एक लाख नगद र लागुऔषधसहित तीन पक्राउ
सुर्खेतः जिल्ला प्रहरी कार्यालय सुर्खेतले रु एक लाख नगद र लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–९ लाटीकोइली सुर्खेतका शारदा महतारा र विकास मानन्धर रहेका छन् ।
त्यस्तै मानन्धरकै साथै सोही नगरपालिका–३ का सुनिल थारुसमेत तीनै जनालाई आइतबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी निरीक्षक गोपाल रायमाझीले जानकारी दिए ।
झोला बोकेकी महतारालाई शङ्का मानेर प्रहरीले जाँच गर्दा झोलामा लुकाइछिपाई राखेको अवस्थामा १७ ग्राम १०० मिलीग्राम ब्राउनसुगर जस्तो कालो धुलो भेटिएको हो । त्यसका साथै नगद रु एक लाख १२ हजार ९४५ र कालो रङको एक थान डिजिटल तराजु फेला पारेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीको नियन्त्रणमा परेकी ती महिलालाई तत्काल सोधपुछ गर्दा विकास मानन्धरको नाम खोलेको र मानन्धरलाई जाँच गर्दा उनको साथबाट पनि १२० मिलीग्राम ब्राउनसुगरजस्तो कालो धुलो बरामद गरिएको उनले बताए ।
महतारा, मानन्धर र उनको साथी सुनिल थारूसहितलाई पक्राउ गरी तीनै जनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
धार्चुलामा ५ सय नेपाली अलपत्र, नेपाल आउन नपाएपछि नाराबाजी
दार्चुलाः लकडाउन र सीमा बन्दका कारण दार्चुलापारी धार्चुलामा करिब पाँच सय नेपाली अलपत्र परेका छन् । लकडाउन र सीमा बन्दका नेपाल–भारत जोड्ने महाकाली पुलको गेट नखोलिएपछि भारतका विभिन्न ठाउँमा मजदुरी गरेर फर्किएका उनीहरू अलपत्र परेका हुन् । नेपाल आउन नपाएपछि उनीहरूले सरकारविरुद्ध नाराबाजी गरेका छन् । दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले सबैलाई राख्न सदरमुकाममा क्वारेन्टाइन नभएका कारण समस्या भएको बताए । उनका अनुसार सरकारले पनि अलपत्र नेपालीलाई ल्याउनका लागि पुल खुला गर्न अनुमति दिएको छैन ।
कस्तो रहला आजको मौसम, कस्तो छ आगामी ३ दिनको मौसम पूर्वानुमान ?
काठमाडौंः देशको पहाडी भू–भाग तथा पुर्वी भू–भागमा आँशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार सोमबार राति देशको पश्चिमी पहाडी भू–भागमा आँशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा हुने जनाएको छ । हाल देशको पश्चिमी पहाडी भू–भागमा आँशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ । आगामी तीन दिनको मौसम पूर्वानुमान: चैत्र १७ गते (सोमबार) दिउँसोः देशको पहाडी भू-भाग तथा पुर्वी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा हुने देखिन्छ। रातीः देशको पश्चिमी पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा हुने देखिन्छ। चैत्र १८ गते (मंगलबार) दिउँसोः देशको पश्चिमी पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा हुने देखिन्छ। रातीः देशको पश्चिमी भू-भागमा सामान्य बदली रहने र मध्य र पुर्वका पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा हुने देखिन्छ। पश्चिमी भू-भागका थोरै स्थानहरुमा र मध्य र पुर्वका पहाडी भू-भागका एक दुइ स्थानमा मेघ गर्जन/हावाहुरि सहित बर्षा हुन सक्ने देखीएको छ। हिमाली भू-भागका केहि स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ | चैत्र १९ गते (बुधबार) दिउँसोः देशभर आँशिक देखि सामान्य बदली रही पश्चिमी पहाडी भू-भागका एक / दुइ स्थानमा र मध्य र पुर्वका थोरै स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ | हिमाली भू-भागका केहि स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ | रातीः देशभर आँशिक देखि सामान्य बदली रही पहाडी भू-भागका एक / दुइ स्थानमा मेघ गर्जन/हावाहुरि सहित वर्षाको सम्भावना रहेको छ | हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ |
के बुटवल कोरोना अस्पतालमा मृत्यु भएका युवक संक्रमित थिए ?
