कोरोना संक्रमणको आशंकामा धनगढीका एक युवक अस्पताल भर्ना
कैलालीः फागुनको पहिलो साता चीनबाट फर्किएका कैलाली धनगढीका एक युवक बिहीबार सेती प्रादेशिक अस्पतालमा भर्ना भएका छन्।
अस्पतालका डा. जगदिश प्रसाद जोशीले ती युवकमा ज्वरो, रुघाखोकी र छाती दुःख्ने समस्या देखिएपछि अस्पताल पुगेको बताए ।
उनका अनुसार अस्पतालले ती युवकलाई आइसोलेसन वार्डमा राखेर परिक्षणका लागि नमूना संकलन गरिएको छ ।
चीनबाट फर्किएकाले उनलाई कोरोना भाइरस सङ्क्रमण भएको आशंकामा नमूना संकलन गरी बिहीबार नै काठमाडौँ पठाएको डाक्टर जोशीले बताए।
यसअघि पनि सुदूरपश्चिमकै चार जनालाई पनि कोरोनाको शंकास्पद लक्षण देखिएपछि सेती प्रादेशिक अस्पताल भर्ना गरिएको थियो । उनीहरुको नमूना परिक्षण गरिएको थियो । तर सबैको रिपोर्ट नेगेटिभ पाइएपछि अस्पतालले डिस्चार्ज गरिसकेको छ ।
नेपाली विद्यार्थीको शव गंगा नदीमा फेला
काठमाडौंः नेपाली विद्यार्थी मिलन पौडेलको शव उत्तराञ्चल राज्यको ऋषिकेशस्थित गंगा नदी किनारमा भेटिएको छ । उनी दिल्लीको जामिया मिलिया इस्लामियाको नेल्सन मण्डेला सेन्टर फर पिस एण्ड कन्फ्ल्क्टिमा अध्यनरत थिए । गत मंगलबार होलीपर्वका अवसरमा चार जना साथीभाइसँग मिलेर दिल्लीबाट ऋषिकेश पुगेका मिलन पौडी खेल्ने क्रममा तपोवन क्षेत्रको गंगा नदीमा डुब्न पुगेको स्थानीय प्रहरीले बताएको छ । मिलन पानीमा डुबेपछि उनलाई बचाउन गएका जम्मु–कश्मीर घर भएका तुषार कौशिकको समेत निधन भएको छ । वृत्तचित्र तथा छोटा चलचित्रमा भविष्य बनाउँदै गरेका २५ वर्षीय मिलन ३ महिनायता दिल्लीमा भड्किएको धार्मिक दंगाको भिडियो खिच्नमा तल्लीन थिए । काठमाडौं विश्वविद्यालयबाट पत्रकारितामा स्नातक मिलन २ वर्षयता जामियामा मास्टर्स पढ्दै थिए ।
बलात्कार मुद्दामा अनेरास्ववियूका नेता राईलाई साढे आठ वर्ष कैद
काठमाडौंः बलात्कार मुद्दामा अनेरास्ववियूका नेता इन्द्रहाङ राईलाई साढे आठ वर्ष कैद सजाय सुनाइएको छ । जिल्ला अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सम्बद्ध अनेरास्ववियूका निलम्बित केन्द्रीय सदस्य राईलाई साढे आठ वर्ष कैदका साथै एक लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति समेत तिनुपर्ने गरी सजाय सुनाएको हो । गत कार्तिकमा राईले जबर्जस्तीकरणी गरेको भन्दै पीडित युवतीले बौद्ध प्रहरीमा जाहेरी दर्ता गरेकी थिइन् ।
नेपाल प्रहरीमा ५ हजार ७० जनाले निकाले नाम (नामावलीसहित)
काठमाडौंः लोकसेवा आयोगले प्रहरी जवानको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ। लिखित परीक्षामा संमिलित १४ हजार पाँच सय ११ मध्ये ७ हजार एक सय १४१ जनाले लिखित परीक्षा पास गरेको आयोगले जनाएको छ। प्रहरी प्रधान कार्यालयले मागेको ३ हजार ६ सय ७६ जना मध्ये हाल पाँच हजार ७० जनाले नाम निकालेको लोकसेवाले जनाएको छ। लिखित परीक्षामा पास भएकाहरुको चैत १६ गतेदेखि २५ गतेसम्म अन्तरवार्ता हुने आयोगले जनाएको छ। हेर्नुहोस् को को भए पास सूचना हेर्न यहाँ क्लिक गर्नुस्
भारतसँग सीमा जोडिएका बैतडीका ५ नाका बन्द
