अब ६८७ रुपैयाँमा आधा भरेको सिलिन्डर पाइने

अब उपभोक्ताले आधा ग्यास भरिएको सिलिन्डर पाउने भएका छन् । मागभन्दा बढी आयात गर्दा पनि ग्यासको अभाव देखिएसँगै सबै उपभोक्तालाई आधा सिलिन्डर ग्यास उपलब्ध गराउन लागिएको हो ।

नेपाल आयल निगमले आज ७.१ किलो ग्यास भएको सिलिन्डरको नयाँ मूल्य तोकेको छ । निगमका अनुसार तराई क्षेत्रबाहेक काठमाडौँ उपत्यकालगायतका अन्य स्थानमा ग्यासको खुद्रा मूल्य प्रतिसिलिन्डर ६ सय ८७ रुपैयाँ ५० पैसा तोकिएको छ ।

यस्तै, तराई क्षेत्रका लागि प्रतिसिलिन्डर ६ सय ७७ रुपैयाँ ५० पैसा र दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्लाका लागि प्रतिसिलिन्डर ६ सय ७० तोकिएको छ । यसअघि बजारमा १४.२ किलो ग्यास भएको सिलिन्डर बिक्रीवितरण हुँदै आएको थियो ।

नाकाबन्दीको समयमा पनि ग्यासको चरम अभाव भएपछि केही समय आधा सिलिन्डर ग्यास प्रयोगमा ल्याइएको थियो ।

सरकारको निर्णयसँगै ग्यास उद्योगीले आधा सिलिन्डर ग्यास भरेर बजारमा पठाउन थालिसकेको एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष गोकुल भण्डारीले जानकारी दिए ।

कोभिड उपचारका लागि बिएण्डसी अस्पताल सरकारलाई दिने

भद्रपुरः झापाको बिएण्डसी टिचिङ हस्पिटल कोडिभ–१९ को उपचारका लागि राज्यलाई दिन तयार रहेको अस्पतालका सञ्चालकले घोषणा गरेका छन् । सञ्चालक दुर्गा प्रसाईंले आज विज्ञप्ति जारी गरी अस्पतालसँग कोभिड–१९ जाँचका लागि स्वास्थ्यकर्मीलाई चाहिने आवश्यक पोशाक, पिपिई र किट्स नभएको बताउँदै सरकारीसरह राज्यले खर्च व्यहोरेर सञ्चालन गरे आफू दिन तयार रहेको बताए । आठ सय साधारण शय्या, एक सय सघन उपचार कक्ष र २५ भेन्टिलेटरसहितको सघन उपचार कक्ष रहेको हस्पिटलमा १०५ चिकित्सक छन् । उनले विज्ञप्तिमा भनेका छन्, ‘सरकारले मात्र उपलब्ध गराउने सक्ने किट्स र जाँच उपचारका लागि प्रयोग हुने सुरक्षित उपकरणहरु, पिपिई सेट उपलब्ध नभएका कारण हामी यो उपचार गर्न र परीक्षण गर्न सकिरहेका छैनौंँ, सरकारले यो विषम परिस्थितिमा कोरानाको उपचार र परीक्षणका लागि यो हस्पिटल उपयोग गर्न चाहन्छ भने हामी दिन तयार छौं ।’ प्रसाईँले अस्पतालको मेचीनगर–१२ स्थित धाइजनमा बेसिक साइन्स पढाउनका लागि तयार गरिएको भवनमा समेत ५०० शय्याको क्वारेन्टाइन बनाउन सकिने बताए । झापा, इलाम, पाँचथर र ताप्लेजुङका २५ लाखभन्दा बढी मानिसले उपचार सेवा लिन सक्ने हस्पिटलमा कोराना भाइरसको उपचार गरिनुपर्ने स्थानीयवासीले सामाजिक सञ्जालमार्फत माग गर्दै आएका थिए ।