काठमाडौंः रूपन्देहीको बुटवल कोरोना विशेष (अस्थायी) अस्पतालमा उपचार गर्दागर्दै मृत्यु भएका युवकमा कोरोना भाइरसको संक्रमण थियो कि थिएन भन्ने कुरा आज (सोमबार) पुष्टि हुने भएको छ । उनको स्वाब (र्याल) परीक्षण गरिरहेको काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले आज नतिजा सार्वजनिक गर्ने तयारी गरेको हो । प्रयोगशालाकी निर्देशक डाक्टर रुना झाले ती युवकको नुमना परीक्षणको क्रममा रहेको र आज नतिजा निस्किने बताइन् । चैत १३ देखि अस्पतालको आइसोलेसनमा उपचाररत ती ३४ वर्षीय युवकको आइतबार दिउँसो मृत्यु भएको हो । उनी दुबईबाट चैत ६ गते नेपाल आएका थिए । उनका अनुसार उनलाई अत्यधिक ज्वरो र खोकी थियो ।
क्वारेन्टनाइनको नियम तोड्दा ३ वर्ष जेल !
काठमाडौंः नागरिकको ज्यान जोगाउन सरकारले लकडाउन गरेको भएपनि यसको उल्लंघन गर्दा तीन जनालाई तीन वर्षको जेल सजाय सुनाइएको छ । सर्बियामा सेल्फ क्वारेन्टाइनको नियम सही ढंगले पालना नगरेपछि उक्त सजाय दिइएको हो । सर्बियामा अहिलेसम्म ५२८ जना संक्रमित भएका छन् भने ८ जनाको मृत्यु भएको छ । स्थानीय समाचारपत्र जुजने वेष्टीका अनुसार, यी तीन जना नागरिक विदेशबाट स्वदेश फर्केका थिए । उनीहरुलाई कोरोना विरुद्ध जारी गरिएको नियम तथा प्रोटोकलका आधारमा १४ देखि २८ दिन सेल्फ आइसोलेसनमा बस्नु पथ्र्यो । तर यी तीनजनाले फरक फरक ठाउँमा नियम उल्लंघन गरेको पाइयो । त्यसपछि उनीहरुलाई गिरफ्तार गरिएको थियो । अहिलेसम्म यस्तै अपराधका लागि ११ जनालाई हिरासतमा राखिएको छ । यी तीनजनामध्ये एकजनालाई तीन वर्षको सजाय र अरु दुई जनालाई दुई र अढाई वर्षको सजाय सुनाइएको छ ।
चिनियाँ राष्ट्रपतिसँग फोनवार्ता पछि ट्रम्पद्वारा सी जिन्पिङको प्रशंसा
चिनियाँ राष्ट्रपति सी जिन्पिङले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई शुक्रवार भएको टेलिफोनवार्तामा कोरोनाभाइरस महामारीसँग जुझ्न एकजुट हुनैपर्ने बताएका छन्। ट्रम्पले ‘चिनियाँ भाइरस’ भनेपछि पछिल्ला साताहरूमा यी दुई देशबीच बारम्बार चर्काचर्की परेको थियो। तर फोनवार्तामा राष्ट्रपति सीले चीन अमेरिकासँग मिलेर काम गर्न चाहेको बताए। उनले बेइजिङका कदमहरू खुला र पारदर्शी भएको समेत बताए। ट्रम्पले के भने ? फोनवार्ता पछिको एउटा ट्वीटमा राष्ट्रपति ट्रम्पले ुनिकै सम्मानु लेख्दै यस रोगबारे चीनसँग बलियो बुझाइ रहेको उल्लेख गरे। बेइजिङले कोरोनाभाइरसको महामारीसँग जुझिरहेका देशहरूलाई सघाउने विषयमा नेतृत्वदायी भूमिका खेलिरहेको छ। चीनद्वारा विदेशीलाई प्रवेशमा प्रतिबन्ध अमेरिकामा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या चीनकोभन्दा पनि धेरै उसले अहिलेसम्म झण्डै एक सय देशमा चिकित्सक र स्वास्थ्य सामग्री पठाइसकेको छ। उता विश्व नेताहरूले भाइरसको प्रभावसँग जुझ्ने कदमहरू घोषणा गरिरहँदा एशियाका शेअर बजारमा आशाका सङ्केतहरू