बैतडीः विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्न भारतसँग सीमा जोडिएका बैतडीका ५ नाका बन्द गरिएको छ । जिल्लाका शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका र दशरथचन्द नगरपालिकाका गरी १० नाकामध्ये ५ ओटा नाका बन्द गरिएको स्वास्थ्य कार्यालय, बैतडीका प्रमुख योगेश भट्टले बताए । उनका अनुसार भारतबाट आवतजावत गर्ने मानिसबाट कोरोना फैलिन सक्ने सम्भावनालाई दृष्टिगत गरी हाललाई ५ ओटा नाका मात्र सञ्चालन गरिएको छ । ‘जिल्ला समन्वय र सम्बन्धित स्थानीय तहसँग छलफल गरी नाकाबन्द गर्ने निर्णय गरेका छौं । खुला रहने नाकामा पनि हेल्थ डेस्क राख्छौं,’ उनले भने । जिल्लाका खुल्ला नाकामध्ये सबैभन्दा बढी आवतजावत हुने दशरथचन्द नगरपालिकाको जुलाघाट नाकामा स्वास्थ्यकर्मी सहितको हेल्थडेस्क स्थापना गरिएको छ । बाँकी नाकामा पनि २/३ दिनभित्रै स्वास्थ्यकर्मीसहितको हेल्थडेस्क स्थापना गरिने जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्टले बताए । ‘हामीले स्थानीय सरकार प्रमुखसँग छलफल गरेका छौं । उहाँहरूले आ–आफनो स्थानीय तहका नाकामा हेल्थडेस्क स्थापना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ,’ उनले भने, ‘अब छिट्टै ती नाकामा पनि हेल्थडेस्क स्थापना हुन्छ ।’ हेल्थडेस्क स्थापना गर्न सकिने तर चेकजाँच गर्ने उपकरण नभएको स्थानीय तहका स्वास्थ्यकर्मीको गुनासो छ । स्वास्थ्य जाँचका लागि आवश्यक उपकरण मगाइसकिएकाले केही दिनमै आइपुग्ने स्वास्थ्य कार्यालय, बैतडीले बताएको छ ।
चीनबाट सामान आउन थाल्यो, अब कुनै पनि सामानको अभाव नहुने
काठमाडौंः कोरोना भाइरस (कोभिड–१९) का कारण चीनमा रोकिएका सामान नेपालमा सहज रुपमा आउन शुरू भएको छ । नेपाल औषधि उत्पादक संघका पूर्वअध्यक्ष दीपकप्रसाद दाहालले केही सयम रोकिएका सामान सामान्य रुपमा अहिले आईरहेको जानकारी दिए । केही हप्तादेखि चीनमा रोकिएका व्यवसायीका सामान भारतको कोलकत्ता हुँदै नेपाल आउन सुरु गरेको उनले जानकारी दिए । औषधि बनाउने कच्चा प्रदार्थ र औषधि सहज रुपमा आईरहेको जानकारी दिदै व्यवसायीहरूले सामान लोड गरिरहेको दाहालले जानकारी दिए । चीनमा विचमा कोरोनाको कारण त्यहाँका उद्योग बन्द भएको र बाहिर सामान नपठाएको जानकारी दिंदै अब कुनै सामान आफूहरुले नरोक्ने त्यहाँका उद्योगी व्यवसायीहरुले जानकारी दिएको उनले बताए । चीनमा पनि बन्द भएका उद्योग कलकारखाना लगायत मानिसको आवतजावत सामान्य हुन थालेकोले अब कुनै पनि सामान आयातमा कुनै समस्या नहुने पूर्वअध्यक्ष दाहालले जानकारी दिए । यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।
यस्तो छ आगामी ३ दिनको मौसम पूर्वानुमान
काठमाडौंः नेपालमा पश्चिमी वायूको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पश्चिमी तथा मध्य भू-भागमा अहिले सामान्यतया बदली रहेको छ भने बाँकी भू-भागमा आशिंक भएको छ। महाशाखाले शुक्रबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा तीन दिन मेघ-गर्जनरचट्याङ्ग र असिनारहावाहुरीसहित वर्षाको सम्भावना रहेको छ। चट्याङ र असिनारहावाहुरीसहित वर्षाको सम्भावना भएको र उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान शुक्रबार देशभर सामान्य बदली रहनेछ। पश्चिमी तथा मध्य भू-भागका केही स्थानहरूमा र पूर्वी भू-भागका थोरै स्थानहरुमा मेघ-गर्जनरचट्याङ्ग तथा हावाहुरीसहित बर्षाको सम्भावना रहेको छ। देशको अधिकांश उच्च पहाडी तथा हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ। शनिबार देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रहनेछ। देशका केहि स्थानहरूमा मेघ-गर्जनरचट्याङ्ग र असिनारहावाहुरीसहित वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ। आइतबार देशका अधिकांश भू-भागमा आशिंकदेखि सामान्य बदली रहनेछ। देशको पश्चिमी भू-भाग लगायत मध्य र पूर्वी भू-भागका थोरै स्थानहरूमा मेघ-गर्जनरचट्याङ तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।