चीनले दिएकोे चिकित्सा सामग्री आज तातोपानी आइपुग्ने

मेलम्चीः चीन सरकारले दिने चिकित्सा सामग्री तातोपानी नाका हुँदै आज नेपाल आइपुग्ने तातोपानी भन्सार कार्यालयले जनाएको छ । सरकारले चीनतर्फको नाका खोल्ने निर्णय गरेसँगै ती सामग्री तातोपानी नाका हुँदै नेपाल आउने तातोपानी भन्सारका प्रमुख लालबहादुर खत्रीले जानकारी दिए । सामान जाँचपासका लागि जाँचपासमा संलग्नहरुले मेडिकल प्रोटोकलको पालना गर्दै मालवस्तु जाँच गर्ने जनाइएको छ । स्वास्थ्य परीक्षणका लागि नाकामा स्वास्थ्यकर्मीको टोली तयारी अवस्थामा छ । ती सामग्रीको आयातसँगै तातोपानी नाका विधिवत् रुपमै पुनःसञ्चालन हुने खत्रीले बताए । ‘बिहीबार जाँचपास गर्न पत्र आएको छ, शुक्रबारदेखि मालवस्तु जाँचपास सञ्चालन हुन्छ’, खत्रीले भने । अहिले नाकाबाट फलफूल र चिकित्सा सामाग्री मात्रै आउने गरेको छ । तातोपानी नाका सञ्चालनका लागि सबै तयारी पूरा भएको पनि उनले बताए ।

अब आधा सिलिन्डर मात्रै ग्यास वितरण गरिने

काठमाडौंः नेपाल आयल निगमले तत्कालका लागि आधा सिलिन्डर ग्यास वितरणको तयारी गरेको छ । बुधबार प्रत्येक महिनामा एक परिवारलाई एक सिलिन्डर वितरण गर्ने नीति ल्याएको निगमले बिहीबार आधा सिलिन्डर वितरण गर्ने निर्णय गरेको हो तर एक परिवारलाई महिनामा एउटा भरी सिलिन्डर आवश्यक पर्ने भएकाले दुईवटा आधा सिलिन्डर लिएर महिनाको १४.२ किलोग्राम ग्यास पुर्याउने निगमले जनाएको छ । कोरोना भाइरसको त्रासले एलपी ग्यासको अभाव हुन सक्ने आशङ्कामा उपभोक्ताले ग्यास सिलिन्डर मौज्दात राखेपछि वितरण प्रणालीलाई सहज बनाउन आधा सिलिन्डर वितरण गरिने भएको हो । निगमका अनुसार अहिले पनि दिनमा एक लाख सिलिन्डर बजारमा गइरहेको छ । सुरक्षाका हिसाबले आधा सिलिन्डर प्रयोगमा ल्याउँदा फरक नपर्ने निगमले जनाएको छ । भरी हुँदा १४.२ किलोको सिलिन्डर पाइन्थ्यो भने उपभोक्ताले अब ७.१ किलोग्राम तौलको सिलिन्डर पाउने छन् ।

ओलीलाई भेट्न प्रचण्ड त्रिवि शिक्षण अस्पतालमा

फाइल फोटो काठमाडौंः स्वास्थ्यमा समस्या आएर राति नै अस्पतालमा भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गर्न नेकपाका अध्यक्ष प्रचण्ड अस्पताल पुगेका छन् । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएका प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिन अध्यक्ष दाहाल केहीबेरअघि अस्पताल पुगेका हुन् । गत फागुन २१ गते मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीले पछिल्ला दिनमा महत्त्वपूर्णबाहेकका भेटघाट बन्द गरेका थिए । सम्बन्धित समाचारः प्रधानमन्त्री ओली फेरि अस्वस्थ, रातारात अस्पताल भर्ना, कस्तो छ अवस्था ?  