देखिएका छन्। अर्थतन्त्र जोगाउने प्रयास बिहीवार मुख्य अमेरिकी सेअर बजारमा मन्दी छाउन थालेयताकै लगातार तीन दिनको उकालो लाग्ने राम्रो क्रम देखिएको थियो। शनिवार अन्त्यसम्ममा अमेरिकी संसद् कङ्ग्रेसले झण्डै २० खर्ब डलरको एउटा विशाल आर्थिक प्याकेज पारित हुने आशाबीच सेअर बजारमा केही आशालाग्दा छनक देखिन थालेका हुन्। यसैबीच विश्वका मुख्य अर्थतन्त्र भएका देशहरूको समूह जी ट्वान्टीले समेत बिहीवार नै विश्व अर्थतन्त्रमा ५० खर्ब डलर प्रवाह गर्ने वाचा गरेको थियो। युरोपेली सङ्घ ९ईयू० र १९ देशका नेताहरूले एउटा भर्चुअल सम्मेलन गर्दै त्यस्तो वाचा गरेका थिए। साउदी अरबले अध्यक्षता गरेको उक्त सम्मेलनअघि संयुक्त राष्ट्रसङ्घले दशौँ लाख शरणार्थी र घरबारविहीन बनेका मानिसहरूमाथि विश्वले ध्यान दिनुपर्ने बताएको थियो। बिबिसी नेपालीबाट साभार
सेती प्रादेशिक अस्पतालः ११ को उपचार हुँदै, १० जनाको रिपोर्ट आउन बाँकी, ८ नेगेटिभ
कैलालीः कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएका चौथो नेपाली युवकको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको ती युवकको अवस्था सामान्य रहेको र उपचारमा कुनै कमी हुन नदिएको अस्पतालले जनाएको हो । सेती अस्पतालमा कोरोनाको आशंकामा भर्ना भएका १९ मध्ये ११ जनाको उपचार जारी छ । यस्तै, ८ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् । आइसोलेसनमा भर्ना भएका बाँकी १० जनाको रिपोर्ट आउन बाँकी छ । आज रिपोर्ट आएका मध्ये कोरोना संक्रमण देखिएका ३४ वर्षीय युवक धनगढीका रहेका छन् । उनी केही दिनअघि मात्र दबुईबाट कैलाली आएका आज स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गर्दै जनाएको थियो ।
सीमा बन्द गरेको ५ दिनमा गड्डाचौकी नाकाबाट २ हजार नेपालीकाे आवागमन
महेन्द्रनगरः कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि सरकारले नेपाल–भारत आवागमन रोकेपनि पश्चिमी सिमानाका गड्डाचौकी भएर भित्रिने मानिसको संख्या रोकिन सकेको छैन् । आवागमन बन्द पश्चात पाँच दिनको अवधिमा गड्डाचौकी नाकाबाट एक हजार ८ सय ४२ जना भित्रिएका छन् । सुदूरपश्चिम प्रदेश र भीमदत्त नगरपालिकाले कोरोना भाइरसको स्क्रिनिङका लागि स्थापना गरेको हेल्थ डेस्कका अनुसार नाका भएर स्वदेश फर्किने क्रम रोकिएको छैन् । तथ्याङक अनुसार आवागमन प्रतिबन्धको पहिलो दिन चैत्र १० गते ९ सय ८५, चैत्र ११ गते ५ सय १९, चैत्र १२ गते एक सय २५, चैत्र १३ गते एक सय ९६ र चैत्र १४ गते १७ जनाको चेकजाँच गरिएको छ। गड्डाचौकी नाका भएर भित्रिनेहरुको क्रम नरोकिएको हेल्थ डेस्ककी अनमी निर्मला जोशीले बताइन् । गत सोमबारदेखि सरकारले कोरोना भाइरस (कोभिड–१९) को सम्भावित संक्रमणलाई मध्यनजर गर्दै भारत र चीनसँग जोडिएका सबै नाका एक साताका लागि बन्द गर्ने निर्णय गरेको थियो।
के पत्रिका छुँदा पनि कोरोना भाइरस सर्छ?