पूर्वमन्त्री साहलाई २८ करोड ५० लाख जरिवाना
काठमाडौंः गैरकानुनीरुपमा सम्पत्ति आर्जन गरी शुद्धीकरण गरेको ठहर गरी विशेष अदालतले पूर्वमन्त्री सञ्जयकुमार साहलाई बिगोको दोब्बर २८ करोड ५० लाख रुपैयाँ जरिवाना गर्ने बिहीबार फैसला गरेको छ । उनलाई सम्पत्ति शुद्धिकरण गरेकोमा ५ वर्ष कैद हुनेसमेत ठहर गरेको छ । विशेष अदालतलका न्यायाधीशहरु कृष्ण गिरी, शान्ति सिंह थापा र चन्द्रबहादुर सारुको इजलासले २८ करोड ५० लाख रुपैयाँ जरिवाना गरी ५ वर्ष कैद हुने फैसला गरेको हो । यो समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ ।
एकै व्यक्तिले पाँच सिलिण्डर उठाए
ललितपुरः कोरोना भाइरसका कारण बजारमा ग्याँस तथा इन्धनको अभाव भएको गुनासो आएपछि बजार अनुगमन समितिले ललितपुरमा अनुगमन गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी खिमराज भुसालको संयोजकत्वमा लखनखेल र कुमारीपाटीका ग्यास पसलमा अनुगमन गरिएको हो। शुक्रबार गरिएको अनुगमनमा केही व्यापारीको पसलमा ग्यास नभएको पाइएको छ। कुमारीपाटीमा भने ग्याँस भेटियो। व्यापारीले ग्राहकले माग गरेजति ग्याँस नदिए झगडा गर्न आउने भएकाले एकै व्यक्तिले चार, पाँचवटा सिलिन्डर लगेको बताए। सहायक प्रमुख जिल्ला अधिकारी भुसालका अनुसार व्यापारीले ग्यास लुकाएका छैनन्। उनले भने, ‘भएजति बाहिर देखाएरै राखेका छन्, स्टोरमा लुकाएको भेटिएन।’ अनुगमन टोली बगलामुखी ग्यास सप्लायर्स, जेआर स्टोर कुमारीपाटी, ओम ग्याँस सप्लायर्स, एस एन्ड जे स्टोर्स, ओमबाबा इन्टरप्राइजेज प्रयागपोखरी लगायतका पसलमा पुगेको हो। अनुगमनमा खटिएकी ललितपुर उद्योग वाणिज्य संघका गीता न्यौपानेले खासै अभाव नदेखिएको बताइन्। कुनै कुनै ठाउँमा ग्यास नपाए पनि अरू ठाउँमा पाइएको उनले जनाइन्। घरेलु कार्यालय ललितपुरका अधिकृत रेवतीरमण ज्ञवालीले ग्यास व्यवसायीले चरम अभाव नभएको बताए। ललितपुरमा अघिल्लो सातादेखि अनुगमनका सुरु भएको हो। अघिल्लो अनुगमनले औषधि पसलहरू हेरेको थियो। महंगोमा मास्क बेच्ने व्यापारीबाट मास्क जफत गर्नुका साथै चेतावनीसमेत दिएको थियो। घरेलु कार्यालय, नेपाल प्रहरी, उद्योग वाणिज्य महासंघ लगायतका प्रतिनिधि अनुगमन समितिमा छन्। अनुगमन निरन्तर चल्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ। अन्नपूर्ण पाृष्ट् दैनिकबाट
कोरोना भाइरस त्रासः एक साताका लागि संसद् स्थगित
काठमाडौंः कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि पर्याप्त पहल सरकारले नगरेको भन्दै विभिन्न दलका सांसदहरूले आफ्नो धारणा राखिरहेका बेला सभामुख अग्नी सापकोटाले संसद् बैठक एक साताका लागि स्थगित गर्ने बताएका छन्। सरकारले भिडभाड हुने कुनै कार्यक्रम वा भोजमा सहभागी नहुन सर्वसाधारण आग्रह गरिरहेका बेला कतिपय सांसदहरूले संसद्को बैठक पनि स्थगित गर्नुपर्ने माग गरेका थिए। नेपालमा कोरोनाभाइरस सङ्क्रमण नियन्त्रणका लागि आवश्यक कदम नचालिएको भन्दै प्रतिनिधि सभाको बिहीवारको बैठकमा सांसदहरूले सरकारको चर्को आलोचनासमेत गरे। बैठकको शून्य र विशेष समयमा बोल्दै सांसदहरूले ‘अन्य देशहरूले कोरोनाभाइरससँग जुझ्न अपनाएको जस्तो पूर्वसतर्कता नेपालले अपनाउन नसकेको’ आरोप लगाए। सांसदहरूबाट आएकै सुझावका आधारमा संसद् बैठक स्थगित गर्ने निर्णय आफूले गरेको सभामुख सापकोटाले बीबीसीलाई बताए। “प्रतिनिधि सभाका सदस्यहरूले केही समय स्थगित गर्न राम्रो हुन्छ भनेर सुझाव दिनुभएको थियो। सबै तिरबाट यस्तै सुझाव आइरहेको थियो। विश्वव्यापी रुपमा पनि यो महामारीकै रुपमा आएको हुनाले चैत ७ गतेसम्म स्थगित गरेका छौँ।” एक सातापछि अवस्था हेरेर थप निर्णय गरिने उनले बताए।