‘लकडाउन’को अवज्ञा गर्दै चलाएको बस दुर्घटनाः सहचालकको मृत्यु, तीन घाइते

सल्यान: सल्यानमा गएराती भएको बस दुर्घटनामा सहचालकको ज्यान गएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका ४ का १८ वर्षिइ सुजन नेपाली रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ । शारदा नगरपालिका ८ काटीगाउँबाट दुलधरापोखरा जाँदै गरेको ना ३ ख ७९७५नम्बरको बस मार्केबजार नजिकै दुर्घटना भएको थियो । दुर्घटनामा परी शारदा नगरपालिका ८ का २६ वर्षिय सुरेन्द्र सेजवाल, शोही ठाउँकै २८ वर्षिय थमन चलाउने र वडा न ५ का २७ वर्षिय खेमराज बुढाथोकी घाइते भएका छन् । घाइतेहरुको सल्यान जिल्ला अस्पतालमा उपचार भई रहेको र घाइतेको अवस्था सामान्य रहेको प्रहरीको भनाई रहेको छ । गाडीको टायर पन्चर भएपछि ममर्तका लागि दुलधारा पोखरा आउँदै गर्दा दुर्घटना भएको प्रहरीले बताएको छ । उक्त बस ‘लकडाउन’को अवज्ञा गर्दै चलाएको पाइएको प्रहरीले जनाएको छ ।

कोरोनाः औषधिजन्य सामाग्री ल्याउन वाइडबडी चीन जाँदै

काठमाडौंः चीनबाट कोरोना भाइरस परीक्षण गर्ने कीट र पीपीई लगायतका औषधिजन्य सामाग्रीहरू ल्याइने भएको छ । ती सामाग्री ल्याउनका लागि नेपाल वायु सेवा निगमको ए–३३२ वाइडबडी विमान शनिबार चीनको ग्वाङझाओ जाने विमानस्थल भन्सार विभागले जनाएको छ । त्यसका लागि फ्लाइट नम्बर आरएनए ४१७१ को उडानमा चार्टर्ड विमान जानेछ ।

‘लकडाउन’ सँगै मिर्गौलाका चार हजार ६ सय बिरामी समस्यामा

काठमाडौंः राज्यको सम्पूर्ण शक्ति कोरोनाविरुद्ध केन्द्रित छ । देश लकडाउन छ, सर्वसाधारण घरघरमा ‘सेल्फ क्वारेन्टाइन’मा छन् । यो विषम परिस्थितिमा चार हजार ६ सय मिर्गौलाका बिरामी भने उपचार नपाएर छटपटाउन थालेका छन् । मिर्गौला डायलाइसिस गरेर बाँचिरहेका बिरामीको नियमित उपचार देश लकडाउनसँगै रोकिएको छ । सातामा दुईपटक डायलाइसिस गराउनुपर्ने उनीहरूको जीवन नै जोखिममा परेको छ । सार्वजनिक गाडी नचल्दा घरदेखि टाढा अस्पताल पुग्न सकेका छैनन् । पैसा खर्च गरेर एम्बुलेन्समा जान विपन्न रोगी असमर्थ छन् । कतै अस्पतालमै पर्याप्त उपकरण अभाव हुँदा डायलाइसिसमा समस्या छ । तर, प्रधानमन्त्री नै मिर्गौलारोगी भएको सरकारले यो संकटमा तमाम मिर्गौलारोगीको समस्यामाथि नजर पुर्‍याएको छैन । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

कोरोना अपडेट: १८६१२ को मृत्यु, संक्रमितको संख्या ४ लाख नाघ्यो,

एजेन्सी: चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको चपेटामा पूरै विश्व परेको छ। बुधबारसम्म यसबाट प्रभावित हुनेको संख्या ४ लाख १७ हजार ५ सय ८२ पुगेको छ भने १८ हजार ६ सय १२ जनाको मृत्यु भइसकेको छ। संक्रमितको संख्यामा अहिलेसम्म चीन नै अगाडि छ भने मृतकको संख्यामा इटालीले चीनलाई उछिनेको छ। चीनमा संक्रमितको संख्या ८१ हजार ५ सय ९१ छ भने निको हुनेको संख्यामा पनि चीन नै अगाडि छ। चीनमा ६० हजार ३ सय २४ जना निको भइसकेका छन्। यस्तै इटालीमा ६९ हजार १ सय ७६ जना संक्रमित भएका छन् भने ६ हजार ८ सय २० जनाको मृत्यु भइसकेको छ। मृत्युमा स्पेन तेस्रो नम्बरमा छ। त्यहाँ २ हजार ८ सय ८ जनाको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या ३९ हजार ८ सय ८५ छ। संक्रमितको संख्याका हिसाबले भने अमेरिका तेस्रो नम्बरमा छ। त्यहाँ ५३ हजार ६ सय ६० जनामा संक्रमण देखिइसकेको छ भने मृतकको संख्या ६ सय नाघेको छ। यसैगरी, इरानमा १९३४, फ्रान्समा ११००, बेलायतमा ४२२, नेदरल्याण्डमा २७६, जर्मनीमा १५७, बेल्जियममा १२२, स्वीजरल्याण्डमा १२२, दक्षिण कोरियामा १२०, इण्डानेसियामा ५५ जनाको मृत्यु भएको छ।