तीब्र गतिमा कोरोना भाइरस (कोभिड–१९) फैलिरहेको छ । तर, यो भन्दा पनि तीब्र कतिपय गलत सूचनाहरु तपाईहामी माझ फैलिने गरेका छन् । यस्तै एउटा दावी कोरोना संक्रमण पत्रिकाका माध्यमबाट हुनसक्छ भनेर गरिएको छ । पत्रिका प्रिन्टिङ प्रेसबाट कैयन् मानिसका माध्यमबाट घरमा पुग्ने भएकोले यसमा कोरोना भाइरस हुनसक्ने भन्ने प्रचार गरिएको छ । यो दावीको सच्चाई बुझ्नका लागि बीबीसीले विश्व स्वास्थ्य संगठनसँग सम्पर्क गरेको थियो । विश्व स्वास्थ्य संगठनलाई पठाएको इमेलको जवाफ यस्तो थियोः यदि कुनै कोभिड–१९ बाट संक्रमित व्यक्तिले अखबार छुन्छ भने अखबारमा केही समयका लागि भाइरस आउन सक्छ । यद्यपि अखबारबाट संक्रमण्को खतरा निकै कम छ । किनभने संक्रमण कैयन कारक तत्वमा भर पर्दछ । जस्तो कि तपाईसम्म भाइरस कति मात्रामा पुगेको छ । कुन सतहमा कहिलेसम्म सक्रिय रह्यो साथै वातावरणको पनि यसमा विशेष भूमिका हुन्छ । बीबीसीले यो कुरालाई अझै विस्तामा बुझ्नका लागि भारतको नेशनल सेन्टर फोर डिजिज कन्ट्रोलका निर्देशक डा. सुजित कुमारसँग कुरा गरेको थियो । सुजित कुमारले भने, “अखबारबाट कोरोना संक्रमण फैलिएको कुनै प्रमाण छैन । यदि यसो हुन्थ्यो भने हामी आफैले यसबारेमा जानकारी दिने थियौं होला ।” उनले अगाडि भने, “कोरोना संक्रमणको मुख्य कारण ड्रपलेटका माध्यमले भाइरस फैलिनु हो । यस्तोमा मानिसहरुबाट दूरी बढाउनुस् र हात धुने गर्नुस् । यो मात्रै एउटा उपाय हो । यो भाइरस संसारका लागि नयाँ छ । यसलाई लिएर बिस्तार बिस्तारै नयाँ नयाँ जानकारी अगाडि आइरहेका छन् ।” भारतका सूचना प्रसारण मन्त्री प्रकाश जावेडकरले बुधवारका दिन आयोजित पत्रकार सम्मेलनमा यो कुराको स्पष्टीकरण नै दिए । उनले भने, “आज मेरो घरमा पत्रिका पनि आएन । मैले किन आएनछ भनेर बुझ्दा पेपर छुँदा समेत संक्रमण हुन्छ भन्ने हल्ला फैलिएको रहेछ । सोसाइटीमा पनि यो हल्ला चलेछ । अनि केही मानिसले पत्रिका ल्याउने मानिसलाई ल्याउन दिएनछन् । म तपाईलाई भन्न चाहन्छु, पेपरबाट केही पनि हुन्न । पत्रिकाबाट त सही जानकारी पो पाइन्छ । हो, तपाईले पत्रिका पढेर हात धुन भने नबिर्सिनु होला ।” यद्यपी एम्समा मेडिसिनका सिनियर डाक्टर प्रोफेस नबल बिक्रम भने यो सम्भावना अस्वीकार गर्दैनन् । “कोरोना भाइरस धातुहरुको सतहमा बढी समय टिक्ने गर्दछ । अपेक्षाकृत कपडा या पेपर जस्ता सतहमा टिक्ने समय कम हुन्छ । अहिलेसम्म यस्तो कुनै घटना सार्वजनिक त भएको छैन । तर यसको सम्भावनाबाट पनि अस्वीकार गर्न सकिन्छ । त्यसो त यसको खतरा निकै कम हुने सम्भावना छ ।” बीबीसीले आफ्नो खोजमा पत्रिकाबाट भाइरस फैलिने खतरा निकै कम रहेको पाएको छ । तर डाक्टरहरुको सुझाव के छ भने तपाईले पत्रिका पढिसकेपछि सुरक्षाका दृष्टिले साबुन या एल्कोहल भएको सेनेटाइजरबाट हात भने राम्रोसँग सफा गर्नुस् ।
तत्कालका लागि न्यूनतम आवागमन खुल्ला गर्ने निर्णय