बुटवलमा कोरोना संक्रमणको आशंकामा एक युवक अस्पताल भर्ना
बुटवलः कोरोना भाइरस संक्रमणको आशंकामा बुटवलमा एक जना अस्पताल भर्ना भएका छन् । २१ वर्षीय एक युवकलाई बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना गरिएको अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिए । अस्पतालका अनुसार ती युवामा कोरोना भाइरसको संक्रमणका कारण देखिने लक्षणसँग मिल्दाजुल्दा लक्षणहरु देखिएका छन् । ‘तर कोरोना नै हो कि होइन भनेर पूर्ण परीक्षण गर्न बाँकी छ’ डा. थापाले भने, ‘भोलि नमूना परीक्षणका लागि काठमाडौं पठाउँदैछौं ।’
भारतीय कदमले नेपालमा आपूर्ति र अवातजावतलाई असर गर्दैनः राजदूत आचार्य
काठमाडौंः कोरोना भाइरसको त्रासबीच भारतले आफ्नो सीमा नाकामा थालेको कडाइको असर नेपालको दैनिक उपभोग्य वस्तुमा नपर्ने दिल्लीस्थित नेपाली राजदूतले बताएले बताएको छ । यसैबीच काठमाडौंस्थित भारतीय दूतावासले पनि भारतीय यात्रा प्रतिबन्धको असर नेपाली नागरिकमा नपर्ने स्पष्ट पारेको छ। भारतमा ७३ जनामा कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि भएपछि नेपालसहितका सीमा नाकामा मानिसको यात्रामा थप कडाइ गरिने त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको थियो । त्यसलगत्तै नेपाली अधिकारीले आपूर्तिबारे चिन्ता गर्नुपर्ने अवस्था नरहेको बताएका हुन्। भारतले कोरोना भाइरस फैलिन नदिन आफ्नो सिमानामा थप कडाइ गर्ने बताएपछि भूपरिवेष्टित नेपालमा दैनिक उपभोग्य सरसामानको आपूर्तिमा पनि समस्या हुनसक्ने हो कि भन्ने चिन्ता व्यक्त हुन थालेका छन्। तर दिल्लीस्थित नेपालका राजदूत निलाम्बर आचार्यले भारतको बाटो हुँदै नेपालमा आएका पेट्रोलियम पदार्थ एलपी ग्यास र अन्य दैनिक उपभोग्य वस्तुको आपूर्तिमा कुनै समस्या नहुने बताएका छन्। उनी भन्छन्, “आपूर्तिमा समस्या हुने भन्ने आशङ्का सत्य होइन। नेपालको आवश्यकता अनुसार आपूर्ति भइरहेका वस्तुहरू बन्द नहुने ढङ्गले नै अवस्था अघि बढ्छ। भारतसँग औषधीको आपूर्ति नेपालका लागि सहज बनाउने भनेर समझदारी नै भइसकेको छ।” उनले नेपालीहरूलाई भारत यात्रा गर्दा नाकामा असहज हुने कुनै किसिमको व्यवस्था नहुने पनि बताए। आफ्नो पछिल्लो निर्णय जनस्वास्थ्य व्यवस्थापन र सुरक्षाका लागि चालिएको भन्दै त्यसले हवाई वा स्थलमार्गबाट हुने नेपालीहरूको नियमित यात्रामा कुनै प्रभाव नपार्ने भारतीय दूतावासले जनाएको छ। भारतीय दूतावासले सबै सीमा विन्दुमा जाँच बढाइने र कोभिड-१९ को सङ्क्रमणको लक्षण देखिएका कुनै पनि भारतीय, नेपाली वा तेस्रो देशका नागरिकलाई आवश्यक परे क्वारन्टीनमा राख्न सकिने उल्लेख गरिएको छ। केही अप्ठयारो परे नेपालले भारतसँग कुरा गर्ने पनि राजदूत आचार्यले बीबीसीलाई बताए। –बीबीसी न्यूज नेपाली
चीनबाट सामान आउन सुरु, अब कुनै सामान नरोकिने
