर्दै समाचारप्रति ध्यानाकर्षण भएको बताएका छन् । उक्त समाचारमा कुनै सत्यता नभएको र आफू भीम रावलको सल्लाहकार वा सहयोगीको रूपमा कहिल्यै कार्यरत नरहेको स्पष्ट पारेका छन् । साथै साँघुले समाचारलाई वार्गेनिङ गर्ने औजारका रूपमा प्रयोग गरेको कुँवरले आरोप लगाएका छन् । उनले भनेका छन्, ‘मनोगत समाचार प्रकाशित गरेर भ्रम श्रृजना गर्ने कार्यको निन्दा गर्दै खेद प्रकट गर्दछु ।’ साँघुका सम्पादक गोपाल बुढाथोकीले नेपाली नेताको गोप्य विवरण बुझाएर भारतीय राजदुतावातसबाट पैसा लिने गरेको आरोप लगाएका छन् । साथै, बुढाथोकीले पत्रिकालाई वार्गेनिङ गर्ने औजारका रूपमा प्रयोग गरेर र शक्ति केन्द्र धाएर अकुत सम्पति कमाएको आरोप विज्ञप्तिमा लगाइएको छ ।
काेराेना अस्पतालमा मृत्यु भएका व्यक्ति किड्नीका बिरामी, काेराेना संक्रमण भए नभएकाे पुष्टि हुन बाँकी
चितवनः कोरोना आशंकामा भरतपुर कोरोना अस्पतालको आइसोलेसनमा राखिएका विरगञ्जका ३० वर्षीय सन्तोष यादव किड्नीमा बिरामी रहेको खुलेको छ । उनको मंगलबार बिहान ७ बजे उपचारको क्रममा मृत्यु भएको हो । यद्यपी, उनको मृत्युको कारण भने खुल्न सकेको छैन् । उनमा कोरोना संक्रमण भएनभएको पुष्टि हुन बाँकी छ । उनको स्वाप थ्रो परिक्षणका लागि मंगलबार काठमाडौं पठाइएको र रिपोर्ट आएपछि मात्रै मृत्युको कारण पहिचान हुने कोरोना अस्पतालका प्रवक्ता डा. भोजराज अधिकारीले जानकारी दिए । चितवन मेडिकल कलेजले रिफर गरेपछि यादव चैत्र ९ गते साँझ कोरोना अस्पताल भर्ना भएका थिए ।
क्रिश्चियन बने कोरोना लाग्दैन भनेर भ्रम फैलाउने पास्टर पक्राउ
पोखराः कोरोनाबारे भ्रम फैलाउने पास्टरलाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ । यशुका अनुयायी बने कोरोना भाइरसले छुँदैन भन्दै भ्रम फैलाउने जुम्ला घर भइ हाल पोखरा महानगरपालिका–२९ पावर हाउस बस्दै आएका केशवराज आचार्यलाई प्रहरीले पक्राउ गरेको हो । आचार्य प्रशस्त कटनी मण्डलीका पास्टर हुन् । आचार्यले क्रिश्चियन धर्म माने कोरोना भाइरसले नछुने भ्रम फैलाउने काम गरेकाले पक्राउ गरिएको कास्कीका एसपी दानबहादुर कार्कीले जानकारी दिए ।
विनिमयदरः रेकर्ड कायम गर्यो अमेरिकी डलरको मूल्यले (सूचिसहित)
काठमाडौंः नेपाली बजारमा साताको तेस्रो दिन आज मंगलबार अमेरिकी डलरसहित प्राय सबै देशको मुद्राको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले तोकेको बिदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी डलर एकको खरिददर १ सय २१ रुपैयाँ ७१ पैसा तथा बिक्रिदर १ सय २० रुपैयाँ ३४ पैसा रहेको छ । त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ४० रुपैयाँ ११ पैसा र बिक्रिदर १ सय ४० पैयाँ ८० पैसा रहेको छ । युएई दिराम एकको खरिददर ३२ रुपैयाँ १४ पैसा छ भने बिक्रिदर ३३ रुपैयाँ ३१ पैसा रहेको छ । साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ ४३ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ ५८ पैसा रहेको छ । कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ १६ पैसा रहेको छ भने बिक्रिदर ३३ रुपैयाँ ३३ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको सबै देशको विनिमयदर तलको तालिकामा हेर्नुहोस्ः

