प्रधानमन्त्री ओलीले गरे सेनाको प्रशंसा
काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट बच्न हालका दिनमा नेपाली सेनाले खेलेको भूमिकाको प्रशंसा गरेका छन् ।
भक्तपुरको खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा सञ्चालित ५८औँ समूहको अधिकृत क्याडेट तालीम पूरा गर्ने नवआयुक्त अधिकृतलाई पठाएको सन्देशमा उनले भविष्यमा आउन सक्ने विभिन्न किसिमका महामारीको सामना गर्न नेपाली सेना र अन्य सुरक्षा निकायलाई सजग तथा सतर्क रहँदै आपसी समन्वयमा रहन निर्देशन दिएका छन् ।
प्रधानमन्त्री ओलीले भनेका छन्, ‘चीनबाट नेपालीलाई उद्धार गरी ल्याएर भक्तपुरको खरिपाटीमा क्वारेन्टाइनमा राखेर उचित व्यवस्था गर्न नेपाली सेनाले खेलेको भूमिका प्रशंसायोग्य छ, भविष्यमा उत्पन्न हुन सक्ने विविध सुरक्षा खतराको सामना गर्न सबै सुरक्षा निकायले समन्वयमा रहेर काम गर्नुस् ।’
सेनाले सदैव संवैधानिक सरकारको मातहत र निर्देशनमा आफूलाई व्यावसायिक र मर्यादित सङ्गठनका रुपमा स्थापित गर्दै आएको बताउँदै प्रधानमन्त्री ओलीले विपद् व्यवस्थापन, पूर्वाधार विकास, नागरिक सैनिक सम्बन्ध विस्तार र राष्ट्रिय सङ्कटमा जनतासँग सहकार्य गर्दै आएको उल्लेख गरेका छन् ।
प्रधानमन्त्री ओलीले भनेका छन्, ‘सेनाले नेपाल र नेपाली जनताप्रति सदा बफादार रही आफ्नो कार्य गर्दै आएको छ, नेपाली सेना विविध राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जिम्मेवारी पूरा गर्न सक्षम एवं बहुआयामिक सङ्गठनका रुपमा विकसित भइरहेको छ ।’ प्रधानमन्त्रीको उक्त सन्देश समारोहमा पढेर सुनाइएको थियो ।
समारोहमा प्रधान सेनापति पूर्णचन्द्र थापाले नवआयुक्त अधिकृतलाई बधाई ज्ञापन गर्दै आफू र मातहतका जवानको सुरक्षा सुनिश्चित गर्दै राष्ट्र र राष्ट्रवासीको विश्वास र भरोसा माथी खरो रुपमा उत्रिन निर्देशन दिए । कोभिड–१९ को सङ्क्रमणलाई दृष्टिगत गरी सीमित व्यक्तिको उपस्थितिमा सुरक्षात्मक उपाय अपनाई उक्त समारोह गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
विष सेवन गराएर छोराको हत्या, आमाको अवस्था गम्भीर
महोत्तरीः घरायसी विवादका कारण विष सेवन गराई छोराको हत्या गर्ने आमाको अवस्था गम्भीर रहेको छ । मङ्गलबार दिउँसो सोनमा गाउँपालिका–२ की २६ वर्षीया ममतादेवी रामले घरायसी विवादका कारण छोरासहित आफूले विष सेवन गरी आत्महत्या गर्ने प्रयास गरेकी थिइन् । विष सेवनले दुई वर्षीय छोरा राहुलकुमार रामको उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र सम्सीमा मङ्गलबार मृत्यु भएको थियो । त्यस्तै, विष सेवनका कारण ममताको स्वास्थ्य अवस्था गम्भीर भएपछि प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । प्रहरी निरीक्षक प्रकाश रेग्मीका अनुसार महिलाका श्रीमान् घरमै रहँदै आएका र पछिल्लो केही समययता श्रीमान श्रीमतीबीच दिनहुँ घरायसी विषयमा विवाद कायम रहेको समयमा महिलाले तनावमा आएर यस्तो कदम उठाएको देखिएको छ । बालकको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा राखिएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक रेग्मीले जानकारी दिए ।
आइतबारबाट भरी सिलिण्डर ग्यास पाइने