काठमाडौंः कोरोना भाइरस (कोभिड–१९) का कारण चीनमा रोकिएका सामान नेपालमा सहज रुपमा आउन सुरु भएको छ । नेपाल औषधि उत्पादक संघका पूर्वअध्यक्ष दीपकप्रसाद दाहालले केही सयम रोकिएका सामान सामान्य रुपमा अहिले आइरहेको जानकारी दिए । उनका अनुसार केही हप्तादेखि चीनमा रोकिएका व्यवसायीका सामान भारतको कोलकाता हुँदै नेपाल आउन सुरु गरेको हो । औषधि बनाउने कच्चा प्रदार्थ र औषधि सहज रुपमा आइरहेको जानकारी दिँदै व्यवसायीहरूले सामान लोड गरिरहेको पूर्वअध्यक्ष दाहालले जानकारी दिए । चीनमा विचमा कोरोनाको कारण त्यहाँका उद्योग बन्द भएको र बाहिर सामान नपठाएको जानकारी दिँदै अब कुनै सामान आफूहरुले नरोक्ने त्यहाँका उद्योगी व्यवसायीहरुले जानकारी दिएको उनले बताए । चीनमा पनि बन्द भएका उद्योग कलकारखाना लगायत मानिसको आवतजावत सामान्य हुन थालेकोले अब कुनै पनि सामान आयातमा कुनै समस्या नहुने पूर्वअध्यक्ष दाहालले जानकारी दिए । गोरखापत्र अनलाइनबाट
घुस प्रकरणमा जोडिएपछि नर्सिङ काउन्सिलकी रजिष्टार घिमिरेले गरिन् खण्डन (विज्ञप्तिसहित)
काठमाडौंः तीन लाख घुस प्रकरणमा मुछिएपछि नेपाल नर्सिङ परिषद्की रजिष्टार बिन्दा घिमिरेले त्यसको खण्डन गरेकी छन् । उनले बिहीवार विज्ञप्ति जारी गर्दै परिषद् र परिषद्का सदस्यको नाम लिएर बदनाम गराउनेलाई कडा कारवाही गर्न मागसमेत गरेकी छन् । परिषद्ले सञ्चालन गर्ने परीक्षा पूर्णत वैज्ञानिक, निष्पक्ष र पारदर्शी हुने उनले स्पष्ट पारेकी छन् । के हो घटना ? घिमिरेको नाम तीन लाख घुस प्रकरणमा मुछिएको समाचार केही अनलाइन पोर्टलमा आएका थिए । तर, घुसको कुरा घिमिरेले भने गरेकी हैनन् । नेपाली कांग्रेसको कोटामा चुनाव लडेर परिषद्को सदस्यमा विजयी भएकी तथा हाल भ्रष्टाचार विरोधी अभियानमा सक्रिय जिता बरालको फेसवुक च्याटमार्फत विद्यार्थीसँग घुस मागरिएको छ र त्यसमा घिमिरेको नाम जोडिएको हो । उक्त च्याटअनुसार नेपाल नर्सिङ काउन्सिलको लाइसेन्स परीक्षामा उत्तीर्ण गराइदिने भन्दै जिताले एक स्टाफ नर्ससँग तीन लाख रुपैयाँ माग गरेकी छन् । जसमध्ये दुई लाख ५० हजार रुपैयाँ विद्यार्थीले पठाइसकेकी छन् । बाँकी ५० हजार रुपैयाँ परीक्षाफल प्रकाशित भएपछि उठाइदिने दुवै पक्षबीच सहमति भएको देखिन्छ । च्याटमा जिताले नै योगेश पत्नी विन्दासँगको सम्बन्ध राम्रो भएको बताएकी छन् । तीन लाखमध्ये एक लाख ५० हजार रूपैयाँ काउन्सिलकी रजिष्ट्रार विन्दाले खाने र बाँकी पनि अरूले बाँडेर खानुपर्ने जिताले च्याटमा उल्लेख गरेको देखिएको छ । घुसको वार्गेनिङ गरेको मेसेज च्याट पनि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । ‘फेक आइडी’ सार्वजनिक च्याटअनुसार घुसको वार्गेनिङ जिता बरालको फेसबुक आइडीबाट भएको देखिन्छ । तर, जिताले भने आफ्नो ‘फेक आइडी’ बनाएर चरित्रहत्या गर्ने प्रयास गरेको बताएको विज्ञप्तिमा भनिएको छ । त्यसविरुद्व जिताले प्रहरीमा मुद्दा दर्ता गरिसकेको विज्ञप्तिमार्फत जनाइएको छ । ‘षड्यन्त्र र खुराफातप्रति सचेत’ नेपाल नर्सिङ परिषद्की रजिष्टार बिन्दा घिमिले मुछिएपछि पर्यटनमन्त्री योगेश भट्टराईकी श्रीमती हुन् । त्यसविषयया भट्टराईले बिहीवार मध्यान्न ट्वीट गर्दै मुख खोलेका थिए । ‘कुनै गल्ती गरिएको छैन र गरिने पनि छैन । सम्बन्धित निकायले आफ्नो धारणा सार्वजनिक गर्नेछ’, उक्त विषयमा ट्वीट गर्दै मन्त्री भट्टराईले भनेका थिए, ‘षड्यन्त्र र खुराफातप्रति हामी सचेत छौ । कोही पनि भ्रममा नपर्नु होला, चिन्ता नलिनुहोला ।’
गौतमबुद्ध विमानस्थलः पूर्णरुपमा सञ्चालन गर्ने योजना छ महिना लम्बिने