काठमाडौंः कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले तत्कालका लागि न्यूनतम आवागमन खुल्ला गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको बैठकले कोरोना संक्रमण फैलिन नदिन लिएको निर्णय र त्यसले जनजीवनमा पारेको प्रभावबारे समीक्षा गर्दै समितिले तत्कालका लागि न्यूनतम आवागमन खुल्ला गर्ने निर्णय गरेको हो । भारतको कोलाकाताबाट नेपालको भन्सार विन्दुसम्म आएर अड्किएका सामान मुलुक भित्र्याउन, खाद्य सामाग्री बोकेका ढुवानीको सामान रोकिएको भन्सार विन्दुदेखि बजारसम्मको बाटोमा सवारी साधन सञ्चालन गर्न सहजीकरण गर्न, विभिन्न स्थानमा अलपत्र परेका पर्यटकहरुलाई सडकमार्गबाट ल्याउँदा पूर्ण सुरक्षाका साथ ल्याउने र सम्बन्धित देशमा पठाउन प्रयास गर्न तथा कारखाना बन्द भएपछि अप्ठ्यारोमा परेका श्रमिकलाई गन्तव्यसम्म सुरक्षित ढंगले पुर्याउने व्यवस्था मिलाउनका लागि न्यूनतम आवागमन खुल्ला गर्ने निर्णय गरिएको अर्थमन्त्री एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । समितिले कोलकाताबाट नेपालको भन्सारमा विन्दुसम्म आएर अड्किएका सामानहरु आवश्यक कागज बनाई छुटाउनुको साथै ती सामानहरु उपभोक्तासम्म पुर्याउने व्यवस्था मिलाउनका लागि सहजीकरण गर्न व्यवसायीलाई आह्वान गरेको छ । समितिले विदेशमा बेखर्ची भएका विद्यार्थीलाई नेपालबाट पैसा पठाउने व्यवस्था मिलाउन वित्तीय संस्थालाई आग्रह गर्नुको साथै एकैपटक भीडभाड हुने गरि बाहिर ननिस्कन र दुरी कायम गरेर अत्यावश्यक वस्तुको किनमेल गर्न सर्वसाधारणलाई अपिल गरेको छ ।
अलपत्र परेका स्वदेशी र विदेशी नागरिकको उद्धार जारी छः गृह मन्त्रालय
काठमाडौंः विभिन्न क्षेत्रमा अलपत्र परेका व्यक्तिहरुको उद्धार गरी गन्तव्यमा पठाउने कार्य तीब्ररुपमा अघि बढेको गृह मन्त्रालयले जनाएको छ । मुलुकका विभिन्न स्थानमा अलपत्र परेको स्वदेशी र विदेशी नागरिकलाई हवाई वा स्थल सवारीसाधनबाट उद्धार गर्ने कार्य भइरहेको मन्त्रालयले आज एक विज्ञप्तिमार्फत जनाएको छ । मुस्ताङ, कास्की, सोलुखुम्बुलगायतका विभिन्न जिल्लाबाट संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको समन्वयमा हवाई तथा स्थल सवारीसाधनमार्फत बिहीबारदेखि नै उद्धार गरी काठमाडौँ ल्याइएका ३०७ जना विदेशी पर्यटकलाई जर्मनी दूतावासले व्यवस्थापन गरेको कतार एयरवेजको विमानमार्फत आजै पठाइएको छ । विभिन्न निर्माणसम्बन्धी कार्यहरु रोकिएको कारण कामदारको रुपमा कार्य गरिरहेका र हाल अलपत्र परेका नेपाली नागरिकलाई आआफ्नो गृह जिल्लासम्म उद्धार गरी पुर्याइदिन स्थानीय प्रशासन र सुरक्षाकर्मीलाई निर्देशन दिइएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यसैक्रममा हालसम्म रुपन्देही, बाँके, लमजुङ, पर्वत, कास्की, स्याङ्जा, दैलेख, तेह्रथुम लगायतका जिल्लाबाट उद्धार भइसकेको छ भने अन्य जिल्लामा त्यस्ता अलपत्र परेका नागरिकहरु भए उद्धार गर्ने कार्यमा समन्वय गर्न निर्देशन दिइएको छ । फोहरमैला व्यवस्थापन गर्ने कार्य आवश्यक सेवाअन्तर्गत पर्ने भएकाले काठमाडौँ उपत्यकाको फोहर विसर्जन गर्ने स्थल नुवाकोट जिल्लाको ओखरपौवामा केही समस्या देखिएको सन्दर्भमा काठमाडौँ महानगरपालिकाका प्रमुखसमेतको उपस्थितिमा आज छलफल भएको जनाइएको छ । उक्त समस्या समाधानको लागि महानगरपालिकाले स्थानीय तहसँग आवश्यक समन्वय गरी बाधा अवरोध हटाउने र फोहरमैला विसर्जन गर्ने कार्यलाई नियमित गराउनका लागि स्थानीय प्रशासन र सुरक्षा