काठमाडौंः आइतबारदेखि भरी ग्यास सिलिण्डर पाइने भएको छ । नेपाल आयल निगमले बुधबार भरी ग्यास बिक्री वितरण गर्ने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बुधबारको बैठकले १४.२ किलोको सिलिण्डर ग्यास बिक्री विरतण खुला गर्ने निर्णय गरेको एलपी ग्यास उद्योग संघका पूर्वअध्यक्ष शिव घिमिरेले जानकारी दिए । निगमले सबै ग्यास उद्योगहरुलाई बिहीबारदेखि नै भरी सिलिण्डर ग्यास भर्न निर्देशन दिएको उनले बताए । बजारमा भएका आधा सिलिण्डर बिक्री सकिएपछि आइतबारबाट मात्रै भरी सिलिण्डर ग्यास बिक्री हुने घिमिरेले बताए । बजारमा खाना पकाउने ग्यासको माग उच्च भएपछि निगमले चैत १२ गते बेलुकी आधा सिलिण्डर ग्यास बिक्री वितरण गर्ने निर्णय गरेको थियो ।
कोरोना संक्रमित भेटिएको भनी अफवाह फैलाउने पक्राउ
कैलालीः कोरोना भाइरस (कोभिड–१९) संक्रमित व्यक्ति भेटिएको भन्दै अफवाह फैलाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत् टीकापुर नगरपालिका–१ ब्लक नम्बर १० मा कोरोना भाइरस सङ्क्रमित व्यक्ति भेटिएको गलत प्रचार गर्ने सोही नगरपालिका–२ का पवनकुमार भट्टराईलाई गएराति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एंव प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताए । आफ्नो फेसबुक आइडीमार्फत ‘कोरोना भाइरसको सङ्क्रमित टीकापुर नगरपालिका–१ ब्लक नं. १० मा भेटियो’ भनी पोष्ट गरेर आम नागरिक माझ सन्त्रास फैलाएको देखिएकाले आवश्यक कानूनी कारवाहीका लागि भट्टराईलाई इलाका प्रहरी कार्यालय टीकापुरले नियन्त्रणमा लिएको उनले बताए । सो सम्बन्धमा थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।
लकडाउनमा ‘पत्रकार’ भन्दै प्रहरीलाई झुक्याउने पक्राउ
तुलिसपुरः ‘लकडाउन’को समयमा ‘पत्रकार हुँ’ भन्दै हिँड्ने १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका–१७ का १८ वर्षीय मेघराज सुनार रहेका छन् । पत्रकार भन्दै बा ८७ प १००६ नम्वरको मोटरसाइकलमा हिँडिरहेका सुनारलाई दाङ प्रहरीले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी सुमित खड्काले बताए । रिपोर्टस क्लब दाङको रिपोर्टर भनि खिमबहादुर डिसीको नाममा रहेको परिचय पत्र देखाएर प्रहरीलाई झुक्याउदै हिँडेका सुनारलाई पक्राउ गरी इप्रका तुलसीपुरमा डीएसपी खड्काले जानकारी दिए । तुलसिपुर–घोराही सडकखण्डको हात्तिखौवाबाट पक्राउ परेका सुनारलाई हिरासतमा राखेर थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
कोरोना राहत कोषमा करिब २ अर्ब जम्मा, कसको कति सहयोग?
काठमाडौंः सरकारले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रण गनृका लागि स्थापना गरेको कोरोना रोकथाम तथा उपचार कोषमा आजसम्म करिब २ अर्ब रुपैयाँ संकलन भएको छ । मंगलबारसम्म कोषमा एक अर्ब ८५ करोड ५८ लाख ३४ हजार ४७ रुपैयाँ जम्मा भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता राजेन्द्र पौडेलले जानकारी दिए । उनका अनुसार मङ्गलबार मात्र कोषमा एक करोड ८० लाख ५३ हजार ४२७ रुपैयाँ जम्मा भएको छ । नेपाल लाइफ इन्स्योरेन्सले एक करोड, लाइफ इन्स्योरेन्सले ५१ लाख, राष्ट्रिय परीक्षा बोर्डले ६ लाख ३५ हजार ४४०, बुढिनन्द नगरपालिकाले दुई लाख ७० हजार ५६५, राजपुर नगरपालिका दाङले दुई लाख ६२ हजार ९९४, नेपाल लेखापढी कानून व्यवसायीले दुई लाख, जिल्ला प्रशासन कार्यालय धनुषाबाट एक लाख ५७ हजार ३८, जनक नन्दिनी गाउँपालिका धनुषाबाट