बुधबारबाट दिनभर खाद्यान्न पसल खुल्ने

काठमाडौंः सरकारले बुधबारबाट खाद्यान्न पसल सञ्चालन गर्न दिने भएको छ । यसअघि बिहान र बेलुका मात्र पसल खोल्न दिँदा भिड बढेपछि दिनभर पसल खोल्न दिइने महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका प्रमुख विश्वराज पोखरेलले जानकारी दिए । कोरोना रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिले गरेको निर्णयमा खाद्यान्नसम्बन्धी सामग्री कुन समयमा बिक्री गर्न पाइने भन्ने विषयमा व्याख्या गरिएको थिएन । जसकारण सर्वसाधारण र पसल सञ्चालकमा अन्यौलता सिर्जना भएको थियो । गृह मन्त्रालयका सह–सचिव केदारनाथ शर्माले पनि विज्ञप्ति जारी गर्दै स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दुध, विद्युत लगायत कारोबार गर्ने पसलहरू बन्द नहुने बताउँदै सदा झैँ निर्वाद सञ्चालक गर्न अनुरोध गरेका छन् ।

जन्मदिवसमा उद्योगमन्त्री भट्टको मार्मिक स्टाटस

काठमाडौंः उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले विश्वव्यापी रुपमा फैलिरहेको कोराना भाइरस (कोभिड–१९) को रोकथामका लागि सरकारले गरेको ‘लकडाउन’काे पालना गर्न सबैलाई अनुरोध गरेका छन् । आज आफूलाई जन्मदिनको शुभकामना दिने सम्पूर्णलाई धन्यवाद दिँदै मन्त्री भट्टले भनेका छन्, ‘आउनुस् सबै मिलिर कोरोना संक्रमणसँग लडौं । सबैले लकडाउनको नियम पालना गरौं । अप्ठ्यारो परे सम्बन्धित निकायमा खबर गरौं । हामी तपाईसँगै छौ ।’ उनले देशभर ‘लकडाउन’भए पनि उपभोग्य वस्तुको सहज आपूर्ति र पहुँचका लागि निरन्तर प्रयास गरिरहेकोसमेत बताएका छन् । मन्त्री भट्टले अप्ठ्यारो अवस्थाका बाबजुत आवश्यक वस्तुको आपूर्तिका लागि सहज व्यवस्थापनको संरचना तयार गर्न आफूहरु सफल भएको दावी गरेका छन् । जन्मदिनमा उद्योगमन्त्री भट्टको मार्मिक स्टाटस विभिन्न माध्यमबाट मलाई जन्मदिनको शुभकामना दिनुहुने सम्पूर्ण अग्रज, इष्टमित्र, दिदिबहिनी तथा दाजुभाइहरुमा हार्दिक आभारसहित धन्यवाद व्यक्त गर्दछु । आजकाे दिनमा म ईतिहासमा नै सबैभन्दा जटिल जिम्मेवारी बहन गरिरहेकाे छु । आम जनतामा काेराेना संक्रमणले फैलिएका त्रासका बीचमा आपूर्ति व्यवस्थापनकाे जटिल चुनाैति मेरा सामु छ । मेराे विचारमा कोरोना Covid-19 को प्रकोप विश्वभर फैलिरहेको अवस्थामा हामीले याे संक्रमणविरुद्ध सामूहिक प्रयास गर्नु जरुरी छ । नेपालमा पनि संक्रमणकाे राेकथामका लागि लकडाउन गर्ने घाेषणा सरकारले गरेकाे छ । तर पनि उपभाेग्य वस्तुकाे सहज आपूर्ति र पहुँचका लागि मैले सकेसम्म प्रयास गरेकाे छु । मैले आम जनतालाइ निराश हुन दिएकाे छैन । कतिपय अप्ठ्याराे हुँदा पनि आवश्यक वस्तुकाे आपूर्तिका लागि सहज व्यवस्थापनकाे संरचना तयारगर्न हामी सफल भएका छाैं । तर म एक्लाेकाे प्रयासले मात्र याे सम्भव हुँदैन । यसमा हामी सबैकाे पहल र साथ जरुरी छ । आउनुस् सबै मिलेर कोरोना संक्रमणसँग लडौं सबैले लकडाउनको नियम पालना गरौं । अप्ठ्याराे परे सम्बन्धित निकायमा खबर गराैं । हामी तपाईसँगै छाैँ । पुनः मलाई शुभकामना दिनुहुने सबैमा हार्दिक धन्यवाद छ !