काठमाडौंः भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक संरचना निर्माण लगभग सकिएको छ । हालको अवधिमा करिब ९० प्रतिशत भौतिक प्रगति रहेको यो विमानस्थल सन्निकट सञ्चालनको अवस्थामा रहे पनि (कोभिड–१९) को विश्वव्यापी प्रकोपका कारण आयोजनालाई असर परेको छ । अबको छ महिनाभित्र विमानस्थल पूर्णरुपमा सञ्चालन गर्ने पूर्वनिर्धारित योजना अझै कम्तीमा छ महिना लम्बिने आयोजनाका अधिकारी बताउँछन् । यही हिसाबले गौतमबुद्ध विमानस्थल अर्को अङ्ग्रेजी वर्ष अर्थात् सन् २०२१ को शुरुआतबाट मात्रै सञ्चालनमा आउने नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणका निर्देशक प्रदीप अधिकारीले भौतिक संरचना तयार भइसकेको गौतमबुद्ध विमानस्थल कोरानाको प्रभावले सञ्चालन अवधि केही लम्बिने अवस्थामा रहेको बताए । ‘भौतिक संरचना निर्माण भइसके पनि विमानस्थलको प्राविधिक काम धेरै बाँकी छ, कतिपय उपकरण आउन सकेका छैनन् त्यसैले आयोजना झण्डै एक वर्ष ढिलो हुने स्थिति रहन्छ, त्यो भनेको अर्को वर्षबाट विमानस्थल व्यावसायिकरुपमा सञ्चालनमा आउनेछ’, उनले भने । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको यो विमानस्थल रुग्ण अवस्थामा पुगेर चाँडो प्रगति हासिल गरेको आयोजना हो । सन् २०१७ डिसेम्बरभित्र निर्माण सक्नेगरी सन् २०१५ को शुरुमा उद्घाटन भएको विमानस्थलको काम बीचमा ठेकेदार कम्पनीको लापरवाहीले अवरोध भएको थियो । पछि थपिएको दुई वर्षको अवधिमा आयोजनाको काम उल्लेख्यरुपमा प्रगति भएको थियो । निर्देशक अधिकारीका अनुसार अहिले यो विमानस्थलको ९० प्रतिशत काम सकिएको छ । अब मात्रै विमानस्थलको टर्मिनल भवनको फिनिसिङको काम बाँकी छ । टर्मिनलभित्र उपकरण जडानको काम बाँकी छ । व्यागेज ह्याण्डलिङ, यात्रु सुरक्षा परीक्षण मेसिन, एसीलगायत उपकरण जडानको प्रक्रियामा छ । प्राविधिक उपकरण जडानलगायतका बाँकी काम पनि धमाधम भइरहेको छ । कोरोनाकै प्रभावले गौतमबुद्ध विमानस्थललाई त्यति धेरै असर नगर्ने निर्देशक अधिकारीको भनाइ छ । उनले भने, ‘गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको अवस्था राम्रो छ, अन्य आयोजना जस्तो ढिलो हुने अवस्था छैन हामी पूर्ण तयारीका साथ लागेका छौँ ।’ विमानस्थल चिनियाँ निर्माण कम्पनी नर्थवेस्ट सिभिल एभिएसन कन्स्ट्रक्सन ग्रुपले निर्माण गरिरहेको छ । एशियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भइरहेको यो आयोजनाका लागि दुवै चरणमा गरी रु सात अर्ब ३२ करोड हाराहारी खर्च हुने प्राधिकरणले जनाएको छ । आयोजनामा चिनियाँ कामदार केही समय क्वारेन्टाइनमा बस्नुपर्ने भएकाले काममा तत्कालका लागि केही अवरोध सिर्जना भएको निर्देशक अधिकारीको भनाइ थियो । निर्देशक अधिकारीले टर्मिनल भवनमा जडान हुने उपकरणका लागि आयोजनाका अधिकारीले फ्याक्ट्रीको स्थलगत निरीक्षण गर्ने (एफएटी) काम रोकिएको बताए । यी उपकरण चीनबाट ल्याउनुपर्नेछ । अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको विश्वव्यापी मापदण्डअनुरुप विमानस्थल सञ्चालन योग्य भएको छ महिना अगाडि नै अन्तर्राष्ट्रिय वायु सेवा प्रदायकलाई जानकारी गराउनुपर्ने हुन्छ । निर्माणका हिसाबले छ महिनामा सबै काम सकिए पनि विमानस्थल व्यावसायिक सञ्चालनमा आउन अर्को छ महिना अर्थात् एक वर्षको अवधि लाग्नेछ । पछिल्लो पटक सन् २०२० को मार्च महिनासम्मका लागि विमानस्थलको निर्माण अवधि