एक लाख ४६ हजार ३१६ र जिल्ला प्रशासन कार्यालय महोत्तरीबाट एक लाख १९ हजार ४९८ रुपैयाँ सहयोग प्राप्त भएको छ। यसैगरी कोषमा नाम नामेसी नखुलेका तथा एक लाखभन्दा कम सहयोग गर्ने विभिन्न व्यक्तिरसंस्थाबाट ११ लाख ६९ हजार ५७५ रुपैयाँ सङ्कलन भएको छ। कोषमा गत सोमबारसम्म एक अर्ब ८३ करोड ७७ लाख ८० हजार ६२० रुपैयाँ सङ्कलन भएको थियो। सरकारले कोरोना भाइरसको रोकथामका लागि कोषमा रकम जम्मा गर्न आह्वान गरेपछि कोषमा रकम जम्मा हुने क्रम बढेको हो।
भारतबाट फर्किएर घरमै लुकेका १ जना गम्भीर विरामी, उपचारका लागि अस्पताल ल्याइँदै
कैलालीः भारतबाट फर्किएर घरमै बसेका ५० वर्षीय पुरुष उच्च ज्वरो र रुघाखोकीबाट गम्भीर विरामी परेका छन् । जिल्लाको लम्कीचुहा नगरपालिका–४ का ती पुरुष चैत १९ गतेदेखि उच्च ज्वरो र रुघाखोकीले गम्भीर बिरामी भएको पाइएपछि आज सेती प्रादेशिक अस्पताल ल्याउने तयारी भइरहेको छ । २० दिन अगाडि भारतबाट फर्किएर घरमै लुकेर बसेको अवस्थामा गम्भीर विरामी भएको खबरपछि उनको घरमै पुगेर सेती अस्पताल पठाउने तयारी भइरहेको लम्कीचुहा अस्पतालका प्रमुख डा. प्रकाश तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार उच्च ज्वरो आएपछि स्थानीय मेडिकलमा गएर टाइफायड भएको भन्दै सुई लगाएको तर सन्चो नभएपछि मात्र अस्पताललाई खबर गरिएको हो । ‘थ्रोट स्वाब संकलनका लागि पठाइरहेकाले परिक्षणपछि मात्र बाँकी कुरा पत्ता लाग्नेछ ।’ डाक्टर तिमिल्सिनाले भने । ती पुरुषले आफू भारतको हरियाणाबाट २० दिन अघि फर्किएको बताएका अस्पतालले जनाएको छ ।
कोरोनाका कारण कहाँ कतिको मृत्यु ? कति संक्रमित ? (सूचीसहित)
काठमाडौंः कोरोना भाइरस (कोभिड–१९)का कारण ज्यान गुमाउनेको संख्या बढ्दै गइरहेको छ । कोरोनाले हालसम्म विश्वभर ३७ हजार ७ सय ८१ को ज्यान लिइसकको छ । पछिल्लो २४ घण्टामा मात्रै ३ हजार ७ सय १६ को मृत्यु भएको छ भने ६१ हजार ५० कोरोना संक्रमित फेला परेका छन् । त्यसबाट विश्वभर ७ लाख ८४ हजार ४ सय ४० संक्रमित भएका छन् भने एक लाख ६५ हजार उपचारपछि निको भएका छन् । कोरोनाका कारण कहाँ कतिको मृत्यु ? कति संक्रमित ? सूचीसहित हेर्न यहाँ क्लिक गनुहोस्ः
ललितपुरको भट्टेडाँडामा २ भारतीय साइकलयात्रीको मृत्यु
ललितपुरः वाग्मती गाउँपालिका–३ भट्टेडाँडाको झाँक्रीडाँडा सडकमा दुर्घटना हुँदा भारतीय दुई साइकलयात्रीको मृत्यु भएको छ । आज बिहान साढे १० बजे झाँक्रीडाँडाको मोडबाट साइकलसहित लडेर उनीहरुको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा भारत, मोतीहारी वैरिया जिल्ला घर भएका २८ वर्षीय सन्तोष महतो र मोतीहारी ३ घर भएका २१ वर्षीय मुकेशकुमार गुप्ता रहेका इलाका प्रहरी कार्यालय छपेलीका प्रहरी सहायक निरीक्षक मोहनकुमार भडेलले जानकारी दिए । उनले भने, ‘सन्तोष लडेर सडकबाट ५० र मुकेश लडेर १५० मिटर तल पुगेका थिए ।’ कोभिड –१९ सङ्क्रमणका क्रममा मुलुकमा लकडाउन भइरहेका बेला उनीहरुसहित चार जना कान्ति लोकपथ हुँदै भारत जाने क्रममा रहँदा दुईको मृत्यु भएको खुल्न आएको छ । मुकेशका पिता सुरेशकुमार र अर्का छिमेकी दीनानाथ प्रसाद दुई जनाका पछिपछि अर्को साइकलमा गइरहेको हुँदा उक्त कुराको जानकारी बाहिर आएको हो । उनीहरु लकडाउन हुनुअघि चापागाउँ बसेर कवाडी कारखानामा काम गर्ने गरेको खुल्न आएको छ ।