कोरोना संक्रमित युवतीसँग कतार एयरवेजमा आएका सबैको पहिचान

काठमाडौंः सरकारले तदारुकता देखाउँदै कोरोना संक्रमित युवती चढेको कतार एयरवेजबाट नेपाल आएका सबै यात्रुको पहिचान गरेको छ । फ्रान्समा अध्ययन गर्ने युवती नेपाल फकेर्एपछि हिजोमात्रै कोरोना संक्रमित भएको पुष्टि भएको थियो । ती युवती संक्रमित भएको थाहा भएपछि सरकारले उनीसँगै कतार एयरवेजमा नेपाल फर्किएका अन्य यात्रुको खोजी शुरु गरेको थियो । २४ घण्टा नबित्दै स्वास्थ्य मन्त्रालयले एक पत्रकार सम्मेलन गर्दै कोरोना भाइरस पोजेटिभ रहेकी महिला आएको जहाजमा रहेका सबैको पहिचान भएको बताएका छन् । यसका साथै संक्रमित महिलासँग घरमा रहदा सम्पर्कमा रहने सबैलाई क्वारेन्टाइनमा पठाइसकेको समेत उनले बताए । जहाजमासँगै आउने व्यक्तिहरुलाई भने सेल्फ क्वारेन्टाइनमा बस्न सजग गराइएको उनले जानकारी गराए । हालसम्म नेपालमा ६ सय १० वटा नमुना परीक्षण भएकोमा २ वटामा मात्र संक्रमण देखिएको छ । कोरोना संक्रमण भएको १ जना र आशंका गरिएका अन्य १५ जनासहित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा १६ जना बिरामी रहेको उनले बताए । त्यसमध्ये १० जना क्वारेन्टाइनमा छन् भने ५ जना आइसोलेसनमा रहेका छन् । यस्तै सरकारले यसअघि विदेशबाट आएका वा तीनका नजिकका व्यक्तिहरुको मात्र परीक्षण हुने गरेकोमा त्यसको दायरा बढाई संक्रमणको लक्षण मिलेका ६० वर्ष उमेर नाघेका बिरामी, स्वास्थ्यकर्मिहरु, दीर्घरोगिहरु र सघन उपचार कक्षमा रहेकामा फ्ल्लुको लक्षण देखिएका बिरामीको समेत नमुना संकलन गरी परीक्षण सुरु गरेको छ । त्यस्तै अन्य अस्पतालहरुमा कोरोना संक्रमणसँग मिल्दो लक्षण देखिएका विरामी आएमा फिभर क्लिनिक सञ्चालन गरी अस्पतालले आइसोलेसनमा राख्नु पर्ने र कोरोना परीक्षाणका लागि नमुना पठाउनुपर्ने व्यवस्था गरिएको समेत देवकोटाले बताए । उनले विरामीलाई रिफर नगरीकन नमुना पठाउन मात्र अनुरोध गरिएको बताए । विदेशबाट आएकाहरु सेल्फ क्वारेन्टाइनमा नबसी आफुखुसी बस्न थालेकाले देशभर लकडाउन गर्नुपरेको समेत उनको भनाइ छ । स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखामा अहिलेसम्म रहेका स्वास्थ्य सामग्रीहरुमा पिपिइ सेट ३ सय ५८ वटा, गाउन १ हजार ४ सय ५६, फेस मास्क १ हजार ५ सय ७८, सेनिटाइजर ७७, पन्जा १ हजार ५ सय ९३, एन ९५ मास्क २४, चस्मा ४ सय ८०, आइआर थर्मोमिटर ४, सुकभर १ हजार १ सय ६२ र फेस फिल्ड २ सय ३५ वटा छन् । यसबाहेक विभिन्न संक्रमणको जोखिम रहेका क्षेत्रहरुमा वितरण गर्न राखिएको फेस मास्क २ लाख ७२ हजार ४ सय २० वटा रहेको छ ।