थपिएको थियो । प्राविधिक कारण ढिलाइ हुने खतरामा रहेको उक्त आयोजनालाई कोरोनाको सन्त्रासले थप विलम्ब हुने भएको हो । सो विमानस्थल सञ्चालन तयारीका लागि प्राधिकरणले निर्देशक प्रतावबाबु तिवारीको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । उक्त कार्यदलले विमानस्थल सञ्चालनका लागि गर्नुपर्ने कामबारे सुझावसहितको प्रतिवेदन हालै तालुकदार संस्कृति, पर्यटन मन्त्रालय र प्राधिकरणलाई बुझाएको थियो । विमानस्थल निर्माणमा ११४ चिनियाँ कामदार छन् । यीमध्ये केही चीनतिरै छन भने नेपाल आएका छ जना कामदार पनि अहिले क्वारेनटाइनमा छन् । यता गौतमबुद्ध विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीले अबको दुई महिनाभित्र विमानस्थल सञ्चालनको भौतिक संरचना निर्माण सक्ने गरी काम भइरहेको जानकारी दिए । अबको मुख्य काम भनेको टर्मिनल भवनभित्र उपकरण जडान कार्य हो । यसका लागि विशेष प्राविधिक जनशक्ति आवश्यक हुन्छ । ‘गौतमबुद्ध विमानस्थलको करिब ९० प्रतिशत काम सकिएको छ, यतिखेर चिनियाँ कामदार आवतजावत गर्नुपर्ने अवस्थामा कोरोनाको त्रासले उनीहरु अड्किएका छन् आएका पनि केही क्वारेन्टाइनमा बसेकाले आयोजनाको काममा असर पर्ने देखिन्छ’, आयोजना प्रमुख अधिकारीले भने । कूल ४५ मिटर चौडाइ र तीन हजार मिटर लामो धावनमार्गको यो विमानस्थललाई व्यावसायिक उडान सञ्चालन गर्ने र हालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको चाप न्यूनीकरण गर्न सहयोग पुग्ने प्राधिकरणको योजना छ । रासस
विद्युतमा नयाँ महसुल प्रस्तावः २० युनिटसम्म खपत गर्नेलाई ३० रूपैयाँमा विद्युत
काठमाडौंः नेपाल विद्युत् प्राधिकरणले असाध्यै कम विद्युत् उपभोग गर्ने ग्राहकलाई सुविधा दिने लक्ष्यसहितको नयाँ महसुल प्रस्ताव गरेको छ । उक्त महसुल दरलाई सार्वजनिक सुनुवाइमार्फत कार्यान्वयनमा ल्याउने गरी विद्युत् नियमन आयोगले आम सर्वसाधारणलाई आज जानकारी गराएको छ । प्राधिकरणले तय गरेको महसुललाई आयोगले स्वीकृत गरेपछि कार्यान्वयनमा ल्याउन पाउने कानूनी प्रबन्ध रहेको छ । प्राधिकरण सञ्चालक समितिले स्वीकृत गरी गत माघ १७ गते आयोगसमक्ष नयाँ महसुल दर बुझाएको थियो । सोहीअनुसार आयोगले आगामी चैत १४, १६ र १७ गते सार्वजनिक सुनुवाइ गर्ने भएको छ । आयोगले सार्वजनिक सुनुवाइमा सहभागी हुन सबै सरोकार भएका पक्षलाई आग्रह गरेको छ । सार्वजनिक सुनुवाइ फेसबुक, युट्यूब जस्ता सामाजिक सञ्जालमा समेत प्रत्यक्ष प्रसारण गरिने भएको छ । प्राधिकरणले सबैभन्दा कम अर्थात् २० युनिटसम्म विद्युत् खपत गर्ने ग्राहकलाई रु ३० मा विद्युत् उपलब्ध गराउने प्रस्ताव गरेको छ । पाँच एम्यिरमा विद्युत् लिने ग्राहकले बढीमा रु ३५ महसुल तिरे पुग्नेछ । यस्तै १५ एम्यिरमा विद्युत् लिनेले न्यूनतम शुल्क रु ५०, ३० एम्पियरमा विद्युत् लिनेले रु ७५ र ५० एम्पियरमा रु १२५ न्यूनतम महसुल लिने प्रस्ताव गरिएको छ । तल्ला र साना ग्राहकलाई बढीभन्दा बढी सुविधा दिने लक्ष्यसहित प्राधिकरणले नयाँ महसुल प्रस्ताव गरेको हो । यस्तै २१ युनिटदेखि ३० युनिटसम्म पाँच एम्पियरमा विद्युत् लिनेले न्यूनतम रु ५०, १५ एम्पियरमा रु ७५, ३० एम्यिपरमा रु १०० र ६० एम्पियरमा रु १५० न्यूनतम महसुल तिर्नुपर्नेछ । यसैगरी ३१ देखि ५० सम्म न्यूनतम रु ७५, ५१ देखि १५१ युनिटसम्म रु १००, १५१ युनिटदेखि २५० युनिटसम्म रु १२५, २५१ युनिटदेखि ४०० सम्म न्यूनतम रु १५० महसुल