भक्तपुरमा महिलाको शव फेला
काठमाडौंः भक्तपुरमा बेवारिसे अवस्थामा एक महिलाको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय भक्तपुरका अनुसार मध्यपुर ठिमी वडा नम्बर ३ हनुमन्ते खोला नजिकै एक महिलाको शव भेटिएको हो । प्रहरी अहिले घटनास्थल पुगेर मुचुल्का उठाउने काम गरिरहेको छ । महिलाको परिचय खुल्न सकेको छैन । प्रहरीले यस विषयमा थप अनुसन्धान गरिरहेको छ ।
कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३५ हजार नाघ्यो, कुन देशमा कति संक्रमित (सूचीसहित)
काठमाडौंः विश्वभर कोरोना भाइरस (कोभिड–१९) काे संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३५ हजार नाघेको छ । सोमबार १ हजार ३४ को मृत्यु भएपछि कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३५ हजार नाघेको हो । यस्तै, कोरोनाका कारण ७ लाख ३७ हजार बढी व्यक्ति संक्रमित भएका छन् । आज मात्रै १५ हजार बढी व्यक्ति कोरोना संक्रमित थपिएका छन् । पछिल्लो तथ्यांकअनुसार अमेरिकामा संक्रमित हुनेको संख्या १ लाख ४२ हजार ७ सय ९३ पुगेको छ । त्यहाँ करिब २५ सय जनाको कोरोनाका कारण मृत्यु भएको हो । इटालीमा साढे ९७ हजार संक्रमित छन् । त्यहाँ सर्बाधिक धेरै १० हजार ७ सय व्यक्तिले कोरोनाबाट ज्यान गुमाएका छन् । चीनमा ८१ हजार ४ सय संक्रमित हुँदा ३ हजार ३ सय व्यक्तिको मृत्यु भएको छ । स्पेनमा संक्रमितको संख्या ८५ हजार नाघेको छ । त्यहाँ मृतककको संख्या ७ हजार ३ सय पुगिसकेको छ । जर्मनीमा करिब साढे ६२ हजार संक्रमित हुँदा कोरोनाबाट ५४१ जनाले ज्यान गुमाएका छन् । फ्रान्समा ४० हजार यो भाइरसका कारण विरामी छन् । त्यहाँ २६ सयले ज्यान गुमाएका छन् । इरानमा संक्रमितको संख्या ४१ हजार ३ सय पुगेको छ । इरानमा पनि २७ सय बढीले कोरोनाबाट ज्यान गुमाइसकेका छन् । बेलायतमा साढे १९ हजार संक्रमित हुँदा कोरोनाका कारण साढे १२ सय बढीको मृत्यु भइसकेको छ । छिमेकी मुलुक भारतमा १ हजार ७१ जना संक्रमित भएका छन् । त्यहाँ आज सोमबार दिउँसो ३ बजेसम्म थप ४७ जना नयाँ संक्रमित थपिएका छन् । भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ । यस्तै, पाकिस्तानमा १६ सय व्यक्ति संक्रमित हुँदा २० जनाले ज्यान गुमाएका छन् । नेपालमा हालसम्म ५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । जसमध्ये एक जना उपचार गराएर घर फर्किएका छन् । बाँकी ४ जनाको भने विभिन्न अस्पतालमा उपचार जारी छ । नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छैन । सबै देशको सूची हेर्न यहाँ क्लिक गर्नुस्
सिन्धुलीमा एम्बुलेन्स दुर्घटना, ६ जना घाइते
सिन्धुलीः जिल्लाको कमलामाई नगरपालिका–७ माझीटारमा एम्बुलेन्स दुर्घटना भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् । प्रहरीका अनुसार काठमाडौंबाट धनुषातर्फ जाँदै गरेको ज १ च ७७७ नं को एम्बुलेन्स आफैँ अनियन्त्रित भएर दुर्घटना भएको हो । दुर्घटनामा धनुषाको सबैला नगरपालिका–४ पटेर्वाका २१ वर्षीया अनिल यादव, २० वर्षीया सन्जु यादव, ३० वर्षीया मदन यादव, २८ वर्षीया श्रीराम यादव, सिराहाको मिर्चेया नगरपालिका–३ राँगेका २५ वर्षीया सुसिला यादव र सोही ठाउँका ३५ वर्षीया सञ्जीवकुमार यादव घाइते भएको सिन्धुलीका प्रहरीनायव उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए । धनुषाको सबैला नगरपालिका–४ पटेर्वाका २१ वर्षीया अनिल यादव विरामी भएर काठमाडौंको बयोदा अस्पताल बल्खुमा उपचारपश्चात डिस्चार्ज भएर्र उनीहरु सबै एम्बुलेन्समा घर फर्केका थिए । उनीहरुको टाउको, हात खुट्टा लगाएतका ठाउँमा सामान्य चोक लागेको र अवस्था सामान्य रहेकाले सिन्धुली अस्पतालमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक खत्रीले जानकारी दिए ।