निकाय आवश्यकताअनुसार परिचालन गरिएको मन्त्रालयले जनाएको छ । यसैबीच आजै सुरक्षा निकायका प्रमुखहरुसँग बैठक बसी मालबाहक सवारीसाधनको आवागमनका विषयमा देखिएको द्विविधा अन्त्य गर्न, औषधि, खाद्यवस्तु, पानी, दुध, फलफूल, तरकारी, पशुपक्षी र माछाको दाना, कुखुराको चल्ला ढुवानी गर्ने र फर्केर जाने सवारीसाधनलाई सुचारु गर्ने विषयमा आवश्यक निर्देशन दिइएको मन्त्रालयले जनाएको छ । यस्ता सवारीसाधनले यात्रु ओसारपसार गर्न नपाउने गरी कार्यान्वयन गर्न स्थानीयस्तरमा खटिएका सुरक्षाकर्मीलाई दैनिक रुपमा जानकारी गराउन भनिएको छ । कुनै गुनासो, सल्लाह एवं सुझावहरु भए टोलफ्रि नम्बर ११४९ मा सम्पर्क गर्न मन्त्रालयले सबैमा अनुरोध गरेको छ ।
ज्येष्ठ नागरिकलाई राहतस्वरुप मासिक १० हजार दिइने
काठमाडौंः महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले देशभरका पुनःस्थापना केन्द्र, वृद्धा आश्रममा रहेका ज्येष्ठ नागरिकलाई राहत स्वरुप तीन महिनाका लागि मासिक रु १० हजार प्रदान गर्ने तयारी गरेको छ । विश्वभरी नै महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सम्भावित सङ्क्रमणबाट बच्नका लागि सरकारले लकडाउन गरेको अवस्थामा रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता कम भएका करिब एक हजार ५०० ज्येष्ठ नागरिकलाई उक्त राहत दिने तयारी गरेको हो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले रासससँग कुरा गर्दै भने, “ज्येष्ठ नागरिकको रोगसँग लड्न प्रतिरोधात्मक क्षमता पनि कम हुन्छ, उनीहरुलाई राम्रो खानपानका लागि राहतस्वरुप मासिक रु १० हजार दिने तयारी गरेको हो ।” मन्त्रालयको उक्त प्रस्तावलाई कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले पास गरेपछि काम अघि बढ्ने छ । मन्त्रालयले उक्त भाइरसको सम्भावित जोखिमबाट बच्नका लागि पशुपति वृद्धा आश्रम, खगेन्द्र नवजीवन केन्द्र, मङ्गला सहाना पुनःस्थापना केन्द्रलागयत ठाउँमा र अपाङ्गता भएका व्यक्ति र अनाथलयमा सेनीसाइटार, मास्क, साबुनलगायत सुरक्षासँग सम्बन्धित सामग्री वितरण आवश्यक व्यवस्था मिलाएको छ । “रोगसँग लड्ने क्षमता ज्येष्ठ नागरिकमा कम हुन्छ, अपाङ्गता भएका व्यक्ति, सुत्केरीलाई विशेष व्यवस्था गर्न विशेष मन्त्रालयले आह्वान गरेको छ”, मन्त्री गुरुङले भने, “सम्वेदनशील व्यक्तिलाई घरमा पनि छुटै कोठामा राख्न आग्रह गर्छु, बाहिरबाट गएका व्यक्तिको सम्पमै नआउन र सरसफाइ ध्यान दिन आग्रह गर्छु ।” मन्त्रालयका उपसचित भरतराज शर्माका अनुसार देशभरिको वृद्धाआश्रममा रहेका ज्येष्ठ नागरिकलाई तीन महिनाको राहत उपलब्ध गराउने तयारी भएको र सोही अनुपातमा अपाङ्गता भएका, बालगृहमा बसेका बालबालिका र मानव बेचबिखन परेकालाई राहत उपलब्ध गराउन तथ्याङ्क सङ्कलनको काम भइरहेको छ । मन्त्रालयले महिला तथा बालबालिका विभागमार्फत कोरोना हेल्थ डेक्स सञ्चालन गरिहेको छ भने मन्त्रालयको मोबाइल टोलीले काठमाडौँ, भक्तपुर र ललितपुर सेवा दिइरहेको छ ।
प्रधानमन्त्री ओली डिस्चार्ज