तिरे हुनेछ । कूल ४०० युनिटभन्दामाथि न्यूनतम रु १७५ महसुल तिर्दा हुनेछ । त्यसमा केही सेवा शुल्क भने थप हुन सक्नेछ । प्राधिकरणको प्रस्तावअनुसार ४०० भोल्ट बराबरको विद्युत् लिनेले भने न्यूनतम रु एक हजार १०० देखि रु एक हजार ८०० सम्म तिर्नुपर्नेछ । प्राधिकरणले औद्योगिक ग्राहकमा पनि ग्रामीण तथा घरेलु उद्योग र साना उद्योगको फरकफरक महसुल दर प्रस्ताव गरेको छ । व्यापारिक, गैर व्यापारिक, सिँचाइ, खानेपानी, यातायातका लागि चार्जिङ स्टेशनसमेतको महसुल दर प्रस्ताव गरेको छ । मन्दिर, सडकबत्ती, अस्थायी कनेक्सन, गैर गार्हस्थ्य र मनोरञ्जन व्यवसायको समेत छुट्टाछुट्टै महसुल दर तय गरेको छ । त्यसमा पनि वैशाखदेखि मङ्सिरसम्म र पुसदेखि चैतसम्मको पनि फरकफरक समयको फरकफरक महसुल दर प्रस्ताव गरिएको छ । वर्षाको समयमा बढी विद्युत् खपत गराउन सोही खालको र हिउँदको समयमा फरक खालको महसुल दर प्रस्ताव गरिएको छ । प्राधिकरणको हाल कूल ३९ लाख नौ हजार ४६० ग्राहक रहेका छन् । हाल कूल सात अर्ब ३८ करोड ६५ लाख ५८ हजार किलोवाट घण्टा विद्युत् खपत हुने गरेको छ । प्राधिकरणका सञ्चालक समितिका अध्यक्षसमेत रहनुभएका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले कम विद्युत् उपभोग गर्ने ग्राहकलाई ध्यानमा राखेर महसुल दर प्रस्ताव गर्ने बताउँदै आएका थिए । यस्तै विद्युत् खपत बढाउने लक्ष्यका साथ महसुलमा समेत केही छुट दिने प्रस्ताव गरिएको छ । विद्युतीय सवारी चार्जमा नयाँ महसुल सरकारले विद्युतीय सवारी साधनको प्रयोगलाई बढावा दिने लक्ष्यका साथ रातिको समयमा सवारी साधन चार्ज गर्दा न्यूनतम महसुल लिने प्रस्ताव गरेको छ । त्यसो गर्दा न्यूनतम शुल्कमा नै विद्युतीय सवारी चार्ज गर्न सकिने र विद्युत् खपतसमेत बढ्ने विश्वास लिइएको छ । सार्वजनिक यातायातका लागि राति ११ बजेदेखि बिहान ५ बजेसम्म प्रतियुनिट चार रुपैयाँ ४५ पैसा महसुल लाग्नेछ । प्राधिकरणले तय गरेको यो महसुल सबैभन्दा सस्तो हो । तोकिएको महसुलमा चार्जिङ स्टेशन सञ्चालन गर्नेले थप २० प्रतिशतसम्म मुनाफा लिन पाउने व्यवस्था गरिएको छ । बढी विद्युत् माग हुने साँझ ५ बजेदेखि राति ११ बजेसम्म प्रतियुनिट आठ रुपैयाँ ४० पैसा महसुल तिर्नुपर्नेछ । यो सुविधा ३३ केभी भोल्टजका लागि हो । सोही भोल्टेजमा राति ११ बजेदेखि बिहान ५ बजेसम्म पाँच रुपैयाँ पाँच पैसा महसुल लाग्ने गरी महसुल प्रस्ताव गरिएको छ । प्राधिकरणले विभिन्न ११ समूहका ग्राहकको वर्गीकरण गरेको छ । त्यसमा घरेलु, गैर व्यापारिक, व्यापारिक, औद्योगिक, पानी वितरण, सिँचाइ, सडक बत्ती, अस्थायी, यातायात, मन्दिर, गैर घरेलु, मनोरञ्जन, सामुदायिक वितरण र निर्यातका विभिन्न शुल्क तय गरेको छ । सवारी साधनले प्रयोग गर्ने पेट्रोलियम पदार्थमा मात्रै ठूलो मात्रामा आर्थिक स्रोत विदेशिएकाले त्यसलाई रोक्न विद्युतीय सवारी साधनको प्रयोगलाई बढवा दिन लागिएको हो । प्राधिकरण आफैँले काठमाडौँ राजधानी र प्रमुख राजमार्गमा ५० चार्जिङ स्टेशन निर्माण गर्ने लक्ष्यका साथ विश्वव्यापी बोलपत्र गरिसकेको छ । निजी क्षेत्रबाट पनि हालसम्म ६० वटा चार्जिङ स्टेशन निर्माण भइसकेका छन् । महसुल स्वीकृत नहुँदा निजी क्षेत्रका त्यस्ता स्टेशन व्यावसायिकरूपमा सञ्चालनमा आउन सकेका थिएनन् । प्राधिकरणको प्रस्तावलाई आयोगले स्वीकृत गरेर लागू गरेपछि विद्युतीय सवारी साधनको प्रयोग बढ्ने विश्वास लिइएको छ । रासस