राजधानीमा सोमबार ३ जनाको मृत्युः कोरोनाको आशंका, रिपोर्ट आउन बाँकी
काठमाडौंः कोरोना भाइरस (ओभिड–१९) को आशंकामा उपत्यकामा तीन जनाको ज्यान गएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार तीनै जनाको कोरोनाको नमूना परीक्षणका लागि प्रयोगशालामा पठाइएको र रिपोर्ट आउन बाँकी रहेको छ । उनका अनुसार पाटन अस्पतालमा ३६ वर्षीय पुरुषको मृत्यु भएको हो भने वीर अस्पतालमा एक महिला र अर्का एक भारतीय नागरिक पुरुषको मृत्यु भएको हो । उनीहरु सबैको रिपोर्ट आउन केही समय लाग्ने डा. देवकोटाले बताए ।
कोरोना आशंका गरिएकी काठमाडौंकी युवतीको वीर अस्पतालमा मृत्यु
काठमाडौंः वीर अस्पतालमा कोरोना भाइरस (कोभिड–१९) को आशंकामा भर्ना भएकी एक युवतीको मृत्यु भएको छ । उनलाई सोमबार बिहान बेहोस अवस्थामा अस्पताल ल्याइएको थियो । वीर अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीले भने, ‘उनी भारतबाट यही साता नेपाल आएकी रहिछन् । यहाँ ल्याउँदा ज्वरो पनि थियो, सास फेर्न पनि गाह्रो भइरहेको थियो । हामीले कोरोनाको शंका गरेर उनको नमूना टेकु ल्याबमा पठाएका छौं । यहाँ उनलाई इमर्जेन्सीमा भर्ना गरिएको थियो ।’ ती युवती चन्द्रागिरि नगरपालिका–१५ की हुन् ।
बुटवलमा मृत्यु भएका युवकको कोरोना रिपोर्ट ‘नेगेटिभ’
बुटवलः बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पताल आइसोलेसनमा भर्ना भई आइतबार निधन भएका ३४ वर्षीय व्यक्तिको कोरोना परीक्षण नेगेटिभ आएको छ । परीक्षणका क्रममा नतिजा नेगेटिभ आएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले जानकारी दिए । उनको अर्को रिपोर्ट भने आउन बाँकी रहेको अस्पतालले जनाइएको छ । उनी वैदेशिक रोजगारीबाट यही चैत ६ गते स्वदेश फर्किएका थिए । घर फर्किंदाको अवस्थामै सामान्य ज्वरो आएकाले उनी एक साता घरमै आराम गरी बसेका थिए । एक सातासम्म पनि ज्वरो नरोकिएपछि शुक्रबार लुम्बिनी प्रादेशिक अस्पतालमा स्वास्थ्य जाँचका लागि आएकामा उनलाई चिकित्सकको सल्लाहअनुसार प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना गरी स्वाब परीक्षणका लागि केन्द्रीय प्रयोगशालामा आइतबार पठाइएको थियो ।
सीमा बन्द हुँदा महाकाली नदी पौडेर भारतबाट दार्चुला पुगेपछि…(भिडियोसहित)
दार्चुलाः कोरोनालाई मध्यजनर गर्दै सीमा नाका बन्द गरिएपछि एक युवक भारतसँग सीमा जोडिएको महाकाली नदी पौडले दार्चुला आएका छन् । कोरोनाका कारण सरकारले ‘लकडाउन’सँगै सीमा नाका बन्द गरेपछि उनीलगायत पाँच सय नेपाली भारतको धार्चुलामा अलपत्र थिए । उनी बैतडीको डिलासैनी गाउँपालिकाका हुन् । उनलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ । सीमा बन्दका कारण दार्चुलाका सीमा नाकामा करिब पाँच सय नेपाली नेपाल प्रवेश गर्न पाउनुपर्ने माग गर्दै नारगरिरहेका छन् । फोटो र भिडियोः नरेन्द्र कार्की फेसबुकबाट