काठमाडौंः बिहीबार राति अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको डिस्चार्ज भएको छ । महाराजगन्जस्थित मनमोहन सेन्टरको आकस्मिक उपचार कक्षमा करिब २० घण्टाको उपचारपछि ओली आज साँझ डिस्चार्ज भएका हुन्। उनका प्रेस संयोजक सूर्य थापाका अनुसार प्रधानमन्त्री ओली पूर्ण स्वास्थ्यलाभ हासिल भएसँगै डिस्चार्ज भएका हुन् । अस्पतालबाट डिस्चार्जपश्चात् प्रधानमन्त्री ओली सरकारी निवास बालुवाटार पुगेका छन्।
पर्सा निकुञ्जमा सेना र तस्करबीच गोली हानाहान, १ जनाको ज्यान गयो
वीरगन्जः पर्सा राष्ट्रिय निकुन्जमा शुक्रबार निकुञ्जको सुरक्षार्थ खटिएका नेपाली सेना र तस्कर समूहबीच गोली हानाहान भएको छ । गोली हानाहानमा एक जनाको ज्यान गएको छ भने सेनाका जमदार मिनबहादुर छन्त्याल गम्भीर घाइते भएका छन् । मृतक तस्करको भने सनाखत हुन सकेको छैन् । निकुञ्जको भित्रि जंगलमा शुक्रबार बिहान साढे ९ बजेतिर बन्दोवस्तीका सामानसहित रहेका वन्यजन्तु चोरी शिकारी गर्ने तस्करहरुको समूह र सेनाबीच गोली हानाहान भएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए । निकुन्जका प्रमुख संरक्षण अधिकृत (वार्डेन) अमिर महर्जनका अनुसार घटनामा घाइते भएका सेनाका जमदार छन्त्याललाई उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं पठाइएको छ । सेनाले एक जना तस्करलाई पक्राउ पनि गरेको छ । पक्राउ पर्नेमा मकवानपुरका मोहनसिंह दोङ रहेका छन् । उनलाई बाराको आधाभारस्थित सेनाको हिरासतमा राखिएको वार्डेन महर्जनले जानकारी दिए । घटनास्थबलाट सेनाले दुई थान बन्दुक, बारुद, धारिलो हतियार लगायतका सामानहरुसमेत बरामद गरेको निकुञ्जले जनाएको छ ।
सातै मुख्यमन्त्रीसँग उपप्रधानमन्त्री पोखरेलको भिडियो कन्फरेन्स
काठमाडौंः उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग ‘भिडियो कन्फरेन्स’मार्फत् कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका विषयमा छलफल सुरु गरेका छन् । कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक पोखरेलले प्रधानमन्त्रीको कार्यालय सिंहदरवारमा शुक्रबार भिडियो कन्फिरेन्समार्फत छलफल गरिरहेका छन्। उनले कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका क्रममा प्रदेशमा देखिएका समस्या र भइरहेका तयारीबारे कुराकानी गर्ने छन् । उनले उच्चस्तरीय समन्वय समितिबाट भएका निर्णय, नीति तथा कार्यक्रमका बारेमा मुख्यमन्त्रीहरुलाई जानकारी र निर्देशन समेत दिनुहुने उपप्रधानमन्त्रीको सचिवालयले जनाएको छ । उच्चस्तरीय समन्वय समितिको बैठक शुक्रबार ५ बजे प्रधानमन्त्री कार्यालयमा बस्ने जनाइएको छ ।
प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न टिचिङमा माधव नेपाल
काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाल प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न त्रिवि शिक्षण अस्पताल पुगेका छन् । स्वास्थ्यमा समस्या देखिएपछि बिहीबार राति महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न नेता नेपाल आज अस्पताल पुगेका हुन्। मुटुको धड्कन बढ्ने समस्या देखिएपछि उनलाई बिहीबार राति नै अस्पताल पुर्याइएको थियो । गत फागुन २१ गते दोस्रो पटक मृगौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओली फागुन ३० गते डिस्चार्ज भएर बालुवाटार फर्किएका थिए।