सुदूरपश्चिममा टेष्ट किटको व्यवस्था गर्न माग

काठमाडौंः भारतसँग सीमा जोडिएको सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस संक्रमणको जाँच गर्न टेष्ट किट उपलब्ध गराउन जनप्रतिनिधिहरुले माग गरेका छन् । विश्वव्यापीरुपमा कोरोना महामारी फैलिएपछि भारतबाट नेपाल आउने प्रवासी नेपालीहरुको संख्यामा एकाएक बृद्धि भएपछि निम्तिने संकटसँग जुध्नका लागि टेष्ट किट अनिवार्य रहेको उनीहरुको भनाई छ । “भारतमा संक्रमण फैलिएपछि र पछिल्लो बेला सबै जसो मुख्य शहर लक डाउन भएपछि अलपत्र पर्ने डरले एक लाख भन्दा बढी नेपाली नागरिक स्वदेश फर्केका छन् ।” कञ्चनपुर क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सांसद दीपक प्रकाश भट्टले एभरेष्ट दैनिकसँग भने, “उनीहरुमध्ये अधिकांश भारतको उच्च संक्रमण रहेको महाराष्ट्र र दिल्लीबाट फर्केका छन् । त्यसैले उनीहरुलाई भोली केही भएको खण्डमा त्यसको जाँच गरेर उनीहरुबाट अरुलाई संक्रमण हुनबाट जोगाउन सकिन्छ ।” सुदूरपश्चिमका ९ वटा जिल्लामा दुई वटा जिल्ला सुगम तराईमा भएपनि बाँकी ७ वटा जिल्ला दुर्गम पहाडी भेग भएको स्वास्थ्य सुविधाका दृष्टिले कोरोना लागेको खण्डमा थप समस्या निम्तिने भट्टले बताए । “पहाडी क्षेत्रमा स्वास्थ्य सेवाको अवस्था दयनीय छ । केही भइहाल्यो भने उनीहरुलाई उपचारका लागि कि त भारतमा लैजानुपर्छ कि नेपालकै धनगढी महेन्द्रनगर, नेपालगञ्ज या काठमाडौं पुर्याउनुपर्छ ।” भट्टको भनाई छ, “त्यसैले प्रारम्भिक चरणमा नै सामान्य लक्षण देखिँदाखेरी नै पहिचान हुन सकेमा मात्रै हामीले संक्रमणलाई भयावह हुनबाट रोक्न सक्छौं ।” नेपालमा हालसम्म कोरोना भाइरस संक्रमण भए नभएको यकीन गर्न टेकुस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा नमूना पठाउनु पर्ने बाध्यता रहेको छ । तर पछिल्लो समयमा यातायात समेत बन्द भएको अवस्थामा सुदूरपश्चिमका पहाडी जिल्लाबाट संक्रमणको आशंका भएका बिरामीको नमूना पठाउन समेत नसकिने अवस्था देखिएपछि सोही क्षेत्रमा परीक्षण किट उपलब्ध हुनुपर्ने माग स्थानीय जनताले गरेका छन् । “गाडी बन्द छ, जहाज बन्द छन्, कुनै व्यक्ति कोरोना संक्रमणको लक्षण देखिएर अस्पताल या स्वास्थ्य संस्थामा आएपनि उक्त व्यक्तिमा कोरोना भए नभएको यकीन कसरी गर्ने?” नेकपा प्रदेश कमिटिका सदस्य गोकर्ण भट्टको प्रश्न छ, “संक्रमणको यकिन नहुँदासम्म अन्य व्यक्तिलाई ट्रेस गर्न पनि सम्भव हुँदैन । त्यसैले जटिल अवस्थालाई मध्यनजर गर्दै सरकारले सोही क्षेत्रमा टेष्ट किट उपलब्ध गराउनुको विकल्प छैन ।” पछिल्लो रेकर्डेड तथ्यांक अनुसार, सुदुरपश्चिमका भारतसँग जोडिएका गौरीफण्टा, गड्डाचौकी, झुलाघाट, धार्चुला लगायतका नाका र अन्य सहायक नाकाबाट एक लाख भन्दा बढी नेपाली भित्रिएका छन् । यसमध्ये करिब ७० हजार बढी सुदुरपश्चिमका मात्रै रहेका छन् । सुदूरपश्चिमका अधिकांश व्यक्तिहरु भारतको मुम्बई, दिल्ली, हरियाणा, पञ्जाब, नयाँ दिल्ली लगायतका शहरमा काम गर्न जाने गरेका हुन्छन् । यी शहरहरु अहिले कोरोनाको उच्च संक्रमणमा रहेका छन् । प्रतिनिधि सभा सदस्य दीपक भट्टले यो विषयमा परराष्ट्र मन्त्रालयसँग समन्वय गरिएको बताए । कैलाली या कञ्चनपुरका अञ्चल अस्पतालमध्ये कुनै एकमा परीक्षणका सुविधा हुने गरी आवश्यक मेडिकल उपकरण उपलब्ध गराउने विषयमा परराष्ट्रसँग माग गरी छलफल गरिएको र यो विषयमा भोलीसम्म ठोस निष्कर्शमा पुगिने उनले बताए । नेपालमा कोरोना टेष्ट किट उत्पादन नहुने भएकोले चीन या अन्य मुलुकबाट यो किट उपलब्ध गराउन परराष्ट्रबाट पहलका लागि अनुरोध गर्न आवश्यक पहल गर्ने उनले बताए । चीन सरकारले भने यसअघि नै नेपालले माग गरे अनुरुपको सहयोग गर्ने बताई सकेको छ । चिनियाँ राजदूतावासको श्रोतले दिएको जानकारी अनुसार, नेपालले कहाँ कसरी वितरण या उपयोग गर्ने विषयमा आफैले निर्णय गर्नुपर्ने तर चीनले भने नेपालले माग गरे अनुसार सहयोग गर्न तयार रहेको बताएका छन् । सुदूरपश्चिममा नै कोरोनाको परीक्षण गर्न सकिएमा यसबाट सम्भावित महामारीको विष्फोट रोक्न सकिने सम्भावना बलियो रहेको छ ।

नेपाल प्रहरीका तीन डीआईजी एआईजीमा बढुवा

काठमाडौंः नेपाल प्रहरीका तीन जना नायब महानिरीक्षक (डीआईजी) लाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गरिएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले डीआईजी तारिणीप्रसाद लम्साल, शैलेश थापा क्षेत्री र हरिबहादुर पाललाई एआईजीमा बढुवा गरेको हो । गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा रहेको बढुवा समितिले १५ फागुनमै लम्साल, क्षेत्री र पाललाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो । तर, प्रधानमन्त्री मृगौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पताल भर्ना भएपछि मन्त्रिपरिषद बैठक बस्न नसकेकाले सिफारिस उपर निर्णय हुन समय लागेको थियो ।

कोरोना नियन्त्रणका लागि नेकपाद्वारा ‘न्युक्लियस टोली’ गठन

काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) क्षेत्र नम्बर १ काठमाडौंले कोरोना भाइरस (कोभिड–१९) को नियन्त्रण तथा रोकथामका लागि पार्टी नेताकार्यकर्ता परिचालन गर्ने भएको छ । त्यसका लागि नेकपा काठमाडौंले राज्यका निकाय तथा स्वास्थ्यकर्मीलाई सहयोग गर्न ५ सदस्यीय एक ‘न्युक्लियस कमिटी’ गठन गरेको छ । नेकपा नेता अनिल शर्माको संयोजकत्वमा गठन भएको सो समितिमा विदुर मैनाली, कल्पना राणा, ईश्वर सापकोटा र गणेश दुलाल सदस्य रहेका छन् । त्यस्तै पार्टी जिल्ला सदस्य तथा जनवर्गिय र मोर्चा संगठनलाई समेत समेटेर ११ वटा टोलहरुमा स्वयसेवक समिति गठन गरी स्थानीय तहमा परिचालन गर्ने निर्णय गरेको छ । जसमा बानेश्वर हाइटमा विष्णु भुषाल, थापागाउँ वाणगंगामा रामप्रसाद अमगाई र हिरा थापामगरलाई जिम्मेवारी दिइएको छ । त्यसैगरी बुद्धनगरमा श्यामलाल तन्दुकार र सूर्यबहादुर कार्की रहेका छन् भने मैतीदेवी डिल्लीबजारमा रेवती दाहाल र आत्मराम राजवंशीलाई तोकिएको छ । घट्टेकुलो अनामनगरमा शर्मिला कार्की र सरला पौडेललाई जिम्मेवारी दिइएको छ । शंखमुलमा अनिताढोली कार्की र रामेश्वर पाण्डे, शान्तिनगरमा धनवहादुर अछामी र लिलाधर रिमाल, खरिवोट मिलनचोकमा देवराज शर्मा र राजेश जोशी, पुरानोवानेवर भिमसेनगोलमा सरोज ढकाल र भिमाम गौतम तोकिएका छन् । थापाथली बबरमहलमा पुष्प श्रेष्ठ र त्रिपुरेश्वर भोटेवहालमा मित्रलाल ठोकरलाई जिम्मेवारी दिएको छ । उनीहरुले नेपाल सरकार तथा विश्व स्वास्थ्य संगठन लगायतका आधिकारिक निकायबाट जारी गरिएका जनचेतना मुलक जानकारीहरुको प्रभावकारी कार्यन्वयन गराउन साथ सहयोग गरी जनतालाई भाइरसका विरुद्ध लड्न तयार गर्ने लगायतका काम गर्ने छन् ।

‘लकडाउन’ उल्लंघन गर्ने ६८ जना प्रहरीकाे नियन्त्रणमा, कुन जिल्लाबाट कति?

काठमाडौंः विश्‍वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को रोकथामका लागि सरकारले लागू गरेको ‘लकडाउन’ उल्लङ्घन गर्ने ६८ जनालाई प्रहरीले विभिन्न जिल्लाबाट  नियन्त्रणमा लिएको छ । सम्झाईबुझाई गर्दा समेत अटेर गरी लकडाउन उल्लङ्घन गर्नेमध्ये कैलालीबाट ३१ जना, कपिलवस्तुबाट १४ जना, रुपन्देहीबाट ७ जना, झापाबाट ४ जना, सुनसरीबाट ४ जना, पर्साबाट ३ जना, सिरहाबाट २ जना, कञ्चनपुर २ जना र धनुषाबाट १ जना गरी ६८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । साथै नेपाल सरकारले लागू गरेको लकडाउन उल्लङ्घन गरी सञ्चालन गरेका १ हजार ५ सय ७१ सवारी साधनलाई समेत विभिन्न स्थानबाट प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले कोरोना संक्रमणको सम्भावित जोखिमबारे सम्झाईबुझाई गर्नुका साथै आवश्यक सोधपुछ तथा अनुसन्धान गरिरहेको छ ।